शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०४६ - अंश चलन

भाग: ६५ साल: २०८० महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल

फैसला मिति: २०७९।११।१६

०७१-CI-०५३३

 

मुद्दाः- अंश चलन

 

पुनरावेदक/वादी : बुद्धिनारायणको नाति बुद्धिमान श्रेष्‍ठको छोरा काठमाडौं जिल्ला गोकर्ण गा.वि.स. वडा नं. ८ बस्ने आशाकाजी श्रेष्‍ठसमेत 

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : सुक्रनारायणको छोरा काठमाडौं जिल्ला गोकर्ण गा.वि.स. वडा नं. ८ बस्ने न्हुच्‍छेनारायण श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. बस्ने नारानदास श्रेष्‍ठसमेत

 

बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूका नाममा छुट्टाछुट्टै जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको देखिएबाट वादी प्रतिवादीहरूका बाबु-बाजेले आफ्नै पालामा आ-आफ्नो अंश भागको जग्गा आपसमा बन्डा गरी लिइसकेको र सोही जग्गाहरू नामसारी तथा बन्डा हुँदै वादी प्रतिवादीहरूका नामदर्तामा सरी आएको भन्‍ने देखिने ।

(प्रकरण नं. ४)

अंश मुद्दाका विवादित विषयहरूमा अंशियार पुस्ताका हाँगाको अवस्था र समयको अन्तराल, घरायसी लिखत एवम् मानो चुलो अलगको प्रमाण, भूमिसुधार कार्यालयमा भरिएको लगत, फाँटवारी एवम् भोग, दर्ता स्रेस्ता, अंशियारा भनिएकै व्यक्तिहरूबिच भएका बिक्री व्यवहार कारोबार, जग्गा वा सम्पत्ति घटबढ हुन पनि सक्ने, आदि आधार प्रमाणलाई व्यवहार प्रमाणको रूपमा मध्यनजर गरी न्याय निरूपण गर्नुपर्ने ।

(प्रकरण नं. ७)

 

पुनरावेदक/वादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री इन्द्रप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू श्री राजेश्‍वर अधिकारी, श्री मनोहर साह, श्री कृष्णप्रसाद शर्मा र श्री शारदा ढकाल

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत, श्री विश्‍वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ताहरू श्री राजकुमार श्रेष्ठ, श्री मदनकुमार महत, श्री जनकराज श्रेष्ठ, श्री धिरेन्द्र राउत, श्री रामप्रसाद पोख्रेल, श्री सुदीप नेपाल र श्री रामशरण घिमिरे

अवलम्बित नजिर :

ने.का.प. २०६६, अङ्क ९, नि.नं. ८२२७

ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०८८

ने.का.प. २०६३, अङ्क ९, नि.नं. ७७६१

ने.का.प. २०५४, अङ्क ३, नि.नं. ६३२९

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:

मा. जि. न्या. श्री लिप्‍तबहादुर थापा क्षेत्री

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

मा. न्या श्री भीमबहादुर बोहरा

मा. न्या श्री सहदेवप्रसाद बास्तोला

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. डा. कुमार चुडाल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) बमोजिम पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः

मुद्दाको तथ्यगत बेहोरा

बुद्धिनारायण श्रेष्ठका ३ छोराहरूमध्ये जेठा छोरा सुकनारायण श्रेष्ठको परलोक भई निजको हक खाने २ छोरा र २ छोरीहरूमा छोरीहरूको विवाह भइसकेको छ । जेठा छोरा पञ्चनारायण परलोक भई निजको हक खाने रूद्रनारायण हुन् । कान्छो छोरा प्रतिवादी न्हुच्छेनारायण हुन् । बुद्धिनारायणको कान्छो छोरा कान्छा श्रेष्ठको परलोक भई निजको हक खाने १ छोरी र २ छोराहरूमा छोरीको विवाह भइसकेको छ । छोराहरूमा टिकाराम र तुसिंहमध्ये टिकाराम परलोक भइसकेको तथा निजको कुनै सन्तान छैन । हामीहरूको भाइ तथा दाजु चङ्‍खे श्रेष्ठ हाल कोरियामा भएकाले वादी बनाउन सकिएको छैन । हाम्रोबिचमा बन्डा गर्नुपर्ने सम्पत्ति मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं.बमोजिम बन्डापत्र भएको छैन । सम्पूर्ण सम्पत्ति प्रतिवादी न्हुच्छेनारायणको जिम्मामा रहेको छ । प्रतिवादीलाई पटकपटक अंशबन्डा गरिदिनुहोस् भन्दा आलटाल गरी अंश छुट्याई दिनुभएन । फिरादपत्र परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा अघिल्लो दिनसम्मको अंशबन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्तिको तायदाती विपक्षी प्रतिवादीबाट मागी सो तायदातीमा आएको सम्पूर्ण सम्पत्तिलाई ३ खण्ड गरी ३ खण्डको १ खण्ड अंश दिलाई अड्डैबाट चलनसमेत चलाइपाउँ भन्‍नेसमेत बेहोराको वादी रामकृष्ण श्रेष्ठ, आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठको संयुक्त फिरादपत्र ।

विपक्षी वादीले उल्लेख गरेको पुस्तेवारीसमेत मिलेको छैन । बुद्धिनारायण श्रेष्ठका ३ छोराहरूमा सुकनारायण श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र कान्छा श्रेष्ठ हुन् । सुकनारायणका २ छोरा २ छोरीमा छोरीको विवाह भएको, जेठो छोरा पञ्चनारायण श्रेष्ठको मृत्यु भई हक खाने छोरा रूद्रनारायण र माहिलो छोरा म न्हुच्छेनारायण श्रेष्ठ प्रतिउत्तरकर्ता हुँ । बुद्धिमानको छोराहरूमा जेठो रामकृष्ण, माइलो आशाकाजी, साहिँलो सानो हरिकृष्ण, काहिँलो कान्छा र कान्छो चङ्‍खे श्रेष्ठ हुन् । साँहिलो सानो हरिकृष्ण श्रेष्ठको परलोक भई निजको हक खाने ३ छोराहरूमा राम, भरत र लक्ष्मण रहेका छन् । कान्छा श्रेष्ठको २ वटा छोराहरूमा जेठो टीकाराम र कान्छो तुसिंह हुन् । टिकारामको मृत्यु भएको र उनकी १ छोरीको विवाह भइसकेको छ । प्रस्तुत पुस्तेवारीबाट के कुरा प्रस्ट हुन्छ भने विपक्षी वादीहरू हाम्रा अंशियार होइनन् । म प्रतिउत्तरकर्ताको बाजेकै पालामा सुकुनारायण, बुद्धिमान र कान्छा श्रेष्ठबिच मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. बमोजिम अंशबन्डा भइसकेको हो । यसरी बाजेकै पालामा अंशबन्डा भई म न्हुच्छेनारायण श्रेष्ठ र पञ्चनारायण श्रेष्ठबिच मिति २०३१।३।२ गते मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.बमोजिम घरायसी बन्डापत्र खडा गरी अंशबन्डासमेत भइसकेको छ । यी विपक्षीले केवल बुद्धिमान श्रेष्ठको अंशहकसम्म प्राप्त गर्ने हुन् । बाजेकै पालामा भएको बन्डालाई अहिले आएर अन्यथा भन्‍न मिल्दैन । गैरअंशियारले अंशमा दाबी गर्दैमा अंशभाग प्राप्त नहुने भएकोले विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको तर्फबाट परेको प्रतिउत्तरपत्र ।

विपक्षी वादीले उल्लेख गरेको पुस्तेवारीसमेत मिलेको छैन । बुद्धिनारायण श्रेष्ठका ३ छोराहरूमा जेठो सुकुनारायण श्रेष्ठ, माइलो बुद्धिमान श्रेष्ठ र कान्छो कान्छा श्रेष्ठ हुन् । सुकुनारायणका २ छोरा र २ छोरीमा छोरीहरूको विवाह भइसकेको, जेठो छोरा पञ्चनारायण श्रेष्ठ र माहिलो न्हुच्छेनारायण श्रेष्ठ भएकोमा पञ्चनारायणको मृत्यु भइसकेकोले निजको हक खाने एक मात्र छोरा रूद्रनारायण श्रेष्ठ हो । बुद्धिमान श्रेष्ठको छोराहरूमा जेठो रामकृष्ण, माइलो आशाकाजी, साँहिलो सानो हरिकृष्ण, काहिँलो कान्छा र कान्छो चङ्‍खे श्रेष्ठ हुन् । साँहिलो सानो हरिकृष्ण श्रेष्ठको परलोक भई निजको हक खाने ३ छोराहरूमा राम, भरत र लक्ष्मण रहेका छन् । कान्छा श्रेष्ठको २ छोरामा टिकाराम र म प्रतिउत्तरकर्ता तुसिंह हुँ । टिकारामको मृत्यु भएको र उनकी १ छोरीको विवाह भइसकेको छ । प्रस्तुत पुस्तेवारीबाट के कुरा प्रस्ट हुन्छ भने वादीहरू हाम्रा अंशियार होइनन् । मेरो बाजेकै पालामा सुकुनारायण, बुद्धिमान र कान्छा श्रेष्ठबिच मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. बमोजिम अंशबन्डा भइसकेको हो । यसरी बाजेकै पालामा अंशबन्डा भइसकेपछि म तुइसिँ श्रेष्ठ र विपक्षीहरू अंशियारसमेत होइनौं । यसरी साबिकदेखि नै विपक्षीका पिता र मेरा पिताबिच अलग भिन्‍न भई बसेको, जग्गा नापजाँच हुँदा अलगअलग भएको, ७ नं. फाँटवारी अलग भरेको, मोहीको १ नं. लगत अलग भएको, प्रतिवादी प्रतिवादीबिच हक हस्तान्तरण गर्ने लिखत पारित भई आ-आफ्ना नाममा दा.खा. गरी आ-आफ्नो हकभोगको जग्गा आ-आफूले नै हकभोग बिक्री वितरण गरिरहेको स्थितिमा एक पटक बन्डा भइसकेपछि पटकपटक अंशबन्डा हुन सक्दैन । विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी तुसिंह श्रेष्ठको तर्फबाट परेको प्रतिउत्तरपत्र ।

विपक्षी र हाम्रो हाँगातर्फ अघि नै अंशबन्डा भई पिता पञ्चनारायणले अघि २०१३ साल एवं ०१८ सालमा विभिन्‍न जग्गाहरू पारित गरी लिनु दिनु भई हाम्रोतर्फ सम्पत्तिहरू बढे बढाएको अवस्था भएकोले विपक्षीहरूलाई लालच भई मुद्दा दायर गरेका हुन् । अंश नभएको भए कान्छा बाजेतर्फका मेरा काका नाताका तुसिंहले पनि अंशमा दाबी गर्नुपर्ने हो । त्यस्तै अंशबन्डा भई नसकेको भए मेरा पिता र काका न्हुच्छेनारायणबिच मात्र मिति २०३१/३/२ मा अंशबन्डाको लिखत गरिनु र सोमा अरू अंश गर्नुपर्ने कोही नभएको भनी जनिनुपर्ने कारण छैन । मैले पनि नोकरी गरी आर्जन गरेको स्वआर्जनको जग्गा जमिनहरू छन् र अंश छुट्टिएका काका र मेराबिच हक हस्तान्तरण भएका पारित लिखतहरूसमेत मौजुद हुँदा वादी दाबी पूर्णतः झुट्टा 

हो । तसर्थ अघि जिजुबाजे बुद्धिनारायण श्रेष्ठकै पालामा उहाँका छोराहरूबिच अंशबन्डा भएको हो । मैले जानेदेखि नै विपक्षहरू र हामीहरूको अलगअलग घर व्यवहार रहेको हुँदा जग्गा जमिनहरू अलगअलग भोग गरी आइरहेका छौं । हामी कोही पनि कसैसँग सगोलमा नहुँदा वादी दाबी नपुग्ने ठहर्‍याई झुट्टा फिराद गरेकोमा वादीलाई सजायसमेत गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी रूद्रनारायण श्रेष्ठको प्रतिउत्तरपत्र ।

मिति २०६१।१२।८ को आदेशानुसारको फिल्डबुक, दर्ता स्रेस्ता उतार, ७ नं. फाँटवारी सुरू मिसिल संलग्न रहेको ।

मिति २०६१।१२।८ को आदेशानुसार वादीहरूका साक्षी रामकृष्ण श्रेष्ठ तथा प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठका साक्षी नानीकाजी के.सी. र प्रतिवादी रूद्रनारायण श्रेष्ठका साक्षी कुलबहादुर श्रेष्ठले गरेको बकपत्र सुरू मिसिल संलग्न रहेको ।

मिति २०६३।२।४ को आदेशानुसार प्रतिवादीबाट पेस भएको घरायसी बन्डापत्रको सक्‍कल खामबन्दी थान २ सुरू मिसिल संलग्न रहेको ।

मिति २०६३।२।४ को आदेशानुसार वादीले ७८ नं. बमोजिम गरेको बयान सुरू मिसिल संलग्न रहेको ।

मिति २०६५।५।२४ को आदेशानुसारको स्रोत खुलाउने कागज सुरू मिसिल संलग्न रहेको ।

मिति २०६५।८।१७ को आदेशानुसार वादी प्रतिवादीबाट बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी पेस भएको, पेस भएको तायदाती एकआपसमा सुनाइएको, तायदातीमा उल्लिखित जग्गाको दर्ता स्रेस्ता उतार प्राप्त भएको र वादीले नपुग कोर्ट फीमा सुविधा लिई कारबाही भएको ।

मिति २०६६।५।२१ को आदेशानुसार प्रतिवादीहरूका नामदर्तामा रहेका जग्गाहरूको स्रोत तथा क्षेत्रफलसमेत खुलाई प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको मु.स. गर्ने नारानदास श्रेष्ठसमेतका वा. जनकराज श्रेष्ठले पेस गरेको द.नं. ८९९४ मिति २०६६।६।२१ को पाना ५ को विवरण कागज सुरू मिसिल संलग्‍न रहेको ।

यसै लगाउको २०६६ सालको दे.नं. ०४५९२ को अंश भर्पाई लिखत बदर, २०६६ सालको दे.नं. ०४५९१ को निर्णय लिखत दर्ता बदर, २०६६ सालको दे.नं. ०४५९३ को हा.ब. लिखत दर्ता बदर, २०६७ सालको दे.नं. ०३१९५ को लिखत दर्ता बदर, २०६६ सालको दु.फौ.नं. ०२३७२ को जालसाजी, २०६६ सालको दु.फौ.नं. ०२३७३ को जालसाजी, २०६६ सालको दु.फौ.नं. ०२३७४ को जालसाजी, २०६६ सालको दु.फौ.नं. ०२३७१ को जालसाजी र २०६७ सालको दु.फौ.नं. ०१५०७ को जालसाजी मुद्दाहरू साथै पेस भएको ।

वादी र प्रतिवादीहरू छुट्टी भिन्‍न भएको नदेखिएकोले वादीहरूले अंश छुट्याई लिन पाउने सम्पत्तिमा तायदाती फाँटवारीमा आएका कित्ता जग्गाहरूमा कि.नं. ६ क्षेत्रफल ६-४-०-० जग्गामध्ये कित्ताफोड भई मोही रामकृष्ण श्रेष्ठका नाममा कायम भएको कि.नं ३५ क्षेत्रफल ३-४-०-० को मोही हकको जग्गा, कि.नं. ८६ को क्षेत्रफल १-९-०-० कित्ताफोड भई कायम हुन आएको कि.नं २९० क्षेत्रफल १-०-०-० सानु हरिकृष्ण श्रेष्ठका नाउँमा कायम रहेको जग्गा, कि.नं. ४३ को क्षेत्रफल १-८-०-० मध्ये कित्ताकाट भई कायम हुन आएको कि.नं. ३९८ क्षेत्रफल ०-६-३-० जग्गा र कि.नं. ५ को क्षेत्रफल ०-९-०-० जग्गासमेत मूल ३ अंशियारा सुकनारायण, बुद्धिमान र कान्छा श्रेष्ठका बिच बन्डा लाग्ने सम्पत्ति देखिँदा उक्त जग्गाहरूबाट माइला बुद्धिमानका सन्तान वादीहरूले प्रतिवादीहरूबाट ३ भागको १ भाग बन्डा छुट्याई लिन पाउने ठहर्छ । तायदातीमा आएको कि.नं. ४४ को क्षेत्रफल ०-१-२-० जग्गा प्रतिवादी रूद्रनारायण श्रेष्ठले राजीनामाबाट हक प्राप्त गरेको देखिँदा सो सम्पत्ति बन्डा लाग्ने देखिएन । तायदातीमा आएको कि.नं. ५, २७, २५४, २५७, १०१, कि.नं. ६ कित्ताकाट भई कायम हुन आएको कि.नं. ३४ का जग्गाहरूमा वादीहरूको छुट्टै लिखत बदर र जालसाजी मुद्दा दायर भएको एवं कि.नं. ९२, ९७, ९९, १०२ र ११४ का जग्गाहरूका सम्बन्धमा अंश भर्पाई लिखत दर्ता बदर र जालसाजी मुद्दा दायर भई ती मुद्दाहरूमा आज यसै इजलासबाट छुट्टै विवेचना भई निर्णय भएकोले ती जग्गाहरू अंश लाग्ने नलाग्ने भन्‍ने सम्बन्धमा यस अंश मुद्दाबाट केही बोलिरहन परेन भन्‍नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६८।२।१६ को फैसला ।

सुरू फैसलामा चित्त बुझेन । विपक्षी वादीका पिता बुद्धिमान श्रेष्ठको ५ अंशियार रामकृष्ण श्रेष्ठ, आशाकाजी श्रेष्ठ एवं सानो हरिकृष्ण श्रेष्ठ, चंखे श्रेष्ठ र कान्छा श्रेष्ठसमेत ५ अंशियार भई वादीले मूल अंशियार ३ जनाको तीन भागको १ भागको ५ भाग अंशबन्डा हुने भएकोमा रामकृष्ण श्रेष्ठले अंश दाबी छाडी कायम गरिदिएको र स्व. सानो हरिकृष्ण निःसन्तान अवस्थामा परलोक भएको, चंखे श्रेष्ठले अंशमा दाबी नै नगरेको कारणले कथंकदाचित वादीहरूले अंश पाउने भए जम्मा सम्पत्तिको ३ भाग लगाई ३ भागको १ भाग वादीको पिताको भाग छुट्टयाई त्यसबाट पुनः वादीको दाजुभाइ ४ अंशियारबिच ४ भाग लगाई ४ भागको २ भाग अर्थात्‌ ३ भागको १ भागको ४ भागको २ भाग वादीहरू आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठले पाउनुपर्नेमा वादी दाबीभन्दा बाहिर गई ३ भागको १ भाग वादीहरूले अंश छुट्याई लिन पाउने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, मुलुकी ऐन, अ.बं. १८४ (क) र १८५ नं. एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरको विपरीत हुँदा बदर गरी उल्ट्याई न्याय पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको मु.स. गर्ने नारानदास श्रेष्ठ र हरिदास श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

हामी वादी प्रतिवादीहरूका बाजेहरूकै पालामा अंशबन्डा भएको, भूमिसम्बन्धी ऐन, २०२१, भूमिसम्बन्धी नियमावली, २०२१, जग्गा नापजाँच ऐन, २०१९, मालपोत ऐन, २०३४ बमोजिम जग्गावालाहरूको हैसियतले १ नं. लगत, २ नं. अनुसूची, ७ नं. फाँटवारी अलगअलग भरिएको, दा.खा. नामसारी अलगअलग भएको, कित्ताकाट गरी बेचबिखन गर्ने कार्य भएको, दर्ता फुटी तिरो भरोसमेत अलगअलग भएको, सबै अंशियारहरूको छुट्टाछुट्टै घर र मतदाता नामावलीसमेत छुट्टाछुट्टै भएको र वादी प्रतिवादीहरूबिच जग्गा हक हस्तान्तरण गर्ने कार्यसमेत भएको, वादी प्रतिवादीहरूले मिति २०३१।३।२ को बन्डापत्रलाई अन्यथा भन्‍न नसकेको, सोही आधारमा दा.खा. नामसारी हुँदै आएको, आ-आफ्नो तिरो भरो र क्षेत्रफलसमेत छुट्याई दा.खा. गरी लिए दिएको अवस्थाको विद्यमानता हुँदाहुँदै वादी दाबीभन्दा बाहिर गई भए गरिएको सुरू अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, २६, ३४, ५४, मुलुकी ऐन, अ.बं. को महलको १८४(क), १८५ नं., अंशबन्डाको महलको १, २, ३, १८, ३०, ३५ नं. तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको आधारमा त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर एवं पुनरावेदन जिकिरबमोजिम न्याय पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी रूद्रनारायण श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

सुरू फैसला चित्त बुझेन । काठमाडौं जिल्ला अदालतबाट कि.नं. ४४ को क्षेत्रफल ०- १-२-० जग्गा प्रतिवादीले राजीनामाको लिखतबाट खरिद गरेको कारणबाट हामी वादीहरूलाई बन्डा नलाग्ने गरी गरेको फैसला कानूनी त्रुटिपूर्ण छ । विपक्षी प्रतिवादीले हामी सबै एकासगोलमा बसेको समयमा खरिद गरेको जग्गा हामी सबै अंशियारहरूको बराबर हक लाग्ने सम्पत्ति 

हो । उक्त जग्गा विपक्षी प्रतिवादीले निजी तवरबाट आर्जन गरेको, बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति हो भनी पुष्टि गर्न सकेको खण्डमा मात्र विपक्षीको एकलौटी बन्डा नलाग्ने हुने हो । प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम राजीनामाबाट खरिद गरेको सम्पत्ति बन्डा लाग्ने सगोलको कमाइबाट आर्जन गरेको सम्पत्ति हो । त्यस्तो सम्पत्ति सबै अंशियारको बराबर अंश लाग्ने भएको हुँदा सुरू फैसला बदर गरी आंशिक उल्टी गरिपाउँ भन्‍नेसमेत बेहोराको वादीहरू आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदनपत्र ।

यसमा वादीमध्येकै रामकृष्ण श्रेष्ठले तायदाती फाँटवारीको सन्दर्भमा निवेदन दिँदा पिता बुद्धिमान र सुकमानका बिच पहिला नै बन्डा भइसकेको भनी स्वीकार गरेको स्थितिमा वादीमध्येकै रामकृष्ण श्रेष्ठसमेतले प्रतिवादीबाट अंश पाउने ठहर्‍याई सुरूले गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनको लागि पुनरावेदन गर्ने पक्षहरूको हकमा पुनरावेदन परस्परमा सुनाउनु र सोबाहेकका अन्य प्रत्यर्थीको हकमा सूचनाको म्याद जारी गरी छलफलको लागि झिकाई लगाउको मुद्दा साथै राखी नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०६९।६।१८ को आदेश ।

यसमा प्रतिवादी रूद्रनारायण श्रेष्ठले प्रतिउत्तर पत्र साथ पेस गरेको पञ्चनारायण र न्हुच्छेनारायणबिच मिति २०३१।३।२ मा भएको घरसारको कागज प्रतिवादी रूद्रनारायण श्रेष्ठबाट सक्‍कल दाखिल गर्न लगाई सो कागज पुनरावेदक वादीलाई देखाई मुलुकी ऐन, अ.बं. ७८ नं. बमोजिमको प्रक्रिया पूरा गरी नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०७०।६।१४ को आदेश ।

यसमा यस अदालतको पूर्वआदेशानुसार प्रतिवादी रूद्रनारायण श्रेष्ठबाट पेस भएको मिति २०३१।३।२ को सक्‍कल लिखत सम्बन्धमा अ.बं. ७८ नं.बमोजिमको प्रक्रिया सुरू काठमाडौं जिल्ला अदालतबाट पूरा गरिसकिएको भन्‍ने निज रूद्रनारायण श्रेष्ठको वारेस दिलकुमार श्रेष्ठको निवेदन पर्न आएको र प्रस्तुत मुद्दाको सुरू सक्‍कल मिसिल हेर्दा काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।३।२१ मा अ.बं. ७८ नं.बमोजिमको बयान कार्य सम्पन्‍न भइसकेको देखिँदा प्रस्तुत मुद्दा नियमानुसार पेसी चढाई पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०७०।८।१७ को आदेश । 

यसमा यसै लगाउको मुद्दाको वादी प्रतिवादीमध्येका रूद्रनारायण श्रेष्ठ र देवलक्ष्मी श्रेष्ठको दे.पु.नं. १८५७ (काठ. १) मा पुनरावेदन परेको भन्‍ने यस अदालतको प.सं. च.नं. ०६८/०६९, ०६८-DP-२३०४ मिति २०६९।३।१४ को पत्रको पीठमा उल्लेख भएको देखिँदा उक्त मुद्दासमेत साथ राखी नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०६९।३।१४ को आदेश ।

यी वादीहरूका बाबु बुद्धिमान श्रेष्ठ र प्रतिवादीका बाबुहरूले आ-आफ्नो नाउँको दर्ता फाँटवारी छुट्टाछुट्टै भरेको, प्रतिवादीका बाबु पञ्चनारायण र न्हुच्छेनारायणबिच मिति २०३१ सालमा घरसारमा बन्डापत्र भएको र निजहरू एकआपसमा जग्गाधनी र मोहीसमेत भए रहेको देखिनुका साथै रूद्रनारायण र न्हुच्छेनारायणबिच मिति २०५३।९।२९ मा हा.ब. लिखत पारित भएको तथा यी वादी प्रतिवादीहरूले आ-आफ्नो भोगको जग्गाको फिल्डबुक नापी छुट्टाछुट्टै गराएको र वादीमध्येका रामकृष्ण श्रेष्ठले वादी प्रतिवादीका बाबुहरूकै पालामा छुट्टी भिन्‍न भइसकेको भनी तायदाती फाँटवारीको निवेदनमा उल्लेख गरेकासमेतका सबुद प्रमाणबाट यी वादी र प्रतिवादीहरू बाबुबाजेकै पालामा छुट्टी भिन्‍न भएको व्यवहार प्रमाणबाट पुष्टि भएको देखिँदादेखिँदै एक पटक अंशबन्डा भइसकेको अवस्थामा पुनः अंशमा दाबी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०६८।२।१६ को फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ । वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७०।१२।३ को फैसला ।

हाम्रा पिता, काका र ठुलोबुबाबिचमा अंशबन्डा भएको छैन । नापीको समयमा जेठा सुकनारायण, माइला बुद्धिमान र कान्छो कान्छा श्रेष्ठको नामबाट वा उनीहरूको हकदार अंशियारका नाममा जग्गा नापी भई जग्गाधनी दर्ता प्रमाण पुर्जा छुट्टाछुट्टै रूपमा प्राप्त गरी भोग व्यवहार गरेको अवस्था विद्यमान छैन । नापीको समयमा हाम्रा पिता वा हाम्रो नाममा कुनै पैतृक सम्पत्ति रहे भएको, ७ नं. फाँटवारी भरेको भन्‍ने कुनै प्रमाण प्राप्त गर्न सकेको छैन । केवल प्रतिवादीहरूको नाममा मात्र नापीको समयमा भरेको ७ नं. अनुसूची फाँटवारी र त्यसको आधारमा गरिएको दर्ताबाट हाम्रा बाबु बुद्धिमान श्रेष्ठ र प्रतिवादीका बाबुहरूले आ-आफ्नो नामको दर्ता फाँटवारी छुट्टाछुट्टै भरेको भनी अर्थ गर्न 

मिल्दैन । हाम्रा पिता वा हाम्रो नाममा त्यस प्रकारको सम्पत्ति रहे भएको भए यो यो कित्ता जग्गा यस यसको नाममा दर्ता प्रमाण पुर्जा छ, ७ नं. फाँटवारी भरेको छ भनी फैसलाले देखाउन सक्नुपर्दथ्यो । ती कुराहरू केही देखाउन सकेको अवस्था छैन । यसरी बुद्धिनारायण श्रेष्ठका छोराहरू जेठा सुकनारायण, माइला बुद्धिमान र कान्छा कान्छो श्रेष्ठका बिचमा नै कानूनसम्मत तवरले बन्डा नभएको अवस्थामा सुकनारायणको छोराहरू पञ्चनारायण र न्हुच्छेनारायणबिच मिति २०३१।३।२ मा घरसारमा बन्डा भएको भन्‍ने आधार ग्रहण गर्न मिल्दैन । काठमाडौं जिल्ला अदालतको फैसलाले हामीबिच बन्डा नभएको भनी अंशबन्डा गर्ने गरी गरेको सुरू फैसला कान्छा श्रेष्ठका छोरा प्रतिवादीमध्येका तुसिंह श्रेष्ठले चित्त बुझाई सोउपर पुनरावेदन नगरी गरेको स्वीकारोक्तिलाई प्रमाणमा नलिई पुनरावेदन अदालत पाटनले गरेको फैसला त्रुटिपूर्ण छ । हाम्रा मूल पुर्खा र हामी अंशियारबिच मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. अनुसार नापीमा सबैको बराबरी क्षेत्रफल हुने गरी ७ नं. फाँटवारी भरेको, सोको आधारमा दर्ता गरेको, सबै अंशियारबिच बराबरीरूपमा पैतृक सम्पत्ति आएको छ भन्‍ने कुराको प्रमाणको अभावमा हामी पुनरावेदक वादी आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठको नाममा कुनै पनि अचल सम्पत्ति भएको देखाउन नसकेको विद्यमान अवस्थामा हामीलाई हराउने गरी पुनरावेदन अदालतले गरेको फैसला सरासर गलत छ । हाम्रा दाजु रामकृष्ण श्रेष्ठ आफैँ वादी भई अदालती प्रक्रियामा लामो समयसम्म तारिखमा बसी बन्डा नभएको निश्‍चित गरी काठमाडौं जिल्ला अदालतबाट तायदाती माग्ने आदेश भएपछि आफ्नै फिराद दाबीविपरीत मिति २०६५।१०।६ मा “पिता बुद्धिमान श्रेष्ठ र सुकनारायण श्रेष्ठबिच पहिले नै बन्डा भई छुट्टी भिन्‍न बसेको हो” भनी निवेदन दिएको भए पनि हामी अन्य वादीहरूको हकमा बन्डा छुट्टिएको भन्‍ने ठोस आधार प्रमाणको अभावमा बन्डा भइसकेको भनी मान्‍न मिल्दैन । उक्त प्रमाण ग्रहण गर्नु प्रमाण ऐन, २०३१ को दफा ३४ को विबन्धनको सिद्धान्तविपरीत छ । अत: पुनरावेदन अदालत पाटनले वादी दाबी पुग्न नसक्ने गरी गरेको त्रुटिपूर्ण फैसलालाई उल्टाई फिराद दाबीबमोजिम सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग बन्डा छुट्ट्याई हाम्रो नाममा दर्ता गरी चलन चलाइपाउँ भन्‍नेसमेत बेहोराको वादीहरू आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठको यस अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।

यसमा ७ नं. फाँटवारीलगायतका कुनै पनि लिखतबाट वादीको नाममा कुनै किसिमको जग्गा रहेको भन्‍ने नदेखिएको अवस्थामा प्रतिवादीहरूबिच एकआपसमा भएको बन्डाको आधारमा वादीले अंश नपाउने ठहर गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा मुलुकी ऐन, अंशबन्डाको महलको १ र २ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको व्याख्यात्मक त्रुटि देखिएकाले अ.बं. २०२ नं. को प्रयोजनार्थ विपक्षीलाई पुनरावेदनको जानकारी गराई कानूनबमोजिम गरी पेस गर्नु भन्‍ने बेहोराको यस अदालतको मिति २०७४।५।१४ को आदेश ।

विपक्षीको पुनरावेदन सबै झुट्टा हो । हाम्रा जिजुबाजे बुद्धिनारायण श्रेष्ठ जीवितै रहँदाको अवस्थामा हाम्रा बाजे सुकुनारायण श्रेष्ठ, विपक्षीहरूका बाबु बुद्धिमान श्रेष्ठ र प्रतिवादीमध्येका तुसिंह श्रेष्ठका बाबु कान्छा श्रेष्ठ छुट्टी भिन्‍न भइरहेकोमा सोही आधारमा भूमिसम्बन्धी नियमहरू, २०२१ अनुसार हाम्रा बाजे/जिजुबाजे सुकनारायण श्रेष्ठ, विपक्षीहरूका बाबु बुद्धिमान श्रेष्ठ र जिजुबाजे बुद्धिनारायण श्रेष्ठसमेतले छुट्टाछुट्टै ७ नं. फाँटवारी पेस गरेको कुरा भूमिसुधार कार्यालय, काठमाडौंले काठमाडौं जिल्ला अदालतलाई लेखेको च.नं. ५८५३ मिति २०६२।११।३ को पत्रबाट स्पष्ट हुन्छ । उक्त पत्रमा मूल पुरूषहरूले छुट्टाछुट्टै कानूनबमोजिम भरेको ७ नं. फाँटवारीको छायाँप्रति उपलब्ध गराएकोबाट पनि हाम्रा बाजे-बाजेहरूबिच अलगअलग आ-आफूले व्यवहार गरी भोगचलन गरेका र हकभोगमा रहे भएको सम्पत्तिको फाँटवारी पेस गरी सोहीअनुसार २०२१ सालमा नापनक्सा हुँदा सुकनारायणको हकभोगमा रहेको र अन्य व्यक्तिहरूले कमाएको जग्गाजमिन सुकनारायणको हाँगातर्फका पञ्चनारायण र न्हुच्छेनारायणका नाममा नापनक्सा फिल्डबुक कायम भई मोही महलमा मोही जनिई मोही कायम भएको छ । बुद्धिमानको हकभोगमा रहेको र अन्य व्यक्तिसमेतले कमाएको निजको हाँगातर्फको विपक्षी रामकृष्ण श्रेष्ठ, स्व. सानो हरिकृष्ण श्रेष्ठका साथै अन्य छोराहरूको नाममा नापनक्सा भएको र त्यसैगरी कान्छाका हाँगातर्फ निजका छोराहरू स्व. टिकाराम श्रेष्ठ र तुसिंह श्रेष्ठसमेतको नाममा नापी भई केही रैकरमा र केही अन्य व्यक्तिको मोहीको हैसियतमा नापनक्सा भएको कुरा मिसिल संलग्न फिल्डबुक र दर्ता स्रेस्ताको बेहोराहरूले पुष्टि गरिरहेको छ । हाम्रा स्व. बाबु न्हुच्छेनारायण श्रेष्ठको नाममा पनि गुठीको जग्गा छ भने हाम्रो बाबुको मिहिनेतले अरूको जग्गा कमाई मोहीको हैसियतले जग्गा बाँडफाँट हुँदा प्राप्त भएको कि.नं.हरूसमेत जोडी धेरै जग्गा देखाइएको हुँदा विपक्षीहरू र हाम्रा बाजेबिच पहिला नै व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भइसकेको देखिन्छ । साथै वादीहरूमध्ये रामकृष्ण श्रेष्ठले तायदाती पेस गर्दा पहिला नै हाम्रा पिताबिच अंशबन्डा भइसकेको भनी निवेदनसमेत दिएकोले उक्त लिखत प्रमाण ऐन, २०३१ को दफा ९(३)(घ) अनुसार प्रमाणयोग्य रहेको छ । यसरी विपक्षी वादीका बाबु बाजे र हाम्रा बाबु बाजेसमेत पहिलेदेखि नै अंशबन्डा गरी आ-आफ्नो भाग आ-आफूले भोग व्यवहार गरी आफ्नो हकभोगको जग्गाहरू छुट्टाछुट्टै नापजाँच गराई छुट्टाछुट्टै बिक्री व्यवहारसमेत गरिआएको स्पष्ट हुँदाहुँदै पुनः अंश पाउनका लागि विपक्षीहरूले हामीउपर दिएको पुनरावेदन झुट्टा हुनुका साथै मुलुकी ऐन, अंशबन्डाको महलको १ र ३० नं., भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र (ग) समेतको विपरीत भएकोले सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७०।१२।३ मा भएको फैसला नै सदर कायम गरी विपक्षीको झुट्टा पुनरावेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको मु.स. गर्ने नारानदास श्रेष्ठ र ऐ. को मु.स. गर्ने स्व. हरिदास श्रेष्ठको मृत्यु भई निजको मु.स. गर्ने तिर्थकुमारी श्रेष्ठ, सुजन श्रेष्ठ, साजन श्रेष्ठ र निरज श्रेष्ठको तर्फबाट संयुक्तरूपमा यस अदालतमा परेको लिखित प्रतिवाद ।

प्रस्तुत मुद्दामा हाम्रा पति तथा पिता रूद्रनारायण श्रेष्ठ प्रत्यर्थी प्रतिवादी रहनुभएको, यसमा प्रत्यर्थी झिकाउने आदेश भएको र पति तथा पिता रूद्रनारायण श्रेष्ठ मिति २०७१।६।१५ मा परलोक हुनुभएकोले उहाँका एकाघरका पत्‍नी तथा छोराको नाताले मुलुकी ऐन, अ.बं. ६२(३) नं.बमोजिम स्व. रूद्रनारायण श्रेष्ठको हकमा मुद्दा सकार गरिपाउँ भनी स्व. रूद्रनारायण श्रेष्ठका पत्‍नी कृष्णमाया श्रेष्ठ तथा छोराहरू देवकुमार श्रेष्ठ र दिलकुमार श्रेष्ठको यस अदालतमा परेको द.नं. २७९१ मिति २०७४।१०।७ को संयुक्त निवेदनपत्र र निवेदन मागबमोजिम निवेदकहरूलाई मुद्दा सकार गराइएको भन्‍ने यस अदालतको मिति २०७४।१०।७ को आदेश मिसिल संलग्न रहेको ।

प्रस्तुत मुद्दामा हाम्रा पति तुसिंह श्रेष्ठ प्रत्यर्थी प्रतिवादी रहनुभएको, यसमा प्रत्यर्थी झिकाउने आदेश भएको, पति तुसिंह श्रेष्ठ मिति २०६९।५।२५ मा परलोक हुनुभएको र स्व. तुसिंह श्रेष्ठको नामको १५ दिने म्याद गुज्रेकोले मुलुकी ऐन, अ.बं. ५९ नं.बमोजिम गुज्रेको म्याद थामी उहाँको पत्‍नीको नाताले मुलुकी ऐन, अ.बं. ६२(३) नं.बमोजिम स्व. तुसिंह श्रेष्ठको हकमा मुद्दा सकार गराई तारेखमा राखिपाउँ भनी स्व. तुसिंह श्रेष्ठकी पत्‍नी चन्द्रलक्ष्मी श्रेष्ठको यस अदालतमा परेको द.नं. २०१२ मिति २०७५।१।३१ को निवेदनपत्र र निवेदन मागबमोजिम निवेदकलाई मुद्दा सकार गराई गुज्रेको तारेख थामिएको भन्‍ने यस अदालतको मिति २०७५।१।३१ को आदेश मिसिल संलग्न रहेको ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । यसमा पुनरावेदक वादीहरू आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री इन्द्रप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू श्री राजेश्‍वर अधिकारी, श्री मनोहर साह, श्री कृष्णप्रसाद शर्मा र श्री शारदा ढकालले वादी प्रतिवादीहरूबिच नातामा विवाद नभई निजहरू एउटै पुस्तेवारीभित्र पर्ने अंशियार रहेका र निजहरूबिच यसअघि विधिवत् अंशबन्डा भएको भन्‍ने कुनै प्रमाण पेस हुन नसकेको स्थितिमा पुनरावेदक वादीहरूले प्रत्यर्थी प्रतिवादीहरूबाट दाबीबमोजिमको अंश पाउनुपर्छ । तसर्थ प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट वादीहरूले दाबीबमोजिमको अंश पाउने ठहर गरी भएको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी गरी वादीहरूले दाबीबमोजिमको अंश पाउने गरी फैसला गरिनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको मु.स. गर्ने नारानदास श्रेष्ठसमेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत तथा विद्वान् अधिवक्ता श्री राजकुमार श्रेष्ठ, प्रत्यर्थी प्रतिवादी रूद्रनारायण श्रेष्ठको मु.स. गर्ने देवकुमार श्रेष्ठ र दिलकुमार श्रेष्ठको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री विश्‍वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ताहरू श्री मदनकुमार महत, श्री जनकराज श्रेष्ठ र श्री धिरेन्द्र राउत, प्रत्यर्थी प्रतिवादी तुसिंह श्रेष्ठका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री रामप्रसाद पोख्रेल, श्री सुदीप नेपाल र श्री रामशरण घिमिरेले पुनरावेदक वादीहरू र प्रत्यर्थी प्रतिवादीहरूका बाबु, बाजे/जिजुबाजेहरू सुकनारायण श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र कान्छा श्रेष्ठका बिच निजहरूको जीवनकालमा नै घरसारमा अंशबन्डा भई निजहरूले आ-आफ्नो अंशभाग छुट्टाछुट्टै भोग गर्दै आएका, निजहरूका आ-आफ्नो भागको जग्गा सर्भे नापीका बखत छुट्टाछुट्टै नाप जाँच गराएका, भूमिसम्बन्धी ऐन लागु भएपछि मोहीको रूपमा आफूले कमाएका जग्गाको मोहीमा आ-आफ्नो नाम उल्लेख गराएका, आपसमा जग्गा लिनु दिनु गरी हक हस्तान्तरण गरेको लिखत पारित गरे गराएको समेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट पुष्टि भइरहेको छ । यसरी कानूनबमोजिम पाउने अंश एक पटक पाइसकेको देखिएको अवस्थामा पुनः अंश पाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुँदा सोही फैसला नै सदर हुनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

उपर्युक्तानुसारको तथ्य, पुनरावेदन जिकिर र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा वादीहरूले प्रतिवादीहरूबाट ३ भागको १ भाग सम्पत्ति बन्डा छुट्ट्याई लिन पाउने ठहर्‍याएको सुरू फैसला उल्टी गरी अंश दिलाइपाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ कि छैन ? पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ कि सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा वादीहरूले मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं.बमोजिम बन्डापत्र पारित गरी अलग-अलग बसेको नदेखिएको र मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.बमोजिम अचल सम्पत्ति घरसारमा नरम गरम मिलाई बन्डा गरी आ-आफ्नो नाममा दाखिल खारेज गरेको स्थितिसमेत नहुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो दिनसम्मको अचल सम्पत्तिको तायदाती फाँटवारी मागी सो सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग अंश दिलाई चलनसमेत चलाइपाउँ भन्‍ने फिराद दाबी रहेकोमा म प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको पिता र वादीका पिताबिच पहिले नै अंशबन्डा भइसकेको हो, त्यस्तै म न्हुच्छेनारायण श्रेष्ठ र पञ्चनारायण श्रेष्ठका बिच पनि मिति २०३१।३।२ मा अंशबन्डा भई सो बन्डाबमोजिम दाखिल खारेजसमेत भइसकेको स्थितिमा मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.बमोजिमको बन्डा भएको छैन भन्‍न नमिल्ने हुँदा फिराद खारेज गरिपाउँ भन्‍ने प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठको प्रतिउत्तर जिकिर, मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. अनुसार वादीका पिता र हाम्रा पितासमेत व्यवहार प्रमाणबाट पहिले नै छुट्टी भिन्‍न भइसकेका हुन् भन्‍ने प्रतिवादीहरू तुसिंह श्रेष्ठ र रूद्रनारायण श्रेष्ठको छुट्टाछुट्टै प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा तायदाती फाँटवारीमा उल्लिखित कित्ता जग्गाहरूमा कि.नं. ६ क्षेत्रफल ६-४-०-० जग्गामध्ये कित्ताफोड भई मोही रामकृष्ण श्रेष्ठका नाममा कायम भएको कि.नं. ३५ क्षेत्रफल ३-४-०-० को मोही हकको जग्गा, कि.नं. ८६ को क्षेत्रफल १-९-०-० कित्ताफोड भई कायम हुन आएको कि.नं. २९० क्षेत्रफल १-०-०-० सानु हरिकृष्ण श्रेष्ठका नाउँमा कायम रहेको जग्गा, कि.नं. ४३ को क्षेत्रफल १-८-०-० मध्ये कित्ताकाट भई कायम हुन आएको कि.नं. ३९८ क्षेत्रफल ०-६-३-० जग्गा र कि.नं. ५ को क्षेत्रफल ०-९-०-० जग्गासमेत मूल ३ अंशियारहरू सुकनारायण श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र कान्छा श्रेष्ठका बिच बन्डा लाग्ने सम्पत्ति देखिँदा उक्त जग्गाहरूबाट माइला बुद्धिमानका सन्तान वादीहरूले प्रतिवादीहरूबाट ३ भागको १ भाग बन्डा छुट्याई लिनपाउने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको मिति २०६८।२।१६ को फैसलाउपर वादीहरू आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठ तथा प्रतिवादी न्हुच्छेनारायणको मु.स. गर्ने नारानदास श्रेष्ठ र हरिदास श्रेष्ठ एवं प्रतिवादी रूद्रनारायण श्रेष्ठको तर्फबाट परेको पुनरावेदनमा सुरू फैसला उल्टी भई वादी दाबी पुग्न नसक्‍ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०७०।१२।३ को फैसलाउपर वादीहरू आशाकाजी श्रेष्ठ र कान्छा श्रेष्ठको यस अदालतमा पुनरावेदन परेको देखियो ।

३. हामी वादी र प्रतिवादीहरू तथा हाम्रा बाबु-बाजेबिच हालसम्म मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं.बमोजिम बन्डापत्र पारित नहुनुका साथै मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.बमोजिम घरसारमा बन्डासमेत नभएको अवस्थामा ३ भागको १ भाग अंश दिलाइपाउँ भन्‍ने हाम्रो दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नहुँदा उक्त फैसला उल्टी गरी हाम्रो दाबीबमोजिम अंश दिलाइपाउँ भन्‍ने नै पुनरावेदक वादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । उक्त पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा, पुनरावेदक वादीहरू र प्रत्‍यर्थी प्रतिवादीहरूबिच निजहरूको पुस्तेवारी तथा नाता सम्बन्धमा विवाद नरही निजहरू आपसमा अंशियार रहेको भन्‍ने देखिन्छ । पुनरावेदक वादीहरू र प्रत्यर्थी प्रतिवादीहरूबिच वा निजका बाबु-बाजे जीवित रहेको अवस्थामा निजहरूबिच मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं.बमोजिम बन्डापत्रको पारित लिखत नभएको र वादीहरूका बाबु बुद्धिमान श्रेष्ठले प्रतिवादीहरूका बाबु तथा बाजे सुकनारायण श्रेष्ठ र कान्छा श्रेष्ठबाट मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.बमोजिम घरसारमै नरम गरम मिलाई आफ्नो भाग अंश बुझिलिएको भन्‍ने प्रत्यर्थी प्रतिवादीहरूको जिकिर रहेको देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. मा “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्‍नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर 

हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारिजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्‍न पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ” भन्‍ने उल्लेख रहेको पाइन्छ । 

४. उक्त कानूनी व्यवस्थाबाट बन्डापत्रको लिखत रजिस्ट्रेसन नगरी मुलुकी ऐनको सातौं संशोधन प्रारम्भ हुँदासम्ममा (मिति २०३४।९।२६ सम्म) बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल सम्पत्ति अंशबन्डा गरी छुट्टिई आ-आफ्नो अंशको जग्गाजमिन लिई पाई दाखिल खारिजसमेत गराइसकेको वा बन्डाबमोजिम आ-आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहर्ने र त्यस्तोमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन भनी भन्‍न नपाउने भन्‍ने देखिन्छ । उक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दाका वादी प्रतिवादीहरू तथा निजहरूका बाबु-बाजेबाट भएका व्यवहारहरू हेर्दा, यी वादीहरूका बाबु बुद्धिमान श्रेष्ठ र प्रतिवादीहरूका बाबु सुकनारायण श्रेष्ठ र कान्छा श्रेष्ठले जग्गा सर्भे नापी हुँदा आ-आफ्नो भोगको जग्गाको नापी दर्ता गराएको र सो कारणबाट निजहरूको भागको जग्गाको नापी दर्ता अलगअलग भएको देखिन्छ । सो क्रममा निजहरूले १ नं. लगत र ७ नं. फाँटवारीसमेत छुट्टाछुट्टै भरेको देखिन्छ । उक्त जग्गाहरू बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूको नाममा आएकोमा उक्त जग्गाहरूमध्ये केही जग्गा हाल निजहरूकै नाममा दर्ता कायम रहेको र केही जग्गा निजहरूले अन्य व्यक्तिहरूलाई हक हस्तान्तरण गरिदिएको भन्‍ने बेहोरा मालपोत कार्यालय, चावहिल (काठमाडौं) को प.सं. ०६५/६६ च.नं. ९२९५ मिति २०६६।२।३१ र प.सं. ०६५/६६, च.नं. ७२०९ मिति २०६६।३।२६ को पत्रसाथ प्राप्त भई सुरू मिसिल संलग्न रहेको जग्गाधनी दर्ता स्रेस्ताको प्रतिलिपिहरूबाट देखिन्छ । यसरी बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूका नाममा छुट्टाछुट्टै जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको देखिएबाट वादी प्रतिवादीहरूका बाबु-बाजेले आफ्नै पालामा आ-आफ्नो अंश भागको जग्गा आपसमा बन्डा गरी लिइसकेको र सोही जग्गाहरू नामसारी तथा बन्डा हुँदै वादी प्रतिवादीहरूका नामदर्तामा सरी आएको भन्‍ने देखिन्छ । 

५. सोका अतिरिक्त, प्रतिवादी रूद्रनारायण श्रेष्ठका बाबु पञ्चनारायण श्रेष्ठ र प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठबिच मिति २०३१।३।२ मा भएको घरसारको बन्डापत्रको लिखतबाट निजहरू सो मितिदेखि छुट्टिई अलग रहे बसेको भन्‍ने देखिन्छ भने पञ्चनारायण श्रेष्ठले न्हुच्छेनारायण श्रेष्ठलाई मालपोत कार्यालय काठमाडौंबाट मिति २०३५।४।२४ मा काठमाडौं जिल्ला, नयाँपाटी पञ्चायत, वडा नं. ९ग कि.नं. ९३ को क्षेत्रफल रोपनी १०-१०-० जग्गामध्ये क्षेत्रफल रोपनी ६-५-० जग्गा छोडपत्र गरिदिएको देखिन्छ । त्यस्तै, प्रतिवादी रूद्रनारायण श्रेष्ठले प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठलाई मालपोत कार्यालय, चावहिल (काठमाडौं) बाट मिति २०५३।९।२९ मा काठमाडौं जिल्ला, गोकर्ण गा.वि.स. वडा नं. ९ग कि.नं. ५ को क्षेत्रफल रोपनी ७-१४-० जग्गा र.नं. ३२६७ को हालैदेखिको बकसपत्रको लिखतबाट पारित गरिदिएकोसमेत देखिन्छ । त्यस्तै, कान्छा श्रेष्ठका छोरा प्रतिवादी तुसिंह श्रेष्ठको नाम दर्ताको काठमाडौं जिल्ला, नयाँपाटी गा.वि.स. वडा नं. ९ग कि.नं. ९२ को क्षेत्रफल रोपनी १-६-०-० जग्गाको मोही प्रतिवादी न्हुच्छेनारायण श्रेष्ठ रहेको बेहोरा नापी शाखा, चाबहिल (काठमाडौं) को प.सं. ०६२/०६३ च.नं. १०३२ मिति २०६२।९।२० को पत्रसाथ प्राप्त फिल्डबुक उतारबाट देखिन्छ । सो जग्गाको जग्गाधनी हाल रूद्रनारायण श्रेष्ठ रहेको बेहोरा मालपोत कार्यालय, चाबहिल (काठमाडौं) को च.नं. १६३६ मिति २०६२।८।५ को पत्रसाथ प्राप्त प्रतिवादी रूद्रनारायण श्रेष्ठको नामको जग्गाधनी दर्ता स्रेस्ताको प्रतिलिपिबाट देखिन्छ । यसबाट वादी प्रतिवादीका बाबु-बाजेहरू बुद्धिमान श्रेष्ठ, सुकनारायण श्रेष्ठ र कान्छा श्रेष्ठले आफ्नै जीवनकालमा आ-आफ्नो अंशभागको जग्गा आपसमा बन्डा गरी लिइसकेको, सुकनारायण श्रेष्ठका सन्तानहरूबिच २०३१ सालमा नै अंशबन्डा भएको र निजहरूबिच विभिन्‍न समयमा जग्गाजमिनहरू हक हस्तान्तरण भएको तथा कान्छा श्रेष्ठ र सुकनारायण श्रेष्ठका सन्तान प्रतिवादीहरू तुसिंह श्रेष्ठ र न्हुच्छेनारायण श्रेष्ठ आपसमा जग्गाधनी र मोहीसमेत कायम भएको भन्‍ने देखियो । 

६. साथै, प्रतिवादीमध्येका तुसिंह श्रेष्ठले आफ्ना बाबु कान्छा श्रेष्ठ आफ्ना दाजुहरू सुकनारायण श्रेष्ठ र बुद्धिमान श्रेष्ठबाट पहिले नै छुट्टिई भिन्‍न भएको भन्‍ने तथ्य स्वीकार गरी प्रतिउत्तर फिराएको देखिन्छ भने वादीमध्येका रामकृष्ण श्रेष्ठले आफ्ना पिता बुद्धिमान श्रेष्ठ र सुकनारायण श्रेष्ठबिच पहिले नै अंशबन्डा भई निजहरू छुट्टिई भिन्‍न बसेको हो भन्‍ने बेहोरा उल्लेख गरी मिति २०६५।१०।६ मा द.नं. ११८६६ को तायदाती फाँटवारी पेस गर्नुका साथै लगाउको ०७४-CR-०१८० को जालसाजी मुद्दामा पनि निजले सोही बेहोरासमेत उल्लेख गरी प्रतिउत्तर फिराएको 

देखिन्छ । यसरी प्रस्तुत मुद्दाका वादी रामकृष्ण श्रेष्ठ र प्रतिवादी तुसिंह श्रेष्ठबाट उल्लिखित उक्त बेहोराबाट वादीहरूका बाबु बुद्धिमान श्रेष्ठबाट प्रतिवादीहरूका बाबु-बाजे सुकनारायण श्रेष्ठ र कान्छा श्रेष्ठ पहिले नै छुट्टिई भिन्‍न भइसकेका हुन् भन्‍ने अन्य प्रतिवादीहरूको प्रतिउत्तर जिकिर समर्थित भएको देखियो । 

७. नातामा खास विवाद नभएको प्रस्तुत मुद्दामा मूलतः वादीको दाबी वादी प्रतिवादी सगोलमा रहेकोले अंशबन्डा हुनुपर्ने भन्‍ने र प्रतिवादीहरूको जिकिर मुलुकी ऐनको मिति २०३४।९।२७ को सातौं संशोधनपूर्व नै व्यवहार प्रमाणबाट बन्डा छुट्याइसकेको भन्‍ने रहेको देखिएको स्थितिमा सर्वोच्च अदालतले मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. को पटकपटक व्याख्यासमेत गरेको पाइन्छ । तत्‌सम्बन्धमा हेर्दा, पुष्करप्रसाद वाग्ले विरूद्ध राधादेवी वाग्ले उपाध्यायसमेत भएको अंश चलन मुद्दा (ने.का.प. २०६६, अङ्क ९, निर्णय नं. ८२२७) मा “अंशबन्डाको ३० नं. को प्रयोग र प्रयोजनका लागि विवादको स्वरूप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्त्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बन्डा भएको मानिने सुनिश्‍चित आधार नदिई केवल केही निर्णायक तत्त्वहरूको परिधि तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबुद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नुपर्ने 

हुन्छ । अंशबन्डाको ३० नं. को संशोधनको ऐतिहासिकता केलाउने हो भने यो पारिवारिक व्यवहारको संरक्षणतर्फ केन्द्रित छ । परिवारको कुनै सदस्य उद्यमशील तथा परिश्रमी र कुनै सदस्य निष्क्रिय तथा उडन्ते भएको अवस्थामा उद्यमशील र परिश्रमी सदस्यको हित संरक्षण गर्दै समाजमा न्यायोचित वातावरणको स्थापना गर्नमा अंशबन्डाको ३० नं. को उद्देश्य परिलक्षित छ” भनी व्याख्या भएको पाइन्छ । त्यस्तै प्रकारले राजवीर खाँ थारू विरूद्ध वहोरी खाँ थारू भएको अंश मुद्दा (ने.का.प. २०६६, अङ्क २, निर्णय नं. ८०८८) मा “अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनुहुँदैन तर जे जति भए पनि एक पटक अंश लिइसकेपछि सो हक समाप्त हुन्छ । जुनसुकै बेहोराबाट भए पनि आफूले प्राप्त गर्ने भागजति प्राप्त गरेपछि अंशबन्डाको लिखत नभएको भन्‍ने आधारमा पटकपटक अंशमा दाबी गर्न र अंश पाइरहने भन्‍ने स्थिति स्वीकार्य हुन नसक्ने” भनी र सोही फैसलामा “अंशियारहरूको आफ्नो भोग व्यवहारबमोजिम कानूनद्वारा उपलब्ध अनेक उपायमध्ये कुनै पनि उपाय अवलम्बन गरी आफ्नो व्यवहार मिलाउन स्वतन्त्र हुने तर यसको तात्पर्य बकसपत्रबाट पाएकोलाई अंशबन्डा नै हो भनी सामान्य अर्थ गर्नुपर्ने वा अंशबन्डा लिखतको विकल्पको रूपमा मान्यता प्रदान गर्न भने नहुने” “पाउनुपर्ने जति आफ्नो अंशहकको सम्पत्ति जुनसुकै माध्यमबाट प्राप्त गरिसकेको व्यक्तिले अर्को पक्षसँग रहेको उत्तिकै सम्पत्तिबाट पुनः आफ्नो अंश हक खोज्दै जान नमिल्ने” भनी अंशहक जन्मबाटै पाउने नैसर्गिक हक भए पनि अंश पटकपटक प्राप्त नहुने र एक पटक कुनै माध्यम, तौरतरिकाबाट पनि अंश पाउन सक्ने अवस्था हुनसक्नेतर्फ निर्देशित गरेको देखिन्छ । एवम् प्रकारले हरिहर पुरी विरूद्ध केशव पुरीसमेत भएको अंश चलन मुद्दा (ने.का.प. २०६३, अङ्क ९, निर्णय नं. ७७६१) मा पनि “विगत लामो समयदेखि जग्गाको बिक्री गर्दा एकलौटी किसिमबाट भएको र १९९९ सालदेखि नै एक आपसमा नामसारी दर्ता बदरसमेत विभिन्‍न मुद्दाहरू परिरहेको सन्दर्भमा यी वादी प्रतिवादीहरू एकासगोलका अंशियार रहेछन् भन्‍न सकिने अवस्था नदेखिने” “वादी प्रतिवादीहरूबिच छुट्टी भिन्‍न भएको पारित लिखतको अभाव भए तापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरूका बाबु बाजे अगाडिदेखि नै छुट्टी भिन्‍न भई अलगअलग बसी भोग बिक्री व्यवहार गरी बसेका देखिएको र मुलुकी ऐन अंशबन्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको देखिएको अवस्थामा बन्डा लिखत नै हुनुपर्ने अनिवार्यता नहुने” समेत भनी उल्लेख भएको 

देखिन्छ । भरतमणि पोख्रेल विरूद्ध वेधनिधि पोख्रेल भएको अंश मुद्दा (ने.का.प. २०५४, अङ्क ३, निर्णय नं. ६३२९) मा भूमिसुधार कार्यालयमा भरेको ७ नं. फाँटवारीलाई व्यवहार प्रमाणबाट अंशबन्डा भएको भन्‍ने आधार प्रमाणको रूपमा ग्रहण गरिएको 

पाइन्छ । निष्कर्षात्मक रूपमा उपर्युक्त उल्लेख भएका कानूनी व्यवस्था एवम् सर्वोच्च अदालतले अंशबन्डाको महलको ३० नं. को विधिशास्त्रीय दृष्टिकोणलाई संक्षिप्त रूपमा उल्लेखन गर्दा रजिस्ट्रेसन पारित नभएका प्रायशः अंश मुद्दाका विवादित विषयहरू निम्नबमोजिम रहे भएको र सोही आधार प्रमाणलाई व्यवहार प्रमाणको रूपमा मध्यनजर गरी न्याय निरूपण भएको देखिन्छ । जस्तैः

अंशियार पुस्ताका हाँगाको अवस्था र समयको अन्तराल,

घरायसी लिखत एवम् मानो चुलो अलगको प्रमाण,

भूमिसुधार कार्यालयमा भरिएको लगत, फाँटवारी एवम् भोग, दर्ता स्रेस्ता,

अंशियारा भनिएकै व्यक्तिहरूबिच भएका बिक्री व्यवहार कारोबार,

जग्गा वा सम्पत्ति घटबढ हुन पनि सक्ने, आदि ।

 

८. उपर्युक्तबमोजिमका अवस्था प्रस्तुत मुद्दामा के कस्ता रहेछन् भनी हेर्दा प्रतिवादीहरूले मिति २०३१।३।२ मा नै आ-आफ्नो भागको अंश बुझिलिइसकेको भनी घरायसी लिखत पेस गरी प्रतिवाद गरेको, प्रस्तुत मुद्दाका अंशियारा मूल पुर्खा ३ जना भएको र २०३१ सालको सो अंश लिखत अंशियारा एक भाइ शुकनारायण श्रेष्ठका छोरा पञ्चनारायण र न्हुच्छेनारायणबिच भएको देखिएको, अंशियार भनिएका वादी प्रतिवादीको पुस्ता पनि तेस्रो चौथो पुस्ताका भएकाले सगोल भन्‍न अस्वाभाविक देखिएको, वादी प्रतिवादीका पिता पुर्खाले भरेको लगत एवम् भूमिसुधार कार्यालयमा भरेको ७ नं. फाँटवारी अलगअलग भएको, वादीकै हाँगाका अंशियार दाजुभाइबिच पनि २०२१ सालको नापीकै बखतमा जग्गा रहे भएको देखिएको, एकै घर परिवारका मानिस जग्गाधनी र मोही भई जग्गा बाँडफाँट गरेको, वादीकै सहोदर दाजुले वादी प्रतिवादीहरूका बाबुहरू पहिले नै छुट्टिई भिन्‍न भइसकेको भनी तायदाती फाँटवारीमा बेहोरा खुलाएको समेतका आधार प्रमाणबाट वादीका बाबु नै व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भइसकेको भनी वादी दाबी नपुग्ने भनी तत्कालीन पुनरावेदन अदालत पाटनबाट फैसला भएको देखिन आउँछ । यसरी वादी प्रतिवादीहरूका बाबु-बाजेकै पालामा कानूनबमोजिम एक पटक अंशबन्डा भइसकेको देखिएपछि प्रस्तुत मुद्दामा वादी दाबीबमोजिम अंशमा दाबी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा वादीहरूले प्रतिवादीहरूबाट ३ भागको १ भाग बन्डा छुट्याई लिनपाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।२।१६ को फैसला मिलेको नदेखिएको भनी उक्त फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मनासिव नै देखियो ।  

९. अतः उपर्युक्त आधार र कारणहरूबाट प्रस्तुत मुद्दामा वादी दाबीबमोजिम वादीहरूले प्रतिवादीहरूबाट अंश पाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।२।१६ को फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०७०।१२।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । यस फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. ईश्‍वरप्रसाद खतिवडा

                            

इजलास अधिकृत:- प्रदीपकुमार उपाध्याय

इति संवत् २०७९ साल फागुन १६ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु