शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७३४ - कर्तव्य ज्यान र जबरजस्ती करणी

भाग: ६३ साल: २०७८ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।६।८

 

मुद्दाः- कर्तव्य ज्यान र जबरजस्ती करणी

 

०७४-CR-०६५१

पुनरावेदक / प्रतिवादी : कारागार कार्यालय ललितपुर, नख्‍खुमा थुनामा रहेका परिवर्तित नाम काठमाडौं २६ सि.आइ.वी. १४२

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं.२ बोडे घर भई हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल डेरा गरी बस्ने शंकर चासी श्रेष्ठको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१८३३

पुनरावेदक / वादी : जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं.२ बोडे घर भई हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल डेरा गरी बस्ने शंकर चासी श्रेष्ठको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कारागार कार्यालय ललितपुर, नख्‍खुमा थुनामा रहेका परिवर्तित नाम काठमाडौं २६ सि.आइ.वी. १४२ समेत

 

प्रतिवादी कायम गर्नुभन्दा अगाडि नै प्रतिवादीको मृत्यु भइसकेको देखिएकाले आफूउपर आरोपित कसुरमा प्रतिरक्षा गर्न नै नपाई मृत्यु भइसकेको व्यक्तिबाट क्षतिपूर्ति भराइदिनु न्यायोचित नदेखिने । 

(प्रकरण नं.१३)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री उज्ज्वलकिशोर घिमिरे

अवलम्बित नजिर :

ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९

ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७४

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

बालबालिकासम्बन्धी ऐन, २०४८

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री राजेन्द्र खरेल

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री प्रेमराज कार्की

माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे

उच्च अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–

तथ्य खण्ड

मिति २०६६।०५।०८ गते दिनको १६.४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल चिकँ वहीलस्थित रहेको सप्तपुर महाविहार गुठीको भवनमा रहेको ट्वाइलेटमा अन्दाजी वर्ष ३ की बच्ची (नाबालिका) को मृत अवस्थामा लास फेला परेकोले घटनास्थल लास जाँच मुचुल्कासमेतको कार्य गरी मृतक लास अस्पतालतर्फ पठाई लासजाँच मुचुल्कासहित यो प्रतिवेदन पेस गरेको छु । मृतक लास सम्बन्धमा अनुसन्धान गर्नुपर्ने हुँदा अनुसन्धान गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।

जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल चिकँ वहीलस्थित पूर्वमा सप्तपुर महाविरको मूलढोका, पश्चिममा बाटो, उत्तरमा बाटो र दक्षिणमा सप्तबिहार गुठीको भवनमा ट्वाइलेट रहेको, सो ट्वाइलेटको ढोका खुल्ला रहेको, सोभित्र दिसा गर्ने ट्वाइलेटको मुखमा मृतक सजिना च्यासी श्रेष्ठको मुन्टो हाली घोप्टो अवस्थामा दायाँ खुट्टा ट्वाइलेटभित्र पारी बायाँ खुट्टा घुँडाको भागमा खुम्च्याई दुवै हात दायाँ बायाँ पारी नाङ्‍गो अवस्थामा लास रहेको, सो लास नजिक मृतकको कट्टु रहेको, घाँटीमा मृतकले लगाएको हरियो टिसर्टले बाँधिएको मृतक नजिक निजले लगाउने गरेको निलो चप्पल रहेको, २ इन्च लामो निधारको भागमा निलो कालो सुन्निएको, दुवै आँखा बन्द कालो भई सुन्निएको, योनिबाट रगत बगी पैतलासमेत भिजेको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।

मिति २०६६/०५/८ गते महिलाको तिज ऋषि पञ्चमी भएकोले व्यापारको लागि गाडी लिई काठमाडौं कालिमाटी टेकुमा व्यापार गर्न गएको त्यतैबाट लगनखेलमा आई व्यापार गर्न बसेको थिएँ । सोही बेलामा छिमेकीले मेरो मोबाइल नं. ९८०३६१०७८४ मा फोन गरी छोरी सजिना च्यासी श्रेष्ठ अचेत अवस्थामा छ भनी जानकारी गराएकोले म उक्त स्थान ललितपुर च्यासलस्थित सप्तपुर महाविहारको गुठीमा पुग्दा उक्त गुठीको ट्वाइलेटमा मेरो छोरी सजिना मृत अवस्थामा फेला परेको हुँदा लास प्रकृति तथा पोष्टमार्टमसमेत गरी आवश्यक अनुसन्धान गरिपाउँ भन्ने शंकर च्यासी श्रेष्ठको जाहेरी दरखास्त । 

मिति २०६६।०५।०८ गते मेरो छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठ मृत अवस्थामा फेला परेको ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा घटनास्थल लासजाँच मुचुल्का, लास पोष्टमार्टमसमेतको कार्य गरी हाल लास अस्पतालको शव गृहमा राखिएको हुँदा आफ्नो परम्परा रीतिरिवाजअनुसार दाहसस्कार गर्नको लागि मृतक लास बुझी लिइएको भन्नेसमेत बेहोराको भरपाई कागज ।

Cause of death is due to Asphyxia, head injury, Neurogenic and hemorrhagic shock भन्नेसमेत बेहोराको पाटन अस्पतालको मिति २०६६/०५/१५ गतेको शव परीक्षण प्रतिवेदन । 

जाहेरवालाको छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यानसमेतको मुद्दा महानगरीय प्रहरी परिसर, ललितपुरमा दर्ता भई अनुसन्धान भइरहेको र जबरजस्ती करणी गरी हत्या गरेको कसुर अपराध गम्भीर प्रकृतिको भएको साथै हालसम्म वारदात घटाउने कसुरदार खुल्न नसकी पक्राउसमेत नपरेको कारण यस ब्युरोबाट समेत वारदातका सम्बन्धमा घटनास्थल मुचुल्कामा बस्ने साक्षीहरू, तत्काल अनुसन्धानमा खटिएका प्रहरी कर्मचारी तथा टोल छरछिमेकका मानिसहरूसँग बुझी सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्दा सो वारदातको प्रकृति, मृतकको गुप्ताङ्गको अवस्था हेर्दा भर्खर किशोर अवस्थामा रहेका पुरूष मानिसहरू कसुरमा संलग्न रहन सक्ने, स्कुल छुट्टी हुँदा सोही इलाकामा प्राय: बस्ने र खेल्ने २ जना किशोरहरू देखिएको भनी खुल्न आएकोले किशोर अवस्थाका मानिसहरूप्रति विशेष ध्यान दिई अनुसन्धान गर्दा नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ र सन्दिप व्यन्जनकार संलग्न रही घटना घटाएको वारदात विश्लेषण एवं गोप्य सूत्रबाट खुल्न आएकोले ती दुई जनामध्ये नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ लाई मिति २०७२।०८।१५ गते जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका कुमारीपाटीमा फेला पारी निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मृतकलाई निजसमेत भई करणी गरी सोपश्चात् घाँटी कसी कर्तव्य गरी मारेको हो । सन्दिप व्यन्जनकारको मृत्यु भइसकेको छ भनी बताएकोले निज नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ लाई पक्राउ गरी निजले प्रारम्भिक सोधपुछको क्रममा व्यक्त गरेको कुराको अडियो रेकर्डसमेत लिई सोको सि.डि. बनाई सोसमेत यसै प्रतिवेदनसाथ दाखिला गरेका छौं भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

मिति २०६६/०५/०८ गते जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासल चिकँ बहीलस्थित सप्तपुर महाविहार गुठीको भवनमा रहेको ट्वाइलेटमा वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई करणी गरी कर्तव्य गरी मार्ने कार्यमा मेरो भाइ संदिप व्यञ्जनकारसमेतको संलग्नता रहेकोमा मलाई शंका लाग्छ भन्नेसमेत बेहोराको बुझिएका व्यक्ति सनिस व्यञ्जनकारले मिति २०७२/०५/१४ गते गरिदिएको घटना विवरण कागज । 

मिति २०६६/०५/०८ गते पञ्चमीको दिन भएकोले स्कुल बिदा थियो । च्यासलमा रहेको सरस्वती धारातर्फ जानेक्रममा फल्चा भन्ने स्थानमा सन्दिप व्यञ्जनकारसँग भेट भयो । निजले मृतकसमेतका ३/४ जना बालिकाहरू फल्चाको अगाडितिर खाली ठाउँमा खेलिरहेको स्थानमा देखायो । सोमध्येको मृतक केही ठुलो देखिएकोले सन्दिप व्यञ्जनकारले यो केटीलाई आज करणी गर्नुपर्छ भन्यो मैले पनि सहमति जनाएँ । सन्दिप व्यञ्जनकारले मलाई नेपाली रू.१०।- दिएर केटीलाई फकाउनको लागि बिस्कुट लिएर आइज भनी पठायो । मैले गोरे दाइको पसलमा गई बिस्कुट किनेर ल्याई केटीलाई दिएँ । केटी धुलोमैलो फोहरी भएकोले सरस्वती धारामा लिई केटीको लुगा फुकाली अरूले नुहाइसकेपछाडि छोडेको स्याम्पुले दक्षिणपट्टिबाट दोस्रो नं. को धारामा केटीलाई मैले र सन्दिप व्यञ्जनकारले नुहाई दियौं । नुहाई सकेर लुगा लगाई दिई जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ९ मा रहेको सप्तपुर महाविहारस्थित बहिल मन्दिरतिर लग्यौं । सो स्थानमा रहेको २ वटा सार्वजनिक शौचालयमध्ये पश्चिमतर्फ रहेको शौचालयभित्र पहिला म र केटी गयौं । त्यसपछि सन्दिप व्यञ्जनकार शौचालयभित्र आई ढोकामा चुकुल लगाई ढोका बन्द गरी मैले केटीको कट्टु फुकालिदिएँ, केटी रून थालेपछि केटीको मुख थुनिदिएँ । केटीलाई पहिला सन्दिप व्यञ्जनकारले करणी गर्ने त्यसपछि पालो पालो मैले करणी गर्ने हाम्रो सल्लाह भएबमोजिम मैले केटीलाई मेरो बायाँ हातले केटीको मुख थुन्ने र दायाँ हातले तलपट्टिबाट निजको पेटको भागबाट माथि उचालेँ । सन्दिप व्यञ्जनकारले कपडाको पैन्ट लगाएको थियो सो पैन्ट र पेन्टी घुँडासम्म आधा खोल्यो । त्यसपछि केटीलाई मैले समाएको घोप्टो पोजिसनमा केटीका दुवै खुट्टा सन्दिप व्यञ्जनकारले दुवै हातले समाई केटीको योनिमा लिङ्ग छिरायो, २/३ मिनेटसम्म सन्दिप व्यञ्जनकारले केटीको योनिभित्र छिर्ने गरी करणी गरी सक्दासम्म केटी शिथिल भएपछि कोही मानिस आएको जस्तो छ अब यहीँ छोडेर भागौं भनेँ । केटीले आफूलाई देखेको र आफूलाई चिनेर अप्ठ्यारो पर्ने ठानी मैले केटीको घाँटीमा उसैले लगाएको निलो हरियो रङको जस्तो देखिने कोट टाइपको कुर्ताले घाँटीमा कसेर मारी अर्थात् निजको हत्या गरी निजलाई शौचालयको प्यानमा खसालेर सो ठाउँबाट बाग्मती खोलातिर भागेर गएका हौँ । निज जाहेरवालाको छोरी सजिना च्यासी श्रेष्ठलाई मसमेतले करणी गरी सोपश्चात् निजैको कोट टाइपको कुर्ताले घाँटीमा कसी कर्तव्य गरी मारेको ठिक साँचो हो भन्नेसमेत बेहोराको प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि. आई. वी. १४२ ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मेरी छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासल चिकँ बहीलस्थित सप्तपुर महाविहार मन्दिरभित्रको शौचालयमा मिति २०६६/०५/०८ गते जबरजस्ती करणी गरी हत्या गरेको सम्बन्धमा छोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने मानिसहरूको प्रहरीद्वारा खोजतलास तथा अनुसन्धान भइरहेको थियो । यसै क्रममा मेरी छोरी सजिना च्यासी श्रेष्ठलाई जबरजस्ती करणी गर्ने मानिस केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले पहिचान गरी पक्राउ गरेको भनी विभिन्न पत्र पत्रिकाहरूमार्फत जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा बुझ्दा प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ र सन्दिप व्यन्जनकारले मेरी नाबालिका छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई जबरजस्ती करणी गर्दाको अवस्थामा छोरी बेहोस भएपछि छोरीले लगाएको कपडाले घाँटीसमेत थिची हत्या गरी सोही शौचालयको प्यानमा टाउको गाडी भागेको भन्ने जानकारी हुन आएकोले निजहरूलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्ने शंकर च्यासी श्रेष्ठको जाहेरी दरखास्त ।

मिति २०६६/०५/०८ गते जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासलमा वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई सार्वजनिक शौचालयमा लगी करणी गरी सोपश्चात् निजैले लगाएको कपडाले घाँटीमा कसी कर्तव्य गरी मारेको ज्यान मुद्दामा अनुसन्धानको सिलसिलामा तत्काल प्रहरीद्वारा घटनास्थल तथा लासजाँच मुचुल्कासमेत हुने क्रममा प्रहरीद्वारा बरामद भई आएको मिसिल संलग्न रहेको पहेलो रङको लामो कट्टु, हरियो निलो रङको जस्तो कोट टाइपको कुर्ता र निलो फित्ता भएको चप्पल मलाई सनाखतको सिलसिलामा देखाउँदा देखी पाएँ । पहेलो रङको लामो कट्टु, हरियो निलो रङको जस्तो कोट टाइपको कुर्ता र निलो फित्ता भएको चप्पल मेरो छोरीले लगाएको लुगा कपडा र चप्पल  

हुन् । यी लुगा मेरी नाबालिका छोरीले घटना हुँदाको दिनमा लगाएकी थिइन् । सो लुगा कपडाहरू र चप्पल हेरी चिनी सनाखत गरिदियाँ भन्नेसमेत बेहोराको शंकर च्यासी श्रेष्ठले गरिदिएको सनाखत कागज ।

मिति २०६६।०५।०८ गते सप्तपुर महाविहार बहीलको पश्चिमतर्फ रहेको सिँढीमा निलो रङको बच्चाले लगाउने चप्पल देखेँ, सो चप्पल सजिना च्यासी श्रेष्ठको हो भनी सनाखत गरिदिएकी हुँ । मृतकलाई सन्दिप व्यञ्जनकार र नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ समेत भई करणी गरी हत्या गरेकोमा विश्वास लाग्छ भन्ने बेहोराको काठमाडौं २६ सि. आई. वी. १४० ले गरिदिएको घटना विवरण कागज ।

मिति २०६६।०५।०८ गते अन्दाजी १६:४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासलस्थित सप्तपुर महाविहारको शौचालयमा शंकर च्यासी श्रेष्ठको छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई संदिप व्यञ्जनकार र नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ समेत भई मारेको भनी हल्ला सुनेको थिएँ । निजहरूमाथि शंका लागी हल्ला सुनेको कुरा प्रहरीलाई जानकारी गराएकोमा पत्रपत्रिका पढिसकेपछि सो समयमा भएको हल्ला सत्य रहेछ । सो घटना सन्दिप व्यञ्जनकार र नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ ले घटाएकोमा मलाई विश्वास लाग्छ भन्ने बेहोराको नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४१ ले गरिदिएको घटना विवरण कागज ।

मिति २०६६।०५।०८ गते घटनास्थलनजिक रहेको गोरे दाइको पसलबाट बिस्कुट किनी ल्याई मृतक सजिना च्यासी श्रेष्ठलाई खान दिएको र सो पछाडि मात्र निजलाई कर्तव्य गरी मारेको भनी खुलाई दिएको हुँदा गोरे दाइलाई समेत बुझ्नुपर्ने भएकोले गोरे दाइ सो स्थानमा छन् छैनन् निज गोरे दाइ भन्ने व्यक्तिको यकिन नाम, थर र वतन के हो खटी गई स्थानीय व्यक्तिहरूसँग बुझी प्रतिवेदन पेस गर्नु भनी खटाई पठाएकोमा सो सम्बन्धमा जिल्ला ललितपुर ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासलमा गोरे दाइको किराना पसल रहेको पाइयो भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।  

मिति २०६६/०५/०८ गते म मेरो किराना पसलमा रहेको अवस्थामा दिउँसो अन्दाजी ०४:०० बजेको समयमा नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ मेरो पसलमा आई नेपाली रू.१०।- पर्ने ग्लुकोज बिस्कुट किनेर लिएर गएका हुन् । हाल सुनी जानकारीमा आएअनुसार निज प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ समेतले मेरो पसलबाट रू.१०।- को बिस्कुट किनी लगी सोही बिस्कुट जाहेरवालाको छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई खान दिई सरस्वती धारामा नुहाई जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासलस्थित सप्तपुर महाविहार बहिली मन्दिर परिसरभित्र रहेको शौचालयमा लिई गई करणी गरी करणी गरेपश्चात् कर्तव्य गरी मारेको भन्ने सुनी थाहा जानकारी हुन आएको छ भन्ने बेहोराको श्रृजन कारंजितले गरिदिएको घटना विवरण कागज ।

मिति २०६६/०५/०८ गते जाहेरवाला शंकर च्यासी श्रेष्ठको छोरी वर्ष ३ की सजिना च्यासी श्रेष्ठलाई प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ समेतले करणी गरी कर्तव्य गरी मारेको भन्ने घटना सम्बन्धमा मलाई मेरो जेठो छोरा सनिष व्यञ्जनकारले सो घटनाको बारेमा प्रहरीले सोधीखोजी गरिरहेको र सो घटना आफ्नै भाइ सन्दीप व्यञ्जनकार र निजका साथीहरू भई घटाएको भनी बताएकोले मैले सो घटना मेरो आफ्नै कान्छो छोरा सन्दीप व्यञ्जनकारसमेत भई घटाएको भन्ने थाहा पाएको हुँ । घटनामा संलग्न रहेको मेरो छोरा सन्दीप व्यञ्जनकार मिति २०७१।११।१४ गते निजले अध्ययन गर्ने श्री श्रमिक शान्ति उच्च माध्यमिक विद्यालय च्यासल, ललितपुरको हाताभित्र बास्केटबल खेल्ने क्रममा टाउकोमा चोट लागी उपचारको लागि पाटन अस्पतालमा लगेकोमा निजको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ भन्ने बेहोराको ओम व्यञ्जनकारले गरिदिएको घटना विवरण कागज ।

नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ को Estimation of age परीक्षण गर्दा The examinee is in 21-23 year of age at the time of examination. More nearly, he is running on 22nd year of his age. The age of the examinee on 2066 05 -was 15-17 years. More nearly, he was on 16th year of his age. भन्ने बेहोराको फरेन्सिक मेडिसिन विभागको परीक्षण प्रतिवेदन । 

मिति २०६६/०५/०८ गते म मेरो कार्यालय ललितपुर उपमहानगरपालिकाको कार्यालय पुल्चोकमा रहेको अवस्थामा सप्तपुर महाविहार (बहिली मन्दिर) मा रहेको सार्वजनिक शौचालयमा बच्चाको लास छ भन्ने खबर पाएकोले तत्काल घटनास्थलमा पुग्दा शौचालयमा बच्चीलाई हरियो निलो जस्तो कोट टाइपको कुर्ताले घाँटीमा कसेको अवस्थाको मृतकको लास देखिएको थियो । सो घटना हाल पक्राउ परी आएका नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ र निजका साथी सन्दिप व्यञ्जनकारसमेतले घटाएको हुन सक्छ भन्ने हल्ला चलेकोमा मैले प्रहरीलाई खबरसमेत गरेको थिएँ । हाल आएर सो घटना घटाउने नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ लाई प्रहरीले पक्राउ गरेको पत्रपत्रिकाबाट थाहा पाएँ । घटना नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ समेतले नै घटाएको कुरामा मलाई पूर्णतया विश्वास लाग्छ भन्ने बेहोराको नारायण व्यञ्जनकारले गरिदिएको घटना विवरण कागज । 

पक्राउ प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ प्रारम्भिक सोधपुछको क्रममा लिइएको अडियो नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. 142 VOICE 3128KB को फायल रहेको PRE TEST लेखिएको सि.डि. थान १ र अनुसन्धानको क्रममा पक्राउ प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ सँग अनुसन्धान अधिकृतले लिएको अडियो रेकर्ड VOICE  नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ रहेको ११४९ KB को फाइल रहेको POST TEST लेखिएको सि.डि. थान १, मा भएको VOICE Record हरूलाई VOICE SPECTRUM ANALYSIS (VAS) प्रविधिद्वारा Analysis गर्दा (९३.७%) मिलेको COMPARISON RESULT मा देखिन्छ र सो VOICE एकै व्यक्तिको हो भन्नेसमेत बेहोराको मिति २०७२/०९/०६ गतेको परीक्षण प्रतिवेदन ।

प्रतिवादीहरू नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ र सन्दिप व्यन्जनकारसमेतले सजिना च्यासी श्रेष्ठलाई करणी गरेपश्चात् मृतककै लुगा कपडा प्रयोग गरी घाँटीमा कसी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३क नं. तथा ज्यानसम्बन्धी महलको १ नं. मा परिभाषित कसुर देखिँदा निज प्रतिवादीहरूलाई जबरजस्ती करणी महलको ३(१) र ३क नं. बमोजिम थप सजाय तथा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय र जबरजस्ती करणीको १० नं. बमोजिम पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई दिन तथा प्रतिवादीमध्येका सन्दिप व्यन्जनकारको मृत्यु भएको भन्ने मिति २०७१।११।१४ गते पाटन अस्पताल ललितपुरको Notice of Death प्राप्त भएको हुँदा निजको हकमा मुलुकी ऐन अ.बं. १७६ नं. बमोजिम कर्तव्य ज्यान र जबरजस्ती करणीको ३(१) र ३क नं. बमोजिम सजायको मागदाबी नलिई पीडितलाई भएको क्षतितर्फ जबरजस्ती करणीको १० नं. बमोजिम पीडित पक्षलाई मनासिब क्षतिपूर्ति दिलाई भराइदिने मागदाबीसमेत लिई प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ वारदातको समयमा १६ वर्षको रहेको भनी परीक्षण प्रतिवेदन प्राप्त हुन आएको देखिँदा निजका हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय हुन भन्नेसमेत बेहोराको मिति २०७२/०९/१२ को अभियोगपत्र ।

प्रहरी प्रतिवेदनको बेहोरा सुनी पाएँ, सोमा भएको बेहोरा मेरो होइन, प्रहरीले जबरजस्ती भन्‍न लगाएर प्रतिवेदन तयार पारेको हो । सोमा भएको अडियोमा भएको कुरा मैले व्यक्त गरेको हो । तर प्रहरीले जबरजस्ती गराएको हो । शंकाको भरमा प्रतिवेदन तयार पारिएको हो । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान बेहोरा मैले भनेअनुसार लेखिएको ठिक छ । तर मलाई प्रहरीले डर त्रास देखाई जबरजस्ती भन्न लगाएर लेखाएको हो । सनिष व्यञ्जनकारलाई चिनेको छु, निजलाई सोधपुछमा लगेको थियो र निजले आफू बच्नको लागि अरूलाई पोलेको 

हुनुपर्दछ । मैले गोरे भन्नेको पसलबाट बिस्कुट किनेको छैन रिसइवीले लेखाएको हो । ओम व्यन्जनकारले आफ्नो छोरा बचाउन त्यस्तो बेहोराको कागज गरेको हो । मैले जबरजस्ती करणी नगरेको तथा हत्यासमेत नगरेको हुँदा अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन, सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ ले सुरू अदालतमा गरेको बयान ।

जाहेरी दरखास्त, लास जाँच मुचुल्का, प्रतिवादीको अनुसन्धान अधिकारी तथा अदालतसमक्षको बयान, शव परीक्षण प्रतिवेदन तथा घटना विवरण कागज गर्ने व्यक्तिहरूको भनाइसमेतका तत्कालप्राप्त प्रमाणहरूको आधारमा निज प्रतिवादी काठमाडौं २६ सि.आई.वी.१४२ कसुरदार हो भन्‍ने विश्वास गर्ने मनासिब आधारको विद्यमानता रहेको देखिन्छ । कसुर गर्दाको अवस्थामा निज प्रतिवादी १६ वर्षको भन्‍ने फरेन्सिक मेडिसिन विभाग महाराजगन्जको परीक्षण प्रतिवेदनबाट देखिए पनि हाल निज २२ वर्षको वयस्क व्यक्ति देखिएकोले निजलाई बाल सुधार गृहमा पठाउने वा अन्य विकल्पको बारेमा विचार गरिरहनु परेन । तसर्थ, पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल निज प्रतिवादी काठमाडौं २६ सि.आई.वी.१४२ लाई मुलुकी ऐन, अदालती बन्दोबस्तको दफा ११८ को देहाय (२) नं. अनुसार पुर्पक्षको निमित्त थुनामा राख्‍न जिल्ला कारागार शाखा नख्खुमा पठाइदिनु भन्नेसमेत बेहोराको सुरू अदालतको मिति २०७२/०९/१३ गतेको आदेश । 

काठमाडौं २६ सि.आई.वी.१४२ पक्राउ गरी सोधपुछ गर्दा निजले घटनामा आफ्नो र सन्दिप व्यन्जनकारको संलग्नतामा रहेको भनी खुलाएको हुँदा अनुसन्धान प्रक्रिया गरेको   हो । निजको संलग्नताको बारेमा गोप्य सूत्रबाट समेत सूचना आएको हुँदा पक्राउ गरिएको हो । सो गोप्य सूत्र म खुलाउन चाहन्न । उक्त वारदात विश्लेषणलगायत तयार गरिएको अन्य कागज पत्रहरू, घटना र घटनास्थलको फोटोलगायतबाट कोही व्यक्तिहरू मिली करणी गरी हत्या गरेको हो भन्‍ने देखियो र गोप्‍य सूत्रको सूचनाको आधारमा निज प्रतिवादीको संलग्नताको बारेमा खुल्न आएको हो । कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा अनुसन्धान गर्दै जाँदा कहिलेकाहीँ समय लाग्न सक्छ । अनुसन्धानको क्रममा धेरै व्यक्तिहरूसँग सोधपुछ गरिएको थियो । को कोसँग के के कुरा भएको थियो सबै कुरा स्मरणमा छैन भन्‍नेसमेत बेहोराको प्रतिवेदक दधिराम न्यौपानेले गरेको बकपत्र ।

प्रहरीमा उक्त कागजमा मलाई सही गर्नु भन्नुभएकोले सहीछाप गरेको हो । मलाई डर, त्रास देखाएको होइन । उक्त घटना विवरण कागजमा सहीछाप गर्नुहोस् केही हुँदैन भनेकोले सहीछाप गरेको हो भन्नेसमेत बेहोराको ओम व्यन्जनकारले गरेको बकपत्र ।

शारीरिक विकास, वयस्कताका लक्षणहरू, दाँतको अवस्था र उमेरअनुसार देखिने विभिन्‍न हड्डीहरूमा पाइने लक्षणहरू एक्सरेको माध्यमबाट अध्ययन गरिन्छ । दाँत र हड्डीको लक्षणहरू बढी भर पर्दा आधार भएका हुँदा सोहीलाई आधार मानी उमेरसम्बन्धी राय दिने गरिन्छ । यसरी दिने रायमा कुनै पनि व्यक्ति यति वर्ष, यति महिना र यति दिन भनी किटान गर्न भने सकिँदैन । लक्षणहरूको विश्लेषणको आधारमा एउटा निश्चित समयान्तरभित्र सो व्यक्तिको उमेर भएको तथ्य वैज्ञानिक हो । प्रस्तुत मुद्दाको सन्दर्भमा CIB-142  को उमेर मैले जाँच गर्दाको समयमा २१ देखि २३ वर्षभित्र रहेको पाइयो भने त्यसबेला निजको उमेर कति थियो भन्‍ने सन्दर्भमा सोही जाँच गर्दा पाएको उमेरलाई घटाउँदा १५ देखि १७ वर्षको पाइयो । तथ्याङ्क शास्त्रका सिद्धान्तहरूको आधारमा निजमा पाइएका विभिन्‍न लक्षणहरूलाई विश्लेषण गरी निजको जाँच गर्दाको बखतको उमेर २२ वर्षको र ६ वर्षअगाडिको उमेर १६ वर्षको भनी प्रतिवेदनको राय शिर्षकमा उल्लेख गरेको छु ।  राय शिर्षकमा दिइएको १५ देखि १७ वर्ष भन्नाले निज व्यक्ति १७ नपुगेको तर १४ वर्ष भने पूरा गरी १५ वा १५ को अन्त्य वा १६ औं वर्षमा चल्दै गरेको भनी बुझ्नुपर्दछ । निजमा पाइएका विभिन्न हड्डीहरूमा देखिएका १३ वटा लक्षण र दाँतको लक्षणलाई नै मुख्य आधार बनाइएको हुँदा ती कुनै पनि लक्षणहरू सो समयमा १५ भन्दा अगाडिको र १७ को अन्तिमतिरको हुन सक्ने 

पाइएन । उमेर निर्धारणको मुख्य आधार खास लक्षणहरू नै हुने हुँदा दिइएको रायभन्दा फरक सम्भावनाको गुन्जायस देखिँदैन भन्नेसमेत बेहोराको उमेर परीक्षण गर्ने प्रा.डा. हरिहर वस्तीले गरेको बकपत्र । 

टाउकोमा निल डाम २.२ को थियो । टाउकोमा रगत जमेको थियो । अनि घाँटीमा नङको डामहरू रहेको थियो । बच्चीको योनि च्यातिएको, रगत बगेको अवस्था थियो । बच्चीको मलद्वार पनि च्यातिएको र मलद्वारबाट रगत पनि बगेको 

थियो । बच्ची मृत्यु हुनुका कारणः- घाँटी थिचिएको र निसास्सिएको कारण, (Asphyxia) टाउको चोटको कारण, (Head injury) दुखाइको कारण (Nurojerjenic Shock) र रगत बगेको कारण (Hemorrhagic Shock) बच्चाको घाँटी थिचेको कारण निज निसास्सिएर मरेको हो । निजको घाँटी थिच्नु पनि मृत्युको कारणमध्येको एक कारण 

हो । मृतक बच्चीको घाँटीमा नङहरू गढेको डामहरू थियो । मृतक शव फोहर र दिशाले लटपटिएको 

थियो । घाँटीमा डोरी वा कुनै कपडाको मार्कहरू केही थिएन । त्यस्तो डोरी जस्ता वस्तुको प्रयोग भएको थिएन भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन तयार गर्ने डा. चन्द्रशोभा अमात्यले गरेको बकपत्र ।

सन्दिप र सि.आई.वी.१४२ भएर जबरजस्ती करणी र हत्या गरेको हो भनेर सुनेको हो । प्रतिवादी सि.आई.वी.१४२ र मेरो Class एउटै हो तर Section फरक थियो । निज Class बङ्‍क (छोड्ने) गर्ने, नराम्रो कुराहरू खाने त्यस्तो खालको थियो भन्‍ने सुनेको हो । मैले सि.आई.वी.१४२ सँग कक्षा ८ देखि एस.एल.सी. सम्म सँगै पढेको हो भन्नेसमेत बेहोराको सि.आई.वी. १४१ ले गरेको बकपत्र ।

म कक्षा ८ मा पढ्दा वहाँहरू पनि कक्षा ८ मा नै पढ्नु हुन्थ्यो, गाँजा खाएको, केटी जिस्क्याएको त्यहाँको अङ्कलहरूले भन्नुभएकोले सुनेको हो । घटनाबारे होहल्ला भएको हुँदा म त्यो ठाउँमा पुगेको थिए, मृतक मेरो नजिकैको हो । सि.आई.वी. १४२ ले घटना घटाएको हो भन्ने कुरा अहिले आएर थाहा पाएको हो भन्नेसमेत बेहोराको सि.आई.वी. १४० ले गरेको बकपत्र ।

मैले मृत्यु भएको बच्चाको बाबुको साथीले उक्त घटना घटाएको भन्ने सुनेकोसम्म हो । उक्त घटना विवरण कागजको अरू बेहोरा मेरो होइन । कागजमा सही गर भनेकोले सही गरेको हो । मृतक बच्चाको बाबुको साथीको नाम, थर थाहा भएन । निज मृतक बच्चा बस्ने घरमा बस्नुहुन्थ्यो, अहिले कहाँ बस्छन् थाहा छैन, प्रस्तुत घटनाकै सम्बन्धमा निजलाई पक्राउ गरेर प्रहरीले थुनामा राखेको छ । के कति महिना थुन्यो थाहा भएन । उक्त कागज मैले नपढीकन सहीछाप गरेको हो । कसैले पनि सहीछाप गर्न दबाब दिएको होइन भन्नेसमेत बेहोराको सनिष व्यन्जनकारले गरेको बकपत्र ।

मैले जाहेरी दरखास्त दिएको हो । वारदात हुँदा अर्थात् मिति २०६६।५।८ गते म व्यापारको सिलसिलामा ललितपुर लगनखेलमा थिएँ । घरबेटी माइला साहुले फोन गरी तुरून्त घरमा आउनु छोरीलाई मारेर राखेको छ भनी बोलाउनु भएकोले घर गएँ । लास पाटन अस्पतालमा प्रहरीले पोष्टमार्टमको लागि लगेको रहेछ, त्यहाँ गई छोरीको लास हेरेँ । अनि त्यहाँका डाक्टरले तपाइँको छोरीलाई बलात्कार गरेर मारेको रहेछ भनेपछि संदिप व्यन्जनकारसमेतले करणी गरी मारेका हुन् भनी टोलमा होहल्ला भएपछि थाहा 

पाएँ । नयाँ पत्रिकामा पनि घटना घटाउने पक्राउमा परेका कुरा छापिएपछि यी प्रतिवादीहरूले मेरो छोरीलाई बलात्कार गरी मारेको भन्ने प्रस्ट हुन 

आयो । एकजना प्रतिवादी संदिप व्यन्जनकार त मरिहाल्यो र अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरी सोछपुछ गर्दा अपराध गरेको स्वीकार गरेका छन् । मेरो छोरीलाई करणी गरी मार्ने यी प्रतिवादीहरू नै हुन भनी थाहा हुन आएको हो । संदिप भन्ने व्यक्ति मरेपछि निजले सानी बच्चीलाई करणी गर्ने र मार्ने जस्तो अपराध गर्ने व्यक्ति मर्‍यो भनी हल्ला गरेका र सोही समयमा सि.आई.वी. १४२ को नाम पनि सो अपराध गर्नेमा हल्ला गरेका थिए सोही आधारमा दुवै जनाको नाममा मैले किटानी जाहेरी दिएको हुँ । सबभन्दा पहिले प्रहरीले रवि श्रेष्ठ भन्ने व्यक्तिलाई समाती अनुसन्धान गरेको हो । के कति दिन हिरासतमा राखेको हो मलाई थाहा भएन । अरूलाई पक्राउ गरी अनुसन्धान गरेको थाहा भएन । यी प्रतिवादीलाई वारदात हुनुअघि मैले देखिरहेको थिए, बोलचाल हुँदैनथ्यो । निजको आचारण बानी बेहोराको बारेमा मलाई केही थाहा थिएन । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले निजको नाउँ भनेको र हल्ला चलेको आधारमा मैले निज प्रतिवादीको पनि वारदातमा संलग्नता छ भनेको हो भन्नेसमेत बेहोराको जाहेरवाला शंकर च्यासी श्रेष्ठले गरेको  बकपत्र । 

केन्द्रीय अनुसन्धान ब्युरोबाट मसमेत खटी गई उक्त घटनामा संलग्न भनी बुझिएको २ जना अभियुक्तमध्ये एकजनाको मृत्यु भइसकेको र अर्को नाम परिवर्तित काठमाडौं २६ सि.आई.वी. १४२ लाई ललितपुर कुमारीपाटीबाट मिति २०७२।८।१५ मा पक्राउ गरिएको हो । पहिला पनि अनुसन्धान गर्दै आएको र अनुसन्धानमा शंका लागेको व्यक्तिहरूलाई सोधपुछ गरी छाडिएको र हाल आएर वास्तविक अपराधी पत्ता लागेको हो । स्थानीय प्रहरीबाट अनुसन्धान गर्दागर्दै हामीहरूको अफिसमा आई पुगेर हामीहरूले अनुसन्धान गरेको हो । यी प्रतिवादीलाई हामीले विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो भन्नेसमेत बेहोराको प्रतिवेदक रमेश विष्टले गरेको बकपत्र । 

अनुसन्धान गर्दाको क्रममा उक्त घटनामा २ जना मानिसको संलग्नता रहेको भनी खुल्न आएको र एक जनाको मृत्यु भइसकेको र अर्को व्यक्ति च्यासलमै बस्ने भनी हाम्रो विशेष सूत्रबाट खुल्न आएको हुँदा मिति २०७२।८।१५ गते निजलाई पक्राउ गरिएको हो र सोधपुछ गर्दा अरू थाहा जानकारी हुन आएको हो भन्नेसमेत बेहोराको प्रतिवेदक मधु खड्काले गरेको बकपत्र ।

अनुसन्धानको क्रममा विशेष सूत्रको आधारमा खुल्न आएका प्रतिवादीलाई पक्राउ गरी पेस गरिएको हो भन्नेसमेत बेहोराको प्रतिवेदक कृष्णप्रसाद वाग्लेले गरेको बकपत्र । 

प्रहरीमा भएको उक्त कागज मैले भनेको कुरा लेखेको होला भनी विश्वासमा परी सहीछाप गरेको हो । उक्त कागजमा मैले भनेबमोजिमको कुराहरू लेखिएको छैन । निज प्रतिवादीको आचरण के कस्तो थियो र उक्त वारदात घटाउनुमा निजको संलग्नता थियो थिएन भन्ने कुरा पनि मलाई थाहा भएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने नारायण व्यन्जनकारले गरेको बकपत्र ।

बेहोरा पढेर सुनाएनन् । मलाई सोधेको कुरा मैले दिएको जवाफ कम्प्युटरमा लेख्‍नुभएको थियो मैले भनेकै कुरा लेख्‍नुभयो होला भनी विश्वासमा परी सही गरेको हो । उक्त दिन पसलको सामान लिन बजार गएको थिएँ । समान लिएर घर फर्कंदा मानिसहरूको भिडभाड देखिएको हुँदा श्रीमतीलाई सोध्दा सानु बच्चालाई हत्या गरी फालिएको रहेछ भनेको हुँदा मैले थाहा पाएको हो । उक्त बेहोरा मैले लेखाएको होइन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने श्रृजन कारन्जितले गरेको बकपत्र ।

प्रतिवादीलाई म चिन्दछु । प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ मेरो साथी हो । म र प्रतिवादी काठमाडौं २६ सि.आई.वी. १४२ कक्षा ६ मा पढ्दादेखि चिनेको हो, निज राम्रो आचरण र बानी बेहोरा भएको थियो । निज कोहीसँग धेरै नबोल्ने, नसालु पदार्थ नखाने र केटी जिस्क्याउने खालको थिएन । उक्त मितिमा म घरनजिक साइबरको बाहिर र मेरो अरू साथीहरू पनि थिए, साथीहरूमा काठमाडौं २६ सि.आई.वी. १४२ पनि हामीसँगै थियो । दिनभर म्युजिक बजाएर बसेको थियो र कुराकानी गरेर बसिरहेका थियौं । यसमा निज काठमाडौं २६ सि.आई.वी. १४२ संलग्नता रहेको छैन । किनकि उक्त घटना भएको ठाउँमा हामी सँगै हेर्न गएको हुँदा उ त्यसमा संलग्न छैन भनेको हो । निजउपर लगाइएको अभियोग दाबी झुठ्ठा हो । निज प्रक्राउ परेको भनी सुन्दा मलाई दु:ख लाग्यो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी विक्की नेपालीले गरेको बकपत्र ।

प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ ले पीडित ३ वर्षकी नाबालिकालाई सामूहिक रूपमा जबरजस्ती करणी गरिसकेपश्चात्‌ जघन्य रूपमा हत्यासमेत गरी फालेको पुष्टि भएकोले निजलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको ३(१) बमोजिम १५ वर्षसम्म कैद हुनेमा सोको आधा ७ वर्ष ६ महिना, सामूहिक बलत्कार गरेकोमा ऐ.३(क) बमोजिम ५ वर्ष कैद हुनेमा सोको आधा २ वर्ष ६ महिना र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा सोको आधा १० वर्ष कैद सजाय हुने र पीडितको मृत्युसमेत भइसकेको हुँदा पीडितको परिवारलाई प्रतिवादीबाट रू.५,००,०००/- (पाँच लाख) क्षतिपूर्ति भरिपाउने साथै प्रतिवादी संदिप व्यञ्जनकारको हकमा मुलुकी ऐन, अ.बं. १७६ नं. बमोजिम कर्तव्य ज्यान र जबरजस्ती करणीको ३(१) र ३(क) बमोजिम सजायको माग दाबी नलिई जबरजस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तिको माग लिएकोमा यो मुद्दामा निजलाई प्रतिवादी कायम गर्नुभन्दा अघि नै मृत्यु भई आफ्नो प्रतिरक्षासमेत गर्न नपाएको अवस्थाका व्यक्तिबाट वादी दाबीबमोजिम क्षतिपूर्ति भराइपाउँ भन्ने वादी नेपाल सरकारको दाबी पुग्न सक्दैन भन्ने सुरू ललितपुर जिल्ला अदालतबाट २०७२/१०/५ मा भएको फैसला ।

मृतक वर्ष ३ की सजिना च्यासी श्रेष्ठको मृत्यु भएको सम्बन्धमा विवाद रहेन । तर कस्को कसुर अपराधबाट घटना घट्‍न गयो भन्ने सम्बन्धमा समयमा छानबिन अनुसन्धान नै नभई पहिला मलाईसमेत पक्राउ गरी छाडिसकेको अवस्थामा ६ वर्षपछि सरकारी मुद्दासम्बन्धी ऐनको विपरीत सि.आई.वी.ले मुद्दा अनुसन्धान गरी म निर्दोष व्यक्तिलाई कसुरदार हो भनी कसुरदार सन्दीप व्यञ्‍जनकार भएको भनी निजको दाजु मनिष व्यञ्‍जनकारले कागज गरेको अवस्थामा समेत निजलाई पक्राउ गरी छाडिएको 

छ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान विभाग (सि.आई.वी.) ले कसुरमा संलग्नता भएको भनी डर, त्रास देखाई जबरजस्ती भन्न लगाई अडियोमा रेकर्ड गरी सोहीबमोजिम लेखिएको कागजमा सही गराई साबिती बयान गर्न लगाइएको हो । सो साबिती बयानलाई समाचार टेलिभिजन र युट्युबमा समेत प्रचार प्रसार गरी अपराधीको संज्ञा दिने कार्य भयो । अनुसन्धानकर्ताको विश्‍वास नियतमाथि आँच आउन नदिने उद्देश्यले बनावटी साक्षी खडा गरी जबरजस्ती करणी र कर्तव्य ज्यान जस्तो गहन फौजदारी अपराधमा फसाउने कार्यअनुरूप दायर भएको अभियोग र प्रमाणलाई सिरानी हाली घटनालाई मात्र गम्भीरता दिई संलग्नता रहे नरहेको भन्ने सम्बन्धमा सोचविचार नै नगरी यातना, दबाब, प्रभाव र इच्छा विरूद्ध गराइएको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयान र सो बयान बारम्बार पढ्न लगाई गरिएको रेकर्डलाई प्रमाण मानी फैसला गर्न मिल्दैन । सो बेहोरा अन्य वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुनुपर्दछ । अदालतको बयानमा समेत आफ्नो कानून व्यवसायीसँग सम्पर्क गर्न नदिई साबिती बयान गराउने प्रयास गरेको भए तापनि स.ज. ५ र ८ मा प्रहरीसमक्षको बयान बेहोरा र अडियो मेरो इच्छा विरूद्धको हो भनी बयान लेखाएको छु । कुनै पनि कागज प्रमाणबाट मैले मृतकलाई करणी गरें भन्ने देखिँदैन, सामूहिक करणी गरेको भनी कसुरदार कायम गर्ने काम भयो । मृतकको मृत्यु कर्तव्यबाटै भएको भन्ने तथ्यमा विवाद नभए पनि मेरै कर्तव्यबाट मृत्यु भएको हो भन्ने तथ्य प्रमाणको अभावमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने र निर्दोष छु भनी मैले पेस गरेको साक्षीको भनाइलाई समेत मान्यता नै नदिई बनावटी साक्षी प्रमाणको आधारमा कसुरदार कायम गर्ने कार्य भएको हुँदा सुरू फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ ले उच्च अदालत पाटनमा दायर गरेको पुनरावेदन-पत्र ।

सहप्रतिवादी नाम परिवर्तित काठमाडौं २६ सि.आई.वी. १४२ ले सन्दीप व्यञ्‍जनकार र मैले पालैपालो केटीलाई करणी गरेको हो भनी अनुसन्धानको क्रममा बयान गरेको पाइएकाले प्रतिवादी सन्दीप व्यञ्‍जनकारबाट अभियोग दाबीबमोजिम पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्नेमा क्षतिपूर्ति भराउनु नपर्ने गरी भएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०७२/१०/५ गतेको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी 

छ । "अभियोग लागेको मानिसको नाउँमा मृत्यु भइसकेको हुनाले दण्ड जरिवानाको लगतसम्म नकसिने हो, अपराधको कारणबाट सिर्जित देवानी दायित्वबाट भने निज मृतक वा निजको हकदार उम्किन पाउने अवस्था नहट्‍ने" भनी (ने.का.प. २०६५, अङ्क ३, नि.नं. ७९३९, पृष्ठ २५८, सरिता बस्नेत वि. शाही नेपाल वायुसेवा निगम) सिद्धान्तसमेत प्रतिपादन भइसकेको अवस्थामा प्रतिवादी सन्दीप व्यञ्‍जनकारबाट अभियोग दाबीबमोजिम पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिनुपर्नेमा प्रतिवादीको मृत्य भएको कारणबाट प्रस्तुत मुद्दामा पीडित पक्षलाई क्षतिपूर्ति भराइदिनु नपर्ने गरी भएको फैसला कानूनतः त्रुटिपूर्ण छ । क्षतिपूर्ति फौजदारी दायित्व नभई यो देवानी प्रकृतिको दायित्व भएको र त्यसबाट प्रतिवादीको कसुरमा रिहाई वा छुट पाए पनि क्षतिपूर्तिको दायित्वबाट मुक्ति पाउने अवस्था नहुँदा अन्देखा गरी भएको त्रुटिपूर्ण फैसला बदरभागी छ । प्रतिवादी सन्दिप व्यञ्‍जनकारबाट अभियोग मागदाबीबमोजिम पीडितलाई क्षतिपूर्ति भराइपाउँ भन्ने वादी नेपाल सरकारका तर्फबाट उच्च अदालत पाटनमा गरेको पुनरावेदन पत्र ।

यसमा फौजदारी कसुरबाट सिर्जित देवानी दायित्वको विषयमा मृतकबाट पीडित पक्षलाई क्षतिपूर्ति भराइदिन नपर्ने भनी मृतक प्रतिवादीका परिवारलाई नबुझी भएको फैसला कानून व्याख्याको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिएको र प्रतिवादीमध्येको नाम परिवर्तित काठमाडौं २६ नं. सि.आई.वी. ले वारदात हुँदा आफू १४ वर्षको मात्र थिए भनी जिकिर लिई पुनरावेदन गरेको हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ निजको पुनरावेदन परेको जानकारी उच्च सरकारी वकिल कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटनबाट मिति २०७३/८/२७ मा भएको आदेश ।

प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ लाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुनेमा सोको आधा कैद वर्ष १० सजाय गरी सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७२/१०/५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने र प्रतिवादीलाई जबरजस्ती करणीको ३(१) बमोजिम हुने सजायको आधा ७ वर्ष ६ महिना र ऐ. महलको ३क. बमोजिम ५ वर्ष कैद हुनेमा सोको आधा २ वर्ष ६ महिना कैदसमेत गर्ने गरेको उक्त मिति २०७२/१०/५/३ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ लाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. अनुसार जबरजस्ती करणीको कसुरमा मद्दतसम्म गरेकोमा सोही ४ नं. बमोजिम हुने अधिकतम सजायको आधा (बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम) १ (एक) वर्ष ६ (छ) महिना कैद हुनेमा पीडित १६ वर्षभन्दा कम उमेरको भएकाले सोको दोब्बर ३ वर्ष कैद सजाय मात्र हुने, अन्यमा पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।२।३० मा भएको फैसला ।

लामो समयदेखि केस अनुसन्धान निष्कर्षमा पुर्‍याउन नसकी अनुसन्धानकर्ता निकायको योग्यता र इज्जतमाथि प्रश्‍न चिह्न खडा भई अनुसन्धानलाई टुङ्गोमा पुर्‍याउने चटारो परिहरहेको कारण जसरी भए पनि केस सल्टाउने नाममा वास्तविक अपराधीलाई उम्क्याई म निर्दोष व्यक्तिलाई फसाउने नियतले पक्राउ गरी जबरजस्ती साबिती बयान गराएको र सोही बयानलाई समर्थन गराउने उद्देश्यले घटना घटेको ६ वर्षपछि घटना विवरण कागज गराई सरकारी गवाहका रूपमा प्रस्तुत गर्ने गरी भएको सम्पूर्ण केस अनुसन्धान कार्य पूर्णतया संदिग्ध रहेका, संदिग्ध अनुसन्धानबाट तयार गरिएको मिसिल संलग्न कथित साबिती बयान, घटना विवरण कागजहरू कानून प्रतिकूल भई प्रमाणयोग्य नभई आरोपित कसुर म प्रतिवादीबाट भएको तथ्य निर्विवाद रूपमा स्वतन्त्र निष्पक्ष प्रमाणबाट पुष्टि प्रमाणित हुन नसकेको र मेरो अदालती बयान, साक्षी बकपत्र तथा नारायण व्यञ्जनकार, ओम व्यञ्जनकार, सनिस व्यञ्जनकार, श्रृजन व्यञ्जनकार जस्ता स्वयं वादी पक्षका गवाहसमेतका बकपत्रसमेतबाट म प्रतिवादी निर्दोष प्रमाणित भएको अवस्थामा पनि सुरू अदालतले अभियोग दाबीबमोजिम म प्रतिवादीलाई पूरै कसुरदार ठहर्‍याई रू.५,००,०००।- (पाँच लाख) क्षतिपूर्तिसमेत भराउने गरी भएको फैसला त्रुटिपूर्ण छ । मेरो हक हितमा कुनै प्रतिकूल असर नपर्ने गरी यदि म प्रतिवादी कसुरदार नै भएको मान्ने हो भने पनि मेरो जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकताअनुसार वारदात हुँदाका बखतमा मेरो उमेर १४ वर्षमुनिको भएको हुँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार ६ महिनासम्मको कैद सजाय हुनेमा अन्यथा फैसला भएको गैरकानूनी र त्रुटिपूर्ण हुँदा बदरभागी छ ।  फैसलामा मबाट क्षतिपूर्ति रू.५,००,०००।- (पाँच लाख) भरिपाउने ठहर भएको छ जबकि अपराधका सम्बन्धमा समाजशास्त्रीय र फौजदारी कानूनको दण्डको सिद्धान्तअनुसार नाबालकले आफूले गरेको कामको परिणाम र परिणति ऊ थाहा नपाउने हुँदा कठोर दण्डको भागी बनाइन नहुने साथै अर्थ दण्डसमेत गर्न नहुने गरी कानूनले नै छुट दिएको अवस्था छ । उच्च अदालत पाटनबाट मलाई जबरजस्ती करणीतर्फको कसुरमा मतियारका रूपमा कसुरदार ठहर गरिएको र मुलुकी ऐन, जबरजस्ती करणीको महलमा मतियारबाट क्षतिपूर्ति दिलाउने कानूनी व्यवस्था नभएको हुँदा उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी काठमाडौं २६ सि.आई.वि. १४२ ले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

प्रतिवादी काठमाडौं २६ सि.आई.वी..१४२ लाई जबरजस्ती करणी महलको ३ (१) र ३क. नं. बमोजिमको कसुर ठहर गरी सजाय गरेको ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी सोही महलको ४ नं. को कसुरमा ३ वर्ष कैद गर्दा कुनै आधार र तथ्यमा आधारित रहेर गरेको नदेखिई कानूनमा भएको व्यवस्थासँग जबरजस्ती मिलाउने प्रयास भएको देखिन्छ । कुनै पनि आधार र प्रमाणबाट यी प्रतिवादीको सन्दिप व्यन्जनकारलाई सहयोग मात्र गरेको भन्ने अवस्था देखिँदैन । ज्यानसम्बन्धी कसुर पुष्टि गर्ने आधार र प्रमाण मूल्याङ्कनको क्रममा उच्च अदालतले सि.डी. मा रेकर्ड गरिएका कुरालाई प्रमाण मानिसकेपछि सोही प्रमाणमा व्यक्त भएको जबरजस्ती करणीतर्फको कसुरका हकमा प्रमाणले पुष्टि नभएको भन्ने आधारमा फरक कसुरमा संलग्न रहेको देखाई सजायमा परिवर्तन गर्नाले न्यायिक विचलन ल्याउने अवस्था रहन्छ । प्रतिवादी काठमाडौं २६ सि.आई.वी.१४२ को मौकाको साबिती बयानलाई अन्य प्रमाण घटनास्थल एवं लास प्रकृति मुचुल्का, योनिबाट रगत बगी पैतालासम्म भिजेको अवस्था, मृत्युको कारण विभिन्न ४ वटा उल्लेख गर्दै अत्यन्त दुखाई / पीडा एवं रक्तस्राव उल्लेख भएको, योनि एवं मलद्वार च्यातिएको तथा टाउकोमा नङ्गको डामहरू रहेको, जस्ता कारणबाट पूर्ण समर्थित भएकोले एकजना मात्र अभियुक्त सन्दिप व्यन्जनकारको मात्र संलग्नता रही अन्य सि.आई.वि. १४२ ले सहयोग मात्र गरेको भन्ने अवस्था नदेखी निज प्रतिवादीले पनि मृतक बालिकालाई जबरजस्ती करणीसमेत गरेको तथ्य पुष्टि भएको अवस्थामा फरक कसुर ठहर गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी काठमाडौं २६ सि.आई.वी.१४२ ले मौकामा गरेको बयानमा जाहेरवालाको छोरीलाई मसमेतले करणी गरी सोपश्चात् निजको कपडाले कसी कर्तव्य गरी मारेको हो भनी लेखाएको उक्त बयानलाई अडियो रेकर्डिङ र अन्य प्रमाणले समेत समर्थन भएको अवस्थामा यी प्रतिवादी सि.आई.वि. १४२ को सहयोगीको मात्र भूमिका देखिएको भन्ने अवस्था 

छैन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. मा कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा कसुरदारबाट क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थामा कसुरदारको रूपमा जबरजस्ती करणी गर्ने व्यक्तिलाई स्पष्ट लक्षित गरी उल्लेख गरेको अवस्था छ । तर प्रस्तुत फैसलामा यी प्रतिवादीबाट रू.५ लाख क्षतिपूर्ति भराइदिने फैसला सदर गरे पनि यिनको कसुर भने जबरजस्ती करणीको नभई जबरजस्ती करणी गर्न सहयोग गरेको मुलुकी ऐन, जबरजस्ती करणी महलको ४ नं. अन्तर्गतको देखाई न्यायको रोहमा औचित्यविहीन एवं कानूनको गलत व्याख्या गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिन्छ । प्रतिवादी संदिप व्यन्जनकारको पीडित मृतक बालिकालाई जबरजस्ती करणी अपराध गरेबापतको क्षतिपूर्ति पीडितका परिवारलाई निज प्रतिवादीका तर्फबाट निजका हकदारमार्फत भराउनुपर्नेमा निज प्रतिवादीको आफन्तबाट त्यसरी क्षतिपूर्ति नभराई क्षतिपूर्ति सम्बन्धमा वादी नेपाल सरकारको दाबी नपुग्ने भनी भएको फैसला त्रुटिपूर्ण छ । अतः प्रतिवादीहरूले कसुर गरेको पुष्टि भइरहेको अवस्थामा प्रतिवादी  सि.आई.वी. १४२ लाई फरक कसुर कायम गरी भएको अर्का प्रतिवादीको हकमा दाबी नपुग्ने भनी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

यसमा उच्च अदालत पाटनको फैसलाउपर वादी नेपाल सरकार र विपक्षी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि.१४२ समेतको पुनरावेदन परेको देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ परेका पुनरावेदनहरू परस्पर सुनाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७६।५।१ मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनीले प्रतिवादी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. मा कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा कसुरदारबाट क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थामा कसुरदारको रूपमा जबरजस्ती करणी गर्ने व्यक्तिलाई स्पष्ट लक्षित गरी उल्लेख गरेको अवस्था छ । तर प्रस्तुत वारदातका सम्बन्धमा उच्च अदालत पाटनबाट प्रतिवादी काठमाडौं २६ सि.आई.वी. १४२ बाट रू.५ लाख क्षतिपूर्ति भराइदिने फैसला सदर गरे पनि यिनको कसुर भने जबरजस्ती करणीको नभई जबरजस्ती करणी गर्न सहयोग गरेको मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. अन्तर्गतको देखाई क्षतिपूर्तिको हकमा जबरजस्ती करणी नै भएको मानिएको तर सोही कसुरबाट उन्मुक्ति दिई सहयोगीको भूमिका ठहर्‍याएको फैसला न्यायको रोहमा औचित्यविहीन एवं कानूनको गलत व्याख्या गरी भएको उक्त फैसला सो हदसम्म त्रुटिपूर्ण देखिन्छ । साथै प्रतिवादी सन्दिप व्यन्जनकारको हकमा ने.का.प. २०६५, अङ्क २, नि.नं. ७९३७ मा “अभियोग लागेको मानिसको नाउँमा निजको मृत्यु भइसकेको हुनाले दण्ड जरिवानाको लगतसम्म नकसिने हो, अपराधको कारणबाट सिर्जित देवानी दायित्वबाट भने निज मृतक वा निजको हकदार उम्किन पाउने अवस्था नहुने” भन्ने सिद्धान्त प्रतिपादित भएको अवस्थामा निज प्रतिवादीले पीडित मृतक बालिकालाई जबरजस्ती करणी अपराध गरेबापतको क्षतिपूर्ति पीडितका परिवारलाई निजका हकदारमार्फत भराउनुपर्नेमा सो नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

त्यस्तै पुनरावेदक प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि. आई. वी. १४२ का तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री उज्वलकिशोर घिमिरेले लामो समयदेखि अनुसन्धान निष्कर्षमा पुर्‍याउन नसकेकाले अनुसन्धान गर्ने निकायको योग्यता र इज्जतमाथि प्रश्‍न चिह्न खडा हुने भई अनुसन्धानलाई टुङ्गोमा पुर्‍याउन वास्तविक अपराधीलाई उम्क्याई निर्दोष व्यक्तिलाई फसाउने नियतले हाम्रो पक्षलाई पक्राउ गरी जबरजस्ती साबिती बयान गराउने, सोही बयानलाई समर्थन गराउने गरी वारदात भएको ६/६ वर्षपछि घटना विवरण कागज गराउने कार्य पूर्णतया संदिग्ध रहेकाले उक्त संदिग्ध अनुसन्धानबाट तयार गरिएको मिसिल संलग्न कागजातहरू कानून प्रतिकूल रहेका छन् । उक्त वारदात यी आरोपित प्रतिवादीबाट भएको तथ्य निर्विवाद रूपमा स्वतन्त्र प्रमाणबाट प्रमाणित हुन सकेको छैन । यी प्रतिवादी अदालतमा पूर्णतया कसुरमा इन्कार रहेको साथै स्वयं वादी पक्षका गवाहसमेतका बकपत्रसमेतबाट प्रतिवादी निर्दोष रहेको अवस्थामा कसुरदार ठहर गरी सजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उक्त फैसला बदर गरी निज प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि. आई. वी. १४२ लाई सफाइ दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसमा प्रतिवादीहरू नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ र सन्दिप व्यन्जनकारसमेतले सजिना च्यासी श्रेष्ठलाई करणी गरेपश्चात् मृतककै लुगा कपडा प्रयोग गरी घाँटीमा कसी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३क नं. तथा ज्यानसम्बन्धी महलको १ नं. मा परिभाषित कसुर देखिँदा निज प्रतिवादीहरूलाई जबरजस्ती करणी महलको ३(१) र ३क नं. बमोजिम थप सजाय तथा ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय र जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइदिन तथा प्रतिवादीमध्येका सन्दिप व्यन्जनकारको मृत्यु भइसकेको हुँदा निजको हकमा मुलुकी ऐन, अ.बं. १७६ बमोजिम कर्तव्य ज्यान र जबरजस्ती करणीको महलको ३(१) र ३क नं. बमोजिम सजायको मागदाबी नलिई पीडितलाई भएको क्षतितर्फ जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडित पक्षलाई मनासिब क्षतिपूर्ति दिलाई भराइदिने मागदाबीसमेत लिई प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ वारदातको समयमा १६ वर्षको रहेको भनी परीक्षण प्रतिवेदन प्राप्त हुन आएको देखिँदा निजका हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी सि.आई.वी. १४२ लाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुनेमा सोको आधा कैद वर्ष १० सजाय गरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला मिलेको देखिँदा सदर हुने र प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) बमोजिम हुने सजायको आधा ७ वर्ष ६ महिना र ऐ. महलको ३क. बमोजिम ५ वर्ष कैद हुनेमा सोको आधा २ वर्ष ६ महिना कैदसमेत गर्ने गरेको उक्त फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई प्रतिवादी सि.आई.वी. १४२ लाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. अनुसार जबरजस्ती करणीको कसुरमा मद्दतसम्म गरेकोमा सोही ४ नं. बमोजिम हुने अधिकतम सजायको आधा (बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम १ (एक) वर्ष ६ (छ) महिना कैद हुनेमा पीडित १६ वर्षभन्दा कम उमेरको भएकाले सोको दोब्बर ३ वर्ष कैद सजाय मात्र हुने साथै प्रतिवादी सन्दीप व्यञ्‍जनकारको हकमा प्रस्तुत मुद्दामा प्रतिवादी कायम गर्नुभन्दा अघि नै मृत्यु भई आफ्नो प्रतिरक्षासमेत गर्न नपाएको अवस्थाका व्यक्तिबाट वादी दाबीबमोजिम क्षतिपूर्ति भराइपाउँ भन्ने वादी नेपाल सरकारको दाबी पुग्न नसक्ने भनी सुरू अदालतबाट भएको फैसला मिलेकाले सदर हुने भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।२।३० मा भएको फैसलाउपर चित्त नबुझाई नाम परिवर्तित काठमाडौं २६ सि.आई.वि. १४२ र वादी नेपाल सरकारको तर्फबाट छुट्टाछुट्टै पुनरावेदनपत्र दायर हुन आएको देखियो । 

प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट मिति २०७४।२।३० मा भएको फैसला मिलेको छ, 

छैन ? वादी नेपाल सरकार तथा प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ को पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल चिकँ बहीलस्थित सप्तबिहार गुठीको भवनमा रहेको ट्वाइलेटभित्र ट्वाइलेटको प्यानको मुखमा मृतक सजिना च्यासी श्रेष्ठको मुन्टो हाली घोप्टो अवस्थामा दायाँ खुट्टा ट्वाइलेटभित्र पारी बायाँ खुट्टा घुँडाको भागमा खुम्च्याई दुवै हात दायाँ बायाँ पारी नाङ्‍गो अवस्थामा लास रहेको, सो लासनजिक मृतकको कट्टु रहेको, घाँटीमा मृतकले लगाएको हरियो टिसर्टले बाँधिएको मृतक नजिक निजले लगाउने गरेको निलो चप्पल रहेको, २ इन्च लामो निधारको भागमा निलो कालो सुनिएको, दुवै आँखा बन्द कालो भई सुनिएको, योनिबाट रगत बगी पैतलासमेत भिजेको, मलद्वारसमेतमा रगत लागेको भन्ने घटनास्थल लास जाँच प्रकृति मुचुल्काबाट देखिन्छ । त्यसैगरी मृतक बालिकाको शव परीक्षण प्रतिवेदन हेर्दा, Cause of death is due to Asphyxia, head injury, Neurogenic and hemorrhagic shock भन्ने देखिन्छ । शव परीक्षण प्रतिवेदन तयार गर्ने डा. चन्द्रशोभा अमात्यले अदालतसमक्ष आई बकपत्र गर्दा मृतकको टाउकोमा निलडाम २.२ को थियो । टाउकोमा रगत जमेको थियो । अनि घाँटीमा नङको डामहरू रहेको थियो । बच्चीको योनि च्यातिएको, रगत बगेको अवस्था 

थियो । बच्चीको मलद्वार पनि च्यातिएको र मलद्वारबाट रगत पनि बगेको थियो । बच्चीको मृत्यु हुनुको कारणमा घाँटी थिचिएको र निसास्सिएको कारण (Asphyxia), टाउको चोटको कारण (Head injury), दु:खाइको कारण (Nurojerjenic Shock) र रगत बगेको कारण (Hemorrhagic Shock) थियो । बच्चाको घाँटी थिचेको कारण निज निसास्सिएर मरेको हो । निजको घाँटी थिच्नु पनि मृत्युको कारणमध्येको एक कारण हो । मृतक बच्चीको घाँटीमा नङहरू गढेको डामहरू थियो । मृतक शव फोहर र दिसाले लटपटिएको थियो भन्नेसमेत बेहोरा उल्लेख गरेको देखिन आयो । उल्लिखित घटनास्थल लासजाँच प्रकृति मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन एवं शव परीक्षण गर्ने चिकित्सकको अदालतसमक्ष भएको बकपत्रसमेतबाट मृतक सजिना च्यासी श्रेष्ठलाई जबरजस्ती करणी गरी सोपश्चात् कर्तव्यबाट हत्या भएको भन्ने तथ्यमा कुनै विवाद देखिएन ।

३. अब प्रस्तुत वारदातमा यी प्रतिवादीहरू परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि.१४२ र सन्दीप व्यञ्जनकारको संलग्नता छ वा छैन भन्नेतर्फ विचार गर्दा, मिति २०६६/५/८ गते ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ९ च्यासल चिकबहिलस्थित रहेको सप्तपुर महाविहार गुठीको भवनमा रहेको ट्वाइलेटमा वर्ष ३ की नाबालिका सजिना च्यासी श्रेष्ठलाई जबरजस्ती करणी गरी सोपश्चात् कर्तव्य गरी मारेको भन्ने उजुरी महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भई अनुसन्धान सुरू भए तापनि सो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपश्चात् सि.आई.वि. ले प्रतिवादी काठमाडौं २६ सि.आई.वि.१४२ र सन्दीप व्यञ्जनकारको संलग्नतामा उक्त घटना घटाएको भन्ने आधारमा यी प्रतिवादी सि.आई.वि. १४२ लाई मिति २०७२/८/१५ मा पक्राउ गरी अनुसन्धान अघि बढाएको देखिन्छ । प्रतिवादी नाम परिवर्तित काठमाडौं २६ सि.आई.वि. १४२ ले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा वारदात मिति २०६६/०५/०८ गते पञ्चमीको दिन भएकोले स्कुल बिदा थियो । च्यासलमा रहेको सरस्वती धारातर्फ जानेक्रममा फल्चा भन्ने स्थानमा सन्दिप व्यञ्जनकारसँग भेट भयो । निजले मृतकसमेतका ३/४ जना बालिकाहरू फल्चाको अगाडितिर खाली ठाउँमा खेलिरहेको देखाई सोमध्येको मृतक केही ठुलो देखिएकोले सन्दिप व्यञ्जनकारले यो केटीलाई आज करणी गर्नुपर्छ भन्यो मैले पनि उक्त कुरामा सहमति जनाएँ । सन्दिप व्यञ्जनकारले मलाई नेपाली रू.१०/- दिएर केटीलाई फकाउनको लागि बिस्कुट लिएर आइज भनी पठायो । मैले गोरे दाइको पसलमा गई बिस्कुट किनेर ल्याई केटीलाई दिएँ । केटी धुलोमैलो फोहरी भएकोले सरस्वती धारामा लिई केटीको लुगा फुकाली अरूले नुहाइसकेपछाडि छोडेको स्याम्पुले दक्षिणपट्टिबाट दोस्रो नं. को धारामा केटीलाई मैले र सन्दिप व्यञ्जनकारले नुहाई दियौं । नुहाई सकेर लुगा लगाई दिई ललितपुर उपमहानगरपालिका वडा नं. ९ मा रहेको सप्तपुर महाविहारमा रहेको २ वटा सार्वजनिक शौचालयमध्ये पश्चिमतर्फ रहेको शौचालयभित्र पहिला म र केटी गयौं । त्यसपछि सन्दिप व्यञ्जनकार शौचालयभित्र आई ढोकामा चुकुल लगाई ढोका बन्द गरी मैले केटीको कट्टु फुकालिदिएँ, केटी रून थालेपछि केटीको मुख थुनिदिएँ । केटीलाई पहिला सन्दिप व्यञ्जनकारले करणी गर्ने त्यसपछि पालोपालो मैले करणी गर्ने सल्लाहबमोजिम मैले केटीलाई मेरो बायाँ हातले केटीको मुख थुन्ने र दायाँ हातले तलपट्टिबाट निजको पेटको भागबाट माथि उचालेँ । मैले समाएको घोप्टो पोजिसनमा केटीका दुवै खुट्टा सन्दिप व्यञ्जनकारले दुवै हातले समाई केटीको योनिमा लिङ्ग छिरायो २/३ मिनेटसम्म सन्दिप व्यञ्जनकारले केटीको योनिभित्र छिर्ने गरी करणी गरlसक्दासम्म केटी सिथिल भएपछि कोही मानिस आएको जस्तो छ अब यहीँ छोडेर भागौं भने केटीले आफूलाई देखेको र आफूलाई चिनेर अप्ठ्यारो पर्ने ठानी निजको हत्या गरी निजलाई शौचालयको प्यानमा खसालेर सो ठाउँबाट बाग्मती खोलातिर भागेर गएका हौं भनी घटनाको सम्पूर्ण बेहोरा चित्रण गरी कसुरमा साबित रही बयान गरेको देखिन्छ भने निज प्रतिवादीले अदालतसमक्ष बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्षको बयान र पेस हुन आएको अडियो रेकर्डमा भएको कुरा मैले व्यक्त गरेको ठिक हो तर मलाई प्रहरीले डर त्रास देखाई जबरजस्ती भन्न लगाएको हो भनी बयान गरेको देखिन्छ । 

४. यी प्रतिवादीले पुनरावेदन जिकिरमा समेत अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान डर त्रास र यातना दिई गराइएको भनी जिकिर लिएको 

पाइन्छ । यस अवस्थामा प्रतिवादीले लिएको उक्त जिकिरको विश्वसनीयता कतिसम्म छ भन्नेतर्फ विचार गर्नुपर्ने देखिन्छ । यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई अडियो सि.डि. मा समेत रेकर्ड गरेको देखिन्छ । आधुनिक प्रविधिमा भएको विकासका कारण प्रमाणहरूको स्वरूपमा समेत परिवर्तन ल्याएको छ । यस किसिमबाट प्रतिवादीले मुद्दाको अनुसन्धानको क्रममा व्यक्त गरेको कुरा Compact Dics  (सि.डि.) मा रेकर्ड गरिएको र सो रेकर्ड भएको आवाज मेरै हो भनी यी प्रतिवादीले अदालतसमक्ष स्वीकार गरेको साथै प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी. १४२ प्रारम्भिक सोधपुछको क्रममा लिइएको अडियो VOICE 3128KB को फाइल रहेको PRE TEST लेखिएको सि.डि. थान १ र अनुसन्धानको क्रममा प्रतिवादी नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ सँग लिएको अडियो रेकर्ड VOICE  नाम परिवर्तन काठमाडौं २६ सि.आई.वी.१४२ रहेको ११४९ KB को फाइल रहेको POST TEST लेखिएको सि.डि. थान १, मा भएको VOICE Record हरूलाई VOICE SPECTRUM ANALYSIS (VAS) प्रविधिद्वारा Analysis गर्दा (९३.७%) मिलेको COMPARISON RESULT मा देखिन्छ र सो VOICE एकै व्यक्तिको हो भन्ने बेहोराको परीक्षण प्रतिवेदनसमेतले पुष्टि गरेको देखिन्छ । आजको प्रविधियुक्त समयमा अडियो, भिडियो, सि.डि. आदि विद्युतीय सामग्री जस्ता आधुनिक प्रविधिलाई अदालतले अस्वीकार गर्न मिल्ने अवस्था रहँदैन ।

५. यी प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि. आई. बी. १४२ ले उक्त वारदातमा आफ्नो संलग्नता नरहेको र अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन इच्छा विरूद्ध जबरजस्ती गराइएको भनी अदालतसमक्ष कसुरमा इन्कारी रहे तापनि सो कुरालाई पुष्टि गर्ने विश्वसनीय तथा भरपर्दो प्रमाण यी प्रतिवादीले पेस गर्न सकेको पनि देखिँदैन । यसरी यी प्रतिवादी अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रहे पनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आरोपित कसुर गरेको कुरामा साबित भई बयान गरेको देखिएको, निजले बयानमा घटनाक्रमको श्रृङ्खला सिलसिलेवार र क्रमबद्ध रूपमा उल्लेख गरेको र सहअभियुक्त सन्दिप व्यन्जनकारसमेतउपर पोल गरेको देखिएबाट प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि. आई. बी. १४२ ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको उक्त बयान प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणका रूपमा ग्राह्य हुने नै देखियो । यसै सम्बन्धमा ने.का.प. २०७५, अङ्क ७ नि.नं. १००५९ मा “सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्व:स्फूर्त रूपमा आरोपित कसुरसँग स्वाभाविक सामञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्न पर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने ।’’ भनी सिद्धान्त प्रतिपादित भएको 

देखिन्छ । उक्त सिद्धान्त प्रस्तुत मुद्दामा समेत प्रासङ्गिक तथा सान्दर्भिक हुने देखिन्छ ।

६. जाहेरवाला शंकर च्यासी श्रेष्ठले अदालतसमक्ष गरेको बकपत्रमा सन्जीव व्यञ्जनकारसमेतले मेरो छोरीलाई करणी गरी मारेका हुन् भनी टोलमा हल्ला भएपछि थाहा पाएँ । त्यसपछि नयाँ पत्रिकामा पनि घटना घटाउने हाल पक्राउमा परेका प्रतिवादी समातिएको कुरा छापिएपछि निज प्रतिवादीले मेरो छोरीलाई बलात्कार गरी मारेको भन्ने प्रस्ट हुन आयो भन्ने उल्लेख छ । Video Conferencing को माध्यमबाट बकपत्र गराइएका सरकारी गवाह सि.आई.वि. १४० ले प्रतिवादीसँग कक्षा ८ मा पढेको, गाँजा खाएर केटी जिस्काएको त्यहाँको अङ्कलहरूले भन्नुभएको सुनेको हो । घटनाबारे हो-हल्ला भएको हुँदा म त्यो ठाउँमा पुगेको थिएँ । मृतक मेरो नजिकैको हो सि.आई.वि. १४२ ले घटना घटाएको हो भन्ने कुरा अहिले आएर थाहा पाएको हो भनी बकपत्र गरेको साथै वादी पक्षकै गवाह सि.आई.वि.१४१ ले अदालतसमक्ष भएको बकपत्रमा सन्दीप र सि.आई.वि. १४२ भएर जबरजस्ती करणी र हत्या गरेको हो भनेर सुनेको हो । अनुसन्धानको सिलसिलामा गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो भनी उल्लेख गरेको 

पाइन्छ । दधिराम न्यौपाने, कृष्णप्रसाद वाग्ले, मधु खड्का र रमेश विष्टसमेतका प्रतिवेदकहरूले अदालतसमक्ष बकपत्र गर्दा गोप्य सुराकीबाट घटनामा काठमाडौं २६ सि.आई.वि.१४२ र सन्दीप व्यञ्जनकारको संलग्नतामा यो घटना घटाएको खुल्न आएपश्चात् मिति २०७२/८/१५ मा ललितपुरबाट काठमाडौं २६ सि.आई.वि.१४२ लाई पक्राउ गरी सोधपुछ गर्दा निजले घटना आफ्नो र सन्दीप व्यञ्जनकारको संलग्नतामा भएको भनी खुलाएको हुँदा अनुसन्धान अघि बढाएको भनी उल्लेख गरेको 

देखियो ।

७. प्रस्तुत वारदातमा अपराध गर्दा अपनाइएका तरिका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्णसचेत, सावधान रही नियोजित र सङ्गठित रूपमा आफ्नो कार्य योजनालाई पूर्णता दिएको देखिन्छ । यस्तो अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खास गरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नुपर्ने हुन्छ । यस अवस्थामा कानूनअनुरूप प्रमाणको रूपमा पेस गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्न सक्ने नै हुन्छ । कुनै अपराध हुँदाहुँदैको अवस्था देख्ने चश्मदिद गवाह नहुन पनि सक्दछ । चश्मदिद गवाह नभएको अवस्थामा पनि अपराधी यही नै हो भनी ठम्याउन वस्तुनिष्ठ र परिस्थितिजन्य प्रमाणहरू पनि यथेष्ठ हुन सक्दछन् । कुनै घटनामा जब प्रत्यक्षदर्शी साक्षी वा चश्मदिद गवाह जस्ता प्रत्यक्ष प्रमाणको अभाव हुन्छ, त्यहाँ परिस्थितिजन्य प्रमाणको आधारमा अपराध र अपराधीको खोजी गर्ने प्रयास गरिन्छ । कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एकआपसमा श्रृङ्खलाबद्ध मालाकार रूपमा जोडिँदा आपराधिक कार्य सम्पादन भएको स्वाभाविक निष्कर्ष निस्कने भएमा सो कार्य र व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्ता तथ्यहरूलाई परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को रूपमा परिभाषित गरिन्छ । प्रस्तुत वारदातको तथ्यगत अवस्था र यी प्रतिवादीले अनुसन्धानमा व्यक्त गरेका कुराहरू एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको देखिन्छ । यसप्रकार कुनै अभियोग लागेको अभियुक्तले कसुरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै निश्चित, तथ्यपरक एवं विश्वसनीय प्रमाणबाट समर्थित गराउनुपर्ने 

हुन्छ । प्रतिवादीले अनुसन्धानमा गरेको बयानको खण्डन हुने भरपर्दो कारण, विश्वसनीय आधार प्रतिवादीले अदालतसमक्ष गरेको आफ्नो इन्कारी बयानमा खुलाउन सकेको पाइँदैन । इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसुरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन सक्दैन । सजायबाट बच्नका लागि अदालतमा सामान्यरूपले इन्कारी बयान गर्नु एउटा कुरा हो र त्यसको पुष्ट्याईंका लागि विश्वसनीय र ठोस आधार, प्रमाण पनि पेस गर्न सक्नु अर्को कुरा 

हो । यसप्रकार कुनै प्रमाणविना इन्कारी बयान अर्थहीन र प्रयोजनहीन हुन्छ र त्यस्तोमा सङ्कलित परिस्थितिजन्य प्रमाणलाई पनि निजका विरूद्ध अदालतले प्रमाणका रूपमा ग्रहण गर्नुपर्ने हुन्छ ।

८. यी पुनरावेदक प्रतिवादीले लामो समयदेखि केस अनुसन्धान निष्कर्षमा पुर्‍याउन नसकी अनुसन्धानकर्ता निकायको योग्यता र इज्जतमाथि प्रश्‍न चिह्न खडा हुने भई नक्कली अभियुक्त खडा गरेको हो भनी जिकिर लिएको तथा उक्त कुरालाई निजतर्फबाट उपस्थित कानून व्यवसायीले समेत बहसको क्रममा जिकिर लिएको पाइयो । प्रस्तुत वारदातमा अभियुक्तहरूले सावधान र चलाखी पूर्णरूपले नियोजित तवरमा योजना बनाई अपराध गरी आपराधिक दायित्वबाट आफूहरू बच्नका लागि भागेको देखिन्छ । यस्तो अवस्थामा प्रत्यक्षदर्शी तथा चश्मदिद गवाहको अभाव हुनु स्वाभाविक नै हुन आउँछ । घटनाको प्रत्यक्षदर्शी तथा चश्मदिद गवाहको अभावकै कारणले मात्र वारदातमा यी प्रतिवादीहरूको संलग्नता छैन भनी अन्य परिस्थितिजन्य प्रमाणलाई ठाडै अस्वीकार गर्न मिल्दैन ।  अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाणले कुनै घटना वा अपराधका सम्बन्धमा प्रत्यक्ष प्रमाणको अभाव भएमा अभियोजन पक्षले त्यस सम्बन्धमा अप्रत्यक्ष वा परिस्थितिजन्य तथ्य तथा सम्बद्ध सहायक प्रमाणहरूबाट अभियुक्तको कसुर स्थापित र प्रमाणित गर्ने प्रयास गर्दछ । घटित अपराधको प्रकृति, अपराध हुनुअघि र पछिका घटना तथा प्रतिवादीका व्यवहार आदिको सूक्ष्म निगरानी तथा विश्लेषण गरी अपराधी पत्ता लगाउनका निम्ति केही समय लाग्न सक्दछ । अपराधको अनुसन्धान गर्न समय लाग्दैमा वास्तविक अपराधीले उन्मुक्ति पाउँछ भनी अनुमान गर्नु न्यायोचित हुँदैन । यसै सन्दर्भमा "अपराध गर्दा अपनाइएको तरिका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्ण सचेत, सावधान रही नियोजित र सङ्गठित रूपमा आफ्नो कार्य योजनालाई पूर्णता दिएको देखिन्छ । यस्तो अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खास गरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नुपर्ने र त्यस्तो प्रमाणको आधारमा कसुरदार देखिन आएको अभियुक्तलाई सजाय 

गर्नुपर्ने ।" भनी ने.का.प. २०६७, अङ्क ५ नि.नं. ८३७४ मा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा समेत सान्दर्भिक हुने देखिन्छ ।

९. उपर्युक्त विवेचित कारणबाट प्रतिवादीले बयानमा मिति २०६६/०५/०८ गते पीडित बालिका सजिना च्यासी श्रेष्ठलाई सप्तपुर महाविहारमा रहेको शौचालयभित्र लगी मैले केटीको कट्टु फुकालिदिएँ, केटी रून थालेपछि केटीको मुख थुनिदिएँ । केटीलाई पहिला सन्दिप व्यञ्जनकारले करणी गर्ने त्यसपछि पालो पालो मैले करणी गर्ने हाम्रो सल्लाह भएबमोजिम मैले केटीलाई मेरो बायाँ हातले केटीको मुख थुन्ने र दायाँ हातले तलपट्टिबाट निजको पेटको भागबाट माथि उचालेँ । मैले समाएको घोप्टो पोजिसनमा केटीका दुवै खुट्टा सन्दिप व्यञ्जनकारले दुवै हातले समाई केटीको योनिभित्र लिङ्ग छिर्ने गरी करणी गरी निजको हत्या गरी निजलाई शौचालयको प्यानमा खसालेर सो ठाउँबाट भागेर गएका हौं भनी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्षको बयानलाई अदालतसमक्ष बयान गर्दा उल्लिखित कुरा आफैँले भनेबमोजिम लेखिएको हो भनी उक्त बयानलाई समर्थन गरेको र अडियो रेकर्डिङमा उल्लेख भएका कुराहरू पनि आफैँले बोलेको हो भनी स्वीकार गरेको हुनाले निजको सो बयानमा उल्लिखित कुरा पीडितको लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन र सो परीक्षण प्रतिवेदन तयार गर्ने विशेषज्ञ चिकित्सकको अदालतसमक्षको बकपत्र, प्रतिवेदकलगायत अन्य सरकारी साक्षीहरूले अदालतसमक्ष गरेको बकपत्रसमेतबाट समर्थित भएकोले यी प्रतिवादीहरूले पीडित नाबालक सजिना च्यासी श्रेष्ठलाई जबरजस्ती करणीपश्चात् कर्तव्य गरी मारेको भन्ने तथ्य प्रमाणित हुन आयो ।

१०. जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकताअनुसार वारदात हुँदाका बखतमा मेरो उमेर १४ वर्षमुनिको भएको हुँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार ६ महिनासम्मको कैद सजाय हुनेमा अन्यथा फैसला भएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादी नाम परिवर्तित काठमाडौं २६ सि.आई.वि. १४२ उपर बालबालिकासम्बन्धी ऐन, २०४८ आकर्षित हुने हो वा होइन भन्ने सम्बन्धमा अभियोग दाबीमा १६ वर्ष भनी र निजको उमेर १४ वर्षको रहेको भनी जन्मदर्ताको प्रमाणपत्र पेस भएको देखिन्छ । काठमाडौं २६ सि.आई.वि.१४२ को उमेर परीक्षण (Examination of age) प्रतिवेदनमा The examinee is in 21-23 Year of age at the time of examination. More nearly, he is running on 22nd year of his age. The age of the examinee on 2066-05 was 15-17 years. More nearly, he was on 16th year of his age भन्ने त्रि.वि. शिक्षण अस्पतालको परीक्षण प्रतिवेदनबाट देखिन्छ साथै उक्त उमेर परीक्षण प्रतिवेदन तयार गर्ने डा. हरिहर वस्तीले CIB-142  को उमेर मैले जाँच गर्दाको समयमा २१ देखि २३ वर्षभित्र रहेको पाइयो भने त्यसबेला निजको उमेर कति थियो भन्‍ने सन्दर्भमा सोही जाँच गर्दा पाएको उमेरलाई घटाउँदा १५ देखि १७ वर्षको पाइयो । तथ्याङ्क शास्त्रका सिद्धान्तहरूको आधारमा निजमा पाइएका विभिन्‍न लक्षणहरूलाई विश्लेषण गरी निजको जाँच गर्दाको बखतको उमेर २२ वर्षको र ६ वर्षअगाडिको उमेर १६ वर्षको भनी प्रतिवेदनको राय शिर्षकमा उल्लेख गरेको छु । राय शिर्षकमा दिइएको १५ देखि १७ वर्ष भन्नाले निज व्यक्ति १७ नपुगेको तर १४ वर्ष भने पूरा गरी १५ वा १५ को अन्त्य वा १६ औं वर्षमा चल्दै गरेको भनी बुझ्नुपर्दछ । निजमा पाइएका विभिन्न हड्डीहरूमा देखिएका १३ वटा लक्षण र दाँतको लक्षणलाई नै मुख्य आधार बनाइएको हुँदा ती कुनै पनि लक्षणहरू सो समयमा १५ भन्दाअगाडिको र १७ को अन्तिमतिरको हुन सक्ने पाइएन । उमेर निर्धारणको मूख्य आधार खास लक्षणहरू नै हुने हुँदा दिइएको रायभन्दा फरक सम्भावनाको गुन्जायस देखिँदैन भनी अदालतसमक्ष उपस्थित भई बकपत्र गर्नुभएको देखिन्छ । एकातर्फ निज प्रतिवादीको उमेर १४ वर्षको थियो भनी पेस भएको जन्मदर्ता हेर्दा, प्रतिवादी मिति २०५२/८/२ मा जन्म भई निजको उमेर १४ वर्षको भन्ने देखिन्छ । उक्त जन्मदर्ता जन्म भएको १५ वर्षपछि तथा २०६६ सालमा वारदात भइसकेपछि मिति २०६७/६/१८ मा तयार गरेको देखियो । यस अवस्थामा वारदात भइसकेपछि खडा भएको जन्मदर्ता प्रमाणलाई शंकाजन्य मानी वारदात भइसकेपछि अपराधबाट बच्नका लागि खडा गरिएका हुन सक्ने देखिन्छ । अर्कातर्फ वैज्ञानिक प्रमाणको विश्वसनीयता सो प्रमाणको परीक्षण विधि र विशेषज्ञको अनुभव र योग्यताका आधारमा दिएको रायलाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । वैज्ञानिक तथा विशेषज्ञद्वारा गरेको रायलाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न प्रमाण ऐन, २०३१ को दफा २३(१) को कानूनी व्यवस्थाले समेत स्वीकार गरेको देखिन्छ । यस अवस्थामा “चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा मुनिको बालकले कुनै अपराध गरे निजलाई कानूनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुन्छ” भन्ने कानूनी व्यवस्थाबमोजिम १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षमुनिको बालकले गरेको आपराधिक दायित्वमा समान सजायको व्यवस्था गरेको देखिन्छ ।

११. वादी नेपाल सरकारले प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि. १४२ लाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) र ३क बमोजिमको कसुर ठहर गरी सजाय गरेको ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी सोही महलको ४ नं. को कसुर ठहर गरेको हकसम्म मिलेन भनी लिएको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, उल्लिखित मिसिल संलग्न कागज प्रमाण र प्रतिवादीको बयानसमेतको आधारमा प्रतिवादीसमेतको संलग्नतामा पीडित वर्ष ३ की नाबालिका सजिना च्यासी श्रेष्ठउपर जबरजस्ती करणीको कार्य घटित भई हत्यासमेत भएको कुरामा कुनै सन्देह रहेन । यी प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि. १४२ पीडित नाबालिकालाई करणी गर्ने कार्यमा मतसल्लाहमा बसेको र मृतक प्रतिवादी सन्दीप व्यञ्‍जनकारलाई करणी गर्ने बखत बालिकालाई समाई संयोग पारिदिई सहयोग गरेको, मृतक प्रतिवादीले पीडितालाई करणी गर्दागर्दैको अवस्थामा सिथिल भएको र आफ्नो पालो नआउँदै बाहिर मानिस आएको थाहा पाई बालिकालाई आफूले नै हत्या गरी ट्‍वाइलेटमा फाली भागेको भनी गरेको बयान, मृतकको लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, शव परीक्षण गर्ने डाक्टरको बकपत्रसमेतबाट मार्नेसम्मको कार्य गर्ने व्यक्तिले पूर्ण सचेत रही सावधानपूर्ण रूपमा जबरजस्ती करणी गर्ने योजना बनाएका यी प्रतिवादीले करणी गरिन भनी गरेको कुरालाई विश्वास गर्न 

सकिँदैन । यस अवस्थामा यी प्रतिवादीलाई अभियोग दाबीको मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) र ३(क) नं. को कसुरदार कायम गर्नुपर्नेमा उच्च अदालत पाटनबाट सहप्रतिवादी सन्दिप व्यन्जनकारसँग करणी गर्ने भएको कुरा जानीजानी सँग गई समाउने र अर्का प्रतिवादी मृतक सन्दीप व्यञ्‍जनकारलाई मद्दत गरेको अवस्था र निजले करणी गरेको अवस्था भने देखिन नआउँदा निज प्रतिवादीका हकमा सो ४ नं. मा भएको कानूनी व्यवस्था नै आकर्षित हुने भनी भएको फैसला त्रुटिपूर्ण देखिन आयो ।

१२. क्षतिपूर्तिका सम्बन्धमा विचार गर्दा, प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि. १४२ ले अपराधका सम्बन्धमा समाजशास्त्रीय र फौजदारी कानूनको दण्डको सिद्धान्तअनुसार नाबालकले आफूले गरेको कामको परिणाम र परिणति थाहा नपाउने हुँदा कठोर दण्डको भागी बनाइन नहुने साथै अर्थदण्डसमेत गर्न नहुने भनी कानूनले नै छुट दिएको अवस्थामा मबाट क्षतिपूर्ति रू.५,००,०००।- (पाँच लाख) भरिपाउने गरी भएको फैसला त्रुटिपूर्ण छ भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । माथि विवेचित प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादी वारदातको समयमा १६ वर्षको भएको देखिन्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरूले नियोजित तथा योजनाबद्धरूपमा सावधानीपूर्वक आफ्नो योजनालाई पूर्णता दिई वारदातस्थलबाट भागेको देखिन्छ । यी पुनरावेदक प्रतिवादीले आफूले गरेको कामको परिणाम र परिणति थाहा नपाउने भन्ने अवस्था देखिँदैन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. मा रहेको कानूनी व्यवस्था हेर्दा, “कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा अदालतले त्यस्ती महिलालाई भएको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिब ठहराएबमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराइदिनुपर्ने छ । त्यस्तो क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गाम्भीर्य, कसुरबाट पीडित व्यक्तिको मृत्यु भइसकेको रहेछ भने निजमा आश्रित नाबालक छोराछोरी भए निजहरूलाई पर्न गएको पीडासमेत विचार गरी निर्धारण गर्नुपर्ने छ ।” भन्ने उल्लेख गरेको पाइन्छ । प्रस्तुत वारदातमा ३ वर्षीय अवोध नाबालिकालाई ललाई फकाई प्रलोभनमा पारी लगी सामूहिक रूपमा जबरजस्ती करणी गरी अत्यन्त पीडादायी, क्रूर एवं अमानवीय ढङ्गबाट हत्या गरी शौचालयको प्यानमा फाली योजनाबद्ध तवरमा कसुर गरी आफूहरू अपराधको दायित्वबाट भाग्न खोजेको देखिन्छ । जुन तरिकाबाट अवोध नाबालिकालाई सामूहिक रूपमा जबरजस्ती करणी गरी हत्या गरिएको छ उक्त कार्य अत्यन्तै क्रूर र अमानवीय 

देखिन्छ । यस्तो अवस्थामा अपराधीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने हुन्छ । पीडितको मृत्यु भइसकेको अवस्थामा निजको बाबु आमा तथा परिवारलाई परेको मनोवैज्ञानिक तथा मानसिक पीडालाई समेत ध्यानमा राखी ललितपुर जिल्ला अदालतबाट यी प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि. १४२ बाट पीडितको परिवारले क्षतिपूर्तिबापत रू.५,००,०००।- (पाँच लाख) भराई पाउने गरी भएको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला अन्यथा मान्न सकिएन । 

१३. प्रतिवादी सन्दीप व्यञ्जनकारबाट अभियोग दाबीअनुसार पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, निजको हकमा मुलुकी ऐन, अ.बं. १७६ बमोजिम कर्तव्य ज्यान र जबरजस्ती करणीको ३(१) र ३(क) बमोजिम सजायको माग दाबी नलिई निज प्रतिवादीको मृत्यु भइसकेकोले जबरजस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तिको माग लिएको देखिन्छ । प्रस्तुत मुद्दामा सन्दीप व्यञ्जनकारलाई प्रतिवादी कायम गर्नुभन्दा अघि नै निजको मृत्यु भइसकेकोले आफ्नो प्रतिरक्षासमेत गर्न पाएको 

देखिँदैन । सहप्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वि. १४२ को बयानमा आधारित रहेर प्रतिवादी बनाइएको देखिन्छ । प्रतिवादी कायम गर्नुभन्दा अगाडि नै मृत्यु भइसकेकोले आफूउपर आरोपित कसुरमा प्रतिरक्षा गर्न नै नपाएको अवस्थाका व्यक्तिबाट वादी दाबीबमोजिम क्षतिपूर्ति भराइदिनु न्यायोचित 

देखिँदैन । वादी नेपाल सरकारको पुनरावेदन जिकिरमा उद्धृत नजिर सिद्धान्तमा रहेको तथ्य र प्रसङ्ग तथा प्रस्तुत मुद्दामा विद्यमान तथ्य नै फरक रहेको अवस्थामा उद्धृत सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षण हुने देखिन आएन ।

१४. अतः उपर्युक्त आधार, कारण र नजिर सिद्धान्तका आधारमा प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ ले पीडित ३ वर्षकी नाबालिकालाई सामूहिक रूपमा जबरजस्ती करणी गरिसकेपश्चात्‌ जघन्य रूपमा हत्यासमेत गरी फालेको पुष्टि भएकोले निजलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको ३(१) बमोजिम १५ वर्षसम्म कैद हुनेमा सोको कसुर गर्दाको अवस्थामा निज प्रतिवादीको उमेर १६ वर्षको नाबालक देखिन आएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को कानूनी प्रावधानअनुसार उमेर पुगेकालाई हुने सजायको आधा ७ वर्ष ६ महिना, सामूहिक बलात्कार गरेकोमा ऐ.३(क) बमोजिम ५ वर्ष कैद हुनेमा सोको आधा २ वर्ष ६ महिना र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा सोको आधा १० वर्ष कैद सजाय हुने र पीडितको मृत्युसमेत भइसकेको हुँदा पीडितको परिवारलाई प्रतिवादीबाट रू.५,००,०००/- (पाँच लाख) क्षतिपूर्ति भरिपाउने गरी ललितपुर जिल्ला अदालतबाट मिति २०७२/१०/५ मा भएको फैसला केही उल्टी गरी निज प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायको आधा १० वर्ष कैद सजाय हुने र पीडितको मृत्युसमेत भइसकेको हुँदा पीडितको परिवारलाई यी प्रतिवादीबाट रू.५,००,०००/- (पाँच लाख) क्षतिपूर्ति भरिपाउने भनी भएको फैसला सदर कायम हुने र मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. बमोजिम जबरजस्ती करणीमा मद्दतसम्म गरेकोमा सोहीबमोजिम ३ वर्ष कैद सजाय गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७४।२।३० मा भएको फैसला मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा सोको कसुर गर्दाको अवस्थामा निज प्रतिवादीको उमेर १६ वर्षको नाबालक देखिन आएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को कानूनी प्रावधानअनुसार उमेर पुगेकालाई हुने सजायको आधा १० वर्ष कैद सजाय हुने र पीडितको मृत्युसमेत भइसकेको हुँदा पीडितको परिवारलाई प्रतिवादीबाट रू.५,००,०००/- (पाँच लाख) क्षतिपूर्ति भरिपाउने हदसम्म मिलेको देखिँदा सदर हुने र प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ ले पीडित ३ वर्षकी नाबालिकालाई सामूहिक रूपमा जबरजस्ती करणी गरिसकेपश्चात्‌ जघन्य रूपमा हत्यासमेत गरी फालेको पुष्टि भइरहेको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. बमोजिम जबरजस्ती करणीमा मद्दतसम्म गरेकोमा सोहीबमोजिम ३ वर्ष कैद सजाय गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई निजलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको ३(१) बमोजिम १५ वर्षसम्म कैद हुनेमा आधा ७ वर्ष ६ महिना, सामूहिक बलत्कार गरेकोमा ऐ.३(क) बमोजिम ५ वर्ष कैद हुनेमा सोको आधा २ वर्ष ६ महिना कैद सजाय हुने ठहर्छ । प्रतिवादी सन्दिप व्यञ्जनकारको हकमा दाबीबमोजिम क्षतिपूर्ति भराइपाउँ भन्ने वादी नेपाल सरकारको दाबी पुग्न नसक्ने भनी जिल्ला अदालत ललितपुरबाट भएको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७४।२।३० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी सन्दिप व्यन्जनकारलाई अभियोग दाबीबमोजिम क्षतिपूर्ति भराइपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर साथै प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ को अभियोग दाबीबाट पूर्ण सफाइ पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम उच्च अदालत पाटनको फैसला केही उल्टी भई प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ लाई जबरजस्ती करणीको ३(१) बमोजिम १५ वर्षसम्म कैद हुनेमा सोको आधा ७ वर्ष ६ महिना, सामूहिक बलत्कार गरेकोमा ऐ.३(क) बमोजिम ५ वर्ष कैद हुनेमा सोको आधा २ वर्ष ६ महिना र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा सोको आधा १० वर्ष कैद सजाय हुने ठहरेकाले निज प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ मिति २०७२।०८।१५ बाट कारागारमा रहेको देखिएकोले निजलाई ठहरेको उक्त कैद सोही मितिदेखि लागु हुने गरी लगत कसी असुल गर्नु भनी सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउनु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखी पठाउनू........................................................१

प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ बाट पीडितको परिवारले रू.५,००,०००।- (पाँच लाख) क्षतिपूर्ति भराइदिने गरी ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला सदर हुने ठहरेकोले सो क्षतिपूर्तिको हकमा पीडितको परिवारले प्रतिवादीको जेथा देखाई दरखास्त दिन आएमा नियमानुसार गरी भराइदिनु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखी पठाउनु…२

प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालय, पीडितको परिवार र प्रतिवादी परिवर्तित नाम काठमाडौं २६ सि.आई.वी. १४२ लाई दिनू..............................................३

सरोकारवालाले फैसलाको नक्कल माग गरे कानूनको रीत पुर्‍याइदिनू...............................................४

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू............५

 

उक्त रायमा सहमत छु ।

न्या.सुष्मालता माथेमा

 

इजलास अधिकृत : नविन आचार्य

इति संवत् २०७७ साल असोज ८ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु