निर्णय नं. ११५२० - जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विनोद शर्मा
माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल
फैसला मिति : २०८१।०१।०४
मुद्दाः- जबरजस्ती करणी
०७४-CR-०१७१
पुनरावेदक / प्रतिवादी : विष्णुबहादुर शाहीको छोरा, जिल्ला कालिकोट, लालु-३ को हाल नरहरिनाथ गाउँपालिका, वडा नं. ९ बस्ने वर्ष २१ को राजेन्द्रबहादुर शाही
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम सङ्केत नं. ५९ ‘A’ को जाहेरीले वादी नेपाल सरकार
०७५-CR-००५६
पुनरावेदक / वादी : परिवर्तित नाम सङ्केत नं. ५९ ‘A’ को जाहेरीले वादी नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : विष्णुबहादुर शाहीको छोरा, जिल्ला कालिकोट, लालु-३ को हाल नरहरिनाथ गाउँपालिका, वडा नं. ९ बस्ने वर्ष २१ को राजेन्द्रबहादुर शाही
प्रतिवादीको कसुर सिलसिलाबद्ध रूपमा मालाकारको सिद्धान्त (principle of corroboration) बमोजिम प्रामाणिक मूल्ययुक्त वस्तुनिष्ट ठोस प्रमाणबाट खम्बिर भइरहेको परिप्रेक्ष्यमा निज प्रतिवादीको इन्कारी र पुनरावेदन जिकिरलाई मात्र आधार लिई निजलाई विनासबुद प्रमाण सजायबाट उन्मुक्ति दिने हो भने दण्डहीनताले प्रश्रय पाउने । यसले समाजमा सुख, शान्ति, सुरक्षा, अमन चयन र खुसीको वातावरणमा तुषारापात ल्याउने अवस्था सिर्जना हुने र समाजको समृद्धिमा समेत असर पर्ने । प्रतिवादीको कसुरको मात्राबमोजिम सजाय दिनु कानून निर्माता विधायिकाको मनसायलाई हृदयङ्गम गरी उपलब्ध सबुद प्रमाणको उपयुक्त मूल्याङ्कन गरी उचित र स्वच्छ न्याय सम्पादन (just & fair justice delivery) गर्नु न्यायको मूल्य र मान्यता रहेको हुँदा यसबाट न्यायिक सुशासन (judicial good governance) कायम हुने ।
(प्रकरण नं.८)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रतिमा दाहाल
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विष्णु लुइँटेल तथा विद्वान् अधिवक्ताहरू श्री भुवनप्रसाद वाग्ले र श्री शुशिलाकुमारी रोकाया
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः-
मा. जिल्ला न्यायाधीश श्री केशवकुमार पाण्डे
कालिकोट जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
मा. न्यायाधीश श्री शेषराज सिवाकोटी
मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी
उच्च अदालत सुर्खेत, जुम्ला इजलास
फैसला
न्या.विनोद शर्मा : न्याय प्रशासन ऐन, २०७३ को ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०७२।०९।११ को दिउँसो अन्दाजी १२:०० बजेको समयमा मेरी नाबालिका छोरी परिवर्तित नाम वर्ष ४ की सङ्केत ५९B घरको माथिल्लो तलामा पढी बसेको अवस्थामा निज अन्यायी राजेन्द्रबहादुर शाहीले आफ्नो कोठाभित्र बोलाई मैले आलु पकाएको छु खाउला भनी फकाइ निज छोरीले लगाएको सुरूवाल खोल्न लगाई आफ्नो लिङ्ग मेरी छोरीको अङ्गमा राखी निज छोरीले रोइ कराइ गर्दा निजको लिङ्गबाट खसेको वीर्य मेरी छोरीको अङ्गमा खसी निजले आफ्नो साथमा रहेको रूमालले मेरी छोरीको अङ्ग योनि सफा गरी निजले मेरी नाबालिका छोरीलाई जबरजस्ती करणी गरेकोले निज अन्यायी राजेन्द्रबहादुर शाहीलाई पक्राउ गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७२।०९।१३ को जाहेरी दरखास्त ।
जिल्ला कालिकोट, मान्म गा.वि.स., वडा नं.५ स्थित पूर्वमा रंगलाल देवकोटाको पक्की घर, पश्चिममा धनसिंह पाण्डेको कच्ची घर, दक्षिणमा कर्णाली राजमार्ग सडक र उत्तरमा जिल्ला प्रहरी कार्यालयको एरिया यति चार किल्लाभित्र रहेको ऐनबहादुर शाहीको ३ तल्ले पक्की घरको बिच तल्लाको ६ ओटा कोठाहरू भाडामा लिई RAP-३ को कार्यालय रहेको, उक्त कार्यालयको पूर्वतर्फको उत्तरतिरको दक्षिण मोहडा भएको कोठाभित्र प्रवेश गरी हेर्दा उक्त कोठाको दक्षिणतर्फको भागमा काठको खाटमा डसना रहेको उक्त खाटमा मिति २०७२।०९।११ गते दिउँसो अ.१२:०० बजेको समयमा परिर्वतित नाम वर्ष ४ की सङ्केत ५९B लाई जिल्ला कालिकोट, लालु गा.वि.स., वडा नं.३ घर भई RAP-३ को कार्यालयमा कार्यरत वर्ष २० को राजेन्द्रबहादुर शाहीले जबरजस्ती करणी गरेको भन्ने घटनास्थलमा अपराधसँग सम्बन्धित सबुत प्रमाण फेला नपरेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
प्रतिवादी राजेन्द्रबहादुर शाहीको जिल्ला अस्पताल, कालीकोटबाट मिति २०७२।०९।१३ मा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजले जबरजस्ती करणी गरे नगरेको यकिनसाथ भन्न नसकिने, निजको शरीरमा जबरजस्ती करणी गर्दा कुनै संघर्षका चिह्नहरू छैनन् भन्नेसमेत बेहोरा उल्लेख भएको । पीडित परिवर्तित नाम वर्ष ४ की सङ्केत ५९B को जिल्ला अस्पताल, कालीकोटबाट मिति २०७२।०९।१३ मा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजलाई जबरजस्ती करणी भएको यकिनका साथ भन्न नसकिने, पीडितको शरीरमा जबरजस्ती करणी गर्दाका कुनै संघर्षका चिह्नहरू छैन, निजको गुप्ताङ्ग वरिपरि घाउचोट, सुन्निएको, निलडाम रहेको छैन, गुप्ताङ्गमा र गुप्ताङ्ग वरिपरि तथा कपडासमेतमा पुरूष वीर्य लागेको छैन निजको Vaginal swab forensic lab मा परीक्षणको लागि पठाइएको र कन्याजालीसमेत नच्यातिएको भन्नेसमेत बेहोरा उल्लेख भएको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
उल्लिखित मितिमा र समयमा निज पीडित बालिका घरको छतमा बसी पढ्दै गरेको अवस्थामा मैले उक्त छतमा सुकाएका कपडा उठाउन गई कपडा उठाई म आफ्नो कोठामा आएपछि अब कार्यालय सफा गर्नुपर्यो भनी उक्त कार्यालयको लेखा कक्षमा गई उक्त कोठा सफा गर्दै गर्दा निज पीडित बालिका उक्त कोठाभित्र प्रवेश गरी मलाई आलु चिप्स दिनुहोस् मामा भनी दुई पटक भनेपछि मैले निजलाई हप्काएर अहिले छैन, यहाँबाट तिमी गई हाल जतिखेर पायो तेतिखेर कहाँ हुन्छ भनी भनेपछि निज त्यहाँ बाट गएकी हुन् । पछि केही समयपछि निज पीडित बालिकाको हजुरआमा आएर मलाई हप्काएर यति सानी बालिकालाई नहुने नहुने काम गर्ने फटाहा भनी मलाई रिसाएर गएकी हुन् । पछि केही समयपछि उक्त कार्यालयका लेखापाल महेश खत्री आई मलाई छतमा बोलाई निज बालिकाको हजुरआमासमेतको सामुन्नेमा सोधपुछ गर्दा निज बालिकाले मलाई राजेन्द्र मामाले समात्नुभयो भनी बताएकी थिइन् । मैले उल्लिखित मिति र समयमा निज बालिकालाई ललाइ फकाइ जबरजस्ती करणी गरेको छैन भन्ने बेहोराको प्रतिवादी राजेन्द्रबहादुर शाहीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
उल्लिखित मिति र समयमा निज पीडित बालिका आफ्नो घरको छतमा बसी पढ्दै गरेको समयमा निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले आलु खान आउ भनी निज पीडितलाई आफ्नो कार्यालयमा रहेको कोठाभित्र लिई ललाइ फकाइ निजलाई खाटमाथि राखी निजको सुरूवाल खोली जबरजस्ती करणी गरेको भनी मिति २०७२।०९।१३ को बिहान पीडित बालिकालाई सोधपुछ गर्दा निज बालिकाले उल्लिखित घटनाको बारेमा आफैँले भनेकीले निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले उल्लिखित मिति र समयमा निज पीडित बालिकालाई ललाइ फकाइ जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास लाग्छ भन्ने बेहोराको रणबहादुर चलाउने र विष्णुप्रसाद जैसीले गरिदिएको घटना विवरण कागज ।
उल्लिखित मितिमा दिउँसो अ.०२:०० बजेको समयमा म आफ्नो डेरा कोठा नजिक साथीको कोठामा रहेको समयमा निज पीडित बालिकाको हजुरआमा म भएको स्थानमा आई सर एकछिन यता आउनुहोस्, तपाइँसँग अलिकति काम छ भनी भनेपछि म के भयो भनी उक्त घटनास्थलमा आई निज बालिकाको हजुरआमासँग सोधपुछ गर्दा निजले मलाई तपाइँको राजेन्द्रबहादुर शाहीले मेरी नाबालिका नातिनीलाई आफ्नो कोठामा लिई सुतायो अरे भने पछि मैले तत्काल निज राजेन्द्रबहादुर शाहीलाई के भएको हो साँचो कुरा भन भनी भन्दा निजले आफूले उल्लिखित कार्य नगरेको भन्ने बताए । पछि मैले निज बालिकाको हजुरआमालाई सोधपुछ गर्दा निज बालिकालाई कुनै घाउ चोट नरहेको निज राजेन्द्रबहादुर शाहीले प्रयास मात्र गरेको भनी बताए । पछि मैले निज पीडित बालिकालाई सोधपुछ गर्दा निज बालिकाले मलाई राजेन्द्र मामाले मलाई समात्नुभयो भनी बताएपश्चात् मैले अन्य केही पनि सोधिन भन्ने बेहोराको महेश खत्रीले गरेको कागज ।
उल्लिखित मिति र समयमा म आफ्नो भान्सा कोठामा काम गर्दै गरेको समयमा निज पीडित बालिका छतमा घाम ताप्दै पढ्दै बसेकी थिइन् पछि म भान्सा कोठामा भएको समयमा निज बालिका आई हजुरआमा मलाई राजेन्द्र मामाले पिसाब लगायो भने पछि मैले कुरा नुबुझी मैले निज नातिनीलाई रिसाउँदा निजले भुइँमा लडीबुडी खेली रूँदै गरेपछि के भयो भन भनी मैले पुनः सोधपुछ गर्दा निज पीडितले रूँदै आफू छतमा बसेर पढ्दै गरेको समयमा निज राजेन्द्र मामाले मलाई आफ्नो कोठामा आलु खान आउ भनी टाउकोले इसारा गरी बोलाई कोठामा लिई ढोका बन्द गरी मलाई खाटमा बसाली आफूले पैन्ट खोली मेरो सुरूवाल खोली मेरो पिसाब गर्नेमा आफ्नो पिसाब गर्ने लगाई सेतो सेतो मेरो पिसाब फेर्नेमा फालेपछि म ऐया दुख्यो भनेपछि निज राजेन्द्रबहादुर शाहीले आफ्नो रूमालले पुछि मेरो सुरूवाल लगाई दिई हजुरआमालाई नभन्नु भनी पठाएको भनी बताएपश्चात् निज प्रतिवादी राजेन्द्रबहादुर शाहीको कोठामा गई निजलाई यति सानी बालिकालाई नहुने काम गरेको भनी रिसाएको हुँ । उल्लिखित मिति र समयमा निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले मेरी नाबालिका नातिनीलाई ललाइ फकाइ जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास छ । निजलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको परिवर्तित नाम सङ्केत नं. ५९C ले कागज गरेको ।
उल्लिखित मिति र समयमा मेरी हजुरआमा भान्सा कोठामा काम गर्दै गरेको समयमा म छतमा बसी पढ्दै गरेको समयमा निज राजेन्द्र मामा (राजेन्द्रबहादुर शाही)ले मलाई आलु खान आउ भनी बोलाएपछि म तल निजको कोठामा आएँ, पछि निजले मलाई आफ्नो खाटमा बसाली आफ्नो पाइन्टको बेल्ड खोली पाइन्ट खोली मेरो सुरूवाल खोली मेरो पिसाब गर्नेमा आफ्नो पिसाब गर्ने लगाई सेतो सेतो फालेपछि मैले ऐया दुख्यो भनी भनेपछि राजेन्द्र मामाले सेतो वस्तु पुछी मलाई मेरो सुरूवाल लगाई उक्त कुरा मेरो हजुरआमालाई नभन्नु भनी मलाई पठाए, पछि म आफ्नो हजुरआमा भएको ठाउँमा आई हजुरआमालाई राजेन्द्र मामाले पिसाब लगायो भने पछि हजुरआमाले निज राजेन्द्र मामालाई रिसाउनु भएको हो भन्नेसमेत बेहोराको पीडित बालिका परिवर्तित नाम वर्ष ४ की सङ्केत ५९B ले कागज गरेको ।
पीडित बालिका परिवर्तित नाम वर्ष ४ की सङ्केत ५९B ले घटनाको सम्बन्धमा बताएको कुरा भिडियो रेकर्ड गरिएको मेमोरी कार्ड सिलबन्द गरिएको खाम मिसिल संलग्न रहेको ।
यसमा प्रतिवादी राजेन्द्रबहादुर शाहीले परिवर्तित नाम वर्ष ४ की ५९B लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. विपरीत अपराध गरेकोले निज प्रतिवादीलाई सोही महलको ३(१) बमोजिम हदैसम्मको सजाय गरी र सोही महलको १० नं.बमोजिम प्रतिवादीबाट निज पीडित परिवर्तित नाम वर्ष ४ की ५९B लाई उचित क्षतिपूर्ति दिलाई भराइपाउँ भन्ने अभियोग माग दाबी ।
घटना भएको भनिएको दिन पीडित म कार्यरत रहेको कार्यालयमा आई आलु चिप्स मागेकी थिइन्, मैले आलु चिप्स छैन भनी हप्काएर पठाएको हुँ । पीडितलाई मैले जबरजस्ती करणी गरेको होइन । पीडितका बाबुको म कार्यरत कार्यालयबाट जागिर खोसिएको र उक्त ठाउँमा म कार्यरत भएकोले सोही रिसइवीले जाहेरी दिएका हुन् भन्ने बेहोराको प्रतिवादी राजेन्द्रबहादुर शाहीले अदालतमा गरेको बयान ।
अनुसन्धानका क्रममा मिति २०७२।०९।२६ गते गरेको घटना विवरण कागजको बेहोरा र सहीछाप मेरो नै हो । घटनाका बारेमा पीडितले हामीलाई भन्दा निजको मानसिक अवस्थाका बारेमा थाहा भएन भन्ने बेहोराको बुझिएका मानिस रणबहादुर चलाउने र कृष्णप्रसाद जैसीले गरेको बकपत्र ।
राजेन्द्र मामाले मिति २०७२।०९।११ गते १२:०० बजे आलु खान आइज भनी भनी बोलाउनु भयो र कोठा बन्द गरी खाटमा सुताउनुभयो । आफ्नो पाइन्ट खोली मेरो सुरूवाल पनि खोल्नुभयो । आफ्नो पिसाब फेर्ने मेरो पिसाब फेर्नेमा लगाउनुभयो । म कराए पछि मेरो पिसाब फेर्नेमा सेतो सेतो फाल्नुभयो । पछि रूमालले पुछेर सुरूवाल लगाइदिनुभयो र कसैलाई नभन्नु भन्नुभयो भन्ने बेहोराको पीडित ५९B ले गरेको बकपत्र ।
मिति २०७२।०९।२९ मा मैले अनुसन्धानमा गरेको घटना विवरण कागजको बेहोरा र सहीछाप मेरो हो, मैले भनेबमोजिम लेखिएको ठिक छ भन्ने बेहोराको मौकामा बुझिएकी ५९C ले गरेको बकपत्र ।
मैले जिल्ला प्रहरी कार्यालय, कालीकोटमा मिति २०७२।०९।१४ गते दिएको जाहेरी दरखास्तको बेहोरा र त्यसमा भएको सहीछाप मेरो हो । पीडितले गरेको घटना विवरण कागजको बेहोरा निज पीडितले भनेबमोजिम नै लेखिएको हो भन्ने बेहोराको बुझिएकी मानिस ५९A ले गरेको बकपत्र ।
यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेका होइनन् । जबरजस्ती करणी गरेको भए बच्चा अपाङ्ग हुनुपर्ने हो । हजुरआमाले सिकाएर जबरजस्ती करणी गरेको भनी पीडितले लेखाएकी हुन् भन्ने बेहोराको प्रतिवादीका साक्षी धीरबहादुर शाहीले गरेको बकपत्र ।
वादी नेपाल सरकारले आफ्नो दाबीलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्नेमा सोअनुसार गर्न नसकेकाले वादी नेपाल सरकारको यी प्रतिवादीउपर लगाएको मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत अपराधमा सोही महलको ३(१) बमोजिमको सजाय माग दाबी पुग्न नसक्ने भएकाले प्रतिवादी राजेन्द्रबहादुर शाहीले सफाइ पाउने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट मिति २०७३।०३।१३ मा भएको फैसला ।
पीडित बालिका मामाघरमा आई हजुरआमासँग बसेकी, सो परिवारमा तत्काल पीडित र निजको हजुरआमा मात्र रहेको अवस्थामा प्रस्तुत अपराध भएको र तत्काल घटनाको बारेमा बालिकाले बताएपछि हेर्दा बालिकाको यौनाङ्गमा कुनै घाउ चोट नभएको यस अवस्थामा के हुने, के गर्ने, कहाँ जाने हो भन्ने एउटी साधारण गृहिणी महिलालाई स्वभावैले जानकारी नभएको कारणले तत्काल निजले जाहेरी दिन नसक्नुलाई अन्यथा अर्थ गर्न मिल्दैन । वर्ष ४ की बालिकालाई अपरिचित व्यक्तिहरूसमेत भएको अलग्गै माहौल भएको बन्द इजलासमा बकपत्रको लागि लगी राखिएको उनको मुद्दाको कारबाहीको लागि अलग्गै परिवर्तित नाम राखिएको, घरमा र स्कुलमा अर्को नाम रहेको अवस्थामा अनपेक्षित रूपमा अपरिचित व्यक्तिले कुन स्कुलमा अध्ययन गर्छौं, नाम के हो भनी सोध्दा अध्ययनको अर्थ र कुन नाम भन्ने हो भन्ने द्विविधाको कारण तत्काल स्पष्ट भन्न नसक्नु अस्वाभाविक होइन । मिसिल संलग्न पीडित बालिकाले बोलेको कुरा पेस गरिएको टेप रेकर्ड होइन, भिडियो रेकर्ड नै हो, सो भिडियो रेकर्ड हेर्दा बालिकाले उल्लिखित मिति, समय र स्थानमा यी प्रतिवादीले के कसरी यो आपराधिक कार्य गरेका हुन् भनी अनुसन्धान तहकिकातको सिलसिलामा सोधिएको प्रश्नमा बाल सुलभ भाव र शब्दमा के कसो भए गरेको हो भन्ने कुरा सिलसिलेवार रूपमा भनेकी छन् भन्ने सोही रूपमा निजले बकपत्र गरेको भन्दैमा बकपत्र पूरा सिकाएर भन्न लगाएको पुष्टि भई प्रतिवादीलाई सफाइ दिने आधार बन्ने हो या सो बकपत्र कानूनतः प्रतिवादी विरूद्धको प्रमाण हुने हो ? एकातिर पीडितले स्वाभाविक तवरले बकपत्रमार्फत प्रतिवादीको कसुर पुष्टि गरिदिएको अर्कोतिर यी बालिकाउपर यी प्रतिवादीले यो आपराधिक कार्य नगरेको भए निज अवोध बालिकाले मामा संवोधन गर्ने गरेको व्यक्तिलाई विनासित्तिमा आरोप लगाउनुपर्ने अवस्था पनि नरहनेमा त्यसतर्फ विचारै नगरी भएको सुरू कालीकोट जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनका हिसाबले समेत त्रुटिपूर्ण छ भन्ने वादी पक्षले उच्च अदालत सुर्खेत, जुम्ला इजलाससमक्ष पेस गरेको पुनरावेदन ।
जाहेरवालाको किटानी जाहेरी र सो जाहेरीलाई समर्थन हुने गरी अदालत समक्ष भएको निजको बकपत्र पीडित सङ्केत नं. ५९B को मौकामा भएको घटना विवरण कागज तथा मौकामा व्यक्त गरेको बेहोरालाई समर्थन हुने गरी निजले अदालत समक्ष उपस्थित भई बकपत्रसमेत गरिरहेको परिप्रेक्ष्यमा प्रतिवादी राजेन्द्रबहादुर शाहीले सफाइ पाउने गरी भएको सुरू कालीकोट जिल्ला अदालतको मिति २०७३।०३।१३ फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत सुर्खेत, जुम्ला इजलासको मिति २०७३।०८।३० को आदेश ।
जाहेरवालाद्वारा प्रस्तुत जाहेरी दरखास्तमा हरिकला थापा र छवि रिजालसमेतलाई बुझिपाउँ भन्ने बेहोरा उल्लेख भएकोमा सुरू जिल्ला अदालतबाट निजहरूलाई बुझेको नदेखिँदा निजहरूका नाममा म्याद जारी गरी घटना वारदात सम्बन्धमा निजहरूसँग बुझी नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत सुर्खेत, जुम्ला इजलासको मिति २०७३।१२।२८ को आदेश ।
घटना घटिसकेपछि नानी आत्तिएर रूँदै कराउँदै आइन् । राजेन्द्र मामाले मलाई आलु खान भनी बोलाएर कोठमा लगी ढोका बन्द गरी मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्ने लगायो दुख्यो दुख्यो भन्दा केही हुन्न पख पख भन्यो, सो ठाउँमा सिँगान जस्तो फाल्यो अनि पुछ्यो भन्दै रूँदै आएपछि थाहा पाए । मैले हेर्दा सो ठाउँमा सेतो सिँगान जस्तो थियो । नानीको पिसाब फेर्न ठाउँमा सुनिएको थियो । पछि रातो रातो थियो । मैले राजेन्द्रबहादुर शाहीलाई सोधे तैले के गरेको भनी भन्दा मैले केही गरेको छैन भनी अनुहार अर्को पारी बारदलीको भित्र पस्यो । त्यसपछि त्यहाँको लेखापाल महेश खत्रीलाई घटनाको बारे भन्दा निजले सोध्दा पनि नानीले भएको सबै कुरा बताएकी हुन् । नानी रूने कराउने आत्तिने गरेपछि निजको ममीलाई खबर गर्यौं । ममी नआउँदासम्म उजुरी दर्ता भएन । पर्सिपल्ट आएपछि बल्लतल्ल जाहेरी दर्ता गरेकी हुन् भन्नेसमेत बेहोराको हरिकला थापाले मिति २०७४।०२।२४ मा उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा गरेको बकपत्र ।
प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई जबरजस्ती करणी अभियोगबाट पूर्णतः सफाइ दिने ठहर गरी कालीकोट जिल्ला अदालतको मिति २०७३।०३।१३ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रस्तुत वारदात जबरजस्ती करणीको उद्योगको वारदात देखिँदा प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई जबरजस्ती करणीको ५ नं.बमोजिम ऐ.३(१) बमोजिम हुने सजायको आधा सजाय अर्थात् ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर्छ भनी उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट मिति २०७४।०३।२९ मा भएको फैसला ।
मिति २०७२/०९/११ गतेका दिन म आफ्नो कार्यालय ग्रामीण पहुँच कार्यालय (RAP – ३) मा सोही कार्यालयका लेखापाल महेश खत्रीसँगै रहेको, पीडित भनिएको ५९B को हजुरआमा ५९C समेत घरमै रहे भएको, मैले काम गर्ने उक्त कार्यालयमा म अघि पीडितका बुबा वा जाहेरवालाका पति काम गर्ने गरेको रिसइवी रहेको थियो।मलाई फसाई सो ठाउँमा पुनः जागिर खाने इच्छा रहेको, जाहेरवालाको आमा ५९C को घरमा सोलार बत्ती नभएकोले जोडिदिनु भनी बारम्बार भन्ने गरेकोमा मैले सोलार बत्ती जोड्न नमानेको र निजले मलाई आफ्नो निजी घरायसी काममा लगाउन खोज्दा मैले नमानेको हुँदा जाहेरवाली ५९A र निजकी आमा ५९C को षडयन्त्रमा वर्ष ४ की अवोध बालिकालाई देखाई मलाई झुठ्ठा उजुरी दिई फसाएका हुन् । पीडित ५९B बालिकालाई सिकाएर अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतसमक्ष बकपत्र गर्न लगाइएको स्पस्ट छ । पीडितको उक्त दुवै बयान विश्लेषण गरी सुरू अदालतले फैसला गरेकोमा उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट फैसला हुँदा विवादको तथ्य र प्रमाणहरूको कुनै विश्लेषण गरिएको छैन । वारदात भएको देख्ने प्रत्यक्षदर्शी कोही नभएको, वारदात मिति २०७२/०९/११ गते १२.०० बजेको समयमा भएको भनिएको, सो समयमा म लेखापाल महेश खत्रीसँगै रहेको, पीडितको हजुरआमा वा जाहेरवालाकी आमा समेत घरकोठामा रहेको अवस्थामा वारदात हुन सक्ने कुरै भएन । वारदात ११ गते भएको भनिएको अवस्थामा कालिकोट प्रहरी कार्यालयको नजिकै रहेको हुँदाहुँदै १३ गते जाहेरी परी १४ गते मात्र जाहेरी दर्ता भएकोले उजुरी झुठ्ठा रहेको छ । चिकित्सकको प्रतिवेदन जबरजस्ती करणी मुद्दामा महत्त्वपूर्ण प्रमाण हुने हुँदा चिकित्सकको प्रतिवेदनमा कहीँकतै जबरजस्ती करणीको सङ्केतसमेत छैन भनी उल्लेख भएको अवस्था छ । सुरू जिल्ला अदालतले मिसिल संलग्न प्रमाणका आधारमा सफाइ दिएकोमा उच्च अदालत सुर्खेत, जुम्ला इजलासले जबरजस्ती करणी उद्योगमा ५ वर्ष कैद गर्ने गरी सजाय गरेको फैसला उल्टी गरी सफाइ पाउँ भनी पुनरावेदक प्रतिवादी राजेन्द्रबहादुर शाहीले यस अदालतसमक्ष पेस गरेको पुनरावेदन ।
पीडित वर्ष ४ की नाबालिका परिवर्तित नाम सङ्केत ५९B लाई प्रतिवादीले ललाइ फकाइ कोठामा बोलाई निजले लगाएको र आफ्नो कपडा फुकाली आफ्नो लिङ्ग पीडितको योनिमा राखी पीडित रोइ कराएको र निजको लिङ्गबाट खसेको वीर्य आफ्नो रूमालले पुछी योनिसमेत सफा गरेको भन्नेसमेत बेहोराको परिवर्तित नाम सङ्केत नं. ५९A को जाहेरी परेको अवस्था छ । पीडित परिवर्तित नाम सङ्केत नं. ५९B ले घटना विवरण कागजमा राजेन्द्र मामाले आलु खान भनी तल बोलाई मलाई खाटमा बसाली आफ्नो पाइन्ट बेल्ट खोली मेरो सुरूवाल खोली मेरो पिसाब गर्नेमा आफ्नो पिसाब गर्ने लगाई सेतो सेतो फालेपछि मैले ऐया दुख्यो भनेपछि मामाले सेतो पुछी सुरूवाल लगाई दिई कसैलाई नभन्नु भनी पठाएको, पछि मैले हजुरआमालाई राजेन्द्र मामाले मलाई पिसाब लगायो भनेको भन्नेसमेत उल्लेख गरेको, निज पीडितको योनिमा प्रतिवादीले सामान्य घर्षणसम्म गरी वीर्य झारेको देखिन्छ । अनुसन्धानको क्रममा बुझिएका रणबहादुर चलाउने, विष्णुप्रसाद जैसी, महेश खत्री तथा नाम परिवर्तित सङ्केत ५९C को घटना विवरण कागजलाई निजहरूको बकपत्रसमेतबाट जाहेरी तथा पीडितको मौकाको र बकपत्रको बेहोरासमेत समर्थित भएको छ । प्रतिवादीकै साक्षी धीरबहादुर शाहीले गरेको बकपत्रमा उक्त दिन बच्चीलाई जबरजस्ती करणी भयो भनी सुनी वारदात स्थलमा जाँदा बच्चीकी हजुरआमाले घटनाको बारेमा बच्चीले मलाई भनेकी हो भनेर भनेकी थिइन् भन्ने बेहोरा लेखाएको देखिन्छ । प्रतिवादीले पीडित नाबालिकाको योनिमा आफ्नो लिङ्गको केही भागसम्म छिराएको भन्ने कुरा मिसिलबाट नदेखिएको तर्क गरी करणीको कसुरलाई सोको उद्योगको कसुरमा सीमित गरी भएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसला त्रुटिपूर्ण रहेको र पीडितको स्वास्थ्य परीक्षणमा जबरजस्ती करणी नभएको नभनी जबरजस्ती करणी भएको यकिनसाथ भन्न नसकिने भन्नेसम्म उल्लेख भएको देखिन्छ । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा गरिएको परिभाषा तथा स्पष्टीकरणमा करणी हुनको लागि लिङ्गको सामान्य घर्षण वा अति सूक्ष्म प्रवेश मात्र पनि पर्याप्त हुन्छ भन्ने कानूनी प्रावधान हुँदाहुँदै पीडित वर्ष ४ की नाबालिकाउपर भएको जबरजस्ती करणीमा लिङ्ग योनिमा प्रवेश गरेको हुनैपर्छ भनी भन्न नमिल्ने हुँदा प्रतिवादीले करणीको मनसायले लिङ्गलाई पीडितको योनिमा स्पर्श गराई आफ्नो इच्छा वा मनसायलाई पूर्णता प्राप्त गरेको अवस्थामा कसुर अपराधले पूर्णता पाएको जबरजस्ती करणीको कसुरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट जबरजस्ती करणीको उद्योगमा सजाय गरेको फैसला उल्टी गरी सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी पक्षले यस अदालतमा पेस गरेको पुनरावेदन ।
यसमा प्रतिवादी राजेन्द्रबहादुर शाही अधिकारप्राप्त अधिकारीमा साथै अदालतसमक्ष समेत आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । अर्कोतर्फ जाहेरवाला र पीडितले अदालतमा समेत जाहेरी दरखास्तको बेहोरा र आफ्नो मौकाको कागज समर्थन गरी बकपत्र गरेको, प्रतिवादीले पीडितको अंगमा वीर्यसमेत स्खलन गरेको भन्ने उल्लेख भएको अवस्थामा जबरजस्ती करणीको ५ नं.बमोजिम उद्योगसम्म ठहर्याएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको मिति २०७४।०३।२९ को फैसलामा जबरजस्ती करणीको महलको ५ नं. को व्याख्याको प्रश्न उपस्थित भएको र दुवै पक्षको पुनरावेदनसमेत परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को १४०(३) को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन परस्पर जानकारी गराई नियमानुसार गरी पेस गर्नु होला भनी मिति २०७७।०८।१७ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात तथा प्रमाणहरूसमेतको अध्ययन गरियो । प्रस्तुत मुद्दामा पुनरावेदक वादी पक्षको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रतिमा दाहालले प्रस्तुत मुद्दामा प्रतिवादी राजेन्द्रबहादुर शाहीले वर्ष ४ की परिवर्तित नाम सङ्केत नं. ५९B नाबालिकालाई आलु खान फकाई आफ्नो कोठामा बोलाई ढोका बन्द गरी निजले लगाएको सुरूवाल खोली आफ्नो लिङ्ग निजको योनिमा राखी निज पीडित रोइ कराइ गरेको र पीडितको योनिमा निजको लिङ्गबाट खसेको वीर्य आफ्नो रूमालले पुछी योनिसमेत सफा गरी सुरूवाल लगाई दिई कसैलाई नभन्नु भनी पठाई जबरजस्ती करणीको कसुर अपराध गरेकोले प्रतिवादीउपर परिवर्तित नाम सङ्केत नं. ५९A को किटानी जाहेरी दरखास्त, स्वास्थ्य जाँच प्रतिवेदनको बेहोरा, पीडित र अन्य मानिससमेतले मौकामा गरेको कागजलाई समर्थन हुने गरी अदालत समक्ष गरेको बकपत्र, प्रतिवादीको मौका र अदालतसमक्ष गरेको अपुष्टितः बयान र निजका साक्षीले गरेको विनाआधारको बकपत्रसमेतबाट निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले सुरू अभियोग माग दाबीको जबरजस्ती करणीको कसुर अपराध गरेको देखिँदादेखिँदै सुरू अदालतले सफाइ दिएको, सोउपर वादी पक्षको पुनरावेन परी उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट जबरजस्ती करणीको उद्योग कायम गरी आधा सजाय गरेको फैसला उल्टी गरी सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी राजेन्द्रबहादुर शाहीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री विष्णु लुइँटेल तथा विद्वान् अधिवक्ताहरू श्री भुवनप्रसाद वाग्ले र श्री शुशिलाकुमारी रोकायाले प्रतिवादी राजेन्द्रबहादुर शाही वारदात भनिएको दिन निजको कार्यालयका लेखापाल महेश खत्रीसँगै रहेको, पीडित भनिएकी परिवर्तित नाम सङ्केत नं. ५९B र निजको हजुरआमा परिवर्तित नाम सङ्केत नं. ५९C समेत घरमै सँगै रहेको, पीडितका बाबुको जागिर खोसिएपछि सोही ठाउँमा निज प्रतिवादीले नियुक्ति पाएको रिसइवी रहेको, निजहरूले निज प्रतिवादीलाई सो कार्यालयबाट हटाई पुनः पीडितको बुबालाई जागिरमा राख्ने षड्यन्त्र गरी प्रस्तुत आरोप लगाएको, सोही कार्यालयको सोलार बत्ती निजहरूलाई निजी प्रयोगको लागि जोडी दिन बारम्बार भन्दा निज प्रतिवादीले जोडी नदिएको रिसइवी रहेको, निज जाहेरवालाहरूसमेतले निज प्रतिवादीलाई कार्यालयको कामको अतिरिक्त आफ्नो निजी घरायसी काममा लगाउने गरेकोमा निज प्रतिवादीले काम गर्न नमानेको समेतको रिसइवी रहेको र स्वास्थ्य जाँच प्रतिवेदनबाट जबरजस्ती करणी गरेको भन्ने कुनै बेहोरा नखुलाइएको समेतका आधार कारणले निज प्रतिवादीलाई झुठ्ठा आरोप लगाएको हुँदा सुरू अभियोग माग दाबीमा जबरजस्ती करणीको कसुर अपराध नगरेको भनी सुरू अदालतले सफाइ दिएकोउपर परेको पुनरावेदनमा सो सुरू फैसलालाई केही उल्टी गरी उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट जबरजस्ती करणीको उद्योग ठहर गरेको फैसला उल्टी गरी प्रतिवादीले सुरू अभियोग माग दाबीको जबरजस्ती करणीको कसुर अपराध नगरेको हुँदा सफाइ पाउँ भनी गर्नुभएको बहस सुनियो ।
जाहेरवाला परिवर्तित नाम सङ्केत नं. ५९A की छोरी वर्ष ४ की नाबालिका परिवर्तित नाम सङ्केत नं. ५९B लाई आलु खान ललाइ फकाइ आफ्नो कोठामा बोलाई प्रतिवादी राजेन्द्रबहादुर शाहीले मिति २०७२।०९।११ गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा निज पीडितले लगाएको सुरूवाल खोली आफ्नो लिङ्ग निजको योनिमा लगाई राखी दली निज पीडितले रोइ कराइ गर्दा निज प्रतिवादीको लिङ्गबाट निस्किएको वीर्य पीडितको योनिमा खसाली निज प्रतिवादीले आफ्नो रूमालले पुछी योनि सफा गरी कसैलाई नभन्नु भनी पठाएकोले निजले नाबालिका छोरीलाई जबरजस्ती करणी गरेको भनी परेको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भई निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले नाबालिका परिवर्तित नाम सङ्केत नं. ५९B लाई जबरजस्ती करणी गरेको भनी तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत कसुरमा सोही महलको ३(१) बमोजिम सजाय गरी १० नं.बमोजिम पीडितलाई मनासिब क्षतिपूर्ति दिलाई भराइपाउँ भनी सुरू अभियोग माग दाबी रहेको देखिन्छ ।
वादी पक्षले आफ्नो सुरू अभियोग माग दाबीलाई शंकारहित तवरबाट प्रमाणले पुष्टि गर्न नसकेकाले प्रतिवादी राजेन्द्रबहादुर शाहीले सफाइ पाउने ठहर्याई सुरू जिल्ला अदालतले गरेको फैसलामा चित्त नबुझाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा वादी पक्षको पुनरावेदन परेकोमा सुरू कालिकोट जिल्ला अदालतको मिति २०७३।०३।१३ को फैसला केही उल्टी भई प्रस्तुत वारदात जबरजस्ती करणीको उद्योगको देखिएको भनी प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई जबरजस्ती करणीको ५ नं.बमोजिम ऐ., ३(१) बमोजिम हुने सजायको आधा सजाय अर्थात् ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर गरी उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट मिति २०७४।०३।२९ मा फैसला भएको देखिन्छ ।
सो फैसलामा चित्त नबुझाई वादी पक्षले प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई अभियोग माग दाबी मुताबिक कसुर सजाय गरी फैसला हुनुपर्ने भनी र प्रतिवादी राजेन्द्रबहादुर शाहीले अभियोग माग दाबीको कसुर नगरेको हुँदा सुरू अदालतले सबुद प्रमाणको अभाव रहेको भनी सफाइ दिएको हुँदाहुँदै जबरजस्ती करणीको उद्योगको कसुर गरेको भनी उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गरेको सजायबाट सफाइ पाउँ भनी दुवै पक्षले यस अदालतमा पुनरावेदन गरेको देखियो ।
प्रस्तुत मुद्दामा उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसला मिलेको छ, छैन ? वादी पक्ष र प्रतिवादी राजेन्द्रबहादुर शाहीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी राजेन्द्रबहादुर शाहीले जाहेरवाला परिवर्तित नाम सङ्केत नं. ५९A की वर्ष ४ की नाबालिका छोरी परिवर्तित नाम सङ्केत नं. ५९B लाई आलु खान आउ भनी ललाइ फकाइ बोलाई आफ्नो कोठामा लगी मिति २०७२।०९।११ गते दिउँसो अन्दाजी १२:०० बजे निज पीडितले लगाएको सुरूवाल खोली आफ्नो लिङ्ग निजको योनिमा लगाई राखी दली निज पीडित रोइ कराइ गर्दा निज प्रतिवादीको लिङ्गबाट निस्किएको वीर्य पीडितको योनिमा खसाली निज प्रतिवादीले आफ्नो रूमालले पुछी योनि सफा गरी जबरजस्ती करणी गरी पठाएको भनी प्रतिवादी राजेन्द्रबहादुर शाहीका उपर पीडितकी आमा परिवर्तित नाम सङ्केत नं. ५९A किटानी जाहेरी दरखास्त परेको देखिन्छ ।
३. पीडित परिवर्तित नाम सङ्केत नं. ५९B ले अनुसन्धानको क्रम मौकामा गरेको कागज बेहोरालाई समर्थन गरी अदालतसमक्ष बकपत्र गर्दा राजेन्द्र मामाले मलाई कोठामा लगी ढोका बन्द गरी खाटमा सुताई आफ्नो पाइन्ट र मेरो सुरूवाल खोली आफ्नो पिसाब फेर्ने मेरो पिसाब फेर्नेमा लगाउनुभयो । मैले ऐया दुख्यो भनी कराए र मामाले मेरो पिसाब फेर्नेमा सेतो सेतो फाल्नुभयो र त्यसपछि रूमालले पुछेर सुरूवाल लगाई दिई कसैलाई नभन्नु भनी मलाई पठाइदिनुभयो भनी उक्त वारदातका बारेमा सिलसिलाबद्ध रूपमा आफ्नो बेहोरा लेखाएको देखिन्छ । पीडितकी आमा जाहेरवाला परिवर्तित नाम सङ्केत नं. ५९A र पीडितकी हजुरआमा परिवर्तित नाम सङ्केत नं. ५९C ले अनुसन्धानको क्रम मौकामा गरेको कागजलाई समर्थन गरी अदालतसमक्ष बकपत्र गर्दासमेत मौकाको किटानी जाहेरी दरखास्तको बेहोरा र मौकाको घटना विवरण कागजको बेहोरालाई समर्थन गरी प्रतिवादी राजेन्द्रबहादुर शाहीले पीडित परिवर्तित नाम सङ्केत नं. ५९B नाबालिकाको पिसाब फेर्ने ठाउँ योनिमा आफ्नो पिसाब फेर्ने अंग लगाई राखी सेतो सेतो फालेको समेतको कारण पीडितको योनि रातो रहेको देखिएको र निज पीडितले पिसाब फेर्दा पोल्यो भनी भनेको भन्नेसमेत बेहोरा उल्लेख गरेको देखिन्छ ।
४. प्रस्तुत मुद्दासँग सम्बन्धित कानूनी व्यवस्था हेर्दा, तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ ।
स्पष्टीकरण : यस नम्वरको प्रयोजनको लागिः
(क) डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन ।
(ख) होस ठेगानमा नरहेका अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन ।
(ग) योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ ।
३. नं. ॥॥ जबरजस्ती करणी गर्नेलाई देहाय बमोजिम कैद सजाय हुनेछ
दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म.........१
५ नं. ॥ ॥ जबरजस्ती करणी गर्ने उद्योग गरेको करणी गर्न भने पाएको रहेनछ भने जबजस्ती करणी गर्नेलाई हुने सजायको आधा सजाय हुन्छ।” भन्ने प्रावधान रहेको पाइन्छ ।
५. प्रतिवादी राजेन्द्रबहादुर शाहीले अनुसन्धानको क्रममा र अदालतसमक्ष बयान गर्दा आफू वारदात स्थलमा उपस्थित रहेको र निज पीडितलाई आलु खान दिई काखमा राखेको स्वीकार गरेको समेत देखिन्छ । प्रतिवादी आफू २१ वर्षको वयस्क रहेको व्यक्तिले नाबालिका वर्ष ४ की पीडितलाई ललाई, फकाई र प्रलोभन देखाई आफ्नो कोठामा आलु खान बोलाई आलु खान दिई काखमा राखेको समेत स्वीकार गरेबाट निज जानकार, सुजबुझवाला, वयस्क र संरक्षक जस्तो व्यक्तिले पीडित वर्ष ४ की नाबालिका प्रति गर्नुपर्ने व्यवहार नगरी अशोभनिय र कसुर जन्य कार्य गरेको निजकै बयान बेहोराबाट समेत देखिन्छ ।
६. वारदातको बारेमा अनुसन्धानको क्रम मौकामा कागज गर्ने पीडित, पीडितको आमा जाहेरवाला, पीडितको हजुरआमा र घट्ना विवरण कागज गर्ने कृष्णप्रसाद जैसी तथा रणबहादुर चलाउनेले मौकाको कागज बेहोरालाई समर्थन हुने गरी प्रतिवादी राजेन्द्रबहादुर शाहीले पीडित नाबालिकालाई ललाई, फकाई र प्रलोभन देखाई आलु खान आफ्नो कोठामा बोलाई ढोका बन्द गरी विस्तारामा सुताई आफ्नो पाइन्ट खोली र निज पीडितको सुरूवाल खोली आफ्नो लिङ्ग निजको योनिमा लगाई राखी दली निज पीडित रोई कराई ऐया दुख्यो भनेपछि निजले आफ्नो लिङ्गबाट पीडितको योनिमा वीर्य खसाली आफ्नो रूमालले पुछी सफा गरी सुरूवाल लगाई दिई कसैलाई नभन्नु भनेर पठाएको भन्नेसमेतको बकपत्र बेहोरा लेखाएको देखिन्छ । सुरू अदालतमा बकपत्र नभएका घट्ना विवरण कागज गर्ने हरिकला थापाले उच्च अदालत सुर्खेत, जुम्ला इजलासका आदेशानुसार उपस्थित भई बकपत्र गर्दा निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले पीडित नाबालिकाको पिसाब फेर्ने ठाउँ अंग योनिमा आफ्नो पिसाब फेर्ने अंग लगाई राखी दली सेतो सेतो पदार्थ वीर्य झारी दिएको, योनि सुनिएको, रातो रातो भएको देखिएको र पीडित रूने कराउने आत्तिने गरेकोले निज पीडितको आमालाई खवर गरेको भन्नेसमेतको तथ्यगत बेहोरा उल्लेख गरी खुलाई लेखाई मौकाको कागज बेहोरालाई समर्थन गरी बकपत्र गरेको बेहोरासमेतबाट यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्ने प्रयत्न गरेनन होला भनी मान्न सकिने अवस्था देखिएन ।
७. यसरी प्रतिवादीबाट प्रस्तुत वारदातको कसुरविना जीवनको सुरूवाती समयमा रहेकी वर्ष ४ की नाबालिकालाई उद्धृत गरी निजको अस्मितामा आँच आउने र दाग लाग्ने गरी जबरजस्ती करणी जस्तो गम्भीर कसुर अपराधमा पीडितलाई मूल पात्र बनाई र निजको नामाङ्कित गरी जाहेरवाला आमाले जाहेरी दिने, मौकामा घटना विवरण कागज गर्ने पीडितको हजुरआमा र अन्य व्यक्तिहरूसमेतले सो वारदात कसुरका बारेमा प्रतिवादीलाई सो कसुरको दोष लगाई मौकामा कागज गरेका र सो कागजलाई समर्थन हुने गरी अदालतसमक्ष उपस्थित भई बकपत्र गरे होलान् भनी मान्न सकिने अवस्था देखिन आएन । प्रतिवादीले कसुर अपराधमा गरेको इन्कारी बयान र पुनरावेदन जिकिरलाई पुष्टि हुने सबुद प्रमाण प्रतिवादीले गुजार्न सकेको देखिएन ।
८. प्रस्तुत वारदातका सम्बन्धमा प्रतिवादीको कसुर अपराध सिलसिलाबद्ध रूपमा मालाकारको सिद्धान्त (Principle of corroborate) बमोजिम प्रामाणिक मूल्ययुक्त वस्तु निष्ट ठोस प्रमाणबाट खम्बिर भइरहेको परिप्रेक्ष्यमा निज प्रतिवादीको इन्कारी र पुनरावेदन जिकिरलाई मात्र आधार लिई निजलाई विनासबुद प्रमाण सजायबाट उन्मुक्ति दिने हो भने दण्डहीनता (Impunity) ले प्रस्रय पाउने हुन्छ । यसले समाजमा सुख, शान्ति, सुरक्षा, अमन, चयन र खुसीको वातावरणमा तुषारापात ल्याउने अवस्था सिर्जना हुने र समाजको समृद्धिमा समेत असर प्रभाव पर्ने देखिन्छ । प्रतिवादीको यस किसिमको कसुर अपराधमा कसुरको मात्रा (Degree of crime) बमोजिम सजाय दिनु कानून निर्माता विधायिकाको मनसायलाई हृदयङ्गम गरी प्राप्त उपलव्ध सबुद प्रमाणको उपयुक्त मूल्याङ्कन गरी उचित र स्वच्छ न्याय सम्पादन (Just & fair justice delivery) गर्नु न्यायको मूल्य र मान्यता रहेको हुँदा यसबाट न्यायिक सुशासन (Judicial good governance) कायम हुने निश्चित प्रायः देखिन्छ ।
९. निज प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम वर्ष ४ की नाबालिका पीडितले आफूउपर भएको कसुरमा २१ वर्षका वयस्क प्रतिवादीसँग मुकाबिला, प्रतिकार, अवरोध र संघर्ष गर्न सक्ने अवस्था कदापी हुन सक्दैन । यसरी सोहीबमोजिमका विभिन्न दसी सबुद प्रमाण सिर्जना भई प्रमाणमा हुनुपर्ने भनी लिएको जिकिर मनासिब हुन आउँदैन । प्रतिवादीको प्रस्तुत पुनरावेदन जिकिर मिसिल संलग्न कुनै पनि सबुद प्रमाणबाट प्रामाणिक मूल्ययुक्त वस्तुनिष्ट ठोस प्रमाणबाट खम्बिर हुन नसकेको सन्दर्भमा निज प्रतिवादीले पीडितलाई ललाइ फकाइ बोलाएको, पीडित नाबालिका निजको कोठामा आएको, निजलाई आलु खान दिएको, निजले काखमा राखेको प्रतिवादीले स्वीकार गरेको र पीडित, जाहेरवाला तथा अन्य व्यक्तिहरूको मौकाको कागज र सो मौकाको कागज बेहोरालाई समर्थन गरी खुलाएको बकपत्र बेहोरासमेतबाट निज प्रतिवादी राजेन्द्रबहादुर शाहीले पीडित नाबालिकाको योनिमा आफ्नो लिङ्ग लगाई राखी दली सेतो सेतो पदार्थ वीर्य स्खलन गरेको पुष्टि भएको अवस्थामा यस वारदातका समग्र परिस्थितिजन्य प्रमाणहरू हेर्दा यी प्रतिवादीले पीडित नाबालिकालाई आफ्नो डेरा कोठामा लगी करणी गर्ने उद्देश्यले काखमा राख्ने, विस्तारामा सुताउने, आफ्नो तथा पीडितको समेत कपडा खोली आफ्नो लिङ्ग पीडितको योनिमा लगाउने दल्ने कार्य गरी वीर्यसमेत खसाली रूमालले पुछी कपडा लगाइदिएको भन्ने वारदातमा प्रतिवादी निर्दोष छन् भन्न सकिने अवस्था सबुद प्रमाणको मूल्याङ्कनबाट देखिन आएन ।
१०. यस स्थितिमा प्रतिवादीले पीडित नाबालिकालाई जबरजस्ती करणी नगरेको भनी कसुरमा इन्कार रहे पनि निज नाबालिका आफ्नो कोठामा आएको, निजलाई काखमा राखेको भन्ने बेहोरा खुलाई वारदात स्थलमा आफ्नो उपस्थितिलाई स्वीकार गरेको नै देखिन्छ । प्रतिवादीउपर आफ्नो नाबालिका छोरीलाई करणी गरेको भनी जाहेरवाला आमा, हजुरआमा तथा घटना विवरण कागज गर्ने कृष्णप्रसाद जैसी र रणबहादुर चलाउनेसमेतले अनाहकमा झुठ्ठा आरोप लगाउनुपर्ने कुनै गम्भीर कारण वा त्यस्तो पूर्वरिसइवी रहेको भन्ने पनि देखिँदैन । पीडितको बाबु काम गर्ने संस्थाबाट निजलाई निकाली प्रतिवादीले काम पाएकै कारणले मात्र आफ्नो नाबालिका छोरीको अस्मितामाथि नै आँच आउने गरी प्रतिवादीउपर यस्तो गम्भीर आरोप लगाए होलान् भनी मान्न सकिने अवस्था पनि देखिँदैन ।
११. वादी पक्षको पुनरावेदन जिकिरबमोजिम निज प्रतिवादीउपरको सुरू अभियोग माग दाबी पुष्टि हुनको लागि पीडित नाबालिकाको योनिमा लिङ्गको केही भागसम्म प्रवेश भएको हुनुपर्ने तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १(ग) नं. मा “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ ।” भन्ने कानूनी प्रावधानबमोजिम निज प्रतिवादीले लिङ्गको केही भाग प्रवेश गराएको मिसिल संलग्न स्वास्थ्य जाँच प्रतिवेदनसमेतका सबुद प्रमाणबाट देखिँदैन । प्रस्तुत वारदातमा पीडित ४ वर्षको नाबालिका भएको कारण प्रतिवादीको लिङ्ग पीडित नाबालिकाको योनिमा प्रवेश गराई जबरजस्ती करणीको कसुर अपराध पूरा हुन नसकेको अवस्थामा प्रतिवादीको उक्त कसुर अपराधजन्य कार्य जबरजस्ती करणीको कसुर अपराध गरेको भन्नेसम्मको अवस्था सबुद प्रमाणबाट नदेखिए तापनि निज प्रतिवादीले पीडित नाबालिकालाई आफ्नो कोठामा बोलाएको, निज पीडित निजको कोठामा आएको, निजलाई आलु खान दिएको, पीडितलाई काखमा राखेको र निजको योनिमा आफ्नो लिङ्ग लगाई राखी दली वीर्य स्खलनसमेत गरेको मिसिल संलग्न सबुद प्रमाणबाट प्रामाणिक मूल्ययुक्त वस्तुनिष्ट ठोस प्रमाणबाट खम्बिर भएको परिप्रेक्ष्यमा जबरजस्ती करणीको उद्योगसम्म गरेको कसुर पुष्टि हुन आएको देखिँदा प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई जबरजस्ती करणीको उद्योगको कसुर अपराधमा सजाय गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसला अन्यथा गरिरहन परेन ।
१२. तसर्थ, माथि विवेचित तथ्य, आधार, कारण, प्रमाण र कानूनसमेतबाट प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई जबरजस्ती करणीको कसुर अपराधको सुरू अभियोग माग दाबीबाट सफाइ हुने गरी सुरू कालिकोट जिल्ला अदालतको मिति २०७३।०३।१३ को फैसला केही उल्टी गरी उक्त वारदात जबरजस्ती करणीको उद्योगको कसुर अपराध हुने भनी निज प्रतिवादी राजेन्द्रबहादुर शाहीलाई जबरजस्ती करणीको ५ नं.बमोजिम ऐ., ३(१) नं.बमोजिम हुने सजायको आधा सजाय अर्थात् ५ (पाँच) वर्ष कैद सजाय हुने गरी उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट मिति २०७४।०३।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी पक्षको प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने र पुनरावेदक प्रतिवादी राजेन्द्रबहादुर शाहीको अभियोग माग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१३. प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी सोको निस्सा फैसलाको पीठमा जनाई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.महेश शर्मा पौडेल
इजलास अधिकृत (उपसचिव): मोहनप्रसाद बेल्बासे
इति संवत् २०८१ साल वैशाख ४ गते रोज ३ शुभम् ।