निर्णय नं. ११०२४ - मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०७९।८।१३
०७४-CI-१२८४
मुद्दा:- मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ
पुनरावेदक / वादी : ईश्वरीप्रसादकी बुहारी, शेखरलाल पलिखेलकी श्रीमती, भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.७ बस्ने शारदामैया जोशी पलिखेलको वारेस भई आफ्नो हकमा समेत जुजुबहादुरको नाति, ईश्वरीप्रसाद पलिखेलको छोरा, ऐ.ऐ. बस्ने शेखरलाल पलिखेल
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जुजुबहादुरको नाति, ईश्वरीप्रसादको छोरा, भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.७ देकोचा वन्ति बस्ने केशवलाल पलिखेलसमेत
अंशमा दुवै वादी प्रतिवादीको बराबर हक हुने तर ऋण चुक्ता गर्ने दायित्व वादीको मात्र हुने भन्नु न्यायसङ्गत नहुने हुँदा बैंकको ऋण चुक्ता गर्न रकम वादीले मात्र बुझाएको अवस्थामा प्रतिवादीको पनि उक्त ऋण तिर्ने वादीसरह बराबर दायित्व हुने भएकोले सगोलको सम्पत्ति बन्डा लाग्ने तर सगोलको ऋण बन्डा नलाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री पूर्णप्रसाद राजवंशी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७२, अङ्क ६, नि.नं.९४१७
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या. श्री लिप्तबहादुर थापा क्षेत्री
भक्तपुर जिल्ला अदालत
उच्च तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी
माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा
उच्च अदालत पाटन
फैसला
न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनउपर मुद्दा दोहोर्याउने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
पिता तथा ससुरा ईश्वरीप्रसाद र आमा तथा सासू केशरीमैया पलिखेलको तर्फबाट छोराहरूमध्ये वादी शेखरलाल पलिखेल र प्रतिवादी केशवलाल पलिखेलको जायजन्म भएकोमा प्रतिवादी केशवलाल र भिमेश्वरी पलिखेल घरमुलीको हैसियत ग्रहण गरी केशवलाल पलिखेल बैंकिङ तथा वित्तीय क्षेत्रमा सेवा गर्दै आएको र म वादी शेखरलाल पलिखेलले व्यापार व्यवसाय गरी कमाएको रकमसमेत दाइलाई नै दिँदै आएको र बैंकबाट लिएको ऋण रू.२०,००,०००।- को हिसाब नदेखाई एकलौटी प्रचलन गर्न थालेको तथा हरेक दाउपेच गरी सम्पत्ति हत्याउने उद्देश्य रची म शेखरलाल पलिखेलसमेतलाई अंश हक मार्ने प्रपञ्च रचेकोले मसमेत वादी र प्रतिवादीहरूसमेत प्रतिवादी भई २०७० सालमा यसै अदालतमा अंश चलन मुद्दा दायर भई मिति २०७१।१।७ मा मिलापत्र भएको अवस्था छ । उक्त मुद्दा मिलापत्रको क्रममा म शेखललाल पलिखेलले व्यापार व्यवसाय गरी प्राप्त भएको रकमसमेत लगाई विपक्षीमध्ये भाउजू, जेठानी दिदी भिमेश्वरी पलिखेलको नाममा राजीनामाबाट आर्जन गरेको कि.नं.३०० र ३०१ को जग्गा र सोमा बनेको घरसमेत मिति २०७१।१।७ मा मिलापत्र हुँदा भिमेश्वरी पलिखेलको हक हिस्सामध्येबाट आधा हक हिस्सा म फिरादीमध्ये शारदामैया जोशी पलिखेलको कायम हुने र उक्त घरजग्गा नेपाल बैंक लिमिटेड भक्तपुर, कमलविनायकबाट दृष्टि बन्धकमार्फत रोक्का भएकोले सो दृष्टि बन्धकी ऋणको हकमा अंश मुद्दाको प्रतिवादीहरूका परिवारका सदस्यहरूको आम्दानीको स्रोतलाई ध्यानमा राख्दै शेखरलाल पलिखेलले नेतृत्व गरी ऋण बुझाउन पहल गरी विपक्षीको आम्दानीको स्रोत राम्रो भएकोले विपक्षीबाट ऋण चुक्ता भई रोक्का फुकुवा भई आएपछि म वादी शारदामैयाको आधा र प्रतिवादी भिमेश्वरी पलिखेलको आधा हिस्सा रहने गरी मिलापत्र भएकोमा प्रतिवादीहरूले उक्त मिलापत्रको सर्त इमानदारीका साथ पालना नगरी प्रतिवादीले आम्दानीको स्रोतलाई ध्यान नदिई ऋण नतिरी बसेको हुँदा बैंकको पटकपटक ताकेतापश्चात् म वादीले नै ऋण गरी उक्त बैंकको ऋण चुक्ता गरिसकेकोले मिलापत्रबमोजिमको ऋण तिर्ने दायित्व प्रतिवादीहरूले निजहरूको आर्थिक हैसियतको आधारमा समेत तिर्नु बुझाउनुपर्ने हुँदा वादीले सो मिलापत्रबमोजिम उक्त बैंकमा तिरे बुझाएको रकम रू.२०,८०,३९६।५२ र सोको चलन चल्तीको १० प्रतिशत ब्याज़समेत र कोर्ट फीलगायतका सम्पूर्ण रकम प्रतिवादीहरूबाट दिलाई भराई पाउँ भन्ने बेहोराको वादीहरू शेखलाल पलिखेल र शारदामैया जोशी पलिखेलले दायर गरेको फिराद दाबी ।
वादीले हामीउपर अंश मुद्दा नै दिइसकेपछि यसै ऋण तिर्न बुझाउन छलफल भई मिलापत्रमै उल्लेख भएबमोजिम वादी शेखरलालले नेतृत्व लिई ऋण चुक्ता गर्ने र ऋण चुक्ता भई घर जग्गा फुकुवा भएपश्चात् निजका श्रीमती वादी शारदामैया जोशी पलिखेलको नाउँमा आधा हिस्सा जनाउने भनी प्रस्ट उल्लेख भएबमोजिमको सम्पूर्ण क्रिया कार्यान्वयन भएपछि ऋण तिरिदिएन भनी हचुवाका भरमा दाबी गर्दैमा पुग्न सक्ने होइन । कथमकदाचित हामीले तिर्नु बुझाउनुपर्ने दायित्व पूरा नगरेको भए बैंकमा ऋण चुक्ता गर्नुपूर्व यसतर्फ दाबी गर्ने नै थिए । उक्त ऋण एवं मिलापत्रको कार्यान्वयनको पूरै प्रक्रियामा हामीले हाम्रो दायित्व अक्षरश: इमान्दारीपूर्वक निर्वाह गरी आएका छौं । यस्तो अवस्थामा वादीले एक्लैले ऋणको दायित्व बहन गरेको जस्तो देखिने गरी हचुवाको भरमा उल्लेख गरी मिलापत्रमा वादीलाई रकम उपलब्ध गराउनुपर्ने एक शब्दसम्म पनि उल्लेख नभए नरहेकाले वादीको फिराद दाबी पुग्न सक्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरू केशवलाल पलिखेल र भिमेश्वरी पलिखेलको संयुक्त प्रतिउत्तर जिकिर ।
बैंकको सावाँ ब्याज रकम वादी शारदामैया जोशीले मात्र तिरे बुझाएको देखिएको र सो रकममध्ये आधी रकम प्रतिवादीहरूले पनि तिर्न बुझाउन पर्ने तथ्य मिलापत्रमा उल्लेख भएको बेहोरा एवं स्वयं प्रतिवादीहरूले प्रतिउत्तर-पत्रमा स्वीकार गरेको अवस्था हुँदा वादीले दाबी लिएको रू.२०,८०,३९६।५२ मध्ये आधी रकम रू.१०,४०,१९८।२६ र सोको कानूनबमोजिमको ब्याज रकमसम्म वादीले प्रतिवादीहरूबाट दिलाई भराई लिन पाउने ठहर्छ । बैंकमा बुझाएको पूरै रकम र सोको ब्याज रकमसमेत दिलाइपाउँ भन्ने फिराद दाबी आधी सावाँ र सो आधी सावाँको ब्याज रकमको हदसम्म पुग्न सक्ने अवस्था नदेखिँदा सो आधी रकममा दाबी पुग्न सक्दैन भन्ने भक्तपुर जिल्ला अदालतको मिति २०७२।१०।६ को फैसला ।
वादी दाबी पुष्टि गर्ने भार वादीमा रहने कानूनी व्यवस्था छ । विपक्षीले मिलापत्रबमोजिम रकम दाबी गर्न सप्रमाण मिलापत्रमा उल्लिखित आधारलाई नै पुष्टि गर्नुपर्दछ । मिलापत्रमा कहीँकतै पनि हामीले विपक्षीलाई रकम तिर्नु बुझाउनु दिनुपर्छ भनी एक शब्दसम्म पनि छैन । विपक्षीकै फिराद दाबीमा पनि हामीले रकम विपक्षीलाई तिर्ने बुझाउनुपर्ने सर्त छ भन्ने उल्लेखसम्म छैन । यस्तोमा कुनै अमुख मुद्दाको प्रतिउत्तरमा आधा रकम बुझाएको भनी उल्लेख गर्दैमा त्यसको पुष्टि प्रतिरक्षा गर्नेले गर्न नसकेको भन्ने आधार लिई वादीलाई प्रमाणको भारबाट उन्मुक्ति दिने गरी भए गरेको फैसला प्रमाणको भार वादीमा रहने सिद्धान्त र प्रमाण ऐन, २०३१ को दफा २५ समेतको विपरीत हुँदा उक्त फैसला बदर गरी विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने केशवलाल पालिखे र भिमेश्वरी पालिखेको संयुक्त पुनरावेदन ।
यसमा वादी प्रतिवादीबिच मिति २०७१।१।७ मा भएको मिलापत्रमा उल्लिखित सर्तसमेतलाई मध्यनजर नगरी भएको सुरू फैसला सो मिलापत्रको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त मुलुकी ऐन, अ.बं.२०२ नं. एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भएमा वा सोको अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७३।४।३१ को आदेश ।
दाबीको मिलापत्र बेहोराबाट प्रतिवादीले आधा रकम तिर्नुपर्ने स्पष्ट उल्लेख नभएको र बैंकको रकम तिर्न अगावै सो रकम सम्बन्धमा मिलापत्रबमोजिम गरिपाउन दाबी लिएको नदेखिई बैंकको रकम बुझाई संयुक्त पुर्जा बनाई त्यसको करिब ७ महिनापछि प्रस्तुत मिलापत्रबमोजिमको रकम पाउँ भनी दाबी लिई आएको अवस्था देखिँदा वादी दाबी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा दाबी पुग्ने ठहर गरेको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७२।१०।६ को फैसला उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने उच्च अदालत पाटनबाट मिति २०७३।७।२३ मा भएको फैसला ।
विपक्षीले प्रतिउत्तर फिराउँदा लगाउमा रहेको घर जग्गा दर्ताफारी मुद्दाको प्रतिउत्तर-पत्र प्रकरण ३ मा मिति २०७१/६/२२ मा आधा रकम विपक्षीले तिरे बुझाएको यथार्थलाई लत्याएको भन्दै शेखरलाल पलिखेलले आधा र प्रतिवादीले आधा-आधा तिर्ने बुझाउने सर्तबमोजिम बैंकको ऋण चुक्ता भएको हो भनी उल्लेख भएकोतर्फ हेर्दै नहेरी प्रमाण नै नबुझी लिखित रूपमा स्वीकारेको कुरालाई प्रमाण बुझ्नु नपर्नेमा उल्टो अर्थ गरी प्रमाण ऐन, २०३१ को दफा ९, ३४ र ५४ विपरीत उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदन गर्दासम्म पनि विपक्षीले आधा रकम तिरे बुझाएको यथार्थ बेहोरा खुलाएको भन्ने र सो बेहोरा पुष्टि गर्न नसक्ने भएपछि मिलापत्रलाई स्वीकार गरी प्रतिवादीहरू परिवारका सम्पूर्ण सदस्यहरूको आम्दानीको स्रोतलाई ध्यानमा राखी वादी शेखरलाल पलिखेलले नेतृत्व गरी ऋण चुक्ता गर्ने भन्ने मिलापत्रको पृष्ठ २ प्रकरण १८ र १९ हरफमा उल्लिखित बेहोरालाई आधा हिस्सा विपक्षीले ऋण तिर्ने व्यावहारिक कुरालाई स्वीकार गरेकोमा आधा रकम तिरेको निस्सा पेस दाखिल गरेको देखिँदैन । मेरो नाम रहेको पलिखेल स्टोर देखाई विपक्षी भिमेश्वरी पलिखेलको नाममा रहेको जेथाबाट एकासगोलमा रहेका घरमुलीको रूपमा रहेका दाइ केशवलाल पलिखेलको बचन काट्न नसकी ऋणीमा पलिखेल स्टोर रहेको भए तापनि ऋण लिएको रू.२०,००,०००।- A/A ६५५४२९२१ को चेकबाट मिति २०६६/१०/५ मा रू.१९,८८,०००।- र A/A ६५५४२९२५ को चेकबाट मिति २०६८/७/१६ मा रू.४,९००/- समेत निज आफैँले झिकी लिई प्रयोग गरेको, विपक्षीका छोरा उठाई भक्तपुर जिल्ला अदालतमा पुनः ०७२-CP-०२९८ को मिलापत्र बदर मुद्दा मिति २०७१/७/२९ मा दर्ता गरी जसोतसो हामी निवेदक वादीलाई दुःख दिइरहने नियतबाट अभिप्रेरित भई साह्रै अन्यायपूर्ण कार्य गर्दै आएको र हामी पीडित व्यक्तिलाई झन् अन्याय थोपर्ने गरी भएको सुरू अदालतले गरेको न्यायिक विवेकसङ्गत फैसला बदर हुने गरी उच्च अदालतबाट भएको फैसला अन्यायपूर्ण भएको हुँदा सो फैसला बदर गरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला सदर यथावत् कायम हुने गरी न्याय पाउँ भन्ने बेहोराको निवेदक / वादी शेखरलाल पलिखेलसमेतले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्याई हेरिपाउँ निवेदन ।
यसमा यिनै निवेदक प्रतिवादी प्रत्यर्थी वादी भई भक्तपुर जिल्ला अदालतमा चलेको दे.मि.नं.०२७५ को अंश चलन मुद्दामा यिनै पक्षहरूबिच मिति २०७१।१।७ मा भएको मिलापत्रसहितको सक्कल मिसिल भक्तपुर जिल्ला अदालतबाट झिकाई आएपछि नियमानुसार गरी पेस गर्नुहोला भनी यस अदालतबाट मिति २०७४।१०।२ मा भएको आदेश ।
यसमा मिति २०७१।१।७ गते यी निवेदक शेखरलाल पलिखेलसमेत वादी र केशवलाल पलिखेलसमेत प्रतिवादी भएको अंश चलन मुद्दामा भएको मिलापत्रमा वादी शेखरलाल पलिखेल र प्रतिवादीहरू परिवारका सम्पूर्ण सदस्यहरूको आम्दानीको स्रोतलाई ध्यानमा राख्दै इमानदारीसाथ वादीमध्येको शेखरलाल पलिखेलले नेतृत्व गरी ऋण बुझाउन पहल गरी ऋण चुक्त गर्न रोक्का फुकुवा भई आएका बखत उल्लिखित आधारमा भिमेश्वरी पलिखेलको आधा र शारदामैया जोशी पलिखेलको आधा हिस्सा रहने गरी मिलापत्र भएअनुरूप जग्गा र घर आधा-आधा लिएको भन्नेमा विवाद नरहेको तर सोबापत ऋण आफूहरूले मात्र तिरेको हुँदा सो रकम दिलाइपाउँ भन्ने वादी दाबी भएकोमा प्रतिवादीहरूले आफूले तिरेको भनी उल्लेख गरे तापनि ऋण चुक्ता गर्नका लागि रकम दिएको भन्ने प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा वादी दाबी नपुग्ने गरी पुनरावेदन अदालतबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, अ.बं.१८४क र १८५ को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७५।३।१२ मा भएको आदेश ।
मिलापत्रमा उल्लेख नै नभएको रकम उक्त मिलापत्रबमोजिम तिर्नु बुझाउनुपर्दछ भनी दाबी लिनु विपक्षीलाई हकदैया नभएको हुँदा प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं.८२ नं. को विपरीत छ । विपक्षीकै फिराद दाबीमा पनि हामीले रकम विपक्षीलाई तिर्ने बुझाउनुपर्ने सर्त छ भन्ने उल्लेखसम्म छैन । ऋण बुझाइसकेपछि मिलापत्रमा लेखिएबमोजिम म भिमेश्वरी र विपक्षी शारदामैयाका नाउँमा उल्लिखित घर जग्गा मि.नं.२०७(ख) मिति २०७१।९।२३ को दा.खा. निर्णयबाट आधाआधा हक हिस्सा जनिएको यथार्थ हो । संयुक्त नाउँमा आएपछि विपक्षीले म भिमेश्वरीउपर सम्मानित त्यसै अदालतमा घर जग्गा दर्ताफारी कित्ताकाट मुद्दा मिति २०७१।०७।२९ मा दायर गरेका हुन् । यस्तो काम कारबाहीमा विपक्षीले कहीँकतै पनि हामीबाट मिलापत्रअनुरूप रकम पाउनुपर्दछ भनी दाबीसम्म पनि नगरेको अवस्था विद्यमान छ । उक्त मुद्दाको फिरादमा विपक्षी एक्लैले बैंकको ऋण तिरे बुझाएको भनी झुट्टा बेहोरा उल्लेख गरेकोमा हामीले आधा ऋण तिर्न रकम विपक्षीलाई बुझाएको भनी यथार्थ खुलाई प्रतिउत्तर पेस गरेपछि, मिलापत्र भएको एक वर्ष चार महिनापछि मात्र प्रस्तुत मुद्दा दायर हुनुले पनि विपक्षीको दूषित नियत देखिन्छ । विपक्षीमध्येका शारदामैया पलिखेललाई मिलापत्र भएको मुद्दाको पक्ष विपक्ष, वादी प्रतिवादी नभएकाले प्रस्तुत मुद्दा गर्ने हकदैया छैन । निज शारदामैया पलिखेललाई ऋण सापटी लिएको जस्तो गरी रकम र सोको ब्याज तिर्नु बुझाउनुपर्ने गरी भए गरेको जिल्ला अदालतको फैसला स्थापित मान्यता सिद्धान्तसमेतको विपरीत छ । अदालतकै रोहवरमा भए गरेको मिलापत्रलाई अपव्याख्या गर्ने गरी भए गरेको जिल्ला अदालतको फैसला बदर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला नै कायम हुने गरी विपक्षीको प्रस्तुत दोहोर्याई पाउने निवेदन खारेज गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू केशवलाल पलिखेल र भिमेश्वरी पलिखेलको यस अदालतमा परेको लिखित प्रतिवाद ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन-पत्रसहितको मिसिल संलग्न कागजातहरू अध्ययन गरियो ।
पुनरावेदक/वादी शारदामैया जोशी पलिखेलसमेतको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री पूर्णप्रसाद राजवंशीले विपक्षीले वादी शेखरलाल पलिखेलले नेतृत्व गरी ऋण चुक्ता गर्ने भन्ने मिलापत्रको पृष्ठ २ प्रकरण १८ र १९ हरफमा उल्लिखित बेहोरालाई आधा हिस्सा विपक्षीले ऋण तिर्ने व्यावहारिक कुरालाई स्वीकार गरेकोमा आधा रकम तिरेको निस्सा पेस गरेको देखिँदैन । सुरू जिल्ला अदालतबाट फैसला गर्दा लिइएका आधार, बुझिएका प्रमाणलाई विपक्षीले खण्डन गर्न सकेको अवस्था देखिँदैन । मिलापत्रलाई बेवास्ता गर्दै ऋणको दायित्व वादीहरूलाई मात्र बेहोराउने उद्देश्यका साथ सुरू जिल्ला अदालतबाट भएको फैसला उल्टी गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला बदर गरी मेरो पक्षलाई इन्साफ दिलाइपाउँ भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।
उपर्युक्तानुसार सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला उल्टी हुने ठहर्याएको उच्च अदालत पाटनको मिति २०७३।०७।२३ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाका वादी प्रतिवादीबिच चलेको अंश चलन मुद्दाको मिति २०७१।०१।०७ मा भएको मिलापत्रबमोजिम प्रतिवादी भिमेश्वरी पलिखेलको नाममा रहेको कि.नं.३०० र ३०१ को जग्गा र सोमा बनेको घरसमेत आधाआधा वादी प्रतिवादीबिच हक हिस्सा कायम हुने र उक्त घर जग्गाको दृष्टि बन्धकी राखी लिएको ऋण वादी शेखरलाल पलिखेल र शारदामैया जोशीले चुक्ता गरिसकेकोले प्रतिवादीहरूबाट वादीले उक्त बैंकमा तिरे बुझाएको रकम र सोको चलनचल्तीको ब्याजसमेत दिलाई भराई पाउँ भन्ने बेहोराको फिराद दाबी रहेको प्रस्तुत मुद्दामा सावाँ रकम रू.२०,८०,३९६।५२।- को आधी रकम रू.१०,४०,१९८।२६।- र सोको कानूनबमोजिमको ब्याज रकमसमेत वादीले प्रतिवादीहरूबाट दिलाई भराई लिन पाउने ठहर्याइ सुरू भक्तपुर जिल्ला अदालतबाट फैसला भएकोमा उक्त फैसलामा चित्त नबुझाई उच्च अदालत पाटनमा वादीको पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याइ उच्च अदालत पाटनबाट भएको फैसलाउपर चित्त नबुझाई वादीहरूको यस अदालतमा दोहोर्याइपाउँ भन्ने निवेदन दर्ता भएकोमा अनुमति प्रदान भई पुनरावेदनको रोहमा निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखियो ।
३. पुनरावेदक वादीले नेपाल बैंक लिमिटेड भक्तपुर शाखाबाट लिएको कर्जा चुक्ता गरेको रकमको आधा रकम प्रतिवादीहरूबाट भराई लिन पाउने हो, होइन भन्ने सम्बन्धमा हेर्दा, यिनै वादी प्रतिवादी भई भक्तपुर जिल्ला अदालतमा चलेको दे.मि.नं.०२७५ को अंश चलन मुद्दामा मिति २०७१।०१।०७ मा मिलापत्र भएको देखियो । सो मिलापत्रमा “नेपाल बैंक लिमिटेड, भक्तपुर, कमलविनायक शाखाबाट लिएको ऋणको हकमा वादी शेखरलाल पलिखेल र प्रतिवादीहरू परिवारका सम्पूर्ण सदस्यहरूको आम्दानीको स्रोतलाई ध्यानमा राख्दै इमान्दारीका साथ वादीमध्ये शेखरलाल पलिखेलले नेतृत्व गरी ऋण बुझाउन पहल गरी ऋण चुक्ता भई रोक्का फुकुवा भई आएका बखत उल्लिखित आधारमा प्रतिवादीमध्ये भिमेश्वरी पलिखेलको आधा र मिलापत्र गर्न उपस्थित भएकी शारदा मैंया जोशी पलिखेलको आधा हिस्सा रहने गरी लिन दिन मन्जुर भएको” भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । उक्त मिलापत्रमा बैंकको ऋण चुक्ता गरी कि.नं.३०० र ३०१ को जग्गा र सोमा बनेको घर सम्पत्ति फुकुवा भई आएपछि आधा गर्ने भनेको, वादी प्रतिवादी छुट्टि भिन्न भइसकेको अवस्थामा एकजना अंशियारले पहल नगरेमा ऋण चुक्ता हुन कठिनाइ हुने व्यवहारिकतासमेतलाई मध्यनजर गरी शेखरलाल पलिखेलले पहल गर्ने भन्ने उल्लेख भएको देखिन्छ ।
४. तत्काल प्रचलित मुलुकी ऐन, अंशबन्डा महलको १८ नं. “मानो नछुट्टिई सँगै बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दाका वादी प्रतिवादीबिच भक्तपुर जिल्ला अदालतमा चलेको दे.मि.नं.०२७५ को अंश चलन मुद्दामा मिति २०७१।०१।०७ मा भएको मिलापत्रबमोजिम अंश बन्डा गर्दा उक्त ऋण धन दुवै बन्डा लाग्ने देखिन आउँछ । यसै सन्दर्भमा निवेदक कल्पनाकुमारी कर्ण विरूद्ध प्रतिवादी पुनरावेदन अदालत जनकपुरसमेत भएको उत्प्रेषण मुद्दा (ने.का.प.२०७२, अङ्क ६, निर्णय नं.९४१७) मा “सगोलमा रहेको अवस्थामा सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सबैको बराबरी हक लाग्ने तर सगोलको परिवारको ऋण तिर्ने दायित्व सबैको बराबरी नहुने भन्ने हुँदैन । त्यसै हुनाले सबैले खाएको ऋणउपरको दायित्व घरको मुख्यको मात्रै हुन्छ भन्न न्यायसङ्गत र कानूनसम्मत दुवै हुन नसक्ने” सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यस्तो अवस्थामा प्रतिवादी भिमेश्वरी पलिखेलको नाममा रहेको भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.५(ख) कि.नं.३०० र ३०१ को क्षेत्रफल ०-३-१-० र ०-१-१-३ जग्गा र सोमा अवस्थित घरलाई नेपाल बैंक लिमिटेडमा धितो रहेको अवस्थामा वादी शारदामैया जोशी पलिखेलले उक्त ऋण चुक्ता गरी रोक्का फुकुवा भई आएपछि मिति २०७१।०९।२३ मा वादी शारदामैया जोशी पलिखेल र प्रतिवादी भिमेश्वरी पलिखेलको संयुक्त नाममा नामसारी गरिएको पाइयो । अंशमा दुवै वादी प्रतिवादीको बराबर हक हुने तर ऋण चुक्ता गर्ने दायित्व वादीको मात्र हुने भन्नु न्यायसङ्गत नहुने हुँदा बैंकको ऋण चुक्ता गर्न रकम वादीले मात्र बुझाएको अवस्थामा प्रतिवादीको पनि उक्त ऋण तिर्ने वादीसरह बराबर दायित्व हुने भएकोले सगोलको सम्पत्ति बन्डा लाग्ने सगोलको ऋण बन्डा नलाग्ने भन्न मिल्ने देखिन आएन ।
५. प्रतिवादीहरूले भक्तपुर जिल्ला अदालतमा पेस गरेको प्रतिउत्तर-पत्रमा एकातिर ऋणको आधा रकम वादीलाई बुझाउनुपर्ने बेहोरा मिलापत्रमा कतै उल्लेख नभएको हुँदा वादीलाई रकम तिर्न बुझाउनुपर्ने होइन भन्ने जिकिर लिए तापनि अर्कातर्फ आधा ऋण साँवा ब्याज हिसाब गरी वादीलाई उपलब्ध गराएपछि मात्र बैंकमा ऋण चुक्ता भएको हो भन्ने उल्लेख भएको देखिन्छ । मिलापत्रमा उल्लिखित नेपाल बैंक लिमिटेडबाट लिएको ऋण मिसिल संलग्न बैंकबाट प्राप्त पत्र तथा भौचरहरूबाट वादी शारदामैया जोशी पलिखेलले मात्र उक्त ऋण चुक्ता भुक्तान गरेको भन्ने देखिन आउँछ । अंशबन्डाको १८ नं. तथा यी वादी प्रतिवादीबिच मिति २०७१।०१।०७ मा भएको मिलापत्रबमोजिम उक्त नेपाल बैंक लि. भक्तपुर शाखाबाट लिइएको ऋण आधाआधा बुझाउनुपर्ने दायित्व वादी प्रतिवादीहरू दुवैको रहेको र वादीले मात्र बुझाएको देखिँदा सुरू फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने भनी उच्च अदालत पाटनबाट भएको फैसला न्यायसम्मत मान्न मिल्ने देखिन आएन ।
६. तसर्थ, माथि विवेचित आधार, प्रमाण र कारणबाट वादी दाबीबमोजिम वादीले नेपाल बैंक लिमिटेड, भक्तपुर शाखामा ऋण चुक्ता गर्न बुझाएको सावाँ आधी रकम र सोको कानूनबमोजिमको ब्याज रकमसम्म वादीले प्रतिवादीहरूबाट दिलाई भराई लिन पाउने ठहर गरी सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७२।१०।६ मा फैसला भएकोमा सो फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको उच्च अदालत पाटनको मिति २०७३।०७।२३ को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी शारदामैया जोशीले नेपाल बैंक लिमिटेड, भक्तपुर, कमलविनायक शाखामा तिरेको रकम रू.२०,८०,३९६।५२ मध्ये आधी रकम रू.१०,४०,१९८।२६ र सोको कानूनबमोजिमको ब्याज रकमसम्म वादीले प्रतिवादीहरूबाट दिलाई भराई लिन पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम
गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम उच्च अदालत पाटनको फैसला उल्टी भई वादी शारदामैया जोशी पलिखेलले प्रतिवादी केशवलाल पलिखेल र भिमेश्वरी पलिखेलबाट रू.१०,४०,१९८।२६ र सोको कानूनबोजिमको ब्याजसमेत वादीले प्रतिवादीहरूबाट भराई पाउने ठहरेकाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२९ बमोजिम वादीलाई प्रतिवादीहरूबाट बिगो भराइदिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू........................१
माथि ठहर खण्डमा लेखिएबमोजिम उच्च अदालत पाटनको फैसला उल्टी भई वादीले प्रतिवादीहरूबाट सावाँ रू.१०,४०,१९८।२६ र सोको कानूनबमोजिमको ब्याज भराई पाउने ठहरेकोले वादीले सुरू फिराद दायर गर्दा राखेको कोर्ट फी रू.२,५७३०।- मध्ये निजले दाबीको आधी रकम पाउने ठहरेकोले आधा कोर्ट फी रू.१४,१७२।- र यस अदालतमा दाखेल गरेको कोर्ट फी रू.२,५७३।- मध्ये सुरू अदालतको फैसलाबमोजिम निजले पाउने ठहरेको रू.१४,१७२।- को १० प्रतिशतले हुने रू.१,४१७।- समेत जम्मा रू.१५,५८९।- प्रतिवादीहरूबाट भराई पाउने हुँदा सो रकममध्ये प्रतिवादीहरूले उच्च अदालत पाटनमा पुनरावेदन गर्दा मिति २०७३।०२।२४, रसिद नं.९१३ मा रू.१४,१७२।- धरौटीमा दाखेल गरेको देखिँदा सो रकम वादीलाई उपलब्ध गराई दिनु भनी उच्च अदालत पाटनमा लेखी पठाउनू......................................२
वादीले यस अदालतमा दाखिल गरेको कोर्ट फी रू.२,५७३।- मध्ये रू.१,४१७।- प्रतिवादीहरूबाट नियमानुसार भराइदिनू भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू..................................३
सरोकारवालाहरूले प्रस्तुत फैसलाको नक्कल माग्न आए नियमानुसार दिनू......................................४
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.............५
उक्त रायमा सहमत छु ।
न्या.नहकुल सुवेदी
इजलास अधिकृत : अनु याकामी
इति संवत् २०७९ साल मङ्सिर १३ गते रोज ३ शुभम् ।