निर्णय नं. ११०२१ - ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कुमार रेग्मी
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।८।१५
मुद्दाः ज्यान मार्ने उद्योग
०७१-CR-१३०१
पुनरावेदक / वादी : सीता खतिवडाको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : जिल्ला मोरङ डाँगीहाट गा.वि.स. वडा नं. ५ बस्ने इन्द्रबहादुर कटुवालसमेत
०७२-CR-१७२०
पुनरावेदक / प्रतिवादी : मोहनकुमार सुवेदीको छोरा जि.मोरङ डाँगीहाट गा.वि.स. वार्ड नं. ५ भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेको वर्ष २१ को आशिष सुवेदी
विरूद्ध
विपक्षी / वादी : जिल्ला मोरङ डाँगीहाट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ४५ सीता खतिवडाको जाहेरीले नेपाल सरकार
घटना विवरण तथा वस्तुस्थिति मुचुल्का, वादीका साक्षी, पीडितले गरेको बयान तथा बकपत्र एवं सह-अभियुक्तमध्येका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको बयानले प्रतिवादी वारदात मितिमा सो स्थलमा रही वारदातमा संलग्न रहेको भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा प्रतिवादीले अन्य ठोस प्रमाण पेस गरी अन्यत्र रहेको पुष्टि गर्न नसकेको अवस्थामा एक जना साक्षीले गरेको बकपत्रको आधारमा मात्र प्रतिवादीले लिएको अन्यत्र स्थल रहेको (alibi) को जिकिर विश्वसनीय नदेखिने ।
(प्रकरण नं.२)
प्रतिवादीले ज्यान मार्ने मनसाय राखी पीडितको टाउको जस्तो अंगमा खुकुरी प्रहार गरेकोमा पीडितको घाउ घातक भनी घा जाँच केस फाराममा उल्लेख नभएको हुनाले मात्र प्रतिवादीको उक्त कार्य ज्यान मार्ने उद्योगजन्य थिएन भन्न नमिल्ने । ज्यान मार्ने उद्योगको कसुरमा मनसाय प्रमुख तत्त्वको रूपमा रहने हुनाले पीडितको घाउको प्रकृति वा परिणामले मात्र निर्णायक भूमिका नराख्ने ।
(प्रकरण नं.३)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान् अधिवक्ता श्री प्रविण सुवेदी
अवलम्बित नजिर :
ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८
ने.का.प.२०७१, अङ्क ११, नि.नं.९२८३
ने.का.प.२०७४, अङ्क ६, नि.नं.८३७८
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने अदालत:-
मा.न्या.श्री ईन्द्रबहादुर कार्की
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने अदालत:-
मा.न्या.श्री किशोर सिलवाल
मा.न्या.श्री भीमकुमार ओझा
पुनरावेदन अदालत विराटनगर
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
तथ्य खण्ड
मोरङ डाँगीहाट ८ स्थित पूर्वमा हरिप्रसाद लुइँटेलको घर पश्चिममा खडगरन्न शाक्यको घर उत्तरमा भक्तबहादुर विष्टको घर दक्षिणमा मणीकुमार राईको घर यति चार किल्लाभित्र रहेको लक्ष्मी मार्ग र सोह्राभाग कच्ची बाटो मुनाल चौक भन्ने स्थान सो बाटो भुइँमा रगत यत्रतत्र देखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मेरो छोरा वर्ष २१ को हरि खतिवडा लक्ष्मीमार्ग चौकमा कुखुराको मासु काटी बेच्ने व्यवसाय गर्दथ्यो । केही दिन पहिला निज बस्ने ठाउँ विपक्षीहरूले दिपे भन्ने दिपक माझी, इन्द्रबहादुर कटुवाल, मोहन सुवेदी, सुनिल धिमाल र रितेश भुजेलसमेत ५ जनाले उल्लिखित घटनास्थलमा मिति २०६८।४।२२ गते राति अं. २१:४५ बजे मेरो छोरालाई एक्लै बनाई धारिलो हतियार खुकुरीले शरीरको यत्रतत्र भागमा प्रहार गरी काटी मर्नु न बाँच्नु दोसाधको अवस्थामा घाइते बनाई ज्यान मार्ने उद्योग गरेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सिता खतिवडाको मिति २०६८।०४।२३ को जाहेरी दरखास्त ।
हरि खतिवडाको घाउ जाँच गर्दा निजको टाउको पछाडि पाटो बायाँ हातसमेतमा धारिलो हतियारले काटे, घोपेको चोट भएको भन्नेसमेत बेहोराको घा जाँच प्रतिवेदन ।
मिति २०६८।४।२२ गते राति अ.२१:४५ बजे उल्लिखित घटनास्थलको बाटो हुँदै पार्टी खाई घर फर्कने क्रममा जाहेरवालीको छोरा हरि खतिवडाले लागु औषध गाँजा खाँदै गरेको फेला पारी सार्वजनिक स्थलमा गाँजा खान्छस् भन्नासाथ प्रतिवादीहरू आशिष सुवेदी, सुनिल धिमाल र दिपक माझीलाई निजले हातपात गर्न थालेपछि मैले झगडा छुट्याउँदै गर्दा प्रतिवादी रितेश भुजेलसमेतले निज हरि खतिवडालाई धारिलो हतियार खुकुरीले प्रहार गरी काटी ज्यान मार्ने उद्योग गरेको हो । मैले ज्यान मार्ने उद्योग गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रबहादुर कटुवालको बयान ।
उल्लिखित मिति, समय र घटनास्थलमा निज हरि खतिवडालाई ज्यानै मार्ने उद्देश्यले प्रतिवादी रितेश भुजेल आशिष सुवेदीले खुकुरी अन्धाधुन्द प्रहार गरी काटे । मैले तथा प्रतिवादी सुनिल धिमाल र इन्द्रबहादुर कटुवालले कुटपिट गर्दा रितेश भुजेलको खुकुरी प्रहारबाट मसमेत घाइते भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी दिपे भन्ने दिपक माझीको बयान ।
उल्लिखित मिति, समय र घटनास्थलमा मलाई रितेश भुजेल, आशिष सुवेदी र दिपे भन्ने दिपक माझीसमेतले ३ वटा खुकुरी प्रयोग गरी मेरो पछाडि पाता, ढाड, टाउको र हातमा समेत घोपी अन्य प्रतिवादीहरू इन्द्रबहादुर कटुवाल र सुनिल धिमालले कुटपिट गरेपश्चात् म बेहोस भई भुइँमा लडेँ त्यसपछि के के गरे थाहा भएन । तीन दिनपछि होस खुली हेर्दा मेरो भारत सिलगुडी स्थित डा.चाङ्गकोमा उपचार भइरहेको थाहा पाएँ । निज प्रतिवादीहरूले मलाई ज्यान मार्ने नियतवश खुकुरीसमेत प्रहार गरी काटी मरणासन्न अवस्थामा घाइते बनाई ज्यान मार्ने उद्योग गरेको हो भन्नेसमेत बेहोराको घाइते हरि खतिवडाको घटना विवरण कागज ।
उल्लिखित मिति, समय र घटनास्थलमा म पनि हरि खतिवडा सँगै थिएँ । एक्कासि आशिष सुवेदी, इन्द्रबहादुर कटुवाल, सुनिल धिमाल, दिपे भन्ने दिपक माझीले मलाई कुटपिट गर्न थालेपछि हरि खतिवडाले यो मसँग काम गर्ने व्यक्तिलाई किन कुटेको भन्नसाथ हरि खतिवडासमेतलाई कुटपिट गर्न
थाले । केही समयमै प्रतिवादी रितेश भुजेल आई खुकुरीले हरि खतिवडालाई काट्न थालेपछि म डरले भागेँ रितेश भुजेलसमेतका प्रतिवादीहरूले हरि खतिवडालाई काटी ज्यान मार्ने उद्योग गरेको हो भन्नेसमेत बेहोराको हरि गुरागाईको घटना विवरण कागज ।
उल्लिखित मिति, समय र घटनास्थलमा पक्राउ प्रतिवादी दिपे भन्ने दिपक माझी, इन्द्रबहादुर कटुवाल र फरार रहेका रितेश भुजेल, सुनिल धिमाल र आशिष सुवेदीसमेत ५ जनाको समूह भई निज हरि खतिवडालाई ज्यान मार्ने नियतवश धारिलो हतियार खुकुरीले शरीरको संवेदनशील अङ्गसमेतमा प्रहार गरी काटी कुटपिट गरी मरणासन्न अवस्थामा घाइते बनाई ज्यान मार्ने उद्योग गरेको हो भन्नेसमेतका बेहोराको टेकबहादुर देउजासमेतले लेखाइदिएको मिति २०६८।०५।२६ को वस्तुस्थिति मुचुल्का ।
यसमा अनुसन्धानको क्रममा सङ्कलन भएको घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, घाउ जाँच केस फाराम, प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूको कागज र वस्तुस्थिति मुचुल्कासमेतका कागज प्रमाणहरूसमेतबाट प्रतिवादीहरू दिपे भन्ने दिपक माझी, इन्द्रबहादुर कटुवाल आशिष सुवेदी, सुनिल धिमाल र रितेश भुजेलले मिति २०६८।४।२२ गते ज्यान नै मार्ने मनसायले पीडित हरि खतिवडालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कार्य कसुरमा ऐ. ऐनको ऐ. महलको १५ नं. बमोजिम सजाय गरी बिलबमोजिम घा खर्चसमेत प्रतिवादीहरूबाट पीडितबाट दिलाई भराइपाउँ भन्ने बेहोराको अभियोग मागदाबी ।
जाहेरी बेहोरा झुठ्ठो हो । जाहेरवालाको छोरा हरि खतिवडालाई मसमेत भई धारिलो हतियार प्रयोग गरी काटी ज्यान मार्ने उद्योगको अपराध गरेको होइन । जाहेरीमा उल्लिखित मिति, समयमा म आफ्नो दिदीको घर जि.रामेछाप बेथान गा.वि.स.मा थिएँ । अरू कसले के गरे मलाई थाहा छैन, मैले कसुर अपराध नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउने हो भन्ने बेहोराको प्रतिवादी सुनिल धिमालले अदालतमा गरेको बयान ।
जाहेरी बेहोरा झुठ्ठो हो । जाहेरीमा उल्लिखित मिति, समयमा म काठमाडौंमा TRITON International College मा गत वर्षदेखि नै कक्षा १२ मा अध्ययन गरिरहेकोले काठमाडौंमै थिएँ, दशैँमा घर आउँदा मात्र थाहा पाएको हुँ । मसमेत भई जाहेरवालीको छोरोलाई कुटे काटेको होइन, मैले कसुर अपराध नगरेको हुँदा सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी आशिष सुवेदीले अदालतमा गरेको बयान ।
मिति २०६८।४।२२ गतेका साँझ साथीलाई बिदा गर्न काठमाडौंको गाडी चढाई म र इन्द्र कटुवाल फर्किदै थियौँ । यी जाहेरवालाको छोरा हरि खतिवडा र अर्को हरि भन्ने मानिस त्यहाँ गाँजा खाई हल्ला गर्न थालेकोले मैले दाइ सार्वजनिक स्थलमा किन हल्ला गरेको गाँजा खाएर हल्ला नगर्नुस् भन्दा निज आवेशमा आई तँ को होस् मलाई सिकाउने भन्दै घोक्राइदिएका हुन्, ऊ घरतिर लाग्यो । यी जाहेरवालाको छोराले खुकुरी प्रहार गरे, म पीडाले गुहार मागी कराउँदा गाउँका मानिस त्यहाँ आए, म बेहोस भइहालेछु निजलाई कसले के कुन हतियारले प्रहार गरे वा गरेनन् त्यहाँ को को भेला भए मलाई केही थाहा छैन । मैले त्यस्तो कुनै पनि कसुर गरेको छैन, जाहेरी बेहोरा झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी दिपे भन्ने दिपक माझीले अदालतमा गरेको बयान ।
मिति २०६८।४।२२ गतेका दिन दिपकको साथी विदेश जानको लागि काठमाडौंको बसमा चढाई हामी फर्की आउँदा यी हरि खतिवडा र हरि लामिछाने गाँजा बनाउँदै रहेछन् । हामीले सार्वजनिक ठाउँमा यस्तो खान हुँदैन भन्दा एक्कासि आवेशमा आई प्रतिवादी दिपक माझीलाई हातपात गर्न थाले, म टि.बी. को बिरामी भएकोले आराम गर्न घरतिर लागेँ । अन्य प्रतिवादीहरू के कति खेर आए, त्यहाँ के के भयो थाहा भएन, यी जाहेरवालाको छोरालाई हामीले कुटपिटसम्म गरेको छैन, मैले त्यस्तो कसुर नै गरेको छैन, मउपरको जाहेरी बेहोरा झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रबहादुर कटुवालले अदालतमा गरेको बयान ।
प्रतिवादी रितेश भुजेलको नाउँमा मिति २०६९।२।४ मा म्याद तामेल भएकोमा निज म्याद गुजारी फरार रहेको र निजको मिति २०६९।६।२० मा अंश रोक्का मुचुल्का भई मिसिल सामेल रहेको ।
वारदात मिति समयमा म घरमै सुत्न लागेको थिएँ । एक्कासि हो-हल्ला चिच्याएको आवाज सुनी के भएछ भनी जाँदा हरि खतिवडा रगताम्य भई भुइँमा ढलिरहेको देखेको हुँ । चोट हेर्दा खुकुरी प्रहार गरी निजलाई हानेको देखिएको थियो । रितेशलगायत ५ जनाको ग्रुपले हानेको भन्ने सुनेको हुँ भन्नेसमेत बेहोराको वादीका साक्षी सुधिर वान्तवाले अदालतमा गरेको बकपत्र ।
उक्त मिति समयमा आशिष सुवेदी, सुनिल धिमाल, रितेश भुजेल, इन्द्र कटुवाललगायत ५ जना भई हतियार प्रयोग गरी खेद्दै खेद्दै लडाई हरि खतिवडालाई काटेका रहेछन्, हो हल्ला भई म के भएछ भनी दौड्दै जाँदा निज हरि खतिवडा रगत भऐ लडिरहेको देखेको हुँ भन्नेसमेत बेहोराको वादीका साक्षी कुमारप्रसाद घिमिरेले अदालतमा गरेको बकपत्र ।
जाहेरवाली सीता खतिवडाले जाहेरी दरखास्तको बेहोरालाई समर्थन गर्दै अदालतमा गरेको बकपत्र ।
उक्त मिति समयमा आशिष सुवेदी, रितेश भुजेल, इन्द्र कटुवाल, दिपे माझी एक जना धिमालसमेत भई मेरो शरीरको पछाडिबाट खुकुरीले अन्धाधुन्द प्रहार गरी ढाडमा, टाउको, हात, नाडी, अनुहारमा प्रहार गरी मलाई ज्यान मार्ने उद्योगको वारदात घटाएका हुन् भन्ने बेहोराको पीडित हरि खतिवडाले अदालतमा गरेको बकपत्र ।
उक्त मितिमा प्रतिवादी आशिष सुवेदी गाउँघरमा थिएनन्, निज काठमाडौं गएकोले निजसँग मेरो भेटघाट भएन । निज साथीलाई लगाइएको अभियोग झुठ्ठा हो, निज यहाँ गाउँमा नै नभएपछि घटना घट्ने कुरै भएन, अभियोग दाबी झुठ्ठा हो । घटना घटेको मैले देखेको होइन, तर उक्त घटना हुनुभन्दा अगाडि नै आशिष सुवेदी काठमाडौं गइसकेका थिए भन्नेसमेत बेहोराको प्रतिवादी आशिष सुवेदीका साक्षी उमेश धिमालले अदालतमा गरेको बकपत्र ।
पीडितको घाउखत हेर्दा शरीरको सबै भागमा जोखिम हतियार खुकुरीको चोट परेको, घाउखत फारामबाट देखिएको छ । निजले सक्षम अस्पतालमा शीघ्र उपचार गरेको कारण निज मर्नबाट बचेको अवस्था मिसिलबाट देखिएको छ । यसरी यी प्रतिवादीहरूले जोखमी हतियार खुकुरीले पीडितलाई प्रहार गरेको पुष्टि हुँदा निजहरूले ओरोपित कसुर अपराध गरेको ठहर्छ । प्रतिवादी दिपे भन्ने दिपक माझी र आशिष सुवेदीलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद हुने ठहर्छ र प्रतिवादीहरूबाट पीडितले रू.३,००,०००।– (तीन लाख) घाउ खर्च भरिपाउने र प्रतिवादीहरू सुनिल धिमाल र इन्द्रबहादुर कटुवालले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको मोरङ जिल्ला अदालतको मिति २०७०।०२।२९ फैसला ।
आफू वारदात स्थलमा मौजुद रहेको भनी मौकामा प्र.इन्द्रबहादुर कटुवाल लेखाउनुको साथै प्र.सुनिल धिमाललाई पोल गरेको, घाइते हरि खतिवडाले मौकामा कागज गर्दा यी प्रतिवादीहरूले समेत घेराउ गरेका भन्ने उल्लेख भएबाट यी प्रतिवादीहरू इन्द्रबहादुर कटुवाल र सुनिल धिमालको वारदातमा उपस्थित एवं संलग्नता पुष्टि भइरहेकोमा मिसिल संलग्न प्रमाणको मूल्याङ्कन नै नगरी सुरू जिल्ला अदालतले गरेको उक्त फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक प्रतिवादी आरोपित कसुरमा इन्कार रहेको देखिएको र मुलुकी ऐन, ज्यानसम्बन्धीको १५ नं. बमोजिम घा खर्चबापत समेत भरिपाउने ठहराई सुरूबाट भएको फैसला संलग्न प्रमाणको मूल्याङ्कन एवं उक्त कानूनी व्यवस्थाको व्याख्यात्मक प्रश्नमा फरक पर्न सक्ने देखिँदा र वादी नेपाल सरकारको तर्फबाट समेत पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदनमा उल्लिखित विपक्षी प्रतिवादीहरू इन्द्रबहादुर कटुवाल र सुनिल धिमाललाई समेत अ.बं. २०२ नं. को प्रयोजनार्थ झिकाई नियमबमोजिम पेस गर्नु भन्ने मिति २०१३।३।१८ को आदेश ।
सुरू जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । प्रस्तुत मुद्दामा घाइते हरि खतिवडासँगै रहेका प्रत्यक्षदर्शी भनिएका हरि गुरागाईले कागज गर्दा हरि खतिवडालाई को-कसले काटी त्यस्तो अवस्थामा पारी सख्त घाइते बनाए । मैले देखिनँ भनी कागज गरिदिएको छन् । स्वयम् पीडित अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीसँग घटना पूर्वरिसइवी नभएको र राम्ररी चिन्दिनँ भन्ने अवस्थामा मिसिल संलग्न सबुद प्रमाणको मूल्याङ्कन नै नगरी गरेको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको आशिष सुवेदीको उच्च अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम पीडितलाई घाउ खर्च भराउन सक्ने कानूनी व्यवस्था नभएको रू.३,००,०००।– (तीन लाख) घाउ खर्च भराइदिने गरी सुरू मोरङ जिल्ला अदालतबाट मिति २०७०।२।२९ गते भएको फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी हुने ठहर्छ । प्रतिवादी सुनिल धिमाल, इन्द्रबहादुर कटुवाललाई सफाइ दिई प्रतिवादी आशिष सुवेदी र दिपक माझीलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद गर्ने गरेको मोरङ जिल्ला अदालतको मिति २०७०।२।२९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।०७।२३ को फैसला ।
ज्यान मार्ने उद्योगको वारदात प्रमाणित भएको प्रस्तुत मुद्दामा जाहेरवाला, पीडित, बुझिएका मानिसको बकपत्र तथा स्वयं प्रतिवादीकै बयानबाट प्रतिवादीहरूको वारादातको संलग्नता पुष्टि हुँदाहुँदै समानस्तरका प्रतिवादीमध्ये दुई जनालाई कसुर ठहर गर्ने बाँकी दुई जनालाई सफाइ दिएका फैसला न्यायिक मनको प्रयोगविना मनोगत हिसाबले भएको स्पष्ट देखिनुका साथै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्याख्यामा गम्भीर कानूनी त्रुटि भएको
छ । कसुर ठहर भएका प्रतिवादीहरू दिपे भन्ने दिपक माझीले मौकामा बयान गर्दा यी प्रतिवादीहरूसमेतले पीडित घाइतेलाई घेरा दिने समात्ने कुटपिट गर्ने कार्य गरेका हुन् भनी पोल गरेको र घाइते हरि खतिवडाले मौकामा कागज गर्दा यी प्रतिवादीहरूले समेत घेराउ गरेका भन्ने उल्लेख भएबाट यी प्रतिवादीहरू इन्द्रबहादुर कटुवाल र सुनिल धिमालको वारदातमा उपस्थिति देखिएको छ । घाइतेको पाता, टाउको, ढाडसमेत नौ ठाउँमा काटेको चोट देखिएको र घाइतेसँगै रहेका हरि गुरागाईले समेत उल्लिखित प्रतिवादीहरूले घाइतेलाई कुट्न थालेको भनी कागजसमेतबाट पीडित घाइतेउपर प्रतिवादीहरूको समेत समूहले सामूहिक आक्रमण गरी मरणासन्न अवस्थामा पुर्याएको र स्थानीय मानिसहरूले बचाव गरी उपचारमा पुर्याएको कारण घाइतेको ज्यान बचेको भन्ने तथ्य पुष्टि भइरहेको देखन्छ । पीडितसमेतको बकपत्रलाई सफाइ पाएको प्रतिवादीको विरूद्धमा प्रमाणमा नलिएको प्रमाण ऐन, २०३१ को दफा १०, १८ र ५४ को प्रतिबन्धात्मक वाक्यांशको प्रतिकूल हुने गरी गरेको उक्त फैसका त्रुटिपूर्ण भई बदरभागी छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन ।
म काठमाडौंको Triton International College मा गत वर्षदेखि नै १०+२ मा अध्ययन गरिरहेकोले मिति २०६८।०४।२३ गतेका दिन म काठमाडौंमा नै थिएँ । म उक्त ठाउँमा नै नभएकाले मैले हरि खतिवडालाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको होइन, छैन । ज्यान मार्ने उद्योगको अपराध कायम हुनका लागी मनसाय, हतियार र तेस्रो पक्षको हस्तक्षेपलाई हेरिन्छ । ज्यान मार्ने मनसाय नै प्रस्ट रूपमा वादी पक्षबाट प्रमाणित हुनसकेको छैन । स्वास्थ्य परीक्षण प्रतिवेदनमा “fatal/non-fatal at the time of examination” भनी उल्लेख भएको छ / छैन ? पीडितको घाउ जाँच केस फाराम रिपोर्टमा ‘fatal’ भनी लेखिएको भए पीडित मर्नेसम्मको कार्य गरेको भन्न मिल्थ्यो तर, स्वास्थ्य परीक्षणबाट त्यो अवस्था देखिँदैन । ज्यान मार्ने उद्योगको लागि आवश्यक मनसाय र तयारी अर्थात् पूर्वसङ्कल्प र योजना र नियत वादीले देखाउन नसकी मेरा साक्षी उमेश धिमालले सुरू अदालतमा गरेको बकपत्रसमेतबाट मेरो अन्यत्र परिस्थति समर्थित भएको देखिँदादेखिँदै मलाई शङ्काको लाभसमेत नदिई भएको पुनरावेदन अदालतको मिति २०७१।०७।२३ को फैसला त्रुटिपूर्ण भएको हुँदा बदर उल्टी गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्ने बेहोराको प्रतिवादी आशिष सुवेदीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दामा वादी र प्रतिवादी दुवैका तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।
यसमा पीडितलाई लागेको चोटबाट निजको मृत्युसम्म हुन सक्ने घा जाँच प्रतिवेदनबाट नखुलेको, ज्यान मार्ने उद्योगको लागि आवश्यक तेस्रो पक्षको उपस्थिति देखाउन नसकेको अवस्थामा प्रतिवादीमध्येका आशिष सुवेदीलाई ज्यान मार्ने उद्योगको कसुर हुने ठहर्याएको तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. प्रयोजनार्थ प्रतिवादीहरू इन्द्रबहादुर कटुवाल र सुनिल धिमाललाई झिकाई तथा प्रतिवादी आशिष सुवेदीको पुनरावेदनपत्रको जानकारी महान्यायाधिवक्ता कार्यालयलाई दिई नियमानुसार गरी पेस गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०७४।०९।०२ को यस अदालतबाट भएको आदेश ।
यसमा प्रतिवादी रितेश भुजेल विरूद्धको मुद्दाको कारबाही मुल्तबीबाट जागेको छ, छैन ? र निजको कारबाही कहाँसम्म पुगेको छ ? मोरङ जिल्ला अदालतबाट जवाफ मगाई त्यााँको जवाफको आधारमा अन्य अदालतसँग सोध्नुपर्ने भए सोधी सोको जवाफ आएपछि नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०७६।१०।१९ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी निवेदक र विपक्षी दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूले आ-आफ्नो पक्षका तर्फबाट गर्नुभएका बहससमेत सुनियो ।
वादी नेपाल सरकारबाट उपस्थित रहनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्यले प्रतिवादी आशिष सुवेदीले कसुरतर्फ इन्कारी रही बयान गरे तापनि निज वारदातमा अरूसरह नै संलग्न भएकोमा कसुरमा इन्कारी रही बयान गरेकै आधारमा मात्र प्रतिवादी आशिष सुवेदीले सफाइ पाउन नहुने भएकोले प्रतिवादीहरूले अभियोग दाबीबमोजिम सजाय पाउनुपर्छ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी आशिष सुवेदीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान् अधिवक्ता श्री प्रविण सुवेदीले अभियोजनमा उल्लेख भएअनुसार हतियार बरामद नभएको, घा जाँच प्रतिवेदनमा समेत घाउको प्रकृति fatal भनी उल्लेख नभएको, घा जाँच गर्ने चिकित्सकले अदालतमा बकपत्रसमेत नगरेको, प्रतिवादी वारदात मितिका दिन वारदात स्थलमा नरहेकामा प्रतिवादी आशिष सुवेदीलाई सहअभियुक्तले पोल गरेकोलाई यकिन प्रमाण (conclusive evidence) को रूपमा लिन नमिल्ने र प्रतिवादी आशिष सुवेदीको पीडितको ज्यान मार्ने foresight, intention समेत नभएको अवस्थामा अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
मेरो छोरा हरि खतिवडालाई केही दिन पहिला निज बस्ने ठाउँमा विपक्षीहरू दिपे भन्ने दिपक माझी, इन्द्रबहादुर कटुवाल, मोहन सुवेदी, सुनिल धिमाल र रितेश भुजेलसमेत ५ जनाले मिति ०६८।४।२२ गते राति अं. २१:४५ बजे एक्लो बनाई धारिलो हतियार खुकुरीले शरीरको यत्रतत्र भागमा प्रहार गरी काटी घाइते बनाई ज्यान मार्ने उद्योग गरेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा अनुसन्धानको क्रममा तयार पारिएको घटनास्थल मुचुल्का तथा जाहेरी दरखास्त, घाउ जाँच केश फारम, प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूको कागज र वस्तुस्थिति मुचुल्कासमेतका कागज प्रमाणहरूसमेतबाट प्रतिवादीहरू दिपे भन्ने दिपक माझी, इन्द्रबहादुर कटुवाल आशिष सुवेदी, सुनिल धिमाल र रितेश भुजेलले मिति २०६८।४।२२ गते ज्यान नै मार्ने मनसायले पीडित हरि खतिवडालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कार्य कसुरमा ऐ. ऐनको ऐ. महलको १५ नं. बमोजिम सजाय गरी बिलबमोजिम घा खर्चसमेत प्रतिवादीहरूबाट पीडितबाट दिलाई भराइपाउँ भन्ने बेहोराको अभियोग मागदाबी रहेको देखिन्छ । प्रतिवादीहरूले जोखमी हतियार खुकुरीले पीडितलाई प्रहार गरेको पुष्टि हुँदा निजहरूले ओरोपित कसुर अपराध गरेको ठहर्छ । प्रतिवादी दिपे भन्ने दिपक माझी र आशिष सुवेदीलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद हुने ठहर्छ र प्रतिवादीहरूबाट पीडितले रू.३,००,०००।- (तीन लाख) घाउ खर्च भरिपाउने र प्रतिवादीहरू सुनिल धिमाल र इन्द्रबहादुर कटुवालले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको मोरङ जिल्ला अदालतको फैसला देखिन्छ । पुनरावेदन अदालत विराटनगरमा वादी नेपाल सरकार र प्रतिवादी आशिष सुवेदीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत विराटनगरबाट मोरङ जिल्ला अदालतको फैसला सदर भएको देखिन्छ । सोउपर चित्त नबुझी प्रतिवादी आशिष सुवेदीको यस अदालतमा पुनरावेदन परेको देखिन्छ भने प्रतिवादी सुनिल धिमाल र इन्द्रबहादुर कटुवाललाई अभियोग दाबीबमोजिम सजाय ठहर गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन परेको देखिन्छ ।
उपर्युक्तानुसारको तथ्य रहेको प्रस्तुत मिसिलमा पक्ष विपक्षका कानून व्यवसायीहरू तथा विद्वान् उपन्यायाधिवक्ताले प्रस्तुत गर्नुभएको उल्लिखित बहससमेत सुनी निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियोः-
क. प्रतिवादीको alibi को जिकिर पुग्न सक्छ वा सक्दैन ?
ख. प्रतिवादीको पीडितको ज्यान मार्ने foresight, intention र reason थियो वा थिएन ?
ग. वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?
२. निरूपण गरिनुपर्ने पहिलो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादी आशिष सुवेदीद्वारा वारदात मिति र समयमा आफू अन्यत्र रहेको भनी alibi को जिकिर लिएको पाइन्छ । Alibi को जिकिरको फौजदारी मुद्दामा विशेष अर्थ रहन्छ । त्यस्तो जिकिर प्रतिवादी, लिने भएका निजले पुष्टि गर्नुपर्दछ । Alibi पुष्टि गर्ने क्रममा पेस गर्नुपर्ने प्रमाणको भार जिकिरकर्तालाई रहन्छ भने सो प्रमाणको मूल्याङ्कन अदालतद्वारा गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा २८ मा, “कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुने छ भनी कुनै नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै रहने छ” भन्ने व्यवस्था रहेको देखिन्छ । Plea of alibi सम्बन्धमा सर्वोच्च अदालतबाट चाल्स गुरूमुख शोभराज विरूद्ध नेपाल सरकार रहेको मुद्दामा, “कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्यस्थल (alibi) को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्य स्थल alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिका विरूद्ध नै प्रमाण लाग्न जाने” भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ । प्रतिपादित भएको उक्त सिद्धान्त प्रस्तुत मुद्दाको हकमा समेत सान्दर्भिक रही मननीय देखिन्छ । Alibi को जिकिर मुख्यतया प्रतिवादीले पेस गरेको साक्षीको बकपत्र र अन्य थप प्रमाणहरूद्वारा परीक्षण गरिन्छ । सो प्रमाणहरू मूल्याङ्न गर्ने क्रममा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छः-
क. जिकिरकर्ताद्वारा alibi को जिकिरलाई समर्थन गरिने के-कस्ता प्रमाणहरू पेस गरिएको छ ?
ख. Alibi मा उल्लेख भएको स्थानबाट वारदातस्थलमा वारदात मिति र समयमा पुग्न सम्भव रहे नरहेको ?
यस विषयमा सर्वोच्च अदालतबाट टिकाराम राईसमेत विरूद्ध नेपाल सरकार रहेको मुद्दामा, “अन्यत्रस्थल (alibi) रहेको जिकिरको सम्बन्धमा हेर्दा, प्रमाण ऐन, २०३१ को दफा २७ को उपदफा (१) मा भएको कानूनी व्यवस्थाबमोजिम आरोपित कसुरबाट सफाइ वा छुट पाउनको लागि घटनास्थलमा उपस्थित नभई अन्यत्र थिएँ भन्नका लागि प्रतिवादीले आफूले अन्यत्र स्थल (alibi) को दाबी पुष्टि गर्नु पहिलो र अनिवार्य सर्त हो ।.......आफू अन्यत्र रहेको भनी अन्यत्रको दाबी लिनेले कानूनतः आफू त्यसरी अन्यत्र रहेको पुष्टि गर्नुपर्ने हुन्छ । केवल लगाइएको आरोपबाट सफाइ पाउने मनसाय र उद्देश्यले मात्र अन्यत्र रहेको थिएँ भन्ने कुरा तर्कयुक्त र स्वीकार्य हुन सक्तैन” भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ । Alibi को सम्बन्धमा उक्त मुद्दामा अदालतद्वारा उल्लेख गरेका सर्तहरू प्रस्तुत मुद्दाको हकमा समेत सान्दर्भिक देखिन्छ । प्रमाण ऐनको दफा २७(१) लाई हेर्दा, “प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुनेछ” भन्ने व्यवस्था उल्लेख भएको देखिएको अवस्थामा प्रतिवादी आशिष सुवेदीद्वारा आफू Triton International College काठमाडौंमा कक्षा १२ मा अध्ययनरत रहेकोले वारदात मितिमा समेत आफू काठमाडौंमा नै रहेकोले आफू वारदात मितिमा वारदात स्थानमा नरही अभियोग दाबीबमोजिम कसुर नगरेको भन्ने जिकिर लिएको देखिन्छ । यस सम्बन्धमा मिसिल संलग्न प्रमाणहरू हेर्दा, पीडित हरि खतिवडाले रितेश भुजेल, आशिष सुवेदी र दिपे भन्ने दिपक माझीसमेतले ३ वटा खुकुरी प्रयोग गरी मेरो पछाडि पाता, ढाड, टाउको र हातमा समेत आफूलाई प्रहार गरेको भन्ने बेहोराको घटना विवरण कागज गरी सोही बेहोराको अदालतमा बकपत्रसमेत गरेको देखिन्छ । सो बेहोरालाई समर्थन गर्दै वादीका साक्षीहरूले घटना विवरण कागज तथा वस्तुस्थिति मुचुल्कासमेत गरेको देखिन्छ । यसैगरी प्रतिवादीमध्येका दिपे भन्ने दिपक माझी र इन्द्रबहादुर कटुवालले अनुसन्धानको क्रममा गरेको बयानमा समेत आशिष सुवेदी घटनामा संलग्न रहेको भनी उल्लेख भएको देखिन्छ । प्रतिवादीले लिएको जिकिरलाई पुष्टि गर्न निज प्रतिवादीका साक्षी उमेश धिमालले निज प्रतिवादी आशिष सुवेदी उक्त मितिमा घटनास्थलमा नरेहको भनी बकपत्र गरेको देखिए तापनि प्रतिवादी अध्ययनरत रहेको कलेजको उक्त मितिको हाजिरी वा अन्य थप प्रमाणसमेत पेस हुन सकेको
देखिँदैन । घटना विवरण तथा वस्तुस्थिति मुचुल्का, वादीका साक्षी, पीडितले गरेको बयान तथा बकपत्र एवं सहअभियुक्तमध्येका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको बयानले प्रतिवादी आशिष सुवेदी वारदात मितिमा सो स्थलमा रही वारदातमा संलग्न रहेको भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा प्रतिवादीले अन्य ठोस प्रमाण पेस गरी अन्यत्र रहेका पुष्टि गर्न नसकेको अवस्थामा एक जना साक्षीले गरेको बकपत्रको आधारमा मात्र प्रतिवादीले लिएको अन्यत्र स्थल रहेको (alibi) को जिकिर विश्वसनीय देखिँदैन ।
३. निरूपण गरिनुपर्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा, निजको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले त्यस्तो कार्य गर्ने foresight, intention समेत नरहेको भन्ने जिकिर लिएको पाइन्छ । कसुर पुष्टि गर्न आपराधिक कार्य (actus reus) का साथ साथै मानसिक तत्त्वसमेत रहनुपर्ने हुन्छ भने foresight (पूर्वानुमान), intention (अभिप्राय) लाई अपराधका मानसिक तत्त्व (mens rea) को रूपमा लिइन्छ । अभियुक्तले स्वइच्छाले (voluntarily) कसुरजन्य कार्य गर्ने मनसाय राखी गरेको पूर्वानुमान, सोबमोजिमको तयारी वा पूर्वयोजना र तयारीबमोजिमको कसुरजन्य कार्यबाट नै वारदातको क्रममा अभियुक्तको मानसिक तत्त्व उजागर भइरहेको हुन्छ । यस सन्दर्भमा नेपाल सरकार विरूद्ध ऐजुव खाँ मियाँसमेत भएको मुद्दामा सर्वोच्च अदालतबाट, “मनसाय तत्त्व आपराधिक कार्यबाट नै खोजिने र हेरिने विषय हो; त्यसैले यो सधैँ मुखरित अवस्थामा नहुन पनि सक्छ । कार्यको प्रकृति, सम्भावित परिणाम र सो परिणाम ल्याउन अभियुक्तले चालेको कदमहरू समग्रतामा नै मनसाय तत्त्वको खोजी गरिनुपर्छ । अभियुक्तले आफ्नो कार्यको सम्भावित परिणाम यस्तो हुन सक्छ भन्ने जानकारी वा ज्ञान राखेको थियो वा थिएन; कार्यलाई हेरी यस्तो कार्यबाट यस्तो परिणाम निस्कन्छ भनी सामान्य समझको व्यक्तिले पनि भन्न सक्ने अवस्था अमुक वारदातमा थियो वा थिएन भन्ने यकिन गरिनुपर्छ” भनी व्याख्या भएको
देखिन्छ । प्रस्तुत मुद्दामा पीडित हरि खतिवडाको घा जाँच केश फारममा, a) scar wound 5” in length over left shoulder b) semi-circular scar mark 7” in length in upper part of arm c) scar mark from sharp cut injury around 9”, 5” in length over scapular region, d) scar wound 6” in length with nerves tendon injury in little finger e) cut injury 4” in length over right forearm f) multiple scar mark from sharp cut injury lacerated wound 4 in number, largest of 3” in length all over scalp भनी उल्लेख भएको पाइन्छ । घा जाँच केस फाराममा पीडितको टाउको, पाखुरा, हातलगायतका भागमा sharp cut injury अर्थात् धारिलो हतियारको प्रयोगले भएको घाउ भनी उल्लेख भएको देखिन्छ । प्रतिवादी आशिष सुवेदीले पीडितको ज्यान मार्ने मनसाय राखी पीडित एक्लै भएको मौका पारी खुकुरी जस्तो धारिलो हतियारले पीडितको हात, पाखुरा, टाउकोलगायतको भागमा प्रहार गरेको भन्ने स-प्रमाण पुष्टि भएको अवस्थामा प्रतिवादीको पीडितको ज्यान मार्ने पूर्वानुमान तथा अभिप्राय नरहेको भन्ने जिकिरसँग सहमत हुन सक्ने देखिएन । प्रतिवादीले ज्यान मार्ने मनसाय राखी पीडितको टाउको जस्तो अंगमा खुकुरी प्रहार गरेकोमा पीडितको घाउ घातक भनी घा जाँच केस फाराममा उल्लेख नभएको हुनाले मात्र प्रतिवादीको उक्त कार्य ज्यान मार्ने उद्योगजन्य थिएन भन्न नमिल्ने । ज्यान मार्ने उद्योगको कसुरमा मनसाय प्रमुख तत्त्वको रूपमा रहने हुनाले पीडितको घाउको प्रकृति वा परिणामले मात्र निर्णायक भूमिका नराख्ने ।
४. अतः माथि विवेचित कानूनी व्यवस्था, नजिर एवं कारणहरूको रोहमा प्रतिवादी आशिष सुवेदी घटनाका दिन घटनास्थलमा नै रही घटनामा समेत संलग्न रहेको भन्ने देखिँदा प्रतिवादी आशिष सुवेदी र दिपक माझीलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद गर्ने गरी मोरङ जिल्ला अदालतको मिति २०७०।२।२९ को फैसला सदर गरी उच्च अदालत विराटनगरबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
५. वादी नेपाल सरकारद्वारा इन्द्रबहादुर कटुवाल र सुनिल धिमाललाई अभियोग मागदाबीबमोजिम सजाय गरी पाउन पुनरावेदन परेकोमा इन्द्रबहादुर कटुवाल र सुनिल धिमाल वारदात स्थलामा उपस्थित रहे भएको देखिए पनि पीडितलाई हात हतियार छाडी घाउ चोट पुर्याएको नदेखिएको हुँदा प्रतिवादी इन्द्रबहादुर कटुवाल र सुनिल धिमाललाई सफाइ दिई मोरङ जिल्ला अदालतले गरेको फैसला सदर गरी पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी प्रत्यर्थीहरूलाई दिई फैसलाको प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत : मेजुमी गुरूङ
इति संवत् २०७९ मार्ग १५ गते रोज ६ शुभम् ।