निर्णय नं. ११०६० - जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।८।६
०७२-CR-११६३
मुद्दा:- जबरजस्ती करणी
पुनरावेदक/वादी : परिवर्तित नाम श्रीपुर डी को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला धनुषा, मिथिलेश्वर निकास गा.वि.स. वडा नं.७ बस्ने रामअशिष साहको छोरा सन्तोष कुमार साह सुडी
जबरजस्ती करणीसम्बन्धी अपराध पीडित र तिनका परिवारसमेतका लागि पीडादायक र महिला विरूद्ध हुने जघन्य अपराध हो । तथापि पीडितले घटना विवरण कागज गर्दैमा मात्रै कसुरदार ठहर भइहाल्ने हुँदैन । पीडितले घटना विवरण कागजको बेहोरा र अदालतमा बकपत्र गर्दा एकै बेहोरा उल्लेख नगरी फरकफरक बेहोरा उल्लेख गरी आफूउपर कसुर नै नभएको भन्ने बकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसुर कायम गर्न नमिल्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल
प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव यादव र श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
मा. जि. न्या. श्री सुदर्शनराज पाण्डे
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. मु. न्या. डा. श्री कुलरत्न भूर्तेल
मा. न्या. श्री डिल्लीराज आचार्य
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या. हरिप्रसाद फुयाल : तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।३।८ को फैसलाउपर दोहोर्याई हेर्नको लागि निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने अनुमति प्रदान भई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा (१) बमोजिम यस अदालतमा पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
तथ्य खण्ड
मिति २०७१।३।१७ गते बिहान ०८:०० बजेको समयमा जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.२ मा रहेको एउटा घरमा हो हल्ला भएको छ भन्ने खबर पाई सो ठाउँमा पुग्दा एक जना महिलालाई एक जना पुरूष व्यक्तिले कोठामा राखी जोर जुलुममा पारी जबरजस्ती यौन सम्पर्क गरेको छ भन्ने उपस्थित २०/२५ जना समूहका मानिसहरूले भनेको । उपस्थित मानिसहरू केटीतर्फका भई पीडितलाई उद्धारको लागि आएका हुन् भन्ने
बुझिएको । उपस्थित मानिसहरूले सो कोठामा रहेका केटालाई कुटपिटसमेत गरेको अवस्थामा पाइएको र निजको नाम, थर, वतन सोधपुछ गर्दा जिल्ला धनुषा, मिथिलेश्वर गा.वि.स. वडा न.७ बस्ने वर्ष ३७ को सन्तोषकुमार साह सुडी भनी बताएकोले घटना महिला हिंसा विरूद्धको अपराध भएकोले पीडितको नाम, थर, वतन गोप्य राखी ३४ जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं.१५ बस्ने वर्ष १५ की श्रीपुर (घ) लाई उद्धार गरी पीडकलाई पक्राउ गरी थप अनुसन्धानको लागि दाखिला गरेको भन्ने प्रहरी प्रतिवेदन ।
जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.२ स्थित पूर्वमा खाली जग्गा पश्चिम पक्की घर उत्तरमा खाली जग्गा दक्षिण सडक बाटो यति चार किल्लाभित्रमा उपेन्द्रलाल कर्णको २ तल्ले पक्की घर भएको । सो घरको पहिलो तल्लाको २ वटा बेडरूम, एक वटा किचेन र एउटा ट्वाइलेट बाथरूमसमेत भएकोमा सो ठाँउमा सन्तोषकुमार साह सुडीले कोठा भाडामा लिई बस्दै आएको । सो कोठामध्ये पश्चिमपट्टिको कोठामा श्रीपुर(घ) लाई जबरजस्ती करणी गरेको भनी देखाएको, सो कोठामा भएको बेडमा घटनासँग सम्बन्धित चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
म जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.१८ ब्रह्मचौकमा चियानास्ताको होटल गर्ने
गर्छु । मिति २०७१।३।३ म तथा श्रीमती पसलमा गएको, छोरी हाल नाम परिवर्तित वर्ष १५ की श्रीपुर(घ) घरायसी काम गरी घरमा बसेकोमा साँझ घरमा आउँदा छोरी घरमा नभएकोले खोजबिन भइरहेकोमा बुझ्दै जाँदा जिल्ला धनुषा, मिथिलेश्वर गा.वि.स. वडा नं.७ घर भई जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.२ मा डेराकोठा लिई एम.आर. पेसा गरी बस्ने वर्ष ३७ को सन्तोषकुमार साह सुडीले मेरो छोरीलाई ललाइ फकाइ डेरा कोठामा राखेको छ भन्ने खबर पाई कोठामा पुग्दा छोरीलाई फेला पारी उद्धार गरिएकोमा छोरीलाई सोधपुछ गर्दा निज सन्तोषकुमार साह सुडीले मिति २०७१।३।३ गते दिनको १२:०० बजेतिर घरमा पुगी ललाइ फकाइ निजको डेरा कोठामा लगी राखी जोर जुलुममा पारी पटकपटक जबरजस्ती करणी गरेको भनी छोरीले भनेकी हुँदा मेरो अविवाहित नाबालिका वर्ष १५ की छोरीलाई निज प्रतिवादीले कोठामा राखी जोर जुलुममा पारी जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने श्रीपुर (डी) को जाहेरी दरखास्त ।
सन्तोषकुमार साहसँग ५/६ महिना अगाडिदेखि चिनजान भएको हो । मिति २०७१।३।३ गते ५:०० बजेतिर म घरबाट घुम्न वीरगन्ज बजारतिर जाँदा वीरगन्ज घण्टाघरमा सन्तोषकुमार साहसँग भेट भएकोमा निजले विभिन्न प्रलोभन देखाई कोठामा जाउँ भनेकोले निजको साथमा कोठामा गएको हो । कोठामा पुगेपछि खाना पकाउने काम गरी बस्नु खान लगाउन दिन्छु भनी फकाएकोले निजको कोठामा बसेकोमा मिति २०७१।३।४ गते राति म खाना पकाइदिई सुत्ने बेलामा निजले मलाई ललाई फकाई म सुत्ने कोठामै मेरो मन्जुरीले करणी गरेको हो । सो दिनदेखि मिति २०७१।३।१७ गते बिहान ३/४ बजेसम्म निजले मलाई पटकपटक करणी गरेको हो । निजले ललाइ फकाइ मन्जुरीसाथ करणी गरेको हो । मिति २०७१।३।१७ गते बिहान म डेराकोठामै बसिरहेको अवस्थामा मेरो बुबासमेतका मानिसहरू आई उद्धार गरी ल्याएको हो । निज सन्तोषकुमार साहले ५/६ महिनाअगाडि पनि वीरगन्ज घण्टाघरमा भेटी सो बखत पनि फकाइ निजको कोठामा लगी करणी गरेको हो । मेरो महिनावारी रोकिएको छ । निजले मलाई ललाइ फकाइ मेरो सहमतिमा करणी गरेको हो भन्नेसमेत बेहोराको परिवर्तित नाम श्रीपुर (घ) भएकी पीडितको कागज ।
पीडितको Hymen Absent छ । पीडितको per abdomen (p/a) जाँच परीक्षण गर्दा निजको पेटमा २८ हप्ताको गर्भ रहेको देखिन्छ । गर्भमा रहेको बच्चाको fatal heart sound present रहेको देखिन्छ भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
प्रतिवादीको लिङ्ग तथा लिङ्ग वरिपरी कुनै घाउ चोट छैन । प्रतिवादीले लगाएको कपडा तथा लिङ्ग वरिपरि यौन रस देखिएन भन्ने प्रतिवादी सन्तोषकुमार साहको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
पीडित श्रीपुर (घ) लाई मैले ५/६ महिनाअगाडि भेटेको छैन । सो समयमा करणी गरेको पनि छैन । निजसँग २०७१ साल जेष्ठ महिनामा वीरगन्ज घण्टाघरनजिक भेटघाट भएकोले मोबाइल नम्बर लिई मोबाइलमा कुराकानी हुन्थ्यो । मिति २०७१।३।३ गते साँझ घण्टाघरमा भेट भई कुरा हुँदा मेरो कोठामा काम गर्ने मानिस चाहिएको छ । खाना पकाउने कोठा सफा गर्ने काम हो । मासिक तलब रू.३,५००।- दिन्छु भन्दा निज काम गर्न सहमत भई साथमा आएकी
हुन् । मेरो कोठामा पुगेपछि निजले खाना पकाई खाई निज अर्कै कोठामा सुतिन् । सो रात हामीहरूबिच शारीरिक सम्पर्क भएन । मिति २०७१।३।४ रातिबाट निजसँग सहमतिमा मैले करणी गर्दै आएको हो । मिति २०७१।३।१६ रातिसम्म निजको सहमतिमा पटकपटक करणी गरेको हो । निजलाई इच्छा विरूद्ध जबरजस्ती करणी गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी सन्तोषकुमार साहको बयान ।
म पनि घटनास्थल घरमा नै डेरा कोठा लिई बस्छु । मसँग अजयकुमार गुप्ता पनि बस्छ । मैले देखे, बुझे, जाने अनुसार पीडित श्रीपुर (घ) प्रतिवादीको कोठामा सरसफाइ गर्ने खाना बनाउने गरी बसेको देखेको हो । जाहेरी तथा पीडितको कागजअनुसारको घटना गरेको मैले देखेको होइन सोअनुसारको घटना भएको भए हामीहरूले पनि तत्काल थाहा पाउने
थियौं । तसर्थ जाहेरी अनुसारको घटना जबरजस्ती तरिकाले भएको भन्न म सक्दिन भन्ने बेहोराको गोबिन्दकुमार राम, अजय कुमार गुप्ता, प्रेमबहादुर क्षेत्री, महमद युनुस खान, दिपेन्द्रप्रसाद गुप्तासमेतको घटना विवरण कागज ।
प्रतिवादी सन्तोषकुमार साह सुडीले जाहेरवालाको नाबालिका छोरी वर्ष १५ की पीडित श्रीपुर (घ) लाई कोठामा खाना पकाउने कोठा सफा गर्ने मानिस चाहियो भनी फकाइ फुलाइ आफ्नो डेरा कोठामा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३ नं.अनुसार कसुर अपराध गरेकोले निज प्रतिवादी सन्तोषकुमार साह सुडीलाई सोही महलको ३ नं. को देहाय ३ अनुसार सजाय गरी प्रतिवादीबाट पीडितलाई सोही महलको १० नं. अनुसार उचित क्षतिपूर्ति दिलाइपाउँ भन्ने बेहोराको अभियोग पत्र ।
जाहेरी दरखास्तको बेहोरा गलत हो, सत्य होइन । मिति २०७१।२।१५ गते मेरो साथी कृष्ण चौधरीले परिवर्तित नाम श्रीपुर (घ) सँग फोनमार्फत भेट गराइदियो । मैले त्यो साथीलाई मलाई एक जना खाना पकाउने मान्छे चाहिएको छ भनेको थिएँ । फोनमा भेट गर्ने कुरा भएपछि मैले निज श्रीपुर (घ) लाई घण्टाघर नजिकै बाटोमा भेटेँ । उनीलाई मेरो घरमा काम गर्न आउने हो भनेपछि उनले हुन्छ मासिक रू.३,५००।- दिने भए म काम गर्न आउँछु भनेकीले भोलिपल्टदेखि उनी मेरो घरमा बिहान आई खाना बनाइदिने र सुत्न आफ्नो घरमा जाने गर्दै थिइन् । त्यसको ६/७ दिनपछि म मेरो आफन्तको बिहेमा धनुषा गई यहीँ २०७१।३।६ फर्किएर वीरगन्ज आएँ । त्यसपछि पनि उनी खाना बनाउन मेरो कोठामा आउने गर्दै थिइन् । मिति २०७१।३।१७ बिहान निज श्रीपुर (घ) आएपछि मैले उनलाई कोठाको चाबी दिएर मर्निङवाक
निस्किएँ । घरबेटीको घरमा अर्को तल्ला भाडामा बस्ने एक जना भाइले मलाई तपाइँको कोठामा धेरै जना मानिस आई तपाइँलाई खोजेका छन् भनेकाले फर्किएर डेरामा आए । त्यहाँ १५/२० जना मानिस
थिए । तपाइँले कसलाई राख्नुभएको छ भने, मैले एक जना खाना पकाउने बैनी छन् । साँझ बिहान खाना बनाई सुत्न आफ्नो घरमा जान्छिन् भनेँ । अनि उनीहरूले मलाई पिट्न थाले यस्तैमा प्रहरी आइपुगे र मलाई पक्रेर लग्यो । मेरो कोठामा म आफू काममा व्यस्त हुने भएकोले मासिक पैसा दिने गरी साँझ बिहान खाना बनाउन राखेको हो । मैले उनलाई करणी गरेको
होइन । सबै झुठ्ठा हो । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा झुठ्ठा हो । मलाई बयान हेर्न सुन्न नदिई प्रहरी आफैँले लेखेर ल्याई कुटपिट गरी सहीछाप गराएका हुन् । मैले जबरजस्ती करणी गरेकै छैन, म निर्दोष छु मलाई सजाय हुनुपर्ने होइन भन्ने बेहोराको प्रतिवादी सन्तोषकुमार साह सुडीले सुरू अदालतमा गरेको बयान ।
मेरी छोरी १९ वर्षको हो । मेरो छोरीलाई प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भन्नेसमेत बेहोराको जाहेरवाला श्रीपुर (डी) को बकपत्र ।
मिति २०७१।३।१९ को कागजमा भएको सहीछाप मेरो हो । तर बेहोरा गलत हो । मसँग प्रतिवादी संजयकुमार साहले जबरजस्ती करणी गरेको होइन । प्रहरीले लेखी ल्याएको कागजमा डर, त्रास देखाई महिला प्रहरीले मलाई जबरजस्ती सहीछाप गराएका हुन् भन्ने बेहोराको पीडित श्रीपुर (घ) ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीका साक्षी अजय साहले प्रतिवादीको बयानलाई समर्थन गर्ने गरी गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको भन्ने नदेखिएकोले प्रतिवादी सन्तोषकुमार साह सुडीलाई जबरजस्ती करणीको महलको १ र ३ नं. अनुसारको कसुर अपराधमा सोही महलको ३ नम्बरको देहाय ३ अनुसार सजाय गरी निज प्रतिवादीबाट पीडितलाई सोही महलको १० नं.अनुसार क्षतिपूर्ति दिलाइपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न सक्दैन । प्रतिवादी सन्तोषकुमार साह सुडीले आरोपित कसुर गरेको भन्ने अभियोगबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७१।१०।२८ मा भएको फैसला ।
पीडित परिवर्तित नाम श्रीपुर (घ) को उमेर १५ वर्ष भएको भन्ने जाहेरी दरखास्त, पीडितको कागजसमेतबाट देखिएको छ । पीडितको जन्मदर्ता प्रमाणपत्र हेर्दा जन्ममिति २०५६।७।२० उल्लेख भएको र निज पीडितले अध्ययन गरेको स्कुलमा निजको जन्ममिति २०५२।५।५ उल्लेख भएको, पीडितको उमेर परीक्षण गर्दा १८ देखि २० वर्षको बिचमा रहेको भन्ने देखिन्छ । बालबालिकाको उमेरसम्बन्धी विवाद भएमा तत्कालीन बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५बमोजिम उमेर निर्धारण गर्दा (क) अस्पतालमा जन्म भई पाएको जन्म प्रमाण पत्र, (ख) जन्म दर्ता प्रमाण पत्र, (ग) विद्यालयको चारित्रिक प्रमाण पत्र, (घ) सरकारी अस्पतालबाट प्रमाणित उमेरलाई प्राथमिकताको क्रममा राखेको पाइन्छ । उक्त प्राथमिकताक्रमलाई हेर्दा पीडितको जन्मदर्ता प्रमाण पत्र नै प्राथमिकताको क्रममा प्रमाणमा लिनुपर्ने
देखिन्छ । निजको जन्ममिति जन्मदर्ता प्रमाण पत्रअनुसार २०५६।७।२० उल्लेख भएको देखिई निज पीडित १६ वर्षभन्दा कम उमेरको रहेको र उक्त जन्मदर्ता मिति २०७१।१।१५ अर्थात् वारदात हुनुभन्दा ३ महिनाअगाडि सम्बन्धित उपमहानगरपालिकाको कार्यालयबाट तयार भएको अवस्थामा पनि उक्त जन्मदर्ता २०७१।१।१५ मा तयार भएको भन्ने आधार लिई निजले अध्ययन गरेको स्कुलमा लेखाएको जन्ममिति तथा उमेर जाँच परीक्षणलाई प्राथमिकताको क्रममा राखी पीडितको उमेर १६ वर्षभन्दा माथिको रहेको र निजहरूले मन्जुरीमा करणी गरेको भनी निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला कानूनविपरीत हुँदा बदरभागी छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत हेटौंडामा पेस गरेको पुनरावेदन पत्र ।
पीडित नाम परिवर्तित श्रीपुर (घ) लाई प्रतिवादीले जबरजस्ती करणी गरेको भए उक्त कार्यबाट बच्नका लागि तत्काल पीडितले प्रतिवादीलाई प्रतिकार गर्नुपर्नेमा प्रतिकार गरेको नदेखिएको, नाबालक वा शारीरिक अस्वस्थताले प्रतिकार गर्न नसकेको हो कि भन्नलाई पीडितको उमेर १९ वर्षको रहेको देखिएको, पटकपटक सहमतिमा करणी भएको भनी पीडितले स्वीकार गरेको र पीडितको Hymen Absent रहेको छ । यस्तो अवस्थामा प्रस्तुत वारदात पीडितको इच्छा वा मन्जुरीबेगर भएको मान्न मिल्ने अवस्था नदेखिएको समेतका मिसिल कागजातहरूको आधारमा प्रतिवादी सन्तोषकुमार साह सुडीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७१।१०।२८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति२०७२।०३।०८ को फैसला ।
प्रस्तुत मुद्दामा प्रतिवादी सन्तोषकुमार साह सुडीले पीडितलाई डेरा कोठामा सरसफाइ तथा खाना पकाउनको लागि राखेको तथ्यमा विवाद देखिँदैन । यस कुरालाई प्रतिवादी, पीडित तथा जाहेरवालासमेतले स्वीकार गरेको पाइन्छ । सोही क्रममा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तबाट देखिएको छ । पीडित तथा प्रतिवादीलाई एउटै कोठामा बसेको अवस्थामा फेला परेको र पीडितको मौकाको कागज तथा प्रतिवादीको मौकाको बयान हेर्दा मन्जुरीअनुसार पटकपटक करणी भएको तथ्यलाई स्वीकार गरिएको पाइन्छ । साथै पीडित परिवर्तित नाम श्रीपुर (घ) को उमेर १५ वर्ष भएको भन्ने जाहेरी दरखास्त, पीडितको कागजसमेतबाट खुलिरहेको छ । पीडितको जन्म दर्ता प्रमाणपत्र हेर्दा जन्ममिति २०५६।७।२० उल्लेख भएको र निज पीडितले अध्ययन गरेको स्कुलमा निजको जन्ममिति २०५२।५।५ उल्लेख भएको, पीडितको उमेर परीक्षण गर्दा १८ देखि २० वर्षको बिचमा रहेको भन्ने देखिन्छ । बालबालिकाको उमेरसम्बन्धी विवाद भएमा तत्कालीन बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५ बमोजिम उमेर निर्धारण गर्दा (क) अस्पतालमा जन्म भई पाएको जन्ममिति प्रमाण पत्र, (ख) जन्म दर्ता प्रमाण पत्र, (ग) विद्यालयको चारित्रिक प्रमाण पत्र र (घ) सरकारी अस्पतालबाट प्रमाणित उमेरलाई प्राथमिकताको क्रममा राखेको पाइन्छ । उक्त प्राथमिकताक्रमलाई हेर्दा पीडितको जन्मदर्ता प्रमाणपत्र नै प्राथमिकताको क्रममा अग्रणी प्रमाणमा लिनुपर्ने देखिन्छ । निजको जन्ममिति जन्मदर्ता प्रमाणपत्रबमोजिम २०५६।७।२० उल्लेख भएको देखिई वारदातको समयमा निज पीडित १६ वर्षभन्दा कम उमेरको रहेको र उक्त जन्मदर्ता मिति २०७१।१।१५ अर्थात् वारदात हुनुभन्दा ३ महिनाअगाडि नै सम्बन्धित उपमहानगरपालिकाको कार्यालयबाट तयार भएको पुष्टि भएको अवस्थामा पनि उक्त जन्मदर्ता २०७१।१।१५ मा तयार भएको भन्ने आधार लिई निजले अध्ययन गरेको स्कुलमा लेखाएको जन्ममिति तथा उमेर जाँच परीक्षणलाई प्राथमिकताको क्रममा राखी पीडितको उमेर १६ वर्षभन्दा माथिको रहेको र निजहरूले मन्जुरीमा करणी गरेको भनी निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने ठहरी भएको फैसलामा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३ नं.को गम्भीर व्याख्यात्मक त्रुटि देखिन्छ । सुरू जाहेरीमा अविवाहित नाबालिका वर्ष १५ की श्रीपुर (घ) लाई प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने उल्लेख भएको, पीडितले मौकाको कागज हेर्दा आफ्नो विवाह भएको भन्न लेखाउन नसकेको तथा स्वयम् प्रतिवादीले समेत पीडितको विवाह भएको भन्न वा लेखाउन सकेको देखिँदैन । अदालतमा मुद्दा पेस भइसकेपछि प्रतिवादीलाई सफाइ दिने आधार बनाउनको लागि पीडितले निवेदन दिएको र उक्त निवेदनमा प्रतिवादीले जबरजस्ती करणी गरेको होइन मेरो पेटमा रहेको गर्भ मेरो श्रीमान्को हो भन्ने बेहोरा उल्लेख गरेको र निजले बकपत्र गर्दासमेत सोही बेहोरा लेखाए तापनि भारतीय नागरिक विजय कुमारसँग विवाह भएको भन्ने कुनै पनि कागजातहरू पेस गरी पुष्टि गराउन सकेको पाइँदैन । यस्तो अवस्थामा समेत उक्त पीडितको पेटमा रहेको गर्भ निजको श्रीमान्को भएको र प्रतिवादीले निजलाई करणी नगरेको भन्ने सुरू र पुनरावेदन अदालतको आधार तर्कसङ्गत
देखिँदैन । आफू प्रतिवादीको डेरा कोठामा खाना पकाउने तथा सरसफाइसमेतको काम गर्न बसेको र सोही कोठाबाट उद्धार भएको तथ्यलाई स्वयम् पीडितले स्वीकार गरेको बुझिन्छ । साथै पीडित र प्रतिवादी एउटै कोठामा बसेको अवस्थामा फेला परेको, पीडित र प्रतिवादीले करणी भए गरेको तथ्यलाई स्वीकार गरेको र मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित भएको अवस्थामा समेत जाहेरवालासमेतले प्रतिवादीलाई सहयोग हुने किसिमले बकपत्र गरेको आधारमा मात्र अनुसन्धानमा संकलित प्रमाणहरूलाई गम्भीरतापूर्वक ग्रहण नगरी मनोगत रूपमा प्रतिवादीले सफाइ पाउने ठहराई भएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण रहेको देखिँदा सो बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।
यसमा पीडित भनिएकी श्रीपुर (घ) को उमेर निजको जन्मदर्ता अभिलेख अनुसार १६ वर्षभन्दा कम रही नाबालिग देखिएकी, मौकामा करणी गरेको तथ्यमा प्रतिवादी साबित रहेका, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Hymen Absent भनी उल्लेख भएको तथा अनुसन्धानको सिलसिलामा पीडितले जाहेरी दरखास्तको बेहोरा पुष्टि हुने गरी यी प्रतिवादीका विरूद्ध कागज गरिदिएकोमा अदालतमा उपस्थित भई आफूले पहिले गरिदिएको कागजको विपरीत हुने गरी गरेको प्रतिकूल बकपत्रलाई मात्र आधार बनाई प्रतिवादी सन्तोषकुमार साह सुडीले अभियोग दाबीबाट सफाइ पाउने गरी भएको सुरू फैसला सदर गर्ने पुनरावेदन अदालत हेटौंडाको फैसलामा ने.का.प २०६६, अङ्क ६, नि.नं.८१७९ बाट प्रतिपादित कानूनी सिद्धान्तको परिपालना नभएको तथा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को व्याख्यात्मक त्रुटि भई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान रहेको देखिँदा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको
छ । नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७२।९।२६ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहालले प्रतिवादी सन्तोषकुमार साह सुडीले पीडित परिवर्तित नाम श्रीपुर (घ) लाई डेरा कोठामा सरसफाइ तथा खाना पकाउनको लागि राखेकोमा सोही क्रममा पीडितलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तबाट देखिएको छ । पीडित तथा प्रतिवादीलाई एउटै कोठामा बसेको अवस्थामा फेला परेको र पीडितको मौकाको कागज तथा प्रतिवादीको मौकाको बयान हेर्दा मन्जुरीअनुसार पटकपटक करणी भएको तथ्यलाई स्वीकार गरिएको पाइन्छ । साथै पीडित नाबालिका भएको भन्ने जाहेरी दरखास्त र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि पीडितको पेटमा गर्भ रहेको भन्ने देखिएको र अनुसन्धान अधिकारीसमक्षको बयानमा प्रतिवादीले कसुर स्वीकार गरेकोसमेतका आधारमा यी प्रतिवादी सन्तोषकुमार साह सुडीलाई अभियोग मागदाबीबमोजिम सजाय नगरी भएको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रतिवादी सन्तोषकुमार साह सुडीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव यादव र श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदीले यी प्रतिवादीले घटनाका सम्बन्धमा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडित भनिएकी परिवर्तित नाम श्रीपुर (घ) सँग जबरजस्ती नभई सहमतिमा करणी लिनुदिनु भएको कुरा उल्लेख गरी बयान गरे पनि अदालतमा बयान गर्दा आफूले पीडित भनिएकी परिवर्तित नाम श्रीपुर (घ) लाई करणी गरेको होइन । यो सबै झुठ्ठा हो । मलाई बयान हेर्न सुन्न नदिई प्रहरी आफैँले लेखेर ल्याई कुटपिट गरी सहीछाप गराएका हुन् भनी बयान गरेको देखिन्छ । त्यसैगरी जाहेरवाला र पीडित दुवैले अदालतमा बकपत्र गर्दा यी प्रतिवादीले करणी गरेको होइन भनी प्रतिकूल बकपत्र गरेको अवस्थामा यी प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू तथा उच्च अदालतको फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित बहस जिकिरसमेत सुनी पुनरावेदनपत्रसमेतका मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सन्तोषकुमार साह सुडीले जाहेरवालाको नाबालिका छोरी वर्ष १५ की पीडित श्रीपुर (घ) लाई कोठामा खाना पकाउने कोठा सफा गर्ने मानिस चाहियो भनी फकाई फुलाई आफनो डेराकोठामा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३ नं. अनुसार कसुर गरेकोले निज प्रतिवादी सन्तोषकुमार साह सुडीलाई सोही महलको ३ नं. को देहाय ३ अनुसार सजाय गरी प्रतिवादीबाट पीडितलाई सोही महलको १० नं. अनुसार उचित क्षतिपूर्ति दिलाइपाउँ भन्ने बेहोराको अभियोग पत्र रहेकोमा प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको भन्ने नदेखिएकोले प्रतिवादी सन्तोषकुमार साह सुडीलाई जबरजस्ती करणीको महलको १ र ३ नं. अनुसारको कसुर अपराधमा सोही महलको ३ नम्बरको देहाय ३ अनुसार सजाय गरी निज प्रतिवादीबाट पीडितलाई सोही महलको १०नं. अनुसार क्षतिपूर्ति दिलाइपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न सक्दैन । प्रतिवादी सन्तोषकुमार साह सुडीले आरोपित कसुर गरेको भन्ने अभियोगबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू पर्सा जिल्ला अदालतको फैसला रहेकोमा सो फैसलालाई सदर गर्ने गरी मिति २०७२।३।८ मा पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको
देखिन्छ । सो फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारले निज प्रतिवादी सन्तोषकुमार साह सुडीलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।
३. सो सन्दर्भमा विचार गर्दा, जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं.२ मा डेराकोठा लिई एम.आर. पेसा गरी बस्ने वर्ष ३७ को सन्तोषकुमार साह सुडीले मेरो छोरीलाई ललाइ फकाइ डेरा कोठामा राखेको छ भन्ने खबर पाई कोठामा पुग्दा छोरीलाई फेला पारी उद्धार गरिएकोमा छोरीलाई सोधपुछ गर्दा निज सन्तोषकुमार साह सुडीले मिति २०७१।३।३ गते दिनको १२:०० बजेतिर घरमा पुगी ललाई फकाई निजको डेरा कोठामा लगी राखी जोर जुलुममा पारी पटकपटक जबरजस्ती करणी गरेको भनी छोरीले भनेकी हुँदा मेरो अविवाहित नाबालिका वर्ष १५ की छोरीलाई निज प्रतिवादीले कोठामा राखी जोर जुलुममा पारी जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने बेहोराको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको देखिन्छ ।
४. प्रतिवादी सन्तोषकुमार साह सुडीले घटनाका सम्बन्धमा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडित भनिएकी परिवर्तित नाम श्रीपुर (घ) सँग सहमतिमा करणी लिनुदिनु भएको हो निजको इच्छा विरूद्ध जबरजस्ती करणी गरेको छैन भन्ने कुरा उल्लेख गरी बयान गरेको देखिन्छ भने अदालतमा बयान गर्दा मैले उनलाई करणी गरेको होइन । सबै झुठ्ठा हो । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा झुठ्ठा हो । मलाई बयान हेर्न सुन्न नदिई प्रहरी आफैँले लेखेर ल्याई कुटपिट गरी सहीछाप गराएका हुन् । मैले जबरजस्ती करणी गरेकै छैन, म निर्दोष छु भनी बयान गरेको देखिन्छ ।
५. त्यसैगरी नाम परिवर्तित श्रीपुर (घ) ले मौकामा कागज गर्दा प्रतिवादीले आफूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई मेरो सहमतिले नै करणी गर्दै आएको हो भनी र अदालतमा बकपत्र गर्दा मौकाको कागज बेहोरा झुठ्ठा हो । प्रतिवादीले मलाई करणी गरेका छैनन् । प्रहरीले मलाई लेखी ल्याएको कागजमा डर त्रास देखाई महिला प्रहरीले सहीछाप गर भनेकोले सहीसम्म गरेको हुँ भनी बकपत्र गरेको देखिन्छ ।
६. जाहेरवाला परिवर्तित नाम श्रीपुर (डि) ले आफ्नी नाबालिका छोरीलाई प्रतिवादी सन्तोषकुमार साह सुडीले जबरजस्ती करणी गरेको हुँदा कारबाही गरिपाउँ भनी जाहेरी दिएकोमा निज जाहेरवालाले अदालतमा बयान गर्दा प्रतिवादीले छोरीलाई जबरजस्ती करणी गरेको होइन । मेरो छोरीको उमेर १९ वर्ष भयो । छोरी मेरो मन्जुरी बेगर प्रतिवादी कहाँ खाना पकाउन गएकोमा छोरी ढिला गरी आएको भनी प्रतिवादीले गाली गरेको र तलब पनि नदिएको रिसमा प्रहरीकहाँ जाँदा के के लेखी सही गराएको हो, मैले भनी लेखाएको होइन । छोरीको लोग्नेले पनि सोही कुराबाट रिसइवी लिई समर्थन जनाएकोले मौकाको जाहेरीमा सहीछाप गरेको हो । छोरीको विवाह भारत विहार मोतीहारी बस्ने विजयकुमार कानूसँग भएको हो भनी बकपत्र गरेको देखिन्छ ।
७. परिवर्तित श्रीपुर (घ) लाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी जाहेरी परे पनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडित र पीडक दुवैले सहमतिमा करणी गरेको भनी बयान गरेको देखिन्छ । मिसिल संलग्न कागज प्रमाणबाट पीडित भनिएकी परिवर्तित नाम श्रीपुर (घ) उमेर पुगेको र विवाहिता महिलासमेत भएको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Hymen Absent रहेको भन्ने देखिएको र पीडितको per abdomen (p।a) जाँच परीक्षण गर्दा निजको पेटमा २८ हप्ताको गर्भ रहेको देखिन्छ । गर्भमा रहेको बच्चाको fatal heart sound present रहेको भन्ने परीक्षण प्रतिवेदन देखिन्छ ।
८. मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा "कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ । स्पष्टीकरणः यस नम्बरको प्रयोजनका लागिः
(१) डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन ।
(२) होस ठेगान नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन ।
(३) योनिमा लिङ्ग केही मात्र प्रवेश गरेको रहेछ भने पनि यस नम्बरको प्रयोजनका लागि करणी गरेको मानिने छ" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
उपर्युक्त कानूनी व्यवस्थासमेतको रोहमा प्रस्तुत वारदात पीडितको इच्छा वा मन्जुरी बेगर भएको मान्न मिल्ने अवस्था नदेखिएको समेतका मिसिल कागजातहरूको आधारमा सुरू अदालतबाट प्रतिवादीलाई कसुरबाट सफाइ दिने गरी भएको फैसलालाई अन्यथा भन्न सकिने अवस्था देखिएन ।
९. प्रस्तुत मुद्दामा आफ्नी नाबालिका छोरी नाम परिवर्तित श्रीपुर (घ) लाई यी प्रतिवादी सन्तोषकुमार साह सुडीले जबरजस्ती करणी गरेको बेहोरा लेखाई पीडितका बुबाले जाहेरी दरखास्त दिए पनि अदालतमा आई बकपत्र गर्दा आफ्नी छोरी विवाहिता रहेको र आफ्नो मन्जुरी बेगर प्रतिवादीकहाँ खाना पकाउन गएको साथै निज परिवर्तित नाम श्रीपुर (घ) लाई यी प्रतिवादीले ढिला गरी काम गर्न आएको भनी गाली गरेको र तलब पनि नदिएको रिसमा प्रहरीको मा जाँदा के के लेखी सही गराएको हो मैले भनी लेखाएको होइन भनी प्रतिकूल बकपत्र गरेको अवस्था देखिन्छ । यस्तो अवस्थामा जाहेरी दरखास्तका आधारमा मात्र प्रतिवादीलाई आरोपित कसुरमा सजाय गर्न मिल्ने अवस्था देखिँदैन किनकि जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, आरोपित कसुर वस्तुनिष्ठ प्रमाणबाट पुष्टिसमेत हुनुपर्दछ ।
१०. महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ
हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ कृत्रिम र बनावटी देखिएको जस्ता अवस्थाहरूमा बाहेक सामान्यतः अदालतले पीडितको भनाइलाई प्रमाणको रूपमा लिनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा पीडितले अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको होइन भनी उल्लेख गरेको देखिन्छ । साथै निज पीडितको उमेर सम्बन्धमा भएको Medical Report मा निज १८ देखि २० वर्षको भन्ने देखिएको, निज विवाहित रही पेटमा २८ हप्ताको गर्भसमेत रहेको भन्ने देखिन आएकोले निज प्रतिवादीले यी पीडितलाई जबरजस्ती करणी गरेको हो भनी एकिन साथ भन्न सकिने अवस्था देखिँदैन ।
११. अब, सन्तोषकुमार साह सुडीले ललाई फकाई निजको डेरा कोठामा लगी राखी जोर जुलुममा पारी आफ्नी नाबालिका छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको भनी छोरीले भनेकी हुँदा कानूनबमोजिम कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने जाहेरवालाको जाहेरी दरखास्त भएकोमा पीडितले मौकामा कागज गर्दा सन्तोषकुमार साहसँग भेट भई निजको साथमा कोठामा गएको हो । कोठामा पुगेपछि खाना पकाउने काम गरी बस्नु खान लगाउन दिन्छु भनी फकाएकोले निजको कोठामा बसेकोमा मिति २०७१।३।४ गते राति म खाना पकाई दिई सुत्ने बेलामा निजले मलाई ललाई फकाई म सुत्ने कोठामै मेरो मन्जुरीमा करणी भएको हो । निजले मलाई ललाई फकाई मन्जुरी साथ पटकपटक करणी गरेको हो भनी लेखाएको देखिन्छ । त्यसैगरी प्रतिवादीले मौकामा बयान गर्दा सहमतिमा करणी गरेको भनी उल्लेख गरेका छन् भने अदालतमा बयान गर्दा करणी गरेकोमा पूर्ण इन्कार रही बयान गरेका छन् । त्यसैगरी जाहेरवालाले अदालतमा बकपत्र गर्दा मेरी छोरी १९ वर्षको हो । मेरो छोरीलाई प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भन्ने बेहोरा लेखाएका छन् । पीडितले अदालतमा बकपत्र गर्दा मसँग प्रतिवादी सन्तोषकुमार साहले जबरजस्ती करणी गरेको
होइन । प्रहरीले लेखी ल्याएको कागजमा डर त्रास देखाई महिला प्रहरीले मलाई जबरजस्ती सहीछाप गराएका हुन् भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । जाहेरवाला तथा पीडितले अनुसन्धानको क्रममा व्यक्त गरेको कथनलाई अदालतमा उपस्थित भई पुष्टि गरी बकपत्र गरेको अवस्थामा मात्र त्यस्तो भनाइ प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणग्राह्य
हुन्छ । प्रस्तुत मुद्दामा पीडितले मौकामा गरेको कागजमा प्रतिवादीले सहमतिमा नै करणी गरेको भनी लेखाएको देखिन्छ भने जाहेरवाला तथा पीडितले अदालतमा बकपत्र गर्दा मौकाको बेहोरा आफूले नलेखाएको भन्दै जबरजस्ती करणीको वारदात नभएको भनी उल्लेख गरेको देखिन्छ । जाहेरवालाको जाहेरीको बेहोरा तथा पीडितको मौकाको कागजमा लेखाएको बेहोरा निजहरूले अदालतमा गरेको बकपत्रबाट समर्थित नभएको हुँदा तिनमा लेखिएको बेहोरा प्रमाणग्राह्य हुनसक्ने नदेखिएको हुँदा प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी पुष्टि हुन सकेको देखिएन । पीडितको उमेर १६ वर्ष नपुगेकोले सहमतिमै करणी भएको भए पनि जबरजस्ती करणी हुने भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा पीडितले अध्ययन गरेको स्कुलमा निजको जन्ममिति २०५२।५।५ उल्लेख भएको, पीडितको उमेर परीक्षण गर्दा १८ देखि २० वर्षको बिचमा रहेको भन्ने देखिई वारदात हुँदाको अवस्थामा १६ वर्षभन्दा माथि देखिएको र तत्कालीन मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं. बमोजिम १६ वर्ष माथिको उमेरकी महिलासँग सहमतिमा करणी गरेको देखिएको अवस्थामा जबरजस्ती करणीको वारदात कायम हुन सक्ने देखिएन ।
१२. फौजदारी मुद्दामा अभियुक्तको कसुर शंकारहित तबरले प्रमाणित गर्ने भार वादी वा अभियोजन पक्षमा रहन्छ । वादीले स्वतन्त्र, विश्वसनीय र भरपर्दो प्रमाणबाट आफ्नो दाबी प्रमाणित गर्नुपर्छ । शंकारहित तवरबाट दाबी प्रमाणित गर्न नसकेमा वा प्रमाणको मूल्याङ्कन गर्दा प्रतिवादीले कसुर गरेको कुरामा कुनै सन्देह वा शंका रहेमा त्यसको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ भन्ने कानूनी व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा वादीले प्रतिवादीउपरको अभियोग शंकारहित तवरले प्रमाणित गर्न सकेको अवस्था विद्यमान देखिन आएन ।
१३. जबरजस्ती करणीसम्बन्धी अपराध पीडित र तीनका परिवारसमेतका लागि पीडा दायक महिला विरूद्ध हुने जघन्य अपराध हो । तथापि पीडित स्वयम्ले घटना विवरण कागज गर्दैमा कसुरदार ठहर भई हाल्ने भन्ने हुँदैन । पीडितले घटना विवरण कागजको बेहोरा र अदालतमा बकपत्र गर्दा एकै बेहोरा उल्लेख नगरी फरक फरक बेहोरा उल्लेख गरी आफूउपर अपराध नै नभएको भन्ने बकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसुर कायम गर्न मिल्ने देखिँदैन । पीडितका बाबुले जाहेरी दरखास्तको बेहोरामा लेखाएको बेहोराभन्दा फरक बेहोराको बकपत्र गर्दछन् भने त्यस्तो बकपत्रले अनुसन्धानमा भएका कागजातहरूको विश्वसनीयतामा प्रश्न उठाउँदछ । अदालतमा भएको बकपत्रलाई अन्यथा भएको भनी भन्न मिल्ने देखिँदैन । प्रतिवादीको कसुरमा इन्कारी बयानलगायतका अन्य यकिन कसुरलाई शंकारहित तवरबाट प्रमाणित गर्ने आधारको अभावमा पीडितको जाहेरी परेकै कारणले मात्र यी प्रतिवादीलाई कसुरदार प्रमाणित गर्नु न्याय र कानूनको मान्य सिद्धान्तभित्र पर्दैन ।
१४. अतः माथि विवेचित आधार एवं कारणहरूबाट प्रतिवादी सन्तोषकुमार साह सुडीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७१।१०।२८ मा भएको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।०३।०८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । यस अदालतबाट मिति २०७२।९।२६ मा निस्साको आदेश हुँदा लिइएको आधारसँग सहमत हुन सकिएन । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सुष्मालता माथेमा
इजलास अधिकृत : शोभा पाठक
इति संवत् २०७९ साल मंसिर २३ गते रोज ६ शुभम् ।