शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६८६ - लागु औषध (ब्राउन सुगर)

भाग: ६३ साल: २०७८ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्‍दमोहन भट्टराई

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।२।२०

०७५-CR-०६१२

 

मुद्दा : लागु औषध (ब्राउन सुगर)

 

पुनरावेदक / वादी : प्रहरी हवल्दार प्रभु कोहारको प्रतिवेदन जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही, सैनामैना नगरपालिका वडा नं. ४ बस्ने धनबहादुर कार्कीको छोरा राजन कार्की

 

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “साथमा” भन्ने बेहोरा उल्लेख भएकोबाट अभियुक्तको शरीर, निजले बोकेको वा निजको स्वामित्वको मालवस्तु र अन्य कुनै तेस्रो व्यक्तिको उपस्थिति नरहेको सवारी साधन, वाहन आदिमा फेला परेको हुनुपर्ने । 

(प्रकरण नं.६)

मानिसहरूको नियमित आउजाउ भइरहने बसपार्क जस्तो सार्वजनिक स्थलमा बस कुरिरहेको प्रतिवादी नजिकै भुइँमा भेटिएको लागु औषध यिनै प्रतिवादीले फालेको हो भनी यकिन गर्ने अवस्था 

नरहने । यी प्रतिवादी उभिएको स्थान नजिक बरामदित लागु औषध भेटिनु नै निज प्रतिवादीउपरको अभियोग कसुर प्रमाणित गर्ने ठोस आधार बन्न नसक्ने । 

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलाश के.सी.

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०७५, अङ्क १, नि.नं.९९३५

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

प्रमाण ऐन, २०३१

 

सुरू फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री श्रीप्रसाद संजेल

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री शकुन्तला घिमिरे

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:-

तथ्य खण्ड

जिल्ला रूपन्देही, सि.न.पा.वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीभन्दा ५० सेन्टिमिटर बाँयातर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेको भन्ने बेहोराको बरामदी तथा खानतलासी मुचुल्का । 

मिति २०७२।०६।१९ गतेका दिन बेलुका भारतको सुनौली बजारबाट लागु औषध ओसारपसार हुँदैछ भन्ने गोप्य रूपमा जानकारीप्राप्त हुनासाथ यस कार्यालयबाट मसमेतको टोली खटी जिल्ला रूपन्देही सि.न.पा.वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीभन्दा ५० सेन्टिमिटर बायाँतर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेकोले सो लागु औषधसहित मानिस पक्राउ गरी दाखिला गरेको भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।

प्रतिवादीको साथबाट बरामद भई आएको लागु औषध नमुना परीक्षणको लागि पठाइएको भन्ने बेहोराको मिति २०७२।०६।२० गतेको लागु औषध नमुना मुचुल्का ।

मिति २०७२।०६।१९ गतेका दिन म घरबाट लागु औषध सेवन गर्ने र ल्याउने भनी सोची भारतको सुनौली बजारमा गई घुमफिर गरी सुनौली बजारमा रहेको समिर मेडिकलमा मात्र ५० एम.एल को लागु औषध कोरेक्स सेवन गरी घरतर्फ जान भनी सि.न.पा.१३ भैरहवा बसपार्क आई बसपार्कको यात्रु प्रतिक्षालयको सिमेन्ट बेञ्चमा बसिरहेको समयमा प्रहरी कर्मचारी आई मलाई सोधपुछ गरी मेरो शरीर खानतलासी गर्दा लागु औषध मुद्धासँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको र म उभिएको स्थानभन्दा ५० सेन्टिमिटर फरकमा २ पुरिया लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेको थियो । सो लागु औषध ब्राउन सुगर मैले खरिद गरी ल्याएको होइन भन्ने बेहोराको प्रतिवादी राजन कार्कीको बयान ।

जिल्ला रूपन्देही सैनामैना नगरपालिका वडा नं. ४ स्थित प्रतिवादी राजन कार्कीको घर कोठा खानतलासी गर्दा लागु औषध मुद्धासँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्ने बेहोराको मिति २०७२।०६।२९ गतेको घर कोठा खानतलासी मुचुल्का ।

भौतिक सबुदमा हेरोइन पाइएको छ भन्ने बेहोराको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौंको पत्रसाथ प्राप्त लागु औषध नमुना परीक्षण प्रतिवेदन ।

मिति २०७२।०६।१९ गतेका दिन बेलुका जिल्ला रूपन्देही सि.न.पा.वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीको शरीरसमेतमा प्रहरीले खानतलासी गर्दा निज उभिएकोभन्दा ५० सेन्टिमिटर बाँयातर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेको थियो । उक्त लागु औषध आफनो साथमा लुकाई छिपाई ल्याएको र प्रहरीलाई देख्नासाथ जमीनमा खसालेका हुन्, सो लागु औषध प्रतिवादी राजन कार्कीले भारतको सुनौली बजारबाट खरिद गरी सञ्चय गरी बिक्री वितरण तथा सेवन गर्ने उद्धेश्यले ल्याएको हुनुपर्दछ भन्ने बेहोराको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी राजन कार्कीले भारतको सुनौलीबाट उक्त लागु औषध खरिद गरी घर फर्किने क्रममा प्रहरीले पिछा गरेका कारण आफू बच्नका लागि भुइँमा छाडेको सप्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादीलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ), (ङ) र (च) बमोजिमको अपराधमा सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको अभियोग माग दाबी ।

मिति २०७२।६।१९ गतेको साँझको समयमा म भारतको सुनौली गई समिर मेडिकलबाट रू.७५।- मा आधा बोतल लागु औषध कोरेक्स किनी खाई आएपछि घर जान भनी भैरहवा बसपार्कमा बस कुरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उक्त दिन मैले ब्राउन सुगर किनेर ल्याएको होइन । बरामदी मुचुल्कामा उल्लिखित २ पुरिया ब्राउन सुगर बसपार्कमा मेरो बाँया साइडको भुइँमा भेटिएको ठिक हो । सो लागु औषध ब्राउन सुगर कसको हो, किन ल्याए भन्ने मलाई थाहा भएन । मैले सुनौलीबाट खरिद गरी ल्याएको होइन । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेकोले सजाय हुनुपर्ने होइन भन्ने बेहोराको प्रतिवादी राजन कार्कीले सुरू अदालतमा गरेको बयान ।

पछि ठहरेबमोजिम हुने नै हुँदा हाल लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २१क ले निर्देश गरेबमोजिम विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) तथा मुलुकी ऐन अ.बं.११८ को देहाय २ नं. बमोजिम थुनामा राख्न पठाइदिनू । प्रतिवादी चुक्ता भइसकेको, प्रतिवादीले साक्षी नदिएकोले वादी पक्षका प्रतिवेदकलगायत मुचुल्काका मानिसहरूलाई मिति २०७२।९।५ गते बकपत्रको लागि झिकाउनु भन्ने मिति २०७२।८।१७ को रूपन्देही जिल्ला अदालतको आदेश ।

मिति २०७२।६।१९ गते १९:०० बजेको समयमा जिल्ला रूपन्देही सि.न.पा. वडा नं. १३ बसपार्कमा प्रतिवादी राजन कार्कीबाट लागु औषध ब्राउन सुगर २ पुरिया तौल गर्दा २ ग्राम २०० मिलिग्राम लागु औषध बरामद गरेको हुँ र आवश्यक कारबाहीको लागि पेस गरेको हुँ । निजलाई पक्राउ गर्दाको अवस्थामा निजले लागु औषध सेवन गरेकोजस्तो देखिन्थ्यो भन्ने बेहोराको प्रतिवेदक प्रभु कोहारले अदालतमा गरेको बकपत्र ।

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले आफू निर्दोष भएको प्रमाण पुर्‍याउने भार पनि प्रतिवादीमाथि नै रहेको र निजले नै ४/५ वर्ष पहिले ब्राउन सुगर सेवन गर्ने कुरा व्यक्त गरेको, लागु औषध खरिद गर्न र सेवन गर्न घरबाट हिँडेको भनी स्वीकार गरेको देखिँदा त्यस्तो बरामद लागु औषध आफ्नो होइन भनेपनि निजले आफू निर्दोष छु भन्ने तथ्ययुक्त र भरपर्दो प्रमाण पेस गर्न नसकेबाट यी प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको हुँदा निजलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को (छ) (१) बमोजिम ५ (पाँच) वर्ष कैद र रू.२५,०००।- (पच्चीस हजार) जरिवाना हुने ठहर्छ भन्ने रूपन्देही जिल्ला अदालतको मिति २०७२।११।३ को फैसला । 

प्रस्तुत मुद्दामा बरामद गरिएको भनिएको २ पुरिया लागु औषध मेरो साथबाट बरामद भएको होइन भन्ने तथ्यमा कुनै विवाद छैन । मेरो साथबाट फेला नपरेको वस्तुउपर मेले नै निदोर्षिता प्रमाणित गर्नु पर्छ भन्ने ने.का.प. २०५७, अङ्क २, नि.नं. ६८५२ पृष्टठमा प्रकाशित नजिर सिद्धान्तका आधारमा समेत प्रतिकूल छ । आरोपित कसुरमा म अनुसन्धानको क्रमदेखि नै इन्कार छु । बरामदी मुचुल्काले बसपार्कमा म बसेको स्थान नजिकै भुइँमा फेला पारेको भन्ने देखाइरहेको छ । बसपार्क जस्तो सार्वजनिक स्थलमा भेटिएको वस्तु मेरो नै हो भन्ने देखाउने कुनै पनि प्रमाण संकलित हुन सकेको छैन । मैले लागु औषध खरिद गरेको, कसैलाई बेच्न लागेको अन्यत्रबाट ओसारपसार गरेको भन्ने कहीँबाट पनि देखिएको छैन । बेबारिसे रूपमा भेटिएको वस्तुको मालिक संयोगवश त्यस्तो वस्तुको नजिकै उभिनुलाई मात्र बनाइनु न्यायसङ्गत हुँदैन । उक्त वस्तु मेरो नै हो भन्ने तथ्यगत रूपमा प्रमाणित हुन नसकेको अवस्थामा मलाई कसुरदार ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोपित कसुरबाट सफाई पाउँ भन्ने प्रतिवादी राजन कार्कीको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीले मौका तथा अदालतमा बयान गर्दासमेत आरोपित कसुरमा इन्कार रहेका र बरामदी मुचुल्काबाट समेत निजको सँगसाथबाट लागु औषध बरामद भएको नदेखिएको स्थितिमा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं.२०२ नं. को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, बुटवललाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७३/९/१७ को आदेश ।

प्रतिवादी राजन कार्की उभिइरहेको ठाउँबाट ५० सेन्टिमिटर बाँयातर्फ भुइँमा फालेको अवस्थामा लागु औषध बरामद भएको भनी बरामदी मुचुल्कामा उल्लेख गरेको, प्रतिवादीले मौका र अदालतमा बयान गर्दासमेत उक्त बरामद भएको लागु औषध आफूले नल्याएको भनी बयान गरेको, प्रतिवादीबाट लागु औषध बरामद नै नभएको अवस्थामा सुरू अदालतबाट प्रतिवादी राजन कार्कीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को (छ)(१) बमोजिम ५ वर्ष कैद र रू. २५,०००।- जरिवाना हुने ठहर्‍याई गरेको मिति २०७२।११।३ गतेको फैसला मिलेको नदेखिँदा सो फैसला बदर भई अभियोग मागदाबी पुग्न नसक्ने हुँदा प्रतिवादी राजन कार्कीले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।१।१२ को फैसला ।

प्रतिवादी राजन कार्की भारत लागु औषध सेवन गर्न गएको र कोरेक्स सेवन गरेकोमा साबित भएका छन् । निज उभिएको स्थानबाट हातले भेट्न सक्ने र फाल्न सक्ने ५० सेन्टिमिटर दुरीमा लागु औषध फेला परेको र खरिद गरी आफू सेवन गर्न हिँडेको कुरा स्वीकार गरेको, बरामद भएको स्थानमा अरू कोही व्यक्ति मौजुदा नरहेको स्थिति छ । तलासी लिने क्रममा बाँया हातमा मुट्ठीपारी ल्याएको लागु औषध निजले ५० सेन्टिमिटर बाँयातर्फ फालेको भन्ने प्रतिवेदन बेहोरालाई समर्थन गरी अदालतमा प्रतिवेदकले बकपत्र गरी पुष्टि गरिदिएको अवस्था छ । साथै "ठूलो सजायबाट बच्ने उद्देश्यले अपुष्ट जिकिर लिनु नै कसुर र सजाय परिवर्तन गर्ने आधार हुन नसक्ने" भनी (ने.का.प. २०६८, अङ्क १२, नि.नं. ८७२८) मा सिद्धान्त प्रतिपादनसमेत भएको सन्दर्भमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले प्रमाणको भार प्रतिवादीमा रहेको अवस्थामा केवल कुनै साक्षी सबुदद्वारा पुष्टि गर्न नसकेको निजको कोरा तथा अपुष्ट मौका र अदालतको इन्कारी बयानलाई आधार लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट रूपन्देही जिल्ला अदालतको फैसला उल्टी गर्दै प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको सर्वोच्च अदालतमा पर्न आएको पुनरावेदन पत्र ।  

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सक्कल मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ता कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री कैलाश के.सी.ले प्रतिवादी राजन कार्कीले बसपार्कमा प्रहरीलाई देखेपछि अपराधबाट बच्नका लागि हातमा भएको लागु औषध भुइँमा फालेका हुन् भन्ने कुरालाई प्रहरी प्रतिवेदन, बरामदी मुचुल्का तथा मौकामा बुझिएका व्यक्तिहरूको कागजबाट समेत पुष्टि गरेको छ । तत्काल सो ठाउँमा निज प्रतिवादीबाहेक कसैको आवागमन, चहलपहल छैन । निज प्रतिवादी उभिएको स्थान र सो फेला परेको लागु औषधको भौतिक दुरी मात्र ५० सेन्टिमिटर रहेको छ । निज प्रतिवादी भारत लागु औषध सेवन गर्न गएको र कोरेक्स सेवन गरेर आएको भनी साबिती बयान गरेको र सोही समयमा पक्राउ परेको अवस्था हुँदा उक्त बरामदित लागु औषध यिनै प्रतिवादीले बिक्री वितरणको लागि भारतबाट खरिद गरी लिएर आएको हो भन्ने तथ्य प्रमाणित भइरहेको स्थितिमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुरू रूपन्देही जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी प्रयोजनार्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रत्यर्थी झिकाई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

उपर्युक्त तथ्य एवम् बहस जिकिर समावेश भएको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गरेको फैसला मिलेको छ वा छैन । विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरबमोजिम प्रत्यर्थी झिकाउनु पर्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

निर्णयतर्फ विचार गर्दा, प्रतिवादी राजन कार्कीले भारतको सुनौलीबाट लागु औषध खरिद गरी घर फर्कने क्रममा प्रहरीले पिछा गरेका कारण आफू बच्नका लागि भुइँमा फालेको प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ)(ङ) र (च) बमोजिमको अपराधमा सोही ऐनको दफा १४(१)(६)(१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेतको अभियोग मागदाबी रहेकोमा सुरू रूपन्देही जिल्ला अदालतले निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम ५ वर्ष कैद र रू.२५,०००।- जरिवाना हुने ठहराई गरेको फैसला उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट उल्टी भई प्रतिवादीलाई सफाई दने ठहराई फैसला भएको रहेछ । उक्त फैसलाउपर चित्त नबुझाई वादी नेपालको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

२. सो सन्दर्भमा हेर्दा, प्रस्तुत मुद्दा प्रतिवेदक प्रभु कोहारको जाहेरी प्रतिवेदनबाट उठान भएको देखिन्छ । उक्त प्रतिवेदनको बेहोरा हेर्दा “मिति २०७२।०६।१९ गतेका दिन बेलुका भारतको सुनौली बजारबाट लागु औषध ओसारपसार हुँदैछ भन्ने गोप्य रूपमा जानकारी प्राप्त हुनासाथ यस कार्यालयबाट मसमेतको टोली खटी जिल्ला रूपन्देही सि.न.पा. वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीभन्दा ५० सेन्टिमिटर बायाँतर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेकोले सो लागु औषधसहित मानिस पक्राउ गरी दाखिला गरेको” भन्ने देखिन्छ । त्यसैगरी मिसिल संलग्न मिति २०७२।०६।१९ को बरामदी तथा खानतलासी मुचुल्कामा “जिल्ला रूपन्देही, सि.न.पा.वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीभन्दा ५० सेन्टिमिटर बाँयातर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेको” भन्ने बेहोरा उल्लेख भएको देखिन्छ ।

३. यी प्रतिवादी राजन कार्कीले मौकामा र अदालतमा गरेको बयान हेर्दा निज लागु औषध सेवन गर्ने उद्देश्यले भारतको सुनौली बजार गएको, त्यहाँको समिर मेडिकल हलमा ५० एम.एलको लागु औषध कोरेक्स किनी सेवन गरी घरतर्फ जान भैरहवा बसपार्कको प्रतिक्षालयमा बुटवल जाने बस कुरी बसिरहेको अवस्थामा सादा पोसाकमा प्रहरी आई नियन्त्रणमा लिई खानतलासी गरेको, खानतलासी गर्दा कुनै मुद्दासँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको र आफूले बस कुरेको स्थानभन्दा ५० सेन्टिमिटरको दुरीमा २ पुरिया लागु औषध फेला परेको हो । उक्त लागु औषध आफूले ल्याएको होइन भनी आरोपित कसुरमा इन्कारी रहेको पाइयो ।

४. त्यसैगरी प्रतिवेदक प्रभु कोहारले अदालतमा उपस्थित भई बकपत्र गर्दा सवाल जवाफ नं.५ मा “मिति २०७२/६/१९ गते १९:०० बजेको समयमा रूपन्देही जिल्लाको सि.न.पा. १३ बसपार्कमा राजन कार्कीबाट लागु औषध ब्राउन सुगर २ पुरिया तौल गर्दा २ ग्राम २०० मिलिग्राम लागु औषध बरामद गरेको हुँ” भनी उल्लेख गरेको पाइयो । तर यी प्रतिवेदक प्रभु कोहारले मौकामा आफूसमेतले तयार गरेको बरामदी मुचुल्का एवम् प्रतिवेदनमा प्रतिवादी राजन कार्कीको साथबाट लागु औषध ब्राउनसुगर फेला परेको भन्ने उल्लेख भएको देखिँदैन । त्यसैले निजले अदालतमा वादीको साक्षीको रूपमा उपस्थित भई बकपत्र गर्दा बरामदी मुचुल्काभन्दा पृथक बेहोरा लेखी बकपत्र गरेको पाइँदा त्यस्तो बकपत्रले मान्यता पाउन सक्ने देखिन आएन ।

५. अब जहाँसम्म प्रतिवादीले आफ्नो निर्दोषिता प्रमाणित गर्न नसकेको भन्ने जिकिर छ, लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “कुनै व्यक्तिका साथमा कुनै लागु औषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफिम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागु औषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागु औषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको केही कसर निजको साथमा राखिएको फेला परेमा त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेस गर्नुपर्ने छ । त्यस्तो प्रमाण पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने छ” व्यवस्था रहेको देखिन्छ ।

६. उक्त दफामा “साथमा” भन्ने बेहोरा उल्लेख भएकोबाट अभियुक्तको शरीर, निजले बोकेको वा निजको स्वामित्वको मालवस्तु र अन्य कुनै तेस्रो व्यक्तिको उपस्थिति नरहेको, सवारी साधन, वाहन आदिमा फेला परेको हुनुपर्छ । यहाँ बस बिसौनी जस्तो सार्वजनिक स्थानमा निज उभिएभन्दा ५० सेन्टिमिटरको दुरीमा भुइँमा लागु औषध ब्राउन सुगर भेटिएको छ । बरामदी मुचुल्कामा निजले प्रहरीलाई देखी फालेको अवस्थामा भेटिएको भन्ने उल्लेख भएको अवस्था छैन । यसबाट निजको साथमा लागु औषध राखिएको अवस्थामा भेटिनु पर्ने भन्ने ऐनको अनिवार्य आवश्यकता रहेकोमा मिसिलको तथ्यबाट सो कुरा नदेखिँदा निर्दोषिता प्रमाणित गर्नुपर्ने भार प्रतिवादीमा रहन्छ भन्न मिल्ने देखिएन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा रहेको व्यवस्था निर्दोषिताको सामान्य नियमभन्दा फरक अपवादात्मक व्यवस्था हो । यो व्यवस्थाको सबै सर्तहरू पूरा नभएको अवस्थामा दोषी प्रमाणित गर्नुपर्ने भार वादी पक्षमा नै रहन्छ । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार प्रतिवादीउपर आफूले लगाएको अभियोग प्रमाणित गर्ने भार वादीमा हुने कानूनी व्यवस्था रहेको सन्दर्भमा वादी पक्ष सो दायित्वबाट उन्मुक्ति पाउने देखिन्छ । 

७. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा वादी पक्षबाट प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको हो भन्ने तथ्ययुक्त प्रमाण पेस गर्न सकेको देखिँदैन । मानिसहरूको नियमित आउजाउ भैरहने बसपार्क जस्तो सार्वजनिक स्थलमामा बस कुरिरहेको प्रतिवादी नजिकै भुइँमा भेटिएको लागु औषध यिनै प्रतिवादीले फालेको हो भनी यकिन गर्ने अवस्था रहँदैन । यी प्रतिवादी उभिएको स्थान नजिक बरामदित लागु औषध भेटिनु नै निज प्रतिवादीउपरको अभियोग कसुर प्रमाणित गर्ने ठोस आधार बन्न नसकी केवल शंकासम्म गर्न सकिने अवस्था रहन्छ । वादी पक्षबाट निज प्रतिवादीउपरको अभियोग तथ्ययुक्त रूपमा प्रमाणित गर्न सकेको अवस्था छैन । “अभियोजन पक्षले प्रतिवादी नै प्रमाणित गर्न नसकेको अवस्थामा प्रमाणको भार रहेको वा सरेको भन्ने कानूनी व्यवस्थाको आधारमा वादीले पूरा नगरेको दायित्व प्रतिवादीले पुरा गर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने” भनी नेपाल सरकार वि. सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) (ने.का.प. भाग-६०, अङ्क १, नि.नं.९९३५) सिद्धान्त प्रतिपादित भएको अवस्थासमेत छ । लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ को कानूनी प्रावधानबमोजिम प्रतिवादीले आफ्नो निर्दोषिता प्रमाणित गर्न सक्नुपर्ने पूर्वावस्था नै सिर्जना भएको भन्न मिल्ने नभएबाट प्रतिवादीले आफ्नो निर्दोषिता प्रमाणित गर्न नसकेको भन्दै निजलाई आरोपित कसुरमा कसुरदार ठहर गरी सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर एवम् विद्वान् उपन्यायाधिवक्ताको बहससमेतसँग सहमत हुन सकिएन ।

८. तसर्थ,  माथि उल्लेखित आधार कारणसमेतबाट प्रतिवादी राजन कार्कीलाई सुरू रूपन्देही जिल्ला अदालतले अभियोग दाबीबमोजिम ५ वर्ष कैद र रू.२५,०००।– जरिवाना हुने ठहर्‍याई गरेको फैसलालाई उल्टी गरी निज प्रतिवादीलाई सफाइ दिने ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४/१/१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.सुष्मालता माथेमा

 

इजलास अधिकृत: कर्णबहादुर राई

इति संवत् २०७७ साल जेष्‍ठ २० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु