शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४४३ - लेनदेन मुद्दामा पुनरावेदनको अनुमति पाउँ

भाग: ३० साल: २०४५ महिना: श्रावण अंक:

निर्णय नं. ३४४३ ने.का.प. २०४५      अङ्क ४

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४४ सालको निवेदन नं. ९४६

आदेश भएको मिति : ०४४।११।१४।६ मा

 

निवेदक/प्रतिवादी : जि.सुर्खेत सहारे गा.पं. वडा नं. ७ को हाल विकला गा.पं वडा नं ५ बस्ने खिमानन्द खत्री

विरुद्ध

विपक्षी/वादी : ऐ.मेहेल कुना गा.पं वडा नं. ७ बस्ने रुप सिं घर्ती मगर

 

विषय : लेनदेन मुद्दामा पुनरावेदनको अनुमति पाउँ

 

(१)                 जिल्ला अदालतबाट फैसला भई अञ्चल अदालतको संयुक्त इजलासबाट पहिला पुनरावेदन निर्णय भएको फैसला उपर क्षेत्रीय अदालतले पुनरावेदन हेरी अञ्चल अदालतको निर्णय सदर गरी दोस्रो पुनरावेदन निर्णय गरेको स्थितिमा क्षेत्रीय अदालतले दोस्रो पुनरावेदन तहको पुनरावेदन हेरी गरेको निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदनको लागि अनुमति पाउँ भनी दिएको निवेदन न्या.प्र.सु. (चौथो संशोधन) ऐन, ०३१ को दफा १३(५)(७) को उल्लिखित कानूनी आधारबाट दर्ता गरी हेर्न नमिल्ने ।

(प्रकरण नं.  १)

 

आदेश

१.     यसमा म.प.क्षे.अ.को ०४४।७।१० को फैसला उपर न्या.प्र.सु. (संशोधन) सहितको ऐन, ०३१ को दफा १३(५) को देहाय (ख) र (ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति पाउँ भनी निवेदक प्रतिवादी खिमानन्द खत्रीले प्रस्तुत निवेदन दर्ता गर्न ल्याएको दर्ता भई यस इजलास समक्ष पेश हुनआएको पाइन्छ । यसको सम्बन्धित कानून न्या.प्र.सु. (चौथो संशोधन) ऐन, ०३१ को दफा १३(५) हेरिएमा अञ्चल अदालत वा प्रचलित नेपाल कानून बमोजिम कुनै निकाय वा अधिकारीले शुरु कारवाही गरी गरेको निर्णय उपर क्षेत्रीय अदालतले पुनरावेदन हेरी सो निर्णय सदर गरेको क्षेत्रीय अदालतको फैसला वा अन्तिम आदेश उपर उपदफा (७) का अधीनमा रही आफू समक्ष पुनरावेदन गर्ने अनुमति दिन सक्नेछ भन्ने उल्लेख भएको र सोही ऐनको दफा १३(७) हेरिएमा उपदफा ४ को खण्ड (ख)(ग) बाहेक अन्य खण्डहरू अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिन इन्कार गरेको आदेश वा पुनरावेदनको अनुमति दिई गरेको फैसला वा अन्तिम आदेश उपर पुनः पुनरावेदनको अनुमतिको लागि सर्वोच्च अदालतमा निवेदन लाग्ने छैन भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत निवेदनमा जिल्ला अदालतबाट फैसला भई अञ्चल अदालतको संयुक्त इजलासबाट पहिला पुनरावेदन निर्णय भएको देखिएको सो फैसला उपर क्षेत्रीय अदालतले पुनरावेदन हेरी भेरी अं.अ. को निर्णय सदर गरी दोस्रो पुनरावेदन निर्णय गरेको पाइन्छ । यस्तो स्थितिमा क्षेत्रीय अदालतले दोस्रो पुनरावेदन तहको पुनरावेदन हेरी गरेको निर्णय उपर पुनरावेदनको लागि अनुमति पाउँ भनी दिएको निवेदन दर्ता गरी हेर्न मिल्ने सर्वोच्च अदालतमा अनुमतिको  निवेदन लाग्ने सम्बन्धित न्या.प्र.सु. (चौथो संशोधन) ऐन, ०३१ को दफा १३(५)(७) समेतका कुनै दफामा पनि उक्त उल्लेख भएबमोजिम व्यवस्था भ्एको नदेखिएकोले प्रस्तुत निवेदन दर्ता भई यस इजलास समक्ष पेश हुनआएको देखिएकोले उक्त उल्लिखित कानूनी आधारबाट दर्ता गर्नै नमिल्ने निवेदन दर्ता भई आएकोले यसमा केही गर्न  मिलेन । प्रस्तुत निवेदन दर्ताको लगत कट्टा गरी फायल नियमानुसार गरी बुझाई दिनु ।

 

न्यायाधीश      न्यायाधीश

 

इति सम्वत् २०४४ साल फाल्गुण १४ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु