निर्णय नं. ३४३८ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. ३४३८ ने.का.प. २०४५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको रिट .नं. २४०५
आदेश भएको मिति : २०४५।२।३२।३ मा
निवेदक : का.जि. डाँछी गा.पं. वडा नं. ३ बस्ने मेघ मान कुइकेल
विरुद्ध
विपक्षी : मालपोत कार्यालय, काठमाडौं मालपोत विभाग, काठामाडौं
विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
(१) दावीको जग्गा फिल्डबुकमा पर्ति जनिएको भए पनि यी निवेदकको हक भोग भित्रको जग्गा रहे भएको प्रमाणित हुन आएमा दर्ता गरिदिन नमिल्ने भन्न कानूनसंगत नुहने ।
(प्रकरण नं. ९)
प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की
आदेश
न्या.प्रचण्डराज अनिल : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर यसप्रकार रहेछ ।
२. साविक कृष्णबहादुर थापाका नाउँमा चाँगु मौजाको रै.नं. २१२०, ३१३०, ३१२२, ३१२३, ३१२४ मा दर्ता भएको जग्गा ०१६।२।१४ मा मैले राजीनामा गराई लिएको २००० सालको नापीमा क्रमशः ६७२, ६७३, ६७४, ६७५ र ६७६ कायम भएको २०२१ सालको नापीको अवस्थामा डाँछी गा.पं. वडा नं. ३(ख) कि.नं.१९६ क्षेत्रफल १२–०–० कायम भई नापी अवस्थामा दर्ता हुन बाँकी रहेको थियो । यसरी मेरो राजीनामा भित्रको जग्गा दर्ता गरिपाउँ भनी मालापोत कार्यालयमा निवेदन दिएकोमा साविक दर्ता तिरो भित्रको जग्गा हो भनी पञ्चायतले पनि सिफारिश गरिदिएको आधारमा गो.प.मा आवश्यक व्यहोरा खुलाई हक दावीको लागि सूचना समेत प्रकाशित भएको थियो । निश्चित म्यादभित्र कतैबाट हक दावी पर्न नआएकोले जग्गाको साँध संधियारबाट सरजमीन पनि भएको सो बमोजिम जग्गा दर्ता समितिमा पेश हुँदा मेरो नाउँमा दर्ता गरिदिने सिफारिश समेत भई जग्गा दर्ताको लागि मालपोत विभागमा पठाइएको अवस्थामा जग्गा पर्ती जनिएकोले दर्ता गर्न नमिल्ने भनी मिसिल तामेलीमा राख्ने आदेश ०४३।११।१० मा भएकोछ । अतः मेरो सम्पत्ति बिना कारण अपहरित भएकोले मालपोत कार्यालयको ०४३।११।१० को तामेलीमा राख्ने आदेश निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी जग्गा दर्ता गरिदिनु भन्ने उपयुक्त आदेश जारी गरिदिनु भन्ने समेत व्यहोराको निवेदन ।
३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको आदेश ।
४. जग्गा दर्ता गर्ने सम्बन्धमा गठित समितिको सिफारिश पछि विभागीय स्वीकृति भई नआएमा केवल सिफारिशका आधारमा मात्र दर्ता गर्न नमिल्ने विपक्षीको कार्यवाही उपर विभागीय स्वीकृति भई नआएको फिल्डबुकमा दावीको जग्गा पर्ती जनिएको २०१६ सालमा राजीनामा पास गरिदिएको भनेको जग्गा २०२१ सालमा सर्भे नाप नक्शा हुँदा नै विपक्षीले कमाएको देखिन्छ । म आफू जग्गाधनी छु भनेको फिल्डबुकमा जग्गाधनीको र मोही खाली रहेको जग्गा नाप जाँच गराउन छूट भएको अवस्थामा पुनः म्यादभित्र गई उजूर गर्नु पर्नेमा सो पनि नगरेको विपक्षीको जग्गा हो भन्ने आधार प्रमाण कहींकतैबाट पुष्टि नभएको अवस्थामा निवेदककै जग्गा हो भनी दर्ता गरिदिन मिल्ने नदेखिएबाट विभागीय स्वीकृति नभै तामेलीमा रहने भनी भएको निर्णयबाट विपक्षीको सम्पत्ति अपहरित नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालयबाट प्राप्त लिखितजवाफ ।
५. विपक्षीले राजीनामा पास गरी लिएको आफैंले भोगचलन गरेको भनिएको तर २०२१ सालको सर्भे नापीमा तयार भएको क्षेत्रीय पुस्तिकामा उल्लिखित जग्गा निजले कमाएको नदेखिएकोमा म जग्गाधनी हुँ भनी दावी पनि नगरेको क्षेत्रीय पुस्तिकामा विपक्षीको नाम अड्ढित पनि नभएको ऐनको म्यादभित्र दावी उजूर पनि नगरेको निवेदकको नाउँमा उक्त जग्गाहरू दर्ता हुने प्रमाण पनि केही नभएको क्षेत्रीय किताबमा पर्ती जनिएको समेत कारणले गर्दा दर्ता गर्न नमिल्ने भनी मिसिल तामेलीमा राख्ने भएको निर्णय कानूनसंगत नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत विभागबाट प्राप्त लिखितजवाफ देखिन्छ ।
६. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएकोमा निवेदक मेघानाथ कुईकेललाई रोहवरमा राखी तत्सम्बन्धी विषयमा छलफल गरी प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
७. प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ भनी निर्णय दिन पर्ने देखिन आयो ।
८. मैले कृष्णबहादुर थापाबाट राजीनामा गरी लिएको जग्गा सर्भे नापीको अवस्थामा दर्ता हुन बाँकी हुँदा उक्त कि.नं.१९६ को क्षेत्रफल १२–०–० जग्गा दर्ता गरिपाउँ भनी मा.पो.का.मा निवेदन गर्दा आवश्यक कारवाही हुँदा केवल फिल्डबुकमा पर्ती जनिएकोले पर्ती जग्गा दर्ता गरिदिन नमिल्ने भनी निवेदन तामेलीमा राखी दिएकोले सो तामेलीमा राख्ने निर्णय बदर गरी जग्गा मेरा नाउँमा दर्ता गरिदिनु भन्ने आदेश समेत होस् भन्ने निवेदकको मुख्य निवेदन जिकिर रहेकोमा दावीको जग्गा फिल्डबुकमा पर्ती जनिएको हुँदा दर्ता गरिदिन नमिल्ने भई मिसिल तामेलीमा राखिएको भन्ने लिखितजवाफ पाइन्छ ।
९. यसमा कृष्णबहादुर नाउँ दर्ताको चाँगु मौजाको रै. नं. २१२०, ३१३१, ३१२२, ३१२३, ३१२४ का जग्गाहरू ०१६।२।१४ मा यी निवेदकले राजीनामा गरी लिएको सोही जग्गा २०२१ सालको सर्भे नापीमा डाँछी गा.पं. वडा नं. ३ (ख) कि.नं.१९६ क्षेत्रफल १२–०–० कायम भई पर्ती जनिएको भन्ने देखिन्छ । फिल्ड बुकमा पर्ती जनिएको आधारमा यी निवेदकको नाउँमा उक्तजग्गाहरू दर्ता हुन नसकेको भनी मा.पो.का.बाट ०४३।११।१० मा निर्णय भएकोरहेछ । मे.ना.सा. काठमाडौंको यस विषयको मिसिल संलग्न ०४३।६।२० को पत्रबाट दावीको कि. नं.१९६ को जग्गा र निवेदकले उक्त जग्गामा आफ्नो हकको स्रोत भनी देखाएको रसिद बमोजिमको जग्गाहरू एकअर्कोसँग मेल नखाएको भन्ने पनि लेखिएको पाइन्छ । दावीको जग्गा फिल्ड बुकमा पर्ती जनिएको भए पनि यी निवेदकको हक भोगभित्रको जग्गा रहे भएको प्रमाणित हुनआएमा दर्ता गरिदिन नमिल्ने भन्ने पनि कानूनसंगत हुँदैन केवल फिल्डबुकमा पर्तीमाजनिएको कि.नं.१९६ को जग्गा र निवेदकको हकको स्रोत मिलान हुन नसकेको आधारमा दाबीको जग्गा निवेदकको नाउँमा दर्ता हुने नहुने भन्ने विषयमा निर्णय भएको देखिएन । तसर्थ प्रस्तुत विवादमा न्यायकर्ताको सबूद प्रमाणको मूल्याङ्कनबाट न्यायिक मन प्रयोग गरी निर्णय गरेको रहेछ भनी मान्न मिलेन ।
१०. अतः मालपोत कार्यालय काठमाडौंको मिति २०४३।११।१० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । प्रमाणहरूको मूल्याङ्कन गरी कानून बमोजिम गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या. मार्फत पठाई फाइल नियम बमोजिम बुझाई दिनु
उक्त रायमा म सहमत छु ।
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्बत २०४५ साल ज्येष्ठ ३२ गते रोज ३ शुभम् ।