शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५४३ - अंश

भाग: २४ साल: २०३९ महिना: असार अंक:

निर्णय नं. १५४३    ने.का.प. २०३९ अङ्क ३

 

फुलबेञ्च

सम्माननीय न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको देवानी फुल नम्बर ४१

फैसला भएको मिति : २०३९।३।४ मा

निवेदक/वादी : का.जि.का.न.पं.वार्ड नं.३१ कमल पोखरीको हाल बानेश्वर डेरा गरी बस्ने हेमकुमारी      ठाकुर, ऐ.ऐ.डेरा बस्ने हरेन्द्रकुमार ठाकुर

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने बलदेव ठाकुरको मुद्दा सकार गर्ने र आफ्ना हकमा समेत ऐ.बस्ने दुर्गा ठाकुर

मुद्दा : अंश

(१)                २०२३ सालमा जन्मेको हरेन्द्रकुमार २०२० सालमा थुनामा परेकाको विर्यबाट जन्मेको छोरा हो भन्ने सरासर झुठ्ठा कुराको जिकिर लिएको देखिने ।

(प्रकरण नं. १७)

(२)                हाम्रो जस्तो हिन्दु समाजमा पवित्रताको दृष्टिबाट आफ्नो आचरणमा कलंक लाग्ने गरी      त्यसै कसैको स्वास्नी हुँ भनी भन्न गार्‍हो हुन्छ । अतः माथि लेखिएको बुँदा प्रमाणबाट     प्रतिवादीको छोरासमेत ठहर्ने हुनाले वादीहरुले अंश पाउने ।

(प्रकरण नं. १८)

निवेदक तर्फबाट : विद्वान व.अ.श्री कृष्णप्रसाद पन्त र विद्वान व.अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      : विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान व.अ.श्री लक्ष्मण अर्याल

फैसला

प्र.न्या.नयनबहादुर खत्री

१.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ : पति वलदेव ठाकुरले जातको रीत पुर्‍याई ०१७ साल बैशाखमा विवाह गर्नु भएको थियो । पति र म लोग्ने स्वास्नी भई बसी आएको दुर्गा ठाकुर समेत सगोलमा बसी आएको, सौतिनी छोरा दुर्गा ठाकुरको विवाह भई सकेको ऋषिदेवको विवाह हुन बाँकी पतिको विर्यबाट मेरो गर्भ रहन गई छोरा हरेन्द्रकुमार ठाकुरको जायजन्म भएको छोरी परलोक भइन । सौताको छोरा दुर्गाले ०२६।९।२६ गते बेलुका केही नदिई निकाला गरेकोले छोरा साथ लिई बानेश्वरमा डेरा गरी आएको छु । ०२७।८।३ गते अंश माग्दा जानेको गर् भनेबाट अंश नदिएकोले सरकारीया दस्तूर समेत दाखिल गर्न नसक्ने भएकोले कोर्ट फिमा पक्राउ नगरी अंश दिलाई पाउँ भनी वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको निवेदनमा व्यहोरा साँचो भए ठाडै बुझी कानून बमोजिम गर्नु भन्ने का.जि.अ.का नाउँमा बक्स भई आएका प्रमांगी अनुसार कारवाई गराई माग्न बलदेव तथा दुर्गा ठाकुर समेतका उपर अंशमा दावा लिंदै ०२७।९।१२ मा वादी हेमकुमारीको बयान भएको रहेछ ।

३.    वादीले फिरादमा आफ्नो जात र बाबुको घर समेत उल्लेख गर्न र विवाह गर्दा आफ्ना संरक्षकको पनि उपस्थिती तथा यो व्यक्तिसँग सम्पर्क राखी विवाह गरेको हो भन्न समेत सकेको पाइँदैन । त्यस बखत म बलदेव ६० बर्षको थिएँ । वादी लेखमा निज १५।१६ बर्षको रहेको देखिन्छ । वादी ठाकर जातको छोरी म हजाम जातको मानिससँग त्यस उमेरमा विवाह गरी दियो होला भन्न सकिदैन । वादी र एउटा लोग्ने मानिस ०२१ साल तिर डेरा खोज्न भनी आएका थिए र रु.३०।का दरले कोठा बहालमा दिई राखेको थिएँ । लोग्ने मानिस को ? भन्दा कहिले भाइ कहिले माइतीका मानिस भन्द थिइन् । पति खोई भन्दा ब्यारेकमा हुनुहुन्छ । आजकल जिल्लामा खटिनु भएको छ भन्दथिन् । गर्भधारण गरेको देखी सोद्धा जिल्लाबाट आई सक्नु भयो ब्यारेकमा हुनुहुन्छ । बीच बीचमा आउनु हुन्छ   भन्दथिइन् । राती राती सिपाहीहरु जस्तासँग हिंडेकोले घरमा राख्न उचित नदेखी उठाई पठाएको  थियौं । ३ बर्ष भयो कहाँ गईन के गरिन थाहा छैन । विपक्षीलाई ४।५ जना नाती नातिनी भई सकेकोले विपक्षी तरुनीलाई स्वास्नी राख्ने अवस्था समेत नभएकाले निजलाई स्वास्नी राखेको निजका गर्भबाट मेरो छोरा जन्मेको होइन । वादी र वादीको छोरालाई हामीले अंश दिनु पर्ने होइन भन्ने समेत बलदेव तथा दुर्गा ठाकुरको संयुक्त प्रतिवादी ।

४.    स्वास्नी छोरा होइन भनेको झुठ्ठा हो । म बलदेवको स्वास्नी हुँ । मबाट जन्मेको छोरा हरेन्द्रकुमार ठाकुर निजको बिर्यबाट जन्मेको छोरा हो । म निजको श्रीमती हुँदा निजको गुप्ताएन भोगी लिङ्ग बाङ्गो छ र एक अण्डकोष ठूलो र एक अण्डकोष सानो छ । निजको गुप्त स्थान जाँची पाउनु पर्छ । लोग्ने कायम गरी फिराद अनुसार अंश दिलाई पाउँ भन्ने समेत हेमकुमारीको बयान ।

५.    हाल बुझ्दा वादीको माइती प.१ नं.मदनपुर गाउँमा बाबु वादी सानै छँदा मरी सक्नु भएको, दाजु भैरब बहादुरले प.१ नं.बेलकोट बस्ने शक्तिकुमार काजी पाण्डेलाई विवाह गरी दिएको रहेछ । अरु कुरा पत्ता लगाउन सकेको छैन । वादी दावा झुठ्ठा हो । हेमकुमारी मेरो स्वास्नी होइन । सर्जमिन बुझी पाउँ बच्चाको मेरो रगत जँचाएमा समेत झुठ्ठा सावित हुनेछ भन्ने समेत बलदेव ठाकुरको बयान ।

६.    जम्मा सम्पत्तीको बिगो रु.१,१२,०००।र तिर्नु पर्ने ऋण रु.२८,३६७।देखिन आएकोले विवाह नभएको हरेन्द्रकुमारको विवाह खर्च रु.५६००।कट्टा गरी बाँकी बिगो रु.१,०६,४००।को ५ भागको २ भाग बिगो रु.४२,५६०।वादी हेमकुमारी छोरा हरेन्द्रकुमारले अंश पाउने र तिर्नु पर्ने ऋण रु.२८, ३६७।को ५ भागको २ भाग रु.११,३४६।८० वादी हेमकुमारी हरेन्द्रकुमारले तिर्नु पर्ने समेत ठहर्छ भन्ने समेत का.जि.अ.को ०३३।८।११ को फैसला ।

७.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरुको पुनरावेदन पत्र ।

८.    शुरु का.जि.अ.को इन्साफ सदर गरी म.क्षे.अ.बाट ०३४।३।१५।४ मा फैसला गरेको रहेछ ।

९.    म.क्षे.अ.को इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई डिभिजनबेञ्चमा पेश हुँदा बलदेव ठाकुरको गुप्त स्थानको लिङ्ग बाङ्गो र एक अण्डकोष ठूलो र एक अण्डकोष सानो छ जँचाई पाउँ भनेकोमा सो अनुसार प्र.बलदेवको गुप्ताङ्ग जाँच गर्न वीर असपतालमा पठाउँदा सो वीर अस्पतालबाट जाँच गरी पठाएको ०२९।१।२९ को जाँच प्रतिवेदनमा लिङ्ग सोझो र सामान्य छ, दुवै अण्डकोष साबुतै र सामान्य साइजको छभनी उल्लेख भई आएको देखिँदा बलदेव ठाकुरको गुप्ताङ्गको वर्णनवारे हेमकुमारीको बयान समर्थित भएको देखिएन। प्रतिवादी हेमकुमारीका निवेदन अनुसार प्र.बलदेवको गुप्ताङ्ग पुनः बोर्डबाट जाँच हुँदा पनि ठूलो सानु भन्ने देखिएन । काम उत्तेजनाको बेला बाङ्गो हुने भन्ने जाँच गर्न मुश्किल परेकोले किटी भन्न सकिन्न भन्ने कुरा उल्लेख छ । उपरोक्त गुप्ताङ्गको विवरण सम्बन्धी मुख्य प्रमाणको आधारमा वादी हेमकुमारीलाई प्र.बलदेव ठाकुरको जातको रीत पुर्‍याई विवाह गरेकी विवाहित पत्नी र निज हेमकुमारीको गर्भबाट जन्मेको छोरा हरेन्द्रकुमारलाई बलदेव ठाकुरको छोरा नै हो भनी पत्नी तथा छोरा कायम गर्न समेत नमिल्ने देखिएकोले वादी दावा अनुसार प्रतिवादीहरुबाट अंश पाउँ भन्ने र छोरा कायम गरी पाउँ भन्ने दावी पुग्न सक्ने देखिएन भन्ने समेत ०३८।१।२१।१ को डिभिजनबेञ्चको फैसला रहेछ ।

१०.    हेमकुमारी तर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले वादीले क्षणिक सम्बन्धको बेलामा देखेका कुरालाई व्यक्त गरी बयान  गरेकी हुन । तर, डाक्टरहरुको रिपोर्टमा नर्मल साइजको भनिएको र मेडिकल जुरिसप्रुडेन्सको सिद्धान्तबाट पनि अण्डकोष सानो ठूलो हुन सक्छ । यसलाई मुल प्रमाण मानी डिभिजनबेञ्चले ठहर गरेको मिलेको छैन । यो मुद्दा पर्नु भन्दा ४ बर्ष अगाडि हरेन्द्रकुमार अस्पतालमा जन्मिदा घर कमलपोखरी र बाबुको नाम भन्ने उल्लेख गरेकी हुन् । सो कुरालाई असत्य भए आफूले जानकारी भए पछि विवाद उठाउनु पर्ने उठाएको छैन । वादीका साक्षीले वादीको ०१७ सालमा प्रतिवादी बलदेवसँग विवाह भएको भनेका छन् । तसर्थ अंश पाउने ठहराएको सुरु र क्षत्रीय अदालतको इन्साफ सदर हुनु पर्छ भन्ने र वादी हरेन्द्रकुमारको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादी प्रतिवादीको घरमा बसेको भन्ने कुरामा प्रतिवादी स्वयम साबित छन् । बाहाल कबुलियत छ भन्न प्रतिवादीले भन्न सकेको छैन । बच्चा जन्मिएको अवस्थामा वादी प्रतिवादीकै घरमा रहेको देखिन्छ । त्यस बखत बलदेवको जेठी पत्नीको मृत्यु भई सकेको भनिन्छ र ०२३ सालमा हरेन्द्रकुमार जन्मँदा प्रतिवादी बलदेवलाई पती भनी लेखाएको कुरा थाहा पाई सो कुरा असत्य भए उजुर गरी बदर गराउन सक्नु पर्ने सकेको देखिँदैन । डिभिजनबेञ्चबाट साक्षी तर्फ मूल्यांकन नै गरिएन । बलदेवको स्वास्नी हेमकुमारी हो भन्ने कुरामा विवाद नदेखिएपछि हरेन्द्रकुमार बलदेवको छोरा ठहर्ने हुनाले अंश दिलाउने गरेको सुरु र क्षत्रीय अदालतको इन्साफ मनासिव ठहर्नु पर्दछ भन्ने समेत र प्रतिवादी दुर्गा ठाकुरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले जातको रीत पुर्‍याई प्रतिवादी बलदेवसँग विवाह भएको भन्ने कुरा वादी पक्षबाट प्रमाण आउन सकेको छैन । विवाह भए नभए तर्फ पनि सर्जमिनको भनाई मिलेन । अर्को स्वयम वादीले अस्पतालमा बच्चा जन्माउँदा आफ्नो मनगढन्तबाट प्रतिवादी बलदेवलाई पति र घर कमलपोखरी भन्ने लेखाउँदैमा बलदेव ठाकुरले सही गरी भर्ना नगराए सम्म प्रतिवादीका खिलापमा प्रमाण लिन मिल्दैन । हरेन्द्रकुमारको नाम निरन्जन के.सी.र बाबु बलबहादुर के.सी.भनी पार्वती निम्न माध्यमिक बिद्यालय दुखर्कमा बलबहादुरले ०३१।९।३ मा भर्ना गरेको काभ्रेपलान्चोक जिल्ला कार्यालय शिक्षा शाखाबाट ०३६।२।२१ मा जवाफ दिएको छ र अर्को विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले स्वास्नी २ किसिमका हुन्छन् ल्याइता र विवाहिता । वादीले जुन प्रकारबाट स्वास्नी भएको भन्नु हुन्छ त्यो कुराको प्रमाण पुग्न सकेको छैन । वादी ठाकुर जातकी र प्रतिवादी हजाम जातिको त्यसमा पनि उमेर बर्ष १७ की र ६० बर्षको बुढाको बीचमा विवाह हुन सक्ने स्थिति छैन । साक्षीले अनुमान गरी गरेको बकपत्रको आधार लिन मिल्दैन । तसर्थ डिभिजनबेञ्चको इन्साफ सदर गरिनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

११.    यसमा वादी हेमकुमारी, हरेन्द्रकुमार र प्रतिवादी दुर्गा ठाकुर समेतलाई ०३९।२।२८ गते रोहवरमा राखी विद्वान वरिष्ठ अधिवक्ताहरुको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी हेमकुमारी प्रतिवादी बलदेवको श्रीमती हुन होइनन् र हरेन्द्रकुमार बलदेवको छोरा हुन् होइन र वादीहरुले प्रतिवादीहरुबाट अंश पाउने हुन होइन भन्ने विषयमा नै सर्वप्रथम निर्णय दिनु पर्ने हुन आएको छ ।

१२.   वादीले सुरु निवेदन र बयान गर्दा बलदेव ठाकुरले जातको रीत पुर्‍याई ०१७ साल बैशाख महिनामा विवाह गर्नु भएको थियो । पति बलदेवको बिर्यबाट मेरो गर्भ रहन गई जायजन्म भएका छोरा हरेन्द्रकुमार समेतलाई पति र सौतेनी छोरा दुर्गाले ०२६।९।२६ गते निकाला गरे । ५ अंश मध्ये मेरो २ छोराको समेत अंश दिलाई पाउँ भन्ने समेत वादीहरुको मुख्य दावा भएको र वादीसँग मेरो विवाह भएको हेर्न सो समय म बलदेवको उमेर ६० बर्ष पुगको थियो । वादीको लेखाई अनुसार १५।१६ बर्षकी रहेकी देखिन्छ । तसर्थ हेमकुमारी मेरो स्वास्नी र हरेन्द्र छोरा होइन अंश दिनु पर्ने पनि होइन । डेरामा सम्म बसेका हुन भन्ने समेत प्रतिवादीहरुको प्रतिवाद भएको प्रस्तुत मुद्दामा वादी हेमकुमारी आफ्नो घरमा डेरा गरी बसेको भन्ने कुरामा प्रतिवादीहरुले स्वीकार गरेको पाइन्छ । वादी हेमकुमारीले हरेन्द्रकुमार जन्मँदा ०२३।४।२३ मा पति बलदेव ठाकुर घर कमलपोखरी भनी यो अंश मुद्दा पर्नु भन्दा ४ बर्ष अगाडि लेखाएको वीर अस्पतालको प्रमाणलाई प्रतिवादी बलदेव ठाकुरले मेरो श्रीमती भनी भर्ना गरेको छैन । केवल वादीले आफ्नो मनगढन्तबाट लेखाउँदैमा प्रतिवादीका विरुद्ध प्रमाणमा लिन मिल्दैन भन्ने समेत प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरका हकमा यिनै वादी प्रतिवादीले प्रस्तुत अंश मुद्दामा मिलापत्र गर्ने बिषयमा हामी लोग्ने स्वास्नी मिली आउने भन्ने कुरा निवेदनमा लेखिएकोलाई यिनै प्रतिवादी बलदेव यिनै वादी हेमकुमारी समेत उपर जालसाजी मुद्दा चलाई सो मुद्दामा जालसाजी नठहरी अन्तिम फैसला भएको देखिन्छ । तर यी वादीले माथि उल्लिखित अस्पतालमा लेखाएको कुरालाई यदि असत्य भए प्रतिवादीले मौकैमा उजुर गरी सो कुरा बदर गराउन सक्नु पर्ने थियो सो बदर गराईने तर्फ उजुर गरेको छु भनी प्रतिवादीले भन्न सकेको पाइँदैन । यस्तो स्थितिमा बलदेवले भर्ना गराए नगराएको कुरामा वादीको लेखाईलाई मात्र आधार मान्न मिल्दैन भन्ने प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहससँग सहमत हुन सकिदैन ।

१३.   नुवकोट जिल्ला मदनपुर दाङमै कालिका पञ्चायत वार्ड नं.३ चण्डिडाँडा पसलमा भएको ०३३।३।१८ को सर्जमिनमा ०१७ सालतिर वादीको र बलदेवको आफुखुशी विवाह भएको बलदेवकै करणीबाट हरेन्द्रकुमार जन्मेको हो भन्ने अधिकांश व्यक्तिहरुले लेखाई दिएका र नुवाकोट जिल्ला वेलकोट निरञ्जन आदर्श गा.पं.मा ०३३।३।१९ मा भएको सर्जमिनमा वादीको शक्तिकुमारसँग ०१२ सालमा विवाह भएपछि कमलपोखरी बस्ने बलदेव ठाकुरसँग आफुखुसी विवाह भएको र निज बलदेवको बिर्यबाट हरेन्द्रकुमारको जन्म भएको भन्ने सुनेका छौं भनी लेखाई दिएको र ०३१।१।१०।३ मा कमलपोखरी अर्थात प्रतिवादीहरुको घर रहे भएको ठाउँमा भएको सर्जमिनमा बस्ने अधिकांश व्यक्तिहरुले वादी हेमकुमारी प्रतिवादी बलदेवको घरमा डेरा गरी बसेकी थिइन । विवाह भएको थाहा छैन भनी बकपत्र गरेका छन् ।

१४.   माथि उल्लिखित ३ ठाउँमा नै भएको सर्जमिनबाट के प्रष्ट हुन आउँछ भने वादी हेमकुमारी प्रतिवादी बलदेवको घरमा रहे भएको र निजहरु लोग्ने स्वास्नी भई बसेको भन्ने कुराको पुष्टि हुन आउँछ । केवल वादीले जातको रीत पुर्‍याई विवाह गरेको भन्ने र सर्जमिनमा बस्ने व्यक्तिले आफू खुशी विवाह गरेको भन्ने कुरा देखिन आउँछ । एउटा साधारण अवला पहाडमा जन्मिएकी अनपढ नारीले लोग्ने स्वास्नी भई बसेको कुरालाई विवाह भएको भन्नु कुनै ठूलो कुरा होइन । हिन्दु नारीहरुले अर्काकी स्वास्नी नभईकन म प्रतिवादीको श्रीमती हुँ भनी भन्न सक्ने हाम्रो हिन्दु समाजमा त्यस्ता नारीहरु हुन्छन् साधारणतः भन्न सकिन्न ।

१५.   वादी वा साक्षी शम्भुले हेमकुमारीलाई बलदेवले स्वास्नी राखेको हो निजबाट छोरा १ जायजन्म भएको भन्ने र अर्को साक्षी चिन्तामणीले वादी हेमकुमारीको प्रतिवादी बलदेवसँग ०१७ सालमा विवाह भई निजको बिर्यबाट छोरा १ छोरी १ पाएको छोरी परलोक भई सकेको भन्ने समेत किटान साथ लेखी दिएका र साक्षी सर्जमिनले झुठ्ठा बकपत्र गरे भन्ने कुरा प्रतिवादी तर्फबाट समर्थित गराउन सकेको समेत देखिदैंन । यस्तो अवस्थामा वादी हेमकुमारी प्रतिवादी बलदेवको श्रीमती होइन भनी भन्न मिल्ने देखिँदैन ।

१६.    स्वयं वादीले प्रतिवादी बलदेवको गुप्ताङ्ग जाँच गराई पाउँ भनी जिकिर लिए अनुसार वीर अस्पतालबाट जाँच गराउँदा अमिल्दो भएबाट वादीको बयान समर्थित भएको देखिएन भनी डिभिजनबेञ्चबाट लिएको मुख्य आधारलाई वादीले क्षणिक सम्बन्ध रहेको बेलामा आएको कुरालाई सम्म व्यक्त गरी दिएको र ०३२।५।२५ को अस्पतालको प्रतिवेदनबाट कामोत्तेजनाको बेला बाङ्गो हुने भन्न जाँच गर्न मुस्किल परेकोले किटी भन्न सकिन्न भन्ने उल्लेख भएको र अन्य प्रमाणबाट वादी, प्रतिवादी बलदेवको श्रीमती देखिन्छ भने यसैलाई मात्र बलियो आधार भन्न मिल्दैन ।

१७.   हरेन्द्रकुमारलाई बलबहादुर के.सी.को छोरा हो । उसको नाम निरन्जन के.सी.हो भन्ने प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरको हकमा मेरो छोराको नाम निरन्जन के.सी.होइन हरेन्द्रकुमार ठाकुर हो । अरनीको लोअर सेकेन्डरी स्कूल लगनखेल ललितपुरमा पढिरहेको छ उक्त प्रमाण लगाई पाउँ भनी हेमकुमारीको यस अदालतमा दिएको निवेदन स्वर्गीय बलदेव ठाकुरको पत्नी भनी उल्लेख गरेका र बाबुको नाताले ०३१।९।३ मा भर्ना गरेको भन्ने बलबहादुरलाई बाबु भनी देखाउन प्रयास गरे तर्फ हेर्दा निज बलबहादुर ०२०।११।५ देखि ०३०।१०।४ सम्म वादी श्री ५ को सरकार प्रतिवादी प्रेमप्रसाद तिमिल्सिना समेत भएको डाँका मुद्दामा ०३८।५।१२।६ मा यस अदालतबाट फैसला भएको फौ.पु.नं.१२२ र १२३ को मिसिलबाट थुनामा रहेको देखिन्छ । ०२३ सालमा जन्मेको हरेन्द्रकुमारलाई त्यस्तो ०२० सालमा थुनामा परेको बलबहादुर के.सी.को बिर्यबाट जन्मेको र बलबहादुरको छोरा हो भन्ने सरासर झुठ्ठा कुराको जिकिर लिएको देखिन्छ ।

१८.   हाम्रो जस्तो हिन्दु समाजमा पवित्रताको दृष्टिबाट आफ्नो आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न गार्‍हो हुन्छ । अतः माथि लेखिएको बुँदा प्रमाणबाट वादी हरेन्द्रकुमार बलदेवको छोरा समेत ठहर्ने हुनाले वादीहरुले अंश पाउने ठहर्‍याई सुरु काठमाडौं जिल्ला अदालतबाट गरेको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ मनासिव ठहर्छ । डिभिजनबेञ्चबाट ०३८।१।२१।१ मा गरेको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसीलको कुरामा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।

तपसील

प्रतिवादी बलदेव ठाकुर मरी मुद्दा सकार गर्ने दुर्गा ठाकुर र ऋषिदेव ठाकुर के स.अ.डिभिजनबेञ्चका ०३८।१।२१।१ का फैसलाले वादी हेमकुमारीबाट भराउने गरेको जम्मा कोर्ट फि रु.१६८०।७७ भराउनु पर्दैन, व्यहोरा जनाई लगत कट्टा गर्नु भनी का.जि.अ.त.मा लगत दिनु.......................................................................................................१

का.जि.अ.का ०३३।८।१० र म.क्षे.अ.का ०३४।३।१५ का फैसला बमोजिमको लगत कट्टा गर्नु पर्दैन। कोर्टफि र बिगोको लगत कायमै राख्नु भनी ऐ.ऐ.मा लगत दिनु.........................................................................................२

प्रतिवादी बलदेव ठाकुर मरी मु.स.गर्ने दुर्गा ठाकुर के वादी हेमकुमारीले यस अदालतमा मुद्दा दोहर्‍याउँदा दाखिल गर्नु पर्ने कोर्टफि रु.२५२।११ मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी वादीहरुबाट दाखिल नभएको र हाल वादीले जितेबाट उक्त कोर्टफी रु.२५२।११ प्रतिवादीकै लाग्छ । रुजु हुँदा असूल गरी का.जि.अ.त.मा लगत दिनु.........................................३

 

हामीहरुको सहमती छ ।

 

न्या.धनेन्द्रबहादुर सिंह

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल आषाढ ४ गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु