शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८९५ - अपहरण गरी सामूहिक जबरजस्ती करणी

भाग: ६४ साल: २०७९ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७९।२।१०

०६९-CR-०५५९

 

मुद्दा: अपहरण गरी सामूहिक जबरजस्ती करणी

 

पुनरावेदक / वादी : लक्ष्मी शाही (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला दाङ, साबिक उरहरी गा.वि.स. वडा नं. ६ वेलटाकुरा बस्ने सचिन योगीसमेत

 

मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनुपर्ने । यस्तो अवस्थामा वीर्य योनिमा नरहनु, बगेर जानुलाई स्वाभाविक मान्नुपर्ने ।

(प्रकरण नं.१२)

सामूहिक रूपमा जबरजस्ती करणीमा परेको भनी आघात रहेकै अवस्थामा दिएको जाहेरी दरखास्त र घटना घटेको लामो समयपछि बकपत्र गर्दा जाहेरी र बकपत्रमा उल्लेख गरिएको केही बेहोरा फरक पर्न सक्ने कुरालाई नकार्न नसकिने । 

पीडितलाई परेको मनोवैज्ञानिक, सामाजिक तथा शारीरिक पीडासमेतबाट निजको कतिपय बेहोरामा सामान्य परिवर्तन आउनु स्वाभाविक हुने । यसबाट पीडितले आघात अवस्थामा दिएको जाहेरी दरखास्त र लामो समयपछि अदालतबाट भएको बकपत्रमा केही सामान्य फरक परेको हुन सक्ने । 

(प्रकरण नं.१९)

क्षतिपूर्ति निर्धारण गर्दा वारदातबाट पीडितलाई पुग्न गएको भौतिक, शारीरिक र मानसिक पीडा एवं वारदातपश्‍चात् देखा पर्ने पीडितको शारीरिक, मानसिक, भावनात्मक अवस्थासमेतलाई विचार गरी पीडितको जीवनयापनमा परेको असरसमेतलाई ध्यान दिनुपर्ने ।

(प्रकरण नं.२४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री बिना दाहाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री दिलकुमारी राई, श्री इन्दिराकुमारी श्रेष्ठ, श्री कुमार अधिकारी, श्री दिनमणी पोख्रेल, श्री चुडामणी पौडेल, श्री शालिग्राम सापकोटा, श्री नरबहादुर योगी, श्री लोकमणि पोखरेल

अवलम्बित नजिर :

ने.का.प.२०७६, अङ्क ८, नि.नं.१०३४३

ने.का.प.२०७५, अङ्क १०, नि.नं.१०११९

ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९

सम्बद्ध कानून :

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहको फैसलाको विवरण

मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद

दाङ देउखुरी जिल्ला अदालत

पुनरावेदन तहको फैसलाको विवरण

माननीय मुख्य न्यायाधीश श्री विश्वनाथ जोशी

माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी

पुनरावेदन अदालत तुलसीपुर

 

फैसला

न्या.कुमार रेग्मी : पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०६९।०२।०२ मा भएको फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः-

 

मुद्दाको संक्षिप्त तथ्य 

मिति २०६७।३।१५ गते साँझ म र दाजु दिनेश भन्ने मदन के.सी. तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती होटलको २ नं. कोठामा बसेका थियौं । सोही राति कृष्णसागर वलीसमेतका ९।१० जनाले सो होटलमा हल्ला गरिरहेकोमा अन्दाजी ११:३० बजेको समयमा निज केटाहरू हामी बसेको कोठामा आई अपशब्द प्रयोग गरी गाली गलौज गरी लात्तीले ढोका हानी ढोका फुटाल्न खोजेपछि मदन के.सी. ले ढोका खोलेकोमा ३।४ जनाले मदन के.सी लाई कुटपिट गरेको र ४।५ जनाले मलाई कुटपिट लछार-पछार गरी मेरो पाखुरामा जबरजस्ती समाती मलाई होटलबाट जबरजस्ती आफ्नो साथमा लगी पातुखोलाको बगरमा पुर्‍याई पालैपालो जबरजस्ती करणी गरेकाले मलाई अपहरण गरी जबरजस्ती करणी गर्ने अन्यायीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम थर लक्ष्मी शाहीको जाहेरी दरखास्त ।

मिति २०६७।३।१५ गते राति अं. १०:३० बजेको समयमा जिल्ला दाङ, तुलसीपुर न.पा. वडा नं. ५ नयाँ बसपार्क स्थित न्यू राप्ती गेष्ट हाउसमा एक जना केटीलाई केटाहरूले जबरजस्ती उठाई लगेको भन्ने जानकारी आउनासाथ सोबारे बुझ्न न्यू राप्ती गेष्ट हाउसमा गएकोमा होटल साहुसमेतले गाली गलौज गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदनको प्रतिलिपि ।

जिल्ला दाङ, तुलसीपुर न.पा. वडा नं. ५ र ९ को बिचमा पर्ने पातुखोलाको बगरको बालुवा, गिट्टी मडारिएको, खोस्रिएको, सो स्थानदेखि २५० मिटर पश्चिम बाँझो खेतमा जमिन खोस्रिएको, दुबो माडिएको, सोदेखि १०० मिटर पश्चिम खेतमा समेत प्रतिवादी बुद्धि के.सी. समेतले मिति २०६७।३।१५ गते राति लक्ष्मी शाहीलाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

जिल्ला दाङ, तुलसीपुर नगरपालिका वडा नं. ५ स्थित पूर्वमा हुर्मत नेपालीको घर, पश्चिममा सम्झना होटल, उत्तरमा लुम्बिनी गेष्ट हाउस, दक्षिणमा देउराली पाहुना घर यति चार किल्लाबिचमा रहेको न्यू राप्ती होटलमा मिति २०६७।३।१५ गते राति परिवर्तित नाम, थर लक्ष्मी शाहीलाई कृष्णसागर वलीसमेतका प्रतिवादीहरूले जबरजस्ती समाती अपहरण गरी लगेको, लक्ष्मी शाही बसेको कोठाको विस्तरा तथा लक्ष्मी शाहीका कपडाहरू यत्रतत्र छरिएको देखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

मिति २०६७।३।१५ गते साँझ ६:३० बजेतिर परिवर्तित नाम थर, लक्ष्मी शाहीसँग एक जना केटासमेत भई मेरो होटलमा २ नं. कोठामा बसेका थिए । ऐ. १५ गते राति अं. ९ बजेतिर होटल बन्द गर्ने बेला मेरो होटलमा ८ जना केटाहरू आर्इ बियर खाई बसेकोमा राति अं. ११:३० बजेतिर निज ८ जना केटाहरूले २ नं. कोठामा बसेका केटालाई कुटपिट गरी, सोही कोठामा बसेकी केटीलाई जबरजस्ती होटलबाट आफ्नो साथमा लगेका र म बाहिर निस्किँदा मलाईसमेत कुटपिट गरेकाले होटलमा आर्इ बसेको हुँ । राति नै प्रहरी आई निज केटीको खोजतलास गर्दा फेला पार्न सकिएन । निजहरूले होटलमा बसी खाने क्रममा एक आपसमा मिनु, राजेश, सुरेश भनेको सुनेको थिएँ । ती बजारकै केटाहरू हुन् भन्नेसमेत बेहोराको होटलका साहु केवल बस्नेतको कागज ।

मिति २०६७।३।१५ गते साँझ म र लक्ष्मी शाही तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती गेष्ट हाउसमा बसेका थियौं । सोही राति अं. ११:३० बजेको समयमा टि.भी. को आवाज ठुलो भएकोले मैले तल काउण्टरमा गई टि.भी. को आवाज सानो बनाइदिनुपर्‍यो भनी होटल साहुनीलाई भनी कोठामा फर्केकोमा केहीबेरपछि म बसेको कोठाको ढोका हान्दै खोल्न भनेकोमा मैले ढोका खोल्ने बित्तिकै मलाई निज केटाहरूले कुटपिट गरेपछि म उक्त स्थानबाट भागेर प्रहरीलाई खबर गर्न गएँ । उक्त होटलमा बसेकी लक्ष्मी शाहीलाई निज ७।८ जना केटाहरूले जबरजस्ती गरी आफ्नो साथमा लिई गएको भन्ने होटल मालिकसमेतबाट सुनी थाहा पाएको थिएँ । निज केटाहरूले लक्ष्मी शाहीलाई जबरजस्ती आफ्नो साथमा लगेपछि जबरजस्ती करणी गरेको भन्ने आज सुनी थाहा पाएँ भन्नेसमेत बेहोराको दिनेश भन्ने मदन के.सी. को घटना विवरण कागज ।

मिति २०६७।३।१५ गते राति अं.१० बजेतिर सोही होटलमा आई खाना खाई सुतेको 

थिएँ । म बसेको होटलमा मिनकेतन गिरी, कृष्णसागर वली, बुद्धि के.सी., नविन बस्नेत, सचिन योगी र अन्य ४।५ जना केटाहरू बियर खाएर बसेका थिए । सोही रातको करिब ११:३० बजेको समयमा सोही होटलको माथिको कोठामा बसेको १ जना केटा, १ जना केटीमध्ये निज केटालाई कोठाबाट बाहिर बोलाई कुटपिट गरेका थिए । निज केटा भागेपछि मिनकेतन गिरीसमेतका केही केटाहरू तल झरेपछि बाँकी केटाहरूले लक्ष्मी शाहीलाई उक्त होटलबाट तल झारेर लगेका थिए । मिनकेतन गिरीसमेतका केटाहरूले परिवर्तित नाम थर, लक्ष्मी शाहीलाई कुटपिट गरी जबरजस्ती आफ्नो साथमा लिएर गएका हुन् भन्नेसमेत बेहोराको विरबहादुर बुढाथोकीको घटना विवरण कागज ।

मिति २०६७।३।१५ गते मलाई कृष्णसागर वलीसमेतले न्यू राप्ती गेष्ट हाउसबाट अं. ११:३० बजेको समयमा अपहरण गरी जबरजस्ती करणी गरेका भनी मिति २०६७।३।१६ गते यस कार्यालयमा जाहेरी दिएकी छु । उक्त जाहेरीमा तत्काल नाम, थर, वतन नखुलेका केही मानिसहरूसमेत गरी जाहेरीमा उल्लेख भएकोमा हाल निजहरूको नाम, थर, वतन खुल्न आएकोले अपहरण गरी सामुहिक जबरजस्ती करणी गर्ने सुनिल वली, नविन बस्नेत, यादव टण्डन (खत्री), सचिन योगी र चन्द्र वि.एम. समेतले मलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेका हुन्‌ । रातिको समयमा पालैपालो करणी गरेकोले पहिला ७ जनाले मात्र करणी गरेको भनी खुलाएकोमा हाल आएर बुझ्दा १०।११ जनाले करणी गरेको हुँदा थप जाहेरी दिएकी छु भन्नेसमेत बेहोराको लक्ष्मी शाहीको पूरक जाहेरी दरखास्त ।

लक्ष्मी शाहीको शारीरिक परीक्षण प्रतिवेदनमा गर्दनको दाहिने भागमा निलडाम (टोकेको) चिथोरिएका चिह्न, दाहिने चाक तथा यौनाङ्ग वरिपरि (२ सि.एम. लम्बाइ) धेरै संख्यामा निलडाम दुवै तिघ्रामा रहेको, भित्र कच्छी नलगाएको, कुर्ता लगाएको छेउतिरबाट च्यातिएको, चिसो तथा माटो लागेको, दाहिने स्तन वरिपरि टोकेको चिह्न भएको तथा मुन्टामा टोकेको चिह्न, देब्रे स्तनमा माथिल्लो तथा तल्लो भागमा निलडाम तथा टोकेको चिह्न भएको, परीक्षणको निष्कर्षमा पीडितको भनाइ, शारीरिक जाँच तथा प्रयोगशालाको प्रतिवेदनबाट पीडितमाथि यौन दुर्व्यवहार नभएको भन्न नसकिने भन्नेसमेत बेहोराको राप्ती अञ्‍चल अस्पताल तुलसीपुरको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

दिनेश भन्ने मदन के.सी. को शरीरमा विभिन्न चोटपटक लागेको भन्नेसमेत बेहोराको घाउ जाँच केस फाराम मिसिल सामेल रहेको ।

मिति २०६७।३।१५ गते राति १०:३० बजेको समयमा सुत्नको लागि नयाँ बसपार्कतर्फ मिनकेतन गिरी, कृष्णसागर वली र म गएका थियौं । हामीहरू तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती गेष्ट हाउसमा जाँदा सो होटलमा पहिले नै सुनिल वली, बुद्धि के.सी., नविन बस्नेत, चन्द्र वि.एम. र यादव टण्डन (खत्री) गरी ५ जना केटाहरू बसेका थिए । सो होटलमा बसी खाना खाएर म कोठामा सुत्न गएको 

थिएँ । कृष्णसागर वलीसमेतका केटाहरू काउन्टर नजिक टेबुलमा बसिरहेका थिए । राति अं. ११:१५ बजेतिर म सुतेको कोठा सामुन्ने हो-हल्ला गरेको सुनी के भएको रहेछ भनी हेर्न जाँदा नविन बस्नेतसमेतका केटाहरूलाई देखेपछि घोराहीको केटा मदन के.सी. सँग टि.भी.को आवाज ठुलो गराएको सम्बन्धमा झै-झगडा भएको र झै-झगडा हुँदा मदन के.सी. बरन्डाबाट हाम फालेर भागेको भन्ने कुरासमेत थाहा पाएँ । बबाल भएपछि होटलमा बस्न हुन्न भनी म होटलबाट बाहिर गएको थिएँ । पछि होटलमा फर्किंदा माथि कोठामा बसेकी केटीलाई केटाहरूले लगे भन्ने थाहा पाई खोज्न गएका थियौं । सुनिल वली र यादव टण्डनलाई पातुखोलाको बगरनजिक फेला पारेको, निजहरूलाई केटी खोई भन्दा सुनिल वली र मैले करणी गरिसकेपछि बुद्धि के.सी. समेतले आफ्नो साथमा लगेका छन्‌ भनेपछि केटीलाई खोज्न जाँदा कुलो नजिकको खेतमा चन्द्र वि.एम. र नविन बस्नेतलाई फेला पारेकोमा नविन बस्नेतले हामीले करणी गरिसकेपछि बुद्धि के.सी. ले पश्चिमतर्फ लगेको छ भनेपछि नविन बस्नेतसमेतलाई केटी खोजी होटलमा पुर्‍याइदेउ भनी पठाएको 

हो । नभेटिएपछि कृष्णसागर वली, मिनकेतन गिरी र म दक्षिणतर्फ लागी सोही स्थानको नचिनेको घरमा बास बसेका थियौं । मैले लक्ष्मी शाहीलाई अपहरण गरी जबरजस्ती करणी गरेको होइन । होटलमा सँगै भएकोले जाहेरी दिएको होला भन्नेसमेत बेहोराको प्रतिवादी सचिन योगीको बयान कागज ।

मलाई देखाइएको सचिन योगी पनि उक्त वारदातमा संलग्न थिए । मलाई होटलबाट अपहरण गरी खोलाको बगरमा लगी जबरजस्ती करणी गर्दा निजले समेत एक पटक करणी गरेका हुन्‌ । निजलाई हेरी चिनी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको लक्ष्मी शाहीले गरेको सनाखत कागज ।

मिति २०६७।३।१६ गते बिहान अं. ७ बजेको समयमा न्यू राप्ती गेष्ट हाउसमा घटना घट्यो भनी सुनी के भएको हो भनी बुझ्दा ऐ. १५ गते राति उक्त होटलमा बसेकी लक्ष्मी शाही (परिवर्तित नाम, थर) र रोल्पा घर भएका मदन के.सी. सो होटलको २ नं. कोठामा बसेका र सोही राति अं. ११:३० बजेको समयमा मिनकेतन गिरी, सचिन योगीसमेतका ७।८ जना केटाहरूले मदन के.सी. लाई कुटपिट गर्दा मदन के.सी. होटलबाट भागेपछि निज मदन के.सी. को साथमा बसेकी लक्ष्मी शाहीलाई निज केटाहरूले अपहरण गरी पातुखोलाको बगरतर्फ गएका र सो रातभरि लक्ष्मी शाहीलाई जबरजस्ती करणी गरेको भन्ने सुनेको 

थिएँ । लक्ष्मी शाहीलाई अपहरण गरी लगी जबरजस्ती गर्नेमा मिनकेतन गिरी, सचिन योगी, कृष्णसागर वली, बुद्धिप्रकाश के.सी., सुनिल वली, यादव टण्डन, चन्द्र वि.एम. लगायतका मानिस हुन्‌ भन्ने सुनेको थिएँ भन्नेसमेत बेहोराको कमला सिंजालीको घटना विवरण कागज ।

मिति २०६७।३।१५ गते साँझ बेलुकी ७ बजेको समयमा पीडित लक्ष्मी शाही एक जना केटासँग मेरो न्यू राप्ती होटलमा आएकी हुन्‌ । निजहरूले ९ बजेको समयमा खाना खाई होटलको माथिल्लो तलाको २ नं. कोठामा सुत्न गए । मेरो होटल बन्द गर्ने तयारी गर्दा हाल पक्राउ परेका सचिन योगीसमेतका ५।१० जना केटाहरू मेरो होटलमा पसी बियर, मासु, खाना खान थाले । टि.भी. को आवाज चर्को भई हल्ला भएपछि माथिको कोठामा बसेका दिनेश भन्ने मदन के.सी. तल आई टि.भी.को आवाज सानो बनाउनुहोस्‌ भनेर गएकोमा सचिन योगीसमेतका केटाहरूले टि.भी. बन्द भएको विषयमा विवाद गरी २ नं. कोठामा गई मदन के.सी. लाई गाली गलौज गरी ढोका खोल्न लगाई निजलाई कुटपिट गरी भगाए र सोही कोठामा बसेकी लक्ष्मी शाहीलाई हातपात लछार पछार गरी जबरजस्ती होटलबाट तल झारी लगेर गएका थिए । लक्ष्मी शाहीलाई पातुखोलाको बगर र खेतमा लगी सामूहिक रूपमा जबरजस्ती करणी गरेका रहेछन्‌ । उल्लिखित वारदात मितिमा प्रतिवादी सचिन योगीलगायतका ५।१० जना प्रतिवादीले लक्ष्मी शाहीलाई होटलबाट अपहरण गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेका हुन्‌ भन्नेसमेत बेहोराको सुशीला बस्नेतको घटना विवरण कागज ।

न्यू राप्ती गेष्ट हाउसमा घटना घटेको थाहा पाई बुझ्दा मिति २०६७।३।१५ गते राति सो गेष्ट हाउसको २ नं. कोठामा बास बसेका मदन के.सी.लाई केही केटाहरूले कुटपिट गरी सो होटलबाट भाग्न बाध्य बनाई लक्ष्मी शाहीलाई अपहरण गरी सामूहिक करणी गरे भन्ने सुनी थाहा पाएँ । मिति २०६७।३।१६ गते दिउँसो निज लक्ष्मी शाहीलाई देख्दा निज थकित चिन्तित मुद्रामा शारीरिक कष्ट भएको जस्तो 

देखिन्थ्यो । पछि बुझ्दै जाँदा कृ‌ष्णसागर वली, मिनकेतन गिरी, बुद्धिप्रकाश के.सी., सुनिल वली, यादव टण्डन, चन्द्र वि.एम, नविन बस्नेत, सचिन योगीसमेतले लक्ष्मी शाहीलाई उक्त होटलबाट अपहरण गरी करणी गरेको भन्ने सुनेको हुँदा निज प्रतिवादीहरूले वारदात घटाएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको परशुराम पुनको घटना विवरण कागज ।

मिति २०६७।३।१५ गते बेलुकी निज जाहेरवाली कोहलपुर पढ्न जान भनी आफ्नो घर रूकुम चुनवाङ्गबाट तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती होटलमा दिनेश भन्ने मदन के.सी.लाई बोलाई बसेकी रहिछन्‌ । सोही होटलको कोठामा बसेको अवस्थामा कृष्णसागर वली, यादव टण्डन, सुनिल वली, चन्द्र वि.एम, बुद्धि प्रकाश के.सी., सचिन योगी, नविन बस्नेतले टि.भी. को आवाज ठुलो बनाई बसेकोमा मदन के.सी. ले तल आई आवाज सानो बनाउन भनी आफ्नो कोठामा गएकोमा उल्लिखित केटाहरू मदन के.सी. बसेको कोठामा आई अश्लील शब्द प्रयोग गरी ढोका खोल्न लगाई ढोका खोल्नासाथ मदन के.सी.लाई कुटपिट गरेछन्‌ र लक्ष्मी शाहीलाई सो होटलबाट जबरजस्ती अपहरण गरी आफ्नो साथमा लगी सामूहिक पालैपालो जबरजस्ती करणी गरेछन्‌ । बुद्धि प्रकाश के.सी. ले निज लक्ष्मी शाहीलाई बिहानसम्म आफ्नो साथमा राखी छाडेछन्‌ भन्नेसमेत बेहोराको रमिला बुढा (शर्मा) को घटना विवरण कागज ।

मिति २०६७।३।१६ गते साँझ तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती गेष्ट हाउसमा बास बस्न आएकी परिवर्तित नाम, थर लक्ष्मी शाही र निजको दाइ भन्ने मदन के.सी. सो होटलको २ नं. कोठामा बसेको अवस्थामा सोही होटलमा रक्सी खान बसेका केटाहरूले निज मदन के.सी. सँग झगडा एवं कुटपिट गरेका र कुटपिट गरेपछि उक्त स्थानबाट मदन के.सी. भागी गएकोमा केटाहरूले लक्ष्मी शाहीलाई निज बसेको कोठाबाट जबरजस्ती तानी होटलबाट बाहिर लगेका र भोलिपल्ट बिहान मात्र लक्ष्मी शाही फर्केर आएको र लक्ष्मी शाहीलाई निजहरूले जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाएको हो । पीडितले आफ्नो जाहेरीमा उल्लिखित प्रतिवादीहरूले लक्ष्मी शाहीलाई अपहरण गरी जबरजस्ती करणी गरेकोमा मलाई विश्वास लाग्छ भन्नेसमेत बेहोराको रत्नबहादुर वलीको घटना विवरण कागज ।

परिवर्तित नाम थर, लक्ष्मी शाही र निजको दाजु नाता पर्ने दिनेश भन्ने मदन के.सी. न्यू राप्ती होटलमा बास बसेको अवस्थामा हाल पक्राउ परेका प्रतिवादीसमेत ५।१० जना व्यक्तिहरूले मदन के.सी. लाई कुटपिट गरी लक्ष्मी शाहीलाई अपहरण गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने सुनी थाहा पाएको हुँ । निज पीडितलाई वारदात मिति र समयमा जाहेरीमा उल्लिखित प्रतिवादीहरूले अपहरण गरी जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको डिलाराम बुढाथोकीको घटना विवरण कागज ।

मिति २०६७।३।१५ गते राति नविन बस्नेत, यादव टण्डन (खत्री), चन्द्र वि.एम., बुद्धि के.सी. र म तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती होटलमा बसिरहेको अवस्थामा कृष्णसागर वली, मिन केतन गिरी र सचिन योगी सोही होटलमा आई जम्मा भई खाना खाई म सुत्ने कोठामा गएको थिएँ । पछि हो हल्ला भएको सुनी जाँदा सोही होटलमा आई बसेका घोराही घर भएको मदन के.सी. तल काउन्टरमा टि.भी. को आवाज ठुलो भयो सानो बनाउनुहोस्‌ भनी होटल साहुनीसँग भनी गएकोमा बुद्धि के.सी. रिसाई टि.भी. बन्द गर्न लगाउने को हो भनी माथिल्लो तलामा गई परिवर्तित नाम, थर लक्ष्मी शाहीसँग बसेका मदन के.सी.को कोठाको ढोकामा लात्तीले हान्दा मदन के.सी.ले ढोका खोलेपछि बुद्धि के.सी. र मदन के.सी. बिच भनाभन भई बुद्धि के.सी. ले मदन के.सी.लाई कुटपिट गरेपछि मसमेतका साथीहरूले समेत निजलाई कुटपिट गरेका थियौँ । मदन के.सी. गइसकेपछि मदन के.सी. बसेको कोठामा बसेकी लक्ष्मी शाहीलाई बुद्धि के.सी., नविन बस्नेत र चन्द्र वि.एम. ले हात समाती जबरजस्ती होटलबाट लिई पातुखोलाको बगरमा लगी मसमेतले करणी गरेको हो । पछि कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगी पातुखोलाको बगरमा आई निज लक्ष्मी शाहीलाई खोज्न भनी खेततर्फ गएका थिए । बुद्धि के.सी. ले लक्ष्मी शाहीलाई आफ्नो साथमा उक्त खेतबाट लगेको नविन बस्नेत र चन्द्र वि.एम. बाट थाहा पाएपछि सो स्थानबाट सुत्नको लागि साथीको डेरातर्फ आएका हौँ । सचिन योगी, कृष्णसागर वली र मिनकेतन गिरी सोही खेतमा नै थिए । त्यसपछि कहाँ गए मलाई थाहा भएन । मैले लक्ष्मी शाहीलाई पातुखोलामा एक पटक करणी गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी सुनिल वलीको बयान कागज ।

मिति २०६७।३।१५ गते बेलुकी बाहिनी चोकमा नविन बस्नेत, बुद्धि प्रकाश के.सी., चन्द्र वि.एम., मिनकेतन गिरी, सचिन योगी, कृष्णसागर वलीलाई उक्त चोकमा भेटी निजहरूसँग राति अं. ६:३० बजेको समयमा तुलसीपुर नयाँ बसपार्कतर्फ गयौं । अं. ९ बजेको समयमा न्यू राप्ती होटलमा गर्यौं र ३।४ जनाले खाना खायौं बाँकीले बियर खान 

थाले । म खाना खाई सुत्न गएको थिएँ । राति अं. ११:१५ बजेतिर उक्त होटलमा हो-हल्ला भएको सुनी म सुतेको कोठाबाट बाहिर आई उक्त स्थानमा जाँदा चन्द्र वि.एम., बुद्धि प्रकाश के.सी., मिनकेतन गिरी, कृष्णसागर वली २ नं. कोठामा सुतेका तत्काल नाम थाहा नभई हाल नाम थाहा भएको मदन के.सी. बिच झगडा परेको र मसमेतले मदन के.सी.लाई कुटपिट गर्दा निज मदन के.सी. भागी गएपछि बुद्धि के.सी. र नवीन बस्नेतले निज जाहेरवालीलाई दुवै हातको नाडीमा समाती होटलबाट तल झारी पातुखोलाको बगरमा पुर्‍यायौँ । पातुखोलाको बगरमा लगिसकेपछि निज लक्ष्मी शाहीलाई पहिला बुद्धि प्रकाश के.सी.ले करणी गर्‍यो, त्यसपछि नवीन बस्नेतले, त्यसपछि चन्द्र वि.एम., त्यसपछि सुनील वलीले करणी गरिसकेपछि मैले पनि करणी गर्नु पर्‍यो भनी आफ्नो लिङ्ग निज लक्ष्मीको योनिमा पसाउन खोज्दा लिङ्ग उत्तेजित नभएकोले पसेन । हात लगार्इ करणी गर्ने प्रयास गरेको थिएँ । पछि बुद्धि प्रकाश के.सी. समेतले निज लक्ष्मी शाहीलाई आफ्नो साथमा लगेको र कृष्णसागर वलीले मोबाइलबाट फोन गरेपछि म र सुनील वली कृष्णसागर भएतिर गएका थियौँ । निज कृष्णसागर वलीसमेतले केटी खोज्न जाउँ भनेपछि खोज्न गएका थियौँ । खेतमा नवीन बस्नेत र चन्द्र वि.एम. लाई फेला पारी बुद्धिले केटीलार्इ लगेर गयो भनेपछि ४ जना मैले नचिनेको घरमा गई सुतेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी यादव टण्डन (खत्री) को बयान कागज ।

मलाई देखाइएका मानिसमध्ये सुनील वलीले मलाई मिति २०६७।३।१५ गते राति अं. ११:३० बजे अपहरण गरी जबरजस्ती करणी गरेका हुन्‌ । वारदात मितिमा निज सुनील वलीलगायतका मिनकेतन गिरी, सचिन योगी, बुद्धि प्रकाश के.सी, चन्द्र वि.एम., नविन बस्नेत, यादव टण्डन (खत्री) र कृष्ण सागर वलीले मलाई न्यू राप्ती होटलमा बास बसेको अवस्थामा जबरजस्ती अपहरण गरी जबरजस्ती करणी गरेका हुन्‌ भन्नेसमेत बेहोराको पीडित लक्ष्मी शाहीले गरिदिएको मानिस सनाखत कागज ।

मलाई देखाइएका मानिसमध्ये यादव टण्डन नाम गरेको व्यक्तिले मलाई मिति २०६७।३।१५ गते राति अपहरण गरी जबरजस्ती करणी गरेका हुन्‌ । उक्त मितिमा मलाई नविन बस्नेत, चन्द्र वि.एम., सुनिल वली, बुद्धि के.सी., यादव टण्डन, सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरीले पटकपटक जबरजस्ती करणी गरेका हुन्‌ भन्नेसमेत बेहोराको पीडित लक्ष्मी शाहीले गरिदिएको मानिस सनाखत कागज ।

मिति २०६७।३।१५ गते राति नाम थर परिवर्तित लक्ष्मी शाहीलाई अपहरण गरी सामूहिक जबरजस्ती करणी गरेको घटनापछि घरमा नआई कहाँ छन्‌ थाहा छैन भन्नेसमेत बेहोराको मिनकेतन गिरी, नविन बस्नेत, बुद्धि प्रकाश के.सी., चन्द्र वि.एम फरार रहेको भन्ने छुट्टाछुट्टै फरारी मुचुल्का ।

मलाई राजिव कोइराला र सुरेश के.सी.लाई पक्राउ गर्न खटाइएकोमा निजहरूलाई खोजतलास गर्दा फेला नपारेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

मिसिल संलग्न जाहेरी दरखास्त, शारीरिक परीक्षण प्रतिवेदन, घाउजाँच केस फाराम, घटनास्थल प्रकृति मुचुल्का, बुझिएका मानिसहरूको कागज, अभियुक्तहरूको बयानसमेतका आधार प्रमाणबाट प्रतिवादीहरू सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरी, बुद्धि प्रकाश के.सी, नविन बस्नेत, सुनिल वली, यादव टण्डन (खत्री) चन्द वि.एम, (बुढामगर) राजीव कोइराला, सुरेश के.सी जना १० ले दाङ तुलसीपुर न.पा वडा.नं. ५ नयाँ बसपार्क स्थित, न्यू राप्ती गेष्ट हाउसमा बसेकी परिवर्तित नामथर वर्ष १८ की लक्ष्मी शाहीलाई मिति २०६७।३।१५ गते राति ११:३० बजे होटलबाट जबरजस्ती अपहरण गरी दाङ तु.न.पा वडा. नं. ५ र ९ को बिचमा पर्ने पातुखोलाको बगर तथा खेतमा सामूहिक रूपमा नृशंस तरिकाले पालैपालो सो रातभरि (भोलिपल्ट बिहान ५ बजेसम्म) जबरजस्ती करणी गरी अचेत अवस्थामा छाडी दिएकोमा प्रतिवादीहरू सुनील वली, यादव टण्डन (खत्री) र सचिन योगी तत्काल पक्राउ परेको र अन्य प्रतिवादीहरू फरार अवस्थामा रहेको हुँदा निज प्रतिवादीहरूले पीडित लक्ष्मी शाहीलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, ३ र ७ नं. बमोजिम सामूहिक रूपमा मिली अपहरण गरी मुलुकी ऐन जबरजस्ती करणीको महलको १, ३(४) नं. तथा ३(क) नं. बमोजिम सामूहिक रूपमा जबरजस्ती करणीको अपराध गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. तथा सोही महलको ७ नं. बमोजिम सजाय गरी मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ (४) नं. तथा सोही महलको ३(क) नं. बमोजिम थप सजायसमेत गरी पाउन र मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १२ नं. तथा जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउन साथै क्षतिपूर्ति भराउने प्रयोजनका लागि प्रतिवादीहरूको अंशलगायतका सम्पत्ति रोक्कासमेत राखी फरार प्रतिवादीहरूका हकमा अदालतबाटै वारेन्ट म्याद पुर्जी जारी गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।

वारदात मितिको दिन र समयमा म, मिनकेतन गिरी र कृष्णसागर वली तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती होटलमा थियौं । त्यतिखेर होटलमा अन्य ४ जना मानिसहरू पनि थिए । हामी कसैले दाल रोटी, कसैले कोक र मासु खाइरहेका थियौं । केही केटाहरूले टि.भी. हेरी बसेका थिए । टि.भी. को साउन्ड अलि ठुलो थियो । त्यत्तिकैमा माथिबाट एउटा केटो आयो र टि.भी. को आवाज किन ठुलो गराएको भनी टि.भी. हेरी बसेका केटाहरूलाई भन्यो र विवाद गर्न थाल्यो । अब यहाँ झगडा हुन्छ भनेर, म मिनकेतन र कृष्णसागर वली बाहिर निस्कियौं । त्यसपछि त्यहाँ होटलमा के भयो मलाई केही थाहा भएन । मसमेत भई फेरि होटलमा फर्केर गई पीडितलाई अपहरण गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी झुट्ठा 

हो । मौकामा प्रहरीले आफूखुसी के के लेखेको कागजमा सही गराएका हुन्‌ मेरो आफ्नो स्वेच्छाको बयान नभई जबरजस्ती सहीछाप गराएका हुन्‌ । मैले पीडितलाई अपहरण गरी सामूहिक जबरजस्ती करणी गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी सचिन योगीले सुरू अदालतमा गरेको बयान ।

उक्त वारदात मिति र समयमा म तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती होटलमा थिएँ । मसँग नवीन बस्नेत, बुद्धी के.सी., चन्द्र वि.एम र यादव टण्डनसमेत गरी ५ जनाको ग्रुप भई चिसो पिइरहेका थियौं । त्यसबखत हाल चिनेका प्रतिवादी सचिन योगी र अन्य २ जना नचिनेको मानिस पनि त्यहाँ होटलमा केही चिज खाइरहेका थिए । सो समयमा टि.भी. मा फुटबल म्याच हेरी बसेको अवस्थामा माथि तलाबाट एउटा केटा आई किन टि.भी. को साउन्ड ठुलो गराएको भनी हामीहरूसँग झगडा गर्न थाल्यो । त्यसपछि माथिबाट एउटी केटीसमेत आई झगडा छुट्याएकोले ती केटा केटीलाई त्यहीँ छाडी म र यादव टण्डन खत्री तुलसीपुर वडा.नं. ६ बस्ने चमन के.सी. को घरमा गई सुतेका हौं । हामी २ जना पुन: फर्केर उक्त होटलमा आएका होइनौं अन्य केटाहरू पनि आ-आफ्नो घर गएका हुन्‌ । हामी २ जना सँगै चमनको घर गएकोले पीडितलाई जबरजस्ती करणी गरेका होइनौं । जाहेरी एवं अभियोग बेहोरा सम्पूर्ण झुट्ठा हो भन्नेसमेत बेहोराको सुनिल वलीले सुरू अदालतमा गरेको बयान ।

उक्त मिति र समयमा म, सुनिल वली, नविन बस्नेत, चन्द्र वि.एम, बुद्धि प्रकाश भई तुलसीपुर नयाँबसपार्क स्थित न्यू राप्ती होटलमा नास्ता खाँदै टि.भी. हेरी बसेका थियौं । त्यसै समयमा टि.भी को आवाज किन ठुलो गराएको भनी एकजना केटा माथिल्लो तलाबाट झरी झगडा गर्न थाल्यो र टि.भी. बन्द गर्न लगायो । त्यसपछि त्यो केटाले माथिबाट केटीलाई लिएर राति नै भाग्न लागेको र हामी पनि त्यसको पछि लागि ढोका बाहिर गयौं र हामी ५ जनाले उक्त केटालाई सामान्य कुटपिट गर्‍यौं । केटीले झगडा छुट्याउन खोज्दा निजलाई पनि केही चोट लागेको हुन सक्छ तर कुटपिट गरेनौं । त्यसपछि म र सुनिल वली घरमा सुत्‍न गयौं । म र सुनिल वलीले उक्त केटीलाई जबरजस्ती करणी गरेका होइनौं, को कसले जबरजस्ती करणी गरेका हुन्‌ थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी यादव टण्डन (खत्री) ले सुरू अदालतमा गरेको बयान । 

जाहेरवालीलाई मैले चिनेको छैन । मिति २०६७।३।१५ गतेको राति अं. ८ बजेतिर मलगायत सबै प्रतिवादीहरू न्यू राप्ती गेष्ट हाउस तुलसीपुरमा नास्ता खाइरहेका थियौँ । त्यस्तैमा टि.भी.मा वर्ल्डकप फुटबल दिएकोले बसेर खेल हेरिरहेका थियौं । जाहेरवालीलाई घोराहीमा बस्ने एउटा केटाले त्यही होटलमा लगेर राखेको रहेछ । केही छिनपछि जाहेरवालीलाई लिएर राखेको सो मानिसले टि.भी.को आवाज ठुलो भयो सानो गराउ भनेर सानो बनाइदियो । त्यसपछि हामीसँग बसेका साथी सुनिल, चन्द्र, नविन र यादवहरू उक्त व्यक्तिसँग भनाभन गर्न लागे । त्यस्तैमा सो कुराले ठुलो रूप लिन्छ कि भन्ने सोचेर म त्यहाँबाट उठी आफ्नो घरतिर लागेको हुँ । मैले जाहेरवालीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको होइन । अरू को कसले जबरजस्ती करणी गरे सो पनि मलाई केही थाहा छैन अभियोग दाबी झुट्ठा भएकोले सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धि प्रकाश के.सी.ले सुरू अदालतमा गरेको बयान ।

जाहेरवालीलाई मैले चिनेको छैन । उक्त दिनको राति यस मुद्दाका प्रतिवादी सचिन योगी, कृष्णसागर वलीसँग साँझको ५, ६ बजेतिर भेट भएको हो । त्यसभन्दा पछि म आफ्नै घरमा छु । म प्रस्तुत घटनामा संलग्न छैन । जाहेरी एवं अभियोग बेहोरा सम्पूर्ण झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी मिनकेतन गिरीले सुरू अदालतमा गरेको बयान ।

उक्त मिति र समयमा म आफ्नै घरमा थिएँ । यस वारदातमा मेरो कुनै संलग्नता छैन । झुट्ठा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुरेश के.सी.ले सुरू अदालतमा गरेको बयान ।

उल्लिखित मितिमा म तुलसीपुर बजारमा थिएँ । सोही दिन साँझ करिब ५ बजेको समयमा प्रतिवादीमध्येका सचिन योगी, मिनकेतन गिरीसँग न्यू राप्ती गेष्ट हाउसमा नास्ता खान भनेर गर्यौं । त्यहाँ जाँदा केही केटाहरूले होटलमा होहल्ला गरिरहेका थिए । त्यहाँ वादविवाद भइरहेको थियो । त्यहाँबाट हामीहरू निस्किएर गएपछि के भयो हामीलाई थाहा भएन । त्यसपछि हामी सचिन योगी, मिनकेतन गिरी र म मिनकेतनको तुलसीपुर रजौरा स्थित घरमा गएर सुतेका हौं । अन्य प्रतिवादीहरू कहाँ थिए थाहा भएन । पीडित जाहेरवाली लक्ष्मी को हुन्‌, कहाँ थिइन्‌ मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी कृष्णसागर वलीले सुरू अदालतमा गरेको बयान ।

उक्त मिति र समयमा म प्रतिवादी मिनकेतन गिरीको घरमा गएको थिएँ । सो समयमा विश्वकप फुटबल भएकोले फुटबल प्रतियोगिता हेर्न भनी मिनकेतन, निजको भाइ चेतन र म राति १:३० बजेसम्म सँगै टि.भी. हेरेर मिनकेतनको घरमा बसेको थियौं । खेल हेरिसकेपछि मिनकेतन र निजको भाइ आफ्नो कोठामा सुत्न गए । घरनजिक भएकोले म पनि घर फर्केको 

हुँ । यस वारदातमा प्र. मिनकेतन गिरीको संलग्नता छैन भन्नेसमेत बेहोराको प्र. मिनकेतन गिरीका साक्षी अमित देवकोटाले गरेको बकपत्र ।

उक्त समयमा म आफ्नै घरमा थिएँ । रातको अन्दाजी १०:३० बजेतिर प्रतिवादी यादव टण्डन खत्री र अर्का प्रतिवादी सुनिल वली मेरो घरमा 

आए । सो समयमा अलि अलि पानी परेको हुनाले तिनीहरू सो रात मेरै घरमा बास बसेका र भोलिपल्ट ७ बजेतिर चिया पिएर मेरो घरबाट हिँडेका हुन्‌ । यी प्रतिवादीले आरोपित कसुर नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी यादव टण्डन खत्रीका साक्षी चमन के.सी.ले गरेको बकपत्र ।

मिति २०६७।३।१५ गते साँझ म आफ्नै घरमा थिएँ । जाहेरवाली लक्ष्मी शाही कहाँ थिइन् थाहा भएन । प्रतिवादीमध्येका सचिन योगी, मिनकेतन गिरी र कृष्णसागर वली सो दिन राति अन्दाजी १०:३० बजे मेरो घरमा आएका र सो राति मेरै घरमा बास बसेका हुन्‌ । निजहरू यस वारदातमा संलग्न छैनन्‌ भन्नेसमेत बेहोराको सचिन योगीका साक्षी दिपु गिरीले गरेको बकपत्र ।

मिति २०६७।३।१५ गतेका दिन साँझ ९ बजेदेखि राति करिब १२ बजेसम्म कुलोपानीको विषयमा छलफल भएकाले मलगायत प्रतिवादी बुद्धि प्रकाश के.सी. र गाउँलेहरूसमेत बुद्धि प्रकाश के.सी.को घरमा थियौं । जाहेरवाली लक्ष्मी शाही कहाँ थिइन्‌ थाहा भएन । सो समयमा प्र. बुद्धिप्रकाश के.सी. हामीसँगै भएकोले निजको यस वारदातमा संलग्नता छैन भन्नेसमेत बेहोराको प्र. बुद्धि प्रकाश के.सी.का साक्षी हरि के.सी.ले गरेको बकपत्र ।

उक्त दिनको साँझ अन्दाजी ६ बजेतिर प्र. सुरेश के.सी.को बाबुले मलाई आफ्नो घरमा बोलाएकोले म त्यहाँ गएको थिएँ । प्रतिवादी सुरेश के.सी.पनि त्यहीँ आफ्नै घरमा थिए । जाहेरवाली कहाँ थिइन् थाहा 

भएन । सो रात म सुरेश के.सी.कै घरमा बास बसेको र प्र. सुरेश के.सी. पनि मसँग भएको हुनाले प्रतिवादी सुरेश के.सी.को यस वारदातमा कुनै संलग्नता छैन भन्नेसमेत बेहोराको सुरेश के.सी.का साक्षी वेदप्रसाद भण्डारीले गरेको बकपत्र ।

पीडित जाहेरवालीलाई को कसले सामूहिक रूपमा जबरजस्ती करणी गरेका हुन्‌ । उक्त घटनाका बारेमा मलाई कुनै थाहा छैन भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी परशुराम पुनले गरेको बकपत्र ।

जाहेरवाली लक्ष्मी शाही नागरिकता बनाउन भनी आफ्नो घर चुनवाङ रूकुमबाट खलंगा मुसिकोट गई नागरिकता बनाई नेपालगन्ज जाने सिलसिलामा रूकुमबाट बसमा चढी दाङ तुलसीपुर आएकी र सो दिन तुलसीपुर स्थित न्यू राप्ती होटलमा कोठा लिएर बसेकी रहिछन्‌ । आफू एक्लै भएकोले रोल्पा घर ठेगाना भएका दाजु नाता पर्ने मदन के.सी.लाई फोन गरी बोलाएकोमा सँगै बसेका रहेछन्‌ । साँझ करिब छ बजेतिर खानपिन गरी यी जाहेरवालीहरू आफ्नो कोठामा सुतेको अवस्थामा यी प्रतिवादी सचिन योगीको समूह आई टि.भी.को आवाज ठुलो गराई होहल्ला गरेपछि निज मदन के.सी.ले होटल साहु केवल बस्नेतलाई टि.भी.को आवाज सानो गराउनुपर्‍यो भनी भन्न आउँदा यी प्रतिवादीहरूले को हो यो भन्दै निजहरू सुतेको कोठामा गई ढोकामा हानेछन्‌ । ढोका नखोलेपछि प्रतिवादीहरूले जोडतोडले ढोकामा हानी डर धम्की दिएकोले मदन के.सी.ले ढोका खोल्दा यी प्रतिवादीहरूले मदन के.सी.लाई कुटपिट गरेको र जाहेरवालीलाई लछार पछार गरी होटलबाट बाहिर पश्चिमतर्फ पातुखोलामा लगी पालैपालो सामूहिक रूपमा जबरजस्ती करणी गरेका हुन्‌ भनी जाहेरवालीले घटनाबारे सबै कुरा बताएपछि थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी रमिला बुढाले गरेका बकपत्र ।

उक्त मितिमा म बिहान रूकुमबाट बसमा चढी नेपालगन्ज जान भनी साँझ तुलसीपुर आई न्यू राप्ती होटलमा कोठा लिई बसेकी थिएँ । साथमा मेरो दाजु हुनुहुन्थ्यो । सो होटलमा रातको १०:३० बजेतिर केटाहरूले होहल्ला गरिरहेका थिए । हामीहरू खाना खाएर कोठामा गइसकेका थियौं । करिब ११:३० बजेतिर होहल्ला गर्ने केटाहरूले हामी सुतेको कोठाको ढोका हान्न थाले । केही बेरसम्म ढोका खोलेनौं । त्यसपछि पनि तिनीहरूले ढोका खोल नत्र मारिदिन्छौं भनेपछि दाजु मदन के.सी.ले ढोका खोल्नुभयो । ढोका खोल्नासाथ ती केटाहरूले दाजु मदन के.सी. लाई अन्धाधुन्ध कुटपिट गर्न थाले । मैले ढोकाबाहिर चियाउन लाग्दा मलाई पनि ती केटाहरूले हातपात 

गरे । म डराएर होटल साहुजीको कोठामा पुगे । ती केटाहरू त्यहीँ पनि पुगेर मलाई हात पाखुरा समाई मर्‍याकमुरूक पारी अपशब्द बोल्दै मलाई सो होटलबाट लछार पछार गरी बाहिर निकाली पश्चिमतर्फ पातु खोलाको बगरमा लगी पालैपालो गरी मलाई जबरजस्ती करणी गरेका हुन्‌ । उक्त वारदातमा मलाई सामूहिक रूपमा जबरजस्ती करणी गर्नेहरूमा प्रतिवादीहरू सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरी, बुद्धिप्रकाश के.सी., नविन बस्नेत, सुनिल वली, यादव टण्डन खत्री, चन्द्र वि.एम. समेत गरी ८ जना हुन्‌ । प्र. राजिव कोइराला र प्र. सुरेश के.सी.ले मलाई जबरजस्ती करणी गरेका होइनन्‌ भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित जाहेरवाली लक्ष्मी शाहीले गरेको बकपत्र ।

वारदात भएको मिति र समयमा म मेरो होटल न्यू राप्ती होटलमै थिएँ । सो दिन ४:३० बजेतिर जाहेरवाली र एकजना केटा बास बस्न भनी मेरो होटलमा आई माथिल्लो तल्लाको २ नं. कोठामा बसेका हुन्‌ । निजहरू साँझको खाना खाई सुतिरहेको समयमा प्रतिवादीहरू करिब ११ बजेतिर होटलमा प्रवेश गरी होहल्ला गरी जाहेरवालीको कोठाको ढोका ढकढक्याई जोर जबरजस्ती गरी ढोका खोल्न लगाई त्यही सुतिरहेका केटालाई कुटपिट गरी त्यहाँबाट ती केटा भागेर गएपछि प्रतिवादीहरूले जाहेरवालीलाई पनि हातपात गरेपछि निज जाहेरवाली भागेर मेरो कोठामा आएकी हुन्‌ । मैले ती केटाहरूलाई यस्तो जबरजस्ती व्यवहार नगर्नुहोस् भनी सम्झाउँदा पनि नमानी तिनीहरूले जाहेरवालीलाई जबरजस्ती होटलबाट बाहिर लछार पछार गरी लगेका हुन्‌ । त्यस बखत जाहेरवालीले हार गुहार मागिरहेकी थिइन्‌ । यी प्रतिवादीहरूले जाहेरवालीलाई जबरजस्ती करणी गरेका हुन्‌ भन्नेसमेत बेहोराको न्यू राप्ती होटलका सञ्चालक मौकामा कागज गर्ने सुशिला बस्नेतले गरेको बकपत्र ।

उक्त मिति र समयमा म मिनकेतन गिरीको घरमा गएको थिएँ । सो दिन साँझ ६:३० बजेदेखि ऐ. राति १.३० बजेसम्म मिनकेतन गिरीकै घरमा विश्वकप फुटबल खेल हेरी बसेको थिएँ । सो खेल हेरिरहेका बेला प्र. कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगी पनि त्यहाँ आइपुगे र हामी सबैले एउटै कोठामा बसी टि. भी. मा फुटबल खेल हेरी बसेका थियौं । प्र. कृ‌ष्णसागर वली वारदात समयमा म सँगसँगै मिनकेतन गिरीको घरमा भएकोले निज यस वारदातमा संलग्न छैनन्‌ भन्नेसमेत बेहोराको प्रतिवादी कृष्णसागर वलीका साक्षी अमित देवकोटाले गरेको बकपत्र ।

फरार रहेका प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एम. र राजिव कोइराला जना ३ प्रतिवादीहरूको जबरजस्ती करणीतर्फको मुद्दाको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तबीमा राखिदिएको छ । अपहरणतर्फको कसुरमा यी प्रतिवादीहरू तीनै जनालाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ र ७ नं. बमोजिम जनही कैद वर्ष ४ (चार) हुने ठहर्छ । क्षतिपूर्तिका सम्बन्धमा शारीरिक एवं मानसिक क्षतिलाई समेत विचार गरी ऐ. महलको १२ नं. बमोजिम जनही पाँच / पाँच हजार पीडितले निज प्रतिवादीहरूबाट भराई पाउने ठहर्छ । प्रतिवादीहरू सचिन योगी, कृ‌ष्णसागर वली, मिनकेतन गिरी जना ३ (तीन) लाई मुलुकी ऐन, जबरजस्ती करणीको  महलको ४ नं. बमोजिम जनही कैद वर्ष २ (दुई) हुने ठहर्छ । प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली, यादव टण्डन खत्री, सुरेश के.सी का हकमा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) तथा ३(क) नं. बमोजिम जनही कैद वर्ष १० (दश) हुने ठहर्छ । साथै ऐ. १० नं. बमोजिम यी चारजना प्रतिवादीहरूले जनही रू.५०,०००।- (पचास हजार) का दरले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने ठहर्छ । मूल जाहेरी र पूरक जाहेरीमा केही बेहोरा फरक लेखाई, अदालतमा बकपत्र गर्दासमेत आंशिक रूपमा फरक बेहोरा लेखाएबाट यी जाहेरवालीलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ (२)(क) नं. बमोजिम रू.३०००।- (तीन हजार) जरिवानासमेत हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति २०६८।३।२६ को फैसला ।

अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा हामीलाई पढ्न सुन्न नदिई मानसिक यातना दिई, हामीलाई थाहा नै नभएको हाम्रो भनिएको बयानमा जबरजस्ती सहीछाप गराइएको, जाहेरवालीसँग रहेका मदन के.सी. सँग सामान्य वादविवाद भएपछि सामान्य हात हालाहाल भएको र विवादले ठुलो रूप लिन्छ कि भनी हामी साथी चमन के.सी.को घरमा गएका हौं । हामीले पीडित भनिएकी जाहेरवालीलाई अपहरण तथा जबरजस्ती करणी गरेका होइनौं भनी हामीले अदालतमा बयान गरेको, सुरू जाहेरीमा प्रतिवादीमध्येको म सुनिल वली तथा यादव टण्डनको नाम उल्लेख गर्न नसकेको, दोस्रो जाहेरीमा नाम उल्लेख गरे पनि के कुन आधारबाट बुझी हामीसमेतको संलग्नता रहेको थाहा हुन आयो स्पष्ट नभएको, तत्काल सो वारदातका प्रत्यक्षदर्शी भनिएका कागज गर्ने होटलका मालिक केवल बस्नेत, होटलमा बसेका ग्राहक वीरबहादुर बुढाथोकी, पीडितसँगै एउटै कोठामा बसेका मदन के.सी. समेतका व्यक्तिहरू अदालतमा आई बकपत्र गरेको अवस्था नरहेको, पीडितले वारदातका अवस्थामा र वारदातपछि लगाएका कपडा परीक्षण हुँदा वीर्य तथा वीर्यजन्य पदार्थ नभएको भन्ने उल्लेख भएको स्वास्थ्य परीक्षण प्रतिवेदन, जाहेरवालीको विरोधाभाषपूर्ण बकपत्र तथा हाम्रो इन्कारी बयानलाई पुस्ट्याइँ गर्ने गरी हाम्रा साक्षीहरूले गरेको बकपत्रसमेतका आधार प्रमाणहरूबाट हामी प्रतिवादीहरू निर्दोष रहेको पुष्टि हुँदाहुँदै कसुरदार ठहराई सजाय गरिएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने प्रतिवादीहरू बुद्धिप्रकाश के.सी., सुनिल वली, यादव टण्डन खत्रीको पुनरावेदन अदालत तुलसीपुरमा परेको संयुक्त पुनरावेदन ।

हामी तीन जना प्रतिवादीहरू न्यू राप्ती होटलमा नास्ता खाइरहेकोमा अर्को टेबलमा बसेर नास्ता खाइरहेका सुनिल वलीसमेतसँग जाहेरवालीसँग एउटै कोठामा रहेका मदन के.सी.को विवाद तथा होहल्ला हुन थालेपछि हामी घरतर्फ गएका हौँ । जाहेरीमा उल्लिखित घटना हामीबाट भएको होइन भनी म सचिन योगीले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा बयान गरेको र सो कुरा हामी अन्य प्रतिवादीसमेतले बयानमा उल्लेख गरेको, जुन कुरा सुनील वली, यादव टण्डनसमेतको मौकाको बयानमा उल्लेख भएको, पीडितले मिति २०६७।३।१६ मा दिएको जाहेरीमा म सचिन योगीको नाम उल्लेख गर्न नसकेको, सो वारदातका प्रत्यक्षदर्शी भनिएका कागज गर्ने होटलका मालिक केवल बस्नेत, होटलमा बसेका ग्राहक विरबहादुर बुढाथोकी, पीडितसँगै एउटै कोठामा बसेका मदन के.सी. समेतका व्यक्तिहरू अदालतमा आई बकपत्र गरेको अवस्था नरहेको, प्रस्तुत मुद्दाका प्रत्यक्षदर्शीमध्येका केवल बस्नेतसमेतले अदालतमा जाहेरवालीको भनाइलाई पुस्ट्याइँ गर्न नसकेको, पीडितले वारदातका अवस्थामा र वारदातपछि लगाएका कपडा परीक्षण हुँदा वीर्य तथा वीर्यजन्य पदार्थ नभएको भन्ने उल्लेख भएको स्वास्थ्य परीक्षण प्रतिवेदन, जाहेरवालीको विरोधाभासपूर्ण बकपत्र तथा हाम्रो इन्कारी बयानलाई पुस्ट्याइँ गर्ने गरी हाम्रा साक्षीहरूले गरेको बकपत्रसमेतका आधार प्रमाणहरूबाट हामी प्रतिवादीहरू निर्दोष रहेको पुष्टि हुँदाहुँदै कसुरदार ठहराई सजाय गरिएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने प्रतिवादीहरू सचिन योगी, मिनकेतन गिरी, कृष्णसागर वलीको पुनरावेदन अदालत तुलसीपुरमा परेको संयुक्त पुनरावेदन ।

मैले अदालतमा  बयान गर्दा वारदात भएको मिति र समयमा आफू वारदातमा संलग्न नरही घरमा नै रहेको भनी बयान गरेको र सो कुरा मेरा साक्षी वेदप्रसाद डाँगीले अदालतमा गरेको बकपत्रबाट पुष्टि भएको, अन्य प्रतिवादीहरूसमेतले उक्त वारदातमा मेरो संलग्नता थियो भनी उल्लेख नगरेको, मौकामा कागज गर्ने शर्मिला बुढासमेतले सो वारदातमा मेरो संलग्नता रहेको भनी उल्लेख गर्न नसकेको, पीडित भनिएकी लक्ष्मी शाहीले उक्त वारदातमा म संलग्न नरहेको भनी अदालतमा बकपत्र गरेकी, सो वारदातका प्रत्यक्षदर्शी भनिएका कागज गर्ने होटलका मालिक केवल बस्नेत, होटलमा बसेका ग्राहक विरबहादुर बुढाथोकी, पीडितसँगै एउटै कोठामा बसेका मदन के.सी. समेतका व्यक्तिहरू अदालतमा आई बकपत्र गरेको अवस्था नरहेको, पीडितले वारदातका अवस्थामा र वारदातपछि लगाएका कपडा परीक्षण हुँदा वीर्य तथा वीर्यजन्य पदार्थ नभएको भन्ने उल्लेख भएको स्वास्थ्य परीक्षण प्रतिवेदन, जाहेरवालीको विरोधाभासपूर्ण बकपत्रसमेतका आधार प्रमाणहरूबाट म निर्दोष रहेको पुष्टि हुँदाहुँदै कसुरदार ठहराई सजाय गरिएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने प्रतिवादी सुरेश के.सी.को पुनरावेदन अदालत तुलसीपुरमा परेको पुनरावेदन ।

प्रतिवादी नवीन बस्नेत, चन्द्र वि.एम. र राजिव कोइरालालाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ र ७ नं. बमोजिम जनही ४ वर्ष कैद सजाय गरिएको भए पनि ऐ. महलको ३ नं. ले जबरजस्ती करणी गर्ने उद्देश्यले अपहरण गर्नेलाई ७-१५ वर्षसम्म कैद र रू. ५०,०००।- देखि रू.२,००,०००।- सम्म जरिवाना हुने तथा सोही महलको ७ नं. ले थप २ वर्ष कैद सजाय हुनेमा प्रचलित कानूनप्रति उपेक्षा भाव राखी प्रतिवादी जना ३ लाई जनही ४ वर्ष कैद सजाय मात्र गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर भागी रहेको । त्यसैगरी प्रतिवादीहरू सचिन योगी, कृष्णसागर वलीसमेत जना ७ लाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं. बमोजिमको सजायमा ७ नं. बमोजिम थप सजाय गरी ऐ. १२ नं. बमोजिम पीडितलाई निजहरूबाट क्षतिपूर्ति भराइदिनुपर्ने अभियोग दाबी रहेकोमा उक्त दाबी सम्बन्धमा इन्साफ नै नबोलिएको हुँदा अ.बं. १९२ नं. बमोजिम त्रुटिपूर्ण रहेको । प्रतिवादीहरू सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरीबाट पीडितले क्षतिपूर्ति पाउने नपाउने के हो ? त्यसतर्फको दाबीका सम्बन्धमा इन्साफ नै नबोली भएको फैसला त्रुटिपूर्ण रहेको । मिसिल संलग्न पीडितको जाहेरी, पीडितले अदालतमा गरेको बकपत्र, शर्मिला बुढा र परशुराम पुनले गरेको कागज तथा बकपत्र तथा प्रतिवादीमध्येका कृष्णसागर वलीको अदालतसमक्षको बयानसमेतबाट प्रतिवादीहरू कृष्णसागर वली र मिनकेतन गिरी पूर्ण रूपमा कसुरदार रहेको पुष्टि भएकोमा दाबीबमोजिम सजाय नगरी जबरजस्ती करणीको कार्यमा मद्दत दिने भनी ठहर गरेको सुरू फैसला त्रुटिपूर्ण रहेको । त्यसैगरी प्रतिवादी सचिन योगीलाई समेत अभियोग मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा नगरिएकोमा सो हदसम्म सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी पीडितलाई प्रतिवादीहरूबाट क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन ।

मैले सबै प्रतिवादीहरूले पालै पालो सामूहिक रूपमा जबरजस्ती करणी गरेको भनी अदालतमा बकपत्र गरेकी छु । घटना घटेको ७ महिनापछि बकपत्र गर्दा केही कुराहरू तलमाथि हुनु स्वाभाविक भएको, घटनामा संलग्न अभियुक्त वा निजका आफन्तजनबाट पीडितलाई पर्ने धम्की दबाव वा अनुचित प्रभाव जस्ता वास्तविकतालाई नजरअन्दाज गरी घटना घटेको वास्तविकतालाई स्वीकार गरिसकेपछि सोही घटनामा संलग्न केही व्यक्तिहरूलाई अपहरणमा मात्र सजाय गरिएको अवस्थामा मेरो जाहेरी दरखास्त तथा बकपत्रको मर्म र भावना तथा यथार्थतालाई बुझ्दै नबुझी होटल साहुनीको बकपत्रलाई समेत बेवास्ता गर्दै म अपहरणमा परी सामूहिक जबरजस्ती करणीबाट पीडित भएकी नारीलाई जाहेरी र बकपत्रमा आंशिक बेहोरा फरक परेको भनी उल्टै रू. ३,०००।- जरिवाना हुने ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण हुँदा मलाई जरिवाना गरेको र अभियोग दाबीबमोजिम सजाय नभएका प्रतिवादीहरूको हकमा सुरू फैसला बदर उल्टी गरी जरिवाना मुक्त गरिपाउँ भन्ने जाहेरवाली लक्ष्मी शाहीको पुनरावेदन ।

जाहेरवालीको बकपत्र एवं मिसिल संलग्न अन्य प्रमाणहरूको मूल्याङ्कन नगरी र अपहरण तथा शरीर बन्धक लिनेको महलको १२ नं. को अभियोग मागदाबीका सम्बन्धमा केही प्रतिवादीका हकमा नबोलेको सुरू जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनका आधारले फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय तुलसीपुरलाई पेसीका सूचना दिई प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत तुलसीपुरको आदेश ।

प्रतिवादीहरूमध्येका सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरीले अदालत एवं अधिकारप्राप्त अधिकारीसमक्ष समेत आरोपित कसुरमा इन्कार रही बयान गरेका र निजहरूलाई अन्य प्रतिवादीहरूले समेत वारदातस्थलमा रहेका भनी पोल गरेको नदेखिएको अवस्था तथा अर्का प्रतिवादी सुरेश के.सी.ले आरोपित कसुरमा इन्कार रही बयान गरेका र प्रतिवादी सुरेश के.सी.ले आफूलाई जबरजस्ती करणी नगरेको भनी जाहेरवाली स्वयंले अदालतसमक्ष उपस्थित भई बकपत्र गरिदिएको अवस्थामा यी प्रतिवादीहरूले आरोपित कसुर गरेको भन्ने पुष्टि हुन आएको नदेखिँदा निजहरूले आरोपित कसुर गरेको ठहराएको सुरू जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहरी निजहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अन्य प्रतिवादी बुद्धिप्रकाश के.सी. सुनील वली, यादव टण्डन खत्रीसमेतले पीडित जाहेरवाली लक्ष्मी शाहीलाई निज बसेको होटलबाट पातु खोलाको किनारामा जबरजस्ती करणी गर्ने उद्देश्यले नै लगेको तर करणी गर्न नपाएको भन्ने देखिन आएको र सो तथ्य स्तन, स्तनको मुन्टो, घाँटीमा टोकेको निलडाम रहेको भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण रिपोर्टबाट समेत पुष्टि भएको देखिँदा निजहरूले यी पीडित माथि जबरजस्ती करणी गरेको ठहराएको सुरूको फैसला सो हदसम्म उल्टी हुने ठहरी निजहरूले जबरजस्ती करणीको उद्योग गरेको ठहराई जबरजस्ती करणीको महलको ५ नं. बमोजिम निजहरूलाई जनही कैद वर्ष ४ (चार) हुने ठहर्छ । सबुद प्रमाणको अभावमा प्रतिवादीहरूले पीडित जाहेरवालीलाई अपहरण गरेको भन्ने वादी दाबी पुग्न सक्दैन । घटना घटेको तथ्यलाई अदालतले स्वीकार गरिसकेको अवस्थामा जाहेरवाली लक्ष्मी शाहीलाई रू. ३,०००।- जरिवाना हुने ठहराएको सुरू जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने र नविन बस्नेत, चन्द्र वि.एम. बुढामगर र राजिब कोइरालाको हकमा दाबी नपुग्ने हुदाँ उल्टी हुने ठहर्छ भनी पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०६९।०२।०२ मा भएको फैसला ।

प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीलाई सुरू फैसला उल्टी गरी जबरजस्ती करणीको उद्योगमा परिणत गरी सोहीअनुसार सजाय गरेको, प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी, सचिन योगी र सुरेश के.सी.लाई अभियोग दाबीबाट सफाइ दिएको र प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एम. र राजिव कोइरालाका हकमा दाबी नपुग्ने ठहरी भएको पुनरावेदन अदालत तुलसीपुरको फैसला निम्न आधार एवं कारणहरूबाट त्रुटिपूर्ण भई बदरभागी छ:

(१) न्यू राप्ती होटल तुलसीपुर दाङमा बास बसेकी पीडित लक्ष्मी शाहीलाई प्रतिवादीहरूले अपहरण गरी पातुखोलाको किनारमा लगी पालै पालो जबरजस्ती करणी गरेको भन्ने पीडितको मौकाको जाहेरी तथा निजको अदालतको बकपत्र तथा प्रतिवादी बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीसमेतको मौकामा एक अर्कामा पोलापोल गरी लेखाएको बयान तथा होटल सञ्चालक सुशिला बस्नेतसमेतको बकपत्रबाट स्पष्ट खुलेको छ । पीडितले अदालतमा गरेको बकपत्रको स.ज १२ मा त्यतिखेर म मासिकस्रावको अवस्थामा थिए भनी गरेको कागज र उक्त बेहोरालाई पीडितको योनि मार्गमा मासिकस्राव हुँदाको जस्तो रगत देखिएको थियो भन्ने डा. केदारप्रसाद सेन्चुरीले अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ । पीडित लक्ष्मी शाहीको मौकामा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको Veginal Swab मा Sperms (वीर्य) नभेटिएको भन्ने उल्लेख भए तापनि दायाँ चाक तथा यौनाङ्ग वरपर धेरै संख्यामा निलडाम, स्तन, स्तनको मुन्टोमा निलडाम र टोकेको चिह्न भएको Hymen Rapture भएको, मासिकस्रावको रगत बगेको यौन दुर्व्यवहार नभएको भन्न नसकिने भन्ने उल्लेख भएबाट पीडितउपर गम्भीर प्रकृतिको यौनजन्य अपराध भएको स्पष्ट छ ।

(२) फरार रहेका प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एम. र राजिव कोइरालाका हकमा समेत यो यति कारणले पीडितलाई यी प्रतिवादीले अपहरण गरेको होइनन् भनी तथ्य र कारणहरूबाट पुस्ट्याइँ नगरी शरीर बन्धकतर्फको दाबी नपुग्ने भनी फैसला भएको छ । 

(३) प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी, सचिन योगी कसुर गरेकोमा इन्कार रही अदालतमा बयान गरे तापनि आफूहरू अपराधमा संलग्न नरहेको भन्ने कुराको प्रमाण निजहरूले पेस गर्न सकेको 

देखिँदैन । आफूलाई अपहरण गरी, सामूहिक रूपमा जबरजस्ती करणी गर्नमा निजहरूको संलग्नता रहेको थियो भनी जाहेरवालीले बकपत्रको स.ज. ६ मा स्पष्ट रूपमा लेखाइदिएकी छन् । अर्का प्रतिवादी सुरेश के.सी. अपराधमा संलग्न रहेको कुरा पहिलो जाहेरीबाटै स्पष्ट देखिन्छ । 

 

यसरी सबै प्रतिवादीहरूले पीडित लक्ष्मी शाहीलाई अपहरण गरी निर्जन स्थानमा लगी सामूहिक रूपमा जबरजस्ती करणी गरेको तथ्य मिसिल संलग्न उपर्युक्त तथ्य प्रमाणहरूले पुष्टि गरिरहेको अवस्थामा ३ जना प्रतिवादीहरूलाई मात्र जबरजस्ती करणी उद्योगको कसुर ठहर गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन ।

यसमा प्रतिवादीहरू ६ जना मिली रातिको समयमा जबरजस्ती कोठाबाट तानी नदी किनारमा लगी यौन सम्पर्क गरेको भन्ने पीडितको स्पष्ट भनाइ, राप्ती अञ्चल अस्पतालको मिति २०६७।३।१७ को पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा एवं अपहरण गरी लाँदै गर्दा प्रत्यक्ष देख्ने होटल सञ्चालक सुशीला बस्नेतको बकपत्र, प्रतिवादी सचिन योगीसमेत अदालतसमक्षको बयानबाट पीडितको मध्यरातमा अपहरण भएको एवं अपहरणपश्चात् सामूहिक जबरजस्ती करणी भएको भन्ने कुरा प्रस्ट देखिइरहेको अवस्थामा जबरजस्ती करणी उद्योगसम्म ठहर गरेको र अपहरण तथा शरीर बन्धकतर्फ प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एम. बुडामगर, राजीव कोइरालाका हकमा दाबी पुग्न नसक्ने भनी ठहर गरेको तथा प्रतिवादीहरू सुरेश के.सी. कृष्ण सागर वली, मिननिकेतन गिरी र सचिन योगीलाई सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमबमोजिम पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७४।०७।२९ मा भएको आदेश ।

यसमा मौकामा पीडितले योनि परीक्षण गर्ने राप्‍ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केदार प्रसाद सेन्चुरी निज चिकित्सक जहाँ सरूवा भएर गएको भए पनि साबिकमा कार्यरत रहेको अस्पतालले निज चिकित्सकलाई जानकारी गराउने गरी निजलाई अनिवार्य रूपमा उपस्थित हुने गरी ७ दिनको सूचना दिई झिकाई निजले अङ्ग्रेजी र नेपाली दुवैमा दिएको प्रतिवेदनको कुरा उल्लेख गरी बकपत्र गराई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७८।११।१३ मा भएको आदेश ।

उक्त प्रतिवेदन मैले पीडितको योनि परीक्षण गरेपश्चात् दिएको हो । मैले निज पीडितको जाँच गर्दा पीडितको देब्रे स्तनको माथिल्लो र तल्लो भागमा दाँतले टोके जस्तो आलो चोट रहेको थियो । दाहिने स्तनको वरिपरि तथा स्तनको मुन्टामा समेत टोकेको चिह्न रहेको थियो । पीडितको गर्धनको दाहिने भागमा आलो चिथोरेको दाग रहेको थियो । चाकको दाहिने तिरको भागमा निलडाम रहेको थियो । पीडितको यौनाङ्गको वरिपरि धेरै निलडाम रहेको देखिएको थियो भने योनिको भित्री तथा बाहिरी भागमा कुनै निलडाम, घाउ-चोट देखिएको थिएन । पीडितको योनिको कन्याजाली तत्काल च्यातिएको नभई पुरानो च्यातिएको देखिएको थियो । पीडितको योनि मार्गमा मासिकस्राव हुँदाको समयको जस्तो रगत देखिएको थियो । प्रयोगशालामा स्वावको जाँच गर्दा रक्तकोषिका (Blood cell) देखिएको तर शुक्रकीट नदेखिएको पाइयो । यसरी पीडितको जाँचसमेतबाट पीडितमाथि यौन दुर्व्यवहार गर्न प्रयास भएको पाइयो भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण गर्ने राप्‍ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केदार प्रसाद सेन्चुरीले यस अदालतमा उपस्थित भई गरेको बकपत्र ।

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदक नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री बिना दाहालले आफ्नो पुनरावेदन जिकिरलाई समर्थन गर्दै प्रतिवादीहरूले पीडित लक्ष्मी शाहीलाई अपहरण गरी पातुखोलाको किनारमा लगी पालै पालो जबरजस्ती करणी गरेको भन्ने पीडितको मौकाको जाहेरी, सोही बेहोराको अदालतको बकपत्र तथा प्रतिवादी बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीसमेतको मौकामा एक अर्कामा पोल गरी लेखाएको बयान एवं होटल सञ्चालक सुशिला बस्नेतसमेतको बकपत्रबाट स्पष्ट खुलेको छ । पीडितको दायाँ चाक तथा यौनाङ्ग वरपर धेरै संख्यामा निलडाम, स्तनको मुन्टोमा निलडाम र टोकेको चिह्न भएको, Hymen Rapture भएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र हेर्दा पीडितको यौनाङ्गको वरिपरि धेरै निलडाम रहेको र पीडितको मासिकस्राव भएको जस्तो रगत देखिएको भन्ने देखिन्छ । वारदात रातको समयमा भएको र नचिनेका व्यक्तिहरू भएकाले जाहेरीमा सबैको नाम खुलेको नदेखिए पनि अनुसन्धानबाट सबै प्रतिवादीहरूको संलग्नता भएको देखिएको र प्रतिवादीहरूलाई पीडितले चिनी सनाखतसमेत गरिदिएको अवस्था छ । यसरी प्रतिवादीहरूले पीडित लक्ष्मी शाहीलाई अपहरण गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

जाहेरवालीको तर्फबाट विद्वान्‌ अधिवक्ताहरू श्री दिलकुमारी राई, श्री इन्दिरा कुमारी श्रेष्ठ र श्री कुमार अधिकारीले पीडितलाई प्रतिवादीहरूले होटलबाट जबरजस्ती लछार पछार पारी पातुखोलाको बगरमा लगी पालैपालो जबरजस्ती करणी गरेको भन्ने तथ्य प्रतिवादीहरूउपर पीडितले दिएको जाहेरी, पीडितको मौकाको कागज र बकपत्रसमेतबाट पुष्टि भइरहेको छ । मौकामा कागज गर्ने शुशिला बस्नेतले प्रतिवादीहरूले पीडितलाई अपहरण गरी लिएका हुन् भनी लेखाइदिएको र सोही बेहोराको बकपत्रसमेत गरिदिएको देखिन्छ । जबरजस्ती करणीको वारदातमा पीडितको भनाइलाई निर्णयात्मक प्रमाणको रूपमा लिनुपर्ने भन्ने प्रतिपादित सिद्धान्तको आधारमा समेत प्रस्तुत वारदात पुष्टि भैरहेको अवस्थामा पीडितको भनाइतर्फ विचार नगरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला मिलेको छैन । प्रतिवादीहरूले अभियोग मागदाबीबमोजिम सजाय पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ अधिवक्ता श्री दिनमणि पोख्रेलले प्रतिवादीहरूउपरको जाहेरी दरखास्त र अदालतको बकपत्रमा पीडितको भनाइ नै फरक भएको अवस्था छ । जाहेरीमा सबैको नाम किटानीसाथ उल्लेख गर्न सकेको छैन । यादव टण्डन र सुनिल वलीलाई दोस्रो जाहेरीमा मात्र उल्लेख गरेको छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत जबरजस्ती करणी भएको भनी यकिन खुल्न आएको अवस्था 

छैन । प्रतिवादीहरूले अदातलमा बयान गर्दा इन्कार रही बयान गरेको अवस्था छ भने प्रतिवादीहरूको इन्कारी बयान निजका साक्षीहरूको बकपत्रबाट पुष्टि भइरहेको देखिन्छ । यस अवस्थामा प्रतिवादीहरू सचिन योगी र मिनकेतन गिरीलाई आरोपित कसुरबाट सफाइ दिएको पुनरावेदन अदालत तुलसीपुरको फैसला मिलेको हुँदा सोही सदर गरी बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डनले समेत आरोपित कसुरबाट सफाइ पाउनुपर्छ भनी प्रतिवादीहरू सचिन योगी, मिनकेतन गिरी, बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डनको तर्फबाट बहस प्रस्तुत गर्नुभयो । 

विद्वान्‌ अधिवक्ता श्री चुडामणी पौडेलले सुरेश के.सी. ले मौका र अदालतमा बयान गर्दा इन्कारी बयान गरेको देखिन्छ भने सो कुरा पीडितले प्रतिवादी सुरेश के.सी. ले जबरजस्ती करणी गरेका होइनन् भनी गरेको बकपत्रबाट पुष्टि भएको देखिन्छ । प्रतिवादी वारदातस्थलमा नभएको भन्ने निजको बयान तथा निजका साक्षी वेद प्रकाश डाँगीको बकपत्रबाट देखिन्छ । यस अवस्थामा प्रतिवादी सुरेश के.सी. लाई आरोपित कसुरबाट सफाइ दिएको पुनरावेदन अदालत तुलसीपुरको फैसला मिलेको हुँदा सोही सदर हुनुपर्छ भनी प्रतिवादी सुरेश के.सी.को तर्फबाट बहस प्रस्तुत गर्नुभयो । 

विद्वान्‌ अधिवक्ता श्री शालिग्राम सापकोटा र विद्वान्‌ अधिवक्ता श्री नरबहादुर योगीले प्रतिवादी सचिन योगीले मौकामा बयान गर्दा होटलमा विवाद हुन थालेपछि हामी त्यहाँबाट निस्किएका हौं । पछि आउँदा केटी भगाएको भन्ने थाहा पाई खोज्न गएको तर केटीलाई नभेटेपछि हामीहरू घर फर्किएका हौं भनी लेखाएको र प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको अवस्थामा निज प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला मिलेको हुँदा सोही सदर हुनुपर्छ भनी प्रतिवादीहरू कृष्णसागर वली, सचिन योगी, मिनकेतन गिरी र सुरेश के.सी. को तर्फबाट बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ अधिवक्ता श्री लोकमणि पोखरेलले जाहेरी दरखास्तमा यी प्रतिवादीहरूको नाम किटानी साथ उल्लेख गर्न सकेको छैन । पीडितको यौनाङ्गमा वीर्य नदेखिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिन्छ । प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको अवस्थामा जबरजस्ती करणी उद्योगको कसुर गरेको भनी भएको पुनरावेदन अदालत तुलसीपुरको फैसला बदर गरी प्रतिवादीहरू सुनिल वली र यादव टण्डनले आरोपित कसुरबाट सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

प्रतिवादीहरूले मलाई कुटपिट लछार-पछार गरी मेरो पाखुरामा जबरजस्ती समाती मलाई होटलबाट जबरजस्ती आफ्नो साथमा लगी पातुखोलाको बगरमा पुर्‍याई पालै पालो जबरजस्ती करणी गरेकाले मलाई अपहरण गरी जबरजस्ती करणी गर्ने अन्यायीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम थर लक्ष्मी शाहीको जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूले पीडित लक्ष्मी शाहीलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, ३ र ७ नं. बमोजिम सामूहिक रूपमा मिली अपहरण गरी मुलुकी ऐन जबरजस्ती करणीको महलको १, ३(४) नं. तथा ३(क) नं. बमोजिम सामूहिक रूपमा जबरजस्ती करणीको अपराध गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. तथा सोही महलको ७ नं. बमोजिम सजाय गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ (४) नं. तथा सोही महलको ३(क) नं. बमोजिम थप सजायसमेत गरी पाउन र मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १२ नं. तथा जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउन साथै क्षतिपूर्ति भराउने प्रयोजनका लागि प्रतिवादीहरूको अंशलगायतका सम्पत्ति रोक्कासमेत राखी फरार प्रतिवादीहरूका हकमा अदालतबाटै वारेन्ट म्याद पुर्जी जारी गरी कानूनबमोजिम गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ ।

सुरू दाङ देउखुरी जिल्ला अदालतबाट फरार रहेका प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एम. र राजिव कोइराला सहित ३ जना प्रतिवादीहरूको जबरजस्ती करणीतर्फको मुद्दाको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तबीमा राखिदिएको छ । अपहरणतर्फको कसुरमा यी प्रतिवादीहरू तीनै जनालाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ र ७ नं. बमोजिम जनही कैद वर्ष ४ (चार) हुने ठहर्छ । क्षतिपूर्तिका सम्बन्धमा शारीरिक एवं मानसिक क्षतिलाई समेत विचार गरी ऐ. महलको १२ नं. बमोजिम जनही पाँच/पाँच हजार पीडितले निज प्रतिवादीहरूबाट भराई पाउने ठहर्छ । प्रतिवादीहरू सचिन योगी, कृ‌ष्णसागर वली, मिनकेतन गिरीसमेत ३ जनालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. बमोजिम जनही कैद वर्ष २ (दुई) हुने ठहर्छ । प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली, यादव टण्डन खत्री, सुरेश के.सी.का हकमा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) तथा ३(क) बमोजिम जनही कैद वर्ष १० (दश) हुने ठहर्छ । साथै ऐ. १० नं. बमोजिम यी चारजना प्रतिवादीहरूले जनही रू.५०,०००।- (पचास हजार) का दरले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने ठहर्छ । मूल जाहेरी र पूरक जाहेरीमा केही बेहोरा फरक लेखाई, अदालतमा बकपत्र गर्दासमेत आंशिक रूपमा फरक बेहोरा लेखाएबाट यी जाहेरवालीलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ (२)(क) नं. बमोजिम रू.३०००।- (तीनहजार) जरिवानासमेत हुने ठहर्छ भनी दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०६८।०३।२६ मा फैसला भएको देखिन्छ । 

प्रतिवादी राजिव कोइराला फरार रहेकोले मुलुकी ऐन, अ.वं. १९० बमोजिम मुलतबी रहेकोमा मिति २०६९/७/१९ गते पक्राउ परी मिति २०६९/७/२३ गते सुरू जिल्ला अदालतको आदेशले मुलतबी जागेको प्राप्त मिसिलबाट देखिन्छ । मिति २०६९/१०/८ मा सुरू जिल्ला अदालतबाट राजिव कोइरालाले जबरजस्ती करणीको महलको ३ नं. को देहाय ४ तथा ३क नं. बमोजिम आरोपित कसुरबाट सफाइ पाउने फैसला ठहर भएबाट निजले अभियोग मागदाबीतर्फ जबरजस्ती करणीको कसुरमा सफाइ पाएको देखिन्छ र सोउपर नेपाल सरकारको पुनरावेदन अदालतमा पुनरावेदन परेको देखिँदैन । 

सुरू जिल्ला अदालतबाट मिति २०६८।०३।२६ मा भएको फैसलाउपर चित्त नबुझी जाहेरवाली पीडित लक्ष्मी शाही, वादी नेपाल सरकार र प्रतिवादीहरूको तर्फबाट पुनरावेदन अदालत तुलसीपुरमा छुट्टाछुट्टै पुनरावेदन परेकोमा प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीको हकमा सुरू फैसला उल्टी गरी जबरजस्ती करणीको उद्योगमा परिणत गरी सोहीअनुसार सजाय गरेको, प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी, सचिन योगी र सुरेश के.सी. लाई अभियोग दाबीबाट सफाइ दिएको र प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एम. र राजिव कोइरालाका हकमा अपहरण गरेतर्फ दाबी नपुग्ने ठहर गरी पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।

उपरोक्तानुसारको तथ्यगत विषय, पुनरावेदन जिकिर एवम् विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिर एवं प्रतिवादीहरूतर्फका विद्वान्‌ अधिवक्ताहरूको बहस जिकिर तथा मिसिल संलग्न कागजातहरूको अध्ययन गरी इन्साफतर्फ विचार गर्दा वादीको अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूले पीडितलाई अपहरण गरी सामूहिक जबरजस्ती करणीको कसुर गरेको हो वा होइन ? पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा 

होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६७।३।१५ गते राति प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., नविन बस्नेत र चन्द्र वि.एम, यादव टण्डन, कृष्णसागर वली, सुनिल वली, सचिन योगी, मिनकेतन गिरीसमेतले पीडित लक्ष्मी शाहीलाई बसिरहेको होटलको कोठाबाट बाहिर निकाली कुटपिट लछार-पछार गरी मेरो पाखुरामा जबरजस्ती समाती मलाई होटलबाट जबरजस्ती आफ्नो साथमा लगी पातुखोलाको बगरमा पुर्‍याई पालै पालो जबरजस्ती करणी गरेका हुन् भन्ने प्रतिवादीहरूउपर पीडित लक्ष्मी शाहीले दिएको जाहेरी दरखास्तबाट 

देखिन्छ । पीडित नाम परिवर्तित जाहेरवाली लक्ष्मी शाहीले आफ्नो जाहेरी बेहोरालाई पुष्टि गर्दै प्रतिवादीहरूले मलाई सो होटलबाट लछार पछार गरी बाहिर निकाली पश्चिमतर्फ पातुखोलाको बगरमा लगी पालै पालो गरी जबरजस्ती करणी गरेका हुन् । उक्त वारदातमा मलाई सामूहिक रूपमा जबरजस्ती करणी गर्ने हरूमा प्रतिवादीहरू सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरी, बुद्धिप्रकाश के.सी., नविन बस्नेत, सुनिल वली, यादव टण्डन खत्री, चन्द्र वि.एम. समेत गरी ८ जना हुन्‌ । प्रतिवादीहरू राजिव कोइराला र सुरेश के.सी.ले जबरजस्ती करणी गरेका होइनन्‌ भन्ने अदालतसमक्ष बकपत्रसमेत गरेको देखिन्छ ।

३. घटना विवरण कागज गर्ने सुशीला बस्नेतले मेरो होटलको कोठामा बसेकी लक्ष्मी शाहीलाई हातपात लछार पछार गरी जबरजस्ती होटलबाट तल झारी लगेर गएका थिए । लक्ष्मी शाहीलाई पातुखोलाको बगर र खेतमा लगी सामूहिक रूपमा जबरजस्ती करणी गरेका रहेछन्‌ । उल्लिखित वारदात मितिमा प्रतिवादी सचिन योगीलगायतका ५।१० जना प्रतिवादीले लक्ष्मी शाहीलाई होटलबाट अपहरण गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेका हुन्‌ भन्ने बेहोरा लेखाएको र अदालतसमक्ष बकपत्र गर्दासमेत मैले ती केटाहरूलाई यस्तो जबरजस्ती व्यवहार नगर्नुहोस् भनी सम्झाउँदा पनि नमानी तिनीहरूले जाहेरवालीलाई जबरजस्ती होटलबाट बाहिर लछार पछार गरी लगेका हुन्‌ । यी प्रतिवादीहरूले जाहेरवालीलाई अपहरण गरी लगी जबरजस्ती करणी गरेका हुन्‌ भनी आफ्नो मौकाको कागजलाई समर्थन गरेको देखिन्छ ।

४. पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा पीडितको गर्दनको दाहिने भागमा निलडाम (टोकेको) चिथोरिएका चिह्न, दाहिने चाक तथा यौनाङ्ग वरिपरि (२ सि.एम. लम्बाई) धेरै संख्यामा निलडाम दुवै तिघ्रामा रहेको, भित्र कच्छी नलगाएको, कुर्ता लगाएको छेउतिरबाट च्यातिएको, चिसो तथा माटो लागेको, दाहिने स्तन वरिपरि टोकेको चिह्न भएको तथा मुन्टामा टोकेको चिह्न, देब्रे स्तनमा माथिल्लो तथा तल्लो भागमा निलडाम तथा टोकेको चिह्न भएको 

देखिन्छ । उक्त प्रतिवेदनलाई समर्थन गर्ने स्वास्थ परीक्षण गर्ने चिकित्सकको बकपत्रमा पीडितको देब्रे स्तनको माथिल्लो र तल्लो भागमा दाँतले टोके जस्तो आलो चोट रहेको थियो, दाहिने स्तनको वरिपरि तथा स्तनको मुन्टामा समेत टोकेको चिह्न रहेको, पीडितको गर्धनको दाहिने भागमा आलो चिथोरेको दाग रहेको, चाकको दाहिनेतिरको भागमा निलडाम रहेको, पीडितको यौनाङ्गको वरिपरि धेरै निलडाम रहेको देखिएको र पीडितले अदालतमा गरेको बकपत्रको स.ज १२ मा त्यतिखेर म मासिकस्रावको अवस्थामा थिए भनी गरेको कागज र उक्त बेहोरालाई पीडितको योनि मार्गमा मासिकस्राव हुदाँको जस्तो रगत देखिएको थियो भनी स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले बकपत्र गरिदिएको पाइन्छ ।

५. प्रतिवादीहरू सुनिल वली, बुद्धि के.सी., नविन बस्नेत, चन्द्र वि.एम., यादव टण्डन, सचिन योगी र मिनकेतन गिरीले अदालतसमक्ष बकपत्र गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि वारदातको समयमा उक्त होटलमा भएको र पीडितका दाजु मदन के.सी. सँग विवाद र कुटपिटसम्म भएको कुरालाई स्वीकार गरेको देखिन्छ । निज प्रतिवादीहरूले मौकामा बयान गर्दा एकआपसमा पोल गरी बयान गरेको देखिन्छ ।

६. प्रतिवादी सुनिल वलीले कोठामा बसेकी लक्ष्मी शाहीलाई बुद्धि के.सी., नविन बस्नेत र चन्द्र वि.एम. ले हात समाती जबरजस्ती होटलबाट लिई पातुखोलाको बगरमा लगी मसमेतले करणी गरेको 

हो । पछि कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगी पनि आएका थिए भनी कसुरमा साबित रही मौकामा बयान गरेको देखिन्छ । प्रतिवादी सचिन योगीले कृष्णसागर वली र मिनकेतन गिरीसहित आफूसमेत अन्य प्रतिवादीहरूले केटीलाई लिएर गए भन्ने थाहा पाई पछिपछि गएको भनी लेखाएको देखिन्छ ।

७. प्रतिवादी यादव टण्डन (खत्री) को मौकाको बयान हेर्दा बुद्धि के.सी. र नवीन बस्नेतले निज जाहेरवालीलाई दुवै हातको नाडीमा समाती होटलबाट तल झारी पातुखोलाको बगरमा लगिसकेपछि निज लक्ष्मी शाहीलाई पहिला बुद्धि प्रकाश के.सी.ले करणी गर्‍यो, त्यसपछि नवीन बस्नेतले, त्यसपछि चन्द्र वि.एम., त्यसपछि सुनील वलीले करणी गरिसकेपछि मैले पनि करणी गर्नुपर्‍यो भनी आफ्नो लिङ्ग निज लक्ष्मीको योनिमा पसाउन खोज्दा लिङ्ग उत्तेजित नभएकोले हात लगाइ करणी गर्ने प्रयास गरेका हुँ भनी सहप्रतिवादीहरूलाई पोल गरी कसुरमा स्वीकार रहेको देखिन्छ ।

८. तत्कालीन मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को व्यवस्था हेर्दा “कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई, डर, त्रास देखाई, जोरजुलुम गरी, हातहतियार देखाई, छलकपट गरी, झुक्यानमा पारी वा नशालु वा मादक पदार्थ सेवन गराई वा कुनै यातायातको साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई कुनै ठाउँमा जान बाध्य गराउन वा कुनै व्यक्तिलाई निजको मन्जुरी बिना वा नाबालक र मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई निजको हितको निमित्त निजको बाबु, आमा वा संरक्षकको मन्जुरीबाहेक कुनै ठाउँमा लैजान हुँदैन । सो गरे अपहरण गरेको मानिने छ ।” भन्‍ने उल्लेख भएको पाइन्छ । सोही महलको ३ नं. मा “कसैलाई ज्यान लिने, कुटपिट गरी चोट पुर्‍याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, बिक्री गर्ने, दास बनाउने, निजको इच्छा विरूद्ध काममा लगाउने, यातना दिने, वेश्यावृत्तिमा लगाउने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, छुटकारा रकम (फिरौती) लिने वा शरीर बन्धकमा लिइएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने, व्यवसाय समर्पण गराउने वा प्रचलित कानूनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिएबाहेक अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएमा चार वर्षदेखि आठ वर्षसम्म कैद र पच्चिस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ” भन्‍ने उल्लेख भएको पाइन्छ ।

९. त्यसैगरी तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ । योनिमा लिङ्ग केही मात्र प्रवेश गरेको रहेछ भने पनि जबरजस्ती करणी गरेको मानिने छ साथै गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भन्‍ने उल्लेख भएको पाइन्छ ।

१०. उल्लिखित कानूनी व्यवस्था, प्रस्तुत वारदातको अवस्था र तथ्यगत विषयवस्तुलाई हेर्दा प्रतिवादीहरूले होटलमा कोठा लिएर बसिरहेकी पीडित जाहेरवाली लक्ष्मी शाहीलाई कुटपिट लछार-पछार गरी निजको पाखुरामा जबरजस्ती समाती नियन्त्रणमा लिई, रातको समयमा एकान्तस्थलमा लगी, खोलाको बगर तथा खेतमा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदै प्रतिवादीहरूले पालैपालो जबरजस्ती करणी गरेको भन्ने प्रतिवादीहरूउपर पीडित लक्ष्मी शाहीले दिएको जाहेरीबाट देखिएको र उक्त वारदातमा मलाई सामूहिक रूपमा जबरजस्ती करणी गर्नेहरूमा प्रतिवादीहरू सचिन योगी, कृष्णसागर वली, मिनकेतन गिरी, बुद्धिप्रकाश के.सी., नविन बस्नेत, सुनिल वली, यादव टण्डन खत्री, चन्द्र वि.एम. समेत गरी ८ जना हुन्‌ भनी जाहेरी बेहोरालाई पुष्टि हुने गरी बकपत्र गरेको देखिन्छ । पीडितको मौकाको जाहेरी बेहोरा र पीडितको बकपत्रलाई पुष्टि गर्दै मौकामा कागज गर्ने सुशीला बस्नेतले यी प्रतिवादीहरूले जाहेरवालीलाई अपहरण गरी पातुखोलातर्फ लगी जबरजस्ती करणी गरेका हुन्‌ भनी वारदात समर्थन गर्ने बकपत्र 

देखिन्छ । वारदात भएको स्थान पातुखोलाको बगरको बालुवा, गिट्टी मडारिएको, खोस्रिएको, सो स्थानदेखि २५० मिटर पश्चिम बाँझो खेतमा जमिन खोसिएको, दुबो मडारिएको भन्ने बेहोराको घटनास्थल मुचुल्काबाट वारदात भएको देखिन्छ । साथै, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा पीडितको गर्दनको दाहिने भागमा निलडाम (टोकेको) चिथोरिएका चिह्न, दाहिने चाक तथा यौनाङ्ग वरिपरि (२ सि.एम. लम्बाइ) धेरै संख्यामा निलडाम दुवै तिघ्रामा रहेको, भित्र कच्छी नलगाएको, कुर्ता लगाएको छेउतिरबाट च्यातिएको, चिसो तथा माटो लागेको, दाहिने स्तन वरिपरि टोकेको चिह्न भएको तथा मुन्टामा टोकेको चिह्न, देब्रे स्तनमा माथिल्लो तथा तल्लो भागमा निलडाम तथा टोकेको चिह्न भएको भन्ने देखिन्छ । पीडितको यौनाङ्गको वरिपरि धेरै निलडाम रहेको देखिएको र पीडितले अदालतमा गरेको बकपत्रको स.ज. १२ मा त्यतिखेर म मासिकस्रावको अवस्थामा थिए भनी गरेको कागज र उक्त बेहोरालाई पीडितको योनि मार्गमा मासिकस्राव हुँदाको जस्तो रगत देखिएको थियो भन्ने स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्रसमेतबाट उक्त प्रतिवेदन पुष्टि भइरहेको देखिन्छ ।

११. प्रतिवादीहरू सुनिल वली, बुद्धि के.सी., नविन बस्नेत, चन्द्र वि.एम., यादव टण्डन, सचिन योगी र मिनकेतन गिरीले अदालतसमक्ष बकपत्र गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि वारदातको समयमा उक्त होटलमा भएको र पीडितका दाजु मदन के.सी. सँग विवाद र कुटपिटसम्म भएको कुरालाई स्वीकार गरी बयान गरेको 

देखिन्छ । उल्लिखित प्रतिवादीहरूले मौकामा बयान गर्दा पीडितलाई पातुखोलाको बगरमा लिई जबरजस्ती करणी गरेको भनी एकआपसमा पोल गरी बयान गरेको देखिन्छ । यसरी उल्लिखित आधारहरूबाट अभियोग दाबीबमोजिम पीडित लक्ष्मी शाहीउपर अपहरण तथा सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको देखिन आयो ।

१२. यसै सन्दर्भमा होमराज थापा विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दामा “पर्याप्त रक्तस्राव भएको र करणी भएको वा नभएको यकिनसाथ भन्न नसकिने भनी योनि झिल्ली नरहेको र रक्तस्राव भएको भन्ने पुष्टि भइरहेको अवस्थामा करणीबाट रहेको वीर्य रगतसँगै बगेर जान सक्ने भई वीर्य फेला नपर्न सक्ने हुँदा वीर्य फेला नपरेको कारणलाई मात्र आधार बनाई जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट अभियुक्तलाई सफाइ दिनु न्यायोचित हुने नदेखिने । जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति हुँदैन । पीडित नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० (क)(ख) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रूपमा लिनुपर्ने” (ने.का.प.२०७५, अङ्क १०, नि.नं. १०११९) भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यसमा पीडित लक्ष्मी शाहीको यौनाङ्गमा वीर्य नभेटिएको भन्ने निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिए पनि वारदातको समयमा त्यतिखेर म मासिकस्रावको अवस्थामा थिएँ भनी पीडितले गरेको बकपत्र र उक्त बेहोरालाई पीडितको योनि मार्गमा मासिकस्राव हुँदाको जस्तो रगत देखिएको थियो भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गर्ने चिकित्सकको बकपत्र देखिन्छ । यसबाट पीडित, घटना भएको समयमा मासिकस्रावमा रहेको भन्ने देखिन्छ । मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायीक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनु पर्दछ । यस्तो अवस्थामा वीर्य योनिमा नरहनु, बगेर जानुलाई स्वाभाविक मान्नुपर्दछ । यसै सन्दर्भमा, “महिनावारीको इतिहास (चक्र लम्बाइ र अवधि, अन्तिम महिनावारीको मिति) : यदि घटना भएको समयमा पीडितको महिनावारी भइरहेको छ भने महिनावारीको कारणले केही प्रमाणहरू हराएको हुन सक्छन् । त्यसैले घटना वा परीक्षणको समयमा पीडितको महिनावारी भएको थियो कि थिएन भनेर रेकर्ड गर्न महत्त्वपूर्ण हुन्छ” भनिएको पाइन्छ । तसर्थ, घटनाको अवस्था हेरी अन्य प्रमाणहरूबाट वारदात भइरहेको पुष्टि हुने अवस्थामा पीडितको योनिमा वीर्य फेला नपरेकै आधारमा मात्र जबरजस्ती करणी भएको थिएन भनी निष्कर्षमा पुगी सफाइ दिन सक्ने अवस्था देखिँदैन ।

१३. त्यसैगरी नेपाल सरकार विरूद्ध सरोज हिङमाङ भएको जबरजस्ती करणी मुद्दामा “जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्ने । प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न नसक्ने । पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाली र मौकामा बुझिएका व्यक्तिको भनाइ, पीडिताको शारीरिक परीक्षण, अनुसन्धान अधिकारीसमक्ष कसुरमा एकआपसमा पोल गरी गरेको साबिती बयानलगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दाबीबाट सफाइ दिँदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुन जाने” (ने.का.प.२०६७, अङ्क ९, नि.नं. ८४६९) भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

१४. यसरी वारदात रातको समयमा भएको र नचिनेका व्यक्तिहरू भएकाले जाहेरीमा सबैको नाम खुलेको नदेखिए पनि अनुसन्धानबाट सबै प्रतिवादीहरूको संलग्नता भएको देखिएको र प्रतिवादीहरूलाई पीडितले चिनी सनाखत गरिदिएको अवस्था देखिन्छ । प्रतिवादीहरूले एकअर्कालाई पोल गरी करणी गरेको कुरामा स्वीकार रही मौकामा बयान गरेको, पीडितले अनुसन्धानको क्रममा र अदालतमा समेत आफूलाई प्रतिवादीहरूले अपहरण गरी सामूहिक जबरजस्ती करणी गरेको भनी प्रस्ट रूपमा लेखाई दिएको र निज पीडितको भनाइलाई घटनास्थल मुचुल्का, घटना विवरण कागज, स्वास्थ्य परीक्षण प्रतिवेदन, घाउ जाँच केस फाराम, मौकामा गरेको कागज, प्रतिवादीहरूको बयान तथा पीडितको बकपत्रले समेत कसुर पुष्टि गरेको अवस्थामा यी प्रतिवादीहरूले अपहरण तथा जबरजस्ती करणी गरेको होइन भनी निज प्रतिवादीहरू निर्दोष रहेको भन्‍न मिल्ने 

देखिँदैन । तसर्थ: जाहेरी दरखास्तमा सबै प्रतिवादीहरूको नाम किटानीसाथ उल्लेख नभएको र पीडितको यौनाङ्गमा वीर्य नदेखिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण तथा प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको अवस्थामा प्रतिवादीहरूले आरोपित कसुर गरेको पुष्टि नभएको भन्ने प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान्‌हरूको बहस जिकिरसँग सहमत हुन सकिएन । 

१५. अब प्रतिवादीहरूउपर अभियोग मागदाबीबमोजिमको अपहरण तथा सामूहिक जबरजस्ती करणीको कसुर कायम भएको अवस्थामा प्रतिवादीहरूमध्ये को कसको के कस्तो संलग्नता रहेको देखिन्छ भन्ने सम्बन्धमा विवेचना गर्दा प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीले पीडित लक्ष्मी शाहीलाई अपहरण गरी सामूहिक जबरजस्ती करणी गरेको भन्ने उल्लिखित वारदातमा संलग्नता रहेकोमा साबित रही एक अर्कालाई पोल गरी मौकामा बयान गरेको र उक्त कुरा जाहेरवाली पीडितलगायत बुझिएका व्यक्तिहरूको कथन र प्रतिवादीमध्येबाट मौकामा भएको बयानबाट पनि समर्थित भइरहेको अवस्था छ । प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीसमेतले आफूलाई करणी गरेको भन्ने बेहोराको पीडित जाहेरवालीको बकपत्र, चिकित्सकले अदालतमा स्वास्थ्य परीक्षण प्रतिवेदनललाई समर्थन हुने गरी गरेको बकपत्र तथा रमिता बुढा, सुसिला बस्नेतसमेतले अदालतमा गरेको बकपत्रबाट एक स्पष्ट देखिने गरी अपहरणसहित सामूहिक जबरजस्ती कारणीको वारदात भएको देखिइरहेको अवस्थासमेतबाट निजहरूले उल्लिखित दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएकोमा प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीलाई अपहरणतर्फको अभियोग मागदाबीबाट सफाइ दिने तथा पुनरावेदन अदालत तुलसीपुरबाट भएको जबरजस्ती करणी उद्योगको मात्र ठहर भएको पुनरावेदन अदालत तुलसीपुरको फैसला विवेक र न्यायसम्मत्‌समेत देखिन आएन । 

१६. अब प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीलाई पुनरावेदन अदालतबाट फैसला हुँदा अभियोग दाबीबाट सफाइ दिएको देखिन्छ । पीडितले यी प्रतिवादीहरूलाई सुरू जाहेरीमा किटान गर्न नसकेको भए पनि अनुसन्धानको क्रममा सचिन योगीलाई चिनि सनाखत गरिदिएको देखिन्छ । पीडितको बकपत्रबाट यी प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने दाबी रहेको भए तापनि निज प्रतिवादीहरूले मौका र अदालतको बयानमा समेत वारदातको समयमा उक्त होटलमै रहेको र पीडितलाई अन्य प्रतिवादीहरूले लिएर गएपछि खोज्न भनी अन्य प्रतिवादीहरूसँगै पछि पछि गएका हौं । खेतमा सुनिल वलीलाई भेट्दा पीडितलाई निजहरूले करणी गरेको भन्ने थाहा पाएको हो भनी वारदातस्थलमा गएको कुरासम्म स्वीकार गरे पनि पीडितलाई जबरजस्ती करणी गरेकोमा इन्कार रही बयान गरेको देखिन्छ । प्रतिवादीहरू सुनिल वली, चन्द्र वि.एम.समेतले निज ३ जना पछि पछि खेतमा आएका थिए भनी लेखाएको तर निजहरूले पीडितलाई जबरजस्ती करणी गरेका हुन् भनी मौकामा बयानसमेत भएको अवस्था रहेको देखिँदैन । यसरी प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीले समेत पीडतलाई जबरजस्ती करणी गरेको हो भन्ने पीडितको बकपत्र मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणहरूबाट शंकारहित तवरबाट पुष्टि हुन सकेको देखिएन । तर यी प्रतिवादीहरू वारदातको समयमा वारदातस्थलमै रहेको, पीडितलाई खोजी गरेको र पीडितउपर जबरजस्ती करणीको कसुर भएको भन्ने जान्दा जान्दै पनि निजको बचाउ गर्न तथा प्रहरीलाई खबर गर्नुपर्नेमा सो नगरी होटलमा नै बसेको 

देखिन्छ । यसबाट प्रस्तुत वारदातमा निजहरूको संलग्नता नै नभएको भन्न मिल्ने देखिएन । उल्लिखित तथ्य एवं. तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणी महलको ४ नं. मा “जबरजस्ती करणी गर्ने भएको कुरा जानी थाहा पाई हुल गरी सँगै लागी जाने समाउने र सो काममा मद्दत दिनेलाई जनही तीन वर्षसम्म कैद गर्नुपर्छ.....” भन्ने कानूनी व्यवस्थासमेत रहेकोमा निज प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीले मुलुकी ऐन, जबरजस्ती करणी महलको ४ नं. बमोजिमको कसुर गरेको देखिन 

आयो । तसर्थ, निज प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिएको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन ।

१७. पुनरावेदनबाट सफाइ पाएका अर्का प्रतिवादी सुरेश के.सी. र मुल्तबीबाट जागी सुरू जिल्ला अदालतबाट सफाइ पाएका राजिव कोइरालाको हकमा विचार गर्दा पीडित जाहेरवालीले अदालतमा बकपत्र गर्दा प्रतिवादी राजिव कोइराला र सुरेश के.सी.ले जबरजस्ती करणी गरेका होइनन् भनी बकपत्र गरेको देखिन्छ । पीडितको घटना विवरण कागज र मौकाको कागजमा समेत यी प्रतिवादीहरूको नाम उल्लेख भएको देखिँदैन । प्रतिवादी सुरेश के.सी.ले वारदात समयभन्दा केही अगाडि होटलमा रहेको भएपनि वारदात हुँदा सो स्थलमा नभएको भनी कसुरमा इन्कार रही मौकामा बयान गरेको र निजले अदालतमा उपस्थित भई बयान गर्दासमेत आरोपित कसुरमा इन्कार रही बयान गरेको अवस्था छ । साथै निजलाई अन्य प्रतिवादीहरूले समेत पोल गरेको देखिँदैन । प्रतिवादी राजिव कोइराला अदालतमा उपस्थित भई बकपत्र गर्दा वारदात मितिमा म ससुराली घर प्युठानमा थिएँ । उक्त समयमा प्रतिवादीहरू कहाँ थिए र जाहेरवाली कहाँ थिइन् मलाई थाहा छैन भनी कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । यस स्थितिमा प्रतिवादीहरू सुरेश के.सी र राजिव कोइरालालाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको फैसलालाई अन्यथा भन्न मिलेन, त्यसतर्फ नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अवस्था रहेन । 

१८. प्रतिवादीहरू नवीन बस्नेत र चन्द्र बुढामगर फरार रहेकोमा निजहरूको हकमा जबरजस्ती करणीको अभियोग दाबीतर्फ सुरू जिल्ला अदालतबाट अ.वं. १९० बमोजिम मुलतबी राखिएको हुँदा यस मुद्दाको रोहमा केही विचार गरिरहनु परेन । प्रतिवादी सुनिल वलीले कोठामा बसेकी लक्ष्मी शाहीलाई बुद्धि के.सी., नविन बस्नेत र चन्द्र वि.एम. ले हात समाती जबरजस्ती होटलबाट लिई पातुखोलाको बगरमा लगी मसमेतले करणी गरेको हो भनी लेखाएको देखिन्छ । जाहेरवालीले बकपत्र गर्दा आफूलाई अपहरण गरी जबरजस्ती करणी गर्नेमध्ये यी प्रतिवादीहरूको नामसमेत उल्लेख गरेकोसमेतबाट यी प्रतिवादीहरूको प्रस्तुत वारदातमा संलग्नता रहेको देखिँदा अपहरणतर्फको अभियोग दाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको भन्न मिल्ने देखिएन ।

१९. अपहरणसहित सामूहिक जबरजस्ती करणीको प्रस्तुत वारदात जघन्य, बर्बर र अमानविक प्रकृतिको देखिएको बेहोरामाथि उल्लिखित तथ्यबाट देखिइसकेको छ । एउटा होटलको कोठामा शान्तिपूर्वक रात बिताइरहेको महिलालाई कोठाको ढोका जबरजस्ती खोल्न लगाई सँगै रहेको साथीलाई कुटपिट गरी भगाई महिलालाई लछारपछार गर्दै अपहरण गरी खोलाको बगरमा लगी शरीरका संवेदनशील अंगहरूमा टोकी, चिथोरी घाउ नै घाउ बनाई, पालैपालो एक ठाउँबाट अर्को ठाउँमा लगी रातभर जबरजस्ती करणी गरी हिलाम्मे, कपडा च्यातिएको अवस्थामा निरिह बनाई छोड्ने घृणित अपराजन्य कार्य कुनैपनि समाज र कानूनी व्यवस्थाले स्वीकार्न सक्दैन । सामूहिक रूपमा जबरजस्ती करणीमा परेको भनी आघात रहेकै अवस्थामा दिएको जाहेरी दरखास्त र घटना घटेको लामो समयपछि बकपत्र गर्दा जाहेरी र बकपत्रमा उल्लेख गरिएको केही बेहोरा फरक पर्न सक्ने कुरालाई नकार्न सकिन्न । यस अदालतले त्यस्तो बेहोरालाई आधार मानी पीडितलाई सजाय गर्ने वा प्रतिवादीहरूलाई सफाइ दिने सम्बन्धमा केही व्याख्या गरेको पाइन्छ । “मौकामा पीडितले व्यक्त गरेको र अदालतमा बकपत्रमा देखिएको सामान्य फरकलाई प्रधानता दिई कसुरजन्य अवस्था र परिस्थितिको मूल्याङ्कन नगरी वारदात नै स्थापित नभएको ठहराई कसुर अपराधबाट छुट हुने गरी सफाइ दिनु त्रुटिपूर्ण हुन जाने” भनी (ने.का.प. २०७५, अङ्क १०, नि.नं. १०११९) मा भनिएको छ । त्यस्तै “After thought को तर्कलाई अन्य प्रमाणहरूको अवस्था, पीडितको परिस्थिति तथा पीडितले आरोपीहरूलाई फसाउने मनसाय पर्याप्त रूपमा विद्यमान छ छैन भन्ने तत्त्वहरूसँग तुलना गरेर हेर्नुपर्दछ । मूलत: after thought का तत्त्वहरूमा तथाकथित पीडितको आरोपी व्यक्तिलाई सताउने वा फसाउने मनसाय भएको तथ्य र प्रमाणबाट पुष्टि हुनुपर्ने” । र “After thought मा समयको अन्तराल महत्त्वपूर्ण होइन, सो अन्तरालमा पहिले परिसकेको जाहेरी वा तथ्य वा कुरामा फरक वा असर पर्ने गरी पछि फसाउने मनसायसहित अर्कै बेहोराको जाहेरी वा विचार वा कुरा आएको 

हुनुपर्छ । त्यसमा व्यक्तिले द्वेषपूर्ण तरिकाले कसैसँग बदला लिने वा फसाउने मनसाय देखिनुपर्छ र त्यसको पछाडि कुनै जरिया हुनु आवश्यक हुने” भनी (ने.का.प. २०७६, अङ्क ८, नि.नं. १०३४३) मा भनिएको 

पाइन्छ । पीडितलाई परेको मनोवैज्ञानिक, सामाजिक तथा शारीरिक पीडासमेतबाट निजको कतिपय बेहोरामा सामान्य परिवर्तन आउनु स्वाभाविक पनि हुन्छ । यसबाट पीडितले आघात अवस्थामा दिएको जाहेरी दरखास्त र लामो समयपछि अदालतबाट भएको बकपत्रमा केही सामान्य फरक परेको हुन सक्दछ । साथै, प्रस्तुत वारतादमा घटना स्थल मुचुल्का, स्वास्थ्य परीक्षण प्रतिवेदन, साक्षीहरूको बकपत्र तथा चिकित्सकको बकपत्र तथा अन्य प्रमाणहरूबाट, पीडितले दिएको जाहेरी र अदालतमा गरेको बकपत्र पीडितले सोची बुझी कसैलाई फसाउने, द्वेषपूर्ण तथा बदलाको भावनाबाट प्रेरित भई उक्त बेहोरा हो लेखाएको भन्ने पनि कहीँकतैबाट 

देखिँदैन । तसर्थ, सुरू अदालतबाट पीडित जाहेरीकर्तालाई सजाय हुने ठहर गरेको फैसलालाई उल्टी गरी सफाइ ठहराएको पुनरावेदन अदालत तुलसीपुरको मिति २०६९/०२/०२ मा भएको फैसला मिलेकै देखिन्छ ।

२०. अब प्रतिवादीहरूलाई के कति सजाय हुने सम्बन्धमा विचार गर्दा, तत्कालीन मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा “.......यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिएबाहेक अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएमा चार वर्षदेखि आठ वर्षसम्म कैद र पच्चिस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ” भन्‍ने उल्लेख गरेको र सोही महलको ७ नं. मा “दुई वा दुईभन्दा बढी व्यक्ति मिलि वा सङ्गठित रूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ” भन्ने उल्लेख भएको 

पाइन्छ ।

२१. त्यसैगरी तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(४) नं. मा “सोह्र वर्ष वा सोभन्दा बढी बिस वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्षसम्म कैद सजाय हुने छ” भन्‍ने व्यवस्था रहेको र सोही महलको ३(क) नं. मा “कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ” भनी उल्लेख गरेको छ ।

२२. माथि प्रकरण प्रकरणमा विवेचित आधार, कारण र प्रमाणसमेतबाट परिवर्तित नाम लक्ष्मी शाहीलाई अपहरण गरी सामूहिक जबरजस्ती करणी गरेको स-प्रमाण पुष्टि हुन आएकोले उल्लिखित कानूनी व्यवस्थाबमोजिम प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीलाई अपहरणतर्फ सफाइ दिई जबरजस्ती करणीको उद्योगमा मात्र ठहर गरी सजाय गरेको, र प्रतिवादीहरू नविन बस्नेत, चन्द्र वि.एमको हकमा अपहरण गरेतर्फ दाबी नपुग्ने ठहर गरी पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला उल्टी हुने ठहर्छ । प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीलाई अपहरणतर्फको अभियोग दाबीबाट सफाइ दिएको साथै प्रतिवादीहरू सुरेश के.सी. र राजिब कोइरालालाई अभियोग दाबीबाट सफाइ दिएको हदसम्म सदर हुने र अन्यमा देहायका प्रतिवादीहरूलाई देहायबमोजिम सजाय हुने ठहर्छः

(क) प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ४ नं. बमोजिमको कसुरमा ऐ. ४ नं. बमोजिम २ वर्ष कैद सजाय हुने ।

(ख) प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीलाई मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ४ वर्ष र ऐ. ७ नं. बमोजिम थप २ वर्ष कैद सजाय हुने साथै मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(४) नं. बमोजिम ५ वर्ष र ऐ. ३(क) बमोजिम थप ५ वर्ष कैद सजाय हुने ।

(ग) प्रतिवादीहरू नविन बस्नेत र चन्द्र वि.एम.लाई मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ४ वर्ष र ऐ. ७ नं. बमोजिम थप २ वर्ष कैद सजाय हुने र जबरजस्ती करणीको अभियोग दाबीतर्फ सुरू जिल्ला अदालतबाट अ.वं. १९० बमोजिम मुलतबीमा रहेको हुँदा सो सम्बन्धमा केही बोलिरहनु परेन ।

 

२३. अब, पीडितलाई के कति क्षतिपूर्ति दिने भन्ने सम्बन्धमा विचार गर्दा, पीडित लक्ष्मी शाही आफ्नो व्यक्तिगत कामको सिलसिलामा तुलसीपुर आई होटलमा बसिरहेको समयमा अपहरण तथा जबरजस्ती करणी जस्तो गम्भीर अपराधको पीडित हुन पुगेको देखिन्छ । पीडितले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूले लछारपछार गर्दै होटलबाट खेत तथा बगरमा पुर्‍याएको र त्यहाँ पुगी पालैपालो करणी गरेका थिए । सुरूमा केही होसमा भए पनि खेतमा लग्दासम्म बेहोस अवस्थामा भएको भन्ने खेतमा पानी भएकोले चिसो भई थाहा पाएकी हुँ । मेरो शरीरमा निलडाम र चोटपटक छ । स्तनलगायत शरीरको टोकेको भागहरूमा धेरै दुखाइ भएको छ । टाउको दुख्ने, भनभनाउने, शरीरका जोर्नीहरू दुख्ने भइरहेको छ भनी लेखाएको देखिन्छ ।

२४. यस अवस्थामा क्षतिपूर्ति निर्धारण गर्दा वारदातबाट पीडितलाई पुग्न गएको भौतिक, शारीरिक र मानसिक पीडा एवं वारदातपश्चात् देखापर्ने पीडितको शारीरिक, मानसिक, भावनात्मक अवस्थासमेतलाई विचार गरी पीडितको जीवनयापनमा परेको असरसमेतलाई ध्यान दिनुपर्ने हुन्छ । अन्यथा पीडित स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने हकबाट नै वञ्‍चित भई पीडितको न्यायमा पहुँचसमेत स्थापित हुन नसकी पीडितको मौलिक हक र आधारभूत मानव अधिकारको न्यायिक संरक्षणसमेत प्राप्त गर्न नसक्ने अवस्था सिर्जना हुने देखिन्छ ।

२५. मुलुकी ऐन जबरजस्ती करणीको महलको १० नं. मा “कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा अदालतले त्यस्ती महिलालाई भएको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिब ठहराएबमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराई दिनुपर्ने छ । त्यस्तो क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गाम्भीर्य, कसुरबाट पीडित व्यक्तिको मृत्यु भइसकेको रहेछ भने निजमा आश्रित नाबालक छोराछोरी भए निजहरूलाई पर्न गएको पीडासमेत विचार गरी निर्धारण गर्नुपर्ने छ” भन्‍ने व्यवस्था रहेको देखिन्छ । सो व्यवस्थाबमोजिम नै पीडितलाई क्षतिपूर्ति भराई पाउन अभियोग मागदाबीसमेत रहेको देखिन्छ ।

२६. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४१ मा “कुनै कसुरको परिणाम स्वरूप पीडितको जिउ, ज्यान, सम्पत्ति वा इज्जतमा कुनै क्षति पुगेमा त्यस्तो क्षतिबापत अदालतले कसुरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने छ” भन्ने व्यवस्था रहेकोमा सोही ऐनको दफा ४२ मा क्षतिपूर्ति कसुरदारले तत्काल बुझाउनुपर्ने र क्षतिपूर्ति नबुझाएमा त्यस्तो कसुरदारको सम्पत्ति जायजात गरी पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्ने छ भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यस्तै ऐ. ऐनको दफा ४८ मा कसुरबाट पीडितलाई राहत उपलब्ध गराउन पीडित राहत कोष खडा गरिने छ भन्‍ने व्यवस्था रहेको र फौजदारी कसुर (पीडित राहतकोष) नियमावली, २०७७ को नियम ३ बमोजिम पीडित राहत कोष खडा गरिएको भन्ने देखिन्छ ।

२७. तसर्थ, पीडितलाई पुगेको भौतिक, शारीरिक, मानसिक र भावनात्मक अवस्थासमेत हेरी निजलाई आत्मसम्मान र आत्मनिर्भरताको अनुभूतिका लागि सहज हुने गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीहरूबाट जनही रू.५०,०००।- (पचास हजार) साथै पीडित राहत कोषबाट रू.५,००,०००।- (पाँच लाख) क्षतिपूर्ति भराइदिने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

(१) माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत तुलसीपुरको फैसला केही उल्टी भई प्रतिवादीहरू कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीलाई जनही २ वर्ष, बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीलाई जनही १६ वर्ष तथा प्रतिवादीहरू नविन बस्नेत र चन्द्र वि.एम.लाई जनही ६ वर्ष कैद सजाय हुने ठहर भएकोले सोबमोजिमको लगत कसी निज प्रतिवादीहरू सुरू दाङ जिल्ला अदालतको आदेशले थुनामा बसेको अवधि कट्टा गरी नपुग बेरूजु लगत असुलउपर गर्नु भनी सुरू दाङ जिल्ला अदालतमा लेखी पठाउनू............१

(२) पीडित लक्ष्मी शाहीलाई फैसलाबमोजिम प्रतिवादीहरू बुद्धि प्रकाश के.सी., सुनिल वली र यादव टण्डन खत्रीबाट जनही रू.५०,०००।- (पचास हजार) का दरले क्षतिपूर्ति भराई पाउने ठहरेकाले कानूनबमोजिम गरी निज प्रतिवादीहरूबाट उक्त क्षतिपूर्तिबापतको रकम भराइदिनू साथै पीडितले पीडित राहत कोषबाट रू.५,००,०००।- (पाँच लाख) क्षतिपूर्तिबापतको रकम पाउनेसमेत ठहर भएकाले पीडित लक्ष्मी शाहीलाई उक्त क्षतिपूर्तिको रकम नियमानुसार तत्काल उपलब्ध गराइदिनू भनी सुरू दाङ जिल्ला अदालतमा लेखी पठाउनू............................२

(३) प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू........३ 

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : मञ्‍जु शर्मा / विकेश महर्जन

इति संवत् २०७९ साल जेठ १० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु