निर्णय नं. ३४२५ - दर्ता बदर हक कायम समेत
निर्णय नं. ३४२५ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको दे.पु.नं. ४४३
फैसला भएको मिति : २०४४।१२।३।४ मा
पुनरावेदक/वादी : का.जि.का.न.पं. वार्ड नं. १२ बस्ने बद्री डंगोल
विरुद्ध
विपक्षी/प्रतिवादी : गुठी लगत तथा तहसील कार्यालयतर्फबाट कार्यालय प्रमुख बद्रीमान श्रेष्ठसमेत
मुद्दा : दर्ता बदर हक कायम समेत
(१) जुन रेखा सम्बन्धमा भिडाउनु पर्ने अवस्था परिबन्दबाटै नदेखिएको, त्यस्तो कुरालाई आधार प्रमाण मान्न नमिल्ने ।
(प्रकरण नं. १२)
(२) गुठी संस्थान ऐन, ०३३ को दफा ३९ मा गुठीको जग्गा रैकरमा दर्ता भए तापनि गुठीको श्रेस्ताबाट गुठीको जग्गा देखिन आई प्रमाणित हुन आएमा रैकरको लगत कट्टा गरी गुठीको जग्गामा दर्ता गरिने भन्ने व्यवस्था भएको पाइने ।
(प्रकरण नं. १२)
(३) उजूरै नपरेको जग्गालाई गुठी कायम गरेको स्पष्टै गैरकानूनी हुँदा विवादित जग्गाहरूलाई गुठीकै कायम गरी गुठीको जग्गालाई रैकरको जग्गा भनी दर्ता गरेको फैसला नमिलेको उल्टी हुने ।
(प्रकरण नं. १२)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : म.क्षे.अ.को फैसला उपर वादी बद्री डंगोलको निवेदन परी यस अदालतबाट मिति ०४२।४।१६ मा भएको पुनरावेदनको अनुमति दिने आदेशानुसार दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यसप्रकार छ :–
२. साविक कालीमाटी मौजाको मेरा बाजे प्रेमलाल दर्ताको ज.रो. ८ बाबु बाजे पछि मेरो हक हुनआएको सर्भे नापी हुँदा कालीमाटी गा.पं. वार्ड नं. ८(क) को जग्गा पुनवीर, धनमाया, लक्ष्मीनारायण समेतलाई क्रमशः कि.नं.८२, ८३, ८५ को रो. ३–१३–० कि.नं.९६, ९७ को १–३–२, कि.नं.९४, ९८ को ४–२–० समेत जग्गा कमाउन दिएको नापी हुँदा मोहीले किसानको महलमा बद्रिमान डंगोलका नामको याकमहाने खान्गी जग्गा हो भनी झुठ्ठा कुरा लेखी दिएको रहेछ । ज.ध.प्र.पू. माग गरी भू.प्र.का.मा निवेदन गरेको थिएँ । गुठी भनी लेखिदिएको देखेपछि भू.प्र.बाट उक्त जग्गा गुठी हो होइन भनी गुठी संस्थानमा सोद्धा गुठी होइन भनी जवाफ दिएको मेरा नाममा दर्ता पोत भएका जग्गाहरू मेरो नाम कट्टा गरी तलेजु भवानीको याकमहाने गुठीमा जनाई गुठी कायम गर्ने भनी मालबाट ०३८।६।१८ मा सदर गरी गुठीमा दर्ता गरेको उक्त दर्ता बदर गरिपाउँ भन्ने वादीको फिराद दावी रहेछ ।
३. फिरादमा उल्लेख भएका जग्गाहरू याकमहाने खान्गीको गुठी जग्गा हुन्, उक्त जग्गाहरू गुठीमा दर्ता हुन छूट भइरहेकोबाट गुठीको श्रेस्ताबाट दर्ता गरिपाउँ भनी ०१९ सालमा वादीले अर्थमन्त्री समक्ष दिएको निवेदनपत्रमा वादीको कागज समेत गराई छूट गुठीमा दर्ता गर्ने निकाशीको लागि पेश गरेकोमा २०२०।१।३१ मा बागमती अञ्चलाधीशबाट सदर भएको फायलबाट देखिन आउँदछ । भू.प्र.बाट सोधनी भई आएका बखत फायल फेला नपरेको र २०२०।१।३१ को निर्णय अनुसार गुठीको श्रेस्तामा लगत समेत कसिएको कारणहरूबाट गल्ती जवाफ भएको हो भन्ने कुरामा कार्यालयले पनि महसूस गरी सकेको छ । भू.प्र.का.मा जवाफ गई सकेपछि गुुठीमा दर्ता गर्ने निर्णय सहितको फायल फेला पर्न आई तलेजु भवानीको याकमहाने खान्गीको जग्गालाई छूट गुठीको भनी जवाफ दिन भू.प्र.का.लाई लेखी गएको हो । गुठीको जग्गाको ज.ध.द.प्र.पू. गुठीले लिनु पर्ने हुँदा नियमानुसार नै ज.ध.द.प्र.पू. गराई लिएको हो भन्ने समेत गुठी लगत तथा तहविल कार्यालयको प्रतिउत्तर जिकिर रहेछ ।
४. वादीले भनेको जग्गा के कस्तो जग्गा हो भन्ने कुरामा गुठीको लगत रहने गुठी लगत तथा तहविल कार्यालयबाट यथार्थ हुन आउने कुरा हो । जग्गाका सम्बन्धमा भू.प्र.का.र गुठी कार्यालयहरूको बीच परस्परमा लेखाएपछि भएको कुरा सम्बन्धित फायलको अवलोकनबाट देखिन सक्ने कुरा हुन र गुठीको जग्गा रैकरमा दर्ता हुन गएको गुठीको श्रेस्ताबाट देखिन आएमा गुठी संस्थानले त्यस्तो जग्गा गुठीमा दर्ता गराउन र रैकरको लगत कटाउन सक्छ गुठी संस्थानबाट अनधिकृत कारवाही हुन गएको छैन भन्ने समेत गुठी संस्थान केन्द्रीय कार्यालयको प्रतिउत्तरपत्र रहेछ ।
५. वादीको दर्ता बदर गरेको र गुठी दर्ता गरेको समेत कार्य बदर भई वादीको दर्ता कायम हुने ठहर्छ भन्ने वा.अं.अ. को ०४०।४।१० को फैसला रहेछ ।
६. उक्त वा.अं.अ. को फैसला उपर चित्त नबुझेकाले बागमती अञ्चल अदालतको इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको गुठी लगत तथा तहविल कार्यालयले म.क्षे.अ. मा गरेको पुनरावेदन ।
७. गुठी संस्थान ऐन, ०३३ को दफा ३९ ले गुठी जग्गा रैकरमा दर्ता भएको श्रेस्ताबाट प्रमाणित हुन्छ भने गुठीमा दर्ता भई रैकरमा दर्ता गरेको लगत कट्टा हुनेछ भन्ने व्यवस्था भएकोबाट वादीको नाममा रैकर भनी दर्ता हुन गएको जग्गा गुठीकै भन्ने प्रमाणबाट देखिन आएमा गुठीमा दर्ता भई रैकरको दर्ता कट्टा हुनसक्ने नै देखिन आउँछ । विवादित जग्गा वादीको हक कायम भई दर्ता कायम हुने र गुठीको नाममा दर्ता गरेको बदर हुने भन्न मिल्ने समेत नदेखिँदा वादी दावी पुग्न सक्तैन । वा.अं.अ. को इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को फैसला रहेछ ।
८. उक्त म.क्षे.अ. को फैसलामा अ.बं. ७८ नं. समेतको त्रुटी हुँदा चित्त बुझेन सो इन्साफ उल्टी गरिपाउँ भन्ने समेत व्यहोराको बद्री डंगोलले पुनरावेदनको अनुमतिको लागि यस अदालतमा दिएको निवेदन रहेछ ।
९. यस अदालतबाट मिति ०४२।४।१६ मा २०१९ सालको निवेदन प्रत्यवादी निवेदकलाई नदेखाई नसुनाई निजको विरुद्ध प्रमाण लगाई गरेको म.क्षे.अ. को निर्णय अ.बं. ७८ नं. को प्रत्यक्ष त्रुटी भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको आदेश रहेछ ।
१०. नियमबमोजिम साप्ताहिक एवं दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता हरिशंकर निरौला तथा कमलनारायण दास र विपक्षीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता शोभाकर उपाध्यायले गर्नु भएको बहस सुनी म.क्षे.अ.ले गरेको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपरेको छ ।
११. यसमा वादी बद्री डंगोलले भूमिप्रशासन कार्यालयमा दर्ता गरिपाउँ भनी निवेदन दिंदा समेत साविक कालिमाटी मौजाको मेरा बाजे प्रेमलालका नाम दर्ताको हा.नं. ५२८ को रैकर जग्गा हो । २०२२ सालमा सर्भे नापी हुँदा मोहीले किसानको महलमा बद्रिमान डंगोलका नामको याकमहाने खान्गी जग्गा हो भनी झुठ्ठा कुरा लेखी दिएको रहेछ भन्ने कुरा समेत उल्लेख गरी निवेदन दिएपछि कार्यवाहीको सिलसिलामा भूमि प्रशासनबाट उक्त विवादीत जग्गा उल्लेख भए बमोजिमको गुठी जग्गा हो होइन भनी पत्र लेखी विपक्षी गुठी संस्थानलाई मिति ०३३।६।१३ र ०३३।८।१७ मा सोध्दा पनि गुठी तहसील कार्यालयले यस कार्यालयको श्रेस्तामा बद्रिमान डंगोलको नाममा याकमहाने खान्गी दर्ता भएको नदेखिएको भनी ०३४।१।३१ मा भूमिप्रशासनलाई जवाफ दिएको देखिन्छ । पोता तिरेको रसिद तथा दर्ता समेत भिडाई, गुठीमा दर्ता नदेखिएको भन्ने तहसीलको जवाफ प्राप्त भए पश्चात भूमिसुधार कार्यालयले वादी बद्री डंगोलका नाममा दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा समेत वादीलाई दिएको देखिन्छ । ०३४ सालमा जग्गाधनी दर्ता प्रमाण पूर्जा पाइसकेपछि ०३८ सालसम्म वादीले तिरो तिरेको समेत रसिदबाट देखिन्छ ।
१२. मिति २०१९ सालमा वादी बद्री डंगोल भनेका बद्रिमान डंगोलले अर्थमन्त्री समक्ष दिएको भनेको निवेदनको सम्बन्धमा विचार गर्दा उक्त निवेदनमा लागेको सहीछापको रेखा बद्री डंगोलले यस अदालतमा दिएको निवेदनमा लागेका ल्याप्चे सहीछापबाट भिडाउदा पनि विशेषज्ञले स्पष्ट रुपले रेखा मिल्छ भिड्छ भन्न नसकेको जुन रेखा सम्बन्धमा भिडाउनु पर्ने अवस्था परिबन्दबाटै देखिएको थिएन, त्यस्तो कुरालाई आधार प्रमाण मान्न नमिल्ने देखिन्छ । गुठी संस्थान कार्यालय तथा विपक्षी तरीमाई महर्जन समेतले यो जग्गा साविक देखि हालसम्म यसरी रहेको यो प्रमाणबाट गुठीको जग्गा हो भनी देखाउन, प्रमाणित गर्न नसकेको र गुठी संस्थान ऐन, ०३३ को दफा २ को (घ) अनुसारको राजगुठी वा (ङ) अनुसारको छूट गुठी जग्गा हो भन्ने पनि कुनै ठोस प्रमाण देखिँदैन साथै दफा २० अनुसार निजी गुठीका यी यी दाताबाट राजगुठीमा दर्ता हुन आई सञ्चालन भएको जग्गा हो भनी गुठी संस्थान तथा तरीमाई समेतले भन्न देखाउन सकेको छैन । उक्त गुठी संस्थान ऐन, ०३३ को दफा ३९ मा गुठीको जग्गा रैकरमा दर्ता भए तापनि गुठीको श्रेस्ताबाट गुठीको जग्गा देखिन आई प्रमाणित हुन आएमा रैकरको लगत कट्टा गरी गुठीको जग्गामा दर्ता गरिने छ भन्ने व्यवस्था छ । तर विवादित जग्गा गुठीको देखिने कुनै ठोस सबूद प्रमाण देखिँदैन र गुठीको लगत श्रेस्तामा दर्ता छैन भनी पटक पटक आफूले जवाफ दिई भूमिसुधार कार्यालयबाट साविक रैकर हा.नं. ५२८ को लगत भिडाई दर्ता गरेको कुरालाई बदर गराउने तर्फ कुनै कारवाही नचलाई बदर नगराई अहिले एकाका नाममा दर्ता भएका विवादका जग्गाहरू गुठीमा दर्ता गर्ने गरेको र उजूरै नपरेका कि.नं.९६, ९७ का जग्गालाई समेत गुठी कायम गरेको स्पष्टै गैरकानूनी हुँदा म.क्षे.अ.ले विवादित जग्गाहरूलाई गुठीकै कायम गरी बद्री डंगोलले गुठीको जग्गालाई आफ्नो रैकरको जग्गा भनी दर्ता गरेको ठहर्छ भनी गरेको फैसला नमिलेकोले उल्टी हुन्छ । वादी बद्री डंगोलको रैकर दर्ता बदर गरेको र गुठी दर्ता गरेको समेत सम्पूर्ण कार्य बदर भई वादीको ०३४।२।२८।६ को दर्ता कायम हुने ठहर्याएको बागमती अञ्चल अदालतको मिति ०४०।४।१०।३ को इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.ले गरेको फैसला उल्टी भई बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहरेकाले म.क्षे.अ. को मिति ०४२।३।३ को फैसलाले मिति ०४२।७।२२ कायम गरेको लगत कट्टा गरी वा.अं.अ. को मिति ०४०।४।१० को फैसलाले भने बमोजिम मिति ०४०।७।११।६ को लगत कायम राख्नु भनी का.जि.अ.त मा लगत दिनु.... १ पु.वे. वादी बद्री डंगोलको माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले निजले यस अदालतमा पुनरावेदन गरे बापत कोर्टफी रु.२२०।५० राखेकाले सो रकम फिर्ता पाउँ भनी कानूनका म्यादभित्र दर्खास्त दिए प्रत्यवादी गुठी संस्थान केन्द्रीय कार्यालय तथा गुठी संस्थान, गुठी लगत तहविल कार्यालय भद्रकालीबाट वारवारका दरले केही दस्तूर नलिई भराई दिनु भनी का.जि.अ.त. मा लगत दिनु ....२, म.क्षे.अ. को फैसला बमोजिम वादी बद्री डंगोलले कोर्ट फी रु.२२३।५० धरौटी राखेको र उक्त म.क्षे.अ. को ०४२।३।३।२ को फैसला उल्टी हुँदा निजले फिर्ता पाउँ भनी कानूनका म्यादभित्र दर्खास्त दिएमा फिर्ता खर्च लेखी दिनु भनी का.जि.अ.त. मा लगत दिनु र मिसिल नियमबमोजिम बुझाई दिनु ..................................३
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४४ साल चैत्र ३ गते रोज ४ शुभम् ।