शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९९६ - उत्प्रेषण / परमादेश

भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल

फैसला मिति : २०७९।८।१

०७३-CI-००२९

 

मुद्दा : उत्प्रेषण / परमादेश

 

पुनरावेदक / वादी : जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ३ बस्ने जेठमल गोल्छा

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापासमेत

 

विदेशी नागरिकले दर्ता गरेको फर्मको कर वा राजस्व उक्त फर्मले नतिरेमा आफूले तिर्ने कबुल गरी फर्म दर्ता गर्ने समयमा ग्यारेन्टी बसेकोमा त्यस्तो फर्मले कर वा राजस्व नतिरेमा सो चुक्ता गर्ने दायित्व ग्यारेन्टी बसेको व्यक्तिमा सर्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुनिलकुमार पोखरेल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय मुख्य न्यायाधीश श्री मिरा खडका

माननीय न्यायाधीश श्री रमेश पोखरेल

पुनरावेदन अदालत इलाम

 

आदेश

न्या.डा.कुमार चुडाल : पुनरावेदन अदालत इलामको मिति २०७२|७|१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

तथ्यगत बेहोरा

म निवेदक जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.१ मा स्थायी बसोबास गर्दै आएको नेपाली नागरिक हुँ । मेरा नाउँमा दर्ता कायम रहेको जिल्ला झापा मेची नगरपालिका वडा नं.१ को कि.नं. ६४ को घरजग्गासमेत र ऐ. को कि.नं. ३२ को जग्गा 

हो । आफ्नो स्रेस्ता नक्कल लिन भनी मालपोत कार्यालय, झापामा पुग्दा आफ्नो उक्त घर जग्गा रोक्का रहेको छ भनी बुझ्दा विपक्षी नं.१ को मिति २०७१।७।२० को च.नं. १९९६ को पत्रले रोक्का छ भनी थाहा पाई मिति २०७२।७।१६ को टिप्पणी आदेश हेर्दा करदाता श्री चामुण्डा इन्टरप्राइजेजले बुझाउनुपर्ने आयकर बक्यौता तिर्न बाँकी रहेको र दाखिला गर्न पटकपटक ताकेता गर्दासमेत नबुझाएको रहेछ । विपक्षी नं.१ को करदाताले २०५५ सालदेखि गरेको कारोबार र निजले यस कार्यालयलाई बुझाउनुपर्ने कर बक्यौता उठाउनेतर्फ आजका मितिसम्म विपक्षी नं.१ को करको भुक्तानी तथा असुली प्रक्रिया Tax payment and recovery नगरी म निवेदकको सम्पत्ति रोक्का गरी मेरो प्राप्त संवैधानिक हकमा आघात पर्ने कार्य विपक्षीबाट भएको प्रस्ट छ । चामुण्डा इन्टरप्राइजेजका प्रोपाइटर भारतीय नागरिक भएको हुँदा निजले तिर्नुपर्ने कर बक्यौता निजले नतिरे म निवेदकले तिर्न बुझाउने कबुल गरी जमानत गरेको विषय चिरकाल पर्यन्तका लागि नभई निश्चित अवधिका लागि हुने कानूनतः स्पष्ट छ । वस्तुतः चामुण्डा इन्टरप्राइजेजका प्रो.नेमचन्द जैनका लागि म निवेदकले दिएको भनेको जमानतबमोजिम निजले तिर्नुपर्ने सो कर दस्तुरसम्म सीमित रहने कानूनतः स्पष्ट छ । म निवेदकले जमानत दिएको अवधिको कर दस्तुर वा दायित्व सो चामुण्डा इन्टरप्राइजेजका प्रो.नेमचन्दले तिर्न बुझाउन बाँकी रहेको छैन । म निवेदकले जमानत दिएको फर्मको प्रोपाइटरको मृत्युपश्चात् अन्य व्यक्तिहरूका नाममा फर्म नामसारी बिक्री, हस्तान्तरण भएमा समेत म निवेदकलाई कुनै थाहा जानकारी वा सूचनाबेगर सो मृतक प्रोपाइटरका जमानीकर्ताको हैसियतले दायित्व बेहोर्नुपर्ने भन्न न्याय, कानून र सद्‌विवेकसमेतले नमिल्ने स्पष्ट छ । यसरी एकाले तिर्ने कर बक्यौता म निवेदकले तिर्नुपर्ने भनी आयकर ऐन, २०५८ मा कहीँकतै व्यवस्था नहुनुका साथै नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८९ को उपधारा १ मा स्पष्ट रूपमा कानूनबमोजम बाहेक कुनै कर लगाइने र उठाउने छैन भनी प्रस्ट उल्लेख भएको हुँदा विपक्षी नं.१ को मिति २०७१।७।१६ को टिप्पणी आदेश नेपालको अन्तरिम संविधान, २०६३ विपरीत रहेको हुँदा उक्त विपक्षीको टिप्पणी निर्णय आदेश बदरभागी छ । विपक्षीहरूले निवेदकको नाउँ दर्ता, हकभोग, स्वामित्वको उल्लिखित जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.१ को कि.नं. ६४ को घरजग्गासमेत र ऐ.को कि.नं. ३२ को जग्गाबाट चामुण्डा इन्टरप्राइजेजको विपक्षी नं.१ लाई तिर्नु बुझाउनुपर्ने कर बक्यौता दायित्व असुलउपर गर्नका लागि रोक्का राख्नेसमेत भनी गरिएको तत्सम्बन्धी सम्पूर्ण टिप्पणी आदेश वा निर्णयसमेत उत्प्रेषणको आदेशबाट बदर बातिल गरी निवेदकको उल्लिखित घर जग्गासमेत निवेदकको कुनै सम्पत्तिबाट चामुण्डा इन्टरप्राइजेजको कर बक्यौता दायित्व भनी कुनै रकम असुल नगर्नु नगराउनु, निवेदकलाई सो चामुण्डा इन्टरप्राइजेजको जमानीकर्ता भनी धरपकड गर्ने, निवेदकबाट सो फर्मको विपक्षी नं.१ लाई तिर्नु बुझाउनुपर्ने कर दायित्व असुलउपर गर्ने काम नगर्नु, नगराउनु भनी विपक्षीहरूका नाममा निषेधाज्ञासमेत गरिपाउँ र उल्लिखित कि.नं.का जग्गाहरूसमेतको रोक्का फकुवा गरिदिनु भनी विपक्षीहरूका नाममा परमादेशसमेत जारी गरिपाऊँ । साथै जमानीकर्ता भनी सो असुली गर्न भनी धरपकड गर्ने पूर्ण आशंकाको स्थिति रहेको हुँदा विपक्षीहरूले सो गरेमा प्रस्तुत निवेदन निस्प्रयोजन भई निवेदकलाई अपूर्ण क्षति पुग्न जाने हुँदा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त घर जग्गा सम्पत्ति लिलाम बिक्री हक हस्तान्तरण नगर्नु, नगराउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिपाउँ भन्ने निवेदनपत्र । 

यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण र आधार भए सोको सबुद प्रमाणसमेत संलग्न राखी यो आदेशप्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरूलाई पुनरावेदन सरकारी वकिल कार्यालय, इलाममार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूका नाममा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३(२) बमोजिम म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परेपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत इलामबाट मिति २०७२।४।२१ मा भएको आदेश । 

मिति २०५६।०६।२५ मा भारतीय नागरिक नेमचन्द्र जैन साबिक कर कार्यालय, भद्रपुर झापामा चामुण्डा इन्टरप्राइजेज नामको फर्म दर्ता हुन आउँदा निज भारतीय नागरिक भएकोले झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं.३ बस्ने दिपचन्द्र गोल्छाको छोरा विपक्षी नं.१ ले कर कार्यालय भद्रपुर झापाबाट लाग्न जाने सम्पूर्ण कर राजस्व निजले दाखिला नगरेमा मेरो चल अचल सम्पत्तिबाट असुलउपर गरी लिएमा मन्जुर छ भनी ग्यारेन्टी पत्रमा आजका मितिमा कर कार्यालय भद्रपुर झापामा सहीछाप गरेको र नागरिकताको प्रतिलिपि, जग्गाधनीपुर्जाको प्रतिलिपिसमेत बुझाएको र फर्मसमेत दर्ता भएको हो । सो गोश्वारा जमानीमा १ वर्षका लागि जमानत हो भन्ने कुरा कहीँकतै उल्लेख गरिएको छैन, 

होइन । चामुण्डा इन्टरप्राइजेजका प्रोपाइटर नेमचन्द जैनको मृत्युपश्चात् रविन्द्र जैनको नाममा फर्म नामसारी भएको हो । रविन्द्रकुमार जैनको नाममा नामसारी भएपछि समेत विपक्षी नं.१ प्रतिनिधि भई कारोबार सम्बन्धमा मिति २०५७।११।२३ मा कार्यालयमा बयानसमेत दिएका छन । उक्त चामुण्डा इन्टरप्राइजेज फर्मलाई कर बक्यौता असुलीका लागि पटकपटक मौखिक तथा लिखित ताकेता गर्दासमेत अटेर भई राज्यको राजस्व जस्तो गम्भीर प्रकृतिको विषयमा तिर्ने र बुझाउने सम्बन्धमा कुनै प्रतिक्रिया तथा निज रविन्द्रकुमार जैनको नाममा नेपाल राज्यमा कुनै चल अचल सम्पत्ति नभएको कारणले विपक्षी नं.१ को नाममा दर्ता कायम रहेको जग्गा रोक्का गरिएको हो । विपक्षी जेठमल गोल्छाले मिति २०५६।०५।२५ मा कर कार्यालय भद्रपुर झापाबाट लाग्न जाने सम्पूर्ण कर राजस्व चामुण्डा इन्टरप्राइजेज फर्मले दाखिला नगरेमा मेरो चल अचल सम्पत्तिबाट असुलउपर गरी लिएमा मन्जुर छ भनी गोश्वारा जमानी बसेको तथा चामुण्डा इन्टरप्राइजेजको प्रोपाइटर रविन्द्रकुमार जैनलाई जानकारी दिएको हुनाले विपक्षी नं.१ लाई पटकपटक जानकारी दिई राख्नुपर्ने आवश्यकता 

रहेन । बुबा नेमचन्द्र जैनको मृत्युपश्चात् छोराको नाममा प्रोपाइटरसिप कायम भएको हुनाले अन्य व्यक्तिमा उक्त फर्म हस्तान्तरण नभएको हुँदा विपक्षी नं.१ को दाबी झुट्ठा एवम् कपोलकल्पित छ । निज चामुण्डा इन्टरप्राइजेजको हालसम्म पनि बक्यौता कायम नै रहेको छ भन्नेसमेत बेहोराको आन्तरिक राजस्व कार्यालय, भद्रपुर झापा तथा आफ्नो हकमा समेत ऐ.ऐ. कार्यालयका कार्यालय प्रमुखको लिखित जवाफ । 

जेथा जमानी लेखाइदिएकोमा सो जेथाजमानी लेखाइदिने अड्डाले फलानाले यो यतिबापत जमानी लेखाइदिएको यो यति जेथा भन्ने सबै खोली सो जेथा कसैलाई बेचबिखन गर्न वा अरू कुनै प्रकारले अरूलाई दिन नपाउने गरी रोक्का दिनुपर्छ भन्ने मुलुकी ऐन जमानी गर्ने महलको ४ मा व्यवस्था भएको र आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाको च.नं.१९९६ मिति २०७१।७।२० का पत्रले जेठमल गोल्छाको नाममा त्यहाँ कार्यालयमा रहेको सम्पूर्ण जग्गा रोक्का राखिदिन अनुरोध भई आएअनुसार जेठमल गोल्छा दर्ताको मेचीनगर नगरपालिका १ कि.नं. ६४ का जग्गा र घरसमेत र मेची नगरपालिका १ कि.नं. ३२ का जग्गा रोक्का राखी आन्तरिक राजस्व कार्यालयलाई जानकारीसमेत पठाइएको हो । आन्तरिक राजस्व कार्यालयबाट रोक्का फुकुवा गरिदिनु भन्ने पत्र प्राप्त भएका बखत यस कार्यालयले फुकुवा जनाइने नै हुँदा यस कार्यालय र कार्यालय प्रमुखको हकमा निवेदकले लिएको रिट निवेदनको दाबी खारेज गरिपाउँ भन्ने जिल्ला झापा भद्रपुर स्थित मालपोत कार्यालय र आफ्ना हकमा समेत प्रमुख मालपोत अधिकृत विजयराज पौडेलको लिखित जवाफ । 

यसमा भारतीय नागरिक नेमचन्द्र जैनको चामुण्डा इन्टरप्राइजेज नामको फर्म साबिक कर कार्यालय भद्रपुरमा दर्ता गर्ने प्रक्रियाअन्तर्गत मिति २०५६।५।२५ मा रिट निवेदक जेठमल गोल्छाले कर कार्यालय भद्रपुरलाई ग्यारेन्टीपत्र लेखिदिएको रहेछ । उक्त चामुण्डा इन्टरप्राइजेजका तत्कालीन प्रो. नेमचन्द्र जैनको मृत्युपछि निजको नामबाट फर्मको प्रोप्राइटर बदल्ने प्रक्रियाअन्तर्गत चामुण्डा इन्टरप्राइजेजको तर्फबाट प्रतिनिधि भई निवेदक जेठमल गोल्छाले कर कार्यालयसमक्ष बयान गरेको समेत मिसिलबाट देखिन्छ सोही बयानसमेतको आधारमा कर कार्यालय, भद्रपुरको मिति २०५७।११।२५ को निर्णयले रविन्द्रकुमार जैन फर्मको प्रोप्राइटर भएको देखिन्छ । उक्त चामुण्डा इन्टरप्राइजेजले बक्यौता रकम दाखिल नगरेको कारणबाट बक्यौता रकम दाखिल गर्न आन्तरिक राजस्व कार्यालय, भद्रपुरले पटकपटक ताकेतासमेत गरेको देखिन्छ । पटकपटक ताकेता गर्दासमेत उक्त चामुण्डा इन्टरप्राइजेजका तर्फबाट बक्यौता रकम नबुझाएको अवस्थामा निवेदक जमानतकर्ताबाट असुल गर्न पाउने, अधिकार विपक्षी आन्तरिक राजस्व कार्यालयलाई प्राप्त भएबाट निवेदन मागबमोजिमको आदेश जारी गर्नुपरेन, रिट निवेदन खारेज हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत इलामको फैसला ।

कर प्रयोजनको लागि आयकर प्रमाणपत्र जारी गर्दा कोही कसैको ग्यारेन्टीका आधारमा आयकर प्रमाणपत्र जारी गर्ने प्रावधान आयकर ऐनमा छैन । ऐनमा नभएको प्रावधानबमोजिम लिइएको भनिएको ग्यारेन्टी पत्र आफैँमा गैरकानूनी रहेको छ । कानूनले चिन्दै नचिनेको कागजका खडा गरी गरिएको ग्यारेन्टी पत्रको वैधानिक स्थिति शून्यको रहन्छ । आयकर जसले आर्जन गर्छ उसलाई कर लाग्ने हो । यसमा नेमचन्द जैन र रविन्द्रकुमार जैनले प्रोप्राइटरसिप फर्मबाट आर्जन गरेकोमा विवाद 

छैन । निजहरूले आय आर्जन गरेको भए निजहरूले नै आयकर तिर्नुपर्नेमा मैले आर्जन नै नगरेको आयमा मेरो जग्गा सम्पत्ति रोक्का गर्ने गरी भएको कर कार्यालयको निर्णयका सम्बन्धमा विवेचनासम्म पनि पुनरावेदन अदालतबाट भएको देखिँदैन ।

 आयकर करदाताले वर्षभरिमा पेसा व्यवसाय तथा रोजगारबाट आर्जन गरेको आयमा लागि प्रत्येक आर्थिक वर्षमा कर कार्यालयमा विवरण पेस गरी, आय व्यय विवरण पेस गरी सोका आधारमा कर निर्धारण हुनुपर्नेमा विवाद छैन । मैले दिएको ग्यारेन्टी पत्रलाई वैधानिक मान्ने हो भने पनि सो ग्यारेन्टी पत्र अनन्तकालसम्म कायम रहन सक्दैन एक आर्थिक वर्षसम्मको लागि मान्य हुनेमा विवाद छैन । मैले दिएको ग्यारेन्टी पत्रलाई वैधानिक नै मान्ने हो भने पनि एक आर्थिक वर्षको लागि मात्र मान्य हुनुपर्नेमा अनन्तकालसम्म मान्य हुने गरी जारी गरिएको कर निर्धारण र सोमा मलाई बाध्य हुने गरी गरेको कर कार्यालयको निर्णय र सोका आधारमा मेरो सम्पत्ति रोक्का गरेकोतर्फ कुनै विवेचना नै नगरी भएको पुनरावेदन अदालत इलामको त्रुटि भएकोले सो फैसला उल्टी गरिपाउँ भन्ने बेहोराको पुनरावेदक जेठमल गोल्छाको मिति २०७३|४|४ को पुनरावेदन पत्र ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सुनिलकुमार पोखरेलले ग्यारेन्टीका आधारमा कर प्रमाणपत्र जारी गर्ने कुनै कानून नै 

छैन । कानूनविपरीत स्वेच्छाचारी रूपमा कार्य गर्न कर कार्यालयलाई कुनै अधिकार नै छैन । कर कार्यालयले विदेशीलाई कर प्रमाणपत्र जारी गर्न ऐनबमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ । सो नगरी मलाई ग्यारेन्टी राखी कर प्रमाणपत्र जारी गरिएको र सोका आधारमा मलाई बाध्य बनाई मेरो जग्गा रोक्का गर्ने कार्य गैरकानूनी भएकोले सोसम्बन्धी सम्पूर्ण निर्णय बदरयोग्य भएकाले प्रत्यर्थी झिकाई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

अब यसमा पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत इलामको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. प्रस्तुत सम्बन्धमा चामुण्डा इन्टरप्राइजेजका प्रोपाइटर भारतीय नागरिक भएको हुँदा निजले तिर्नुपर्ने कर बक्यौता निजले नतिरे निवेदकले तिर्न बुझाउने कबुल गरी जमानत गरेको विषय चिरकाल पर्यन्तका लागि नभई निश्चित अवधिका लागि हुने कानूनतः स्पष्ट छ । वस्तुतः चामुण्डा इन्टरप्राइजेजका प्रोपाइटर नेमचन जैनका लागि निवेदकले दिएको भनेको जमानतबमोजिम निजले तिर्नु पर्ने सो कर दस्तुरसम्म सिमित रहने कानूनतः स्पष्ट छ । निवेदकले जमानत दिएको अवधिको कर दस्तुर वा दायित्व सो चामुण्डा इन्टरप्राइजेजका प्रोपाइटर नेमचन्दले तिर्न बुझाउन बाँकी रहेको छैन । निवेदकले जमानत दिएको फर्मको प्रोपराइटरको मृत्युपश्चात् अन्य व्यक्तिहरूका नाममा फर्म नामसारी, बिक्री, हस्तान्तरण भएमा समेत निवेदकलाई कुनै थाहा जानकारी वा सूचना बेगर सो मृतक प्रोपराइटरका जमानीकर्ताको हैसियतले दायित्व बेहोर्नुपर्ने भन्न न्याय, कानून र सद्विवेकसमेतले नमिल्ने स्पष्ट भएको अवस्थामा विपक्षी आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाको मिति २०७१|७|२० (च.नं. १९९६) मा मालपोत कार्यालय, झापालाई निवेदकको नाममा दर्ता रहेका सम्पूर्ण जग्गा रोक्का राख्नेसम्बन्धी पत्र कार्यान्वयन नगर्न मागदाबी राखी पुनरावेदन अदालत इलाममा पुनरावेदन निवेदन दर्ता गरेकोमा उक्त रिट निवेदन खारेज हुने गरी उक्त अदालतबाट भएको फैसला चित्त नबुझी निवेदक जेठमल गोल्छाले यस अदालतमा पुनरावेदन गरेको अवस्था देखिन्छ । 

३. भारतीय नागरिक नेमचन्द जैनको चामुण्डा इन्टरप्राइजेज नामको फर्म साबिक कर कार्यालय भद्रपुरमा दर्ता गर्ने प्रक्रियाअन्तर्गत मिति २०५६।५।२५ मा रिट निवेदक जेठमल गोल्छाले कर कार्यालय भद्रपुरलाई ग्यारेन्टीपत्र लेखिदिएको रहेछ । उक्त ग्यारेन्टीपत्र हेर्दा नेमचन्द जैनको नाममा स्थापना हुने चामुण्डा इन्टरप्राइजेजको प्रोपाइटर नेमचन्द जैन विदेशी नागरिक भएकोले कर कार्यालय भद्रपुर (झापा) बाट लाग्न जाने सम्पूर्ण कर राजस्व निजले दाखिल नगरेमा मेरो चल अचल सम्पत्तिबाट असुलउपर गरी लिएमा मन्जुर छ भनी यो ग्यारेन्टीपत्रमा सहीछाप गरी श्री ५ को सरकारमा चढाएँ भन्ने उल्लेख भई निवेदक जेठमल गोल्छाले सही गरेको देखिन्छ । उक्त ग्यारेन्टीपत्र निवेदकले स्वीकार गरेको पाइन्छ । 

४. उक्त चामुण्डा इन्टरप्राइजेजका तत्कालीन प्रोपाइटर नेमचन्द जैनको मृत्युपछि निजको नामबाट फर्मको प्रोपाइटर बदल्ने प्रक्रियाअन्तर्गत चामुण्डा इन्टरप्राइजेजको तर्फबाट प्रतिनिधि भई निवेदक जेठमल गोल्छाले कर कार्यालयसमक्ष बयान गरेकोसमेत मिसिल कागजातबाट देखिन्छ । सोही बयानसमेतको आधारमा कर कार्यालय भद्रपुरको मिति २०५७।११।२५ को निर्णयले रविन्द्रकुमार जैन फर्मको प्रोपाइटर भएको देखिन्छ । उक्त चामुण्डा इन्टरप्राइजेजले बक्यौता रकम दाखिल नगरेको कारणबाट बक्यौता रकम दाखिल गर्न आन्तरिक राजस्व कार्यालय, भद्रपुरले पटकपटक ताकेतासमेत गरेको देखिन्छ । पटकपटक ताकेता गर्दासमेत उक्त चामुण्डा इन्टरप्राइजेजका तर्फबाट बक्यौता रकम नबुझाएकोले निवेदक जेठमल गोल्छाले मिति २०५६।५।२५ मा गरी दिएको ग्यारेन्टीपत्रको आधारमा निजको नाममा रहेको झापा जिल्ला दमक नगरपालिका वडा नं. ५ अन्तर्गतको कि.नं. ३०४५ को क्षेत्रफल १-१६-१५ जग्गा र अन्य निजको नाममा रहेको सम्पूर्ण जग्गाहरू रोक्का राख्ने गरी आन्तरिक राजस्व कार्यालय, भद्रपुरबाट मिति २०७१।७।२० मा भएको निर्णयको आधारमा मालपोत कार्यालय, भद्रपुरलाई रोक्का राख्न पत्राचार भई जेठमल गोल्छाको नाममा मालपोत कार्यालय, भद्रपुरमा रहेका जग्गाहरू मालपोत कार्यालय, भद्रपुरबाट रोक्का रहन गएको देखिन्छ । 

५. एक वर्षको लागि मात्र जमानत दिएको र सो जमानतको अवधि समाप्त भइसकेको भन्ने निवेदन जिकिरतर्फ हेर्दा मिति २०५६।५।२५ को ग्यारेन्टीपत्रमा कुनै अमुक समयसम्मको लागि मात्र जमानत दिएको भनी समय किटान गरेको 

पाइँदैन । निवेदकले कर कार्यालय भद्रपुरलाई गरी दिएको उक्त ग्यारेन्टीपत्रले नै चामुण्डा इन्टरप्राइजेजले तिर्नुपर्ने कर राजस्व बक्यौता रकम दाखिल नगरेको अवस्थामा निवेदक जमानतकर्ताबाट असुल गर्न पाउने अधिकार विपक्षी आन्तरिक राजस्व कार्यालयलाई प्राप्त भएबाट र ऋण बक्यौता विदेशी नागरिकको भएको एवम् सोको थाहा जानकारी हुँदाहुँदै त्यस्ता बक्यौताको ग्यारेन्टी गरेको देखिन्छ । तसर्थ, विदेशी नागरिकले दर्ता गरेको फर्मको कर वा राजस्व उक्त फर्मले नतिरेमा आफूले तिर्ने कबुल गरी फर्म दर्ता गर्ने समयमा ग्यारेन्टी बसेको अवस्थामा उक्त फर्मले कर वा राजस्व नतिरेको अवस्थामा सो चुक्ता गर्ने दायित्व यी निवेदकमा सर्ने देखियो । निवेदक आफैँले चामुण्डा इन्टरप्राइजेजले दायित्व वहन गर्न नसकेको अवस्थामा सो दायित्व आफूले बेहोर्ने प्रतिबद्धता राज्यसँग गरेको अवस्थामा आयकरमा तेस्रो व्यक्तिको दायित्व नरहने भन्ने पुनरावेदकको जिकिरसँग सहमत हुन सकिएन, निज निवेदकले आफूले ग्यारन्टी बसेअनुसार चामुण्डा इन्टरप्राइजेजको दायित्व बेहोर्नु नै पर्ने देखिन्छ ।

६. अतएवः चामुण्डा इन्टरप्राइजेजले कानूनबमोजिम राजस्व दाखिल गर्ने दायित्व पूरा नगरेको अवस्थामा आन्तरिक राजस्व कार्यालय, भद्रपुर झापाले ग्यारेन्टी बसेका यी निवेदक जेठमल गोल्छाको नाममा रहेको झापा जिल्ला दमक वडा नं.५ कि.नं.३०४५ को जग्गा र निजको नामको सम्पूर्ण जग्गा रोक्का राख्ने गरी मिति २०७१।७।२० मा गरेको निर्णय र सो निर्णयको आधारमा निवेदक जेठमल गोल्छाको नाममा दर्ता रहेको सम्पूर्ण जग्गा रोक्का राखिदिनु भनी मिति २०७१।७।२० मा मालपोत कार्यालय, भद्रपुर झापालाई लेखेको पत्र तथा सो पत्रबमोजिम निवेदकको जग्गा रोक्का राख्ने मालपोत कार्यालय, झापाको निर्णयसमेत कानूनबमोजिमकै देखिन आएकोले रिट निवेदन खारेज हुने गरी पुनरावेदन अदालत इलामबाट भएको फैसला मिलेकै देखिँदा प्रत्यर्थी झिकाइ छलफल गर्नुपर्नेसमेतको अवस्था नदेखिएकोले पुनरावेदन अदालत इलामको मिति २०७२।७।१८ को फैसला सदर हुने ठहर्छ । प्रस्तुत रिट निवेदनको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.अनिलकुमार सिन्हा

 

इजलास अधिकृत:- अञ्चन भट्टराई

इति संवत् २०७९ साल मङ्सिर १ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु