निर्णय नं. १०९८५ - घर टहरा हटाई जग्गा खिचोला चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७८।८।२२
मुद्दाः- घर टहरा हटाई जग्गा खिचोला चलन
०७२-CI-०१८३
पुनरावेदक / प्रतिवादी : जलेश्वर नगरपालिका वडा नं.९ मा बस्ने धनेश्वर रायको श्रीमती चित्ररेखा रायसमेत
विरूद्ध
विपक्षी / वादी : जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.८ स्थित साकेताधीश भगवान् पुषा कुटी मठ जनकपुरको तर्फबाट अधिकार प्रत्यायोजित भई ऐ. संस्थाको अध्यक्ष ऐ. वडा नं.४ बस्ने रामरतन मिश्र
०७२-CI-०३९१
पुनरावेदक / वादी : जिल्ला महोत्तरी श्रीपुर कविलासी गा.वि.स. भनी लेखेको भए पनि वास्तविक जिल्ला महोत्तरी सिग्याही गा.वि.स. वडा नं.१ कविलासी हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.८ मा सूर्य नारायण मिश्रको बुहारी अरूणकुमार मिश्रको श्रीमती इन्दु देवीसमेत
विरूद्ध
विपक्षी / प्रतिवादी : जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं.८ स्थित साकेताधीश भगवान् पुषा कुटी मठ जनकपुरको तर्फबाट अधिकार प्रत्यायोजित भई ऐ. संस्थाको अध्यक्ष ऐ. वडा नं.४ बस्ने रामरतन मिश्र
०७२-CI-०३९२
पुनरावेदक / प्रतिवादी : देवलाल पासमानकी पत्नी जिल्ला धनुषा, साबिक गा.वि.स. ठाडी झिझा वडा नं.२ हाल जनकपुर उपमहानगरपालिका, वडा नं.८ आँखा अस्पताल नारायण चोकदेखि दक्षिणको बस्ने शिवकलाकुमारी देवीसमेत
विरूद्ध
विपक्षी / वादी : स्व. मकसुदन मिश्रको छोरा, जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका, वडा नं.१३ हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं.४ कटैया चौरीमा बस्ने रामरतन मिश्र
शेषपछिको बकसपत्रको लिखत बदर नभएको अवस्थामा मठ मन्दिरको जग्गालाई सार्वजनिक जग्गा मान्नुपर्ने ।
(प्रकरण नं.६)
मन्दिरको जग्गा सार्वजनिक हुने भएकोले उक्त जग्गा मनखपको लिखत भएको भन्ने आधारमा कसैले पनि अनन्तकालसम्म यस्तो जग्गाको भोगाधिकार पाउँछ भन्नु न्याय र तर्कसङ्गत नहुने ।
(प्रकरण नं.१५)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव यादव, श्री प्रकाश के.सी. र श्री श्याम खरेल
वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री करूणाकर मल्लिक
अवलम्बित नजिर :
ने.का.प.२०५६, अङ्क ६, नि.नं.६७३५
सम्बद्ध कानून :
जग्गा (नाप जाँच) ऐन, २०१९
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री कैलाश के.सी.
धनुषा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री सत्यराज गुरूङ
माननीय न्यायाधीश श्री प्रेमराज ढकाल
पुनरावेदन अदालत जनकपुर
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई हेरिपाउने निस्सा प्राप्त भई यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः-
तथ्य खण्ड
श्री साकेताधीश श्री सीयाराम भगवान् पुषा कुटीको महन्थ रामकिंकर दास वैष्णवको नाउँमा दर्ता रहेको जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८, सिट नं. १३५४-१०, कि.नं. २४ को ०-१६-१५-२ कायम रहेको मठ मन्दिरको जग्गा दक्षिण पश्चिम कुनामा फूलबारी र खाली जग्गा विपक्षीमध्येका प्रतिवादी शिवकला कुमारी देवीले दक्षिण पश्चिम कुनाबाट ०-०-१० निज शिवकला देवीले कब्जा गरेको घर जग्गादेखि उत्तर अरूणकुमार मिश्र र विन्दु मिश्रले ०-२-० यसै गरी शिवकला देवीले कब्जा गरेको जग्गादेखि पूर्व सूर्यदेव पासमानले ०-०-१० जग्गा र निज सूर्यदेव पासमानभन्दा पूर्वतर्फ धनेश्वर राय र चित्ररेखा रायले ०-०-१० जग्गा कब्जा गरी सो जग्गामा बाँसको टाट घर टहरासमेत बनाई जग्गा खिचोला गर्नुभएकोले विपक्षीले बनाउनु भएको घर टहरा हटाई खिचोला मेटाई चलन चलाइपाउँ भन्नेसमेत बेहोराको वादी रामरतन मिश्रको फिराद पत्र ।
मैले २०६५।१०।५ गतेका दिन रामकृपालसित ०-०-१० जग्गा मनखपमा लिई घर बनाई भोग चलन गरी आएको छु, खिचोला गरेको होइन भन्ने जोगिन्दर भन्ने सूर्यदेव पासमानको प्रतिउत्तर
पत्र ।
मैले रामकिंकर दासबाट २०६० सालमा ०-०-१० जग्गा मनखपमा लिई घर बनाई बसोबास गरी आएको छु, खिचोला गरेको होइन भन्ने शिवकला कुमारी देवीको प्रतिउत्तर पत्र ।
प्रतिवादी इन्दु देवीले रामकिंकर दासबाट मिति २०६१।१।१ मा मनखपमा ०-१-१० जग्गा लिएको हुँ । सो जग्गामा घेरवेर गरी धेरै पहिला घरसमेत बनाई भोग चलन गरी आएको छु खिचोला गरेको होइन भन्ने इन्दु देवीको प्रतिउत्तर पत्र ।
म चित्ररेखा रायलाई मिति २०५८।१२।७ गतेमा रामकिंकर दासले करार पत्र गरी मलाई ०-०-७ जग्गामा घरद्वार बनाउन चलन गर्न दिनुभएकोमा सो जग्गामा घर बनाई बसोबास गर्दै आई रहेकोमा लिखतबमोजिमको जग्गाको घर बनाई भोग चलन गर्दै रहेको छु । खिचोला गरेको होइन भन्ने चित्ररेखा रायको प्रतिउत्तर पत्र ।
वादी दाबीको जग्गा घर प्रतिवादी जिकिरको जग्गा घरसमेत प्रस्ट देखिने गरी हालको प्रकृतिसमेत खुलाई प्रस्ट देखाई अ.बं. १७१ नं. बमोजिम वादी प्रतिवादीलाई रोहबरमा राखी नाप नक्सा र उक्त जग्गामा घर भए कहीले बनेका हुन् सो सम्बन्धमा स्थानीय व्यक्तिलाई समेत राखी सर्जमिन गरी मिसिल सामेल राख्नु भन्ने आदेश ।
मिति २०६९ साल आश्विन १९ गतेमा भई आएको नाप नक्सा र सर्जमिन मुचुल्कासमेत मिसिल सामेल रहेको ।
प्रतिवादी चित्ररेखा राय २०५८ सालमा घर बनाई बसेका हुन् । निजले उक्त जग्गा रामकिंकर दासबाट किनेका हुन् रजिस्ट्रेसनका लागि रू.१०,०००।– बाँकी राखेका थिए भन्ने बेहोराको प्रतिवादी चित्ररेखा रायसमेतका साक्षी सन्तोषकुमार साहले बकेको
बकपत्र ।
प्रतिवादी शिवकलाले उक्त जग्गा रामकिंकर दासबाट मनखपमा लिई २०६५ सालमा घर बनाई बसेका हुन् भनी शिवकलाका साक्षी केदार पासमानले गरेको बकपत्र ।
उक्त जग्गा रामकिंकर दासबाट बिक्रीनामाको कागज गरी इन्दु देवीले लिएको
हो । २०६२ सालदेखि घर बनाई बसेका हुन् भन्ने बेहोराको इन्दु देवीका साक्षी सुन्दर सहनीले गरेको बकपत्र ।
प्रतिवादीहरूले २०६८ सालमा जबरजस्ती घर बनाई बसोबास गरेका हुन् भन्ने वादी रामरतन मिश्रका साक्षी राममुर्ती पाण्डेयले गरेको बकपत्र ।
प्रतिवादी सूर्यदेव पासमानले उक्त जग्गा रामकिंकर दासबाट मनखपमा लिई २०६५ सालमा घर बनाई बसेका हुन् भन्ने बेहोराको सूर्यदेव पासमानका साक्षी तपसी साहले गरेको बकपत्र ।
विपक्षीहरूबाट पेस भएको मनखपको कागजले अचल सम्पत्ति भोग चलन गर्न पाउने कुनै व्यवस्था रहे भएको छैन उक्त मनखपको कागज रजिस्ट्रेसन भएको छैन । घरसारको कागज हो त्यसको कुनै मान्यता छैन विवादित जग्गा शेषपछिको बकसपत्रबाट भगवान्को नाउँमा दर्ता भएको सार्वजनिक मन्दिरको जग्गा हो भन्नेसमेत बेहोराको वादीका वारेस रविन्द्रकुमार कर्णले गरेको सनाखत बयान ।
सरोकारका विषयमा मुलुकी ऐन अ.ब. १० नं. बमोजिम अदालतको अनुमति प्राप्त गरेपछि मात्र सरोकारवाला भन्ने कुरा स्थापित हुने हो । यसरी वादीले अनुमति लिएको देखिँदैन । मिति २०६८।५।१० गते बिहान ४ वटा घर निर्माण गरी खिचोला गर्नुभएको भनी फिरादमा उल्लेख भएको छ जबकि निवेदक जितेन्द्र ठाकुर र विपक्षी रेणु देवीसमेत भएको निषेधाज्ञा मुद्दामा मिति २०६८।२।१७ मा पुनरावेदन अदालत जनकपुरबाट उक्त जग्गामा घरहरू रहेको देखिएकोले निषेधाज्ञा खारेज हुने ठहरेको देखिँदा मिति २०६८।५।१० मा घर निर्माण गरेको भन्ने कथन सत्य
देखिएन । तसर्थ हकदैया तथा हदम्याद नभएको प्रस्तुत फिरादमा तथ्यभित्र पसी इन्साफ गर्न मिल्ने
देखिएन । प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्नेसमेत सुरू जिल्ला अदालतको मिति २०७०।५।२० को फैसला ।
साकेताधीश शियाराम भगवान् पुषा कुटी मठको संरक्षक संवर्द्धन र व्यवस्थित रूपले सञ्चालन गर्ने उद्देश्यले संस्था दर्ता ऐन, २०३४ बमोजिम स्थापित संस्था हो । कानूनबमोजिम स्थापित संस्थाको निर्णयअनुसार प्रत्यायोजित अधिकारबमोजिम सो संस्थाको अध्यक्षको हैसियतले मुद्दा दायर गर्दा अ.बं. १० नं. बमोजिम अनुमति लिनुपर्ने आवश्यकता र औचित्यसमेत रहे भएको छैन । साथै जितेन्द्र ठाकुर विरूद्ध रेणु देवी भएको मुद्दा निजहरू एक आपसमा मिली गरेको हुँदा उक्त मुद्दाले विवादित जग्गामा विपक्षीको हक कायम भयो भन्न मिल्दैन । हक नै नभएको व्यक्ति रामकृपाल दासबाट विपक्षीहरूले लेखाई लिनुभएको कागजबाट विपक्षीहरूले जग्गा हक भोग गर्न नपाउने हुँदा सुरू फैसला बदर गरी अङ्गसमेत वादीको पुनरावेदन अदालत जनकपुरमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा जग्गा सार्वजनिक प्रकृतिको देखिएको यस्तो सार्वजनिक जग्गा संरक्षण गर्न सीताराम भगवान् पुषा कुटी मठ समिति गठन भई जिल्ला प्रशासन कार्यालय दर्ता भई उक्त समितिको तर्फबाट फिराद गरेको देखियो । सार्वजनिक सरोकारको यस्तो अ.बं. १० नं. बमोजिम अनुमति लिई मुद्दा दायर नगरेको भन्ने आधार ग्रहण गरी भएको सुरू फैसला प्रमाण मूल्याङ्कन एवं अ.बं. १० नं. को कानूनी प्रश्नमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।
हकदैया र हदम्यादको आधारमा फिराद पत्र खारेज हुने ठहर्याएको सुरू धनुषा जिल्ला अदालतको मिति २०७०।५।२० गतेको फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी गरी वादी दाबीबमोजिम प्रत्यर्थी प्रतिवादीहरूले विवादित कि.नं.९४ को जग्गा खिचोला गरी बनाएको घर टहराहरू हटाई खिचोला मेटाइदिने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।८।८ मा भएको फैसला ।
जिल्ला धनुषा, जनकपुर नगरपालिका, वडा नं.८, सिट नं.१३५४-१०, कि.नं.२५ को क्षेत्रफल १-३-११-२ जग्गामध्ये विभिन्न व्यक्तिहरूलाई बिक्री गरी बाँकी रहेको र सोही जग्गामध्ये ०-०-७ धुर जग्गा म चित्ररेखा रायले मिति २०५८/१२/०७ मा करारपत्रको लिखतबाट प्राप्त गरी भोगचलन गरी आएको छु । सो कि.नं.२५ कित्ताकाट भई विभिन्न व्यक्तिलाई बिक्री गरिसकेपछि कायम कि.नं.९४ को जग्गा हालसम्म रामकिंकर दास वैष्णवकै नाममा दर्ता रहेकोमा विवाद छैन । उक्त जग्गा शेषपछिको बकसपत्रको लिखत गरी दिएपछि सियाराम पुषा कुटीको नाममा दर्ता भएको छैन । यस अवस्थामा निष्क्रिय भइसकेको शेषपछिको बकसपत्रको लिखतको आधारमा गरिएको फैसला त्रुटिपूर्ण छ ।
हाम्रो घर जग्गा पुषा कुटी मठको जग्गामा बनाएको घर होइन उक्त जग्गामा रहेको हामी पुनरावेदकको घर न.नं.९ मा रहेको र सो घर हामीले जग्गाधनी रामकिंकर दासबाट मिति २०५८ चैत्र ०७ गते निजका चेला रामकृपाल दास र राम शरण दासको साक्षी रोहबरमा करारपत्रको घरसारको कागजबाट प्राप्त गरी भोगचलन गरी आएका
छौँ । उक्त जग्गा साकेताधीश भगवान् पुषा कुटिको जग्गा नभई रामकिंकर दासको नाममा दर्ता रहेको निजको निजी हकभोगको जग्गा हो । जुन तथ्यलाई रामकिंकर दासको नाममा रहेको जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट पुष्टि हुने नै छ ।
एकाव्यक्तिको नाउँमा दर्ता रहेको जग्गामा सो व्यक्तिको, मन्जुरी एवं सहमतिले सार्वजनिक प्रकृतिका भौतिक संरचनाहरू निर्माण भएको भए पनि सोबाहेकका सम्पूर्ण जग्गाले सार्वजनिक रूप धारण गर्न सक्दैन । मालपोत ऐन, २०३४ को दफा २(ख)(३) र जग्गा नाप जाँच ऐन, २०१९ को दफा २(च) ले गरेको परिभाषाले कि.नं.९४ को सम्पूर्ण जग्गालाई सार्वजनिक जग्गाको रूप प्रदान गर्न सकिँदैन । भई आएको नाप नक्सा मुचुल्काले देखाएको न.नं.४ क, ख, ग, घ, ङ, च, छ, ज, झ, ज, ट, ढ, ड, ण, त को जग्गा मात्र-साकेताथीश भगवान् पुषा कुटीको जग्गा रहेको स्थापित छ किनकि सो जग्गाबाहेकका अन्य जग्गामा भगवान्को मूर्तिसमेत नरहेको र मन्दिरको उपभोगमा समेत नरही रामकिंकर दासले आफ्नो जीवनकालमा नै हामी पुनरावेदकलाई लिखत गरी भोगचलन गर्न दिएबाट त्यसलाई सार्वजनिक संज्ञा दिन मिल्दैन ।
उक्त जग्गा रामकिंकर दासको नाममा दर्ता रहेकोमा विवाद छैन । भेषधारी रामकिंकर दासले उक्त जग्गा भगवान्को नाममा शेषपछिको बकसपत्र गरिदिएको भए पनि आफ्नो शेषअघि नै हामीलाई लिखत गरी भोगचलन गर्न दिएको र त्यसरी भोगचलन गर्न दिन नपाउने गरी भेषधारीलाई कानूनले बन्देज लगाएको अवस्था छैन । यस अवस्थामा रामकिंकर दासले गुठीको ११ नं. बमोजिम आफूखुसी गर्न पाउने प्रकृतिको जग्गा हामीलाई लिखत गरी भोगचलन गर्न दिएकोमा त्यसलाई अन्यथा हुने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
विवादित जग्गा सार्वजनिक हक हित सरोकार निहित रहेको जग्गा नभई व्यक्तिगत स्वार्थ एवं हक हित निहित रहेको जग्गा रहेको तथ्य स्थापित भएको छ । पुनरावेदन अदालतको फैसलामा जहिलेसुकै मुद्दा गर्न पाउने भन्ने व्याख्या गरेको सन्दर्भमा अ.बं. ३६ नं. मा ऐनमा हदम्याद नहुने कुरामा जहिलेसुकै नालेस दिए पनि लाग्छ भन्ने कानूनी व्यवस्था रहेको छ । वादीले फिराद दायर गर्दा मुलुकी ऐन घर बनाउनेको ११ नं. र जग्गा मिच्नेको १८ नं.को हदम्याद अँगालेका छन् । घर बनाउनेको ११ नं. मा घर तयार भएको मितिले १ वर्षभित्र नालेस गरिसक्नुपर्ने र जग्गा मिच्नेको १८ नं. मा थाहा पाएको ६ महिनाभित्र नालेस गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । प्रस्तुत जग्गामा हामीले मिति २०५८/१२/०७ मा जग्गा प्राप्त गरिसकेपछि तत्कालै घेरबेर गरी घर बनाई बसोबास गरी आएकाले घर, पहिले नै तयार भइसकेको तथ्य स्थापित हुन्छ ।
मनखपको लिखत स्थानीय स्तरमा साहु र आसामीबिच खडा गरिने एक प्रकारको लिखत हो । नेपाल अधिराज्यमा प्रचलित रहेका सबै शब्द र शब्द समूह नेपाली शब्दकोषमा हुनै पर्दछ भन्ने होइन । शब्दकोषले समेट्न नसकेका शब्दहरूसमेत स्थानीय भाषामा चलनचल्तीमा रहेको र जनजिब्रोमा रहेका हुन्छन् जसलाई भाषा शास्त्रले मान्यता प्रदान गरेको हुन्छ । “मनखप” शब्द नरहेको भन्ने कारणले त्यस्तो कागज बनाउन पाइने होइन-भनी अर्थ गर्न
मिल्दैन । मनखपको कागजको अर्थ गर्दा मन भन्नाले ४० किलोको नाप भएको हुँदा प्रतिकट्ठा ४० किलो धान बुझाउने सर्तमा जग्गावालाले आफ्नो जग्गा भाडामा लगाएको कागज हो । उक्त कागज गर्न नपाउने गरी कानूनले जग्गाधनीलाई रोक लगाएको छैन । उक्त कागजमा घरद्वार बनाई बसोबास गर्नसमेत स्वीकृति दिएको कारणले जग्गाधनीले आफ्नो मन्जुरीले मलाई जग्गामा घर बनाई बसोबास गरी भोगचलन गर्न पाउने र त्यसका लागि प्रतिकट्ठा ४० के.जी.का दरले भाडा दिनुपर्ने गरी भएको कागजको आधारमा हाम्रो भोग हुन आएको अन्यथा अर्थ गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी गरी फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको धनेश्वर रायसमेतको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको ०७२-CI-०३९२ को घर टहरा हटाई जग्गा खिचोला चलन मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भइसकेको हुँदा प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी भएकोले मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७५।१।१६ मा भएको आदेश ।
सर्वप्रथम पुनरावेदन अदालत जनकपुरबाट फैसला गरिँदा मूल रूपमा रामकिंकर दासले श्री साकेताधीश भगवान् पुषा कुटीको नाममा शेषपछिको बकसपत्र गरिदिएको आधार लिएको पाइन्छ । जबकि उक्त शेषपछिको बकसपत्रको लिखत २०५१/०६/११ मा पारित भएको भए पनि सो लिखत क्रियाशील हुन सकेको छैन । सो लिखत गरिदिने दाताले आफ्नो जीवनकालमा नै आफूले शेषपछिको बकसपत्र गरिदिएको लिखतमा उल्लिखित जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिदिएको तथ्य स्थापित छ ।
जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं.८ सिट नं.१३५४-१० कि.नं.२५ को क्षेत्रफल १-३-११-२ जग्गामध्ये विभिन्न व्यक्तिहरूलाई बिक्री गरी बाँकी रहेको र सोही जग्गामध्ये ०-०-७ धुर जग्गा म इन्दुदेवी भुमिहार्नीले मिति २०६१/१/२० गते र.नं.११०७१ख को राजीनामा लिखतबाट खरिद गरी भोगचलन गरी आएको छु । सोही कि.नं.२५ कित्ताकाट भई विभिन्न व्यक्तिलाई बिक्री गरिसकेपछि कायम कि.नं.९४ को जग्गा हालसम्म रामकिंकर दास वैष्णवकै नाममा दर्ता रहेकोमा विवाद छैन ।
नाप नक्सा मुचुल्काले देखाएको हाम्रो घर जग्गा पुषा कुटी मठको जग्गामा बनाएको घर होइन उक्त जग्गामा रहेको हामी पुनरावेदकको घर न.नं.९ मा रहेको र सो घर हामीले जग्गाधनी रामकिंकर दासबाट मिति २०६१ वैशाख २० गते निजका चेला रामकृपाल दास र राम शरण दासको साक्षी रोहबरमा मनखपको घरसारको कागजबाट प्राप्त गरी भोगचलन गरी आएका छौँ । उक्त जग्गा साकेताधीश भगवान् पुषा कुटीको जग्गा नभई रामकिंकर दासको नाममा दर्ता रहेको निजको निजी हकभोगको जग्गा हो । जुन तथ्यलाई रामकिंकर दासको नाममा रहेको जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट पुष्टि हुने नै छ ।
मालपोत ऐन, २०३४ को दफा २(ख)(३) र जग्गा नाप जाँच ऐन, २०१९ को दफा २(च) ले गरेको परिभाषाले कि.नं.९४ को सम्पूर्ण जग्गालाई सार्वजनिक जग्गाको रूप प्रदान गर्न सकिँदैन । नाप नक्सा मुचुल्काले देखाएको न.नं.४ क, ख, ग, घ, ङ, च, छ, ज, झ, ज, ट, ढ, ड, ण, त को जग्गा मात्र साकेताथीश भगवान् पुषा कुटीको जग्गा रहेको स्थापित छ किनकि सो जग्गाबाहेकका अन्य जग्गामा भगवान्को मूर्तिसमेत नरहेको र मन्दिरको उपभोगमा समेत नरही रामकिंकर दासले आफ्नो जीवनकालमा नै हामी पुनरावेदकलाई लिखत गरी भोगचलन गर्न दिएबाट त्यसलाई सार्वजनिक संज्ञा दिन मिल्दैन ।
प्रस्तुत मद्दामा वादीले फिराद दायर गर्दा आफूलाई कानूनी व्यक्ति श्री साकेताधीश, सियाराम पुषा कुटी मठको तर्फबाट अख्तियार प्राप्त भनी दायर गरेको र जग्गालाई संस्थाको निजी सम्पत्ति भनी उल्लेख गरेबाट उक्त जग्गा सार्वजनिक सरोकार र सार्वजनिक हक हित निहित रहेको नभई सो संस्था र त्यसमा आवद्ध व्यक्तिहरूको निजी हक हित र स्वार्थ निहित रहेको जग्गा भएको तथ्य स्थापित
छ । यस अवस्थामा अ.बं १० नं. को हकदैया ग्रहण गर्न सकिँदैन । वादीले नै सार्वजनिक भनी दाबी लिन नसकेको जग्गालाई अदालतले वादी बनी सार्वजनिक मान्न सक्ने होइन । विवादित जग्गा सार्वजनिक हक हित सरोकार निहित रहेको जग्गा नभई व्यक्तिगत स्वार्थ एवं हक हित निहित रहेको जग्गा रहेको तथ्य स्थापित भएको छ ।
पुनरावेदन अदालतको फैसलामा जहिलेसुकै मुद्दा गर्न पाउने भन्ने व्याख्या गरेको सन्दर्भमा अ.बं. ३६ नं. मा ऐनमा हदम्यादमा जहिलेसुकै नालेस दिए पनि लाग्छ भन्ने कानूनी व्यवस्था रहेको छ । वादीले फिराद दायर गर्दा मुलुकी ऐन घर बनाउनेको ११ नं. र जग्गा मिच्नेको १८ नं.को हदम्याद अँगालेका छन् । घर बनाउनेको ११ नं. मा घर तयार भएको मितिले १ वर्षभित्र नालेस गरिसक्नुपर्ने र जग्गा मिच्नेको १८ नं. मा थाहा पाएको ६ महिनाभित्र नालेस गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । प्रस्तुत जग्गामा हामीले २०६१/१/१ मा जग्गा प्राप्त गरिसकेपछि तत्कालै घेरवेर गरी घर बनाई बसोबास गरी आएका छौँ । जुन तथ्यलाई यसै जग्गामा घर बनाउने आशंका देखाई जीतेन्द्र ठाकुरले हामीसमेतको उपर पुनरावेदन अदालत जनकपुरमा दायर गरेको २०६६ सालको रिट नं.११२/०३९०९ को निषेधाज्ञा मुद्दामा २०६८/०२/१७ गते फैसला हुँदा घर बनाउने कार्य सम्पन्न भइसकेको भन्ने आधारमा खारेज भएकोबाट र प्रत्यर्थी वादी रामरतन मिश्रले म धनेश्वर रायसमेतका उपर जिल्ला प्रशासन कार्यालय धनुषामा मिति २०६८/०३/१८ मा दिएको निवेदनमा अतिक्रमण हटाई जग्गा खाली गराइदिनु भन्ने बेहोराबाट घर पहिले नै तयार भइसकेको तथ्य स्थापित हुन्छ ।
मनखपको लिखत स्थानीय स्तरमा साहु र आसामीबिच खडा गरिने एक प्रकारको लिखत हो । नेपाल अधिराज्यमा प्रचलित रहेका सबै शब्द र शब्द समूह नेपाली शब्दकोषमा हुनै पर्दछ भन्ने होइन । शब्दकोषले समेट्न नसकेका शब्दहरूसमेत स्थानीय भाषामा चलनचल्तीमा रहेको र जनजिब्रोमा रहेका हुन्छन् जसलाई भाषा शास्त्रले मान्यता प्रदान गरेको हुन्छ । “मनखप” शब्द नरहेको भन्ने कारणले त्यस्तो कागज बनाउन पाइने होइन भनी अर्थ गर्न
मिल्दैन । मनखपको कागजको अर्थ गर्दा मन भन्नाले ४० किलोको नाप भएको हुँदा प्रतिकट्ठा ४० किलो धान बुझाउने सर्तमा जग्गावालाले आफ्नो जग्गा भाडामा लगाएको कागज हो । उक्त कागज गर्न नपाउने गरी कानूनले जग्गाधनीलाई रोक लगाएको छैन । उक्त कागजमा घरद्वार बनाई बसोबास गर्नसमेत स्वीकृति दिएको कारणले जग्गाधनीले आफ्नो मन्जुरीले मलाई जग्गामा घर बनाई बसीबास गरी भोगचलन गर्न पाउने र त्यसका लागि प्रतिकट्ठा ४० के.जी.का देरले भाडा दिनुपर्ने गरी भएको कागजको आधारमा हाम्री भोग हुन आएको अन्यथा अर्थ गरी भएको फैसला त्रुटिपूर्ण छ ।
म चित्ररखा रायलाई रामकिंकर दासले गरिदिनुभएको कागज हालसम्म बदर भएको छैन । उक्त कागजमा रामकिंकर दासका चेलाहरू रामकृपाल दास र राम शरण दास साक्षीमा बसेका छन् । चेला छोरासमेतको मन्जुरी र सहमतिले मैले जग्गा कागज गरी लिई चलन गरी आएको अवस्था हुँदा सो जग्गामा मेरो भोगादि स्थापित भइसकेपछि जग्गाको संरक्षणको नाममा जन्मेको संस्थामा रामकिंकर दासका दुवै चेला छोरा सम्मिलित भएको कारणले मलाई गरिदिएको उक्त कागज निष्क्रिय हुन सक्दैन । राम कृपाल दास र रामशरण दासले मलाई जग्गा भोग गर्न दिएको होइन भनी भन्न पाउने अधिकारसमेत छैन । प्रत्यर्थी वादी भएको संस्थाले मुद्दा दिएको भए पनि उक्त संस्था जन्मनुअघि नै जग्गामा भोगाधिकार प्राप्त गरिसकेको छ । जग्गा मेरो भोगचलनमा भएकोमा विवाद
छैन । मेरो भोग चलनमा रहेको जग्गा दर्ता धारकले भोगचलन गर्न बहाल मनखपको कागज गरिदिएका हुन् त्यस्तो जग्गालाई पछि जन्मेको संस्थाले कुनै महत्त्व राख्दैन । यस अवस्थामा बहालमा दिन सहमति गर्ने नगर्ने बेहोराले कुनै महत्त्व राख्दैन । उक्त संस्थाले सहमति नदिएको भन्ने आधारमा धनुषा जिल्ला अदालतको फैसला बदर गरेका पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्नेसमेत बेहोराको इन्दु देवीसमेतको पुनरावेदनपत्र ।
हाम्रो घरबास भएको उपर्युक्त कि.नं. ९४ को जग्गा मन्दिर नभई घरबारी रहे भएको कुरा जग्गाधनी रामकिंकर दास बैष्णव नामको जग्गाधनी प्रमाण पुर्जाको विवरण महलमा “घरबारी” उल्लेख भएकोबाट पुष्टि तथा प्रमाणित छ । उपर्युक्त कि.नं. ९४ को जग्गा जनकपुर सहरी क्षेत्र सर्भे नापीको मूल कि.नं. २५ को क्षेत्रफल ज.वि. १-३-११-२ मध्येको भई यिनै प्रत्यर्थी वादी राम रतन मिश्र जिल्ला प्रशासन कार्यालय धनुषाको आफू तत्कालीन प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नै अध्यक्षतामा मिति २०५२।१२।२५ मा बैठक बसाई सो कि.नं.२५ मध्येको जग्गा बिक्री रजिस्ट्रेसन गराउन लगाउने भन्ने निर्णय गरी गराई पश्चिमतर्फबाट ज.वि. ०-६-१६-० जग्गा श्रीमती मीना देवी सिंह अनिता शर्मालगायत विभिन्न व्यक्तिहरूका नाममा राजीनामा लिखत रजिस्ट्रेसन पारित गर्नु, गराउनु भएको कारणले उपर्युक्त कि.नं. २५ कित्ताकाट भई रामकिंकर दासको नाममा कि.नं. ९४ कायम छ ।
कि.नं. ९४ को पूरै जग्गामा मन्दिर नभई उत्तर पूर्वतर्फबाट अर्थात् धनुषा जिल्ला अदालतबाट मिति २०६९।६।१९ मा भएको नाप नक्साको न.नं. ४ (ग) मा मात्र मन्दिर भई सोबाहेक अरू न.नं. का जग्गा घर, घरबारी भई हामीले जग्गाधनी रामकिंकर दासबाट मनखप बन्दोबस्तीमा घरबारीमध्ये खाली बारी परिचम-दक्षिण कुनाबाट पाई सो जग्गामा म शिवकला कुमारी देवीले २०६४ सालमा र म सूर्यदेव पासमानले २०६६ सालमा घर बनाई सपरिवार सोही घरमा बसोबास गरी जनकपुर उपमहानगरपालिकामा हामीले निवेदन दिई स्थलगत सर्जमिन भई निज स्व. रामकिंकर दासको उत्तराधिकारी छोरा चेलाले सनाखत मन्जुरी गरी हाम्रो नाममा घर लगत कायम भई हामीले साल बसाली घर कर र मनखप कुत बुझाई भोग चलन गरी आइरहेका छौँ ।
हामीले उपर्युक्तानुसार क्रमश: २०६५ र २०६६ सालमा घर बनाएको तथ्य नक्सा सर्जमिन मुचुल्का, जितेन्द्र ठाकुरले म शिवकला कुमारी देवीसमेत उपर उपर्युक्त पुनरावेदन अदालतमा दायर गर्नु भएको संवत् २०६६ सालको रिट नं. ०६-०६६-०३९०९ भएको निषेधाज्ञा परमादेश मुद्दाको पुनरावेदन अदालतबाट मिति २०६८।२।१७ मा भएको अन्तिम आदेश हाम्रो साक्षीहरूका बकपत्र, घर कर रसिदसमेतबाट पुष्टि तथा प्रमाणित भई रही सोलाई विपक्षी वा पुनरावेदन फैसला गर्नेहरूले अन्यथा भन्न नसकी सो कुरा र मुलुकी ऐन, घर बनाउनेको ११ नं. र जग्गा मिच्नेको १८ नं. बमोजिमको हदम्याद नाघी विपक्षीको फिराद परेको कुरा स्वीकार गर्नु भई दाबीको जग्गा जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा २(च) र मालपोत ऐन, २०३४ को दफा २(च) बमोजिमको सार्वजनिक जग्गा हुँदा उपर्युक्त हदम्याद आकर्षित हुने नभई मुलुकी ऐन अ.बं. ३६ नं. बमोजिम जहिलेसुकै नालिस गर्न पाउने भनी गलत एवं हचुवा आधार लिएको छ । उपर्युक्त कि.नं. ९४ को जग्गा साबिकदेखि मन्दिर नभई घरबारी रहे भएको कुरा कि.नं. ९४ को मूल कि.नं. २४ को फिल्डबुक एवं उपर्युक्त कि.नं. ९४ को जग्गाधनी दर्ता प्रमाण पुर्जा एवं स्रेस्तासमेतबाट प्रमाणित छ ।
जग्गाधनी रामकिंकर दासले आफ्नै जीवनकाल अर्थात् मिति २०६०।६।६ मा उपर्युक्त कि.नं. ९४ मध्ये दक्षिण-पश्चिम कुनाबाट ज.वि. ०-०-१०-० जग्गाको प्रतिसालको प्रतिकट्टा ४० किलोको दरले हुने धान २० किलो मनखप बुझाउने गरी पक्की कच्ची घर बनाई भोग बसोबास गर्न हामीमध्ये शिवकला कुमारी देवीलाई मनखपको कागज गरी दिनुभएबमोजिम निज रामकिंकर दासको छोरा चेला राम कृपाल दासले हामीमध्ये शिवकलाकुमारी देवीबाट २०६० सालदेखि २०६५ सालसम्मको मनखप घान १०० किलो बुझी मिति २०६५।६।२८ मा गरिदिनुभएको सक्कल भरपाई र उपर्युक्त मनखप लिखत प्रस्तुत मुद्दाको मिसिल संलग्न छ । निजैले उपर्युक्त कि.नं. ९४ को जग्गामध्ये शिवकला कुमारीको जग्गादेखि पूर्वबाट ज.वि. ०-०-१०-० जग्गा हामीमध्ये सूर्यदेव पासमानलाई भोगबास गर्न दिई मिति २०६५।१०।४।७ मा मनखप बन्दोबस्तीको कागज गरी दिनुभएको सक्कल लिखत पनि प्रस्तुत मुद्दाको सुरू मिसिलसाथ संलग्न भई सो सक्कल लिखतहरू वादी वारिसलाई देखाई मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम बयान गराउँदा वादी वारिसले किर्ते जालसाजी नामकरण गर्न नसकी हाम्रो उपर्युक्त लिखतहरूलाई स्वीकारी जग्गाधनी रामकिंकर दासले दाबीको कि.नं. ९४ को जग्गा सीयाराम भगवान्को नाममा हालैदेखिको बकसपत्र नगरी मिति २०५१।६।११ मा शेषपछिको बकसपत्र गरिदिनु भएबाट दाता रामकिंकर दासको निधनपश्चात्आफूखुस हामीहरूलाई गरिदिनुभएको मनखपको लिखतबमोजिम घर बनाउन भोग बसोबास गर्न दिनुभई हामीले घर बनाई सपरिवार बालबच्चासहित भोग बसोबास गरी रहेको जे जुन अवस्था हो सोही अवस्था यथावत हुने गरी शेषपछिको बकसपत्र पाउनेको नाममा प्रचलित नेपाल कानूनबमोजिम दा.खा. दर्ता नामसारी हुने
हो । भेषघारी रामकिंकर दास वैष्णव आफ्नो कालगतिले स्वर्गवास हुनुभएपछि मुलुकी ऐन गुठीको ११ नं. बमोजिम निजका शिष्य चेलाले साबिकबमोजिमको काम चलाई शेष बाँकी रहेमा खान पाउनेसम्म हो । मुलुकी ऐन, गुठीको ११ नं. प्रस्तुत मुद्दामा आकृष्ट नहुने भनी पुनरावेदन फैसलामा लिइएको आधार गलत एवं त्रुटिपूर्ण छ ।
घर टहरा उठाई खिचोला मेटाई चलन चलाइपाउँ भन्ने वादीको दाबी भएकोमा सो दाबी मितिभन्दा अगावै अर्थात् हामीमध्ये शिवकला कुमारी देवीले २०६५ सालमा नै इँटाको दिवाल टाली छाना भएको पक्की घर र फुसको घर तथा सूर्यदेव पासमानले २०६६ सालमा नै एलवेष्टरको छाना भएको कच्ची घर र चर्पी घर बनाएको भन्ने सम्मानित धनुषा जिल्ला अदालतबाट भएको नाप नक्सा तथा स्थलगत सर्जमिन मुचुल्कामा स्थानीय भद्र भलादमीहरूले लेखाइदिनुभएको सर्जमिन मुचुल्काबाट पुष्टि तथा प्रमाणित भई रही प्रत्यर्थी वादीले काल्पनिक एवं गलत खिचोला घटना मिति तथा विवादित ठाउँमा हम्रो बाँसको टाटी खरको छाना भएको घर नदेखिई नभई पक्की एवं टाली खपडा एलवेष्टरको छाना भएको घरहरू मात्र भई २०६५ र २०६६ सालमा बनाइएका पक्की एवं टाली एलवेष्टरको छाना भएका घरहरू हटाई पाउँ भन्ने वादीको दाबी नै नभई बाँसको टाटी खरको छाना भएको मिति २०६८।५।१० को घर हटाइपाउँ भन्ने मात्र वादी दाबी भएकोमा उपर्युक्त पुनरावेदन अदालतले वादी दाबीभन्दा बाहिर गई निर्विवादित र २०६५ तथा २०६६ सालमा हामीले बनाएका पक्की एवं एलवेष्टर टालीका छाना भएका घरहरू हटाई खिचोला मेटाई चलन चलाइदिने गरी गरेको फैसला चरम अन्यायपूर्ण एवं त्रुटिपूर्ण भई उल्टीभागी छ ।
हामीमध्ये शिवकलाकुमारी देवीले ज.वि. ०-०-१० जग्गा मात्र गरेको खिचोला मेटाई चलन चलाइपाउँ भन्ने दाबी भई उपर्युक्त नाप नक्साको न.नं. जग्गा दाबीभन्दा बढी भएकोमा ०-०-१० को दाबीभन्दा बढी अर्थात् ०-०-१४-२१/२ जग्गामा खिचोला ठहर गरी चलन चलाउने गरी भएको उपर्युक्त पुनरावेदन फैसला चरम त्रुटिपूर्ण एवं अन्यायपूर्ण भई उल्टीभागी छ । प्रत्यर्थी वादी र निजका गठमेलुवाहरू कथित उच्च जाति वर्गले हामी गरिब दलितहरूसँग वर्गीय एवं जातीय विभेद भेदभाव हेला होचो गरी हामी गरिब दलित, विपन्न निमुखाहरूलाई सताउन, दुःख सास्ती दिन र घरबारविहीन बनाउने बदनियत एवं दूषित मनसायले दिनुभएको प्रस्तुत मुद्दाको फिराद खारेज गर्ने गरी सुरूले गरेको कानून एवं न्यायसम्मत् फैसलालाई उपर्युक्त पुनरावेदन अदालतले सदर गर्ने गरी समुचित न्याय इन्साफ गर्नुपर्नेमा सो नगरी उपर्युक्त सुरू फैसलालाई उल्टी एवं वादी दाबी पुग्नेगरी गरेको फैसला बिल्कुलै गैरकानूनी, त्रुटिपूर्ण एवं चरम अन्यायपूर्ण भई उल्टीभागी छ । पुनरावेदन अदालतको फैसलामा लिइएका उपर्युक्त आधारहरू हचुवा गैरकानूनी एवं त्रुटिपूर्ण भई सो आधारमा गरिएको फैसला गैरकानूनी, त्रुटिपूर्ण एवं चरम अन्यायपूर्ण भई उल्टीभागी भएकोले यिनै विपक्षीले हामीसमेत उपर दायर गर्नुभएको यसै लगाउको निषेधाज्ञा मुद्दा प्रस्तुत मुद्दासँग लगाउ गरी हाम्रो कानून व्यवसायीको बहस जिकिरलाई समेत प्रस्तुत पुनरावेदनपत्रको अभिन्न अङ्ग मानी उपर्युक्त पुनरावेदन फैसला उल्टी एवं सुरू फैसला सदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको शिवकला कुमारी देवीसमेतको
पुनरावेदनपत्र ।
यसमा २०६६ सालमा यसै विवादित स्थानमा घर निर्माण गरेकोले रोकिपाउँ भनी निषेधाज्ञा मुद्दा परी मिति २०६८।२।१७ मा खारेज हुने ठहरी फैसला भएको सो फैसलालगायतका लिखित प्रमाणहरूको समेत विवेचना नभई हदम्याद हकदैयासमेतको व्याख्यात्मक प्रश्न समावेश भएको देखिँदा पुनरावेदन अदालत जनकपुरबाट मिति २०७९।८।८ मा भएको फैसला प्रमाण मूल्याङ्कनसमेतको रोहबाट फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७५।१।१६ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक धनेश्वर रायका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादव, पुनरावेदक इन्दुदेवीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाश के.सी. र पुनरावेदक सूर्यदेव पासमानका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेलले विवादित जग्गा सार्वजनिक जग्गा होइन । उक्त जग्गा प्रत्यर्थी वादीको समेत होइन । जग्गाधनी रामकिंकर दासले आफ्नो हक भोगको जग्गा पुनरावेदकहरूलाई ‘मनखप’ लिखत गरी भोग चलन गर्न दिएका हुन् । मनखपको लिखतले हक सिर्जना नगरे पनि भोग गर्ने अधिकार दिएको छ । आफ्नो स्वामित्वको जग्गा भाडामा दिनै नपाउने भन्ने कानून छैन । विवादित जग्गा गुठीको महलको ११ नं. अनुसार चेलाले चलाउन पाउने हो । चेलाहरू छँदाछँदै उनाउ व्यक्तिले फिराद गर्न पाउने होइन । यसमा पनि घर बनाउनेको महल र जग्गा मिच्नेको महलको हदम्याद नघाई गरेको फिराद हदम्यादविहीन भएकोले उक्त फिराद खारेज गर्ने गरी भएको सुरू धनुषा जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरि सुरूको फैसला कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रत्यर्थीतर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री करूणाकर मल्लिकले विवादमा रहेको कि.नं. ९४ को उक्त जग्गा साकेताधीश भगवान् पुषा कुटीको जग्गा हो । भेषधारी रामकिंकर दासले उक्त जग्गाको संरक्षण गरेका र निजको शेषपछि भगवान्को नाममा शेषपछिको बकसपत्र गरी दिएको र उक्त शेषपछिको बकसपत्र लिखत अहिलेसम्म बदर भएको छैन । उक्त जग्गा कुटीको भएको र सो जग्गा संरक्षणको लागि फिरादी संस्था खडा भएकोमा विवाद छैन । सो मन्दिर परिसरभित्र प्रत्यर्थीहरूले घर बनाई बसेकोमा पनि विवाद
छैन । प्रत्यर्थीहरूले ‘मनखप’ लिखतको साहारा लिएको छ । सो ‘मनखप’ को लिखतबाट हक प्राप्ति हुने होइन भने सो लिखतमा उल्लेख भएका सर्तसमेत पूरा गरिएको प्रमाण पेस गरेको छैन । उक्त कुटीको जग्गा सार्वजनिक भएको र सार्वजनिक सम्पत्तिको हकमा हदम्याद नलाग्ने हुँदा सुरूले फिराद खारेज गर्ने गरी भएको फैसला उल्टी गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला कानूनसम्मत भएकोले सो फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
विद्वान् कानून व्यवसायीहरूको बहस बुँदालाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, श्री साकेताधीश श्री सीयाराम भगवान् पुषा कुटीको महन्थ रामकिंकर दास वैष्णवको नाउँमा दर्ता रहेको जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८, सिट नं. १३५४-१०, कि.नं. २५ को ०-१६-१५-२ कायम रहेको मठ मन्दिरको जग्गा महन्थ रामकिंकर दास वैष्णवको मृत्युपछि प्रतिवादी शिवकला कुमारी देवीले ०-०-१०, अरूण कुमार मिश्र र विन्दु मिश्रले ०-२-०, सूर्यदेव पासमानले ०-०-१० जग्गा र धनेश्वर राय र चित्ररेखा रायले ०-०-१० जग्गा कब्जा गरी सो जग्गामा बाँसको टाट घर टहरासमेत बनाई जग्गा खिचोला गर्नुभएकोले विपक्षीले बनाउनुभएको घर टहरा हटाई खिचोला मेटाई चलन चलाइपाउँ भन्नेसमेत बेहोराको वादी रामरतन मिश्रको फिराद दाबीबाट उठान भएको प्रस्तुत मुद्दामा उक्त जग्गा हामीहरूले महन्थ रामकिंकर दास एवं रामकृपाल दासबाट मनखप लिई जग्गा भोग चलन गरी घर बनाई बसेको हुँदा वादीको फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर भएकोमा सुरू धनुषा जिल्ला अदालतले हदम्यादको अभावमा वादी दाबी खारेज हुने ठहर्याई भएको फैसलामा चित्त नबुझाई वादीको पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन परेको देखिन्छ । सुरू धनुषा जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी वादी दाबीबमोजिम प्रत्यर्थी प्रतिवादीहरूले विवादित कि.नं.९४ को जग्गा खिचोला गरी बनाएको घर टहराहरू हटाई खिचोला मेटाइदिने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।८।८ मा भएको फैसलामा चित्त नबुझाई प्रतिवादीहरूको छुट्टाछुट्टै पुनरावेदन परेको देखियो ।
३. जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८, सिट नं. १३५४-१०, कि.नं. २५ को १-३-११-२ जग्गा श्री साकेताधीश श्री सीयाराम भगवान् पुषा कुटीको महन्थ रामकिंकर दास वैष्णवको नाउँमा दर्ता रहेको देखिन्छ । उक्त जग्गा कित्ताकाट भई कायमी कि.नं. ९४ को ०-१६-१५ जग्गा हालसम्म निजको नाउँमा रहेको तथ्यमा विवाद रहेन । उक्त कि.नं.९४ को जग्गा रामकिंकर दासले कुटी निर्माण गरी श्री सीताराम भगवान्को मूर्ति स्थापना गरी भोगचलन गरिआएको
देखिन्छ । कि.नं. ९४ को ०-१६-१५ जग्गालाई महन्थ रामकिंकर दास वैष्णवले मिति २०५१।६।११ मा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरिदिएको र शेषपछिको बकसपत्र दिने महन्थ रामकिंकर दास वैष्णवको मृत्यु भइसकेको तथ्यमा समेत दुवै पक्षको मुख मिलेको देखिन्छ ।
४. विवादित कि.नं. ९४ को ०-१६-१५-२ कायम रहेको मठ मन्दिरको जग्गा दक्षिण पश्चिम कुनामा फूलबारी र खाली जग्गा विपक्षीमध्येका प्रतिवादी शिवकला कुमारी देवीले दक्षिण पश्चिम कुनाबाट ०-०-१० निज शिवकला देवीले कब्जा गरेको घर जग्गादेखि उत्तर अरूणकुमार मिश्र र विन्दु मिश्र ०-२-० यसैगरी शिवकला देवीले कब्जा गरेको जग्गादेखि पूर्व सूर्यदेव पासमानले ०-०-१० जग्गा र निज सूर्यदेव पासमानभन्दा पूर्वतर्फ धनेश्वर राय र चित्ररेखा रायले ०-०-१० जग्गा कब्जा गरी सो जग्गामा बाँसको टाट घर टहरासमेत बनाई जग्गा खिचोला गरेको भन्ने फिराद दाबी, उक्त जग्गाहरू हामीले मनखप तथा करारमा लिई घर बनाई बसेका हौँ भन्ने प्रतिउत्तरपत्र रहेको र धनुषा जिल्ला अदालतबाट मिति २०६९|६|१९ मा भई आएको नक्सा मुचुल्कामा कि.नं.९४ मध्येको न.नं. ६ को जग्गामा अरूणकुमार मिश्र र इन्दु मिश्रले फुसको घर बनाई बसेको, कि.नं. ९४ मध्येको न.नं. ७ मा शिवकला कुमारी देवीले पक्की र कच्ची गरी बनाई भोग गरी बसेको, कि.नं. ९४ मध्ये न.नं. ८ को जग्गामा सूर्यदेव पासमानले एलवेस्टर छाना भएको कच्ची घर बनाई बसेको, कि.नं. ९४ मध्ये न.नं. ९ को जग्गामा धनेश्वर राय र चित्ररेखा रायले घर बनाई बसेको भन्ने उल्लेख भएको देखिएको हुँदा कि.नं. ९४ को जग्गामा प्रतिवादीहरूले कच्ची, पक्की घर बनाई बसोबास गरी आएको तथ्यमा विवाद रहेन ।
५. विवादित कि.नं.९४ को जग्गा व्यक्तिको जग्गा भएकोले हामीले मनखप तथा करार गरी प्राप्त गरेको जग्गा हो, सार्वजनिक जग्गा होइन, भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, कि.नं. ९४ को ०-१६-१५ जग्गालाई महन्थ रामकिंकर दास वैष्णवको रहेको र निजले मिति २०५१।६।११ मा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरी दिएको
देखिन्छ । उक्त शेषपछिको बकसपत्रको लिखत हालसम्म बदर भएको पनि देखिएन । उक्त जग्गाहरू हामीले मनखप तथा करारमा लिई घर बनाई बसेका हौँ भन्ने प्रतिउत्तरपत्र रहेकोमा शेषपछिको बकसपत्रको लिखत नै कायम रहिरहेको अवस्थामा उक्त जग्गाका सम्बन्धमा सो बकसपत्रको लिखतभन्दा बाहिर गएर गरेको कारोबार शङ्कास्पद देखिन्छ ।
६. उक्त जग्गा सार्वजनिक होइन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, कस्तो जग्गालाई सार्वजनिक जग्गा भनिन्छ सोतर्फ विवेचना गर्नुपर्ने हुन्छ । मालपोत ऐन, २०३४ को दफा २(ख३) मा “सार्वजनिक जग्गा” भन्नाले कुनै व्यक्तिले मात्र नभई सार्वजनिक रूपमा प्रयोग गर्न पाउने परापूर्वदेखि प्रचलनमा रहेको बाटो, कुवा, पानी पँधेरो, पानीघाट, इनार, पोखरी तथा सोको डिल, गाईवस्तु निकाल्ने निकास, गौचर, मसानघाट, चिहान, पाटी, पौवा, देवल, धार्मिक उपासना गर्ने स्थल, स्मारक, मठ, मन्दिर, चोक, डबली, ढल, चौतारो, हाट, मेला लाग्ने ठाउँ, सार्वजनिक मनोरञ्जन गर्ने तथा खेलकुद गर्ने ठाउँ र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक जग्गा भनी तोकिदिएको जग्गासमेत सम्झनुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा २(च) मा “सार्वजनिक जग्गा” भन्नाले कुनै व्यक्तिले मात्र नभई सार्वजनिक रूपमा प्रयोग गर्न पाउने परापूर्वदेखि प्रचलनमा रहेको बाटो, कुवा, पानी पँधेरो, पानीघाट, इनार, पोखरी तथा सोको डिल, गाईवस्तु निकाल्ने निकास, गौचर, मसानघाट, चिहान, पाटी, पौवा, देवल, धार्मिक उपासना गर्ने स्थल, स्मारक, मठ, मन्दिर, चोक, डबली, ढल, चौतारो, हाट मेला लाग्ने ठाउँ, सार्वजनिक मनोरञ्जन गर्ने तथा खेलकुद गर्ने ठाउँ र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक जग्गा भनी तोकिदिएको जग्गासमेत सम्झनुपर्छ भन्ने उल्लेख छ । यसबाट कि.नं.९४ को ०-१६-१५ जग्गा महन्थ रामकिंकर दास वैष्णवको रहेको र निजले उक्त जग्गालाई मिति २०५१।६।११ मा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरी दिएको देखिन्छ । शेषपछिको बकसपत्र दिने महन्थ रामकिंकर दास वैष्णवको मृत्यु भइसकेको र उक्त शेषपछिको बकसपत्रको लिखत बदर नभएकोले उक्त जग्गा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा जाने भएकोले मठ मन्दिरको जग्गालाई सार्वजनिक जग्गा मान्नुपर्ने हुन्छ ।
७. कि.नं.९४ को जग्गा सार्वजनिक नभएर मुलुकी ऐन, गुठीको महलको ११ नं. अन्तर्गतको हो भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, मुलुकी ऐन, गुठीको महलको ११ नं. मा “भेषधारीहरूले गुठी नराखी आफ्ना नाउँमा दरिएको वा आफ्नु हक पुग्ने जग्गाको पोत तिरो तिरी बाँकी रहेको आफूले खान पाउने आयस्ताबाट देवी देवताको पूजाआजा धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको वा काम चलाई आएका जग्गा ती मरिसकेपछि तिनका चेलाले लागेको पोत तिरो तिरी बाँकी रहेको आयस्ताबाट साबिकबमोजिको काम चलाई शेष बाँकी रहनेमा सो शेषसम्म खान हुन्छ । त्यस्तो जग्गा बन्धक राख्न वा हक छोडी बिक्री दान बकस इत्यादि गरी दिन लिनसमेत हुँदैन । मालपोत तिरो बाँकी राखे कानूनबमोजिम पजनी हुन्छ” भन्ने व्यवस्था रहेको देखिन्छ । कि.नं. ९४ को जग्गा साबिकमा गुठीको ११ नं. मा वर्णित किसिमले भेषधारी रामकिंकर दासले निजी जग्गामा मूर्ति स्थापना गरी मन्दिर बनाई पूजा गरी आएको भए पनि सो जग्गा यथावत् रूपमा बाँकी राखेको देखिँदैन । भगवान् सीतारामको नाउँका शेषपछिको बकसपत्र गरी दिएको देखिएबाट पनि यो जग्गा गुठीको ११नं. मा वर्णित प्रकृतिको जग्गा रहेको देखिँदैन । निजले उक्त जग्गालाई मिति २०५१।६।११ मा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरिदिएको देखिन्छ । निजले आफ्नो जीवनकालमा नै शेषपछिको बकसपत्रको लिखत गरिदिएको र उक्त शेषपछिको बकसपत्रको लिखत कायम रहिरहेको अवस्थामा कि.नं. ९४ को जग्गा निजी, सरकारी वा मुलुकी ऐन गुठीको ११ नं. बमोजिमको नभई रामकिंकर दासले श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरिदिएको मन्दिरको जग्गा देखिएकाले उक्त जग्गा सार्वजनिक जग्गा रहेको देखियो ।
८. कि.नं.९४ को जग्गाका सम्बन्धमा फिरादीलाई फिराद गर्ने हकदैया नै छैन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, विवादित जग्गा सार्वजनिक जग्गा भएकोले यसको संरक्षणका लागि सम्बन्धित व्यक्तिबाहेक पनि अड्डाको अनुमति लिई जोसुकैलाई मुद्दा गर्ने हकदैया
रहन्छ । यस सम्बन्धमा मुलुकी ऐन, अ.बं.१० नं. मा भएको व्यवस्था हेर्दा, प्रचलित कानूनमा नेपाल सरकार वादी हुने भनी लेखिएको मुद्दामा नेपाल सरकारलाई वादी कायम गरी मुद्दाको कारबाही गरिने छ । सोबाहेक मुद्दाको विषय वा प्रकृतिबाट नेपाल सरकारको वा सार्वजनिक हित वा सरोकार निहित रहेको मुद्दा नेपाल सरकारले वा अड्डाको अनुमति लिई सर्वसाधारण जोसुकैले पनि वादी भई चलाउन सक्ने छ । अनुमतिका लागि निवेदन दिँदा फिरादपत्र साथै
दिनुपर्छ । त्यसरी फिरादपत्र साथै अनुमतिको निवेदन परेमा उसै दिन अनुमतिको निवेदनमा निर्णय गरी दिनुपर्छ । अनुमति नदिएमा पुनरावेदन सुन्ने अड्डामा निवेदन दिन सक्ने छ भन्ने देखिन्छ ।
९. विवादित सम्पत्ति कुनै व्यक्ति विशेषको नभई रामकिंकर दासले श्री साकेताधीश साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरिदिएको सम्पत्ति भएको र मठ, मन्दिर, धार्मिक स्थल, जनसमुदायको हक सन्निहित हुने हुँदा त्यस्तो सम्पत्तिमा सार्वजनिक सरोकार रहेको
हुन्छ । सार्वजनिक हित वा सरोकारको विषयमा अड्डाको अनुमति लिई जोसुकैलाई पनि मुद्दा गर्ने हकदैया रहन्छ । सार्वजनिक हित वा सरोकारको विषयमा व्यक्तिगत मुद्दामा झैं हक पुग्नेले मात्र मुद्दा गर्न पाउँछ भन्न नमिल्ने हुँदा फिरादीलाई फिराद गर्ने हकदैया नै छैन भन्न मिल्ने देखिएन ।
१०. जहाँसम्म अ.बं. १० नं. बमोजिम अड्डाको अनुमति नलिएको हुँदा मुद्दा खारेज गरिनुपर्छ भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, मुद्दा दर्ता गर्न ल्याएको अवस्थामा अनुमतिको निवेदनसमेत साथै ल्याई अड्डाको अनुमति लिएर मात्र मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । यसरी अड्डाले गर्नुपर्ने दायित्व पूरा नगरेको कारणबाट सार्वजनिक सरोकारको विवादमा मुद्दा खारेज गर्न मिल्ने
हुँदैन । यस सम्बन्धमा यस अदालतबाट सार्वजनिक धर्मकृति फैलाउने र सार्वजनिक सम्पत्तिको सुरक्षाको हित रक्षार्थ फिराद परी अड्डामा दर्ता भइसकेपश्चात् केवल अनुमति नलिएको भन्नेसम्मको झिनो आधारमा मुद्दामा कारबाही किनारा नै गर्न नमिल्ने भन्ने अवस्था रहँदैन । तसर्थ, अनुमति नलिएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नरहेको भन्ने पुनरावेदकतर्फका विद्वान् अधिवक्ताको जिकिरसँग सहमत हुन नसकिने (ने.का.प. २०५६ अङ्क ६ निर्णय नं. ६७३५) भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत सिद्धान्तका आधारमा समेत अनुमति नलिएको कारणले फिराद खारेज गर्न मिल्ने देखिएन ।
११. मुलुकी ऐन घर बनाउनेको ११ नं. मा उल्लिखित एक वर्षको हदम्याद र ऐ. ऐनको जग्गा १८ नं. को हदम्याद नघाई मुद्दा दायर गरेको हुँदा मुद्दा खारेज गरिनुपर्छ भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, पुनरावेदक प्रतिवादीहरूले प्रतिउत्तरमा हामीले जग्गाधनी रामकिंकर दाससँग ‘मनखप’ को कागज गरी सोही लिखतअनुसार भोगाधिकार प्राप्त गरी घर बनाई बसेका हौँ भनी घर बनाएको तथ्य स्वीकार गरेको देखिन्छ । मुलुकी ऐन, घर बनाउनेको ११ नं. मा उल्लिखित एक वर्षको हदम्याद र ऐ. ऐनको जग्गा मिच्नेको १८ नं. को हदम्याद कुनै व्यक्तिको दर्ता हकको जग्गा अर्काले खिचोला गरी घर बनाएको अवस्थामा मात्र आकर्षित हुन्छ ।
१२. प्रस्तुत मुद्दामा उठाइएको विषय फरक प्रकृतिको देखिन्छ । उक्त कि.नं. ९४ को जग्गालाई महन्थ रामकिंकर दास वैष्णवले मिति २०५१।६।११ मा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरिदिएको देखिन्छ । शेषपछिको बकसपत्र दिने महन्थ रामकिंकर दास वैष्णवको मृत्यु भइसकेको र उक्त शेषपछिको बकसपत्रको लिखत बदर भएकोसमेत देखिएन । पुनरावेदन जिकिरअनुसार पनि शेषपछिको बकसपत्रको लिखत कायम रहेकै अवस्थामा भएको मनखपको लिखतले कानूनी मान्यता प्राप्त गर्नसक्ने देखिएन । शेषपछिको बकसपत्रको लिखतबमोजिम उक्त जग्गा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा जाने मठ मन्दिरको जग्गा भएकोले सार्वजनिक जग्गा हो भन्ने देखिन्छ । विवादित जग्गा सार्वजनिक प्रकृतिको देखिएको र उक्त सार्वजनिक जग्गाका सम्बन्धमा प्रचलित नेपाल कानूनले हदम्यादको व्यवस्था गरेको देखिँदैन । मुलुकी ऐन, अ.ब. ३६ नं. मा “ऐनमा हद म्याद नलेखिएको कुरामा जहिलेसुकै नालिस दिए पनि लाग्न सक्छ” भन्ने व्यवस्था रहेकोले प्रस्तुत मुद्दामा जहिलेसुकै नालिस गर्न पाउने देखिन्छ ।
१३. यसरी कि.नं. ९४ को ०-१६-१५ जग्गा महन्थ रामकिंकर दास वैष्णवको रहेको र निजले उक्त जग्गालाई मिति २०५१।६।११ मा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा शेषपछिको बकसपत्र गरिदिएको
देखिन्छ । प्रतिवादीहरूले दाबी गरेको मनखप तथा करार गरेको भनिएको लिखत मिति २०५८।१२।७, मिति २०६०।६।१ तथा मिति २०६१।१।१ मा भएको देखिएकोले पनि शेषपछिको बकसपत्रको लिखत पहिला भएको देखिँदा जेठो लिखतले मान्यता पाउने हुन्छ । यसबाट शेषपछिको बकसपत्र दिने महन्थ रामकिंकर दास वैष्णवको मृत्यु भइसकेको र उक्त शेषपछिको बकसपत्रको लिखत बदर नभएकोले उक्त जग्गा श्री साकेतवासी श्री सीताराम भगवान्को नाउँमा जाने भएकोले मठ मन्दिरको जग्गालाई सार्वजनिक जग्गा मान्नुपर्ने
हुन्छ । सार्वजनिक हित वा सरोकारको विषयमा अड्डाको अनुमति लिई जोसुकैलाई पनि मुद्दा गर्ने हकदैया रहन्छ । सार्वजनिक सरोकार रहने विषयमा हदम्याद सङ्कुचित नभएर खुला रहन्छ । मुलुकी ऐन, अ.ब. ३६ नं. मा “ऐनमा हद म्याद नलेखिएको कुरामा जहिलेसुकै नालिस दिए पनि लाग्न सक्छ” भन्ने व्यवस्था रहेकोले प्रस्तुत मुद्दामा जहिलेसुकै नालिस गर्न पाउने देखिन्छ । शेषपछिको बकसपत्रको लिखत कायम रहेकै अवस्थामा भएको मनखपको लिखतले कानूनी मान्यता प्राप्त गर्नसक्ने देखिएन ।
१४. विवादित कि.नं. ९४ को ०-१६-१५-२ मध्ये माथि उल्लिखित केही जग्गामा प्रतिवादीहरू शिवकलाकुमारी देवी, अरूणकुमार मिश्र, विन्दु मिश्र सूर्यदेव पासमान, धनेश्वर राय र चित्ररेखा रायसमेतले घर बनाई बसेका हौँ भन्ने प्रतिउत्तरपत्रमा स्वीकार गरेका र धनुषा जिल्ला अदालतबाट मिति २०६९|६|१९ मा भई आएको नक्सा मुचुल्कामा कि.नं. ९४ मध्येको न.नं. ६ को जग्गामा अरूणकुमार मिश्र र इन्दु मिश्रले फुसको घर बनाई बसेको, कि.नं. ९४ मध्येको न.नं. ७ मा शिवकला कुमारी देवीले पक्की र कच्ची गरी बनाई भोग गरी बसेको, कि.नं. ९४ मध्ये न.नं. ८ को जग्गामा सूर्यदेव पासमानले एलवेस्ट छाना भएको कच्ची घर बनाई बसेको, कि.नं. ९४ मध्ये न.नं. ९ को जग्गामा धनेश्वर राय र चित्ररेखा रायले घर बनाई बसेको भन्ने उल्लेख भएको देखिएको हुँदा कि.नं. ९४ को जग्गामा प्रतिवादीहरूले खिचोला गरी कच्ची, पक्की घर बनाई बसोबास गरी आएको तथ्यमा विवाद रहेन ।
१५. विवादित जग्गाहरू मन्दिरको जग्गा भएको, मन्दिरको जग्गा सार्वजनिक हुने भएकाले उक्त जग्गा मनखपको लिखत भएको भन्ने आधारमा कसैले पनि अनन्तकालसम्म यस्तो जग्गाको भोगाधिकार पाउँछ भन्नु न्याय र तर्कसङ्गत
हुँदैन । यदि कसैले त्यसरी सार्वजनिक मठ मन्दिरको जग्गाहरू कब्जा गर्दै जाने हो भने विशेष उद्देश्य राखी सार्वजनिक प्रयोग गर्ने प्रयोजनका लागि स्थापना गरेको धरोहरहरू सबै अतिक्रमित हुन पुग्छ । विवादित कि.नं.९४ को जग्गा सार्वजनिक जग्गा भएकोले सार्वजनिक हितका लागि मात्र उपयोग गर्नुपर्ने हुन्छ । यस अवस्थामा उक्त जग्गामा प्रतिवादीहरूले खिचोला गरी बनाएका घर संरचनाहरू हटाउनुपर्ने देखिन्छ । यस अवस्थामा समेत उक्त जग्गा सार्वजनिक नभएर व्यक्तिगत भएकोले मनखपमा लिई बनाएका घर संरचना हटाउनुपर्ने होइन, विपक्षीलाई उजुर गर्ने हकदैया र हदम्यादसमेत छैन भन्ने पुनरावेदन जिकिर एवं प्रतिवादीतर्फका कानून व्यवसायीहरूको बहस जिकिरसँग यो इजलास सहमत हुन सकेन ।
१६. तसर्थः वादी दाबी खारेज हुने ठहर्याई सुरू धनुषा जिल्ला अदालतबाट मिति २०७०/५/२० मा भएको फैसला उल्टी भई वादी दाबीबमोजिम प्रतिवादीहरूले कि.नं. ९४ को जग्गा खिचोला गरी बनाएका घर टहराहरू हटाई खिचोला मेटाई चलन चलाउन पाउने ठहर्याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१।८।८ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८, सिट नं. १३५४-१० कि.नं.९४ को जग्गा सार्वजनिक जग्गा भएकोले सार्वजनिक हितका लागि मात्र उपयोग गर्नसकिने भएकोले सोको रेकर्ड राख्न मालपोत कार्यालय धनुषामा लेखिपठाउनू--------------------------------------१
सरोकारवालाले नक्कल मागे नियमानुसार नक्कल दिनू-----------------------------------------------१
फैसलाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू-----------------------------------------१
उक्त रायमा सहमत छु ।
न्या.दीपककुमार कार्की
इजलास अधिकृत : राजकुमार दाहाल
इति संवत् २०७८ साल मङ्सिर २२ गते रोज ४ शुभम् ।