निर्णय नं. ४४४२ - लागू औषध

निर्णय नं. ४४४२ ने.का.प. २०४८ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
२०४७ सालको फौ.पु.नं. ४१०
फैसला भएको मिति: २०४८।१२।१२।४ मा
पुनरावेदक/प्रतिवादी: का.न.पं. वडा नं.२३ बस्ने किरण मास्के
विरुद्ध
विपक्षी/वादी: जि.प्र.का. काठमाडौंको जाहेरीले श्री ५ को सरकार
मुद्दा : लागू औषध
(१) बिक्री वितरण गरेको भन्ने सम्बन्धमा यो यसलाई यस मितिमा यति रुपैयाँमा बिक्री वितरण गर्यो भन्ने बिक्रीको न्यूनतम तथ्यसम्म पनि खुलाई माग दावा गरेको पाइएन । प्रतिवादीको साथमा फेला परेको भन्ने तथ्य देखाई फेला परेको १९१२ ग्रा. र १० ग्राम अफिमको सम्बन्धमा प्रतिवादीले साथमा राखेको भन्ने तथ्यसम्म सान्दर्भिक देखिएकाले यस्तो साथमा राख्ने कार्य दफा ४ को (च) ले वर्जित गरेको हुँदा दफा १४ को खण्ड (घ) अन्तर्गत ६ महीना कैद र रु. ५०००।– जरिवाना हुने ।
(प्रकरण नं. २३) (साविक पेज नं. ८८१)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर
विपक्षी वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.हरगोविन्द सिंह प्रधान
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालत नियमावली बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. का.जि. चिकंमुगल ब्लुवर्ड रेष्टुरेन्टमा बस्ने किरण मास्केको कोठा तलासी लिंदा कागजमा पोको पारेको ब्राउन सुगर १९ ग्राम ५० मि.ग्रा. र अफिम १० ग्राम समेत बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४२।१२।१३ को बरामदी मुचुल्का ।
३. २ महीना अघि भैरहवा तिर घर हुने नाम थाह नभएको गुरुड्डसंग २ किलो ब्राउन सुगर १ लाखमा किनी प्रतिग्रामको रु. ९०।– का दरले बिक्री गरी बाँकी रहेको १९ ग्राम ५० मि. ग्राम ब्राउन सुगर र १० ग्राम अफिम रेष्टुराँमा नै थियो । उक्त लागू औषधहरु प्रहरीले बरामद गरी ल्याएको हो भन्ने समेत व्यहोराको प्र.किरण मास्केले प्रहरीमा गरेको बयान ।
४. किरण मास्केको डेरा ब्लुवर्ड रेष्टुरेण्टमा तलासी गर्दा १० ग्राम अफिम र १९ ग्राम ५० मि.ग्रा. ब्राउन सुगर बरामद भएको सुनेको हो निज पहिले देखि नै लागू औषधको व्यापार गर्दछन् भन्ने सुनेको हो र उक्त लागू औषधहरु पनि बिक्री कै लागि राखिएको हुनुपर्दछ निजले बिक्री वितरण गरेको देखेको छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
५. प्र.किरण मास्केले ब्लुवर्ड रेष्टुरेण्टमा लागू औषध अफिम र ब्राउन सुगर समेत बिक्री गर्ने गरेको र बिक्री गर्नको लागि राखेको लागू औषधहरु बरामद समेत भएकाले निजले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को अपराध गरेको प्रष्ट देखिँदा निजलाई सोही ऐनको दफा १४(ख) अनुसार सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको २०४२।१२।३१ को प्रहरी प्रतिवेदन।
६. प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार म बाट कुनै कसूर भए गरेको छैन । मबाट कुनै लागू औषध बरामद नभएको र त्यस्तो कुनै काम समेत नगरेको हुँदा प्रहरी प्रतिवेदन अनुसारको आरोप लाग्नु पर्ने होइन । मुचुल्का सहितको सम्पूर्ण कागजातहरुमा कुटपिट गरी जबरजस्ती सही गराएको भन्ने समेत व्यहोराको किरण मास्केको अदालतमा भएको बयान ।
७. किरण मास्केको रेष्टुराँ र मेरो घर नजिकै भएको हुँदा २०४२।१२।१३ गते खानतलासी भएको भए मलाई थाह हुने थियो । तसर्थ बरामद भएको छैन र किरण मास्केको कोठा तलासी गरेको र बरामद भएको थाहा छैन र उनी लागू औषधको व्यापार गरी खानु पर्ने मानिस होइनन् भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी गौरीराज मास्के, गोरे राजकर्णिकार, उमेर मास्के समेतले अदालतमा गरेको बकपत्र ।
८. २०४२।१२।१३ गते मुचुल्का लेखिएको मलाई थाह छैन म मुचुल्कामा लेखिएको वडा नं. १७ को न.स.स. होइन र मुचुल्काको रोहवरमा रही सही गरेको पनि होइन । मेरो नाम तीर्थबहादुर तण्डुकार हो । तीर्थ तण्डुकार होइन भन्ने समेत व्यहोराको बरामदी मुचुल्काको रोहवरमा सही गर्ने न.स.स.तीर्थ तंडुकारले अदालतमा गरेको बकपत्र ।
९. २०४२।१२।१३ गते चिकंमुगल ब्लुवर्ड होटलको कोठा नं. ४ बाट किरण मास्केको साथबाट लागू औषध बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको वरामदी मुचुल्कामा काम तामेल गर्ने प्र.ह.रामकुमार कार्कीले अदालतमा गरेको बकपत्र ।
१०. प्र.किरण मास्केले लागू औषध नियन्त्रण (साविक पेज नं. ८८२) ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेकोले निजलाई ऐ.ऐनको दफा १४(ख) अनुसार कसूरको मात्रा एवं लागू औषधको परिणाम समेतलाई मनन गरी कैद वर्ष ७ र ५०००।– जरिवाना हुने ठहर्छ भन्ने समेत वा.वि.अ. को मिति २०४६।१।२१ को फैसला ।
११. उक्त वा.वि.अ.को फैसलामा चित्त नबुझी उल्टी गरी न्याय पाउँ भन्ने समेत व्यहोराको किरण मास्केको म.क्षे.अ.मा परेको पुनरावेदन ।
१२. वा.वि.अ.बाट मिति २०४६।१।४ मा फैसला हुँदा प्र.किरण मास्केले बिक्री वितरण गरेको नदेखिने अवस्थामा बिक्रीको लागि लागू औषध साथमा राखेको भनी लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) बमोजिम सजायँ गरेको मिलेको नभई फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलको निमित्त सरकारी वकिललाई पेशीको सूचना दिई पेश गर्नु भन्ने समेत म.क्षे.अ.को संयुक्त इजलासको मिति २०४६।८।१५ को आदेश ।
१३. बरामदी मुचुल्का, वादी पक्षको गवाह, प्र.ह. रामकुमार कार्कीको किटानी बकपत्र, प्रतिवादी किरण मास्केले अधिकार प्राप्त अधिकारी समक्ष गरी दिएको बयान कागज र सो कागजबाट २ कि.ग्रा. ब्राउन सुगर र २ कि.ग्रा अफिम खरिद गरी लिई बिक्री गर्दै गएको र बिक्री गरी बाँकी रहेको १९ ग्राम ५० मि.ग्रा. ब्राउन सुगर र १० ग्राम अफिम बरामद भएको भन्ने निज प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष साविती भई कागज गरी दिएको उक्त साविती कागजलाई बरामदी मुचुल्काले समर्थित भइरहेको स्थितिमा निजले लागू औषध नियन्त्रण ऐनको दफा ४(घ) अन्तर्गतको कसूर गरेको ठहराएको वा.वि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४६।९।२६।४ को फैसला ।
१४. उक्त म.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको किरण मास्केको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१५. यसमा निवेदकको कोठाबाट लागू औषध ब्राउन सुगर र अफिम बरामद भएको भन्ने मिति २०४२।१२।२३ को बरामदी मुचुल्का समेतको आधारमा निज उपर लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको भनी ऐ.ऐनका दफा १४(ख) अनुसार सजायँ गरी पाउँ भन्ने अभियोग प्रतिवेदन रहेको, उक्त ऐनको दफा ४(घ) हेर्दा लागू औषधको बिक्री वितरण गर्न निषेध गरेको देखिन्छ । बरामद भएको लागू औषध खरिद गरेको भन्ने कुरा प्रतिवादीको बयानमा उल्लेख भएको, प्रतिवादीले लागू औषध बिक्री वितरण गरेको भन्ने कुरा शंकारहित रुपले प्रमाणित हुन नसकेको कोठाबाट लागू औषध बरामद भएको स्थिति अवस्थामा, ऐनको दफा ४(च) अन्तर्गतको कसूर गरेको मान्नु पर्ने देखिएको हुँदा प्रतिवेदन दावी बमोजिम निवेदकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूरमा सोही ऐनको दफा १४(ख) अनुसार सजायँ गर्ने गरेको म.क्षे.अ.को फैसलामा उक्त ऐनको दफा ४ र १४, प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को ण्ण्आधारमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको संयुक्त इजलासको आदेश ।
१६. प्रस्तुत मुद्दामा पुर्पक्षको लागि मलाई थुनामा राख्ने आदेश भई थुनामा बसेको वा थुनामा बस्नु पर्ने मुद्दा नभई धरौट माग गरेको र धरौट दिन नसकेको कारणबाट थुनामा रहेको हुँदा मुलुकी ऐन अ.बं. १९४ को देहाय २, ३ समेत अनुसार मेरो पुनरावेदनको अन्तिम किनारा नभएसम्म लाग्ने धरौट वा जेथाजमानी दिई तारेखमा बस्न पाउँ भन्ने समेत व्यहोराको किरण मास्केको मिति २०४७।२।१०।५ को निवेदन ।
१७. यसमा निवेदकलाई लागू औषध सम्बन्धी मुद्दामा ३ वर्ष भन्दा बढी कैद सजायँ भएको र निवेदक हाल थुनामा नरहेको अवस्था हुँदा अ.बं. १०४ को (साविक पेज नं. ८८३) २, ४ र ५ समेतबाट धरौट जमानी लिई तारेखमा छाड्न मिलेन कानुन बमोजिम गर्नु भन्ने समेतको यस अदालतका डेपुटी रजिष्ट्रारबाट भएको आदेश ।
१८. उक्त आदेश त्रुटिपूर्ण भएको हुँदा बदर गरी धरौट वा जमानीमा रहन पाउँ भन्ने समेत व्यहोराको किरण मास्केको मिति २०४७।४।२।३ मा परेको निवेदन ।
१९. यसमा निवेदक पुर्पक्षको लागि थुनामा रहेको नदेखिई शुरु विशेष अदालतबाट मागेको धरौट वा धनजमानी दिन नसकेबाट सम्म थुनामा रहेको देखिन आएको र यसै दफाको देहाय ५ बमोजिम धरौट जमानी लिन इन्कार गर्न पर्ने कुनै अवस्था पनि नदेखिएकोले म.क्षे.अ.बाट समेत सदर गरिएको कैद जरिवानामा कैदमा बसी भुक्तान गरी सकेको दिन कटाई बाँकी रहन आउने कैद वर्ष ३।२।२५ र जरिवाना ५५००।– तथा सो इन्साफ सदर भएमा लाग्ने थप कैद तथा जरिवाना समेत बापत नगद धरौट वा सो बापत धनजमानी दिए लिई तारेखमा राखी कानुन बमोजिम गर्नु भन्ने समेत व्यहोराको मिति २०४७।६।४।५ मा यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।
२०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले मेरो पक्षबाट लागू औषध बरामद गरिएको भनिएको बरामदी मुचुल्का कानुनको रीत नपुगेकोले प्रमाणमा लिन नहुने लागू औषध बरामद भएकोमा मेरो पक्ष इन्कार रहेको खान तलासी मुचुल्कामा कानुनको रीत पुगेको छैन । यसर्थ मेरो पक्षले सफाई पाउनु पर्दछ भन्ने समेत गर्नु भएको बहस र प्रत्यर्थी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले प्रतिवादीबाट लागू औषध बरामद भएको र सो बरामदी मुचुल्का रीत पुर्याई गरेको छ । खानतलासी मुचुल्का कानुन बमोजिम रीत पुगेको छ । म.क्षे.अ.को इन्साफ सदर हुनु पर्ने भन्ने समेत प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
२१. अब म.क्षे.अ.को निर्णय मनासिब छ छैन सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
२२. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी किरण मास्केले प्रहरीमा कागज गर्दा बिक्री वितरण गरी आएको विवादित ब्राउन सुगर बिक्रीको लागि राखेको भनी ठाडो कागज गरेको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को खण्ड (घ) अन्तर्गतको सजायँ माग गरी बिक्रीको लागि साथमा राखेको भन्ने आधारमा वागमती विशेष अदालतले गरेको फैसलामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सोही सदर गरेको पाइयो । यस अदालतबाट अनुमति प्रदान गर्दा बिक्रीको प्रमाण नआएकोले खण्ड (च) अन्तर्गतको कसूरमा ऐ.ऐनको १४(घ) अनुसार मात्र सजायँ हुनु पर्ने भन्नेमा ऐ.ऐनको खण्ड(घ) को कसूर कायम गरी ऐ.१४(ख) अन्तर्गत सजायँ गरेको मिलेन भन्ने आधार लिएको पाइयो ।
२३. बिक्री वितरण गरेको भन्ने सम्बन्धमा यो यसलाई यस मितिमा यति रुपैयाँमा बिक्री वितरण गर्यो भन्ने बिक्रीको न्यूनतम तथ्यसम्म पनि खुलाई माग दावा गरेको पाइएन । प्रतिवादीको साथमा फेला परेको भन्ने तथ्य देखाई फेला परेको १९ ग्रा. र १० ग्राम अफिमको सम्बन्धमा प्रतिवादीले साथमा राखेको भन्ने तथ्यसम्म सान्दर्भिक देखिएकाले यस्तो साथमा राख्ने कार्य दफा ४ को (च) ले वर्जित गरेको हुँदा दफा १४ को खण्ड (घ) अन्तर्गत ६ महीना कैद र रु. ५०००।– जरिवाना हुने ठहर्छ । शुरु वागमती विशेष अदालतको ऐ.ऐनको दफा ४ को खण्ड (घ) अन्तर्गतको कसूर कायम गरी दफा १४(ख) अनुसार कैद वर्ष ७ र जरिवाना रु. ५०००।– गर्ने गरेको म.क्षे.अ.ले सो इन्साफ सदर गरेको मिलेको नदेखिँदा सो हदसम्म बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी किरण मास्केले माथि इन्साफ खण्डमा (साविक पेज नं. ८८४) लेखिए बमोजिम हुने ठहरेकाले कैदको हकमा शुरु वा.वि.अ.को फैसला सदर गरेको म.क्षे.अ.को इन्साफ फरक परी जम्मा कैद महीना ६ हुने हुँदा निजले सो अवधिको कैद भुक्तान गरी सकेको देखिँदा बडी म.क्षे.अ.समेतले राखेको बाँकी कैदको लगत कट्टा गरी दिनु भनी का.जि.अ.मा लेखी पठाउनु..१, निज पुनरावेदक प्रतिवादी के जरिवानाको हकमा शुरु वा.वि.अ.ले गर्ने गरेको सदर गरेको म.क्षे.अ.को इन्साफमा फरक नपरेकोले म.क्षे.अ.बाट कायम गरिएको जरिवाना रु. ५५००।– सदर स्याहा भएको देखिएको तथा यस अदालतमा पुनरावेदन गरे बापत राखेको धरौटी समेत रु. ५००।– समेत सदर स्याहा गरी दिन का.जि.अ.तहसिल शाखामा लेखी पठाउनु..२, मिसिल नियमानुसार गरी बुझाई दिनु..३
उक्त रायमा म सहमत छु ।
न्या.लक्ष्मणप्रसाद अर्याल
इति सम्वत् २०४८ साल चैत्र १२ गते रोज ४ शुभम् ।