निर्णय नं. १०६६० - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७७।६।११
०७४-CR-०४६३
मुद्दा : जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : अर्घाखाँची जिल्ला, जधुके गा.वि.स. हालको ऐ.गाउँपालिका वडा नं.१ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंअन्तर्गत भद्रबन्दी गृहमा थुनामा रहेको चन्द्रबहादुर गाहा
विरूद्ध
प्रत्यर्थी / वादी : ०७२-२ को जाहेरीले नेपाल सरकार
विशेषज्ञ चिकित्सकले पीडितको शरीर, यौनाङ्गको जाँच गरी शरीरमा देखिएको घाउ चोटको बारेमा उल्लेख गरी तयार पारिएको स्वास्थ्य परीक्षण प्रतिवेदन अन्यथा प्रमाणित नभएसम्म जबरजस्ती करणी जस्तो अपराधमा महत्त्वपूर्ण प्रमाणको रूपमा रहन्छ । वैज्ञानिक विधि पद्दतिबाट जाँच गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन तथ्यगत प्रमाण नै हो । पीडितको शरीरमा जबरजस्ती आपराधिक कार्य गर्दा पर्न गएको घाउ चोट प्रमाण वस्तुगत आधारमा देखिने हुँदा त्यस्तो प्रमाणलाई न्यायको रोहमा अनदेखा गर्नु मनासिब नहुने ।
(प्रकरण नं.१६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री ईन्दीरा सिलवाल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.न्या.श्री विष्णुप्रसाद अर्याल
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री रामप्रसाद अधिकारी
मा.न्या.श्री यमुना भट्टाराई
उच्च अदालत पाटन
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
मिति २०७२।०५।२५ गते राति अं. २०:३० बजेको समयमा काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ मिलनटोल स्थित अच्युत लामिछानेको घरमा डेरा गरी बस्ने म जाहेरवालाको दिदी वर्ष ५९ की दुवै आँखा नदेख्ने वृद्ध महिला परिवर्तित नाम ०७२-१ आफ्नो आवास कोठा बाहिर प्यासेजमा एक्लै बसिरहेको अवस्थामा चन्द्रबहादुर गाहाले विभिन्न प्रलोभन देखाई सोही घरको भुइँ तलामा रहेको ट्वाइलेटमा लगी ट्वाइलेटको ढोकाको चुकुल लगाई बोल्न कराउन नदिई ज्यानसमेत लिने डर धम्की दिई शरीरको सम्पूर्ण कपडाहरू खोली पीडितको मन्जुरीविना नै जबरजस्ती करणी गरी ढोका उघारी भाग्न खोज्दा मेरो घर परिवारका सदस्यहरूले थाहा पाई दोषी चन्द्रबहादुर गाहालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो । निज चन्द्रबहादुर गाहालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम कारबाही गरी पीडित मेरी दिदी परिवर्तित नाम ०७२-१ लाई विपक्षी पीडक चन्द्रबहादुर गाहाबाट कानूनबमोजिम क्षतिपूर्तिको रकमसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम ०७२-२ को जाहेरी दरखास्त ।
पीडित र जाहेरवालाको वास्तविक नाम परिवर्तन गर्नुपर्ने भएको हुँदा निजहरूको वास्तविक नामको सट्टामा जाहेरवालाको परिवर्तित नाम ०७२-२ र पीडितको परिवर्तित नाम ०७२-१ भनी नाम परिवर्तन गरिएको छ भन्नेसमेत बेहोराको नाम परिवर्तन गरेको कागज ।
परिवर्तित नाम ०७२-२ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्द्रबहादुर गाहा भएको जबरजस्ती करणी मुद्दामा वारदातमा संलग्न चन्द्रबहादुर गाहाले परिवर्तित नाम ०७२-१ लाई जबरजस्ती करणी गरेको भनी मुख साबिती भएको हुँदा निजलाई पक्राउ गरी दाखिला गरेका छौं । निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ मिलनटोल स्थित पूर्वमोहडा भएको अच्युतराज लामिछानेको घर, उक्त घरको भुइँतलामा प्रवेश गरी हेर्दा भुइँतलाको बिचमा प्यासेज भई उत्तरतर्फ २ वटा कोठा र दक्षिणतर्फ ३ वटा कोठा भई पश्चिम दक्षिणतर्फ ट्वाइलेट रहेको र उक्त ट्वाइलेट ढोका बन्द अवस्थामा रहेको, ढोका खोली भित्र हेर्दा ट्वाइलेट खाली रहेको, उक्त ट्वाइलेटमा मिति २०७२।०५।२५ गते राति २०:३० बजेको समयमा परिवर्तित नाम ०७२-१ लाई चन्द्रबहादुर गाहाले ललाई फकाई प्रलोभन देखाई झुक्यानमा पारी बोल्न कराउन नदिई काट्छु, मार्छु भनी डर, त्रास देखाई पीडिको मन्जुरीविना ट्वाइलेटको ढोका बन्द गरी भित्रबाट ढोकाको लक लगाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
विगत १५ महिनाअगाडिदेखि जाहेरवाला ०७२-२ को संरक्षणमा रही काठमाडौं जिल्ला, टोखा न.पा.,वडा नं.१३ स्थित अच्युत लामिछानेको घरको भुइँ तलाको २ वटा कोठा भाडामा लिई बस्दै आएकोमा मिति २०७२।०५।२५ गते राति अं. २०:३० बजेको समयमा म घर कोठा बाहिर निस्की बसेको अवस्थामा चन्द्रबहादुर गाहा आई म कोठामा पुर्याई दिन्छु भनी ट्वाइलेटभित्र पुर्याएको रहेछ । मैले कोठा जाने ठाउँमा किन मलाई ट्वाइलेटमा ल्याएको भनी भन्दा निजले मलाई बोल्न कराउन नदिई डर, त्रास, धाक, धम्की देखाई मैले लगाएको सुरूवाल जबरजस्ती खोली निजको लिङ्ग मेरो योनिमा जबरजस्ती छिराई करणी गरेकोमा म कराएको हुँदा निजले उक्त ट्वाइलेटको ढोका खोली भागेकोमा प्रहरीले समेत पक्राउ गरेका
हुन् । निज प्रतिवादी चन्द्रबहादुर गाहाले म आँखा नदेख्ने वृद्ध महिलालाई कोठाभित्र पुर्याइदिने भनी अनुचित प्रभावमा पारी झुक्याई ट्वाइलेटमा लगी मेरो ईच्छा मन्जुरीविना डर, धाक, धम्की देखाई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम ०७२-१ ले लेखाई दिएको कागज ।
पीडित ०७२-१ को स्वास्थ्य परीक्षण गर्दा Clinical examination reveals contusion over the right breast and abrasion over inner aspect of right side of labia minora. The findings are consistent with history provided by the examinee. भन्नेसमेत बेहोराको फोरेन्सिक विभाग महाराजगन्ज, काठमाडौंको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
म विगत १० वर्षअगाडिदेखि नेपाली सेनाको सिपाही दर्जामा रही शान्ति सेना लेवनान देशमा छनौट भई मिति २०७२।०५।३० गते उता जाने तालिम समापन गरी ऐ.२३ गतेदेखि काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ गोगंबु स्थित हरियाली गेष्ट हाउसमा बसिरहेको थिएँ । सोही क्रममा मिति २०७२।५।२५ गते साँझको ७ बजेतिर सोही गेष्ट हाउसमा बसी १ बोतल भोड्का रक्सी सेवन गरी बाहिर घुमफिर गर्न जानुपर्यो भनी सो गेष्ट हाउसबाट निस्केकोमा जाहेरवालाको डेरा कोठाअगाडि पुगेछु । त्यहाँ पीडित परिवर्तित नाम ०७२-१ ढोका बाहिर बसिरहेको देखी सामान्य कुराकानी गरेपश्चात् मैले यौन सम्पर्क गर्ने प्रस्ताव राखेँ । उनीले सहर्ष स्वीकार गरेपछि निजै ०७२-१ ले ट्वाइलेटमा जाउँ भनेको हुँदा मैले हात समाती ट्वाइलेटभित्र लगी सल्लाहमै यौन सम्पर्क गर्ने भनी निजको सुरूवाल खोली मेरो लिङ्ग निजको योनिमा २-३ पटक भित्र बाहिर गर्नासाथ पीडितको आफन्तहरूले थाहा पाई मलाई घटनास्थलमा नै पक्राउ गरी कुटपिटसमेत गरी प्रहरीलाई बुझाएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रबहादुर गाहाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७२।०५।२५ गते राति अं.२०:३० बजेको समयमा काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ मिलनटोल स्थित अच्युत लामिछानेको घरमा परिवर्तित नाम ०७२-१ लाई चन्द्रबहादुर गाहाले ललाइफकाई ट्वाइलेटमा लगी विभिन्न डर, त्रास, धाक, धम्की देखाई झुक्यानमा पारी पीडितको मन्जुरीविना जबरजस्ती करणी गरेको भन्ने सुनी थाहा पाएको
हुँ । निज प्रतिवादीले पीडितको ईच्छा र मन्जुरीविना जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही होस् भन्नेसमेत करिब एकै मिलान बेहोराको रामचन्द्र फुयाल र टंकराज भट्टराईले गरिदिएको घटना विवरण कागज ।
मिति २०७२।०५।२५ गते राति अं.२०:३० बजेको समयमा काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ मिलनटोल स्थित अच्युत लामिछानेको घरमा परिवर्तित नाम ०७२-१ लाई चन्द्रबहादुर गाहाले ललाइफकाई ट्वाइलेटमा लगी विभिन्न डर, त्रास, धाक, धम्की देखाई झुक्यानमा पारी पीडितको मन्जुरीविना जबरजस्ती करणी गरेको भन्ने पीडितले हामीहरूलाई बताएको हुँदा निज प्रतिवादी चन्द्रबहादुर गाहालाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत एकै मिलान बेहोराको दिपेन्द्रप्रसाद दाहाल, करूणा भण्डारी, महेश भट्टराई, सविन भट्टाराई, चन्द्रप्रसाद भट्टराईसमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
०७२-२ को जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन, घटनास्थल मुचुल्का, पीडितको कागज, प्रतिवादीको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन एवं बुझिएका मानिसहरूले गरी दिएको घटना विवरण कागज, वस्तुस्थिति मुचुल्कालगायतका आधारहरूबाट मिति २०७२।०५।२५ गते राति अं.२०:३० बजेको समयमा काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ मिलनटोल स्थित अच्युत लामिछानेको घरमा दुवै आँखा नदेख्ने परिवर्तित नाम ०७२-१ लाई चन्द्रबहादुर गाहाले ललाइफकाई ट्वाइलेटमा लगी विभिन्न डर, त्रास, धाक, धम्की देखाई झुक्यानमा पारी पीडितको मन्जुरीविना जबरजस्ती करणी गरेको र प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ऐ. ३(५) नं. बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ३(५) नं. बमोजिम सजाय गरी ऐ. महलको ३(क) नं. बमोजिम थप सजायसमेत हुन एवं ऐ.१० नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
अनुसन्धान अधिकृतसमक्ष भएको भनिएको बयान बेहोरा मेरो होइन, सहीछाप मेरो हो । सो मेरो भनिएको बयान बेहोरा प्रहरीले पहिले नै तयार गरी ल्याएको हो । जाहेरी बेहोरा, अभियोग माग दाबी, पीडितको कागजको बेहोरा, बुझिएका मानिसहरूले गरिदिएको कागजसमेतको बेहोरा झुठ्ठा हो । म रातको समयमा मादक पदार्थ सेवन गरी हिँडेको अवस्थामा मानिसहरूले मलाई पक्राउ गरेका हुन् । मैले पीडितलाई जबरजस्ती करणी नगरेको हुँदा मैले अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रबहादुर गाहाले सुरू अदालतसमक्ष गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी कसुरदार हुन् भनी विश्वास गर्न सकिने मनासिब आधारको विद्यमानता भएकोले मुलुकी ऐन, अ.बं.११८ को देहाय २ नं. बमोजिम मुद्दा पुर्पक्षका लागि प्रतिवादी चन्द्रबहादुर गाहालाई थुनामा राख्न अ.बं.१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई केन्द्रीय कारागार कार्यालय, काठमाडौंमा पठाइदिनु भन्नेसमेत बेहोराको सुरू अदालतबाट भएको आदेशानुसार निज प्रतिवादीलाई मुद्दा पुर्पक्षका निमित्त केन्द्रीय कारागार कार्यालय, काठमाडौंमा थुनामा राख्न पठाएको ।
मिति २०७२।०५।२६ गते मैले गरिदिएको कागजको बेहोरा सही सत्य हो । मिति २०७२।०५।२५ गते राति अं.२०:३० बजेको समयमा प्रतिवादी चन्द्रबहादुर गाहा कहाँबाट आए मलाई थाहा भएन । निज प्रतिवादीले मलाई ललाइफकाई ट्वाइलेटभित्र लगी ट्वाइलेटको ढोकाको चुक्कुल लगाई निजले मेरो कपडा सुरूवालसमेत खोली मलाई उत्तानो पारी निजले आफ्नो लिङ्ग मेरो योनिमा छिराई जबरजस्ती करणी गरेका हुन् । सोपश्चात् मैले जबरजस्ती ट्वाइलेटको ढोका खोलेकोमा सोही घरमा बस्ने पोखराका भाइहरूले थाहा पाई निज प्रतिवादीलाई कुटेर धपाएका हुन् । सोपश्चात् निज प्रतिवादी कहाँ गए मलाई थाहा भएन । यसरी निज प्रतिवादीले मलाई निर्मम तरिकाले म आँखा नदेख्ने महिलालाई ललाइफकाई जबरजस्ती करणी गरेका हुन् । निजलाई सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको पीडित ०७२-१ ले सुरू अदालतसमक्ष आई गरेको बकपत्र ।
मिति २०७२।०५।२५ गते म पसलबाट घर आई खाना खाने क्रममा दिदी २०७२-१ लाई खोजतलास गर्दा निज प्रतिवादी चन्द्रबहादुर गाहाले ट्वाइलेटमा लगी चुक्कुल लगाई पीडितलाई जबरजस्ती करणी गरी चुक्कुल खोली भाग्ने क्रममा निज प्रतिवादीलाई मसमेत २/४ जना भई समाती प्रहरीको जिम्मा लगाएका हौं । मिति २०७२।०६।०५ गते मैले गरेको कागजको बेहोरा र सहीछाप मेरै हो । सो कागजमा मेरो नाम महेश्वर भट्टराई भनी लेखिएको ठिक हो । मेरो बोलाउने नाम रामप्रसाद भट्टराई भएकोले सो कागजमा उक्त रामप्रसाद भट्टराई लेखिएको हो भन्नेसमेत बेहोराको बुझिएका मानिस रामप्रसाद भट्टराई भन्ने महेश्वर भट्टराईले सुरू अदालतसमक्ष आई गरेको बकपत्र ।
मिति २०७२।०५।२५ गते बेलुका खाना खाने समयमा दिदी पीडितलाई खाना खान बोलाउने क्रममा कोठामा खोज्न जाँदा कोठामा नभेटेपछि खोज्दै जाने क्रममा ट्वाइलेटको ढोका ढक्ढक्याउँदा निज प्रतिवादीले ट्वाइलेटको ढोकाको चुक्कुल खोले, निज प्रतिवादीले मेरी दिदी ०७२-१ लाई ट्वाइलेटमा लगी जबरजस्ती करणी गरेको हुँदा मसमेत भई निज प्रतिवादीलाई पक्री प्रहरीको जिम्मा लगाएको हो । निज प्रतिवादी अपराधी हुन्, निजलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । मिति २०७२।०५।२६ गतेको जाहेरी दरखास्तको सम्पूर्ण बेहोरा र सहीछाप मेरै हो, सबै सत्य हो भन्नेसमेत बेहोराको जाहेरवाला ०७२-२ ले सुरू अदालतसमक्ष आई गरेको बकपत्र ।
मिति २०७२।०७।२६ मा जाँच गरेको प्रतिवेदन मैले आफैँले स्वतन्त्र भएर दिएको प्रतिवेदन हो । मैले पीडितको स्वास्थ्य परीक्षण गर्दा जबरजस्ती करणी गरेको हो वा होइन भनी ठोकुवा गर्न सकिन्न तर पीडितले दिएको हिस्ट्री मिल्दो छ । पीडितको स्वास्थ्य परीक्षण गर्दा दाहिने स्तनमा निलडामहरू रहेको, त्यस्तै योनाङ्गको क्याविएम भाइनोराको दाहिने भागमा घस्रिएको जस्तो घाउ भेटाइएको थियो भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञ डा. श्रृजना कुँवरले सुरू अदालतसमक्ष आई गरेको बकपत्र ।
मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादीले अभियोग माग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ.३क. नं. बमोजिम थप ५(पाँच) वर्ष गरी जम्मा १०(दश) वर्ष कैद सजाय हुने तथा ऐ. १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिबापत रू.५०,०००।– भराइदिनेसमेत ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७३।३।१२ को फैसला ।
मैले अनुसन्धानको क्रममा गरेको भनिएको बयान मेरो राजीखुसीले भएको होइन । अदालतमा भएको बयानमा आफ्नो कुरा लेखाएको छु । आँखा नदेख्ने भनिएकी पीडितले मबाटै जबरजस्ती करणी भयो भनी कसरी चिनिन् ? त्यसको भरलाग्दो पुष्ट्याईं खोजिएको छैन । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा करणी भएको भनी स्पष्ट खुलाएर लेखिएको छैन । यस अवस्थामा मबाट जबरजस्ती करणीजस्तो गम्भीर अपराध गरेको ठहर्याई भएको सुरू फैसला अन्यायी र त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मलाई सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रबहादुर गाहाको पुनरावेदन पत्र ।
प्रतिवादी चन्द्रबहादुर गाहालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष र ऐ.३(क) नं. बमोजिम थप ५ वर्ष गरी जम्मा १० वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिबापत रू.५०,०००।– (पचास हजार रूपैयाँ) भराइदिने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।३।१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी उच्च अदालत पाटनबाट मिति २०७४।०१।२५ मा भएको फैसला ।
मलाई रातको समयमा मादक पदार्थ सेवन गरी हिँडेको अवस्थामा पक्राउ गरिएको हो । मलाई अख्तियारप्राप्त अधिकारीले पहिले नै लेखेर ल्याएको कागजमा जबरजस्ती रूपमा दस्तखत गराएका हुन् । मैले अदालतसमक्ष बयान गर्दा उक्त कुराहरूलाई स्पष्ट रूपमा खुलाएको छु । मैले अभियोग दाबीबमोजिम पीडितलाई जबरजस्ती करणी गरेको छैन । जाहेरवाला प्रस्तुत मुद्दाको चश्मदिद व्यक्ति होइन । सुनेको आधारमा मात्र जाहेरी दर्ता गरेको हो । पीडित भनेको वृद्ध महिला दुवै आँखा नदेख्ने भनिएको छ । सोलाई पुष्टि हुने गरी कुनै पनि आधारहरू वादी पक्षबाट पेस हुन सकेको छैन । निजले यदि आँखा नदेख्ने नै हो भने कसरी म नै प्रतिवादी हो भनेर पहिचान गर्न सक्छ ? घटना भएको भनिएको ठाउँ ट्वाइलेट हो । ट्वाइलेटमा घर बहालमा बस्ने अरू पनि मानिसहरू आइरहने हुन्छ । मानिसहरूको चाप धेरै भएको स्थानको ट्वाइलेट जस्तो सानो ठाउँभित्र सुताएर सबै कपडाहरू खोलेर जबरजस्ती करणी गर्यो भनी लिएको दाबी नै सर्वथा गलत रहेको छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भएको छ भन्ने कुरा कहीँकतैबाट खुलेको देखिएको छैन । जबरजस्ती करणी भएको हो होइन यकिन गरी भन्न नसकिएको भन्ने परीक्षण प्रतिवेदनमा उल्लेख छ । विशेषज्ञले अदालतमा बकपत्र गर्दासमेत यकिनका साथ जबरजस्ती करणी भएकै हो भनी उल्लेख गर्न सकेको छैन । म पुनरावेदक एउटा जिम्मेवार राष्ट्रसेवक सुरक्षा निकायमा कार्यरत मानिस भएको र शान्ति सेनामा जानका निमित्त तालिमसमेत लिई सकी तयारी भएको अवस्थामा केवल मलाई फसाउने नियतले मैले पीडिता आँखा नदेख्ने महिलालाई जबरजस्ती करणी गरेको भनी झुठ्ठा मुद्दा लगाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(क) बमोजिम थप कैद ५ समेत गरी जम्मा १० वर्ष कैद सजाय गरी पीडितलाई मबाट रू.५०,०००।– क्षतिपूर्तिसमेत भराउने गरी भएको सुरू अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसला नमिली त्रुटिपूर्ण रहेको छ । उक्त फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रबहादुर गाहाको पुनरावेदन
पत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वैतनिक अधिवक्ता श्री ईन्दीरा सिलवालले प्रतिवादीले अदालतसमक्ष आरोपित कसुरमा इन्कार रही बयान गरेका छन् । निजलाई अधिकारप्राप्त अधिकारीसमक्ष बयान गराउँदा पहिले नै लेखेर ल्याएको कागजमा जबरजस्ती रूपमा दस्तखत गराएको भन्ने छ । यस्तो इच्छाविपरीत गराइएको बयानलाई प्रमाणमा लिन मिल्दैन । वारदात भएको भनिएको समय र स्थानलाई हेर्दा जबरजस्ती करणीको अपराध हुन सक्ने अवस्था नै छैन । पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट पनि जबरजस्ती करणी भएको भन्ने देखिएको छैन । यस्तो अवस्थामा प्रतिवादीलाई कसुरदार ठहर्याई सजाय गरेको सुरूको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेको छैन । उक्त फैसला उल्टी गरी प्रतिवादी चन्द्रबहादुर गाहाले आरोपित कसुरबाट सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान् वैतनिक अधिवक्ताले प्रस्तुत गर्नुभएको उल्लिखित बहससमेत सुनी उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन
आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी चन्द्रबहादुर गाहाले दुवै आँखा नदेख्ने पीडितको मन्जुरीविना जबरजस्ती करणी गरेको र प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ऐ. ३(५) नं. बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ३(५) नं. बमोजिम सजाय गरी ऐ. महलको ३(क) नं. बमोजिम थप सजायसमेत हुन एवं ऐ.१० नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत भराई पाउँ भन्ने मुख्य अभियोग माग दाबी ।
३. प्रतिवादी चन्द्रबहादुर गाहाले अभियोग माग दाबीबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ.३क. नं. बमोजिम थप ५(पाँच) वर्ष गरी जम्मा १०(दश) वर्ष कैद सजाय हुने तथा ऐ. १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिबापत रू.५०,०००।– भराइदिनेसमेत ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।३।१२ मा भएको फैसला ।
४. उक्त फैसलाउपर प्रतिवादीको पुनरावेदन परेकोमा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।३।१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी उच्च अदालत पाटनबाट मिति २०७४।०१।२५ मा भएको फैसला । सो फैसलामा चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो ।
५. मलाई रातको समयमा मादक पदार्थ सेवन गरी हिँडेको अवस्थामा पक्राउ गरिएको हो । मैले अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा मेरो होइन । पहिले नै लेखेर ल्याएको कागजमा जबरजस्ती रूपमा दस्तखत गराएको हो । मैले अभियोग दाबीबमोजिम पीडितलाई जबरजस्ती करणी गरेको छैन । जाहेरवाला चश्मदिद व्यक्ति
होइन । सुनेको आधारमा मात्र जाहेरी दिएको हो । पीडित भनेको वृद्ध महिला दुवै आँखा नदेख्ने भनिएको छ । सोलाई पुष्टि हुने गरी कुनै पनि आधारहरू वादी पक्षबाट पेस हुन सकेको छैन । घटना भएको भनिएको ठाउँ ट्वाइलेट हो । मानिसहरूको चाप धेरै भएको स्थानको ट्वाइलेटजस्तो सानो ठाउँभित्र सुताएर सबै कपडाहरू खोलेर जबरजस्ती करणी गर्यो भनी लिएको दाबी नै गलत छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भएको भन्ने कुरा कहीँकतैबाट खुलेको छैन । विशेषज्ञले अदालतमा बकपत्र गर्दासमेत यकिनका साथ जबजस्ती करणी भएकै हो भनी उल्लेख गर्न सकेको छैन । मलाई फसाउने नियतले मैले पीडिता आँखा नदेख्ने महिलालाई जबरजस्ती करणी गरेको भनी झुठ्ठा मुद्दा लगाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३क बमोजिम थप कैद ५ समेत गरी जम्मा १० वर्ष कैद सजाय गरी पीडितलाई मबाट रू.५०,०००।– क्षतिपूर्तिसमेत भराउने गरी भएको सुरू अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसला नमिली त्रुटिपूर्ण रहेको छ । उक्त फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादी चन्द्रबहादुर गाहाको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
६. दुवै आँखा देख्न नसक्ने ५९ वर्षीया पीडितलाई डेरा गरी बसेको कोठाको बाहिरपट्टि प्यासेजमा एक्लै बसिरहेको समयमा प्रतिवादीले हात समाती डोहोर्याई ट्वाइलेटभित्र लगी जबरजस्तीसँग करणी गरेको हुँदा कारबाही गरिपाउँ भनी पीडितकी बहिनीबाट जाहेरी परेपश्चात् प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको देखियो ।
७. मिति २०७२।०५।२५ गते राति २०:३० बजेको समयमा परिवर्तित नाम ०७२-१ लाई चन्द्रबहादुर गाहाले ललाई फकाई प्रलोभन देखाई झुक्यानमा पारी बोल्न कराउन नदिई काट्छु, मार्छु भनी डर, त्रास देखाई पीडिको मन्जुरीविना ट्वाइलेटको ढोका बन्द गरी भित्रबाट ढोकाको लक लगाई जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्कामा देखिन्छ ।
८. Reddis contusion measuring 3cm x 2cm is present over outer lower quadrant of right brest. Reddis contusion measuring 2cm x 2cm is present over inner lower quadrant of right brest. Hymen; Redundant, intact. Blind since 16 years of age. Clinical examination reveals contusion over the right breast and abrasion over inner aspect of right side of labia minora. The findings are consistent with history provided by the examinee. भन्ने पीडित ०७२-१ को स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिन्छ ।
९. पीडित ०७२-१ ले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा, वारदातको दिन रातिको अं. २०:३० बजेको समयमा म घर कोठाबाहिर निस्की बसिरहेकी थिएँ । प्रतिवादीले कोठाभित्र पुर्याइदिन्छु भन्दै ट्वाइलेटमा लग्यो । मैले यहाँ किन ल्याएको भन्दा मलाई बोल्न कराउन नदिई डर त्रास देखाएर जबरजस्ती करणी गर्यो । म कराएपछि ढोका खोलेर भागी गयो भनी उल्लेख गरेको देखिन्छ ।
१०. प्रतिवादी चन्द्रबहादुर गाहाले सुरू अदालतमा कसुर अपराधमा इन्कार गरी बयान गरेको देखिए तापनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, मैले मिति २०७२।५।२५ गते साँझको ७ बजेतिर गोगंबु स्थित हरियाली गेष्ट हाउसमा बसी १ बोतल भोड्का रक्सी सेवन गरी बाहिर घुमफिर गर्न निस्केकोमा जाहेरवालाको डेरा कोठाअगाडि
पुगेछु । त्यहाँ पीडित परिवर्तित नाम ०७२-१ ढोकाबाहिर बसिरहेको देखी सामान्य कुराकानी गरेपश्चात् मैले यौन सम्पर्क गर्ने प्रस्ताव राखेँ र मैले निजको हात समाती ट्वाइलेटभित्र लगी सल्लाहमै निजको सुरूवाल खोली मेरो लिङ्ग निजको योनिमा २-३ पटक भित्र बाहिर गर्नासाथ पीडितको आफन्तहरूले थाहा पाई मलाई घटनास्थलमा नै पक्राउ गरी कुटपिटसमेत गरी प्रहरीलाई बुझाएका हुन् भनी कसुर गरेकोमा साबित रहेको देखिन्छ ।
११. पीडित ०७२-१ ले अदालतसमक्ष उपस्थित भई बकपत्र गर्दा प्रतिवादीले झुक्याएर ट्वाइलेटमा लगी जबरजस्ती करणी गरेको हो भनी अनुसन्धानमा भएको आफ्नो कागजमा लेखिएको बेहोरालाई समर्थन हुने गरी लेखाएको देखिन्छ । त्यस्तै जाहेरवाला पीडितको बहिनी ०७२-२ ले समेत आफ्नो जाहेरी बेहोरालाई समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ ।
१२. मौकामा बुझिएका व्यक्ति रामप्रसाद भट्टराई भन्ने महेश्वर भट्टराईले अदालतमा गरेको बकपत्रमा प्रतिवादीले पीडित दिदीलाई ट्वाइलेटमा लगी जबरजस्ती करणी गरेर भाग्ने क्रममा हामीले निजलाई समातेर पुलिसलाई खबर गरी जिम्मा लगाएको हो । पीडित दिदीलाई ट्वाइलेटमा त्यो अवस्थामा भेट्टाएको हो भनी प्रतिवादीउपर लगाएको आरोपलाई पुष्टि हुने गरी बकपत्र गरेको देखिन्छ ।
१३. पीडितको शारीरिक जाँच गर्ने डा.सिर्जना कुँवरले अदालतसमक्ष उपस्थित भई बकपत्र गर्दा पीडितको दाहिने स्तनमा निलडामहरू थिए र निजको यौनाङ्गको ल्याविया मायनोराको दाहिने भागमा धस्रिएको जस्तो घाउ थियो भनी आफूले दिएको पीडितको शारीरिक जाँच प्रतिवेदनलाई पुष्टि हुने गरी बकपत्र गरेको देखिन्छ ।
१४. तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने, सोही महलको ३(५) नं. मा “बिस वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए निजलाई जबरजस्ती करणी गर्नेलाई पाँचदेखि सात वर्षसम्म कैद सजाय हुने छ” त्यसैगरी सोही महलको ३क. नं. मा "कसैले गर्भवती, असक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
१५. जबरजस्ती करणी मुद्दामा वास्तविक वारदातको प्रत्यक्ष साक्षी नै पीडित स्वयं हुने हुन्छ । दुवै आँखा नदेख्ने ५९ वर्षकी पीडित परिवर्तित नाम ०७२-१ ले अदालतमा समेत उपस्थित भई बकपत्र गर्दा, प्रतिवादीले झुक्याएर ट्वाइलेटमा लगी जबरजस्ती करणी गरेको हो । प्रतिवाद गर्दा मेरो शरीरमा कोतरेको घाउ छ भनी अनुसन्धानमा भएको आफ्नो कागजमा लेखिएको बेहोरालाई पुष्टि हुने गरी लेखाएको
पाइन्छ । त्यस्तै प्रतिवादी चन्द्रबहादुर गाहाले वर्ष ५९ की आँखा नदेख्ने पीडितलाई हात समाती डोहोर्याई ट्वाइलेटमा लगी जबरजस्ती करणी गरेको हो भनी प्रतिवादी चन्द्रबहादुर गाहाको विरूद्धमा परेको आफ्नो किटानी जाहेरी दरखास्तलाई पुष्टि हुने गरी जाहेरवाला पीडितको बहिनी ०७२-२ ले अदालतमा बकपत्र गरेको अवस्था छ । बुझिएका मानिसले वारदात पुष्टि हुने गरी अदालतमा बकपत्र गरेको देखिन्छ ।
१६. विशेषज्ञ चिकित्सकले पीडितको शरीर, यौनाङ्गको जाँच गरी शरीरमा देखिएको घाउ चोटको बारेमा उल्लेख गरी तयार पारिएको स्वास्थ्य परीक्षण प्रतिवेदन अन्यथा प्रमाणित नभएसम्म जबरजस्ती करणी जस्तो अपराधमा महत्त्वपूर्ण प्रमाणको रूपमा रहन्छ । वैज्ञानिक विधि पद्दतिबाट जाँच गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन तथ्यगत प्रमाण नै हो । पीडितको शरीरमा जबरजस्ती आपराधिक कार्य गर्दा पर्न गएको घाउ चोट प्रमाण वस्तुगत आधारमा देखिने हुँदा त्यस्तो प्रमाणलाई न्यायको रोहमा अनदेखा गर्नु मनासिब हुँदैन ।
१७. प्रस्तुत मुद्दामा ५९ वर्षकी दुवै आँखा नदेख्ने महिलालाई ट्वाइलेटमा लगी जबरजस्ती करणीको कसुर गर्दा निज पीडितको दुवै स्तनहरूमा निलडाम परेको र यौनाङ्गको Labia minora मा घस्रिएको (Abrasion) घाउ रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिन आएको छ । वस्तुतः प्रतिवादीले पीडित परिवर्तित नाम ०७२-१ लाई इच्छाविपरीत जबरजस्ती करणीको कसुर गरेको वस्तुगत तथ्य प्रमाणसमेतबाट पुष्टि हुन आएको
पाइयो ।
१८. उल्लिखित तथ्य र कानूनसमेतको आधारमा पीडितको कथन घटनाको प्रत्यक्ष प्रमाण भएको र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका वस्तुगत प्रमाणहरूबाट निजको कथनलाई पुष्टि गरी प्रतिवादी चन्द्रबहादुर गाहाले निज पीडितलाई जबरजस्ती करणी गरेको भन्ने पुष्टि भएको देखिएको हुँदा यी पुनरावेदक प्रतिवादी चन्द्रबहादुर गाहालाई तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष कैद र १६ वर्षदेखि आँखा नदेख्ने ५९ वर्षकी अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेकोमा सोही महलको ३क नं. बमोजिम थप ५ वर्षसमेत गरी जम्मा १० वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिबापत रू.५०,०००।– (पचास हजार रूपैयाँ) भराइदिने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको फैसलालाई अन्यथा भएको हो भनी मान्न मिल्ने अवस्था देखिन नआएकोले प्रतिवादी चन्द्रबहादुर गाहाको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१९. तसर्थ, उल्लिखित आधार र कारणहरूसमेत सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७३।३।१२ को फैसलालाई सदर हुने ठहर्याएको उच्च अदालत पाटनको मिति २०७४।१।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी चन्द्रबहादुर गाहाको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृत : नारदप्रसाद भट्टराई
इति संवत् २०७७ साल असोज ११ गते रोज १ शुभम् ।