शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९४६ - बन्दीप्रत्यक्षीकरण

भाग: ६४ साल: २०७९ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

आदेश मिति : २०७८।५।३०

०७७-WH-००८१

 

मुद्दाः- बन्दीप्रत्यक्षीकरण

 

पुनरावेदक / प्रतिवादी : म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका वडा नं.५ शीख (साबिक शिख गाउँ विकास समिति वडा नं. २) घर भई हाल कारागार कार्यालय, म्याग्दीमा कैदमा रहेको समप्रसादको छोरा कृष्णबहादुर गर्बुजा

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला प्रहरी कार्यालय, म्याग्दी एवम् प्रहरी नायब उपरीक्षकसमेत

 

जनताको नजिकको स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाले आफ्नो आधिकारिक रेकर्डमा भएको विवरणलाई उल्लेख गरी गरेको सिफारिस कागजको बेहोरालाई अन्यथा मान्न नमिल्ने । नेपाली समाजमा प्रचलनमा रहँदै आएको व्यक्तिको गाउँ समाजमा पहिचान हुने वा बोलाउने नाम र नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नाम अर्कै हुनसक्ने स्थितिलाई सामान्य नै मान्नुपर्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी.

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

आदेश

न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:

निवेदक म म्याग्दी जिल्ला अन्नपूर्ण गा.पा. वडा नं. -५, साबिक शिख गा.वि.स. वडा नं. २ निवासी, समप्रसाद गर्बुजाको छोरा हाल वर्ष ४७ को कृष्णबहादुर गर्बुजा हुँ । विपक्षी म्याग्दी जिल्ला अदालतले पद्मध्वज खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बालकृष्ण गर्बुजासमेत भएको डाँका चोरी मुद्दामा ६ वर्ष कैद र रू. ३९,०००।- जरिवाना गर्ने गरी मिति २०६९।३।३१ मा फैसला गरेको रहेछ । उक्त मुद्दाको प्रतिवादी बालकृष्ण गर्बुजा म होइन । मिति २०७७।०४।१५ को दिउँसो अं. २ बजेतिर विपक्षी जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी कर्मचारीले म आफू बालकृष्ण गर्बुजा नभएको दाबी गर्दागर्दै मेरो अनुरोधको कुनै सुनुवाइ नगरी कैद तथा जरिवानाको लगतअनुसारको व्यक्ति तिमी नै हौ भनी मलाई पोखरा बगरबाट पक्राउ गरी मिति २०७७।०४।१७ मा म्याग्दी जिल्ला अदालतमा उपस्थित गराई म्याग्दी जिल्ला अदालतले पहिचान खुलाई पेस गर्नु भनी फिर्ता गरेपछि विपक्षी प्रहरी कार्यालयले हाल अन्नपूर्ण गा.पा. वडा नं. ५ का वडाध्यक्षलाई धरपकड गरी म कृष्णबहादुर गर्बुजा र फरार बालकृष्ण गर्बुजा एउटै व्यक्तिको नाम हो, बुबाको नाममा पनि समप्रसाद र सोमबहादुर पनि एउटै हो भनी प्रमाणित गर्न लगाई तथा उक्त मुद्दाका कैद जरिवाना भुक्तान गरिसकेका अर्का प्रतिवादी कमलबहादुर खड्काबाट सनाखत गराइएको भनी म आफूलाई मिति २०७७।०४।१८ मा पुन: प्रहरी कार्यालयमा उपस्थित गराई विपक्षी तहसिलदारले कृष्णबहादुर गर्बुजा भन्ने बालकृष्ण गर्बुजा भनी कैदी पुर्जी तयार गरी मलाई विपक्षी कारागार कार्यालयमा थुनामा राखिएको छ । उक्त मुद्दाको प्रतिवादी बालकृष्ण गर्बुजा म आफू नभएकोले गैरकानूनी थुना विरूद्ध उच्च अदालत बागलुङमा निवेदन गर्दासमेत मेरो कुनै सुनुवाइ नगरी निवेदन खारेज गरिएको अवस्था छ । नागरिकताको प्रमाणपत्रमा मेरो आफ्नो नाम, मेरो बुबाको नाम, मेरो आफ्नो साबिकको वडाको ठेगानासमेत फरक भई पहिचानमै गम्भीर प्रश्न खडा भएको अवस्थामा म निर्दोष व्यक्तिलाई पक्राउ गरी कैदी पुर्जी दिई गैरकानूनी रूपमा थुनामा राखेको हुँदा म निवेदकका नाउँमा विपक्षी म्याग्दी जिल्ला अदालतका तहसिलदारले मिति २०७७।०४।१८ मा जारी गरेको कैदी पुर्जी उत्प्रेषणको आदेशद्वारा बदर गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गरिपाउँ भन्ने बेहोराको रिट निवेदन । 

यसमा के कसो भएको हो ? निवेदनको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक ३(तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७७।६।१९ को आदेश ।

पदमध्वज खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निवेदक म्याग्दी जिल्ला साबिक शिख गा.वि.स. वडा नं. ४ सिस्नेरी हालको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थायी वतन भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्ने दिलबहादुर गर्बुजाको नाति सोमबहादुर गर्बुजाको छोरा वर्ष ४२ का बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजा भएको डाँका चोरी मुद्दामा सुरू म्याग्दी जिल्ला अदालतको मिति २०६३।२।३० को फैसला तथा तत्कालीन पुनरावेदन अदालत बागलुङको २०६४।०४।२९ फैसलाअनुसार फरार प्रतिवादी बालकृष्ण गर्बुजाको हकमा मुद्दा मुल्तबीबाट जगाई मिति २०६९।३।३१ गते निज प्रतिवादीलाई छ (६) वर्ष कैद र रू. ३९,०००।- (उनन्चालिस हजार) जरिवाना हुने फैसला भएकोमा सो फैसला कार्यान्वयन गर्ने सिलसिलामा पक्राउ परी कैद भुक्तानीबापत थुनामा रहेको देखिन्छ । निज रिट निवेदकले डाँका चोरीको वारदात मिति २०६०।१०।२ भन्दा धेरैपछि मिति २०६४।११।९ मा मात्र नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ । जसमा नागरिकता लिनेको नाम कृष्णबहादुर गर्बुजा, जन्मस्थान म्याग्दी जिल्ला शिख गा.वि.स. वडा नं.४ स्थायी बासस्थान ऐ. वडा नं २, बाबुको नाम समप्रसाद गर्बुजा र जन्ममिति २०३५।१०।६ उल्लेख भएको भएको देखिन्छ । अभियोगपत्रमा २०६० सालको वारदात हुँदाका बखत प्रतिवादी बालकृष्ण गर्बुजाको उमेर अं.२५ वर्ष र प्रस्तुत रिट निवेदनमा रिट निवेदकको उमेर ४२ उल्लेख भएबाट उमेरको कोणबाट बालकृष्ण गर्बुजा र यी रिट निवेदक फरक व्यक्ति भन्ने देखिँदैन । अभियोगपत्रमा प्रतिवादी बालकृष्ण गर्बुजाको वतन शिख गा.वि.स वडा नं. ४ उल्लेख भएको देखिन्छ भने यी रिट निवेदकको नागरिकता प्रमाणपत्रमा जन्मस्थान शिख गा.वि.स. वडा नं. ४ र स्थायी वतन शिख गा.वि.स. वडा नं. २ उल्लेख गरी नागरिकता लिएको देखिएबाट यी निवेदकको शिख गा.वि.स. वडा नं.२ र ४ सँग सम्बद्ध व्यक्ति नै होइनन् भन्न सकिने अवस्था देखिन आएन । रिट निवेदकको नागरिकताको प्रमाणपत्रमा बाबुको नाम समप्रसाद गर्बुजा उल्लेख भए तापनि अन्नपूर्ण गाउँपालिकाको मिति २०७७।४।१५ च. नं. १६ को पत्रानुसार शिख गा.वि.स. वडा नं. २ हाल अन्नपूर्ण गा.पा. वडा नं. ५ निवासी दिलबहादुर गर्बुजाको छोरा सोमबहादुर गर्बुजा र समप्रसाद गर्बुजा भन्ने एउटै व्यक्ति भएको देखिन्छ । सहप्रतिवादी कमलबहादुर खड्काले सनाखत कागज गर्दा यी रिट निवेदक कृष्णबहादुर गर्बुजालाई गाउँघरमा बोलाउने नाम बालकृष्ण गर्बुजा भनी उल्लेख गरेको देखिन्छ । माथि उल्लिखित डाँका चोरी मुद्दामा भएको फैसलाले कैद सजायसमेत पाउने प्रतिवादी बालकृष्ण गर्बुजा भन्ने व्यक्ति यी रिट निवेदक कृष्णबहादुर गर्बुजा नै हुन् भन्ने यकिन गरी सजाय कार्यान्वयन गर्न नियमपूर्वक कैदी पुर्जी दिई थुनामा राखेको देखिँदा प्रस्तुत निवेदन खारेज गरिपाउँ भन्ने बेहोराको उच्च अदालत पोखरा, बागलुङ इजलासको लिखित जवाफ ।

वादी नेपाल सरकार प्रतिवादी निवेदक म्याग्दी जिल्ला साबिक शिख गा.वि.स. वडा नं. ४ सिस्नेरी हालको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थायी वतन भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्ने दिलबहादुर गर्बुजाको नाति सोमबहादुर गर्बुजाको छोरा वर्ष ४२ का बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजा भएको डाँका चोरी मुद्दामा सुरू म्याग्दी जिल्ला अदालतको मिति २०६३।२।३० को फैसला र सो फैसलालाई सदर गरेको तत्कालीन पुनरावेदन अदालत बागलुङको २०६४।०४।२९ फैसलाअनुसार फरार प्रतिवादी बालकृष्ण गर्बुजाको हकमा मुल्तबी रहेको मुद्दा म्याग्दी जिल्ला अदालतमा मुद्दा जागी मिति २०६९।३।३१ गते निज प्रतिवादीलाई ६ (छ) वर्ष कैद र रू. ३९,०००।- (उनन्चालिस हजार) जरिवाना हुने फैसलाबमोजिम सो फैसलाको कार्यान्वयनको सिलसिलामा निज बालकृष्ण गर्बुजालाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरेको हो । निजका बाबु सोमबहादुर गर्बुजा भन्ने समप्रसाद गर्बुजा एकै व्यक्ति भएको र निज बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजा एकै व्यक्ति भएको भनी सम्बन्धित वडा कार्यालयबाट यकिन गर्नुका साथै सोही गाउँका मानिसहरूले गरेको सर्जमिन मुचुल्का कागज तथा अर्का प्रतिवादी कमलबहादुर खड्काले निज निवेदक उक्त वारदातमा संलग्न रहेको भनी गरेको सनाखत कागज प्रमाणका आधारहरूबाट निजलाई यकिन गरी फैसला कार्यान्वयनको लागि यस कार्यालयबाट कानूनी विधि र प्रक्रिया पूरा गरी पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराइएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने बेहोराको जिल्ला प्रहरी कार्यालय, म्याग्दीको हकमा ऐ. कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरको लिखित जवाफ ।

यसमा यी रिट निवेदक कृष्णबहादुर गर्बुजालाई सम्बन्धित कारागार कार्यालयबाट र म्याग्दी जिल्ला अदालतको संवत् २०६८ सालको स.फौ.नं. ४० को डाँका चोरी मुद्दाको जाहेरवालालाई झिकाई जाहेरीमा उल्लिखित बालकृष्ण गर्बुजा यी निवेदक कृष्णबहादुर गर्बुजा हो, होइन भनी सनाखत गराउन र मिति २०७७।४।१४ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा सनाखत कागज गर्ने व्यक्तिहरूलाई अदालतमा झिकाई निजहरूको समेत सनाखत कागज गराई कार्य सम्पन्न भई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७७।११।१३ को आदेश ।

आदेश खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत निवेदनमा निवेदकको तर्फबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायीलाई इजलासले पटकपटक उपस्थित हुन सूचना गर्दा पनि उपस्थित भएको देखिएन । 

विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी.ले प्रस्तुत मुद्दामा वादी नेपाल सरकार प्रतिवादी यी रिट निवेदक बालकृष्ण गर्बुजासमेत भएको डाँका चोरी मुद्दामा म्याग्दी जिल्ला अदालतबाट निजलाई ६ वर्ष कैद र ३९,०००।- जरिवाना हुने गरी भएको फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परी थुनामा राखिएको हो । अभियोगपत्र दायर गर्दा यी निवेदकको नाउँ बालकृष्ण गर्बुजा, बाबुको नाम सोमप्रसाद गर्बुजा र २०६० सालमा वारदात हुँदाका बखत बालकृष्ण गर्बुजाको उमेर अं. २५ वर्ष उल्लेख भएको र निवेदकले वारदात मितिभन्दा धेरैपछि नागरिकता बनाउँदा आफ्नो नाम कृष्णबहादुर गर्बुजा, बाबुको नाम समप्रसाद गर्बुजा र जन्ममिति २०३५।१०।६ उल्लेख भए तापनि म्याग्दी जिल्ला अदालतबाट व्यक्ति यकिन गर्ने आदेश भई सोबमोजिम व्यक्ति यकिन भई आएको, नागरिकताको प्रमाणपत्रमा निवेदकको बाबुको नाम समप्रसाद गर्बुजा उल्लेख भए तापनि अन्नपूर्ण गाउँपालिकाको मिति २०७७।४।१५ को पत्रानुसार दिलबहादुर गर्बुजाको छोरा सोमबहादुर गर्बुजा र समप्रसाद गर्बुजा भन्ने व्यक्ति एउटै व्यक्ति भएको भन्ने सिफारिस गरिएको र सहप्रतिवादी कमलबहादुर खड्काले सनाखत कागज गर्दा रिट निवेदक कृष्णबहादुर गर्बुजालाई गाउँघरमा बोलाउने नाम बालकृष्ण गर्बुजा भन्ने गरेको भनी सनाखत गरिदिएको हुँदा उल्लिखित डाँका चोरी मुद्दाका प्रतिवादी बालकृष्ण गर्बुजा र यी निवेदक कृष्णबहादुर गर्बुजा एउटै व्यक्ति भएकोले निजलाई फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरी थुनामा राखिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस सुनी तथा मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा, निवेदकलाई गैरकानूनी रूपमा बन्दी बनाइएको हो वा होइन ? र निवेदन मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, रिट निवेदक म म्याग्दी जिल्ला अन्नपूर्ण गा.पा. वडा नं. -५, साबिक शिख गा.वि.स. वडा नं. २ निवासी  समप्रसाद गर्बुजाको छोरा हाल वर्ष ४७ को कृष्णबहादुर गर्बुजा हुँ । विपक्षी म्याग्दी जिल्ला अदालतले पद्मध्वज खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बालकृण्ण गर्बुजासमेत भएको डाँका चोरी मुद्दामा म्याग्दी जिल्ला अदालतबाट मिति २०६९।३।३१ गते ६ वर्ष कैद र रू. ३९,०००।- जरिवाना गर्ने गरी फैसला भई सो फैसला तत्कालीन पुनरावेदन अदालत बागलुङबाट सदर भएको रहेछ । अर्कै व्यक्ति बालकृष्ण गर्बुजालाई कैद सजाय गर्ने गरी भएको फैसलामा म निवेदकलाई सोही व्यक्ति हो भनी पक्राउ गरी गैरकानूनीरूपमा थुनामा राखेको हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेको देखिन्छ । 

३. यी निवेदकले वारदात भएको धेरै समयपश्चात् आफ्नो नाम, बाबुको नाम र ठेगाना फरक पारी नागरिकता लिएको, सुरू म्याग्दी जिल्ला अदालतले पक्राउ परी आएका व्यक्ति कृष्णबहादुर गर्बुजा र नेपाल सरकार वादी प्रतिवादी बालकृष्ण गर्बुजासमेत भएको डाँका चोरी मुद्दाका प्रतिवादी एउटै व्यक्ति हुन् वा होइनन् यकिन गर्नु भन्ने आदेशबमोजिम यकिन गर्ने क्रममा उक्त फैसलामा उल्लिखित बालकृष्ण गर्बुजा भन्ने व्यक्ति र पक्राउ परी आएका निवेदक कृष्णबहादुर गर्बुजा एउटै व्यक्ति हुन् भनी अन्नपूर्ण गाउँपालिकाले सिफारिस गरेको, वारदातमा संलग्न अर्का सहप्रतिवादी कमलबहादुर खड्काले गरेको सनाखत कागजबाट समेत यी निवेदक कृष्णबहादुर गर्बुजा र उक्त मुद्दाका प्रतिवादी बालकृष्ण गर्बुजा एउटै व्यक्ति हुन् भन्ने देखिएको, अभियोगपत्रमा २०६० सालको वारदात हुँदाका बखत प्रतिवादी बालकृष्ण गर्बुजाको उमेर अं.२५ वर्ष र प्रस्तुत रिट निवेदनमा रिट निवेदकको उमेर ४२ उल्लेख भएबाट उमेरको कोणबाट बालकृष्ण गर्बुजा र यी रिट निवेदक फरक व्यक्ति भन्ने नदेखिएको, अभियोगपत्रमा प्रतिवादी बालकृष्ण गर्बुजाको वतन शिख गा.वि.स वडा नं. ४ उल्लेख भएको र निवेदकको नागरिकता प्रमाणपत्रमा जन्मस्थान शिख गा.वि.स. वडा नं. ४ र स्थायी वतन शिख गा.वि.स. वडा नं. २ उल्लेख भएको देखिएबाट यी निवेदकको शिख गा.वि.स. वडा नं.२ र ४ सँग सम्बद्ध व्यक्ति नै होइनन् भन्न सकिने अवस्था नदेखिएकोले निजलाई फैसला कार्यान्वयनका लागि कानूनबमोजिम थुनामा राखिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने बेहोराको विपक्षीहरूको लिखित जवाफ रहेको देखिन्छ ।  

४. पदमध्वज खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बालकृष्ण गर्बुजासमेत रहेको डाँका चोरी मुद्दामा प्रतिवादी बालकृष्ण गर्बुजा सुरूदेखि नै फरार रही निजको हकमा अ.बं. १९० नं. बमोजिम मुद्दा मुल्तबीमा रहने ठहर्‍याई म्याग्दी जिल्ला अदालतबाट मिति २०६३।२।३० मा फैसला भएकोमा उक्त मुद्दा मुल्तबीबाट जागी मिति २०६९।३।३१ मा प्रतिवादी बालकृष्ण गर्बुजालाई ६ वर्ष कैद र रू. ३९,०००।- जरिवाना हुने गरी फैसला भएको देखिन्छ । यी रिट निवेदकले उक्त डाँका चोरी मुद्दाको प्रतिवादी म नभई अर्कै व्यक्ति भएका कारण म निर्दोष व्यक्तिलाई पक्राउ गरी गैरकानूनी रूपमा थुनामा राखिएको हो भनी लिएको जिकिरतर्फ विचार गर्दा, यी निवेदकले वारदात भएको मितिभन्दा धेरै पछि नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ । निजले लिएको नागरिकताको प्रमाणपत्रमा जन्मस्थान म्याग्दी जिल्ला, शिख गा.वि.स. वडा नं. ४ र स्थायी बासस्थान वडा नं २ उल्लेख भएको र डाँका चोरी मुद्दाका प्रतिवादी बालकृष्ण गर्बुजाको ठेगाना म्याग्दी जिल्ला, शिख गा.वि.स. वडा नं. ४ उल्लेख भएको देखिएको हुँदा निवेदक शिख गा.वि.स. वडा नं. २ र ४ सँग सम्बद्ध व्यक्ति नै होइनन् भन्न सकिएन । 

५. अन्नपूर्ण गाउँपालिकाको मिति २०७७।४।१५ को च.नं. १२ र च.नं. १६ को सिफारिसपत्रमा म्याग्दी जिल्ला साबिक शिख २ सिस्नेरी हाल अन्नपूर्ण गाउँपालिका वडा नं. ५ बस्ने दिलबहादुर गर्बुजाको छोरा सोमबहादुर गर्बुजा र समप्रसाद गर्बुजा भन्ने व्यक्ति एउटै व्यक्ति हुन् र शिख गा.वि.स. वडा नं. २ घर भई हाल अन्नपूर्ण गाउँपालिका वडा नं. ५ निवासी समप्रसाद गर्बुजाको छोरा वर्ष ४२ को बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजा एउटै व्यक्ति हुन् भनी उल्लेख गरेको देखिन्छ भने अर्कोतिर सोही गाउँका मानिसहरूले समेत गाउँपालिकाको सिफारिसबमोजिमको बेहोरालाई समर्थन गरी सर्जमिन मुचुल्काको कागज गरिदिएको देखिन्छ । जनताको नजिकको स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाले आफ्नो आधिकारिक रेकर्डमा भएको विवरणलाई उल्लेख गरी गरेको सिफारिस कागजको बेहोरालाई अन्यथा मान्न 

मिल्दैन । नेपाली समाजमा प्रचलनमा रहँदै आएको व्यक्तिको गाउँ समाजमा पहिचान हुने, बोलाउने नाम एउटा र नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नाम अर्कै हुनसक्ने स्थितिलाई सामान्य नै मान्नुपर्छ ।

६. यस अदालतबाट मिति २०७७।११।१३ मा निवेदक कृष्णबहादुर गर्बुजालाई म्याग्दी कारागार कार्यालयबाट झिकाई म्याग्दी जिल्ला अदालतको संवत् २०६८ सालको स.फौ.नं. ४० को डाँका चोरी मुद्दामा उल्लिखित बालकृष्ण गर्बुजा यी निवेदक कृष्णबहादुर गर्बुजा हुन्, होइनन् भनी जाहेरवाला र जिल्ला प्रहरी कार्यालयमा सनाखत कागज गर्ने सहप्रतिवादी कमलबहादुर खड्कालाई सनाखत कागज गरी पठाउनु भनी आदेश भएकोमा जाहेरवाला पदमध्वज खड्काले मिति २०६८।१०।५ मा दिएको किटानी जाहेरीमा उल्लिखित व्यक्ति निज प्रतिवादी बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजा भनिएका व्यक्ति यिनै हुन् भनी सनाखतको कागज गरिदिएको देखिन्छ । सोही मुद्दाका अर्का प्रतिवादी कमलबहादुर खड्काले समेत वारदातपश्चात् हालसम्म फरार रहेका बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजालाई देख्दा चिनेँ, उक्त वारदातमा मसँगै संलग्न रहेका हुन्, गाउँघरमा बोलाउँदा बालकृष्ण गर्बुजा भन्ने कृष्णबहादुर गर्बुजा भन्ने यिनै व्यक्ति हुन् भन्ने बेहोराको सनाखतको कागज गरिदिएको देखिन्छ । डाँका चोरीजस्तो अपराधमा निवेदकलाई फसाउने नियतले उक्त वारदातमा निजको समेत संलग्नता थियो भनी उक्त मुद्दाका जाहेरवाला र सहप्रतिवादीले सनाखतको कागज गरिदिने कुनै आधार र कारणसमेत देखिँदैन । यसरी म्याग्दी जिल्ला अदालतमा उपस्थित भई जाहेरवाला र सहप्रतिवादीले गरिदिएको सनाखतको कागजलाई अन्यथा मान्न मिलेन । 

७. यी रिट निवेदकले २०६० सालमा डाँका चोरी मुद्दाको वारदात भई अभियोगपत्र दायर भएपश्चात् फरार रही पछि नागरिकता प्रमाणपत्र लिँदा आफ्नो तथा बाबुको नाम फरकफरक र स्थायी बासस्थान फरक राखेको कारणले मात्र निज उक्त डाँका चोरी मुद्दामा कैद सजाय पाएका प्रतिवादी होइनन् भन्ने देखिँदैन । सम्बद्ध प्रहरी कार्यालयबाट थप जाँचबुझ गरी उल्लिखित डाँका चोरी मुद्दामा भएको फैसलाबमोजिमको कैद सजाय पाउने प्रतिवादी बालकृष्ण गर्बुजा भन्ने व्यक्ति र यी निवेदक कृष्णबहादुर गर्बुजा एउटै व्यक्ति भएको यकिन गरी उक्त मुद्दामा भएको कैद सजाय कार्यान्वयनका लागि कानूनबमोजिम कैदी पुर्जी दिई थुनामा राखेको देखिँदा रिट निवेदकको दाबी जिकिरसँग सहमत हुन सकिएन । 

८. तसर्थः माथि उल्लिखित आधार तथा कारणहरूबाट वादी नेपाल सरकार प्रतिवादी बालकृष्ण गर्बुजासमेत भएको डाँका चोरी मुद्दाका प्रतिवादी यी रिट निवेदक कृष्णबहादुर गर्बुजा नै भएको देखिएको हुँदा निजलाई ६ वर्ष कैद र रू. ३९,०००।- जरिवाना गर्ने गरी म्याग्दी जिल्ला अदालतबाट मिति २०६९।३।३१ मा भएको फैसलालाई कार्यान्वयन गर्ने सिलसिलामा पक्राउ गरी निजलाई कैदी पुर्जी दिई कानूनसम्मत नै थुनामा राखेको देखिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने देखिएन । रिट निवेदन खारेज हुने ठहर्छ । आदेशको जानकारी निवेदकलाई दिई दायरीको लगत कट्टा गरी यो आदेश विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।  

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत:- उदवीर नेपाली 

इति संवत् साल २०७८ भदौ ३० गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु