निर्णय नं. ११००२ - बैंकिङ कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७९।१।२५
०७६-RB-०४३६
मुद्दा : बैंकिङ कसुर
पुनरावेदक / प्रतिवादी : जिल्ला जाजरकोट, साबिक साल्मा गा.वि.स. वडा नं. ९ परिवर्तित जिल्ला जाजरकोट, छेडागार्ड न.पा. वडा नं. २ बस्ने अर्जुनबहादुर बुढा
विरूद्ध
प्रत्यर्थी / वादी : मचिन्द्रकुमार लिम्बूको जाहेरीले नेपाल सरकार
अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिलाई अदालतमा झिकाई बकपत्र नगरेमा त्यस्ता कागजलाई प्रमाण लिन मिल्दैन भन्ने जिकिर गरे तापनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको भनी अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत साबित रही बयान गरिसकेपछि अनुसन्धानमा बुझिएका मानिसलाई अदालतमा झिकाइ बुझिरहनुपर्ने अनिवार्यता नरहने ।
(प्रकरण नं.३)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना
माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला
उच्च अदालत पाटन
फैसला
न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-
तथ्यगत बेहोरा
प्रतिवादी अर्जुनबहादुर बुढाले जाहेरवाला मचिन्द्रकुमार लिम्बूसँग लिएको सापटी तिर्न भनी निज प्रतिवादीले आफ्नो खातामा रहेको ग्लोबल आई.एम.ई.बैंक लिमिटेड शाखा कार्यालय गोंगबुको खाता नं.३५०७०१००१४७७३ को मिति २०७५/९/१० गतेको चेक नं.००२७४०५६२८ मा नगद रू.२,००,०००/- दुई लाखको सक्कल चेक मचिन्द्रकुमार लिम्बूको नाममा जारी गरी चेक निज जाहेरवाला मचिन्द्रकुमार लिम्बूलाई दिएकोमा सो चेक सटही गर्न पटकपटक बैंकमा जाँदा उक्त चेकको खातामा प्रयाप्त रकम मौज्दात नभएकोले चेक फिर्ता गरिदिएको हुँदा निज अर्जुनबहादुर बुढालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मचिन्द्रकुमार लिम्बूको जाहेरी दरखास्त ।
ग्लोबल आई.एम.इ. बैंक लिमिटेड शाखा कार्यालय गोंगबुको खाता नं.३५०७०१००१४७७३ को मिति २०७५/९/१० गतेको चेक नं.००२७४०५६२८ मा नगद रू.२,००,०००/- (दुई लाख) को सक्कल चेक मचिन्द्रकुमार लिम्बूको नाममा काटिएको सक्कल चेक र सोमा भएका अक्षरहरू तथा सहीछापसमेत मेरै हो, मैले नै मचिन्द्रकुमार लिम्बूको नाममा चेक जारी गरी निजलाई दिएको थिएँ । तर मेरो विभिन्न घरायसी समस्याले गर्दा सो खातामा रकम जम्मा गर्न नसकेको हो । जाहेरवाला पटकपटक चेक लिई बैंकमा जाँदा सो चेकलाई खाम्ने पर्याप्त रकम जम्मा नभई चेक बाउन्स भई फिर्ता भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनबहादुर बुढाले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइदिएको बयान कागज ।
उक्त चेक पेस हुँदा प्रतिवादीको खातामा चेक रकमलाई खाम्ने रकम मौज्दात नरहेको भन्ने बेहोरासहितको मिति २०७५/१०/२४ को पत्र र स्टेटमेन्टसमेतका कागजहरू ।
प्रतिवादी अर्जुनबहादुर बुढाले जाहेरवाला मचिन्द्रकुमार लिम्बूलाई खातामा रकम नभई चेक काटिदिएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका धनबहादुर लिम्बूको घटना विवरण कागज ।
प्रतिवादी अर्जुनबहादुर बुढाले आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएको जानी जानी जाहेरवालाले ग्लोबल आइ.एम.ई. बैंक लि.बाट भुक्तानी पाउने गरी रू.२,००,०००/- को थान-१ चेक काटी बैङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुर गरेको देखिएकोले उक्त कसुरमा बिगो रू.२,००,०००/- कायम गरी निज प्रतिवादी अर्जुनबहादुर बुढालाई सोही ऐनको दफा १५(१) बमोजिम सजाय गरी बिगो रू.२,००,०००/- प्रतिवादीबाट जाहेरवालालाई दिलाई भराइपाउँ तथा रामकुमार लिम्बूको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी यिनै अर्जुनबहादुर बुढा भएको बैंकिङ कसुर मुद्दालाई मूल अभियोग मानी प्रस्तुत मुद्दाको अभियोगपत्र पेस गरिएको भन्नेसमेत बेहोराको अभियोगपत्र ।
ग्लोबल आई.एम.ई. बैंक लि. गोंगबु शाखा कार्यालयको खाता नं.३५०७०१००१४७७३ को चेक नं.००२७४०५६२८ को चेक देखाउँदा
देखेँ । निज जाहेरवालासँगबाट आफूले व्यापार व्यवसाय गर्नको लागि भनी विश्वास दिलाई निजबाट नगद रू.२,००,०००/- सापटी लिएको सो रकम भुक्तानी गर्न भनी मैले जाहेरवालालाई चेक दिएको
हो । उक्त खाता मेरो पुरानो खाता हो, खाता कहिलेदेखि सञ्चालन गरे मलाई याद छैन । खातामा के कति रकम छ मलाई याद छैन । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा पढीबाची सुनाउँदा सुनी पाएँ । उक्त बयान बेहोरा ठिक साँचो हो, बयानमा भएको सहीछाप मेरै हो । घटना विवरण कागज गर्ने धनबहादुर लिम्बूले गरेको घटना विवरण देखाई पढी बाची सुनाउँदा सुनी
पाएँ । मैले निजलाई चिन्दिन, मैले सम्पूर्ण साँचो कुरा माथि नै खुलाइसकेको छु । जाहेरवालाले केही फरक पर्दैन सबै पैसा फिर्ता पाएपछि चेक फिर्ता गरिदिउँला भनेकाले विश्वासमा परी चेक दिएको हो । मैले अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनबहादुर बुढाले उच्च अदालत पाटनमा गरेको बयान ।
प्रतिवादीले आफ्नो वैंक खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुर गरेको देखिँदा ऐ. ऐनको दफा १५(१) बमोजिम जाहेरवालाको बिगो प्रतिवादीबाट भराई प्रतिवादी अर्जुनबहादुर बुढालाई २,००,०००/- (दुई लाख रूपैयाँ) जरिवाना र एक महिना कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको फैसला ।
उच्च अदालत पाटनले मलाई हराई फैसला गर्दा अधिकारप्राप्त अधिकारी तथा अदालतमा मैले गरेको बयानलाई सूक्ष्म दृष्टिकोणबाट व्याख्या र विश्लेषण गरी न्यायिक मनसहित फैसला गर्नुपर्नेमा सोबमोजिम फैसला नभएको अवस्था छ । जाहेरवाला मचिन्द्रकुमार लिम्बूले मबाट पाउने रकम मेरो आफन्तमार्फत लिइसकेको अवस्थामा पनि बिगोबमोजिम जरिवाना हुने ठहर्याई फैसला भएको छ । प्रमाण ऐन, २०३१ को दफा १८ मा अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिलाई अदालतमा झिकाई बकपत्र गर्नुपर्छ, नगरेमा त्यस्ता कागजलाई प्रमाण लिन मिल्दैन भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त व्यक्तिलाई समेत नबुझी गरेको उच्च अदालत पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा १८ तथा ५४ नं. को प्रतिकूल हुँदा उच्च अदालत पाटनबाट मिति २०७५/११/१९ मा भएको फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी अर्जुनबहादुर बुढाले यस अदालतबाट मिति २०७७/१२/२२ मा तोकी पाएको पेसी तारेखसमेत गुजारी बसेको पाइयो । पुनरावेदक प्रतिवादीको नाम पटकपटक पुकारा गर्दा समेत निज वा निजको तर्फबाट कोही पनि उपस्थित हुन आएको पाइएन ।
यसमा प्रतिवादी अर्जुनबहादुर बुढाउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुरमा सोही ऐनको दफा १५(१) बमोजिम सजाय गरी बिगो रकम चेक धारकलाई दिलाइपाउँ भनी अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा रू.२,००,०००।- जाहेरवालाको बिगो प्रतिवादीबाट भराई प्रतिवादीलाई बिगोबमोजिम जरिवाना तथा एक महिना कैदसमेत हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५/११/१९ मा भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादी अर्जुनबहादुर बुढाको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दामा उच्च अदालत पाटनको मिति २०७५/११/१९ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा, प्रतिवादी अर्जुनबहादुर बुढाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी दिएको चेक सटही गर्न जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक फिर्ता भएको हुँदा प्रतिवादीलाई कारबाही गरिपाउँ भन्ने मचिन्द्रकुमार लिम्बूको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । यी प्रतिवादीउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुरमा सोही ऐनको दफा १५(१) बमोजिम सजाय गरी बिगो रकम चेक धारकलाई दिलाई भराइपाउँ भन्ने अभियोग दायर भएको देखियो । प्रतिवादी अर्जुनबहादुर बुढाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफ्नो नाउँमा रहेको ग्लोबल आइ.एम.ई. बैंक लिमिटेड शाखा कार्यालय गोंगबुको खाता नं.३५०७०१००१४७७३ मा पर्याप्त रकम नभएको तथ्य स्वीकार गरी बयान गरेको पाइन्छ । मिसिल संलग्न कागजात हेर्दा प्रतिवादी अर्जुनबहादुर बुढाले जाहेरवालालाई दिएको चेक ग्लोबल आइ.एम.ई. बैंक लिमिटेड शाखा कार्यालय गोंगबुमा पेस हुँदा प्रतिवादीको खातामा चेक रकमलाई खाम्ने रकम मौज्दात नरहेको भन्ने बेहोराको ग्लोबल आइ.एम.ई. बैंक लिमिटेडको मिति २०७५/१०/२४ को पत्रमा समेत उल्लेख भएको पाइन्छ।
३. बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा “आफ्नो खातामा रकम नभएको जानी जानी चेक काटी दिन” नहुने भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले जाहेरवालाका नाउँमा चेक काटेकोमा विवाद देखिँदैन । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) ले प्रस्ट रूपमा आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटी दिएमा सो कार्यलाई बैंकिङ कसुरअन्तर्गत राखेको पाइन्छ । ऐ. ऐनको दफा १५(१) मा “कसैले दफा ३ बमोजिमको कुनै कसुर गरेमा बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने छ” भन्ने कानूनी व्यवस्थासमेत रहेको देखिन्छ । प्रस्तुत विवादको सन्दर्भमा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा बयान गर्दा समेत आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने कुराको जानकारी हुँदाहुँदै पनि जाहेरवालालाई चेक काटी दिएको भन्ने कुरामा साबित रहेको पाइन्छ । प्रतिवादीले आफ्नो बैंक खातामा चेकले खाम्ने मौज्दात रकम नभएको भन्ने जानी जानी चेक जारी गरेको भन्ने धनबहादुर लिम्बूले गरिदिएको घटना विवरण कागजले समेत समर्थित गरेको देखिन्छ । ग्लोबल आइ.एम.ई. बैंक लिमिटेडबाट समेत प्रतिवादी अर्जुनबहादुर बुढाको खातामा पर्याप्त रकम नरहेको भन्ने उल्लेख भई पत्र प्राप्त हुन आएको देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिलाई अदालतमा झिकाई वकपत्र नगरेमा त्यस्ता कागजलाई प्रमाण लिन मिल्दैन भन्ने पुनरावेदन जिकिर गरे तापनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको भनी अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत साबित रही बयान गरिसकेपछि अनुसन्धानमा बुझिएका मानिसलाई अदालतमा झिकाइ बुझिरहनुपर्ने अनिवार्यता पनि रहँदैन ।
४. आफूबाट पाउने रकम आफ्ना आफन्तमार्फत जाहेरवालाले पाइसकेको भन्ने प्रतिवादीले पुनरावेदन जिकिर गरे पनि सो कुरा पुष्टि हुने कुनै भर्पाई कागज वा निस्सा केही पनि पुनरावेदनपत्रसाथ पेस गर्न सकेको देखिँदैन । जाहेरवालाको पैसा आफन्तमार्फत दिएको भनी मौखिक रूपमा भन्दैमा उक्त कुराहरूबिना प्रमाण कागज पुष्टि हुने होइन । पुनरावेदक प्रतिवादीले लिएको जिकिर पुष्टि गर्ने प्रमाणको भार निजमै रहने र निजले प्रमाणद्वारा उक्त जिकिर पुष्टि गर्न नसकेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको उच्च अदालत पाटनको फैसला अन्यथा भन्न मिल्ने नदेखिँदा उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
५. तसर्थ, माथि विवेचित मुद्दाको तथ्य, आधार, कारण र कानूनी व्यवस्थासमेतबाट प्रतिवादी अर्जुनबहादुर बुढाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिमको कसुर गरेको ठहर्याई निजलाई सोही ऐनको दफा १५(१) वमोजिम जाहेरवालाको बिगो प्रतिवादीवाट भराई प्रतिवादी अर्जुनबहादुर बुढालाई रू.२,००,०००।- जरिवाना र एक महिना कैदसमेत हुने ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७५/११/१९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी अर्जुनबहादुर बुढाको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि ठहर खण्डमा लेखिएबमोजिम जाहेरवालाको बिगो प्रतिवादीबाट भराई प्रतिवादी अर्जुनबहादुर बुढालाई ०७६-RB-०४३३, ०७६-RB-०४३४, ०७६-RB-०४३५, ०७६-RB-०४३६, ०७६-RB-०४३७, ०७६-RB-०४३८ समेत ६ थान बैंकिङ कसुर मुद्दामा कुल रू.११,२०,०००।- जरिवाना र ६ महिना कैदसमेत हुने ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७५।११।१९ मा भएको फैसला सदर हुने ठहरेकाले प्रतिवादी अर्जुन बुढालाई भएको कैद र जरिवाना असुल गर्ने सम्बन्धमा यसै लगाउको ०७६-RB-०४३३ को बैंकिङ कसुर मुद्दाको तपसिल खण्डमा उल्लेख भएकोले सोहीबमोजिम असुलउपर गर्नु गराउनु भनी उच्च अदालत पाटन र सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउनू ।
२. नक्कल माग्ने सरोकारवालालाई नियमानुसार नक्कल दिनू ।
३. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी, फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुंगाना
इजलास अधिकृत : डल्लुराम चौधरी
इति संवत् २०७९ साल वैशाख २५ गते रोज १ शुभम् ।