शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४२७ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४२७ ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पू.नं. ५२०

फैसला भएको मिति : २०४५।२।४।३ मा

 

पुनरावेदक/प्रतिवादी : कारागार शाखा वझाङमा थुनामा रहेको गोरखबहादुर अधिकारी समेत

विरुद्ध

विपक्षी/वादी : मन गिरी खड्काको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                 गाउँका जान्ने बुझ्ने र प्र.पं. समेत भएकाको धम्की र हप्काईमा परेर तास खेली जितेको पैसा लिई जान दिनबाट रोक्नसम्म भनी मद्दत दिंदा दिंदै वारदातको गम्भीर्यता बढ्न गई कर्तव्य ज्यानको अपराध घट्न गएको अवस्थामा प्रतिवादीहरूलाई कानून बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा निजहरूको हकमा अ.वं. १८८ नं. बमोजिम जनही कैद वर्ष १५ मात्र हुने ।

(प्रकरण नं.  ४४)

 

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्रतिवादीहरूको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निर्णय निम्नानुसार छ ।

२.     दाजु पैमसिं खड्का जंगे साउदसंग मेसि बिक्री गरेको पैसा लिन भनी ०४० फाल्गुण २८ गतेका दिन गई फर्की नआएकोले खोजतलास गर्दा सरानी खोलाको नजिकै मृतक लाश फेला परेकोमा जंगे साउद उपर शंका लागेकोले कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

३.     लाश किरा परेको हालतमा रहेको र गुदद्वारबाट मल निस्केको निजले लिने गरेको आँसी भेटिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.     प्र.पं. गोरखबहादुर समेत भई धर्म सिंह खड्काले कर्तव्य गरी मारेको भन्ने कुरा बुझिएकोले जाहेर गरेको छु भन्ने समेत प्र. हर्कबहादुर शाहको प्रतिवेदन ।

५.     ०४०।११।२८ गते साँझ प्र.पं. गोरखबहादुर अधिकारीको घरमा थिएँ । प्रेमसिंह खड्का, धर्मे, रनसिंगे, कालु भन्मामे, रनसिंगे सार्की समेतले मासु रक्सी खाई मृतक प्रेमसिंह, धर्मे, रनसिंगे अधिकारी समेत तास खेल्न लागेका हामी बसेको थियौं तास खेल्दा खेल्दै निजहरूको झगडा भएको थियो । प्रेमसिं खड्काले उधारी तास खेल्न नमञ्जूर गरेकोले धर्मे अधिकारीले समातेकोमा दुबैको लछार पछार भई प्र.पं. ले मृतक उपर आँसी प्रहार गरी हामी सबैले प्रेमसिंलाई कुटपीट गरी निजको मृत्यु भएपछि पैसा निकाली कालु सार्की समेतले लाशलाई बाँधी लाश फाली आआफ्नो घरतर्फ लाग्यौं भन्ने समेत मनबहादुर अधिकारीको प्रहरीमा भएको   कागज ।

६.     ०४०।११।२८ गते मृतकसँग तास खेली पैसा जित हार भएकोमा निज मृतक घर जान लाग्दा गर्धनमा आँसीले हानी मारेको हो सो अपराधबाट उम्कन पैसा उठाई सुर्यबहादुर खड्कालाई दिएको छ भन्ने समेत प्रतिवादी प्र.पं. गोरखबहादुर अधिकारीको प्रहरीमा भएको कागज ।

७.     २०४०।११।२८ गते मृतक समेत भई रक्सी खाई तास खेल्न लागेकोमा पैसा मृतकले जिती घर जान  लागेकामा र प्र.पं. ले आँसीले मृतकलाई हिर्काई मन अधिकारी समेतले लात मुक्काले हानी मृत्यु भई रनसिंगे अधिकारीले भने बमोजिमको ठाउँमा लाश म समेत भई फालेको हुँ भन्ने समेत भन्मामे सार्कीको प्रहरीमा भएको कागज ।

८.     ०४०।११।२८ गते मृतक साथ तास खेली रुपैयाँ मृतकले जिती घर जान लाग्दा रोकावट गर्दा लछार पछार भई प्रेमसिंले बोकेको आँसी झिकी निजलाई हानी प्र.पं. ले समेत मद्दत गरी निजको मृत्यु भई लाश फाली सो कसूरबाट जोगिन पुनः नगदी समेत दिएको भन्ने समेत धर्म अधिकारीको कागज ।

९.     मासु रक्सी समेत प्र.पं. को घरमा खायौं तास खेल्न शुरु भयो रुपैयाँ मृतकले जिती आफ्नो घर जान लाग्दा विवाद भई सोही ठाउँमा धर्मे अधिकारी र प्र.पं. गोरखबहादुरले मृतकलाई आँसीले हानी मारी रनसिंगे अधिकारीले भने बमोजिम लाश फालेका हौं भन्ने समेत रनसिंगे सार्कीको कागज ।

१०.    तास खेल्दा रुपैयाँ जिती फर्किन लाग्दा मृतकलाई सबैले कुटी निजको मृत्यु भई लाश फालेको हो भन्ने समेत कालु सार्कीको कागज ।

११.    तास खेलेर पैसा जिती फर्कन लाग्दा मृतक नरोकिंदा रीस उठी सोही अवस्था आँसी प्रहार गरी निजको मृत्यु भई लाश फालेको हो भन्ने समेत रनसिंगे अधिकारीको कागज ।

१२.    सूर्यबहादुर खड्का समेतले अपराध दबाउने कार्य गरेको हुन भन्ने समेत मृतककी श्रीमती काल्ची खड्काको कागज ।

१३.    मृतकसंग मेरो कुनै रीसइवि छैन । म प्रति उजूर शंकाबाट सम्म गरेका हुन् भन्ने समेत जंगवीर साउँदको कागज ।

१४.    प्रेमसिंलाई मारी लाश फाली सो कार्य दबाउने छिपाउने प्र.पं. सूर्यबहादुरले गरेको हुन् भन्ने समेत सरजमीन मुचुल्का ।

१५.    प्रेमसिं खड्कालाई कसूर गरी मारेको प्र.पं. गोरखबहादुर अधिकारी समेत सावित भएकाले निज गोरखबहादुर अधिकारी समेत जना ७ लाई मु.ऐ. १३(३) बमोजिम र मृतकको लाश दबाए छिपाएमा उप प्र.पं सूर्यबहादुरलाई ज्यान सं. को २५ नं. बमोजिम सजायँ हुन र नगदी भा.रु. ४२२५ सुन तोला ५ समेत र आँसी समेत दाखेला गरेका छौं भन्ने समेत प्रहरी प्रतिवेदन ।

१६.    दाखेल भएको सुन नगदी हाम्रो हो मृतक मेरा घट्टमा मरेकोमा मलाई केही हुन्छ कि भनी लाश सरानी खोलामा फाल्न लगाएको हुँ मार्नमा मेरो हात छैन भन्ने समेत प्र.पं. गोरखबहादुर अधिकारीको अदालतमा बयान ।

१७.    प्रेमसिं खड्कालाई मार्ने मराउनेमा मेरा हात छैन लाश फालेको कुरा मलाई थाहा छैन भन्ने समेत रनसिंगे अधिकारीको अदालतमा भएको बयान ।

१८.    प्रेमसिं खड्काको मृत्यु भएको लाश मेरा घट्ट नजिक रहेको सो लाश अनेत्र लगी फाल्नु भयो भन्ने कुरा प्र.पं. ले भनेकाले मृतकको लाशलाई सो ठाउँबाट लाश उठाई सरानी गाड खोलाको पुलको बाटोमा म समेत भई लाश फालेको हो भन्ने मनबहादुर अधिकारीको अदालतमा भएका बयान ।

१९.    मृतकको लाश हाम्रो घर गाउँमा फेला परेपछि हामी माथि शंका हुन्छ भनी सो लाश सरानी खोलामा फालेका हौं भन्ने समेत धर्मे अधिकारीको बयान ।

२०.    प्र.पं. ले लाश सरानी खोलामा फाल्नु पर्छ भन्ने सल्लाह दिई सरानी खोलामा फालेका हौं भन्ने समेत कालु सार्कीको अदालतमा भएको बयान ।

२१.    प्र.पं.ले र निजको भाइ डम्बरबहादुरले लाश नफाले तेरो कर्तव्यबाट मरेको हो भन्ने ज्यान मुद्दामा पार्नेछु भनेकाले लाश फाल्न गएको हुँ भन्ने समेत मन्नामे सार्कीको अदालतमा भएको बयान ।

२२.    लाश फाल्न नगए तिमी माथि ज्यान मुद्दा  लाग्ला भन्ने प्र.पं. ले र निजको भाइले भनेकाले लाश फाल्न गएको हुँ भन्ने समेत रनसिंगे सार्कीको अदालतमा भएको बयान ।

२३.    अपराधबाट बच्न पैसा उठाएको र लिई खाएको समेत छैन प्रेमसिंलाई प्रतिवादीहरूले ज्यान मारेकोमा शंका लागेको छ ३ जना सार्की प्रति मेरो शंका छैन भन्ने समेत उ.प्र.पं. सूर्यबहादुर खड्काको अदालतमा भएको बयान ।

२४.    प्रेमसिं मरेको ज्यान मुद्दामा कुनैको कारवाई गरेको र लिए खाएको समेत छैन भन्ने समेत चन्दसिं रोकायाको अदालतमा भएको बयान ।

२५.    प्रेमसिंहको मृत्यु भएको समय म भारतमा भएकोले मलाई कुनै कुरा थाहा छैन भन्ने समेत बहादुर सिं खड्काको अदालतमा भएको बयान ।

२६.    प्रेमसिंको मृत्यु बारे मलाई कुनै कुरा थाहा छैन सुनतोला ६ मैले दिएको छैन प्र.पं. ले प्रहरीमा बयान किन गरे निजै जानुन् भन्ने समेत गेडे वोराको अदालतमा भएको बयान ।

२७.    प्र.पं. ले मलाई दिएको झोला स्कुलको योजनाको पैसा हो भनी राखी दिएको हुँ अपराध दबाए छपाएको हैन मनबहादुर अधिकारीलाई बचाउने कार्य गरेको छैन भन्ने समेत नन्द सिं अधिकारीको अदालतमा भएको बयान ।

२८.    प्रेमसिं मरेको कुरा मलाई थाहा छैन सो अपराध दबाउन भनी प्र.पं. ले सुनतोला १ को लुडकी मसंग मागी लिएका हुन् भन्ने समेत डवले अधिकारीको बयान ।

२९.    मेरो छोराले प्रेमसिंलाई मारेको भन्ने कुरा बुझिन्छ रुपैयाँको कुरो मलाई थाहा छैन भन्ने धर्मसिंको बाबु कालु अधिकारीको अदालतमा भएको बयान ।

३०.    प्रेमसिंलाई गोरखबहादर, धर्मे अधिकारी समेत भई ज्यान मारेको कुरा शंका लाग्छ नाम नचिनेको ५ जनालाई लाश बोकी फालेको भन्ने कुरा भिरुबाट सुनेको हुँ उ.प्र.पं. ले दबाएको छिपाएको कुरो थाहा छैन भन्ने समेत जाहेरवाला मनगिरी खड्काको बकपत्र ।

३१.    प्र.पं.र धर्मेसिंउपर ज्यान मारेकोमा शंकालाग्छ उ.प्र.पं.सूर्यबहादुरले अपराध दबाएर रुपैयाँ लिएको शंका लाग्दैन भन्ने समेत उ.प्र.पं. सूर्य बहादुर खड्काको साक्षी कैसे दमाई समेतको बकपत्र ।

३२.    चन्द्रसिं रोकाया वारदात समय भारतमा भएकोले अपराध दवाएको छैनन् भन्ने समेत चन्द्रसिंका साक्षी मनिराम आउजो समेतको बकपत्र ।

३३.    प्रेमसिंको अपराध दबाउन बहादुर सिं खड्का सहमत थिएन भन्ने समेत मोति सिं रोकाया समेतको बकपत्र ।

३४.    गेडे बाँडाले ज्यान मारेको कुरा दबाएको हैनन् भन्ने समेत नैनसिं वोहरा समेतको बकपत्र ।

३५.    कालु अधिकारीले ज्यान मारेको कुरा दबाएका हैनन् भन्न जैसि वोहरा समेतको बकपत्र ।

३६.    प्रेमसिंको ज्यान गोरखबहादुर र धर्म अधिकारीले मारेकोमा शंका लाग्छ अरु उपर शंका लाग्दैन भन्ने समेत सरजमीन कर्णबहादुर खड्का समेतको बकपत्र ।

३७.    प्र.पं गोरखबहादुर समेतले मृतक प्रेमसिं खड्कालाई कर्तव्य गरी मारी दबाउन रुपैयाँ उठाएका दसी साथ दाखेल भएको देखिनाले र साथै प्रहरीमा समेत साविती भएका प्रमाणको आधारबाट प्र.पं. गोरखबहादुर, मनबहादुर, धर्मे सिं, रनसिंगे अधिकारी, कालु भन्नेले रनसिंगे सार्कीहरुलाई जन्म कैदको सजायँ गर्ने र प्र.सूर्यबहादुर खड्कालाई दबाउने पट्टि १ वर्ष कैदको सजायँ गर्ने र दबाए छिपाएकोमा जनही रु.२०।का दरले चन्द्र सिं, बहादुर सिंहलाई जरिवाना गर्ने समेत ठहरी अछाम जिल्ला अदालतबाट भएको मिति २०४२।२।४ को फैसला ।

३८.    लाश प्रकृती मुचूल्का समेतका आधारबाट मृतकलाई हामीले ज्यान मारेको नभई ज्यान मारेको ठहराई  जन्म कैदको सजायँ गर्ने गरेको शुरु अछाम जिल्ला अदालतको फैसला चित्त बुझेन भन्ने गोरखबहादुर अधिकारी समेतको र लाश काल कर्तव्यले मरेको हो सो छुट्टिन सकेको छैन मलाई लाश दबाए पट्टि गरेको सजायँको कानूनी आधार छैन भन्ने समेत सूर्यबहादुर खड्काको पृथकपृथक क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

३९.    प्रतिवादीहरूले बयानमा उल्लेख गरेको हंसिया समेत दसीको रुपमा लाश हेर्दा रहेको स्थानमा फेला परेको समेत हुँदा प्र. गोरखबहादुर समेत जना ७ लाई जनही जन्मकैद गर्ने गरेको अछाम जिल्ला अदालतको इन्साफ सदर हुन्छ भन्ने समेत सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।११।१४ को फैसला ।

४०.    हामीले प्रेम सिंहलाई कर्तव्य गरी मारेको भन्ने स्वतन्त्र प्रमाणको अभावमा हाम्रो सावितिलाई कुनै मान्यता दिन नमिल्नेमा हामीलाई कसूरदार ठहराएको क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण हुँदा शुरुको सदर गरेको क्षेत्रीय अदालतको निर्णय बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.पं. गोरखबहादुर समेत जना ७ को यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदनपत्र ।

४१.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदहरु तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नुभएको बहससमेत सुनियो ।

४२.    प्रस्तुत मुद्दामा शुरुले प्रतिवादीहरूलाई जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ सदर गरेको क्षे.अ. को इन्साफ मिलेको छ छैन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

४३.    यसमा धर्म सिंह अधिकारी समेतका सात जना प्रतिवादीहरू र मृतक प्रेम सिंह खड्का समेत प्रधानपञ्च गोरखबहादुर अधिकारीको घरमा भेला भई मासु रक्सी खाई तास खेली मृतक प्रेम सिंह खड्काले जितेकाले उठी घरतर्फ जान लाग्दा धर्म सिंह अधिकारीले मृतकलाई गर्धनमा हानेपछि समाती लछार पछार गरी प्र.पं. गोरखबहादुर अधिकारीले प्रेम सिंह खड्कालाई आफ्नो हँसियाले प्रहार गरी अन्य व्यक्तिलाई समेत मद्दत गर यसलाई मारी पैसा लिनु पर्छ भनी मद्दत मागेपछि सबैले कुटपीट गरी मारी मृतकको पैसा प्र.पं. गोरखबहादुरले लिई रनसिंगे अधिकारीलाई राख्न दिए र सबैले लाश फाल्ने कुरामा सल्लाह गरी सोरानी खोलाको पुलनेर फालेको कुराको प्र. गोरखबहादुर समेतले अधिकार प्राप्त अधिकारी समक्ष साविती भई बयान गरेको पाइन्छ । प्रतिवादी गोरखबहादुर र धर्मसिंह अधिकारी दुबै जनाले हसिंयाले चोट छोडी सकेपछि मात्र अरु प्रतिवादीहरूले लात मुक्का हानेको कुरामा साविती भएको पाइन्छ । प्र.पं. गोरखबहादुर अधिकारीले अदालतमा बयान गर्दा वारदात भएको दिन आफू घटनास्थलमा नभई देवेन्द्र शाहको घरमा बास बसेको थिएँ भनी बयान गरेको देखिन्छ । निज देवेन्द्र शाहले अदालतमा आई गरेको बकपत्रमा प्र. गोरखबहादुर अधिकारी उक्त दिन मेरो घरमा बास नबसेको भनी बकपत्र गरेको पाइन्छ । प्रहरी हवल्दार हर्कबहादुर शाहले जिल्ला प्रहरी कार्यालय अछाममा ०४१।१।३१ गते पेश गरेको प्रतिवेदनमा गोरखबहादुर अधिकारी तथा धर्मे भन्ने धर्मसिंह अधिकारी समेतका व्यक्तिहरुको मिलोमतो गरी मारेको बुझिएको भनी किटानी रुपमा उल्लेख गरेको देखिन्छ । निज गोरखबहादुर तथा धर्मसिंह अधिकारीको प्रहरीमा भएको सावितिलाई अन्य प्रतिवादीहरुले समेत पोल गरी समर्थन गरेको पाइन्छ । अन्य प्रतिवादी रनसिंगे अधिकारी, मनबहादुर अधिकारी कालु सार्की मन्नामे सार्की र रनसिंगे सार्की समेतको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानमा लात मुक्काले हानेको र लाशलाई दबाउने उदेश्य समेतले सिरानी खोलामा लगी फालेको कुरामा अदालतमा समेत साविती भई बयान गरेको पाइन्छ । तसर्थ शुरु जिल्ला अदालतले प्र. गोरखबहादुर अधिकारी समेतलाई जन्मकैदको सजायँ गर्ने गरेको इन्साफलाई सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । मृतक प्रेम सिंह खडकालाई माथि उल्लेख भएबमोजिम गोरखबहादुर र धर्मसिं अधिकारीले धारिलो हतियार  हसिंयाले चोट छाडेको देखिन्छ । तर अरु प्रतिवादीहरूले खेलेको हेरिरहेका अवस्थामा पैसा जिती मृतक जानलाग्दा खेल्ने मध्येका प्र.पं. गोरखबहादुर र धर्मसिंह भई मृतकसंग झगडा कुटपीट गर्न लाग्दा के हेर्छौ मद्दत गर भनी गोरखबहादुरले धम्क्याएकोले मद्दत गरेको भन्ने अधिकार प्राप्त अधिकारी समक्ष र लाश अन्यत्र लगेर नफाले तिमीहरू समेत फेला पर्छौ भनी डरत्रासमा पारेकोले लाश फाल्न मद्दत गरेको हो भन्ने निजहरूले अदालतमा गरेको बयानबाट देखिन्छ । यसरी गाउँका जान्ने बुझ्ने र प्र.पं समेत भएका गोरखबहादुरको धम्की र हप्काईमा परेर तास खेली जितेको पैसा लिई जान दिनबाट रोक्नसम्म भनी मद्दत दिंदा दिंदै वारदातको गम्भीर्यता बढ्न गई कर्तव्य ज्यानको अपराध घट्न गएको देखिन्छ । यस्तो अवस्थामा प्र. धर्मसिंह र गोरखबहादुर बाहेक रनसिंह अधिकारी समेतका अन्य प्रतिवादीहरूलाई कानून बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा निजहरूको हकमा अ.वं. १८८ नं. बमोजिम जनही कैद वर्ष १५ मात्र हुने ठहर्छ । सो ठहर्नाले साधकको लगत काटी तपसील बमोजिम गरी नियमबमोजिम गरी फायल बुझाई दिनु ।

तपसील

माथी इन्साफ खण्डमा लेखिए बमोजिम सुदुर प.क्षे.अ. को इन्साफ सदर ठहरी प्र. मन्नामे सार्की, कालु सार्की, मन अधिकारी, रनसिंङ्गे अधिकारी, रनसिङ्ग सार्कीलाई अ.बं. १८८ नं. ले कैद वर्ष १५ मात्र हुने हुँदा सो बमोजिम लगत कसी असूल गर्नु भनी अछाम जि.अ. मा लेखी पठाउन का.जि.अ.त मा लगत दिनु ।

 

उक्त रायमा म सहमती छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्बत् २०४५ साल ज्येष्ठ ४ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु