शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४२६ - दर्ता बदर

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४२६ ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पू.नं. ५५१, ५५२

फैसला भएको मिति : २०४५।३।९।५ मा

 

पुनरावेदक/प्रतिवादी : जि.पर्सा, वीरगंज न.पं. वडा नं ११ बस्ने सूर्यमान श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ बस्ने अमरदेवी श्रेष्ठ

 

पुनरावेदक/वादी : ऐ.ऐ बस्ने अमरदेवी श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने सूर्यमान श्रेष्ठ

 

मुद्दा : दर्ता बदर

 

(१)                 शर्तनामा सहितको हालैको बकसपत्र हुँदा शर्तनामाको पालना नभएमा दाताले बकसपत्र बदर गराउन पाउँदैन भन्नालाई शर्त राखी बकसपत्र दिन पाइन्न भन्ने अर्थ निस्कने, यसरी शर्त राखी बकस दिन पाइन्न भन्न नमिल्ने ।

(प्रकरण नं.  १७)

(२)                 घर बनाई सकेपछि लिखत बमोजिमको घर जग्गा पक्का भयो भनी शर्तको बन्देज तोड्ने र आफ्नो पुज्यनीय बज्यैलाई घरबाट निकाला गर्ने साहस गर्न पाउँछ भन्नु कानून र न्यायिक कुरा होइन । दान वक्स बमोजिम भएन भनी जिकिर लिंदै यसप्रकारको वेदामको लेनादेनामा वादीले प्रमाणित गर्नुपर्छ भन्ने कुरा पनि न्याय संगत नहुने ।

(प्रकरण नं.  १७)

(३)                 शर्त बमोजिम नभएमा मुद्दा लडी ७४।७५ वर्षकी बुढीलाई वादी प्रतिवादी गरी हिंडी शर्त कायम गराउनु पर्छ भन्नलाई न्याय, व्यवहार र विवेक समेतले नमिल्ने ।

(प्रकरण नं.  १७)

(४)                 घरसारमा शर्तनामा भएको र मिलापत्रबाट समर्थित भएको साथै तत्काल बकसपत्र दिए तापनि शशर्त वक्स दिएको, सो शर्त पालन नभएमा बकसपत्र बदर हुनसक्ने नै हुँदा पक्की घर बनाएको भन्ने आधारमा सो घरको वलेसी सम्मको जग्गाको हकमा बकसपत्र बदर हुन नसक्ने भन्ने म.क्षे.अ. को फैसला  त्रुटिपूर्ण भएकाले केही उल्टी हुने ।

(प्रकरण नं.  १७)

 

पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल

पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.     जिल्ला पर्सा वीरगंज न.पं. वडा नं. ११ को कि.नं.१७७ को पूर्व कृष्णमान, पश्चिम जनकमान, उत्तर मेवालाल, दक्षिण सडक यति ४ किल्ला भित्रको पूर्व पश्चिम चौडा ११, १० उत्तर दक्षिण लम्बाई ७० को ०४ जग्गा र सो जग्गामा भएको खपडा घर समेत तपाईको आजन्म सेवा गर्छु भनी विपक्षले भनेकाले मिति ०३६।६।७ मा बकसपत्र गरिदिएकोमा मिति ०३८।६।१५ मा विपक्षीले मलाई घरबाट निकाला गरेकोमा मैले बकसपत्र बदर मुद्दा दिई मिति ०३६।६।७ को शर्त पालना गर्छु भनी मिलापत्र समेत भएको थियो तर यही ज्येष्ठ २५ गते देखि फेरी मलाई घरबाट निकाला गरेकोले प्र.लाई मिति ०३६।६।७ मा गरिदिएको हालै देखिको बकसपत्र र प्र. को नाउँमा भएको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको अमरदेवी श्रेष्ठको मिति ०३९।३।१७।५ को फिरादपत्र ।

३.     दान वक्सको महलमा हालै गरिदिएको बकसपत्र बदर गराउन पाउने कानूनी व्यवस्था नहुँदा प्रस्तुत फेरादमा अ.बं. ३६ नं. र करार ऐनको दफा १८ लागू हुन सक्दैन बजैले मलाई वक्स गरिदिएको खपडाको घर अब खपडाको नभई मैले कयौं रुपैयाँ खर्च गरी पक्की घर बनाई बसेको छु साथै बजैको सेवा टहल समेत गरिआएको नै छु भन्ने समेत व्यहोराको सूर्यमान श्रेष्ठको प्रतिउत्तरपत्र ।

४.     हालैको बकसपत्र बदर गराउन पाउने कानूनी व्यवस्था भएको नदेखिएको खाने लाउनेतर्फ वादीको उजूर गरेका बखत मिति ०३६।६।७ को कागज र मिति ०३९।१।१४ को मिलापत्र अनुसार ठहरे बमोजिम हुने नै हुँदा प्रस्तुत वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति ०४०।७।१३।१ को फैसला ।

५.     विद्यमान लेखत र मिलापत्रलाई बेवास्ता गरी निराधार बुँदा लगाई गरेको शुरुको फैसला उल्टाई फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी अमरदेवी श्रेष्ठको मिति ०४०।८।१६ मा नारायणी अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

६.     शर्त कबूलियत र मिलापत्रलाई मान्यता दिई सो शर्त करारनामा अनुकूलको क्रिया नगरे नभएको देखिएपछि तद्अनुकूलको क्रिया गर्न गराउन पर्ने कार्यलाई इन्कार गरी गरेको शुरु फैसला मिलेको नदेखिँदा शुरु पर्सा जिल्ला अदालतको फैसला उल्टी भई वादी दावी बमोजिम बक्सपत्र लेखत एवं दर्ता बदर भई वादीका नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४१।७।२९।४ को नारायणी अञ्चल अदालतको फैसला ।

७.     अञ्चल अदालतको फैसला प्रत्यक्ष विवादरहित त्रुटिपूर्ण भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने सूर्यमान श्रेठको निवेदन परेकोमा अनुमति दिइएको छ भन्ने म.क्षे.अ. को मिति ०४१।८।२० को आदेश ।

८.     यिनै वादी प्रतिवादी बीच यसै बकसपत्र र शर्तनामा सम्बन्धीमा पर्सा जिल्ला अदालतबाट मिति ०३९।१।१४ मा भएको मिलापत्रमा ०३६।६।७ मा गरी  दिएको शर्तनामा मान्ने छु भनी शर्तनामालाई मान्यता प्रदान गरेको देखिन्छ । बजै अमरदेवीको हेर विचार गरिरहेको भनी पुष्टी हुनसक्ने आधार प्रमाण समेत गुज्रन आएको नदेखिँदा घर बलेसी बाहेकको बक्सपत्रका जग्गाको लिखत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति ०४३।९।२१ को फैसला ।

.     मिलापत्र बमोजिम गरिदिएमा मिलापत्र बमोजिम गरिपाउँ भन्ने फिराद नभई लिखत बदर गरिपाउँ भनी परेको फिराद हुँदा मिलापत्र हुनु अगावै भएको लिखत स्वयंको कारणले मात्र बदर हुनसक्ने कुरा हो पछि भएको घरसारी लिखत वा मिलापत्रको आधारमा पहिले भएको कानून बमोजिमको लिखत बदर गर्न नमिल्ने हुँदा म.क्षे.अ. को त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी सूर्यमान श्रेष्ठ तथा सो पक्का घरको बलेसीसम्म विपक्षीको भनी घर बनाउनेका १ नं. को त्रुटिपूर्ण व्याख्या भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी अमरदेवी श्रेष्ठको यस अदालतमा परेको निवेदनपत्र ।

१०.    यसमा दानबकसको व्यवस्थाबाट हालैको बकसपत्र बदर गराउन पाउने व्यवस्था नभएको र मुद्दामा देखाइएका परिस्थितिमा हालैको बक्सपत्र बदर गराउन पाउने नपाउने भन्ने कानूनी व्याख्या सम्बन्धी प्रश्न समावेश हुनुको साथै ठगी कायम गरी बक्सपत्र बदर नजीर पनि ठीक मिलेको नदेखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने प्रतिवादीको निवेदनमा र सम्बन्धित बक्सपत्र बदर गर्न पाउने भए पूरै बक्सपत्र बदर हुनु पर्नेमा घर भएको जति बदर नगरेको कानूनी व्याख्या सम्बन्धी त्रुटी देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने वादीको निवेदनमा यस अदालतबाट मिति ०४४।३।१६ मा भएको छुट्टा छुट्टै आदेश ।

११.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता चुडामणिराज सिंह मल्ल तथा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालय एवं विद्वान अधिवक्ता श्री गणेशराज शर्माले गर्नु भएको बहस समेत   सुनियो ।

१२.    यसमा वादी अमरदेवी श्रेष्ठले प्रतिवादी सूर्यमान श्रेष्ठलाई मिति ०३६।६।७ मा हालै देखिको बक्सपत्र गरिदिएको र सोही दिन यी वादी प्रतिवादीले आपसमा शर्तनामाको कागज गरेको र उक्त शर्तनामामा तपाई बजै अमरदेवी श्रेष्ठको साथ सगोलमा बसी तपाईको सेवा, टहल, खान, पिन, औषधि उपचार इत्यादि सबै रेखदेख मैले नै गर्नेछु, कुनै किसिमको दुःख तकलिफ दिने छैन र मरेपछि काजकृया पनि मैले नै गर्नेछु । तपाइको हेर विचार इत्यादि नगरी खान लगाउन समेत नदिई दुःख दिएको खण्डमा तपाइले मलाई रजिष्ट्रेशन पारित गरिदिनु भएको लिखत बदर गरी लिन पाउनु हुनेछ भन्ने समेतको बोली पारी शर्तनामाको कागज गरेको र सो कागजमा उल्लेख भएका शर्त अनुकूल गरेन भन्ने समेतको व्यहोरा उल्लेख गरी यिनै वादीले यिनै प्रतिवादी उपर दिएको बक्सपत्र लिखत बदर मुद्दामा यि दुबै पक्षहरूले पर्सा जिल्ला अदालतमा मिति ०३९।१।१४ मा मिलापत्र गर्र्दा मिति ०३६।६।७ को शर्तनामाको सबै शर्तपालना गर्ने भनी शर्त राखी वादी दावी छाडी मिलापत्र भएको देखियो । यसरी घरसारमा भएको शर्तनामा अनुकूल गर्ने गरी प्रतिवादीले अघिको क्रियाकलाप माफी मागी सो शर्तनामा कायमै रहने गरी मिलापत्र गरेको कुरालाई प्रतिवादीले इन्कार गर्न सकेको पाइँदैन ।

१३.    यसरी शर्तनामालाई पछि भएको मिलापत्रले समर्थन र स्वीकार गरी पुष्टि गरी सकेकाले यो शर्तनामा सहितको बक्सपत्र हो भन्ने कुरामा विवाद रहेन । यस्तो शर्तनामा सहितको हालैको बक्सपत्र हुँदा शर्तनामाको पालना नभएमा दाताले बकसपत्र बदर गराउन पाउँदैन भन्नलाई शर्त राखी बक्सपत्र दिन पाइन्न भन्ने अर्थ निस्कन्छ, यसरी शर्त राखी बक्स दिन पाइन्न भन्न मिल्दैन ।  दान वक्सको ५ नं. ले कल्पना गरेको किसिमको बकसपत्र यो होइन भन्ने कुरा शशर्त रुपमा तयार गरिएको बकसपत्रको बनावटबाटै देखिन्छ । बक्सपत्र गर्दाको समयमा भएको खपडाको घर हाल नभई मैले कैयौंै रुपियाँ खर्च गरी पक्की घर बनाई सकेको छु भन्ने प्रतिवादी जिकिरको सम्बन्धमा विचार गर्दा प्रतिवादीले खपडाको घरलाई पक्की बनाएको छ भनी जिकिर लिँदैमा शर्त सहितको लिखत गरेको अवस्थामा दाताको जग्गामा हक दैया पुग्दैन भन्न मिल्दैन । प्रतिवादीले बक्सपत्र पाएको घर जग्गाको स्थिति बदल्नु भन्दा पहिले विचार गर्नुपर्ने हो । साथै घर बनाई सकेपछि अब मेरो लिखत बमोजिमको घर जग्गा पक्का भयो भनी शर्तको बन्देज तोड्ने र आफ्नो पूज्यनीय बैज्यलाई घरबाट निकाला गर्ने साहस गर्न पाउँछ भन्नु कानून र न्यायिक कुरा होइन । साथै दान बक्स बमोजिम भएन भनी जिकिर लिँदै यसप्रकारको बेदामको लेनादेनामा वादीले प्रमाणित गर्नुपर्छ भन्ने कुरा पनि न्यायसंगत होइन । शर्त बमोजिम नभएमा मुद्दा लडी ७४।७५ वर्षकी बुढीलाई वादी प्रतिवादी गरी हिंडी शर्त कायम गराउनु पर्छ भन्नलाई न्याय, व्यवहार र विवेक समेतले मिल्दैन । प्रतिवादीले शर्तनामामा उल्लेख भएका शर्तहरू पालना गरेको भएमा बृद्ध वादीले मुद्दा दिनुपर्ने स्थिति नै श्रृजना हुने थिएन । यसरी न्यायको रोहबाट पनि उक्त बक्सपत्र बदर हुने नै देखिन्छ । तसर्थ घरसारमा शर्तनामा भएको र मिलापत्रबाट समर्थित भएको साथै तत्काल बक्सपत्र दिए तापनि शशर्त बक्स दिएको, सो शर्त पालन नभएमा बक्सपत्र बदर हुनसक्ने नै हुँदा पक्की घर बनाएको भन्ने आधारमा सो घरको बलेसीसम्मको जग्गाको हकमा बक्सपत्र बदर हुन नसक्ने भन्ने म.क्षे.अ.को फैसला त्रुटिपूर्ण भएकोले केही उल्टी हुन्छ । अतः वादी दावी बमोजिम बकसपत्र लिखित एवं दर्ता बदर भई वादीका नाममा दर्ता हुने ठहर्‍याएको नारायणी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी सूर्यमान श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक वादी अमरदेवी श्रेष्ठके, माथी इन्साफ खण्डमा लेखिए बमोजिम बकसपत्र लिखित एवं दर्ता बदर हुने ठहरेकाले म क्षे.अ को मिति ०४३।९।२१ को फैसलाले कायम रहेको लगत कट्टा गरी वादी दावीको मिति ०३६।६।७ को बक्सपत्र लिखत बदर गरी दर्ता गरिपाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त पर्न आए वादीका नाममा दर्ता गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा पर्सा जिल्ला अदालत मार्फत लेखिपठाउन का.जि.अ. मा लगत दिनु ...........१

माथी इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले वादीले फिराद गर्दा राखेको कोर्टफी रु.२० तथा ना.अं.अ. मा पुनरावेदन गर्दा राखेको रु.४।५० र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२।२५ प्रतिवादीबाट भरी ऐनका म्यादभित्र वादीको दर्खास्त परे केही दस्तुर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त मा लगत दिनु ......................२

मिसिल नियमबमोजिम गरी बुझाई दिनु .........................................................३

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल असार ९ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु