शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०५९ - लागु औषध (खैरो हेरोइन)

भाग: ६५ साल: २०८० महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७९।८।२३

०७१-CR-१५३९

 

मुद्दा:- लागु औषध (खैरो हेरोइन)

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९, बुद्धनगर घर भई हाल कारागार कार्यालय कञ्चनपुरमा कैदमा रहेको रोहित पालिवाल अग्रवाल

विरूद्ध

 प्रत्यर्थी / वादी : प्र.ना.नि. लोकेन्द्र पुजाराको प्रतिवेदनले नेपाल सरकार

 

साँझको ५ बजेपछि सबै सरकारी कार्यालय बन्द हुने हुँदा ५ बजेपछि र गस्तीको समयमा सडकमा चेकजाँचको क्रममा तत्काल तयार गर्नुपर्ने बरामदी मुचुल्कामा जनप्रतिनिधि वा सरकारी कर्मचारी प्रायः भेट हुन नसक्ने भएबाट अनुसन्धान अधिकृत प्र.ना.नि. को नेतृत्वमा बरामद गरिएको बरामद मुचुल्का सोही आधारबाट मात्र बेरितको भन्न नसकिने ।

(प्रकरण नं. ३)

लागु औषध कहाँबाट, कोसँग खरिद गरी कहाँ बिक्री गर्न लागेको भन्ने कुरा नखुलेकै कारणबाट आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने ।

(प्रकरण नं. ४)

 

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा र विद्वान्‌ अधिवक्ता श्री मोतीलाल श्रेष्ठ

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्ने :

मा. न्या. श्री भोजराज अधिकारी

कञ्चनपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसाल गर्ने :

मा. न्या. श्री पोषनाथ शर्मा

मा. न्या. श्री रामेश्वरनाथ अमात्य

पुनरावेदन अदालत महेन्द्रनगर

 

फैसला

न्या. सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. ६, शिवमन्दिर राजमार्गको महेन्द्रनगर गड्डाचौकीतर्फ जाने सडकखण्डस्थित मिति २०६७।१२।२ गतेको बेलुकी महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जान लागेको चालक रविन्द्रकुमार पण्डितले चलाई हाँकेको यू.पी. ८३एन ४२७९ नं. को कालो रङ्गको कार चेकजाँच गर्ने क्रममा सो कारभित्र गाडी मालिक रोहित पालिवाला अग्रवालको शरीर खान तलासी गर्दा निजले लगाएको कालो रङ्गको जिन्स पाइन्टको अगाडिपट्टिको खल्तीमा लुकाई छिपाई राखेको कालो प्लाष्टिकभित्र पोको बनाई राखेको ५३ ग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद भई निजले प्रयोग गरेको यू.पी. ८३एन ४२७९ नं. कालो रङ्गको होन्डा सिटी कार जिपसमेत बरामद भएको बरामदी मुचुल्का । 

मिति २०६७।१२।२ गते बेलुकी मेरो कमान्डमा स्थानीय बजार महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाने सडकको शिवमन्दिर एरियातर्फ सवारी साधन चेक जाँच गर्ने क्रममा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको यू.पी. ८३एन ४२७९ नं. को कार चेकजाँच गर्दा सो कारभित्र भारत, उत्तर प्रदेश, जिल्ला आग्रा फिरौजावाद बस्ने रोहित अग्रवाल पालिवाल र सो गाडीको चालक रविन्द्रकुमार पण्डित रहेको सवारी धनी रोहित पालिवाल अग्रवालको शरीर खान तलासी गर्दा निजको जिन्स पाइन्टको दायाँ अगाडि खल्तीबाट बरामदी मुचुल्कामा उल्लिखित ५३ ग्रा. खैरो हेरोइनसहित फेला पारी निज दुवै जनाले प्रयोग गरेको सवारी साधन कारसमेत आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्नेसमेत बेहोराको प्र.ना.नि. लोकेन्द्र सिंह पुजाराको प्रतिवेदन ।

विगतमा काठमाडौं दरबारमार्गस्थित लागलो रेस्टुरेन्टमा साथी भिमसेन पण्डित, बद्री ढुंगाना बसी चितवनमा कार्यरत डा. भक्तमान श्रेष्ठलाई अपहरण गरी फिरौती असुल गर्ने योजनाबमोजिम मिति २०६७।२।४ गते बेलुकी मैले आफ्नो यू.पी. ८३एन ४२७९ नं. कारसहित भिमसेन पण्डित, अर्जुन पण्डित, नविन क्षेत्री, पुन्टे लामा तामाङ, बद्री ढुङ्गानासमेत ७ जनाले डा. भक्तमान श्रेष्ठलाई चितवनबाट अपहरण गरी गाडीमा हाली मुगलिन हुँदै काठमाडौं सामाखुसीस्थित भिमसेन पण्डितको फ्ल्याटमा राखेका हौं । सोपछि भारतबाट निजको आफन्तबाट फिरौती रकम डिमान्ड भई भारतको कानपुरमा आई फिरौतीबापत ३ के.जी. ५०० ग्राम सुन लिएर अपहरण मुक्त गरेका हौँ । उक्त सुन रू. ९५,००,०००।– मा बिक्री गरी उक्त रकममध्ये भिमसेनले हामीलाई अलि अलि रकम दिई जम्मै रकम आफूसँगै राखी त्रिशुलीमा जग्गा खरिद गरेको र २०।२५ लाख आफ्नो श्रीमतीलाई हङकङ पठाउन खर्च गरेको हो । हाल अर्जुन पण्डित, भिमसेन पण्डित र लाप्पा तीनै जना भारतको हिमाञ्चलमा बस्दछन् । बरामदी मुचुल्कामा उल्लिखित यू.पी. ८३ एन ४२७९ नं. कार मेरो हजुरबुबाको हो । मिति २०६७।१२।२ गते बेलुकी महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जान लाग्दा मबाट बरामद भएको ५३ ग्राम खैरो हेरोइन मैले ल्याएको होइन, लागु औषध खरिद बिक्री ओसार पसारसमेत गरेको छैन भन्ने प्रतिवादी रोहित अग्रवाल पालिवालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

४।५ दिन पहिलादेखि रोहित अग्रवाल पालिवालको यू.पी. ८३एन ४२७९ नं. को गाडीमा ड्राइभिङ काम गरेको हुँ । मिति २०६७।१२।२ गते महेन्द्रनगरबाट गड्डाचौकी जाँदा शिवमन्दिर नजिक बरामदी मुचुल्कामा उल्लिखित खैरो हेरोइन मबाट बरामद भएको होइन । उक्त लागु औषध के कसरी आयो ? सो सम्बन्धमा मलाई केही थाहा छैन । मेरो होइन, मबाट बरामद भएकोसमेत होइन भन्ने प्रतिवादी रविन्द्रकुमार पण्डितले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।२।१३ गते बरामदी मुचुल्कामा उल्लिखित ५३ ग्राम खैरो हेरोइन यस जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्राङ्गणमा हाम्रो सामुन्ने आगोमा जलाई नष्ट गरेको भन्ने नष्ट मुचुल्का र परीक्षणको लागि पठाएको नमुना ३ ग्राम लागु औषध खैरो हेरोइन नै भएको भन्ने विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन । 

मिति २०६७।१२।२ गते बेलुकी महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको बरामदी मुचुल्कामा उल्लिखित नं. को कार प्रहरीले चेक जाँच गर्दा सोही गाडीभित्र भएका रोहित अग्रवाल पालिवालबाट ५३ ग्राम खैरो हेरोइन बरामद भएको भन्ने सुनी थाहा पाएका हौँ । उक्त लागु औषध के कुन ठाउँमा के कुन उद्देश्यले ल्याएको थियो ? थाहा 

भएन । उक्त कारमा भएका चालक रविन्द्रकुमार पण्डितको सो घटनामा कुनै संलग्न छैन, निजको साथबाट बरामदसमेत भएको होइन भनी एकै मिलान हुने गरी तारा सिंह बोहरासमेत ५ जनाले गरेको वस्तुस्थिति मुचुल्का ।

प्र.ना.नि. लोकेन्द्र सिंह पुजाराको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोहित पालिवाल अग्रवालसमेत भएको लागु औषध खैरो हेरोइन मुद्दामा अनुसन्धानको सिलसिलामा मिति २०६७।१२।२ गते जि. कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. ६, शिवमन्दिरस्थित वारदात स्थानबाटै पक्राउमा परेका भारत, उत्तर प्रदेश, जिल्ला आग्रा फिरौजावाद नेपइ घर ठेगाना बताउने रविन्द्र कुमार पण्डितको हकमा सुरू वारदातदेखि हालसम्मको अनुसन्धानबाट बरामदी मुचुल्कामा उल्लिखित जिप चालक रविन्द्रकुमार पण्डितले चलाई हाँकेको अवस्था मात्रै देखिएको र निज प्रतिवादी रोहित पालिवाल अग्रवालबाटै खैरो हेरोइन फेला परेको, सवारी साधनसमेत निजकै हकदारको भनी खुल्न आएको र निजको बयानसमेत इन्कारी भई निज रविन्द्रकुमार पण्डितसमेतको सो घटनामा संलग्न हुनुपर्दछ भन्ने कुनै तथ्य प्रमाण नभई हालसम्मको अनुसन्धान एवम् वस्तुस्थितिका मानिसहरूले समेत खुलाई लेखाइदिएको आधार प्रमाणहरूबाट प्रतिवादी रविन्द्रकुमार पण्डितलाई प्रहरी हिरासतमै राखी अनुसन्धान गर्न न्यायसङ्गत नहुने भएकाले निज प्रतिवादीलाई खोजी भएका बखत उपस्थित गराउने गरी निजको माथवर व्यक्तिको जिम्मा छाड्न सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २१ बमोजिम खडा गरेको मुचुल्का ।

मिति २०६८।१।१२ गते निज रविन्द्रकुमार पण्डितलाई निजकै माथवर व्यक्ति जि.कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. १८, गोबरिया बस्ने मदन राज पन्तको जिम्मामा खोजी भएका बखत ल्याउने गरी छोडिएको जिम्मा जमानी कागज । 

मिसिल संलग्न आधार प्रमाणहरूबाट मिति २०६७।१२।२ गते बेलुकी प्रतिवादी रोहित पालिवाल अग्रवाल चढेको भारतीय यू.पी. ८३एन ४२७९ नं. को जिप कार महेन्द्रनगरबाट गड्डाचौकी भन्सारतर्फ जाँदै गर्दा भिमदत्त न.पा. वडा नं. ६, शिवमन्दिर नजिक रोडमा प्रहरी टोलीले उक्त जिपसहित चेकजाँच गरी खानतलासी गर्दा प्रतिवादी रोहित पालिवाल अग्रवालको पाइन्टको अगाडि दायाँ खल्तीमा बरामदी मुचुल्कामा उल्लिखित ५३ ग्राम लागु औषध खैरो हेरोइन फेला पारी निज चढेको जिप चालक रविन्द्रकुमार पण्डित र लागु औषधसहित बरामद गरी कारबाहीको लागि पेस भएको देखिएको र प्रतिवादी रोहित पालिवालले उक्त बरामद भएको लागु औषध खैरो हेरोइन मबाट बरामद भएको होइन भनी इन्कारी बयान गरेको भए तापनि यो घटना पूर्व काठमाडौंलगायत चितवनसमेतमा विभिन्न मुद्दाहरूमा आपराधिक कार्यमा संलग्न रहेको भनी बयान गरेको देखिएको र प्रस्तुत वारदातका सम्बन्धमा बुझिएका घटना विवरणसम्बन्धी कागज गर्ने व्यक्तिहरूले पनि निज प्रतिवादी रोहित पालिवाल अग्रवाल महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेका बखत सवारी चेक जाँच गर्ने क्रममा निजको खल्तीबाट लागु औषध खैरो हेरोइन बरामद भएको हो भनी लेखाइदिएको र उक्त बरामद भएको लागु औषध खैरो हेरोइन हो भनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट परीक्षण भई आएको समेतबाट यी प्रतिवादी रोहित पालिवाल अग्रवालले बरामद भएको लागु औषध खैरो हेरोइन आफूसँग राखी ओसार पसारसमेत गरेको भन्ने कुरा पुष्टि हुन आएकाले प्रतिवादी रोहित पालिवाल अग्रवालले लागु औषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद २ को दफा ४ को (ङ) र (च) बमोजिम कसुर गरेको हुँदा निज प्रतिवादी रोहित पालिवाल अग्रवाललाई सोही ऐनको दफा १४ (१) (छ) (२) बमोजिम हदैसम्म सजाय गरी उक्त लागु औषध खैरो हेरोइन ओसार पसार गर्ने सवारी साधन बरामद भएको जिप (कार) लाई ऐ. ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्ने अभियोग माग दाबी ।

सन् २०११ मार्च १५ मा म भारत नोयडा यु.पी मा भएको बेला गुण्डाहरूले किडनेप गरी भारतकै हरिद्वार पुर्‍याएर १६ तारिखमा भारत नेपाल बोर्डरमा पुर्‍याएका थिए । १७ तारेखमा मलाई चितवन जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइयो र सोही दिन दिउँसो १ बजे मलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमार्फत कञ्चनपुर जिल्ला अदालतमा म्याद थपका लागि पुर्‍याइएको हो । मबाट खैरो हेरोइन बरामद भएको होइन, मबाट सफेद पाउडरसमेत बरामद भएको छैन । बरामदी मुचुल्कामा मेरो सही पनि छैन । मेरो जबरजस्ती ल्याप्चे लगाएको हो । खैरो हेरोइन प्रहरीहरूले कहाँबाट ल्याए प्रहरीलाई थाहा होला । बरामद भनिएको कार मेरै हो । मलाई किडनेप गर्ने मानिसहरूले तैले नेपालमा अपराध गरेको छस्, तँलाई डा.भक्तमान श्रेष्ठले बोलाएको छ भनी मलाई नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएका र सोही प्रहरी कार्यालयमा भक्तमानलाई बोलाइएको थियो । प्रस्तुत अभियोगमा प्रहरीमा बयान गर्दा मलाई प्रहरीले सो बयान पढी बाची सुनाएको थिएन, मलाई उक्त कागजमा सहीछाप गर् भन्दा मैले नमानेकोले प्रहरीले मलाई कुटपिट गरी उक्त कागजमा मेरो ल्याप्चे जबरजस्ती लगाएको हो । खैरो हेरोइन मबाट बरामद भएको होइन । मबाट रू. १,७५,००० (एक लाख पचहत्तर हजार) भारू र मोबाइलसमेत नेपाल प्रहरीले बरामद गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी रोहित पालिवाल अग्रवालले सुरू कञ्चनपुर जिल्ला अदालतमा गरेको बयान ।

मिति २०६७।१२।२ गते बेलुकी हामी भिमदत्त न.पा. वडा नं. ६, शिवमन्दिरस्थित राजमार्ग एरियामा ड्युटीमा थियौं । मसमेत प्र.ह राधा सिं धामी, प्र.ज. टिकेन्द्रप्रसाद जोशी गस्ती गर्दै जाँदा स्थानीय बजारमा यू.पी. ८३एन ४२७९ नम्बरको भारतीय कालो जीपलाई रोकी शंका लागी चेक जाँच गर्दा गाडीभित्र एक जना चालक थिए र गाडीका मालिक रोहित पालीवाल अग्रवाल गाडीभित्र थिए, उक्त गाडीसमेतलाई खानतलासी गर्दा प्रतिवादी रोहित पालीवाल अग्रवालले लगाएको कालो रङ्गको जिन्स पाइन्टको अगाडिपट्टिको दायाँ खल्तीमा कालो प्लाष्टिकको पोकामा सेतो प्लाष्टिकभित्र खैरो हेरोइन लागु औषध फेला परेको हो । उक्त लागु औषध खैरो हेरोइन तौल गर्दा ५३ ग्राम भएको थियो । त्यसपछि उक्त खैरो हेरोइन र ओसारपसार गर्ने कारसहित निज प्रतिवादीलाई पक्राउ गरी बरामदी मुचुल्का तयार गरी कारबाहीको लागि पेस गरेका हौं । उक्त लागु औषध ओसार पोसार गरी बेचबिखन गर्न ल्याएको हुन 

सक्छ । उक्त प्रतिवेदन मसमेतले पेस गरेको सत्य साँचो हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नि. लोकेन्द्र सिंह पुजाराले गरेको बकपत्र ।

मिति २०६७।१२।२ गते प्र.ना.नि. लोकेन्द्र सिंह पुजाराको कमान्डमा गस्तीमा जाँदा शिवमन्दिरनजिक राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको यू.पी. ८३एन ४२७९ नम्बरको कालो सिसा भएको गाडीमा शंका लागी चेक जाँच गर्दा गाडीमा एकजना चालक र प्रतिवादी रोहित पालिवाल अग्रवाल थिए । मालिक रोहित पालिवाल अग्रवाललाई खानतलासी गर्दा निजको जिन्स पाइन्टको अगाडिपट्टिको खल्तीमा कालो प्लाष्टिकमा बेरेको ५३ ग्राम खैरो हेरोइन बरामद गरेका हौँ । त्यसपछि खैरो हेरोइनसहित जीप बरामद गरी कारबाहीको लागि पेस गरेका हौं । उक्त लागु औषध बेचबिखन गर्ने प्रयोजनमा ल्याएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ज. टेकेन्द्रप्रसाद जोशीले गरेको बकपत्र ।

मिति २०६७।१२।२ गते मसमेत प्र.ज. टिकेन्द्रप्रसाद जोशी, प्र.ना.नि. लोकेन्द्र सिंह पुजारा वडा प्रहरी कार्यालयबाट गस्तीमा जाँदा शिवमन्दिर नहरनजिक राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको यू.पी. ८३एन ४२७९ नम्बरको कालो सिसा भएको गाडीलाई देख्दा शंका लागेर रोकेर चेक जाँच गर्दा गाडीभित्र एक जना चालक र गाडी मालिक रोहित पालिवाल अग्रवाललाई खानतलासी गर्दा प्रतिवादी रोहित पालिवाल अग्रवालको जिन्स पाइन्टको अगाडिपट्टिको खल्तीमा पोलिथिनभित्र लुकाई राखेको लागु औषध खैरो हेरोइन ५३ ग्राम फेला पारेको हो । निज प्रतिवादी देख्दा पनि तस्कर जस्तो थियो । त्यसपछि उक्त लागु औषध ओसार पोसार गर्ने जीपसहित बरामद गरी मुचुल्का तयार गरी कारबाहीको लागि पेस गरेका हौँ । उक्त लागु औषध बेचबिखन गर्नको लागि ल्याएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ह. राधा सिंह धामीले गरेको बकपत्र ।

उक्त दिन म बजारमा नै थिएँ । प्रतिवादी रोहित पालिवाल अग्रवाल महेन्द्रनगर बजारबाट आफ्नो कारमा गड्डाचौकी जाँदै गर्दा शिवमन्दिरनजिक प्रहरीले चेक जाँच गर्दा निजबाट ५३ ग्राम लागु औषध खैरो हेरोइन बरामद गर्‍यो भनी सुनी थाहा पाएको हुँ, उक्त खैरो हेरोइन निज प्रतिवादीले कहाँबाट ल्याए थाहा छैन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका कर्णबहादुर कठायतले गरेको बकपत्र ।

उक्त दिन म महेन्द्रनगर बजारमा नै 

थिएँ । प्रतिवादी रोहित पालिवाल महेन्द्रनगर बजारबाट गड्डाचौकीतर्फ आफ्नै कारमा गइरहेका बेला प्रहरीले चेक जाँच गर्दा ५३ ग्राम लागु औषध खैरो हेरोइन बरामद गर्‍यो भनी सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका भोज सिंह थापाले गरेको बकपत्र ।

मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले अभियोग दाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(ङ) र (च) बमोजिमको कसुर गरेको प्रमाणित भएको देखिएको हुँदा निज प्रतिवादी रोहित पालिवाल अग्रवाललाई सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम तजबिजी कैद १०(दश) वर्ष र रू. १,००,०००।– (एक लाख) जरिवाना हुने ठहर्छ । यू.पी. ८३एन ४२७९ नं. को कार लागु औषध ओसार पसारमा प्रयोग भएको देखिएको हुँदा सोही ऐनको दफा १८ ले जफत हुने ठहर्छ भन्ने कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७०।१२।१० मा भएको 

फैसला ।

सुरू कञ्चनपुर जिल्ला अदालतले कानूनविपरीत फैसला गरेको छ, हचुवा तर्क एवं आधार लिएको छ । मिसिल सामेल रहेका प्रमाणहरूको मूल्याङ्कन नगरी उपेक्षा गरेको छ, बुझ्नुपर्ने प्रमाण नबुझी बुझ्न नहुने प्रमाण बुझी सोबाट उक्त फैसलामा असर परेको हुँदा प्रमाण ऐन, २०३१ को दफा ५४ बमोजिम उक्त फैसला बदर भागी हुँदा बदर गरी सफाइ गरी न्याय पाउँ भन्नेसमेत बेहोराको रोहित पालिवालको तर्फबाट तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन पत्र ।

यी पुनरावेदकले आफूबाट खैरो हेरोइन बरामद भएको तथ्यमा इन्कारी रही बयान गरे तापनि सो बयानलाई पुष्टि हुने गरी कुनै पनि सबुद प्रमाण निजबाट पेस हुन नसकेको, यी पुनरावेदक प्रतिवादीबाट लागु औषध बरामद भएको बरामदी मुचुल्काबाट देखिन आएको, बरामदी मुचुल्का तामेल गर्ने वादी पक्षका गवाहहरू अदालतमा उपस्थित भई सोको समर्थन हुने गरी बकपत्र गरेकोसमेतबाट पुनरावेदकलाई कसुरदार ठहर्‍याई सुरू जिल्ला अदालतबाट भएको मिति २०७०।१२।१० को फैसला कानूनसङ्गत देखिँदा केही परिवर्तन गरिरहन परेन भन्ने तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरबाट मिति २०७१।५।३१ मा भएको फैसला ।

लागु औषध आफूबाट बरामद नभएको, बरामद भएको भनिएको लागु औषध के कहाँ, कोसँग खरिद गरेको र कहाँ बिक्री गर्न लैजान लागेको हो ? सो कुरा अभियोग मागदाबीमा नखुलाइएको, बरामदी मुचुल्का रीतपूर्वकको नभएको, प्रतिवेदक प्रहरी कर्मचारीबाहेक अन्य व्यक्तिले अदालतमा उपस्थित भई अभियोग दाबी पुष्टि हुने गरी बकपत्र गरेको नदेखिएको, वादी पक्षका साक्षीको जिरह गर्ने मौका नपाएको समेतका आधारमा कञ्चनपुर जिल्ला अदालतबाट १० वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना हुने ठहरी भएको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।५।३१ को फैसला बदर गरी म निर्दोष भएको हुँदा अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ पाउँ भन्नेसमेत प्रतिवादी रोहित पालिवाल अग्रवालको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

यसमा मिति २०६७।१२।२ को बरामदी मुचुल्काको रोहबरमा कुनै मानिससमेत नराखी भएको त्रुटिपूर्ण बरामदी मुचुल्काको आधारमा प्रतिवादीका साथबाट लागु औषध बरामद भएको भन्ने निष्कर्षमा पुगी प्रतिवादीलाई सजाय गरेको सुरू कञ्चनपुर जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।५।३१ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने भएकोले अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाई आएपछि लगाउको मुद्दासमेत साथै राखी नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७४।५।१ मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा र विद्वान्‌ अधिवक्ता श्री मोतीलाल श्रेष्ठले प्रस्तुत मुद्दामा मिति २०६७।१२।२ को कञ्चनपुर जिल्लाको घटना देखाइएको छ । पुनरावेदक प्रतिवादीलाई मिति २०६७।१२।१ मा दिल्लीबाट भरतपुर ल्याई भक्तमान श्रेष्ठले नचिनेको भनेपछि कञ्चनपुरको काल्पनिक घटना देखाइएको हो । लागु औषध बरामद भएको भनिएको बरामदी मुचुल्कामा रोहबरमा कसैलाई पनि नराखिएको र प्रहरीमा स.ई. र हवल्दार गरी २ जनाको मात्र सही भएको छ । चारकिल्लाको विवरण उल्लेख भए पनि निजको सहीछाप नभएको समेतबाट तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला बदर गरी पुनरावेदक प्रतिवादी रोहित पालिवालले सफाइ पाउनुपर्ने हो भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।

प्रत्यर्थी नेपाल सरकारको तर्फबाट रहनुभएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेलले पुनरावेदकको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन बरामद भएको, लागु औषधको परिमाण ५३ ग्राम रहेको, सो बरामद भएको लागु औषध परीक्षण गर्दा लागु औषध खैरो हेरोइन भन्ने पुष्टि भई आएकोसमेतबाट यी पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुने गरी ठहर भएको कञ्चनपुर जिल्ला अदालतको फैसला सदर गर्ने गरेको तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मनासिब हुँदा सदर हुनुपर्छ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी उपर्युक्तानुसारको दुवैतर्फको बहससमेत सुनी पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, पुनरावेदक प्रतिवादी रोहित पालिवालको शरीर खान तलासी गर्दा खैरो हेरोइन बरामद भएको भन्ने बरामदी मुचुल्कासहित आवश्यक कारबाहीको लागि पेस भएको प्रहरी प्रतिवेदनको आधारमा प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । पुनरावेदक प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को परिच्छेद २ को दफा ४ को (ङ) र (च) बमोजिम कसुर गरेको हुँदा सोही ऐनको दफा १४ (१) (छ) (२) बमोजिम हदैसम्म सजायको मागदाबी लिई अभियोगपत्र दायर भएकोमा अभियोग मागदाबीबमोजिम १० वर्ष कैद र रू.१,००,०००/- (एक लाख) जरिबाना हुने गरी सुरू कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७०।१२।१० मा भएको फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरबाट सदर भएको देखिन्छ । पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टी हुनुपर्छ भन्ने आधारका रूपमा पुनरावेदक प्रतिवादीले बरामदी मुचुल्का रीतपूर्वक नभएको, बरामद भएको भनिएको लागु औषध के कहाँ, कोसँग खरिद गरेको र कहाँ बिक्री गर्न लैजान लागेको हो ? सो कुरा अभियोग मागदाबीमा नखुलाइएको, वादी पक्षका साक्षीहरूलाई जिरह गर्नबाट वञ्चित गराइएको तथा आफूसँग लागु औषध बरामद भएको तथ्यमा अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्षसमेत इन्कार रहेको भनी जिकिर लिएको पाइन्छ ।

३. लागु ‌औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ८ (२) मा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सदस्य वा त्यस ठाउँको एक जना भलादमी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्षी राख्नुपर्ने व्यवस्था गरिएको देखिन्छ । तर सोही दफाको प्रतिबन्धात्मक व्यवस्थाले उल्लिखित व्यक्तिहरूको रोहबरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि त्यस्ता व्यक्ति उपलब्ध नभएमा कम्तीमा दुई जना औषध अनुसन्धान अधिकारी वा कम्तीमा दुई जना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्न सकिने व्यवस्था गरिएको 

देखिन्छ । मिसिल संलग्न मिति २०६७।१२।२ गते भएको बरामद मुचुल्कामा ३ जवान साक्षी राखिएको र काम तामेल गर्ने प्र.ना.नि., प्र.ह. र प्र.ज. प्रहरी कर्मचारी रहेको देखिन आउँछ । उक्त मुचुल्कामा मुचुल्का तयार भएको समय १७:१५ बजे उल्लेख भएको पाइन्छ । साँझको ५ बजेपछि सबै सरकारी कार्यालय बन्द हुने हुँदा ५ बजेपछि र गस्तीको समयमा सडकमा चेक जाँचको क्रममा तत्काल तयार गर्नुपर्ने बरामदी मुचुल्कामा जनप्रतिनिधि वा सरकारी कर्मचारी प्रायः भेट हुन नसक्ने भएबाट अनुसन्धान अधिकृत प्र.ना.नि. को नेतृत्वमा बरामद गरिएको बरामद मुचुल्का सोही आधारबाट मात्र बेरितको छ भन्ने पुनरावेदन जिकिर एवं प्रत्यर्थी झिकाउने आदेश गर्दा आधार लिइएको यस अदालतको संयुक्त इजलासको आदेशसँग सहमत हुन सक्ने अवस्था रहेन ।

४. मिसिल संलग्न बरामदी मुचुल्काबाट यी पुनरावेदक प्रतिवादीबाट कानूनले बन्देज गरेको लागु औषध खैरो हेरोइन बरामद भएको देखिन्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले प्रमाणको भारको सम्बन्धमा व्यवस्था गरेको 

पाइन्छ । उक्त दफामा, "कुनै व्यक्तिका साथबाट कुनै लागु औषध भएको फेला परेमा........ त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेस गर्नुपर्ने छ । त्यस्तो प्रमाण पेस गर्न नसकेको र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने छ ।" भनी कसैबाट लागु औषध बरामद भएमा सोको प्रमाण पुर्‍याउने भार निजमाथि रहने गरी कानूनी व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीबाट लागु औषध खैरो हेरोइन बरामद भएकोमा सो लागु औषध आफूसँग रहन सक्ने कानूनबमोजिमको आधार र कारण पुष्टि गर्न सकेको पाइँदैन भने खानतलासी तथा बरामदी मुचुल्कामा रहेका प्रहरी कर्मचारीले अदालतमा उपस्थित भई मुचुल्काको बेहोरा पुष्टि हुने गरी बकपत्र गरिदिएको देखिन्छ । बरामद भएको लागु औषध खैरो हेरोइन ५३ ग्राम रहेको भन्ने देखिएकोमा अनुसन्धानबाट सो लागु औषध कहाँबाट, कोसँग खरिद गरी कहाँ बिक्री गर्न लागेको भन्ने कुरा नखुलेकै कारणबाट आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न सक्ने 

देखिँदैन । पुनरावेदक प्रतिवादीबाट अवैध लागु औषध बरामद भएको पुष्टि भएको अवस्थामा अनुसन्धान अधिकृतले लागु औषध किनेको स्रोत र बिक्री गर्ने स्थान नदेखाएको भन्ने आधारमा कसुर अपराधबाट उन्मुक्ति पाउनुपर्छ भन्ने पुनरावेदकको जिकिरसमेतसँग सहमत हुन सकिएन ।

५. वादी पक्षका साक्षीहरूको बकपत्रमा जिरह गर्न मौका नपाएको भन्ने सन्दर्भमा हेर्दा, वादी पक्षका साक्षीहरूका बकपत्र गर्ने दिन मिति २०६८।११।२८ गते तोकिई सो दिन बकपत्र गर्न नभ्याएको कारणबाट मिति २०६८।११।२९ मा बकपत्र भएको मिसिलबाट देखिन आउँछ । कञ्चनपुर जिल्ला अदालतबाट मिति २०६८।११।२८ गते साक्षी उपस्थित गराउने भनी जिल्ला सरकारी वकिल कार्यालयलाई च.नं. १४६० मिति २०६८।१०।१८ मा पत्र गएको र पुनरावेदक प्रतिवादी थुनामा रहेको कारागार कार्यालय भरतपुर चितवनलाई बोधार्थ गएको समेत देखिन्छ । सोहीअनुसार पुनरावेदक प्रतिवादीलाई जानकारी गराई सोको भरपाई पठाएको कारागार कार्यालयको च.नं. १८३६ मिति २०६८।१०।२४ को पत्र मिसिल संलग्न रहेको र उक्त भरपाईमा पुनरावेदकको हस्ताक्षर सहीसमेत भएको कारणबाट यी पुनरावेदकलाई वादी पक्षको साक्षीलाई जिरह गर्ने अवसरबाट वञ्चित गराइएको भन्ने अवस्था देखिएन ।

६. यी पुनरावेदक प्रतिवादीले आफूबाट खैरो हेरोइन बरामद भएको होइन भनी अधिकारप्राप्त अधिकारी तथा सुरू अदालतमा समेत इन्कार रहे पनि सो इन्कारी बयानलाई पुष्टि हुने गरी कुनै पनि सबुद प्रमाण निजबाट पेस हुन सकेको पाइँदैन । पुनरावेदक प्रतिवादी सवार रहेको सवारी साधन चेक जाँच गर्ने क्रममा यी प्रतिवादीले लगाएको पाइन्टबाट लागु औषध बरामद भएको बरामदी मुचुल्काबाट देखिन आएको र बरामदी मुचुल्का तामेल गर्ने वादी पक्षका साक्षीहरू अदालतमा उपस्थित भई सोको समर्थन हुने गरी बकपत्र गरेको एवं बरामद भएको लागु औषध खैरो हेरोइन भएको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, महाराजगन्जको च.नं. २६७८ मिति २०६७।१२।२२ को पत्रसाथ संलग्न परीक्षण प्रतिवेदनबाट पुष्टि हुन आएको समेतबाट पुनरावेदक प्रतिवादीको इन्कारी बयानको आधारमा मात्र निज कसुरदार होइनन् भन्न नसकिने भएबाट निजको सो पुनरावेदन जिकिरसँगसमेत सहमत हुन सकिएन ।

७. अतः माथि उल्लिखित आधार, प्रमाणबाट पुनरावेदक प्रतिवादीले अभियोग दाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(ङ) र (च) बमोजिमको कसुर गरेको प्रमाणित भएको हुँदा निज पुनरावेदक प्रतिवादी रोहित पालिवाल अग्रवाललाई सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम कैद १०(दश) वर्ष र रू. १,००,०००/– (एक लाख) जरिवाना तथा लागु औषध ओसार पसारमा प्रयोग भएको यू.पी. ८३एन ४२७९ नं. को कार सोही ऐनको दफा १८ अनुसार जफत हुने ठहर्‍याई कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७०।१२।१० मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।५।३१ को फैसला कानूनसम्मत भई मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : गम्भीर घिमिरे

इति संवत् २०७९ साल कार्तिक २७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु