शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान

भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल

माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल

फैसला मिति : २०८०।१२।२१

 

मुद्दा : गोली हानी मारेको कर्तव्य ज्यान

 

०७५-CR-२१८९

पुनरावेदक / वादी : दीपेन्द्र कुमार चौधरीसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी शम्भुनाथ-८ बस्ने भोला साहको छोरा पूर्व सांसद जगदिश प्रसाद साहसमेत

 

०७६-CR-०४६०

पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं. ६ घर भई जिल्ला सप्तरी शम्भुनाथ-८ बस्ने पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक हाल सुन्धारा स्थित केन्द्रीय कारागार जगन्‍नाथदेवल थुनामा रहेको प्र.ज. प्रवेश कुमार मेहता

विरूद्ध

प्रत्यर्थी / वादी : दीपेन्द्र कुमार चौधरीसमेतको जाहेरीले नेपाल सरकार

 

फौजदारी मुद्दामा प्रतिवादीउपर के अभियोग लागेको थियो भन्‍ने भन्दा पनि प्रतिवादीले कसुरजन्य के कस्तो कार्य गर्‍यो र सो कार्य गर्दाको अवस्था र परिस्थितिको न्यायसङ्गत मूल्याङ्कन गर्नु न्यायकर्ताको पहिलो कर्तव्य हुने । अपराध स्थापित भएपछि उक्त अपराध ऐनद्वारा निषेधित कुन श्रेणीको हो भन्‍ने वर्गीकरण गरी सोहीअनुसार सजाय निर्धारण गर्ने कार्यले मात्र न्यायको अभिष्ट पूरा हुने । अपराध स्थापित हुनासाथ सोको न्यायसङ्गत वर्गीकरण विना दाबीबमोजिमको कसुर कायम गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने । प्रतिवादीउपर तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) को अभियोग लागे तापनि मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले गरेको कार्य १३(१) बमोजिमको मनसायप्रेरित हो या ऐ. को १४ नं.बमोजिम आवेशप्रेरित हो वा ऐ. को ५ नं.बमोजिमको भवितव्यबाट मृतकको मृत्यु हुन पुगेको हो भन्‍नेतर्फ न्यायकर्ताको न्यायिक दृष्टि पुग्नुपर्ने । 

(प्रकरण नं.२०)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महत

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतीश कृष्ण खरेल, श्री सनद देवकोटा र श्री टिकाराम भट्टराई तथा विद्वान् अधिवक्ताहरू श्री हेम नारायण चौधरी, श्री नागेन्द्र यादव, श्री बिरेन्द्र प्रसाद साह, श्री सुमन कुमार पौडेल र श्री चिरञ्‍जिवी खतिवडा 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई

सप्तरी जिल्ला अदालत

उच्‍च अदालतमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री नित्यानन्‍द पाण्डेय

उच्‍च अदालत जनकपुर, राजविराज इजलास

 

फैसला

न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ख) र (ग) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ:-

तथ्य खण्ड

जिल्ला सप्तरी शम्भुनाथ गा.वि.स. वडा नं. ८ स्थित जगदिश प्रसाद साहको घर कम्पाउन्ड दरबाजामा मिति २०६८।०३।३२ गतेका राति २२:०० बजेको समयमा जिल्ला सप्तरी शम्भुनाथ गा.वि.स. वडा नं.७ बस्ने रामबहादुर चौधरीलाई गोली लागी घाइते भएको र कुटपिटबाट पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहता गम्भीर घाइते अवस्थामा रहेको, घटनास्थलमा ४ जोर चप्पल, रगत लागेको सर्ट तथा सेन्डो गन्जीसमेत फेला परेकोले फेला परेको चप्पल, सर्ट, सेन्डो गन्जीसमेत बरामद गरी घाइते रामबहादुर चौधरी र प्र.ज. प्रवेश कुमार मेहतालाई उपचारार्थ सगरमाथा अञ्‍चल अस्पताल राजविराजतर्फ पठाइएकोमा रामबहादुर चौधरीको मृत्यु भएको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. ३ स्थित सगरमाथा अञ्‍चल अस्पताल राजविराजको शव गृहमा रहेको मृतक रामबहादुर चौधरीको पेटको बायाँ साइडमा गोली लागेको जस्तो प्वाल भएको देखिएको भन्‍नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।

मिति २०६८।०३।३२ गतेका राति २२:०० बजेको समयमा जिल्ला सप्तरी शम्भुनाथ गा.वि.स. वडा नं.८ स्थित सखुवा भन्‍ने ठाउँमा गोली लागी रामबहादुर चौधरी घाइते भएको र सोही घटनामा पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहतासमेत गम्भीर घाइते भएको भन्‍ने जानकारी प्राप्त हुनासाथ मेरो कमान्डमा प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तयार पारी घाइतेहरूलाई उपचारको लागि सगरमाथा अञ्‍चल अस्पताल राजविराजतर्फ ल्याउँदा रामबहादुर चौधरीको मृत्यु भएको हुँदा निजको घटनास्थल लास जाँच प्रकृति मुचुल्कासमेतको कार्य सम्पन्‍न गरी यसै प्रतिवेदनसाथ पेस गरेको छु, आवश्यक अनुसन्धान तथा छानबिन गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको प्र.ना.नि. निश्‍चल पोखरेलको प्रतिवेदन । 

जिल्ला प्रहरी कार्यालय सप्तरीको आदेशानुसार म पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक खटिएकोमा निजसँग रहने बस्ने खाने गरेकोमा मिति २०६८।०३।३२ गतेका राति पूर्व सांसदको घरमा श्यामवती देवी सरदार आई जगदिश प्रसाद साहलाई भेटी गुनासो सुनाइ फर्कने क्रममा मसँग कुरा गरी रहेकोमा सरोज चौधरी र रामदेव राम आई श्रीमती श्यामवती सरदारलाई यति राति यहाँ के गरी बसी रहेको आफ्नो घर जाउँ भनी हप्काइ भन्दा श्यामवती देवी सरदार आफ्नो घरतर्फ लागिन् । सरोज चौधरी, रामदेव रामसमेत उत्तरतर्फ गएकोमा केहीछिन पछाडि सरोज चौधरी आई मसँग विवाद गरेकोमा सम्झाइ बुझाइ पठाएपछि केही समयपछि सरोज चौधरी, रामबहादुर चौधरी, बलराम चौधरी र आशाराम चौधरीसमेत ५/६ जना आई म र पूर्व सांसदसँग विवाद, हातपात गर्दै पूर्व सांसदलाई घेरा हाली दरबाजाबाट बाहिर निकाली बाटोतर्फ लान लागेकोमा मैले निजहरूबाट छुटाउन सम्झाइ बुझाइ गर्दा मलाई कुटपिट गरी मैले बोकेको हतियार खोस्न आई खोसाखोस हुँदा हतियार अचानक फायर भई रामबहादुर चौधरीलाई लागेको, मलाई सरोज चौधरीसमेतले चिरपट दाउरासमेतको धारिलो हतियारले कुटपिट गरी मरणासन्‍न अवस्थामा पुर्‍याई मेरो हातमा रहेको यु.एस.ए. रिभल्बर तथा गोली राउन्ड ९ र नगद रू.३,०००।- समेत खोसी लगेको हो भन्‍नेसमेत बेहोराको घाइते प्र.ज. प्रवेश कुमार मेहताले गरेको मौकाको कागज । 

भूमिगत सशस्त्र समूहको नामबाट बारम्बार मलाई चन्दा माग्ने अपहरण गर्ने जस्ता धम्की आएकोमा प्रहरी प्रशासनसँग सो कुरा भनी मेरो सुरक्षाको लागि हतियारसहितको अङ्गरक्षक प्रहरी जवान प्रवेश कुमार मेहतालाई खटाएको र निज मेरो सुरक्षाको लागि मसँग रहने बस्ने गरेकोमा मिति २०६८।०३।३२ गतेका राति खाना खाई मेरो घर दरबाजामा म र अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहता रहेको अवस्थामा हात हातमा चिरपट दाउरा, घरेलु हतियारसमेत बोकी मलाई र अङ्गरक्षकलाई गाली गलौज गर्दै सरोज चौधरी, आशाराम चौधरी, बलराम चौधरी, रामबहादुर चौधरी चिनेका र अन्य नचिनेका ५/७ जना आई घेरा हाली मलाई हातपात गरी नियन्त्रणमा लिएपछि अङ्गरक्षकले मलाई निजहरूबाट छुटाउने क्रममा अङ्गरक्षकउपरमा जाई लागि कुटपिट गरी अङ्गरक्षकले बोकेको हतियार गोलीसमेत खोसाखोस गर्दा अचानक गोली फायर भई रामबहादुर चौधरीलाई लागेपछि चिरपट दाउरासमेतले अङ्गरक्षक प्रवेश कुमार मेहतालाई ज्यान मार्ने नियतबाट प्रहार गर्न थालेकोमा म ज्यान बचाउन त्यहाँबाट भागी पुरानो घरमा लुकी साथमा भएको मोबाइलबाट प्रहरी प्रशासनमा फोन गरी घटनाको जानकारी गराइ तत्काल घटनास्थलमा प्रहरी टोली पुगी गोली लागि घाइते रामबहादुर चौधरी र कुटपिटबाट मरणासन्‍न घाइते भई बेहोस भएका अङ्गरक्षकलाई घटनास्थलबाट प्रहरीले उपचारार्थ लगेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको जगदिश प्रसाद साहको जाहेरी दरखास्त । 

मिति २०६८।०३।३२ गतेका राति सरोज चौधरी खेत रोपाईँ गर्नका लागि जन ज्यामी खोज्न गाउँतर्फ गई फर्की आउने क्रममा जगदिश प्रसाद साहको घरअगाडि आइपुग्दा जगदिश प्रसाद साहको अङ्गरक्षक प्रवेश कुमार मेहता भन्‍ने प्रहरीले यति राति कहाँबाट आएको भनी सोध्दा सरोज चौधरीले जन मजदुरी खोजी आएको भनी जवाफ दिँदा निज अङ्गरक्षक प्रवेश कुमार मेहताले मादक पदार्थ खाएको सुरमा सरोज चौधरीलाई कुटपिट गर्न लाग्दा सरोज चौधरी भागी मेरो घरमा आई सो घटनाको बारेमा सुनाउँदा सो गुनासो सुनाउन जगदिश साहको घरमा जाँदा निजले केही कुरा नसुनी मादक पदार्थ सेवन गरेको सुरमा यो सालेहरू बढी भएको छ, गोली हानी देऊ जे पर्छ म बेहोर्छु भनी वचन दिँदा अङ्गरक्षक प्रवेश कुमार मेहताले जगदिश साहको वचन मानी साथमा बोकी राखेको हतियारबाट गोली चलाउँदा रामबहादुर चौधरीलाई लागी मृत्यु भएको हुँदा अन्यायी जगदिश प्रसाद साह र प्र.ज. प्रवेश कुमार मेहतालाई कानूनबमोजिम कडा कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको दिपेन्द्र कुमार चौधरीले पेस गरेको जाहेरी दरखास्त ।

मृतक रामबहादुर चौधरीको मृत्यु गोली लागेको कारण भएको भन्‍नेसमेत बेहोराको पोष्टमार्टम रिपोर्ट ।

मिति २०६७।११।२१ गतेका दिन पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक प्र.ज.  प्रवेश कुमार मेहताले यु.एस.ए. रिभल्बर थान १ र गोली राउन्ड १० समेत बुझेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रबन्धक शाखाको भरपाई । 

घाइते प्र.ज. प्रवेश कुमार मेहताको Cut injury over Scalp : Swelling tender over both arm penetration injury over RT leg and Foot. भन्‍नेसमेत बेहोराको घाउ जाँच केस फाराम ।

म जिल्ला प्रहरी कार्यालय सप्तरीको आदेशानुसार मिति २०६७।११।२१ गतेका दिन जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रबन्धक शाखाबाट यु.एस.ए. रिभल्बर र गोली राउन्ड १० बुझी लिई पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक खटिई निजसँग रहने बस्ने गरेकोमा मिति २०६८।०३।३२ गतेका राति पूर्व सांसद जगदिश प्रसाद साहको घरमा खाना खाई दरबाजामा बसिराखेको अवस्थामा श्यामवती देवी सरदार पूर्व सांसदको घरमा आई भेटी आफ्नो गुनासो सुनाइ निज फर्किने क्रममा मसँग कुरा गरी रहेकोमा सरोज चौधरी, रामदेव राम दक्षिणतर्फबाट आई श्रीमती श्यामवती देवी सरदारलाई राति यहाँ के गरी बसी राखेको आफ्नो घर जाउ भनी हप्काइ भन्दा श्यामवती देवी सरदार आफ्नो घरतर्फ लागिन् । सरोज चौधरी, रामदेव रामसमेत उत्तरतर्फ गएकोमा केहीछिन पछाडि सरोज चौधरीले म भएको ठाउँमा श्रीमती भोलीदेवी सरदारलाई आइरहेको देखी पुन: फर्की आई श्रीमती भोलीदेवी सरदारलाई समेत हप्काउँदा मैले किन हप्काएको म के जस्तो लाग्छु भनी भन्दा निज सरोज चौधरी ममाथि आइलागी वादविवाद गर्न लागेकोमा निजलाई सम्झाइ बुझाइ पठाएपछि केही समयपछाडि सरोज चौधरीले रामबहादुर चौधरी, बलराम चौधरी, आशाराम चौधरीसमेत नचिनेका ५/७ जना पुन: फर्की आई निजहरूले म र पूर्व सांसदसँग वादविवाद, हातपात गर्दै सांसदलाई घेरा हाली दरबाजाबाट बाहिर निकाली बाटोतर्फ लान थालेकोमा मैले निजहरूबाट छुट्याउन सम्झाइ बुझाइ गर्दा मलाई निज सरोज चौधरीसमेतले कुटपिट गरी मैले बोकेको हतियार खोस्न आई खोसाखोस हुँदा हतियार अचानक फायर भई रामबहादुर चौधरीलाई लागेको हो । मलाई चिरपट दाउरासमेतको घरेलु हतियारले कुटपिट गरी मरणासन्‍न अवस्थामा पुर्‍याइ मेरो साथमा भएको हतियार एवं गोली र नगद रू.३,०००।- समेत निज सरोज चौधरीसमेतले खोसी लगेका हुन् भन्‍नेसमेत बेहोराको प्र.ज. प्रवेश कुमार मेहताको जाहेरी दरखास्त तथा सोही जाहेरी दरखास्तबमोजिमको बेहोरा उल्लेख गरी निजले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मेरो लोग्ने वैदेशिक रोजगारको सिलसिलामा विदेश गएपश्चात्‌ मलाई गाउँघरमा अरूसँग अनैतिक सम्बन्ध राख्छे भनी हल्ला फिँजाएकोले मिति २०६८।०३।३२ गते राति गाउँका ठूला बडा मानिस पूर्व सांसद जगदिश प्रसाद साहलाई सो कुरा सुनाउन आई सुनाइ फर्कँदा अङ्गरक्षकलाई पूर्व सांसदको दरबाजामा नाईद (डुड) रहेका स्थानमा गई भेटी कुराकानी गरी रहँदा दक्षिणतर्फबाट रामदेव राम र सरोज चौधरी आई सरोज चौधरीले राति तिमी किन यहाँ बसेको ? आफ्नो घर जाउ भनी हप्काइ भन्दा म आफ्नो घरतर्फ गएकी हुँ भन्‍नेसमेत बेहोराको श्यामवती देवी सरदारले गरेको घटना विवरण कागज । 

विभिन्‍न भूमिगत सशस्त्र समूहको नामबाट बारम्बार मलाई चन्दा माग्ने, अपहरण गर्ने, ज्यान मारिदिने जस्ता धम्की आएकोमा प्रहरी प्रशासनसँग सो कुरा भनी मेरो सुरक्षाको लागि हतियारसहितको अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहतालाई खटाएको र निज मेरो सुरक्षाको लागि मसँग रहने बस्ने गरेकोमा मिति २०६८।०३।३२ गतेको बेलुकी खाना खाई मेरो घर दरबाजामा म र अङ्गरक्षक प्रवेश कुमार मेहता रहेको अवस्थामा हात हातमा चिरपट दाउरा, घरेलु हतियारसमेत बोकी मलाई र अङ्गरक्षकलाई गाली गलौज गर्दै सरोज चौधरी, आशाराम चौधरी, बलराम चौधरी, रामबहादुर चौधरी र अन्य नचिनेका मानिसहरू ५/७ जना आई घेरा हाली तानी मलाई हातपात गरी नियन्त्रणमा लिएपछि अङ्गरक्षकले मलाई निजहरूबाट छुटाउने क्रममा अङ्गरक्षकउपरमा जाई लाी कुटपिट गरी निज अङ्गरक्षकले बोकेको हतियार गोलीसमेत खोसाखोस गर्ने क्रममा अचानक गोली फायर भई रामबहादुर चौधरीलाई लागेपछि चिरपट दाउरासमेतले अङ्गरक्षकलाई ज्यान मार्ने नियतबाट प्रहार गर्न थालेकोमा म ज्यान बचाउन त्यहाँबाट भागी पुरानो घरमा लुकी साथमा भएको मोबाइलबाट प्रहरी प्रशासनमा फोन गरी घटनाको जानकारी गराउँदा तत्काल घटनास्थलमा प्रहरी टोली पुगी गोली लागी घाइते हुने रामबहादुर चौधरी र कुटपिटबाट मरणासन्‍न घाइते बेहोस् भएका अङ्गरक्षक  प्रवेश कुमार मेहतालाई घटनास्थलबाट उठाइ प्रहरीले उपचारार्थ लगेको हो भन्‍नेसमेत बेहोराको पूर्व सांसद जगदिश प्रसाद साहको बयान । 

मिति २०६८।०३।३२ गतेका दिन म सरोज चौधरीको खेतमा हलो जोत्न गएकाले सो दिन बेलुकी सरोजकुमार चौधरी मेरो घरमा आई खाना खान जाउँ भन्दा सरोज चौधरीसँग निजको घरतर्फ गइरहेको अवस्थामा पूर्व सांसद जगदिश प्रसाद साहको दरबाजामा पुग्दा अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहता र श्यामवती देवी सरदार कुराकानी गरिरहेको देखी सरोज कुमार चौधरीले श्यामवती देवी सरदारलाई यति राति यहाँ किन बसेको, आफ्नो घर जाउ भन्दा श्यामवती देवी सरदार आफ्नो घरतर्फ लागिन् । सरोज चौधरीसमेत आफ्नो घरतर्फ लागेको केही पर पुगी निजले प्रवेश कुमार मेहता नजिक अर्को महिलालाई आएको देखी पुन: फर्की को हो ? भनी सोध्दा निज महिलाले म पशुपतिको आमा हुँदा पशुपतिलाई हात मालिस गर्न आएको भनी बताएको अवस्थामा प्रवेश कुमार मेहताले सरोज चौधरीलाई किन फर्केको, म के जस्तो लाग्छु भनी भन्दा सरोज चौधरीले प्रवेश कुमार मेहतालाई गाली गलौज वादविवाद गरेकोमा मसमेत मिली छुट्‍याइदिएको, सरोज चौधरी आफ्नो घरतर्फ गएको दश मिनेटपछाडि सरोज चौधरी, रामबहादुर चौधरी, बलराम चौधरी, आशाराम चौधरीलगायत ५/७ जना लाठी, फट्टा, चिरपटसहित पूर्व सांसद जगदिश प्रसाद साहको दरबाजामा आई अङ्गरक्षक प्रवेश कुमार मेहतालाई विभिन्‍न किसिमको तथानाम गाली गलौज गरी बाहिर आइज भनी सांसद जगदिश प्रसाद साहलाई चारैतिरबाट घेरा हाली गालीगलौज कुटपिट गर्न थालेकोमा अङ्गरक्षक खटिएका प्र.ज. प्रवेश कुमार मेहताले यसो नगर्नुस् भनी भन्दा सबैजना प्रवेश कुमार मेहतामाथि खनिन गई प्र.ज. प्रवेश कुमार मेहतालाई दाउरा, चिरपट, लाठीसमेतले प्रहार गरी सख्त घाइते बनाइ प्र.ज. प्रवेश कुमार मेहताले बोकेको हतियार खोसाखोस गर्दा अचानक गोली फायर भई रामबहादुर चौधरीलाई लागी घाइते भएको, सरोज चौधरीसमेतले प्रवेश कुमार मेहताको साथमा भएको हतियार खोसी निजलाई कुटपिट गर्दै उत्तरतर्फ लगी मरणासन्‍न अवस्थामा पुर्‍याई पोखरीमा फाली दिएपछि प्रहरी टोली आई घाइते दुवैलाई उपचारको लागि पठाएको देखेको भन्‍नेसमेत बेहोराको रामदेव रामले गरेको घटना विवरण कागज । 

म पूर्व सांसदको घरमा काम काज गरी रहेकोले मिति २०६८।०३।२२ गतेका राति २१:३० बजेको समयमा म पूर्व सांसदको घरमा नै बसी रहेको अवस्थामा श्रीमती श्यामवती देवी सरदार पूर्व सांसद जगदिश साहको घरमा आई आफ्नो गुनासो सुनाइ फर्किने क्रममा घरबाहिर दरबाजामा अङ्गरक्षक प्रवेश कुमार मेहता नाईदमा बसी रहेको ठाउँमा गई कुराकानी गरिरहेको अवस्थामा दक्षिणतर्फबाट सरोज चौधरी, रामदेव राम आई सरोज चौधरीले श्यामवती देवी सरदारलाई यति राति यहाँ के गर्दै बसिरहेका छौं, आफ्नो घर जाउ भन्दा श्रीमती श्यामवती देवी सरदार आफ्नो घरतर्फ लागिन् । सरोज चौधरीसमेत आफ्नो घरतर्फ लागे । केही पर पुगेपछि भोलीदेवी सरदारले आफ्नो छोरा पशुपति सरदारलाई म भएको ठाउँमा हात मालिस गराउन आइरहेको सरोज चौधरीले को हो भनी सोध्दा भोलीदेवी सरदारले म पशुपतिको आमा हुँ भनी भन्दा सरोज चौधरी फर्की प्रवेश कुमार मेहता रहेको ठाउँमा पुग्दा प्रवेश कुमार मेहताले किन फर्केको म कोहीसँग कुराकानी गरेपछि किन रिसाउँछौ भनी सोध्दा सरोज चौधरीले अङ्गरक्षक प्रवेश कुमार मेहतालाई गाली गलौज गर्न थालेकोमा निजहरूबिच वादविवाद हुन थालेकोले मसमेत गई सम्झाइदिएकोमा सरोज चौधरी आफ्नो घरतर्फ गई १०/१५ मिनेटपछाडि सरोज चौधरीले रामबहादुर चौधरी, बलराम चौधरी, आशाराम चौधरीसमेतलाई सँगसाथमा लाठी, फट्टा, चिरपट दाउरासमेत लिई सांसद जगदिश प्रसाद साहको दरबाजामा आई जगदिश प्रसाद साहलाई र अङ्गरक्षक प्रवेश कुमार मेहतालाई विभिन्‍न किसिमको तथानाम गाली गलौज गर्दै बडी गार्ड राखेर खुब ठुलो भएको छस् बाहिर आइजा भनी भन्दा जगदिश प्रसाद साह, अङ्गरक्षक प्रवेश कुमार मेहता बाहिर निस्कँदा सरोज चौधरीसँग साथमा आएका सबै जना मिली जगदिश प्रसाद साह र अङ्गरक्षकलाई घेरा हाली कुटपिट गर्न थालेपछि अङ्गरक्षकलाई सरोज चौधरीसमेतले कुटपिट गरी टाउको फुटाइ निजसँग रहेको हतियार खोसाखोस गर्न लागेको अवस्थामा अचानक गोली फायर भई रामबहादुर चौधरीलाई लागेकोमा सरोज चौधरी, बलराम चौधरी, आशाराम चौधरीसमेतले अङ्गरक्षक प्रवेश कुमार मेहतालाई कुटपिट गर्दै उत्तरतर्फ लगी हतियारसमेत खोसी मरणासन्‍न अवस्थामा पुर्‍याई छाडी फालिदिएकोमा प्रहरी टोली खटी आई दुवै जनालाई उपचारार्थ पठाएकोमा रामबहादुर चौधरीको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको सुकुमार साह, विरन्ची सदा, रामदेव रामले गरेको घटना विवरण कागज । 

मेरो छोरा पशुपति सरदारको हात भाँचिएकोले मिति २०६८।०३।३२ गते राति अं.२१:३० बजेको समयमा म छोरालाई लिई पूर्व सांसद जगदिश प्रसाद साहको घरमा बिरन्ची सदासँग हातको मालिस गर्न गएकोमा बिरन्ची सदालाई पूर्व सांसदज्यूको घरबाहिर दरबाजामा नै बसिरहेको देखी छोरालाई हात मालिस गराउन थालेकोमा उत्तरतर्फबाट सरोज चौधरी आई को हो भनी भन्दा मैले पशुपतिको आमा हो भनेकी, निजले यति राति के गरेको ? किन आएको आफ्नो घर जाउ भनी प्र.ज. प्रवेश कुमार मेहतासँग वादविवाद गर्न थालेपछि म डरले आफ्नो घरतर्फ गएको हो, त्यसपछि के भयो मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको भोलीदेवी सरदारको घटना विवरण कागज । 

मिति २०६८।०३।३२ गतेका राति मेरो छोरा पूर्व सांसद जगदिश प्रसाद साहले खेत रोप्ने ज्यामीसमेत लिई आएकोले म राति खाना पकाउन व्यस्त थिएँ । पहिला प्रवेश कुमार मेहताले खाना खाएपछि छोरा जगदिश प्रसाद साहले खाना खाई औषधी खाँदा दरबाजामा हो हल्ला भएको सुनी छोरा र अङ्गरक्षक दरबाजातर्फ लागेको म काममा व्यस्त थिएँ । राति अं. २२:०० बजेको समयमा दरबाजामा एक्कासि गोली फायर भएको आवाज सुनी दरबाजामा जाँदा छोरालाई देखिन । एकजना दरबाजामा सुतिरहेको थियो । सरोज चौधरीसमेत मिली अङ्गरक्षक प्रवेश कुमार मेहतालाई कुटपिट गर्दै घिसार्दै उत्तरतर्फ लगेको देखेको हो भन्‍नेसमेत बेहोराको दुर्गादेवी साहले गरेको घटना विवरण कागज ।

मृतक रामबहादुर चौधरीको पोष्टमार्टम गर्दा निकालेको गोलीको लिड (बुलेट) परीक्षण गर्दा गोली ०.३८० इन्च क्यालिभर रिभल्बरमा लाग्ने गोली भएको र घरेलु उत्पादन (HOME MADE) हतियारबाट फायर भएको हो भन्‍नेसमेत बेहोराको परीक्षण प्रतिवेदन । 

सरोज कुमार चौधरीसमेतका व्यक्तिहरूले मलाई घेरा हाली हातपात गर्न थालेकाले मलाई बचाउन भनी मेरो अङ्गरक्षक प्रवेश कुमार मेहताले प्रयास गर्दा निज सरोज कुमार चौधरीसमेतले मेरो अङ्गरक्षकले बोकेको हतियार खोस्न प्रयत्न गरी हतियार खोसाखोस हुँदा अचानक उक्त हतियार पड्कन गई एकजनालाई लागेपछि मलाई पनि हानी दिन्छन् भन्‍ने डरले ज्यान जोगाउन म त्यहाँबाट भागेको हुँ । बाटोमा अर्को पनि गोली फायर भएको जस्तो आवाज सुनेको हो । प्रयोगशालाबाट प्राप्त भएको परीक्षण प्रतिवेदनबारे थाहा छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी जगदिश प्रसाद साहको ततिम्बा बयान । 

मिति २०६८।०३।३२ गतेका राति अं.२१:३० बजेको समयमा पूर्व सांसद जगदिश प्रसाद साहको घरअगाडि बाटोतर्फ होहल्ला भएको र सरोज चौधरीले बचाउ मलाई जगदिश प्रसाद साह र अङ्गरक्षक प्रवेश कुमार मेहताले कुट्यो पिट्यो भनेको सुनी के भएछ भनी म त्यहाँ जाँदा सरोज कुमार चौधरीलाई कुटपिट गरिरहेको र रामबहादुर चौधरीले मलाई नमार्नुस् छाडिदिनुहोस् भनी भनिरहेको अवस्थामा जगदिश प्रसाद साहले मादक पदार्थ सेवन गरेको सुरमा थारूहरू यसरी किन आउँछन्, गोली हानी मारिदेउ जे पर्छ म बेहोरुँला भनी वचन दिनासाथ मादक पदार्थ सेवन गरेकै अवस्थामा रहेको प्रवेश कुमार मेहताले आदेश मानी गोली चलाउँदा रामबहादुर चौधरीलाई लागी सोही ठाउँमा ढलेपछि सरोज कुमार चौधरीले विनोद कुमार चौधरीलाई टेलिफोन गरी ढली रहेको रामबहादुर चौधरीलाई उठाइ बोकी मसमेत भई घरतर्फ लैजाँदा विनोद चौधरीले एम्बुलेन्स लिई आइपुगेकोमा सो एम्बुलेन्समा हाली उपचारार्थ सगरमाथा अञ्‍चल अस्पतालमा लैजाँदा अस्पतालका डाक्टरले मृत्यु भइसकेको घोषणा गरेका हुन् । पूर्व सांसद जगदिश प्रसाद साह र मृतक रामबहादुर चौधरीको बिचमा झगडा पुरानो रिसइवीसमेत हुँदा त्यसरी अङ्गरक्षकलाई गोली हान्‍न आदेश गरी गोली हानी कर्तव्य गरी मारेको हो भन्‍नेसमेत बेहोराको सुरेश कुमार चौधरी र जयराम चौधरीले गरिदिएको घटना विवरण कागज । 

मिति २०६८।०३।३२ गते राति म चमराही टोलमा खेत रोपाईँ गर्न जन ज्यामी खोज्न गई आफ्नो घरतर्फ फर्की आइरहेको अवस्थामा शम्भुनाथ-८ स्थित सार्वजनिक बाटोमा हल्ला भएको आवाज सुनी हेर्दा मानिसलाई कुटपिट गरिरहेका थिए । सरोज चौधरीले मारिसके भनी गुहार मागी कराइ रोइरहेको अवस्थामा घटनास्थलमा पुग्दा पूर्व सांसद जगदिश प्रसाद साहले अरूहरूलाई गोली ठोक प्रवेश कुमार मेहता भनी आदेश वचन दिनासाथ प्रवेश कुमार मेहताले गोली हान्दा रामबहादुर चौधरीलाई लागिसकेपछि सबै जनाले पुरानो रिसइवीको कारण गोली हानेको भनी हल्ला गरी एम्बुलेन्स बोलाइ अस्पतालतर्फ पठाएको र अस्पतालमा पुगेपछि मृत्युको घोषणा गरेको हो भन्‍ने बालेश्‍वर चौधरीको घटना विवरण कागज । 

मिति २०६८।०३।३२ गतेमा राति अं. २२:०० बजेको समयमा पूर्व सांसद जगदिश प्रसाद साहको दरबाजामा हो-हल्ला भएको सुनी त्यहाँ जाँदा सरोज कुमार चौधरी, आशाराम चौधरी, रामबहादुर चौधरीलगायत ७/८ जना हातहातमा चिरपट दाउरालगायत घरेलु हातहतियार लिई जगदिश प्रसाद साह र प्र.ज. प्रवेश कुमार मेहतालाई घेरा हाली गाली गलौज गरी कुटपिट गरी रहेकोमा जगदिश प्रसाद साह भागी गएको, प्रवेश कुमार मेहतालाई कुटपिट गरी लडाई हतियार खोस्न थाल्दा अचानक गोली फायर हुँदा रामबहादुर चौधरीलाई लाग्न गएपछि सरोज कुमार चौधरीसमेतले प्रवेश कुमार मेहतालाई कुटपिट गरी मरणासन्‍न अवस्थामा पारी मरिसक्यो भनी पोखरीमा फालिदिएको हो भनी रामस्वरूप साह, शिवशंकर साह, वैद्यनाथ कुमार साह, अकबर प्रसाद साहले गरिदिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का । 

मिति २०६८।०३।३२ गतेका राति सरोज चौधरी खेत रोपाईँको लागि ज्यामी खोजी आइरहेको अवस्थामा पूर्व सांसदको घरअगाडि आइपुग्दा अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहताले यति राति कहाँबाट आयौ भनी कुटपिट गाली गलौज गरेकोमा सरोज चौधरी आई रामबहादुर चौधरीसमेतलाई भन्दा रामबहादुर चौधरी, सरोज चौधरीसमेत मिली सो कुराको गुनासो सुनाउन पूर्व सांसद जगदिश प्रसाद साहको घरमा जाँदा निज सांसदले मादक पदार्थ सेवन गरेको सुरमा यी चौधरीहरूलाई गोली हानी मारिदेउ भनी आदेश वचन दिँदा प्रवेश कुमार मेहताले साथमा बोकेको हतियारले रामबहादुर चौधरीलाई गोली हानी मारे भनी विनोद चौधरीले फोन गर्दा निज विनोदले एम्बुलेन्स लिई आई रामबहादुर चौधरीलाई लिई अस्पताल पुर्‍याउँदा निजको मृत्यु घोषणा गरेको हो भन्‍नेसमेत बेहोराको नथुनी चौधरी, मुसहरू चौधरी, टिराहु चौधरी, वसन्तकुमार चौधरीसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का । 

मिति २०६८।०३।३२ गतेका राति सरोज चौधरीले मलाई फोन सम्पर्क गरी रामबहादुर चौधरीलाई गोली लागेको छ एम्बुलेन्स लिई छिटो आउनु भन्दा म एम्बुलेन्स लिई गई रामबहादुर चौधरीलाई बोकी राजविराज अस्पतालमा ल्याउँदा डाक्टरद्वारा निजको मृत्यु भएको घोषणा गरेको हो भन्‍नेसमेत बेहोराको विनोद चौधरीले गरेको घटना विवरण कागज ।

फरार प्रतिवादीहरू सरोज कुमार चौधरी, आशाराम चौधरी, बलराम चौधरीलाई खोजतलास गर्दा फेला नपरेको भन्‍ने प्र.स.नि. चन्द्र कार्कीको प्रतिवेदन ।

घटनास्थलमा फेला परेको रगत लागेको सेतो सेन्डो गन्जी परीक्षण गर्दा उक्त सेन्डोमा लागेको रगत मानिसको रगत हो भन्‍नेसमेत बेहोराको परीक्षण प्रतिवेदन । 

दिपेन्द्र कुमार चौधरीको जाहेरी दरखास्त, बुझिएका मानिसहरूले गरिदिएको घटना विवरण कागज, वस्तुस्थिति मुचुल्कासमेतबाट प्रतिवादी जगदिश प्रसाद साहले मृतक रामबहादुर चौधरीलाई गोली हानी मार्ने आदेश वचन दिएका र उक्त आदेशानुसार प्रतिवादी प्र.ज. प्रवेश कुमार मेहताले बोकेको हतियारबाट गोली फायरिङ गर्दा रामबहादुर चौधरीलाई लाग्न गई सोही चोट पीडाबाट निज रामबहादुरको मृत्यु भएको पुष्टि भएको हुँदा प्रतिवादी प्र.ज. प्रवेश कुमार मेहताले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं.अनुसारको कसुर गरेको हुँदा निजलाई सोही महलको १३(१) नं.बमोजिम र ज्यान मार्न आदेश दिने प्रतिवादी जगदिश प्रसाद साहले ऐ.ऐन, महलको १ नं. र १३(४) अनुसारको कसुर गरेको हुँदा निजलाई सोही १३(४) बमोजिम सजाय गरिपाऊँ । यसैगरी प्र.ज. प्रवेश कुमार मेहता र जगदिश प्रसाद साहको जाहेरी दरखास्तसमेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी सरोज कुमार चौधरी, आशाराम चौधरी, बलराम चौधरी र अन्य नचिनेका ५/७ जनाको समूहले रातको २२:०० बजेको समयमा घरेलु हातहतियार, बाँसको दाउरा, चिरपट, लाठीसमेत लिई जगदिश प्रसाद साहको घर दरबाजामा प्रवेश गरी ज्यान मार्ने नियतबाट जगदिश प्रसाद साह र प्रवेश कुमार मेहतालाई घेराउ गरी पक्री हातपात गरी कुटपिट गर्दा जगदिश प्रसाद साह बलजफ्ती घटनास्थलबाट भागी निजको ज्यान बच्न गएको र प्र.ज. प्रवेश कुमार मेहतालाई टाउकोलगायतका शरीरका संवेदनशील भागमा कुटपिट गरी मरणासन्‍न अवस्थामा पुर्‍याई पोखरीमा फाली जम्मा बिगो रू.२१,५२८।३६ बराबरको धनमालसमेत लुटी खोसी लगी डाँका गरेको पुष्टि हुन आएको हुँदा प्रतिवादी सरोज कुमार चौधरी, आशाराम चौधरी, बलराम चौधरीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १५ नं.अनुसारको तथा ऐ. चोरीको महलको १ नं. र ६ नं. को कसुर गरेको हुँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं. र चोरीको महलको १४(४) बमोजिम सजाय गरी प्रतिवादीहरूले डाँका गरी लगेको बिगोमध्ये सरकारी पेस्तोल र गोलीको बिगो रू.१८५२८।३६ जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई र जाहेरवाला प्र.ज. प्रवेश कुमार मेहताको बिगो रू.३,०००।- ऐ. ऐन, चोरीको महलको १०(३) नं.बमोजिम निज प्रवेश कुमार मेहतालाई दिलाई भराइपाउँ भनी पेस भएको अभियोगपत्र । 

जाहेरी दरखास्त झुठ्ठा हो, म कहिल्यै रक्सी खान्‍न । मलाई गोली हान्‍न प्रतिवादी जगदिश साहले आदेश पनि दिनुभएको छैन, होइन । मैले गोलीसमेत हानेको होइन । मेरो पेस्तोल निजहरूसँग खोसाखोस हुँदा एक राउन्ड पड्किएको हो । निजहरूले मलाई कुटपिट गरी रहेको हुँदा कसलाई गोली लागी मृत्यु भयो मलाई थाहा भएन । तत्काल म बेहोस् भएको र उपचारपछि होस आएकोले रामबहादुर चौधरीको मृत्यु भएको सुनेको हुँ । के कुन हतियारको गोलीबाट निजको मृत्यु भयो मलाई थाहा भएन । मैले तथा प्रतिवादी जगदिश साहले कसैलाई कुटपिट गरेको छैन । निजलाई कसले कुटपिट गरे मलाई थाहा भएन । दसीमा प्राप्त भएको चप्पल मेरो होइन । गन्जी र सर्ट मेरो हुन् । गोली लिड मेरो पेस्तोलबाट फायरिङ्ग भएको हो, होइन यकिन गर्न सक्दिन । मलाई नै उल्टै ज्यानै मर्ने गरी कुटपिट गरी ज्यान मार्ने उद्योग गरेका हुन् । मलाई सजाय हुने होइन निजहरूलाई नै सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रवेश कुमार मेहताले सप्तरी जिल्‍ला अदालतमा गरेको बयान । 

दिपेन्द्र चौधरीको जाहेरी दरखास्त झुठ्ठा हो । मेरो अङ्गरक्षक प्रवेश कुमार मेहता हुन् । जाहेरवाला दिपेन्द्र कुमार चौधरी तथा सरोज कुमार चौधरी, आशाराम चौधरी र बलराम चौधरी चिनजानकै मानिस हुन् । उक्त मिति समयमा म आफ्नै घरमा भई उक्त वारदात मिति समयअगाडि मैले कुनै मादक पदार्थ सेवन गरेको छैन । मेरो अङ्गरक्षकले कसैलाई कुटपिट गरेको छैन । मैले गोली हान्‍ने आदेश पनि दिएको छैन । निज सरोज कुमार चौधरीसमेतका मानिसहरू आई हामीउपर धरपकड गरी प्रवेश कुमार मेहतालाई कुटपिट गरी हतियार खोस्न लाग्दा खोसाखोस हुँदा पेस्तोल पड्कन गएको हो । निजले गोली प्रहार गरेको होइन । मैले सजाय पाउने होइन, सफाइ पाऊँ । हामी माथि आक्रमण गरी ज्यान मार्ने उद्योग गर्ने विपक्षीहरूलाई नै सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी जगदिश प्रसाद साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बयान ।

प्रस्तुत मुद्दामा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादीमध्येका प्रवेश कुमार मेहतालाई मुलुकी ऐन, अ.बं.११८ को देहाय (२) नं.बमोजिम थुनामा राख्‍न कारागार कार्यालय सप्तरीमा पठाइदिनू । अर्का प्रतिवादी जगदिश प्रसाद साहबाट रू.१,५०,०००।- (एक लाख पचास हजार रूपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत लिई निज प्रतिवादीलाई तारेखमा राख्‍नु भनी सप्तरी जिल्ला अदालतबाट मिति २०६८।०५।०८ मा आदेश भएकोमा उक्त आदेश चित्त नबुझेको भनी जाहेरवाला, वादी नेपाल सरकार, प्रतिवादी प्रवेश कुमार मेहता, प्रतिवादी जगदिश प्रसाद साहले उक्त आदेश बदर गरिपाउँ भनी तत्कालीन पुनरावेदन अदालत राजविराजमा मुलुकी ऐन, अ.बं. १७ नं.बमोजिम निवेदन गरेकोमा तत्कालीन पुनरावेदन अदालत राजविराजको मिति २०६८।०९।०७ को आदेशले प्रतिवादी प्रवेश कुमार मेहताको हकमा भएको आदेश सदर र प्रतिवादी जगदिश प्रसाद साहको हकमा भएको आदेश बदर गरी निजलाई मुलुकी अ.बं.११८ को देहाय (२) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी सप्तरी जिल्‍ला अदालतबाट भएको आदेश । 

प्रवेश कुमार मेहतासमेतले दिएको जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो । जाहेरवाला प्रतिवेदक निश्‍चल पोखरेल, बलराम, दिपेन्द्र कुमार चौधरी, जगदिश प्रसाद साहसमेतलाई चिन्छु । मिति २०६८।०३।३२ गते म आफ्नै घरमा रहेकोले कसैसँग भेटघाट भएन । घरबाट बाहिर घटनास्थलमा पुग्दा त्यहाँ सरोज चौधरी, प्रवेश कुमार मेहता, जगदिश प्रसाद साह, रामबहादुर चौधरीसमेत उपस्थित रहेको बेलामा नै प्रवेश कुमार मेहताले गोली हानी निज रामबहादुर चौधरीलाई लागेको गोलीबाट बचाउनको निमित्त उपचारको लागि सगरमाथा अञ्‍चल अस्पतालमा पठाएको हुँ । म जगदिश प्रसाद साहको दरबाजामा गएको छैन । मैले निज जगदिश र निजको अङ्गरक्षकलाई हातपात कुटपिट गरेको छैन । म जगदिश प्रसाद साहको घरमा भएको घटनामा संलग्न नरहेको र मैले कुनै अपराध गरेको नहुँदा अभियोग मागदाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन, सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आशाराम चौधरीले म्यादमा हाजिर भई सप्तरी जिल्‍ला अदालतमा गरेको बयान । 

प्रवेश कुमार मेहतासमेतको जाहेरी दरखास्त बेहोरा झुठ्ठा हो । उक्त वारदात मिति समयमा म आफ्नो घरमा थिइन । मिति २०६८।०३।३२ गते म ससुराली गई मिति २०६८।०४।०१ गते त्यहाँबाट फर्की घर आएको हुँ । उक्त घटनाको बारेमा बुझ्दा प्रहरीले जगदिश प्रसाद साहको आदेशमा गोली हानेको कुरा थाहा पाएको हुँ । मिति २०६८।०३।३२ गते प्रतिवादीहरूसँग भेटघाट भएको छैन । प्रतिवादीहरूलाई चिन्छु, म घटना हुँदा घटनास्थलमा नभएकोले केही थाहा छैन । प्रवेश कुमार मेहतालाई मैले कुटपिट हातपात गरेको छैन । मैले कुनै कसुर अपराध नगरेकोले मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन, सफाइ पाउनुपर्ने हो भन्‍ने बेहोराको प्रतिवादी बलराम चौधरीले म्यादमा हाजिर भई सप्तरी जिल्‍ला अदालतमा गरेको बयान । 

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादीमध्येका बलराम चौधरीबाट रू.१५,०००।- (पन्ध्र हजार रूपैयाँ) र अर्का प्रतिवादी आशाराम चौधरीबाट रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) नगद वा सो बराबरको जेथा जमानत माग गरी मिति २०६८।०७।३० मा सप्तरी जिल्ला अदालतबाट आदेश भएकोमा उक्त आदेश चित्त नबुझेकाले बदर गरिपाउँ भनी वादी नेपाल सरकार, जाहेरवाला तथा निज प्रतिवादीहरूसमेतको तर्फबाट तत्कालीन पुनरावेदन अदालत राजविराजमा मुलुकी ऐन, अ.बं.१७ नं.बमोजिम निवेदन परेकोमा तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।०९।०७ मा उक्त सप्तरी जिल्ला अदालतको आदेश बदर गरी मुलुकी ऐन, अ.बं.११८ को देहाय (२) नं.बमोजिम प्रतिवादीहरूलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु भनी भएको आदेश ।

जाहेरी बेहोरा झुठ्ठा हो । वारदात मिति र समयमा म र आशाराम आ-आफ्नो घरमा रहेकाले निजसँग भेट भएको हो । बलराम कहाँ थिए थाहा छैन । मिति २०६८।०३।३२ गते करिब ८:००/०८:३० बजेतिर जनज्यामी गरी आफ्नो घरतर्फ आउने क्रममा सांसद जगदिश प्रसाद साह र निजको अङ्गरक्षक प्रवेश कुमार मेहतासँग भेट हुँदा तिमी यति राति कहाँबाट आउँदै छौ भनी जगदिश प्रसाद साहले भने । मैले जनज्यामी गरी आउँदै छु भनेकोमा निजले मलाई तैंले बढी पैसा दिएर जनज्यामी भड्काउँछस् भनी निज र निजको अङ्गरक्षक प्रवेश कुमार मेहताले हात, लात, जुत्तासमेतले कुटपिट गरी मेरो दाहिने हात भाँचिदिएको हुँदा मैले घर नपुग्दै काका मृतक रामबहादुर चौधरी तथा छेदी चौधरीसँग बाटोमा सो कुरा सुनाउँदा निजहरूले सांसद्‌ज्यूले त्यस्तो नगर्नुपर्ने भन्दै जाउँ बुझ्नुपर्छ भनेपछि हामी तीनै जना भई सांसद साहकोमा गई निज र निजको अङ्गरक्षकसँग मेरो भतिजा सरोज कुमार चौधरीलाई किन कुट्नुभयो भनी भन्दा यो थारूहरू धेरै मातिएको रहेछ, गोली हान्दे जे पर्छ म सहुँला भनी जगदिश साहले वचन दिनासाथ अङ्गरक्षक प्रवेश कुमार मेहताले गोली प्रहार गरे । उक्त गोली लागी काका रामबहादुर चौधरी घटनास्थलमा ढलेपछि निजलाई उपचारको लागि सगरमाथा अञ्‍चल अस्पताल राजविराज पठाएकोमा निजको मृत्यु भएको हो । उक्त घटनामा मेरो कुनै संलग्नता छैन । प्रवेश कुमार मेहतालाई मैले कुटपिटसमेत गरेको होइन छैन । निजको साथमा रहेको नगद र रिभल्बरसमेत खोसी लुटी लगेको होइन । अभियोग दाबीबमोजिम मैले ज्यान मार्ने उद्योग अपराध तथा डाँकासमेत नगरेको हुँदा मैले सफाइ पाउनुपर्ने हो भन्‍नेसमेत बेहोराको प्रतिवादी सरोज कुमार चौधरीले म्यादमा हाजिर भई सप्तरी जिल्‍ला अदालतमा गरेको बयान । 

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी सरोज कुमार चौधरीबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) नगद वा सो बराबरको जेथा जमानत माग गरी मिति २०६८।०८।१४ मा सप्तरी जिल्ला अदालतबाट आदेश भएकोमा उक्त आदेश चित्त नबुझेकाले बदर गरिपाउँ भनी वादी नेपाल सरकार र जाहेरवालाको तर्फबाट तत्कालीन पुनरावेदन अदालत राजविराजमा मुलुकी ऐन, अ.बं. १७ नं.बमोजिम निवेदन परेकोमा तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०६८।०९।०७ मा उक्त सप्तरी जिल्ला अदालतको आदेश बदर गरी मुलुकी ऐन, अ.बं. ११८ को देहाय (२) नं. प्रतिवादी सरोज कुमार चौधरीलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु भनी भएको आदेश ।

मिति २०६८।०४।२७ मा भएको घटना विवरण कागजको बेहोरा र सोमा परेको सहीछाप मेरै हो । मृतक रामबहादुर चौधरीलाई २०६८।०३।३२ गते राति करिब ९:०० बजेको समयमा जगदिश साहको दरबाजाको अगाडि सार्वजनिक डगरमा जगदिश साहले आदेश दिई प्रवेश कुमार मेहताले निजले बोकेको बन्दुकबाट गोली हानेको हो । मैले रामबहादुरलाई कोखामा गोली लागेको देखेको हुँ । अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्ने हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने जयराम चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०४।२७ को घटना विवरण कागजको बेहोरा र सोमा परेको सहीछाप मेरो हो । मिति २०६८।०३।३२ गते राति ९:०० बजेतिर सरोज कुमार चौधरीले बचाउ भनी कराएको सुनी हेर्न जाँदा जगदिश साहको दरबाजाअगाडि सरोज कुमार चौधरीलाई प्रवेश कुमार मेहताले कुटपिट गर्दै थियो । रामबहादुर चौधरीले किन कुट्छस् भन्दा जगदिश साहले यी थारूहरूलाई गोली हानी मारिदेउ भनी आदेश दिएपछि प्रवेश कुमार मेहताले गोली चलायो । उक्त गोली लागी रामबहादुर ढल्यो । रामबहादुर ढलेपछि जगदिश र प्रवेश कुमार मेहता फरार भए । रामबहादुरलाई एम्बुलेन्सबाट राजविराज ल्याएपछि अस्पतालमा डाक्टरले मृत घोषित गरेका हुन् । प्रतिवादीहरूलाई अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सुरेश कुमार चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२१ गतेको घटना विवरण कागजको बेहोरा र सो कागजमा परेको सहीछाप मेरै हो । रामबहादुरको गोली लागी मृत्यु भएको भन्‍ने घटना भएको भोलिपल्ट सुनी थाहा पाएकी हुँ । घटना भएको दिन म छोरा पशुपतिको हात देखाउन जगदिश साहको घरमा गएकी थिएँ । सो समयमा सरोज चौधरी आई रातमा किन यहाँ बसेको भनी हप्काएपछि म घर गएको हुँ । सोही विषयमा सरोज चौधरी र प्रवेश कुमार मेहताबिच वादविवाद भएकोसम्म देखेको हुँ । मैले जगदिश साहलाई देखिनँ भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने भोलीदेवी सरदारले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०४।२७ को घटना विवरण कागजको बेहोरा र सोमा परेको सहीछाप मेरै हो । सरोज चौधरी र रामबहादुर चौधरीलाई जगदिश प्रसाद साह र प्रवेश कुमार मेहताले कुटपिट गरिरहेको देखेको हुँ । जगदिशले प्रवेश कुमार मेहतालाई यो चौधरीहरूलाई ठोकिदेउ भनी वचन दिएपछि प्रवेश कुमार मेहताले रामबहादुरलाई गोली ठोके । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने बालेश्‍वर चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२७ गतेको वस्तुस्थिति मुचुल्कामा लेखिएको बेहोरा र सोमा परेको सहीछापसमेत मेरै हो । सरोज चौधरीलाई प्रवेश कुमार मेहताले कुटपिट गरेको र सो बारेमा कुरा गर्न रामबहादुर, सरोज र म जगदिशको घरमा जाँदा जगदिश साहले गोली मार्देउ जे हुन्छ म देखुँला भनेकाले प्रवेश कुमार मेहताले गोली हानेको हो । उक्त समय घटनास्थलमा रामबहादुर, आशाराम, सरोज, सुरेश थिए । अभियोग दाबीअनुसार प्रतिवादीहरूलाई सजाय हुनुपर्ने हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस वसन्त कुमार चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०४।१६ को घटना विवरण कागजको बेहोरा र सोमा परेको सहीछाप मेरै हो । मिति २०६८।०३।३२ गते जगदिश प्रसाद साहको घरमा रामबहादुर चौधरी र प्रवेश कुमार मेहताका बिच निज प्रवेश कुमार मेहताले पेस्तोल खोसाखोस हुने क्रममा पेस्तोल पड्कियो । सोही क्रममा रामबहादुरको मृत्यु भयो । जगदिश प्रसाद साहले गोली हान्‍नका लागि आदेश दिएको थिएन । सरोज चौधरी, बलराम चौधरी, आशाराम चौधरीले प्रवेश कुमार मेहतालाई कुटपिट गरी बाँसघारीमा फ्यालिदिएको हो । जगदिश साह र प्रवेश कुमार मेहतालाई दण्ड जरिवाना हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सुकुमार साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०४।२७ को वस्तुस्थिति मुचुल्काको बेहोरा र सोमा परेको सहीछाप मेरै हो । घटना म आफैँले देखेको हुँ । जगदिश प्रसाद साहले गोली हान् भनी प्रवेश कुमार मेहतालाई आदेश दिएको र आदेश दिनासाथ प्रवेश कुमार मेहताले गोली हान्दा रामबहादुर चौधरीलाई गोली लागी निज लडेको हो । अभियोग दाबीअनुसार प्रतिवादीहरूलाई सजाय हुनुपर्ने हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस मुसहरू चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२७ गतेको वस्तुस्थिति मुचुल्कामा परेको सहीछाप मेरो हो । सोमा लेखिएको केही बेहोरा मैले भनेबमोजिम र केही फरक लेखिएको छ । मिति २०६८।०३।३२ गते राति अं. ९/१० बजेतिर घटना भएको हो । प्रवेश कुमार मेहता, आशाराम चौधरी, बलराम चौधरी, सरोज चौधरी, रामबहादुर चौधरीबिच झगडा भएकोमा प्रवेश कुमार मेहताले बोकेको पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्केको हो । पेस्तोल पड्केपछि मलगायतको भागाभाग भयो । बाटोमा अर्कोपटक पनि पड्केको सुनेको हुँ । भोलिपल्ट रामबहादुरको मृत्यु भएको सुनेँ । कस्को गोलीबाट मृत्यु भयो मलाई थाहा छैन । प्रवेश कुमार मेहता र जगदिश प्रसाद साहलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस शिवशंकर साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२७ मा भएको वस्तुस्थिति मुचुल्काको बेहोरा र सोमा परेको सहीछाप मेरै हो । मिति २०६८।०३।३२ मा जगदिश प्रसाद साहले प्रवेश कुमार मेहतालाई यो थारूहरूलाई गोली ठोक भनी आदेश दिई प्रवेश कुमार मेहताले रामबहादुरलाई गोली हानी मारेको हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका व्यक्ति टिराहु चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०४।२७ गतेको वस्तुस्थिति मुचुल्का र सोमा परेको सहीछाप मेरै हो । जगदिश साहले गोली ठोक भनी आदेश दिएबमोजिम प्रवेश कुमार मेहताले गोली हान्दा गोली लागी रामबहादुरको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस नथुनी चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२१ मा भएको घटना विवरण कागजमा लेखिएको बेहोरा मेरो होइन सहीछापसम्म मेरो हो । प्रहरीले कागज लेखी सहीछाप गर्नु भनेकाले सहीछाप गरिदिएको हुँ । रामबहादुर चौधरीको मृत्यु कसरी भयो मलाई थाहा छैन । रामबहादुर चौधरीलाई गोली लागेको भन्‍ने घटना भएको भोलिपल्ट मात्र थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने दुर्गादेवी साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।०३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गराएको जाहेरी दरखास्तमा लेखिएको बेहोरा र सोमा परेको सहीछाप मेरै हो । मेरो काका रामबहादुर चौधरीलाई जगदिश साहको आदेशमा प्रवेश कुमार मेहताले गोली हानी हत्या गरेका हुन् । प्रतिवादीहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्‍नेसमेत बेहोराको जाहेरवाला दिपेन्द्र कुमार चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२७ को वस्तुस्थिति मुचुल्काको बेहोरा र सोमा परेको सहीछाप मेरो हो । म घटनास्थलमा पुग्दा आशाराम, बलराम, सरोज, रामबहादुरले प्रवेश कुमार मेहतालाई कुटपिट गरिरहेका थिए । जगदिशलाई मैले देखिनँ । निजले गोली हान्‍न आदेश दिएको होइन भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस अकबर प्रसाद साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।२७ को वस्तुस्थिति मुचुल्काको बेहोरा र सोमा परेको सहीछाप मेरो हो । वारदात मिति र समयमा हो-हल्ला भएको सुनी म जगदिश प्रसाद साहको घरमा पुग्दा आशाराम चौधरी, बलराम चौधरी, सरोज चौधरी, रामबहादुर चौधरी र प्रवेश कुमार मेहताका बिच लछारपछार भइरहेको थियो । सोही अवस्थामा गोली पड्केको आवाज आयो । सबै भागाभाग भएकोले म पनि भागी घर गएको हुँ । रामबहादुरको मृत्यु कसरी भयो थाहा छैन । घटनास्थलमा मैले जगदिश साहलाई देखेको थिइनँ भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका व्यक्ति वैजनाथ कुमार साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०३।३२ गते करिब ९:०० बजेको समयमा जगदिश प्रसाद साहको आदेशबमोजिम प्र.ज. प्रवेश कुमार मेहताले आफ्नो साथमा बोकेको पेस्तोलबाट गोली हानी रामबहादुर चौधरीको हत्या गरेका हुन् । मिति २०६८।०४।२७ गतेको घटना विवरण कागजको बेहोरा र सोमा परेको सहीछाप मेरो हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने व्यक्ति विनोद कुमार चौधरीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

वारदात मिति समयमा म घरमै थिएँ । हल्ला भएको सुनी जगदिश साहको घरमा जाँदा आशाराम चौधरी, बलराम चौधरी, रामबहादुर चौधरी, सरोज चौधरीसमेतले प्रवेश कुमार मेहतालाई कुटपिट गरिरहेका थिए । भोलिपल्ट रामबहादुर चौधरी मारिए भन्‍ने सुनेको हुँ । मिति २०६८।०४।२७ गतेको वस्तुस्थिति मुचुल्काको बेहोरा र सहीछाप मेरै हो भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस रामस्वरूप साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०४।१६ को घटना विवरण कागजको बेहोरा र सोमा भएको सहीछाप मेरै हो । प्रतिवादीमध्येका जगदिश साहले यिनीहरू सन्केका छन् कुट् भनी भन्दा प्रतिवादी प्रवेश कुमार मेहताले पेस्तोल निकाली गोली चलाउँदा रामबहादुरलाई गोली लागेको हो । प्रतिवादी जगदिश साहले गोली मार भनेको छैन । मार भनेपछि प्रवेश कुमार मेहताले गोली मारेको हो भन्‍नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने रामदेव मोचीले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

प्रवेश कुमार मेहतालाई सरोज चौधरी, आशाराम चौधरी, बलराम चौधरीले कुटपिट गरी घाइते बनाएका हुन् । प्रवेश कुमार मेहताको पेस्तोल खोस्ने क्रममा एक राउन्ड गोली पड्केको हो । कस्ले पड्कायो मलाई थाहा छैन । गोली चलेपछि म भागेर घर गएँ । त्यसको १५/२० मिनेटपछि रामबहादुर चौधरीलाई गोली लागेको थाहा पाएको हुँ । जगदिश प्रसाद साहले गोली चलाउ भनी वचन दिएको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रवेश कुमार मेहताका साक्षी बोधकृष्ण साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०३।३२ गते राति अं.९:३० बजेतिर मेरो घर पूर्वपट्टि हो हल्ला भएकोले हेर्न जाँदा जगदिश साहको घर दरबाजामा मृतक रामबहादुर चौधरी र सरोज चौधरीले जगदिश साहको हात समातेका थिए । आशाराम चौधरी र बलराम चौधरीसमेत अन्य ५/७ जनाले जगदिश साहको अङ्गरक्षक प्रवेश कुमार मेहतालाई लाठी बाँसको फट्टासमेतले कुटाकुट गर्दै थिए । त्यतिकैमा पेस्तोलको आवाज सुनेपछि भागाभाग भयो । म पनि घर गएँ । दिपेन्द्र चौधरीको जाहेरी बेहोरा झुठ्ठा हो । जगदिश साहले गोली हान्‍न कसैलाई वचन दिएका छैनन् । आशाराम र बलराम तथा प्रवेश कुमार मेहताबिच पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्किएको हो । रामबहादुर चौधरीको मृत्यु के कसरी भयो, मलाई थाहा भएन । प्रतिवादी जगदिश साहले कर्तव्य नगरेको हुँदा निजलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी जगदिश प्रसाद साहका साक्षी श्रीनारायण साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र ।

मिति २०६८।०३।३२ मा बलराम चौधरी, आशाराम चौधरी, सरोज चौधरी र रामबहादुर चौधरीसमेतले झगडा गरी प्रवेश कुमार मेहताले बोकेको पेस्तोल खोस्ने क्रममा पेस्तोल पड्केको हो । पेस्तोल पड्केपछि भागाभाग भएकोले म पनि भागी घर गएको हुँ । गोली हान्‍नका लागि प्रवेश कुमार मेहतालाई प्रतिवादी जगदिश साहले वचन दिएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी जगदिश साहका साक्षी जय नारायण साहले सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

जगदिश साहले गोली हान्‍न निजको अङ्गरक्षकलाई आदेश दिएका छैनन् । प्रवेश कुमार मेहता र आशाराम चौधरी, बलराम चौधरी, सरोज चौधरीका बिचमा प्रवेश कुमार मेहताले बोकेको पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्केको हो भन्‍नेसमेत बेहोरको प्रतिवादी जगदिश प्रसाद साहका साक्षी पारसलाल साह र राम कुमार साहले गरेको करिब एकै मिलानको सप्तरी जिल्‍ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी प्रवेश कुमार मेहता र सरोज कुमार चौधरीबिच वादविवाद र कुटपिट भई सो कुरा काका रामबहादुर चौधरीलाई सुनाइ रामबहादुर र प्रवेश कुमार मेहताबिच बन्दुक खोसाखोस हुँदा लोड भएको बन्दुक अचानक पड्किई रामबहादुर चौधरीको मृत्यु भएको देखिँदा प्रस्तुत मुद्दामा घटित वारदातमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित भई प्रतिवादी प्रवेश कुमार मेहतालाई सोही ज्यानसम्बन्धी महलको ५ नं. को कसुरमा सोही महलको ६(२) नं.बमोजिम दुई वर्ष कैद र रू.५००।- जरिवाना हुने ठहर्छ । अर्का प्रतिवादी जगदिश प्रसाद साहले कसुरमा पूर्णत: इन्कार रही बयान गरेको र निजले आदेश दिई प्रवेश कुमार मेहताले गोली चलाएको भन्‍ने पुष्टि नहुँदा निजले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ । ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अभियोग मागदाबीतर्फ हेर्दा घाइते प्रवेश कुमार मेहतालाई को कसले कुटपिट गरेको भन्‍ने यकिन हुन नआएको, हतियार गोली र नगद कसले लुटी लगे भन्‍ने पनि यकिन हुन नआएको हुँदा सो अभियोग मागदाबीबाट प्रतिवादीहरू सरोज कुमार चौधरी, आशाराम चौधरी र बलराम चौधरीले सफाइ पाउने ठहर्छ । सो हदसम्म वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको सप्तरी जिल्‍ला अदालतबाट मिति २०६९।१२।२८ को फैसला । 

सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६९।१२।२८ मा भएको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍नेसमेत वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीमध्येका जगदिश प्रसाद साहले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर भएको तथ्यले नै मैले गोली नहानेको भन्‍ने पुष्टि भइरहेको,

मेरो साथमा रहेको पेस्तोल खोसाखोस हुँदा एक राउन्डसम्म पड्किएको भन्‍ने मेरो भनाइ रहेकोमा सोही गोली मृतक रामबहादुरलाई लागेको भन्‍ने प्रमाणबाट स्थापित नभएको अवस्थामा मलाई सजायसमेत हुने गरी भएको फैसला त्रुटिपूर्ण रहेको, हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई न्याय पाउँ भन्‍ने प्रतिवादी प्रवेश कुमार मेहताको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

 

यसमा वादी नेपाल सरकार र प्रतिवादी प्रवेश कुमार मेहताको छुट्टाछुट्टै पुनरावेदन परी दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवैतर्फको पुनरावेदन पत्र एक अर्कालाई जानकारीको लागि दिई नियमानुसार पेस गर्नु भन्‍ने तत्कालीन पुनरावेदन अदालत राजविराजको मिति २०७३।०३।०१ को आदेश । 

मउपर लगाइएको अभियोग दाबीबमोजिमको प्रमाणहरू वादी पक्षले दिन नसकेको, घटना घटेको समयमा म घटनास्थलमा नरही आफ्नो ससुरालीमा रहेको र सरोज चौधरीसमेतको प्रवेश कुमार मेहतासँग झगडा भई जगदिश प्रसाद साहको आदेशबमोजिम निज प्रवेश कुमार मेहताले गोली चलाउँदा रामबहादुर चौधरीको मृत्यु भएको भन्‍ने मैले मिति २०६८।०४।०१ मा ससुरालीबाट फर्की आएपछि मात्र थाहा पाएको र वादी पक्षले मउपरको अभियोगलाई वस्तुनिष्ठ प्रमाण साक्षीसमेतबाट पुष्टि गर्न नसकेको हुँदा सुरू सप्तरी जिल्ला अदालतबाट मलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको फैसला नै सदर गरिपाउँ भन्‍नेसमेतको प्रतिवादी बलराम चौधरीको लिखित प्रतिवाद । 

मउपरको अभियोग दाबी पुष्टि हुने प्रमाण वादी पक्षले पेस गर्न सकेको छैन, मैले जाहेरवालालाई कुटपिट नगरेको, निजको साथमा रहेको पेस्तोल र नगद लुटी नलगेको, घटनामा मेरो कुनै पनि संलग्नता नरहेको हुँदा, मलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला नै सदर गरिपाउँ भन्‍नेसमेतको प्रतिवादी आशाराम चौधरीको लिखित प्रतिवाद । 

प्रस्तुत वारदातका सम्बन्धमा मैले तत्कालै प्रहरीमा जाहेरी तथा बयानसमेत दिएको, सरोज कुमार चौधरी, आशाराम चौधरी, बलराम चौधरीसमेतको हुल मेरो घर दरबाजामा आई योजनाबद्ध तवरले झगडा गरी मेरो पी.एस.ओ. प्रवेश कुमार मेहतासँग भएको बन्दुक खोस्ने क्रममा प्रवेश कुमार मेहतालाई नै मरणासन्‍न हुने गरी कुटपिट गरी बेहोस पारी फालिदिएको र तत्कालै प्रहरी आई निजको उद्धार गरेको कारण मात्र निजको ज्यान बच्न गएको भन्‍ने मिसिलबाट पुष्टि भइरहेको, घटनास्थलमा दुई पटक फायरिङ भएको भन्‍ने तथ्य मैले गरेको बयान र तत्काल बुझिएका मानिसहरूको भनाइबाट पुष्टि भइरहेको समेतका आधारमा सुरू सप्तरी जिल्ला अदालतबाट मैले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर भएको फैसला नै सदर गरिपाउँ भन्‍नेसमेतको प्रतिवादी जगदिश प्रसाद साहको लिखित प्रतिवाद ।

यसमा प्रस्तुत मुद्दाको वारदातमा मृत्यु भएका रामबहादुर चौधरीको शव परीक्षण गर्दा मृत शरीरबाट निकालिएको गोलीको लिड (bullet) परीक्षणको लागि केन्द्रीय प्रहरी विधि-विज्ञान प्रयोगशालामा पठाइएकोमा मिति २०६८।०४।१५ मा प्राप्त परीक्षण प्रतिवेदनमा उक्त गोलीको लिड Home made अर्थात् Local made firearm बाट पड्केको भन्‍ने उल्लेख भएको देखिएको र प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका प्र.ज. प्रवेश कुमार मेहताले अमेरिकन पेस्तोल (Revolver) बोकेको भन्‍ने उल्लेख भएको देखिँदा प्रस्तुत वारदातमा प्रयोग भएको गोली के कुन प्रकृतिको भन्‍ने विषयमा विवाद रहेकाले उक्त गोलीको परीक्षण गर्ने परीक्षकहरू प्र.नि. श्री खर्ग नारायण साह र प्र.स.नि. श्री धर्मानन्द भट्टलाई बुझ्नुपर्ने देखिँदा निजहरूको बकपत्र हुने दिन किटान गरी निजहरूलाई उच्च सरकारी वकिल कार्यालय, राजविराजमार्फत उपस्थित गराई बकपत्रको कार्य सम्पन्‍न गरी नियमानुसार पेस गर्नु भन्‍ने उच्‍च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७४।०२।१० को आदेश । 

मिति २०६८।०४।१५ को परीक्षण प्रतिवेदन मसमेतले दिएको हो । विधि विज्ञानको सिद्धान्तहरू Contact and exchange र Principle of comparison का आधारमा परीक्षण गरिएको हो । पठाइएको नमुना नं.१ को Body Surface मा देखिएका दागहरू Standard Factory made firearms बाट फायर हुँदा देखिने नियमित खालका Lands/Grooves को Pattern नदेखिएकाले उक्त नमुना नं.१ कटुवा (Local Made/Homemade) हतियारबाट फायर भएको भनिएको । Homemade firearm मा प्रयोग भएको गोली अमेरिकी पेस्तोल cc/२३५६ U.S.A. मा प्रयोग हुने नहुने सम्बन्धमा परीक्षण नगरी भन्‍न नसकिने । परीक्षण प्रतिवेदन अनुमानित नभई यकिनसाथ दिइएको हो । प्राप्त भएको गोली Home made हतियारबाट Fire भएको हो भन्‍नेसमेत बेहोराको प्रतिवेदक प्र.नि. धर्मानन्द भट्टले उच्‍च अदालत जनकपुर, राजविराज इजलासमा उपस्थित भई गरिदिएको बकपत्र । 

माथि विवेचित तथ्यहरू एवं मिसिल संलग्न प्रमाण कागजातहरूबाट प्रतिवादी प्रवेश कुमार मेहताले चलाएको गोलीबाट मृतकको मृत्यु भएको भनी जाहेरवालाको किटानी जाहेरी परी अदालतमा समेत सोही बेहोराको बकपत्र गरेको, शव परीक्षण प्रतिवेदनबाट गोली लागेको कारण मृत्यु भएको भन्‍ने देखिएको, स्वयं प्रतिवादी प्रवेश कुमार मेहताले बयान गर्दा पनि ज्यानै मार्न भनी गोली हानेकोमा सम्म इन्कार रहेको भए पनि आफ्नो साथमा रहेको हतियार फायर भई लागेको गोलीबाट मृतकको मृत्यु भएको तथ्यलाई स्वीकारै गरेको देखिएको, हतियार खोसाखोस हुँदा अचानक फायर हुन गएको भनी प्रतिवादीले बयान गरेकोमा सो बेहोरा प्रमाणित गर्न सकेको नदेखिएको र वारदातका चस्मदित व्यक्तिहरू रामदेव मोची, सुरेश कुमार चौधरी र जयराम चौधरीसमेतका व्यक्तिहरूले अदालतमा बकपत्र गर्दा प्रतिवादी प्रवेश कुमार मेहताले नै गोली चलाएको कारण मृतकको मृत्यु भएको भनी लेखाइदिएको देखिएको अवस्थामा निज प्रतिवादी प्रवेश कुमार मेहताका हकमा अभियोग मागदाबी भन्दा कम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं.बमोजिम भनी २ वर्ष कैद र रू.५००।- जरिवाना गर्ने गरी सप्तरी जिल्ला अदालतबाट मिति २०६९।१२।२८ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई निज प्रतिवादीलाई तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने भए तापनि मिति २०७५।०५।०१ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा “कुनै कसुर गरेबापतमा सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय निर्धारण गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्‍ने” र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नुपर्ने छ भन्‍ने र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम गर्नुपर्ने छ तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्‍ने उल्लेख भएको सन्दर्भमा प्रस्तुत मुद्दामा यी प्रतिवादीलाई सर्वस्वको सजाय नहुने भई निजलाई जन्म कैदको मात्र सजाय गर्नु कानूनसम्मत हुने देखियो । तर ज्यान मार्ने पूर्वयोजना बनाइ ज्यान मारेको नदेखिएको, पीडित पक्षका व्यक्तिहरू प्रतिवादी रहे बसेको ठाउँमा गई झगडा गरेको र निज प्रतिवादीलाई गोली चलाउनेसम्मको उत्तेजना सिर्जना गराउने कार्यमा पीडित पक्षको पनि भूमिका रहेको समेतको अवस्थालाई विचार गर्दा निज प्रतिवादीलाई सर्वस्वसहितको जन्मकैद गर्दा चर्को पर्ने देखिएकाले मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं.बमोजिम १० (दश) वर्ष मात्र कैदको सजाय हुन मनासिब लागेकोले सोहीबमोजिम हुन साधक जाहेर गर्ने ठहर्छ भन्‍ने उच्‍च अदालत जनकपुर, राजविराज इजलासको फैसला । 

प्रस्तुत मुद्दामा बन्दुक (पेस्तोल) को गोली लागी मृतकको मृत्यु भएको तथ्यमा विवाद छैन, सुरू अदालतबाट पनि सो तथ्यलाई स्वीकार गरी प्रतिवादी प्रवेश कुमार मेहतालाई सजाय भएको छ । प्रतिवादी प्र.ज. प्रवेश कुमार मेहता पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक रहेको, सरोज कुमार चौधरी र निज प्रवेश कुमार मेहताबिच वादविवाद र कुटपिटसमेत भएको, सोही कुटपिटको बारेमा कुरा गर्न मृतकसमेत प्रवेश कुमार मेहता रहेको ठाउँमा जाँदा सिधै प्रहरी जवानसँग रहेको पेस्तोल खोस्न जाने भन्‍ने कुरा तथ्यपरक र प्रतीतलायक देखिँदैन । मौकामा बयान गर्दा प्र.ज. प्रवेश कुमार मेहताले “आफूलाई चिरपट दाउराले हानी बन्दुक खोस्न खोजेको बेलामा बन्दुक पड्केको, जगदिश प्रसाद साहले गोली हान् भनी वचन दिएको सुनिनँ” भनी भनेको कुराबाट पूर्व सांसद जगदिश प्रसादले गोली हान भनी आदेश दिएको र आफूसँग झगडा गर्न सरोज कुमार र मृतक रामबहादुरसमेत आएको देखी निजले परैबाट पेस्तोल फायर गरेको तथ्य मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेको देखिन्छ ।

सरोज कुमार चौधरीसँग प्रवेश कुमार मेहताको पहिले नै वादविवाद र कुटपिट भई सोही कुटपिटको घटनाको पूर्वरिसइवी रहेको, सोही रिसइवीको कारण पुन: झगडा हुँदा प्रतिवादीहरूमध्ये जगदिश प्रसाद साहले पदीय हैसियतमा अङ्ग रक्षकलाई गोली हान्‍न आदेश दिई अङ्गरक्षक प्रवेश कुमार मेहताले पेस्तोलबाट गोली फायर गरेको देखिएको अवस्थालाई नजर अन्दाज गरी प्रस्तुत मुद्दामा जगदिश प्रसाद साहलाई सफाइ ठहर गर्ने गरी भएको फैसला प्रमाण मूल्याङ्कनको दृष्टिकोणबाट गम्भीर त्रुटिपूर्ण छ ।

यसैगरी पुनरावेदन तहबाट उच्च अदालत जनकपुर, राजविराज इजलासबाट ज्यान मार्ने उद्योग र डाँकातर्फ फैसला गर्दा रामबहादुरलाई गोली हानेको आवेशमा प्रवेश कुमार मेहतालाई कुटपिट भएको भन्‍ने तथ्यलाई स्वीकार गरिएको छ । यस तथ्यबाट प्रतिवादी प्रवेश कुमार मेहताले रामबहादुर चौधरीलाई गोली हानेपछि अन्य व्यक्तिहरूले सोही आवेशमा प्रवेश कुमार मेहतालाई ज्यान मार्ने उद्देश्यले बदला लिई कुटपिट गरी गम्भीर रूपले घाइते पारेको तथा निजको साथमा रहेको पेस्तोल, गोली तथा नगदसमेत जबरजस्ती डाँका गरेको तथ्य पुष्टि भई प्रस्तुत मुद्दामा अभियोग दाबीका वारदातहरू पुष्टि भई सबै प्रतिवादीहरूउपरको कसुर स्थापित भइरहेको अवस्थामा मिसिल संलग्न प्रमाणहरूको दोहोरो एवं विरोधाभासयुक्त तरिकाले मूल्याङ्कन (Double Standard) गरी गरिएको फैसला आफैँमा त्रुटिपूर्ण छ । अतः उल्लिखित आधार प्रमाण एवं जिकिरहरूबाट उक्त फैसलाले सफाइ दिएको हदसम्मको त्रुटिपूर्ण देखिँदा उक्त फैसला सो हदसम्म उल्टी गरी विरूद्ध खण्डमा उल्लिखित अन्य प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन-पत्र ।

घटनाको समय रातिको करिब १० बजे आफ्नो पेस्तोल खोसाखोस हुँदा हातको पेस्तोल पड्‍केको अवस्थालाई स्वीकार गर्नु र त्यसको तत्कालै पछि गाउँलेको आक्रमणमा परी सख्त घाइते भई होस फर्किएपछि आफ्नो रिभल्भरबाट पड्‍किएको गोलीले मृत्यु भएको हुनसक्ने सम्भावनालाई स्वीकार गर्नु अस्वाभाविक कुरा होइन । मेरो साथमा रहेको सरकारले प्रदान गरेको रिभल्भर हतियारको औद्योगिक उत्पादन हो भन्‍ने कुरामा विवाद नै छैन । गुणस्तरीय आग्नेयाश्त्रबाट चलेको गोली र अवैध घरेलु पेस्तोलहरूबाट चलेको गोलीको अन्तर विशेषज्ञहरूले त्यसमा रहेको घर्षणको चिह्नबाट सजिलै छुट्‍याउन सक्ने भएको हुनाले विशेषज्ञले गरेको परीक्षणमा नै मृतकको शरीरबाट फेला परेको गोली Homemade Firearm बाट चलेको पुष्टि भइरहेको अवस्थामा औद्योगिक रूपमा उत्पादन भएको अमेरिकी रिभल्भरबाट चलेको होइन भन्‍ने कुरा अकाट्‍य रूपमा प्रमाणित भएको छ ।

पेस्तोल खोसाखोस हुँदा गोली पड्‍कनु र सो गोली नै मृतकलाई लाग्नु एउटै कुरा होइन । सो गोली पड्‍किएको आवाज पनि पुनः चलेको गोली (सम्भवत: मलाई लक्षित गरिएको) मृतकलाई लागी मृत्यु भएको हुन सक्ने कुरालाई उच्च अदालतले कुनै आधारविना नै उपेक्षा गरेको छ । मेरो विरूद्ध फैसलामा रहेको पूर्वाग्रह पिस्तोलको लकको विश्‍लेषणबाट पनि देखिन्छ । रातिको अवस्थामा सम्भावित आक्रमणको खतरा भएको अवस्थामा पेस्तोलमा लक लगाएर राखिँदैन । त्यति मात्रै होइन लक नै लागेको अवस्थामा पनि हतियार खोसाखोस हुने क्रममा लक थिचिन सक्ने कुरा सामान्य हो । अतः मृतक र मेराबिचमा पेस्तोल खोसाखोज हुँदा गोली पड्किन गएको कुरालाई सोही गोलीबाट मृत्यु भएको र मैले कर्तव्य गरी मारेको भन्‍ने ठहर आफैँमा अनुचित छ । मृतकको मृत्युको कारकको रूपमा देखिएको गोलीको पुन: परीक्षण गर्न चाहेको अवस्थामा गर्न सकिने कुरा हो तर त्यस्तो परीक्षणको परिणामले स्पष्ट रूपमा घरेलु हतियारबाट चलेको गोली भन्‍ने निष्कर्षलाई भने प्रमाण ऐनको दफा २५ को प्रतिकूल अमान्य गर्न सकिने होइन ।

स्वयं उच्च अदालतले आफ्नो फैसलामा मलाई अ.बं.को १८८ नं.बमोजिम कम सजाय सिफारिस गर्ने कुरामा उल्लेख गरेको आधारहरूबाट समेत मैले गोली प्रहार गरी मारेको होइन भन्‍ने कुरालाई परोक्ष रूपमा स्वीकार गरेको देखिन्छ । जाहेरवालाको कथनबाट कतै पनि मलाई गोली प्रहार गर्न उत्तेजित गर्ने काम मृतकसमेतले गरेको भन्‍ने देखिँदैन । तर स्वयं अदालतले १८८ नं. को सन्दर्भमा उल्लेख गरेको:-

ज्यान मार्ने पूर्वयोजना बनाई ज्यान मारेको नदेखिएको,

पीडित व्यक्तिहरूसमेत प्रतिवादी रहे बसेको ठाउँमा गई झगडा गरेको,

निज प्रतिवादीलाई गोली चलाउनेसम्मको उत्तेजना सिर्जना गराउने कार्यमा पीडित पक्षको पनि भूमिका रहेको भन्‍ने कथनले मेरा विरूद्ध आक्रमण, लछारपछार भएको कुरालाई स्वीकार गरिएको नै छ ।

यसरी, मैले मृतकको विरूद्ध आक्रमण गर्नुपर्ने गोली प्रहार गर्नुपर्ने कुनै कारण र अवस्था रहेको छैन । निजसँग मेरो कुनै पूर्वरिसइवी अदावत छैन । अवस्था र परिस्थितिले मैले गोली नै प्रहार गर्नुपर्ने कारण छैन । मैले गोली हानेको पनि होइन । पड्‍किएको थियो । अतः मलाई कसुरदार कायम गरेको मिलेको छैन ।

 

अर्कोतर्फ, मलाई कसुरदार कायम गर्नका लागि उच्च अदालत जनकपुर राजविराज बेन्चबाट क्रमशः रामदेव मोचि, सुरेश चौधरी र जयराम चौधरीको बकपत्रलाई आधार बनाइएको छ । यी व्यक्तिको कथन पूर्णतः विश्‍वासयोग्य होइन भन्‍ने कुरालाई उच्च अदालतले नै मानेको छ । यी तीनै जनाले नाटकीय रूपमा जगदिश साहले गोली हानी मारिदेउ भनी आदेश दिई म प्रवेश कुमार मेहताले गोली चलाई मारेको भनी बकपत्र गरेका छन् । तर निजहरूको कथन विश्‍वासयोग्य नभएको हुनाले नै सम्मानित उच्‍च अदालतले जगदिश साहका विरूद्ध कसुर कायम नहुने ठहर गरेको छ । अर्कोतर्फ घटनाका प्रत्यक्षदर्शीहरू सुकुमार साह, शिवसंकर साह, वैजनाथ साहले मेरो रिभल्भर खोस्न खोज्दा गोली पड्‍केको कुरा स्पष्ट रूपमा क्रमबद्ध र विश्‍वासयोग्य तवरमा बकपत्र गर्दा खोलाइदिएको छ । निजहरूको कथनलाई प्रमाणमा लिन नमिल्ने कुनै कारण छैन । त्यसैगरी मेरा साक्षी बोधकृष्ण साहले पनि गोली पड्‍कँदाको परिस्थिति स्पष्ट रूपमा उल्लेख गरिदिएका छन् । गोली हान्‍नु र पड्‍कनु फरक फरक अवस्था हो ।

घटनाको क्रममा मलाई सख्त घाइते हुने गरी कुटपिट गरेको कुरामा कुनै विवाद छैन । मेरो रिभल्भर, गोली र रकम लुटिएको कुरामा पनि कुनै विवाद छैन । मलाई चोटपटक लागेको कुरा निजहरूले आफ्नो लिखित प्रतिवादमा समेत स्वीकार गरेको अवस्था रहेको छ । म घाइते भएपश्चात्‌ हतियार के भयो भन्‍ने सम्बन्धमा प्रतिवादी बलराम चौधरी र सरोजकुमारले समेत औचित्यपूर्ण प्रतिवाद गर्न सकेको अवस्था छैन । मृत्युको कारक कुन हतियारको प्रयोगबाट भएको हो भन्‍ने कुरा यकिन हुन सकेको अवस्था छैन । विशेषज्ञको कथनअनुसार नेपाल सरकारले मलाई उपलब्ध गराएको हतियारको हुने लक्षण मृतकको शरीरबाट निस्केको गोलीमा रहेको छैन । प्रतिवादी बलराम र सरोजको ममाथि साङ्घातिक आक्रमण गर्ने काममा संलग्नता देखेको कारणले नै उच्च अदालतबाट निजहरूको हकमा ज्यान मार्ने उद्योग नठहर्ने मात्र भन्‍न नमिल्ने अपितु कुटपिटमा परिणत गर्ने निर्णय गरेको अवस्था छ । यसरी म एक्लो मानिसलाई सामूहिक रूपमा कुटपिट लछार पछार गरी हतियार खोस्न खोज्दा गोली पड्‍किएको अवस्थामा त्यस्तो पड्‍कनुको कारक मलाई ठहराउनु कानूनसम्मत छैन । अतः प्रमाणको प्रतिकूल भवितव्य ठहर गर्ने सप्तरी जिल्‍ला अदालतको फैसला र मलाई कर्तव्य गरी ज्यान मार्ने कार्यको कसुरदार ठहराउने उच्च अदालत जनकपुर राजविराज बेन्चको फैसला सम्मानित सर्वोच्च अदालतबाट विभिन्‍न मुद्दामा प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको हुनाले दुवै फैसला उल्टी गरी मलाई सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रवेश कुमार मेहताको यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा मिसिल संलग्न प्र.ना.नि. निश्‍चल पोखरेलको प्रतिवेदन, घटनास्थल मुचुल्का, पुनरावेदक प्रतिवादी प्रवेश कुमार मेहताले मिति २०६८।०४।०१ मा वी.पी. कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानका डिउटीमा खटिएका डाक्टरको रोहबरमा गरेको मौकाको कागजसमेतबाट वारदात स्थलमा यी प्रतिवादी प्रवेश कुमार मेहता र पीडित पक्ष सरोजकुमार चौधरीबिच पेस्तोल खोसाखोस हुँदा एक राउन्ड गोली पड्केको भन्‍ने उल्लेख भएको देखिएको र मौकामा कागज गर्ने सुकुमार साह, शिवसंकर साह र वैजनाथ साहसमेतको अदालतमा भएको बकपत्रबाट उक्त तथ्य समर्थित भइरहेको देखिएकोमा प्रतिवादीउपर अभियोग दाबीबमोजिम कसुर कायम गरी सजाय गरेको उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७५।०७।१९ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको मिति २०७८।०५।२० मा यस अदालतबाट भएको आदेश ।

यसमा लगाउको ०७६-CR-०४६० को मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी देखिँदा ०७५-CR-२१८९ को मुद्दामा समेत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) बमोजिम प्रत्यर्थी झिकाइ आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको मिति २०७८।०५।२० मा यस अदालतबाट भएको आदेश ।

सप्तरी जिल्ला अदालतले अभियोग दाबीबमोजिमको प्रमाणहरू वादी पक्षले दिन नसकेको भन्‍ने आधार लिई हामीलाई ज्यान मार्ने उद्योग तथा डाँकाको अपराध कसुरबाट सफाइ दिने गरी मिति २०६९।१२।२८ गतेमा र सो फैसलालाई नै सदर हुने गरी उच्च अदालत जनकपुर, राजविराज इजलासबाट मिति २०७५।०७।१९ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कानूनसम्मत नै हुँदा सोही फैसलाहरू सदर गरिपाउँ भनी प्रतिवादीहरू सरोज चौधरी, आशाराम चौधरी र बलराम चौधरीसमेतको तर्फबाट पेस हुन आएको एकै मिलानको लिखित प्रतिवाद । 

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक एवं आजको दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री युवराज महत, जाहेरवाला दिपेन्द्र चौधरी र ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीका तर्फबाट विद्वान् अधिवक्ता श्री हेम नारायाण चौधरी तथा विपक्षी पुनरावेदक प्रवेश कुमार मेहताको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री सतीश कृष्ण खरेल, विद्वान् अधिवक्ताद्वय श्री नागेन्द्र यादव र श्री बिरेन्द्र प्रसाद साह, विपक्षी प्रतिवादी जगदिश प्रसाद साहको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री सनद देवकोटा र श्री टिकाराम भट्टराई, विद्वान् अधिवक्ताद्वय श्री सुमन कुमार पौडेल र श्री चिरञ्‍जिवी खतिवडाले गर्नुभएको बहस जिकिरसमेत सुनियो । 

उपर्युक्त तथ्य समावेश रहेको प्रस्तुत मुद्दामा उच्च अदालत जनकपुर, राजिवराज इजलासबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र प्रतिवादी प्रवेश कुमार मेहताको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. मिति २०६८।०३।३२ गतेको घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान तथा छानबिन गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको प्र.ना.नि. निश्‍चल पोखरेलको प्रतिवेदन । अङ्गरक्षक प्रहरी जवान प्रवेश कुमार मेहतालाई खटाएको र निज मेरो सुरक्षाको लागि मसँग रहने बस्ने गरेकोमा मिति २०६८।०३।३२ गतेका राति खाना खाई मेरो घर दरबाजामा म र अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहता रहेको अवस्थामा हात हातमा चिरपट दाउरा, घरेलु हतियारसमेत बोकी मलाई र अङ्गरक्षकलाई गाली गलौज गर्दै सरोज चौधरी, आशाराम चौधरी, बलराम चौधरी, रामबहादुर चौधरी चिनेका र अन्य नचिनेका ५/७ जना आई घेरा हाली मलाई हातपात गरी नियन्त्रणमा लिएपछि अङ्गरक्षकले मलाई निजहरूबाट छुटाउने क्रममा अङ्गरक्षकउपरमा जाई लागी कुटपिट गरी अङ्गरक्षकले बोकेको हतियार गोलीसमेत खोसाखोस गर्दा अचानक गोली फायर भई रामबहादुर चौधरीलाई लागेपछि चिरपट दाउरासमेतले अङ्गरक्षक प्रवेश कुमार मेहतालाई ज्यान मार्ने नियतबाट प्रहार गर्न थालेकोमा म ज्यान बचाउन त्यहाँबाट भागी पुरानो घरमा लुकी साथमा भएको मोबाइलबाट प्रहरी प्रशासनमा फोन गरी घटनाको जानकारी गराई तत्काल घटनास्थलमा प्रहरी टोली पुगी गोली लागी घाइते रामबहादुर चौधरी र कुटपिटबाट मरणासन्‍न घाइते भई बेहोस् भएका अङ्गरक्षकलाई घटनास्थलबाट प्रहरीले उपचारार्थ लगेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको जगदिश प्रसाद साहको जाहेरी दरखास्त । 

३. मिति २०६८।०३।३२ गतेका राति सरोज चौधरी खेत रोपाईँ गर्नका लागि जन ज्यामी खोज्न गाउँतर्फ गई फर्की आउने क्रममा जगदिश प्रसाद साहको घरअगाडि आइपुग्दा जगदिश प्रसाद साहको अङ्गरक्षक प्रवेश कुमार मेहता भन्‍ने प्रहरीले यति राति कहाँबाट आएको भनी सोध्दा सरोज चौधरीले जन मजदुरी खोजी आएको भनी जवाफ दिँदा निज अङ्गरक्षक प्रवेश कुमार मेहताले मादक पदार्थ खाएको सुरमा सरोज चौधरीलाई कुटपिट गर्न लाग्दा सरोज चौधरी भागी मेरो घरमा आई सो घटनाको बारेमा सुनाउँदा सो गुनासो सुनाउन जगदिश साहको घरमा जाँदा निजले केही कुरा नसुनी मादक पदार्थ सेवन गरेको सुरमा यो सालेहरू बढी भएको छ, गोली हानिदेउ जे पर्छ म बेहोर्छु भनी वचन दिँदा अङ्गरक्षक प्रवेश कुमार मेहताले जगदिश साहको वचन मानी साथमा बोकी राखेको हतियारबाट गोली चलाउँदा रामबहादुर चौधरीलाई लागी मृत्यु भएको हुँदा अन्यायी जगदिश प्रसाद साह र प्र.ज. प्रवेश कुमार मेहतालाई कानूनबमोजिम कडा कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको दिपेन्द्र कुमार चौधरीले पेस गरेको जाहेरी दरखास्त ।

४. मृतक रामबहादुर चौधरीको मृत्यु गोली लागेको कारण भएको भन्‍नेसमेत बेहोराको पोष्टमार्टम रिपोर्ट ।

५. घाइते प्र.ज. प्रवेश कुमार मेहताको Cut injury over Scalp : Swelling tender over both arm penetration injury over RT leg and Foot. भन्‍नेसमेत बेहोराको घाउ जाँच केस फाराम ।

६. म जिल्ला प्रहरी कार्यालय सप्तरीको आदेशानुसार मिति २०६७।११।२१ गतेका दिन जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रबन्धक शाखाबाट यु.एस.ए. रिभल्बर र गोली राउन्ड १० बुझी लिई पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक खटिई निजसँग रहने बस्ने गरेकोमा मिति २०६८।०३।३२ गतेका राति पूर्व सांसदको घरमा खाना खाई दरबाजामा बसी राखेको अवस्थामा श्यामवती देवी सरदार पूर्व सांसदको घरमा आई भेटी आफ्नो गुनासो सुनाइ निज फर्किने क्रममा मसँग कुरा गरिरहेकोमा सरोज चौधरी र रामदेव राम दक्षिणतर्फबाट आई श्यामवती देवी सरदारलाई राति यहाँ के गरी बसिराखेको आफ्नो घर जाउ भनी हप्काइ भन्दा श्यामवती देवी सरदार आफ्नो घरतर्फ लागिन् । सरोज चौधरी, रामदेव रामसमेत उत्तरतर्फ गएकोमा केहीछिन पछाडि सरोज चौधरीले म भएको ठाउँमा श्रीमती भोलीदेवी सरदारलाई आइरहेको देखी पुन: फर्की आई श्रीमती भोलीदेवी सरदारलाई समेत हप्काउँदा मैले किन हप्काएको म के जस्तो लाग्छु भनी भन्दा निज सरोज चौधरी ममाथि आइलागी वादविवाद गर्न लागेकोमा निजलाई सम्झाइ बुझाइ पठाएपछि केही समयपछाडि सरोज चौधरीले रामबहादुर चौधरी, बलराम चौधरी, आशाराम चौधरीसमेत नचिनेका ५/७ जना पुन: फर्की आई निजहरूले म र पूर्व सांसदसँग वादविवाद, हातपात गर्दै सांसदलाई घेरा हाली दरबाजाबाट बाहिर निकाली बाटोतर्फ लान थालेकोमा मैले निजहरूबाट छुट्याउन सम्झाइ बुझाइ गर्दा मलाई निज सरोज चौधरीसमेतले कुटपिट गरी मैले बोकेको हतियार खोस्न आई खोसाखोस हुँदा हतियार अचानक फायर भई रामबहादुर चौधरीलाई लागेको हो । मलाई चिरपट दाउरासमेतको घरेलु हतियारले कुटपिट गरी मरणासन्‍न अवस्थामा पुर्‍याई मेरो साथमा भएको हतियार एवं गोली र नगद रू.३,०००।- समेत निज सरोज चौधरीसमेतले खोसी लगेका हुन् भन्‍नेसमेत बेहोराको प्र.ज. प्रवेश कुमार मेहताको जाहेरी दरखास्त तथा सोही जाहेरी दरखास्तबमोजिमको बेहोरा उल्लेख गरी निजले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

७. दिपेन्द्र कुमार चौधरीको जाहेरी दरखास्त, बुझिएका मानिसहरूले गरिदिएको घटना विवरण कागज, वस्तुस्थिति मुचुल्कासमेतबाट प्रतिवादी जगदिश प्रसाद साहले मृतक रामबहादुर चौधरीलाई गोली हानी मार्ने आदेश वचन दिएका र उक्त आदेशानुसार प्रतिवादी प्र.ज. प्रवेश कुमार मेहताले बोकेको हतियारबाट गोली फायरिङ्ग गर्दा रामबहादुर चौधरीलाई लाग्न गई सोही चोट पीडाबाट निज रामबहादुरको मृत्यु भएको पुष्टि भएको हुँदा प्रतिवादी प्र.ज. प्रवेश कुमार मेहताले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं.अनुसारको कसुर गरेको हुँदा निजलाई सोही महलको १३(१) नं.बमोजिम र ज्यान मार्न आदेश दिने प्रतिवादी जगदिश प्रसाद साहले ऐ.ऐन, महलको १ नं. र १३(४) अनुसारको कसुर गरेको हुँदा निजलाई सोही १३(४) बमोजिम सजाय गरिपाऊँ । यसैगरी प्र.ज. प्रवेश कुमार मेहता र जगदिश प्रसाद साहको जाहेरी दरखास्तसमेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी सरोज कुमार चौधरी, आशाराम चौधरी, बलराम चौधरी र अन्य नचिनेका ५/७ जनाको समूहले रातको २२:०० बजेको समयमा घरेलु हातहतियार, बाँसको दाउरा, चिरपट, लाठीसमेत लिई जगदिश प्रसाद साहको घर दरबाजामा प्रवेश गरी ज्यान मार्ने नियतबाट जगदिश प्रसाद साह र प्रवेश कुमार मेहतालाई घेराउ गरी पक्रिई हातपात गरी कुटपिट गर्दा जगदिश प्रसाद साह बलजफ्ती घटनास्थलबाट भागी निजको ज्यान बच्न गएको र प्र.ज. प्रवेश कुमार मेहतालाई टाउकोलगायतका शरीरका संवेदनशील भागमा कुटपिट गरी मरणासन्‍न अवस्थामा पुर्‍याई पोखरीमा फाली जम्मा बिगो रू.२१,५२८।३६ बराबरको धनमालसमेत लुटी खोसी लगी डाँका गरेको पुष्टि हुन आएको हुँदा प्रतिवादी सरोज कुमार चौधरी, आशाराम चौधरी, बलराम चौधरीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १५ नं.अनुसारको तथा ऐ. चोरीको महलको १ नं. र ६ नं. को कसुर गरेको हुँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं. र चोरीको महलको १४(४) बमोजिम सजाय गरी प्रतिवादीहरूले डाँका गरी लगेको बिगोमध्ये सरकारी पेस्तोल र गोलीको बिगो रू.१८५२८।३६ जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई र जाहेरवाला प्र.ज. प्रवेश कुमार मेहताको बिगो रू.३,०००।- ऐ. चोरीको महलको १०(३) नं.बमोजिम निज प्रवेश कुमार मेहतालाई दिलाई भराइपाउँ भनी पेस भएको अभियोगपत्र । 

८. प्रतिवादी प्रवेश कुमार मेहता र सरोज कुमार चौधरीबिच वादविवाद र कुटपिट भई सो कुरा काका रामबहादुर चौधरीलाई सुनाइ रामबहादुर र प्रवेश कुमार मेहताबिच बन्दुक खोसाखोस हुँदा लोड भएको बन्दुक अचानक पड्की रामबहादुर चौधरीको मृत्यु भएको देखिँदा प्रस्तुत मुद्दामा घटित वारदातमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित भई प्रतिवादी प्रवेश कुमार मेहतालाई सोही ज्यानसम्बन्धी महलको ५ नं. को कसुरमा सोही महलको ६(२) नं.बमोजिम दुई वर्ष कैद र रू.५००।- जरिवाना हुने ठहर्छ । अर्का प्रतिवादी जगदिश प्रसाद साहले कसुरमा पूर्णत: इन्कार रही बयान गरेको र निजले आदेश दिई प्रवेश कुमार मेहताले गोली चलाएको भन्‍ने पुष्टि नहुँदा निजले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ । ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अभियोग मागदाबीतर्फ हेर्दा घाइते प्रवेश कुमार मेहतालाई को कसले कुटपिट गरेको भन्‍ने यकिन हुन नआएको, हतियार गोली र नगद कसले लुटी लगे भन्‍ने पनि यकिन हुन नआएको हुँदा सो अभियोग मागदाबीबाट प्रतिवादीहरू सरोज कुमार चौधरी, आशाराम चौधरी र बलराम चौधरीले सफाइ पाउने ठहर्छ । सो हदसम्म वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको सप्तरी जिल्‍ला अदालतबाट मिति २०६९।१२।२८ को फैसला । अब, अर्का प्रतिवादी जगदिश प्रसाद साहको वारदातमा संलग्नताका सम्बन्धमा हेर्दा, निजको आदेशमा निजको अङ्गरक्षक रहेका प्रतिवादी प्रवेश कुमार मेहताले गोली चलाउँदा रामबहादुर चौधरीको मृत्यु भएको भन्‍ने जाहेरी परी निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं.बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग मागदाबी रहेको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दादेखि नै आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । वस्तुस्थिति मुचुल्काका नथुनी चौधरीसमेतले यी प्रतिवादीको आदेशमा प्रतिवादीमध्येका प्रवेश कुमार मेहताले गोली चलाउँदा रामबहादुर चौधरीको ज्यान गएको भनी लेखाएकोमा गोली चलाउने प्रतिवादी प्रवेश कुमार मेहताले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत बयान गर्दा आफूलाई गोली हान्‍नका लागि निज जगदिश प्रसाद साहले आदेश दिएको कुरालाई इन्कार गरी बयान गरेको देखिन्छ । यसरी घटना घटाउने मुख्य पात्र (Main Actor) जसलाई यी प्रतिवादीले आदेश दिएको भन्‍ने दाबी छ, निजले नै आफ्नो बयानमा यी प्रतिवादीले आदेश दिएकोले गोली चलाएको भन्‍ने तथ्यलाई इन्कार गरी सफाइ दिएको अवस्थामा अन्य केही बुझिएका व्यक्तिहरूको भनाइलाई मात्र आधार मानी यी प्रतिवादीलाई कसुरदार कायम गर्न न्यायको रोहमा उचित हुने देखिएन ।

९. मिसिल संलग्न अन्य कागजातहरूको अध्ययन गर्दा पनि मृतक पक्षको विवाद यी प्रतिवादी जगदिश प्रसाद साहसँग भएको नदेखिई प्रतिवादी प्रवेश कुमार मेहतासँग भएको देखिएको छ । निज प्रतिवादी प्रवेश कुमार मेहताले जाहेरी दिँदा र अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा वारदातको राति श्यामवती देवी सरदारले मसँग कुरा गरी रहेकोमा मृतक पक्षका सरोज चौधरीसमेत आई श्यामवतीलाई यति राति के गरी बसिरहेको ? आफ्नो घर जाऊ भनी हप्काएको, पुन: अर्की महिला भोलीदेवी सरदार आएकोमा निज भोलीदेवीलाई समेत हप्काउँदा मैले किन हप्काएको, म के जस्तो लाग्छु भनी भन्दा सरोज चौधरी ममाथि आइलागी वादविवाद भएको भनी उल्लेख गरेको देखिन्छ । श्यामवतीदेवी सरदारको कागजबाट निज प्रतिवादीको भनाइ बेहोरा समर्थित भएको देखिन्छ । वारदातका बखत सरोज चौधरीसँग साथमै रहेका रामदेव रामको कागजबाट पनि उक्त बेहोरा समर्थित भइरहेको देखिन्छ । अर्की महिला भनिएकी भोलीदेवी सरदारको कागज हुँदा पनि वादविवाद हुनुको कारणका सम्बन्धमा प्रतिवादी प्रवेश कुमार मेहताले लेखाएको बेहोरा समर्थित भएको देखिएको छ । निज भोलीदेवी सरदारले अदालतमा उपस्थित भई बकपत्र गर्दा पनि सो बेहोरालाई समर्थन गरी लेखाएको पाइन्छ । घटना विवरण कागज गर्ने सुकुमार साह, विरन्ची सदाले पनि सोही मिलानको बेहोरा लेखाइदिएको पाइन्छ । यी व्यक्तिहरूको भनाइ बेहोराबाट प्रस्तुत वारदात श्यामवती देवी सरदार र भोलीदेवी सरदारले प्रतिवादी प्रवेश कुमार मेहतासँग रातको समयमा कुरा गरिरहेको सन्दर्भमा विवाद हुन गई घटेको देखिन आएको छ । यो स्थितिमा प्रतिवादी जगदिश प्रसाद साहले वचन वा आदेश दिनुपर्नेसम्मको अवस्था परेको भन्‍ने पनि देखिन आउँदैन ।

१०. तसर्थ, प्रतिवादी जगदिश साहले वचन दिएको भनी अभियोग लगाइएको भए पनि गोली चलाउने प्रतिवादी प्रवेश कुमार मेहता स्वयंले निजले वचन दिएको होइन भनी सफाइ दिइरहेको देखिएको र अन्य प्रमाणहरूबाट पनि निजले आदेश दिनुपर्नेसम्मको अवस्था सिर्जना भएको पनि नदेखिँदा निज प्रतिवादी जगदिश साहका हकमा अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको सप्तरी जिल्ला अदालतको मिति २०६९।१२।२८ को फैसला र सो फैसलालाई सदर गर्ने गरेको उच्‍च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७५।०७।१९ गतेको फैसला पनि सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

११. प्रस्तुत वारदातकै सन्दर्भमा दायर हुन आएको ज्यान मार्ने उद्योग तथा डाँकाको अभियोगतर्फ विवेचना गर्दा, सरोज कुमार चौधरी, आशाराम चौधरी र बलराम चौधरीले जाहेरवाला प्रवेश कुमार मेहतालाई मरणासन्‍न हुने गरी कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको र प्रवेश कुमार मेहताको साथ जिम्मामा रहेको सरकारी पेस्तोल र रू.३०००।- नगद लुटी लगेको भन्‍ने जिकिर लिई निजहरूका उपरमा जाहेरवाला प्रवेश कुमार मेहता र जगदिश प्रसाद साहको जाहेरी परी निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५ नं. र ऐ. ऐन, चोरीको महलको १४(४) नं.बमोजिम सजाय गरी लुटी लगेको बिगो रू.१८,५२८।३६ वादी नेपाल सरकारलाई र जाहेरवाला प्रवेश कुमार मेहताबाट लुटी लगेको नगद रू.३,०००।- निजै जाहेरवालालाई प्रतिवादीहरूबाटै दिलाइ भराइपाउँ भन्‍ने अभियोग मागदाबी लिई अभियोग पत्र पेस भएको पाइन्छ । 

१२. सर्वप्रथम डाँकातर्फको अभियोग दाबीतर्फ विवेचना गर्दा, प्रतिवादीहरू तत्काल घटनास्थलबाट फरार रही म्यादमा हाजिर भई बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । जगदिश प्रसाद साहका अङ्गरक्षक रहेका प्रस्तुत मुद्दाका जाहेरवालामध्येका प्रवेश कुमार मेहताले सरोज कुमार चौधरीलाई कुटपिट गरेको र सो विषयमा कुरा गर्न भनी जगदिश प्रसाद साहको घरमा जाँदा निज जगदिश प्रसाद साहले आफूहरूउपर नै गोली चलाउन भनी प्रवेश कुमार मेहतालाई आदेश दिएका र निज प्रवेश कुमार मेहताले गोली चलाउँदा रामबहादुर चौधरीको मृत्यु भएको तथ्य उल्लेख गरी बयान गरेको देखिन्छ । मौकामा बुझिएका रामस्वरूप साहसमेतले कागज गर्दा यी प्रतिवादीहरूले प्रवेश कुमार मेहतासमेतलाई कुटपिट गरी हतियारसमेत खोसी लगेको भनी लेखाएकोमा प्रतिवादीहरूको साथबाट लुटी लगेको भनिएको हतियार तथा नगद बरामद भएको अवस्था देखिँदैन । यसरी चोरीको कसुर स्थापित हुनका लागि चाहिने मुख्य प्रमाण दशी नै बरामद हुन नसकेको, मौकामा बुझिएका व्यक्तिहरूबाट समेत हतियार र नगद डाँका भएको विषय स्पष्ट रूपमा खुल्न नआएको, प्रतिवादीहरूले डाँकाको कसुरमा इन्कार रही बयान गरेको देखिइरहेको अवस्थामा जाहेरी दिएकै भरमा मात्र यी प्रतिवादीहरूले जाहेरवालाहरूबाट अभियोग दाबीबमोजिम हतियार र नगद डाँका गरी लगेको भन्‍ने जिकिर प्रमाणित हुन नसकेकाले प्रतिवादीहरूले डाँका गरेको भन्‍ने वादी पक्षको पुनरावेदन जिकिर मनासिब देखिन आएन । 

१३. तसर्थ, प्रतिवादीहरू सरोज कुमार चौधरी, आशाराम चौधरी र बलराम चौधरीउपर डाँकातर्फको अभियोग लगाइएकोमा प्रतिवादीहरूबाट डाँका गरिएको भनिएको कुनै धनमाल बरामद भएको नदेखिँदा डाँकातर्फको अभियोगबाट सफाइ दिने गरी भएको सप्तरी जिल्ला अदालतको मिति २०६९।१२।२८ मा भएको फैसला र सोलाई सदर गर्ने भनी भएको उच्‍च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७५।०७।१९ गतेको फैसला पनि सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

१४. अब, ज्यान मार्ने उद्योगतर्फको अभियोग दाबीका सम्बन्धमा हेर्दा, मिसिल संलग्न जाहेरवाला प्रवेश कुमार मेहताको घा-जाँच केस फारामबाट निजको टाउकोमा काटेको चोट रहेको, हात सुन्‍निएको, दाहिने खुट्टा भाँचिएको भन्‍ने देखिन्छ । जाहेरवाला प्रवेश कुमार मेहता र जगदिश प्रसाद साहले बयान गर्दा प्रतिवादीहरूले कुटपिट गरेको भनी लेखाएका छन् । दुवैतर्फका व्यक्तिहरूबिच झडप भई गोली चल्दा रामबहादुर चौधरीको मृत्युसमेत भएको अवस्था छ । घाइते प्रवेश कुमार मेहता मर्नेसम्मको अवस्थामा रहेको भन्‍ने निजको घा-जाँच केस फारामबाट देखिँदैन । प्रतिवादीहरू र जाहेरवालाबिचमा पूर्वरिसइवी रहेको, प्रवेश कुमार मेहताको ज्यान मार्नको निमित्त निजहरूले पूर्वयोजना बनाएको, सो योजनाबमोजिम निजहरूले जाहेरवालालाई प्रहार गरेको, प्रतिवादीहरूबाट जोखिमी हतियारको प्रयोग भएको, र तेस्रो पक्षको हस्तक्षेपको कारण मात्र निज प्रवेश कुमार मेहताको ज्यान बच्न गएको भन्‍ने मिसिल संलग्न अन्य कागज प्रमाणहरूबाट स्वतन्त्र रूपमा पुष्टि भएको पनि नदेखिएको अवस्थामा जाहेरी र अभियोग दाबी लिएको भरमा मात्र प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योग जस्तो गम्भीर अपराधमा कसुरदार कायम गर्न मनासिब हुने देखिएन ।

१५. तसर्थ, यी प्रतिवादीहरू सरोज कुमार चौधरी, बलराम चौधरी, आशाराम चौधरी र ज्यान मार्ने उद्योग मुद्दाका पीडित प्रवेश कुमार मेहताबिच दोहोरो कुटपिट झगडासम्म भई प्रवेश कुमार मेहताबाटै गोलीसमेत चलेको देखिएको, उक्त कुटपिटबाट प्रवेश कुमार मेहताको शरीरमा चोटपटक लागेको कुरा घा-जाँच केश फारामबाट देखिएको तर लागेको घा-चोटको प्रकृतिबाट मर्नेसम्मको चोटपटक लागेको नदेखिँदा ज्यान मार्ने उद्योगतर्फको अभियोगबाट सफाइ दिने गरी भएको सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६९।१२।२८ मा भएको फैसला सो फैसलालाई सदर गर्ने उच्‍च अदालत जनकपुर, राजविराज इजलासबाट मिति २०७५।०७।१९ मा भएको फैसला मिलेकै देखिँदा सो हदसम्म सदर हुने ठहर्छ ।

१६. साथै, प्रमाणको प्रतिकूल भवितव्य ठहर गर्ने सप्तरी जिल्‍ला अदालतको फैसला र मलाई कर्तव्य गरी ज्यान मार्ने कार्यको कसुरदार ठहराउने उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला सम्मानित सर्वोच्च अदालतबाट विभिन्‍न मुद्दामा प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको हुनाले दुवै फैसलाहरू उल्टी गरी मलाई सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रवेश कुमार मेहताको यस अदालतमा परेको पुनरावेदनपत्र बेहोरा रहेको देखिन्छ ।

१७. अब, प्रतिवादी प्रवेश कुमार मेहताको उल्लिखित पुनरावेदन बेहोरा भए तापनि निजको साथमा रहेको हतियारबाटै मृतकलाई गोली लागी मृतकको मृत्युसमेत भएको तथ्य स्थापित भएको अवस्थामा उक्त वारदात के कुन कानूनअनुसारको कसुरदारको श्रेणीमा पर्ने देखिन्छ छ त ? भन्‍ने सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. मा “कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्न हुँदैन” भन्‍ने व्यवस्था भएको पाइन्छ । वादी पक्षले सजायको दाबी लिएको सोही महलको १३(१) नं. मा “धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी, रोपी, घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन्, सर्वस्वसहित जन्मकैद गर्नुपर्छ” भन्‍ने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा जोखिमी हतियार पेस्तोलको गोली फायरिङ्गबाट मृतकको ज्यान गएको देखिन्छ । प्रतिवादी प्रवेश कुमार मेहता, जगदिश प्रसाद साहको अङ्गरक्षक भएको तथ्यमा विवाद छैन । जगदिश साहको अङ्गरक्षाको निमित्त निजलाई जिल्ला प्रहरी कार्यालयले हतियार उपलब्ध गराएको तथ्यमा समेत विवाद छैन । जगदिश साहउपर साङ्घातिक हमला भएको देखिई निजलाई बचाउन वा स्थिति नियन्त्रणभन्दा बाहिर गएको कारण फायरिङ्ग गरेको भन्‍ने देखिँदैन । फायरिङ गर्नुपर्ने अवस्थाको सिर्जना नै भए पनि “न्यूनतम क्षति हुने गरी फायर गर्नुपर्ने” भन्‍ने विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन निर्देशिका, २०६७ मा उल्लेख भएको अवस्थामा प्रतिवादीको पेस्तोलबाट फायर गरेको गोली मृतकको संवेदनशील अङ्ग पेटमा लागेको भन्‍ने देखिँदा उक्त प्रावधानलाई यी प्रतिवादीले ध्यान दिएको देखिएन । 

१८. कर्तव्य ज्यान मुद्दामा प्रतिवादी जगदिश प्रसाद साहको वचन मानी प्रतिवादी प्रवेश कुमार मेहताले गोली प्रहार गरेका हुन होइन भन्‍ने विषयतर्फ हेर्दा, घटनास्थिति, प्रकृति र तथ्य हेर्दा ज्यान मार्ने उद्योग र डाँका मुद्दाका प्रतिवादी सरोज कुमार चौधरी मिति २०६८।०३।३२ गते आफ्नो गाउँ जिल्ला सप्तरी शम्भुनाथ गा.वि.स. मा रात्रीको समयमा खेती गर्ने जन मजदुर खोजी आउँदा करिब ९ बजेको समयमा प्रतिवादी जगदिश प्रसाद साहको घरअगाडि बाटोबाट आउँदाको समयमा प्रतिवादी प्रवेश कुमार मेहतासँग विवाद हुँदा कुटपिट भएको र सो कुराको जानकारी गराउन घरमा गै मृतक रामबहादुर चौधरीसमेतलाई भन्दा पूर्व सांसदको अङ्गरक्षक प्रतिवादी प्रवेश कुमार मेहतासँग भएको कुराको छलफल गर्न जगदिश प्रसाद साहको घरमा आउँदा जगदिश प्रसाद साहको वचन मानी अङ्गरक्षकको साथमा भएको पेस्तोलले गोली प्रहार गर्दा रामबहादुर चौधरीलाई लाग्न गै घाइते भई उपचारार्थ सगरमाथा अञ्‍चल अस्पतालमा ल्याउँदा रामबहादुर चौधरीको मृत्यु भएको भन्‍ने जाहेरवाला दिपेन्द्र चौधरीको दरखास्तभन्‍दा पूर्व नै घटनाको मौखिक जानकारी आउनासाथ प्र.स. नि. निश्‍चल पोखरेलसमेतको प्रहरीको टोली पुग्दा प्रतिवादी प्रवेश कुमार मेहता घटनाबाट पीडित भई बेहोस् अवस्थामा घटना स्थलबाट उद्धार गरी उपचारार्थ सगरमाथा अञ्‍चल अस्पतालमा ल्याएको हुँदा थप उपचार गर्न अन्यत्र रेफर गरेको हुँदा वि.पी. प्रतिष्ठान धरानमा पठाएको भन्‍ने प्रतिवेदन भएको र मृतक रामबहादुर चौधरीको लास जाँच र पोष्टमार्टम रिर्पोट, प्रतिवादी जगदिश प्रसाद साह र प्रतिवादी प्रवेश कुमार मेहतासमेतको विरूद्ध डाँका र ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी रहेको र वस्तुस्थिति मुचुल्का र बुझिएका व्यक्तिको कागजसमेत रहेको देखियो । 

१९. अब यी प्रतिवादी जगदिश प्रसाद साहको वचन मानी अङ्गरक्षक रहेका प्रतिवादी प्रवेश कुमार मेहताले गोली प्रहार गरेको हुन् होइनन् भनी हेर्दा यी जाहेरवाला दिपेन्द्र कुमार चौधरी घटनाका प्रत्यक्षदर्शी भएको देखिँदैन भने अर्को घटनाबाट पीडित एवं डाँका मुद्दाका प्रतिवादी सरोज कुमार चौधरीले अदालतमा आई बयान गर्दा वारदातको दिन म प्रतिवादी जगदिश प्रसाद साहको घरअगाडिको बाटोबाट आउँदा प्रतिवादी प्रवेश कुमार मेहताले कहाँबाट आइस् भनी सोध्दा मैले जनज्यामी खोजी आएको हुँ भनी भन्दा प्रतिवादी जगदिश प्रसाद साहले मेरा जनज्यामीलाई बढी पैसा दिई भट्काउँछस् भनी यसलाई गोद भनी वचन दिए र प्रतिवादी प्रवेश कुमार मेहताले लात, जुत्ता, मुडकी, थप्पडले हिर्काएको र मेरो दाहिने हात भाँचिएकोमा रूँदै-रूँदै आफ्नो घरतर्फ जाँदा घर नपुग्दै काका रामबहादुर चौधरी मेरो घरको अगाडि भेट भयो र निजले के भयो भनी सोध्दा मैले जगदिश प्रसाद साहको अङ्गरक्षक प्रवेश कुमार मेहताले कुटपिट गरी हातसमेत भाँचिदिए भनी भनेको, त्यहाँ छेदी चौधरी पनि थिए र काका रामबहादुर चौधरीले सांसदले यसो नगर्नुपर्ने हो के भएको हो हामी बुझ्छौं भनेकाले काका रामबहादुर चौधरी, छेदी चौधरी र मसमेत सांसदको घरमा गई काकाले के गरेको भन्‍नासाथ यी थारूहरू धेरै मातिएको छ गोली हान्दे जो परेको म बेहोरौंला भनेको र सो वचन मानी प्र.ज. प्रवेश कुमार मेहताले आफ्नो पेस्तोल झिकी गोली प्रहार गर्दा रामबहादुर चौधरीलाई लाग्न गई निजको घटनास्थलमै मृत्यु भयो । गोलीको आवाज सुन्‍नासाथ धेरै मान्छे भेला भए, म र छेदी चौधरी भई घाइते रामबहादुर चौधरीलाई निजको घर लगेको हो भन्‍नेसमेत लेखाएको देखिन्छ तर घटना स्थलमा उपस्थित हुने छेदी चौधरीले बकपत्र गर्न सकेको पाइँदैन । त्यसैगरी जाहेरवाला दिपेन्द्र चौधरी घटनाको समयमा मौजुद नभई गोली चलिसकेपछि मात्र घटनास्थलमा पुगेको देखिन्छ । घटनाबाट पीडित भएका सरोज चौधरी र छेदी चौधरी मात्र वारदात स्थलमा उपस्थित रहेको देखिन्छ भने जयराम चौधरी, सुरेश कुमार चौधरीहरू घटना घटेपछि मात्र पुगेको देखिन्छ । प्रतिवादी प्रवेश कुमार मेहताले अधिकारप्राप्त अधिकारी एवं अदालतसमेतमा बयान गर्दा मलाई प्रतिवादी सरोज कुमार चौधरीले कुटपिट गरी पेस्तोल खोस्न खोज्दा तानातान भई पड्‍किन गएको हो, मैले कसैको आदेशबाट प्रहार गरेको होइन बन्दुक, पेस्तोल खोसाखोसको अवस्थामा पड्‍किन गएको हो भनी बयान गरेका छन् भने घटनाका प्रत्यक्षदर्शी भनिएका सरोज चौधरी कुटाइ खाएपछि आफ्नो घरतर्फ गएको, मृतक रामबहादुर चौधरीको शरीरबाट निकालिएको गोली परीक्षण गर्न पठाउँदा केन्द्रीय प्रहरी प्रयोगशालाको मिति २०६८।०४।१५ को पत्रमा होममेड पेस्तोलबाट प्रयोग हुने Barrel ०.३८० Caliver Revolver बाट भएको देखिन्छ । यी प्रतिवादी पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक (Personal Security Officer) को रूपमा खटि गएको भन्‍ने जिल्ला प्रहरी कार्यालय सप्तरीको पत्र एवं जिल्ला सुरक्षा समितिको निर्णयको प्रतिलिपिबाट देखिन्छ । मृतक रामबहादुर चौधरी तथा सरोज चौधरी र छेदी चौधरीसमेत वारदातको समयमा गाउँबाट फर्की आउँदा जगदिश प्रसाद साहको घर बाहिर प्रहरी जवान प्रवेश कुमार मेहता बाटोमा बसेको र निजसँग वादविवाद भएपछि पुनः घर पुगी फर्की आएकोमा प्रहरी जवान प्रवेश कुमार मेहतासँग अगाडिको घटनाबारेमा विवाद भई गोली बन्दुक खोस्ने सिलसिलामा अचानक बन्दुक फायर भई रामबहादुर चौधरीलाई लाग्न गै घाइते भई उपचारार्थ अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको देखिन्छ । 

२०. जाहेरवाला दिपेन्द्र चौधरीका काका मृतक रामबहादुर चौधरी र पूर्व सांसद जगदिश प्रसाद साह र प्रहरी जवान प्रवेश कुमार मेहताको बिचमा पूर्वरिसइवी रहेको भन्‍नेसमेत देखिँदैन । मिति २०६८।०३।३२ गते राति प्रतिवादी सरोज कुमार चौधरी गाउँबाट घर फर्किँदा बाटोमा प्रहरी जवान प्रवेश कुमार मेहतासँग विवाद भएको र सोको जानकारी काका रामबहादुर चौधरीलाई सुनाउँदा छेदी चौधरीसमेत रहेका र निज तीन जना भई प्रतिवादी जगदिश प्रसाद साहको घरमा आउँदा बाटैमा प्रहरी जवान प्रवेश कुमार मेहतासँगै विवाद भई हतियार खोसाखोस (तानतान) हुँदा लोड भएको हतियार पड्‍किन गई रामबहादुर चौधरीलाई लागी घाइते भई उपचार गर्न ल्याउँदा मृत्यु भएको र निजको मृत्यु गोलीबाट भएको कुरामा समेत विवाद नदेखिँदा प्रहरी जवान प्रवेश कुमार मेहताले सुरक्षाका लागि बोकेको बन्दुकबाट गोली पड्किन गएको कुरामा प्रहरी जवान प्रवेश कुमार मेहतासमेतले अदालतमा बयान गर्दा स्वीकार नै गरेको हुँदा मृतक रामबहादुर चौधरीलाई गोली हानी मार्नुपर्नेसम्मको रिसइवी केही नभएको र निजको साथको पेस्तोल तानातान हुँदा अचानक पड्कन (Fire) गई रामबहादुर चौधरीलाई लाग्न गएको देखिन्छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. ज्यान लिने इबिलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्‍ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्छ, भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । होस नपुर्‍याइ वा हेलचेक्र्याँइ गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने भन्‍ने व्यवस्था सोही महलको ६(२) नं. मा रहेको देखिन्छ । यसरी माथिका विभिन्‍न प्रकरणमा विवेचना गरिएअनुसार यी पुनरावेदक प्रतिवादी प्रवेश कुमार मेहताले गरेको कार्य उल्लिखित कानूनी व्यवस्थाहरूको आलोकमा भवितव्य (Mishap) को कसुरसम्म हुने देखियो । फौजदारी मुद्दामा प्रतिवादीउपर के अभियोग लागेको थियो भन्‍ने भन्दा पनि प्रतिवादीले कसुरजन्य के कस्तो कार्य गर्‍यो र सो कार्य गर्दाको अवस्था र परिस्थितिको न्यायसङ्गत मूल्याङ्कन गर्नु न्यायकर्ताको पहिलो कर्तव्य हुने । अपराध स्थापित भएपछि उक्त अपराध ऐनद्वारा निषेधित कुन श्रेणीको हो भन्‍ने वर्गीकरण गरी सोहीअनुसार सजाय निर्धारण गर्ने कार्यले मात्र न्यायको अभिष्ट पूरा हुन सक्छ । अपराध स्थापति हुनासाथ सोको न्यायसङ्गत वर्गीकरणविना दाबीबमोजिमको कसुर कायम गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुन जान्छ । प्रस्तुत मुद्दामा प्रतिवादीउपर तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) को अभियोग लागे तापनि मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले गरेको कार्य १३ (१) बमोजिमको मनसायप्रेरित हो या ऐ. को १४ नं.बमोजिम आवेश प्रेरित हो वा ऐ. को ५ नं.बमोजिमको भवितव्यबाट मृतकको मृत्यु हुन पुगेको हो भन्‍नेतर्फ न्यायकर्ताको न्यायिक दृष्टि पुगेको हुनुपर्दछ ।

२१. अतः मिसिल संलग्न वस्तुस्थिति मुचुल्का तथा मौकामा कागज गर्ने मानिसहरूको भनाइ, शव परीक्षण प्रतिवेदन उल्लिखित कानूनी व्यवस्था र वारदातको परिस्थिति, प्रकृति तथा कसुरमा प्रतिवादीको संलग्नताको स्वरूपसमेतका आधार प्रमाणबाट उच्‍च अदालत जनकपुर, राजविराज इजलासबाट मिति २०७५।०७।१९ मा भएको फैसला केही उल्टी भई प्रतिवादी प्रवेश कुमार मेहतालाई भवितव्य (Mishap) तर्फ २ वर्ष कैद र रू.५००।- जरिवाना तथा अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी सुरू अदालतबाट मिति २०६९।१२।२८ मा भएको फैसला नै न्यायसङ्गत देखिँदा सुरू सप्तरी जिल्‍ला अदालतको फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

‍माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रहरी जवान प्रवेश कुमार मेहतालाई उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको फैसला केही उल्टी भई निजको हकमा सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरेको हुँदा उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसलाबमोजिम निजको नाममा रहेको लगत संशोधन गरी सुरू सप्तरी जिल्‍ला अदालतको फैसलाबमोजिमको लगत कायम गर्नु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू.........१

मिति २०८०।१२।२१ मा यस अदालतबाट भएको संक्षिप्त आदेशका आधारमा प्रतिवादी प्रवेश कुमार मेहता थुनामुक्त भइसकेको हुँदा निज थुनामा रहेको कारागार कार्यालयलाई फैसलाको जानकारी दिइराख्‍नु परेन............................................................१

फैसलाको जानकारी दुवै पक्षलाई दिनू..................१

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गर्नू..........१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू............१

 

उक्त रायमा सहमत छु ।

न्या.डा.कुमार चुडाल

 

इजलास अधिकृत : शम्मी कपुर शाह/राम चन्द्र मंडल

इति संवत् २०८० साल चैत्र २१ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु