शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४४१ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२

निर्णय नं. ४४४१    ने.का.प. २०४८      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४५ सालको रिट नं. १२३७

आदेश भएको मिति: २०४८।१०।५।१ मा

निवेदक      : जि.कपिलवस्तु कुसहवा गा.पं.वा.नं. ९ बस्ने अकिलखां पठानसमेत

विरुद्ध

विपक्षी : जिल्ला कपिलवस्तु गा.पं. वा.नं. ९ बस्ने मुस्तफा मुसलमानसमेत

विषय : उत्प्रेषण

(१)    संस्थानलाई चाहिएको बेला जग्गा छोड्ने शर्तमा मोहियानीमा जग्गा कमाउने चलन पुर्जी दिई जग्गा बन्दोवस्त गरिदिए बमोजिम निवेदकहरुले लगातार तिरो तिरी रसिद प्राप्त गरी रहेको देखिएको हुँदा निवेदकहरुलाई नबुझी पञ्चायतको सिफारिशलाई एकमात्र आधार बनाई विपक्षीहरुको नाउँमा रैतानी गर्ने गरेको गुठी तहसिल कार्यालयको निर्णय र सो बमोजिम मालपोत कार्यालयले जग्गा धनी प्रमाणपुर्जा दिने गरेको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ८)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस

विपक्षीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यसप्रकार छ ।

२.    जिल्ला कपिलवस्तु कुसहवा गा.पं. अन्तर्गत रहेको लङडापास गुठीको जग्गा मध्ये हाल कायम भएको कुसहवा गा.पं. वा.नं. ९ख. को कि.नं. ४०८ र ४२३ मध्ये साविक मोही गौरीपासीले कमाई आएको निज परलोक भएपछि २०३१ सालमा जग्गाको चारकिल्ला उल्लेख गरी हामी तिनैजनालाई ०१३ एक कट्टा साँढे ते¥ह धुरको दरले कबूलियत गराई मोहियानीमा विपक्षी भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयबाट बन्दोवस्त गरिदिए बमोजिम हामी तीनै जनाले साल बसाल कमाउँदै कूत बापतको नगदी बुझाई साल सालैको रसिद लिँदै आएका छौं । यसरी हाम्रो कबूलियत चलन पुर्जी बमोजिम उपरोक्त कित्ताहरुमध्ये कित्ता नं. ४०८ को जग्गा मध्ये पूर्वतर्फबाट म रहमतुल्ला खांको ० धुर दक्षिणतर्फबाट अकिलखाँको ० धुर तथा कि.नं. ४२३ मध्ये पूर्वतर्फबाट ० म अकिलको त्यस देखि पश्चिम ० म करम हुसेनको र त्यस देखि पश्चिम म रहम तुल्लाको ० जग्गामा मोहियानी हक प्राप्त मोही छौं । हाम्रो चलनपुर्जी कूत (साविक पेज नं. ८७८) तिरेको रसिद समेतको जग्गा उपरोक्त जग्गा नभई अन्यत्र रहेको अथवा मोहियानी नै समाप्त भइसकेको कुरा विपक्षी गुठी तहसिल तथा खर्च कार्यालयबाट पनि अन्यथा भन्न सक्ने अवस्था छैन । उपरोक्त बमोजिम हाम्रो मोहियानी हक भोगको जग्गासमेत साविक गौरी पासीको मृत्युपछि निजले हामीलाई दिई जोतभोग गर्दै आएकोले नियमानुसार सलामी बुझी दर्ता गरिपाउँ भनी गा.पं.का. को सिफारिशको भरमा विपक्षी दोष महमद र मुस्तफा मुसलमानले निवेदन दिएको र त्यसैको आधारमा कुनै रेकर्ड कागजात नहेरी मोही रहे नरहेको कुनै सबूद प्रमाण नखोजी विपक्षी गुठी कार्यालयले सलामी बुझी लिई निजहरुका नाउँमा कि.नं. ४०८ को ०० र कि.नं. ४२३ मध्ये ०० पश्चिमतर्फबाट मुस्तफा मुसलमानका नाउँमा र कि.नं. ४२३ मध्ये बाँकी ०१८ पूर्वतर्फबाट दोष महमदका नाउँमा गुठी रैतानी नम्बरी जनाई ज.ध.प्र.पुर्जा बनाइदिन ०४५।६।१२ मा लेखी पठाएको पत्रको आधारमा विपक्षी मालपोत कार्यालयबाट ०४५।६।१४ मा उपरोक्त जग्गाको गुठी रैतान नम्बरी श्रेस्ता बनाई दाखिल खारेज गर्ने निर्णय गरी ज.ध.द.प्र.पुर्जा वितरण गरिएको कुरा मौकामा हामीलाई कुनै जानकारी थिएन, गाउँघरमा विपक्षीहरुले गुनगुन गर्दा थाहा पाई मालपोत कार्यालयमा गई ०४५।१०।१० मा नक्कल प्राप्त गर्दा मात्र यकीन जानकारी पाएका छौं । हामी निवेदकहरुको मोहियानी हकको जग्गा विपक्षी गा.पं. ले अनाहक सिफारिश दिने विपक्षी गुठी तहसिल तथा खर्च कार्यालयले गैरकानुनी रुपमा सलामी लिई मोही नै नभएको व्यक्तिका नाउँमा गुठी रैतान नम्बरी कायम गरी दर्ता पुर्जा दिनु भनी २०४५।६।१२ मा मालपोत कार्यालयलाई लेखी पठाएको र विपक्षी मालपोत कार्यालयले पनि कुनै सबूद प्रमाण नबुझी ०४५।६।१४ मा दाखिल खारेज गरी गुठी रैतान नम्बरी कायम गरी दर्तापुर्जा बनाउने गरेको सम्पूर्ण काम कारवाही निम्न बमोजिम गैरकानुनी रहेकोले बदरभागी छ । गुठी संस्थान ऐन, २०३३ को दफा २७ बमोजिम गुठी जग्गा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने प्रावधान छ । हामी निवेदकहरु २०३१ सालदेखि भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयले यसैसाथ पेश गरेका चलनपुर्जी बमोजिमको जग्गा कमाई कूत बुझाउँदै रसिद प्राप्त गरी आएका जग्गाको मोहि रहेमा विवाद छैन । विपक्षीहरु मध्येका मुस्तफा मुसलमान र दोष महमद मुसलमानले गुठी जग्गा कमाएको कुनै निस्सा प्रमाण छैन । यस्तोमा निज विपक्षीहरुलाई जोताहा मोही कायम गर्ने गरी खास हामी जोताहा मोहीहरुको मोहयानी हकबाट वञ्चित गर्ने गरी गा.पं.ले सिफारिश दिएको भैरहवा गुठी तहसिल कार्यालयले मोही कायम गर्ने गरी रैतान नम्बरीमा परिणत गराई दाखिल दर्ता गर्ने गरी मालपोत कार्यालयले गरेको निर्णय आदेश समेत भइरहेको उपरोक्त कानुनी प्रावधानको विपरीत छ । विवादित जग्गा मध्ये नै हामीले गुठी तहसिल तथा खर्च कार्यालयबाट कबूलियत भई चलनपुर्जी पाई कमाई आएको कुरा विवादित कि.नं. हरुको चारकिल्ला र हाम्रो चलन पुर्जीमा उल्लेखित चारकिल्लाबाट प्रमाणित छ । गुठी तहसिल तथा खर्च कार्यालयले हामीलाई जग्गा कमाउन दिएको रेकर्ड निस्सा मजकुर कार्यालयमा छ । सालसाल कूत बुझाएको रसिद रेकर्ड समेत कार्यालयमा मौजूद छ । विपक्षी मुस्तफा र दोष महमदले जग्गा दर्ता गराउन माग गर्दा उक्त जग्गामा अन्य कसैको हक लाग्ने हो होइन त्यस कुराको छानवीन गरी विपक्षीहरुको मोही हकको हो होइन, यसको सबूद प्रमाण बुझी मात्र कारवाही निर्णय गर्नुपर्नेमा आफ्नो अड्डाको रेकर्ड समेत केही नहेरी जथाभावी रुपमा कानुनी व्यवस्थाको परिपालना गरिएको छैन । विपक्षी मालपोत कार्यालयले कुनै जग्गा अन्य व्यक्तिको नाउँमा दाखिल खारेज दर्ता गर्दा कानुनी कार्यविधि अनुसार ३५ दिने सार्वजनिक सूचना जारी गर्नुपर्ने र त्यसमा कसैको तेरो मेरोमा उजूर नपरेको अवस्थामा दाखिल खारेज हुनुपर्नेमा कानुनी कर्तव्य पालना नगरी हचुवा रुपमा सिफारिश र पत्रको आधारमा दर्ता गरिएको पूर्णतः दूषित छ । अतः उपरोक्त बमोजिम गैरकानुनी काम (साविक पेज नं. ८७९) कारवाही निर्णय गरिएबाट हाम्रो उपरोक्त कानुनी हकहरुको अलावा संविधानको धारा १०(१), ११(२)(ङ) द्वारा प्रदत्त मौलिक हक समेत आघातित भएको र अन्य कानुनी उपचार नरहेकोले धारा १६।७१ अन्तर्गत यस अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएका छौं । उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरी २०४५।६।१२ को पत्रको आधारमा विपक्षी मालपोत कार्यालयले गरेको २०४५।६।१४ को निर्णय र त्यसको भरमा विपक्षी मुस्तफा र दोष महमदलाई दिएको ज.ध.द.प्रमाण पुर्जा दिने गरेको सम्पूर्ण काम कारवाही बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन ।

३.    विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीश इजलासको मिति २०४५।११।२७ को आदेश ।

४.    भैरहवा गुठी खर्च कार्यालयबाट प्रमाणपुर्जा दिनु भनी लेखी आएकोमा यस कार्यालयबाट ती व्यक्तिहरु मोही हुन् होइनन् अरु कसैको हक लाग्ने हो होइन भनी प्रमाण बुझ्ने र सार्वजनिक सूचना टांस गर्ने समेत यस कार्यालयको कार्य क्षेत्र बाहिर पर्ने हुँदा यी सबै प्रशासनिक कारवाही भैरहवा गुठी खर्च कार्यालयबाट गरिने भएकोले गुठीको पत्र अनुसार मुस्तफा मुसलमान र दोष महमद मुसलमानका नाउँमा श्रेस्तापुर्जा कायम गरिएको हो भन्ने समेत मालपोत कार्यालयका नि.प्र.मा.अ.इन्द्रराज पुरीको लिखितजवाफ ।

५.    विवादित कि.नं. ४०८ र ४२३ को जग्गाहरु रिट निवेदकहरुले कहिल्यै पनि कमाएको छैन । गौरी पासीको मृत्युपछि उक्त जग्गा लिखितजवाफ प्रस्तुतकर्ताहरुले नै कमाई आएका छौं । उक्त कुरा स्थानीय पञ्चायतको सिफारिशबाट पनि स्पष्ट हुन्छ । विवादित जग्गा कसको हो ०३१ सालदेखि उक्त जग्गा हामीले कमाएको भन्ने रिट निवेदकहरु गौरी पासीको मृत्युपछि उक्त जग्गा हामीले कमाएको निवेदकको जग्गा अन्तै होला भन्ने समेत मुस्तफा मुसलमान र दोष महमद मुसलमान समेतका संयुक्त लिखितजवाफ ।

६.    साविक मोही गौरी पासीको मृत्युपछि कि.नं. ४२३ को जग्गा गा.पं. कुसहवा वार्ड नं. ९ बस्ने दोष महमद मुसलमान र कि.नं. ४०८ को जग्गा गा.पं. कुसहवा वार्ड नं. ९ बस्ने मुस्तफा मुसलमानले जोतभोग गर्दै आएको सत्य साँचो हो भनी गौरी यादव समेत सरजमीनका मानिसले पञ्च प्रतिनिधिको रोहवरमा सरजमीन भई सो सरजमीनबाट देखिए अनुसारको कुरा उल्लेख गरी यस कुसहवा गा.पं.द्वारा भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयलाई लेखी पठाएको हो भन्ने समेत कुसहवा गा.पं. कार्यालयको लिखितजवाफ ।

७.    नियम बमोजिम दैनिक कजलिष्टमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले निवेदकहरुलाई साविक मोही गौरीपासीको मृत्यु पछि विपक्षी भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयबाट जग्गा बन्दोवस्त गरिदिए बमोजिम सालवसाल कमाउँदै कूत बुझाई रसिद लिई आएको जग्गालाई निवेदकहरुलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त समेत विपरीत गरी विपक्षीहरुका नाउँमा ज.ध.प्र.पु. दिने गरेको निर्णय कानुनी त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भन्ने समेत र विपक्षी मालपोत कार्यालय तर्फबाट सरकारी उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले भैरहवा गुठी खर्च कार्यालयबाट लेखी आए अनुसार मालपोत कार्यालयबाट विपक्षीहरुलाई ज.ध.प्र.पु. वितरण गरिएको हो भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

८.    यसमा निर्णयतर्फ विचार गर्दा प्रस्तुत विवादित कि.नं. ४०८ र ४२३ का जग्गाहरु साविक मोही गौरी पासीको परलोक भएपछि २०३१ सालमा जग्गाको ४ किल्ला उल्लेख गरी निवेदकहरुको तीनैजनालाई ०१३१२ एककठ्ठा ते¥ह धुरको दरले कबूलियत गराई मोहियानीमा विपक्षी भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयबाट बन्दोवस्त गरिदिएको देखिन्छ । सोही (साविक पेज नं. ८८०) अनुसार निवेदकहरुले जोत कमोद गरी वि.सं. २०३२ साल देखि वि.सं. २०४४ साल सम्मको तिरो बुझाई रसिद लिएको देखिन्छ । विवादित कि.नं. ४०८ र ४२३ को जग्गा र निवेदकहरुले गुठी तहसिल तथा खर्च कार्यालयबाट कबूलियत भई चलन पुर्जी पाई कमाई आएको जग्गाको चारकिल्ला मिल्न भिड्न आएको पाइन्छ । यसरी निवेदकहरुलाई भैरहवा गुठी तथा तहसिल कार्यालयबाट गुठी संस्थानलाई चाहिएको बेला जग्गा छोड्ने शर्तमा मोहियानीमा जग्गा कमाउने चलन पुर्जी दिई जग्गा बन्दोवस्त मिति २०३२।८।२३ मा गरिदिए बमोजिम निवेदकहरुले लगातार २०३२ देखि २०४४ साल सम्म तिरो तिरी रसिद प्राप्त गरी रहेको देखिएको हुँदा निवेदकहरुलाई नबुझी कुसहवा गा.पं.को सिफारिशलाई एकमात्र आधार बनाई विपक्षीहरु मुस्तफा मुसलमान र दोष महमद मुसलमानको नाउँमा रैतानी गर्ने गरेको भैरहवा गुठी तहसिल कार्यालयको मिति २०४५।६।१२ को निर्णय र सो बमोजिम मालपोत कार्यालयले जग्गा धनी प्रमाणपुर्जा दिने गरेको मिति २०४५।६।१४ को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब निवेदकलाई समेत बुझी कानुन बमोजिम निर्णय र कारवाही गर्नु भनी भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयहरुको जानकारीको निमित्त निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इति सम्वत् २०४८ साल माघ ५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु