शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४३७ - लिखत बदर

भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२

निर्णय नं. ४४३७    ने.का.प. २०४८      अङ्क १२

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४७ सालको दे.पु.इ.नं. ८०

फैसला भएको मिति: २०४८।१२।११।५ मा

निवेदक/वादी: जि.नुवाकोट चोगटे वागेश्वरी गा.वि.स. वडा नं. ६ बस्ने ललितमान तामाङसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ.वडा नं.६ बस्ने चित्रबहादुर अधिकारीसमेत

मुद्दा : लिखत बदर

(१)    लिखत प्रमाण बेगर कुनै सम्पत्ति प्रतिवादीको भनाईकै भरमा निजी आर्जनको भनी ठहर गर्न नमिल्ने । विवादित लिखतमा उल्लेखित अचल सम्पत्ति वादीहरु समेतको अंश लाग्ने सगोलको सम्पत्ति रहेछ भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अनुमान गर्नु पर्ने ।

(प्रकरण नं. १८)

(२)   वादीहरु समेतको हक लाग्ने सगोलको जग्गा प्रतिवादीलाई बिक्री गर्दा वादीहरुको मञ्जूरी लिएको भन्ने मिसिल प्रमाणबाट देखिँदैन, यस स्थितिमा वादीहरुको मञ्जूरी नली गरी दिएको राजीनामा लिखत वादीहरुको हक हितको प्रतिकूल कायम रहन सक्ने अवस्था रहेन ।

(प्रकरण नं. १८)

निवेदक वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

फैसला

न्या.केदारनाथ उपाध्याय

१.     श्री ५ महाराजाधिराजका हजूरमा पूर्णइजलासबाट मुद्दा दोहराई पाउँ भनी वादीहरुले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४७।३।२७।४ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    घरको लेनदेन व्यवहार जेठा छोरा विपक्षी ज्ञानबहादुरबाट नै गराई आएको र हामीहरुको पैतृक सम्पत्तिको आर्जनबाट गाउँकै प्रेमबहादुर लामिछानेबाट रु. १५,०००।मा मिति २०३९।११।१३ मा ज्ञानबहादुरको नाउँमा रजिष्ट्रेशन गरी लिएको वागेश्वरी गा.पं. वडा नं.७ को कि.नं.१४ को रोपनी २१ र कि.नं. २० को रोपनी ११ समेत २ कित्ता जग्गा (साविक पेज नं. ८५९) विपक्षी ज्ञानबहादुर आसामी विपक्षी चित्रबहादुर साहु हुने गरी हामीहरुलाई साक्षी नराखी हामीहरुको मञ्जूर बेगर रु. १५,०००।मा मिति २०४०।५।२९ गते राजीनामा रजिष्ट्रेशन गरी लिनु दिनु गरेको कुरा २०४०।७।६ मा राजीनामा सारी लिई हेर्दा थाहा हुन आयो, तसर्थ उक्त सम्पत्ति विपक्षीको मात्र एकलौटी नहुँदा अंशबण्डाको १८ नं. बमोजिम हाम्रो समेत हक लाग्ने हुँदा हाम्रो हक लाग्ने ४ भागको ३ भाग लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको ललितमान तामाङ समेत जना ३ को संयुक्त फिरादपत्र ।

३.    ज्ञानबहादुरले मलाई राजीनामा गरी दिएको जग्गा प्रेमबहादुर लामिछानेबाट २०३९।११।१३ मा रजिष्ट्रेशन गरी लिएको हो, पैतृक सम्पत्तिबाट आर्जेको होइन, ज्ञानबहादुरले म बाट रु. १५,०००।लिएको र सो रुपैयाँ तिर्न नसक्ने स्थिति परेपछि सो रुपैयाँ बापत नै जग्गा राजीनामा गरिलिएको हुँ भन्ने समेत व्यहोराको चित्रबहादुरको प्रतिउत्तरपत्र ।

४.    प्र.ज्ञानबहादुरका नाउँमा तामेल भएको मिति २०४०।८।११।१ को म्यादै गुजारी बसेको ।

५.    अन्य अंशियारहरुको मञ्जूरी समेत लिई राजीनामा रजिष्ट्रेशन गरिदिएको नदेखिएकोले लेनदेन व्यवहारको १० नं. बमोजिम ललितमान, मंगली र सुनारामको हकसम्मको उल्लेखित मिति २०४०।५।२९ को राजीनामा लिखत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको नु.जि.अ.को मिति २०४१।२।५।६ को फैसला ।

६.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको चित्रबहादुर अधिकारीको वा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

७.    प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क) अनुसार त्यस्तो सम्पत्ति सगोलको मान्नु पर्ने कानुनी व्यवस्था भएबाट समेत शुरुले वादी दावी अनुसार ४ खण्डको ३ खण्ड लिखत बदर हुने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वा.अं.अ.को मिति २०४१।८।२८।५ को फैसला ।

८.    वा.अं.अ.को इन्साफ न्याय कानुनसंगत भएको नहुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको चित्रबहादुर अधिकारीको म.क्षे.अ.मा परेको निवेदनमा वा.अं.अ.को फैसलामा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) अन्तर्गतको अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

९.    यसमा सगोल सम्पत्ति बिक्री गर्दा आमा बाबुको स्वीकृति भएको भन्ने तर्फ अन्य आधार प्रमाण वा राजीनामाको कागजमा साक्षी राख्न समेत सकेको नदेखिएको अवस्थामा निजले सगोलको सम्पत्ति राजीनामा गरिदिन पाउने भन्न नमिलेबाट शुरुले वादी दावी अनुसार ४ खण्डको ३ खण्ड लिखत बदर हुने गरेको इन्साफ मनासिब ठहराएको वागमती अञ्चल अदालतको इन्साफ मनासिब देखिँदा कुनै परिवर्तन गरिरहनु नपरी सदर हुन्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    म.क्षे.अ. ले अ.बं. १८४(क), १८५ लेनदेन व्यवहारको १० नं. र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत निर्णय गरेकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख)(ग) को त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको चित्रबहादुर अधिकारीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    म.क्षे.अ. को फैसलामा ने.का.प. २०४० भाग २५ अंक ८, नि.नं. १७१६ पृष्ठ ४२८ मा प्रकाशित वादी दावीको लिखत पारित हुँदाका अवस्था वादीको उमेर २१ वर्ष नाघेको भन्ने देखिँदैन । यस्तो अवस्थामा निजको मञ्जूरी लिनु पर्ने अवस्था नदेखिने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्तको त्रुटि भई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ग) को (साविक पेज नं. ८६०) अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।

१२.   पुनरावेदकलाई बिक्री गरेको जग्गा यो यस्तो पुख्र्यौली सम्पत्ति लगाई ज्ञानबहादुरको नाममा खरीद गरेको भनी फिरादमा खुलाउन नसकेकोबाट प्रतिवादीको जिकिर बमोजिम ज्ञानबहादुरले जग्गा किन्दा नै पुनरावेदकबाट लिखतको थैली कर्जा लिई किनेको सो थैली बुझाउन नसकेबाट साहु पुनरावेदकलाई फेरि सोही थैलीमा राजीनामा दिएको भन्ने देखिन आएकोले यस्तो अवस्थामा अंशबण्डाको १८ नं. ले पनि दावी बमोजिम लिखत बदर हुन सक्ने अवस्था नदेखिएकोले लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको २०४६।२।१८।४ को फैसला ।

१३.   श्री ५ महाराजाधिराजका हजूरमा उक्त मुद्दा दोहराई पाउँ भनी वादीहरुको विन्तिपत्र परेकोमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४७।३।२७ मा तोक लागी आएको रहेछ ।

१४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीहरुको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विवादित लिखतको जग्गा ज्ञानबहादुरका नाममा खरिद गर्दा चित्रबहादुरको रुपैयाँ परेको भन्ने प्रमाण केही छैन । प्रमाण ऐन, २०३१ ले सगोलको अंशियारका नाममा रहेको सम्पत्ति सगोलको हो भन्ने अनुमान गर्नु पर्छ, निजी भन्छ भने सो भन्नेले निजीको प्रमाण पुर्‍याउन पर्छ । निजी आर्जनको प्रमाण छैन । तसर्थ वादी दावी बमोजिम लिखत बदर हुनुपर्दछ । सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छैन बदर हुनुपर्दछ भन्ने बहस गर्नु भयो । विपक्षी प्रतिवादी चित्रबहादुर तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री वशन्तराम भण्डारीले आफ्नो पालामा आर्जेको आफू खुस गर्नपाउँछ । मञ्जूरी लिनु पर्दैन । अंशबण्डाको १८ नं. बमोजिम प्रतिवादी ज्ञानबहादुर आफैंले प्रेमबहादुरबाट खरीद गरेको सम्पत्ति चित्रबहादुरलाई बिक्री गरेको हुँदा लिखत बदर हुन सक्दैन । क्षेत्रनारायण मल्ल समेत विरुद्ध निजानन्द मल्ल समेत भएको २०४६ सालको दे.पु.इ.नं. ८२ को लिखत बदर मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४८।८।२४ गतेमा भएको फैसला अनुसार लिखत बदर हुने अवस्था छैन । संयुक्त इजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१५.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा पैतृक सम्पत्तिबाट आर्जेको हामी ४ अंशियारको हक लाग्ने २ कित्ता जग्गा विपक्षी ज्ञानबहादुरले चित्रबहादुरलाई राजीनामा गरी दिएकोले हामीहरुको ३ भाग लिखत बदर गरी पाउँ भन्ने समेत निवेदकहरुको फिराद दावी देखिन्छ । मलाई राजीनामा गरी दिएको जग्गा पैतृक सम्पत्तिबाट आर्जेको भन्ने कुनै सबूद प्रमाण पेश गर्न सकेको छैन । ज्ञानबहादुरको निजी आर्जनको हुँदा वादीहरुको मञ्जूरी लिन पर्ने होइन भन्ने समेत चित्रबहादुरको प्रतिउत्तर जिकिर देखिन्छ । त्यसमा नुवाकोट जिल्ला अदालतबाट लेनदेन व्यवहारको १० नं. बमोजिम ४ भाग मध्ये वादीहरुको ३ भाग लिखत बदर हुने ठहराई फैसला भएको र सोही फैसला सदर गरी वागमती अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भए उपर प्रतिवादीको अनुमतिद्वारा पुनरावेदन परेकोमा अंशबण्डाको १८ नं. ले दावी बमोजिम लिखत बदर हुन सक्ने अवस्था नदेखिएकोले लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भनी यस अदालतको संयुक्त इजलासबाट फैसला (साविक पेज नं. ८६१) भएको देखिन आउँछ । श्री ५ महाराजाधिराज सरकारबाट मुद्दा दोहराई हेरी कानुन बमोजिम निर्णय गरी दिनु भन्ने हुकम प्रमांगी बक्स भई आएकोले संयुक्त इजलासको उक्त इन्साफ मिलेको छ, छैन भनी निर्णयार्थ प्रस्तुत मुद्दा यस इजलासमा पेश भएको छ ।

१६.    प्रत्यर्थी चित्रबहादुर अधिकारीको तर्फबाट विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले आफ्नो बहसमा २०४६ सालको दे.पु.इ.नं. ८२ क्षेत्रनारायण मल्ल समेत विरुद्ध निजानन्द मल्ल समेत भएको लिखत बदर मुद्दामा यस अदालतको पूर्णइजलासबाट मिति २०४८।८।२४ गतेमा भएको निर्णयलाई विशेष महत्व दिंदै प्रस्तुत मुद्दाको तथ्य सो मुद्दाको तथ्यसंग मिल्दो जुल्दो भएको भनी सो मुद्दामा भएको निर्णय बमोजिम प्रस्तुत मुद्दामा समेत विवादित लिखतको सम्पत्ति प्रतिवादी ज्ञानबहादुरको एकलौटी ठहर्नु पर्छ भन्ने जिकिर लिनु भएको छ । यस इजलासको अवलोकनार्थ पेश हुन आएको त्यस मुद्दाको रेकर्ड मिसिल हेर्दा सगोलका छोरा दाजुले आफ्ना नाममा खरीद गरेको सम्पत्ति छोडपत्र गरी दिए उपर बाबु आमा र भाइको लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश परेको त्यस मुद्दाको प्रकृति र प्रस्तुत मुद्दाको प्रकृति मिल्दो जुल्दो देखिए पनि केही मौलिक एवं निर्णायक तथ्य फरक देखिन आउँछ । सो मुद्दामा दाताले आफ्नो नाउँमा खरीद गरेको जग्गा कहिले अंशियारलाई साक्षी राखी हस्तान्तरण गर्ने र कहिले कुनै अंशियारको मञ्जूरी नै नलिई अथवा कुनै अंशियार पनि साक्षी नराखी हस्तान्तरण गर्ने गरेको स्थितिमा समेत अंशियारहरुले नालेश उजूर नै नगरी दाताको एकलौटी हक अधिकारलाई व्यवहार परिबन्दबाट मानी आएको तथ्यलाई सो पूर्णइजलासले मध्यनजर राखेर त्यस मुद्दाको विवादित लिखतको जग्गालाई दाताको एकलौटी हकको र आफू खुसी गर्न पाउने निर्णय गरेको पाइन्छ । तर सो मुद्दामा जस्तै प्रस्तुत मुद्दामा प्रतिवादी ज्ञानबहादुरले खरीद गरेको सम्पत्ति मध्ये आफूले हक छाडी दिंदा कहिले अंशियार साक्षी राख्ने, कहिले नराख्ने गरी पटक पटक लिखत गरी दिएको अथवा अंशियारले आफूलाई साक्षी नराखेको अन्य लिखतमा उजूर बाजुर नगरी पछिको छोडपत्र लिखतहरुमा उजूर गरेको स्थिति रहेको देखिन आएन । यस कुराको अतिरिक्त सगोलको कुनै अंशियारको नाममा राजीनामा लिखत भएकै कारणले सो लिखतको सम्पत्ति निजको एकलौटी वा निजी आर्जनको सम्पत्ति हुन्छ र त्यस्मा अरु अंशियारको हक लाग्दैन भन्ने सैद्धान्तिक अभिव्यक्ति सो पूर्णइजलासबाट व्यक्त गरिएको समेत देखिएन ।

१७.   लेनदेन व्यवहारको १० नं. अन्तर्गत अंशियारले आफु खुस गर्न पाउने अरु अंशियारको मञ्जूरी लिनु नपर्ने अचल सम्पत्ति बाहेक अरु अचल सम्पत्तिको हक हस्तान्तरण गर्दा सगोलका सबै अंशियारको मञ्जूरी लिनु पर्ने वा साक्षी राख्नु पर्ने कानुनी बाध्यता रहेको देखिन्छ । प्रतिवादी तर्फका विद्वान अधिवक्ताले अंशबण्डाको १८ नं. लाई उल्लेख गर्दै आफूले किनेको सम्पत्ति निजी आर्जनको सम्पत्ति हक छाडी दिंदा अरु अंशियारको मञ्जूरी लिनु पर्ने होइन भन्ने पनि बहस गर्नु भएको छ । सो अंशबण्डाको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान शीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बक्स पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नं. बमोजिम पाएकोमा निजी ठहरी आफू खुस गर्न पाउँछ भन्ने व्यवस्था रहेको देखिन्छ । विवादित लिखतको अचल सम्पत्ति प्रतिवादी मध्येका ज्ञानबहादुरले कुनै ज्ञान वा शिप वा प्रयासबाट वा निजी तवरले दान बक्स वा अपुताली पाएको वा आर्जन गरेको भन्ने प्रतिवादी चित्रबहादुरले आफ्नो प्रत्युत्तरपत्रमा जिकिर लिन सकेको देखिँदैन । न त मिसिल संलग्न सबूद प्रमाणबाट विवादको लिखतको अचल सम्पत्ति प्रतिवादी ज्ञानबहादुरको निजी आर्जनको वा एकलौटी भन्ने नै देखिन आउँछ । कुनै (साविक पेज नं. ८६२) अचल सम्पत्ति निजी आर्जनको हो होइन ? भन्ने कुरामा अंशबण्डाको १८ नं. को व्यवस्था प्रासंगिक हुने भई कानुनी प्रश्न भए पनि त्यस्तो सम्पत्ति कुनै अंशियारले आफ्नो ज्ञान शिप वा प्रयासबाट आर्जन गरे नगरेको के कसो हो ? अथवा दान बकस वा अपुतालीबाट निजी तवरले प्राप्त गरे नगरेको के हो ? भन्ने प्रश्न सबूद प्रमाणको मूल्याड्ढन गरी हेरिनु पर्ने कुरा भएकोले तथ्यको प्रश्न रहेको स्पष्ट छ । यस्तो तथ्यको प्रश्नलाई विचार गरेर नै प्रत्येक मुद्दामा पेश गरेको सबूद प्रमाणको आधारमा विवाद सम्बन्धी सम्पत्ति निजी आर्जन वा एकलौटी हकको हो होइन भन्ने निर्णय हुने स्वाभाविक न्यायिक प्रकृयाको कुरा हो । प्रस्तुत मुद्दाको लिखतको अचल सम्पत्तिसंग सम्बद्ध तथ्य विद्वान अधिवक्ताले उल्लेख गर्नु भएको क्षेत्रनारायण मल्ल समेत विरुद्ध निजानन्द मल्ल समेत भएको मुद्दाको तथ्य फरक परेको र सो मुद्दामा अंशबण्डाको १८ नं. को व्याख्या गरी कुनै अंशियारले आफैंले किनेको सम्पत्ति स्वतः निजी आर्जनको हुने भन्ने नजीर सिद्धान्त समेत प्रतिपादन भएको नदेखिएकोले विद्वान अधिवक्ताको बहससंग सहमत हुन सक्ने अवस्था रहेन ।

१८.   अब मुद्दाको अन्य औचित्यतर्फ हेर्दा प्रतिवादी मध्ये ज्ञानबहादुर तामाङ वादीहरुका एकासगोलका अंशियार भन्ने कुरामा विवाद देखिँदैन । प्रतिवादी चित्रबहादुर अधिकारीले प्रतिवादी ज्ञानबहादुर तामाङबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएको भनेको वागेश्वरी गा.पं. वडा नं. ७ को कि.नं. १४ को रोपनी २१ र ऐ.कि.नं. २० को रोपनी ११ जग्गा निज ज्ञानबहादुरको निजी आर्जन म संगबाट लिएको रुपैयाँबाट खरीद गरेको भन्ने जिकिर लिएको छ । तर सो जग्गा प्रेमबहादुरबाट खरीद गर्न प्रतिवादी चित्रबहादुरले रुपैयाँ दिएको कुनै सबूद प्रमाण नदेखिएको र मेरो निजी आर्जनको हो भनी प्रतिवादी ज्ञानबहादुरले समेत प्रतिवाद गर्न सकेको छैन निजले प्रतिउत्तर नै नफिराई चुप लागी बसेको देखिन्छ । साथै सो जग्गा प्रतिवादी ज्ञानबहादुरले के कस्तो ज्ञान शिप वा प्रयासबाट आर्जन गरेको वा अपुताली प्राप्त गरेको हो सो कुराको लिखित प्रमाण पनि प्रतिवादी चित्रबहादुरले पेश गर्न नसकेको कुरा माथि नै उल्लेख गरेकै र त्यस्तो लिखत प्रमाण बेगर कुनै सम्पत्ति प्रतिवादीको भनाईकै भरमा निजी आर्जनको भनी ठहर गर्न मिल्ने देखिएन । अतः विवादित लिखतमा उल्लेखित अचल सम्पत्ति वादीहरु समेतको हक लाग्ने सगोलको सम्पत्ति रहेछ भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अनुमान गर्नु पर्ने हुन्छ । त्यस्तो वादीहरु समेतको हक लाग्ने सगोलको जग्गा प्रतिवादी ज्ञानबहादुरले प्रतिवादी चित्रबहादुरलाई बिक्री गर्दा वादीहरुको मञ्जूरी लिएको भन्ने मिसिल प्रमाणबाट देखिँदैन । यस स्थितिमा वादीहरुको मञ्जूरी नलिई प्रतिवादी ज्ञानबहादुरले प्रतिवादी चित्रबहादुर अधिकारीलाई गरी दिएको मिति २०४०।५।२९ गतेको राजीनामा लिखत वादीहरुको हक हितको प्रतिकूल कायम रहन सक्ने अवस्था रहेन । तसर्थ शुरु नुवाकोट जिल्ला अदालतले वादी दावी बमोजिम ४ खण्डको ३ खण्ड लिखत बदर हुने गरेको इन्साफ मनासिब ठहराएको वागमती अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

१९.    लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी गर्ने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।२।२८ गतेको फैसला र मिति २०४७।१।२० गतेको लगत बमोजिम कसिएको देहाय बमोजिमको लगत अनुसार गर्नु पर्दैन सो फैसला बमोजिमको लगत फट्टा गरीदिनु भनी का.जि.अ.मा लगत दिनु..१, शुरु अञ्चलको फैसलाले प्रतिवादीबाट वादीले भरी पाउने (साविक पेज नं. ८६३) ठहरेका कोर्ट फी रु. १२।५० भराई लिन नपाउने हुँदा सो को लगत कट्टा गर्नु भनी शुरुमा लेखी पठाउने गरेको कलम..१, प्रतिवादी चित्रबहादुरले अञ्चल अदालतमा पुनरावेदन गर्दा धरौट रु. १२।५० प्रतिवादीलाई फिर्ता खर्च लेखी दिन शुरुमा लेखी पठाउने गरेको कलम..१, वादीबाट प्रतिवादी चित्रबहादुरलाई कोर्ट फी रु. ३।७५ भराई दिनु भनी शुरुमा लेखी पठाउने गरेको कलम..१, माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु र वा.अं.अ.को इन्साफ सदर भएकोले सो फैसला बमोजिम कसिएको लगत कायम रहेकोले केही गर्न परेनं..२, देहायका निवेदक वादीहरुले मुद्दा दोहराई ल्याउँदाराखेको कोर्ट फी रु. १।प्रतिवादी चित्रबहादुरबाट भराई पाउँ भनी ऐनका म्याद भित्र वादीहरुको दर्खास्त परे दस्तूर केही नलिई बराबरको दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु..३, ललितमान तामाङ १, सुनाराम तामाङ १, मंगली तामाङ १

सर्वोच्च अदालत संयुक्त इजलासका मिति २०४६।१।१८ गतेका फैसलाले वादीहरुबाट प्रतिवादी चित्रबहादुरलाई भराउने गरेको कोर्ट फी रु. ३।७५ देहायका वादीहरुले स.अ.ल.नं. शाखा मार्फत मिति २०४७।९।२२ गतेमा राखेको धरौटबाट देखिँदा सो धरौटी प्रतिवादीलाई भरी भराउ गर्न नपर्ने हुँदा वादीहरुले फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई सो धरौटी रकम वादीहरुलाई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु..४, मिसिल नियम बमोजिम गरी बुझाई दिनु..५

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या.त्रिलोकप्रताप राणा,

 न्या.केशवप्रसाद उपाध्याय

 

इति सम्वत् २०४८ साल चैत्र ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु