शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८९४ - वैदेशिक रोजगार कसुर

भाग: ६४ साल: २०७९ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७९।२।४

०७२-CR-२०६३ (०१-०७२-११३५७)

 

मुद्दाः वैदेशिक रोजगार कसुर

 

पुनरावेदक / वादी : याङ्ली शेर्पाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : पाँचथर जिल्ला, सराङ्ग डाँडा गा.वि.स. वडा नं.६ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२९ लैनचौर बस्ने डगलसिंह सेर्मा

परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एकआपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङ

अवलम्बित नजिर :

ने.का.प.२०६८, अङ्क ९, नि.नं.८६८७

ने.का.प.२०७५, अङ्क ५, नि.नं.१००१७

सम्बद्ध कानून :

वैदेशिक रोजगार ऐन, २०६४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः 

माननीय अध्यक्ष श्री सुरेन्द्रवीर सिंह बस्न्यात

सदस्य श्री धीरबहादुर चन्द

सदस्य श्री लेखनाथ पौडेल

वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं

 

फैसला

न्या.डा.मनोजकुमार शर्मा : वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७२।०९।०५ को फैसलाउपर साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

प्रतिवादी डगलसिंह सेर्माले मेरो छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिने भनी रू.५,२८,०००/- रकम बुझी लिई भनेबमोजिमको मुलुकमा नपठाई, लिएको रकमसमेत फिर्ता नगरेकोले कारबाही गरिपाउँ भन्‍ने बेहोराको जाहेरवाली याङ्ली शेर्पाले मिति २०७१।१२।१६ गते वैदेशिक रोजगार विभागमा दिएको जाहेरी दरखास्त ।

प्रतिवादी डगलसिंह सेर्माले जाहेरवालीको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार रूपैयाँ) रकम बुझी लिएको भनी मिति २०७१।११।५ मा गरिदिएको सक्‍कल लिखत कागज खाम बन्दी थान-१ मिसिल संलग्न रहेको ।

मैले जाहेरवालीको छोरालाई विदेश पठाउने भनी पैसा लिएको होइन । म वैदेशिक रोजगारमा मान्छे पठाउने काम पनि गर्दिनँ, सोको लाइसेन्स पनि छैन । मैले जाहेरवालीको छोरालाई विदेश पठाइदिन्छु भनेको छैन । जाहेरवालीले झुट्टो जाहेरी दिएको हो । मलाई जाहेरवालीले धम्काई जबरजस्ती वैदेशिक रोजगारको कागजमा सहीछाप गर्न लगाएको हो । जबरजस्ती कागज गराएउपर कहीँकतै उजुरबाजुर गरेको छैन । अब गर्ने छु । सो लिखत कागजमा भएको सहीछाप मेरै हो भन्‍नेसमेत बेहोराको प्रतिवादी डगलसिंह सेर्माले मिति २०७१।१२।२८ गते अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

प्रतिवादी डगलसिंह सेर्माले जाहेरवालीको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी जाहेरवालीबाट रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार रूपैयाँ) रकम बुझी लिई मिति २०७१।११।५ गते गरिदिएको लिखत कागजमा मसमेत साक्षी बसी सही गरिदिएको ठिक साँचो हो भन्‍नेसमेत बेहोराको लिखत कागजका साक्षी तेन्जी शेर्पा भन्‍ने छिरिङ तेन्जी शेर्पाले मिति २०७१।१२।२६ मा गरेको कागज ।

प्रतिवादी डगलसिंह सेर्माले वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत अनुमति नलिई जाहेरवाली याङ्ली शेर्पाको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी झुट्टा आश्वासन दिई, प्रलोभनमा पारी, रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार रूपैयाँ) लिई भनेबमोजिमको मुलुकमा नपठाएको हुँदा निज प्रतिवादीको उल्लिखित कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध भए गरेको देखिँदा निज प्रतिवादीलाई ऐ.ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालीबाट प्रतिवादीले लिएखाएको बिगो रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार रूपैयाँ) र सोको ५०% ले हुन आउने हर्जाना रकम रू.२,६४,०००।०० (दुई लाख चौसठ्ठी हजार रूपैयाँ) रकमसमेत गरी जम्मा रू.७,९२,०००।- (सात लाख बयानब्बे हजार रूपैयाँ) प्रतिवादी डगलसिंह सेर्माबाट जाहेरवाली याङ्ली शेर्पालाई दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको वैदेशिक रोजगार विभागको तर्फबाट वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष पेस गरेको अभियोग दाबी ।

जाहेरी दरखास्त देखाई पढी बाची सुनाउँदा सुनी पाएँ । मैले यी जाहेरवालीको छोरालाई अष्ट्रेलिया पठाउँछु भनेर भनेकै छैन । मैले निजहरूसँग कुनै रकम लिएको छैन । गोगंबुस्थित नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्थामा याङ्ली शेर्पाले पैसा मुद्दती खातामा राखी ब्याज लिँदै आएका थिई । तर पछिल्लो अवधिमा सो सहकारी संस्थाका अध्यक्ष फरार भई संस्था डुबेको र जाहेरवालीसमेतका बचतकर्ताहरूले महाराजगञ्जस्थित प्रहरी कार्यालयमा जाहेरी दिएको र प्रहरी अनुसन्धान सकिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । म उक्त बचत तथा ऋण सहकारी संस्थाको बजार प्रतिनिधिसमेत भएको नाताले जाहेरवालीको उक्त डुबेको पैसा उठाउनका लागि ममाथि यो झुट्टा उजुरी दिएका हुन् । जाहेरीमा भएको सहीछाप मेरै हो । मलाई जबरजस्ती रूपमा उक्त कागज गराएका हुन् । जाहेरवालीको छोरालाई अष्ट्रेलिया पठाउन भनी रू.५,२८,०००/- लिई भनेबमोजिमको मुलुकमा नपठाएको, रूपैयाँ दिनसमेत आलटाल गरेको भन्‍नेसमेतका जाहेरीमा उल्लिखित सम्पूर्ण बेहोरा झुट्टा हो । मैले वैदेशिक रोजगार व्यवसाय सञ्‍चालन गर्ने अनुमति लिएको छैन, सो काम पनि गर्दिनँ । मैले अभियोग मागदाबीअनुसारको कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी डगलसिंह सेर्माले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष बयान गरी काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दाको अभियोगपत्रको प्रतिलिपिसमेत बयानसाथ पेस भई मिसिल सामेल रहेको । 

जाहेरवालीको छोराको राहदानीको अवधि समाप्त भएबाट निजको छोरा विदेश जान सक्ने अवस्था नरहेको, जाहेरवाली र प्रतिवादीबिच सहकारीको बचत रकम सम्बन्धमा विवाद रहेको भन्नेसमेतको कुरा देखिन आएको अवस्थामा लिखतकै मात्र आधारमा तत्काल प्रमाण हो भनी मान्न सकिने अवस्था नहुँदा प्रतिवादी डगलसिंह सेर्मालाई पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन, अ.बं.४७ नं.अनुसार साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्‍नेसमेत बेहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७२।०१।१० मा भएको थुनछेक आदेश ।

प्रतिवादी वैदेशिक रोजगारको लागि मानिस विदेश पठाउने काम गर्ने मानिस नभई आदर्श योगहरी उच्च मा.वि.मा काम गर्ने एक शिक्षक हुन् । निजले जाहेरवालीलगायत मलाइसमेत नाङ्लोदीप सहकारीमा पैसा जम्मा गर्दा राम्रो हुन्छ भनी दिएको सल्लाहबमोजिम जाहेरवालीसमेतले सो संस्थामा पैसा जम्मा गरेकोमा सहकारी संस्थाका सञ्चालकले आत्महत्या गरी रकम डुब्ने भएकोले प्रतिवादीलाई जबरजस्ती कागज गराएका हुन् । प्रतिवादीले जाहेरवालीलाई कागज गरी दिएर फरार भएको 

होइन । प्रतिवादी सो समयमा विद्यालयमा रूजु हाजिर रहेको छ । प्रतिवादीले वैदेशिक रोजगारसम्बन्धी कसुर नगरेकोले अभियोग दाबीअनुसार प्रतिवादीले सजाय पाउनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी डगलसिंह सेर्माको साक्षी धनबहादुर पुलामीले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

जाहेरवाली याङ्ली शेर्पाको छोराको नाउँको राहदानीको म्याद निज जाहेरवाली र यी प्रतिवादीबिचको लिखत भएको मितिअगावै समाप्त भएको देखिएकोले जाहेरवालीले प्रतिवादीलाई वैदेशिक रोजगारमा छोरालाई पठाउने प्रयोजनका लागि रकम दिएको भन्ने पुष्टि हुन सक्दैन । जाहेरवालीको नाउँमा यस न्यायाधिकरणबाट जारी भएको म्याद निजको घरदैलोमा टाँस भएको देखिएकोमा निजले म्यादभित्रै उपस्थित भई आफ्नो जाहेरीलाई समर्थन हुने गरी बकपत्र गर्न सकेको नदेखिएबाट प्रतिवादीलाई यी जाहेरवालीले आफ्नो छोरालाई वैदेशिक रोजगारमा पठाइदिन भनी रकम दिएको भन्‍ने पुष्टि हुन नआई प्रतिवादीले भनेबमोजिम दाबीको रकम सहकारी संस्थामा जम्मा गर्न लगाएकै रकम हो भन्‍ने देखिन आएकोले केवल लिखतको आधारमा मात्र प्रतिवादीले जाहेरवालीको छोरालाई वैदेशिक रोजगारमा पठाइदिने भनी रकम लिई, वैदेशिक रोजगारमा नपठाई रकमसमेत फिर्ता नगरी वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेकोले सोही ऐनको दफा ४३ बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्‍ने आफ्नो अभियोग दाबीलाई वादीले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रमाणित गर्न सकेको नदेखिँदा अभियोग मागदाबी पुग्न सक्दैन । प्रतिवादी डगलसिंह सेर्माले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट भएको फैसला ।

प्रस्तुत मुद्दामा प्रतिवादीले जाहेरवालीको छोरालाई अष्ट्रेलिया पठाइदिने भनी प्रलोभनमा पारी रू.५,२८,०००।- बुझी लिई वैदेशिक रोजगारमा नपठाई रकमसमेत फिर्ता नगरेको भन्‍ने बेहोराको मिति २०७१।११।०५ को लिखत रहेको छ । सोही लिखतलाई समर्थन गर्ने गरी त्यसमा भएको सहीछाप प्रतिवादीले आफ्नो हो भनी स्वीकार गरेको 

देखिन्छ । प्रतिवादीले उक्त लिखतमा जबरजस्ती सहीछाप गर्न लगाएको भन्‍ने निजको भनाइलाई पुष्टि गर्ने ठोस सबुद प्रमाण पेस गर्न नसकेकोसमेतबाट प्रतिवादीउपरको आरोपित कसुर पुष्टि भइरहेको अवस्थामा प्रतिवादीको कोरा इन्कारी बयानलाई आधार मानी सफाइ दिने गरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९ र १० समेतबाट त्रुटिपूर्ण 

छ । प्रस्तुत सन्दर्भमा “इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसुरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन नसक्ने हुँदा निर्दोषिताको लागि ठोस प्रमाणको आवश्यकता पर्ने” (ने.का.प. २०६८, नि.नं.८६८७, पृष्ठ १५५३, अङ्क ९) भनी सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी भएको फैसला बदरभागी छ । जाहेरवालीका छोराको राहदानी बनाइसकेको स्थिति, प्रतिवादीले जाहेरवालीको छोरालाई विदेश पठाइदिने भनी रकम बुझी लिई गरिदिएको कागज, लिखतका साक्षीहरूको कागज, लिखतमा उल्लेख भएबमोजिम रकम बुझी लिएको र सहीछापसमेत आफ्नो रहेको भन्ने प्रतिवादीको भनाइलगायतका मिसिल संलग्न प्रमाणको समुचित मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ । अतः उल्लिखित आधार, प्रमाण एवं प्रतिपादित सिद्धान्तसमेतको आधारबाट प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको वैदेशिक रोजगार न्यायाधिकरणको फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पेस हुन आएको पुनरावेदन ।

यसमा जाहेरवालीको छोरालाई प्रतिवादी डगलसिंहले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार) रूपैयाँ बुझी लिई कागज गरेको, सो कागजमा बस्ने साक्षीहरूले सो कुरालाई प्रमाणित गरी बकपत्र गरिदिएको र यी प्रतिवादीसँग वैदेशिक रोजगारमा पठाउने इजाजतपत्रसमेत भएको नदेखिएको अवस्थामा प्रतिवादीलाई सफाइ दिने गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७२।०९।०५ मा भएको फैसला ने.का.प. २०६८, नि.नं. ८६८७ मा प्रतिपादित सिद्धान्त र प्रमाण ऐनको दफा ९ र १० को त्रुटि भई प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमबमोजिम गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७४।१०।३ को आदेश ।

यस अदालतबाट भएको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहालले प्रस्तुत मुद्दामा वैदेशिक रोजगारमा पठाउने इजाजत नलिएका निज प्रतिवादी डगलसिंह सेर्माले जाहेरवाली याङ्ली शेर्पाको छोरा दोर्जी शेर्पालाई अष्ट्रेलिया पठाइदिने भनी प्रलोभनमा पारी जाहेरवालीबाट पाँच लाख अठ्ठाइस हजार रूपैयाँ लिएका हुन् । सो बमोजिमको लिखत कागजसमेत गरी लिखतमा भएको सहीछापसमेत आफ्नो हो भनी स्वीकार गरेका छन् । लिखतमा रहेका साक्षीको कागज मिसिल संलग्न छ । वैदेशिक रोजगारमा पठाइदिने भन्ने निज प्रतिवादीको आश्वासनबमोजिम नै जाहेरवाली याङ्ली शेर्पाको छोरा दोर्जी शेर्पाको राहदानीसमेत बनेको स्थिति हो । प्रतिवादीले लिखतमा जबरजस्ती सहीछाप गर्न लगाएको भन्ने भनाइलाई ठोस प्रमाणबाट पुष्टि गर्न सकेका छैनन् । उल्लिखित आधार कारणसमेतबाट प्रतिवादीउपरको कसुर पुष्टि भइरहेको अवस्थामा प्रमाणको मूल्याङ्कन नगरी केवल प्रतिवादीको इन्कारी बयानलाई मात्र आधार मानी प्रतिवादीलाई आरोपित कसुरमा सफाइ दिने गरी भएको सुरू न्यायाधिकरणको फैसला बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रतिवादी डगलसिंह सेर्माको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङले नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बजार प्रतिनिधिको रूपमा काम गर्ने मेरा पक्षले यी जाहेरवालीबाट वैदेशिक रोजगारमा पठाउँछु भनी झुट्टा आश्वासन दिई प्रलोभनमा पारी रकम लिएको भन्‍ने कुरा पत्यारलायक छैन, किनकि मेरा पक्षले वैदेशिक रोजगार व्यवसाय सम्बन्धको इजाजत नै लिएको अवस्था होइन । जाहेरवालीले उक्त रकम नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मुद्दती खातामा जम्मा गरेको र पछि उक्त संस्थाको अध्यक्ष फरार भएपछि आफ्नो रकम डुब्ने डरले जाहेरवालीलगायत ४/५ जना भई मेरा पक्षलाई धम्क्याई जबरजस्ती वैदेशिक रोजगारसम्बन्धी कागज गराएको अवस्था हो । मेरो पक्ष सुरूदेखि नै आरोपित कसुरमा इन्कारी छन् भने जाहेरवाली स्वयंले आफ्नो जाहेरी बेहोरा समर्थन हुने गरी बकपत्रसम्म गर्न सकेकी छैनन् । अतः लिखतको स्थिति नहेरी, नजाँची केवल जाहेरीकै आधारमा सजाय हुनुपर्ने होइन । यस स्थितिमा आधार, कारणको विश्लेषण गरी मेरा पक्षलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा प्रतिवादी डगलसिंह सेर्माले वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत नलिई जाहेरवाली याङ्ली शेर्पाको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी झुट्टा आश्वासन दिई प्रलोभनमा पारी जाहेरवालीबाट रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार) रूपैयाँ लिई भनेबमोजिमको मुलुकमा नपठाएको र रूपैयाँसमेत फिर्ता नदिएको हुँदा निज प्रतिवादीको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर देखिँदा प्रतिवादीलाई ऐ. ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालीबाट प्रतिवादीले लिए खाएको बिगो रकम रू.५,२८,०००।- र सोको ५०% ले हुन आउने हर्जाना रकम रू.२,६४,०००।- समेत गरी जम्मा रू.७,९२,०००।- प्रतिवादी डगलसिंह सेर्माबाट जाहेरवाली याङ्ली शेर्पालाई दिलाई भराइपाउँ भन्‍ने बेहोराको वादी नेपाल सरकारको अभियोग मागदाबीमा वैदेशिक रोजगार न्यायाधिकरणबाट प्रतिवादी डगलसिंह सेर्मालाई आरोपित कसुरमा सफाइ दिने गरी भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन परेको देखियो ।

उपर्युक्तानुसारको मिसिल कागजात अध्ययन गरी, दुवैतर्फबाट प्रस्तुत भएको बहस जिकिर सुनी हेर्दा, यसमा वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला मिले नमिलेको के छ ? पुनरावेदक / वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी डगलसिंह सेर्माले जाहेरवाली याङ्ली शेर्पाको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने भनी मिति २०७१।११।५ गते जाहेरवालीबाट रू.५,२८,०००।- लिई, एक हप्ताभित्रमा उडाउने भनी कागज गरेकोमा प्रतिवादीले लिखतबमोजिमको कार्य नगरी उल्टो जाहेरवालीको छोरालाई थर्काउने, धम्काउनेसमेत गर्दै वैदेशिक रोजगारसम्बन्धी कसुर गरेकोले कानूनी कारबाही गरी सम्पूर्ण रकम असुलउपर गरी फिर्ता दिलाइपाउँ भन्ने जाहेरवालीको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । 

३. मैले यी जाहेरवालीको छोरालाई विदेश पठाउने भनी रकम लिएको होइन । म काठमाडौं जिल्ला गोंगबुस्थित नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बजार प्रतिनिधिको रूपमा काम गर्ने भएको नाताले जाहेरवालीले नै भनेर निजलाई उक्त सहकारी संस्थामा पैसा जम्मा गर्न लगाई संस्थाबाट बिल ल्याइदिएको र पछि त्यो सहकारीको अध्यक्ष नै फरार रही केही दिनपछि मृत अवस्थामा फेला परेकोले जाहेरवालीले आफ्नो रकम डुब्ने डरले जबरजस्ती धम्काई वैदेशिक रोजगारको कागज गराएकी हुन् । उजुरी झुट्टा हो । वैदेशिक रोजगारीमा मान्छे पठाउने कार्य पनि गर्दिनँ । वैदेशिक रोजगार व्यवसायसम्बन्धी इजाजत लिएको पनि 

छैन । करकापसँग कागज गराएउपर उजुरी गर्ने तयारीमा थिएँ, प्रहरीले पक्राउ गरेको हुँदा उजरी गर्ने मौका पाइएनसमेत भनी प्रतिवादीले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष आरोपित कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेको देखिन्छ । यी प्रतिवादी वैदेशिक रोजगारमा मान्छे पठाउने पेसाको नभएको, जाहेरवालीलगायतलाई नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रकम जम्मा गर्न राम्रो हुन्छ भनी यी प्रतिवादीले सल्लाह दिएको र पछि उक्त सहकारीको अध्यक्षले आत्महत्या गरेको हुँदा आफ्नो रकम डुब्ने डरले प्रतिवादीलाई करकाप गरी कागज गराएका हुन् (स.ज. ५) भनी प्रतिवादीका साक्षी धनबहादुर पुलामीले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष बकपत्र गरेको देखिएबाट प्रतिवादी डगलसिंह सेर्माले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान समर्थित भएको देखिन्छ ।

४. जाहेरी दरखास्तसाथ पेस भएको दोर्जी शेर्पाको राहदानी हेर्दा राहदानी जारी भएको मिति सन् २००४-०६-२५ तदनुसार २०६१।३।११ र उक्त राहदानीको म्याद समाप्त हुने मिति सन् २०१४-०६-२५ तदनुसार २०७१।३।१० भन्ने देखिन्छ । राहदानीको म्याद थप गर्नुपरे अष्ट्रेलियाको नेपाली दूतावासबाट नै नवीकरण गर्न मिल्छ भन्ने विश्वास दिलाई मेरो छोराको सक्कल राहदानी र रकमसमेत लिई प्रतिवादी फरार भएको भनी जाहेरवाली याङ्ली शेर्पाले मिति २०७२।०१।०७ मा अनुसन्धानको क्रममा कागज गरेको देखिएकोमा प्रतिवादी डगलसिंह सेर्माका साक्षी धनबहादुर पुलामीले यी प्रतिवादीले जाहेरवालीको रकम लिएको र फरार भएकोसमेत होइन । निज प्रतिवादी आदर्श योगहरी उच्च मा.वि.लैनचौर काठमाडौंमा उक्त अवधिमा निरन्तर रूजु हाजिर रहेका छन् भनी बकपत्र गरेको देखिन्छ भने जाहेरवालीले आफ्नो जाहेरी र अनुसन्धानको क्रममा गरेको कागजको बेहोरालाई अदालतमा आई बकपत्र गरी पुष्टि गराउन सकेको देखिँदैन । यी प्रतिवादीले जाहेरवालीलाई लिखत गरिदिएको भनिएको मिति २०७१।११।०५ भन्दा करिब आठ महिनाअगावै मिति २०७१।३।१० मा नै निज जाहेरवालीको छोरा दोर्जे शेर्पाको राहदानीको म्याद समाप्त भइसकेको देखिएकोले राहदानी नै बहाल नरहेको अवस्थामा एक हप्ताभित्र अष्ट्रेलिया पठाउने भनी कागज गरेको भन्ने कुरा अव्यावहारिक र पत्यारलाग्दो देखिन नआएकोले प्रतिवादीले जाहेरवालीको छोरालाई विदेशमा पठाउने प्रयोजनका लागि भनी जाहेरवालीबाट रकम लिएको भन्ने तथ्य निर्विवादरूपमा पुष्टि हुन सकेकोसमेत देखिएन ।  

५. जाहेरवाली याङ्ली शेर्पाले प्रतिवादी डगलसिंह सेर्माउपर वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम लिखतअनुसारको रकम दिलाई पाउन जाहेरी दरखास्त दिएकोमा उक्त रकमसम्बन्धमा जाहेरवाली याङ्ली शेर्पा र यी प्रतिवादी डगलसिंह सेर्मासमेतका बचतकर्ताहरूले नाङ्लोदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी लेखा समितिका संयोजक प्रतिवादी धनमाया श्रेष्ठसमेत उपर जाहेरी दिई काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दा कारबाहीयुक्त अवस्थामा रहेको भनी यी प्रतिवादीले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष बयान गरी उक्त ठगी मुद्दाको अभियोगपत्रको प्रतिलिपिसमेत पेस गरेको देखिएकोले दाबीको लिखत झुट्टा हो भन्ने प्रत्यर्थी प्रतिवादीको इन्कारी बयान अन्यथा रहेको भन्न मिल्ने देखिन आएन ।

६. प्रतिवादीको अनुसन्धान र न्यायाधिकरणमा भएको बयानमा आरोपित कसुरमा इन्कारी रहेको भन्ने आधारमा सफाइ दिने गरी वैदेशिक रोजगार न्यायाधिकरणले गरेको फैसला, “इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसुरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन नसक्ने हुँदा निर्दोषिताको लागि ठोस प्रमाणको आवश्यकता पर्ने” भनी (ने.का.प.२०६८, अङ्क ९, नि.नं. ८६८७, पृष्ठ १५५३) मा यसै अदालतबाट प्रतिपादन भएको सिद्धान्तविपरीत रहेको भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा, प्रमाण ऐन, २०३१ को दफा ८ मा “प्रमाणमा लिन हुने कुराहरू: दफा ३ बमोजिम मुद्दामा प्रमाण बुझ्दा यस परिच्छेदबमोजिम प्रमाणमा लिन हुने कुराहरू र साक्षीले अदालतका समक्ष बकेका अन्य कुराहरू मात्र प्रमाणमा लिन हुन्छ” भन्ने र ऐजनको दफा १८ मा “तहकिकात वा जाँचबुझको सिलसिलामा तयार भएका लिखतः कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा जाहेरवाली याङ्ली शेर्पाको नाउँमा अ.बं.११५ नं.बमोजिम जारी भएको म्याद निजको घरदैला टाँस तामेल भएको देखिएकोमा निज जाहेरवालीलगायतका वादी पक्षका गवाहले म्यादभित्र वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष उपस्थित भई आफ्नो जाहेरी दरखास्तलगायतका अनुसन्धानको क्रममा भएको कागजको बेहोरालाई पुष्टि हुने गरी बकपत्र गर्न सकेको नदेखिएबाट निज जाहेरवालीको जाहेरी दरखास्तलगायतका अनुसन्धानको क्रममा तयार भएको कागजलाई प्रमाण ऐन, २०३१ को उल्लिखित दफाको आलोकमा रही हेर्दा यी प्रतिवादी विरूद्ध प्रमाणमा लिन मिल्ने देखिएन ।

७. प्रतिवादीले लिखतमा भएको सहीछाप आफ्नो हो भनी स्वीकार गरेको अवस्थामा सफाइ दिने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ९ र १० विपरीत भएको भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, प्रमाण ऐन, २०३१ को दफा ९ र १० को कुन उपदफा वा कुन कानूनी प्रावधानविपरीत भएको हो भनी पुनरावेदनमा स्पष्ट दाबी लिन सकेको 

देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ९ मा “पक्षले व्यक्त गरेको कुराः (१) मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन 

हुन्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनिः-

(क) फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छः-

(२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन ।...” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ भने दफा १० मा मौकामा व्यक्त गरेको कुराको सम्बन्धमा व्यवस्था रहेको देखिन्छ, जुन प्रस्तुत मुद्दामा सान्दर्भिक देखिँदैन । प्रतिवादी डगलसिंह सेर्माले आफूलाई चार पाँच जना भई जबरजस्तीसँग कागज गराएको र सोसम्बन्धमा उजुरी गर्ने तयारीमा रहेकोमा प्रस्तुत मुद्दाबाट पक्राउ परेकोले उजुरी गर्न नपाएको भनी अनुसन्धानको क्रममा र वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष समेत बयान गरेको देखिन्छ । जाहेरवाली याङ्ली शेर्पा, उक्त मिति २०७१।११।०५ को वैदेशिक रोजगारसम्बन्धी लिखतका अन्तरसाक्षी र अनुसन्धानको क्रममा कागज गरिदिने कुनै पनि व्यक्तिले प्रतिवादीलाई जबरजस्तीसँग कागज गराएको होइन भनी न्यायाधिकरणसमक्ष आई आफ्नो बेहोरालाई पुष्टि हुने गरी बकपत्र गरेको नदेखिएबाट प्रतिवादीको आफूलाई जबरजस्तीसँग कागज गराएको हो भन्ने कथनको वस्तुनिष्ठ तवरबाट वादी पक्षले खण्डित गराउन सकेको नदेखिँदा यसतर्फ लिएको पुनरावेदकको दाबीसमेत मनासिब देखिएन ।

 

८. परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई पनि फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एक आपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने हुन्छ । यी प्रतिवादी डगलसिंह सेर्माउपरको कसुरमाथि विवेचना गरिएबमोजिम परिस्थितिजन्य प्रमाणबाट समेत मालाकार कडीका रूपमा रही आरोपित कसुरको पुष्टि हुन सकेको भन्ने पनि देखिएन ।

९. प्रमाण ऐन, २०३१ को दफा २५ मा “फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ” भन्ने कानूनी व्यवस्था रहेको देखिएको सन्दर्भमा प्रस्तुत प्रकरण र माथि विवेचित प्रकरण नं.१७, १८, १९, २०, २१ र २२ समेत बमोजिम प्रतिवादी डगलसिंह सेर्माउपरको वैदेशिक रोजगारमा पठाउनका लागि जाहेरवालीबाट रकम लिएको भन्ने कसुर अन्य कागज प्रमाणबाट शङ्कारहित तवरले पुष्टि गराउन सकेको नदेखिएकोले पुनरावेदकको पुनरावेदन जिकिर मनासिब रहेको भन्ने देखिएन । 

१०. यसका साथै भवानी काफ्ले तुलाधर विरूद्ध नेपाल सरकार भएको वैदेशिक रोजगार कसुर मुद्दा (ने.का.प. २०७५, अङ्क ५, नि.नं.१००१७) मा “विवादमा आएको कुनै पनि लिखतमा लेखिएको बेहोरा अवस्था परिस्थितिअनुसार फरकफरक प्रकृतिबाट अन्य तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुनु पनि आवश्यक हुन्छ । सदैव लिखतको शब्दबाट मात्र फौजदारी दायित्व सिर्जना हुँदैन, यसको लागि मनसाय र क्रियाको साथसाथै पक्षहरूको परिस्थितिजन्य प्रमाणको विश्‍वसनीयता आवश्यक हुन्छ । व्यक्ति व्यक्तिबिच भएको लिखतको हरेक अवस्थामा वैदेशिक रोजगारी भन्‍ने शब्दको प्रयोग हुनासाथ यान्त्रिक तवरबाट सजाय गरिहाल्ने प्रवृत्ति विकास भएमा न्याय मर्ने सम्भावना रहन्छ । यस अवस्थामा पक्षहरूले आफ्ना लेनदेन वा अन्य मनसायबाट खडा भएको कुनै लिखतमा त्यसको कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने उद्देश्यले वैदेशिक रोजगार शब्दको प्रयोग गर्दैमा स्वतः दण्डनीय अपराध मानिएमा यसको दुरूपयोग भई परिबन्धबाट निरपराधी पनि सजायको भागी हुन जानेतर्फ अनुसन्धान एवं अभियोजनकर्ता, अदालत तथा न्यायिक निकाय सदैव सचेत हुनुपर्ने” (प्रकरण नं.६) भनी यस अदालतबाट सिद्धान्त स्थापित भएकोसमेत देखिएकोले यी प्रतिवादी डगलसिंह सेर्मालाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको वैदेशिक रोजगार न्यायाधिकरणको फैसला अन्यथा रहेको भन्ने नदेखिएको हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर, विद्वान् उपन्यायाधिवक्ताबाट प्रस्तुत भएको बहस र यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिइएका आधार र कारणहरूसँग सहमत हुन सकिएन ।

११. तसर्थ, माथि विवेचना गरिएबमोजिमको आधार, कारण, प्रमाण सम्बद्ध कानून तथा स्थापित सिद्धान्तसमेतको आधारबाट प्रतिवादी डगलसिंह सेर्माले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेकोले सोही ऐनको दफा ४३ बमोजिम निज प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेतको अभियोग मागदाबी पुग्न सक्दैन । प्रतिवादी डगलसिंह सेर्माले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भनी वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको मिति २०७२।०९।०५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । फैसलाको विद्युतीय प्रति मुद्दा व्यवस्थापन प्रणालीमा अपलोड गरी प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्न सम्बन्धित फाँटमा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृत : ऋतबहादुर पुलामी मगर, कमलकान्त जोशी (शा.अ.)

इति संवत् २०७९ साल जेठ ४ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु