शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०६२ - कर्तव्य ज्यान

भाग: ६५ साल: २०८० महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७९।७।१६

०७४-CR-०५८४

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक/वादी : राम नरेशकुमार यादवको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला बारा गा.वि.स. अमरपट्टि वडा नं. ४ बाजोपट्टि बस्ने कृपा राउत अहिर (यादव) को छोरा मदनप्रसाद यादवसमेत

 

जाहेरी दरखास्तमा उल्लिखित विवरण प्रतिकूल हुने गरी जाहेरवालाले बयान गरेको अवस्थामा किटानी जाहेरीको आधारमा प्रतिवादीहरूले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी यकिन गर्न नसक्ने । केबल किटानी जाहेरी र शव परीक्षण प्रतिवदेनमा मृतकको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण भएको भनी उल्लेख भएको भन्ने आधारमा मात्र कोही व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने ।

(प्रकरण नं. २)

कुनै वारदातमा एक जनाभन्दा बढी सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको कसुरजन्य कार्य 

हेरिनुपर्दछ । घटनास्थलमा उपस्थित हुनु र घटनामा संलग्न हुनु फरक कुराहरू 

हुन् । घटना घटेको समयमा वारदातस्थलमा उपस्थित हुँदैमा ती व्यक्तिहरू नै वारदात घटाउन संलग्न रहेका हुन् भन्न नमिल्ने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री रेशम अचार्य

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री आशिष अधिकारी तथा श्री निरञ्जनकुमार खड्का

अवलम्बित नजिर:

ने.का.प. २०६९, अङ्क २, नि.नं. ८७६४ 

ने.का.प २०६६, अङ्क ३, नि.नं. ८०९३ 

ने.का.प २०६९, अङ्क १, नि.नं. ८७५८ 

सम्बद्ध कानून:

प्रमाण ऐन, २०३१  

 

सुरू तहमा फैसला गर्ने :-       

मा. जि. न्या. श्री माधवप्रसाद अधिकारी

बारा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

मा. न्या. श्री मोहन बहादुर कार्की

मा. न्या. श्री दिनेशप्रसाद यादव

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज

 

फैसला

न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

 

तथ्य खण्ड

मिति २०७१।०९।३० गते बिहान अं.११:०० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित सार्वजनिक स्थलमा झै-झगडा हुँदा ऐ.ऐ. वडा नं. ७ बस्ने रामऔतार राउत अहिरलाई कुटपिट गरी सख्त घाइते बनाएको भन्‍ने बेहोराको घटना स्थल मुचुल्का ।

मिति २०७१।०९।३० गते मेरो काका वर्ष ७५ को जयनारायण राय यादव कालगतिले परलोक भएपछि निज काकालाई गाउँलेहरूसमेत भई दाहसंस्कार गर्न गएकोमा मेरो बुबा वर्ष ६० को रामऔतार राय यादव पनि निज काकाको दाहसंस्कार गर्ने ठाउँतर्फ गइरहेको अवस्थामा उक्त दिनको अं.१२:०० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ४ स्थित सडकमा पुग्दा मेरो गाउँको रविन्द्र यादव, मदन यादव र रामनारायण यादवसमेतका व्यक्तिहरूले पूर्वरिसइवीको कारण कुटपिट गरी सख्त घाइते बनाई सडकमा छाडी निज व्यक्तिहरू भागी गएको कुरा थाहा पाई तत्कालै उपचारको लागि कलैया अस्पताल लगी उपचार हुन नसकी थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगन्जमा लगी उपचारकै क्रममा सोही चोटको कारण मृत्यु भएकोले उक्त लासलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जको शवगृहमा राखिएको हुँदा मेरो बुबाको मृतक लास सदगतको लागि मेरो जिम्मा बुझिपाउँ भन्‍ने बेहोराको रामनरेश कुमार यादवको निवेदन ।

मिति २०७१।०९।३० गते बिहान अं.१२:०० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित सार्वजनिक स्थलमा झै-झगडा हुँदा रविन्द्र यादवसमेतले पूर्वरिसइबीको कारण योजना बनाई ऐ.ऐ. वडा नं. ७ बस्ने रामऔतार राउत अहिरलाई कुटपिट गरी सख्त घाइते बनाई उपचारकै क्रममा सोही दिन अं. दिउँसो १६:०० बजेको समयमा नेसनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको र मृतक लासको दाहिने हातको कान्छी औंलामाथि चोट लागि फुलेको, बायाँ खुट्टाको तल गेडी र घुँडाबिचमा चोट र हिछा लागेको, बायाँ कुम तल ढाडमा ४ इन्च लम्बाइ ३ इन्च चौडाइको चोटको निलडाम रहेको, बायाँ चाकको फिलामाथिको भागमा ३ इन्च लम्बाइ ४ इन्च चौडाइको चोटको निलडाम रहेको, टाउकोमा लागेको चोट घाउमा अस्पतालबाट ब्यान्डेज गरिएको र दुवै कुमको बिच भागमा ४ (चार) ठाउँमा साना साना चोट रही छाला गएको भन्‍नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।

मिति २०७१।०९।३० गते बिहान अं.११:३० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित सार्वजनिक स्थलमा गाउँघरको झगडा एवं पूर्व रिसइवीको कारण रविन्द्र यादव, रामचन्द्र यादव, सर्वजितप्रसाद यादव, मदनप्रसाद यादव, रामनारायणप्रसाद यादव, प्रदीपकुमार यादव, भोला यादव, वृजकिशोर यादव, हरिशंकर यादवसमेतले लाठी फाटासमेत बोकी आई म जाहेरवालाको बुबा रामऔतार राउत अहिरको संवेदनशील अङ्ग टाउकोसमेतमा प्रहार गरी सख्त घाइते बनाई भागी गएकोमा तत्काल मेरो बुबालाई उपचारको लागि कलैया अस्पताल हुँदै वीरगन्ज अस्पतालमा उपचार गराउँदाको क्रममा सोही चोटको कारण दिउँसोको समयमा कर्तव्यबाट मृत्यु भएकोले निज अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्‍ने बेहोराको रामनरेश कुमार यादवको जाहेरी दरखास्त ।

मिति २०७१।९।२९ गतेका दिन गा.वि.स. को परिषद्‌को विषयलाई लिएर गाउँका रविन्द्र यादवलाई गाउँकै नागेन्द्र यादव र रामऔतार राउत अहिरसमेतले अपशब्द प्रयोग गरी गाली गलौज गरी परिषद्‌बाट लखेटेको विषयलाई लिएर ऐ.३० गते बिहान अ. ०८:०० बजेको समयमा गाउँकै रविन्द्र यादव, निजको भाइ तपन्द्रि यादव र हरिन्द्र यादवले समेत मिली गाउँकै रामजन्म यादवलाई कुटपिट गरिदिएको विषयलाई लिएर गाउँ घरमा विवाद हुँदा यो विषयलाई गाउँमा मिलाउनुपर्छ भनी मिति २०७१।०९।३० गते बिहान अं. ११:०० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित निमको रूख नजिक सार्वजनिक स्थानमा जाहेरी दरखास्तमा उल्लिखित रविन्द्र यादव, रामचन्द्र यादव, सर्वजितप्रसाद यादव, रामनारायणप्रसाद यादव, प्रदीपकुमार यादव, भोला यादव, वृजकिशोर यादव, हरिशंकर यादव र मलगायत १५/२० जना र अर्को पक्षका रामजन्मराय यादव, बिजय यादव, रामऔतार राउत अहिरलगायतका ३०/४० जना मानिसहरूसमेत भेला जम्मा भई बिहानको विषयलाई लिएर छलफल भई राखेको अवस्थामा पुनः ११:३० बजेको समयमा दुवै पक्षबिच वादविवाद भई झगडा एवम् कुटपिट हुँदा दुवै पक्षले बोकी राखेको लाठी फाटासमेतबाट हानाहान हुँदा मलगायत रामनारायणप्रसाद यादव, राजा यादव, जितेन्द्र यादवसमेत घाइते भएको र अर्को पक्षका रामऔतार राउत अहिर, रामजन्म यादव र विजय यादवसमेत ३ जना घाइते भएकोमा सबै घाइतेलाई उपचारको लागि कलैया अस्पतालमा ल्याई उपचार गराउँदाको अवस्थामा घाइतेमध्येका रामऔतार यादवको अवस्था गम्भीर भएकोले थप उपचारको लागि वीरगन्ज स्थित ना.उ.क्षे. अस्पताल वीरगन्जमा उपचार गराउँदाको क्रममा सोही दिन मृत्यु भएको हो । मृतक रामऔतार राय यादवको कसको प्रहारबाट घाइते भई मृत्यु भएको हो यकिन थाहा भएन, मैले लाठी फाटा प्रहार गरेको होइन भन्‍ने बेहोराको अभियुक्त मदनप्रसाद यादवको बयान र सो बयानसँग एकै मिलान हुने गरी अभियुक्त रामनारायणप्रसाद यादवले गरेको बयान कागज ।

मृतक रामऔतार राय यादवको मृत्युको कारणमा Cardiac arrest due to severe head injury बेहोराको पोस्टमार्टम रिर्पोट ।

पक्राउ प्रतिवादीहरू र फरार रहेका अभियुक्त रविन्द्र यादव, रामचन्द्र यादव, भोला यादव, सर्वजित प्र.यादव वृजकिशोर राउत, प्रदिपकुमार यादव र हरिशंकर यादवसमेत ९ जनाको घर कोठा खानतलासी गर्दा कर्तव्य ज्यान मुद्दामा प्रमाण लाग्ने लाठी फाटासमेतका दशी प्रमाण फेला नपरेको तथा बरामद नभएको बेहोराको बरामदी मुचुल्का ।

मिति २०७१।०९।३० गते बिहान अं. ११:३० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित निमको रूख नजिक सार्वजनिक बाटो हुँदै मसमेत गइराखेको अवस्थामा विपक्षी भोला यादव, मदन यादव, रामनारायण यादवसमेतका व्यक्तिले गाली गलौज गरी समात्न खोज्दा मसमेत भागी गएको र काका नाता पर्ने रामऔतार राउत अहिरलाई पक्राउ गरी लगी पूर्वरिसइवीको कारण जाहेरी दरखास्तमा उल्लिखित रविन्द्र यादव, रामचन्द्र यादवको योजनामा विपक्षी सर्वजितप्रसाद यादव, रामनारायणप्रसाद यादव, प्रदीपकुमार यादव, भोला यादव, वृजकिशोर यादव, हरिशंकर यादवसमेतका व्यक्तिले लाठी फाटासमेतले प्रहार गरी मराणासन्‍न अवस्थामा छाडी भागी गएकोमा निज रामऔतार राउत अहिरलाई तत्काल अस्पतालमा लगी उपचार गराउँदाको क्रममा सोही चोटको कारण कर्तव्यबाट सोही दिन अस्पतालमा मृत्यु भएको हो भन्‍ने बेहोराको एकै मिलान नहुने गरी हरीचन्द्र राउत अहिरसमेतका व्यक्तिहरूले लेखाइदिएको कागज ।

मिति २०७१।०९।३० गते बिहान अ. ०८:०० बजेको समयमा गाउँका रामजन्म यादवलाई गाउँकै रविन्द्र यादवसमेतका व्यक्तिहरूले कुटपिट गरेको विषयलाई लिएर गाउँघरमा दुवै पक्षबिच वादविवाद भइराखेको अवस्थामा बिहान अं. ११:३० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित निमको रूख नजिक सार्वजनिक सडकमा गाउँघरको झगडा एवम् पूर्वरिसइवीको कारण जाहेरी दरखास्तमा उल्लिखित अभियुक्त रविन्द्र यादव, रामचन्द्र यादव सर्वजित यादवसमेतको योजनामा अभियुक्त रामनारायणप्रसाद यादव, मदनप्रसाद यादव, सर्वजितप्रसाद यादव, प्रदीपकुमार यादव, भोला यादव, वृजकिशोर यादव, हरिशंकर यादवसमेतका व्यक्तिले जाहेरवालाको बुबा रामऔतार राउत अहिरउपर लाठी फाटासमेतले प्रहार गरी मराणासन्‍न अवस्थामा छाडी भागी गएकोमा निज रामऔतार राउत अहिरलाई तत्काल उपचारको लागि अस्पतालमा लगी उपचार गराउँदाको क्रममा सोही चोटको कारण कर्तव्यबाट सोही दिन अस्पतालमा मृत्यु भएको हो, सो वारदातमा जाहेरी दरखास्तमा उल्लिखित अभियुक्त मदन यादव, रामनारायण यादवसमेत ९ जनाको संलग्नता रहेको छ भन्‍ने बेहोराको एकै मिलान हुने गरी रामचन्द्र यादवसमेतको घटना विवरण कागज ।

यसमा अनुसन्धानको सिलसिलामा संकलन भई मिसिल संलग्न हुन आएको घटना स्थल मुचुल्का, रामनरेशकुमार यादवको निवेदन, जाहेरी दरखास्त, लासजाँच प्रकृति मुचुल्का, प्रतिवादी मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवको बयान कागज, पोस्टमार्टम रिपोर्ट, खानतलासी तथा बरामदी मुचुल्काहरू, हरिचन्द्र राउत अहिरसमेतको कागज र बुझिएका रामचन्द्र यादवसमेतको घटना विवरण कागजसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट मिति २०७१।०९।३० गते जाहेरवालाको बुबा रामऔतार राउत अहिरलाई कुटपिट गरी कर्तव्यबाट मृत्यु भएको वारदात स्थापित हुन आयो ।

वारदात भएको देख्‍ने उमेशप्रसाद यादव, नागेन्द्र राउत अहिर र हरिचन्द्र राउत अहिरले पनि हाम्रो सामुन्नेमा जाहेरवालाको बुबा रामऔतार राउत अहिरलाई पक्री जाहेरीमा उल्लिखित सबै प्रतिवादीहरू मिली पूर्वरिसइवीका कारण लाठी फाटासमेतले प्रहार गरी सख्त घाइते बनाई कर्तव्य गरी मारेको हो भनी गरिदिएको किटानी कागज तथा सोही बेहोराको बुझिएका लालबाबुप्रसाद यादव, विशेश्वरप्रसाद यादव, रामचन्द्र यादवसमेतले गरिदिएको घटना विवरण कागजसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट जाहेरीमा उल्लिखित सबै प्रतिवादीहरूको संलग्नतामा पूर्वरिसइवीका कारण सामूहिक रूपमा जाहेरवालाको बुबा रामऔतार राउतउपर प्रहार गरेको लाठी, फाटासमेतका चोट पटकहरू निजको शरीरको विभिन्‍न भागमा लागी घाइते भई उपचारको क्रममा मृत्यु भएको देखिँदा सो वारदात निज प्रतिवादीहरूको कर्तव्यबाटै भएको पुष्‍टि हुन आएको हुँदा प्रतिवादीहरूले गरेको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर अपराध भएको देखिँदा उक्त कसुरमा निज प्रतिवादीहरू मदनप्रसाद यादव, रामनारायणप्रसाद यादव, रविन्द्र यादव, रामचन्द्रप्रसाद यादव, सर्वजितप्रसाद यादव, प्रदिपकुमार यादव, भोला यादव, वृजकिशोर यादव र हरिशंकर यादवलाई सोही महलको १३(३) नं.बमोजिम सजाय हुन माग दाबी लिई दायर हुन आएको मिति २०७१।११।३ को अभियोग पत्र ।

जाहेरी बेहोरा र अभियोग दाबी झुठ्ठो हो । दाबीअनुसारको कार्य मैले गरेको होइन, छैन । मलाई सजाय हुनुपर्ने होइन । निमको रूखनिर गाउँ परिषद्‌को छलफल हुने भनी म पनि गएको थिएँ । त्यहाँ ३०/४० जना मानिसको हुल भई मलाईसमेत कुटपिट गरेको र मेरोसमेत टाउकोमा चोटपटक लाग्न गई ३ वटा टाँका लागेको थियो । चोटको कारण म बेहोस अवस्थामा थिएँ । रामअवतार राउतलाई चोट लागे नलागेको मलाई थाहा भएन । मिति २०७१।१०।२३ गतेको प्रत्यक्षदर्शीहरूले गरेको घटना विवरण कागज बेहोरा झुठ्ठो हो । मैले कुटपिट गरेको होइन, छैन भनी प्रतिवादी रामनारायणप्रसाद यादव र अर्को प्रतिवादी मदनप्रसाद यादवसमेतले एकै मिलानको छुट्टा छुट्टै सुरू अदालतमा मिति २०७१।११।४ मा गरेको बयान ।

प्रतिवादीहरू मौकामा वारदात स्थलमा उपस्थित भएको तथ्यलाई स्वीकार गरी गाउँ परिषद्‌को विषयलाई लिएर दुई पक्षबिच झगडा एवं कुटपिटसमेत भई झडप भएको । दुवै पक्षले बोकिराखेको लाठी फाटासमेतबाट हानाहान हुँदा आफूहरूसमेत घाइते भएको र मृतकसमेत घाइते भएको उपचारको क्रममा मृतकको मृत्यु भएको तथ्यलाई मौकाको बयानमा स्वीकार गरी मृतक रामऔतार राय यादवको कसको प्रहारबाट घाइते भई मृत्यु भएको हो यकिन थाहा भएन भन्‍नेसमेतको बेहोरा उल्लेख गरी आफूहरूले मृतकलाई लाठी फाटा प्रहार गरेको होइन भनी दुवै जनाले एकै मिलानको अनुसन्धान अधिकृतसमक्षको बयानमा बेहोरा लेखाएको पाइन्छ । निज प्रतिवादीहरू दुवै जना अदालतमा आई बयान गर्दा कसुरमा इन्कारी बयान गरी दुई पक्षबिच कुटपिट भएको, वारदात स्थलमा आफू रहेको र आफूलाई समेत चोट लागेकोसम्मको तथ्यलाई स्वीकार गरी एकै मिलानको बयानमा बेहोरा लेखाएको पाइन्छ । मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू हरिचन्द्र राउत, नागेन्द्र राउत अहिर, उमेशप्रसाद यादव, लालबाबुप्रसाद यादव, विशेश्वरप्रसाद यादव र रामचन्द्र यादवसमेतले यी प्रतिवादीहरूसमेत भई मृतक रामऔतार राउत अहिरलाई कुटपिट गरेका हुन भन्‍नेसमेतको बेहोरा लेखाएको पाइन्छ । मिसिल संलग्न घटना लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट मृतक रामऔतार राय यादवको शरीरमा विभिन्‍न भागमा घाउ चोटहरू परेको देखिन्छ । मिसिल संलग्न माथि विवेचित तथ्यहरूबाट प्रतिवादीहरूको वारदात स्थलमा उपस्थिति देखिएको र जाहेरी र घटना विवरणका मानिसहरूले प्रतिवादीहरूलाई पोल गरेको अवस्थासमेतबाट प्रतिवादीहरू मदनप्रसाद यादव र रामनारायणप्रसाद यादव हालसम्मका मिसिल संलग्न प्रमाणबाट कसुरदार होइनन् भनी भन्‍न सकिने अवस्था नहुँदा र पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा मुद्दा पुर्पक्षको निमित्त निज प्रतिवादीहरूलाई कानूनबमोजिम सिधा खर्च पाउने गरी थुनामा राखी मुद्दाको कारबाही गर्नू । फरार प्रतिवादीहरूका हकमा कानूनबमोजिमको वारेन्ट तथा म्याद जारी गरी म्यादमा उपस्थित भए वा अवधि गुजारे नियमानुसार पेस गर्नु भनी सुरू अदालतबाट भएको मिति २०७१।११।४ को थुनछेक आदेश ।

मिति २०७१।९।३० गते बिहान अन्दाजी ११:००-११:३० बजेको समयमा गा.वि.स. सचिवको अध्यक्षतामा गाउँ परिषद् बसिरहेको थियो । सो परिषद्मा गाउँको धेरै जना उपस्थित थियो । त्यसमा मलगायत मृतक रामऔतार राउत अहिरसमेतको उपस्थित थियो । सो परिषद्‌मा बजेटको विषयलाई लिएर छलफल गर्दा हो-हल्ला भयो र २०/२५ जना अचानक अपरिचित व्यक्ति कुटपिट गर्न थाल्यो । त्यसमा मलाई पनि चोट लागेको थियो । एकाएक मान्छेहरू भाग्न थाल्यो । सोही कुटपिट भागदौडमा निज मृतक रामऔतार राउत अहिरलाई चोटपटक लागी मृत्यु भएको हो । निजलाई प्र.मदनप्रसाद यादव र प्र. रामनारायणप्रसाद यादवले कुटपिट गरेको होइन, छैन । सो भागदौडमा निज प्रतिवादीहरू पनि घाइते भएका थिए भन्‍नेसमेत बेहोराको प्रतिवादी मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवका साक्षी विरेन्द्र राय यादवले सुरू अदालतमा मिति २०७२।५।१४ मा गरेको बकपत्र ।

प्रतिवादीहरूले रामऔतार राउत अहिरलाई कुटपिट गरी नमारेको हुँदा अभियोग दाबीअनुसार प्रतिवादीहरूलाई सजाय हुनुपर्ने होइन, छैन । कसले मृतकलाई मारेको हो थाहा हुन सकेको छैन भन्‍नेसमेत बेहोराको बुझिएका मानिस विशेश्वरप्रसाद यादवले सुरू अदालतमा मिति २०७३।३।२१ मा गरेको बकपत्र ।

प्रतिवादीहरू मदनप्रसाद यादवसमेतले रामऔतार राउत अहिरलाई कुटपिट गरेको होइन, 

छैन । जाहेरी झुठ्ठा हो । प्रतिवादीहरूले कुटपिट गरेको होइन भन्‍नेसमेत बेहोराको बुझिएका मानिस रामचन्द्र राउतले सुरू अदालतमा मिति २०७३।३।२१ मा गरेको बकपत्र ।

अभियोग दाबीबमोजिम प्रतिवादीहरू मदन यादवसमेतले कार्य नगरेको हुँदा निजहरूलाई सजाय हुनुपर्ने होइन । निजहरू निर्दोष हो । त्यो हुल दङ्गामा कसले कसलाई पिटियो भन्‍न सकिने अवस्था छैन भन्‍नेसमेत बेहोराको बुझिएका मानिस हरिचन्द्र राउत अहिरले सुरू अदालतमा मिति २०७३।३।२० मा गरेको बकपत्र ।

प्रतिवादीहरूको नाम किटान गरी निजहरूसमेतको कुटपिटका कारण मृतक रामऔतार राय यादवको मृतक भएको भनी किटानी जाहेरी दिने जाहेरवाला राम नरेशकुमार यादवले अदालतमा उपस्थित भई आफ्नै जाहेरी बेहोरालाई खण्डन गरी बकपत्र गरेको देखिन्छ । मौकामा जाहेरी बेहोरालाई समर्थन गरी कागज गर्ने रामचन्द्र राउत, विशेश्वरप्रसाद यादवले अदालतमा उपस्थित भई मौकाको कागज बेहोरालाई खण्डन गर्दै यी प्रतिवादीहरूले मृतकलाई कुटपिट गरेको होइन भनी बकपत्र गरेको 

देखिन्छ । मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्य स्थापित भइसकेको छ । मौका वारदातमा यी प्रतिवादीहरूको उपस्थित भएको तथ्य स्वयम् प्रतिवादीहरूले समेत स्वीकार गरेको छ । यी प्रतिवादीहरूउपर किटानी जाहेरी परेको, जाहेरी बेहोरालाई पुष्‍टि हुने गरी मौकामा कागज गरिदिएकोमा आफ्नै कागज बेहोरालाई खण्डन गरी बकपत्र गरेका आधारबाट यी प्रतिवादीहरू निर्दोष हुन् भन्‍न सक्ने अवस्था देखिएन । प्रतिवादीहरू मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवको कर्तव्यबाट मृतक रामऔतार राय यादवको मृत्यु भएको तथ्य पुष्‍टि हुन आयो । प्रतिवादी मदनप्रसाद यादवसमेतले जाहेरवालाको पिता रामऔतार राउत अहिरलाई कुटपिट गरी कर्तव्यद्वारा हत्या गरेको तथ्य पुष्‍टि हुन आएकोले निज प्रतिवादीहरू मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. ले जन्मकैद हुने ठहर्छ । साथै बाँकी प्रतिवादीहरूको हकमा फरार रहेकोले मुल्तबीमा राखिदिने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू बारा जिल्ला अदालतको मिति २०७३।११।२२ को फैसला ।

प्रतिवादीहरूले राम औतार राउत अहिरलाई कुटपिट गरेको होइन । सम्मानित बारा जिल्ला अदालतले बकपत्र गर्न १५ जना व्यक्ति झिकाएकोमा ४ जना मात्र आई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम मौकाको आफ्नो कथन पुष्‍टि गर्न सक्नु भएन, अन्यको कथन अदालतमा नआउनु भएबाट कानूनत: प्रमाण ग्राह्य हुने भएन । हामीले मार्नुपर्ने कुनै कारण छैन, दोषी मनोभावनाबेगर आपराधिक कार्य हुन सक्तैन । हाम्रो घर खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने लाठी भाटा कुनै पनि चिज वस्तु बरामद भएको छैन । ढिलो गरी परेको जाहेरी दरखास्तमा लाठी, भाटा भएको तथ्य गडासा प्रहार गरेको भनेकोमा जाहेरीसाथ पेस छैन उक्त वस्तु बरामद भएको छैन, घटनास्थल प्रकृति मुचुल्कामा पनि देखिँदैन । झगडा मिलाउने छलफलको उपस्थितिमा हाम्रो केही तथ्यको स्वीकारोक्ति र अपराधको साबित दुई वेगल भिन्‍न भिन्‍न कुरा हुन्, हामी अधिकारप्राप्‍त अधिकारी र अदालत दुवै ठाउँमा कसुरमा साबित भएका छैनौँ । घटना नियोजित रूपमा मनसायपूर्वक घटेको होइन । ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको अवस्थामा भवितव्य हुन्छ यस्तो अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं., ६ नं. लाई हेर्नुपर्ने हुन्छ, यसमा ज्यानसम्बन्धी महलको १ को नं. कसुर नहुँदा १३(३) नं. आकर्षित हुँदैन । विपक्षी वादीको प्रमाण र हाम्रो कथनबाट मृतकको मृत्यु हाम्रो कारणबाट नभई हामी स्वयम् मृतकसँग गम्भीर रूपमा घाइते भई झगडा मिलाउने छलफलमा वादविवाद भई उत्तेजना बढी दुई पक्षबिच झगडा भई घटित घटना हुँदा को कसले छाडेको चोट लागेको तथ्य स्वयम् हामीलाई नै थाहा नहुँदा यस विषयमा मुलुकी ऐन, अ.बं.१८४ क नं.बमोजिम मुख मिलेको छ । प्रस्तुत मुद्दाको वारदातको परिस्थिति र प्रतिवादीको कार्यको विश्‍लेषण गरिएन, मनसाय थियो वा मनसायको अभाव थियो, मनसायप्रेरित हत्या हो वा आवेशप्रेरित हत्या हो वा भवितव्य के हो भनी अर्थको अनर्थ लगाई प्रमाणको समुचित मूल्याङ्कन नगरी हामी निर्दोष व्यक्तिलाई दोषी करार गरी सजाय गर्न नमिल्ने हुँदा मुलुकी ऐन, अ.बं. १८४ क.नं., अ.बं.१८५ नं., प्रमाण ऐन, ०३१ को दफा ३ तथा ५४ को प्रतिबन्धात्मक वाक्यांश "तर" को त्रुटि गरी भएको सम्मानित बारा जिल्ला अदालतको फैसला बदर गरिपाउँसमेत बेहोराको पुनरावेदकहरू मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा पेस भएको पुनरावेदन पत्र ।

प्रतिवादीले अनुसन्धानको क्रममा र अदालतमा गरेको बयान, जाहेरवालालगायतका वादी पक्षका साक्षीले अदालतमा गरेको बकपत्रसमेतलाई दृष्‍टिगत गर्दा सुरू जिल्ला अदालतबाट मिति ०७३।११।२२ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय वीरगन्जलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी मिति २०७४।३।३० मा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट भएको आदेश ।

पुनरावेदक प्रतिवादीउपरको कसुर शंकारहित तवरबाट वादी पक्षले प्रमाणित गर्न सकेको देखिँदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी कानूनको सामान्य सिद्धान्त रहेको 

पाइन्छ । यी पुनरावेदक प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारी र सुरू अदालतसमक्षको इन्कारी बयान, जाहेरवाला एवं बुझिएका मानिसहरूले यी पुनरावेदक प्रतिवादीहरूलाई गडाउ गरी बकपत्र गर्न नसकेको, प्रतिवादीहरूको घर खानतलासीसमेतबाट दाबीको रूपमा रहने लाठीलगायतका कुनै पनि दशी बरामद हुन नसकेको अवस्था र ठोस सबुद प्रमाणको अभावमा यी पुनरावेदक प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउनुपर्नेमा जन्मकैद हुने ठहर गरी सुरू अदालतबाट भएको फैसला मिलेको देखिएन । पुनरावेदक प्रतिवादी मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवले अभियोग दाबीबाट सफाइ पाउनुपर्नेमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर गरी सुरू बारा जिल्ला अदालतबाट मिति २०७३।११।२२ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई यी पुनरावेदक प्रतिवादी मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी मिति २०७४।४।१७ मा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको फैसला ।

प्रस्तुत मुद्दामा मृतकको शव परीक्षण प्रतिवेदनमा मृतकको शरीरको विभिन्न भागमा घाउ चोट रहेको र मृत्युको कारण Cardiac arrest due to severe head injury भन्ने बेहोरा उल्लेख भएकोले राम ‌औतार राउतको मृत्यु प्रतिवादीहरूको सामूहिक कुटपिटको कर्तव्यबाट भएको भन्ने स्पष्ट देखिन आएको छ । प्रतिवादीहरूको कुटपिटका कारण राम औतार राउतको मृत्यु भएको हो भनी जाहेरवालाले किटानी जाहेरी दिई मौकामा कागज गर्ने नागेन्द्र राउत अहिर र उमेशप्रसाद यादवले यी प्रतिवादीहरूले आफूहरूसमेतलाई समात्न खोज्दा भागेका कारण राम औतार राउतलाई पक्राउ गरी कुटपिट गरी मारेका हुन् भनी किटान गरेको अवस्थामा निज नागेन्द्र राउत अहिर र उमेशप्रसाद यादवलाई बुझ्दै नबुझी प्रतिवादीद्वय मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवलाई सफाइ दिई भएको प्रस्तुत फैसला न्यायको रोहमा गम्भीर त्रुटिपूर्ण छ । प्रतिवादीहरूले वारदात भएका अवस्थामा आफ्नो उपस्थिति रहे भएको तथ्यलाई स्वीकार गरी दुवै पक्षबिच गाउँ परिषद्को विषयलाई दिई कुटपिट झडप भएको र दुवै पक्षबाट लाठी फाटा हानाहान हुँदा मृतक घाइते भई उपचारको क्रममा मरेका हुन् भन्नेसमेतको बेहोरा खुलाई मौकामा बयान गरेकोमा सो कथनलाई प्रतिवादीहरूको बयान, शव परीक्षण प्रतिवेदन, बुझिएका मानिसहरूको कथन एवं लास जाँच मुचुल्कासमेतका मिसिल संलग्न प्रमाण कागजहरूले समर्थन गरेको अवस्थामा "….लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनलाई मात्रै पनि आरोपित व्यक्तिका विरूद्ध स्वयम्‌मा अकाट्य प्रमाण मान्न नसकिने" भन्ने बेहोराको असान्दर्भिक नजिर उल्लेखन गरी सुरू अदालतबाट दाबीबमोजिमको कसुर कायम भइसकेका प्रतिवादीद्वय मदनप्रसाद यादव र रामनारायणप्रसाद यादवलाई आरोपित कसुरबाट सफाइ दिई भएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी निज प्रतिवादीहरूउपर सुरू अभियोग दाबीबमोजिम नै सजाय कायम गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मिति २०७४।९।११ पर्न आएको पुनरावेदन पत्र ।

यसमा मृतकको मृत्यु Cardiac arrest due to severe head injury  बाट भएको भनी शव परीक्षण प्रतिवेदनबाट देखिएको, प्रतिवादीहरूसमेत वारदातस्थलमा रहेको भनी निजहरूको बयानबाट खुलेको अवस्थासमेत हुँदा उच्च अदालत जनकपुर, वीरगन्ज इजलासको फैसला विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम छलफलको लागि प्रत्यर्थी प्रतिवादीहरूका नाममा म्याद सूचना जारी गरी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७६।३।८ को आदेश ।

ठहर खण्‍ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री रेशम अचार्यले प्रतिवादीहरूउपर किटानी जाहेरी परेको, मृतक र प्रतिवादीहरूबिच एक आपसमा कुटपिट भई वारदात भएको कुरा मौकामा स्वीकार गरेको हुँदा यी प्रतिवादीहरू घटनाको समयमा घटनास्थलमा नै रही मृतकलाई कुटपिटसमेत गरेको देखिँदा शव परीक्षण प्रतिवेदनलाई मात्र आधार बनाई सुरू जिल्ला अदालतको फैसला उल्टी हुने गरी भएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम सजाय कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादीहरू रामनारायणप्रसाद यादव तथा मदनप्रसाद यादवको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री आशिष अधिकारी तथा श्री निरञ्जनकुमार खड्काले डाक्टरले बकपत्र गर्दा मृतकको टाउकोमा एकवटा मात्र चोट देखिएको र प्रतिवादीहरूबाट कुनै पनि किसिमको हतियार बरामद नभएको, अनुमानको आधारमा कसैलाई कसुरदार मान्न नमिल्ने हुँदा शंकाको सुविधा अभियुक्तले पाउने हुन्छ । प्रतिवादीहरू वारदातमा उपस्थित भए पनि दुई पक्षबिच झडप हुँदा यी प्रतिवादीहरू झगडा छुट्टाउन जाँदा घाइतेसमेत भएका हुन् । मृतकको मृत्युमा प्रतिवादीहरूको कर्तव्यबाट भएको होइन तसर्थ उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीहरू तर्फबाट उपस्थित विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहससमेत सुनी प्रस्तुत मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट मिति २०७४।४।१७ मा भएको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्‍छ सक्दैन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

यसमा प्रतिवादीहरू मदनप्रसाद यादव र रामनारायण यादवको कर्तव्यबाट मृतक रामऔतार राय यादवको मृत्यु भएको तथ्य पुष्टि हुन आएकोले निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर्‍याई सुरू बारा जिल्ला अदालतबाट फैसला भएकोमा यी प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारी र सुरू अदालतसमक्षको इन्कारी बयान, जाहेरवाला एवं बुझिएका मानिसहरूले यी प्रतिवादीहरूलाई गडाउ गरी बकपत्र गर्न नसकेको, प्रतिवादीहरूको घर खानतलासीसमेतबाट लाठीलगायतका कुनै पनि दशी बरामद हुन नसकेको र ठोस सबुत प्रमाणको अभावमा यी पुनरावेदक प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट फैसला भएको देखिन्छ । उच्च अदालतको फैसलामा मौकाको जाहेरी कथनलाई प्रतिवादीहरूको बयान, शव परीक्षण प्रतिवेदन, बुझिएका मानिसहरूको कथन एवं लास जाँच मुचुल्कासमेतका मिसिल संलग्न प्रमाण, कागजातहरूले समर्थन गरेका अवस्थामा असान्दर्भिक नजिर उल्लेखन गरी सुरू अदालतबाट दाबीबमोजिमको कसुर कायम भइसकेका प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिई भएको फैसला त्रुटिपूर्ण भएको कारण बदर गरी पाउन यस अदालतमा पुनरावेदन परेको देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मृतकका छोरा रामनरेश कुमार यादवले जाहेरी दरखास्त दिँदा अन्य फरार रहेका व्यक्तिहरू तथा यी प्रतिवादीहरू रामनारायणप्रसाद यादव तथा मदनप्रसाद यादवसमेतको कुटपिटका कारण राम ‍औतार राउत अहिरको मृत्यु भएको भनी किटानी जाहेरी दिएको भए तापनि निजले जिल्ला अदालतमा बकपत्र गर्दा ककसले प्रहार गरेको चोटबाट बुबाको मृत्यु भएको हो थाहा नभएको र प्रतिवादीहरूले कुटपिट गरेको होइन भनी बकपत्र गरेको देखिन्छ । यसरी जाहेरी दरखास्तमा उल्लिखित विवरण प्रतिकूल हुने गरी जाहेरवालाले बयान गरेको अवस्थामा किटानी जाहेरीको आधारमा प्रतिवादीहरूले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी यकिन गर्न सक्ने अवस्था रहँदैन । केबल किटानी जाहेरी र शव परीक्षण प्रतिवदेनमा मृतकको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण भएको भनी उल्लेख भएको भन्ने आधारमा मात्र कोही व्यक्तिलाई दोषी ठहर गर्न 

मिल्दैन । यसै सन्दर्भमा ने.का.प. २०६९, अङ्क २, नि.नं. ८७६४ मा प्रकाशित ओजराज विष्टको जाहेरीले नेपाल सरकार वि. यज्ञबहादुर थापासमेत भएको कर्तव्य ज्यान मुद्दामा जाहेरी दरखास्तको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधारको रूपमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति अर्थात्‌ जाहेरवाला स्वयं साक्षीका रूपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा बकपत्र गरी समर्थन गरेको स्थिति विद्यमान हुनुपर्दछ । अन्यथा कुनै पनि जाहेरीको बेहोराले मात्र अपराध पुष्टि गर्ने अन्तिम प्रामाणिक महत्त्व ग्रहण गर्न सक्ने अवस्था रहँदैन । 

३. फौजदारी मुद्दामा प्रमाणको भार मूलतः अभियोजन पक्षमा रहेको हुन्छ । कुनै घटनामा कुनै व्यक्ति विशेषको संलग्नता रहेको कुरा र सोसँग सम्बन्धित प्रमाणहरू सङ्कलन र प्रस्तुत गरी प्रमाणित गर्ने दायित्व अभियोजन पक्षको रहेको हुन्छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ भनी व्यवस्था गरेको छ । अभियोजन पक्षले स्पष्ट र ठोस प्रमाण पेस गरी अदालतलाई आफ्नो दाबी पुष्टि गर्ने सम्बन्धमा सन्तुष्ट पार्न सक्नुपर्दछ र शङ्कारहित तवरबाट अभियुक्तको अभियोग पुष्टि गर्नुपर्दछ अन्यथा शङ्काको सुविधा अभियुक्तले प्राप्त गर्दछ । प्रस्तुत मुद्दाका प्रतिवादीहरू घटनामा संलग्न रहेको पुष्टि गर्ने किसिमका कुनै ठोस प्रमाणहरू पेस हुन सकेको देखिँदैन । प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारी र सुरू अदालतमा भएको एकै मिलानको इन्कारी बयान, जाहेरवाला एवं बुझिएका मानिसहरूले प्रतिवादीहरूकै कर्तव्यबाट मृतकको मृत्यु भएको भनी किटानी रूपमा बकपत्र गर्न नसकेको, प्रतिवादीहरूको घरबाट लाठी फाटालगायतका प्रमाण लाग्ने सामान बरामद हुन नसकेको कारण मृतकको मृत्यु भएको घटनामा प्रतिवादीहरूको निर्णायक संलग्नता रहेको भनी पुष्टि हुने आधार रहेको देखिँदैन । ने.का.प २०६६, अङ्क ३, नि.नं. ८०९३ मा प्रकाशित नेपाल सरकार वि. रामरूप सरदारसमेत भएको खुन डाँका मुद्दामा सङ्कलित भएका प्रमाणहरूबाट कसैउपरको अभियोग पुष्टि हुने अवस्था छैन अथवा त्यस्तो अभियोग शंकारहित देखिँदैन भने अदालतले वादी वा अभियोजन पक्षको हैसियत ग्रहण गरी विना आधार कसैलाई दोषी करार गर्न पनि सक्तैन, घटना भएको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसुर प्रमाणित हुँदैन भन्ने सिद्धान्त प्रतिपादन भएको छ ।

४. कुनै वारदातमा एक जनाभन्दा बढी सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्य हेरिनुपर्दछ । घटनास्थलमा उपस्थित हुनु र घटनामा संलग्न हुनु फरक कुराहरू हुन् । घटना घटेको समयमा वारदातस्थलमा उपस्थित हुँदैमा ती व्यक्तिहरू नै वारदात घटाउन संलग्न रहेका हुन् भन्न मिल्दैन । घटना घटेको र वारदात स्थलमा प्रतिवादीहरूको उपस्थिति रहेको कुरामा कुनै विवाद देखिँदैन जसलाई प्रतिवादीहरू स्वयंले पनि बयान गर्दा स्वीकार गरेका छन् तर वारदातमा मृतकलाई कुटपिट गरी मर्नेसम्मको अवस्थामा पुर्‍याउन प्रतिवादीहरूको संलग्नता थियो भन्ने वस्तुनिष्ठ प्रमाणहरूको आधारमा पुष्टि हुन सकेको देखिँदैन । यसै सन्दर्भमा ने.का.प २०६९, अङ्क १, नि.नं. ८७५८ मा प्रकाशित कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार वि. जसमान लिम्बूसमेत भएको कर्तव्य ज्यान मुद्दामा कुन घटनामा कसको संलग्नता रहेको छ भन्ने कुरासँगै संलग्नताको मात्रा पनि जोडिएर आउँछ । कुनै वारदातमा एकजनाभन्दा बढी व्यक्ति सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निर्क्यौल गर्नुपर्ने हुन्छ । कुनै वारदातस्थलमा कसैको भौतिक उपस्थिति (Physical Presence) हुँदैमा वारदातमा संलग्नता थियो भनी ठहर्‍याउनु न्यायसङ्गत मान्न सकिँदैन ।

५. प्रतिवादीहरूउपर किटानी जाहेरी परे तापनि जाहेरीवालाले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूले प्रहार गरेको चोटबाट निजको बुबाको मृत्यु भएको होइन भनी जाहेरी बेहोराभन्दा फरक बयान गरेको देखिन्छ । वारदातको समयमा प्रतिवादीहरू घटनास्थलमा उपस्थित रहेको कुरामा कुनै विवाद रहेको देखिएन तर वारदातमा निजहरू संलग्न रहेको कुरा प्रमाणित गर्ने कुनै ठोस प्रमाण तथा आधारहरूसमेत फेला परेको देखिएन । दुई पक्षबिच झडप हुँदा सो छुट्टाउनको लागि प्रतिवादीहरूले प्रयास गर्दा प्रतिवादीहरूसमेत घाइते भएको मिसिलबाट देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) मा लाठा, ढुङ्गा र साधारण सानातिना हतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मार्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मरेमा सोही एक जना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ भन्ने व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा धेरै जनाको संलग्नतामा घटना घटेकोमा यी प्रतिवादीहरू वारदातस्थलमा उपस्थित भए तापनि मृतकलाई मार्ने प्रतिवादीहरूको कुनै मनसाय नरहेको र शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको भनी उल्लेख भए तापनि प्रतिवादीहरूले नै प्रहार गरेको चोटबाट मृतकको मृत्यु भएको भनी पुष्टि हुन नसकेको हुँदा प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न सकिने अवस्था रहेन ।

६. अतः माथि उल्लिखित तथ्य, प्रमाण, आधार एवं प्रतिपादित सिद्धान्तसमेतको रोहबाट प्रतिवादीहरू मदनप्रसाद यादव तथा रामनारायणप्रसाद यादवले कर्तव्य गरी मृतकलाई मारेको पुष्टि हुन नसकेको हुँदा निजहरूलाई कसुरदार ठहर्‍याई बारा जिल्ला अदालतले जन्मकैद हुने ठहर्‍याएको सुरू फैसला उल्टी भई यी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ पाउने गरी भएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७४।४।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृतः- दीक्षा प्रधानाङ्ग

इति संवत् २०७९ साल कार्तिक १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु