शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५३७ - उत्प्रेषणको परमादेश लगायत

भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक:

निर्णय नं. १५३७    ने.का.प. २०३९ अङ्क २

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रिट नं. १२०४

आदेश भएको मिति : २०३९।२।१७ मा

विषयः-उत्प्रेषण परमादेश लगायत जो चाहिने अाज्ञा आदेश वा पुर्जी जारी गरी पाऊँ।

निवेदक      : का.जि.भद्रवास गा.पं.वडा नं.७ बस्ने डिल्लीप्रसाद ढुंगाना

विरुद्ध

विपक्षी : ऐ.ऐ.बस्ने मथुरादेवी ढंगाना, भू.सु.कार्यालय काठमाडौं

बिषय : उत्प्रेषण,परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ

(१)   यदी पक्ष विपक्ष बीचमा रीतपूर्वकको कबुलियत भएको छ र त्यसको कानूनी अस्तित्व सुन्य भएको छैन भने त्यो लिखतले कानूनी मान्यता पाउने स्पष्ट छ । अतः नातामा जेठाजु पर्ने त्यसमा पनि एउटा घरमा बसोबास गरी आएको अवस्थामा भएको लिखतको आधारमा मोही कायम गर्न नमिल्ने भनी गरेको निर्णय कानून प्रतिकूल निर्णय भएको देखिने ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

विपक्षी तर्फबाट      : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा र विद्वान अधिवक्ता श्री      बद्रीप्रसाद शर्मा

आदेश

प्र.न्या.नयनबहादुर खत्री

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत  यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ :

२.    विपक्षी मथुरादेवीले भद्रवास गा.पं.को रोहवरमा ऐ.पं.बा.नं.३ को कि.नं.३०, ५६, ८१, ८४, १०५, १११ वा.नं.४ को कि.नं.१६६ र वा.नं.६ को कि.नं.१२४ समेत ८ कित्ता जग्गा मिति ०३०।१।९ मा कबुलियत गरी मलाई कमाउन दिई १ सालको कूत बुझी लिई आएकोमा ०३५ सालको बाली विपक्षी ज.धनीले बुझी नलिएबाट कानून बमोजिम भद्रवास गा.पं.मा धरौटी राखेको त्यस उक्त कित्ता जग्गाको मेरो जोत कायम गरी पाउँ भन्ने मेरो निवेदनमा मैले अघि नै वा.नं.३ कि.नं.१११, ३०, ५७ र वा.नं.४ को कि.नं.१६६ समेत अन्य व्यक्तिहरुलाई हक छोडी दिएको हुँदा मैले निजलाई कुनै जग्गा कमाउन नदिएको निज जेठाजु नाताका हुँदा विश्वासमा परी हस्ता २ ल्याप्चे छोडी दिएको थिएँ । कबुलियत हेर्न आएमा यकिन गर्नेछु भन्ने समेत विपक्षीको प्रतिउत्तरमा विपक्ष भू.सु.का.ले वादी प्र.कै घरमा बसी आएको र गोठ पनि वादीकै गोठनेर भएको र वादी प्रतिवादीको जेठाजु नाताको समेत पर्ने व्यक्तिले घरबासको समेत जग्गा समावेश भएको हुँदा वादीले प्र.को जग्गा जोती भोगी आएको कुरा प्रष्ट हुन नआएकोले त्यतिकै आधारमा वादीलाई मोही हो भनी भन्न मिलेन भनी ०३८।२।३० मा निर्णय गरेको भूमिसुधार अधिकारीले अ.बं.८० र ७८ नं.समेतको उल्लंघन गरी, जालसाजी मुद्दा भू.सु.अधिकारीले फैसला गर्न नमिल्ने मा भू.सु.अ.स्वयंले विपक्षीले गरी दिएकाकबुलियत जालसाज जस्तो पारी सद्दे कीर्ते सुनाउँदै नसुनाई प्रत्यक्ष प्रमाण विपरीतको कानूनी त्रटि गरी अ.ब.७८ नं.को कार्यविधि नअपनाई अ.बं.१९२ नं.को विपरीत हुने गरी निर्णय गरेबाट नेपालको संविधानको धारा ११ (२) (ङ) र धारा १५ द्वारा प्रत्यायुक्त हकमा आघात पुराएकोले उत्प्रेषणको आदेशद्वारा भू.सु.अ.को ०३८।२।३० को आदेश बदर गरी पुनः कानून बमोजिम मोही कायम गर्ने कारवाही गर्नु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भन्ने समेत निवेदन ।

३.    विपक्षीहरुद्वारा लिखितजवाफ मगाई आए पछि पेश गर्नु भन्ने सिंगलबेञ्चको ०३८।५।२२ को आदेश ।

४.    सर्वप्रथम कबुलियत भएको भनी आधार देखाई मोही कायम गराई पाउँ भनी रिट निवेदकले दावी गरेकोमा सो जग्गामा घर बास भन्ने कुरा स्वयं स्वीकार गर्नु भएको र स्वयं आफू समेत सोही घरमा बसेको भन्ने कुरा स्वीकार गरेकोले त्यस्तो घर बासको जग्गामा मोहियानी हक लाग्न नसक्ने भू.सं.ऐन, २०२१ को दफा २५(५)(क) ले प्रतिबन्ध लगाउँदा लगाउँदै पनि कबुलियतमा उक्त घर बास कित्ता समेत समावेश हुनु अर्को तर्फ बोधनाथ भन्ने व्यक्ति मोही कायमै रहेको र निजको नाम यथावत अवस्थामा श्रेस्ता रहेकै र ऐ.मोही हुँदा हुँदै कबुलियतमा मैले पाएको भन्ने आधार देखाउनु र एकै घरमा बसेको अवस्थामा जेठाजु र बुहारी नाता पर्ने समेत भएको कानूनले मोहियानी हक प्राप्त हुनै नसक्ने अवस्थाको जग्गाको कबुलियतबाट मोहियानी हक रिट निवेदकलाई प्राप्त गराउन नमिलेकोले खारेज गर्ने गरी निर्णय भएको कानूनी हुँदा निवेदकको दावी खारेज गरी पाउँ भन्ने समेत भू.सु.कार्यालय, काठमाडौं ।

५.    विपक्षीलाई मेरो जग्गा मोहियानीमा जोत्न कमाउन दिएको तथा कबुलियतको दोहरी समेत गरी दिएकै छैन । घरबास भएको जग्गामा मोहियानी हक भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (५)(क) अनुसार मोहियानी नलाग्ने सिद्ध छ । भू.सु.अ.बाट जालसाजी मुद्दाको निर्णय नभई मोहियानी मुद्दाको निर्णय भएको छ । कबुलियत पञ्चायतमा दाखिला नभए मोहियानी हक प्राप्त हुन सक्दैन । मुलुकी ऐन अ.बं.८२ नं.ले हक नपुग्ने कुराको दावी खारेज हुनु पर्ने हुँदा खारेज गरिएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत मथुरादेवी ढुंगाना ।

६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले जब लेखात्मक र रेखात्मक सही परेका कागज दिएको कुरा विपक्षी तर्फबाट स्वीकार गर्दै देख्न सुन्न पाएका बखत बयान गर्ने छु भनी बयान गरिएको छ भने सो कागज निजलाई हेर्ने अवसर दिन पर्ने सो नगरी भू.सु.कार्यालयबाट अ.बं.७८ नं.को त्रुटि गरी निर्णय गरेको साथै केही कित्ता जग्गा छोडपत्रद्वारा अन्य व्यक्तिलाई छोडी दिएकी छु भनी उल्लेख गरी पछि ति व्यक्तिहरुलाई अ.बं.१३९ नं.बमोजिम बुझी निर्णय नगरेको र घर बारी बाहेक अन्य कित्ता जग्गाहरुमा मोहियानी लाग्न सक्ने स्पष्ट हुँदा हुँदै सो नगरी भू.सु.का.काठमाडौंद्वारा हचुवा किसिमले निर्णय गरेको हुँदा उक्त ०३८।२।३० को भू.सु.का.काठमाडौंको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश समेत पाउँ भन्ने विपक्षी भूमिसुधार कार्यालय काठमाडौंको तर्फबाट खटि आउनु भएका विद्वान अतिरिक्त अधिवक्ता श्री रमेश झाले निवेदक र विपक्षी मथुरादेवी आफन्त नाताका मानिस भएको र एकै गाउँमा रहेबसेको समेतबाट निजहरुको बीचमा मोही र जग्गाधनीको सम्बन्ध देखा पर्दैन । मथुरादेवी अबला नारी छन् र आफन्त भनी विश्वासमा परी लिफा दिएबाट यस्तो स्थितिको श्रृजना भएको हुन सक्छ । तसर्थ भू.सु.का.काठमाडौंको निर्णय कानून अनुरुप छ भन्ने तथा विपक्षी मथुरादेवीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले रिट निवेदकको सो जग्गामा निर्विवाद हकदैया स्थापित भएको हुनु पर्छ । निवेदकद्वारा पेश गरिएको कबुलियत सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को रीत पुगेको छैन, निवेदकद्वारा २०३५ सालको कूत धरौट राखेको कुरा उल्लेख गरिएको छ तर ०३५ साल भन्दा अघिको कुनै पनि सालको कूत बुझाएको भरपाई पेश हुन सकेको छैन । निवेदकले स्वच्छ हात लिई अदालतमा प्रवेश गरेको नहुंदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बहस गर्नु भयो ।

७.    विद्वान अधिवक्ताहरुको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन भन्ने विषयमा निर्णय दिनु परेको छ।

८.    यसमा वादी डिल्लीप्रसाद नातामा जेठाजु पर्ने र प्र.वादी मथुरादेवीकै घरमा बसी आएको र अर्को घर बनाए पनि गाई मथुरादेवीकै घरमा गाँसिएको गोठमा राखेको भन्ने वादीले नै खुलाई दिनु भएकोले यसरी एकै घरमा बस्ने जेठाजु नाता पर्ने व्यक्तिसँग भएको लिखतको आधारमा र उक्त जग्गा मध्ये घरबास भएको कित्तासमेत लिखतमा समावेश हुन गएको, हाल सम्म वादीले प्र.वादीको गोठमा गाई बस्तु समेत बाँधेको वादीले जोती भोगी आएको कुरा समेत स्पष्ट हुन नआएकोले यतिकै आधारमा वादीलाई मोही हो भनी कायम गर्न मिलेन भन्ने कुरा उल्लेख गर्दै ०३८।२।३० मा भू.सु.का.काठमाडौंबाट निर्णय भएको पाइयो ।

९.    भूमिसुधार कार्यालयको उक्त निर्णय कानून अनुरुप छ, छैन भनी विचार गरेमा निवेदक र विपक्षीको नाता सम्बन्धको कारणबाट निवेदक विपक्षीको मोही हुन सक्ने नसक्ने के हो भन्ने तर्फ विचार गर्दा निवेदक डिल्लीप्रसादको बाबु मित्रलाल मेरो कान्छा ससुरा भएको र देखभाल गरेको भन्ने सम्म उल्लेख गर्दै विपक्षी मथुरादेवीको भू.सु.का.मा बयान भएको भू.सु.का.को निर्णय उतारबाट देखिन्छ । निवेदक यो विपक्षी मथुरादेवीका अंशबण्डा नभएकासगोलमा बसेका व्यक्ति हुन भन्ने कुरा उल्लेख भएको पाइंदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ मा नाता सम्बन्धको व्यक्ति मोही हुन सक्दैन भनी उल्लेख भएको पनि पाइंदैन ।

१०.    निवेदकले भू.सु.का.काठमाडौंमा कबुलियतनामाको नक्कल पेश गरेको छ र सो कबुलियतनामालाई जालसाजीद्वारा खडा गरेको भनी उक्त कार्यालयले आफ्नो निर्णय पर्चामा उल्लेख गरेको पनि देखिँदैन । यदी पक्ष विपक्ष बीचमा रीतपूर्वकको कबुलियत भएको छ र त्यसको कानूनी अस्तित्व सून्य भएको छैन भने त्यो लिखतले कानूनी मान्यता पाउने स्पष्ट छ । अतः नातामा जेठाजु पर्ने त्यसमा पनि एउटा घरमा बसोबास गरी आएको अवस्थामा भएको लिखतको आधारमा मोही कायम गर्न नमिल्ने भनी गरेको निर्णय कानून प्रतिकूल निर्णय भएको देखियो ।

११.    तसर्थ उपर्युक्त कारणहरुबाट भू.सु.का.काठमाडौंको ०३८।२।३० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । कबुलियतमा उल्लिखित जग्गाहरु मध्येका भद्रवास गा.पं.वडा नं.३ को कि.नं.८४ मा घर बनेको भन्ने कुरा विपक्षी मथुरादेवीद्वारा भू.सु.का.मा दिएको आफ्नो प्रतिउत्तरपत्रमा उल्लेख गरेको र सो कित्ता जग्गा सम्बन्धमा यी निवेदकले आफ्नो दावी नभएको कुरा उल्लेख गरी उक्त भू.सु.मा बयान समेत गरेको देखिँदा अब कानून बमोजिम निर्णय गर्नु भन्ने परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेशको एक प्रति प्रतिलिपी विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनु ।

 

म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् ०३९ साल जेष्ठ १७ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु