शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५४२ - ज्यान डाँका

भाग: २४ साल: २०३९ महिना: असार अंक:

निर्णय नं. १५४२    ने.का.प. २०३९ अङ्क ३

 

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश त्रिलोकप्रताप राणा

सम्वत् २०३७ सालको फौ.फु.नं. ८

फैसला भएको मिति  : २०३९।२।२१ मा

निवेदक/प्रतिवादी : जिल्ला रौतहट रघुनाथपुर घर भई हाल जिल्ला कार्यालय कारागार शाखा    काठमाडौंमा थुनामा रहेको दुःखन सहनी मलाहसमेत

विरुद्ध

वादी/विपक्षी : श्री ५ को सरकार

मुद्दा : ज्यान डाँका

(१)   वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नु पर्ने हो । त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरुद्ध लाग्ने।

(प्रकरण नं. ४७)

निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.बासुदेव शर्मा

१.     प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट ०३६।६।३०।३ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी न्यायिक समितिमा प्रतिवादीहरुको बिन्तिपत्र परी व्यहोरा जाहेर हुँदा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    मुद्दाको तथ्य यस प्रकार छ : ०२३ साल मार्ग ५ गते १ को रात अं.१२ बजेको बखत म घरमा नभएको अवस्था अन्दाजी ५०/६० जना डाँकाहरु आई मेरो घरमा डाँका गरी फुपू सबजा कवार्रिनलाई मारेको कुरा ऐ.६ गते असरफदिन आई खबर गर्दा थाहा पाएपछि यथार्थ व्यहोराको रिपोर्ट गर्नेछु अहिले लास जाँच गरी सतगत् गर्नको लागि मेरो जिम्मा लास पाउँ भन्ने समेत अब्दुल अजिज कवारीको ०२३।८।७।३ को दर्खास्त र नगद गहना समेतको बिगो रु.४२६४।समेत दिलाईपाउँ भन्नेसमेत ०२३।८।११ को निज अब्दुल अजिज कवारीको दर्खास्त ।

३.    लक्ष्मीपुरको सब्जा कवारीको घरमा डाँका गरी निजलाई समेत मारेमा सो धनमाल निजको भतिजा अजिज कवारीको हुन्छ निजको घरमा डाँका गर्नु पर्‍यो भनी वारदात हुनु भन्दा २/३ दिन पहिले म राम इश्वर कलवार र जियालाल मलाह समेत भई राय सल्लाह गरें । ४ दिन पछि अ.८/९ बजेको समयमा म लाठी लिई बाँसघारीमा पुग्दा माघो सहनी समेत गडासा बन्दुक लिई सब्जा कवारीको घरमा पुग्यौं । सब्जा कवारीन आफ्नो घरमा थिइनन् भनी माघो समेतले नमालुम कहाँबाट ल्याएर निजहरुले लाठीले हाने र माघोको हातबाट सब्जाको प्राण गएको हुनु पर्छ । गहना ट्रान्जिष्ट्रर रेडियो १ समेत नगद रु.३०००।छ भन्ने मेरो भागमा १० दरको कित्ता ६ को रु.६०।चाँदीको जोखन मरी ४ थियो भन्ने समेत पथल सहनीको प्रहरीमा भएको ठाडो बयान कागज ।

४.    गते बारको सम्झना छैन, मार्ग महिनाको हो । राय सल्लाह भएको थाहा पाइन मल्हुः रुदल सहनी चुल्लाह समेत भई लक्ष्मीपुर गाउँ पुगेपछि माघोले आवाज गरी घरको ढोका खोल्न लगायो, साथीहरु केही घरभित्र पसे, म समेतको केही बाहिर बस्यौं । माघोहरुले नै सब्जालाई पिटेर मारेको हुनु पर्छ । फेला परेको धनमाल लिई भागे पछि माघोले मेरो भागमा नेपाली नोट रु.४।मात्र दियो भन्ने समेत जियालाल सहनीको प्रहरीमा भएको ठाडो बयान र कागज ।

५.    पल्टुवा तेलिनको घरको डाँकामा पथल, माघो समेतका मानिसहरु भई डाँका गरेको हो भन्ने समेत रघुनन्दन सहनीको प्रहरीमा भएको ठाडो कागज ।

६.    मैले आजसम्म केही कसैको घरमा खुन डाँका चोरी समेत गरेको छैन भन्ने समेत चुलाई धोवी मुसलमानको प्रहरीमा भएको कागज ।

७.    गते बारको सम्झना छैन । यहि गएको मार्ग महिनाको रातको अं.९/१० बजे, माघो, मल्हुदाहाउर समेत बन्दुक फराटा लिई लक्ष्मीपुर तर्फ गयौं, म फर्कें बसें अरु साथीहरु घरभित्र पसी लुटमार गरेछन् । सब्जालाई कुटेको मैले देखिन । मुनीले भागबण्डा लगायो । मलाई रु.२५।नेपाली नोट दियो भन्नेसमेत जंगली सहनीको प्रहरीमा भएको ठाडो कागज ।

८.    मैले आजसम्म लक्ष्मीपुरको सब्जा कवारीनकासमेत केही चोरी डैकती खुन समेत गरेको छैन । पथलले झुठ्ठै पोल उजुर गरेका हुन । बाबुको नाम हरि हो हरि दयाल होइन । हद दयालको छोरा अनुठा सहनी गाउँमा अर्कैछन भन्नेसमेत अनुठा सहनीको प्रहरीमा भएको ठाडो कागज ।

९.    गत मार्ग १,,३ गते म आफ्नै घरमा छु पथल सहनीलाई मैले नचिनेको र सब्जा कवारिनलाई मार्नु पर्छ भनी राय सल्लाह समेत कुनै कुरा गरेको छैन भन्ने समेत रोमश्वर कलावारको प्रहरीमा भएको ठाडो कागज ।

१०.    मैले आजसम्म कुनै चोरी डाँका खुन समेत गरेको छैन । ०२३ साल कात्र्तिक २८ गते भारत मजफरपुरमा बहिनी ज्वाँइको घरमा गई मार्ग ७ गते मात्र घर आएको हुँ । कान्छा बाबु जियालाल समेत भई पथललाई पक्राउ गराई दिएको रिसले झुटै पोल उजुर गरेका हुन् भन्ने समेत अनुठा साहुतेलीको प्रहरीमा भएको ठाडो कागज ।

११.    प्रतिवादी महलमा लेखिएको पथल समेतका २१ जना उपर अपराध गरेको सबूदबाट सिद्ध हुन आएकोले मुलुकी ऐन चोरीको १४ नं.र ज्यान सम्बन्धीको १३(३) अनुसार मुद्दा चलाउने प्रहरी प्रतिवेदन ।

१२.   लक्ष्मीपुरमा डाँका गर्ने राय सल्लाह भएको मलाई थाहा छैन । गते बारको सम्झना भएन कात्र्तिक महिनाको बाद मार्ग महिना लागेको थियो । आज लक्ष्मीपुरमा डाँका गर्न जानु पर्छ भनी तिमी र दाइ हाउर आउनु भनी बाबु माथि गए, रुदल बुधन चुलाहा माघो समेत र अरु नचिनेको २५।२६ जना सबैको हातमा लाठी फराठा बन्दुक समेत लिई सब्जा कवारीनको घरमा पुग्यौं । ३ फायर गरे पछि विरिछ मुनी माघो समेत घरमा पसी सब्जालाई समाती द्वारमा ल्याई उक्त तिनै जनाले लाठीले कुटी सब्जा मरेपछि धनमाल डाँका गर्न लागे । म बाहिर बसें । डाँका गरेपछि धनमाल लिई त्यहींबाट भाग्यौं । मुनी सहनीले भागबण्डा लगायो । बाबाम धोलाई रुं १००।दाजु दाहरउरलाई रु.२५।र २०।मलाई दियो भन्ने समेत मल्लु सहनीको प्रहरीमा भएको ठाडो कागज।

१३.   सब्जाको घरमा डाँका गरी निजलाई मार्नु पर्छ भनी नमारे हाम्रो उपर मुद्दा गर्छ भनी रामप्रसाद यादवले कुरा गरेर जाहेरवालाको घर गयौं र प्रहरी कागजमा लेखिए बमोजिम केही मानिस समेत थपी वारदातमा सावित भई रौ.जि.अ.मा पथल सहनीले गरेको बयान ।

१४.   ०२३ साल मार्ग ५ गतेको दिन ससुराली गह्मारिया गएको हो खुन डाँका मैले गरेको  छैन। प्रहरीमा कुटपीट गरी लेखी राखेको कागजमा सहीछाप गराई लिएका हुन । किन पथल समेतले पोले थाहा छैन भन्ने समेत जंगली सहनीले रौ.जि.अ.मा गरेको बायन ।

१५.   पुलिसले कुटेबाट लेखेको कागजमा सहिछाप गरी दिएको हुँ । पथलसँग खेतको विषयमा झगडा भएकोमा सहिछाप गरी दिएको हुँ । पथलसँग खेतको विषयमा झगडा भएको रिसले पोलेको हो । खुनडाँकासमेत गरेको छैन भन्ने समेत जियालाल सहनीले रौ.जि.अ.मा गरेको बयान।

१६.    पुलिसले कुटेकोले लेखिएको कागजमा सहिछाप गरी दिएको हुँ । पथलसँग रिसइवी भएकोले झुठ्ठा पोल गरेका हुन् । ०२३ मार्ग ५ गते रातमा बिर्ता गह्मारियामा ससुरालीमा छु भन्ने समेत रघुनन्दन सहनीको रौ.जि.अ.मा भएको बयान ।

१७.   पथलको ज्वाँइले मेरो मामाका छोरीसँग विवाह गरेको रिस इवीले झुठ्ठा पोल गरेको हो । खुन डाँका गरेको छैन । पुलिसमा गरेको कागज मेरो होइन । म लेख्न जान्ने लेखी सहिछाप गर्दछु । त्यसो हुँदा पुलिसको बयानमा लागेका सहिछाप जाँची पाउँ भन्ने समेत मल्लु सहनीले रौ.जि.अ.मा गरेको बयान ।

१८.   ०२३ मार्ग ५ गतेमा विदेश ७।८ कोष टाढा पक्षबुकी गाउँमा मामाको घरमा छु । पथलले झुठ्ठा पोल गरेको हो । चोरीडाँका गरे गराएकोछैन भन्नेसमेत बन्हुसहनीले अदालतमा गरेको बयान ।

१९.    अजित कवारीलाई मैले चिनेको छैन । ०२३ साल कात्र्तिक २८ गते बस्तिपुर बहिनीकहाँ गएको, मार्ग ७ गते घर आएको हुँ । पथललाई मेरो काका जियालाल शाहुतेलीले पुलिसमा पक्राउ दिएको रिस इवीले पोलेको हो । सवना कवारीनलाई मारी खुन डाँका गरेको होइन, छैन भन्ने समेत अनुठा सा तेलीले रौ.जि.अ.मा गरेको बयान ।

२०.   ०२३।७।२५ गते सर्लाहीमा गएको हुँदा मैले उक्त खुन डाँका गरेको समेत छैन । निज पथलले किन पोले थाहा छैन भन्ने समेत रामप्रसाद यादवको बयान ।

२१.   ०२३।८।५ गते म आफ्नै घरमा छु । सब्जालाई चिन्दिन । पथलसँग रिस इवी भएकोले झुठ्ठा पोल गरेका हुन । मैले खुनडाँका गरेकोछैन भन्नेसमेत व्यहोराको रामेश्वर कलवारको बयान।

२२.   ०२३।७।२९ का दिन मै मेरो सम्धीको घर भारत मुजफरपुरमा गई मार्ग ६ गते घर आएको हुँ । अरु कुरा मलाई थाहा छैन । पथललाई डाँका मुद्दामा म समेत भई पक्राउ गरी पठाई दिएको रिस इवीले मलाई झुठ्ठा पोल गरेका हुन । मैले खुन डाँका समेत गरेको छैन भन्ने समेत जियालाल सा तेलीको बयान ।

२३.   ०२३।८।५ गते म घरमा नहुँदा मलाई केही थाहा छैन । डाँका मुद्दामा पथलको नाउँमा म्याद आएकोले गएको हुन । मैले खुन डाँका समेत गरेको छैन भन्ने समेत जियालाल तेलीको बयान ।

२४.   ०२३।८।५ गतेका दिन रात म आफ्नै घरमा जरो आई बिरामी छु । सब्जा कवारीनसँग रिस इवी छैन, पथलका नाउँमा म्याद आएको यसैको हो भनी तामेल गरेको रिसी इवीले पथलले झुठ्ठा पोल गरेको हो भन्ने समेत दुलारचन मियाँ धोवीको बयान ।

२५.   ०२३।८।५ गते म आफ्नो नातेदारको घर गडही मौजामा रहे बसेको ५।७ दिन पछि फर्केको । म हरिको छोरा हुँ । हदयालको छोर अनुठा मल्ला हो । बेग्लै मानिस भएको भन्ने समेत हरिको छोरा अनुठा मल्लाहको बयान ।

२६.   ०२३।८।५ गतेको रातमा म बगही बस्ने जदुहुंमिया धोवीको घर मेवताली गएको रात त्यहिं बसी ८।१० दिन पछि फर्केको हुँ पथलसँग रिस इवी भएकोले झुठ्ठा पोल गरेको हो भन्ने समेत मुहल धोवीको बयान ।

२७.   ०२३।८।५ गते रात दिन म आफ्नो घर गाउँमा छु, खुन डाँका गरेको छैन । म पञ्चायतको सदस्य भएको र अब पनि बदमासी गरे चलान गरिदिन्छु भनी पथललाई भनेको रिस इवीबाट झुठ्ठा पोल गरेको भन्ने समेत सुवाई सहनी मल्लाहको बयान ।

२८.   ०२३।८।५ गते दिन भरतपुर पुलिस चौकिको हवल्दार दलबहादुरका साथमा थिएँ । मैले खुन डाँका गरेको छैन । म दालको रोजगार गर्ने मानिस भएको र पथलको स्वास्नीले रु.४।को दाल उधारो लिएको त्यस्को मोल माग्दा मलाई झुठ्ठा पोल उजुर गरेको भन्ने समेत प्र.मु.मलाहाको बयान ।

२९.   ०२३।८।५ गतेको रात पहोस प्रगन्ना घिउरा खाप मौजामा फुडी सहनीको घरमा छु । मैले वारदात गरेको छैन, म गाउँको चौकिदार भएको, पथल खराब चाल चलन भएको मानिस हुँदा मसँग रिस इवी लिई राखेको त्यसैबाट पोल गरेको हुनु पर्छ । जियालाल खराब चाल चलनको मानिस भएकोले निजले पनि मसँग रिस इवी राख्ने गरेको इवीले पोल गरेको भन्ने समेत बुटाई सहनीको बयान ।

३०.   ०२३।८।५ गते रात म घिउरा खाप मौजामा अनात सहनीको घरमा छु, मार्ग ४ गते तहाँ ऐ.गै १२ गते घर फर्केको हुँ । मैले खुन डाँका समेत गरेको छैन । पथलले मसँग रुपैयाँ सापट मागेको नदिएको कारणले झुठ्ठा पोल उजुर गरेको भन्ने समेत कपिलदेव मल्लाहाको बयान ।

३१.   ०२३।८।१ गते बेरिया बस्ने मोलामियाँको घर नेवताली गएको ऐ.१० गते फर्की आएको मैले खुन डाँका गरेको छैन, पथलबाट माछा खरीद गरेको मोल दिन बाँकी थियो सो पैसा माग्न आउँदा निज जपथलसँग झगडा भएको इवीले झुठ्ठा पोल गरेको भन्ने समेत चुल्लाइ सहनीको बयान ।

३२.   ०२३।८।१ गते जि.रौ.प्र.झाज देखिन मौजे हजिया जमुन्यिा टोलमा मामाको घरमा गई माघ १३ गते घर फर्केको हुँ, खुन डाँका गरेको छैन, पथलले रिस इवीले झुठ्ठा पोल गरेको हो भन्ने समेत अनुठा सहनीको बयान ।

३३.   ०२२ सालको गते महिनाको याद भएन, मेरो मावली भारत दलकाक्षमा गई ०२४ सालमा मात्र घरमा आएको मलाई केही थाहा छैन, पथलसँग मेरो भाइ मलहुको झगडा थियो सोही रिसले हो भन्ने समेत दाहाउर सहनिको बयान ।

३४.   ०२२ साल आश्विन महिनामा भारत मोतिहारी मामाको घर गई २०२४ सालमा मात्र घर आएको हुँ, जियालाल जंगी समेतको पोल झुठ्ठा हो भन्ने समेत रुदलको बयान ।

३५.   ०१७ सालमै भारत बिसनुपुरमा गई घर बनाई बसेको । ०२६।६।२२ गते भारतबाटै पक्रि ल्याए, मैले खुन डाँका गरेको छैन भन्ने समेत माघो सहनीको बयान ।

३६.   सब्जा कवारीनको घरमा डाँका भएको समय म रौतहट कर्मैया भन्ने गाउँमा माछा मार्ने काम गरी रहेको हुँदा मैले खुन डाँका गरेको छैन । जंगली र मेरो माछा मार्ने कुरामा झगडा भएकोले सोही रिस इवीबाट झुठ्ठा पोल उजुर गरेको हो । रामप्रसाद यादवको डाँका मुद्दामा ६ बर्ष कैद जरिवाना र कैद गरी १० बर्ष कैदमा झेलमा छु भन्ने समेत दुखन सहनीको बयान ।

३७.   ०२३ सालको वडा दशैंमा मोतिहारी मौजे जमुवामा गई ०२३ पौष ५।६ गते मात्र म आफ्नो घर फर्की आएको, मैले खुन डाँका गरेको छैन, प्र.जियालालसँग जुनेली चोरीमा झगडा भएको इवी झुठ्ठा पोल उजुर गरेको हो भन्ने समेत बुद्धु सहनीको बयान ।

३८.   पथल सहनी, जियालाल सहनी, जंगली सहनी, मलहु सहनी, रघुनन्दन सहनी, दाहाउर सहनी, रुदल सहनी, माघो सहनी, दुखन सहनी र चुलाई सहनी समेतले सबूत प्रमाण समेतबाट निजहरुले खुन डाँका गरेको देखिन आयो । माघोको चोटबाट सब्जाको मृत्यु भएको भन्ने पृथक १ जनाको मात्र बयान भएको देखियो । सो कुरालाई पुष्टि गर्ने अरु कुनै सबूत प्रमाण देखिन आएन । साथै सो वारदातमा सम्मिलित भएको देखिएका अरु कसैका बयानबाट पनि माघोको चोटबाट निज सब्जाको मृत्यु भएको भन्ने देखिएको छैन । सो नदेखिएबाट समेत यसैका चोटबाट सब्जाको मृत्यु भएको भन्ने खुल्न नआएकोले उल्लेख भएका व्यक्ति जवान १० ले नै कुटपीट गरी सब्जा कवारिनलाई मारेको र डाँका गरेको समेत ठहर्छ । बुधु सहनी, मुइला धोवी, अनुठा मलाहा, रामेश्वर कलवार, अनुठा सा तेली, रामप्रसाद यादव, जियालाल तेली, सिया राम सहनी, दुलारचन मियाँ धोवी, सुवाई प्रभु मलाह, वुटाइ सहनी, कपिल देव सखफर मुदमिया, अनुठा मलाह, वन्हु सहनी, माथि लेखिएका १६ जवानले सबूत प्रमाण समेतका आधारबाट निजहरुले सब्जा कवारिनलाई मारेको र डाँका गरेको समेत नठहरी सफाई पाउने ठहर्छ, लक्ष्मी सहनीलाई समेत २२ जवानका नाउँमा ७० दिने म्याद जारी भई गएको तामेली म्यादमा हाजिर हुन नआई म्यादै गुजारी बसेकोले निजहरु हाजिर हुन आएमा वा पक्राउ भई आएमा कारवाई गर्ने गरी हाल अ.बं.१९० नं.बमोजिम मुल्तवी राख्ने भन्ने समेत बागमती बिशेष अदालतको ०३२।५।२२ को फैसला ।

३९.   उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी पथल सहनी, जियालाल सहनी, दाहुर सहनी, रघुनन्दन सहनी, भलहु सहनी, जंगली सहनी, चुलाह सहनी, रुदल सहनी, दुखन सहनी र माघो सहनी समेतको पुनरावेदन ।

४०.   प्र.प्रथल सहनी मलाहा प्र.दाउर सहनी मलाहा, प्र.जियालाल सहनी मलाहा, रघुनन्दन मलाहा, प्र.सहनी मलाहा, प्र.जंगली सहनी मलाहा, प्र.मलु सहनी मलाहा, प्र.रुदल सहनी मलाहा, प्र.दुखन सहनी मलाहा, प्र.चुलाई सहनी मलाहाले जाहेरवाला अब्दुर अजिज कवारीको घरमा डाँका गरेको हो होइन भन्ने तर्फ विचार गरिएमा पुनरावेदक जियालाल सहनी, जंगली सहनी र मल्लु सहनी समेतले प्रहरीको ठाडो कागजमा डाँका गरेमा सावित भएको देखिएको निजहरुले एक व्यक्तिले अर्कालाई पोल गरेकोबाट निजहरुले प्रहरीमा गरेको साविती बयान समर्थित भएको देखिएको र प्र.पठल सहनीले अदालतमा समेत निजहरुलाई पोल गरेको देखिन आयो । उक्त पोल्नेहरुले निजहरुलाई झुठ्ठा पोल गर्नु पर्ने तथ्ययुक्त एवं विश्वासनीय आधार देखिँदैन । प्र.जियालालले अदालतमा डाँका गरेमा इन्कार गरेको र वारदातको दिन मोतिहारी अस्पतालमा बिरामी भएँ भन्ने जिकिर लिए पनि अस्पतालमा बिरामी भएको लिखित सबूत दिन गुजार्न सकेको देखिएन । वारदातको रात गमरीयामा सुरत सहनीको घरमा थिइन । डाँका गरेको होइन भन्ने समेत जंगली सहनीले अदालतमा बयान गरेको गमरीया वारदात स्थलबाट २।३ कोश फरक भन्ने जंगलीको भनाई भएको र ०२२ सालमा मोतिहारीमा गई बसेको, ०२४ सालमा मात्र घर आएको भनी प्र.रुदल सहनीले जिकिर लिएको तर, निजले लिएको जिकिरको समर्थनमा साक्षी सबूत गुजार्न नसकेको प्र.रुदल सहनीले वारदातको समयमा अन्यत्र रहेको जिकिरलाई खम्बीर गराउन सकेको देखिन आएन । प्र.पथल जियालाल, जंगली मलहु गाउँका मानिस हुँदा साँधको विषयमा र घाँस काटेको विषयमा ति व्यक्तिहरुसँग झगडा भएको इवीबाट झुठ्ठा पोल गरेका हुन भनी प्र.रुदलले बयान गरेको देखिएको कुन मितिमा ति प्रतिवादीहरुसँग झगडा भएको सो कुरा किटानी साथ प्र.रुदलले भन्न नसकेको र त्यति साधारण कुराको झगडाको आधारबाट डाँका जस्तो अपराधमा फँसाउने कुरा विश्वासनीय देखिन आउँदैन । प्र.दुखन सहनीलाई प्र.जंगलीले पोल गरेको देखिएको माछा मार्ने जस्तो साधारण कुरा लिएर डाँका जस्तो गम्भीर अपराधमा फँसाउने कुरा पत्यारलायक देखिन आएन र प्र.पथल सहनीलाई, प्र.जियालाल, प्र.जंगली र प्र.मलहु समेतले पोल गरेको देखिएको र पथल सहनी अदालतमा समेत डाँका गरेमा र भागबण्डा खाएमा समेत सावित भएको देखिएको हुँदा उक्त प्रमाणको आधारबाट प्र.जियालाल, प्र.जंगली, प्र.मलहु, प्र.दाउर सहनी, प्र.चुलाई सहनी र प्र.रुदल सहनी प्र.दुखन सहनी, प्र.रघुनन्दन सहनी, प्र.पथल सहनी, समेतले डाँका गरेको होइन भन्न नमिल्ने हुँदा निजहरुले डाँका गरेको ठहर्नु नपर्ने भन्ने पुनरावेदक तर्फका वकिलहरुको बहस जिकिरसँग सहमत हुन सकिएन । अतः प्र.जियालाल सहनी, प्र.जंगली सहनी, प्र.मलहु सहनी, प्र.दाउर सहनी, प्र.चुलाही सहनी, प्र.रुदल सहनी, प्र.रघुनन्दन सहनी, प्र.पथल सहनी र प्र.दुखन सहनीले डाँका गरेको ठहराई सुरुले गरेको निर्णय मनासिव देखिन आयो । अब सब्जा कवारीनको ज्यान मारे तर्फ विचार गरिएमा प्र.जियालाल, प्र.जंगली, प्र.दाहुर, प्र.चुलाई, प्र.रुदल, प्र.रघुनन्दन, प्र.मलहु, प्र.दुःखन सहनीले सब्जा कवारीनको ज्यान मार्ने कुरामा सरीक भएकोमा सावित भएको नदेखिएको र निजहरुले ज्यान सम्बन्धिको १३ (३) अन्तर्गत अपराध गरेको प्रमाणित हुन आएन। अतः प्र.जियालाल सहनी मलाहा, प्र.चुलाई सहनी मलाहा, प्र.रुदल सहनी मलाहा, प्र.रघुनन्दन सहनी मलाहा, प्र.दखन सहनी मलाहा, प्र.मलहु सहनी मलाहा  समेतले ज्यान सम्बन्धिको १३ (३) अन्तर्गत अपराध गरेको ठहराई जन्म कैदको सजाय दिने गरी गरेको सुरुको निर्णय मनासिव देखिन आएन । अब माघो सहानी मलाहाको हकमा विचार गरिएमा प्र.जियालाल सहनी मलाहा, प्र.मलहु सहनी मलाहा र प्र.जंगली सहनी मलाहा समेतले प्र.माघो सहनीलाई पोल गरेको  देखिएको माघोले गडासाले हान्दा सब्जा मरी भन्ने प्र.पथल सहनीले पोल गरेको देखिन आयो । प्र.माघो सहनीले ०१७ सालमै भारत तर्फ गएको ०२६।६।२२ मा प्रहरीले पक्राउ गरेको भनी जिकिर लिएको वारदात  समयमा भारतमा भएको भनी प्र.माघोले जिकिर लिएपछि त्यसको साक्षी सबूत गुजार्न सकेको देखिएन । वारदात समयमा अन्यत्र रहेको भनी जिकिर लिनेले त्यसको सबूत गुजार्न नसकेपछि आरोपित भएको ठाउँमा रहेको मान्नु पर्ने हुन आयो । पथल र मेरो छोरा मलहुको हाटमा मारपिट भएको रिसले पथलले पोल गरेको भनी प्र.माघोले जिकिर लिए पनि त्यसको सबूत गुजार्न सकेको देखिएन । मलहु समेतले वारदातमा प्र.माघो सम्मिलित भएको भनी झुठ्ठा पोल गर्नु पर्ने कारण प्र.माघोले देखाउन र सबूत समेत गुजार्न सकेको देखिएन । अतः प्र.माघो सहनीले डाँका गरी सब्जा कवारीनको ज्यान मारेको ठहराई बाग्मती विशेष अदालतले गरेको निर्णय मनासिवै देखिन आयो । अतः ज्यानतर्फ प्र.पथल सहनीको हकमा विचार गरिएमा प्र.पथल सहनीले मर्ने सब्जाको ज्यान मारेमा सावित भएको नदेखिएको र प्र.पथल सहनीले मर्ने सब्जालाई कुटी ज्यान मारेको भनी कसैले पोल गरेको पनि देखिन नआएकोले प्र.पथल सहनीलाई ज्यान सम्बन्धिको १३ नं.को दफा ३ अनुसार सजाय गर्न मिल्ने र विरिछ भन्ने कनाहा समेतले मलाई घरबाट बोलाई लगी मर्ने सब्जाको घर डकैती गरी निजलाई मार्ने समेत राय सल्लाहा गरी यसलाई मारेन भने हामीउपर मुद्दा गर्छ भनी रामप्रसादले कुरा गरी त्यहाँबाट जाहेरवालाको घरतर्फ   गयौं । घर पुगेपछि म र अरु ३,४ जना बाहिर बस्यौं अरु सबै जना ढोका खुलै हुँदा घर भित्र  पसी डाँका गर्न थाले र रुदल, कनाहा, माघो, मुनी समेतले सब्जालाई घरबाट पक्रि बाहिर बेरी नजिक ल्याई कुटपिट गर्न थाले र माघोले गडासाले गर्दनमा हान्दा सब्जा मरेको देखेको हुँ भन्नेसमेत प्र.पथल सहनी मलाहाले अदालतमा बयान गरेको देखिनआयो । उक्त अनुसार रामप्रसादले सब्जालाई मार्ने समेत राय सल्लाह गरेकोमा प्र.पथल सहनीले विरोध नगरेको र सब्जालाई उक्त अनुसार कुटी मारी रहेको अवस्थामा निज प्र.पथल सहनी वारदात स्थलमा उपस्थित रही सब्जाको ज्यान मारी रहेको हेरी रहेको देखिएकोले ज्यान सम्बन्धीको १७ नं.को दफा ३ अनुसार ३ बर्ष कैदको सजाय भागी हुने देखिन आयो । अब प्र.बुधु सहनी भूइला धोवी, अनुठा मलाहा, रामेश्वर कलबार, अनुठा सा तेली, रामप्रसाद यादव, जियालाल तेली, सियाराम सहनी, दुलारचन मियाँ धोवी, सुवाई पुमु मलाहा, बुटाई सहनी, कपिल देव, शेष फर्मुद मिया, अनुठा मलाहा र वन हुसहनीको हकमा विचार गरिएमा निजहरु अपराध गरेमा इन्कार गरेको अनुठा सा तेली बाहेक उक्त अन्य प्रतिवादीहरुको जिकिरलाई निजहरुको बकेका साक्षीहरुले समर्थन गरी बकेका देखिएको आफु आफू सावित भई पोल्नेहरु मध्येमा सबैले निजलाई पोल गरेको पनि देखिन नआएकोले निज प्र.बुधु सहनी, मुइला धोवी, अनुठा मलाहा, रामेशवर कलवार, अनुठा सा तेली, रामप्रसाद यादव, जियालाल तेली, शियाराम सहनी, दुलारचन मियाँ, धोवी सुवाई, प्रमु मलाहा, बुटाई सहनी, कपिल देव, शेष्फ मुर्द मिया, अनुठा मलाहा र बनहु सहनी समेतलाई सुरुले रिहाई दिने गरेको निर्णय मनासिवै भनी ०३५।२।२४ मा म.क्षे.अ.बाट भएको फैसला ।

४१.   दुःखन सहनी मलाहको सम्बन्धमा निजले डाँका तर्फ लागेको कैद जरिवानाबारे म.क्षे.अ.उपर पुनरावेदन दर्ता गरेकोमा ज्यान तर्फ निजलाई सजाय गरेको नभई निजले डाँका वारदात गरेको हो वा होइन भन्ने बारेमा पुनरावेदन जिकिर समेत हेरी विचार गर्दा कुटपिट कारवाई उठाई प्रहरी हिरासतमा राखेको हो भन्ने समेत जिकिर गरेको भए पनि त्यो वारदातमा सम्मिलित थियो भनी वा विशेष अदालत र म.क्षे.अ.को फैसलामा लेखिएको बुँदाबाट डाँका वारदात गर्दा सरिक रहेको भन्ने ठहर गरेकोलाई अन्यथा गर्ने प्रमाण नदेखिएको भई पुनरावेदकलाई सफाई हुने प्रमाण देखिन नआई म.क्षे.अ.ले ठहर गरेको मनासिवै हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन ।

४२.   रुदल सहनी मलाहको सम्बन्धमा म.क्षे.अ.ले कैद बर्ष ६ र जरिवाना रु.६३९६।गरेको फैसला उपर चित्त बुझेन भनी रुदलको अपील पर्न आएकोमा बाग्मती विशेष अदालतको फैसलामा अदालतको ठहर खण्डको प्रकरण १ को (६) मा निज असल नियतका मानिस रहेछ भन्नु भएन भनी रुदल सहनीका हकमा ठहर तपसील खण्डमा ज्यान मारी डाँका समेत गरेको ठहरेको भनी ज्यान सम्बन्धीको १३ (३) अनुसार जन्म कैदको सजाय तोकेकोमा म.क्षे.अ.बाट निजलाई लागेको जन्म कैदको सजाय नलाग्ने भनी लेखेको निजलाई यति सजाय लाग्ने भनी ठहर नगरी फैसला गरेकोमा सजाय लाग्ने भयो भनी रुदलले फजुल पुनरावेदन गरेको देखिएकोले केही गर्नु नपर्ने । पथललाई ज्यान सम्बन्धीको १३ (३) अनुसार सुरुले सजाय गरेको म.क्षे.अ.बाट डाँका वारदात गर्न जाँदा सब्जा कवारिनलाई मारेकोमा वारदात भएको ठाउँमा  बसी गएको भनी ज्यान सम्बन्धीको १३(३) को सजाय गरेकोमा मार्ने कुराको सल्लाह गरी वा मार्ने मनसाय लिएको वा कुनै काम गरेको नदेखिएबाट चोरीको नं.२२ ले सजाय नलाग्ने हुँदा ज्यान तर्फ पथललाई सजाय हुँदैन र प्र.बुधु सहनी, भुइला धोवी समेतलाई सजाय नलाग्ने गरी म.क्षे.अ.ले जाहेर गरेको मनासिव छ भन्ने समेत मिति ०३६।६।३०।३ को डिभिजनबेञ्चबाट भएको फैसला ।

४३.   यसमा वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्नको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना पठाएकोमा सो को भरपाई मिसिल सामेल रहेको तर, वादी श्री ५ को सरकारको तर्फबाट सरकारी अधिवक्ता बहस पैरवीको निमित्त उपस्थित नहुनु भएको र मुद्दाको सुनुवाई भई सकेपछि मात्र पेशी सारी पाउँ भन्ने पत्र प्राप्त भएकोले सो तर्फ विचार गर्न पर्ने अवस्था आएन ।

४४.   प्रतिवादी निवेदक रुदल सहनीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले वादी दावी बमोजिमको अपराध गरेको प्र.रुदल अदालतमा इन्कार हुनुहुन्छ । मेरो पक्षलाई जाहेरवालाले जाहेरी दर्खास्तमा किटानी साथ पोल गर्न सक्नु भएको छैन । सर्जमिनका व्यक्तिहरुले प्र.रुदललाई अपराध गर्दाको अवस्थामा देखे चिने भनी भन्न सकेको छैनन् । प्र.जंगली सहनी, जियालाल सहनी र रघुनन्दन सहनीले प्रहरीमा कागज हुँदा वादी दावी बमोजिमको अपराध गरेको आफू सावित भई प्र.रुदललाई पोलेका छन् । तापनि अदालतमा बयान हुँदा प्रहरीमा भएका त्यस्तो कागजलाई राजिखुसिबाट भएको होइन भनी अपराध गरेमा समेत इन्कारी बसेका छन् । प्र.पथल सहनीले प्रहरी कागज हुँदा र अदालतमा बयान हुँदा समेत प्र.रुदललाई पोलेको छ तापनि सह अभियुक्तको पोलका आधारमा प्रतिवादी रुदललाई सजाय गर्न मिल्दैन । मेरो पक्ष रुदलले वारदातको दिन र समयमा भारत मोतिहारिमा आफू रहे भएको देखाएको छ । त्यसको सबूत दिन नसके पनि निज यसै सरहदमा रहेको मान्नु पर्छ । वादी दावी बमोजिमको अपराध गर्‍यो भन्नलाई प्रमाण हेरिनु पर्छ । प्रमाणको अभावमा डाँका तर्फ सुरु जि.अ.ले सजाय गरेको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको छैन । प्र.रुदलले सफाई पाउनु पर्छ भन्ने बहस गर्नु भयो।

४५.   प्र.रुदल सहनीलाई ज्यान तर्फ सजाय नलाग्ने भनी म.क्षे.अ.ले ठहर गरी डाँका तर्फ कसुरदार ठहराई सजाय खण्डमा नलेखी फैसला गरेकोमा सजाय लाग्ने भयो भनी रुदलले फजुल पुनरावेदन गरेको देखिन्छ । रुदल सहनीको नाम उल्लेख भएको नभए तापनि इन्साफ खण्डमा रुदल समेतका प्रतिवादीले डाँका कसुर गरेकै ठहराएको देखिन्छ । सो फैसला उपर रुदलको पुनरावेदन परेपछि निजको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के हो इन्साफ ठहरे बमोजिम निर्णय दिनु पर्नेमा पुनरावेदन सुनवाई नै नगर्ने गरी सजाय नतोकिएको कारणले फजुल पुनरावेदन गरेको भनी फैसला गरेको देखिन्छ भन्ने न्यायिक समितिको पर्चामा उल्लेख भएको रहेछ ।

४६.   प्र.रुदल सहनी मलाहाको सम्बन्धमा म.क्षे.अ.ले कैद बर्ष ६ र जरिवाना रु.६३९६।गरेको फैसला उपर चित्त बुझेन भनी रुदलको पुनरावेदन पर्न आएकोमा बाग्मती विशेष अदालतको फैसलामा ज्यान मारी डाँका समेत गरेको ठहरेको भनी जन्मकैद सजाय तोकेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निजलाई लागेको जन्म कैदको सजाय नलाग्ने भनी लेखेको निजलाई यति सजाय लाग्ने भनी ठहर नगरी फैसला गरेकोमा सजाय लाग्ने भयो भनी रुदलले फजुल पुनरावेदन गरेको देखिएकोले केही गर्नु नपर्ने भन्ने डिभिजनबेञ्चको निर्णय हुँदा मिल्दो भएन । यसमा केही बोल्नु पर्ने स्थिति भएको हुँदा निज रुदलले डाँका गरेको ठर्हछ ठहर्दैन भन्ने तर्फ हेर्नु पर्ने हुन आयो ।

४७.   प्र.रुदलको अदालतमा भएको बयान हेर्दा ०२३।५।८ भन्दा अगावै ०२२ साल आषाढमा भारत मोतिहारी गई ०२४ सालमा घर आएको हूँदा वादी दावी बमोजिमको अपराध गरेको छैन भनी इन्कारी बयान दिनु भएको पाइन्छ । वारदातको दिन आफूलाई सो वारदातमा नभई अन्य ठाउँमा छु भनी देखाउने व्यक्तिले त्यस ठाउँमा भएको सबूत गुजार्नु पर्छ । तर प्र.रुदलले त्यसरी आफू भारत मोतिहारिमा रहे भएको कुराको सबूत दिन सकेको छैन । अदालतमा सावित हुने प्र.पथल सहनीले प्र.रुदल समेतलाई पोलेको छ । यसै गरी प्र.जियालाल सहनी, रघुनन्दन सहनी र जंगली सहनी समेतले प्रहरीमा कागज हुँदा यो निवेदनमा प्र.रुदल सहनी समेतलाई पोल गरेको पाइन्छ । यी प्रतिवादीहरुले प्र.रुदललाई झुठ्ठै पोल गर्नु पर्ने कुनै विश्वासनीय प्रमाण छैन । वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नु पर्ने हो। त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरुद्ध लाग्ने प्रष्ट छ । कसुरदार ठहरेका प्र.पथल, जियालाल, जंगली र रघुनन्दन सहनी, समेतले प्र.रुदललाई पोल गरेको र ति व्यक्तिहरुले झुठ्ठा पोलेको भनी विश्वासनीय कारण प्र.रुदलले दिन नसकेकोले समेत जाहेरवालाको घरमा प्र.रुदलले डाँका गरेको ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठर्हछ । प्र.दुःखनको हकमा मुद्दा नदोहोरिएकोले सो तर्फ केही बोली रहनु परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

म सहमत छु ।

 

प्र.न्या.नयनबहादुर खत्री

 

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय

४८.   यसमा प्र.रुदलले वादी दावी बमोजिमको अपराध गरेमा इन्कार रही वारदातको दिन आफू भारत मोतिहारी रहेको भनी अदालतमा बयान गरेको पाइन्छ । तर आफू भारत मोतिहारीमा रहेको सबूत निज प्र.रुदलले गुजार्न सकेको देखिन्न ।

४९.   प्रमाण सम्बन्धी ऐन, २०३१ को दफा २५ मा फौज्दारी मुद्दामा अभियुक्तको कसुर प्रमाणीत गर्ने भार वादीको हुनेछ,” भन्ने र सोही ऐनको दफा २८ मा कुनै  खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुनेछ भनी कुनै नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिमाथि नै हुनेछ भन्ने। उल्लेख भएको पाइन्छ ।

५०.   यि दुई कानूनी व्यवस्थाबाट फौज्दारी मुद्दामा प्रमाणको भार वादीलाई दिई कुनै खास कुरा प्रमाणित गर्ने भार प्रतिवादी उपर पनि राखेको पाइन्छ ।

५१.   प्र.रुदल वारदातको दिनमा आफू भारत मोतिहारीमा छु भनी एलीवी (Alibi) को जिकिर लिएकोमा सो दिन आफू भारत मोतिहारीमा रहेको प्रमाण दिन नसक्नु भएकोले त्यस्तो अवस्था उक्त कुरा निजको विरुद्धमा प्रमाण नलाग्ने होइन ।

५२.   तर फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको भएकोेले वादी पक्षबाट निज प्र.रुदलको विरुद्धमा के कस्तो प्रमाणहरु रहेछन सो पनि हेरिनु पर्छ । प्र.रुदल वारदातको दिनमा आफू भारत मोतिहारीमा रहेको कुरा प्रमाणित गर्न नसकेकोले त्यतिकै  नाताबाट अन्य सबूत प्रमाणको  अभावमा प्र.रुदलले वादी दावी बमोजिमको अपराध गरेको हो भन्ने निष्कर्षमा पुग्ने हो भने कुनै व्यक्तिलाई दोषी ठहराउँदा शंका रहित तरीकाले नीजले अपराधमा गरेको कुरा प्रमाणित हुनु पर्छ भन्ने फौजदारी मुद्दामा सिद्वान्त कुन्ठित हुन जान्छ ।

५३.   कसैले एलीवी (Alibi) को जिकिर लिएकोमा त्यस्तो (Alibi) एलीवी लिएको जिकिर प्रमाणित नभएमा त्यतिकै नाताबाट अन्य प्रमाणको अभावमा प्रतिवादीले अपराध गरेको हो भनी ठहर गर्दा त्यस्तो ठहर सबूत प्रमाणको आधारमा नभई अनुमानमा आधारित हुन जान्छ । अनुमानको आधारमा अपराध कायम गर्न नमिल्ने हुँदा अन्य सबूत प्रमाणको आधारमा समेत जे जस्तो देखिन्छ सो ठहर हुनु न्यायसंगत देखिन्छ ।

५४.   अन्य प्रमाण तर्फ हेर्दा प्र.रुदलले वादी दावी बमोजिमको अपराध गरेको देखे सुन्ने भन्ने वादी पक्षको कुनै गवाह देखिन्न । जाहेरवालाको प्र.रुदल उपर किटानी पोल छैन ।

५५.   प्र.जियालाल, रघुनन्दन, गंगली सहनी र प्र.मलहु सहनी समेतले प्रहरीमा कागज हुँदा आफू समेत सावित भई प्र.रुदल समेतलाई पोलेकोमा यिनी प्रतिवादीहरुको अदालतमा बयान हुँदा अपराध गरेकोमा आफू समेत इन्कार रही प्रहरीमा भएको कागज राजि खुशिबाट भएको होइनन् भनेका छन् । प्र.पथलले प्रहरीमा कागज गर्दा र अदालतमा बयान गर्दा अपराध गरेमा आफू सावित भई प्र.रुदललाई पोलेको देखिन्छ ।

५६.   तर सह अभियुक्तको पोल गरेको कुरा स्वतन्त्र प्रमाणबाट समर्थित छैन । केबल सह अभियुक्तको पोलको आधारमा कसुरदार ठहराउन मिल्दैन ।

५७.   अतः प्र.रुदलले डाँका गरेको ठहराएको सुरु जि.अ.को इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को इन्साफ मिलेन ।

५८.   प्र.रुदल सहनीले सफाई पाउने ठहर्छ । जोहेरवालाको घरमा प्र.रुदलले डाँका गरेको ठहराई म.क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहराएको बहुमतको रायसँग म सहमत हुन सकिन ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् ०३९ साल जेष्ठ २१ गते रोज ६ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु