शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०१९ - जबरजस्ती करणी

भाग: ६५ साल: २०८० महिना: बैशाख अंक:

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री कुमार रेग्मी 

फैसला मिति : २०७९।२।१९

०७६-CR-१९३०

 

मुद्दाः- जबरजस्ती करणी

 

निवेदक / प्रतिवादी : कमलबहादुर कार्कीको छोरा साबिक खोटाङ जिल्ला हौचर गाउँ विकास समिति वडा नं.८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका घनश्याम कार्की

विरूद्ध

विपक्षी / वादी : परिवर्तित नाम महाराजगन्ज १२ को जाहेरीले नेपाल सरकार

 

पीडिताको शारीरिक परीक्षणमा कुनै घाउचोट नदेखिएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकोमा जबरजस्ती करणीसम्बन्धी आधुनिक विधिशास्त्रले चोटपटक तथा सङ्घर्षका चिह्नहरूलाई मात्र कसुर स्थापित गर्ने सम्बन्धमा अत्यावश्यक ठान्ने गरेको नपाइने । यसका अलावा डर धाक धम्कीको प्रयोग गरी गरिएको जबरजस्ती करणीमा पीडितले अवरोध गर्न सक्ने अवस्था नरहने हुँदा चोटपटक तथा अवरोधका चिह्न नपाइनु स्वाभाविक हुने ।

(प्रकरण नं.६)

 

निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजुप्रसाद धिमाल 

विपक्षी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली 

अवलम्बित नजिर :

ने.का.प.२०७५, अङ्क १२, नि.नं.१०१४८

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

मा. जिल्ला न्या. श्री सूर्यप्रसाद पराजुली

काठमाडौं जिल्ला अदालत

पुनरावेदन फैसला गर्ने :

मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने

माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य

उच्च अदालत पाटन

 

फैसला

न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन,२०७३ को दफा १२ बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, पुनरावेदन जिकिर र यस अदालतको ठहर निम्न प्रकरणमा उल्लेख गरिएको छ:-

तथ्य खण्ड

महाराजगन्ज १२ को जाहेरी दरखास्तः मिति २०७३।०१।२० गतेदेखि मिति २०७३।०६।०८ गते बेलुका अ.१७.०० बजेको समयमा जिल्ला २६ स्थित जाहेरवालाको आफ्नै कोठामा नविन भन्ने घनश्याम कार्कीले मेरो नाबालिका छोरी वर्ष ११ की महाराजगन्ज १३ लाई विभिन्न प्रलोभन देखाई डर त्रास धाकधम्की दिई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महाराजगन्ज १२ को मिति २०७३।०६।११ को जाहेरी दरखास्त ।

प्रहरी प्रतिवेदनः प्रतिवादी नविन भन्ने घनश्याम कार्कीको खोजतलास गर्दै जाने क्रममा मिति २०७३।६।११ गते डेरा कोठामा सुतिरहेको अवस्थामा फेला पारी पक्राउ गरी दाखिला गरेका छौं निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७३।०६।११ को प्रहरी प्रतिवेदन ।

पीडित महाराजगन्ज १३ को कागजः प्रतिवादी नविन भन्ने घनश्याम कार्कीलाई मेरो दाजु भाइ नभएका कारण बुबाले निजलाई दाजु बनाएको 

हो । त्यसपछि निज हाम्रो घरमा आउने जाने गर्दथे । मिति २०७३।०१।२० गतेका दिन मेरो स्कुल बिदा भएकाले घरमा म र बहिनीहरू मात्रै  भएको अवस्था पारी अन्दाजी दिउँसोको २ बजेतिर बहिनीहरूलाई पानी लिन धारामा पठाई निजहरू धारामा खेली बसिरहेको अवस्था पारी निज प्रतिवादीले मलाई माया गरे जस्तो गरी मेरो कपडा खोली खाटमा सुताई मेरो इच्छाविपरीत जबरजस्ती करणी गरी सो कुरा कसैलाई नभन्नु चकलेट ल्याइदिन्छु भनी त्यहाँबाट गए । त्यसपछि पनि निज घरमा कोही नभएको मौका छोपी निजले मलाई पटकपटक करणी गर्दै आएका हुन् । सो कुरा कसैलाई भनेमा बेस्सरी कुट्छु भनी धम्की दिएकाले मैले सो कुरा कसैलाई भनिनँ । स्कुलमा रेखा मिसले मेरो व्यवहारमा परिवर्तन आएको देखी के भएको भनी पटकपटक सोध्दा मैले उक्त घटनाका बारेमा निजलाई जानकारी गराएकी हुँ भन्नेसमेत बेहोराको पीडित महाराजगन्ज १३ को मिति २०७३।०६।११ को कागज । 

बुझिएका रेखा खड्का, राजेश थापा, तारा सुवेदीको कागजः हामीहरू श्रीराम निम्न माध्यमिक विद्यालयमा पढाउने गरेका छौं । पीडित महाराजगन्ज १३ लाई २ वर्ष अगाडिदेखि स्कुलमा पढ्न आउने क्रममा चिनेका हौं । निज २ कक्षामा अध्ययन गरिरहेकी छन् । मिति २०७३ साल वैशाख अन्तिमतिरदेखि नै लुगा फोहोर लगाउने, शरीर गन्हाउने गरेको थियो । तिम्रो बुबा के काम गर्छ भनी सोध्दा निजको बुबाले बङ्गुर फर्ममा काम गर्ने भनी बताएकी थिइन् । यसै क्रममा मिति २०७३।६।१० गते निज कक्षा कोठामा बस्दा अप्ठेरो गरी बसेको कारण रेखा खडकाले निजलाई के भएको नानी भनी सोध्दा बताउन नमानेपछि सोही स्कुलको अफिस कोठामा लगी निजलाई सोधपुछ गर्दा नविन भन्ने घनश्याम कार्कीले मिति २०७३।०१।२० गतेदेखि मलाई पटकपटक डर त्रास धाक धम्की दिई जबरजस्ती करणी गरेको भनी बताएकी हुन् । निज प्रतिवादीले जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ निज प्रतिवादीले गरेको कसुरअनुसार कारबाही हुनुपर्दछ भन्नेसमेत एकै मिलान बेहोराको रेखा खडका, राजेश थापा र तारा सुवेदीको मिति २०७३।०६।१६ को कागज ।

घटनास्थल मुचुल्काः जिल्ला २६ स्थितमा जाहेरवाला महाराजगन्ज १२ को पूर्व मोहडा भएको टिनले छाएको अस्थायी एकतले टिनको कच्ची टहरो, उक्त टहरोमा प्रवेश गरी हेर्दा पूर्वपट्टिको भित्तामा भाँडाहरू रहेको, पश्चिमतर्फको भित्तामा दराज रहेको, उत्तरतर्फको भित्तामा बिस्तरासहितको खाट रहेको सो खाटमा महाराजगन्ज १३ लाई नविन भन्ने घनश्याम कार्कीले जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको मिति २०७३।०६।१६ को घटनास्थल मुचुल्का ।

परीक्षण प्रतिवेदनः पीडित महाराजगन्ज १३ को स्वास्थ्य परीक्षण गर्दा निजको शारीरिक तथा मानसिक अवस्था सामान्य देखिन्छ । घाउ चोट पटक निलडामहरू देखिँदैन, निजको कन्याजाली पुरानो च्यातिएको देखिन्छ भन्नेसमेत बेहोराको मिति २०७३।०६।१२ को पत्रसाथ प्राप्त कागजहरूको परीक्षण प्रतिवेदन ।

प्रतिवादी नविन भन्ने घनश्याम कार्कीको पोलिग्राफ परीक्षण प्रतिवेदनः प्रतिवादी नविन भन्ने घनश्याम कार्कीको पोलीग्राफ परीक्षण गर्दा These Result support the conclusion that DECEPTION INDICATED by the physiological responses to the test stimulus questions during this examination भन्नेसमेत बेहोराको मिति २०७३।०६।१८ को पोलिग्राफको परीक्षण प्रतिवेदन । 

प्रतिवादी नविन भन्ने घनश्याम कार्कीको बयानः मेरो जाहेरवाला महाराजगन्ज १२ सँग सामान्य चिनजान भई हाम्रो सम्बन्ध केही नजिक भएको 

थियो । निज जाहेरवालाको छोरीहरू मात्रै भएकाले निजले मलाई धर्मपुत्रको रूपमा अपनाएका थिए । वि.सं.२०७२ सालको महाभूकम्पपश्चात् हाम्रो भेटघाट भएको थिएन । २०७३ साल साउन महिनाको १०-१२ तिर निज जाहेरवालासँग का.जि. हात्तिगौंडामा भेट भई निजको र मेरो डेराको कोठा नजिकै भएकाले हाम्रो भेटघाट बाक्लिन थाल्यो । त्यसपछि म निजको डेरा कोठामा ५/६ पटक गएको छु । निजको कोठामा साना बहिनीहरू भएकाले निजहरूलाई चक्लेट बिस्कुट लिई जाने गर्दथेँ । निज महाराजगन्ज १३ लाई आफ्नी बहिनी सम्झी काखमा खेलाउनेसमेत गर्दथे । जाहेरीमा भनिए जस्तो पीडित महाराजगन्ज १३ लाई कहिल्यै जबरजस्ती करणी गरेको थिइनँ भन्नेसमेत बेहोराको प्रतिवादीले अनुसन्धानका क्रममा गरेको मिति २०७३।०६।१८ को बयान । 

महाराजगन्ज १६ को कागजः निज प्रतिवादीसँग वि.स.२०७२ सालको माघ महिनादेखि नै सँगै काम गर्ने भएको कारण चिनजान भएको हो । २०७२ सालमा मेरो जेठी छोरीको विवाह गर्ने क्रममा दाजु र भाइ चाहिएको र मेरो छोरा नभएको कारण निज प्रतिवादीलाई दाजु बनाई दाजु भाइले गर्ने सम्पूर्ण विधि निजले गरेको कारण निज प्रतिवादी उल्लिखित मितिदेखि नै हाम्रो डेरा कोठामा आउ जाउ गर्ने गर्थे । निज डेरामा आउ जाउ गर्दा मेरो छोरीहरूलाई चक्लेट किनिदिने गर्थे । निज सधैँ आउ जाउ गरिरहँदा मेरो साना छोरीहरू निजसँग एक्दमै झ्यामिने र खेल्ने 

गर्थे । आउ जाउको क्रममा २०७३ साल वैशाखदेखि निज प्रतिवादी प्रायःजसो हामी काममा गएको बेला नानीहरू मात्र कोठामा भएको मौकामा आउने र निजहरूलाई खेलाउँदै बस्ने गरेका थिए । निज प्रतिवादीलाई मैले धर्म छोरा बनाएको कारण निजको व्यवहारप्रति मैले कहिले पनि कुनै शङ्का तथा उपशङ्का गरिन । यही क्रममा मिति २०७३।०६।०८ गते बेलुका म तथा जाहेरवाला कामबाट आउँदा मेरो छोरीहरू तथा निज प्रतिवादी कोठामा बसिरहेका थिए । प्रतिवादीले मादक पदार्थ सेवन गरेका रहेछन् र सो दिन रात निज प्रतिवादी हाम्रो डेरा कोठामा नै बसे । भोलिपल्ट मिति २०७३।०६।०९ गते बिहान अ.११.३० बजेको समय तिर मेरो छोरी पीडित महाराजगन्ज १३ स्कुलबाट दौडदै कोठामा आइन् । निजले मलाई मिसले नुहाई लुगा फेरी आऊ भनेका छन् भनेपश्चात् निज महारजगन्ज १३ नुहाएर कपडा फेरी पुनः स्कुलतर्फ गइन् । तत्पश्चात् केही समयपछि निज छोरी महाराजगन्ज १३ तथा निजलाई पढाउने स्कुलका मिसहरू मेरो डेरा कोठामा आई निज प्रतिवादी नविन भन्ने घनश्याम कार्कीले मेरो छोरी महाराजगन्ज १३ प्रति गरेको व्यवहारबारे मलाई जानकारी गराएका हुन् । निज प्रतिवादीले मेरो नाबालिका छोरीलाई म नभएको मौका छोपी ललाइ फकाइ तथा डर त्रास देखाई पटकपटक जबरजस्ती करणी गरेकोमा निज प्रतिवादीउपर कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको पीडितको आमा महारजगन्ज १६ ले लेखाई दिएको मिति २०७३।०६।१८ को घटना विवरण कागज ।

अभियोग पत्रः प्रतिवादीले मुलुकी ऐन जबरजस्ती करणी महलको १ र ३(२) नं. बमोजिमको कसुर गरेको हुँदा सोही महलको ३(२) नं. बमोजिमको सजाय गरी प्रतिवादीलाई पीडितबाट उचित क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको मिति २०७३।०७।०५ को अभियोग माग दाबी ।

प्रतिवादी नविन भन्ने घनश्याम कार्कीले अदालतमा गरेको बयानः मैले पीडित र निजको परिवारलाई चिनेको ३ वर्ष जति भयो । पीडितको आमाबुबाले मलाई छोराको रूपमा अपनाएका 

थिए । २०७२ सालको भूकम्पपश्चात् मेरो र पीडितको परिवारसँग राम्रो भेटघाट भएको थिएन । २०७३ साउनमा बाटोमा एक्कासि भेट भएपछि फोन नम्बर आदान प्रदान भएर पुन भेटघाट सुरू भएको हो । जाहेरवाला र मेरो बस्ने स्थान नजिकै भएको हुनाले समय समयमा म निजहरूको डेरामा आउने जाने 

गर्दथेँ । निजको परिवारले मलाई भेटघाटको लागि फोन गरी बोलाउनुहुन्थ्यो । भेटघाटमा जाँदा बच्चाहरूको लागि चकलेट र बिस्कुट लगिदिन्थे र म उहाँहरूको डेरा कोठमा खाजा खाई फर्कन्थेँ । अन्तिम पटक  मिति २०७३।०६।१० गते म जाहेरवालाको डेरामा गएको थिएँ । सोही दिन पीडितको बहिनीको जन्मदर्ताको विषयमा सोधपुछ गर्न म निजहरू पढ्ने स्कुल गएको थिएँ । म मादक पदार्थ सेवन गरी स्कुल गएको हुँदा उक्त स्कुलमा पढाउने रेखा खड्कासँग मेरो सामान्य भनाभन भएको थियो । उक्त दिन निजहरूको डेरामै बसी भोलिपल्ट ११ गते बिहान निस्किएर गएको हुँ । मैले ...... हरूलाई जबरजस्ती करणी गरेको छैन । मउपर किन यस्तो अभियोग पर्‍यो थाहा 

छैन । मैले अभियोग दाबीअनुसारको कुनै कसुर नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी घनश्याम कार्कीले अदालतमा गरेको मिति २०७३।०७।०७ को बयान ।

थुनछेक आदेशः पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी नविन भन्ने घनश्याम कार्कीलाई मुलुकी ऐन अदालती बन्दोबस्तको ११८(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत बेहोराको मिति २०७३।०७।०७ को थुनछेक आदेश ।

जाहेरवाला महाराजगन्ज १२ ले गरेको बकपत्रः प्रतिवादीलाई मैले आफ्नो छोरा जस्तै बनाएको थिएँ । प्रतिवादीले पीडितका बहिनीहरूलाई बाहिर खाजा लिन पठाउने, पानी लिन पठाई निजलाई पटकपटक जबरजस्ती करणी गरेको कुरा पीडितले आफ्नी शिक्षिकालाई बताएपछि मैले निजका शिक्षिकामार्फत सो कुरा थाहा पाएको हुँ भन्नेसमेत बेहोराको जाहेरवालाले गरेको मिति २०७३।०७।१८ को बकपत्र ।

प्रतिवादीका साक्षी शिव राउतको बकपत्रः प्रतिवादीलाई मिति २०६५ सालदेखि चिन्दछु । निज त्यस्तो लाइनमा लाग्ने मानिस होइन । निजले सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको शिव राउतले यस अदालतमा गरेको मिति २०७३।०७।१८ को बकपत्र ।

पीडित महाराजगन्ज १३ को बकपत्रः प्रतिवादी घनश्यामले पटकपटक मेरो सुसु गर्नेमा आफ्नो सुसु गर्ने छिराएर नराम्रो काम गरी कसैलाई भन्यो भने मारिदिन्छु भन्ने धम्की दिएका थिए । पटकपटक शनिवार गरेको थियो । नराम्रो काम गर्दा सुरूमा मुख थुनिदिन्थे । सो कुरा मैले स्कुलको रेखा मिसलाई भनेकी थिएँ भन्नेसमेत बेहोराको पीडित महाराजगन्ज १३ ले मिति २०७३।०७।१९ मा गरेको बकपत्र ।

बुझिएकी रेखा खड्काले गरेको बकपत्रः पीडित प्राय: फोहोरी भएर विद्यालय ढिलो आउने, पढाइमा पनि नराम्रो हुँदै गएको साथै एक्लै बस्ने गरेको देखी निजलाई सोधपुछ गर्दा घनश्याम कार्कीले आमाबुबा नभएको बेलामा आएर चकलेट दिई आफ्नो सुसु मेरो सुसुमा छिराउँथ्यो, प्रत्येक शनिबार उसले त्यस्तो गर्दथ्यो भनी बच्चाले भनेको थियो भन्नेसमेत बेहोराको रेखा खड्काले यस अदालतमा गरेको मिति २०७३।०७।१९ को बकपत्र ।

बुझिएका राजेश थापाले गरेको बकपत्रः प्रतिवादी मिति २०७३।६।९ मा स्कुलमा मादक पदार्थ सेवन गरी आएकाले शिक्षकहरूको भनाभन भएको थियो । त्यसको भोलिपल्ट ढिला स्कुल 

आइन् । के भाको रहेछ भनी रेखा मिसले बुझ्दा प्रतिवादीले निजलाई जबरजस्ती करणी गरेको कुरा खुल्न आयो । त्यसपछि हामीले निजका अभिभावकलाई जानकारी गराएका हौँ भन्नेसमेत बेहोराको राजेश थापाले गरेको मिति २०७३।०७।१९ को बकपत्र ।

परीक्षण प्रतिवेदनः "Semen could not be confirmed on exhibit no. 1, 2, 3, 4 and 6” र “Semen could not be detected on exhibit no 5” भन्नेसमेत बेहोराको मिति २०७३।०८।२७ को परीक्षण प्रतिवेदन ।

विशेषज्ञ डा. अल्का श्रेष्ठको बकपत्रः मैले पीडितलाई परीक्षण गर्दाका अवस्थामा निजको अवस्था सामान्य थियो । पीडितको शरीरमा चोटपटक केही थिएन । कन्याजाली पुरानो च्यातिएको थियो भन्नेसमेत बेहोराको डा.अल्का श्रेष्ठको मिति २०७३।११।१५ को बकपत्र ।

सुरू अदालतको फैसला : जाहेरवाला, पीडित र वादी पक्षका अन्य साक्षीहरूले अदालतमा बकपत्र गर्दा प्रतिवादीलाई दोषी देखाएको, उक्त बकपत्र प्रमाणमा लिन मिल्ने अवस्था भएकोले नविन भन्ने घनश्याम कार्कीले ११ वर्षकी पीडित महाराजगन्ज १३ माथि जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर गरेको ठहर्‍याई, निजलाई सोही ऐनको महलको ३ नं. को देहाय २ नं. बमोजिम आठ वर्ष कैद सजाय ठहर्‍याई, साथै पीडितले प्रतिवादीबाट ऐ. महलको दफा १० बमोजिम रू.५०,०००।- (पचास हजार) क्षतिपूर्ति भराइ लिन पाउने ठहर्छ भन्नसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७३।११।२३ को फैसला । 

प्रतिवादीको पुनरावेदन पत्रः म पुनरावेदकको अदालत र मौकाको इन्कारी बयानसमेतलाई मेरो साक्षी शिव राउतले पुष्टि गर्दागर्दै पनि म पुनरावेदकलाई कसुर ठहर गर्ने गरी भए गरेको फैसला बदरभागी छ । यदि जबरजस्ती करणी भएको हुन्थ्यो भने जबरजस्ती करणीका चिह्नहरू अवश्य नै भेटिने 

थिए । पीडितको शरीरमा जबरजस्ती करणी भएको कुनै पनि प्रकारको संकेतहरू भेटिएका छैनन् । मेडिकल रिपोर्टसमेतबाट जबरजस्ती करणी पुष्टि हुने कुनै पनि सबुद प्रमाण प्रस्टसँग आएको अवस्था छैन । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन भन्ने कुरा पोलिग्राफ प्रतिवेदनले समेत पुष्टि गरिरहेको अवस्थामा सुरू काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरी मलाई अभियोग माग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन पत्र ।

उच्च अदालत पाटनको फैसलाः जाहेरवालाको किटानी जाहेरी, यी प्रतिवादी पीडित तथा अनुसन्धानमा कागज गर्ने रेखा खड्का, राजेश थापासमेतका वादीतर्फका साक्षीहरूको बकपत्र, पीडितको कन्याजाली पुरानो च्यातिएको भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदनसमेतका विवेचित तथ्यहरूको आधारबाट प्रतिवादी नविन भन्ने घनश्याम कार्कीउपरको अभियोग दाबी पुष्टि भइरहेकोले काठमाडौं जिल्ला अदालतको मिति २०७३।११।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।५।२ को फैसला । 

प्रतिवादीको दोहोर्‍याई पाउँ निवेदनः मैले अभियोग माग दाबीबमोजिम कुनै कसुर अपराध गरेको छैन, अभियोग दाबीबमोजिमको घटनामा मेरो कुनै संलग्नता छैन । बनावटी जाहेरी दर्खास्तको आधारमा मलाई कसुदारको रूपमा मुद्दा चलाई फसाइएको अवस्था छ । मैले कसुर गरेको कुरा मिसिल संलग्न कुनै पनि प्रमाणबाट पुष्टि भएको छैन । मैले अनुसन्धान र अदालतमा समेत इन्कारी बयान गरेको छु । पीडितको योनि तथा लगाएको पेन्टीमा वीर्य नदेखिएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा लेखिएको, निजको शारीरिक तथा मानसिक अवस्था सामान्य रहेको भन्ने पीडिताको शारीरिक परीक्षण प्रतिवेदन तथा कन्याजाली पुरानो च्यातिएको, अन्य चोटपटक केही नभएको भन्ने बेहोरा शारीरिक परीक्षण गर्ने चिकित्सकको बकपत्रसमेतका प्रमाणबाट मेरो निर्दोषिता पुष्टि भइरहेकोमा मलाई कसुरदार कायम गरी कैद सजायसमेत गर्ने ठहर गरेको सुरूको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नविन भन्ने घनश्याम कार्कीको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने  निवेदन पत्र ।

दोहोर्‍याई हेर्ने अनुमति आदेशः यसमा प्रतिवादी घनश्याम कार्कीले अनुसन्धान अधिकारी र अदालतसमक्ष जबरजस्ती करणी गरेको छैन भनी आरोपित कसुरमा इन्कारी बयान गरेको 

देखिन्छ । Medical report मा semen could not be detected भनी उल्लेख भएको देखिन आयो । विशेषज्ञको बकपत्रमा पीडितको शरीरमा चोटपटक केही थिएन । कन्याजाली पुरानो च्यातिएको थियो भनी उल्लेख भएको देखिएबाट पीडितको भनाइबाहेक जबरजस्ती करणी भएको भन्ने अन्य प्रमाण केही नदेखिँदा मुलुकी ऐन जबरजस्ती करणीको १ नं. कसुरमा सोही महलको ३(२) बमोजिम ८ वर्ष कैद सजाय र ऐ. को १० बमोजिम रू.५०,०००।- क्षतिपूर्ति भराउने गरी उच्च अदालत, पाटनबाट मिति २०७४।०४। २ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्याख्यात्मक त्रुटि देखिँदा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ भनी यस अदालतबाट मिति २०७७।०३।१६ मा भएको आदेश । 

ठहर खण्ड 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री राजुप्रसाद धिमालले प्रतिवादीको मौका र अदालतमा समेत कसुरमा इन्कारी बयान रहेको, निज विवाहित र आफ्नो श्रीमती सँगै रहने गरेको, पीडितले वारदात समयमा लगाएको भनिएको अन्तरवस्त्र अर्थात् पेन्टीसमेतको जाँच हुँदा Semen could not be detected भन्नेसमेत बेहोराको फरेन्सिक ल्यावको प्रतिवेदनका साथै कन्याजाली पुरानो च्यातिएको, पीडितको अवस्था सामान्य रहेको, कुनै चोटपटक नदेखिएको भनी पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सकले गरिदिएको बकपत्रसमेतका स्वतन्त्र प्रमाणबाट प्रतिवादी निर्दोष रहेको पुष्टि भएको हुँदा कसुर ठहर गरेको सुरू फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला बदर गरी प्रतिवादीले सफाइ पाउनुपर्छ भनी र नेपाल सरकारतर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले यी प्रतिवादीलाई पीडितको बाबुआमाले धर्मछोरा मानेको हुँदा कसैले कुनै शङ्का नगर्ने कारणले सोको फाइदा उठाइ प्राय: बिदाको दिनमा पीडितको बाबु आमा नभएको मौका पारी आउने गरेको तथ्य जाहेरी तथा प्रतिवादीको अदालतको बयानबाट समेत पुष्टि भएको अवस्था छ । पीडितलाइ भेट्न आउँदा चकलेट लिई आउने र ललाइफकाइ करणी गरी कसैलाई नभन्नु भनी डरधाक दिने गरेको भन्ने जाहेरी बेहोरालाई पीडितले अदालतसमेतमा गरेको सिलसिलेवार बकपत्र, जाहेरवाला तथा घटनास्थलमा कागज गर्ने व्यक्तिहरूले गरिदिएको बकपत्रलगायतका प्रमाणहरूबाट पुष्टि भइरहेको अवस्था छ । कन्याजाली पुरानै च्यातिएको भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदनले वारदात मितिपूर्व पनि पटकपटक प्रतिवादीले जबरजस्ती करणी गर्ने गरेको जाहेरी बेहोराबाट पुष्टि भएकै अवस्था हुँदा सुरू फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

यसमा, प्रतिवादीले मुलुकी ऐन जबरजस्ती करणी महलको १ र ३(२) नं. बमोजिमको कसुर गरेको हुँदा सोही महलको ३(२) नं. बमोजिमको सजाय गरी प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको मिति २०७३।०७।०५ को अभियोग माग दाबी भएकोमा प्रतिवादीले जबरजस्ती करणी महलको १, २ र ३ (२) नं. विपरीतको कार्य गरी कसुर अपराध गरेको देखिँदा जबरजस्ती करणी महलको ३(२) नं. बमोजिम प्रतिवादी नविन भन्ने घनश्याम कार्कीलाई ८ (आठ) वर्ष कैदको सजाय हुने र पीडितले प्रतिवादीबाट रू.५०,०००।- (पचास हजार) रूपैयाँ क्षतिपूर्तिबापत भराई पाउने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उच्च अदालत पाटनबाट सदर भएउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न पाउने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ पेस हुन आएको देखियो । 

उपर्युक्तानुसारको तथ्य र बहससमेत रहेको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितका सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरी सुरू जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भनी निर्णय गर्नुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा, म निर्दोष छु, मैले अभियोग माग दाबीबमोजिम कुनै कसुर अपराध गरेको छैन, अभियोग दाबीबमोजिमको घटनामा मेरो कुनै संलग्नता छैन । बनावटी जाहेरी दरखास्तको आधारमा मलाई कसुदारको रूपमा मुद्दा चलाई फसाइएको अवस्था छ । मैले कसुर गरेको कुरा मिसिल संलग्न कुनै पनि प्रमाणबाट पुष्टि भएको छैन । मैले अनुसन्धान र अदालतमा समेत इन्कारी बयान गरेको छु । पीडितको योनि तथा लगाएको पेन्टीमा वीर्य नदेखिएको भन्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा लेखिएको, निजको शारीरिक तथा मानसिक अवस्था सामान्य रहेको भन्ने पीडिताको शारीरिक परीक्षण प्रतिवेदन तथा कन्याजाली पुरानो च्यातिएको, अन्य चोटपटक केही नभएको भन्ने बेहोरा शारीरिक परीक्षण गर्ने चिकित्सकको बकपत्रसमेतका प्रमाणबाट मेरो निर्दोषिता पुष्टि भइरहेकोमा  मलाई कसुरदार कायम गरी कैद सजायसमेत गर्ने ठहर गरेको सुरूको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेको छैन उल्टी गरी कसुरबाट सफाइ होस् भनी प्रतिवादी घनश्याम कार्कीले आफ्नो पुनरावेदन पत्रमा मुख्य जिकिर लिएको देखियो । 

३. मेरी छोरीलाई प्रतिवादीले ललाइ फकाइ डर, धाकसमेत देखाई जबरजस्ती करणी गरेकोले कारबाही गरिपाउँ भनी परिवर्तित नाम महाराजगन्ज १२ को जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको पाइन्छ । मौका र अदालतमा भएको पीडितको कागजबाट वारदात भएको दिन र सो समयभन्दा अघि पनि प्रतिवादीले पीडितलाई निजकै घरमा पीडितका बहिनीहरूलाई पानी, खाजा लिन भनी पठाई पीडितलाई फकाई फुल्याई गरी धाक धम्कीसमेत देखाई जबरजस्ती करणी गरेको भनी प्रतिवादीउपरको किटानी जाहेरीलाई समर्थन गरेको अवस्था 

देखिन्छ । पीडितले अदालतमा समेत सो जाहेरी बेहोरालाई समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ ।

४. अनुसन्धानका क्रममा कागज गर्ने पीडित पढ्ने गरेकी विद्यालयकी शिक्षिकाले पीडितलाई कक्षा कोठामा असामान्य अवस्थामा देखी निजले पीडितलाई सोही स्कुलको अफिस कोठामा लगी सोधपुछ गर्दा नविन भन्ने घनश्याम कार्कीले मिति २०७३।०१।२० गतेदेखि मलाई पटकपटक डर त्रास धाक धम्की दिई जबरजस्ती करणी गरेको भनी बताएकी हुन् । निज प्रतिवादीले जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ निज प्रतिवादीले गरेको कसुरअनुसार कारबाही हुनुपर्दछ भनी निज शिक्षिका रेखा खड्का एवं बुझिएका मानिस राजेश थापासमेतले अदालतमा बकपत्र गरिदिएको देखिन्छ । मैले पीडित र निजको परिवारलाई चिनेको ३ वर्षजति भयो । पीडितको आमाबुबाले मलाई छोराको रूपमा अपनाएका थिए । २०७२ सालको भूकम्पपश्चात् मेरो र पीडितको परिवारसँग राम्रो भेटघाट भएको 

थिएन । २०७३ साउनमा बाटोमा एक्कासि भेट भएपछि फोन नम्बर आदान प्रदान भएर पुन: भेटघाट सुरू भएको हो । जाहेरवाला र मेरो बस्ने स्थान नजिकै भएको हुनाले समय समयमा म निजहरूको डेरामा आउने जाने 

गर्दथेँ । निजको परिवारले मलाई भेटघाटको लागि फोन गरी बोलाउनु हुन्थ्यो । भेटघाटमा जाँदा बच्चाहरूको लागि चकलेट र बिस्कुट लगिदिन्थेँ र म उहाँहरूको डेरा कोठामा खाजा खाई फर्कन्थे । अन्तिम पटक  मिति २०७३।०६।१० गते म जाहेरवालाको डेरामा गएको थिएँ । सोही दिन पीडितको बहिनीको जन्मदर्ताको विषयमा सोधपुछ गर्न म निजहरू पढ्ने स्कुल गएको थिएँ । म मादक पदार्थ सेवन गरी स्कुल गएको हुँदा उक्त स्कुलमा पढाउने रेखा खड्कासँग मेरो सामान्य भनाभन भएको थियो । उक्त दिन निजको डेरामै बसी भोलिपल्ट ११ गते बिहान निस्किएर गएको हुँ । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन । मउपर किन यस्तो अभियोग पर्‍यो थाहा छैन भनी जाहेरवाला तथा पीडितको डेराकोठामा प्रतिवादी बेलाबेलामा आइरहने आउँदा चकलेट बिस्कुट ल्याइदिने गरेको तथ्य प्रतिवादीले स्वीकार गरेको पाइन्छ । पीडितको योनिको कन्याजाली पुरानो च्यातिएको भन्ने निजको शारीरिक परीक्षण प्रतिवेदन बेहोरा भएको तथा योनिमा वीर्य फेला नपरेको भन्ने आधारमा कसुर पुष्टि नभएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तथा प्रतिवादीतर्फबाट उपस्थित विद्वान् अधिवक्ताको बहस जिकिरका सम्बन्धमा विचार गर्दा निज पीडिताउपर पहिलेदेखि नै पटकपटक ललाइ फकाइ जबरजस्ती करणी गरी कसैलाई नभन्नु भनी डर धाक धम्कीसमेत दिने गरेको भन्ने पीडिताको बकपत्रसमेतका प्रमाणहरूबाट देखिएको छ भने यी प्रतिवादी पीडिताको धर्मदाइ भएको बहानामा पीडिताको घरमा आवतजावत गर्न प्रतिवादीलाई सहज भएको, घरमा उमेर पुगेको मानिस नहुँदा पनि पटकपटक आउने गरेकोमा कसैले शङ्का गर्ने अवस्था पनि नरहेको, पीडिता सानो उमेरको आफ्नो नियन्त्रणभित्रको पनि भएकी कारण निजउपर यी प्रतिवादीले पहिलेदेखि नै यौनजन्य कार्य गरेको हुनसक्ने परिस्थितिजन्य अवस्था पनि रहेको मिसिलबाट देखिन आएको छ ।

५. पछिल्लो यौनजन्य वारदात मिति २०७३।०६।०८ मा भएको भए तापनि पहिलो पटक मिति २०७३।०१।२० का दिन म र बहिनीहरू मात्र भएको मौका पारी बहिनीहरूलाई धारामा पठाई मलाई माया गरे जस्तो गरी मेरो कपडा खोली खाटमा सुताइ मेरो इच्छाविपरीत करणी गरेका र कसैलाई नभन्नु भनी धम्काइ चकलेटसमेत दिई गएका र त्यसपछि शनिवार कोही नभएको समय पारी घरमा आई पटकपटक इच्छाविपरीत करणी गर्ने गरेका भनी गरेको अनुसन्धान अधिकारीसमक्ष गरिदिएको बयान पुष्टि हुने गरी अदालतसमक्ष गरिदिएको बकपत्रसमेतबाट Hymen Old tear at 3 o’clock and 7 o’clock भनिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले मिति २०७३।०६।११ मा पछिल्लो वारदातपछिको शारीरिक अवस्थाको परीक्षणपछि दिइएको प्रतिवेदनलाई कसुर खण्डन गर्नेभन्दा कसुर स्थापित गर्ने प्रमाणको रूपमा लिन सकिन्छ । जहाँसम्म पीडितको योनिमा वीर्य नपाइएको भन्ने पुनरावेदन जिकिर छ मिति २०७३।०६।०८ मा वारदात भएकोमा सोको ४ दिनपछि मिति २०७३।०६।११ मा मात्र निजको परीक्षण भएको एवं पीडितले वारदातपश्चात् शारीरिक परीक्षण नहुँदै कपडा फेरिसकेको र नुहाइसकेको भन्ने तथ्य देखिएकोले योनिमा वीर्य फेला नपरेको कारणबाट मात्र उक्त वारदात घटेको थिएन भनी अर्थ गर्न मिल्ने देखिएन । योनिमा वीर्य फेला नपरेको सम्बन्धमा पनि Semen could not be conformed र Semen could not be detected भन्ने भनाइमा पहिलो भनाइले वीर्य हो कि होइन भन्न सकिएन भनिएबाट निश्चिततापूर्वक होइन भन्न सक्ने अवस्था रहेको पाइँदैन । त्यसैगरी पीडिताको यौनाङ्ग परीक्षण गर्दा दुखाइपूर्ण रहेको भनिएबाट केही समयअगाडिका गतिविधिबाट दुखाई ताजा रहेको सङ्केत गरेको मान्नुपर्ने हुन्छ ।

६. मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने व्यवस्था रहेको र पीडितको उमेर ११ वर्ष मात्र भएबाट निजले समयमा उजुरी नगरेको वा निजले असहमति नजनाएको भन्ने जिकिर प्रतिवादीले लिन कानूनतः मिल्ने देखिँदैन । साथै पीडितालाई करणी गर्ने गरेको सन्दर्भमा बेलाबेलामा पीडितलाई फकाउने तथा डर, त्रास देखाउनेसम्मको कार्य प्रतिवादीले गरेको भन्ने तथ्यसमेत सरकारी पक्षका साक्षी राजेश थापा र रेखा खड्काको भनाइबाट पुष्टि भएको अवस्था छ । जहाँसम्म पीडिताको शारीरिक परीक्षणमा कुनै घाउचोट नदेखिएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेको छ जबरजस्ती करणीसम्बन्धी आधुनिक विधिशास्त्रले चोटपटक तथा सङ्घर्षका चिह्नहरूलाई मात्र कसुर स्थापित गर्ने सम्बन्धमा अत्यावश्यक ठान्ने गरेको पाइँदैन । यसका अलावा डर धाक धम्कीको प्रयोग गरी गरिएको जबरजस्ती करणीमा पीडितले अवरोध गर्न सक्ने अवस्था पनि नरहने हुँदा चोटपटक तथा अवरोधका चिह्न नपाइनु स्वाभाविक हुन्छ । यस सम्बन्धमा पुनरावेदक प्रतिवादी सन्दीप नेपाली विरूद्ध वादी नेपाल सरकार भएको ने.का.प.२०७५, अङ्क १२, नि.नं.१०१४८ को जबरजस्ती करणी मुद्दामा डर, धाक, धम्कीको प्रयोग गरी भएको जबरजस्ती करणीको वारदातमा पीडितले आफ्नो इच्छाविपरीत आफूलाई समर्पित गरेको हुनाले यस्तो अवस्थामा पीडित र पीडकबिच सङ्घर्ष नै नहुने हुँदा निजहरूको शरीरमा सङ्घर्षको चिह्न नदेखिनु स्वाभाविक नै हुन्छ । तर यसरी डर, धाक, धम्कीको प्रयोग गरी गराएको सम्पर्कलाई सहमतिमा शारीरिक सम्पर्क गरेको मान्न नमिल्ने । प्रतिवादीले डर, धाक, त्रास देखाई करणी गरेकोले सोलाई सहमतिमा भएको भनी निजलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । अर्कोतर्फ पीडिता ११ वर्षकी अवोध बालिका भएकीले पीडिताको मन्जुरी वा स्वीकृति लिई करणी गरेको अवस्थामा पनि जबरजस्ती करणी नै Statutory Rape ठहर्ने हुँदा चोटपटक वा सङ्घर्षका चिह्नहरू नभएको भन्ने आधारमा पुनरावेदन जिकिर पुष्टि हुने देखिँदैन । पीडिताले पढ्ने गरेको विद्यालयमा निजको जन्मदर्ता सम्बन्धमा बुझ्न जाँदा शिक्षिका रेखा खड्कासँग सामान्य भनाभन भएको हुँदा सोही रिसइवी साँध्नका लागि प्रस्तुत जाहेरी दिएको भन्ने पुरावेदन जिकिर भए पनि जबरजस्ती करणी जस्तो गम्भीर कसुरमा निज प्रतिवादीलाई फसाउनु पर्नेसम्मको विश्वसनीय र भरपर्दो आधार र कारण यी प्रतिवादीले खुलाउन सकेको पाइँदैन । पीडिता तथा निजको परिवारसँग पनि यी प्रतिवादीको कुनै रिसइवी भएको भन्ने बेहोरासमेत प्रतिवादीले आफ्नो बयान तथा पुनरावेदन जिकिरमा खुलाउन नसकेको र परिवारले धर्मछोराको रूपमा माया ममता दिएको व्यक्तिलाइ उक्त कसुर अपराध यी प्रतिवादीबाट नभएको नगरिएको भए यी अवोध बालिका तथा निजको परिवारसमेतले अनाहकमा यी प्रतिवादीलाई त्यस प्रकारको लाञ्छना लगाउनुपर्ने विश्वसनीय आधार कारणसमेत 

देखिँदैन । पीडिताले मौकाको कागज र अदालतको बकपत्रमा समेत प्रतिवादीमाथि किटानी आरोप लगाई प्रतिवादीको सुसु गर्ने आफ्नो सुसु गर्नेमा छिराएको, शनिबार आएर त्यस्तो कार्य गर्ने गर्थे भनी भन्नुपर्नेसम्मको रिसइवी, झैझगडाको कुनै कारण प्रतिवादीले आफ्नो बयानमा उल्लेख गर्न सकेकोसमेत पाइँदैन । अतः यी विवेचित तथ्यहरूका आधारबाट प्रतिवादी नविन भन्ने घनश्याम कार्कीले ११ वर्षकी पीडिताउपर जबरजस्ती करणीको कसुर गरेको भन्ने देखिन आयो ।

७. तसर्थ माथि विवेचना गरिएको आधार र कारणसमेतबाट यी पुनरावेदक प्रतिवादीले पीडित वर्ष ११ की परिवर्तित नाम महाराजगन्ज १३ लाई जबरजस्ती करणी गरेको अभियोगमा जबरजस्ती करणीको महलको १ नं. को कसुरमा ऐ. ३(२) नं. बमोजिम  ८ (आठ) वर्ष कैद गरी सोही महलको १० नं. बमोजिम निज प्रतिवादीबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) पीडिता बालिकालाई भराइदिने गरी सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गरेको उच्च अदालत पाटनको मिति २०७४।०५।०२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

 

इजलास अधिकृतः- भेषराज पौडेल

इति संवत् २०७९ साल जेठ १९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु