शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५५१ - उत्प्रेषण

भाग: २४ साल: २०३९ महिना: श्रावण अंक:

निर्णय नं. १५५१     ने.का.प. २०३९ अङ्क ४

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रिट नं. १६२०

आदेश भएको मिति : २०३९।५।४।६

निवेदक      : जि.धनुषा साविक शान्तिपुर गा.पं.वडा नं.३ हाल वटेस्वगर गा.पं.वार्ड नं.२ बस्ने मकुन       यादव

विरुद्ध

विपक्षी : भूमिसुधार अधिकारी जि.भू.सु.का.धुनषा, धनुषा वटेस्वगर गा.पं.वडा नं.४ बस्ने हरिहर साहु तेली

बिषय : उत्प्रेषण

(१)                निवेदकले सुखाजर्ता परेको तथ्य भू.सं.ऐन, ०२१ को दफा ३५ अनुसार जग्गाधनीलाई जानकारी दिएको कुराको तथ्य प्रमाण पेश गर्न नसकेको उब्जा अनुसारको कूत पनि नबुझाएको र गा.पं.मा धरौट पनि नराखेको र लिखितजवाफवाला ज.ध.ले सुखा जर्ती तर्फ कुनै निवेदन नदिएको भन्ने लिखितजवाफ दिएको समेत देखिएकाले भू.सं.ऐन, ०२१ को दफा २९ अनुसार त्यस्तो कर्तव्य पूरा नगर्ने मोहीलाई निष्कासन गर्न सक्ने प्रावधान भएकै देखिँदा कानूनको दायरा भित्र रही अधिकार प्राप्त अधिकारीले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिलेन ।

 (प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बैद्यनाथ उपाध्याय

विपक्षी तर्फबाट      : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान  सरकारी अधिवक्ता श्री पन्नामान       तुलाधर

आदेश

न्या.हेरम्बराज

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

२.    धनुषा शान्तिपुर गा.पं.वार्ड नं.२ (क) को कि.नं.७१ को विपक्षी ज.ध.हरिहर साहुतेलीको म मोहीलाई कूत मिन्हा दिन पर्नेमा विपक्षी जग्गाधनीले कुनियत चिताई विपक्षी कार्यालयमा कूत दिलाई मोही निष्कासन गराई माग्न विपक्षी कार्यालयमा निवेदन दिएकोमा मोहीले कूत नबुझाएको स्वीकार गरेको र दैवी कारणबाट सुख्खा जर्ता भएको कुरा भू.सं.ऐन, ०२१ को दफा ३५ अनुसार जग्गाधनीलाई जानकारी नदिएकोले कर्तव्य पुरा नगर्ने मोहीलाई कायम राख्न कानूनोचित नदेखिएकोले मोही निष्कासन हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट मिति ०३८।१०।२८।४ मा भएको फैसला कानूनी त्रुटिपूर्ण छ । किनकि मलाई भू.सु.ऐनको दफा २९ प्रयोग गरी निष्कासन गरेको छ । दफा २९ दैवी परी बाली नास भएको वा उब्जा हुन नसकेको अवस्थामा यो ऐन प्रयोग हुन सक्तैन । प्रस्तुत विवादमा दैवी परी बाली नास भएको र उब्जा हुन नसकेको कुरामा स्वयं जग्गाधनीको मञ्जुरी रही निर्विवाद तथ्यको रुपमा रहेको छ । सुख्खा जर्ताको कारवाही स्वयं जग्गाधनी समेतले चलाई आएको अवस्थामा सुख्खा जर्ता बाहेक उब्जनीको अनुपातमा कूत बुझाउन म जहिले पनि राजि रहेको मोहीलाई निष्कासन गर्न भू.सु.ऐनको उद्देश्य विपरीत छ । यस्तो गैरकानूनी फैसलाबाट मेरो हक हनन् भएकोले उत्पे्रषणको आदेशद्वारा उक्त ०३८।१०।२८।४ को विपक्षी कार्यालयको निर्णय बदर गरी हक संरक्षित गरिपाउँ भन्नेसमेत रिटनिवेदन रहेछ ।

३.    विपक्षीहरुबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

४.    कुतबाली सम्बन्धमा ०३१, ०३२ र ०३३ सालमा पनि विपक्षीसँग विवाद परी मिलापत्र समेत भएको हो । विपक्षीले बाली नबुझाएको पूर्ववत् आचरणलाई पुनः दोहर्‍याई ०३७ सालको बाली नबुझाउनु भएको छ  न त गा.पं.मा धरौटी नै राख्नु भएको छ । मेरो अनुपस्थितिमा जि.पं.बाट भएको तथाकथित मुचुल्काबाट मलाई असर गर्ने होइन । प्राकृतिक प्रकोप परेको भनी यकीन गर्ने निकाय जि.पं.होइन । सुख्खा जर्ताको सम्बन्धमा आफ्नो हस्ताक्षरद्वारा कुनै निवेदन पनि दिएको छैन । तसर्थ यस्तो अवस्थामा भू.सु.का.बाट भएको निर्णय मनासिव नभएकोले रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत विपक्षी हरिहर साहु तेलीको लिखितजवाफ ।

५.    ज.ध.लाई भू.सं.ऐन, ०२१ को दफा ३५ बमोजिम जानकारी दिए पश्चात ज.ध.ले कूत बाली बुझ्न नमानेमा धरौटी समेत राखी आफ्नो दायित्व प्रति सचेत हुनु पर्ने र रिट निवेदकको आफ्नो साक्षी बासुदेव र विपक्षीले बयान गर्दा प्रतिउत्तरमा लेखिएको भन्दा बढी उब्जनी भएको भनी भनेकोले यस्तो कर्तव्य पालन प्रति उदासिन हुने रिट निवेदकलाई कानूनी प्रश्रय दिई राख्न उपयुक्त नदेखिँदा अधिकार प्राप्त अधिकारीले कानूनले निर्दिष्ट गरेको प्रक्रिया अपनाई गरेको निर्णयबाट निवेदकको हक अधिकार हनन् भएको भन्न मिल्दैन रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी भू.सु.का.धनुषाको लिखितजवाफ रहेछ ।

६.    तारेखमा रहेका निवदकका वा.देवीभक्त र विपक्षीको वा.विनोद रोक्कालाई रोहवरमा राखी निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री बैद्यनाथ उपाध्याय र विपक्षी तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता हरिहर दाहाल र विपक्षी कार्यालय तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको समेत बहस सुनियो । अब निवेदकको माग अनुसार आदेश जारी गर्नु पर्ने नपर्ने के हो सो को निर्णय दिन परेको छ ।

७.    निर्णय तर्फ विचार गर्दा यसमा विवादास्पद जग्गाको मोहीले कूत नबुझाएकोले कूत भराई मोही निष्कासन गरी पाउँ भनी जग्गाधनीले विपक्षी कार्यालयमा निवेदन दिएकोमा भू.सं.ऐन, ०२१ को दफा ३५ अनुसार सुख्खा जर्ता भएको कुरा जग्गाधनीलाई जानकारी नदिएको र कूत नबुझाएको कुरामा निवेदक स्वयं सहमत भएकोले कर्तव्य पूरा नगर्ने मोहीलाई कानूनी प्रश्रय दिन कानूनोचित नहुने हुँदा मोही निष्कासन हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट निर्णय भएको देखियो ।

८.    रिट निवेदकले सुख्खा जर्ता परेको तथ्य भू.सं.ऐन, ०२१ को दफा ३५ अनुसार जग्गाधनीलाई जानकारी दिएको कुराको तथ्य प्रमाण पेश गर्न नसकेको उब्जा अनुसारको कूत पनि नबुझाएको र गा.पं.मा धरौट पनि नराखेको र लिखितजवाफवाला ज.ध.ले सुख्खा जर्ती तर्फ कुनै निवेदन नदिएको भन्ने लिखितजवाफ दिएको समेत देखिएकोले भू.सं.ऐन, २०२१ को दफा २९ अनुसार त्यस्तो कर्तव्य पूरा नगर्ने मोहीलाई निष्कासन गर्न सक्ने प्रावधान भएकै देखिँदा कानूनको दायरा भित्र रही अधिकार प्राप्त अधिकारीले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिलेन रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्वतव

इतिसम्वत् २०३९ साल भाद्र ४ गते रोज ६ शुभम् ।



 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु