शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८४२ - जबरजस्ती करणी

भाग: ६४ साल: २०७९ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७७।९।१

०७६-CR-१२६७

 

मुद्दाः- जबरजस्ती करणी

 

पुनरावेदक / वादी : वृत्त कालीमाटी २६(२२) ०७४/०७५ जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : बालदेव साहको नाति, बड्काप्रसाद शाहको छोरा, पर्सा जिल्ला, साबिक विश्रामपुर गाउँ विकास समिति वडा नं. ९, हाल परिवर्तित बहादुरमाई नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३, कालीमाटी बस्ने रविकुमार गुप्ता

 

प्रतिवादीले लामो समयसम्म डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्‍ने उमेर पुगेकी जाहेरवालीले त्यति लामो समयसम्म पनि प्रतिवादीको उक्त कार्यको बारेमा कोही कसैलाई नभनेको र घटनाको बारेमा कतै सूचना दिने प्रयाससमेत नगरेको, कहीँकतै उजुरी नगरेको, प्रतिवादीसँग सहज रूपमा विभिन्‍न ठाउँमा घुम्न गई सँगै रातसमेत बिताएको समेतका घटनाक्रम तथा परिस्थितिबाट जाहेरवालाको जाहेरी बेहोरा तथा बकपत्र बेहोरालाई स्वाभाविक रूपमा लिन नमिल्ने ।

जबरजस्ती करणी मुद्दामा पीडित नै मुख्य साक्षीको रूपमा रहने भएका कारण निजको भनाइ महत्त्वपूर्ण हुने भए तापनि अकाट्‍य प्रमाण हुन नसक्ने । जाहेरी तथा बकपत्र बेहोरा विश्‍वसनीय र सामान्य नजरले हेर्दा स्वाभाविक पनि देखिनुपर्ने । जाहेरवालीले आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भन्दैमा सो कुरालाई अन्य स्वतन्त्र प्रमाणहरूबाट तथ्यगत रूपमा पुष्टि नभएसम्म सोको प्रमाणिक महत्त्व 

नरहने । पीडितको कथन स्वाभाविक तथा घटनाक्रमसँग सिलसिलावद्ध रूपले मेल खाने प्रकृतिको हुनुका साथै वस्तुनिष्ट रूपले समर्थित हुनुपर्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ईश्‍वरीप्रसाद बन्जाडे

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः 

मा.न्यायाधीश श्री सुर्यनाथ प्रकाश अधिकारी

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे

माननीय न्यायाधीश श्री टेकनारायण कुँवर

उच्च अदालत पाटन

 

फैसला

न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

प्रतिवादी रविकुमार गुप्ता कालीमाटी तरकारी बजारमा तरकारी खरिद बिक्रीको काम गर्ने हुँदा निजसँग ५/६ महिनादेखि सामान्य चिनजान भएकोमा मिति २०७५।२।२५ गते अं.१२:३० बजे रविकुमार गुप्ताले म जाहेरवाला नाम परिवर्तित वृत्त कालीमाटी २६(२२)(०७४/०७५) लाई आफ्नो कोठामा बोलाई निजले मलाई विभिन्‍न धाक धम्की दिई कुटपिट गरी इच्छा विपरीत जबरजस्ती करणी गरेको र सो घटनाका सम्बन्धमा कसैलाई बताए परिवारलाई समेत मार्ने धम्की दिएकोले मलाई सामान्य चिनजानमा ब्ल्याक मेलिङ्गसमेत गरी कोठामा बोलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्‍ने बेहोराको वृत्त कालीमाटी २६(२२)(०७४/०७५) को जाहेरी दरखास्त ।

नाम परिवर्तित कालीमाटी २६(२२)(०७४/०७५) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पर्सा जिल्ला, साबिक विश्रामपुर गा.वि.स. वडा नं.९ परिवर्तित बहादुरमाई नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १३ कालीमाटी बस्ने वर्ष २२ को रविकुमार गुप्तालाई मिति २०७५।३।१४ गते पक्राउ गरी प्रतिवेदनसाथ दाखिला गरेको भन्‍ने बेहोराको प्रहरी प्रतिवेदन ।

म ५ वर्ष अगाडिदेखि काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १३ कालीमाटी स्थित डेरा गरी बसी कालीमाटी तरकारी बजारमा तरकारी व्यापार गर्दै आएको छु । १ वर्षअगाडि निज जाहेरवाला कालीमाटी वृत्त २६(२२)(२०७४/०७५) र निजको आमा तरकारी बजारमा तरकारी व्यापार गर्ने गर्दथिन् । निजको डेरा पनि मेरो डेरा कोठा नजिकै थियो । निज कालीमाटी वृत्त २६(२२)(२०७४/०७५) मेरो कोठमा आउने बस्नेसमेत गरेकी थिइन् । म पनि निजको कोठामा जाने आउने गरेको थिएँ । जाहेरवालाकी आमाले दुवै जनाको विवाह गराइदिने कुरा गर्नुभएको थियो । गएको होली पर्वमा निज जाहेरवालाको आमाले आफ्नो कोठामा मलाई बोलाई खाना खुवाएको र तिमीहरूको हाल उमेर पुगेको छैन । उमेर पुगेपछि बिहे गराइदिन्छु भन्‍नुभएको थियो । जाहेरवालाकी आमाको सहमतिले हामी पोखरा र वीरगन्ज घुम्न गएका र एउटै कोठामा सँगै सुतेका र करणीसमेत गरेका हौं । जाहेरवालीको बुबा पहिला गाउँको घरमा बस्दै आएकोले पूरानो नैकापमा कोठा सरेको केही दिनपछि उक्त घरमा आई बस्न थाल्यो । जाहेरवालाले मसँग प्रेम गरेकोमा निजको बुबाले थाहा पाई जाहेरवालाको मोबाइल फुटाई दिएको हो । मिति २०७५।३।१० गते म जाहेरवालालाई भेट्न निजको घरमा गई भेट्दा निजको शरीरभरि चोट पटक रहेको देखेँ । त्यतिकैमा निजको भाइले मलाई गाली गर्न थालेकोले म फर्की आएको हुँ । त्यसपछि जाहेरवालासँग मेरो भेटघाट भएको छैन । मैले जाहेरवालासँग अन्तिम पटक एक डेढ महिनाअगाडि सहमतिमा शारीरिक सम्बन्ध राखेको थिएँ । मिति २०७५।२।२५ गते मैले जाहेरवालालाई जबरजस्ती करणी गरेको होइन र कुटपिटसमेत गरेको छैन । निज जाहेरवालालाई निजको बुबाले कुटपिट गरेको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी रविकुमार गुप्ताले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १३ कालीमाटी स्थित पूर्व बेखानारायण महर्जनको साढे दुई तल्ले पक्‍की घर, पश्‍चिममा साढे चार तल्ले पक्‍की घर, उत्तरमा प्रिया श्रेष्ठको ३ तल्ले पक्‍की घर र दक्षिणमा श्याम महर्जनको खाली जग्गा यति चार किल्लाभित्र रहेको पूर्व मोहडा गरी बनेको बुद्ध श्रेष्ठको साढे दुई तल्ले पक्‍की घर रहेको, सो घरको पूर्व उत्तरतर्फ कोठाको ढोका रहेको, सो ढोकाबाट भित्र प्रवेश गरी हेर्दा सो घरको भुइँ तल्लामा उत्तरतर्फ प्यासेज, दक्षिणतर्फ एउटा कोठा, प्यासेजको सिधा पश्‍चिमतर्फ रहेको कोठाको ढोका पूर्व मोहडा गरी बनेको, सो कोठा बन्द ताला लगाएको अवस्थामा रहेको, सो कोठामा पर्सा जिल्ला, साबिक विश्रामपुर गा.वि.स, वडा नं. ९ परिवर्तित बहादुरमाई नगरपालिका वडा नं. ९ घर भएको वर्ष २२ को रवि गुप्ता कोठा भाडामा लिई बस्दै आएकोमा निजलाई साथमा लिई आई कोठा खोली प्रवेश गरी हेर्दा कोठाको भुइँमा रातो चेक कलरको कार्पेट बिच्छाएको, कोठाको पश्‍चिमतर्फ दक्षिणतर्फ सिसा जडित आल्मोनियमको झ्यालमा रातो सेतो रङ्गको पर्दा लगाएको, पश्‍चिम उत्तरतर्फ अर्को बाहिरी ढोका रहेको, कोठाको उत्तरतर्फ भित्तासँगै सटाएको किचन र्‍याक, टेबुल र सोमाथि खाना पकाउने भाडाकुँडा, पानीको जारहरू रहेको, कोठाको पूर्वी भागमा भित्तासँगै सटिएको काठको दराज रहेको, पूर्व दक्षिण भागको कुनामा भगवान्‌को फोटाहरू र पूजाका सरसामानहरूसहितको टेबुल रहेको, कोठाको दक्षिणतर्फ सटाएको अवस्थामा सिसाको टि.भी. टेबल रहेको, सोसँग पश्‍चिमतर्फ प्लाष्टिकको टेबुल रहेको, सोमाथि टि.भी. रहेको, कोठाको पश्‍चिम दक्षिणतर्फको झ्याल तल भित्तासँगै सटाइराखेको अवस्थामा ४/६ फिटको बिस्तारासहितको काठको पलङ्ग रहेको । सो पलङ्गको दक्षिणतर्फ सिरानी रहेको, सो पलङ्गमाथि सिरानी, एल्वम र रजिस्टर यत्रतत्र छरिएको अवस्थामा रहेको, सो पलङ्गमा प्रतिवादी रविकुमार गुप्ताले जाहेरवाला नाम परिवर्तित वृत्त कालीमाटी २६(२२)(०७४/०७५) लाई जबरजस्ती करणी गरेको भनी पीडितले बताएको र सो कोठाको बेडमा रहेको एल्बममा प्रतिवादी रविकुमार गुप्ता र जाहेरवाला २६(२२)(०७४/०७५) ले खिचिएका तस्विरसमेत प्रहरीले बरामद गरी लगेको घटनास्थल ४ किल्लासहितको विवरण ठिक छ भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

नाम परिवर्तित वृत्त कालीमाटी २६(२२)(०७४/०७५) को शारीरिक तथा मानसिक अवस्था सामान्य देखिन्छ । निजको कन्याजाली पूरानो च्यातिएको, दायाँ र बायाँ आँखामुनि निलडाम रहेको भन्‍ने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परीक्षण रिपोर्ट ।

प्रतिवादी रविकुमार गुप्ता र जाहेरवाला २६(२२)(०७४।०७५) को आमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १३ कालीमाटी तरकारी बजारमा तरकारीको व्यापार व्यवसाय गर्दै आएकोमा निजहरूबिच पहिलेदेखि चिनजान थियो । मिति २०७५।२।२५ गते प्रतिवादी रविकुमार गुप्ताले जाहेरवाला परिवर्तित नाम वृत्त कालीमाटी २६(२२)(०७४/०७५) लाई आफ्नो कोठामा बोलाएकोमा करिब १२/१ बजे प्रतिवादी रविकुमार गुप्ताले कोठा बन्द गरी कुटपिट गरी जाहेरवालालाई जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको रञ्‍जनराज बज्राचार्य, लिलानाथ त्रिपाठी, ठाकुरप्रसाद सिलवालसमेतले गरेको एकै मिलानको घटना विवरण कागज ।

मिति २०७५।२।२५ गते अन्दाजी १२:३० बजे प्रतिवादी रविकुमार गुप्ताले पीडित वृत्त कालीमाटी २६(२२)(०७४/०७५) लाई आफ्नो डेरा कोठा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १३ कालीमाटी बोलाई कोठामा बन्द गरी कुटपिट गरी धाकधम्की दिई जबरजस्ती करणी गरेको वारदात सप्रमाण पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी रविकुमार गुप्तालाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा परिभाषित कसुर अपराध गरेको हुँदा निज प्रतिवादी रविकुमार गुप्तालाई सोही महलको ३(४) नं. बमोजिम सजाय हुन र प्रस्तुत मुद्दाबाट पीडितलाई पर्न गएको मानसिक तथा शारीरिक क्षति विचार गरी सोही ऐन महलको १० नं. बमोजिम मनासिब माफिकको क्षतिपूर्ति पीडितलाई प्रतिवादीबाट दिलाई भराइपाउँ भन्‍ने मागदाबीसहितको अभियोग पत्र ।

कालीमाटी तरकारी बजारमा चिनजान भई प्रेम भएपछि हामी दुईजना दक्षिणकाली मन्दिर, साँगा घुम्न गयौँ । जाहेरवाला पिकनिक नगई निजको आमाको मन्जुरीले मसँग वीरगन्ज र पोखरा गई एउटै कोठामा सुतेका र त्यहाँ बस्दा हामी दुवैको मन्जुरीले शारीरिक सम्बन्ध भयो । त्यसपछि हामीहरू काठमाडौं फर्कियौं । त्यसबेला निज जाहेरवालाको बुबा गाउँ जानुभएको थियो । जाहेरवालीलाई मैले मोबाइलसमेत किनिदिएको हुँ । जाहेरवाली मेरो कोठामा आइरहन्थिन् । म पनि निजको कोठामा जाने 

गर्दथेँ । जाहेरीमा लेखेको बेहोरा झुट्टा हो । मैले जाहेरीमा लेखेको जस्तो केही पनि गरेको छैन । जाहेरवालाको बुबाले कुटपिट गरी मोबाइलसमेत फुटाइदिएका कारण भागेर विवाह गर्न भनेकीमा मैले फकाएर घर पठाएको हुँ । मसँगै विवाह नगरिदिने भनेकोले बुबाको कुटपिटको डरले जाहेरी दिएकी हुन् । अभियोगदाबीबमोजिम मैले कसुर नगरेकोले मैले सफाइ पाउनुपर्दछ भनी प्रतिवादी रविकुमार गुप्ताले अदालतमा गरेको बयान ।

किटानी जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, घटना विवरण कागज, प्रतिवादीले अधिकार प्राप्त अधिकारीसमक्ष तथा अदालतसमक्ष गरेको बयानसमेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट अहिले नै यी प्रतिवादी निर्दोष रहेछन् भनी विश्‍वास गर्न सकिने अवस्था नदेखिएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी रविकुमार गुप्तालाई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११८ नं. देहाय (२) बमोजिम थुनामा राखी पुर्पक्ष गर्नुपर्ने देखिँदा निज प्रतिवादीलाई नियमानुसार सिधा खान पाउने गरी अ.बं. १२१ नं. बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्‍ने गरी थुनुवापुर्जी दिनु भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।४।८ को थुनछेक आदेश ।

मिति २०७५।४।२ को घटना विवरण कागज देखाउँदा देखेँ, सुनेँ । सोमा भएको सहीछाप र बेहोरा मेरो हो । जाहेरवालाको आमाले प्रतिवादी रविकुमार गुप्ताले छोरीलाई जबरजस्ती करणी गरेको भनी भन्‍नुभएकोले जाहेरवालालाई सोधपुछ गर्दा ममाथि जबरजस्ती करणी भएको हो भनी भनेकीले सोहीअनुसार म साक्षी बसेको हुँ भनी बुझिएका रन्जनराज बज्राचार्यले गरेको बकपत्र ।

मिति २०७५।४।२ को घटना विवरण कागज देखाउँदा देखेँ, सुनेँ । यसमा भएको सहीछाप र बेहोरा मेरो हो । जाहेरवालाको परिवारको सदस्य आफन्तलगायतले जाहेरवालालाई प्रतिवादी रविकुमार गुप्ताले बन्द कोठामा लगेर जबरजस्ती करणी गरेको भन्‍ने कुरा सुनी थाहा पाएको हो भनी ठाकुरप्रसाद सिलवालले गरेको बकपत्र ।

प्रतिवादी रविकुमार गुप्ताले जबरजस्ती करणी गरेको होइन, जाहेरवाला र प्रतिवादीबिच प्रेम सम्बन्ध थियो । घुम्नको लागि पोखरा वीरगन्जलगायतको ठाउँमा दुवैजना जाने गरेको, सँगै होटलमा बसेको, अन्य ठाउँमा पनि घुम्न गएको जाहेरवालाको घरमा गएर बस्ने गरेको, आर्थिक सहयोग गरेको, जाहेरवालीको पढाइ खर्चसमेत प्रतिवादीले तिर्दै आएको र जाहेरवालाको आमासँग समेत विवाह गर्ने कुराकानी भई आमाले उमेर पुगेपछि विवाह गरिदिउँला भनेकीले सोहीअनुसार रविको गाउँमा विवाहको लागि प्रस्ताव आउँदासमेत रविले अन्य ठाउँ वा अरूसँग विवाह गर्दिन जाहेरवालीसँग गर्छु भनी अन्यत्र विवाह नगरेको, उमेर नपुगेको कारण उमेर पुगेपछि आमाले विवाह गरिदिन्छु भनेको र प्रतिवादीको बुबाआमाले पनि सहमति जनाएको हुँदा प्रतिवादी र जाहेरवालाबिच प्रेम सम्बन्ध भई दुवैको सहमति र मन्जुरीमा शारीरिक सम्पर्क भएको हो । जबरजस्ती करणी भएको होइन भनी प्रतिवादीका साक्षी सुनिलकुमार शाहले गरेको बकपत्र ।

प्रतिवादी रविकुमार गुप्ताले जबरजस्ती करणी गरेको होइन, जाहेरवाला र प्रतिवादीबिच प्रेम सम्बन्ध थियो । घुम्नको लागि पोखरा वीरगन्जलगायतको ठाउँमा दुवैजना जाने गरेको, सँगै होटलमा बसेको, अन्य ठाउँमा पनि घुम्न गएको, जाहेरवालाको घरमा गएर बस्ने गरेको, आर्थिक सहयोग गरेको, जाहेरवालीको पढाइखर्चसमेत प्रतिवादीले तिर्दै आएको र जाहेरवालाको आमासँग समेत विवाह गर्ने कुराकानी भई आमाले उमेर पुगेपछि विवाह गरी दिउँला भनेकीले सोहीअनुसार रविको गाउँमा विवाहको लागि प्रस्ताव आउँदासमेत रविले अन्य ठाउँ वा अरूसँग विवाह गर्दिन, जाहेरवालीसँग गर्छु भनी अन्यत्र विवाह नगरेको, उमेर नपुगेको कारण उमेर पुगेपछि आमाले विवाह गरिदिन्छु भनेको र प्रतिवादीको बुबा आमाले पनि सहमति जनाएको हुँदा प्रतिवादी र जाहेरवालाबिच प्रेम सम्बन्ध भई दुवैको सहमति र मन्जुरीमा शारीरिक सम्पर्क भएको हो । जबरजस्ती करणी भएको होइन भनी प्रतिवादीका साक्षी प्रजन महर्जनले गरेको बकपत्र ।

जाहेरवालीको स्वास्थ्य परीक्षण मैले गरेको हो । निज जाहेरवालाको कन्याजाली पूरानो च्यातिएको छ । निजको भनाइअनुसार उहाँको बुबाले उहाँलाई कुटपिट गरेको कारण बायाँ आँखामुनि अन्दाजी 3×2 cm निलडाम थियो । साथै दायाँ आँखामुनि 2×2 cm को निलडाम थियो । निजको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य थियो भनी डा.दिप्ती श्रेष्ठले गरेको बकपत्र ।

प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि प्रतिवादी रविकुमार गुप्ताले जाहेरवालालाई जबरजस्ती करणी गरेको र प्रहरीमा उजुरी परेको सम्बन्धमा प्रहरी कार्यालयमा गएपछि थाहा पाएको हो । प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्‍नेबारेमा थाहा छैन । जाहेरवाली र प्रतिवादी सँगै घुम्न गएका भन्‍नेबारेमा तरकारी बजारमा हल्ला चली थाहा पाएको हो भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्काका शिवहरी गिरीले गरेको बकपत्र ।

जाहेरी दरखास्त र सोमा भएको बेहोरा र सहीछाप मेरो हो । प्रतिवादी आजभन्दा १० महिनादेखि मेरो पछि लागिरहेको थियो । मलाई उसले आफ्नो कोठामा बोलायो र म त्यहाँ गएपछि मलाई जबरजस्ती करणी गरेको हो । मैले अरूलाई सुनाउँछु भन्दा मलाई र मेरो घरका परिवारका मानिसलाई मार्ने धम्की दिएकाले मैले कसैलाई नभनी बसेँ । उसले मलाई पटक पटक जबरजस्ती करणी गरेको हो । पोहोर दशैंको हाराहारीमा पहिलो पटक जबरजस्ती करणी गरेको हो । पछि जबरजस्ती करणी गरेको भिडियो देखाएर दिनहुँजसो जबरजस्ती करणी गरेको हो । मिति २०७५।२।२५ गते अन्तिम पटक जबरजस्ती करणी गरेको हो । निजले आफ्नो अपराध लुकाउनको लागि हामीबिच प्रेम सम्बन्ध थियो भनी हल्ला फिFजाएको हो । निजले मेरो अश्लील भिडियो देखाई फेसबुकमा हालिदिन्छु भनेकाले म निजसँग घुम्न गएकी हुँ । मेरो अश्लील भिडियोको डरले मैले निजसँग फोटोहरू पनि खिचेको हो भनी जाहेरवाला कालीमाटी वृत्त २६(२२)(०७४।०७५) ले गरेको बकपत्र ।

उक्त मिति २०७५।४।२ को घटना विवरण बेहोरा ठिक साँचो हो । प्रतिवादी रविकुमार गुप्ताले जबरजस्ती करणी गरेको हो भन्‍ने सुनेको र सही भएको बेहोरा मलाई जानकारी छ र यस्तो विकृति कार्य गर्नेलाई हदैसम्म कारबाही हुनपर्छ भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने लिलानाथ त्रिपाठीको 

बकपत्र ।

प्रतिवादी रविकुमार गुप्ताले जाहेरवाला पीडित परिवर्तित नाम वृत्त कालीमाटी २६(२२) (०७४।०७५) लाई जबरजस्ती करणी गरी निज प्रतिवादी रविकुमार गुप्ताले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. को परिभाषित ऐ. महलको ३(४) नं. बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३(४) नं. बमोजिम ५।०।० (पाँच) वर्ष कैद सजाय हुने ठहर्छ । कसुरको गाम्भीर्य, पीडितलाई पर्न गएको पीडासमेत विचार गरी क्षतिपूर्ति निर्धारण गर्नुपर्ने छ भन्‍ने प्रावधान पाइन्छ । निज पीडित जाहेरवालालाई यी प्रतिवादी रविकुमार गुप्ताले जबरजस्ती करणी गरेको ठहर भएकोले निज प्रतिवादी रविकुमार गुप्ताबाट पीडितले रू.१,००,०००।-(एक लाख रूपैयाँ) क्षतिपूर्तिबापत भराई पाउने ठहर्छ भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।९।२४ को फैसला ।

मैले अनुसन्धानको क्रममा तथा अदालतमा बयान गर्दा जाहेरवालासँग प्रेम सम्बन्ध रहेको र विवाह गर्ने कुरामा सहमत भई विभिन्‍न ठाउँमा घुम्न गई सँगै रात बिताएको र सहमतिमा करणी भएको हो भन्‍ने उल्लेख गरेको छु । हामीबिचको सम्बन्ध जाहेरवालाको सहमति र स्वीकृतिबिना हुन नसक्ने कुरा घटनास्थल मुचुल्कामा भएको घटना विवरणले पनि स्पष्ट गर्दछ । भाडाको घरमा त्यसमा पनि एउटा कोठामा म बस्ने र अरू कोठामा बस्ने अरूहरूले मैले जबरजस्ती सम्बन्ध बनाएको भए थाहा नपाउने अवस्था नै रहने थिएन । त्यसमा पनि अश्लील भिडियो खिच्न सम्भव नै हुँदैन । अश्लील फोटो (भिडियो) देखाई जबरजस्ती करणी गरेको कुरा भनेमा सबैलाई देखाइदिन्छु भनी ब्लाकमेलिङ्ग गरी जबरजस्ती करणी गरेको हुँदा भन्‍न नसकेको हुँ भन्‍ने जाहेरवालाले अदालतमा आई बकपत्र गरेको छ भने जाहेरीमा पटक पटक करणी भएको कुरा उल्लेख गर्न सकेको छैन । जाहेरी दरखास्तअनुसार एकचोटि मिति २०७५।२।२५ मा मात्र जबरजस्ती करणी गरेको तर मेरो परिवारलाई मारिदिन्छु भनी भनेको हुँदा कसैलाई नभनेको हुँ भनी लेखेको 

देखिन्छ । त्यहाँ अश्लील भिडियोको कुरा कहीँकतै उल्लेख गरिएको छैन । अश्लील भिडियो दशीको रूपमा पेस भएको छैन । त्यसको कहीँकतै कुनै पनि रूपमा विद्यमानता देखिँदैन । तसर्थ हुँदै नभएको काल्पनिक कथनहरू व्यक्त गरेको बकपत्र बनावटी र नियोजित छ । म पुनरावेदकले मुलुकी ऐन, जबरजस्ती करणी करणीको १ नं. को कसुरसमेत नगरेको अवस्थामा समेत म पुनरावेदकलाई ५ वर्ष कैद र रू. एकलाख क्षतिपूर्ति भराउने गरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०७५।९।२४ गतेको त्रुटिपूर्ण एवं अन्यायपूर्ण फैसला बदर गरी झुट्टा अभियोगबाट सफाइ दिलाई पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध गर्दछु भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रविकुमार गुप्ताको तर्फबाट उच्च अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा, सहमतिमा करणी लिनु दिनु गरेको हो भनी प्रतिवादीले गरेको बयान, पीडिताको शारीरिक परीक्षण गर्ने चिकित्सकले गरिदिएको बकपत्र एवं पीडितको उमेरका सम्बन्धमा पुनरावेदकले पुनरावेदन पत्रमा लिएका जिकिरसमेतबाट सुरू अदालतले प्रतिवादीलाई सजाय गर्ने गरेको फैसला विचारणीय भई प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने भएकाले छलफल प्रयोजनार्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्रको प्रतिलिपिसहितको पेसीको जानकारी उच्च सरकारी वकिल कार्यालय, पाटनलाई दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने उच्च अदालत पाटनको मिति २०७६।३।३ को आदेश ।

प्रतिवादी अनुसन्धानको क्रममा तथा अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको, जाहेरवाला र प्रतिवादी वीरगन्ज र पोखरा सँगै घुम्न गई सँगै रात बिताएको, हाँसीखुसी भई फोटा खिचाएको, पटकपटक माया प्रेमको बारेमा एस.एम.एस. आदानप्रदान भएको, जाहेरवाला र प्रतिवादीको प्रेम सम्बन्ध जाहेरवालाको बुबालाई मन नपरी जाहेरवालालाई कुटपिट गरी प्रहरीमा उजुरीसमेत परेको अवस्था हुँदा बुबाको दबाबमा जाहेरी परेको र सोहीअनुसार जाहेरवालाले बकपत्र गरेको तथ्य पुष्टि भएको छ । बुबाको दबाबमा परेको जाहेरी तथा जाहेरवालाको बकपत्रका आधारमा मात्र प्रतिवादीलाई कसुरदार कायम गरी सजाय गर्न न्यायोचित हुने नदेखिएकाले प्रतिवादी रवीकुमार गुप्‍तालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(४) नं.बमोजिम सजाय गर्ने गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।९।२४ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीले अभियोग दाबीमा आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको मिति २०७६।५।३ मा उच्च अदालत पाटनबाट भएको फैसला ।

प्रस्तुत मुद्दामा प्रतिवादी विरूद्ध पीडितको स्पष्ट र किटानी जाहेरी रहेको छ । ५/६ महिनादेखि चिनजान भएको यी जाहेरवाली पीडितलाई प्रतिवादीले आफ्नै कोठामा बोलाई डर, धाकधम्की दिई कुटपिट गरी पीडितको इच्छाविपरीत जबरजस्ती करणी गरेको र घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको भन्‍ने जाहेरी दरखास्त रहेकोमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनले कन्याजाली पूरानो च्यातिएको र दायाँ बायाँ आँखामुनि निलडाम रहेको भन्‍ने प्रतिवेदनले समर्थित भएको, जाहेरवालीले जाहेरी बेहोरा समर्थन गर्दै स्वतन्त्र रूपमा अदालतसमक्ष बकपत्र गरिदिएको, जाहेरी दरखास्तलाई अझ प्रगाढ, खुलस्त र बोधगम्य बनाउँदै पीडितले आफ्नो बकपत्रमा प्रतिवादीले आफ्नो अपराध लुकाउन हामीबिच प्रेम सम्बन्ध थियो भनी हल्ला फिँजाएको र अन्तिम पटक मिति २०७५।२।२५ गते जबरजस्ती करणी गरेको भनी निश्‍चयात्मक अभिव्यक्ति प्रकट गरेको देखिन्छ । जाहेरी बेहोरा, जाहेरवालीको बकपत्र र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतको प्रमाणलाई घटना विवरण कागज गरिदिने ठाकुरप्रसाद सिलवाल एवं लिलानाथ त्रिपाठीसमेतका व्यक्तिहरूको मौकाको कागज र सोलाई समर्थन गर्दै अदालतसमक्ष आई प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको थाहा पाएको सुनेको भन्‍ने बकपत्र रहेको छ । डा. दिप्ती श्रेष्ठले समेत स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समर्थन गरी गरिदिएको बकपत्रबाट प्रतिवादीले आरोपित कसुर गरेको थप पुष्टि भएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ८, १० र दफा ५४ बमोजिम प्रमाणमा नलिई जाहेरी स्वाभाविक रूपमा परेको देखिन नआएको भन्‍ने आधार ग्रहण गरी भएको फैसला त्रुटिपूर्ण छ । कसुरमा इन्कार रहे तापनि घुम्न गएको र करणी गरेको कुरामा यी प्रतिवादीले स्वीकार गरी मौका र अदालतमा बयान गरेका र पीडितले पटक पटक आफ्नो पीडा जाहेरी दरखास्त, बकपत्र र अस्पतालमा मेडिकल हिस्ट्री लेखाउँदासमेत प्रकट गरेको छ । जबरजस्ती करणी जस्तो कसुरमा प्रत्यक्ष देख्‍ने साक्षीको अभावसमेत हुने हुँदा पीडितको भनाइ नै महत्त्वपूर्ण प्रमाण मान्‍नुपर्ने हुन्छ । पीडितले आफ्नो भनाइ जाहेरी दरखास्त तथा बकपत्रमार्फत व्यक्त गरेको मिसिल संलग्न कागजबाट देखिएको हुँदाहुँदै जाहेरी र जाहेरवालाको बकपत्रलाई मात्र कसुर ठहर गर्ने एक मात्र आधार लिन नसकिने भनी गरिएको पुनरावेदन अदालत पाटनको उक्त फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी तर्फबाट उपस्थित हुनु भएका विद्वान् सहन्यायाधिवक्ता श्री ईश्‍वरीप्रसाद बन्जाडेले यी जाहेरवाली पीडितलाई प्रतिवादीले आफ्नै कोठामा बोलाई डर, धाकधम्की दिई पीडितको इच्छा विपरीत जबरजस्ती करणी गरेको भनी दिएको जाहेरी बेहोरालाई अदालतमा आई जाहेरवालीले जाहेरी बेहोरा समर्थन गर्दै स्वतन्त्र रूपमा अदालतसमक्ष बकपत्र गरिदिएको तथा घटना विवरण कागज र मौकामा कागज गर्ने व्यक्तिहरूले प्रतिवादीले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भनी अदालतमा समेत बकपत्र गरिदिएको देखिन्छ भने जबरजस्ती करणी गरेको कसुरमा इन्कार रहे तापनि घुम्न गएको र करणी गरेको कुरामा यी प्रतिवादीले स्वीकार गरी मौका र अदालतमा बयान गरेकोसमेतबाट प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि भइरहेको हुँदा उच्च अदालत पाटनको मिति २०७६।५।३ गते भएको फैसला बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गर्ने प्रयोजनार्थ प्रत्यर्थी प्रतिवादीलाई झिकाउने आदेश गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।

उपर्युक्त विद्वान् सहन्यायाधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदनपत्रसहितको मिसिलसमेत अध्ययन गरी हेर्दा, मिति २०७५।२।२५ गते अन्दाजी १२:३० बजे प्रतिवादी रविकुमार गुप्ताले पीडित वृत्त कालीमाटी २६(२२)(०७४।०७५) लाई आफ्नो डेरा कोठा काठमाडौं जिल्ला, का.म.न.पा., वडा नं. १३ कालीमाटी बोलाई कोठामा बन्द गरी कुटपिट गरी धाकधम्की दिई जबरजस्ती करणी गरेको वारदात सप्रमाण पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी रविकुमार गुप्तालाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादी रविकुमार गुप्तालाई सोही महलको ३(४) नं. बमोजिम सजाय हुन र प्रस्तुत मुद्दाबाट पीडितलाई पर्न गएको मानसिक तथा शारीरिक क्षति विचार गरी सोही ऐन महलको १० नं. बमोजिम मनासिब क्षतिपूर्ति दिलाई भराइपाउँ भन्‍नेसमेतको अभियोग दाबी रहेकोमा काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीलाई ५ वर्ष कैद र जाहेरवालीलाई रू.एक लाख क्षतिपूर्ति भराउने गरी मिति २०७५।९।२४ मा फैसला भएकोमा सो फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत पाटनबाट मिति २०७६।५।३ मा भएको फैसला उपर वादी नेपाल सरकारको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट भएको उक्त फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्‍ने हो, होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रविकुमार गुप्ता कालीमाटी तरकारी बजारमा तरकारी खरिद बिक्रीको काम गर्ने हुँदा निजसँग ५/६ महिनादेखि सामान्य चिनजान भएकोमा रविकुमार गुप्ताले म जाहेरवाला परिवर्तित नाम वृत्त कालीमाटी २६(२२)(०७४/०७५) लाई आफ्नो कोठामा बोलाई निजले मलाई विभिन्‍न धाकधम्की दिई पटकपटक जबरजस्ती करणी गरेको र अन्तिम पटक मिति २०७५।२।२५ गते अन्दाजी १२:३० बजे पनि मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेको र सो घटनाका सम्बन्धमा कसैलाई बताए परिवारलाई समेत मार्ने धम्की दिएकोले मलाई सामान्य चिनजानमा ब्ल्याकमेलिङ्गसमेत गरी कोठामा बोलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई कारबाही गरिपाउँ भन्‍ने बेहोराको परिवर्तित नाम वृत्त कालीमाटी २६(२२)(०७४।०७५) को जाहेरी दरखास्त परेको र सो कुरालाई पुष्टि हुने गरी निज जाहेरवालाले अदालतमा आई प्रतिवादीले जबरजस्ती करणी गरेको हो भनी बकपत्रसमेत गरेको देखिन्छ । जाहेरवाला परिवर्तित नाम वृत्त कालीमाटी २६(२२)(०७४।०७५) लाई आफ्नो कोठामा बोलाई करिब १२/१ बजे प्रतिवादी रविकुमार गुप्ताले जाहेरवालालाई कोठा बन्द गरी कुटपिट गरी जबरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको रञ्‍जनराज बज्राचार्य, लिलानाथ त्रिपाठी, ठाकुरप्रसाद सिलवालसमेतले एकै मिलानको घटना विवरण कागज गरेकोमा सो बेहोरा पुष्टि हुने गरी अदालतमा समेत आई बकपत्र गरेको देखिन्छ ।

३. एक वर्षअगाडि निज जाहेरवाला कालीमाटी वृत्त २६(२२) (२०७४/०७५) र निजको आमा तरकारी बजारमा तरकारी व्यापार गर्ने गर्दथिन् । निजको डेरा पनि मेरो डेरा कोठा नजिकै थियो । निज कालीमाटी वृत्त २६(२२)(२०७४।०७५) मेरो कोठामा आउने बस्नेसमेत गर्ने गरेकी थिइन् । म पनि निजको कोठामा जाने आउने गरेको थिएँ । जाहेरवालाकी आमाले दुवैजनाको विवाह गराइदिने कुरा गर्नुभएको थियो । गएको होली पर्वमा निज जाहेरवालाको आमाले आफ्नो कोठामा मलाई बोलाई खाना खुवाएको र तिमीहरूको हाल उमेर पुगेको छैन, उमेर पुगेपछि बिहे गराइदिन्छु भन्‍नुभएको थियो । जाहेरवालाले मसँग प्रेम गरेकोमा निजको बुबाले थाहा पाई जाहेरवालाको मोबाइल फुटाइदिएको हो । मिति २०७५।३।१० गते म जाहेरवालालाई भेट्न निजको घरमा गई भेट्दा निजको शरीरभरि चोट पटक रहेको देखेँ त्यतिकैमा निजको भाइले मलाई गाली गर्न थालेकोले म फर्की आएको हुँ । त्यसपछि जाहेरवालासँग मेरो भेटघाट भएको छैन । मैले जाहेरवालासँग अन्तिम पटक एक डेढ महिनाअगाडि सहमतिमा शारीरिक सम्बन्ध राखेको थिएँ । मिति २०७५।२।२५ गते मैले जाहेरवालालाई जबरजस्ती करणी गरेको होइन र कुटपिटसमेत गरेको छैन । निज जाहेरवालालाई निजको बुबाले कुटपिट गरेको हो, मैले कुटपिट गरेको छैन भनी प्रतिवादी रविकुमार गुप्ताले अनुसन्धानको क्रममा अभियोग दाबीमा पूर्ण इन्कार रही बयान गरेकोमा अदालतमा समेत बयान गर्दा प्रतिवादीले जबरजस्ती करणी गरेको अभियोग दाबीमा इन्कार रही अनुसन्धानको क्रममा बयान गरेको बेहोरालाई नै समर्थन गरी बयान गरेको 

देखिन्छ । प्रतिवादी रविकुमार गुप्ताले जबरजस्ती करणी गरेको होइन जाहेरवाला र प्रतिवादीबिच प्रेम सम्बन्ध थियो । घुम्नको लागि पोखरा वीरगन्जलगायतको ठाउँमा दुवै जना जाने गरेको, सँगै होटलमा बसेको, अन्य ठाउँमा पनि घुम्न गएको जाहेरवालाको घरमा गएर बस्ने गरेको, आर्थिक सहयोग गरेको, जाहेरवालीको पढाइ खर्चसमेत प्रतिवादीले सहयोग गर्दै आएको र जाहेरवालाको आमासँग पीडितालाई विवाह गर्ने कुराकानी भई आमाले उमेर पुगेपछि विवाह गरी दिउँला भनेकाले सोहीअनुसार रविको गाउँमा विवाहको लागि प्रस्ताव आउँदासमेत रविले अन्य ठाउँ वा अरूसँग विवाह गर्दिन जाहेरवालीसँग गर्छु भनी अन्यत्र विवाह नगरेको, उमेर नपुगेको कारण उमेर पुगेपछि आमाले विवाह गरिदिन्छु भनेको र प्रतिवादीको बुबा आमाको पनि सहमति जनाएको हुँदा प्रतिवादी र जाहेरवालाबिच प्रेम सम्बन्ध भई दुवैको सहमति र मन्जुरीमा शारीरिक सम्पर्क भएको हो । जबरजस्ती करणी भएको होइन भनी प्रतिवादीका साक्षी सुनिलकुमार साह र प्रजन महर्जनले बकपत्र गरेको देखिन्छ ।

४. जाहेरवालाले जाहेरीमा प्रतिवादीले कुटपिट गरी जबरजस्ती करणी गरेको भन्‍ने बेहोरा उल्लेख गरेकोमा निजको स्वास्थ्य परीक्षण गर्दा बुबाले कुटपिट गरेको भनी प्रतिवेदनमा लेखाइदिएको र सो कुराको पुष्टि हुने गरी जाहेरवालीको स्वास्थ्य परीक्षण गर्ने डा. दिप्ती श्रेष्ठले पनि अदालतमा आई बकपत्र गरेको देखिन्छ । जाहेरवालाले मिति २०७५।५।२८ गते अदालतमा बकपत्र गर्दासमेत सवाल जवाफ १८ मा बुबाले मलाई कुटपिट गरेकोले बुबालाई प्रहरी चौकी लगेको हो भनी खुलाइदिएको पाइन्छ । प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दासमेत पीडित जाहेरवालालाई बुबाले नै कुटेको हो र सोको जानकारी जाहेरवालामार्फत नै आफूले पाएर प्रहरीलाई खबर गरेकोमा पीडित जाहेरवालालाई प्रहरीले अस्पताल लगेको र निजको बुबालाई प्रहरी प्रभागमा राखी भोलिपल्ट छोडी दिएको भनी गरेको बयानलाई पीडित जाहेरवाला परिवर्तित नाम कालीमाटी वृत्त २६(२२)(२०७४।०७५) ले निजलाई निजको बुबाले कुटपिट गरेको जानकारी प्रतिवादीले नै प्रहरीमा दिएका हुन् भनी अदालतमा मिति २०७५।५।२८ गते गरिदिएको बकपत्रको स.ज.१९ ले पुष्ट्‍याइँ गरी रहेको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बयान गर्दा निज पीडित जाहेरवालालाई जबरजस्ती करणी गरेको होइन, हामी दुईबिच प्रेम सम्बन्ध थियो र हामी २०७४ साल माघ महिनामा वीरगन्ज पोखरा घुम्नसमेत गएको थियौं र वीरगन्जमा एक दिन तथा पोखरामा २ दिन बसेको र सोही क्रममा हाम्रो सहमतिमा करणी लिनुदिनु भएको हो भनी बयान गरेको कुरालाई पीडित जाहेरवालीले अदालतसमक्ष बकपत्र गर्दा दुई जना मात्र घुम्न गएको कुरा स्वीकार गरी बकपत्र गरेको देखिन्छ । जुनकुरा प्रस्तुत मुद्दाको महत्त्वपूर्ण कडीको रूपमा रहेको पाइन्छ । परिवर्तित नाम कालीमाटी वृत्त २६(२२)(२०७४।०७५) ले प्रतिवादीले दुई जनाको अश्लील भिडियो देखाई ब्लाकमेल गरेकोले बाध्यतामा परी निज प्रतिवादीसँग घर बाहिर वीरगन्ज र पोखरा दुई जना मात्र ३/४ दिन घुम्न गएको कुरा उल्लेख गरी बकपत्र गरेको भए पनि सो कुरा जाहेरी दरखास्तमा उल्लेख गरेको 

देखिँदैन । घरबाहिर ३/४ दिनसम्म जवान छोरी हिँड्दासमेत घरमा अभिभावकले थाहा नपाउने भनी अनुमानसमेत गर्न सकिँदैन । ३/४ दिनसम्म जवान छोरी घरमा नहुँदा अभिभावकले कहीँकतै कुनै पनि प्रकारको हुलिया जाहेरीसम्म दिएको देखिँदैन । प्रतिवादीले अश्लील भिडियो पीडितलगायत अरू चिनेजानेकालाई देखाई पीडितलाई ब्लाकमेल गरी घुमाउन लगेको भनी पीडितले बकपत्र गरेकोमा त्यस्तो अश्लील भिडियोको अस्तित्व रहेको कुनै पनि प्रमाण मिसिल संलग्न रहेको नदेखिई केवल मौखिक कथन मात्र रहेको र त्यसलाई वस्तुनिष्ट प्रमाणबाट प्रमाणित गर्न सकेको पाइँदैन । पोखरा घुम्न गएको विभिन्‍न तस्विरहरू, म्यासेन्जरबाट प्रतिवादीसँग भएका च्याटहरू हेर्दा जाहेरवाला र प्रतिवादीबिच माया प्रेम सम्बन्धमा कुराकानी भएको देखिन्छ । डर त्रासमा परी निजले प्रतिवादीसँग च्याट गरेको र फोटो खिचेको भन्‍ने कुरा स्वतन्त्र रूपले स्थापित हुन आएको देखिँदैन । के कस्तो डर त्रास देखाई फोटो खिचाएको हो र च्याट गर्नको लागि के कस्तो डर त्रास देखाइएको थियो सो कुरालाई विवादरहित तवरबाट पुष्टि प्रमाणित हुन आएको देखिँदैन । साथमा बसेर फोटो खिचाउने, मोबाइलमा च्याट गर्ने जस्ता क्रियाकलापहरू आपसी सहमति र मन्जुरीबाट गरिने हुँदा त्यस्तो कार्य कसैको डर त्रासको कारण गरिएको भन्न मिल्दैन । जाहेरवालाको बुबाले निजलाई कुटपिट गरी मोबाइलसमेत फुटाइदिएबाट निज जाहेरवाला पारिवारिक दबाबमा परी प्रतिवादीको नाममा जबरजस्ती करणी गरेको भनी पोलसम्म गरेको भन्‍ने तथ्य मिसिल संलग्न कागज प्रमाणहरूवाट देखिएको छ । प्रतिवादीले लामो समयसम्म डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्‍ने उमेर पुगेकी जाहेरवालीले त्यति लामो समयसम्म पनि प्रतिवादीको उक्त कार्यको बारेमा कोही कसैलाई नभनेको र घटनाको बारेमा कतै सूचना दिने प्रयाससमेत नगरेको, कहीँकतै उजुरी नगरेको, प्रतिवादीसँग सहज रूपमा विभिन्‍न ठाँउमा घुम्न गई सँगै रातसमेत बिताएको समेतका घटनाक्रम तथा परिस्थितिबाट जाहेरवालाको जाहेरी बेहोरा तथा बकपत्र बेहोरालाई स्वभाविक रूपमा लिन मिलेन । जबरजस्ती करणी मुद्दामा पीडित नै मुख्य साक्षीको रूपमा रहने भएका कारण निजको भनाइ महत्त्वपूर्ण हुने भए तापनि अकाट्‍य प्रमाण हुन सक्दैन । जाहेरी तथा बकपत्र बेहोरा विश्‍वसनीय र सामान्य नजरले हेर्दा स्वाभाविक पनि देखिनु पर्दछ । जाहेरवालीले आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भन्दैमा सो कुरालाई अन्य स्वतन्त्र प्रमाणहरूबाट तथ्यगत रूपमा पुष्टि नभएसम्म सोको प्रामाणिक महत्त्व 

रहँदैन । पीडितको कथन स्वाभाविक तथा घटनाक्रमसँग सिलसिलावद्ध रूपले मेल खाने प्रकृतिको हुनुपर्दछ तथा वस्तुनिष्ट रूपले समर्थित हुनुपर्दछ ।  

५. उपर्युक्तानुसाको घटना एवं परिस्थिति तथा मिसिल संलग्न कागज प्रमाणहरूबाट जाहेरवालाको मन्जुरी र सहमतिमा नै प्रतिवादीसँग करणी लिनुदिनु भएको तथ्य पुष्टि हुन आएको छ । उमेर पुगेको महिलाको मन्जुरीमा भएको करणीमा सजाय गर्ने कानूनी व्यवस्था रहे भएको देखिँदैन । प्रतिवादीउपरको वादी दाबी शङ्कारहित तबरबाट पुष्टि गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी नेपाल सरकारको हुनेमा त्यस्तो वस्तुनिष्ट प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिन नआएकोले प्रमाणको अभावमा सुरूको फैसला उल्टी गरी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको उच्च अदालत पाटनको मिति २०७६।५।३ को फैसला अन्यथा नदेखिँदा परिवर्तन गरिरहन परेन । उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर तथा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ताको बहससँग सहमत हुन सकिएन ।

६. तसर्थ, उल्लिखित आधार, कारणबाट प्रतिवादी रविकुमार गुप्तालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम सजाय गर्ने गरेको सुरू काठमाडौं जिल्ला अदालतको २०७५।९।२४ को फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत पाटनबाट मिति २०७६।५।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी पिठमा जनाइदिनू र प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी सुरू मिसिल सुरू अदालतमा पठाइ रेकर्ड मिसिल अभिलेख संरक्षण फाँटमा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः टिकेन्द्रवीर जङ्ग राणा / हेमराज शर्मा

इति संवत् २०७७ साल पौष १ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु