शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९८७ - लागु औषध (खैरो हेरोइन)

भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७९।२।९

०७६-CR-११९४

 

मुद्दाः लागु औषध (खैरो हेरोइन)

 

पुनरावेदक / वादी : प्र.स.नि. हरिसिंह धामीको प्रतिवेदन जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं.२ बस्ने रामबहादुर साहको छोरा गोविन्द भन्ने गोपिन्द्र शाहसमेत

 

लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत निषेधित लागु औषध राखी ओसारपसार गर्न प्रयोग गरिएका सवारी साधन जफत हुने देखिए तापनि त्यस्तो सवारी अन्य व्यक्तिको भई सम्बन्धित सवारीधनीलाई निजको सवारी सो अपराध गर्न प्रयोग गरिने भन्ने थाहा जानकारी नभएको अवस्थामा त्यस्तो सवारी जफत नहुने ।

(प्रकरण नं.६)

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८क बमोजिम बरामदित चल अचल सम्पत्ति जफत हुनका लागि त्यस्तो सम्पत्ति सो ऐनले निषेध गरेको कसुर गरी आर्जन गरेको देखिनुपर्ने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्या.श्री परशुराम भट्टराई

कैलाली जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा.का.मु.मुख्य न्या. श्री राजकुमार वन

मा.न्यायाधीश श्री नसरूल्लाह अन्सारी

उच्च अदालत दिपायल

 

फैसला

न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

तथ्य खण्ड

मिति २०७४।०८।१७ गते अन्दाजी १०/३० बजेको समयमा खटी गएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, टीकापुर न.पा. वडा नं.१ मा राजेश शाहले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटर शंका लागी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका थान १७(सत्र) लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा २ ग्राम २३० मिलिग्राम फेला पारी उक्त लागु औषध र निजले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटर बरामद गरी निज राजेश शाहलाई सोधपुछ गर्दा निजले उक्त लागु औषध जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं. १ एकतापुर शिविर बस्ने गोपिन्द्र शाहले मलाई बेचबिखन गरिदिनु भनी भनेकोले निज गोविन्दबहादुर शाहलाई खोजतलास गर्दै जाँदा सोही दिन १०:४५ बजेको समयमा आफ्नै घर ठेगानामा बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई निजको शरीर चेकजाँच गर्दा निजले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका थान १४ (चौध) लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ मान्यता प्राप्त तराजुमा नापतौल गर्दा खैरो हेरोइन १ ग्राम ७५० मिली ग्राम फेला पारेकोले उक्त लागु औषध रीतपूर्वक बरामद गरी निजहरूलाई समेत पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. हरिसिंह धामीसमेतको जाहेरी प्रतिवेदन ।

कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित पूर्व पश्चिम राजिपुरबाट बनगाउँतर्फ जाने कुलो नहर र उत्तर, दक्षिणमा टीकापुर बजारबाट टीकापुर बिमानस्थलतर्फ जाने पक्की सडक, यति चारकिल्ला सिमाना क्षेत्रभित्र रहेको उक्त सडक खण्डमा मिति २०७४।०८।१७ गते अं.१०:३० बजेको समयमा राजेश शाहले चलाएको से.५ प. ३५१९ नम्बरको हिरो कम्पनीको रातो कालो रङको Duet स्कुटरलाई शंका लागी चेकजाँच गर्दा उक्त स्कुटरको डिक्कीमा प्लाष्टिकको पोकाभित्र कालो प्लाष्टिकको पुडिया थान १७(सत्र) भित्र खैरो हेरोइन जस्तो धुलो पदार्थ प्रहरी टोलीले फेला पारी उक्त स्कुटरसहित बरामदी मुचुल्कामा उल्लिखित परिमाणको खैरो हेरोइन जस्तो धुलो पदार्थ बरामद गरी निजलाई समेत पक्राउ गरिएको भन्नेसमेत बेहोराको बरामदी खानतलासी 

मुचुल्का ।

कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं.१ एकतापुर शिविरको पूर्वमा बिजयनगर शिविरबाट जगतपुर शिविर जाने बाटो, पश्चिममा गोपिन्द्र शाहको जमिन, उत्तरमा भरत विष्टको घर र दक्षिणमा गोपिन्द्र शाहको जमिन, यति चार किल्ला सिमानाक्षेत्रभित्र पूर्व मोहडा भएको २ कोठे जस्ता पाताले छाएको कच्ची घरको अगाडि आँगनमा बसिरहेको गोविन्द शाहको पाइन्टको दायाँ खल्तीमा रातो रङ्गको प्लाष्टिकको डिब्बाभित्र लुकाई छिपाई राखेको कालो प्लाष्टिकको पुडिया थान १४ (चौध) भित्र खैरो हेरोइन जस्तो धुलो पदार्थ र सोही पाइन्टको बायाँ खल्तीमा रू.३,४५०।- (तीन हजार चार सय पचास) रूपैयाँ प्रहरी टोलीले चेक जाँचका क्रममा बरामद गरेको बरामदी खानतलासी 

मुचुल्का ।

मिति २०७४।०८।१७ गतेका दिन बिहान अं.९ बजेको समयमा म जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.१ स्थित मेरो ससुराली घरबाट आफ्नो घर जानकी गाउँपालिका वडा नं.३ सुवर्णपुर जान भनी मेरो दिदी सासूको से.५ प. ३५१९ नम्बरको स्कुटर चलाई घरतर्फ आउने क्रममा अं.१०:३० बजेको समयमा टीकापुर नगरपालिका वडा नं.१ स्थित सडक खण्डमा प्रहरी टोलीले फेला पारी चेक जाँच गर्ने क्रममा मैले चलाएको स्कुटरको डिक्कीमा लुकाई छिपाई राखेको प्लाष्टिकको पोका थान-१७ (सत्र) खैरो हेरोइन फेला पारी प्रहरी टोलीले बरामद गरेको हो । प्रहरी टोलीले लागु औषध के कुन स्थानबाट ल्याएको हो भनी सोधपुछ गर्दा मैले जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.१ एकतापुर शिविर बस्ने मेरो हजुरबुबा नाता लाग्ने गोपिन्द्र शाहले सेवनका लागि दिएका हुन् भन्दा प्रहरी टोलीले मलाई पक्राउ गरी साथमा लगी गई निज हजुरबुबाको घरमा गई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट समेत रातो रङको प्लाष्टिकको डिब्बाभित्र राखेको कालो प्लाष्टिकको पुडिया थान १४ (चौध) र रू.३,४५०।– नगद बरामद गरी लगी गएको हो । हजुरबुबा र म सँगै लागु औषध सेवन 

गर्दछौं । मिसिल संलग्न बरामदी मुचुल्कामा उल्लिखित लागु औषध खैरो हेरोइन पुडिया थान १७ (सत्र) र से.५ प. ३५१९ नम्बरको स्कुटर प्रहरी टोलीले मेरो साथबाट बरामद गरी लगेको 

हो । बरामदी मुचुल्कामा उल्लिखित लागु औषध (खैरो हेरोइन) मैले जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.१ एकतापुर शिविर बस्ने मेरो हजुरबुबा नाता लाग्ने प्रतिवादी गोविन्द शाहको घरबाट मिति २०७४।०८।१५ का दिन सेवन गर्ने भनी मागेर ल्याएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी राजेश शाहले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७४।०८।१७ का दिन बिहान अं.१० बजेको समयमा राजेश शाह आफ्नो ससुराली टीकापुरबाट आफ्नो घर सुवर्णपुरतर्फ आउने क्रममा जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित सडक खण्डमा निजले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटरलाई शंका लागी चेक जाँच गर्दा प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्कीमा प्लाष्टिकको पाकेटभित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हेरोइन पुडिया थान १७ (सत्र) फेला पारी बरामद गरेको हो । निजलाई प्रहरीले सोधपुछ गर्दा निजले मबाट मागेर ल्याएको हुँ भन्दा निज प्रतिवादी राजेश शाहलाई साथमा ल्याई प्रहरी टोली मेरो घरमा आई सोही दिन अं.१०:४५ बजेको समयमा प्रहरी टोलीले चेक जाँचको क्रममा मेरो पाइन्टको खल्तीबाट समेत प्लाष्टिकको डिब्बामा लुकाई राखेको कालो प्लाष्टिकको पुडिया थान १४ (चौध) र रू.३,४५०।– नगद बरामद गरी लगेको 

हो । उक्त लागु औषध मैले आफैँले सेवन गर्नको लागि भारतको तिकुनिया बजारबाट मिख्खा खान भन्ने भारतीय नागरिकबाट मिति २०७४।०८।१४ गते भा.रू. ५०००।- मा खरिद गरी ल्याएको हुँ । निज प्रतिवादी राजेश शाहबाट बरामद भएको उक्त लागु औषध मिति निजले सेवन गर्नका लागि मेरो घरमा आई मबाट मागेर लगेको हो । मैले निजलाई उक्त लागु औषध बेचेको होइन । निज प्रतिवादी राजेश शाह र म दुवै जनाले लागु औषध (खैरो हेरोइन) सेवन गर्दछौं भन्नेसमेत बेहोराको प्रतिवादी गोपी भन्ने गोपिन्द्र शाहले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७४।०८।१७ गते प्रतिवादीहरूलाई लागु औषध (खैरो हेरोइन) सहित प्रहरी गस्ती टोलीले फेला पारी पक्राउ गरी लगेको भन्ने जानकारी पाई मसमेत इलाका प्रहरी कार्यालय, टीकापुरमा गई बुझ्दा प्रतिवादी राजेश शाहले आफूले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटरको डिक्कीभित्र लुकाई छिपाई राखेको कालो प्लाष्टिकको पोका थान १७(सत्र) कूल तौल २ ग्राम २३० मिली ग्राम र प्रतिवादी गोविन्द शाहले आफूले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकको डिब्बाभित्र कालो प्लाष्टिकको पोका थान १४(चौध) कुल तौल १ ग्राम ७५० मिलिग्राम र नगद रू.३,४५०।– (तीन हजार चार सय पचास रूपैयाँ) बरामद गरेको भन्ने थाहा पाएको हुँ । निज प्रतिवादीहरूले उक्त लागु औषध के कुन स्थानबाट, के कति रकममा के कुन प्रयोजनको लागि ल्याएका हुन् सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको कमल सुवेदीले गरेको घटना विवरण कागज ।

मिति २०७४।०८।१७ का दिन प्रतिवादी राजेश शाहले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटरको डिक्कीबाट प्रहरी टोलीले लागु औषध (खैरो हेरोइन) पोका थान १७ (सत्र) फेला पारी बरामद गरेको भन्ने मैले टीकापुर बजारमा सुनी थाहा पाएको हुँ । तत्पश्चात् प्रहरी टोलीले सोधपुछ गर्दा निज राजेश शाहले उक्त लागु औषध मलाई प्रतिवादी गोपिन्द्र शाहले दिएका हुन् भनेपछि सोही दिन निज गोपिन्द्र शाहलाई आफ्नै घरमा फेला पारी प्रहरी टोलीले चेक जाँच गर्दा निज गोपिन्द्र शाहको खल्तीबाट समेत लागु औषध खैरो हेरोइन पोका थान १४ को कुल तौल १ ग्राम ७५० मिलिग्राम फेला पारी बरामद गरेको भन्ने थाहा पाएको हुँ । उक्त लागु औषध भारतको तिकुनिया बजारबाट निज गोपिन्द्र शाहले खरिद गरी ल्याएको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको शंकर चौधरीले गरेको घटना विवरण कागज ।

मिति २०७४।०८।१७ का दिन अं.१०:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.१ स्थित प्रतिवादी राजेश शाहले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटरको डिक्कीबाट प्रहरी टोलीले लागु औषध (खैरो हेरोइन) पोका थान १७ (सत्र) कुल तौल २ ग्राम २३० मिलिग्राम फेला पारी बरामद गरेको भन्ने मैले टीकापुर बजारमा सुनी थाहा पाएको हुँ । तत्पश्चात् प्रहरी टोलीले सोधपुछ गर्दा निज राजेश शाहले उक्त लागु औषध मलाई प्रतिवादी गोपिन्द्र शाहले बेचबिखन गरिदिनु भनेर दिएका हुन् भनेपछि सोही दिन निज गोविन्द शाहलाई आफ्नै घरमा फेला पारी प्रहरी टोलीले चेकजाँच गर्दा निज गोविन्द शाहको खल्तीबाट समेत लागु औषध (खैरो हेरोइन) पोका थान १४ (चौध) कुल तौल १ ग्राम ७५० मिलिग्राम फेला पारी बरामद गरेको भन्ने थाहा पाएको हुँ । उक्त लागु औषध भारतको तिकुनिया बजारबाट निज गोपिन्द्र शाहले खरिद गरी ल्याएको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको तीर्थबहादुर भण्डारीले गरेको घटना विवरण कागज ।

मिति २०७४।०८।१७ का दिन निज प्रतिवादी राजेश शाहले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटरको डिक्कीबाट लागु औषध (खैरो हेरोइन) प्रहरी टोलीले बरामद गरी निजलाई समेत पक्राउ गरेको भन्ने मैले वारदातपश्चात् करिब १ हप्तापछि मात्र फोन सम्पर्कबाट थाहा पाएकी 

हुँ । उक्त स्कुटर मेरो नाममा दर्ता छ, उक्त स्कुटर २०७३ सालमा मैले धनगढीस्थित हिरो होन्डाको सोरूमबाट किनेकी हुँ । मैले उक्त स्कुटर आफ्नो घरमा छोडी अछाम गएको अवस्थामा चाबी आमाको हातमा छोडेकी थिएँ । निज प्रतिवादी राजेश शाहले आमाबाट चाबी मागी आफ्नो घर जान्छु भनी उक्त स्कुटर मागेको भन्ने सुनी थाहा पाएकी हुँ । निजले उक्त लागु औषध सेवन गर्छ भन्ने मलाई थाहा 

थिएन । सो वारदातमा निज प्रतिवादीहरूसँग बरामद भएको लागु औषध (खैरो हेरोइन) निज प्रतिवादीहरूले के कुन स्थानबाट के कति रकममा के कुन प्रयोजनका लागि खरिद गरी ल्याएका हुन् सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको सृजना बमले गरेको घटना विवरण कागज ।

बरामद भएको लागु औषधको परीक्षण गर्दा परीक्षण प्रतिवेदनमा उक्त लागु औषध खैरो हेरोइनमा Diacetyn Morphine पाइएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको पत्रमा उल्लेख भई आएको देखिन्छ ।

मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादीहरू गोविन्द भन्ने गोपिन्द्र शाह र राजेश शाहले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ),(ङ) र (च) बमोजिम लागु औषध खैरो हेरोइन बिक्री वितरण, पैठारी, ओसारपसारसमेतको कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू गोविन्द भन्ने गोपिन्द्र शाह र राजेश शाहलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिमको सजाय एवम् लागु औषध खरिद एवं ओसारपसारमा प्रयोग गरेको से.५ प. ३५१९ नं.को स्कुटर र प्रतिवादी गोविन्द भन्ने गोपिन्द्र शाहको साथबाट बरामद भएको नगद रू.३,४५०।– (तीन हजार चार सय पचास) समेत सोही ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्ने अभियोग मागदाबी ।

मिति २०७४।८।१७ गते बिहान १० बजेतिर म मेरो ससुराली घर टीकापुरबाट घर सुवर्णपुर आउन भनी से.५ प. ३५१९ नं. को स्कुटर चलाई आइरहेको अवस्थामा बाटोमा गस्ती प्रहरीले रोकी, मेरो शरीर र स्कुटर चेक जाँच गर्दा, मैले स्कुटरको डिक्कीभित्र राखेको प्लास्टिकको थैलामा पोको पारेको १७(सत्र) पुडिया लागु औषध (खैरो हेरोइन) बरामद गरेका हुन् । सो लागु औषध मैले बिक्री वितरण गर्न नभई आफैँले सेवन गर्न गोविन्द शाहबाट मागी ल्याएको 

थिएँ । निज गोविन्द शाह, नाताले मेरो हजुरबा पर्ने भएको र उहाँ र म कहिलेकाहीँ सँगै बसी सेवन पनि गर्ने गरेकोले निजबाट मैले आफ्नो सेवनको लागि मागी ल्याएको थिएँ । मैले लागु औषध सेवन गर्न सुरू गरेको २ महिना भयो । दिनको एक पुडिया खाने गरेको थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी राजेश शाहले सुरू अदालतसमक्ष गरेको बयान ।

मिति २०७४।८।१७ का दिन म आफ्नै घरमा बसिरहेको अवस्थामा प्रतिवादी राजेश शाह र निजसँग १ जना सिभिल प्रहरी आई प्रहरीले मेरो शरीरको तलासी लिँदा मेरो पाइन्टको खल्तीबाट मैले खान भनी राखेको १४ पुडिया, १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन मबाट प्रहरीले बरामद गरेको 

हो । उक्त लागु औषध मैले नेपाल भारत सीमाबाट थाहा नभएको सरदार जस्तो देखिने भारतीय नागरिकबाट २०७४।८।१६ गते डेढ ग्राम लागु औषध २,०००।- नेपाली रूपैयाँमा आफ्नो सेवनको लागि खरिद गरी ल्याएको थिएँ । निज राजेश शाहबाट बरामद भएको लागु औषध मैले निजलाई दिएको होइन । कहिलेकाहीँ हामी सँगै बसेर खाने भए तापनि निजले माग्दैमा त्यति धेरै परिमाणमा १७ पुडिया लागु औषध मैले दिएको होइन, निजको भनाइ झुठ्ठा हो । निजले पनि खाने भएकोले आफैँ किनेको हुनुपर्छ । निजसँग २०७४।८।१६ र १७ मेरो भेटघाट भएको छैन । बरामद भएको रू.३,४५०।- नगद मेरै हो । मसँग लागु औषध सेवन गर्न सरकारी निकायबाट कुनै किसिमको आधिकारिक प्रमाण छैन भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्द भन्ने गोपिन्द्र शाहले सुरू अदालतसमक्ष गरेको बयान ।

प्रतिवादी राजेश शाह र मेरो घर एउटै गाउँमा छ । निजलाई सानैदेखि चिनेको हुँ । निज मेरो पसलमा काम गर्न थालेको १ वर्षजति 

भयो । मैले नसा गरे, नगरेको सम्बन्धमा सोध्दा, २/३ महिनादेखि साथीहरूको लहैलहैमा लागेर नसा खान लागेको र अब बिस्तारै छोड्ने भन्ने कुरा मलाई भनेका हुन् । निज दिनभरि मेरो पसलमा काम गर्ने भएकोले  मैले थाहा पाएअनुसार लागु औषध बिक्री वितरण गर्ने गरेको छैनन् भन्नेसमेत बेहोराको प्रतिवादी राजेश चौधरीका साक्षी सन्तलाल चौधरीले सुरू अदालतसमक्ष गरेको बकपत्र । 

प्रतिवादी गोविन्द र म छिमेकी हौँ । निज साधारण किसानी मान्छे हुन् । निज पक्राउ परेपछि घरको तनावले लागु औषध सेवन गर्ने गरेको निजको श्रीमतीबाट सुनी थाहा पाएको हुँ । निजबाट बरामद भएको लागु औषध बिक्री वितरण गर्नको लागि ल्याएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी गोपिन्द्र शाहका साक्षी अर्जुनबहादुर शाहीले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०७४।८।१७ का दिन बिहान १०:३० बजे जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित, जिल्ला कैलाली जानकी…३ बस्ने राजेश शाहले चलाएको से.५प. ३५१९ नं. को स्कुटी चेकजाँच गर्ने क्रममा उक्त स्कुटीको डिक्कीमा कालो प्लास्टिकको पोको पारेको अवस्थामा १७ थान मान्यता प्राप्त तराजुमा तौल गर्दा २ ग्राम २३० मि.ग्रा. लागु औषध ब्राउन सुगर फेला परेको र उक्त लागु औषध ऐ. ऐ.. बस्ने गोविन्द शाहले बिक्री गरिदिनु भनी दिएको हो भनी निज राजेश शाहले प्रारम्भिक अनुसन्धानको क्रममा बताएकोले खोजतलासको क्रममा १०:४५ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा निज गोविन्द शाहलाई समेत नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा निजको साथबाट समेत ब्राउन सुगर १४ थान पोका बनाएको अवस्थामा कुल तौल १ ग्राम ७५० मि.ग्रा. बरामद गरिएको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नि. हरिसिंह धामीले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादीहरू मौकाको र सुरू अदालतको बयानमा हामी सेवनकर्ता हौँ भनी कसुरमा साबित रहेका, साक्षीहरूले आआफ्नो पक्षको समर्थनमा बकपत्र गरेको, वादी नेपाल सरकारले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को देहाय ६(१) को दाबी लिएको देखिए तापनि बरामदी लागु औषधको मात्रा र परिमाण, अलग, अलग भएको बरामदीसमेतलाई मध्यनजर राख्दा दाबीअनुसार सजाय गर्दा चर्को पर्ने देखिँदा यी प्रतिवादीहरूलाई सोही ऐनको दफा १४(१) अनुसार सेवन गरेतर्फ जनही ५०(पचास) दिन कैद र रू.१०,०००।– जरिवानासमेत हुने ठहर्छ । साथै बरामदी लागु औषध जफत हुने र बरामदी स्कुटी सम्बन्धित सवारीधनीले फिर्ता पाउने तथा प्रतिवादी गोपिन्द्र शाहबाट बरामद भएको नगद रू.३४५०।– निजले फिर्ता पाउने ठहर्छ भनी मिति २०७४।१२।२२ मा सुरू जिल्ला अदालतबाट भएको फैसला ।

स्कुटीमा राखे हिँडेको अवस्था र मात्रासमेतबाट सञ्चय, ओसारपसार, पैठारी देखिएकोमा बरामद स्कुटी र नगद जफत नगरी गरेको फैसला लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ प्रतिकूल छ । किनभने सोको आधार कारण फैसलामा उल्लेख छैन । प्रतिवादीहरूलाई दाबीको कसुरबाट उन्मुक्ति दिएकै आधारबाट जफत नगर्ने गरी गरेको फैसला त्रुटिपूर्ण छ । सेवन र कारोबार छुट्टाउने सन्दर्भमा सर्वोच्च अदालतबाट ने.का.प.२०६९ नि.नं.८९२३ पृ.७१९ नेपाल सरकार विरूद्ध अर्जुन भोटे भन्ने जितबहादुर भएको लागु औषध मुद्दामा सेवन प्रयोजनार्थ खरिद गर्ने र बिक्री गर्नेलाई खरिद गर्ने र बिक्री गर्नेलाई खरिद हुने अवस्था छुट्याउन लागु औषधको परिमाणलाई हेरिनुपर्ने हुन्छ । सेवन प्रयोजनको लागि १-२ डोजसम्मको लागि खरिद गरिने हुँदा बरामद लागु औषध अत्यधिक मात्रामा देखिएकाले सेवनसम्मको लागि खरिद गरिएको हो भन्न नमिल्ने भनी प्रतिपादित सिद्धान्त प्रतिकूल फैसला भएको देखिँदा त्रुटिपूर्ण छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत दिपायलमा पेस गरेको पुनरावेदनपत्र ।

यसमा सुरू कैलाली जिल्ला अदालतबाट मिति २०७४।१२।२२ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम छलफलका लागि प्रत्यर्थी प्रतिवादीहरूका नाउँमा पुनरावेदन पत्रको प्रतिलिपि साथै राखी म्याद जारी गरी उपस्थित भए वा म्याद नाघेपछि नियमानुसार गरी पेस गर्नु भनी मिति २०७५।१२।०८ गते उच्च अदालत दिपायलबाट भएको आदेश । 

प्रतिवादीहरूको साथबाट ३.९८० ग्राम खैरो हेरोइन लागु औषध बरामद भई निजहरूले उक्त लागु औषध आफ्नो साथबाट बरामद भएको कुरामा साबित भई बयान गरेको अवस्थामा पनि प्रतिवादीहरूलाई सेवनतर्फको कसुरमा जनही ५० दिन कैद र रू.१०,०००।–जरिवाना गर्ने गरेको कैलाली जिल्ला अदालतको मिति २०७४।१२।२२ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम ५(पाँच) वर्ष कैद र रू.५,०००।– जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत दिपायलबाट मिति २०७६।१।३१ मा भएको फैसला ।

प्रतिवादी राजेश शाहले चलाएको से.५ प. ३५१९ नं.को स्कुटी चेक जाँच गर्दा उक्त स्कुटीको डिक्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध खैरो हेरोइन १७ पोका जम्मा २ ग्राम २३० मिलिग्राम फेला पारी लागु औषध ओसारपसारमा प्रयोग भएको सो स्कुटीसमेत मौकैमा बरामद गरिएको र बरामद भएको लागु औषध अर्का प्रतिवादी गोपिन्द्र शाहले बेचबिखन गर्न दिएको भनी बताएबमोजिम प्रतिवादी गोपिन्द्र शाहलाई समेत फेला पारी निजको साथबाट समेत १४ पोका लागु औषध खैरो हेरोइन बरामद गरी निज प्रतिवादीहरूलाई पक्राउ गरेको 

देखिन्छ । प्रतिवादीमध्येका राजेश शाहले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा आफ्नो साथबाट बरामद भएको अवैध लागु औषध खैरो हेरोइन भारतको तिकुनीयामा खरिद गरेको हुँ भनी बयान गरेको देखिएको एवं निज प्रतिवादीहरूले मौकाको बरामदी मुचुल्कामा रोहबरमा बसी सहीछाप गरेको देखिएको अवस्थामा बरामद भएको से.५ प. ३५१९ नं.को स्कुटी अवैध लागु औषध ब्राउन सुगर ओसारपसारमा प्रयोग गरेको भन्ने प्रस्ट भइरहेको देखिन्छ । उच्च अदालत दिपायलबाट यी प्रतिवादीहरू खैरो हेरोइन जस्तो घातक लागु औषध खरिद सञ्चय र ओसारपसारमा लामो समयदेखि संलग्न भएको देखिएको र बरामद लागु औषधको परिमाणसमेत अत्यधिक देखिएको भनी निज प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम नै सजाय गरेको अवस्था छ । यसरी अवैध लागु औषधको कारोबारमा संलग्न रहेका प्रतिवादीहरू राजेश शाह र गोविन्द भन्ने गोपिन्द्र शाहलाई अभियोग मागदाबीबमोजिम नै सजाय गरिसकेपछि अवैध लागु औषध खैरो हेरोइन ओसारपसार प्रयोग गरिएको से.५ प. ३५१९ नं.को स्कुटी र बरामद नगद रू.३,४५०।– समेत लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ बमोजिम जफत गर्नुपर्नेमा सोतर्फ केही नबोली मौन रही गरिएको उच्च अदालत दिपायलको त्रुटिपूर्ण फैसला बदर गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ बमोजिम बरामद स्कुटी र नगदसमेत जफत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनालले प्रतिवादीहरू खैरो हेरोइन जस्तो घातक लागु औषध खरिद सञ्चय र ओसारपसारमा लामो समयदेखि संलग्न भएको देखिएको र बरामद लागु औषधको परिमाणसमेत अत्यधिक देखिएको अवस्थामा प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय भएपछि स्कुटर र नगदसमेत जफत गर्नुपर्नेमा सोतर्फ केही नबोलेको उच्च अदालत दिपायलको फैसला नमिलेको हुँदा अभियोग दाबीबमोजिम जफतसमेत गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसमा, प्रतिवादीहरू गोविन्द भन्ने गोपिन्द्र शाह र राजेश शाहले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ), (ङ) र (च) बमोजिमको लागु औषध खैरो हेरोइन बिक्री वितरण, पैठारी, ओसारपसारसमेतको कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू गोविन्द भन्ने गोपिन्द्र शाह र राजेश शाहलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिमको सजाय एवम् लागु औषध खरिद एवं ओसारपसारमा प्रयोग गरेको से.५ प. ३५१९ नं.को स्कुटर र प्रतिवादी गोविन्द भन्ने गोपिन्द्र शाहको साथबाट बरामद भएको नगद रू.३,४५०।– (तीन हजार चार सय पचास) समेत सोही ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू कैलाली जिल्ला अदालतले प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) बमोजिमको कसुरमा ऐ.दफा १४(१)(ङ) बमोजिम जनही ५० दिन कैद र रू.१०,०००।– जरिवाना हुने ठहर्‍याएको फैसला उच्च अदालत दिपायलबाट केही उल्टी भई प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ),(ङ) र (च) बमोजिमको कसुरमा ऐ.दफा १४(१)(छ) बमोजिम जनही ५ वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको तर बरामद भएको स्कुटर र नगद जफतको दाबीतर्फ केही नबोली सुरूले फिर्ता पाउने ठहराएको फैसला सदर गरेकोमा वादी नेपाल सरकारले चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेको देखिँदा उच्च अदालत दिपायलको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन 

आयो ।

२. अब निर्णयतर्फ विचार गर्दा, उच्च अदालत दिपायलबाट प्रतिवादीहरू गोविन्द भन्ने गोपिन्द्र शाह र राजेश शाहलाई अभियोग दाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ)(ङ)(च) को कसुरमा ऐ.दफा १४(१)(छ) बमोजिम सजाय ठहर गरेकोमा प्रतिवादीहरूले सोउपर पुनरावेदन गरेको नदेखिँदा प्रस्तुत मुद्दाको रोहबाट त्यसतर्फ विचार गरिरहनुपर्ने देखिएन । वादी नेपाल सरकारले प्रतिवादीहरूले लागु औषध खरिद एवम् ओसारपसारमा प्रयोग गरेको र बरामद भई आएको स्कुटर तथा नगद रू.३,४५०।- लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ बमोजिम जफत हुन दाबी लिएकोमा सुरूले जफत नहुने ठहराएको फैसला सदर गरेको उच्च अदालत दिपायलको फैसलामा सो हदसम्म चित्त नबुझाई पुनरावेदन गरेको देखिँदा अभियोग दाबीबमोजिम बरामद भएको स्कुटर र नगद रकम बरामद हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा सम्म प्रस्तुत मुद्दामा विवेचना हुनुपर्ने देखिन आयो ।

३. बरामद भई आएको से.५ प. ३५१९ नम्बरको हिरो कम्पनीको रातो कालो रङको Duet स्कुटर प्रतिवादी राजेश शाहले चलाइरहेको अवस्थामा बरामद भएको तथ्यमा विवाद देखिँदैन । बरामदी मुचुल्काबाट निजले सोही स्कुटीको डिक्कीमा लागु औषध खैरो हेरोइन लुकाई छिपाई राखेको भन्ने पनि देखिन 

आउँछ । त्यसैगरी अर्का प्रतिवादी गोविन्द भन्ने गोपिन्द्र शाहले लगाइराखेको पाइन्टको खल्तीबाट १४ पुडिया लागु औषध हेरोइन र रू.३,४५०।– नगद बरामद भएको देखिन आउँछ । 

४. अब बरामद भई आएको उक्त स्कुटर तथा नगद रकम जफत हुनुपर्ने हो होइन भनी निरूपण गर्न सम्बन्धित कानूनी व्यवस्था हेर्नुपर्ने हुन्छ । सवारी साधन जफतका सम्बन्धमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ मा देहाय बमोजिमको व्यवस्था देखिन आउँछ ।

"१८. अपराधसित सम्बन्धित मालसामान जफत हुने: यस ऐनअन्तर्गत सजाय हुने अपराधसित सम्बन्धित सबै लागु औषध तथा त्यस्तो लागु औषध निर्माण वा उत्पादन गर्न प्रयोग गरिएका सबै मालसामान तथा यन्त्रहरू जफत हुने छन् र त्यस्तो लागु औषध राखी ओसारपसार गर्न प्रयोग गरिएका रेल तथा हवाइजहाजबाहेक जुनसुकै सवारीसमेत जफत हुने छ ।

तर सो सवारी त्यस्तो अपराध गर्न प्रयोग गरिने वा गरिएको कुरा सवारीधनीलाई थाहा थिएन भन्ने कुराको प्रमाण निजले पेस गर्न सकेमा भने त्यस्तो सवारी जफत गरिने छैन”

 

५. यसैगरी नगद रकम जफतका सम्बन्धमा सोही ऐनको दफा १८क को उपदफा (१) मा देहायको व्यवस्था देखिन्छ: 

“१८क. सम्पत्ति जफत हुने: दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गत निषेध गरिएको कुनै कार्य गरी आर्जन गरेको सबै चल तथा अचल सम्पत्ति जफत हुने छ ।” 

 

६. उल्लिखित कानूनी व्यवस्था हेर्दा लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत निषेधित लागु औषध राखी ओसारपसार गर्न प्रयोग गरिएका सवारी साधन जफत हुने देखिए तापनि त्यस्तो सवारी अन्य व्यक्तिको भई सम्बन्धित सवारीधनीलाई निजको सवारी सो अपराध गर्न प्रयोग गरिने भन्ने थाहा जानकारी नभएको अवस्थामा त्यस्तो सवारी जफत गर्नुपर्ने अवस्था देखिन आउँदैन । 

७. प्रस्तुत मुद्दामा मिसिल संलग्न घटना विवरण कागज बेहोराबाट प्रतिवादी राजेश शाहले चलाएको से.५ प.३५१९ नं. को स्कुटर सृजना बमको भएको र निजले उक्त स्कुटर धनगढीमा घरमा छाडी चाबी आमालाई दिई अछाम गएको अवस्थामा निज प्रतिवादी राजेश शाहले सृजना बमको आमासँग चाबी मागी स्कुटर चलाएको अवस्थामा पक्राउ परी स्कुटर बरामद भएको 

देखिन्छ । मिसिल संलग्न सवारीधनी दर्ता प्रमाणपत्रको प्रतिलिपिबाट उल्लिखित घट्ना विवरण कागजको बेहोरा समर्थित भइरहेको देखिदा घटना विवरण कागजको बेहोरालाई अन्यथा भन्नुपर्ने देखिएन । प्रतिवादी राजेश शाहले घर जान भनी सवारीधनी सृजना बमको आमालाई चिनजानका आधारमा स्कुटरको चाबी मागेको भन्ने देखिन आउँदा उक्त स्कुटर लागु औषध ओसारपसारमा प्रयोग गरिन सक्ने आशङ्कासम्म पनि स्कुटर धनीलाई हुन सक्ने अवस्था 

देखिँदैन । मिसिलबाट सम्बन्धित स्कुटर धनीले स्कुटर घर (धनगढी) मा छाडी अछाममा गएको र प्रतिवादी पक्राउ परेकोसमेत एक हप्तापछि मात्र थाहा पाएको भन्ने देखिन आएकोसमेतका प्रमाणबाट अभियोग दाबीको स्कुटर प्रतिवादीले लागु औषध ओसारपसारमा प्रयोग गर्ने भन्ने स्कुटर धनीलाई थाहा जानकारी भएको तथ्य पुष्टि हुन नआउनुका साथै सम्बन्धित सवारीधनीलाई प्रतिवादीसमेत कायम नगरी दायर गरेको अभियोगपत्रबाट अभियोग दाबीबमोजिम स्कुटर जफत गर्न मिल्ने देखिएन ।

८. यसैगरी, प्रतिवादी गोपिन्द्र शाहबाट बरामद भएको नगद रू.३,४५०।– का सम्बन्धमा विचार गर्दा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८क बमोजिम बरामदित चल अचल सम्पत्ति जफत हुनका लागि त्यस्तो सम्पत्ति सो ऐनले निषेध गरेको कसुर गरी आर्जन गरेको देखिनुपर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादी गोपिन्द्र शाह आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ परेका र निजले लगाएको पाइन्टको खल्तीबाट लागु औषध खैरो हेरोइन र नगद रू.३४५०।– बरामद भएको अवस्था छ । यी प्रतिवादीले उक्त लागु औषध कोही कसैलाई बिक्री गरी रहेको वा लागु औषध दिने भनी नगद रकम लिएको वा लिइरहेको अवस्थामा पक्राउ परेको अवस्था देखिँदैन । निजको बयानबाट नचिनेका व्यक्तिबाट रू.२०००।– मा डेढ ग्राम लागु औषध खरिद गरी ल्याएको भन्ने देखिन आए तापनि निजले यो यसलाई यो यति रकममा लागु औषध खैरो हेरोइन बिक्री गरेको भनी लेखाउन खुलाउन नसकेको अवस्थामा निजको साथबाट बरामद भएको रकम लागु औषधको निषेधित कार्यबाट आर्जन भएको भन्ने देखिन आउँदैन । बरामद भई आएको नगदको परिमाण एवम् निज आफ्नै घरमा भएको अवस्थामा गरिएको बरामदीसमेतका वारदात हुँदाको परिस्थिति विश्लेषण गर्दा प्रतिवादी गोपिन्द्र शाहबाट बरामद भएको नगद रू.३४५०।– लागु औषध (नियन्त्रण) ऐन, २०३३ द्वारा निषेधित कार्य गरी आर्जित रकम हो भन्ने पुष्टि हुन आएन । लागु औषध खैरो हेरोइनसाथ नगदसमेत बरामद भएका कारण त्यस्तो नगद लागु औषध कारोबारबाटै आर्जन गरेको रहेछ भनी अनुमान गर्नु र त्यस्तो नगदसमेत बरामद गर्नु लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८क को व्यवस्थाको मर्मअनुकूल नहुने हुँदा अभियोग दाबीबमोजिम स्कुटर तथा नगद जफत गर्न नमिल्ने, सम्बन्धित धनीले फिर्ता पाउने ठहराएको सुरू फैसला सदर गरेको उच्च अदालत दिपायलको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । प्रत्यर्थी झिकाइपाउँ भन्ने विद्वान् सहन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

९. तसर्थ, प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी बरामद भएको स्कुटर तथा नगद जफत गर्नु नपर्ने ठहराएको उच्च अदालत दिपायलको मिति मिति २०७६।१।३१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको प्रतिलिपिसहितको फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरी लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.हरिकृष्ण कार्की

 

इजलास अधिकृत: रोशनकुमार झा

इति संवत् २०७९ साल जेठ ९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु