शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०९९९ - लागु औषध गाँजा

भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।८।२७

०७३-CR-११४१

 

मुद्दाः लागु औषध गाँजा

 

पुनरावेदक / वादी : इलाका प्रहरी कार्यालय नवलपुरका प्र.स.नि. रामबहादुरको प्रतिवेदन जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी दाउन्ने देवी गा.वि.स. वडा नं.६ सिद्धनगर बस्ने कुर लामाको नाति, कमिरबहादुर तामाङको छोरा धनबहादुर तामाङसमेत

 

कुनै बाध्यतावश आपराधिक कार्यमा संलग्न हुनुपरेको हो भन्ने विषय कसुरको गम्भीरता निर्धारणका बखत विचारणीय हुने । कसुर नै कायम हुने वा नहुने भन्ने विषयको निर्धारण गर्दा प्रचलित कानूनले गरेको स्पष्ट प्रावधानभन्दा अन्यथा गर्न नमिल्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री भोजबहादुर ढकाल र श्री लेखनाथ स्वर्णकार

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहको फैसला गर्ने 

मा. न्यायाधीश श्री विष्णुप्रसाद कोइराला 

नवलपरासी जिल्ला अदालत 

पुनरावेदन तहको फैसला गर्ने 

माननीय न्यायाधीश श्री हेमराज पन्त 

मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी 

पुनरावेदन अदालत बुटवल

 

फैसला

न्या.तिलप्रसाद श्रेष्ठ : तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम दर्ता भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा दर्ता भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं फैसला यसप्रकार छ :-

मुद्दाको संक्षिप्त तथ्य 

मिति २०७१।११।०२ गते बिहान जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं.७ स्थित श्री नयाँ भैरवी दल गुल्म बगुवान पोष्टबाट चितवन राष्ट्रिय निकुञ्जमा पेट्रोलिङ गरी आएको नेपाली सेनाको टोलीले धनबहादुर तामाङसमेतले कालो प्लाष्टिकको दुई पोका बनाई बोकी त्रिवेणीतर्फ लैजाँदै गर्दा शङ्का लागी चेक जाँच गर्दा निजहरूको साथबाट लागु औषध (गाँजा) फेला परेको भनी नेपाली सेनाद्वारा फोनबाट जानकारी पाउनासाथ मसमेतको प्रहरी टोली उक्त स्थानमा खटी गई २८ के.जी. र ३२ के.जी.का दुई पोका गाँजा बरामद गरी धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापति मगरलाई आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्र.स.नि.रामबहादुर चौधरीको प्रतिवेदन ।

जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं.७ स्थित पूर्व विनयी खोला, पश्चिम मन्दर बाबा सामुदायिक वन, उत्तर भु.पु.गाउँ जाने बाटो र दक्षिण बगुवानदेखि त्रिवेणी जाने बाटो, यति चार किल्लाभित्र रहेको बाघखोर भन्ने स्थानमा मिति २०७१।११।०२ गते बिहान अं.०७:१५ बजे बगुवानको बाटो हुँदै त्रिवेणी जाँदै गरेको अवस्थामा कालो प्लाष्टिकको २ पोका २८ के.जी. र ३२ के.जी.गरी ६० के.जी.लागु औषध (गाँजा) प्रहरीले बरामद गरेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।

यसमा मिति २०७१।१०।२६ गते साँझ प्रतिवादी धनबहादुर तामाङ मेरो घरमा आई पारि गाउँमा भएको मेरो सामान गाँजा कुकुरमारासम्म लैजाने हो । भाडा रू.३,०००।– र पछि थप रू.५००।– पनि दिन्छु, पारि गाउँको अर्का साथी अनन्त सिँजापति पनि छ भनी भनेकोले मैले हुन्छ भनी साँझ ६:०० बजे हामी तीन जना भई धनबहादुरले भनेबमोजिम उक्त गाँजा राखेको स्थानमा पुगी अनन्त सिँजापतिसमेतले भई उक्त कालो प्लाष्टिकले बेरी निलो डोरीले बाँधेको गाँजाको गन्ध आइरहेको १/१ वटा पोका बोकी धनबहादुर तामाङले बाटो देखाउँदै अगाडि अगाडि हिँड्यो र हामी निजको पछिपछि पोका बोकी जङ्गलको बाटो आयौं । यस्तैमा मिति २०७१।११।०२ गते बिहान अं.०७:०० बजे जिल्ला नवलपरासी दुम्किबास गा.वि.स.वडा नं.७ स्थित जङ्गलमा आई पुग्दा राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको सेनाको गस्ती टोलीले हामीलाई शंका मानी रोकी पोका खोली हेरी गाँजा ल्याएको देखी सेनाले प्रहरीलाई खबर गरी प्रहरी आई हामीले बोकेको लागु औषध (गाँजा) तथा हामीलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गाबहादुर लुङ्गेलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

यसमा मिति २०७१।१०।२६ गते साँझ प्रतिवादी दुर्गाबहादुर लुङ्गेलीले बोलाई मैले एउटा काम पाएको छु । त्यो काम गर्न जाउँ भनी आग्रह गरेअनुसार के काम हो भनी सोधपुछ गर्दा पारि गाउँमा प्रतिवादी धनबहादुर तामाङ भन्ने दाइले गाँजा राखेको छ । उक्त गाँजा कुकुरमारासम्म लैजाने हो । भाडा रू.३,०००।– र पछि थप रू.५००।– दिन्छु भनेको छ जाने हो भन्दा हुन्छ गरौंला भनेँ र ऐ.२७ गते बिहान अं.३ बजे म, दुर्गाबहादुर लुङ्गेली र धनबहादुर तामाङ भई गाँजा राखेको ठाउँमा पुगी कालो प्लाष्टिकले बेरेको अवस्थामा २ पोका देखाई हामी दुवैले बोकी अगाडि धनबहादुर तामाङले बाटो देखाउँदै लैजाँदै गर्दा मिति २०७१।११।०२ गते बिहान अं.०७:०० बजे जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं. ७ स्थित जङ्गलमा आइपुग्दा राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको सेनाको गस्ती टोलीले हामीलाई शंका मानी रोकी पोका खोली हेरी गाँजा ल्याएको देखी सेनाले प्रहरीलाई खबर गरी प्रहरी आई हामीले बोकेको लागु औषध (गाँजा) तथा हामीलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी अनन्त सिँजापति मगरको अधिकारप्राप्त अधिकारीसमक्ष भएको 

बयान ।

यसमा भारत ठुठीबारी घर बताउने इन्द्रजित साह भन्ने व्यक्तिसँग करिब ३/४ महिनाअघिदेखि मेरो चिनजान भयो । निजले सिद्राको व्यापार गर्ने क्रममा नवलपरासी जिल्लाको विकट गाउँ अर्खला, भारतिपुर, सिँचाङतिर जाने आउने गर्दो रहेछ । सोही क्रममा मलखाद, बारीको कान्ला, सार्वजनिक जग्गामा आफैँ उम्रेका गाँजाको पातलाई सिद्रासँग साट्ने, पैसा दिएर खरिद गर्दो रहेछ र उक्त पातलाई सुकाएर गोठमा लुकाई छिपाई राखेको रहेछ । माघ महिनाको १९ गतेतिर निज इन्द्रजित मेरो घरमा आई मैले अर्खला गाउँमा ६० के.जी.गाँजा २ वटा पोका बनाई राखेको 

छु । त्यो गाँजा सुरक्षितसाथ कुकुरमारासम्म ल्याउन 

पर्‍यो । राम्रो पैसा आउँछ भनेकाले आर्थिक प्रलोभनमा परी ठिकै छ जाउँ भनी माघको २५ गतेतिर निज ईन्द्रजित र म भई गाडीद्वारा अर्खला गाउँमा पुग्यौं । त्यहाँदेखि तल बेँशीमा रहेको गोठमा कोदाको नलले छोपेर कालो प्लाष्टिकले बेरेर राखेको गाँजा देखाएर मलाई केही खर्चको व्यवस्था गरी दुई ओटा भरिया खोज, म यहाँ बस्न उपयुक्त हुँदैन, दुम्किवास पुगेर भेटौंला भनी ऐ.२६ गते अर्खलाबाट गाडी चढेर आए । तत्पश्चात् मैले हाल मसँग पक्राउ परेका दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापतीलाई बाटो खर्च मैले बेहोर्छु यो माल कुकुरमारा पुर्‍याउ । त्यहाँ पुर्‍याएपछि रू.३०००।– दिने छु भनी कबोल गरी ऐ.२७ गते बिहान ४:०० बजेतिर दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापतीलाई एक/एक बोरा नाम्लो लगाई बोकाई जङ्गलको बाटो रात दिन केही नभनी हिँड्यौं । त्यहाँबाट हिँडेको पाँचौं दिनमा मिति २०७१।११।०२ गते बिहान अं.७:०० बजे दुम्किबास गा.वि.स. वडा नं.७ बाघखोर स्थित जङ्गलमा पुग्दा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीले हामीलाई देखी रोकी बोरा खोली गाँजा फेला पारेपछि (नियन्त्रण)मा लिई प्रहरीलाई खबर गरेर प्रहरी आई ६० के.जी. तौल भएको दुई वटा गाँजाको पोकासहित हामी ३ जनालाई पक्राउ गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर तामाङको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।

जिल्ला नवलपरासी दाउन्नेदेवी गा.वि.स. वडा नं.६ सिद्धनगर स्थित पूर्व बाटो, पश्चिम बाटो, उत्तर बाटो र दक्षिण धनबहादुर तामाङको खेत, यति चार किल्लाभित्र रहेको उत्तर मोहडा भएको १ तले ४ कोठे धनबहादुर तामाङको पक्की घर, सो घरको सम्पूर्ण कोठा र गोठसमेतमा खानतलासी गरी हेर्दा लागु औषध (गाँजा) सँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।

जिल्ला नवलपरासी अर्खला गा.वि.स. वडा नं. ५ अर्खला गाउँस्थित पूर्व रूपबहादुर वि.क.को घर, पश्चिम मनबहादुर पुलामीको घर, उत्तर नौला सिंह परियारको घर र दक्षिण हेमन्त पुलामीको घर, यति चार किल्लाभित्र रहेको पूर्व मोहडा भएको ढुङ्गाको गारो टिनको छानो भएको दुर्गाबहादुर लुङ्गेलीको कच्ची घर, सोही घरको सम्पूर्ण कोठाहरू तथा आँटीमा हेर्दा लागु औषध (गाँजा) सँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी 

मुचुल्का ।

जिल्ला नवलपरासी अर्खला गा.वि.स. वडा नं.५ स्थित पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर प्रेमबहादुर सिजापतीको पाखो बारी, यति चार किल्लाभित्र रहेको पश्चिम मोहडा भएको, ढुङ्गाको गारो, टिनले छाएको प्रेमबहादुर सिजापतीको कच्ची घर, उक्त घरको दायाँ बायाँ २ वटा कोठा र आँटी भएको, सोही घरको सम्पूर्ण कोठाहरू तथा आँटीमा हेर्दा लागु औषध (गाँजा) सँग प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी / बरामदी मुचुल्का ।

यसमा प्रहरी प्रतिवेदन बेहोरा ठिक साँचो हो । मिति २०७१।११।०२ गते बिहान प्रतिवादी धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापतिले एउटामा २८ र अर्कामा ३२ के.जी.को गाँजाको पोका बोकी कुकुरमारातर्फ जङ्गलै जङ्गल गइरहेको अवस्थामा गस्ती खटिएको नेपाली सेनाको टोलीले देखी (नियन्त्रण)मा लिई दुम्किबास प्रहरीमा खबर गरी प्रहरीले निज ३ जनालाई पक्राउ गरी ६० के.जी. गाँजा बरामद गरेको भनी थाहा पाएको हुँ । तसर्थ निजहरूउपर कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको राजकुमार थापासमेतको वस्तुस्थिति मुचुल्का ।

निज प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापती मगरसमेतले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) बमोजिमको कसुर अपराध गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४(१) को देहाय (घ)(५) बमोजिम सजाय गरी पाउन र बरामद लागु औषध बोक्न प्रयोग गरिएका सेतो रङ्गका प्लाष्टिकका नाम्ला थान २ र नोकिया मोबाइल थान १ सोही ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्ने अभियोग पत्र ।

मिति २०७१।११।०१ गते साँझको समयमा हामी उक्त लागु औषध गाँजा बोकी विनय खोलामा आइपुगेका थियौं । साँझको समयमा बिस्कुट, चाउचाउ तथा चिउरा खाई रातभरि हिँडेका हौं । अर्को दिन बिहान हामीलाई निकुञ्जको सुरक्षामा खटिएको सेनाले पक्राउ गरेको हो । उक्त लागु औषध भन्ने मलाई थाहा थिएन । एकजना भारतको ठुठीबारीतिर बस्ने इन्द्रदेव साह भन्ने मानिसले मलाई अर्खला भन्ने ठाउँमा भेट हुँदा मेरो तेजपत्ताको सामान छ । मदार बाबाको मेलामा लैजानु छ भनेकाले म र अन्य साथीहरू मिली उक्त समान बोकी आउँदै गर्दा निकुञ्जको सुरक्षा टोलीले हामीलाई पक्राउ गरेका हुन् । इन्द्रदेव भन्ने मानिसले दुर्गाबहादुर र अनन्त सिँजापतीलाई रू.३०००।- का दरले र मलाई उनीहरूलाई भन्दा केही धेरै पैसा दिने सल्लाह भएको थियो भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।

मिति २०७१।११।०१ गते साँझको समयमा हामी उक्त लागु औषध गाँजा बोकी विनय खोलामा आइपुगेका थियौं । साँझको समयमा बिस्कुट चाउचाउ तथा चिउरा खाई रातभरि हिँडेका हौं । अर्को दिन बिहान हामीलाई निकुञ्जको सुरक्षामा खटिएको सेनाले पक्राउ गरेको हो । उक्त लागु औषध भन्ने मलाई थाहा 

थिएन । धनबहादुर दाइले तेजपत्ता बोक्न भनेकाले बोकेको हो । मदार बाबाको मेलामा लैजानु छ भनेकाले मसमेत मिली उक्त समान बोकी आउँदै गर्दा निकुञ्जको सुरक्षा टोलीले हामीलाई पक्राउ गरेका हुन् । धनबहादुर दाइले एकजना मधेसीको समान हो भनेका थिए । निकुञ्ज सुरक्षामा खटिएका सुरक्षाकर्मीले हामीलाई चेकजाँच गर्दा हामीसँग ३ थान पोका 

थियो । सुरक्षाकर्मीले चेकजाँचका क्रममा हामीसँग भएको ३ थान पोकालाई मिसाएर २ पोका बनाएका हुन् । हामी ३ जनाले १/१ थान बोकी आएका 

हौँ । सुरक्षाकर्मीले चेकजाँच गर्दा मात्र हामीलाई उक्त पोकामा गाँजा भएको हो भन्ने थाहा हुन आएको 

हो । हामीले उक्त पोकामा तेजपात भनेर बोकेका हौं । उक्त समान मदारबाबाको मेलामा लैजान भनेर बोकेका हौं भन्नेसमेत बेहाराको प्रतिवादी अनन्त सिँजापती मगरले सुरू अदालतमा गरेको बयान ।

मिति २०७१।११।०१ गते साँझको समयमा हामी उक्त लागु औषध गाँजा बोकी विनय खोलामा आइपुगेका थियौं । साँझको समयमा बिस्कुट चाउचाउ तथा चिउरा खाई रातभरि हिँडेका हौं । अर्को दिन बिहान हामीलाई निकुञ्जको सुरक्षामा खटिएको सेनाले पक्राउ गरेको हो । उक्त लागु औषध भन्ने मलाई थाहा 

थिएन । धनबहादुर दाइले तेजपत्ता बोक्न भनेकाले बोकेको हो । मदार बाबाको मेलामा लैजानु छ भनेकाले मसमेत मिली उक्त समान बोकी आउँदै गर्दा निकुञ्जको सुरक्षा टोलीले हामीलाई पक्राउ गरेका हुन् । धनबहादुर दाइले एकजना मधेसीको समान हो भनेका थिए । निकुञ्ज सुरक्षामा खटिएका सुरक्षाकर्मीले हामीलाई चेकजाँच गर्दा हामीसँग ३ थान पोका 

थियो । सुरक्षाकर्मीले चेकजाँचका क्रममा हामीसँग भएको ३ थान पोकालाई मिसाएर २ पोका बनाएका हुन् । हामी ३ जनाले १/१ थान बोकी आएको 

हौं । सुरक्षाकर्मीले चेकजाँच गर्दा मात्र हामीलाई उक्त पोकामा गाँजा भएको हो भन्ने थाहा हुन आएको 

हो । हामीले उक्त पोकामा तेजपात भनेर बोकेका हौं । उक्त समान मदारबाबाको मेलामा लैजान भनेर बोकेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गाबहादुर लुङ्गेलीले सुरू अदालतमा गरेको बयान ।

यी प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापतीलाई मुलुकी ऐन अ.बं.११८ को देहाय २ नं. बमोजिम मुद्दा पुर्पक्षका लागि अ.बं.१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय नवलपरासीमा थुनामा राख्न पठाइदिनु भन्ने मिति २०७१।१२।०८ गतेको सुरू अदालतको 

आदेश ।

निज प्रतिवादीहरूले दुई पोकामा कालो प्लाष्टिकले बेरेर लग्दै गरेको गाँजा दुम्किवास गा.वि.स. वडा नं.७ मा लग्दै गरेको अवस्थामा आर्मीहरूले समातेर इलाका प्रहरी कार्यालय नयाँ बेलाहानीमा फोन गरी बोलाएपछि हाम्रो गस्ती टोलीले समाइ बरामद गरेका हौं । उक्त बरामदी पोकामा एउटा २८ के.जी.र अर्को ३२ के.जी.भएको गाँजा निज प्रतिवादीहरूबाट बरामद गरेका हौं भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी प्रतिवेदक प्र.स.नि.रामबहादुर चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरूबाट आर्मीहरूले गाँजा बरामद गरेको भन्ने कुरा सुनेपछि म त्यस ठाउँमा पुग्दा यी प्रतिवादीहरूसमेतले केही वस्तु बोकेको देखेँ तर बाहिरबाट हेर्दा तेजपत्ता जस्तो थियो, किनकि बास्ना पनि तेजपत्ताको जस्तै थियो । पछि मैले यी प्रतिवादीहरूलाई भेट्दा यी प्रतिवादीहरूलाई एउटा भारतीय मानिसले तेजपत्ता बोक्न लगाएको हो भनेर मलाई भनेका थिए । तेजपत्ता तिमीहरूले किन बोकी जंगलको बाटो गएको हो भनी मैले यी प्रतिवादीहरूलाई सोध्दा हामीलाई मेदारथानमा जानु यो जंगलको बाटो सिधा पर्छ भनी उक्त भारतीयले मलाई 

भने । यी प्रतिवादीहरू सबै ज्याला मजदुरी गरी खाने व्यक्ति भएको हुँदा मलाई लाग्दछ कि यो प्रतिवादीहरू झुक्यानमा परेको हुनुपर्दछ । यी प्रतिवादीहरूलाई छिटोभन्दा छिटो सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको वादीका साक्षी बुझिएका मानिस लालहरि देवकोटाले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त मितिमा बिहान ८/९ बजे चिया खानेबेलामा भेट भएको थियो । मसँग यी प्रतिवादीहरू आज तेजपत्ता बोक्न जाने काम पाएको हुँ भनी भनेका थिए । हामीहरूले देशी भन्ने इन्द्रजीतसँगै साथमा 

थिए । यी प्रतिवादीहरूले सल्लाहले तेजपत्ता बोक्न जाउँ भनेर गएका थिए । उक्त वस्तु बाहिर पूरै तेजपत्ताले घेरिएको थियो र जानीजानी उक्त गाँजा भनिएको वस्तु बोकेका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी अनन्त सिँजापती मगर र दुर्गाबहादुर लुङ्गेलीको साक्षी बमबहादुर लङ्गेलीले सुरू अदालतमा गरेको बकपत्र ।

यी प्रतिवादी काम गरेर खाने मान्छे हुन् । यी प्रतिवादीको चालचलन ठिक छ । अहिलेसम्म यस्तो गलत काम गरेको मलाई केही थाहा 

छैन । जाने बेलामा भेट भएको थियो । मदरबाबाको मेलामा म तेजपत्ता बोक्न जाँदै छु है मेरो घर पनि यसो हेर्नु होला भनेर यी प्रतिवादीले भनेका 

थिए । एउटा देशी मान्छे तेजपत्ता बोक्न जान भनेर मलाई लग्दै छ भनेर मलाई यी प्रतिवादीले भनेका थिए । तेजपत्ताभित्र गाँजा राखिदिएको कुरा यी प्रतिवादीलाई पनि थाहा भएन । चौकीमा सो वस्तु लग्दा त्यहाँ तेजपत्ता पनि भेटिएको थियो भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर तामाङका साक्षी गणेश विश्वकर्माले गरेको सुरू अदालतमा गरेको बकपत्र ।

Ganja (Canabis) has been detected in the exhibit no.1 भन्ने बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंबाट प्राप्त परीक्षण प्रतिवेदन ।

प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङगेली र अनन्त सिँजापतीले मौकामा गरेको बयान, निजहरूको यस अदालतमा भएको बयान, यी प्रतिवादीहरूको घरमा खानतलासी लिँदा कसुरसँग कुनै चिजवस्तु बरामद नभएको भन्ने खानतलासी मुचुल्काबाट यी प्रतिवादीहरू ओसारपसार गर्ने व्यापारी हुन् भन्ने नदेखिएको, प्रतिवादीहरूले इन्द्रजित साहुलाई गाँजा बोकी पुर्‍याइदिने गरेको भनी प्रतिवादीले स्वीकार गरेकोमा सो तथ्यलाई मिसिल संलग्न प्रमाणबाट पुष्टि भएकोले यी प्रतिवादीहरूले ऐ.दफा १७ अनुसारको कसुर अपराध गरेकोले प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली, अनन्त सिँजापती मगरलाई ऐ.दफा १४ (१)(घ)(५) बमोजिम मुख्य व्यक्तिलाई हुने सजायको आधी लागुऔषध ((नियन्त्रण)) ऐन, २०३३ को दफा १७ बमोजिम एक वर्ष कैद र आठ हजार रूपैयाँ जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।२९ को सुरू नवलपरासी जिल्ला अदालतको फैसला ।

हामी गाँजा व्यापारी तथा गाँजा बोक्ने व्यक्ति हौं भनी मिसिलमा कहीँकतै उल्लेख भएको छैन । वादीकै साक्षीले हामीले गाँजा भनी नबोकेको र तेजपत्ता भनी भारी बोकेको भन्ने तथ्य स्पष्ट परेको छ । हामीहरू लागु औषधको कारोबार गर्ने व्यक्तिको भरियाको रूपमा रहेभएको भन्ने अदालतको तर्क न्यायसङ्गत नदेखिँदा सुरू फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर तामाङको तर्फबाट पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन ।

हामीले पहिल्यैदेखि मजदुरी गरी जीविकोपार्जन गरेको र हामीले बोकेको भारी गाँजा हो भनी थाहा पाउने आधारसमेत के हो भन्नेतर्फ सुरू अदालतको ध्यान नपुगी वास्तविक दोषी पत्ता नलगाई हामी निर्दोष व्यक्तिलाई मतियार ठहर गरी हामीलाई सजाय गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू दुर्गाबहादुर लुंगेली र अनन्त सिँजापतीको तर्फबाट पुनरावेदन अदालत बुटवलमा परेको संयुक्त पुनरावेदन पत्र ।

प्रतिवादीहरूले आर्थिक लाभ लिनको लागि धनबहादुर तामाङले बनाएका २ पोका गाँजा निजसहित दुर्गाबहादुर लुंगेली र अनन्त सिँजापतीले बोकी भारतीय व्यक्तिका लागि भनी भारततर्फ लैजाँदै गर्दा उक्त लागु औषध गाँजासहित पक्राउ परेको कुरा स्वयं प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयानमा स्वीकार गरेका र बरामद भएको भन्ने बरामदी मुचुल्काबाट पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा कम सजाय हुने  ठहर गरी मतियार कायम गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन ।

यसमा प्रतिवादीहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) को कसुरमा ऐ.ऐनको दफा १४(१) (घ) (५) बमोजिम सजायको मागदाबी लिई अभियोगपत्र दायर भएकोमा प्रतिवादीहरूलाई सोही ऐनको दफा १७ बमोजिम सजाय गर्ने गरी सुरू अदालतको फैसला गरेउपर चित्त नबुझाई वादी नेपाल सरकार र प्रतिवादीहरूका तर्फबाट समेत पुनरावेदन पर्न आएको तथा प्रतिवादीहरूले ६० किलो लागुऔषध (गाँजा) बोकी लैजाने क्रममा पक्राउ परेको तथ्य बरामदी मुचुल्का र प्रतिवादीहरूको अदालतको बयानसमेतबाट देखिन आएको स्थितिमा सुरू अदालतले प्रतिवादीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ बमोजिम सजाय गर्ने गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावलीको नियम ४७ को प्रयोजनको लागि वादी नेपाल सरकारको पुनरावेदन प्रतिवादीहरूलाई सुनाउने र प्रतिवादीहरूका तर्फबाट पर्न आएको पुनरावेदन सरकारी वकिल कार्यालय बुटवललाई जानकारी गराई नियमानुसार गरी पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत बुटवलको मिति २०७२।११।९ को आदेश ।

मिसिल संलग्न बरामदी मुचुल्का, बरामद भएको लागु औषधको प्रकृति र परिमाण, प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष र सुरू अदालतमा गरेको बयान, प्रतिवेदकले गरेको बकपत्रसमेतको आधार एवं प्रमाण तथा यी प्रतिवादीहरूको घरमा खानतलासी लिँदा कसुरसँग सम्बन्धित कुनै चिजवस्तु बरामद नभएको भन्ने खानतलासी मुचुल्काबाट यी प्रतिवादीहरू ओसारपसार गर्ने व्यापारी हुन् भन्ने नदेखिएको, प्रतिवादीहरूले इन्द्रजित साहलाई गाँजा बोकी पुर्‍याई दिने गरेको भनी प्रतिवादीहरूले स्वीकार गरेकोमा सो तथ्यलाई मिसिल प्रमाणबाट पुष्टि भएकोले यी प्रतिवादीहरूले निज इन्द्रजित साहुले माग गरेअनुसार गाँजा पुर्‍याई दिन लागेको देखिन आएकोमा यी प्रतिवादीहरू गाँजा व्यापारीलाई गाँजा पुर्‍याउने भरियाको भूमिकामा रहेका मतियार भएको भनी सुरू अदालतबाट भएको फैसला मनासिब एवं न्यायोचित देखिँदा अन्यथा भन्न मिलेन । अभियोग मागदाबीअनुरूप सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन जिकिर एवं आफूहरूले कुनै थाहा नपाई भारी बोकेको अवस्था हुँदा सफाइ पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ, सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७२।३।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत बुटवलको मिति २०७३/०२/०४ को फैसला ।

प्रतिवादीहरूको साथबाट लागु औषध बरामद भएकोले निजहरू मुख्य कसुरदार भएको र निजहरू कसुरमा प्रत्यक्ष रूपमा संलग्न रहँदारहँदै निजहरूलाई मतियार कायम गर्ने गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण रहेकाले उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष परेको निवेदन ।

यसमा प्रतिवादीहरूबाट ६० के.जी. लागु औषध गाँजा बरामद भएकोमा विवाद नभएको,  प्रतिवादीहरूको अदालतसमक्ष भएको बयानमा उक्त लागु औषध आफूहरूले बोकी हिँडेको अवस्थामा पक्राउ परेको कुरामा साबित रहेको र प्रतिवादीहरूलाई गाँजा बोकिदिनु भनी जिम्मा दिने भनिएका भारतीय मानिस इन्द्रजित साहको कुनै पहिचान र अस्तित्व देखिने ठोस प्रमाण मिसिल संलग्न नरहेको अवस्थामा प्रतिवादीहरूलाई मतियारसम्म ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५, मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८४क, १८५ र लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क), दफा १४, १७ र १८ समेतको त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ । नियमानुसार गर्नु भन्ने बेहोराको यस अदालतको मिति २०७३/११/०५ को आदेश ।

 

यस अदालतको ठहर

नियमानुसार पेसी सूचीमा चढी सुनुवाइका लागि आज यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा विवादको मुख्य विषयलाई हेर्दा प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापती मगरउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) बमोजिमको कसुरमा निज सोही ऐनको दफा १४(१) को देहाय (घ)(५) बमोजिम सजाय गरिपाउन र बरामद लागु औषध बोक्न प्रयोग गरिएका सेतो रङ्गका प्लाष्टिकका नाम्ला थान २ र नोकिया मोबाइल थान १ सोही ऐनको दफा १८ बमोजिम जफत गरी पाउन माग दाबी लिई वादी नेपाल सरकारको तर्फबाट अभियोगपत्र दायर भएको रहेछ । सुरू जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीहरूले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसारको मतियारको कसुर अपराध गरेको भनी ऐ. ऐनको दफा १४ (१)(घ)(५) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा सोही ऐनको दफा १७ बमोजिम एक वर्ष कैद र आठ हजार रूपैयाँ जरिवाना हुने तथा बरामद दशी जफत हुने ठहर्‍याई फैसला भएको रहेछ । उक्त फैसलामा चित्त नबुझाई वादी तथा प्रतिवादीहरू दुवैका तर्फबाट पुनरावेदन अदालत बुटवलसमक्ष पुनरावेदन परेकोमा उक्त अदालतबाट समेत सुरू फैसला सदर हुने गरी फैसला भएकोमा उक्त फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष प्रस्तुत निवेदन पर्न आएकोमा मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा आज यस इजलासमा प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको देखियो ।

पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन हेर्दा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसलाउपर चित्त नबुझेका बुँदाहरूलाई देहायअनुसार उल्लेख गरेको देखिन्छ :

१. निजहरूका साथबाट ठुलो परिमाणमा लागु औषध बरामद भएको देखिएको, 

२. प्रतिवादीहरूले गरेको कसुरको प्रकृतिबाट निजहरू मतियार मात्र नरही मुख्य कसुरदारकै रूपमा रहेको देखिएको,

३. तसर्थ, निजहरूलाई मतियार कायम गर्ने गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम गरिपाऊँ ।

 

प्रस्तुत मुद्दामा आज सुनुवाइको क्रममा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहालले प्रतिवादीहरू गाँजा बोकेकोमा मौकामा साबित 

छन् । निजहरूबाट ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजा बरामद भएको भन्ने बरामदी मुचुल्काबाट पुष्टि भइरहेको अवस्था छ । यस्तो अवस्थामा प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा कम सजाय हुने ठहर गरी मतियारतर्फ मात्र सजाय गरेको नमिलेको हुँदा अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी तर्कपूर्ण बहस प्रस्तुत 

गर्नुभयो । प्रत्यर्थी धनबहादुर तामाङको तर्फबाट रहनुभएका विद्वान् अधिवक्ताद्वय श्री भोजबहादुर ढकाल र श्री लेखनाथ स्वर्णकारले मेरो पक्षको घरमा कुनै लागु औषध बरामद भएको छैन, निजहरू मूल अभियुक्त होइनन् । निज सामान्य गरिखाने वर्गका मानिस हुन् । निजहरूले अन्जानवश तेजपत्ता भनी बरामद चिजवस्तु बोकेकाले निजहरूलाई मतियार कायम गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । प्रतिवादीहरू दुर्गाबहादुर लुंगेली र अनन्त सिंजापती मगरका हकमा यस अदालतबाट रीतपूर्वक म्याद तामेली भएकोमा निजहरू यस अदालतमा हाजिर हुन नआएकाले निजहरूको हकमा समेत फैसला गर्नका लागि बाधा रहेको नदेखिँदा मिसिल अध्ययन 

गरियो ।

माथि उल्लेख भएबमोजिम पुनरावेदकका तर्फबाट प्रस्तुत पुनरावेदनमा लिइएका जिकिरहरू, दुवैतर्फका विद्वान् उपन्यायाधिवक्ता र अधिवक्ताबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू तथा मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण गर्नुपर्ने देखिन आयो: 

क. प्रतिवादीहरूको संलग्नता प्रस्तुत वारदातमा मुख्य कसुरदारको रूपमा रहेको देखिन्छ वा देखिँदैन ? 

ख. प्रतिवादीहरूलाई मुख्य कसुरदार नठहराई मतियारसम्म मात्र कायम गर्ने गरी भएको सुरू फैसलालाई सदर ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिन्छ वा देखिँदैन ?

 

२. निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूका सन्दर्भमा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरूको साथबाट ६० के. जी. लागु औषध गाँजा बरामद भएको तथ्यमा विवाद रहेको देखिँदैन । प्रतिवादीहरू स्वयंले यो तथ्यलाई स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष र अदालतमा समेत बयान गरेको देखिएको छ । निजहरूले बरामद लागु औषध गाँजा बोकी हिँडेको बखत गाँजासहित पक्राउमा परेको देखिएको भन्ने आधारमा सुरू जिल्ला अदालतबाट लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ बमोजिमको सजाय हुने ठहर भएकोमा तत्कालीन पुनरावेदन अदालत बुटवलबाट पनि सुरू जिल्ला अदालतबाट भएको सो फैसलालाई सदर हुने ठहराई फैसला भएको देखिएको तथा सो फैसलाउपर प्रतिवादीहरूका तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको नदेखिँदा प्रतिवादीहरूले गाँजा बोकी हिँडेको तथ्यलाई पनि स्वीकार गरेकै मान्नुपर्ने देखिन आयो ।

३. अब यसरी प्रतिबन्धित लागु औषध गाँजा बोकी हिँडेको अवस्थालाई प्रचलित कानूनले के कसुर कायम गरेको छ भन्ने नै प्रस्तुत मुद्दामा मूल प्रश्नको रूपमा रहन आएको देखिएको छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) मा भएको कानूनी व्यवस्थालाई हेर्दा कुनै पनि व्यक्तिले गाँजाको बिक्री वितरण गर्न र ओसार पसार गर्न तथा सेवन गर्न पनि हुँदैन भनी उल्लेख भएको पाइन्छ । सुरू जिल्ला अदालत तथा पुनरावेदन अदालतबाट निज प्रतिवादीहरूका हकमा सोही ऐनको दफा १७ बमोजिमको मतियारसम्मको कसुर गरेको ठहराई फैसला भएकोमा सो दफा १७ को व्यवस्थालाई हेर्दा उक्त दफामा लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गतको अपराध गर्नमा मतियार हुने व्यक्तिलाई हुने सजाय उल्लेख भएको पाइन्छ । दफा ४(क) ले लागु औषध (गाँजा) ओसार पसारको कार्य स्वयंलाई कसुर कायम गरेको अवस्था रहेको र प्रस्तुत मुद्दाका प्रतिवादीहरूले गाँजा बोकी हिँडिरहेको बखत पक्राउ परेको अवस्थालाई ओसार पसार होइन, ओसार पसारका लागि सहयोग गर्ने मतियार मात्र हुन् भन्न सकिने अवस्था देखिएन । जहाँसम्म बरामदी लागु औषध गाँजा आफ्नो नभई भारतीय नागरिक इन्द्रजित साहको भएको तथा निजकै अह्राउमा ज्यालाको लोभमा बोकी हिँडेको भन्ने प्रतिवादीहरूको भनाइ रहेको छ, निजहरूको यो बयान बेहोराबाट निजहरूको आर्थिक अवस्थाको कारण बोक्नुपरेको बाध्यताको स्थितिलाई यो इजलासले पनि मनन गरेको छ । तर कानूनमा स्पष्ट रूपमा गरिएको कानूनी प्रावधानको विपरीत गएर इजलासले थप संवेदनशील बन्ने कुरा न्यायिक मान्यताभित्र पर्न आउँदैन । प्रतिवादीहरूले कुनै बाध्यतावश आपराधिक कार्यमा संलग्न रहनुपरेको हो भने यो अवस्था कसुरको गम्भीरता निर्धारणका बखत विचारणीय हुने विषय हो तर कसुर नै कायम हुने वा नहुने भन्ने विषयको निर्धारण गर्दा प्रचलित कानूनले गरेको स्पष्ट प्रावधानबाट विचलित हुन मिल्दैन । अदालतले कतिपय अवस्थामा अभियुक्तको मानवीय पक्षलाई पनि विचार गर्नुपर्ने कुरालाई अन्यथा मान्न सकिँदैन तर यसो गर्दा पनि अदालतले प्रचलित कानूनकै अधीनमा रहेर गर्नुपर्ने हुन्छ । अदालत पनि कानूनभन्दा माथि रहँदैन भन्ने तथ्यलाई बिर्सन हुँदैन ।

४. यसर्थ माथि विवेचित आधार, कारण एवं प्रमाणहरूबाट प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापती मगरले लागु औषध गाँजा ओसार पसारको कसुर गरेको देखिएकोमा निजहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) बमोजिमको कसुर गरेको नठहराई सोही ऐनको दफा १७ बमोजिम मतियारसम्म मात्र ठहर्‍याई सुरू जिल्ला अदालतबाट भएको फैसला र सो फैसलालाई सदर हुने ठहर्‍याएको तत्कालीन पुनरावेदन अदालत बुटवलबाट मिति २०७३/०२/०४ मा भएको फैसला केही नमिलेकोले केही उल्टी हुने ठहर्छ । निज प्रतिवादीहरूले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) बमोजिम लागु औषध गाँजा ओसार पसारको कसुर गरेको ठहर्छ । सोबमोजिमको कसुर गरेको ठहरेकोमा सजायको हकमा  लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१)(घ)(५) बमोजिम २ वर्ष देखि १० वर्षसम्म कैद र १५ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुन सक्नेमा निजहरूले आपराधिक कार्यमा संलग्न रहनुपरेको परिस्थितिलाई विचार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१)(घ)(५) बमोजिम न्यूनतम मात्रामा जनही २(दुई) वर्ष कैद र रू.१५ हजार जरिवाना हुने 

ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०७३/०२/०४ मा भएको फैसला केही उल्टी भई प्रतिवादीहरू धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली, अनन्त सिँजापती मगरलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१)(घ)(५) बमोजिम जनही २(दुई) वर्ष कैद र रू.१५०००/-(पन्ध्र हजार रूपैयाँ) जरिवाना हुने ठहरेकोले निज प्रतिवादीहरू मिति २०७१।११।२ गते पक्राउ परी मुद्दाको अनुसन्धानको क्रममा हिरासतमा रही सुरू नवलपरासी जिल्ला अदालतको मिति २०७१।१२।८ को आदेशानुसार मुद्दा पुर्पक्षमा रही उक्त अदालतको मिति २०७२/०३/२९ को फैसलाले कैद भुक्तानका लागि थुनामा रहेकोमा निजहरूले सुरू जिल्ला अदालतबाट तोकिएको १ वर्ष कैद र आठ हजार रूपैयाँ जरिवाना भुक्तानी भइसकेको देखिँदा प्रस्तुत फैसलाले ठहरेबमोजिम निज प्रतिवादीहरूबाट असुल गर्नुपर्ने बाँकी जनही कैद १ (एक) वर्ष र जनही रू. ७०००/- (सात हजार रूपैयाँ) जरिवानाको लगत राखी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू...........................१

सरोकारवालाले फैसलाको नक्कल माग्न आएमा नियमानुसार गरी नक्कल दिनू..........................२

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू.........३

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः श्यामहरि अधिकारी 

इति संवत् २०७९ साल मङ्सिर २७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु