निर्णय नं. ३४३० - कर्तव्य ज्यान

निर्णय नं. ३४३० ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ४३५, ऐ.को फै.सा.नं. ११५
फैसला भएको मिति : २०४५।२।१३।५ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा वीरगन्जमा थुनामा बस्ने विश्वनाथ भगत कलवार
विरुद्ध
विपक्षी/वादी : भागीलाल जोशीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) पाईजामा र गन्जीमा रगत लागेकोमा सो परीक्षण गर्दा मृतकको रगत ग्रुप वि.सँग मिल्ने रगत लागेको भनी परीक्षणबाट पुष्टी भएको देखिएको, निजकै भनाई मुताविक आफूले घटनासम्म देखेको तर मार्नमा सक्रिय नभएको मान्नलाई निजले सो कुराको उजूर जाहेर बेलैमा गरेको हुनुपर्दथ्यो, त्यसो गरेको भन्न सकेको नपाइने, नोकर भएको र निजबाट पाएको प्रलोभन अनुसार निजले ज्यान मार्ने कार्य गरेको भन्ने अभियोग प्रमाणबाट समर्थित हुन पुगेकोले ज्यानसम्बन्धी १३(१) नं. बमोजिम सजायँ गर्ने ठहर्याएको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्रकरण नं. २३)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल
फैसला
न्या. हरगोविन्द सिंह प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी साधकमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. यसमा २०३७।१।२० गते बेलुका बजार गस्ती गर्दै जाँदा वि.न.न.पं.वार्ड नं. ८ घासीरामको दोकान अगाडि मानिस जम्मा भएको देखी बुझ्दा निजकै नोकर मानिकचन बाहुनलाई हतियारले काटी मृत्यु भइराखेको देखियो । लाश रुँग्नलाई प्रतिवेदन गरेको छु भन्ने समेत प्र.ना.नि. गोपालराज, प्र.ह. मुलुकबहादुरको ०३७।१।२०।६ को प्रतिवेदन ।
३. ०३७।१।२० गते बेलुका ८ बजे घासीरामको नोकर विश्वनाथ भन्ने शिवनारायण आई तपाईलाई घासीरामले बोलाएको छ भन्दा घासीरामको दोकानमा गएँ ताला लगाई राखेको थियो । मालिक गोलामा छ भनेकाले जाँदा घासीराम एक्लै उभिराखेको थियो देख्नासाथ तिम्रो भाइ मानिकचनलाई कसले हो काटी मारी हिंडेछ, लाश भित्र कोठामा छ भने घासीराम प्रहरीमा गई डि.एस.पी.साहेबहरूलाई लिई आइपुगेपछि दोकान खोल्न लगाई हेर्दा भाइलाई घाँटीमा काटेर मारी राखेको देखें, लाश राखेको ढोकामा ताला लगाई आफू गोलामा नै बसी मलाई मात्र सुराक खबर गरेकाले घासीराम र नोकरले लगाएको गंजी पाइजामामा जताततै खुन लागेको मौकामा मैले देखेकोले घासीराम र निजको नोकर शिवनारायण समेत मिली भाइलाई कर्तव्य गरी मारेकोमा पुरा विश्वास लागेकोले कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको मृतकको दाजु भागीलाल जोशीको २०३७।१।२१ को जाहेरी दर्खास्त ।
४. मैले मानिकचनलाई मारेको होइन, नोकर विश्वनाथले मारे नमारेको आँखाले नदेखेको हुँदा किटान गरी भन्न सक्तिन । २०३७।१।२० गते बेलुका अं.८ बजे डेराबाट दोकानमा फर्की आउँदा दोकान पुग्न १५,२० कदम वर नोकर विश्वनाथले बुढो टेलर मास्टरलाई हात समाएर भित्र लाँदै गरेको देखें म पुग्दा निस्कदै गरेको देखें टेलर मास्टरलाई किन भित्र लागेको भन्दा कोठामा मानिकचनलाई कसैले मारी मृतक आवस्थमा छ भनेको हो । फलामे दाउ दोकानमा कसरी आयो, धोती र गन्जीमा रगत कसरी लाग्यो भन्न सक्तिन । प्रहरीले खिचेको रगतपक्षको डाम मेरो हो या कस्को हो भन्न सक्तिन, प्रहरीले ल्याएको कुकुरले मलाई भुकेको र समातेको हो, दोकानको नगद जिन्सी केही हराएको छैन भन्ने समेत ०३७।१।२१ को घासीरामको प्रहरीमा कागज भएकोमा सबूद संकलन भई पुनः निजको ०३७।२।१७ मा ततिम्बा कागज गराउँदा मर्ने मानिकचन मेरी श्रीमतीसंग लागेको संदिग्ध हालतमा २–३ पटक फेला पारेकोले यस्तो अपमानले गर्दा मानिकचनलाई सिध्याउने विचार गरी डेढ किलो वजनको दाउ किन्न विश्वनाथलाई पठाई लुकाई राखें ०३७।१।१० गते मनिकचन मालिकनीसँग सल्केको छ भनी विश्वनाथले सुनायो र भोलिपल्ट रु.२०००।– दिउँला कसैलाई नभन्नु भनी आज बेलुका मार्नु पर्छ भनी इशारा गरेपछि विश्वनाथले दाउ झिकेर एकचोटी हिर्कायो । अनि दाउ खोसेर मैले ३।४ पटक घाँटीमा काटें । म र नोकर विश्वनाथ भई मानिकचनलाई मारेको हो अरु कोही साथी मतियार छैन भन्ने समेत घासीरामको ०३७।२।१७ को ततिम्बा बयान कागज ।
५. २०३७।१।२० गते बेलुका मालिक खाना खान डेरातर्फ गए । मानिकचन र म जिराको धुलोको पाकेट बनाउन थालें । मैले पाकेट ढिलो बनाएँ भनी दालको बोरा मिलाउन लगायो उ एक्लै दक्षिणतर्फ फिरी पाकेट बनाउन थाल्यो । त्यसै मौका लुकाई राखेको दाउ झिकी मानिकचनको घाँटीमा मुखमा र माथी टुपिनेर हिर्काएँ । मानिकचन मरी हाल्यो दाउलाई लुकाएँ । मालिक आई लाश हेरी मृतकको दाजुलाई बोलाउन भनी पठायो गई भागीलाललाई ल्याएँ । मानिकचनलाई मारी गल्लाको पैसा लिई भाग्ने विचार थियो झिक्न पाइँन । पाइजामा, गंजी, गम्छा मेरै हो । प्रहरीले ल्याएको कुकुरले मलाई २ चोटी भुकेको हो । मानिकचनलाई म एक्लैले मारेको हुँ । घासीरामलाई जाहेरवालाले किन किटान गरे भन्न सक्दिन भन्ने समेत शिवनारायण भन्ने विश्वनाथको ०३७।१।२१ को प्रहरीमा कागज भई सबूद संकलन गरी पुनः २०३७।२।१७ मा ततिम्वा कागज गराउँदा मालिकले मलाई रु.२०००।– दिन्छु मानिकचनलाई मार्नुपर्छ भनेकाले रु.२०००।– को लोभले मैले हुन्छ भनेको हुँ । मालिकले मलाई २।३ छोटी इशारा गरेपछि दाउ झिकेर एकचोटी घाँटीमा काटें फेरी २ पटक काटें, त्यसपछि मालिकले मेरो हातबाट दाउ खोसेर मानिकचनलाई घाँटीमा २।३ चोटी हिर्काए । तँलाई कोशिस गरेर छुटाउँछु भनेकाले मालिकलाई नभनेको हुँ भन्ने समेत विश्वनाथ भगत कलवारको २०३७।१७ को ततिम्बा कागज ।
६. घासीराम, विश्वनाथ, टेलर मोहम्मद, याकुव मियाँ मोहम्मद, सुलाउदिन समेत मानिस राखी प्रहरीले कुकुरलाई सुँघाई घुमाई सनाखत गरेको २०३७।१।२१ को सरजमीन मुचुल्का ।
७. घासीरामको दोकान छेउ लुगा सिउने दोकान राखेको छु । म सुत्ने बेला बिंडी खान बाहिर निस्कँदा विश्वनाथले मेरो हात समाती फाटक खोली भित्र लैजान लाग्दा ढोकाबाटै मानिकचन भित्र मरी राखेको देखेको हो । मानिकचनलाई कसले मारे, मौकामा नदेखेकोले यसैले मारेको हो भनी भन्न सक्दिन भन्ने समेत टेलर मास्टर महमद याकुव मियाँको ०३७।२।२ को प्रहरीमा भएको कागज ।
८. ०३७।१।२० गते बेलुका ८ बजे मानिकचनलाई कसैले मारी दिएछ भनी घासीराम आई मलाई भन्यो, हेर्न जाँदा रगतले लतपतिरहेको थियो । घटना भएको कुरा मलाई थाहा छैन भन्ने समेत ज्ञानचनको ०३७।१।२५ को प्रहरीमा भएको कागज ।
९. घासीराम, मानिकचन नराम्रो मानिस होइन मानिकचनलाई कसले मारे थाहा छैन भन्ने समेत पुसाराम माडवारीको ०३७।१।२५ मा प्रहरीमा भएको कागज ।
१०. घासीराम, मानिकचनको झगडा भएको थाहा छैन विश्वनाथ र मानिकचनको रीसइवी परेको पनि थाहा छैन । मानिकचनलाई कसले मारे थाहा छैन भन्नेसमेत सुभाषचन्द्रको ०३७।२।६ को प्रहरीमा भएको कागज ।
११. घासीरामसँग घनिष्ट नहुँदा चरित्र बारे थाहा छैन । मानिकचनलाई कसले मारे थाहा छैन भन्ने पुजारी रामरतन दासको ०३७।२।६ को प्रहरीमा भएको कागज ।
१२. घासीराम मेरो पति हो । घटना भएको अघिल्लो रात दोकानमा नै सुत्नु भएको थियो भोलिपल्ट १२–१ बजे खाना खाई जानु भयो मालिक घरमा सुत्दा मानिकचन दोकानमा मालिक दोकानमा सुत्दा मानिकचन घर डेरामा बरण्डा चौकीमा सुत्ने गथ्र्यो । मानिकचनसँग कसैको रीसइवी झगडा भएको थाहा छैन । निजलाई कसले के विचारले मारे थाहा छैन भन्ने समेत भवरी शर्माको ०३७।२।७ मा प्रहरीमा भएको कागज ।
१३. घासीराम धेरैजसो दोकानमा सुत्नु हुन्थ्यो । घासीराम मानिकचन बीच झगडा भएको थाहा छैन भन्ने समेत जगदिशप्रसादको ०३७।२।७ को प्रहरीमा गरेको कागज ।
१४. ०३७।१।२९ गते साँझ ७:३० बजे मानिकचनको हत्या भएको प्रमाणित हुन आयो । दोकानमा घासीराम विश्वनाथ दुवैको कपडामा रगत लागेको देखिएको प्रहरी अनुसन्धानमा प्रयोग गरेको कुकुरले घासीरामलाई ३ पल्ट भुकी समातेको नोकर विश्वनाथलाई २ पल्ट संकेत गरी भुकेको जाहेरीमा दुवैलाई किटान गरी पोलेको र विश्वनाथले मानिकचनलाई मारेमा साविती भएको घासीराम इन्कार भएपछि विश्वनाथले बयान गर्दा घासीराम र म दुवै मिली मारेको भन्ने साविती बयान गरेको । घासीरामको ततिम्बा कागजमा मानिकचन आफ्नो श्रीमतीसंग फसेको कुरामा रीसइवी लिई विश्वनाथसंग मिली मारेकोमा घासीराम पनि सावित भएकोले दुवैजना भई श्रीमतीसंग लागेको रीस प्रकोपमा हतियार प्रयोग गरी काटी मारेको कुरा प्रमाणित हुनआएकोले ज्यानसम्बन्धीको १ नं. को अपराध हुँदा ऐ.१३ को देहाय १ बमोजिम सजायँ हुन भन्ने ०३७।२।२२ को प्रहरीको प्रतिवेदन ।
१५. घटना भएको बेलुका घरबाट दोकान आउँदा नोकर विश्वनाथ र मास्टर दोकान बाहिर निस्केको देखी सोद्धा मानिक बाबुलाई भित्र मारेको छ भन्ने सुनी भित्र गई हेर्दा मानिकचन लडी राखेको देखें मरी सकेकोले कतै हल्ला गरिन । घर मालिक ज्ञानचनलाई देखाएँ । उहाँले ताल्चा लगाई देउ भनेकोले ताल्चा लगाई खाना खान घर गएकोले कसले मारे देखिन । मैले मानिकचनलाई मारेको होइन । दाखेल भएको गंजी र धोती मेरो हो । गंजीमा लागेको दाग उडुसले खाई किच्दा मेरो शरीरको रगत लागेको हो की के हो खुलाउन सक्दिन, दाउ मेरो होइन कसको हो थाहा छैन जाहेरवालासंग रीसइवी छैन । २०३७।२।१ को प्रहरीमा भएको बयान भने बमोजिम लेखिएको हो १७ गते ततिम्बा बयान मैले भनी लेखाएको होइन भन्ने समेत घासीरामको ०३७।२।२२ को अदालतमा गरेको बयान ।
१६. ०३७।१।१७ गते देखि घासीरामको दोकानमा काम गर्न गरी बसेको थियो, ०३७।१।२० गते बेलुकी प्र. दिसा गर्न गई आउँदा दोकान बन्द रहेछ मालिक घासीरामले ढोका खोली दिनुभएकोले भित्र कोठामा पस्ता मानिकचन लढी राखेको रहेछ गर्दन र टाउकोमा चोट थियो, भित्र पसेपछि फेरि एकचोटी दायाँतर्फ घाँटीमा र गालामा दवियाले हानी त्यसपछि चिनीको बोरा यहाँबाट हटा भनी घासीरामले मलाई एकचोटी कुइनाले हिर्कायो र मैल चिनीको बोरा हटाएको हुँ । मानिकचन मरेको कुरा कसैलाई नभन्नु पैसा चाहिए म दिन्छु भनी मालिक जानु भयो, मलाई एक्लै डर लागी मास्टरलाई बोलाई देखाई निस्कदा घासीराम आइपुग्यो । अरुलाई किन देखाएको भनी गाली गर्नुभयो । मैले मानिसचनलाई मारेको होइन, घासीरामले हतियारले हानी मारेको हो । प्रहरीमा मलाई कुटपीट गरी साविती कागज गराएको हो । गंजी र पाइजामा मेरो हो रगत लागेको बोरा उठाउँदा रगत लागेको हो । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत विश्वनाथ भगत कलवारको ०३७।२।२२ को अदालतमा गरेको बयान ।
१७. लाश प्रकृति मुचुल्काबाट देखिएको बोरा विश्वनाथले सानु दाउ, आलमारी र गद्धिको बीचमा पाउनु, घासीरामको कुर्ता, धोती विश्वनाथको पाइजामा र गंजीमा लागेको रगत मनुष्यको रगत हुनु, घासीराम र विश्वनाथ वारदात स्थलमा हुनु जस्ता कृयाकलापबाट वारदात स्थल घटना क्रमगतरुपमा पुष्टि भई प्रहरीमा अभियुक्तहरूले गरेको बयानकागज उल्लिखित स्वतन्त्र प्रमाणबाट समर्थित हुँदा विश्वनाथ समेतको संलग्नतामा दाउको प्रयोग गरी अनुचित सम्बन्धको आशंकामा जघन्य हत्याको वारदात गरेको प्रमाणित हुँदा दुवै अभियुक्तहरूले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. को कसूर गरेको ठहर्छ भन्ने समेत शुरु मो.जि.अ.को २०३८।१०।११।१ को फैसला ।
१८. उक्त फैसला उपर चित्त बुझेन मैले मानिकचनलाई नमारेको कुरा देखिँदा देखिँदै पनि बिनाआधार मलाई कसूरदार ठहर्याई भए गरिएको मो.जि.अ.को फैसला बदर गरी सही इन्साफ पाउँ भन्ने समेत प्र.विश्वनाथ भगत कलवारको पुनरावेदनपत्र ।
१९. शुरु मोरङ जि.अ. को इन्साफ मनासिव ठहर्छ भन्ने समेत पु.क्षे.अ.को फैसला ।
२०. पु.क्षे.अ.को इन्साफ चित्त बुझेन भन्ने समेतको प्र.विश्वनाथ भगतको यस अदालतमा पुनरावेदन पर्न आएको ।
२१. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट बहस गर्न खटिनु भएका विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्यालले गर्नु भएको बहस समेत सुनियो ।
२२. अब पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
२३. निर्णयतर्फ विचार गर्दा यसमा मानिकचनको मृत्यु भएकोमा विवाद छैन । निज मृतकको मृत्युमा पुनरावेदक विश्वनाथ भगतको कर्तव्य छ छैन भनी हेर्दा प्र.विश्वनाथ मानिकचनलाई आफूले चोट प्रहार गरेर मारेको कसूरमा अधिकारप्राप्त अधिकारी समक्ष सावित भई कागज गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा घासीरामले मारेको हो भनी आफू घटनास्थलमा उपस्थित रहेकोसम्म स्वीकार गरेको पाइन्छ । निजको पाइजामा र गन्जीमा रगत लागेकोमा सो परीक्षण गर्दा मानिकचनको रगत ग्रुप वि.सँग मिल्ने रगत लागेको भनी परीक्षणबाट पुष्टी भएको देखिएको छ निजकै भनाई मुताविक आफूले घटनासम्म देखेको तर मार्नमा सक्रिय नभएको मान्नलाई निजले सो कुराको उजूर वा जाहेर बेलैमा गरेको हुनु पर्दथ्यो । त्यसो गरेको भन्न सकेको पाइँदैन । घासीरामको नोकर भएको र निजबाट पाएको प्रलोभन अनुसार निजले मानिकचनको ज्यान मार्ने कार्य गरेको भन्ने अभियोग माथि उल्लिखित बुँदा प्रमाणबाट समर्थित हुनपुगेको छ । अतः निजलाई ज्यानसम्बन्धी १३(१) नं. बमोजिम सजायँ गर्ने ठहर्याएको शुरु इन्साफ सदर गरेको पु.क्षे.अ. को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन तहबाट निर्णय भएकोले साधकको लगत कट्टा गरी नियमबमोजिम मिसिल बुझाई दिनु । फैसलाको जनाउ पुनरावेदकलाई दिनु ।
उक्त रायम म सहमत छु ।
न्या. रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल ज्येष्ठ १३ गते रोज ५ शुभम् ।