शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०२० - केही सार्वजनिक अपराध

भाग: ६५ साल: २०८० महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७९।५।२१

०६८-CR-१२८९

 

मुद्दाः- केही सार्वजनिक अपराध

 

पुनरावेदक / वादी : विपिनकुमार झाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : प्रतिवादी मगनु झा मरी हकवालाका नाताबाट पुनरावेदन गर्नेहरू जिल्ला धनुषा देवपुरा रूपैठा गा.वि.स. वडा नं. २ बस्ने ओमकुमार झासमेत

 

बिगो दाबी गर्नेले लिएको दाबीको मात्र आधारमा बिगो भराउने हो भने दाबीकर्ताले वास्तविक क्षतिभन्दा बढी दाबी लिने अवस्थाको सिर्जना हुने । न्याय प्रदान गर्ने निकायलाई पीडितको क्षति भएको सम्पत्तिको बिगो भराउने अन्तिम निर्णय गर्ने मुख्य आधार प्रमाणित गर्न सो पुष्टि हुने कागजातसमेत सम्बन्धित निकायबाट बजार मूल्य खुलाई प्रमाणित गराई दाबी लिँदाका समयमा पेस गर्नुपर्ने दायित्व अभियोग लगाउने पक्षको रहने । हचुवाको भरमा कायम गरेको बिगोलाई न्यायको रोहमा भराउन नमिल्ने । 

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री राजु उप्रेती र श्री थिरबहादुर कार्की 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७

 

सुरू तहमा निर्णय गर्नेः

प्र.जि.अ. श्री रामशरण चिमोरिया

जिल्ला प्रशासन कार्यालय धनुषा

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय  न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात

माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर

पुनरावेदन अदालत जनकपुर

 

फैसला

न्या.डा.मनोजकुमार शर्मा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम पुनरावेदन दर्ता भई न्याय प्रशासन ऐन, २०७३ बमोजिम इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः-

तथ्य खण्ड

मिति ०६४।१।२७ गते अं.१२:०० बजेको समयमा प्रतिवादी मगनु झा र नचिनेका ३ जनासमेत भई मेरो घरमा प्रवेश गरी घर परिवारलाई जथाभावी गाली वचन प्रयोग गरी घरभित्रको धनमाल तोडफोड गरी मेरो कठालो समाती तानी सार्वजनिक सडकमा लछार पछार गरी गाली बेइज्जती गरी घरको छानोलगायत विभिन्न सरसमानहरू तोडफोड गरी रू.१,५०,०००।- बराबरको धनमाल क्षति पुर्‍याएको हुँदा निज प्रतिवादीहरूलाई खोज तलास पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको विपिनकुमार झाको जाहेरी दरखास्त । 

जिल्ला धनुषा गा.वि.स. देवपुरा रूपैठा गा.वि.स. वार्ड नं.२ स्थित विपीनकुमार झाको घरभरि सामान छरिएको, दक्षिणछेउको कोठामा बाकसहरू यत्रतत्र छरिएको, पुजाको सामानहरू यत्रतत्र छरिएको भाडा वर्तन लत्ता कपडाहरूसमेत यत्रतत्र छरिएको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६४।१।२७ गते दिनको अ.१२ बजेको समयमा मैले जाहेरवाला विपिनकुमार झाको घरमा प्रवेश गरी निजको घरमा प्रवेश गरी निजको घर परिवारका मानिसहरूलाई गाली अपशब्द गरी डर त्रास देखाई घरभित्रको धनमालहरू तोडफोड गरी घरको छानामाथि चढी छानाको टायल तोडफोड गरी रहेको अवस्थामा जाहेरवाला आउँदा निज जाहेरवाला विपिनकुमार झाले मलाई रोक्न खोज्दा निज जाहेरवाला विपिनकुमार झालाई कठालो समाती घरबाट लछार पछार गर्दै सार्वजनिक सडकमा लगी गाली अपशब्द प्रयोग गरेको हो भन्नेसमेत बेहोराको पक्राउ प्रतिवादी मगनु झाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

मिति २०६४।१।२७ गतेका दिन अ.१२:०० बजेको समयमा प्रतिवादी मगनु झा र निजको साथमा ३ जना नचिनेका मानिसहरूसमेत भई जाहेरवालाको घरमा बल जबरजस्ती प्रवेश गरी घरभित्रको धनमाल र घरको छानाको टायलको खपरा तोडी जाहेरी दरखास्तमा उल्लिखित बिगोअनुसारको क्षति पुर्‍याई जाहेरवालालाई कठालो समाती तान्दै घरबाट सडकमा लगी लछार पछार गरी गाली अपशब्द प्रयोग गरेको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज ।

मिति ०६४।१।२७ गते दिनको १२:०० बजेको समयमा प्रतिवादी मगनु झा जाहेरवालाको घरमा गई जथाभावी बोली वचन प्रयोग गरी घरभित्रका धनमाल तोडफोड गरी रू.१,५०,०००।- को धनमाल क्षति पुर्‍याई केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७ को दफा २ को (ख) (ड.) (ज) र (झ) अनुसारको अपराध गरेकोले सोही ऐनको दफा ६(१) अनुसार सजाय गरी जाहेरवाला विपिनकुमार झाको नोक्सान भएको सम्पत्तिको बिगो रू.१,५०,०००।- क्षतिपूर्ति भराइपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।

मिति २०६४।१।२७ गतेका दिन म अ.१२:०० बजेको समयमा मैले जाहेरवाला विपिनकुमार झाको घरमा बलजफ्ती प्रवेश गरी डर त्रास देखाई धनमालहरू तोडफोड गरी घरको छानामाथि चढी छानाको टायल तोडफोड गरिरहेको अवस्थामा जाहेरवाला आउँदा निज जाहेरवालाले मलाई रोक्न खोज्दा मैले जाहेरवाला विपिनकुमार झालाई कठालो समाती घरबाट लछार पछार गर्दै सार्वजनिक सडकमा लगी अपशब्द प्रयोग गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी मगनु झाले जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।

प्रतिवादी मगनु झा मिति २०६४।५।१४ गतेका दिन मृत्यु भइसकेकोले मृत्यु दर्ताको छायाँ कपी पेस गरेको छु भनी प्रतिवादी मगनु झाको आमा बिनादेवीले निवेदनसाथ ०६४।५।३१ को मृत्यु दर्ता प्रमाणपत्रसमेत राखी द.नं.१९१७ मिति २०६४।६।६ गते निवेदन पेस गरेको ।

मिति २०६४।१।२७ गते दिनमा अन्दाजी १२:०० बजेको समयमा मैले जाहेरवाला विपिनकुमार झाको घरमा प्रवेश गरी निजको घर परिवारको मानिसलाई गाली अपशब्द गरी डरत्रास देखाई घरभित्र धनमालहरू तोडफोड गरी घरको छानामाथि चढी छानाको टायल तोडफोड गरिरहेको अवस्थामा जाहेरवाला आउँदा निज जाहेरवालाले मलाई रोक्न खोज्दा मैले जाहेरवालालाई कठालो समाती घरबाट लछार पछार गरी सार्वजनिक स्थानमा अपशब्द प्रयोग गरेको हो । मैले जाहेरवालाको घरमा रहेको भाँडा वर्तन रेडियो तथा घरको छानाको टायल र फुसको घर तोडफोड गरेको हो भन्ने जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।

प्रतिवादी मगनु झा मिति ०६४।५।१४ गतेका दिन मृत्यु भइसकेकोले मृत्यु दर्ताको छायाँकपी पेस गरेको छु भनी प्रतिवादी मगनु झाको आमा बिना देवीले द.नं. १९१७ मिति २०६४।६।६ को निवेदन साथ द.नं.९ मिति ०६४।५।३१ को मृत्यु दर्ता प्रमाणपत्रसमेत राखी पेस गरेको जाहेरवालालाई अपशब्द प्रयोग गर्दै गाली गरी डर त्रास देखाई घरभित्र प्रवेश गरी धनमाल तोडफोड गरी घरको छानामाथि चढी टायल फुटाइरहेको अवस्थामा घरमा जाहेरवाला विपिनकुमार झा आउँदा निजलाई समेत कठालोमा समाई लछार पछार गर्दै सार्वजनिक सडकमा लगी अपशब्द प्रयोग गरेको हो भनी साबित भई बयान गरेको, घटनास्थल प्रकृति मुचुल्का तथा घटना विवरण कागजात, अभियोग दाबीबमोजिम प्रतिवादी मगनु झाले केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७ को दफा २ को (ख), (ङ), (ज), (झ) अनुसार अपराधमा ऐ. ऐनको दफा ६ (१) अनुसार निज प्रतिवादीलाई रू.१०,०००।- (दश हजार) जरिवाना हुने साथै प्रतिवादीको मृत्यु मिति २०६४।५।१४ मा भएको मृत्यु दर्ता प्रमाणपत्रबाट देखिँदा सो सम्बन्धमा केही गर्नुपरेन । जाहेरवालाको बिगोतर्फ विचार गर्दा मुलुकी ऐन, दण्ड सजायको ३ नं. अनुसार मृतकका अपुताली खाने हकदारबाट रू.६७,०००।- (सतसठ्ठी हजार) भराइदिने ठहर्छ भन्ने बेहोराको सुरू जिल्ला प्रशासन कार्यालय धनुषाको मिति २०६४।१०।०७ गतेको फैसला ।  

प्रस्तुत केही सार्वजनिक अपराध मुद्दामा हामी विपक्षी नभए पनि हामीहरूका पिता, पति तथा छोरा विपक्षी मगनु झा भएकोमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट फैसला हुँदा हामीलाई अहित हुने र असर पर्ने गरी बिगोतर्फ मुलुकी ऐन, दण्ड सजायको ३ नं. अनुसार अपुताली खानेबाट रू.६७,०००।- भराइदिने ठहर्छ भनी फैसला भएकोमा प्रतिवादीको मृत्युसँगै अपराधको पनि अन्त्य हुने कानूनी सिद्धान्त रहेको सन्दर्भमा विपक्षी मगनु झा फैसला हुनुभन्दा अगाडि नै कालगतिले मिति २०६४।५।१४ गते मृत्यु भएको र फैसला हुँदा रू.१०,०००।- जरिवाना र रू.६७,०००।- बिगो निजका अपुताली खाने हकदारबाट जाहेरवालाले भराइपाउने गरी भएको फैसलाले मुलुकी ऐन, अ.बं. को १७६ नं. को कानूनी व्यवस्थाको विपरीत रहेको छ । साथै प्रमाण ऐन, २०३१ को दफा १८ र २५ समेतको विपरीत भएकोले उक्त फैसला बदर गरी न्याय पाउँ भन्ने बेहोराको ओमकुमार झा, राखी झा, शीला देवी झासमेतको तर्फबाट मिति २०६५।१२।२४ गते पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।

यसमा मिति २०६४।५।१४ मा नै प्रतिवादी बनाइएका मगनु झाको मृत्यु भइसकेको देखिँदा निजको मृत्युपश्चात् करिब ५ महिनापछि जिल्ला प्रशासन कार्यालय धनुषाबाट मिति २०६४।१०।०७ मा अभियोग दाबीबमोजिम कसुर ठहर गरी फैसला गरेको देखिँदा सुरू जिल्ला प्रशासन कार्यालय धनुषाबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेसीको जानकारी दिई पेस गर्नु भन्ने मिति २०६६।१०।२६ गते पुनरावेदन अदालत जनकपुरको आदेश ।

प्रस्तुत मुद्दामा धनुषा जिल्ला प्रशासन कार्यालयबाट भएको फैसला मिलेको छ, छैन भनी हेर्दा मृतक मगनु झाउपर कसुर कायम गरी अभियोग दायर भएको र मु.ऐन अ.बं. १७६ नं.ले  "गैह्र अभियोग लागेको मानिस फैसला नहुँदै मर्‍यो भने सो मर्नेलाई खतबात लाग्दैन" भनी स्पष्ट उल्लेख भएकोमा सोही दफा लगाई प्रस्तुत मुद्दामा आरोपित कसुर खारेज गर्नुपर्ने देखिन्छ । मुलुकी ऐन दण्ड सजायको ३ नं. ले फैसला कार्यान्वयनको अवस्थामा असुल गर्नुपर्ने कुराको सन्दर्भमा आरोपित व्यक्तिलाई लागेको दण्ड जरिवानाको सन्दर्भमा माफ हुने अवस्था रहेको 

देखिन्छ । यो मुद्दामा जुन व्यक्तिलाई खतबात माफ भइसकेको अवस्थामा बिगोको सन्दर्भमा कसुर यकिन नै नगरी बिगो भराउन मिल्ने अवस्था हुँदैन । अत: बिगोतर्फ दण्ड सजायको ३ नं. उल्लेख गरी अपुताली खानेबाट भराउने भनी उपयुक्त कारण र अवस्था नै नजनाई बिगो भराइदिने गरी गरेको सुरू जिल्ला प्रशासन कार्यालय धनुषाको मिति २०६४।१०।७ को फैसला मिलेको नहुँदा उल्टी हुने ठहर्छ । प्रतिवादीहरूबाट बिगो भराउन नपर्ने हुँदा अभियोग पत्रसमेत खारेज हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।१२।२४ मा भएको फैसला ।

मुलुकी ऐन, अ.बं. को १७६ नम्बरमा “गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्‍यो भने सो मर्नेलाई खतबात लाग्दैन, सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहराउन हुँदैन ।” भनी मुद्दा चल्दाचल्दै मृत्यु भएमा दण्डनीय दायित्व बेहोर्नुपर्ने व्यक्तिको सन्दर्भमा प्रतिवादीको मृत्युसँगै सजायसमेत मर्दछ भन्ने सिद्धान्तलाई आत्मसात् गरी व्यवस्थासम्म गरिएको 

हो । उक्त व्यवस्थाले मरेको प्रतिवादीले भर्नुपर्ने बिगोसमेत मिनाहा हुन्छ भनी अर्थ गर्न मिल्ने 

होइन । त्यसमा पनि बिगो असुलउपरको सन्दर्भमा दण्ड सजायको ३ नं. ले “जरिवाना, कैद वा बिसौँद लागेको मानिस सो असुल नहुँदै मर्‍यो भने ऊ मरेपछि माफ हुन्छ । उसको अपुताली खाने वा जमानी हुनेलाई पक्राउ गर्न हुँदैन" । बिगो भराउने वा लिनुपर्ने कुरा रहेछ भने अपुताली खानेले तिर्नुपर्छ । जायजात गरी लिएपछि नपुगेको बाँकीमा अपुताली खानेलाई पक्रन हुँदैन” भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार अ.बं.१७६ नम्बरले प्रतिवादीले दण्डनीय दायित्वसम्मबाट उन्मुक्ति पाउने देखिन्छ तर प्रतिवादीले तिर्नुपर्ने जरिवानासम्मको देवानी दायित्व निजै मृतकको हकवालाले नै तिर्नुपर्ने स्पष्ट हुँदाहुँदै पनि आत्मगत तर्क गरी अभियोग दाबी खारेज गरिएको फैसलामा मुलुकी ऐन, अ.बं. दण्ड सजायको ३ नं.को व्याख्यामा गम्भीर त्रुटि भएकोमा अ.बं.१७६ नं.मा रहेको खतबात शब्दलाई बङ्ग्याई गलत अर्थ गरी बिगोसमेतलाई समेट्ने गरी फैसलामा प्रयोग भएको छ । प्रतिवादी धरौटी तारेखमा बसी मुद्दा पुर्पक्ष भइरहेकै अवस्थामा निजको मृत्यु भएको देखिन्छ । पुनरावेदकहरूउपर अभियोग दाबी नरहेको, निजहरूलाई प्रतिवादीसमेत कायम नगरिएको र अभियोग दाबी नै खारेज होस् भन्ने पुनरावेदकहरूको पुनरावेदन जिकिरसमेत नरहेको अवस्थामा लिनै नहुने पुनरावेदन ग्रहण गरी अभियोग दाबी खारेज गर्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला कानूनी त्रुटिपूर्ण भएकोले फैसला बदर गरी सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा सरकारवादी केही सार्वजनिक अपराध मुद्दामा प्रतिवादीका हकवालाले गरेको पुनरावेदनबाट सुरू अभियोगपत्र नै खारेज गर्ने गरी मुलुकी ऐन, दण्ड सजायको ३ नं. को व्यवस्थाविपरीत पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।१२।२४ मा भएको फैसलामा उक्त दफाको कानूनी व्याख्यात्मक त्रुटि देखिई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७३।१०।२६ मा भएको 

आदेश ।

कुनै कसुरको खतबात नलाग्ने गरी मृत्यु भइसकेको व्यक्तिलाई सोही कसुरबापत भनी बिगो भराउनसमेत मिल्दैन । प्रतिवादी मगनु झालाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को देहाय (ख), (ङ),(ज) र (झ) को आरोप लागी अभियोग दायर भएको र सो कसुर गर्नेलाई ऐ. ऐनको दफा ६ मा सजायको व्यवस्थाअन्तर्गत कसुरदारलाई सजाय र पीडितलाई क्षतिपूर्ति भराइदिने गरी ठहर फैसला गर्न मिल्ने होइन । कसुर गर्नेको मृत्यु भइसकेको अवस्थामा निजलाई सजायबाट उन्मुक्ति दिइसकेपछि सोही दफा टेकेर निजको हक खाने हकवालाबाट बिगो भराउन मिल्ने गरी फैसला गर्न मिल्ने होइन । मुलुकी ऐन दण्ड सजायको ३ नं. को कानूनी व्यवस्था फैसलाले बिगो ठहर भइसकेपछि मृत्यु भइसकेको प्रतिवादीको हकमा मात्र लागु हुने कानूनी व्यवस्था हो । फैसलापूर्व नै मृत्यु भएका प्रतिवादीको हकवालाको हकमा सो व्यवस्था लागु हुन सक्दैन । तसर्थ, प्रस्तुत मुद्दाको अभियोगपत्र औचित्यहीन भइसकेकोले अभियोगपत्र खारेज गर्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला कानूनसम्मत भएकोले उक्त फैसला सदर गरी इन्साफ पाउँ भनी नाबालक ओमकुमार झा र राखी झाको हकमा तथा आफ्नो हकमा समेत शीलादेवी झाको तर्फबाट यस अदालतमा मिति २०७३।१२।१५ गते पेस गरेको लिखित प्रतिवाद ।

यस अदालतको ठहर

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवालले प्रस्तुत मुद्दामा मृतक प्रतिवादी मगनु झाउपर केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को कसुरमा ऐ, ऐनको दफा ६ (१) बमोजिमको अभियोग दाबी रहेकोमा निजको मृत्यु २०६४।५।१४ मा भएको थियो । मुलुकी ऐन अ.बं.१७६ नं. ले कसुर अभियोग लागेको व्यक्तिको मृत्यु भएमा मर्नेलाई खतबात लाग्दैन भन्ने कानूनी व्यवस्थाको प्रतिकूल दण्ड सजायको ३ नं.को व्याख्या गरी भएको फैसलामा गम्भीर त्रुटि भएको छ । अ.बं.१७६ नं. ले प्रतिवादीले दण्डनीय दायित्वबाट मात्र उन्मुक्ति पाउने हो तर तिर्नुपर्ने जरिवानाको देवानी दायित्व निज मृतकका अपुताली खाने हकवालाले तिर्नुपर्ने कानूनी व्यवस्था हुँदाहुँदै आत्मगत तर्क गरी अभियोग दाबी खारेज गर्ने गरी भएको फैसला बदर गरिपाउँ भनी तथा प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री राजु उप्रेती र श्री थिरबहादुर कार्कीले कुनै कसुरको खतबात नलाग्ने गरी मृत्यु भइसकेको व्यक्तिलाई कसुरबापत भनी बिगो भराउन मिल्दैन । प्रतिवादी मगनु झालाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ बमोजिम अभियोग दायर भई कसुर गर्नेलाई ऐजन ऐनको दफा ६ मा सजायको व्यवस्था गरिएको हो । सोही सजायअन्तर्गत कसुरदारलाई सजाय र पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने कानूनी व्यवस्था गरिएको हो । कसुरदारलाई सजाय गर्न नमिल्ने अवस्थामा पीडितलाई क्षतिपूर्ति भराइदिने गरी फैसला भएको मिलेको छैन । फैसला हुनुपूर्व नै प्रतिवादीको मृत्यु भइसकेको अवस्थामा प्रतिवादीको हकवालाको हकमा लागु हुन सक्दैन । तसर्थ प्रस्तुत मुद्दाको अभियोगपत्र नै खारेज गर्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तअनुसारको बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी मगनु झालाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को कसुरमा ऐ. ऐनको दफा ६ बमोजिम सजाय र पीडितलाई क्षतिपूर्ति भराई पाउन माग दाबी रही अभियोग पत्र दायर भएकोमा सुरू जिल्ला प्रशासन कार्यालयबाट प्रतिवादी मगनु झाले जाहेरवाला विपिनकुमार झालाई अपशब्दले गाली गरी डर, त्रास देखाई घरभित्र पसी धनमाल सरसमान तोडफोड गरी घरको छानामाथि चढी छानाको टायलसमेत तोडफोड गरिरहेको समयमा जाहेरवाला आउँदा विपिनकुमार झाको कठालो समाती सार्वजनिक सडकमा लगी अपशब्द प्रयोग गरेको हो भनी कसुरमा साबिती भई बयान गरेको, अभियोग पत्रसाथ पेस हुन आएको घटनास्थल प्रकृति मुचुल्का तथा घटना विवरण कागजबाट देखिँदा प्रतिवादी मगनु झाले केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को (ख), (ङ), (ज), (झ) अनुसारको अपराध गरेको ठहर्‍याई निज प्रतिवादीलाई ऐ. ऐनको दफा ६(१) बमोजिम रू.१०,०००।- (दश हजार) जरिवाना हुने ठहर गरेको साथै प्रतिवादीको मिति २०६४।५।३१ मा मृत्यु भइसकेको हुँदा जरिवानातर्फ केही गरिरहनु 

परेन । बिगोतर्फ मुलुकी ऐन दण्ड सजायको ३ नं. अनुसार निजका अपुताली खाने हकवालाबाट रू.६७,०००।– (सतसट्ठी हजार) भराइपाउने गरी  फैसला भएकोमा सो फैसलाउपर चित्त नबुझाई प्रतिवादी मृतकका हकवालाको तर्फबाट पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट अभियोग पत्र नै खारेज हुने गरी फैसला भएको अवस्थामा नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम गरी पाउन पुनरावेदन परेको देखिन्छ । 

३. प्रस्तुत मुद्दामा मुलुकी ऐन, अ.बं. १७६ नं.को कानूनी व्यवस्था हेर्दा "गैह्र अभियोग लागेको मानिस फैसला नहुँदै मर्‍यो भने सो मर्नेलाई खतबात लाग्दैन, सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहर्‍याउनु हुँदैन भन्ने कानूनी व्यवस्था रहेको 

छ ।" अर्कोतर्फ मुलुकी ऐन, अ.बं.को ३ नं. को कानूनी व्यवस्था हेर्दा "जरिवाना, कैद वा बिसौँद लागेको मानिस सो असुल नहुँदै मर्‍यो भने ऊ मरेपछि माफ हुन्छ । उसको अपुताली खाने वा जमानी हुनेलाई पक्राउ गर्न हुँदैन ।" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उपर्युक्त व्यवस्थाको अध्ययन गर्दा फौजदारी मुद्दा लागेको मानिसको मुद्दा फैसला भइसकेपछि निजको मृत्यु भएमा निजलाई लागेको जरिवाना कैद वा बिसौँद माफी हुने कुराको व्यवस्था मुलुकी ऐन दण्ड सजायको ३ नं. मा भएको पाइन्छ भने मुद्दा चल्दाचल्दैको अवस्थामा मृत्यु भएको अवस्थामा के हुने भन्ने कुरा मुलुकी ऐन अदालती बन्दोबस्तको १७६ नं. मा व्यवस्था भएको पाइन्छ ।

४. मुलुकी ऐन अदालती बन्दोबस्तको १७६ नम्बरमा भएको व्यवस्था हेर्दा गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्‍यो भने सो मर्नेलाई खतबात लाग्दैन । सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहर्‍याउन नहुने  भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत व्यवस्थाले अपराधीसँगै अपराध पनि मर्छ भन्ने सिद्धान्तको अवलम्बन गर्दै अभियोग लागेको मानिसको मृत्यु भएमा निजलाई सो अपराध गरेबापत हुन सक्ने कैद जरिवाना नहुने तथा निजको मुद्दा सकार गर्ने व्यक्तिलाई अपराधी ठहर गरी सजाय गर्न नमिल्नेतर्फ इङ्गित गरेको देखिन्छ ।

५. उल्लिखित कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा हेर्दा यी प्रतिवादीको हकमा मुलुकी ऐन अ.बं. १७६ नं. को व्यवस्थाले फौजदारी कसुर लागेका कसुरदार अभियोग प्रमाणित नहुँदैको अवस्थामा मृत्यु भएको अवस्थामा कुनै खतबात नलाग्ने भएकोले सजायसमेत माफी मिनाहा हुने कानूनी अभिप्राय देखिन्छ । अपराधीसँगै अपराधको अन्त्य हुन्छ भन्ने फौजदारी न्यायको मान्यता रहेको छ । प्रस्तुत विवादमा पनि प्रतिवादी मगनु झाउपरको अभियोग प्रमाणित नहुँदै मृत्यु भएको मिसिल संलग्न कागजातसमेतबाट देखिएको अवस्थामा यी प्रतिवादीलाई लागेको कसुरबापतको दण्ड सजाय माफी मिनाहा हुने नै देखियो । 

६. प्रतिवादी मगनु झाको मिति ०६४।५।१४ गतेका दिन मृत्यु भइसकेकोमा निजलाई सुरू जिल्ला प्रशासन कार्यालय धनुषाले अभियोग दाबीबमोजिम केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७ को दफा २ को (ख), (ङ), (ज), (झ) अनुसारको अपराधमा ऐ. ऐनको दफा ६ (१) अनुसार रू.१०,०००।- (दश हजार) जरिवाना हुने र बिगोबापत रू.६७,०००।- (सतसठ्ठी हजार) अपुताली खाने हकदारबाट भराइदिने ठहराई फैसला भएको देखिन्छ । फौजदारी कानूनका विभिन्न उद्देश्यहरूमध्ये एउटा उद्देश्य भनेको अपराधीलाई सजाय गरी त्यो अपराधी स्वयंलाई पुनः अपराध गर्नबाट रोक्नुका साथै त्यो सजायको भय देखाएर अरू व्यक्तिलाई पनि अपराधमूलक कार्य गर्नबाट रोक्नु रहेको हुन्छ । सजाय प्रदान गरेर सजायको भयबाट अपराध रोक्ने काम अपराधी जीवित रहेको अवस्थामा मात्र सम्भव हुन्छ । अपराध गर्ने व्यक्तिको मृत्यु भएको अवस्थामा भने अपराधीलाई कारागारमा राखी सजाय कार्यान्वयन गर्न नसकिने भई फौजदारी कानूनको उक्त उद्देश्य पूर्ति नहुने भएकोले अपराधीलाई सजायबाट मुक्त गरिन्छ । हाम्रो कानूनी प्रणालीले यो कुरालाई अपराधीसँगै अपराध पनि मर्छ भन्ने सिद्धान्तको रूपमा अवलम्बन गरेको पाइन्छ, तर प्रस्तुत मुद्दामा सुरू जिल्ला प्रशासन कार्यालय धनुषाले मिति ०६४।१०।०७ मा फैसला गर्दा मिति ०६४।५।१४ मा मृत्यु भइसकेका प्रतिवादीलाई सजाय गर्ने गरी फैसला गरेको देखिएबाट समेत उक्त फैसला कानूनअनुकूलको रहेको देखिन आएन । 

७. प्रस्तुत मुद्दामा जरिवानाको अतिरिक्त सुरू जिल्ला प्रशासन कार्यालयबाट बिगो भराउनेतर्फको विषयमा दण्ड सजायको ३ नं अनुसार अपुताली खानेबाट रू.६७,०००।- (सतसठ्ठी हजार) भराइदिने ठहर्छ भनी फैसला भएको देखिन्छ । जाहेरवाला विपिनकुमार झाले टायल, खपडाको छाना, सुन, चाँदी, चामल, धान, गहुँ र कलर टि.भि. लगायत कपडा र सानो फुसको घरको समेत गरी कुल मूल्य रू.१,५०,०००।- (एक लाख पचास हजार) बराबरको क्षति भएको भनी उल्लेख गरे तापनि उक्त क्षतिको यकिन मूल्याङ्कन गर्ने कुनै वस्तुनिष्ट प्रमाण मिसिल संलग्न कागज प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीसहितको अन्य तीन जनाले जाहेरवालाको घरमा बल जबरजस्ती प्रवेश गरी जाहेरवालाको रू.१,५०,०००।- (एक लाख पचास हजार) बराबरको धन क्षति पुर्‍याएको भन्ने जाहेरी दरखास्त परेको र मिति २०६४।०२।१९ मा घटना विवरण कागज गर्ने व्यक्तिहरूले वारदातमा ३(तीन) जनाको संलग्नता रहेको भनी कागज गरेकोमा प्रतिवादी मगनु झाउपर मात्र अभियोग माग दाबी रहेको देखिन्छ । निज प्रतिवादीले प्रहरीसमक्ष साबिती बयान गरे तापनि जिल्ला प्रशासन कार्यालयको बयानमा आफूले धनमाल लिई नगएको र आफूलाई प्रहरीले यातना दिई जबरजस्ती अपराध स्वीकार्न लगाएको भन्ने जस्ता कुराहरूसमेत उल्लेख गरेको देखिन्छ । मिसिल संलग्न अन्य काजगातहरूबाट समेत प्रतिवादीले धनमाल लिएर गएको भन्ने देखिन 

आउँदैन । यसरी प्रतिवादी स्व. मगनु झाको अपुतालीखानेबाट उक्त रकम भराइदिने गरी फैसला गर्दा उक्त रकम के आधारमा कायम गरिएको भन्ने वस्तुनिष्ठ आधारसमेत उल्लेख गरेको देखिँदैन । दाबीको बिगो सम्बन्धमा बजार मूल्याङ्कन गर्न सकिनेमा नगरेको, टि.भि., सुन चाँदीका गरगहना तथा घरको छानोका टायल खपटा जस्ता सामानको बजार मूल्य खुलाउन सकिनेमा सो खुलाई पुष्ट्याइँ हुने कागजात मिसिल संलग्न नरहेको र सो सम्बन्धमा बजार मूल्याङ्कन गरेको भन्नेसमेतको प्रमाण मिसिल संलग्न देखिएन । बिगो दाबी गर्नेले लिएको दाबीको मात्र आधारमा भराउने हो भने दाबीकर्ताले वास्तविक क्षतिभन्दा अत्यधिक दाबी लिने अवस्थाको सिर्जना हुने हुन्छ । न्याय प्रदान गर्ने निकायलाई पीडितको क्षति भएको सम्पत्तिको बिगो भराउने अन्तिम निर्णय गर्ने मुख्य आधार प्रमाणित गर्न सो पुष्टि हुने कागजातसमेत सम्बन्धित निकायबाट बजार मूल्य खुलाई प्रमाणित गराई दाबी लिँदाका समयमा पेस गर्नुपर्ने दायित्व अभियोग लगाउने पक्षको रहन्छ । प्रस्तुत मुद्दामा क्षति भएको हो, होइन र क्षति भएको भए सोको मूल्य कति पर्ने हो मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा हचुवाको भरमा बिगो कायम गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट बिगो भराउने निर्णय गरेको देखिँदा त्यस्तो हचुवाको भरमा कायम गरेको बिगोलाई न्यायको रोहमा भराउन मिल्ने देखिन आएन ।

८. मिसिल संलग्न प्रमाण कागजात र दाबीबमोजिमको चार कोठाको घरमा क्षति पुर्‍याई जाहेरी दर्खास्तमा नोक्सान भएको भनी खपडाको छानो भएको घरबापत रू.५०,०००/- फुसको घरलाई रू.२०,०००/- र रू.८०,०००/- (असी हजार) बराबरको सुन, चाँदी, चामल, गहुँ र कलर टि.भि. लगायतका कपडाहरूमा क्षति पुगेको भनी जाहेरी दरखास्तमा उल्लेख भएकोमा उल्लिखित क्षति भएको हो होइन भनी अनुसन्धान प्रक्रिया मौन रहेको देखिन्छ भने चार कोठाको खपडाको छाना भएको घरसमेत प्रतिवादी एक्लैले छोटो समयमा नोक्सान गरे भन्ने कुरासमेत पत्यारलाग्दो देखिन आउँदैन । प्रतिवादीको कार्य कारणबाट क्षति भएको भन्ने विश्वसनीय आधार मिसिल संलग्न प्रमाण कागजातहरूबाट पुष्टि हुन नसकेको अवस्थामा बिगोको दाबी पुग्न सक्ने नदेखिएकोले न्यायको रोहमा बिगो कायम गरी मृतक प्रतिवादीका अपुताली खाने हकवालाबाट बिगो भराउन मिल्ने देखिन आएन । प्रस्तुत मुद्दामा सार्वजनिक अपराध गरेको भनी केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को कसुरमा ऐ. ऐनको दफा ६ को मागदाबीका आधारमा अभियोग लागेका प्रतिवादी मगनु झाको फैसला हुँदाको बखत मृत्यु भइसकेमा निजलाई कसुरदार ठहर गरी उपयुक्त आधार, कारण र अवस्था नजनाई बिगोतर्फ दण्डसजायको ३ नं. उल्लेख गरी निज मृतकका अपुताली खाने हकवालाबाट बिगो भराउने गरी भएको सुरू फैसला उल्टी गरी बिगो भराउन नपर्ने हुँदा अभियोग पत्रसमेत खारेज हुने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसलालाई अन्यथा भन्न मिल्ने देखिन आएन । 

९. तसर्थ, उपर्युक्त विवेचित आधार कारणहरूबाट प्रस्तुत मुद्दामा प्रतिवादी मगनु झाउपरको अभियोग प्रमाणित नहुँदै मृत्यु भएको मिसिल संलग्न कागजातसमेतबाट देखिएको अवस्थामा मृतक प्रतिवादीलाई खतबात नलाग्ने भएको र बिगोका सम्बन्धमा प्रतिवादीबाट नै क्षति भएको भन्ने विश्वसनीय आधार कारण मिसिल संलग्न प्रमाण कागजातहरूबाट पुष्टि हुन नसकेको अवस्थामा हचुवाको भरमा बिगो कायम गर्न मिल्ने आधार कारण र अवस्था नदेखिँदा सुरू जिल्ला प्रशासन कार्यालय धनुषाबाट मिति २०६४।१०।०७ मा बिगो भराउने गरी भएको फैसला उल्टी गरी प्रतिवादीहरूबाट बिगो भराउन नपर्ने भनी गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०६६।१२।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सुरू अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

१०. प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउनू । सरोकारवालाले फैसलाको नक्कल माग गर्न आएमा कानूनबमोजिम लाग्ने दस्तुर लिई नक्कल 

दिनू । फैसलाको विद्युतीय प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

 

इजलास अधिकृत:- निरज पोखरेल / कुमार खतिवडा

इति संवत् २०७९ साल भदौ २१ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु