निर्णय नं. १०७५५ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७७।६।१२
०७६-CR-०३२५
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : भारतको बिहार वैशाली जिल्ला, पातेपुर थाना वडा नं.५ टेकनरी घर भई काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा.वडा नं.१२ बस्ने रामप्रताप रामको नाति गणेश रामको छोरा हाल कारागार कार्यालय, भिमफेदी, मकवानपुरमा थुनामा रहेको अरूण राम
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम “थानकोट च १” जाहेरीले नेपाल सरकार
कुनै पनि घटना घटिसकेपश्चात् सही Clinical examination गर्नका निम्ति सकेसम्म चाँडो “fresh-sample” लिइएको हुनुपर्ने । दुई दिनपछि लिइएको “sample” “contamination-free” थियो भनी मान्न नसकिने ।
वीर्य (Semen) नभेटिएको मात्र आधारमा प्रतिवादीले कसुर गरेको होइन भनी मान्न थालियो भने न्यायको मक्सद नै मर्न जाने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामलाल श्रेष्ठ र विद्वान् वैतनिक अधिवक्ता श्री रजिता थापा
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६५, अङ्क १, नि.नं.७९२३
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्यायाधीश श्री अमृतबहादुर बस्नेत
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी
माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा
उच्च अदालत पाटन
फैसला
न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मिति २०७५।२।१२ गते अं.७ बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं.१२ सतुंगल स्थित प्रतिवादी अरूण रामले पीडित बालक वर्ष ४ को परिवर्तित नाम “थानकोट च” लाई मलद्वारमा जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको परिवर्तित नाम “थानकोट च १” को जाहेरी दरखास्त ।
मिति २०७५।२।१२ गते अं.७ बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं.१२ सतुंगल स्थित अरूण रामले आफ्नो कोठाभित्र पीडित बालक वर्ष ४ को परिवर्तित नाम थानकोट चलाई मलद्वारमा जबरजस्ती करणी गरेको ठिक साँचो हो भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
प्रतिवादी भारत बिहार, जिल्ला बैशाली ग्राम टेकनारी थाना पटिपुर पोष्ट रमौली वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा.वडा नं.१२ सतुंगल बस्ने वर्ष २५ को अरूण रामलाई खोजतलास गर्ने क्रममा काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा. सतुंगल स्थित सडक खण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानको लागि दाखिला गरेको भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।
एल.के.जी. मा अध्ययनरत छु । प्रतिवादी हामी बस्ने कोठाको छेउमा बस्ने गर्दछन् । मिति २०७५।२।१२ गते शनिबारको दिन भएकोले म घरमा थिएँ । अरूण रामले मोबाइलमा मलाई निजकै कोठामा फिल्म देखाई राख्दा, भैयाले मेरो सुरूवाल खोली मलाई घोप्टो पारी मेरो दिसा गर्ने ठाउमा आफ्नो पिसाब फेर्ने कुरा छिराएको हो । म त्यतिबेला रोएको थिएँ । भैया अरूण रामले मलाई नरोउ भनेका थिए । मैले त्यो कुरा आमालाई भनेको हो भन्ने बेहोराको पीडित परिवर्तित नाम “थानकोट च” ले गरेको कागज ।
जाहेरवालाको छोरा पीडित बालक मोबाइलमा अश्लील भिडियोहरू हेर्ने गरेकोमा मिति २०७५।२।१२ गते बिहान ७ बजेको समयमा बालक मेरो कोठामा आई भिडियो हेरिरहेकोले मैले पछाडिबाट समाती निजले लगाएको सुरूवाल अश्लील भिडियोमा गरे जस्तै गरेर बालकलाई जिस्क्याउनलाई मैले निजको मलद्वारमा आफ्नो लिङ्गले घोचेको थिएँ । बालक मेरो कोठाबाट गएपछि मेरो मोबाइलमा भएको अश्लील भिडियोहरू डिलिट गरेको थिएँ । मिति २०७५।२।१४ गते पीडित बालकले घटनाको सबै कुरा आफ्नो आमालाई भनेपछि निजको आमाले उजुरी दिएकोले मलाई पक्राउ गरिएको हो भन्ने बेहोराको प्रतिवादी अरूण रामले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०७५।२।१२ गते अं.७ बजेको समयमा घरमा कोही नभएको मौका पारी प्रतिवादी अरूण रामले परिवर्तित नाम “थानकोट च” लाई आफ्नो कोठामा लगी निजको मलद्वारमा जबरजस्ती करणी गरेको कुरा जाहेरवाला बहिनी तथा साथी भाइहरूमार्फत सुनी थाहा पाएको हो । प्रतिवादी अरूण रामउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको सुजता वली र दिलबहादुर तामाङसमेतले गरेको कागज ।
मिति २०७५।२।१२ गते अं.७ बजेको समयमा गाडीमा काम गर्न भनी म मकवानपुर हेटौंडा गएको थिएँ । प्रतिवादी अरूण रामले मिति २०७५।२।१२ का दिन बिहान अं.७ बजेको समयमा मेरो छोराको मलद्वारमा जबरजस्ती करणी गरेको कुरा मैले मेरो श्रीमतीबाट सुनी थाहा पाएको हो । यसरी मेरो छोरालाई जबरजस्ती करणी गर्ने प्रतिवादी अरूण रामउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको परिवर्तित नाम “थानकोट च” ले गरेको कागज ।
मिति २०७५।२।१२ गते बिहान अं.७ बजेको समयमा मेरो ४ वर्षको छोरालाई प्रतिवादी अरूण रामले ललाई फकाई आफ्नो कोठामा लगी अश्लील भिडियो देखाई छोरालाई घोप्टो पारी निजको लिङ्ग छोराको मलद्वारमा छिराएको भन्ने कुरा छोराले भनेको र निजको मलद्वारको वरपर घाउसमेत देखेको भन्ने बेहोराको परिवर्तित नाम “थानकोट च १” को जाहेरी दरखास्त र जाहेरी दरखास्तसमेतलाई पुष्टि हुने गरी पीडितका बाबुले लेखाएको कागज, घटनास्थल मुचुल्का, प्रतिवादीले मौकामा गरेको बयानसमेतबाट प्रतिवादी अरूण रामले वर्ष ४ को बालक “थानकोट च” लाई बाल यौन दुराचार जबरजस्ती करणी गरेको हुँदा प्रतिवादी अरूण रामलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा ९क र ३(१) बमोजिमको कसुर अपराधमा सोही महलको ३(१) नं.बमोजिम तथा सोही महलको दफा ९(क) नं.बमोजिम सजाय गरी सोही महलको दफा ९(क) बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाइ भराइ पाउँ भन्ने बेहोराको अभियोगपत्र ।
कोठामा मोबाइल चलाइराखेको समयमा बालक मेरो कोठामा आई मेरो हातबाट मोबाइल खोसी मोबाइलमा रहेको अश्लील भिडियो हेर्न थालेपछि मैले मोबाइल खोस्न लाग्दा भाग्न लागेकोले निजलाई तानेर बेडमा ल्याउँदा पल्टेको हो । बच्चालाई कोठाबाट भाग्न नदिन गाली गर्ने पिट्ने गरेको हो । मैले अभियोगपत्रमा उल्लेख भएबमोजिम यौन दुराचारको काम गरेको
छैन । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान मैले भनेबमोजिम लेखिएको छैन । मैले अभियोग दाबीबमोजिमको काम नगरेकोले अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी अरूण रामले सुरू अदालतमा गरेको बयान कागज ।
काठमाडौं जिल्ला, चन्द्रागिरी न.पा.वडा नं. १२ सतुङ्गलमा कोठा भाडामा लिई बस्दै आएकोमा अर्को कोठामा बस्ने प्रतिवादी अरूण रामले मेरो ४ वर्षको छोरालाई ललाई फकाई मिति २०७५।२।१२ गतेका दिन बिहान अं.७ बजेको समयमा आफ्नो कोठामा लगी अश्लील भिडियो देखाई छोरालाई घोप्टो पारी निजको लिङ्ग छोराको मलद्वारमा छिराएको भन्ने कुरा छोराले भनेको र निजको मलद्वारको वरपर घाउसमेत देखेको भन्ने बेहोराको परिवर्तित नाम “थानकोट च १” को जाहेरी दरखास्त र जाहेरी दरखास्तसमेतलाई पुष्टि हुने गरी पीडितका बाबुले गरेको कागज, घटनास्थल मुचुल्काका मानिसहरूले गरेको कागज, पीडित बालकलाई आफ्नो कोठामा ल्याई निजलाई अश्लील भिडियो देखाई निजको मलद्वारमा आफ्नो लिङ्ग छिराएको भन्ने प्रतिवादी स्वयंले मौकामा गरेको बयान, निज पीडित बालकको जन्ममिति २०७०।२।१५ रहेको भन्ने जन्मदर्ता प्रमाणपत्रसमेतका आधार प्रमाणबाट प्रतिवादी भारतीय नागरिक भएबाट प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी ऐन, अ.बं.११८ को देहाय २ र ३ बमोजिम पुर्पक्षका लागि निजलाई थुनामा राख्नु भन्नेसमेत सुरू अदालतको आदेश ।
जाहेरवाली र अरूण रामसमेतका परिवारहरू एकै घरमा बस्ने भई खानेपानी भर्ने क्रममा जाहेरवाली र प्रतिवादी अरूण रामबिच बेला बखत झैझगडा भइरहने भएकोले रिसइवीका कारण जाहेरवालीले यो झुठा मुद्दा लगाएका हुन् । अरूण रामले जबरजस्ती करणी गरेको भए हामीसमेतलाई सो घटना जानकारी हुनुपर्नेमा सो सम्बन्धमा कुनै जानकारी नभएकोले र प्रतिवादी अरूण रामले आरोपित कसुर नगरेकोले निजले अभियोग मागदाबीबाट सफाइ पाउनुपर्ने हो भन्ने बेहोराको प्रतिवादीको साक्षी राजेश रामले सुरू अदालतमा गरेको बकपत्र ।
बच्चाले मलद्वारमा घाउ भएको भनी बताएपछि के भयो रहेछ भनी पीडित बालकलाई सोधपुछ गर्दा अरूण रामले जबरजस्ती करणी गरेको कुरा थाहा भएकोले प्रतिवादीलाई कारबाही हुनुपर्छ भन्ने बेहोराको सुजता वलीले सुरू अदालतमा गरेको बकपत्र ।
घटना हुँदा म हेटौंडामा थिएँ । घटनाको जानकारी पाएपछि काठमाडौं आई हेर्दा बच्चाको मलद्वारमा घाउ थियो । बाबुलाई सोधपुछ गर्दा अरूण रामले जबरजस्ती करणी गरेको बताएपछि घटनाको सम्पूर्ण तथ्य जानकारी भएको हो भन्ने बेहोराको बुझिएका परिवर्तित “थानकोट च २” ले सुरू अदालतमा गरेको बकपत्र ।
अरूण राम बत्तीको पैसा र कोठाभाडा बुझाउन गएको बेला बाबु अङ्कल भन्दै उसको कोठामा गएको थियो । सोही समयमा प्रतिवादी अरूण रामले बाबुको मलद्वारमा करणी गरेको र सो कुरा बाबुलाई नभन्न भनी अरूण रामले भनेकोले बाबुले मलाई तत्काल नभने पनि आइतबारका दिन दिसा गर्न गाह्रो भएपछि मात्र बाबुले मलाई सम्पूर्ण कुरा बताएको हो भन्ने बेहोराको जाहेरवाला “थानकोट च १” ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले कोठाको ढोका लगाई मोबाइलबाट नाङ्गो फोटो भिडियो देखाई मलद्वारमा आफ्नो पिसाब फेर्ने कुरा हालिदिएको हो । नराखभन्दा भन्दै पनि राखिदिएको र निजले ढोका खोलेपछि म आफ्नो कोठामा गएको हुँ । त्यो अङ्कललाई थुनामा राख्नुपर्छ भन्ने बेहोराको निज परिवर्तित नाम “थानकोट च” ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी अरूण रामउपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क र ३(१) नं. को कसुरमा सोही महलको दफा ३(१) बमोजिम तथा दफा ९क नं.बमोजिमसमेत सजाय गरी ऐ. महलको ९क नं.बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाइ भराइ पाउँ भन्ने मागदाबी लिई अभियोगपत्र दायर भएको देखियो । वर्ष ४ को नाबालिग छोरा “थानकोट च” अरूण रामको कोठामा खेल्न जाने गरेकोमा मिति २०७५।२।१२ गते अरूण रामको कोठामा छोरा खेल्न गएकोमा अरूण रामले अश्लील भिडियो देखाई आफ्नो लिङ्ग उत्तेजित गराई छोरोलाई घोप्टो पारी आफ्नो लिङ्ग छोराको मलद्वारमा छिराएको भनी छोराले भनेको र छोराले दिसा गर्दा दुख्यो भनी रोएको भन्ने कुरा उल्लेख गरी परिवर्तित नाम “थानकोट च १” ले जाहेरी दिएकोमा सोही मिलानकै बेहोरा उल्लेख गरी पीडित नाबालिग परिवर्तित नाम “थानकोट च” ले मौकामा कागज गरी बकपत्र गर्नुको साथै जाहेरी बेहोरालाई पुष्टि गरी जाहेरवालाले अदालतमा बकपत्र गरको देखियो । परिवर्तित नाम “थानकोट च २” ले मौकामा गरेको कागजमा उल्लिखित बेहोरालाई पुष्टि गरी बकपत्र गरेको देखियो । प्रतिवादीले अदालतमा इन्कारी बयान गरे तापनि निजले मौकामा गरेको बयानमा मेरो लिङ्गले पीडितको मलद्वारमा छोएको भन्नेसम्मको बेहोरा लेखाएको पाइन्छ । पीडित परिवर्तित नाम “थानकोट च” को जन्ममिति २०७०।२।१५ गते भएको भन्ने निजको जन्मदर्ता प्रमाण पत्रबाट देखिन आएको छ । प्रतिवादी अरूण रामले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. स्पष्टीकरणको खण्ड (घ) मा उल्लेख भएबमोजिम १ नं. को कसुर गरेको ठहर्छ । सो ठहर्नाले निजलाई सोही महलको ९ क नं. मा उल्लेख भएबमोजिम सोही महलको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद साथै सोही महलको ९क नं.बमोजिम थप १(एक) वर्ष कैद हुने ठहर्छ । सोही महलको ९क नं.बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.२५०००।- (पच्चिस हजार) पीडितलाई दिलाइ भराइ दिने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।३।३१ मा भएको फैसला ।
Central Police Forensic Science Laboratory मा Semen screening and Microscopic Examination for confirmation of spermatozoa को लागि A-P Test बाट जाँच गराइएकोमा “Semen could not be detected on exhibit nos 1, 2, 3, 4 & 6 and Semen could not be detected on exhibit no. 5” भन्ने बेहोराको मिति २०७५।०५।२० को Expert Opinion र सो रिपोर्ट मिति २०७५।०६।१७ मा सुरू काठमाडौं जिल्ला अदालतमा प्राप्त भएको ।
अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई आधार बनाई सजाय गर्ने गरी फैसला भएको छ । म अदालतमा आई इन्कारी बयान गरेको कुरालाई कुनै मूल्याङ्कन नै नगरी छोरोलाई घोप्टो पारी आफ्नो लिङ्ग छोराको मलद्वारमा छिराएको भनी छोराले भनेको र दिसा गर्दा दुख्यो भनी रोएको भन्ने कुरा उल्लेख गरी परिवर्तित नाम “थानकोट च १” ले जाहेरी दिएकोमा सोही मिलानकै बेहोरा उल्लेख गरी पीडित नाबालिग परिवर्तित नाम “थानकोट च” ले मौकामा कागज गरी बकपत्रसमेत गरेको कुरालाई फैसलाको मुख्य आधार बनाई मलाई सजाय गर्ने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५, ४ को विपरीत हुँदा बदरभागी रहेको छ । प्रहरीसमक्ष कसुरमा साबित भई गरेको प्रतिवादीको बयान शंकारहित तवरबाट पुष्टि हुने कुनै भरपर्दो प्रमाणको अभावमा सन्दिग्ध प्रमाणको भरमा प्रतिवादीलाई कसुरदार ठहराउन न्यायसङ्गत नहुने भनी सर्वोच्च अदालतबाट ने.का.प. २०५७, अङ्क २, नि.नं.६८६१, पृ.१४० प्रतिवादी सिद्धान्तको विपरीत रहेकोले सुरू फैसला उल्टी गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अरूण रामको उच्च अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
पीडित परिवर्तित नाम “थानकोट च” को उमेर हेर्दा निजको जन्म मिति २०७०।२।१५ गते भएको भन्ने जन्मदर्ता प्रमाणपत्रबाट देखिन आएकोले प्रस्तुत मुद्दामा प्रतिवादी अरूण रामले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. स्पष्टीकरणको खण्ड (घ) एवं ऐ.को ९(क) अनुसारको अप्राकृतिक मैथुनको कसुरसम्म गरेको ठहर्छ । सो ठहर्नाले निजलाई सोही महलको ९क नं.मा उल्लेख भएबमोजिम सोही महलको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद साथै सोही महलको ९क नं.बमोजिम थप १(एक) वर्ष कैद गर्नुको साथै सोही महलको ९क नं.बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.२५०००।- (पच्चिस हजार) पीडितलाई दिलाइ भराइ दिने ठहराई सुरू अदालतबाट भएको फैसला मिलेकै देखिन आयो । तसर्थ, माथि उल्लिखित विवेचित आधार कारणसमेतबाट सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।३।३१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७५।१२।४ मा भएको फैसला ।
म पुनरावेदक / प्रतिवादी एवं जाहेरवाला र अन्य मानिसहरू एकै घरका वल्लो पल्लो कोठाहरू बहालमा लिई बसी आएका थियौं । निज “थानकोट च” ले अनुसन्धानको क्रममा गरिदिएको कागजमा घटना घटेका बखतमा आफू रोएको भनी खुलाएको छ । कथमकदाचित उक्त घटना बेहोरा सत्य साँचो भएमा त्यसरी बालक रोएको अन्य कोठाका मानिसहरूले पनि सुन्ने नै थिए तर प्रस्तुत मुद्दामा बालक रोएको सुनेको थिएँ वा कोठाबाट बालक निस्किएपछि पनि रोएको देखेको थिएँ भनी अन्य कोठामा बस्ने कोही मानिसले पनि खुलाउन नसकेबाट मउपर लगाइएको अभियोग झुठ्ठा हो । यसैगरी जाहेरी र जाहेरवालाको बयान बकपत्रलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म अभियोग पत्रअनुरूपको सजाय ठहर गर्न मिल्ने
हैन । घटना भएपश्चात् संकलित प्रमाण भनी Central Police Forensic Science Laboratory मा जाँच गराएका Examination Result मा A-P Test कुनैबाट पनि अभियोग दाबीलाई प्रमाणित भएको पाइँदैन । साथै Examination Opinion: Semen could not be detected on exhibit nos 1, 2, 3, 4 & 6 भन्ने उल्लेख भइरहेबाट पनि सुरू अदालत र उच्च अदालतबाट भएको फैसला उल्टी भागी हुँदा सो उल्टी नै गरी सफाइ पाऊँ । साथै, म पुनरावेदकले अनुसन्धानको क्रममा अदालतमा गरेको बयानमा पनि निज बालकले मेरो मोबाइल लिएर कोठाबाट भाग्न लागेकोले फिर्ता लिने क्रममा चाकमा थप्पड हानेको हो भनी सत्य बेहोरा खुलाइदिएको थिएँ । निज “थानकोट च” को चाकमा कुनै असर परेको भए पनि त्यो थप्पडले हो कि अन्य कारणले पर्न गएको हो ? भन्ने विवेचना नै नगरी जाहेरी र निजका तर्फबाट उपस्थित मानिसको भनाइलाई मात्रै एकतर्फी रूपमा ग्रहण गरी सजायको भागीदार ठहर गराउन नमिल्ने हुँदा सुरू फैसला उल्टी गरिपाऊँ । सुरू र उच्च अदालतसमेतको फैसलाले प्रतिवादीले अदालतमा इन्कारी बयान गरे तापनि निजले अनुसन्धानको क्रममा गरेको बयानमा पीडितको मलद्वारमा आफ्नो लिङ्गले छोएको भन्ने बेहोरा उल्लेख गरेको हुँदा सजायको भागीदार हुने भन्ने ठहर गरेको रहेछ । वस्तुतः अनुसन्धानको क्रममा मैले बयान गर्दा निज नाबालिग “थानकोट च” र आफूसँगै सुती मोबाइलमा फिल्म हेरेको र त्यसरी टाँसिएर सुत्ने क्रममा लिङ्गले छोएको हुनसक्छ भन्ने सत्य कुरा खुलाइदिएको थिएँ । सँगै सुत्ने क्रममा छोइनु र फैसलामा लेखिएको जस्तो सुनियोजितरूपमा घटना घटाउनु फरक कुरा हो । मैले त्यसरी छोइएको भए तापनि आरोपमा लेखिए जसरी यौन दुराचार गरेको भन्ने कुरालाई स्वीकार गरेको पनि थिएन / छैन । अतः माथि समुल्लेखन गरेअनुरूप आधार प्रमाणबमोजिम सुरू फैसला प्रमाण ऐन, २०३१ को दफा ३, २५ र ५४ समेतको प्रतिकूल भई अमिल्दो, आत्मनिष्ठ एवं अन्यायपूर्णसमेत भएकोले सदा सर्वथा उल्टी योग्य हुँदा पूर्णतः उल्टी नै गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अरूण रामको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको सुरू मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री रामलाल श्रेष्ठ र विद्वान् वैतनिक अधिवक्ता श्री रजिता थापाले अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई आधार बनाई सजाय गर्ने गरी सुरू अदालत र उच्च अदालतबाट फैसला भएकोमा मेरो पक्ष अदालतमा आई इन्कारी बयान गरेको कुरालाई कुनै मूल्याङ्कन नै नगरिएको, साथै Central Police Forensic Science Laboratory मा जाँच गराएका Examination Result मा A-P Test बाट पनि अभियोग दाबीलाई प्रमाणित भएको नपाइएको र सो रिपोर्टमा Expert Opinion: Semen could not be detected on exhibit nos 1, 2, 3, 4 & 6 भन्ने उल्लेख भइरहेबाट पनि सुरू अदालत र उच्च अदालतबाट भएको फैसला उल्टी गरी पुनरावेदक प्रतिवादीलाई सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । उपर्युक्त बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा, अब प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७५।१२।०४ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी अरूण रामले वर्ष ४ को बालक “थानकोट च” लाई बाल यौन दुराचार जबरजस्ती करणी गरेको हुँदा प्रतिवादी अरूण रामलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा ९क र ३(१) बमोजिमको कसुर अपराधमा सोही महलको ३(१) नं.बमोजिम तथा सोही महलको दफा ९(क) नं.बमोजिम सजाय गरी सोही महलको दफा ९(क) बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाइ भराइ पाउँ भन्ने बेहोराको अभियोगपत्र दायर भएकोमा प्रतिवादी अरूण रामले मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. स्पष्टीकरणको खण्ड (घ) मा उल्लेख भएबमोजिम १ नं. को कसुर गरेको ठहरी निजलाई सोही महलको ९ क नं. मा उल्लेख भएबमोजिम सोही महलको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद हुने, साथै सोही महलको ९क नं.बमोजिम थप १(एक) वर्ष कैद हुने र सोही महलको ९क नं.बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.२५०००।- (पच्चिस हजार) पीडितलाई दिलाइ भराइ दिने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।३।३१ को फैसला सदर गरेको उच्च अदालत पाटनको मिति २०७५।१२।४ को फैसलामा चित्त नबुझाई प्रतिवादी अरूण रामको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. अब यस परिप्रेक्ष्यमा, वर्ष ४ को नाबालिग छोरा “थानकोट च” अरूण रामको कोठामा खेल्न जाने गरेकोमा मिति २०७५।२।१२ गते आफ्नै कोठामा पीडितलाई अरूण रामले अश्लील भिडियो देखाई आफ्नो लिङ्ग उत्तेजित गराई छोरोलाई घोप्टो पारी लिङ्ग छोराको मलद्वारमा छिराएको भन्ने कुरा छोराले मिति २०७५।२।१३ गते बिहान दिसा गर्दा दुख्यो भनेर रोएकोले के भयो भन्दा छोरा मिति २०७५।२।१२ गते म खेल्न जाँदा मलाई ललाई फकाई उल्लिखित कार्य गरेको भनेकोले निज छोराको मलद्वार हेर्दा मलद्वार वरपर घाउसमेत देखेको र छोराको उक्त भनाई सुनेपछि भैया भन्ने अरूण रामलाई खोजी गर्दा कोठामा नभएको, घटनापश्चात् निज भागी फरार रहेको भन्नेसमेत परिवर्तित नाम “थानकोट च १” को जाहेरी, सो जाहेरीलाई समर्थन हुने गरी पीडित नाबालिग परिवर्तित नाम “थानकोट च” ले निज भैया भन्ने अरूण रामले मेरो सुरवाल खोली मलाई घोप्टो पारी मेरो दिशा गर्ने ठाउँमा आफ्नो तुरी पिसाब फेर्ने कुरा छिराएका थिए भनी मौकामा किटानी कागज गरी अदालतमा बकपत्रसमेत गर्नुका साथै जाहेरीलाई जाहेरवालाले अदालतमा समेत समर्थन गर्दै बकपत्र गरेको
देखियो । बुझिएका साक्षी परिवर्तित नाम “थानकोट च २”, वादीका साक्षी सुजता वलीले समेत अदालतमा बकपत्र गर्दा जाहेरी बेहोरा र पीडित बालकको कागजमा उल्लिखित बेहोरालाई समर्थन हुने गरी बकपत्र गरेको देखियो ।
४. प्रतिवादी अरूण रामका साक्षी राजेश रामले अदालतसमक्ष बकपत्र गर्दा जाहेरवाला र प्रतिवादीबिच पानी भर्ने निहुँमा भनाभन भएकोले जाहेरवालाले झुठो जाहेरी दिएको (स.ज.६ मा उल्लेख) भनेकोमा प्रतिवादी अरूण रामले आफ्नो र जाहेरवालाबिच कुनै किसिमको झै-झगडा र रिसइवी छैन भनी अदालतसमक्ष बयान गरेको (स.ज.३ मा उल्लेख) देखिएकोले प्रतिवादी अरूण रामको बयान र निजका साक्षी राजेश रामको बकपत्र एकआपसमै बाझिन गएकोले साक्षी राजेश रामको बकपत्रलाई प्रमाणमा ग्रहण गर्न मिल्ने देखिएन ।
५. प्रतिवादी अरूण रामले अदालतमा इन्कारी बयान गरे तापनि निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मैले कट्टु मात्र लगाएर निज बालकसँग सँगै सुतेको हुनाले मेरो लिङ्ग निज पीडित बालकको मलद्वारमा छोइएको भन्नेसम्मको बेहोरा (स.ज. ९ मा) उल्लेख गरेको साथै, आफूले यौनसँग सम्बन्धित फिल्म / सेक्स भिडियोहरू हेरिरहेको बखत निज पीडित बालक आफूसमक्ष आई मेरो मोबाइल खोसेर हेर्न थालेकाले मैले निजलाई तानेर बेडमा ल्याउँदा निज पल्टेको हो भन्ने कुरा अनुसन्धान अधिकारीसमक्षको बयान (स.ज. ९ मा उल्लेख) मा र अदालतसमक्षको बयान (स.ज. ४ मा उल्लेख) मा समेत निज प्रतिवादी अरूण रामले स्वीकार गरेको देखिएको र आफूले बालकलाई पिटेको भनी अदालतको बयानमा (स.ज. ४ मा उल्लेख) भनेको, साथै यस अदालतमा पुनरावेदन गर्दासमेत पीडित बालकको “चाक” मा थप्पड हानेको (बुँदा नं. ३.३.मा उल्लेख) भनेको देखिएकोले निजले पीडित बालकमाथि यौन दुराचार गरेको होइन भनी मान्न मिल्ने देखिएन ।
६. Central Police Forensic Science Laboratory को A-P Test बाट “Semen could not be detected on exhibit nos 1, 2, 3, 4 & 6 and Semen could not be detected on exhibit no. 5” भन्ने बेहोराको रिपोर्टबाट “semen” नभेटिएको मात्र आधारमा पीडित बालकमाथि यौन दुराचार नभएको निर्क्यौल निकाल्न मिल्ने होइन । अझ, प्रतिवादीले लगाएको Panty (कट्टु), निजको penile swab र निजले स्वास्थ्य परीक्षणको क्रममा लगाएको पन्जाको “sample” लिई सो रिपोर्ट तयार गरिएको हो । सो “sample” मिति २०७५।२।१४ गते दिउँसो ४.१८ बजे (National Academy of Medical science, Reg. Date 2075/02/14, 16:18) लिइएको छ भने उल्लिखित घटना मिति २०७५।२।१२ गते बिहान अं.७ बजेको समयमा भएको देखिन्छ । कुनै पनि घटना घटिसकेपश्चात् सही Clinical examination गर्नका निम्ति सकेसम्म चाँडो “fresh-sample” लिइएको हुनुपर्छ । यसरी २ दिनपछि लिइएको “sample” “contamination-free” थियो भनी मान्न सकिन्न । यसरी semen नभेटिएको मात्र आधारमा प्रतिवादीले कसुर गरेको होइन भनी मान्न थालियो भने न्यायको मकसद नै मर्न जाने हुन्छ । यस्तो अवस्थामा मिसिल संलग्न अन्य प्रमाणको यथोचित मूल्याङ्कन गरिनुपर्दछ । साथै, यस अदालतबाट यस्तै सन्दर्भमा अर्जुनबहादुर पाण्डे विरूद्ध वेदबहादुर अधिकारीको जाहेरीले श्री ५ को सरकार (ने.का.प. २०६५, अङ्क १, निर्णय नं.७९२३) को जबरजस्ती करणी मुद्दामा “प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश (Complete penetration) र Emission of semen नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडितउपर करणी नगरेको...भनी ठहर गर्नु न्यायसङ्गत नदेखिने ।” भनी सिद्धान्तसमेत प्रतिपादन भइरहेको देखिन्छ । जबरजस्ती करणी हुनको निम्ति लिङ्ग पूर्णरूपमा प्रवेश भएकै हुनुपर्ने वा वीर्य स्खलन भएकै हुनुपर्ने वा वीर्यको दाग कपडामा लागेकै हुनुपर्ने अनिवार्यतासमेत नरहेको अवस्थामा वीर्य स्खलनसहित वा रहित योनी वा मलद्वारको बाह्य भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु मात्र पनि कानूनी प्रयोजनको निम्ति जबरजस्ती करणीको कसुर हुन पर्याप्त हुने हुन्छ । यसरी प्रस्तुत मुद्दामा प्रतिवादीले आफ्नो लिङ्ग पीडित बालकको मलद्वारमा पटकपटक भित्र बाहिर गराई वीर्य स्खलन हुने बेलामा बाहिर जमिनमा वीर्य स्खलन गरेको वा मलद्वारको बाह्य भागभित्र आंशिक लिङ्ग मात्र प्रवेश गराएको अवस्थामा स्वास्थ्य परीक्षणको प्रतिवेदनमा “semen” नभेटिएको हुनसक्ने हुँदा घटनाका सम्बन्धमा पीडित व्यक्तिले व्यक्त गरेको कुरा तथा घटना भएको थाहा पाउने व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरा, पीडितले अनुसन्धान अधिकारीसमक्ष व्यक्त गरेको कुरालाई अन्य प्रमाणले समर्थन गरेको अवस्थामा प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ ।
७. अतः प्रतिवादीले आफ्नो छोरोलाई घोप्टो पारी निजको लिङ्ग छोराको मलद्वारमा छिराई करणी गरेको भन्ने परिवर्तित नाम “थानकोट च १” को किटानी जाहेरी, सो जाहेरीलाई समर्थन हुने गरी पीडित नाबालिग परिवर्तित नाम “थानकोट च” ले गरेको किटानी कागज र सो कागजलाई समर्थन हुने गरी निजले अदालतसमक्ष गरेको बकपत्र, जाहेरी र पीडित बालकको कागजलाई समर्थन हुने गरी जाहेरवाला, बुझिएका साक्षी परिवर्तित नाम “थानकोट च २” र वादी साक्षी सुजता वलीले अदालतसमक्ष गरेको बकपत्रका साथै, प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष पीडित बालकको मलद्वारमा आफ्नो लिङ्ग छोइएको भन्ने बेहोराको बयानका आधारमा निज प्रतिवादी अरूण रामले पीडित बालकको मलद्वारमा आफ्नो उत्तेजित लिङ्ग छिराई पीडित बालकमाथि यौन दुराचार गरेको देखिन आयो ।
८. पीडित परिवर्तित नाम “थानकोट च” को उमेर हेर्दा निजको जन्ममिति २०७०।२।१५ गते भएको भन्ने जन्मदर्ता प्रमाणपत्रबाट देखिन आएकोले प्रस्तुत मुद्दामा प्रतिवादी अरूण रामले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. स्पष्टीकरणको खण्ड (घ) एवं ऐ. को ९क. अनुसारको अप्राकृतिक मैथुनको कसुर गरेको ठहरी निजलाई सोही महलको ९क. नं. मा उल्लेख भएबमोजिम सोही महलको ३(१) नं.बमोजिम १०(दश) वर्ष कैद साथै सोही महलको ९क. नं.बमोजिम थप १(एक) वर्ष कैद गर्नुको साथै सोही महलको ९क. नं.बमोजिम प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.२५,०००।- (पच्चिस हजार) पीडितलाई दिलाई भराइदिने ठहराई उच्च अदालत पाटनबाट भएको फैसला मिलेकै देखिन आयो ।
९. तसर्थ, माथि उल्लिखित विवेचित आधार र कारणसमेतबाट काठमाडौं जिल्ला अदालतको मिति २०७५।३।३१ को फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७५।११।०४ मा भएको फैसला मनासिब नै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिकृष्ण कार्की
इजलास अधिकृत: नवीनकुमार यादव
इति संवत् २०७७ साल आश्विन १२ गते रोज २ शुभम् ।