शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७३९ - ज्यान मार्ने उद्योग

भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७८।३।२९

०७४-CR-०५०३

 

मुद्दा : ज्यान मार्ने उद्योग

 

पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला, फुलासी गाउँ विकास समिति वडा नं. ८ घर भई हाल कारागार कार्यालय, इनरूवा, सुनसरीमा कैदका रहेको जीवन वि.क.

विरूद्ध

प्रत्यर्थी / वादी : प्रेमबहादुर मगरसमेतको जाहेरीले नेपाल सरकार

 

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍ने देखीबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको 

देखिन्छ । ऐनमा भएको “... मार्नको लागि अरू जुनसुकै कुराको उद्योग गरी” भन्‍ने बेहोरा उल्लेख भएबाट नै यसको दायरा फराकिलो रहेको स्पष्ट छ । तसर्थ, एसिड प्रहार भन्ने शब्द ऐनमा नपरेकै कारणबाट यसलाई ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भन्नु न्याय र कानूनसम्मत नदेखिने । 

ज्यान मार्ने उद्योगको कसुर हुनको लागि ज्यान मार्ने मनसायले गोली चलाएको वा बम हानेको वा घातक हतियारले काटेको वा मार्नका लागि अरू जुनसुकै कार्य गरेको भनी स्पष्ट उल्लेख भएबाट अब एसिड प्रहार सम्बन्धमा ज्यानसम्बन्धी १५ नं.मा कहीँकतै उल्लेख नगरिएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भनी मान्न नमिल्ने । 

(प्रकरण नं.५)

एसिड आक्रमणका कारण पीडितमाथि पर्ने जीवनपर्यन्तको गम्भीर शारीरिक र मानसिक क्षतिलाई हेर्दा यसलाई अक्षम्य, असभ्य र हृदयविहीन व्यक्तिले घटाउने अपराध मान्नुपर्दछ । समयमा उपचार नपाएमा ज्यानै जान सक्ने एसिड आक्रमणको घटनाबाट बाँचेका व्यक्तिहरू बाँकी जीवन लज्जा, अपहेलना र भेदभावपूर्ण व्यवहारको बिच बाँचेका छैनन् भनी भन्न नसकिने हुँदा एउटा व्यक्तिको समग्र भविष्यलाई नराम्रोसँग असर पारी असामान्य चरम पीडाको अवस्थामा पुर्‍याउने एसिड आक्रमणका कसुरदारलाई क्रुरताकै रूपमा मान्नुपर्दछ । सामान्य जीवन बाँचेको व्यक्तिलाई आफैँले चिन्न नसक्ने अवस्थामा पुर्‍याई उसको हत्या गर्ने वा आत्मसम्मान र मनोबल नै खस्किने गरी कुत्सित मनसायका साथ घटाइने एसिड आक्रमणका घटनाले मूलतः भर्खरै नयाँ भविष्यको मार्गमा अघि बढिरहेका कैयौं युवतीहरूको जीवन क्षत विक्षत बनाएको पाइन्छ । तसर्थ, दोषी व्यक्ति कानूनले तोकेको उच्चतम सजायको भागी हुन योग्य मानिनुपर्ने । 

(प्रकरण नं.६)

योजनावद्ध रूपमा पूर्वतयारीका साथ मनसायप्रेरित आपराधिक कार्यको प्रकृतिअनुसार तत्काल प्रभावकारी उपचार उपलब्ध नभएको भए पीडितको ज्यान जाने अवस्था सिर्जना हुन्छ भने त्यहाँ ज्यान मार्ने उद्योग कसुर कायम गर्न तेस्रो बाहिरी अप्रत्यासित हस्तक्षेपको कारणले ज्यान मर्न नपाएको भनी दाबी लिने अवस्था नदेखिने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री मोहन साशंकर, श्री श्यामकुमार विश्वकर्मा र श्री बद्रीप्रसाद भुसाल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल

अवलम्बित नजिर :

ने.का.प.२०४३, नि.नं.२६१७

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री हरिप्रसाद के.सी.

काठमाडौं जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे

माननीय न्यायाधीश श्री शान्तिसिंह थापा

उच्च अदालत पाटन

 

फैसला

न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजि पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

तथ्य खण्ड

मिति २०७१/११/१० गते अं.०६:१५ बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२३ झोछें स्थितमा रहेको A-Plus टिउसन सेन्टरको कक्षा कोठाभित्र पढ्न बसिरहेकी संगिता मगरसमेतलाई अपरिचित मानिसले एसिड जस्तो प्रज्ज्वलनशील पदार्थ छर्की फरार भएकोमा उक्त घटनास्थलको कोठा तथा भुइँमा कालो एसिड जस्तो पदार्थ रहेको झोलासमेतमा कालो पदार्थ लागी प्वाल परेको, उक्त वारदात स्थलको बाहिर भुइँमा हरियो पोलिथिनभित्र कालो पदार्थसहितको बोटलका टुक्राहरू र कोठाको बिचौं भागको डेस्क बेञ्चमाथि लागेको कालो एसिड जस्तो पदार्थको कटन स्वाव र झोलासमेत बरामद भएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

मिति २०७१/११/१० गते अं.०६:१५ बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२३ झोछें स्थितमा रहेको A-Plus टिउसन सेन्टरमा खैरे खैरे रंगको खुइलिएको जस्तो हुक (हुड) ज्याकेट, मुखमा कालो मास्क, टाउकोमा हुकको टोपी लगाएको अं.५ फिट ३ इन्च जति उचाइ भएको पातलो ठिक्कको शरीर, पछाडि कालो झोला बोकेको अं. १९/२० वर्ष जतिको पुरूष व्यक्तिले एसिड प्रहार गरेको भन्नेसमेत बेहोराको हुलिया निवेदनपत्र । 

मिति २०७१/११/१० गते अं. ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२३ झोछें स्थित रहेको A-Plus टिउसन सेन्टरको कक्षा कोठाभित्र पढ्न बसेका सिमा बस्नेत र संगिता मगरको शरीरमा यकिन नाम, थर, वतन नखुलेको व्यक्तिले अति प्रज्ज्वलनशील पदार्थ एसिड फ्याँकी निजहरू घाइते भएकोमा ज्यान मार्ने उद्योग घटना सम्बन्धमा घटनास्थलको फोटो तथा घाइतेद्वय सिमा बस्नेत र संगिता मगरको अस्पतालमा उपचार गराइरहेको अवस्थामा लिइएको (खिचिएको) छायाँ चित्रहरू (फोटोहरू) समेत प्रमाणमा लगाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवेदन ।

मिति २०७१/११/१० गते उपचारको क्रममा यस अस्पतालको प्लाष्टिक सर्जरी वार्डमा भर्ना भई उपचार गराइरहेकी संगिता मगरको (Multiple blackish spot (Acid Burn) fusion over face, neck, chest T B/L Brest, at hand, B/L thigh (face and neck 6% RE Upper limb 6% RI Thigh 3%) burn around 15% superficial to deep burn persist 4 Involvement of B/L eyes RF eye: shade III chemical injury, Left eye: Grade I chemical injury chemosist congcrian (t) B/L eye र Infection भएमा ज्यानलाई खतरा हुने) भन्नेसमेत संगिता मगरको घाउ जाँच केस 

फाराम ।

सिमा बस्नेतको टाउको वरिपरि, अनुहार, नाक, घाँटीसमेतमा एसिड केमिकलले जलाएको भन्ने बेहोराको घाउ जाँच केस फाराम ।

म विगत २ हप्तादेखि काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२३ झोछेंस्थित A-Plus ट्‍युसन सेन्टरमा बिहान गणित विषय र विज्ञान विषयको ट्युसन पढ्ने हुँदा मिति २०७१/११/१० गते बिहान ०५:१५ बजेदेखि ०६:१५ बजेको समयमा म सोही ट्युसन कक्षामा थिएँ । घाइते संगिता मगर र सिमा बस्नेत पनि सोही सेन्टरमा गणित र विज्ञान विषयको ट्युसन पढ्ने हुँदा निजहरूलाई चिन्दछु । उक्त मितिको बिहान म र संगिता मगर गणित विषयको ट्युसन पढ्न भनी त्यहाँ थियौँ, उक्त दिन भित्रबाट ढप्काइएको ढोका अपरिचित व्यक्तिले अं.०६:१५ बजेको समयमा खोली संगिताको अनुहारमा एक्कासी फालेपछि सोही स्थाननेर उभिएकी सीमा बस्नेतलाई समेत पर्न गई घाइते भएकी हुन् । उक्त व्यक्तिले संगिता मगरलाई नै लक्षित गरी ज्यानै मार्ने मनसायले एसिड फालेको विश्वास लाग्छ । संगिता मगरलाई एसिड हान्ने व्यक्तिले जोडले फ्याँक्दा झोलामा समेत पर्न गई प्वाल बनेको हुनु पर्दछ । एसिड जस्तो प्रज्ज्वलनशील पदार्थ साथमा बोकी ल्याई घाइतेको शरीरमा फाली ज्यान मार्ने उद्योग गर्ने व्यक्तिको खोजतलास गरी कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्दछ भन्ने बेहोराको जेनिका भन्ने हेमु मुखर्जीले गरेको कागज । 

जीवन वि.क.को कोठाबाट कालो रंगको कलर्स मोबाइल, जीवन वि.क. नामको नागरिकता प्रमाण पत्र, पब्लिक युथ क्याम्पसको जीवन वि.क.को नामको आई कार्ड, नेपाल इन्भेष्टमेन्ट बैंकको चेक बुक, एटियम कार्ड, रकम निकालेको स्लिप, पत्र पत्रिकाहरू, प्रमाण पत्र, केमल माउन्टेन लेखिएको कालो रगको झोला, निलो रंगको उडी बाहिरी भाग खैरो फुर्सो देखिने टाउकोको भागको कपडाको भागमा सेतो रातो बुट्टा भएको डोरीवाला चेन लगाउने हुक थान १ समेत फेला परी बरामद भएको भन्ने मिति २०७१/१२/०६ खानतलासी बरामदी मुचुल्का । 

मिति २०७१।११।१० गते बिहान ०६:१५ बजेको समयमा शिव सापकोटाले सञ्चालन गरेको ए प्लस ट्युसन सेन्टरमा अध्ययनरत संगिता मगर र सिमा बस्नेतको अनुहारसमेतमा पोली गम्भीर घाइते भएको भन्ने घटना सम्बन्धमा सूचना सङ्कलन गरी छानबिन गर्दै जाँदा उक्त हुलिया विवरणसँग मिल्दो जुल्दो व्यक्ति जीवन वि.क. भएको र जीवन वि.क.ले संगिता मगरलाई ज्यानै लिने मनसाय राखी योजना बनाई संगिता मगरलाई मार्ने उद्देश्यले प्रज्ज्वलनशील पदार्थ एसिड ल्याई राखी घटना घटाएको भन्ने विशेष गोप्य सूचना प्राप्त भएअनुसार खोजतलास गर्दै जाँदा मिति २०७१।१२।०५ गते राति अं. १४:०० बजेको समयमा काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं.५ विनायकमार्गस्थित किरण डंगोलको घरको दोस्रो तलाको कोठा भाडामा लिई बसेको अवस्थामा जीवन वि.क.लाई फेला पारी निज तथा निज बसेको कोठा खानतलासी गर्दा उक्त घटना घटाउँदाको अवस्थामा अभियुक्तले प्रयोग गरेको झोला, माक्स, हुक र कलर्स कम्पनीको मोबाइल सेट, सिमकार्डहरू, मेमोरी कार्ड, जीवन वि.क. नामको नागरिकता प्रमाणपत्र, इन्भेष्टमेन्ट बैंकसमेतको भिषा कार्डहरू, इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरूबाट रकम निकालेको स्लिपहरू, जीवन खड्का तथा जीवन वि.क. नामको प्रमाण पत्र, उक्त घटनापछि नागरिक दैनिक पत्रिकामा प्रकाशित भएका समाचारहरू रहेको नागरिक दैनिक पत्रिकाहरूसमेतका दशीहरू फेला पारी बरामद गरी मुचुल्कासहित जीवन वि.क.लाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा सोधपुछ गर्दा संगिता मगरसमेतलाई पूर्वरिसइवीका कारण बदला लिने उद्देश्यले योजना बनाउने क्रममा Life OK च्यानलमा आउने सावधान इन्डिया भन्ने कार्यक्रममा विभिन्न आपराधिक घटना तथा एसिडसम्बन्धी घटनाहरू हेर्दा संगिता मगरसमेतलाई एसिड प्रहार गरी मार्ने योजना बनाई मिति २०७१।११।१० गते बिहान अं.०५:४५ बजे बसन्तपुरमा आइपुगी संगिता मगरसमेत ट्युसन पढ्ने गरेको ए प्लस ट्युसन सेन्टरअगाडि गई एसिड प्रहार गरी मार्छु भनी कठोर मन बनाई झोलामा रहेको हर्लिक्सको बोटलमा रहेको एसिडको बोटलको बिर्को खोली बोटलको बाहिर प्लाष्टिकले बेरी हातले समाई संगिता मगरसमेत रहेको कक्षा कोठाको ढोका खोली संगिता मगरसमेतलाई एसिड प्रहार गरी एसिडको बोटल बाहिर फ्याँकी भागेको भनी निज जीवन वि.क.ले मौखिक रूपमा बताएकाले निजलाई पक्राउ गरी बरामदी मुचुल्का तथा मुचुल्कामा उल्लिखित दशीसहित ज्यान मार्ने उद्योग मुद्दामा आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

मिति २०७१।११।१० गते बिहान संगिता मगर र सिमा बस्नेत रूँदै कराउँदै आएको र हेर्दा अनुहार तथा कपडाहरू जलेको अवस्थामा गम्भीर घाइते अवस्थामा देखेपछि तत्कालै वीर अस्पतालमा उपचार गराउन लगी उपचार गराउँदा म जाहेरवाला प्रेमबहादुर मगरको छोरी संगिता मगरको त्यहाँ उपचार हुन नसकी काठमाडौं मेडिकल कलेजमा लगी उपचार गराइरहेको र जाहेरवाला डम्बरबहादुर क्षेत्रीको छोरी सिमा बस्नेतको वीर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकोले हामी जाहेरवालाको छोरीहरूको ज्यानै मार्ने मनसायले अति प्रज्ज्वलनशील पदार्थ एसिड मानिसको शरीरमा छर्किदा मृत्यु हुन्छ भन्ने कुरा थाहा पाई ज्यानै मार्ने मनसायले एसिड छर्केको र छोरीहरूको गम्भीर अवस्थामा उपचार भइरहेको हुँदा प्रतिवादी जीवन वि.क.उपर मुलुकी ऐन, ज्यान मार्ने उद्योग मुद्दामा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको प्रेमबहादुर मगरसमेतको मिति २०७१/१२/०५ को संयुक्त जाहेरी दरखास्त । 

घटनास्थलबाट उठाइएका घाइतेहरूको झोला, घाइतेले लगाएको कपडा, वारदातस्थल नजिक रहेको सिसिसमेतमा सल्फ्युरिक एसिड पाइयो भन्ने बेहोराको मिति २०७१/११/१७ परीक्षण प्रतिवेदन ।

म विगत ३ वर्षअगाडिदेखि काठमाडौं जिल्ला, बसन्तपुर झोंछेस्थित डेरा कोठा लिई बुबा, आमा, भाइ, बहिनी, दिदीसमेत सँगै रही बस्दै आई पब्लिक युथ क्याम्पसमा बि.बि.ए. मा अध्ययन गर्दै 

थिएँ । हामी बस्दै आएको घरको तल्लो तलामा संगिता मगर आफ्नो बुबा, आमा तथा भाइसमेत सँगसँगै कोठामा बस्दै आउँदाको अवस्थामा करिब ३ वर्षअगाडिदेखि संगिता मगरसँग मेरो चिनजान भएको 

हो । संगिता मगर मसँग गणित, विज्ञान र अङ्ग्रेजी विषयमा टिउसन पढ्न भनी मेरो कोठामा आउने जाने क्रम जारी रहँदाको अवस्थामा संगिता र मेरो एक आपसमा प्रेम सम्बन्ध गाँसिन पुग्यो । संगिता मगरले पनि मलाई मन पराउने भएकोले हामी दुवै जनाले पछि विवाह गर्ने भनी कुराकानीसम्म भइसकेपछि एकाएक मेरो थर वि.क. भएको थाहा पाई मलाई कामी पानी नचल्ने जात भनी घृणा गरी संगितासमेतलाई कुटपिट गरी मबाट टाढिन बाध्य बनाइसकेपछि मलाई संगिता मगरले समेत कामी भनी घृणा गर्न थालिन् । सोही क्रममा संगिता मगरका घर परिवारसमेतसँग मेरो घरपरिवार बुबा आमासमेतसँग झगडा भइसकेपछि संगीता मगरका घर परिवारसमेतले सदैव घृणा गर्ने अवस्था आइसकेपछि मैले सोको बदला लिने योजना बनाएँ । मैले सुरूमा रडसमेत साथमा बोकी संगिता मगरको हातखुट्टा भाँचिदिनेसम्मको योजना बनाएँ तर सो कार्य गर्न म सफल हुन सकेन । म झन्‌झन् तनावको स्थितिमा बदला लिने भन्नेतर्फ सोच्दासोच्दै मैले इन्डियन सिरियल हेर्दाको अवस्थामा एसिड प्रहार गरी हत्या गर्न सजिलो हुने देखिसकेपछि सोहीअनुसार एसिड खरिद गरी आफूलाई सुन्दर अनुहार भनी मलाई कामी पानी नचल्ने जातको भनी घृणा गर्ने संगिता मगरको अनुहारमा एसिड प्रहार गरी कुरूप बनाई मार्ने योजना बनाइसकेपछि बाबु आमासमेतलाई आफू सिक्किम जान्छु भनी निस्की केही दिनसम्म काठमाडौंका विभिन्न होटल लजहरूमा समेत बसी संगिता मगरको रेखदेख चियो गर्दाका अवस्था न्युरोडस्थित प्रकाश ब्याट्री पसलमा गई एसिड माग्दा पसलेले कुन खालको एसिड दिने भनी सोध्दा मैले कडा खालको एसिड दिनुहोस् भनी रू.१२५/- मा बियरको बोतलभित्र रहेको एसिड खरिद गरी ल्याई राखी सोही एसिड संगिता मगरलाई प्रहार गर्ने भनी योजना बनाई रहेँ तर मैले संगिता मगरलाई प्रहार गर्न सफल भएन । बुबा आमालाई थाहा नदिई केही महिनाअगाडिदेखि टोखास्थित डेरा कोठा लिई बस्दै आएँ । पुनः बदला लिने योजना बनाएँ । कोठामा राखेको एसिडको बोतललाई हर्लिक्सको बोतल ल्याई खन्याई राखी मिति २०७१।११।१० गते बिहान संगितालाई उक्त बोतलको एसिड प्रहार गर्ने भनी बिहान ५ बजे उठ्ने अलार्म बजाई ५ बजे उठी एसिडको बोतल निलो रङको पलाष्टिकको झोलामा राखी क्यामेल माउन्टेन लेखेको कालो झोलामा राखी ग्रे कलरको हुक लगाई बिहान ०५।०५ बजेको समयमा जमलसम्म आई इन्द्रचोक हुँदै बसन्तपुर आई पुगेँ । झोंछेतर्फ जाँदा बाटोमा कसैलाई नदेखेपछि पुनः बसन्तपुर डबलीतर्फ फर्केँ । “A-Plus Tuition Center” रहेको कोठाभित्र बत्ती बलेको ढोका हल्का लगाएको देखी सो स्थानमा गई बाहिरबाट हेर्दा संगिता मगरलाई देखेँ । अर्की २ जना बोर्डनजिकै उभिई रहेको पनि देखेँ । सोही अवस्थामा मैले संगितालाई एसिड प्रहार गर्न खोजेँ तर सकिन । फेरी फर्केर बसन्तपुर डबलीमा आएर सोच बनाई उक्त सेन्टरको ढोका खोली प्रवेश गरी बोतलको बिर्को खोली संगिताको अनुहारमा प्रहार गरेँ । एसिडको बोतल कोठा बाहिर फालेर बसन्तपुर ठमेल हुँदै माइक्रो बस चढी टोखास्थित कोठामा आई बसेँ । मलाई झन् तनावको स्थिति सिर्जना भयो । प्रत्येक दिनको पत्र पत्रिकाहरू पढेँ । अब आफूलाई प्रहरीले पक्राउ गर्ने भयो भनी मलाई झन् झन् तनाव हुन थाल्यो । मिति २०७१।११।२२ गतेका दिन सिक्किमतर्फ जाने सोच बनाई सिक्किम जान भनी काठमाडौंबाट काँकडभित्ता गई केहीदिन काँकडभिट्टा बसी त्यहाँबाट सिक्किम गई ४ दिन बसी मिति २०७१।११।२८ गते काठमाडौंस्थित टोखामा आई डेरा कोठामा बसिराखेको अवस्थामा मिति २०७१।१२।०५ गते राति अन्दाजी २४:०० बजेको समयमा काठमाडौं जिल्ला, टोखास्थित डेरा कोठाबाट पक्राउमा परी आएको हुँ भन्ने मसेत बेहोराको प्रतिवादी जीवन वि.क.ले गरेको मिति २०७१/१२/१० को बयान कागज ।

मैले घाइते संगिता मगरलाई चिन्दछु । संगितासहित निजको आमा, बाबु भाइसमेत विगत केही वर्षअगाडिदेखि काठमाडौं जिल्ला, बसन्तपुर झोछेस्थित राजु मास्केको घरको तल्लो तलामा रहेको कोठा बहालमा लिई बस्दै रहँदै आएको थिएँ । घाइते संगिता मगरसमेत बस्दै आएको घरको माथिल्लो तलामा हाल पक्राउमा परेका प्रतिवादी जीवन वि.क.सहित निजको बुबा, आमा, भाइ बहिनी तथा दिदीसमेतका परिवारसमेत कोठा लिई बस्दै आएको थिएँ । करिब डेढ वर्षअगाडि प्रतिवादी जीवन वि.क. र घाइते संगिता मगरसमेतका परिवारबिच एक आपसमा झै-झगडा भएको थियो सोही बेला हामीहरूले त्यसरी झै-झगडा नगर भनी आपसमा सम्झाई बुझाई गरिदिएका 

थियौँ । सोही बेला हाल पक्राउमा परेका प्रतिवादी जीवन वि.क.ले मैले त्यसै छोडदिन जसरी पनि संगिता मगरको घर परिवारसमेतसँग बदला लिएर छाड्छु भन्नेसम्म कुरा गरेका थिए । मिति २०७१।११।१० गतेका दिन बिहान टिउसन पढ्न गएकी संगिता मगर तथा सिमा बस्नेतसमेतलाई एसिड प्रहार गरी घाइते बनाई घाइते संगिता मगरले शरीरमा लगाएको कपडासमेत जली संगिता मगर रूँदै कराउँदै निजको साथीमार्फत डेरा कोठामा घाइते अवस्थामा आएको हामीहरूले देखेका हौँ । देखिसकेपछि संगिताको शरीरमा पानीसमेत खन्याई निजको आमासमेतले तत्कालै उपचारको लागि लिई गएको मैले देखेको हुँ । प्रतिवादी जीवन वि.क.ले संगिता मगर र सिमा बस्नेतउपर एसिड प्रहार गरी घाइते बनाएको हुँदा प्रतिवादीउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ठाकुरबहादुर पुलामीसमेतको मिति २०७१/१२/१३ को कागज । 

हामीहरूले घाइते संगिता मगरलाई चिन्दछौं । संगिता मगरसमेत बस्दै आएको घरको माथिल्लो तलामा हाल पक्राउमा परेका प्रतिवादी जीवन वि.क.सहित निजको बुबा, आमा, भाइबहिनी तथा दिदीसमेतका परिवारसमेत कोठा लिई बस्दै आएको थिए । करिब डेढ वर्षअगाडि प्रतिवादी जीवन वि.क. र घाइते संगिता मगरसमेतका परिवारबिच एक आपसमा झै-झगडा भएको थियो सोही बेला हामीहरूले त्यसरी झै-झगडा नगर भनी आपसमा सम्झाई बुझाई गरी दिएका 

थियौं । सोही बेला हाल पक्राउमा परेका प्रतिवादी जीवन वि.क.ले मैले त्यसै छोड्दिन जसरी पनि संगिता मगरको घर परिवारसमेतसँग बदला लिएर छाड्छु भन्नेसम्म कुरा गरेका थिए । मिति २०७१।११।१० गतेका दिन बिहान टिउसन पढ्न गएकी संगिता मगर तथा सिमा बस्नेतसमेतलाई एसिड प्रहार गरी घाइते बनाई घाइते संगिता मगरले शरीरमा लगाएको कपडासमेत जली संगिता मगर रूँदै कराउँदै निजको साथीमार्फत डेरा कोठामा घाइते अवस्थामा कराउँदै आएको हामीहरूले देखेका हौँ । हामीहरूले संगिताको शरीरमा पानीसमेत खन्याई निजको आमासमेतले तत्कालै उपचारको लागि लिई गएको मैले देखेको हुँ । प्रतिवादी जीवन वि.क.ले संगिता मगर र सिमा बस्नेतउपर एसिड प्रहार गरी घाइते बनाएको हुँदा निजउपर कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने बेहोराको मिति २०७१/१२/१३ को बिन्दा श्रेष्ठसमेतले गरिदिएको कागज । 

घाइते संगिता मगर मेरो आफ्नै छोरी हुन् । सिमा बस्नेत संगिता मगरसँगै टिउसन पढ्ने साथी हुन् । मेरो छोरी “A-Plus Tuition Center” मा जाने गर्थिन् । मिति २०७१।११।१० गते बिहान टिउसन पढ्न गएको अवस्थामा सोही दिन बिहान अं. ०६:२० बजेको समयमा पोल्यो पोल्यो भनी रूँदै कराउँदै शरीरमा लगाएको कपडासमेत जली प्वाल परिरहेको अवस्था चिच्याउँदै साथी हेमु मुखर्जीसमेत रूँदै कराउँदै कोठामा आइसकेपछि मैले तत्कालै संगिताको शरीरमा पानी खन्याई दिई उपचारको लागि वीर अस्पतालमा लिई गई त्यहाँ उपचार नहुने भनी तत्कालै काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा रिफर गरी दिएपछि मैले सो अस्पतालमा पुर्‍याई हाल संगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । जीवन वि.क.ले जीवन खड्का भनी आफ्नो परिचय दिएको र निजले छोरी संगितालाई बेलाबेला जिस्काउने बाटो छेक्ने जस्ता काम गरेको भनी मलाई छोरीले भनिसकेपछि मैले जीवन वि.क.लाई छोरीलाई त्यसरी नजिस्काउनु, जिस्काउनु राम्रो हुँदैन भनी बेलाबेलामा सम्झाउँदै आएकोमा करिब डेढ वर्षअगाडि छोरी संगितालाई जिस्काएको विषयमा जीवन वि.क.लाई पटकपटक सम्झाउँदासमेत पनि नमानेपछि हामी घर परिवारसँग निज जीवन वि.क.सहितका निजका बाबु, आमा, भाइबहिनी, दिदीसमेतसँग सोही स्थानमा झगडा भएको थियो । झगडाका क्रममा जीवन वि.क.ले हामीलाई जसरी भए पनि बदला लिएर छाड्छु भनी धाक धम्की दिएका थिए । प्रतिवादीले नै हामी घर परिवारमाथि बदलाको भावना राखी मेरो छोरी संगिताको ज्यानै मार्ने उद्देश्यले एसिड मानिसको शरीरमा प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा थाहा पाई जानी जानी मेरो छोरी संगिता तथा निजसँगै टिउसन पढ्ने छोरीको साथी सिमा बस्नेतसमेतलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको हुँदा निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको घाइते सीमा मगरकी आमा चमेली मगरले मिति २०७१/१२/१२ मा गरेको 

कागज । 

“A-Plus Tuition Center” मा टिउसन पढ्ने क्रममा मिति २०७१।११।१० गतेका दिन बिहान अं. ०६:१५ बजेको समयमा सिमा संगिता मगरसमेतको अनुहारमा एसिड प्रहार गरी घाइते बनाई घाइते सिमा बस्नेत रूँदै कराउँदै अनुहारसमेत जली पोल्यो पोल्यो भनी चिच्याउँदै आएको देखिसकेपछि हामीहरू सबैले पानीसमेत राख्दै औषधी उपचारको लागि वीर अस्पतालमा लिई गएको ठिक साँचो हो । प्रतिवादी जीवन वि.क.ले नै सिमा बस्नेतसमेतको अनुहारमा एसिड प्रहार गरी घाइते बनाएको हुँदा प्रतिवादीउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको मिति २०७१/१२/१४ को गोकूलप्रसाद लामिछानेले गरेको कागज । 

घाइते सिमा बस्नेत मेरो छोरी हुन् । संगिता मगरसँगै पढ्ने साथी हुन् । छोरी सिमा बस्नेतसमेत “A-Plus Tuition Center” मा टिउसन पढ्न भनी केही दिन अगाडिदेखि सो स्थानमा गइरहेका 

थिए । मिति २०७१।११।१० गतेका बिहान अं. ०६:१५ बजेको समयमा सिमा तथा संगिता मगरसमेतको अनुहारमा एसिड प्रहार गरी घाइते बनाई घाइते सिमा बस्नेत रूँदै कराउँदै अनुहारसमेत जली पोल्यो पोल्यो भनी चिच्याउँदै आएको देखिसकेपछि मसमेत भई पानीसमेत राख्दै औषधी उपचारको लागि वीर अस्पतालमा लिई गएको हौँ । छोरी सिमा बस्नेतको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रतिवादी जीवन वि.क.ले नै सिमा बस्नेतसमेतको अनुहारमा एसिड प्रहार गरी घाइते बनाएको हुँदा प्रतिवादीउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको घाइते सीमा बस्नेतका बुबा डम्बरबहादुर क्षेत्रीले मिति २०७१/१२/१३ मा गरिदिएको कागज । 

घाइते संगितासहित निजको आमा, बाबु भाइसमेत विगत केही वर्षअगाडिदेखि मेरो घरको तल्लो तलामा रहेको कोठा बहालमा लिई बस्दै रहँदै आएका थिए । माथिल्लो तलामा हाल प्रतिवादी जीवन वि.क.सहित निजको परिवारसमेत कोठा लिई बस्दै आएको थिए । करिब डेढ वर्षअगाडि प्रतिवादी जीवन वि.क. र घाइते संगिता मगरसमेतका परिवारबिच झै-झगडा भएको थियो । सोही बेला हाल प्रतिवादी जीवन वि.क.ले मैले त्यसै छोड्दिन जसरी पनि संगिता मगरको घर परिवारसमेतसँग बदला लिएर छाड्छु भन्नेसम्म कुरा गरेका थिए । २०७१।११।१० गतेका दिन बिहान टिउसन पढ्न गएकी संगिता मगर तथा सिमा बस्नेतसमेतलाई एसिड प्रहार गरी घाइते बनाई घाइते संगिता मगरलाई निजको आमासमेतले तत्कालै उपचारको लागि लगेको मैले देखेको हुँ । प्रतिवादी जीवन वि.क.ले संगिता मगर र सिमा बस्नेतउपर एसिड प्रहार गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको घाइते संगिता मगरसमेत बस्दै आएको घर धनी राजु मास्केले मिति २०७१/१२/१३ मा गरिदिएको कागज । 

मैले गाउँबाट घिउ राखी ल्याएको हर्लिक्सको बोतल खाली रहेकोमा प्रतिवादी जीवन वि.क.ले आफूलाई चाहिने भनी मबाट खरिद गरी लिएका 

हुन् । निजले घरबाट घिउ ल्याएकोमा भाँडोबाट पोखियो भनी भनेकोले मैले निजलाई उक्त हर्लिक्सको खाली बोतल दिएपछि निजले मलाई सो बोतल दिएबापत रू.२० रूपैयाँ दिएका थिए । निजले हर्लिक्सको खाली बोतलमा एसिड राख्ने कुरा जानकारी गराएका 

थिएनन । मैले निजलाई एसिड राख्नु भनी दिएको पनि होइन । प्रतिवादी जीवन वि.क.ले हर्लिक्सको खाली बोतल खरिद गरी आफूले खरिद गरी ल्याएको बियरको बोतलभित्र रहेको एसिड खन्याई सोही हर्लिक्सको बोतलभित्र रहेको एसिड संगिता मगरसमेतलाई प्रहार गरी घाइते बनाएको कुरा सुनि थाहा पाएको हुँ । प्रतिवादी जीवन वि.क.उपर कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने बेहोराको मिति २०७१/१२/१२ को बेली राई सुनुवारले गरेको कागज । 

मैले विभिन्न ब्याट्रीहरूको लागि एसिडसमेत पसलमा राखी ब्याट्री प्रयोजनकै लागि भनी एसिडसमेत दिई बिक्री वितरण गर्दै आइरहेको छु । जीवन वि.क.ले पनि ब्याट्रीमा राख्‍ने प्रयोजनको लागि एसिड चाहियो भनी माग गरेपछि मैले कुन खालको एसिड नरम तथा कडा भनी सोध्दा निजले कडा खालको एसिड चाहियो भन्दा मैले यो एसिड ब्याट्रीमा प्रयोग गर्दा पानी मिसाएर प्रयोग गर्नु भनी वियरको बोतलभित्र रहेको एसिड रू.१२५/- मा बिक्री गरेको हुँ । सो एसिड मानिसलाई प्रहार गर्न भनी दिएको होइन । निजले ब्याट्रीमा प्रयोग गर्ने प्रयोजनले भनी खरिद गरी लिएका हुन् । जीवन वि.क.ले उक्त एसिड नै संगिता मगरसमेतका अनुहारमा प्रहार गरी घाइते बनाएको कुरा विभिन्न पत्रपत्रिकामार्फत सुनी थाहा पाएको हुँ । प्रतिवादीउपर कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७१/१२/१२ को प्रकाश सुन्दर तुलाधरले गरिदिएको कागज ।

मैले घाइते संगिता मगर र सिमा बस्नेतलाई चिन्दिन । मेरो घरमा टिउसन पढाउने शिव भन्ने व्यक्तिलाई भाडामा दिइसकेपछि निजले विभिन्न विषयको टिउसन पढाउने काम गर्दै आइरहेका थिए । मिति २०७१।११।१० गते बिहान अं.०६:२० बजेको समयमा टिउसन पढ्न आउने २ जना बहिनीलाई एसिड प्रहार गरी घाइते बनाएर १ जना व्यक्ति भाग्यो रे भनी कोठामा जाँदा कक्षा कोठाभित्र एसिड बेन्चहरूसमेतमा छरिएको सो बेन्चमा झोला किताबसमेत यत्रतत्र छरिएको अवस्थामा रहेको र मूल ढोकाबाहिर हर्लिक्सको सिसा फुटेको सिसिमा एसिडसमेत रहेको देखेका हौँ । संगिता मगरसहित अर्की एक जना सिमा बस्नेतसमेत घाइते भएको र निजसमेतलाई उपचारको लागि लिई गएको हामीहरूले देखेका हौँ । प्रतिवादी जीवन वि.क.ले संगिता मगरसमेतलाई एसिड प्रहार गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको मिति २०७१/१२/१२ को मनोहरलाल श्रेष्ठसमेतले गरिदिएको कागज । 

पक्राउमा परेका प्रतिवादी जीवन वि.क.सहित एकै वर्ण, हुलिया, पहिरनसमेत भएका ५ जना व्यक्तिहरूलाई एकै लाइनमा राखी देखाउँदा देखाइएका ५ जना व्यक्तिहरूमध्येमा संगिता मगरसमेतलाई एसिड प्रहार गर्ने जीवन वि.क. हुन्, निजबाहेक सनाखतका लागि देखाइएका अन्य व्यक्तिहरूलाई मैले चिन्दिन । निज जीवन वि.क.लाई हेरी चिनी पहिचान गरी सनाखत गरिदिए भन्ने बेहोराको जेनिका भन्ने हेमु मुखर्जीले गरिदिएको मिति २०७१/१२/१४ को सनाखत 

कागज । 

मिति २०७१।११।१० गतेका दिन बिहान म एक्लै टिउसन पढ्न गएको अवस्थामा हामीले ढप्क्याएको ढोका एक्कासी खोली एकाएक मेरो अनुहारसमेतमा पर्ने गरी एसिड प्रहार भएपछि मैले राम्ररी आँखा नदेखी रून कराउन थालेँ । सोही बेला मलाई मेरो साथी हेमु मुखर्जीले मेरो डेरा कोठामा ल्याई मेरो बाबा आमासमेतले मेरो शरीरमा रहेको एसिडले जलेको कपडासमेत निकाल्दै शरीरमा पानी हाली दिई उपचारका लागि वीर अस्पताल लिई गएकोमा वीर अस्पतालले पनि तत्कालै काठमाडौं मेडिकल कलेजमा रिफर गरी पठाएपछि हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । मेरो अनुहारसमेतमा एसिडले जली नष्ट गराएको छ । सो वारदात हुनुभन्दा अगाडि निज जीवन वि.क.ले मलाई बेलाबेला बाटोमा जिस्काउने बाटो छेक्ने गर्दा मैले सो कुरा मेरो बाबा आमालाई भनिसकेपछि निजलाई मेरो बाबा आमाले सम्झाउनु भएको थियो । बेला बेला सम्झाउँदासमेत नमानेपछि हामीहरू र निज जीवन वि.क. समेतको घर परिवारसमेतसँग झै-झगडा भएको हो । सोही बेला निजले ममाथि बदला लिएर छाड्छु भन्नेसम्मको धाकधम्की दिएका थिए । वारदात स्थानबाट फेला परेका झोला तथा किताबसमेत हामीहरूका हुन् । पक्राउमा परेका जीवन वि.क.ले नै मेरो अनुहारसमेतमा एसिड प्रहार गरी मेरो ज्यानै लिने मनसायले एसिड प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानी जानी थाहा पाई एसिड प्रहार गरेको हुँदा कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने बेहोराको घाइते संगिता मगरले मिति २०७१/१२/१५ मा गरेको कागज ।

मिति २०७१।११।१० गतेका दिन बिहान म एक्लै टिउसन पढ्न गएको अवस्थामा सोकोठाको ढोका हल्का ढप्काएका थियौँ । सोही बेला हामीले ढप्काएको ढोका एक्कासी खोली एकाएक संगिता मगरको अनुहारसमेतमा पर्ने गरी एसिड प्रहार भएपछि सोही बेला मेरो अनुहारसमेतमा एसिड पर्न गई म पनि घाइते भई रूँदै कराउँदै म आफ्नो कोठामा गइसकेपछि मेरो बाबा आमाले तत्कालै उपचारको लागि वीर अस्पतालमा लिई गई हाल मेरो वीर अस्पतालमा उपचार भइरहेको छ । वारदातस्थलमा फेला परेका झोला किताबसमेत मेरो आफ्नै हुन् । जीवन वि.क.सँग मेरो कुनै चिनजान रिसइवी केही थिएन । निजले के कुन कारणले एसिड प्रहार गरे थाहा भएन । प्रतिवादीले मसमेतलाई एसिड प्रहार गरी घाइते बनाएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको घाइते सिमा बस्नेतले मिति २०७१/१२/१५ को गरिदिएको कागज । 

मैले ९८१५९३८७२२ नम्बरको मोबाइल फोन नम्बरसमेत प्रयोग गर्छु । उक्त मोबाइल फोन मेरो आफ्नै नाममा दर्ता रहेको छ । उक्त मोबाइल फोन मैले सो वारदातपश्चात् काठमाडौंबाट सिक्किमतर्फ जाँदा झापा जिल्लाबाट लिएको हुँ । लिएको मिति यकिन भएन भन्नेसमेत बेहोराको प्रतिवादी जीवन वि.क.ले गरेको मिति २०७१/१२/१५ को ततिम्बा बयान ।

जीवन वि.क.को नामको नेपाल इन्भेष्टमेन्ट बैंकको खाताबाट मिति २०७१।११।२३ गते रू.१०,०००/- रूपैयाँ झापाबाट एटिएममार्फत निकालेको देखिएको भन्ने बेहोराको नेपाल इन्भेष्टमेन्ट बैंकको मिति २०७१/१२/११ को पत्र । 

जीवन वि.क.ले मेरो घरमा विगत १० महिनादेखि कोठा बहालमा लिई प्रति महिनाको रू.१,६००/- रूपैयाँ कोठा भाडा दिई एक्लै बस्दै आएका थिए । मिति २०७१।११।०९ गते बेलुका र मिति २०७१।११।१० गते दिउँसो पनि कोठामा रहेको देखेको थिएँ । जीवन वि.क.ले मिति २०७१।११।१० गतेका दिन बिहान अं.०६:१५ बजेको समयमा “A-Plus Tuition Center” मा टिउसन पढ्न गएको अवस्थामा संगिता मगर तथा सिमा बस्नेतको अनुहारसमेतमा एसिड प्रहार गर्दा लगाएको मास्क, हुकसहितको जाकेट, साथमा बोकेको झोलासहितको सरसामानहरू निज बस्दै आएको डेरा कोठाबाट प्रहरीले मेरो रोहबरमा बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान कारबाहीको लागि लिई जाँदाका बखत जीवन वि.क.ले संगिता मगरसमेतलाई एसिड प्रहार गरेको कुरा थाहा पाएको हुँ, जीवन वि.क.ले मेरो घरमा कोठा भाडा लिनुभन्दा अगाडि निजसँग चिनजान थिएन । निज कोठा बहालमा बस्दाका अवस्थादेखि मात्र चिनजान भएको हो । मानिसको शरीरमा एसिड प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा थाहा पाई जानीजानी एसिड प्रहार गरी संगिता मगरसमेतलाई घाइते बनाएको हुँदा प्रतिवादी जीवन वि.क.उपर कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने बेहोराको जीवन वि.क. बस्दै आएको घरधनी किरण डंगोलले मिति २०७१/१२/२२ मा गरी दिएको कागज । 

मैले घाइते संगिता मगर र सिमा बस्नेतलाई चिन्दछु । निजहरू मैले सञ्चालन गर्दै आइरहेको टिउसन सेन्टरमा गणित विषयको टिउसन पढ्न आउने विद्यार्थी हुन् । मैले गणित विषयको टिउसन बिहान ०५:१५ बजेदेखि ०६:१५ बजेसम्म र ०६:१५ बजेदेखि ०७:१५ बजेसम्म विज्ञान विषय साथी प्रदिपकुमार राय सरले पढाउँदै आइरहेकोमा मिति २०७१।११।१० गतेका दिन मेरो नवलपरासी घरमा बैंकको कामले जानुपर्ने भएकोले सो दिन टिउसन पढाउन आउन सकिन । यसै क्रममा टिउसन पढ्न आएको अवस्थामा मैले पढाउँदै आएको संगिता मगर र सिमा बस्नेतसमेतलाई एसिड प्रहार गरी घाइते भई निजहरूको काठमाडौं मोडेल अस्पताल तथा वीर अस्पतालसमेतमा उपचार भइरहेको भनी सुनी थाहा पाएको हुँ । हाल आएर संगिता मगरसमेतलाई एसिड प्रहार गर्ने कार्य जीवन वि.क.ले गरेको कुरा खुल्न आई पक्राउ परेको सुनेको हुँ । प्रतिवादी जीवन वि.क.ले संगिता मगर र सिमा बस्नेतउपर एसिड प्रहार गरी घाइते बनाएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको ए प्लस टिउसन सेन्टरमा गणित विषय पढाउने शिक्षक शिव सापकोटाले मिति २०७१/१२/२२ मा गरिदिएको कागज ।

मिसिल संलग्न आधार प्रमाणहरूबाट मिति २०७१।११।१० गतेका दिन प्रतिवादी जीवन वि.क.ले ट्युसन पढ्न गएकी संगिता मगरसमेतलाई ज्यान मार्ने उद्देश्यले अनुहारलगायतका भागमा प्रज्ज्वलनशील पदार्थ एसिडले प्रहार गरी ज्यान मार्ने उद्योगको कसुर वारदात गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १५ नं. अनुरूपको कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादी जीवन वि.क.लाई सोही ऐन महलको १५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको मिति २०७१/१२/२९ को अभियोग माग दाबी ।

मैले पीडित संगिता मगरलाई चिन्दछु । सिमा बस्नेतलाई चिन्दिन । २०७१ साल फागुन १० गते बिहान अं. ६ बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२३ झोँछेस्थित रहेको A-Plus ट्युसन सेन्टरको कक्षा कोठाभित्र पढ्न बसिरहेकी संगिता मगरलाई लक्षित गरी आफ्नो साथमा डेरा कोठामा राखेको एसिड लिई गई संगिता मगरलाई एसिडले प्रहार गर्दा सँगै रहेकी सिमा बस्नेतलाई समेत सोही एसिड पर्न गई घाइते हुनुभएको हो । मैले सीमा बस्नेतलाई एसिड प्रहार गर्ने उद्देश्य होइन । सिमा बस्नेतलाई एसिडले चोट लाग्न गएकोमा क्षमायाचना गर्दछु । मैले संगिता मगरलाई एसिडले प्रहार गरेको र निज सोही कारणले घाइते भएकी हुन् । मैले घाइते संगितालाई ७ कक्षाबाट निःशुल्क टिउसन पढाउन सुरू गरेको हुँ । यसै क्रममा हामीहरूबिचको प्रेम सम्बन्ध गाढा हुँदै गई सँगै खाने सँगै सुत्‍नेसम्म हुन गयो । मेरो थर वि.क. भन्ने संगिताले थाहा पाई आफ्नो आमालाई सुनाएपछि निजका परिवारले मलाई धम्क्याउन सुरू गरे । त्यसपछि संगिता र म घरमा बोलचाल नगर्ने तर बाहिर बाहिर भेट गर्ने गरेका थियौँ । यसै क्रममा विभिन्न कारणले हामीहरूबिचको सम्बन्ध बिग्रँदै गयो । मेरो मनमा पीडित संगिता मगर, निजको भाइ र आमा, बाबासमेतलाई रडले हानी हातखुट्टा भाँची बदला लिन्छु भन्ने भावना आउन थाल्यो । मैले पीडित संगिता मगरको परिवारप्रति ज्यादै रिस उठी बदलाको भावनाले हात खुट्टा भाँचिदिने योजना बनाउँदै गएँ तर सफल हुन सकेको थिइनँ । ममा मानसिक तनाव बढ्दै गएको कारण म पागल जस्तै बन्न थालेँ । जसको कारण पीडित संगिता र निजको परिवार थियो । पीडित संगिताले आफ्नो रूपको घमण्ड गरी मलाई जातीय कारणले हेप्ने गरेको थियो । मैले पीडित संगितालाई एसिड हान्ने अन्य दुस्मनलाई रडले हानी घाइते बनाउने योजना बनाएँ । सोही योजनाअनुसार एसिड किनी राखी घटनास्थलमा गई संगिताको मुख अनुहारमा छ्यापी दिएँ र एसिड राखेको बोतल र बिर्को बाहिर फाली म बिस्तारै कोठातर्फ गई बस्न थालेँ । मैले संगितालाई उसको रूपको घमण्ड तोड्न एसिड प्रहार गरेको हुँ ज्यान मार्ने उद्देश्यले होइन । मैले एसिड प्रहार गर्दा निजहरू मर्न सक्ने अवस्थाबारे सोचेको थिएँ । निज संगिता मर्दिनन् भन्ने मलाई थाहा छ । मैले ज्यान मार्ने उद्देश्य लिएको भए खुकुरी प्रहार गर्ने थिएँ तर मैले निजहरूलाई मार्ने उद्देश्यले एसिड प्रहार गरेको होइन । जाहेरीमा उल्लेख भएअनुसार ज्यान मार्न खोजेको होइन । कानूनले जो ठहर्छ भन्नेसमेत बेहोराको प्रतिवादी जीवन वि.क.ले सुरू अदालतसमक्ष गरेको मिति २०७२/०१/०२ को बयान ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.लाई विचार गरी ऐ. अ.बं. ११८ को देहाय २ अनुसार कानूनबमोजिम सिधा खान पाउने गरी अ.बं.१२१ नं.बमोजिम थुनुवा पुर्जी दिई स्थानीय कारागारमा थुनामा राख्‍न पठाइदिनु भन्ने सुरू अदालतबाट मिति ०७२।१।३ मा भएको थुनछेक आदेश ।

जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरो हो । अभियोग दाबीअनुसार प्रतिवादीलाई कसुर ठहर हुनुपर्छ । प्रतिवादीले मेरो छोरी संगिता र अर्की सीमाउपर एसिड प्रहार गरेको हो । हामीहरू सबै एकै घरमा बस्थ्यौँ । ऊ माथि बस्थ्यो । एउटै घरमा बस्ने क्रममा करिब डेढ वर्षअगाडि प्रतिवादीकै कारणले उसको परिवार र हाम्रो परिवारका बिच झै-झगडा भएको 

थियो । उक्त बेला हामीहरूलाई तँलाई पख् म छाड्दिन भनेको थियो र अहिले आएर त्यही कारणले मेरो छोरीमाथि एसिड प्रहार गरेको हो भन्ने बेहोराको जाहेरवाला प्रेमबहादुर मगरले गरेको मिति २०७२/०३/०१ को बकपत्र ।

जाहेरी दरखास्त बेहोरा र सहीछाप मेरो 

हो । मेरी छोरी सीमा बस्नेतसमेत ट्युसन पढ्न गएको समयमा प्रतिवादी जीवन वि.क.ले एसिड छ्यापी घाइते बनाएका हुन् । उक्त एसिडबाट संगिता र मेरी छोरी सीमा बस्नेत दुवैजना घाइते भएका हुन् भन्नेसमेत बेहोराको जाहेरवाला डम्बरबहादुर बस्नेत क्षेत्रीले गरेको मिति २०७२/०५/३१ को बकपत्र ।

अनुसन्धान अधिकृतसमक्ष मैले लेखाएको घटना विवरण कागजमा उल्लिखित बेहोरा र सहीछाप मेरो नै हो । प्रतिवादी जीवन वि.क.ले पहिले मलाई जिस्क्याउने गर्दथ्यो । मलाई एकोहोरो तरिकाले हेरी बस्थ्यो । मलाई त्यस्तो व्यवहार मन 

पर्दैनथ्यो । सो कुरा मैले मेरी ममीलाई भन्थेँ । ममीले उसलाई गाली गर्नुहुन्थ्यो । पछि भाइको बारेमा झगडा भएको थियो । मैले ट्युसन पढिरहेको कोठामा अचानक ढोका खोल्ने कसैले हामीहरूको जिउमा केही तातो तरल पदार्थ फ्याँक्यो । सो पदार्थबाट सबैभन्दा बढी म छ्यापिएँ । एसिड छ्याप्ने व्यक्तिलाई मैले देख्न 

पाइन । एसिड प्रहारबाट लागेको घाउ पहिलेभन्दा झन्‌झन् गहिरिँदै गएको छ । मेरो अनुहार पहिलेको भन्दा झन् बिग्रेको छ । मेरो दायाँ हात, घाँटी, तीघ्रा, छातीमा नराम्रो असर परेको छ । मेरो दायाँ आँखा पनि 

खुल्दैन । म मानसिक रूपमा पनि पीडित छु । मलाई आफ्नो अनुहार देखेर आफैँलाई डर लाग्छ । बाँच्ने इच्छा पनि लाग्दैन । प्रतिवादीले ज्यान मार्ने उद्देश्यले एसिड प्रहार गरेको हुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको घाइते संगिता मगरले गरेको मिति २०७२/०४/२५ को बकपत्र । 

अनुसन्धानको क्रममा भएको कागज बेहोरा र सहीछाप मेरो हो । संगिता मगरको साइडमा बसेको हुँदा मलाई पनि एसिड परेको हो । एसिड परेपछि हामी रूने कराउने गर्न थाल्यौँ । रूँदै कराउँदै घरमा पुगेपछि हामीलाई तुरून्तै अस्पताल लानुभएको हो । जीवन वि.क.लाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने बेहोराको घाइते सीमा बस्नेतले गरेको मिति २०७२/०२/३२ को बकपत्र ।

घा जाँच प्रतिवेदन बेहोरा र सहीछाप मेरो हो । एसिड रासायनिक पदार्थ हो । एसिडको कम्पोजिसनअनुसार असर हुन्छ । मानव संवेदनशील अङ्गमा एसिड परेमा र परेको अङ्गमा यदि संक्रमण भएको खण्डमा ज्यान जाने सम्भावना रहन्छ भन्नेसमेत बेहोराको घा जाँच प्रतिवेदन पेस गर्ने विशेषज्ञ डा.वृजेश पाठकले गरेको मिति २०७२/०५/३१ को बकपत्र ।

मैले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज बेहोरा र सहीछाप मैले गरेकी हुँ । प्रतिवादी जीवन वि.क.ले मेरी छोरी संगिताको अनुहारलगायतका अङ्गमा एसिड प्रहार गरी घाइते बनाइदिएपछि छोरी रूँदै कराउँदै घरमा आएकोले शरीरमा पानी छ्यापी वीर अस्पतालमा उपचार गराउन लिएर गयौँ । त्यहाँ उपचार हुन नसक्ने भएपछि काठमाडौं मेडिकल कलेजमा लगी उपचार गराउँदा हालसम्म पनि निको भएको 

छैन । छोरी संगिताले दाहिने आँखाले देख्दिन । दाहिने कान पनि राम्रोसँग सुन्दिनन् । दाहिनेपट्टि नाकमा सुइको ढेक्का राखेको छ । घाउ निको हुन ५ वर्षसम्म अप्रेसन गरिराख्नुपर्छ भनी डाक्टरले भनेका छन् भन्ने बेहोराको घाइते संगिता मगरकी आमा घटना विवरण कागज गर्ने चमेली मगरले सुरू अदालतमा गरेको मिति २०७२/०६/०५ को बकपत्र ।

अनुसन्धानको क्रममा गरेको कागज र सोमा भएको सहीछाप मेरो हो । मेरो न्यूरोडमा एसिडलगायतका सामानको पसल छ । प्रतिवादी जीवन वि.क.ले संगिता मगर र सीमा बस्नेतलाई एसिड प्रहार गरी घाइते बनाएको भन्ने पत्रपत्रिका पढेर र रेडियो सुनेर थाहा पाएको हुँ भन्ने बेहोराको घटना विवरण कागज गर्ने प्रकाशसुन्दर तुलाधरले सुरू अदालतसमक्ष मिति २०७२/०६/०५ मा गरेको बकपत्र ।

अनुसन्धानको क्रममा गरेको कागज र सोमा भएको सहीछाप मेरो हो । प्रतिवादी जीवन वि.क.ले एउटा खाली सिसा दिनुहोस् भनेका र मैले पसलमा भएको हर्लिक्सको खाली सिसा रू.२०/- मा प्रतिवादीलाई दिएकी हुँ । प्रतिवादी जीवन वि.क.ले संगिता मगर र सीमा बस्नेतलाई एसिड प्रहार गरी घाइते बनाएको भन्ने टि.भी. हेरी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने बेली राई सुनुवारले गरेको सुरू अदालतको मिति २०७२/०६/०५ को बकपत्र ।

अनुसन्धानको क्रममा गरेको कागज र सोमा भएको सहीछाप मेरो हो । मैले मेरो भएको सत्य साँचो बेहोरा प्रहरीमा कागज गर्दा खुलाइदिएको छु । सोबाहेकको वारदात सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने राजु मास्केले गरेको मिति २०७२/०६/०५ को बकपत्र । 

अनुसन्धानको क्रममा गरेको कागज र सोमा भएको सहीछाप मेरो हो । प्रतिवादीले पीडित सीमा बस्नेतसमेतलाई एसिड छर्केको कुरा निज आफैँले प्रमाणित गरिसकेको छ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गोकूलप्रसाद लामिछानेले गरेको मिति २०७२/०५/३१ को बकपत्र ।

मैले जहाँसम्म चिनजान भएदेखि उसको चालचलन स्वभाव राम्रो थियो । मेरो हिसाबले जीवन वि.क. राम्रै मान्छे थियो । तर पनि उसले त्यस्तो कुनै खराब काम वा बदनियतको काम नगर्नुपर्ने थियो । त्यसबारेमा अरू मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादी जीवन वि.क.का साक्षी राजेश चित्रकारले सुरू अदालतमा गरेको मिति २०७२/०३/०१ को बकपत्र ।

निजको स्वभाव बोली बचन चाल चलन एकदमै राम्रो थियो । सबैसँग मिलनसार तथा सहयोगी स्वभावको थियो । प्रतिवादीले कुन कारणले एसिड प्रहार गरे सो मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादी जीवन वि.क.का साक्षी रामकाजी श्रेष्ठले सुरू अदालतमा गरेको मिति २०७२/०३/०१ को बकपत्र ।

संगिता रूँदै कराउँदै ममी भन्दै आएको देखेको हुँ । त्यसपछि संगिताको ममीले ट्याक्सीमा हालेर अस्पताल लगेको हो । हामीले पानी हालिदिएको कपडाहरू सबै डढेको थियो । लुगा फेराएर हस्पिटल लगेको मैले देखेको हुँ । प्रतिवादीले ज्यान मार्ने उद्देश्यले नै एसिडले प्रहार गरेको हुनुपर्छ भन्ने बेहोराको सुधा देवकोटाले सुरू अदालतमा गरेको मिति २०७२/०२/३२ को बकपत्र ।

प्रतिवादीका कानून व्यवसायी मोहन साशंकरबाट पेस भएको लिखित बहस नोट मिसिल संलग्न रहेको ।

प्रतिवादीले पूर्वरिसइवीका कारण पीडित संगिताउपर एसिड प्रहार गर्ने योजना बनाई बजारमा गई Acid खरिद गरी पिछा गर्दै निजले ट्युसन पढ्ने कोठामा गई निजउपर एसिड प्रहार गरी घाइते बनाई, पीडितको तत्काल उपचारपश्चात् निजको ज्यान बच्न गएको भन्ने देखिँदा प्रतिवादीले संगिता मगरको ज्यानै लिने मनसायले निजउपर एसिड प्रहार गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. १५ नं. अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी जीवन वि.क.लाई ऐ. १५ नं.बमोजिम १० (दश) वर्ष कैद हुने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२/९/५ मा भएको फैसला ।

फौजदारी न्यायको सिद्धान्तबमोजिम कुनै पनि Acuts rea (आपराधिक कार्य) Means rea (मनसाय तत्त्व) को अभावमा अपराध हुन 

सक्दैन । ज्यान मार्ने उद्योग मुद्दा Strict Liability अन्तर्गत मुद्दा नभई Relative Liability अन्तर्गतको मुद्दा हो । जसले Actus rea र means rea दुवैको समष्टिगत रूपलाई मात्र अपराध मान्दछ । प्रस्तुत घटना एसिड छ्‍याप्ने कार्य मात्र भएको ज्यान मार्ने मनसाय नभएको, घा जाँच गर्ने विशेषज्ञ डाक्टरले घा जाँच केस फाराममा Weather Fatal or not ? मर्ने वा नमर्ने भन्ने शिर्षकमा अहिले नमर्ने Infection भएको खण्डमा खतरा हुने भनी सम्भावना देखाइएको भरमा मर्ने भनी अनुमान गरी सजाय गरेको, पूर्वरिसइवी हुन ज्यान मार्ने मनसाय तत्त्वको विद्यमान थियो भनी निष्कर्षमा पुगेको, जाहेरी र मौकाको बयान स्वतन्त्र र निरपेक्ष प्रमाण होइन, अन्य प्रमाणबाट Corroborate भएको हुनुपर्नेमा सोको गुन्जायस भएको नपाइएको, ज्यान मार्ने उद्योगको १५ नं. मा एसिड भन्ने शब्द नै उल्लेख नभएको अवस्थामा संवैधानिक प्रावधानबमोजिम अपराधको परिभाषाभित्र नपर्ने कार्यलाई समेत अपराध मानी सजाय गरेको, ज्यान मार्ने उद्योगमा आवश्यक तीन तत्त्व मनसाय, आपराधिक कार्य र तेस्रो पक्षको हस्तक्षेप अनिवार्य हुनेमा प्रस्तुत वारदातमा सोको विद्यमानता नभएको अवस्थामा सजायको भागीदार बनाउने गरी सुरूबाट भएको फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्र.जीवन वि.क.को मिति २०७३/०२/१४ को पुनरावेदन-पत्र ।

प्रतिवादीले संगिता मगरको रूपको घमण्ड तोड्नको लागि मात्र एसिड प्रहार गरेको नभई निजको ज्यानै लिने मनसायले निजउपर एसिड प्रहार गरी ज्यान मार्ने उद्योगको कसुर गरेको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन आएको हुँदा निज प्रतिवादी जीवन वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम १० (दश) वर्ष कैद हुने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।९।५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने उच्च अदालत पाटनबाट मिति २०७३।११।२३ मा भएको फैसला ।

तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(४) तथा प्रचलित नेपालको संविधान, २०७२ को धारा २०(४) मा तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायको भागी हुने छैन...’ भन्ने प्रावधान रहेको छ । यस प्रावधानअनुसार नेपालको कानूनमा कुनै पनि आपराधिक कार्यको परिभाषा वा सो आपराधिक कार्यको सजायको व्यवस्था नभएको अवस्थामा जेसुकै प्रकारको अमानवीय, असामाजिक वा गैर कार्य भएको भए पनि सो कार्य गरेबापत कुनै पनि व्यक्तिले सजायको भागी हुनु पर्दैन । यस घटनामा मेरो मनसाय तत्त्व नरहेको कुरा मेरो अदालतसमक्षको बयान र सो बयानलाई सो घटनाको तत्कालीन परिस्थितिजन्य अवस्था र घाइते संगिता मगर र सीमा बस्नेतसमेतको बयानले समर्थन गरिरहेको छ भने दोस्रो प्रकारको तत्त्वको रूपमा निर्धारित घातक ढङ्गको साङ्घातिक आक्रमण नभएको अर्थात् कानूनले निर्धारण गरेको गोली चलाउने, बम हान्ने वा घातक हतियारको प्रयोग भएको अवस्था नरहेको र तेस्रो ‘बाहिरी अप्रत्यासित हस्तक्षेपको कारणले ज्यान मर्न नपाएको अवस्था नरहेको कुरा मैले निज घाइतेलाई एसिड मात्र प्रहार गरी अन्य हस्तक्षेपबिना नै मार्नेसम्मको कुनै किसिमको थप क्रियाकलाप नगरेको र यसै छाडेर गएको परिस्थितिबाट अपराध हुन आवश्यक पर्ने यी माथिका तीनै तत्त्वहरूमध्ये कुनै एक तत्त्व मात्रको आधारमा आपराधिक कार्य मान्न नसकिने अवस्थामा ज्यानसम्बन्धी महलको १ र १५ नं. को विपरीत कैद गर्ने गरी काठमाडौं जिल्ला अदालतको मिति २०७२।९।५ गतेको फैसला र सोही फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनको मिति २०७३।११।२३ को फैसला उल्टी गरी मेरो पुनरावेदन जिकिरबमोजिम मलाई सफाइ दिई न्याय पाउँ भन्‍ने बेहोराको जीवन वि.क.को यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. र ऐ. को कुटपिटको १४ नं. साथै यस अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.प. २०६६, अङ्क ३, पृष्ठ ५२०, नि.नं. ८१११) समेतको व्याख्याको परिप्रेक्ष्यमा उच्च अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालय सूचना दिई नियमानुसार पेस गर्नुहोला भन्‍ने बेहोराको मिति २०७६।५।१ मा यस अदालतबाट भएको आदेश । 

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन-पत्रसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक प्रतिवादी जीवन वि.क.को तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ताहरू श्री मोहन साशंकर, श्री श्यामकुमार विश्वकर्मा र श्री बद्रीप्रसाद भुसालले ज्यानसम्बन्धी महलको १५ नं मा एसिड भन्ने शब्द उल्लेख नभएकोले प्रस्तुत मुद्दा सो ज्यानसम्बन्धी महलको १५ नं. को कसुरअन्तर्गत पर्दैन । एसिड प्रहारको विषय ज्यानसम्बन्धी महलले कसुर कायम नगरेको हुँदा कानूनले नै कसुर कायम नगरेको विषयमा सजाय गर्न नमिल्ने हुँदा अभियोग दाबी खारेज 

हुनुपर्छ । प्रतिवादीले पीडित संगिता मगरलाई ज्यानै लिने मनसायले नभई कुरूप बनाउनेसम्मका लागि एसिड प्रहार गरेको हो । ज्यान मार्ने उद्योगको वारदात पुष्टि हुनको लागि मनसाय तत्त्वको विद्यमानता भएको हुनपर्दछ । तेस्रो पक्षको हस्तक्षेपबाट ज्यान मर्न नपाएको 

हुनुपर्दछ । सोसमेत प्रस्तुत वारदातमा रहे भएको अवस्था छैन । प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुर ठहर गरी प्रतिवादीलाई १० वर्ष कैदको सजाय गरेको सुरू अदालतको फैसला र सोही फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनको फैसला उल्टी गरी पुनरावेदन जिकिरबमोजिम प्रतिवादीले सफाइ पाउनुपर्छ भनी बहस गर्नुभयो । प्रत्यर्थी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनालले पीडित संगिता मगरउपर एसिड प्रहार गरेको तथ्यलाई प्रतिवादीले अदालतमा बयान गर्दासमेत स्वीकार गरेका छन् । प्रतिवादीले पीडितलाई मार्ने नियत राखी योजना तथा सोअनुसारको तयारी गरी कडा खालको एसिड भनी खरिद गरी ल्याई पीडितको पिछा गरी गई ट्युसन पढ्ने स्थानमा निजउपर एसिड प्रहार गरेका र पीडितको तत्काल उपचार हुन सकेबाट निजको ज्यान बच्न गएको अवस्था छ । आफूले लिई गएको सबै एसिड पीडितउपर छर्किएको मात्र नभई खन्याई भागेको अवस्था हुँदा तेस्रो पक्षको उपस्थिति आवश्यक पर्दैन । तसर्थ, प्रतिवादीले ज्यानै लिने मनसायले पीडितउपर एसिड खन्याई प्रहार गरी ज्यानै मार्ने उद्योग गरेको हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम तलका अदालतबाट भएको सजाय सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७३।११।२३ मा भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा 

सक्दैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन 

आयो ।

यसमा प्रतिवादी जीवन वि.क.ले ट्‍युसन पढ्न गएकी संगिता मगरसमेतलाई ज्यान मार्ने उद्देश्यले एसिड प्रहार गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं.को कसुर गरेको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.को कसुर गरेको पुष्टि हुन आएको हुँदा प्रतिवादीलाई १० (दश) वर्ष कैद हुने ठहर्छ भनी सुरू अदालतबाट भएको फैसलालाई सदर हुने ठहर्‍याई उच्च अदालत पाटनबाट भएको फैसलामा चित्त नबुझी उच्च अदालत पाटनको फैसला बदर गरी सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरसहित प्रतिवादीको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।

२. यस सम्बन्धमा भएको घटना हेर्दा, काठमाडौं जिल्ला, बसन्तपुर झोछेंस्थित राजु मास्केको घरको माथिल्लो तलामा प्रतिवादी जीवन वि.क., निजका बुबाआमासहितको परिवार बस्ने गरेको र सोही घरको तल्लो तलामा घाइतेमध्येकी संगिता मगर र निजका बाबुआमासहितका परिवार बस्दै आएको भन्ने स्वयं प्रतिवादी जीवन वि.क.को बयान एवं घरधनी राजु मास्केको मौकाको कागज एवं बकपत्रबाट देखिन्छ । घाइते संगिता र आफ्नोबिच प्रेम सम्बन्ध रही विवाह गर्नेसम्मको कुराकानी भइसकेकोमा पछिबाट निजको परिवारले घरमा थाहा पाई मलाई पानी नचल्ने जात भनी घृणा गरी संगितासमेतलाई कुटपिट गरी आफूबाट टाढिन बाध्य बनाएको र संगिताले समेत घृणा गर्न थालेकाले संगिताको घर परिवारसमेतसँग आफ्नो घरपरिवारको झगडा भएको हुँदा आफू अत्यन्तै तनावमा आई बदला लिने योजना बनाई एसिड प्रहारबाट हत्या गर्न सजिलो हुने देखी ब्याट्री पसलमा गई एसिड खरिद गरी ल्याई हर्लिक्सको बोतलमा खन्याई राखी मिति २०७१/११/१० गते बिहान ५:०५ बजेको समयमा उक्त ट्‍युसन सेन्टरको कोठाभित्र बत्ती बलेको ढोका हल्का लगाएको, कोठाभित्र संगितासमेतलाई देखी एसिड प्रहार गर्न खोजेकोमा सो बखत नसकी फर्केर बसन्तपुर डवलीमा आएर सोच बनाई पुनः उक्त सेन्टरमा गई ढोका खोली प्रवेश गरी बोतलको बिर्को खोली संगिताको अनुहारमा प्रहार गरी त्यहाँबाट भागेको भन्नेसमेत बेहोरा उल्लेख गरी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष कसुर गरेकोमा साबित भई बयान गरेको पाइयो भने निजले अदालतसमक्ष बयान गर्दा संगिताको रूपको घमण्ड तोड्‍न एसिड प्रहार गरेको हुँ, ज्यान मार्ने उद्देश्यले होइन भने तापनि घाइतेउपर एसिड प्रहार गरेकोमा भने साबिती बयान गरेको पाइयो भने जाहेरवाला प्रेमबहादुर मगर र डम्बरबहादुर बस्नेतले समेत जाहेरी बेहोरा समर्थित हुने गरी अदालतसमक्ष बकपत्र गरेको पाइयो ।

३. यसैगरी घाइते संगित मगरले आफ्नो स्वास्थ्य अवस्था बताउँदै एसिड प्रहारबाट लागेको घाउ पहिलेभन्दा झनझन गहिरिँदै गएको छ, दाँया आँखा खुल्दैन, मानसिक रूपमा पीडित छु, आफ्नो अनुहार देखेर आफैँलाई डर लाग्छ भन्नेसमेतका बेहोरा उल्लेख गर्दै मौकाको भनाइलाई समर्थन गरी अदालतसमक्ष उपस्थित भई बकपत्र गरेको 

पाइयो । त्यस्तै अर्की घाइते सिमा बस्नेतले समेत मौकाको कागज बेहोरा पुष्टि हुने गरी अदालतसमक्ष उपस्थित भई बकपत्र गरेको पाइयो भने घा जाँच प्रतिवेदनलाई समर्थन हुने गरी पीडित संगिता मगरको घाउ जाँच केस फारामबाट निजको अनुहारको भाग, घाँटी, छातीसमेतमा एसिडले १५% जलेको र Infection भएमा मर्न सक्ने भन्ने उल्लेख भएको देखिन्छ भने सीमा बस्नेतको निधार, अनुहारसमेतमा जलेको र सामान्य नमर्ने भन्ने देखिएको छ । मानव संवेदनशील अङ्गमा एसिड परेमा र परेको अङ्गमा सङ्क्रमण भएको खण्डमा ज्यान जाने सम्भावना रहन्छ भनी घा जाँच प्रतिवेदन पेस गर्ने विशेषज्ञ डा.वृजेश पाठकले समेत अदालतसमक्ष उपस्थित भई बकपत्र गरेको देखिन्छ ।

४. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. अनुसार “ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेन छ भने पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ” भन्नेसमेतको व्यवस्थाले ज्यान मार्ने उद्योगको कसुरको परिभाषाका साथै सजायको व्यवस्था गरेको पाइन्छ । 

५. उल्लिखित कानूनी व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍नेदेखिबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ । ऐनमा भएको “... मार्नको लागि अरू जुनसुकै कुराको उद्योग गरी” भन्‍ने बेहोरा उल्लेख भएबाट नै यसको दायरा फराकिलो रहेको स्पष्ट छ । तसर्थ, एसिड प्रहार भन्ने शब्द ऐनमा नपरेकै कारणबाट यसलाई ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भन्नु न्याय र कानूनसम्मत देखिँदैन । एसिड जलनशील रासायनिक पदार्थ भएको हुँदा सो पदार्थ संवेदनशील अङ्गमा परेमा ज्यानै जान सक्ने भन्‍ने विशेषज्ञको रायसमेत भएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको परिभाषाअन्तर्गत पर्ने नै देखिन्छ । प्रतिवादीले आफ्नो ज्यान मार्ने मनसाय नभएको एसिड प्रहार गरी अनुहार कुरूप मात्र खोजेको भन्‍ने सम्बन्धमा हेर्दा, यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले राधेश्याम साहु तेली विरूद्ध श्री ५ को सरकार (ने.का.प. २०४३, नि.नं. २६१७, पृष्ठ १०६) भएको ज्यान मार्ने उद्योग मुद्दामा "कुनै व्यक्तिले गरेको कार्य कस्तो छ भनी हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्त्व पहिल्याउन सकिने हुन्छ । अपराधजन्य कार्य अलावा अन्य आधारबाट निकाल्न खोजिने मनसाय तत्त्व वस्तुगत परीक्षणमा आधारित रहँदैन । यस्तो माध्यम असम्भव नभए पनि जोखिमपूर्ण भने अवश्य हुन्छ । अपराधजन्य कार्य मनसाय तत्त्व पहिल्याउने सशक्त एवं भरपर्दो माध्यम हो । वस्तुगत परीक्षणमा आधारित भएर निकालिने निष्कर्ष हुँदा त्यस्तो निष्कर्ष सधैँ कसी लगाएर जाँच्न सकिने हुन्छ" भनी मनसाय तत्त्व पहिल्याउनका लागि मार्ग निर्दिष्ट गरेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले पीडिताको अनुहारमा एसिड छर्किएको मात्र नभई किनिएको एसिड हर्लिक्सको सिसिमा हाली पीडिताको अनुहारमा हर्लिक्सको सिसीबाट एसिड खन्याई गम्भीर चोट पुर्‍याई ज्यान नै जान सक्ने अवस्था सिर्जना गरेको मिसिल संलग्न कागजातबाट देखिएको छ । यस्तो कार्यबाट प्रतिवादीको घातक मनसाय प्रस्ट भएको देखिन्छ । यसरी ज्यान मार्ने उद्योगको कसुर हुनको लागि ज्यान मार्ने मनसायले गोली चलाएको वा बम हानेको वा घातक हतियारले काटेको वा मार्नका लागि अरू जुनसुकै कार्य गरेको भनी स्पष्ट उल्लेख भएबाट अव एसिड प्रहार सम्बन्धमा ज्यानसम्बन्धी १५ नं.मा कहीँकतै उल्लेख नगरिएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भनी मान्न मिल्दैन । 

६. एसिड आक्रमणका कारण पीडितमाथि पर्ने जीवनपर्यन्तको गम्भीर शारीरिक र मानसिक क्षतिलाई हेर्दा यसलाई अक्षम्य, असभ्य र हृदयविहीन व्यक्तिले घटाउने अपराध मान्नुपर्दछ । समयमा उपचार नपाएमा ज्यानै जान सक्ने एसिड आक्रमणको घटनाबाट बाँचेका व्यक्तिहरू बाँकी जीवन लज्जा, अपहेलना र भेदभावपूर्ण व्यवहारको बिच बाँचेका छैनन् भनी भन्न नसकिने हुँदा एउटा व्यक्तिको समग्र भविष्यलाई नराम्रोसँग असर पारी असामान्य चरम पीडाको अवस्थामा पुर्‍याउने एसिड आक्रमणका कसुरदारलाई क्रूर अपराधी नै मान्नुपर्दछ । सामान्य जीवन बाँचेको व्यक्तिलाई आफैँले चिन्न नसक्ने अवस्थामा पुर्‍याई उसको हत्या गर्ने वा आत्मसम्मान र मनोबल नै भाँच्ने कुत्सित मनसायका साथ घटाइने एसिड आक्रमणका घटनाले मुलतः भर्खरै नयाँ भविष्यको मार्गमा अघि बढिरहेका कैयौं युवतीहरूको जीवन क्षत विक्षत बनाएको पाइन्छ । तसर्थ, दोषी व्यक्ति कानूनले तोकेको उच्चतम सजायको भागी हुन योग्य मानिनुपर्छ ।  

७. प्रस्तुत मुद्दामा मौकामा कागज गर्ने घाइते संगिता मगरकी आमा चमेली मगर, घरधनी राजु मास्के, गोकुलप्रसाद लामिछाने, सुधा देवकोटासमेतले मौकाको कागज बेहोरालाई समर्थन गरी बकपत्र गरिदिएको पाइयो । प्रतिवादीउपरको किटानी जाहेरी, प्रतिवादीले मौकामा एवं अदालतमा समेत गरेको साबिती बयान, घाउ जाँच प्रतिवेदन, घाउ जाँच प्रतिवेदन पेस गर्ने विशेषज्ञ डा.को बकपत्र, घाइतेहरूको बकपत्र, घटना विवरण कागज गर्ने व्यक्तिहरूले मौकाको बेहोरा समर्थित हुने गरी अदालतसमक्ष उपस्थित भई गरको बकपत्रसमेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादी जीवन वि.क.ले जात पहिचान पछि सोही आधारमा आफूलाई घृणा गरेको भन्ने रिसइवीले घाइते संगिता मगरलाई हत्या गर्ने योजना बनाई एसिड प्रहारबाट हत्या गर्न सजिलो हुन्छ भन्ने सोचसमझपूर्वक पूर्वतयारीका साथ ट्‍युसन सेन्टरमा आई पहिलो पटक चियो गरी पुन दोस्रो पटक कक्षा कोठाको ढोका खोली संगिता मगरलाई लक्षित गरी निर्ममतापूर्वक आफूसँगै बोकी ल्याएको एसिड प्रहार गरेको र संगिताको छेउमा बसेकी सिमा बस्नेतको शरीरमा समेत एसिड परेकोमा र तत्कालै घाइतेहरूलाई उपचारका लागि अस्पताल लगेको हुँदा ज्यान मर्न भने नपाएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखियो । यसरी प्रतिवादीले ज्यान मार्ने मनसायले संगिता मगरलाई एसिड जस्तो जलन पदार्थले प्रहार गरी ज्यान मर्नेसम्मको कार्य गरेकोमा तत्काल उपचार पाएको कारण ज्यान मर्न नपाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट देखिएको हुँदा योजनावद्ध रूपमा पूर्वतयारीका साथ मनसायप्रेरित आपराधिक कार्यको प्रकृति अनुसार तत्काल प्रभावकारी उपचार उपलब्ध नभएको भए पीडितको ज्यान जाने अवस्था सिर्जना हुन्छ भने त्यहाँ ज्यान मार्ने उद्योग कसुर कायम गर्न तेस्रो बाहिरी अप्रत्यासित हस्तक्षेपको कारणले ज्यान मर्न नपाएको भनी दाबी लिने अवस्था नदेखिने हुँदा प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको भन्ने तथ्य पुष्टि हुन आएकोले उच्च अदालत पाटनबाट भएको फैसला मिलेको देखियो ।

८. तसर्थ, प्रतिवादीले घाइते संगिता मगरलाई ज्यान मार्ने मनसायले नभई रूपको घमण्ड तोड्‍नको लागि एसिड प्रहार गरेको भनी अदालतसमक्ष बयान गरेको भए तापनि संगिता मगरसँग रिसइवी रहेको तथ्यमा विवाद नदेखिएको, प्रतिवादीले रिसइवीको कारण पूर्वतयारी साथ पीडित संगिता मगरलाई मार्ने मनसायले योजना बनाई कडा खालको एसिड खरिद गरी ल्याई प्रहार गर्न सजिलो होस् भन्ने उद्देश्यले ठुलो मुख भएको हर्लिक्सको सिसीमा एसिड खन्याएको, बिहान ५:०५ बजेको अर्लाम लगाई उठेको, तत्पश्‍चात् ट्‍युसन सेन्टर गई पहिलो पटक कक्षा कोठामा चियो गरेको र दोस्रो पटक सिसीको पुरै एसिड खन्याई प्रहार गरेको भनी सिलसिलेवार ढङ्गबाट घटनाक्रम उजागर गर्दै बयान बेहोरा लेखाएबाट प्रस्तुत मुद्दामा संगिता मगरलाई मार्ने मनसाय तत्त्वको विद्यमानता स्पष्ट देखिन आएको हुँदा निजले अदालतसमक्ष गरेको बयान प्रमाणद्वारा पुष्टि हुन सकेको पाइएन । यसरी प्रतिवादीले संगिता मगरको रूपको घमण्ड तोड्नका लागि मात्र एसिड प्रहार गरेको नभई निजको ज्यानै लिने मनसायले निजउपर एसिड प्रहार गरी निजको घाउ जाँच केश फारामबाट निजको अनुहारको भाग, घाँटी, छातीसमेतमा एसिडले १५% जलेको र Infection भएमा मर्न सक्ने भन्ने विशेषज्ञको रिपोर्ट र सोलाई समर्थन गर्ने विशेषज्ञको बकपत्रमा उल्लेख भएको देखिँदा ज्यान मार्ने उद्योगको कसुर गरेको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन आएको हुँदा प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । निज प्रतिवादी जीवन वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं. अन्तर्गतको कसुरमा प्रतिवादीलाई सोही ऐनको १५ नं.बमोजिम १० वर्ष कैद हुने गरी भएको सुरू फैसलालाई सदर हुने ठहर्‍याई उच्च अदालत पाटनबाट भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । 

९. अतः माथि विवेचित आधार, कारणसमेतबाट प्रतिवादी जीवन वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम कसुरमा सोही महलको १५ नं.बमोजिम १० (दश) वर्ष कैद हुने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२/९/५ मा भएको फैसलालाई सदर हुने गरी उच्च अदालत पाटनको मिति २०७३।११।२३ को फैसला मिलेको नै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.तेजबहादुर के.सी

 

इजलास अधिकृत : देवी चौधरी

इति संवत् २०७८ साल असार २९ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु