शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९४३ - कर्तव्य ज्यान

भाग: ६४ साल: २०७९ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश सुष्मालता माथेमा

फैसला मिति : २०७९।५।१

 

मुद्दा:- कर्तव्य ज्यान

 

०७६-CR-१४७१

पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा कैद सजाय भोगिरहेको वंशराजको छोरा जिलाजित केवट

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा बस्ने ओमप्रकाश केवटको जाहेरीले नेपाल सरकार

 

०७६-RC-०१५७

वादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा बस्ने ओमप्रकाश केवटको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा कैद सजाय भोगिरहेको वंशराजको छोरा, जिलाजित केवट

 

प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा निजलाई शारीरिक तथा मानसिक यातना दिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा अदालतको इन्कारी बयानलाई मात्र कसुरबाट उन्मुक्ति दिने आधार मान्न नसकिने । कसुरबाट उन्मुक्ति लिने उद्देश्यले अन्य व्यक्तिको संलग्नता हुनुपर्छ भनी गरेको कथनलाई न्यायको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने ।

(प्रकरण नं.३)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

प्रमाण ऐन, २०३१

 

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री गिरीराज गौतम

कपिलवस्तु जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दयानाथ खरेल

मा.न्यायाधीश श्री कृष्णकमल अधिकारी

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र दफा १० बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

मृतक वंशराज केवट मेरा बुबा हुन् भने प्रतिवादी मेरा सहोदर साइँला भाइ हुन् । मृतक बुबाले विगत ४/५ वर्षदेखि रिक्सा चलाएर कमाएको पैसाले घर व्यवहारको गुजारा चलाउँदै आएकोमा मिति २०७५।०२।०५ गतेका बिहान घरबाट रिक्सा लिई निस्केका र केही पैसा कमाई दिउँसो करिब १४:०० बजेको समयमा घरमा आएकोमा मेरो श्रीमतीले मलाई दुध दुहुनको लागि छोरालाई बोलाउन पठाएकोमा मैले मलाई दुध दुहुन आउँदैन हजुरबुबालाई बोलाएर लैजा भनी बताएको थिएँ । मेरो छोरा उक्त स्थानमा गई हजुरबुबालाई बोलाउँदा नबोलेको भनी बताएको हुँदा म उक्त स्थानमा गई हेर्दा कम्मल ओढाएको अवस्थामा देखी कम्मल निकाली बुबा बुबा भनी बोलाउँदा नबोलेको र बुबालाई मृत अवस्थामा देखी गाउँघरमा हारगुहार गर्न लाग्दा निज बुबासँगै रहेको मेरो भाइ जिलाजित केवटले बुबालाई पहिला पनि पटक-पटक कुटपिट गरिरहन्थे । सो दिन पनि निज भाइउपर शंका गरी निजलाई सोधपुछ गर्न खोज्दा निजले केही नबोली सो स्थानबाट भागी फरार भएकोले छरछिमेकका स्थानीय मानिसहरू भेला भई मृत बुबाको लास सुरक्षित राखी जाहेरी दरखास्तसाथ उपस्थित भएको छु । कानूनबमोजिम गरी लास सद्‌गतको लागि जिम्मा पाउँ, घटनापश्चात् भागी फरार भएका भाइ जिलाजित केवटलाई खोजतलास पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्ने ओम प्रकाश केवटको जाहेरी दरखास्त ।

जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा स्थित पूर्व बैजनाथ चौधरीको घरखेत, पश्चिम रामदयाल यादवको घर, उत्तरमा रामदाश केवटको घर र दक्षिणमा समिस केवटको घर चार किल्लाभित्र मृतक वंशराज केवटको इँट्टाले बनाइएको दुई तल्ले पक्की घर रहेको सोही घरको अगाडि बरन्डामा उत्तर टाउको दक्षिण खुट्टा भई उत्तानो अवस्थामा रहेको मृतकको घाँटीको रूद्र घण्टीको दायाँ बायाँ साइडमा निलो डाम भई नङले चिथोरिएको जस्तो डाम रहेको र पछाडि ढाडको भागमा डाम रहेको सो मृतक लास रहेको ३ मिटर उत्तरतर्फ कोठामा १ फिट ९ इन्चको टुक्रा बिजुलीको रातो तार रहेको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।

मिति २०७५।०२।०५ गते जाहेरवालाले आफ्नो बुबालाई बोलाउँदा नबोलेपछि गई ओढाएको कम्मल निकाली हेर्दा मृत अवस्थामा देखी गाउँघरमा हारगुहार गर्न लाग्दा निज मृतकसँगै रहेको जाहेरवालाको भाइ जिलाजित केवटले बुबालाई पहिला पनि पटक-पटक कुटपिट गरिरहन्थे । सो दिन पनि निजउपर शंका गरी हामीहरूले निजलाई सोधपुछ गर्न खोज्दा निजले केही नबोली सो स्थानबाट भाग्न खोज्दा मैले समात्न लागेको अवस्थामा मलाईसमेत लछारपछार गरी निज भाग्न सफल भएका हुन् निजले नै उक्त घटना घटाएका हुन् निजबाहेक उक्त घटनामा अन्य कोही कसैको संलग्नता छैन । यसरी वृद्ध अवस्थामा रहेको आफ्नै बुबालाई कर्तव्य गरी मार्ने प्रतिवादी जिलाजित केवटलाई कारबाही गरिपाउँ भन्ने रन्जित केवटले गरेको घटना विवरण कागज ।

Manual Strangulation का कारण मृतकको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन ।

मिति २०७५।०२।०५ गते बुबाले पैसा मागेको र मेरो श्रीमतीसमेत घरमा नभएकोले श्रीमतीको विषयमा पटक-पटक झगडासमेत हुने गरेकोले म अचानक आवेशमा आई सोही घरमा रहेको १ फिट ९ इन्च लम्बाइ भएको रातो बिजुलीको तारले घाँटीमा कसी दुवै हातको औँलाले दबाएको थिएँ सोही कारण मेरो बुबाको मृत्यु भएपछि घटना सम्बन्धमा मेरो दाइ जाहेरवाला ओमप्रकाश केवटले थाहा पाई गाउँघरमा हो-हल्ला गरी प्रहरीसमेतलाई खबर गर्न लागेपछि म डरले अब मलाई प्रहरीले समाती लैजान्छ भनी भाग्न लाग्दा मेरो काका रन्जित केवटले समात्न लाग्दा निजलाई लछारपछार गरी सो स्थानबाट भाग्न सफल भएको थिएँ । मिति २०७५।०२।०७ गते साँझ प्रहरीले मलाई पक्राउ गरेको हो भन्ने प्रतिवादी जिलाजित केवटले गरेको बयान कागज ।

मिति २०७५।०२।०५ गते प्रतिवादी जिलाजित केवटले आफ्नै बुबा वर्ष ५६ को वंशराज केवटलाई बिजुलीको तारले घाँटीमा कसी कर्तव्य गरी मारेको भन्ने सुनी थाहा पाएको हुँ उक्त दिन निज प्रतिवादीले मेरो पसलमा सोफी खरिद गरी खाएको भनी आफ्नो बयानको क्रममा मेरो नाम बताएका रहेछन् मैले हालसम्म कुनै पसल सञ्चालन गरेको छैन । निजले खोई किन लेखाए सो कुरा थाहा भएन । यसरी रक्सीको नसामा आफ्नो बुबालाई बिजुलीको तारले घाँटीमा कसी कर्तव्य गरी मार्ने प्रतिवादीलाई कारबाही गरिपाउँ भन्ने निवर जैसवालले गरेको घटना विवरण कागज ।

मिति २०७५।०२।०५ गते प्रतिवादी जिलाजित केवटले आफ्नै बुबा वर्ष ५६ को वंशराज केवटलाई बिजुलीको तारले घाँटीमा कसी कर्तव्य गरी मारेको भनी सुनी थाहा पाएको हुँ । उक्त दिन बिहान प्रतिवादी जिलाजित केवट मेरो पसलमा आई २० रूपैयाँ भारूको १ सिसी सोफी खरिद गरी लिई गएका हुन् । रक्सीको नसामा आफ्नो बुबालाई बिजुलीको तारले घाँटीमा कसी कर्तव्य गरी मार्ने प्रतिवादी जिलाजित केवटलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्ने शिबदयाल मौर्याले गरेको घटना विवरण कागज ।

मिति २०७५।०२।०५ गते जाहेरवाला ओमप्रकाश केवट रूँदै कराउँदै चिच्चाउँदै गरेको सुनी के भयो भनी म घटनास्थल पुग्दा सो स्थानमा मृतक वंशराज केवट मृत अवस्थामा थिएँ । प्रतिवादी जिलाजित केवट वारदात स्थलबाट भाग्न खोज्दा रन्जित केवटले समात्न खोज्दा निजको हातबाट फुत्की भागेको भनी बताएका थिए, पहिला पनि पटक-पटक प्रतिवादीले आफ्नो बुबालाई कुटपिट गर्ने गरेको र सोही दिन पनि निजले आफ्नो बुबालाई १ फिट ९ इन्चको बिजुलीको तारले घाँटीमा कसी दुवै हातको औँलाले घाँटीको दुवै साइडमा दबाई मारेको भन्ने सम्बन्धमा मलाई विश्वास लाग्छ भन्ने बुधराम केवटसमेतले गरेको वस्तुस्थिति मुचुल्का ।

मिति २०७५।०२।०५ गते दिनको अं.१७:०० बजेको समयमा प्रतिवादी जिलाजित केवटले आफ्नै बुबा वर्ष ५६ को वंशराज केवटलाई बिजुलीको तारले घाँटीमा कसी हातको औँलाले घाँटी दबाई कर्तव्य गरी मारेको मिसिल संलग्न जाहेरी दरखास्त, बुझिएका व्यक्तिहरूको भनाइसमेतका कागजातहरूबाट पुष्टि भएकोले निज प्रतिवादीहरूको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर अपराध कायम हुन आएकोले निज प्रतिवादी जिलाजित केवटलाई ऐ.को १३(३) नं.बमोजिम सजाय हुन मागदाबी लिई हिरासतमा रहेका प्रतिवादी जिलाजित केवट र निम्न पञ्जिकाबमोजिमको सक्कल मिसिल यसै अभियोग पत्रसाथ प्रस्तुत गरिएको भन्नेसमेत बेहोराको सुरू अदालतमा पेस हुन आएको अभियोगपत्र ।

उक्त घटनाको दिन म मेरो घरमा थिएँ । सो दिन मेरो पिता हाल मृतक वंशराज केवट र म २ दिनदेखि काममा नगई घरमा बसी रक्सी खाइरहेका थियौँ । घटनाको दिन पनि हामी रक्सी खाइरहेका थियौँ । रक्सी खाएको बेलामा बाउ छोराको घरको बारेमा सामान्य विवाद भएको थियो । विवाद भएपछि म खेतमा सुत्न भनी गएँ । दिनभर खेतमा सुती साँझ ४ बजेको समयमा घरमा आई बाबु वंशराज भएको ठाउँमा जाँदा मेरो चाचा रन्जित आई मेरो बाबुलाई तारले घाँटीमा कसिरहेको र मेरो बाबु वंशराज छटपटाएको देखेपछि मैले रन्जित केवटलाई त्यहीँ मुक्काले हानी बाबु वंशराजको घाँटीमा कसिएको तार निकालेँ । घाँटीबाट तार निकाल्दा बाबु जीवित नै थिए । त्यसको केही समयपछि बाबु मरेका हुन् । मेरो बाबु वंशराजलाई मार्ने रन्जितलाई मैले मुक्का हानेपछि सो ठाउँबाट भागी गई मलाई मेरो बाबु मार्‍यो भनी मलाई फसाइदिए । मैले मेरो बाबु वंशराजलाई मारेको होइन । मलाई फसाइएको हो भनी प्रतिवादी जिलाजित केवटले सुरू अदालतमा गरेको बयान ।

घटना भएको दिन दिउँसो २-३ बजेतिर म आफ्नै घरमा रहेको गाई दुहुन जाँदा गाईले दुहुन नदिएकोले मैले मेरो श्रीमतीलाई बाबु वंशराजलाई बोलाएर ल्याउन भनी भनेकोमा श्रीमतीले बुबा वंशराज रक्सी खाएर सुतिराख्नु भएको छ, म जान्न भनेकीले मैले मेरो छोरालाई बुबा वंशराजलाई बोलाउन 

पठाएँ । छोराले बोलाउन जाँदा बुबा वंशराज नबोलेपछि म आफैँ गई बुबालाई बोलाउँदा नबोलेपछि बुबालाई १ गिलास पानी खन्याइदिएँ सो गर्दासमेत बुबा वंशराज नउठेपछि मैले हेर्दा बुबाको मृत्यु भएको अनुमान गरी गाउँका मानिसलाई गुहार गरी प्रहरीलाई खबर गरी बुबाको लास घरबाट बाहिर निकालेका हौँ । घटना कसरी भयो थाहा छैन । मैले भाइ र बुबा सँगै रक्सी खाई बसी झगडा गरेको देखेकोले जिलाजितमाथि शंकाको आधारमा जाहेरी दिएको हुँ भनी जाहेरवाला ओमप्रकाश केवटले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले वादी नेपाल सरकारको अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १ नं. र १३(३) बमोजिम कसुर गरेको ठहर्छ । सो ठहर्नाले यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७५।०५।२६ को फैसला ।

जाहेरवाला अदालतसमक्ष साक्षी बकपत्र गर्दा पनि मृतक हाम्रो पिता वंशराज केवटको मृत्यु भएको स्थानमा २/३ बजेतिर गई उठाउँदा मृत्यु भइसकेको ठानेर अन्यलाई र काका रन्जित केवटलाई समेत लिई आउनुभएको भनी लेखाउनु भएको छ तर मेरो उपस्थितिको सम्बन्धमा केही देखिँदैन । म मेरो पितासँग रक्सी खाई नसामा रहेकोले मेरो कुराको कसैले विश्वास गरेन । हाम्रो बुबालाई मैले मारेको होइन छैन । मेरो काका रन्जित केवटसँग समय समयमा झैझगडा हुने हुन्थ्यो । त्यसैले निज काकाले नै मेरो बुबाको हत्या गरेको हुनुपर्छ । मृतकको मृत्यु कति बजे भएको हो ?  मृतकको घाँटीमा लागेको औँलाको दाग कस्को हो ? सोसमेत नबुझी भएको फैसला त्रुटिपूर्ण हुँदा प्रमाण ऐन, २०३१ को दफा ५४ ले बुझ्नुपर्ने प्रमाण नबुझिएको र बुझिएको प्रमाणको उचित मूल्याङ्कन नगरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जिलाजित केवटको पुनरावेदन जिकिर ।

प्रतिवादी जिलाजित केवटलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍यार्इ सुरू कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएकोमा फौजदारी अपराध संहिता, २०७४ को दफा ४०(२) ले सर्वस्वको सजाय गर्न नमिल्ने हुँदा सर्वस्वको सजाय कायम नरही जन्मकैदको सजाय गर्ने गरी मिति २०७५।५।२६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७६।०५।१० मा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला ।

ओमप्रकाश केवटको जाहेरीले वादी/प्रत्यर्थी नेपाल सरकार पुनरावेदक/प्रतिवादी जिलाजित केवट भएको कर्तव्य ज्यान मुद्दाको रेकर्ड मिसिल यस अदालतको मिति २०७६।५।१० गतेको फैसलाअनुसार साधक जाहेरी प्रयोजनार्थ पठाइएको भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर बुटवल इजलासको च.नं.८८६१ मिति २०७७।०३।०२ गतेको पत्र ।

म प्रतिवादी जिलाजित केवटको विवाह १२ वर्षपहिले भएको हो । ससुरालीमा सालाहरू नभएकोले म ससुरालीमा घर जमाई भई बसेको अवस्था हो । म ससुरालीमा बस्दा ससुरालीको सम्पत्ति पाएकोले मेरा दाजुभाइ र एकासगोलमा काकासमेतले मप्रति इर्ष्या गर्दथे । तर बुबा वंशराज केवट मलाई असाध्यै माया गर्नुहुन्थ्यो र म पनि बुबालाई अति नै माया गर्दथेँ । बुबाको मप्रतिको प्रेम भाव देखेर विपक्षी दाजुभाइ र काकासमेत मप्रति र्इर्ष्या राख्दथे । ससुरालीको सम्पत्ति पाएकोले यसलाई पैतृक सम्पत्तिबाट दिनु हुन्न भन्ने विपक्षीको विचार र अडान थियो । तर बुबा वंशजराज केवटको पैतृक सम्पत्ति सबै अंशियारलाई जो जसको जे जति अंश पुग्छ त्यति दिने विचार 

थियो । यस विचारले गर्दा विपक्षी दाजुभाइ र काकासमेत भई बुबासँग झै-झगडा वादविवाद गरिरहन्थे । बुबाको र मेरो रक्सी खाने बानी थियो । घटना भएको २ दिनअगाडिदेखि म र बुबा भई सँगै रक्सी खाने गरेको देखेर विपक्षीहरूले र्इर्ष्या गर्ने गरेका थिए । बुबाको ज्यान लिएमा सबै दोष यो जिलाजितलाई जान्छ भनी षड्यन्त्रपूर्वक नियोजित ढंगले काका रन्जितले मेरो बुबाको घाँटीमा बिजुलीको तारले कसिरहेको र मेरो बुबा छटपटाइरहको देखेपछि मैले रन्जित केवटलाई त्यहीँ मुक्काले हानी बाबु वंशराजको घाँटीमा कसिएको तार निकालेको हो । घाँटीबाट तार निकाल्दा बुबा जीवित नै थिएँ । त्यसको केही समयपछि बुबा मरेका हुन् । मेरो बुबाको ज्यान मार्ने मनसाय नरहेको ज्यान लिनेसम्मको रिसइवी नरहेको लुकीछिपी चोर नियतले हानेको पनि 

होइन । म रक्सीको नसामा भएकोले यकिन अवस्था वर्णन गर्न सकिनँ । यस अवस्थामा मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम गरेको सजाय जिल्ला अदालत कपिलवस्तुले गरेको सर्वस्वसहित जन्मकैदको सजाय र मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४०(२) ले सर्वस्वको सजाय गर्न नमिल्ने हुँदा सर्वस्वको सजाय कायम नरही जन्मकैदको सजाय गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७६।०५।१० को फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धी ऐनको दफा १४ अनुसार सजाय हुने गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जिलाजित केवटको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र । 

यस अदालतबाट भएको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।

यसमा, प्रतिवादी  जिलाजित केवटले मिति २०७५।०२।०५ गते दिनको अं.१७:०० बजेको समयमा आफ्नै बुबा वर्ष ५६ को वंशराज केवटलाई बिजुलीको तारले घाँटीमा कसी हातको औँलाले घाँटी दबाई कर्तव्य गरी मारेको मिसिल संलग्न जाहेरी दरखास्त, बुझिएका व्यक्तिहरूको भनाइसमेतका कागजातहरूबाट पुष्टि भएकोले निज प्रतिवादीहरूको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर अपराध कायम हुन आएकोले निज प्रतिवादी जिलाजित केवटलाई ऐ.को १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेतको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी जिलाजित केवटलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍यार्इ सुरू कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएकोमा फौजदारी अपराध संहिता, २०७४ को दफा ४०(२) ले सर्वस्वको सजाय गर्न नमिल्ने हुँदा सर्वस्वको सजाय कायम नरही जन्मकैदको सजाय गर्ने गरी मिति २०७६।०५।२३ मा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसलाउपर प्रतिवादीले चित्त नबुझाई ज्यान मार्ने मनसाय नरहेको, ज्यान लिनुपर्ने इवी पनि नरहेको, काका रन्जितले घाँटी थिचेकोमा मैले छुटाउँदा ज्यान गएकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १४ अनुसार सजाय हुने गरी न्याय इन्साफ पाउँ भन्ने जिकिर लिई यस अदालतमा पुनरावेदन गरेको देखियो ।

प्रस्तुत मुद्दामा पुनरावेदन प्रतिवादीको हकमा साधकसमेत दर्ता भई पेस हुन आएकोमा स्वयं प्रतिवादीको पुनरावेदन परी सोही पुनरावेदनबाट नै न्याय निरूपण हुने अवस्था छ । साधकको लगत कट्टा गरिदिएको छ । 

अब, पुनरावेदक प्रतिवादीको पुनरावेदनको रोहमा हेर्दा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।०५।१० मा भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७५।०२।०५ गते बुबालाई मृत अवस्थामा देखी गाउँघरमा हारगुहार गर्न लाग्दा निज बुबासँगै रहेको मेरो भाइ जिलाजित केवटउपर शंका गरी निजलाई सोधपुछ गर्न खोज्दा निजले केही नबोली सो स्थानबाट भागी फरार भएकोले निज भाइ जिलाजित केवटलाई पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्ने ओम प्रकाश केवटको जाहेरी दरखास्तबाट अनुसन्धान सुरू भएको प्रस्तुत मुद्दामा मृतक वंशराज केवटको लास आफ्नै घरको अगाडि बरन्डामा रूद्र घण्टीको दायाँ बायाँ साइडमा निलो डाम भई नङले चिथोरिएको जस्तो डाम भएको अवस्थामा रहेको र सो लासको ३ मिटर उत्तरतर्फको कोठामा १ फिट ९ इन्चको टुक्रा बिजुलीको रातो तारसमेत रहेको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का तथा Manual Strangulation का कारण मृतकको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन रहेको पाइयो । प्रतिवादी जिलाजित केवटले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मिति २०७५।०२।०५ गते बुबाले पैसा मागेको र मेरो श्रीमतीसमेत घरमा नभएकोले श्रीमतीको विषयमा पटक-पटक झगडासमेत हुने गरेकोले म अचानक आवेशमा आई सोही घरमा रहेको १ फिट ९ इन्च लम्बाइ भएको रातो बिजुलीको तारले घाँटीमा कसी दुवै हातको औँलाले दबाएको थिएँ । सोही कारण मेरो बुबाको मृत्यु भएपछि घटना सम्बन्धमा मेरो दाइ जाहेरवाला ओमप्रकाश केवटले थाहा पाई गाउँघरमा हो-हल्ला गरी प्रहरीसमेतलाई खबर गर्न लागेपछि म भाग्न लाग्दा मेरो काका रन्जित केवटले समात्न खोजेकोमा निजलाई लछारपछार गरी सो स्थानबाट भाग्न सफल भएको थिएँ । मिति २०७५।०२।०७ गते साँझ प्रहरीले मलाई पक्राउ गरेको हो भन्ने बेहोरा उल्लेख गरेको पाइयो । तर प्रतिवादीले अदालतसमक्ष मैले हत्या गरको होइन भनी कसुरमा इन्कार रही बयान गरेको देखियो । घटना विवरण कागज गर्ने रन्जित केवट, निवर जैसवाल, शिवदायाल मौर्यसमेतले प्रतिवादी जिलाजित केवटले नै आफ्नो वृद्ध बुबाको कर्तव्य गरी हत्या गरेको भनी एकै मिलानको घटना विवरण कागज गरेको देखिन्छ । साथै, बुधराम केवटले गरेको वस्तुस्थिति मुचुल्कामा सेमत प्रतिवादी जिलाजित केवटले पहिला पनि पटक-पटक आफ्नो बुबालाई कुटपिट गर्ने गरेकोले निजले नै आफ्नो बाबुको हत्या गरेको भन्ने सम्बन्धमा मलाई विश्वास लाग्छ भनी उल्लेख गरेको देखियो । यसरी सिलसिलेवार रूपमा हेर्दा, वंशराजको मृत्यु कर्तव्यबाट भएको र सो कसुरमा प्रतिवादी जिलाजित केवटको संलग्नता रहेको पुष्टि हुन आयो । यस स्थितिमा अभियोग मागदाबीअनुसार कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७५।०३।०६ को फैसला तत्कालीन कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा अन्यथा भन्न मिलेन ।

३. जहाँसम्म प्रतिवादीले आफ्नै बुबाको ज्यान मार्नेको मनसाय नरहेको ज्यान लिनुपर्ने इवी पनि नरहेकोले मेरो कसुरमा संलग्नता नरहेको भनी इन्कारी बयान लिएको जिकिरतर्फ विचार गर्दा, जाहेरी दर्खास्तमा उल्लिखित बेहोरालाई नै समर्थन गर्ने गरी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा बुबासँग पटक-पटक झगडासमेत हुने गरेको र त्यो दिन पैसा मागेकोमा पैसा नदिएपछि अचानक आवेशमा आई सोही घरमा रहेको १ फिट ९ इन्च लम्बाइ भएको रातो बिजुलीको तारले घाँटीमा कसी दुवै हातको औँलाले दबाउँदा बुबाको मृत्यु भएपछि घटना सम्बन्धमा मेरो दाइ जाहेरवाला ओमप्रकाश केवटले थाहा पाई गाउँघरमा हो-हल्ला गरी प्रहरीसमेतलाई खबर गर्न लागेपछि भागेको हुँ भन्नेसमेत बेहोरा लेखाएको देखियो । यद्यपि प्रतिवादीले अदालतसमक्ष इन्कार हुने प्रयास गरे पनि मृतकसँग विवाद हुने गरेको तथ्यलाई भने स्वीकार गरेको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ९(१)(क) मा “फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेका कुरा अभियुक्त सचेत रहेको अवस्थामा आफूले भनेको बुझ्न सक्ने, यातना धम्की दिएको अवस्था नरहेको र असत्य व्यक्त गर्ने सम्भावना नरहेको स्थितिमा व्यक्त गरिएको कुरा प्रमाणमा लिन हुने” व्यवस्था रहेको देखिन्छ । यस स्थितिमा यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दाका बखत निजलाई शारीरिक तथा मानसिक यातना दिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा अदालतको इन्कारी बयानलाई मात्र कसुरबाट उन्मुक्ति दिने आधार मान्न सक्ने अवस्था देखिएन । सो जिकिरलाई शंकारहित तवरबाट पुष्टि गर्ने आधार नदेखिएको हुँदा आफूले कसुरबाट उन्मुक्ति लिने उद्देश्यले अन्य व्यक्तिको संलग्नता हुनुपर्छ भनी गरेको काल्पनिक कथनलाई न्यायको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न मिलेन । 

४. अतः माथि विवेचित आधार कारणहरूसमेतबाट प्रतिवादी जिलाजित केवटलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको सुरू कपिलवस्तु जिल्ला अदालतको फैसलालाई साधकको रोहमा सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७६।०५।१० को फैसला साबिक कानूनी व्यवस्थाको सन्दर्भमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी जिलाजित केवटको पुनरावेदन जिकिर पुग्न सक्तैन । तर प्रस्तुत मुद्दामा यी प्रतिवादी जिलाजित केवटलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको फैसला साबिक कानूनी व्यवस्थाको सन्दर्भमा मिलेको देखिए तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा “कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन” भन्ने र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा “कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम नै गर्नुपर्ने छ तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ” भन्ने कानूनी व्यवस्था रही मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्वको सजाय गर्ने व्यवस्था नभएकोले प्रस्तुत मुद्दामा प्रतिवादी जिलाजित केवटलाई सर्वस्वको सजाय हुने देखिएन । तसर्थ, निज प्रतिवादीलाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

प्रतिवादी जिलाजित केवटलाई जन्मकैद मात्र हुने ठहरेकोले प्रतिवादीको नामको सर्वस्वको लगत संशोधन गरी जन्मकैदको मात्र लगत राखी असुलउपर गर्नु भनी फैसलाको जानकारी सुरू कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाइदिनू ..............................१

फैसलाको प्रतिलिपिसहितको जानकारी कारागारमा कैदमा रहेका प्रतिवादी जिलाजित केवट तथा महान्यायाधिवक्ता कार्यालयलाई दिनू ...................२

सरोकारवालाले फैसलाको नक्कल माग्न आए नियमानुसार दिनू............................................३ 

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी पिठमा जनाइदिनू र प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी सुरू मिसिल सुरू अदालतमा पठाई रेकर्ड मिसिल अभिलेख संरक्षण फाँटमा बुझाइदिनू .....................४

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः ताराप्रसाद जोशी

इति संवत् २०७९ साल भाद्र १ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु