निर्णय नं. ११०२९ - अंश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
फैसला मिति: २०७८।१२।१३
०७०-CI-०७२५
मुद्दाः- अंश
पुनरावेदक / वादी : स्व.कैदु रानाको नाति स्व.लवरा रानाको छोरा जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं.६ बस्ने विदु राना थारू
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : स्व.कैदु रानाको नाति स्व. लवरा रानाको छोरा जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं. ६ बस्ने भुल्ली राना थारूसमेत
बाजेका हाँगाका व्यक्तिकै पालामा आफ्ना भतिजा तथा नातिहरूसमेतलाई बकसपत्रको माध्यमबाट जग्गा जमिनको स्वामित्व हस्तान्तरण भई आ-आफ्नो भाग हिस्सामा परेको जग्गा जमिन आ-आफ्नो नाममा जग्गाधनी पुर्जालगायतका स्रेस्ता खडा गरी भोग चलन गरी आएको अवस्थामा बाजेकै हाँगामा बन्डा भएको छैन भन्न नसकिने ।
(प्रकारण नं. ११)
घरमुलीबाट बकसपत्रका माध्यमबाट पैतृक सम्पत्ति प्राप्त गरी आ-आफ्नो भोग तथा व्यवहार गरी आएको र उक्त पुस्तामा अंशबन्डाको सम्बन्धमा कुनै विवाद खडा नभएको तथा हाल सो पुस्ताका व्यक्तिहरूको मृत्युसमेत भइसकेको अवस्थामा आ-आफ्नो जीवनकालमा आ-आफ्नो घर व्यवहार मिलाएर जीवन व्यतीत गरेको अघिल्लो पुस्ताको अंशबन्डा नै नभएको भन्ने कथन तर्कसङ्गत र न्यायोचित नदेखिने ।
(प्रकारण नं. १२)
पुनरावेदक वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल
प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खेमराज भट्ट
अवलम्बित नजिर :
ने.का.प २०६२ अङ्क नि.नं. ७५२४
ने.का.प २०४५ भाग ३० नि.नं. ३६०२
ने.का.प २०५० (ग) अङ्क १० नि.नं. ४८०८
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. न्या. श्री विष्णु सुवेदी
कैलाली जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री रेवन्तबहादुर कुँवर
मा. न्या. श्री भानुभक्त शर्मा न्यौपाने
पुनरावेदन अदालत दिपायल डोटी
फैसला
न्या. प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत पुनरावेदन पत्रसहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:
तथ्य खण्ड
मूल पुर्खा स्व. बाजेको ३ भाइ छोराहरूमा जेठा लवरा राना, माइला सवरा राना, र कान्छा भज्जन राना भएका, जेठा लवरा रानाका ५ भाइ छोराहरूमा जेठा भुल्ली राना, माइला वलदेव राना, साहिला छिदु राना, काइला म फिरादी विदु राना र कान्छा प्र. राजाराम राना भएका, माइला बुबा सवरा रानाका ३ भाइ छोराहरूमा जेठो प्र. भाडु राना, माइला प्र.शिवलाल राना, कान्छा प्र. विख्लु राना थारू भएका र कान्छा बुबा भज्जन रानाको २ भाइ छोराहरूमा जेठो प्र. वन्धु राना र कान्छा प्र. भिखारी राना भएको हामीबाहेक अन्य अंशियार नभएको र हामी अंशियारहरूबिच अंश बन्डा भएको छैन । यसरी माथि उल्लिखित हाम्रो पुस्तेवारी भएकोमा हामी अंशियारहरूबिच अंश बन्डा नभएको भए तापनि मिति २०५६ साल फागुन महिनामा घरसारमा छुट्टी अचल सम्पत्ति घरसारमा बन्डा पारित गराई अंश भागको जग्गा आ आफ्नु नाममा गरौंला भनी घरायसी सल्लाहसमेत भएको हो । सोबमोजिम पटकपटक लिखत पारित गरौं भनी भन्दा आज भोलि भोलि भनी आएका हुँदा मिति २०६७।६।३ गते सबै प्र.हरूलाई एकत्रित भएको बेला अब हाम्रो छोरा छोरी पनि ठुला भए घर व्यवहार चलाउन छोरा छोरीलाई शिक्षादीक्षा दिन कठिन हुन थाल्यो, अब हामी सबै अंशियारले आ-आफ्नु हिस्साको जग्गा अलगअलग आ-आफ्नु नाममा गर्नुपर्यो बैंक कारोबार गर्न पनि सजिलो हुन्छ भनी सबै प्र.हरूसँग आग्रह गर्दा सबै प्र.हरू एकमुख भई तँलाई अंश पनि दिदैनौं, जग्गा बन्डा पनि गर्दैनौं, जे गर्छस् तैँले जानेको गर्, तैँले बनाएको घरसमेत भत्काइदिन्छौं भनी मलाई अंश दिन इन्कार गरेको हुँदा म फिरादी साह्रै अन्यायमा परी न्यायका लागि उपस्थित भएको छु । यसरी विपक्षी प्र.हरूले म फिरादीलाई अंश दिन इन्कार गरेकाले सबै प्र.हरूलाई तलब गरी झिकी बुझी प्रमाण खण्डमा उल्लिखित साक्षी, गाउँ सर्जमिनसमेत बुझी हाल बन्डा लाग्ने चल अचल सम्पत्ति के कति छ म फिरादीलाई यकिन थाहा नभएको हुँदा विपक्षी प्र.हरू जिम्मा रहेको चल अचल सम्पत्ति मुलुकी ऐन अंश बन्डाको महलको २०, २१, २२, २३ र २४ नं. बमोजिमको तायदाती फाँटवारीको प्रक्रिया अपनाई सम्पूर्ण सम्पत्तिलाई ३ खण्ड लगाई सो ३ खण्डको १ खण्ड भागलाई ५ भाग लगाई सो ५ खण्डको १ खण्ड म फिरादीलाई दिलाई भराइपाउँ भन्ने फिराद दाबी ।
हाम्रा परबाजेको भाइ लालु राना र भुरा राना पहिलेदेखि छुट्टी भिन्न भई अलग अलग बस्दै आउनुभएको थियो । त्यसैगरी हाम्राबाजे भाइ मुलाहा राना र कैदु राना पनि अलग अलग बस्दै आफ्नु भोग व्यवहार गर्दै आउनुभएकोमा विवाद छैन । हामी वादी प्रतिवादीका बाजे कैदु रानाका नाउँमा पैतृक सम्पत्ति वा अन्य स्रोतबाट जम्मा गरेको सम्पत्ति थिएन । जब बाजेका नाउँमा कुनै सम्पत्ति थिएन भने बुबाहरूले पैतृक सम्पत्ति पाउने कुरै थिएन । हाम्रा बाबु बाजेको जिम्मा सम्पत्ति छैन भने हामी प्रतिवादीले विपक्षीलाई अंश दिने प्रश्न नै उठ्दैन । विपक्षीले हाम्रा नाममा पैतृक सम्पत्ति हस्तान्तरण हुँदै आएको भनी आफ्नु फिरादबाट प्रमाणित गर्न सकेको छैन । विपक्षी दाजुभाइको सङ्ख्या बढी भएकाले हामीसँग रहेको केही सम्पत्ति मुद्दा दिए पाइन्छ कि भनी कलुसित भावनाबाट अभिप्रेरित भई प्रस्तुत झुट्टा फिराद दिनुभएको हो भन्नेमा विवाद छैन । किनभने हाम्रा बाजे अलग अलग बस्दै आ-आफ्नो भोग बिक्री व्यवहार गर्दै आउनुभएको थियो । यसरी अलग बस्दै आउनुभएका मुलाहा रानाको नाउँमा केही जग्गा जमिन थियो । निजको अंश अपुताली खाने एक मात्र छोरी छिद्दो राना हुनुहुन्थ्यो । बाजे मुलाहा रानाले निज फुपु नातापर्ने छिद्दो रानालाई भारतको उत्तर प्रदेश जिल्ला लखिमपुर मझौला ग्राम पञ्चायत स्थित छुटु रानासँग विवाह गरिदिएपछि बाजे मुलाहा र निजको श्रीमतीको रेखदेख, खेतीपाती र औषधी उपचारको व्यवस्था हाम्रा बाबु भाइ लवरा, सवरा र भज्जन राना एवं निज तिनै जनाका जेठा छोरा हामी प्र. मुली, भाणु, प्र. वन्धु रानाले गर्दै आएकोमा हाम्रो काम कारबाहीदेखि खुसी भएर रिझाएबापत निज मुलाहा रानाका नाउँको एकलौटी हक भोगको केही जग्गा भतिजा र हामी जेठा नातिलाई बराबर पर्ने गरी मिति २०३५।१०।१० गते सबैलाई एकै दिनमा हालैको हक छोडेको बकसपत्र गरिदिनुभएको छ । सो बकसपत्रबाट पाएको निजी सम्पत्तिबाहेक हामीसँग अन्य कुनै सम्पत्ति नभएको, अंश बन्डाको १८ नं. ले कुनै अंशियारले आफ्नु ज्ञान, सिप र प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान बकस पाएकोमा सो आर्जन गर्न पाउँछ, बन्डा गर्न कर लाग्दैन । विपक्षीले अदालतलाई समेत गुमराहमा राखी हकदैयाविहीन दायर गरेको फिराद मुलुकी ऐन अ.बं. १८० नं. बमोजिम खारेज गरी विपक्षीलाई सजाय गरी न्याय पाउँ भन्ने प्रतिवादी भाणु भन्ने भागु राना थारू, शिवलाल राना थारू र विखलु राना थारूको प्रतिउत्तर जिकिर ।
विपक्षीको पुस्तेवारीबाहेक अन्य सम्पूर्ण बेहोरा झुट्टा एवं बदनियतले प्रेरित भई हामीलाई दुःख हैरानी दिने नियतले दायर गरेका हुन् । हाम्रा बाजे मुलाहा रानाको नाउँमा केही सम्पत्ति थियो र निज बाजेको अंश अपुताली खाने एकमात्र छोरी छिद्दो राना हुनुहुन्थ्यो । निज छिद्दो रानाको भारतको लखिमपुर, मझौला ग्राम बस्ने छुटु रानासँग विवाह भइसकेको
थियो । त्यसपछि निज बाजेको स्याहार,सुसार, हेरचाह लवरा, सवरा र भज्जन रानाको छोराहरूले गरी निजलाई रिझाएबापत निज मुलाहा रानाको नाउँको एकलौटी सम्पत्ति २०३५।१०।१० गते हालैको बकसपत्र पारित गरिदिनुभएको थियो । बकसपत्र दिने निज मुलाहा राना र निजको श्रीमतीको मृत्यु भइसकेपछि निज फुपूले अंश मुद्दा दायर गरेको अवस्था भए पनि बकसपत्रबाट पाएको जग्गा अंश दिन मिल्ने होइन भनी सो मुद्दा सम्मानित अदालतबाट खारेज गरिएको अवस्था छ । विपक्षीहरूको फिराद दाबी झुट्टा हो, निजहरूले बनाएको घर भत्काइदियो भन्ने आरोप कपोलकल्पित हो विपक्षीका भाइको सङ्ख्या बढी भयो भन्दैमा हाम्रो आर्जनको सम्पत्ति दिन मिल्ने होइन भन्ने बन्धु राना र भिखारी राना थारूको एकै मिलानको प्रतिउत्तर जिकिर ।
विपक्षीहरूले उल्लेख गरेको पुस्तेवारीबाहेक अन्य फिराद कथन बनावटी हो । फिरादीलाई अंश दिँदैनौं भनी हामी प्रतिवादीले भनेका छैनौं । हामी प्र.हरू र अन्य प्र.हरूका पिता पुर्खाबिच अंशबन्डा भएको छैन । घर व्यवहार मिलेपछि फिरादीले अंश पाउने नै हुन् । हामीहरूले पनि बन्डा गरिलिन बाँकी नै छ । अतः हामी प्र.हरूको माथि उल्लिखित बेहोराअनुसार बन्डा हुन नसकेको हुँदा फिरादीको फिराद दाबी झुट्टा भएको हुनाले हामी प्र.हरूको साक्षी सबुद प्रमाण बुझी फिरादीको झुट्टा दाबीबाट अलग फुर्सद दिलाइपाउँ भन्ने प्रतिवादीहरू भुल्ली राना, बलदेव राना, छिदु राना र राजाराम रानाको प्रतिउत्तर जिकिर ।
निजहरू मिति २०५६ सालमा घरसारमा छुट्टी भिन्न भई घरसारमा जग्गाको नरम गरम गरी छुट्टी भिन्न भएका हुन् । हालसम्म निजका नाउँमा दर्ता रहेको जग्गामध्ये प्रत्येक कित्तामा नरम गरम गरी खाइराखेको देखेको सुनेको छु । निजहरूको हालसम्म बाबुबाजेको पालादेखि अंशबन्डा हुन सकेको छैन । निजहरू सबैले अंश पाउनुपर्ने हो भनी वादीका साक्षीबहादुर सिंह धामीले गरेको बकपत्र ।
यी वादी प्रतिवादी दुवैथरीबिच अंश बन्डा भएको छैन, वादीहरूले अंश पाउनुपर्ने हो भनी प्रतिवादी भुल्ली राना थारूसमेतका साक्षी राम बकस रानाले गरेको बकपत्र ।
यी प्रतिवादीले बकसपत्र पाएको जमिन मात्र छ । अन्य पैतृक सम्पत्ति निजहरूको जिम्मा छैन । बकसपत्रबाट पाएको जग्गाबाट अंश पाउनुपर्ने होइन । यी विदु रानाले आफ्नु बाबु र दाजुबाट अंश पाउनुपर्ने हो भनी प्रतिवादी भागु राना थारूसमेतका साक्षी रामबहादुर रानाले गरेको बकपत्र ।
वादी प्रतिवादीहरूबिच पुस्तामा विवाद नरहेको र निजहरूबिच रीतपूर्वक अंशबन्डा भइसकेको नदेखिँदा फिराद दाबीबमोजिम वादी प्रतिवादीहरूबाट तायदाती फाँटवारीमा उल्लेख भएको र दर्ता स्रेस्ता भिडेको सम्पत्तिलाई ३ खण्ड गरी ३ खण्डको १ खण्डलाई ५ खण्ड लगाई ५ खण्डको १ खण्ड सम्पत्ति वादीले अंशबापत पाउने र निजका नाममा नामसारीसमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०६९।३।११ मा कैलाली जिल्ला अदालतबाट भएको फैसला ।
मुलुकी ऐन अंशबन्डाको १८ नं. मा मानो छुट्टिई कुनै अंशियारले आफ्ना ज्ञान, सीप वा प्रयासबाट निजी आर्जन गरेको वा दान बकसपत्र पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जनबाट पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ बन्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टी भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खति उपति आ आफ्नो गरी आफ्नो हिस्सासँग भाग राखी खानु पिउनु गरेकोमा एक ठाउँमा भए पनि लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भनी स्पष्ट कानूनी व्यवस्था छ । सो व्यवस्थाअनुसार अघि छुट्टी भिन्न भएका तेस्रो व्यक्ति मुलाहा रानाले हाम्रा बुबा भाइहरू सवरा, भज्जन र भाणु, वन्धु र विपक्षी वादीका बुबा लवरा र दाजु मुलीले प्राप्त गरेको मिति २०३५।१०।१० को बकसपत्रअनुसार सो सम्पत्ति निजी हुन गई अन्य अंशियारहरूमा बन्डा गर्नुपर्ने होइन । अंशियारबाहेकको तेस्रो व्यक्तिबाट निजी तवरमा हालैको बकसपत्र पाएको देखिएको र सो सम्पत्ति आर्जनमा अन्य सदस्यको योगदान रहेको प्रमाणित हुन नसकेकोले अंशबन्डाको १८ नं. बमोजिम एकलौटी हकको हुने भई बन्डा नलागेको भनी स.अ. बुलेटिन वर्ष १८, अङ्क ४, २०६६ पृ.१५ मा कानूनी सिद्धान्तसमेत प्रतिपादन भएको छ । मुलुकी ऐनको उक्त व्यवस्था र सर्वोच्च अदालतले प्रतिपादन गरेको कानूनी सिद्धान्तसमेतको बेवास्ता गरी वादी दाबी पुग्ने ठहर्याई सुरू कैलाली जिल्ला अदालतले गरेको फैसला त्रूटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको विखलु रानासमेत जना ४ को पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदन पत्र ।
यसमा सम्पूर्ण सम्पत्तिलाई ३ खण्ड लगाई सोको १ भागलाई ५ भाग लगाई छ भागको १ भाग पाउँ भन्ने फिराद दाबी भएकोमा वादी दाबीबमोजिम ५ भागको १ भाग अंश पाउने र निजको नाममा नामसारीसमेत हुने ठहर्याई वादी दाबीभन्दा फरक पारी सुरूले गरेको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत दिपायलबाट भएको मिति २०६९।११।३० को आदेश ।
वादीका बाबु लवरा राना प्रतिवादीहरू भाणु भन्ने भागुराना, शिवलाल, विख्लुका बाबु सवरा राना र प्रतिवादीहरू वन्धुराना र भिखारी रानाका बाबु भज्जन राना २०३५।१०।१० देखि नै छुट्टी भिन्न भइसकेको अवस्थामा सवरा राना थारूका छोरा भाणु भन्ने भागुराना, शिवलाल, विख्लु राना र भज्जन रानाका छोरा वन्धुराना र भिखारी राना अन्य प्रतिवादीहरू मुली राना, वलदेव राना, छिदो राना र राजाराम रानाबाट मात्र अंशबन्डाको १ नं. बमोजिम अंश छुट्याई लिन पाउने देखिँदा कैलाली जिल्ला अदालतबाट वादी प्रतिवादीहरूबिच पुस्तामा विवाद नरहेको र निजहरूबिच रीतपूर्वक अंशबन्डा भइसकेको नदेखिँदा फिराद दाबीबमोजिम वादी प्रतिवादीहरूबाट तायदातीमा उल्लिखित सम्पत्तिबाट ३ खण्डको १ लाई ५ खण्ड लगाई ५ खण्डको १ खण्ड वादीले अंश पाउने ठहर्याई प्रतिवादीहरू भाणु भन्ने भागुराम राना, शिवलाल राना, विख्लु राना, वन्धुराना र भिखारी रानासमेतबाट अंश पाउने ठहराएको फैसला मिलेको देखिएन । तसर्थ सुरू कैलाली जिल्ला अदालतबाट सवरा राना थारूका छोराहरू प्रतिवादी भाणु राना थारू, शिवलाल राना थारू, विख्लु राना थारू तथा मज्जन राना थारूको छोरा प्रतिवादी वन्धु राना थारू र भिखारी राना थारूसमेतबाट सम्पूर्ण सम्पत्तिको ३ खण्ड गरी ३ खण्डको १ खण्डलाई ५ खण्ड लगाई, ५ खण्डको १ खण्ड सम्पत्ति वादीले अंशबापत पाउने र निजका नाउँमा नामसारीसमेत हुने ठहर्याएको मिति २०६९।३।११ को फैसला मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ । अब वादीले प्रतिवादीमध्येका मुल्ली राना थारू, वलदेव राना थारू, छिदु राना थारू, राजाराम राना थारूको नाममा रहेको सम्पत्तिबाट ५ भागको १ भाग अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलको मिति २०७०।५।२६ को फैसला ।
म फिरादी तथा विपक्षीहरूका बाजे कैदु थारूका दाजु मुलाहा राना थारूबाट ०३५।१०।१० मा बकसपत्र लिखतबाट प्राप्त गरेको सम्पत्तिहरू वादी प्रतिवादीहरूले नामसारी गरी लिएकोले अंबबन्डाको ३० नं बमोजिम वादी प्रतिवादीका बाबुहरू नै व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको मान्नुपर्ने भनी लिएको आधार केवल अनुमानमा आधारित छ । उक्त बकसपत्रबाट प्राप्त सम्पत्ति हाम्रा बाजेको पनि हक भएको भन्ने कुरा भूमिसम्बन्धी ऐन नियमबमोजिम लिएको पारिवारिक लगतमा उल्लेख भएको पैतृक सम्पत्ति हो । फेरि यो सम्पत्ति म वादी तथा प्रतिवादीहरूका पिताहरू कसैले पनि आ-आफ्ना नाममा नामसारी गरी लिएको भन्ने तथ्य उल्लेख नभएकोले म फिरादी तथा प्रतिवादीका बाबुहरू भिन्न भएको भन्ने तथ्य स्थापित हुन सक्दैन । यसैले पुनरावेदनले लिएको अंशबन्डाको १८ नं. बमोजिम निजी सम्पत्ति हो भन्ने आधार ऐ. ३० नं. बमोजिम मानु छुट्टिएको भन्ने दुवै आधार तथ्यले पुष्टि हुँदैन । यी दुवै आधारहरू अनुमानमा आधारित छन् ।
मूल पुर्खाहरूबिच अंशबन्डा भई त्यसको दाखिल खारेज दर्ता, भोग बिक्री व्यवहार नभएको आधारमा मेरा पिता तथा प्रतिवादीहरूका पिताहरूबिच अंशबन्डा नभएको भन्ने तथ्य स्थापित छ भने म वादी तथा प्रतिवादीका छोराहरूले बाजे कैदु थारूका दाजु भुलाहा थारूले मेरा बाबु तथा प्रतिवादीका बाबुहरूलाई बकसपत्र गरी दिएको सम्पत्ति निजी तवरले मुलाहा थारूले प्राप्त गरेको पनि होइन । म तथा प्रतिवादीका बाबुहरूले निजी रूपमा पाएको पनि नभई पैतृक सम्पत्तिलाई परिवारभित्रकै सदस्यहरूका नाममा रहेको मात्र हो । यो तथ्य कैदु राना थारूका नाममा कुनै सम्पत्ति नरहेको स्रेस्ता सबै दाजु मुलाहा थारूका नाममा रहेकोबाट समेत यो तथ्य पुष्टि हुन्छ । यो सम्पत्ति मेरा तथा प्रतिवादीका बाबुहरूका पालामा दा.खा. समेत भएको भन्ने मिसिलबाट खुलेको छैन । केवल बकसपत्रको लिखत बाजे कैदुले पाउने सम्पत्ति निजका दाजु मुलाहाले कैदुका छोरा हाम्रा पिताहरूका नाममा पारित गरिदिएका मात्र हुन् यसबाट मुलाहाले कैदुले पाउने सम्पत्ति परिवारभित्रका सदस्यहरूलाई हा.ब. गरिदिएको कुराले म वादी र प्रतिवादीहरूबिच बन्डा भएको तथा परिवारबिच मानु छट्टिएको, खति उपति आफू आफूले खाएको भन्ने अर्थ लाग्ने होइन भन्ने तथ्यबाट नै स्पष्ट रहेकोमा सो कुरालाई अन्यथा हुने गरी भएको पुनरावेदनको फैसला त्रूटियुक्त रहेकोले बदरयोग्य छ ।
सुरू अदालतले गरेको इन्साफमा कुनै त्रूटि नभएकोमा पुनरावेदन अदालतले आफुखुसी अनुमान गरी मलाई केवल विपक्षी भुल्ली थारूसमेतका प्रतिवादीहरूबाट मात्र अंश पाउने गरी भएको इन्साफ उल्टी गरी सगोलको सबै सम्पत्ति सुरूमा ३ भाग लगाई सो ३ भागको १ भागलाई पुनः ५ भाग लगाई त्यसको १ भाग अंश पाउने गरी इन्साफ भई न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको विदु राना थारूको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा वादी तथा प्रतिवादीहरूका बाबुबिच अंशबन्डा भइसकेको भन्ने स्थापित तथ्य देखिँदैन । बाबुबाजेकै पालामा अंश भइसकेको मान्न अंशबन्डाको ३० नं. को पूर्वावस्था विद्यमान हुनुपर्ने र पछि आर्जन भएको सम्पत्ति भन्ने पनि नदेखिई पैतृक सम्पत्ति नै हो भन्ने पुष्टि भइरहेको अवस्थामा एउटा हाँगाका अंशियारहरूबाट मात्र अंश पाउने गरी पुनरावेदन अदालत दिपायलबाट मिति २०७०।५।२६ मा भएको फैसला मुलुकी ऐन अंशबन्डाको ३० नं. को त्रूटि भई सो फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७३।०५।२९ मा यस अदालतबाट भएको आदेश ।
यसमा प्रस्तुत मुद्दा मेलमिलापको माध्यमबाट निरूपण हुन उपयुक्त देखिएको र दुवै पक्षका कानून व्यवसायीहरूले इजलाससमक्ष मेलमिलापमा पठाई पाउँ भनी अनुरोध गरेको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७८(५) बमोजिम मेलमिलापको लागि १ महिनाको समय तोकी प्रस्तुत मुद्दा सर्वोच्च अदालत मेलमिलाप केन्द्रमा पठाइदिएको छ । मेलमिलाप भएमा वा समयावधि व्यतीत भएपछि कानूनबमोजिम पेस गर्नुहोला भन्ने मिति २०७६।९।१३ मा यस अदालतबाट भएको आदेश ।
यसमा मेलमिलापकर्ता श्री गोपाल बस्नेतको निवेदन मागबमोजिम मिति २०७६।११।२० देखि लागु हुने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम (६) बमोजिम मेलमिलापको लागि १(एक) महिनाको समय थप गरिदिएको छ । नियमानुसार गर्नु भन्ने मिति २०७६।११।१९ को यस अदालतबाट भएको आदेश ।
यसमा वादी प्रतिवादीहरू कहिलेदेखि कति-कति कि.नं. को कसको नाउँमा दर्तामा रहेका जग्गामा बनेका घरमा बस्दै आएका र कुन-कुन कि.नं. का कति-कति क्षेत्रफलका जग्गाहरू भोग गर्दै आएका छन् ? ती जग्गाहरू को कसको नाउँमा दर्ता रहेका
छन् ? सम्बन्धित जिल्ला अदालतमार्फत १८ दिनभित्र स्थानीय गाउँ सर्जमिन गरी नियमानुसार गर्नु भन्ने मिति २०७८।६।१७ को यस अदालतको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहालले यी वादी प्रतिवादीको पुस्तेवारीमा विवाद नरहेको, यिनीहरूका बिच विधिवत् अंशबन्डा भएको कागज प्रमाण नरहेको, कि.नं.९७ को जग्गामा १० वटा घर निर्माण गरी सगोलमै बसोबास गरिरहेको, २०६६।११।६ मा अंशबन्डा गर्ने भनी कागजसमेत भएको समेतका कागज प्रमाणको बेवास्ता गरी बकसपत्रको लिखतबाट पाएको जग्गालाई अंशबापत पाएको अनुमान गरी सुरूले गरेको फैसला केही उल्टी गरी एउटा हाँगाका अंशियारबाट मात्र अंश पाउने ठहर गरेको पुनरावेदन अदालत दिपायलको फैसला उल्टी गरी वादीको फिराद दाबीबमोजिम अंश पाउने ठहर इन्साफ गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री खेमराज भट्टले यी वादी प्रतिवादीहरू एकापसमा अलग भई घर व्यवहार गरिरहेको कुरा सर्वोच्च अदालतबाट भएको सर्जमिन मुचुल्काबाट प्रस्ट भई आएको देखिनुका साथै यिनै पुस्तेवारीका व्यक्तिहरूबिच वादी सिद्दो राना प्रतिवादी मुली रानासमेत भएको २०६७ सालको दे.नं.२२७।८५ को अंश मुद्दा परी वादीले अंश नपाउने ठहरी फैसला भइसकेको र सो मुद्दामा प्रतिउत्तर फिराउदाका बखतमा नै हाम्रो पुर्ख्यौली सम्पत्ति बाँकी केही छैन भन्ने बेहोरा उल्लेख गरेको देखिएको छ । यसैगरी २०४३।३।३१ मा यी फिरादीलाई मुलाहा रानाले राजीनामाबाट जग्गा पारित समेत गरेको अवस्थामा वादी प्रतिवादीहरू एकासगोलका भन्न मिल्ने अवस्था नहुँदा वादीका बाजे परबाजेसमेतका हाँगालाई समेत सगोलको ठहराई अंश भाग लाग्ने ठहर गरेको सुरूको फैसला उल्टी गरेको पुनरावेदन अदालत दिपायलको फैसला मिलेकोले सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको बहस जिकिर सुनी मिसिल संलग्न कागजप्रमाण अध्ययन गरी हेर्दा सुरू कैलाली जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर गरेको पुनरावेदन अदालत दिपायलको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा, बाजे कैदु रानाका ३ भाइ छोराहरू मेरा काका बुबाहरूका बिच अंशबन्डा नभएको र परिवार ठुलो भई घरव्यवहार मिलाउन असहज भएका कारण अंश भाग माग्दा अंश दिन इन्कार गरेकाले कानूनबमोजिम अंश भाग छुट्याइपाउँ भन्ने वादी विदु राना थारूको फिराद दाबी रहेकोमा हाम्रा बाजेका भाइहरू अलग अलग बस्दै भोग व्यवहार मिलाई आएनुभएको र बाजे कैदु रानाका नाउँमा पैतृक सम्पत्ति केही नभएकाले अंश दिन पर्ने होइन । हामी वादी प्रतिवादीहरू अलग भिन्न भई आ-आफ्नो घरव्यवहार गरी आएको हुँदा वादी दाबीबमोजिम अंश भाग छुट्याई रहनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर रहेको पाइयो । वादी प्रतिवादीहरूबिच विधिवत् अंशबन्डा नभएको र निजका बुबाका हाँगाका व्यक्तिहरू सवरा राना र भज्जन रानाले मुलाहा रानाबाट बकसपत्र पाएको सम्पत्ति निजी आर्जन देखिन नसकेको पैतृक सम्पत्ति नै भएकाले फिराद दाबीबमोजिम ३ खण्डको १ खण्डलाई ५ भाग लगाई ५ खण्डको एक खण्ड अंश वादीले पाउने ठहरी सुरू कैलाली जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने ठहरी वादीले आफ्नो बुबा लवरा रानाको अंश भागबाट मात्र ५ भागको १ भाग अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसलामा वादीको चित्त नबुझी यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।
३. वादी प्रतिवादीहरूको पुस्तेवारीको विवरण हेर्दा निम्नबमोजिमको तहगत हाँगाको अवस्था देखिन आउँछः- मूल पुर्खा करिया राना निजका दुईजना छोराहरू क्रमशः लालु राना र भुरा राना रहेको
देखिन्छ । निज लालु रानाको दुईवटा छोरा क्रमशः मुलाहा राना र कैदु रानामध्ये मुलाहा रानाको एक मात्र छोरी सिद्दो रानाको विवाह भइसकेको देखिन्छ भने कैदु रानाका ३ भाइ छोराहरूमा जेठा लवरा राना, माइला सवरा राना, र कान्छा भज्जन राना रहेछन्, जेठा लवरा रानाका ५ भाइ छोराहरूमा जेठा भुल्ली राना, माइला वलदेव राना, साहिला छिदु राना, काइँला फिरादी विदु राना र कान्छा प्र. राजाराम राना एवम् माइला सवरा रानाका ३ भाइ छोराहरूमा जेठो प्र. भाडु राना, माइला प्र.शिवलाल राना, कान्छा प्र. विख्लु राना थारू भएका र कान्छा भज्जन रानाको २ भाइ छोराहरूमा जेठो प्र. बन्धु राना र कान्छा प्र. भिखारी राना रहेको देखिन्छ ।
४. वादी प्रतिवादीको पुस्तेवारीमा दुवै पक्षको मुख मिलेकोले विवाद देखिँदैन । फिरादी विदु रानाले आफ्ना बुबा लवरा रानाका ५ जना छोराहरू तथा बुबाका हाँगाका सवरा रानाका ३ छोरा र भज्जन रानाका २ छोरा गरी ९ जनालाई प्रतिवादी कायम गरी अंश मुद्दा दायर गरेको देखियो । सुरू कैलाली जिल्ला अदालतले निज वादीका बुबाको हाँगामा अंशबन्डा भएको नदेखिएकाले तायदातीमा उल्लिखित सम्पत्तिलाई निजका बुबाका ३ दाजुभाइहरू लवरा, सवरा र भज्जन राना गरी ३ खण्ड लगाई सोको एक खण्ड वादीका बुबा लवराको भाग छुट्याई सोको ५ भाग अर्थात् वादीका ५ दाजुभाइमध्ये १ भाग वादीले पाउने ठहर गरेकोमा पुनरावेदन अदालत दिपायलले वादीका बुबाका ५ सन्तान अर्थात् वादीका ५ दाजुभाइमध्येबाट १ खण्ड वादीले अंश भाग पाउने ठहर गरेको पाइयो । उल्लिखित मुद्दाको समग्र तथ्यगत अवस्था हेर्दा मूलतः वादीले आफ्नो बुबाको भाग हिस्साबाट ५ भागको १ भाग अंश पाउने हो वा तायदातीको सम्पूर्ण सम्पत्ति बुबाको हाँगामा ३ भाग छुट्याई निजको बुबाको भाग हिस्साबाट निजले ५ खण्डको १ खण्ड अंश पाउने हो भन्ने कुरा नै न्याय निरूपण गर्नुपर्ने मूलभूत प्रश्न रहेको दखियो ।
५. अब मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी हेर्दा यी वादी प्रतिवादीका मूलपुर्खा करिया रानाका २ वटा छोराहरू लालु राना र भुरा रानामध्ये भुरा रानातर्फका हाँगा अलग बेगल भएकोतर्फ कुनै विवाद रहेन । निज लालु रानाका २ वटा छोराहरूमध्ये यी वादीका बाजे कैदु राना र मुलाहा राना २ भाइमध्ये मुलाहा रानाको एकमात्र छोरी सिद्दो रानाको भारतमा विवाह भई गइसकेको कुरामा र निज कैदु रानाको नाममा कुनै पनि सम्पत्ति नरहेको कुरामा दुई पक्षको मुख मिलेकै पाइयो । मिसिल संलग्न ०२१ सालको मोही लगत (१नं.) फाराम हेर्दा पनि जग्गा कमाउनेको महलमा मुलाहा राना थारू जनिई निजको एकाघरको सदस्य लालु राना थारू र निजका ३ छोरा लवरा, सवरा र भज्जन राना थारूसमेत जनिएको देखियो भने तत्काल जग्गाको क्षेत्रफल १३-२-१० बिगाहासमेत जनिएको पाइयो । उल्लिखित मोही लगत फारामबाट तत्काल घरको मुली व्यक्ति मुलाहा राना थारू र निजका एकाघरका व्यक्तिहरूमा निजको भाइ भतिजा रहेको देखियो । तत्पश्चात् यी घरका मुख्य व्यक्ति मुलाहा रानाले २०३५।१०।१० मा आफ्ना भतिजा सवरा राना, लवरा राना थारू र भज्जन राना थारू र नातिहरू भाणु राना थारू, मुली राना थारू, बन्धु राना थारू गरी ६ जनाका नाउँमा आफ्नो नाममा रहेको जग्गामध्ये क्षेत्रफल ११-१८-५ को जग्गा हालको बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको पाइयो । यस प्रकार तत्काल मुलाहा राना थारूका नाउँमा मोही लगत देखिएको करिब १३ बिगाहा जग्गामध्ये करिब १२ बिगाहा जग्गा निजले आफ्ना भतिज अर्थात् वादीका बुबाका हाँगाका व्यक्तिहरू लवरा, सवरा र भज्जन राना थारू तथा नातिहरूसमेतका नाउँमा बकसपत्र गरिदिएको देखियो ।
६. यसैगरी यस अदालतको मिति २०७८।६।१७ को आदेशानुसार कैलाली जिल्ला अदालतबाट भई आएको स्थानीय गाउँ सर्जमिन मुचुल्का हेर्दा उपर्युक्तानुसारको बकसपत्रबमोजिमका व्यक्तिहरूको नाउँमा जग्गाधनी प्रमाण पुर्जा कायम भई सोबमोजिम भोग चलन गरी आएको तथा लवरा, सवरा र भज्जनका १० छोराहरू कि.नं. ९७ को जग्गामा कच्ची घर बनाई बसोबास गरी घर व्यवहार मिलाई आएको भन्नेसमेतको बेहोरा उल्लेख भई आएको पाइयो । उपर्युक्तानुसारको सर्जमिन मुचुल्का तथा बकसपत्र बेहोरा हेर्दा यी वादीका बुबाका दाजु भाइहरू लवरा, सवरा र भज्जन रानासमेतका नाउँमा साबिक घरमूली मुलाहा रानाले आफूसँग भएको जग्गा जमिन समन्यायिक तवरले नरम गरम गरी करिब करिब क्षेत्रफलसमेत मिलान हुने गरी आफ्नै जीवनकालमा हालैको बकसपत्र गरी घर व्यवहार मिलाइदिने प्रयत्न गरेको पाइन्छ ।
७. यसप्रकार बकसपत्रबाट पैतृक सम्पत्तिको करिब समान बाँडफाँट भएको तथ्यलाई विचार गर्दा यी वादीका बुबातर्फका हाँगामा विधिवत् रूपमा अंशबन्डा भएको नदेखिए पनि निजहरूले प्राप्त गरेको जग्गाको मूल स्रोत भने पैतृक सम्पत्ति नै देखिन्छ । तत्कालीन घर मूलीले आफ्ना नाउँमा रहेको जग्गा जमिनको बाँडफाँट कानूनबमोजिमको अंश बन्डाको लिखतबाट पारित गरेको नभई घर व्यवहार मिलाउने ध्येयले बकसपत्रको माध्यमबाट भएको कुरा उल्लिखित तथ्यको विवेचनाबाट स्पष्ट हुन आएको छ । यस्तो अवस्थामा बकसपत्रबाट भएको जग्गा जमिनको स्वामित्व हस्तान्तरण प्रक्रियालाई केवल अंशबन्डाको कागज नभएकै आधारमा पैतृक सम्पत्तिको न्यायोचित बाँडफाँट नभएको भन्ने अर्थ ग्रहण गर्न मिल्दैन । सम्पत्ति बाँडफाँट हस्तान्तरणका विभिन्न विधि र प्रक्रिया हुन सक्छन् । अंश बन्डाकै लिखतको भाषा नपरे पनि जग्गा जमिनको स्वामित्व हस्तान्तरण प्रक्रियामा सगोलका परिवारका सदस्यबिच न्यायोचित वितरण भएको कुरालाई अंशबन्डा नभएको भन्ने अर्थमा लिन मिल्दैन । साबिक मुलुकी ऐन अंश बन्डाको १८ नं.को व्यवस्था हेर्दा पनि बकसपत्र आदिबाट प्राप्त गरेको निजी सम्पत्तिमा बन्डा लाग्न नसक्ने व्यवस्था भए पनि यसरी सम्पत्ति प्राप्त गरेको अवस्थामा सम्पत्ति प्राप्त गर्ने व्यक्तिहरूको मानो छुट्टिनै नसक्ने भन्ने होइन । सो नम्बरमा “अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खतीउपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ ।” भन्ने व्यवस्था भएको पाइन्छ । यस अदालतबाट दशरथ शाह हलुवाई वि. लक्ष्मी साह कानू भएको अंश दर्ता (ने.का.प. २०६२, अङ्क , नि.नं. ७५२४) मुद्दामा प्रतिउत्तर फिराउँदाका बखत प्रतिवादीहरूले छुट्टाछुट्टै जग्गामा दर्ता गरी अलगअलग भोग बिक्री व्यवहार गरेको अवस्थामा अंश बन्डाको ३० नं. ले बन्डापत्रको लिखत आवश्यक हुने अवस्था देखिन नआउने भन्ने सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।
८. वादी सिद्दो राना थरूनी प्रतिवादी मुली राना थारूसमेत भएको २०६७ सालको दे.दा.नं. २२७।८५ को अंश मुद्दामा वादीका बुबा लवरा तथा निजका दाजुभाइ सवरा र भज्जनले प्रतिउत्तर फिराउँदाका बखत हाम्रो पुर्ख्यौली सम्पत्ति केही छैन भनी उल्लेख गरेको तथा वादीले अंश नपाउने ठहरी भएको फैसला अन्तिम भइरहेको अवस्था पनि
देखिन्छ । साथै मिसिल संलग्न २०४३।३।३१ को र.नं. ३४११ बाट यिनै मुलाहा रानाले बन्धु रानालाई कि.नं. ४५४ को जग्गा राजीनामा पारितसमेत गरिदिको पाइन्छ । यिनै साबिक घरमुली जग्गाधनी मुलाहा रानाले यीनीहरू एकासगोलका भए यस किसिमले राजीनामा पारित गरी जग्गा लिनुदिनु गर्ने अवस्था आउँदैन ।
९. प्रस्तुत मुद्दामा सुरू कैलाली जिल्ला अदालतसमक्ष पेस भएको अंशको तायदाती फाँटवारी हेर्दा पनि २०३५ सालमा मुलाहा रानाबाट बकसपत्र पाएको सम्पत्ति नै विभिन्न तरहले नामसारी भागबन्डा गरी यी वादी प्रतिवादीहरूले भोग चलन गरी आएको पाइयो । सोबमोजिम प्राप्त गरेको सम्पत्तिबाहेक अन्य स्रोतबाट प्राप्त भएको सम्पत्ति न्यून मात्रामा रहेको पाइयो । उक्त तायदाती विश्लेषण गरी हेर्दा पनि निज मुलाहा रानाबाट समानुपातिक तरहले नै सम्पत्ति हस्तान्तरण भई हाल सबै वादी प्रतिवादीले भोग तथा व्यवहार गर्दै आएको स्थिति देखिन्छ ।
१०. अंशबन्डाको ३० नं. को व्यवस्थाको सन्दर्भमा व्यवहार प्रमाणबाट मानो छुट्टी अंश बन्डा भएको मान्नुपर्ने सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा सिद्धान्त प्रतिपादन भएको पनि पाइन्छ । रामप्यारी श्रेष्ठ वि. कृष्णबहादुर श्रेष्ठ भएको अंश मुद्दामा (ने.का.प. २०४५ भाग ३० नि.नं. ३६०२) “अंशियारहरूका बिच छुट्टी भिन्न भई आ-आफ्नो व्यवहार गरी आएकोमा मानो छुट्टिएको लिखत हुनु अनिवार्य भएको भन्न नमिल्ने” भनेको पाइन्छ भने ओमप्रसाद खनाल वि. भवानी शंकर खनाल भएको अंश मुद्दामा (ने.का.प. २०५०(ग) अङ्क १० नि.नं. ४८०८ “अंशियारहरू एक आपसमा र अन्य व्यक्तिहरूसँग खरिद बिक्री आदि व्यवहार गरेकोसमेत देखिन आएको देखिँदासमेत मानो मात्र छुट्टिएको नभई व्यवहारबाट पुर्खौली सम्पत्ति बन्डा लिई छुट्टिएको देखिन आउने” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसैगरी इन्द्रकुमारी वि. मुक्तिप्रसाद भएको अंश मुद्दामा स.अ.बुलेटिन पूर्णाङ्क २२६ पृष्ठ १६) “आ-आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको भन्ने देखिएपछि अंश बन्डा रजिस्ट्रेसन नभएकाले अंश पाउँ भन्न अंश बन्डाको ३० नं. ले मिल्दैन” भनी यसै अदालतबाट निर्णय भएको पाइन्छ ।
११. यसप्रकार वादीको बाजेका हाँगाका व्यक्तिकै पालामा आफ्ना भतिजा तथा नातिहरूसमेतलाई बकसपत्रको माध्यमबाट जग्गा जमिनको स्वामित्व हस्तान्तरण भई आ-आफ्नो भाग हिस्सामा परेको जग्गा जमिन आ-आफ्नो नाममा जग्गाधनी पुर्जालगायतका स्रेस्ता खडा गरी भोग चलन गरी आएको अवस्थामा बाजेकै हाँगामा बन्डा भएको छैन भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिने अवस्था रहेन । माथि विवेचित आधार प्रमाणबाट यी वादीका बुबाको हाँगाका व्यक्तिहरू आ-आफ्नो व्यवहार मिलाई आ-आफ्नो भाग हिस्साको सम्पत्ति भोग चलन गरी आएको देखिँदा सो हाँगादेखिकै सम्पत्ति सगोलको मानी बन्डा गर्नुपर्छ भन्ने पुनरावेदन जिकिर मनासिब देखिन आएन ।
१२. यस दृष्टिकोणबाट यी वादीका बुबा लवरा तथा सवरा र भज्जन रानाले २०३५ सालमा घरमूली मुलाहा रानाबाट बकसपत्रका माध्यमबाट पैतृक सम्पत्ति प्राप्त गरी आ-आफ्नो भोग तथा व्यवहार गरी आएको र उक्त पुस्तामा अंशबन्डाको सम्बन्धमा कुनै विवाद खडा नभएको तथा हाल सो पुस्ताका व्यक्तिहरूको मृत्युसमेत भइसकेको अवस्थामा आ-आफ्नो जीवनकालमा आ-आफ्नो घर व्यवहार मिलाएर जीवन व्यतित गरेको अघिल्लो पुस्ताको अंशबन्डा नै नभएको भन्ने पुनरावेदक वादीको कथन तर्कसङ्गत र न्यायोचितसमेत देखिन आएन । जहाँसम्म वादीले अंश प्राप्त गरेको छ छैन भन्ने सम्बन्धमा विचार गर्दा निजका बुबाको देहान्त भइसकेको र बुबाको जीवनकालमा छोराहरूका बिच विधिवत् अंशबन्डा भएको नदेखिएको तथा निजका दाजुभाइहरू छिद्दोसमेतले सुरू अदालमा पेस गरेको प्रतिउत्तर पत्रमा आफ्नो भाइहरूबिच अंशबन्डा नभएको तथ्य स्वीकार गरेको देखिँदा यी वादीका बुबा लवरा रानाका नाउँको सम्पत्तिबाट ५ जना छोराहरू क्रमशः मुली, वलदेव, छिद्दो, विदु (वादी) र राजाराम गरी ५ भाग छुट्याई निजहरूको तायदातीमा उल्लिखित सम्पत्तिको ५ भागको १ भाग यी वादीले अंश पाउने देखिन्छ । माथिल्लो पुस्ताको सम्पूर्ण सम्पत्तिलाई ३ खण्ड लगाई सो ३ खण्डको १ खण्डलाई ५ भाग लगाई सो ५ भामध्येको १ भाग फिरादीलाई दिलाइपाउँ भन्ने वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१३. तसर्थ, माथि विवेचित मुद्दाको तथ्य, आधार र कारणहरूबाट समेत सुरू कैलाली जिल्ला अदालतबाट सवरा राना थारूका छोराहरू प्रतिवादी भाणु राना थारू, शिवलाल राना थारू, विख्लु राना थारू तथा भज्जन राना थारूको छोरा प्रतिवादी बन्धु राना थारू र भिखारी राना थारूसमेतबाट सम्पूर्ण सम्पत्तिको ३ खण्ड गरी ३ खण्डको १ खण्डलाई ५ खण्ड लगाई ५ खण्डको १ खण्ड सम्पत्ति वादीले अंशबापत पाउने र निजका नाउँमा नामसारीसमेत हुने ठहर्याएको मिति २०६९।३।११ को सुरू कैलाली जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा केही उल्टी हुने भई वादीले प्रतिवादीमध्येका भुल्ली राना थारू, बलदेव राना थारू, छिद्दो राना थारू, राजाराम राना थारूको नाममा रहेको सम्पत्तिबाट पाँच भागको एक भाग अंश छुट्टयाई लिन पाउने ठहर्याएको पुनरावेदन अदालत दिपायलको मिति २०७०।५।२६ को फैसला कानून तथा न्यायको रोहमा मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत:- इन्द्रबहादुर कठायत
इति संवत् २०७८ साल चैत्र १३ गते रोज १ शुभम् ।