शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४४० - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४४० ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ५४४, ५६१

फैसला भएको मिति : २०४५।२।९।१ मा

 

पुनरावेदक/वादी : पनिलाल राय यादवको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : रौतहट धरमपुर गा.पं. वार्ड नं. ४ धनाडी बस्ने कुली मियाँसमेत

 

पुनरावेदक/प्रतिवादी : कारागार शाखा पर्सा वीरगन्जमा थुनामा रहेको कुलिमियाँ

विरुद्ध

विपक्षी/वादी : पनिलालको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                 श्री ५ को सरकारतर्फबाट अ.बं. ११५ नं. समेत प्रयोग गरी सरजमीनका मानिस बुझिनु पर्ने भन्ने हकमा सरजमीनका मानिस मध्ये कोही पनि वारदात देख्ने र मुद्दाको निर्णयमा खास असर पार्न सक्ने किसिमको बकाई भएको कोही नदेखिएकोले सो जिकिरसंग सहमत हुन नसकिने ।

(प्रकरण नं.  २२)

(२)                 बकपत्र गर्ने जाहेरवालाले नै अरु प्रतिवादीहरू उपर शंका लाग्दैन भनी बकेका र मौका सरजमीनका मानिसले पनि शंका लाग्दैन भनी देखाएको, अदालतमा आई अन्तै रहे भएको देखाई इन्कार हुने प्रतिवादीहरूले निजहरूको साक्षीले सो इन्कारी पुष्टी हुने गरी बकेको छँदै पोल बमोजिम अरु प्रतिवादीहरूले नै मारेको ठहर्‍याउन कानूनी सर्वमान्य सिद्धान्तको बिपरीत पर्ने ।

(प्रकरण नं.  २२)

 

पुनरावेदक, वादीतर्फबाट : विद्वान सहायक न्यायाधिवक्ता श्री रघुनाथ अर्याल

पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :       मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.     २०४० साल भाद्र २ गतेका दिन जिल्ला रौतहट धरमपुर गा.पं.वा.नं. ५ बस्ने पनिलाल रायको आमा वर्ष ६४ की चुलीमाया देवीलाई छुरी हानी कर्तव्य गरी मारेको छ भन्ने खबर पाउना साथ घटनास्थलमा गई लाश कुरुवा बसी जाहेरी गर्न आएको छु, कानून बमोजिम कारवाही गरिपाउँ भन्ने प्र.ज.हरिबहादुर घलेको २०४०।५।३।६ मा प्रतिवेदन परेको ।

३.     यहि २०४० साल भाद्र २ गतेका दिन बिहान मेरो आमा चुल्हीया देवी यादवनी गाउँ देखि दक्षिण अं. १० विगहा टाढामा रहेको आफ्नै अम्बाको बगैंचामा रखवाली गर्न गएकोमा सोही दिन दिउँसो २ बजेको समयमा आमालाई खाना खान पठाउने विचारले बगैंचामा जाँदा आमाको मृत्यु भएको देखी प्रहरीमा खबर गरी  जाहेरी दर्खास्त गर्न आएको छु । मेरो आमाको ज्यान मार्ने अपराधी पत्ता लगाई पक्राउ गरी कानून बमोजिम सजायँ गरिपाउँ भन्ने पनिलाल राय यादवको २०४०।५।३।६ मा प्रहरीमा जाहेरी दर्खास्त परेको ।

४.     मिति २०४०।५।३।६ मा प्रहरी अधिकृतको डोर घटनास्थलमा पुगी लाशजाँच प्रकृति विवरण मुचुल्काको काम सम्पन्न गरी मृतक चुल्हिया देवीको लाशजाँच गर्न गौर अस्पतालमा पठाउँदा घाँटीको हड्डी खुस्की बढी रगत बगेको कारणबाट मृत्यु भएको देखिन्छ भन्ने मिति २०४०।५।५ को गौर अस्पतालको लाशजाँच पोष्टमार्टम फाराम ।

५.     प्र.ज. वीरेन्द्रबहादुर खड्काको प्रतिवेदन साथ दाखिल हुनआएको बयान कागज गराउँदा जाहेरवालाको आमा चुल्हीया देवीलाई सम्सेरमियाँ, अहमद मियाँ र म समेतका ३ जनाले समातेको तथा गनी अहमदले आफूसँग भएको चाकू घोची घाँटी काटेको हो । नेक महमद मियाँ र ऐनुल मियाँले पैसाको लोभ देखाई मार्न लगाएका हुन भनी ज्यान मारेमा आफू सावित भई मिति २०४०।७।१०।५ मा कुलिमियाँ धुनियाले प्रहरीमा गरेको कागज ।

६.     जाहेरवालाको आमा चुल्हिया देवीलाई म तथा सम्सेर मियाँ, गनी महमद मियाँ, अहमद मियाँ समेत भई ज्यान मारेका हांै भनी डोरमा देखाइएका कुलिमियाँ आफैं मुख सावित भएकोले निजहरूले चुल्हिया देवीलार्ई कर्तव्य गरी मारेकोमा पुरा शंका लाग्छ । नेक महमद र ऐनुलको चाल चलन राम्रो भएकोले मार्न लगाएका होलान भन्ने शंका लाग्दैन भनी सरजमीनका अधिकाँश व्यक्तिहरूको मिति २०४०।७।१५।३ मा गरिदिएको सरजमीन मुचुल्का ।

७.     मिति २०४०।५।२ गतेका दिन दिउँसो २ बजेको समयमा जाहेरवालाकी आमालाई कुलिमियाँ, सम्सेर मियाँ, अहमद मियाँले समातेको र गनी महमद मियाँ जोलाहाले साथमा लिएको चाकूबाट काटी मारेको र नेकमहमद मियाँ तथा ऐनुल मियाँले चुल्हिया देवीलाई मार्न लगाएको सबूद प्रमाणबाट सिद्ध हुनआएकोले गनी महमद जोलाहा उपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ नं. बमोजिम र शम्सेर मियाँ जोलाहा अहमद मियाँ जोलाहा, कुलिमियाँ धुनिया समेत तीनजना उपर ऐ.ऐनको १३ नं. को देहाय ४ नं. बमोजिम सजायँ हुनुका साथै मार्न लगाउने नेक महदम मियाँ र ऐनुल मियाँका उपर ऐ.ऐनको १३ नं. को देहाय ४ नं. बमोजिम नै कारवाही भई सजायँ हुन माग दावी लिइएको भन्ने समेत व्यहोराको प्रहरी तथा स.स.अ. को संयुक्त प्रतिवेदन ।

८.     २०४० साल भाद्र वा आश्विन कुन महीना हो थाहा छैन, दिनको १० बजे दिसा गर्न जाँदा गनी अहमद, शम्सेर र अहमदसँग भेट हुँदा गनी महमदले नेक महमद र ऐनुलले पनिलालको आमालाई मार्न रु.२०००।दिएका छन् । तिमी पनि हिंड् भन्दा मैले मानिन र पछि दिउँसो ३।४ बजेको समयमा पुनः दिसा गर्न जाँदा गनी महमद लगायतका व्यक्तिहरू उभिरहेको देखी त्यसतर्फ जाँदा शम्सेरले चुल्हिया देवीको मुख थुनिरहेको अहमद निजको पेटमा बसेको र गनी महमदले छुरीले घाँटीमा एकपटक घोपी प्रहारगरेको सोबेलामा म मृतकको खुट्टानेर उभिरहेको थिएँ मैले मर्ने चुल्हिया लाई मारेको छैन भन्ने प्रतिवादी कुलिमियाँको अदालतमा मिति २०४०।७।२३।४ मा गरेको बयान ।

९.     मेरा गाउँको चुल्हिया देवी २०४०।५।२ गतेका दिन मारिएको सुनेको हुँ । म आफ्नो काम विशेषले वैरगनिया गई अन्यत्रै बसेको थिएँ र २०४०।५।३ गते मात्र फर्किएँ । मैले चुल्हियालाई मारे वा मार्नमा सहयोग गरेको छैन । चुनावी मन मुटावको कारणले कुलिमियाँले मलाई पोलेको हो भन्ने समेत व्यहोराको प्रतिवादी ऐनुल मियाँले मिति २०४०।१०।२३।२ मा अदालतमा गरेको बयान ।

१०.    वकरिद पर्वको लागि २०४०।५।१ गते लुगा  कपडा खरीद गर्न वैरगनियातर्फ गई २०४०।५।३ गते मात्र घर फर्किएको हुँ । चुल्हियालाई कर्तव्य गरी मारेको भन्ने सुनेको हुँ । कसको कर्तव्य हो भन्ने कुरा मलाई थाहा छैन । प्र. कुलिमियाँलाई गौर पुर्‍याउन प्रहरीलाई मैले सहयोग गरेको हुँदा मलाई प्र.कुलिमियाँले झुठ्ठा पोल गरेको हो भन्ने समेत व्यहोराको नेक महमद मियाँले २०४०।१०।२३।२ मा अदालतमा गरेको बयान ।

११.    म २०४०।५।१ गते मेरो घर गाउँबाट अन्यत्रै गई ऐ.३ गते मात्र गाउँमा फर्किएको हुँ । प्र. कुलि मियाँसँग झगडा परी गा.पं. बाट निजलाई सजायँ समेत भएको रीसइवीबाट मलाई झुठ्ठा पोल गरेको हो । म चुल्हियालाई मार्ने कार्यमा संलग्न भएको छैन भन्ने समेत व्यहोराको प्र.अहमद मियाँ जोलाहाले २०४०।१०।२३।२ मा अदालतमा गरेको बयान ।

१२.    म २०४०।४।३० गते नै मेरी बहिनीको घर बारा जिल्लामा गई माघ ३ गते घर फर्किएपछि मात्र चुल्हियाको कर्तव्य गरी मृत्यु भएको थाहा पाएको हुँ । मैले चुल्हियालाई मारेको छैन भन्ने समेत व्यहोराको गनी महमद मियाँले २०४०।१०।२६।५ मा अदालतमा गरेको बयान ।

१३.    मेरी आमालाई कर्तव्य गरी मारेको हो प्रतिवादी कुलिमियाँले भनेबाट निजले नै मारेका होलान् भन्ने लाग्दछ । तारेखमा रहेका प्रतिवादी माथि शंका लाग्दैन । २०४०।५।२ गतेका दिन आमाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला पनिलाल राय यादवले अदालतमा २०४१।८।७।५ मा गरेको बकपत्र ।

१४.    अधिकार प्राप्त अधिकारी समक्ष मृतकको खुट्टा पक्रिएकोमा सावित रहेको र अदालतमा पनि घटनास्थलमा रहेको भन्ने स्वीकार समेत गरेकाले प्रतिवादी कुलिमियाँको कर्तव्यबाट मर्ने चुल्हियाको मृत्यु भएको ठहर्छ । प्रतिवादी शम्सेर मियाँको हकमा मुलतवी रहेकोले अन्य प्रतिवादी अहमद मियाँ, गनी महमद मियाँ, नेकमहमद मियाँ, ऐनुल मियाँ समेतले कसूर गरेको ठहर्दैन र प्रतिवादी कुलिमियाँलाई वादी दावी बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४२।१।१७ को रौतहट जिल्ला अदालतको फैसला ।

१५.    शुरु अदालतले प्राप्त सबूद प्रमाणलाई उचित मूल्यांकन नगरी अ.बं. ११५ को प्रकृया पूरा गर्नु पर्नेमा सो प्रकृया पुरा नगरी गरेको फैसला त्रुटिपूर्ण देखिन्छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट २०४२।२।३० मा म.क्षे.अ. मा दिएको पुनरावेदनपत्र ।

१६.    शुरु जिल्ला अदालतको फैसलामा इन्साफ न्यायसंगत भएन । मार्ने व्यक्तिलाई २० वर्ष सजायँ र सहमति दिनेलाई ५ वर्ष कैद हुनु पर्नेमा सो नभई म पुनरावेदकलाई २० वर्ष सजायँ गर्ने गरेको इन्साफ बदरभागी छ भन्ने समेत व्यहोराको प्र.कुलिमियाँ धुनियाले म.क्षे.अ. मा २०४२।५।७ मा दिएको पुनरावेदन ।

१७.    जाहेरवाला समेतले बकपत्र गर्दा निज प्रतिवादीहरूले कसूर गरेको भन्न नसकेको हुँदा प्रतिवादीहरू गनीमहमद, ऐनुल अहमद र नेकमहमद उपरको अभियोग अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको हुँदा सहअभियुक्तको पोल सम्मको आधारले कसूरदार ठहराउन मिलेन । तसर्थ शुरु रौतहट जिल्ला अदालतले प्र. कुलिमियाँलाई कसूरदार ठहराई सजायँ गरेको र प्रतिवादीहरू अहमद मियाँ, गनी महमद मियाँ, ऐनुल मियाँ जोलाहा र नेकमहमद मियाँलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ।

१८.    म.क्षे.अ. बाट भएको उक्त फैसलामा चित्त बुझेन । प्रमाणको सही मूल्यांकन नगरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कुली मियाँको यस अदालतमा परेको पुनरावेदन ।

१९.    प्रतिवादी मध्येको गनी अहमद मियाँ, नेकमहमद, अहमद मियाँ, ऐनुल मियाँ समेतलाई सफाई      दिएको रौतहट जिल्ला अदालतको फैसलालाई सदर गरेको हदसम्म म.क्षे.अ.को फैसला उपर चित्त नबुझेकोले उक्त ४ जना अभियुक्तहरूलाई पनि प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन ।

२०.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सहायक न्यायाधिवक्ता श्री रघुनाथ अर्याल र पुनरावेदक प्रतिवादी कुलि मियाँको तर्फबाट रहनुभएका विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्यालले गर्नु भएको बहस सुनियो ।

२१.    म.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के रहेछ त्यसमा निर्णय दिन पर्ने हुन आयो ।

२२.    यसमा श्री ५ को सरकारतर्फबाट अ.बं. ११५ नं. समेत प्रयोग गरी सरजमीनका मानिस बुझिनु पर्ने भन्ने हकमा सरजमीनका मानिस मध्ये कोही पनि वारदात देख्ने र मुद्दाको निर्णयमा खास असर पार्न सक्ने किसिमको बकाई भएको कोही नदेखिएकोले सो जिकिरसँग सहमत हुन सकिएन । अब इन्साफ तर्फ विचार गरेमा प्र. कुली मियाँ प्रहरीमा मर्ने चुल्हीया देवीलाई मारेको ठाउँमा उपस्थित भई खुट्टा समाई मार्ने काममा सहयोग पुर्‍याएमा सावित भई मार्नेमा गनिमियाँलाई पोलेकोमा अदालतमा आई बयान गर्दा पनि सोही कुरालाई समर्थन गरी आफू मार्ने ठाउँमा जान इन्कार गरेकोमा पछि फेरि मार्ने वारदात भएमा आफू पुगी खुट्टानिर उभिरहेमा सावित रहेको देखियो । तर निजको प्रहरी र अदालतको पोल बमोजिम अरु अभियुक्तहरूले सो ज्यान मारेको भन्ने अरु कुनै सबूदबाट समर्थन नभई बरु अदालतमा आई बकपत्र गर्ने जाहेरवालाले नै अरु प्रतिवादीहरू उपर शंका लाग्दैन भनी बकेका र मौका सरजमीनका मानिसले पनि ऐनुस र नेक महमद उपर शंका लाग्दैन, अरु बदमाश भएकोले शंका लाग्छ भनी सम्म देखाएकोबाट अदालतमा आई अन्तै रहे भएको देखाई इन्कार हुने प्रतिवादीहरूले निजहरूको साक्षीले सो इन्कारी पुष्टि हुने गरी बकेको छँदै निजको पोल बमोजिम उक्त अरु प्रतिवादीहरूले नै मारेको ठहर्‍याउन कानूनी सर्वमान्य सिद्धान्तको बिपरीत पर्ने देखिएकोले मर्ने चुल्हीया देवीलाई अरु कसैले मारेको नदेखिएको अवस्थामा प्रतिवादी कुलीमियाँको अदालतको बकाई साँचो मानी निजलाई ज्यानसम्बन्धीको १३(४) बमोजिम जन्मकैद हुनु नपर्ने भन्ने विद्वान वैतनिक वकीलको जिरहसँग सहमत हुन नसकेको र अरु प्रतिवादीहरूलाई सजायँ हुनुपर्ने भन्ने विद्वान सहायक न्यायाधिवक्ताको बहस तथा पुनरावेदन जिकिर समेत पुग्न नसक्ने हुँदा इन्साफ म.क्षे.अ. को मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादी कुली मियाँलाई पुनरावेदन गरे बापत थप सजायँ गर्नुपर्छ कि भन्नलाई जन्मकैद हुने ठहरेकोले थप सजायँ गरी रहन परेन । मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल ज्येष्ठ ९ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु