निर्णय नं. १५३९ - डाँका

निर्णय नं. १५३९ ने.का.प. २०३९ अङ्क २
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३६ सालको फौ.बि.नं. ६७
फैसला भएको मिति : २०३९।२।२०मा
निवेदक : जि.रौतहट सन्तपुर गा.पं.वडा नं.६ बस्ने शेष उस्मान समेत
विरुद्ध
विपक्षी : गंगाबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : डाँका
(१) सर्जमिन हुँदा देखें चिनें भन्न नसकेको अदालतमा बकपत्र गर्दा देखें चिनें भने तापनि मौकैमा सर्जमिनमा यी व्यक्तिहरुले डाँका वारदातको अवस्थामा देखें चिनें भन्न नसकेकोले त्यस्तो बयान पनि भरपर्दो नदेखिने ।
(प्रकरण नं. २२)
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।३।३१ को इन्साफ जाँची दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ : ०२९।३।३० गते रातको ७ बजे मेरो आँगनमा हरुवा, लखिचन, चरुवा चेहरुसँग कुराकानी गरी रहेको अवस्थामा सन्तपुर बस्ने जहिर मियाँ बोल्न नजान्ने लाटो वतही भन्ने मियाँ अरु नचिनेका १४, १५ जना डाँकाहरु आई म समेतलाई कुटपिट गरी बार्ह बोरे एकनाले बन्दुक सहितको धनमाल डाँका गरी भागेकोले पक्राउ गरी कारवाही गरी पाउँ भन्नेसमेत गंगाबहादुरको ०२९।३।३१।६ को जाहेरी दर्खास्त ।
३. बार्ह बोरे एकनाले बन्दुक समेतको रु.४१५६।–को धनमाल डाँका गरी लगेको भन्ने भ्रमण मुकाम सिंहासनीमा गंगाबहादुरले दिएको ०२९।४।१ को दर्खास्त ।
४. अपराधीहरु ०२९।३।३० गते सितलपुरको बाटो भागी गैरहेको अवस्थमा ८, ९ जना मानिसहरु कसैले पोका बोकेका बन्दुक समेत लिएको डाँका भन्ने शंका लागि पक्राउ गर्न हामीले हल्ला गरेबाट डाँकाहरु जाँदा साया १, अण्डर बियर १, चिठ्ठी १ फेला परेकोले पञ्च सदस्य चेता रायलाई राख्न दिएको भनी निम्न व्यक्तिले हामीलाई बुझाएकोले पेश गरेको छु भन्ने हे.क.सन्तबहादुर समेतको प्रतिवेदन ।
५. ०२९।३।३० गते अं.१०।११ बजे नचिन्हेका ८।९ जना मानिसहरु पोका बोकेका लाठी बन्दुक समेत लिएका डाँका भन्ने शंका लागि पक्राउ गर्न जाँदा डाँकाहरु भागी गएका साया १, अण्डर वियर १, चिठ्ठी खसाई गएको फेला पारेको भनी शंकर राय १, हन्सलाल दाश बैरागी १, राम देव राय यादव १, मेथुरा राय यादव १, सुरज राय यादव १, समेतले गाउँका अरु पञ्च भलाद्मीलाई देखाई मिलाई जिम्मा लगाई दिएको प्रहरीहरु खटिई जानु भएको हुँदा उक्त सामान प्रहरी जिम्मा लगाएको हुँ भन्ने चेता रायको डोर मुकाममा ०२९।४।२ को कागज ।
६. ०२९।३।३० गते साँझ ७–७।। बजे जाहेरवालाको आँगनमा बाख्रा बाँधी रहेको अवस्थामा चिन्हेका शेष जाहेर बोल्न नजान्ने लाटो वताही पु.स.शेष उस्मान, शेष खलिल, शेख मञ्जुर र अरु नचिनेका ६।७ जना डाँकाहरु आई मलाई, चेहेरलाई र गंगाबहादुरलाई कुटपिट गरी बार्ह बोरे बन्दुक समेतको धनमाल डाँका गरी लगे भन्ने लखिचन राउत कुर्मि वताही, शेष जहिर, शेष उस्मान, शेष खलिल र अरु नचिनेका व्यक्तिले धनमाल डाँका गरी लगे भन्ने चेहेरु थारु, निजहरुलाई देखेको हुँ भन्ने राम वकत थारु र निजहरुले डाँका गरेको शंका लाग्छ भन्ने समेत पृथक पृथक व्यहोराको सरजमिन मुचुल्का ।
७. मैले डाँका वारदात गरेको होइन, रिस इविबाट वारदातमा सरिक देखाई सरजमिनका मानीसहरुले पोलेका हुन भन्ने समेत शेष उस्मानको प्रहरीमा भएको ०२९।४।४ को बयान ।
८. पक्राउ परेका अभियुक्त शेष उसमानले कसुरमा इन्कारी गरेको निजले र अन्य पक्राउ हुन नसकेका र सरजमिनले मोकैमा देखे चिने भनेका जहिरि शेष वताही भन्ने बोल्न नजान्ने लाटो र सरजमिनले मौकामा देखे चिनेका शेष खलिल, शेष मन्जुर, शेष जलिल, समेतले जाहेरवालाको घरमा बिगो रु.४१५६।–को बन्दुक समेतको धनमाल डकैती गरेको सिद्ध हुन आएकोले निजहरु उपर चोरीको १४(४) नं.अनुसार सजाय भई बिगो रु.४१५६।–जाहेरवालालाई भराई पाउने दावी लिई र जलिल शेषलाई केही सरजमिनले शंका देखाए पनि शंकाको भरमा कारवाईको माग गर्नु न्यायोचित नुहँदा निजको हकमा हाल बुझिएसम्मको प्रमाणबाट कारवाई नचलाउने गरी प्रस्तुत गरेको ०२९।४।११ को प्रहरी प्रतिवेदन ।
९. डाँका वारदातको दिन भन्दा अगावै ०२९।३।२६ गते रौतहट महोहा मौजे अकलवा गाउँमा ससुरा भई ससुरा मरेको खबर आएबाट ससुराली गई ०२९।३।२८ गते लुटपिट मुद्दाको तारेख लिई बिशेष अदालतमा तारेख लिई वीरगञ्ज बसी ऐ.२९ गते रक्सौल गई आलमारीको हेण्डिल, किलोशेर, किनी वीरगञ्ज भन्सारमा रसिद कटाई जैनु जुलिदार भेट भई उक्त माल जिम्मा लगाई रक्सौलबाट चैनपुर गई ऐ.२९ गते ससुराली गई ३० गते ससुराली बसें । ३१, ३२ र १ गते ससुराको काज कृया गरी श्रावण ३ गते घर आएकोले डाँका गरेको होइन भन्ने समेत प्र.शेष उस्मान भन्ने वकिल शेषको अदालतमा भएको ०२९।४।१२ को बयान ।
१०. डाँका पर्यो भनेको दिन भन्दा अगावै आषाढ २८ गते वेरिया वार्ड नं.७ बस्ने मीन बाबु अदालतमा भएबाट भेट्न आएको ज्वरो आएबाट ४।५ दिन त्यहीं बसी घर गएकोले डाँका गरेको होइन भन्ने समेत प्र.खलिल शेषको अदालतमा भएको ०२९।७।१५ को बयान ।
११. ०२९।३।३० भन्दा अगावै ऐ.२७ गते सिराहा इनर्वा वाड नं.७ मा मेरो दाजु कालेको घर भई भेट्न आएको २८ गते बिमारी भई ऐ.श्रावण ४ गते मात्र घर फर्की आएको हुँदा मैले डाँका गरेको छैन भन्ने समेत प्र.शेष मन्जूरको अदालतमा ०२९।७।२५ को बयान ।
१२. ०२९।३।२८ गते मेरो काकाको छोरीको बिबाह भएबाट पशरामपुर हर्दिया शेष तेजारथ मियाँको घरमा आई ५ दिन सम्म बसी ०२९।४।३ गते घर गएको हुँदा वारदातका दिन मेरो गाउँ घरमा छैन मैले जाहेरवालाको घरमा डाँका गरेको होइन भन्ने समेत व्यहोराको प्र.शेख जाहेर मुसलमानको बयान ।
१३. २०२९ साल आषाढमा मेरो घरमा डाँका परेको हो । बेलुका रात परिसकेको नभई स्पष्ट मानिस चिन्न सकिने बखत थियो । डाँकाहरु मध्ये शेष जहिर मेरो घर बारीमा मकै गोड्ने ठेक्का काम गर्न लिई आएको व्यक्ति र नाम नजानेको लाटो पनि चिनेको, वारदातका बखत पनि शेष जहिरले आफु माथि हमला गरेको हुँदा चिनेको हुँ सबै जाहेरीमा खुलाई सकेको हुँदा भनी रहन परेन भन्ने समेत जाहेरवालाको बन्दसवाल ।
१४. सरजमिनमा देखे चिने भन्ने लखिचन चेहरु थारुको सरजमिनको व्यहोरा समर्थन गर्दै अदालतमा भएको बकपत्र ।
१५. लाटो भने शेष वेपत्तै देखिँदा निजको हकमा विचार गरी रहनु परेन, शेष जलिल उपर कारवाई नचलाउने प्रतिवेदन भएकोले केही विचार गरी रहनु परेन । प्र.शेष जहिरले किटानीपूर्वक जाहेर र साक्षी सरजमिनका मानिस संधै वारदातमा उपस्थित हरुवा लखिचन चरुवा चेहेरुले चिन्हेको भनी बकेकोबाट डाँका गरेको ठहर्छ । प्र.शेष उस्मान, शेष खलील, शेष मन्जुरले डाँका गरको ठहर्दैन भन्ने समेत बारा जिल्ला अदालतको ०३३।३।११ को फैसला ।
१६. वारा जि.अ.ले प्र.शेष जहिरले मात्र डाँका गरेको ठहराई प्र.शेष उस्मान, शेष मन्जुरलाई सफाई दिई गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको श्री ५ को सरकारको म.क्षे.अ.मा पुनरावेदन ।
१७ उक्त मुद्दा म.क्षे.अ.डिभिजनबेञ्च समक्ष पेश हुँदा प्र.शेख उस्मान, प्र.शेख खलिल, प्र.शेष मन्जुरले पनि डाँका गरेको ठहर्छ भन्ने मा.न्या.श्री महेशरामभक्त माथेमा र प्र.शेख खलिल मञ्जुर उस्मानलाई सफाई दिने बारा जि.अ.को इन्साफ मनासिव छ भन्ने मा.न्या.श्री प्रचण्डराज अनिलको रायबाझी भई तेस्रो बेञ्च समक्ष पेश हुँदा प्रतिवादीहरुले डाँका वारदात गरेको देखिनाले मा.न्या.श्री महेशरामभक्त माथेमाको रायसँग सहमत छु भन्ने समेत मा.न्या.श्री ओमभक्त श्रेष्ठको राय भई ०३६।३।३१ मा फैसला भएको रहेछ ।
१८. प्रतिवादीहरुले डाँका अपराध गरेको हो भन्ने शंकारहित सबूत प्रमाण गुज्रेको हुनु पर्नेमा सो भएको नहुँदा र जाहेरवाला लगायत सरजमिनका व्यक्तिहरु दंगा समयमा बाली खुवाई दिएको विषयमा पञ्चायतमा हुँदा ध्यान दिनु पर्ने भएबाट झुठ्ठा पोल गरेको हो भन्ने उस्मानको बयानलाई साक्षीहरुले समर्थन गरी बकपत्र गरेको तथा मौकाको जाहेरी दर्खास्तमा उस्मान उपर किटानी जाहेरी नभएको समेत कारणबाट निज उस्मान मियाँलाई डाँका वारदात गरको ठहराएको म.क्षे.अ.को फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.बमोजिम झगडीया झिकाई पेश गर्नु भन्ने यस अदालत डिभिजनबेञ्चको ०३८।१२।५ को आदेश ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दास तथा विपक्षी वादी श्री ५ को सरकार तर्फबाट खटी आउनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झाको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमुनासिव के हो भनी निर्णय दिनु पर्ने हुन आएको छ ।
२०. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३६।३।३१ मा भएको निर्णय उपर इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी शेष उस्मान, तथा शेष मन्जुरले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको बिन्तीपत्रमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३६।३।३१ गते छिनिएको मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजका बिशेष जाहेरी विभाग मार्फत ०३६।७।१८ मा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा देवानी विविधको लगतमा दर्ता भएकोमा प्रतिवादीहरु हाजिर हुन नआई तारेख गुज्रेकोमा प्रतिवादी शेष उस्मानले श्री ५ महाराजाधिराजका जुनाफमा पुनः बिन्तीपत्र चढाउँदा गुज्रेका म्याद थामी दिनु भनी बि.जा.वि.मार्फत ०३८।२।२० मा हुकुम प्रमांगी भएको र प्र.वादी शेष उस्मान मात्र तारेखमा रहेको देखियो । प्रतिवादी शेष मन्जुरले सो बमोजिम थमाई ल्याएको नदेखिएकोले निजको हकमा केही विचार गरी रहन परेन ।
२१. अब प्र.शेष उस्मानले डाँका गरेको ठहराएको म.क्षे.अ.को इन्साफ मनासिव बेमुनासिव के हो भनी हेर्दा वारदातको दिन अर्थात ०२९।३।३० गतेको भोलिपल्ट ३१ गते गंगाबहादुरको कलैया बारामा परेको जाहेरी दर्खास्तमा प्र.शेष उस्मानको नाम उल्लेख भएको पाईदैन र पछि डाँकाहरुले लगेको बिगो खोली दिएको ०२९।४।१ को दर्खास्तमा पनि निजको नाम उल्लेख भएको छैन । ०२९।४।४ मा सर्जमिन हुँद भागिस भने मारी दिन्छु भनी पञ्च सदस्य उस्मानले आफ्नो हातमा लिएको फाटाले मलाई कुट्न थाले । निज उस्मान समेतलाई देखें चिनें भनी लखिचन राउत कुर्मिले र उस्मानले आफ्नो हातमा लिएको फाटाले लखिचनलाई धमाधम कुट्न थाले । निज शेष उस्मान समेतलाई चिनो भनी चेहरु थारुले कागज गरेको देखिन्छ । प्र.शेष उस्मानलाई देखे चिने भन्ने यी लखिचन र चेहरु जाहेरवालाका काम गर्ने व्यक्तिहरु देखिन्छ । प्र.शेष उस्मान वारदातमा उपस्थित भई निज उस्मानलाई निजहरुले वारदातमा देखे चिनेको भए निजहरुले आफ्नो मालिक जाहेरवालालाई सो कुरा बताउनु पर्ने स्थिति छ र जाहेरवालाले पनि आफ्नो जाहेरी दर्खास्तमा प्र.शेष उस्मानलाई लखिचन चेहरुले चिनेछन् भनी जाहेरवालाले उल्लेख गर्नु पर्ने लखिचनको सर्जमिन लेखाई हेर्दा लखिचनले पूर्व तर्फबाट एक्कासी १५।१६ जना मानिसहरु आई चेहरुलाई कुट्न थाले भनेको र निज चेहरुले पूर्वतर्फबाट १५।१६ जना मानिसहरु आई बोल्न नजान्ने लाटो वताहिले आफूलाई कुटेको भनी बकेको देखिएबाट यिनीहरुको भनाईमा एकरुपता देखिन्न यस्तो अवस्थामा लखिचन चेहरुको बयान लेखाई विश्वासनीय भन्न मिलेन ।
२२. सर्जमिन हुँदा देखें चिनें भन्न नसकेका मागवत राउत, जिमिदार सिंह राजपुत, देवशरण चौधरी, प्रताप चौधरी समेतले अदालतमा बकपत्र गर्दा प्र.शेष उस्मानलाई देखें चिनें भने तापनि मौकैमा सर्जमिनमा यी व्यक्तिहरुले प्र.शेष उस्मानलाई डाँका वारदातको अवस्थामा देखें चिनें भन्न नसकेकोले त्यस्तो बयान पनि भरपर्दो देखिएन । सबूत प्रमाणको अभावमा यस्तो अवस्थामा प्र.शेष उस्मानलाई डाँका गरेको ठहराएको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन । प्र.शेष उस्मानले सफाई पाउने ठहराएको बारा जि.अ.को इन्साफ मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्र.शेष उस्मान के माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को ०३६।३।३१ को फैसला र ०३६।८।२५ को लगतले गर्ने गरेको जरिवाना रु.६२३४।–र कैद बर्ष ६ गर्ने गरेकोमा निजको हकमा सफाई पाउने ठहरेकोले अब केही गर्नु परेन बारा जिल्ला अदालतमा लेखी पठाउन व्यहोरा जनाई का.जि.अ.तहसिल फाँटमा लगत दिनु............................................१
जाहेरवालाको बिगो रु.४२५६।–प्र.शेष उस्मान प्र.शेष मञ्जुर प्र.शेष खलिलबाट दामासाहीले भरी पाउने ठहरेकोमा प्र.शेष उस्मानको हकमा भराउनु नपर्ने हुँदा सुरु बारा जिल्ला अदालतमा लेखी पठाउनु का.जि.तहसिल फाँटमा लगत दिनु...........२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.............................................................................................३
उक्त रायमा म सहमत छु ।
प्र.न्या.नयनबहादुर खत्री
इतिसम्वत् ०३९ साल जेष्ठ २० गते रोज ५ शुभम् ।