शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५४८ - उत्प्रेषण

भाग: २४ साल: २०३९ महिना: असार अंक:

निर्णय नं. १५४८                ने.का.प. २०३९ अङ्क ३

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३८ सालको रिट नं. १७१४

आदेश भएको मिति : २०३९।३।१४ मा

निवेदक      : श्री नेपाल डिष्ट्रिब्यूटर्स कम्पनीको कैलासप्रसाद सुरेका

विरुद्ध

विपक्षी : श्री कर अधिकृतज्यू कर कार्यालय, जनकपुरधाम

बिषय : उत्प्रेषण

(१)                न्यायोचित अनुमान गर्नलाई आय कर ऐनको दफा ३३ (२) को अनुरुपको व्यहोरा देखिनु पर्ने कानूनी व्यवस्था हो, त्यस्तो गरेको छ भन्ने मिसिल प्रमाणबाट नदेखिएको हुँदा उक्त ऐनको विपरीत आय निर्धारण गरी कर लाग्ने गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ। कानून बमोजिम कारवाही किनारा गर्नु भनी परमादेशको आदेश कर कार्यालय जनकपुरको नाउँमा पठाउनु पर्ने ।

(प्रकरण नं. ६)

आदेश

न्या.हेरम्बराज

१.     यसमा संविधानको धारा ७१ अनुसार पर्न आएको रिटनिवेदनको संक्षिप्त विवरण यसप्रकार छ :

२.    निवेदकले उक्त कम्पनीको जनकपुरधाम शाखाको आ.ब.०२८।०२९ आय विवरण मिति ०२९।१२।१२ मा पेश गरेको र सो विवरण उक्त आ.ब.मिति ०२८।७।२ देखि ०२९।१।२६ सम्ममा पसल खोलेको त्यसपछि पसल बन्द गरेको सूचना विपक्षीलाई दिइसकेको र सो अविधिमा नोक्सान भएको भन्ने समेत उल्लेख गरी आय निर्धारण समितिको नाममा आय विवरण पेश गरेको मिति ०२९।१२।१२ मा पेश गर्नु भएको आ.ब.०२८।०२९ दिपावलीको आय विवरणमा उल्लिखित आय व्ययको औचित्य पुष्टीका लागि बहिखाता हिसाब किताब पेश गर्न नसक्ने भएको र आय ऐन, ०३१ को दफा ३३ (४) बमोजिम सबूत प्रमाण पेश गर्न मौका दिइएकोमा समेत कुनै सबूत पेश गर्न नसकेको तपाईको इनरुवा, सिराहाको कारोवारलाई कर कार्यालय राजविराजबाट मिति ०२९।९।१५ मा निर्धारण भएको खुद आय समेत यस जनकपुर कारोबारमा कायम गरिएको खुद आयमा समावेश गरी आयकर ऐन, २०३१ को दफा ३३ (२) का आधारमा आयकर फछ्र्यौट आयोगको आदेशानुसार आजको मितिमा पर्चा बमोजिम रु.५८,१००।खुद आय कायम गरी कर निर्धारण गरिएको छ भन्ने विपक्षीको मिति ०३७।१२।५ को आयकर निर्धारण आदेश मिति ०३८।२।१६ मा प्राप्त भएकोमा उक्त आदेश र पर्चा दुवै गैरकानूनी तथा हचुवासमेत भएको प्रष्ट छ । आयकर ऐन, २०३१ को तत्कालिन दफा ३३ (४) अनुसारको प्रकृया अपनाई त्यसको देहायमा उल्लिखित आधारमा खुद आय निश्चित गर्न विपक्षीलाई कानूनी बाध्यता छ । आयकर ऐनको तेश्रो संशोधन मिति ०३७।६।२ देखि मात्र लागू भएको र उक्त ऐनबाट संशोधित दफा ३३ लाई भूतलक्षी असर दिएको देखिँदैन । त्यस्तै यसको अन्य दफालाई पनि भूतलक्षी असर प्रदान नगरी यो ऐन तुरुन्त प्रारम्भ हुनेछ भन्ने सम्म उल्लेख भएकोले तत्कालिन दफा ३३ (४) अनुसार गर्नु पर्ने स्पष्ट छानेर प्रस्तुत केशमा तत्कालिन दफा ३३(४) मा उल्लेख भए अनुसार उचित आधारमा निर्णय नगरी संशोधित दफा ३३ को गलत प्रयोग गरिएको छ । आयकर ऐन, (पहिलो संशोधन) २०३१ मिति २०१९।६।५ मा लागू भैसकेको र त्यसबाट मूल ऐनको दफा १० (३) (क) मा संशोधन  भई कर निरीक्षक वा अरु कसैको तथ्यपूर्ण ठहरिएको गोप्य प्रतिवेदन भन्ने व्यवस्था भएको र सो ऐन पनि ०३१।७।५ मा खारेज भई सोही मितिमा आयकर ऐन, ०३१ लागू भएको र सो ऐनको दफा ३३ (४) को (क) मा पनि उक्त अनुसारको व्यवस्था भएको हुँदा सो दफा ३३(४)(क) बमोजिम कर निरीक्षकको तथ्यपूर्ण ठहरिएको गोप्य प्रतिवेदनको आधारमा मात्र विपक्षीले खुद आय निश्चित गरी कर निर्धारण समेत गर्नु पर्नेमा त्यसो नगरी हचुवा तथा काल्पनिक आधारमा गरिएको र कर फछ्र्यौट आयोग ऐन ३३ को प्रकरण ७ (१) देहाय खण्ड (ग) मा पनि अधिकार सुम्पन सक्ने व्यवस्था भएको र विपक्षीको मिति ०३७।१२।५ को उक्त आदेश तथा पर्चामा आयकर फछ्र्यौट आयोगको आदेशानुसार भन्ने उल्लेख गरेको तथा उक्त कार्य प्रणालीको प्रकरण ७ को देहाय (४) अनुसार सो निर्णय आयोगले गरे सरह भएको भन्ने उल्लेख गरेकोबाट नेपालको संविधान धारा १० (१) धारा ११ (२) धारा १८ तथा धारा ५८ समेतद्वारा सम्पत्ति सम्बन्धी मौलिक हक समेतबाट निवेदक बञ्चित भई सो हक प्रचलन गरी पाउन संविधानको धारा १६ तथा ७१ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भन्ने समेत रिट निवेदकको मुख्य तथ्य तथा जिकिर रहेछ ।

३.    यसमा विपक्षीबाट लिखितजवाफ मगाई नियमानुसार पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको आदेश अनुसार प्रस्तुत हुन आएको लिखितजवाफको संक्षिप्त व्यहोरा यस प्रकारको रहेछ ।

४.    करदाताको आ.ब.०२८।२९ को आयकर निर्धारण गर्दा आयकर निर्धारण ऐन, २०३१ को दफा ३३ (२) प्रयोग गरिएको सम्बन्धमा नेपाल आयकर, ०१९ खारेज भई आयकर ऐन, २०३१ लागू भएको र आयकर ऐन, २०३१ को दफा ६६ मा यो ऐन प्रारम्भ हुँदाका बखतमा नेपाल आयकर ऐन, ०१९ बमोजिम आय विवरण दाखिल गर्न बाँकी भएको दाखिल भएको आयकर असुल उपर गर्न बाँकी भएकोमा समेत यसै ऐन बमोजिम कारवाही हुनेछ भन्ने उल्लेख भएको र आय ऐन, (संशोधन सहित) ०३१ को दफा ३३ (२) अनुसार आयकर निर्धारण भएको र करदातालाई यसरी आय कायम किन नगर्ने भन्ने ऐनमा तोकिए अनुसार सबूत प्रमाण पेश गर्न मौका दिई तोकिएको समयमा कुनै सबूत प्रमाण पेश नगरेकोबाट निजको आयकर ऐन, २०३१ को दफा ३३ (२) बमोजिम आय निश्चित भई कर निर्धारण भएकोले आयकर ऐन, (संशोधन सहित) ०३१ को दफा ३३ (२) अनुसार कर निरीक्षकको प्रतिवेदनलाई आधार लिन सकिने व्यवस्था भएकोले कानूनले तोके अनुसारको तरीका अपनाई कानून बमोजिम आयकर निर्धारण भएकोले निजको रिट निवदन खारेज हुनु पर्छ भन्ने समेत प्र.क.अ.को लिखितजवाफ रहेछ ।

५.    यसमा निवेदक तर्फबाट खटी उपस्थिति हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विपक्षीतर्फबाट खटी उपस्थिति हुनु भएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल समेतको बहस सुनियो । अब निवेदकको रिट निवेदन अनुसारको माग बमोजिम आदेश जारी हुनु पर्ने नपर्ने के हो त्यस तर्फ निर्णय दिनु परेको छ ।

६.    यसमा निर्णय तर्फ विचार गर्दा यसमा न्यायोचित अनुमानद्वारा आय निर्धारण गर्न आयकर ऐनको दफा ३३ (२) अनुसार न्यायोचित अनुमान भएको हो भन्ने कर कार्यालयको लिखितजवाफ पेश भएको जस्तो न्यायोचित अनुमान गर्नलाई आयकर ऐनको दफा ३३ (२) अनुरुपको व्यहोरा देखिनु पर्ने कानूनी व्यवस्था हो त्यस्तो गरेको छ भन्ने मिसिल प्रमाणबाट नदेखिएको हुँदा उक्त ऐनको विपरीत आय निर्धारण गरी कर लाग्ने गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब कानून बमोजिम कारवाही किनारा गर्नु भनी परमादेशको आदेश कर कार्यालय जनकपुरको नाउँमा पठाउनु पर्ने ठर्हछ । जानकारीको निमित्त आदेशको प्रतिलिपि म.न्या.को कार्यालयमा पठाइदिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०३९ साल आषाढ १४ गते रोज २ शुभम् ।



 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु