शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२९२ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ 

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

फैसला मिति : २०७५।३।८

०७२-CR-२०८५

 

मुद्दा:- जबरजस्ती करणी

 

पुनरावेदक / वादी : परिवर्तित नाम E र A को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुर्खेत, मैनतडा गाउँ विकास समिति वडा नं. २ ठूलो जात्री बस्ने दिपक वि.क.

नाबालिकाहरूको शारीरिक अवस्था अविकसित यौनाङ्ग, अपरिपक्क मानसिक अवस्था र प्रतिरोध गर्ने क्षमता नहुने र सजिलैसँग जुलुमीको अनुचित बहकाउ एवं फन्दामा पर्न सक्ने स्वभावका हुनाले नाबालिकाको सहमति एवं स्वीकृति लिएपनि करणी गरेकोमा जबरजस्ती करणी ठहर्ने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर : 

ने.का.प.२०६६, अंक ६, नि.नं.८१७९

सम्बद्ध कानून :

 

सुरू  तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री कुलप्रसाद शर्मा

सुर्खेत जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. मुख्य न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री रत्‍नबहादुर बागचन्द

पुनरावेदन अदालत सुर्खेत

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 

मिति २०६८।१२।२४ गते हामी दुवैजना जाहेरवाला घाँस काट्न भनी झिङ्नी खोलामा गएको अवस्थामा प्रतिवादी राजेश वि.क. र दिपक वि.क. ले हामीले जे जे भन्छौं सोहीअनुसार गर नभए तिमीहरूलाई मारी फाली दिन्छौं भनी विभिन्न प्रकारको डर त्रास देखाई सोही झिङ्नी खोलाको गहुँ बारीमा छुट्टाछुट्टै लगी मुख थुनी हामी २ जनालाई तीन तीनपटक जबरजस्ती करणी गरेकोले आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम E र A को सयुक्त जाहेरी दरखास्त । 

जिल्ला सुर्खेत मैनतडा गा.वि.स. वडा नं. ५ काठेघारी स्थित जाहेरवालाले देखाएबमोजिमको घटनास्थलमा घाँससहितको डोको १ उक्त स्थानमा गहुँको नल तथा झारपात मडारिएको जस्तो घटनास्थल प्रकृति मुचुल्का । 

परिवर्तित नाम E र A को योनि नच्यातिएको परिवर्तित नाम E को दाहिने तल्लो खुट्टामा कोतरिएको घाउ भएको परिवर्तित नाम A को दायाँ र बायाँ कोतरिएको बायाँ दायाँ खुट्टामा निलडाम भन्ने क्षेत्रीय अस्पताल सुर्खेतको स्वास्थ्य परीक्षण रिपोर्ट । 

मिति २०६८।१२।२४ गते किच लामाखाली स्कुलबाट फुटबल खेली राजेश वि.क., किसान वि.क., भिउसेन वि.क. र मसमेत गरी ४ जना घरतर्फ आइरहेको अवस्थामा मैनतडा ५ कोठघारी आई पुग्दा परिवर्तित नाम E र A घाँस काट्न आई रहेका थिए । भिउसेन वि.क. र किसान वि.क. निजहरूसँग एकछिन कुरा गर्छौं भनी बसे । राजेश वि.क. र म घरतर्फ आएका हौं । मैले निज E र A लाई जबरजस्ती करणी गरेका होइनन् । भिउसेन र किसान वि.क.ले निजहरूलाई जबरजस्ती करणी गरेको विश्वास लाग्छ भन्ने दिपक वि.क.ले गरेको बयान कागज । 

परिवर्तित नाम E र A लाई मैले जबरजस्ती करणी गरेको होइन भिउसेन वि.क. र राजेश वि.क. निज जाहेरवालीसँग बसेका थिए मिति २०६८।१२।२५ गते बिहान भिउसेन वि.क. ले परिवर्तित नाम A लाई यौन सम्पर्क गरेको हुँ भनी मसँग भनेकोले निजहरूले नै जाहेरवालीलाई जबरजस्ती करणी गरेको विश्वास लाग्छ भन्ने प्रतिवादी राजेश वि.क. को अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागज । 

प्रतिवादी दिपक वि.क. र राजेश वि.क. को शरीरमा कुनै घाउ चोट नभएको भन्ने क्षेत्रीय अस्पताल, सुर्खेतको स्वास्थ्य परीक्षण रिपोर्ट । 

परिवर्तित नाम E र A लाई म राम्रोसँग चिन्दछु वारदातको समयमा प्रतिवादी दिपक वि.क. समेतकाले जबरजस्ती करणी गरेका हुन् भनेकीले निज प्रतिवादीहरूले नै पीडितलाई जबरजस्ती करणी गरेको हो भन्नेसमेत बेहोराको बलविर नेपालीको कागज । 

परिवर्तित नाम E मेरी छोरी हुन् । निज मिति २०६८।१२।२४ गते घाँस काट्न आफ्नै साथी परिवर्तित नाम A सँग काठेघारी भन्ने ठाउँमा गएको अवस्थामा प्रतिवादी दिपक वि.क. र, राजेश वि.क. समेतले जबरजस्ती करणी गरेका हुन् । वारदातको भोलिपल्ट बिहान निज छोरीलाई गहुँबारीमा फेला पारेको हुँ भन्नेसमेत बेहोराको परिवर्तित नाम P ले गरिदिएको कागज ।

वारदातको दिनमा म आफ्नै घरमा 

थिएँ । सो दिन जाहेरवाली परिवर्तित नाम E को आमा आफ्नो छोरी खोज्नको लागि मेरो घरमा समेत आएकी हुन् । वारदातको राति जाहेरवालीहरू E र A लाई प्रतिवादी दिपक वि.क. र राजेश वि.क.ले जबरजस्ती करणी गरे भन्ने सुनेको हुँदा निज प्रतिवादीहरूले नै जाहेरवालीहरूलाई जबरजस्ती करणी गरेको विश्वास लाग्छ भन्नेसमेत बेहोराको कमलसिंह वि.क. ले गरिदिएको कागज ।

परिवर्तित नाम A मेरो छोरी हुन् मिति २०६८।१२।२४ गते परिवर्तित नाम E र A साँझको खाना खाई मेरै घरमा सुतेका हुन् । बिहानपख E आफ्नो घरतर्फ लागिन् सो समयमा मेरो छोरीले जबरजस्ती करणी भएको घरमा कोही कसैलाई भनेकी 

थिइनन् । छोरीले आफूलाई जबरजस्ती करणी भएको घरमा मलाई तथा आमालाई नभनेकोले को कसले के कस्तो परिपञ्चबाट करणी गरे मलाई थाहा भएन भन्नेसमेत बेहोराको परिवर्तित नाम B ले गरी दिएको कागज ।

प्रतिवादी राजेश वि.क. र दिपक वि.क.ले परिवर्तित नाम E र A लाई घाँस काट्न गएको अवस्थामा जबरजस्ती करणी गरी E लाई अचेत अवस्थामा फेला पारी पीडितको आमाले बोकेर घरमा ल्याएकी हुन् । निज प्रतिवादीहरूले नै पीडितहरूलाई जबरजस्ती करणी गरेको विश्वास लाग्छ भन्नेसमेत बेहोराको हिरासिंह सार्कीले गरी दिएको कागज ।

प्रतिवादी दिपक वि.क. र राजेश वि.क. ले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेकोले प्रतिवादी दिपक वि.क.ले वर्ष १२ की परिवर्तित नाम E लाई जबरजस्ती करणी गरेकोले उक्त कसुरमा जबरजस्ती करणीको महलको ३ को देहाय (२) नं. बमोजिम र प्रतिवादी राजेश वि.क.ले वर्ष १४ कि परिवर्तित नाम A लाई जबरजस्ती करणी गरेकोले उक्त कसुरमा सोही महलको ३ को देहाय (३) नं. बमोजिम सजाय गरी प्रतिवादीहरूबाट पीडितहरूलाई जबरजस्ती करणीको महलको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।

अभियोग माग दाबीबमोजिम मैले जबरजस्ती करणीको कसुर अपराध गरेको होइन । भिउसेन वि.क. र किसान वि.क.ले जबरजस्ती करणी गरी छाडेपछि पहिला नचिनेको र नाता थाहा नपाएर करणी गरेका र पछि नाता लगाउँदा र गाउँघरमा बुझ्दा भिउसेन र किसान वि.क.को हाडनाता पर्ने भएपछि निजहरूलाई छुटाउनका लागि हामीप्रति झुठ्ठा आरोप लगाइएको हो । तसर्थः अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक वि.क.ले अदालतमा गरेको बयान ।

अभियोग माग दाबीबमोजिम मैले कसुर गरेको होइन भिउसेन वि.क. र किसान वि.क.ले करणी गरेको हुँदा कसुर अपराध गर्नेलाई नै सजाय गरी मलाई सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राजेश वि.क.ले अदालतमा गरेको बयान ।

झिङ्नी खोलामा भिउसेनले मलाई ३ चोटी सल्लाहले करणी गरेका हुन् भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम A ले गरेको बकपत्र । 

पीडितले प्रतिवादीहरूउपर दिएको जाहेरी बेहोरा झुठ्ठा हो । किनकि गाउँका राम्रा छवि भएका केटामध्येका यी दुवै प्रतिवादी पर्दछन् । जाहेरी किन दिइयो सोबारेमा मलाई थाहा जानकारी भएन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक वि.क.को साक्षी टेकबहादुर वि.क.ले गरेको बकपत्र ।

प्रतिवादी राजेश र प्रतिवादी दिपकले भारत लैजाउँला भनी हामी दुवै पीडितलाई भनेका भारत लैजाने, पाल्ने, मोबाइल किनिदिने जस्ता कुरा गरी प्रतिवादी दिपकले मलाई ३ पटक करणी गरेको 

हो । म चिच्याउँदा मेरो मुख थुनी दिएको हो भन्नेसमेत बेहोराको जाहेरवाला पीडित E ले गरेको बकपत्र ।

प्रतिवादी राजेश वि.क.ले जाहेरवालीलाई जबरजस्ती करणी गरेका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी राजेश वि.क.को साक्षी रत्नबहादुर वि.क.ले गरेको बकपत्र ।

प्रतिवादीहरू दुवैजनाले पीडितहरूलाई जबरजस्ती करणी गरेका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी कर्णबहादुर वि.सी.ले गरेको 

बकपत्र ।

पीडित A सँग मेरो भेटघाट हुँदा जबरजस्ती करणी गर्ने प्रतिवादी राजेश वि.क. र दिपक वि.क. 

हुन् । राजेश वि.क.ले पीडित A लाई र प्रतिवादी दिपक वि.क.ले पीडित E लाई जबरजस्ती करणी गरेको भन्ने कुरा मसँग भनेकी हुन् भन्नेसमेत बेहोराको बुझिएकी परिवर्तित नाम P ले गरेको बकपत्र ।

दुवै प्रतिवादीहरूले जबरजस्ती करणी गरेको हुन् भन्ने कुरा पीडितहरूले भनेका रहेछन् प्रत्यक्ष मैले सुनिन, देखिन । पछि गाउँमा हल्ला भएअनुसार पीडितहरूलाई जबरजस्ती करणी गर्ने प्रतिवादी दिपक वि.क. र राजेश वि.क. रहेछन् भन्नेसमेत बेहोराको बुझिएका हिरासिं सार्कीले गरेको बकपत्र । 

प्रतिवादीहरूले पीडित जाहेरवालाहरूलाई जबरजस्ती करणी गरेको भन्ने दाबी पुष्टि हुने विश्वासलायक प्रमाण नदेखिँदा पीडित A को बकपत्रसमेतबाट प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको अपराधजन्य कसुर नगरेको भन्ने स्पष्ट भएबाट पनि आरोपित अभियोगबाट प्रतिवादीहरू दिपक वि.क. र राजेश वि.क.ले सफाइ पाउने ठहर्छ भन्ने सुर्खेत जिल्ला अदालतको मिति २०६९।३।२८ को फैसला । 

वारदातस्थलमा दुईजना प्रतिवादीहरू दीपक र राजेश तथा दुईजना पीडित E र A बाहेक अरू कोही पनि भएको तथ्य मिसिलबाट देखिँदैन । भिउसेन र किसन भन्नेको थर नै नखुलेको अवस्थामा यी व्यक्तिहरूको अस्तित्व रहेको कल्पना गर्न सकिँदैन । यस्तो अवस्थामा वारदातका प्रत्यक्ष पीडित जो मुद्दाको सर्वोत्तम प्रमाण हो, त्यस्ता नाबालिका पीडित E को बकपत्रलाई बेवास्ता गरी Hostile बकपत्र गर्ने पीडित A को बकपत्र र प्रतिवादीको कोरा इन्कारी एवं मुद्दा परिसकेपछि बच्ने नियतले खडा गरेको काल्पनिक Audio रेकर्डलाई प्रमाणमा लिन मिल्दैन । पीडित E को भनाइ मौकामा कागज गर्ने A र हिरासिंह सार्कीले गरेको बकपत्रसमेतबाट यी पीडितद्वयउपर यी प्रतिवादीहरूले जबरजस्ती करणी गरेको तथ्य स्थापित भएको हुँदा प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरू सुर्खेत जिल्ला अदालतको फैसला बदरभागी हुँदा अभियोग दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत सुर्खेतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा पीडित E ले अदालतमा आई बकपत्र गर्दा जाहेरीको बेहोरालाई पुष्टि हुने गरी बकपत्र गरेको स्थितिमा प्रमाण मूल्याङ्कनको सन्दर्भबाट सुरू जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफल निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिमको प्रयोजनार्थ विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत सुर्खेतको आदेश ।

मिसिल संलग्न प्रमाण कागजबाट प्रतिवादी दिपक वि.क. र राजेश वि.क.ले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको सुरू सुर्खेत जिल्ला अदालतको मिति २०६९।३।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसला । 

पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसलामा चित्त बुझेन । वारदातस्थलमा चोयाको घाँससहितको डोको रहेको देखिन आएबाट घटनास्थलमा पीडितहरूलाई करणी गरेको तथ्य पुष्टि भएको छ । प्रतिवादीहरूले मौकामा बयान गर्दा आफूहरूले पीडितलाई करणी गरेको होइन भनी उल्‍लेख गरे तापनि स्वास्थ्य परीक्षण रिपोर्टबाट पीडित E को दाहिने तल्लो खुट्टामा कोतरिएको घाउ रहेको पीडित A को दायाँ बायाँ हातमा कोतरिएको दाग एवं निलडाम रहेको देखिएबाट पीडितहरूसँग प्रतिवादीहरूले जबरजस्ती करणी गर्ने क्रममा संघर्ष भएको तथ्य स्थापित हुन आएको छ । क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बखत पीडित E ले प्रतिवादीहरूले जबरजस्ती करणी गरे भनी बताएको थिइन् भनी मौकामा कागज गर्ने बलवीर नेपालीले लेखाएको बेहोरासमेतबाट प्रतिवादीहरूले पीडितहरूलाई जबरजस्ती करणी गरेको भन्‍ने तथ्यमा विवादित नभएको अवस्थामा अभियोग दाबीबाट प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत सुर्खेतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर उल्टी गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याई हेरी इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको निवेदन । 

यसमा जाहेरवाला पीडित परिवर्तित नाम E ले प्रतिवादीहरूले हामी दुवै पीडितहरूलाई भारत लैजाने, पाल्ने र मोबाइल किनिदिने जस्ता प्रलोभन देखाई प्रतिवादी दीपक वि.क.ले म परिवर्तित नाम E लाई र प्रतिवादी राजेश वि.क.ले परिवर्तित नाम A लाई करणी गरेका हुन् भनी किटानी जाहेरी दिई सोही बेहोरालाई समर्थन गरी बकपत्रसमेत गरिदिएको अवस्थामा सोको विवेचना नगरी प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा मुलुकी ऐन, अ.बं.१८४क समेतको गम्भीर कानूनी त्रुटि देखिनुको साथै यस अदालतबाट ने.का.प. २०६६, अंक ६, नि.नं. ८१७९ मा प्रतिपादित सिद्धान्तसमेतको पालना गरेको नदेखिँदा प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नु भन्‍ने यस अदालतको मिति २०७३।२।२५ को आदेश । 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन   गरियो । पुनरावेदक / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले प्रस्तुत मुद्दामा पीडितहरूले संयुक्त रूपमा जाहेरी दिँदा मिति २०६८।१२।२४ गते घाँस काट्‍न लागेको ठाउँमा आई प्रतिवादीहरूमध्ये दीपकले पीडित E लाई राजेशले A लाई हात समाती उनीहरूले भनेजस्तो नगरेमा मारी फालिदिन्छौं भनी डर, त्रास देखाई गहुँबारीमा छुट्टाछुट्टै स्थानमा लगी चिच्याउन कराउन नदिई जबरजस्ती करणी गरी सो राति घटनास्थलमा नै राखी पीडित E घटनास्थलमा नै बेहोस भएपछि आमाले बोकेर घरमा ल्याएपछि होसमा आई घटनाबारे बताएको भनी यी प्रतिवादी राजेश वि.क. र दीपक वि.क. उपर किटानी जाहेरी दिएको र पीडित E कि आमा P तथा हिरासिंह सार्कीले मौकाको भनाइ समर्थित हुने गरी यिनै प्रतिवादी राजेश र दीपकले जबरजस्ती करणी गरेका हुन् भनी बकपत्रसमेत गरेको अवस्था हुँदाहुँदै सुरूले अभियोग दाबीबाट प्रतिवादीहरूलाई सफाइ दिएको र पुनरावेदन अदालत सुर्खेतले सुरू फैसला सदर गरेको हुँदा, सो फैसला त्रुटिपूर्ण देखिँदा, त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीअनुसार प्रतिवादीहरूलाई सजाय गरी न्याय इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो । 

विद्वान् सहन्यायाधिवक्ताको बहस बुँदालाई समेत मध्यनजर राखी मिसिल संलग्न कागजातको अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा 

होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी दीपक वि.क. र राजेश वि.क.ले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेकोले प्रतिवादी दीपक वि.क.ले वर्ष १२ कि परिवर्तित नाम E लाई जबरजस्ती करणी गरेकोले उक्त कसुरमा जबरजस्ती करणीको महलको ३ को देहाय (२) नं. बमोजिम र प्रतिवादी राजेश वि.क. ले वर्ष १४ कि परिवर्तित नाम A लाई जबरजस्ती करणी गरेकोले उक्त कसुरमा सोही महलको ३ को देहाय (३) नं. बमोजिम सजाय गरी प्रतिवादीहरूबाट पीडितहरूलाई  जबरजस्ती करणी महलको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी देखिन्छ । सुरू सुर्खेत जिल्ला अदालतले अभियोग दाबीबाट प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भनी मिति २०६९।३।२८ मा फैसला भएको र पुनरावेदन अदालत सुर्खेतबाट समेत सुरू फैसला सदर गरेउपर वादी नेपाल सरकारले यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्‍ने निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत पुनरावेदन निर्णयार्थ पेस भएको रहेछ । 

३. मिति २०६८।१२।२४ गते हामी दुवैजना जाहेरवाला घाँस काट्‍न भनी झिङ्नी खोलामा गएको अवस्थामा प्रतिवादी राजेश वि.क. ले वर्ष १४ कि सांकेतिक नाम A लाई र दीपक वि.क. ले वर्ष १२ कि सांकेतिक नाम E लाई हामीले जे जे भन्छौं सोहीअनुसार गर नभए तिमीहरूलाई मारी फालिदिन्छौं भनी विभिन्‍न प्रकारको डर त्रास देखाई सोही झिङ्नी खोलाको गहुँ बारीमा छुट्टाछुट्टै लगी मुख थुनी हामी २ जनालाई तीनतीन पटक जरबजस्ती करणी गरकोले आवश्‍यक कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम E र A को मिति २०६८।१२।२५ गते संयुक्त जाहेरी दरखास्त दिएको देखिन्छ । यसरी दुवै प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी नाम स्पस्ट उल्लेख गरी जाहेरी दिएको अवस्था छ । 

४. अदालतमा आई सांकेतिक नाम E ले प्रतिवादी राजेश र दीपकले भारत लैजाउँला भनी हामी दुवै पीडितलाई भनेका, भारत लैजाने, पाल्ने, मोबाइल किनिदिने जस्ता कुरा गरी प्रतिवादी दीपकले मलाई ३ पटक करणी गरेको हो । म चिच्याउँदा मेरो मुख थुनिदिएको हो भनी जाहेरी बेहोरालाई समर्थन हुने गरी बकपत्र गरेकी छिन् । प्रतिवादी दीपक वि.क.ले पीडित E लाई र प्रतिवादी राजेश वि.क.ले पीडित A लाई जबरजस्ती करणी गरेको भन्ने कुरा पीडित A ले मलाई भनेको हुँदा यी प्रतिवादीहरूले नै पीडितहरूलाई जबरजस्ती करणी गरेका हुन् भन्नेसमेत बेहोराको बुझिएकी परिवर्तित नाम P ले मौका एवं अदालतमा आई बकपत्र गरेको अवस्था छ । त्यस्तै बुझिएका हिरासिं सार्कीले पीडितहरूलाई जबरजस्ती करणी गर्ने प्रतिवादीहरू दीपक वि.क. र राजेश वि.क. हुन् भनी मौका एवं अदालतमा बकपत्र गरेको देखिँदा जाहेरी बेहोरा समर्थित भएको देखिन्छ । 

५. सांकेतिक नाम E को मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेतको मिति २०६७।१२।२६ को स्वास्थ्य परीक्षण रिपोर्ट हेर्दा पीडित सांकेतिक नाम E को दाहिने तल्लो खुट्टामा कोतरिएको घाउचोट रहेको भन्ने देखिन्छ । 

६. पीडित A ले अदालतमा आई बकपत्र गर्दा अभियोग दाबीमा उल्लेख नै नभएका व्यक्ति भिउसेनले मलाई ३ पटक करणी गरेको हो भनी लेखाई यी प्रतिवादीलाई उन्मुक्ति दिन खोजेको देखिए तापनि बकपत्रको स.ज. १० मा करणी गर्दा भिउसेनले ढाल लगाएको थियो भनी उल्लेख गरेको पाइन्छ । निजको भेजिनल स्वाव परीक्षणबाट semen पुरूष वीर्य पाइएको भन्‍ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टको बुँदा नं. ५ र ६ मा उल्लेख भएको देखिन्छ । वारदात घटना भएको लामो समयपछि अदालतमा आएर विभिन्न दबाब प्रभावमा परी पीडित स्वयंले प्रतिकूल गवाहको रूपमा प्रस्तुत हुने यदाकदा देखिन्छ । पीडितको यौनाङ्गबाट मौकामा नै संकलन गरी वैज्ञानिक परीक्षण गर्न पठाएको Viginal Swab बाट निजउपर जबरजस्ती करणी भएको तथ्य स्थापित भएको छ । वैज्ञानिक परीक्षणबाट तत्काल संकलन गरिएका प्रमाणलाई झुठो भन्नु पर्ने अवस्था रहँदैन । वस्तुगत प्रमाणबाट पुष्टि भइरहेको वारदातलाई पीडिता A को बकपत्रले खण्डन गर्न सक्ने हुँदैन । सामान्यतया कन्डम लगाई यौन क्रिया गरेको अवस्थामा मानव वीर्य योनिभित्र रहने अवस्था स्वाभाविक नै 

हुँदैन । साथै अनुसन्धान तथा मिसिल संलग्न कहिँकतै नाम नै उच्चारण नभएको व्यक्ति भिउसेनले कन्डम लगाई ३ पटक करणी गरेको हो भनी पीडिता A ले गरेको Hostile बकपत्र उक्त तथ्य प्रमाणबाट मिल्दो र स्वाभाविक देखिएन । वादी नेपाल सरकार विरूद्ध नारायणबहादुर राउत भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६६, असोज, नि.नं. ८१७९) मा अन्य प्रमाणबाट कसुर गरेको भन्ने पुष्टि भइरहेको अवस्थामा केबल पीडित तथा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूले पहिला आफूले भनेको भनाइको विपरीत रहेको बकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिँदै जाने हो भने पीडित तथा अन्य व्यक्तिउपर अनुचित प्रभाव पार्न सक्ने र अपराधीहरूले कहिल्यै पनि सजाय पाउने अवस्था नआई दण्डहीनताको स्थिति सृजना भई अन्ततः समाज नै अराजकतातर्फ जाने भनी न्यायिक सिद्धान्तसमेत प्रतिपादन भइरहेको छ ।

७. नाबालिकाहरूको शारीरिक अवस्था अविकसित यौनाङ्ग, अपरिपक्क मानसिक अवस्था र प्रतिरोध गर्ने क्षमता नहुने र सजिलैसँग जुलुमीको अनुचित बहकाउ एवं फन्दामा पर्न सक्ने स्वभावका हुनाले नाबालिकाको सहमति एवं स्वीकृति लिएपनि करणी गरेकोमा जबरजस्ती करणी ठहर्ने हुन्छ । 

८. मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. हेर्दा, “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भनी स्पस्‍ट रूपमा उल्लेख गरेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूको इन्कारी बयान मिसिल संलग्न कुनै प्रमाणबाट पुष्टि भएको देखिँदैन । पीडितसँग वारदातस्थलमा भेटघाट भएकोमा यी प्रतिवादीहरू अदालतमा पनि स्वीकार गरेको देखिन्छ । वारदात मिति २०६८।१२।२४ गतेमा पीडित सांकेतिक नाउँ A को उमेर १४ वर्ष र पीडित सांकेतिक नाउँ E को उमेर १२ वर्षदेखि दुवैजना नाबालिक रहेको भन्‍ने देखिन आएको छ । ऐ. महलको ३ नं. को देहायको २ मा दश वर्ष वा सोभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठ वर्षदेखि बाह्र वर्षसम्म जबरजस्ती करणी गर्नेलाई कैद सजाय हुनेछ भनी उल्लेख भएको र ऐ. नं. को देहाय ३ मा चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरको बालिका भए ६ वर्षदेखि दश वर्षसम्म जबरजस्ती करणी गर्नेलाई कैद सजाय हुनेछ भनी स्पस्ट रूपमा उल्लेख गरेको  देखिन्छ । 

९. पीडिता E ले मौकामा दिएको जाहेरी तथा अदालतमा आई सो जाहेरी पुष्टि हुने गरी बकपत्र गरेकी छिन् । जबरजस्ती करणी मुद्दामा पीडित स्वयम् जीवित प्रमाण हो । निजले अदालतमा आई आफूउपर घटेको घटनाको बारेमा सविस्तार वर्णन गरी प्रतिवादीले नै जबरजस्ती करणी गरेको हो भनी गरेको बकपत्र अन्यथा प्रमाणित नभएको अवस्थामा महत्त्वपूर्ण प्रमाणको स्थान ग्रहण गर्नु पर्ने हुन्छ । पीडित A र E दुवैजना घाँस काट्न गएको अवस्थामा प्रस्तुत वारदात भएको देखिन्छ । पीडित A को भेजिनल स्वावबाट निजउपर जरबजस्ती करणी भएको पुष्टि हुन्छ । पीडित E को पनि शरीरमा कोतारिएको घाचोट भएको, Hymen नच्यातिएको भनी उल्लेख भए तापनि निजको बकपत्रसमेतबाट निजउपर जबरजस्ती करणी भएको पुष्टि भएको छ ।

१०. अतः प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरी पुनरावेदन अदालत सुर्खेतबाट मिति २०७०।२।२६ को फैसला मिलेको नदेखिँदा उल्टी भई पीडिता सांकेतिक नाउँ वर्ष १४ कि A लाई राजेश वि.क.ले जबरजस्ती करणी गरेको पुष्टि हुँदा जबरजस्ती करणीको ३(३) नं. बमोजिम ६ (छ) वर्ष कैद सजाय हुने र निज प्रतिवादीबाट सांकेतिक नाउँ A ले ऐ. को दफा १० बमोजिम १०,०००।– (दश हजार) क्षतिपूर्ति भराई पाउने ठहर्छ । सांकेतिक नाउँ वर्ष १२ कि E लाई प्रतिवादी दीपक वि.क. ले जबरजस्ती करणी गरेको देखिँदा निज प्रतिवादी दीपक वि.क. लाई जबरजस्ती करणीको ३(२) नं. बमोजिम ८ (आठ) वर्ष कैदको सजाय हुने र ऐ. को दफा १० नं. बमोजिम पीडित E ले निज प्रतिवादीबाट रू.१०,०००।- (दश हजार) क्षतिपूर्ति भराई पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसला उल्टी भई प्रतिवादी राजेश वि.क. लाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(३) नं. बमोजिम ६ वर्ष कैद सजाय हुने ठहरेको र निज प्रतिवादी मिति  २०६८।१२।२५ देखि मिति २०६९।१।१८ सम्म थुनामा रहेको देखिँदा थुनामा रहेको दिन २४ कट्टा गरी बाँकी ५ वर्ष ११ महिना ६ दिन बेरूजु हुँदा निजको हकमा कैद ठेकी असुलउपर गर्नु भनी सुरूमा लेखी पठाइदिनू --------------------------------------------१

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसला उल्टी भई प्रतिवादी दीपक वि.क. लाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(२) नं. बमोजिम ८ वर्ष कैद सजाय हुने ठहरेकोले र निज प्रतिवादी मिति  २०६८।१२।२५ देखि मिति २०६९।१।१८ सम्म थुनामा रहेको देखिँदा थुनामा रहेको दिन २४ कट्टा गरी बाँकी ७ वर्ष ११ महिना ६ दिन निज बेरूजु हुँदा कैद ठेकी असुलउपर गर्नु भनी सुरूमा लेखी पठाउनू ----२

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी राजेश वि.क.बाट सांकेतिक नाउँ A ले रू.१०,०००।- (दश हजार) क्षतिपूर्ति भरी पाउने ठहरेकोले प्रतिवादीको यसै सरहदको जेथा देखाई उक्त रकम भराई पाउँ भनी दरखास्त पर्न आए नियमानुसार भराइ दिनु भनी सुरूमा लेखी पठाइदिनू ------------------------------३

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी दीपक वि.क.बाट सांकेतिक नाउँ E ले रू. १०,०००।- (दश हजार) क्षतिपूर्ति भरी पाउने ठहरेकोले प्रतिवादीको यसै सरहदको जेथा देखाई उक्त रकम भराइ पाउँ भनी दरखास्त पर्न आए नियमानुसार भराइ दिनु भनी सुरूमा लेखी पठाइदिनू ------------------------------४

फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू -------------५

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ---------६

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- विद्याराज पौडेल

इति संवत् २०७५ साल असार ८ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु