निर्णय नं. ३४३१ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ३४३१ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिह प्रधान
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको रिट. नं. १४७३
आदेश भएको मिति : २०४५।२।३१।२ मा
निवेदक : काभ्रेपलाञ्चोक जि. साँखुपाटी चौर गा.पं. वार्ड नं. १ बस्ने मिनबहादुर के.सी.समेत
विरुद्ध
प्रत्यर्थी : ऐ.ऐ.बस्ने साननानी भण्डारीसमेत
विषय : उत्प्रेषणयुक्त परमादेश
(१) विवाद परेको विषयमा प्रत्यर्थी कार्यालयले अन्य प्रत्यर्थीहरूबाट निवेदन लिई शान्ति सुरक्षाको नाउँमा अधिकार क्षेत्र विहीन कुरामा कागज गराउने अख्तियार प्रदत्त भएको मान्न नसकिने ।
(प्रकरण नं. ९)
(२) अधिकारै नभएको विषयमा प्रत्यर्थी कार्यालयबाट कागज गराएको विवादित कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ९)
प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।
२. विपक्षी काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयमा मिनबहादुरको नाउँमा रहेको कि.नं.३० को जग्गाको उत्तरतर्फ वन सीमाना भित्रको मुलबाट मिनबहादुर के.सी.ले एकलौटी आफ्नो जग्गामा पाई पराखी खानेपानी लगेकोले शान्ति सुरक्षा गरी निजले पानीको लागि मूलमा राखेको पाइप हटाई पाउँ भनी प्रत्यर्थीहरूले उजूरी दिएको आधारमा मिति २०४४।४।१२ मा डि.एस.पी.कार्यालयले पक्री थुनामा राखे । साथै २०४४।४।२० गते स्थान सादा लेखी कागजमा का.प.जि.संखुपाटी गा.पं.वार्ड नं.१ को कि.नं.३० को जग्गाको उत्तरतर्फको वनको मूलबाट पानी ल्याएको पाइप तुरुन्त झिक्नेछु, मूलको पानीमा दावी गर्ने छैन भनी हामी निवेदकको मञ्जूरी बेगर जवरजस्ती सही गराई हामीलाई छाडदिनु भयो । यसप्रकारले कागज गराउने अधिकार विपक्षी काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयलाई नभएकोले गराएको कागज अ.बं.३५ नं.ले बदरभागी छ । तसर्थ २०४४।४।२० मा हामी निवेदकलाई गराएको कागज उत्प्रेषणको आदेशद्वारा बदर गरी त्यस प्रकारको धरपकड गरी गैरकानूनी थूनामा राखी कुनै प्रकारको कागज नगराउनु भन्ने विपक्षीहरूका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने निवेदन ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
४. निवेदक मिनबहादुर र निजको छोरा रामजी के.सी.समेतले बराबर अन्याय गरेकोले शान्ति सुरक्षा गरिपाँउ भन्ने समेत व्यहोरा उल्लेख गरी संखुपाटी चौर गा.पं. वार्ड नं. १ बस्ने केशव भण्डारीले २०४४।४।१० मा श्री गृह मन्त्रालयमा दिएको निवेदन तोक सहित श्री जिल्ला कार्यालय काभ्रेको २०४४।४।१२ को पत्रसाथ प्राप्त भए अनुसार उल्लिखित मिनबहादुर र निजको छोरालाई २०४४।४।१३ मा यस कार्यालयमा ल्याई आइन्दा कुनै पनि बदमासी नगर्ने र निवेदक समेत उपर अशान्ति गर्ने छैनौं भनी कागज गराई २०४४।४।१४ मा छाडिएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको लिखितजवाफ ।
५. हामीहरूले श्रीमान गृह सचिवज्यूका समक्ष २०४४।४।१०।१ मा शान्ति सुरक्षा कायम गरिपाउन तथा अपराधीलाई सजायँ दिलाई पाउँ भनी दिएको निवेदनमा श्रीमान गृह सचिवज्यूले बागमती अञ्चलाधीशको कार्यालयका नाउँमा २०४४।४।१० मा उक्त निवेदनमा तोक आदेश लागेको र अञ्चलाधीश कार्यालयले पनि उक्त निवेदन जिल्ला कार्यालय काभ्रेपलाञ्चोक जिल्लामा २०४४।४।१२ मा पठाई त्यहाँबाट काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयमा पठाइएको थियो । हामीहरू समेतको रोहवरमा राखी २०४४।४।१४ गते काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयले विपक्षी निवेदकहरूलाई कागज गराएको हो । तसर्थ यसरी श्रीमान गृह सचिवज्यूको आदेश पालना गरी डि.एस.पी.कार्यालयले हाम्रो रोहवरमा विपक्षी निवेदकहरूलाई गराएको कागज कानून बिपरीत भएको भन्न नमिल्ने हुँदा विपक्षीको निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको राम भण्डारी समेतको संयुक्त लिखितजवाफ ।
६. नियमबमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा प्रत्यर्थी कार्यालयको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस सुनियो ।
७. प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के रहेछ सो मा निर्णय दिन परेको छ ।
८. यसमा निर्णयतर्फ विचार गर्दा का.प.जि. संखुपाटी गा.पं.वार्ड नं. १ को कि.नं.३० को जग्गाको उत्तरतर्फको वनको मूलबाट खानेपानी ल्याएको तुरुन्त झिक्नेछु दावी गर्ने छैन भन्ने काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयले अनधिकृत तथा गैरकानूनी तवरले कागज गराएको हुँदा २०४४।४।२० को कागज उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य निवेदकको निवेदन जिकिर भएकोमा मिनबहादुर र निजको छोरालाई आइन्दा कुनै पनि बदमासी नगर्ने र अशान्ति गर्ने छैनौं भनी २०४४।४।१४ मा कागज गराई छाडिएको भन्ने प्रत्यर्थी डि.एस.पी.कार्यालय काभ्रेपलाञ्चोकको लिखितजवाफ पाइन्छ ।
९. इजलास समक्ष पेश भएको श्री महान्यायाधिवक्ताको कार्यालयको फाइलबाट हेर्दा प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय काभ्रेले निवेदकहरूलाई गराएको मिति २०४४।४।१४ को कागजको व्यहोरामा जग्गा पानी पोखरी समेतमा विवाद परेको भन्ने समेत भनाई परेको देखिन्छ । त्यसरी विवाद परेको विषयमा प्रत्यर्थी कार्यालयले अन्य प्रत्यर्थीहरूबाट निवेदन लिई शान्ति सुरक्षाको नाउँमा अधिकार क्षेत्र विहीन कुरामा कागज गराउने अख्तियार प्रदत्त भएको मान्न सकिँदैन । अतः अधिकारै नभएको विषयमा निवेदक हरूलाई प्रत्यर्थी जिल्ला प्रहरी कार्यालयबाट कागज गराएको देखिएको हुँदा विवादित कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल ज्येष्ठ ३१ गते रोज २ शुभम् ।