शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२६१ - जिउ मास्ने बेच्ने

भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक:

निर्णय नं. ४२६१     ने.का.प. २०४८            अङ्क २,

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४७ सालको फौ.पु.नं. २५०

फैसला भएको मिति : २०४८।३।३।२ मा

पुनरावेदक/प्रतिवादी : कारागार शाखा नख्खुमा थुनामा रहेका लालबहादुर तामाङ

विरुद्ध

वादी: कृष्णदेवी कपालीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : जिउ मास्ने बेच्ने

(१)    बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर भारतको बम्बैमा लगी बिक्री गरिसकेको कुरा प्रमाणित हुन आएकोले पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत देखिन आएन । अतः पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. बमोजिम कैद वर्ष (२०) बीसको सजायँ गर्ने गरेको इन्साफ न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १५)

पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री धु्रवलाल श्रेष्ठ (साविक पेज नं. ७५)

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर फैसला यस प्रकार छ ।

२.    राजु भन्ने लालबहादुरसंग जानपहिचान भएपछि, निजले मलाई श्रीमती बनाई राख्ने इच्छा व्यक्त गरेको मेरो पनि त्यसमा सहमति भएकाले हामी दुई महीना जति डेरामा बसेका थियौं । निजले आफ्नो घर सिन्धुपाल्चोक भनेका थिए । त्यस समयमा हाम्रो डेरामा पूर्णबहादुर तामाङ पनि आउने जाने गर्दथे । २०४१ साल कार्तिक महीनाको कुरा हो तिमीलाई पूर्वको घरमा लान्छु पूर्णबहादुर पनि साथैमा जानेछन भनेकाले क्षेत्रपाटीको डेराबाट बेलुका निजहरुले मलाई बसपार्कमा ल्याए । रात्रीको बसमा राखी पूर्वको घरमा जाने भनी मलाई झुक्याई भैरहवा जाने बसमा चढाई लगेको रहेछ खाना खाने बेलामा नारायणघाट भन्ने ठाउँमा आइपुगेको थाहा पाएँ । लालबहादुरको घर जाने बाटो मलाई थाहा थिएन । कसैले सोधनी गरेमा हामी लोग्ने स्वास्नी हो भन्नु भनी राजुले सिकाएका थिए । घर जाने बाटो यतै हो भन्दै झुक्याई भैरहवाबाट भारत बम्बैमा पुर्‍याई बम्बैको पिलार्से भन्ने ठाउँमा पुर्‍याए र २ दिन पछि बेश्यावृत्तिमा संलग्न रहेका रेणु तामाङको जिम्मा लगाइसकेपछि निजहरु त्यहाँ फर्की आएनन् । त्यसबारेमा रेणुसंग सोधनी गर्दा तिमीलाई रु. १० हजारमा मलाई बिक्री गरी गएकोले अब तिमी रण्डी कोठीमा बस्नु पर्नेछ भनिन् केही दिन पछि म त्यहाँ बस्न सकिन रोई कराई गर्दा रेणुले माइली तामाङनीको कोठीमा सारी दिएकी थिइन । त्यही अवस्थामा मानकुमारीसंग पनि भेट भएकाले कोठीबाट उम्की भारतीय प्रहरीको शरणमा पुग्यौं । निजहरुले नेपाली सीमासम्म ल्याई दिएकाले २०४२ श्रावण १२ गते काठमाडौं आई पुगेकाले यो दर्खास्त गर्न आएका छौं । पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णदेवी कपालीको मिति ०४२।७।३० को जाहेरी दर्खास्त ।

३.    म र पूर्णबहादुर भई कृष्णदेवीलाई मेरो स्वास्नी बनाई राखी, केही महीना पछि आफ्नो घरमा लाने भनी झुक्याई काठमाडौंबाट भारतको बम्बैमा लगी रेणु तामाङनीलाई रु. १०।हजारमा बिक्री गरेको हो भन्ने समेत व्यहोराको राजु माइला भन्ने लालबहादुर तामाङले प्रहरी समक्ष गरेको बयान कागज ।

४.    कृष्णदेवीलाई लालबहादुरको घरमा लग्ने भनी झुक्याई लालबहादुर र म समेत भई रातीको बसमा राखी भारतको बम्बै पिलार्से भन्ने ठाउँमा लगी रेणु तामाङनीसंग मोलतोल गर्दा रु. १० हजारमा बिक्री गरी आएको हो भन्ने समेत व्यहोराको प्रहरी समक्ष पूर्णबहादुर तामाङले गरेको बयान कागज ।

५.    जाहेरवाली कृष्णदेवी कपालीलाई काठमाडौं क्षेत्रपाटीबाट घर जाने भनी झुक्याई रात्री बसमा राखी भारतको बम्बै पिलार्सेमा पुर्‍याई राजु माइला भन्ने लालबहादुर तामाङ र पूर्णबहादुर तामाङले रेणु तामाङलाई भा.रु. १० हजारमा बिक्री गरी नेपाल सरहद फर्केका र निजले पनि शिला नामको केटीलाई भा.रु. १५ हजारमा बिक्री गरेको प्रष्ट हुन आएको लालबहादुर तामाङ र पूर्णबहादुर तामाङलाई मुलुकी ऐन जिउ मास्ने बेच्ने महल (संशोधन सहित) को १ नं. अनुसार हदैसम्म कारवाही सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

६.    प्रहरीमा भएको बयान कागज डर त्रासमा पारी गराइएको हो । कृष्णदेवी कपालीलाई म समेत भई भारत बम्बैमा लगी बिक्री गरेको होइन, रुपैयाँ लिनको लागि निज र निजकी श्रीमती कृष्णदेवीसंग जम्बु गई निजहरुलाई त्यही छाडी म फर्की आएको छु । पछि (साविक पेज नं. ७६) लालबहादुर पनि फर्की आएकाले श्रीमतीलाई किन ल्याएनौं भनी सोधनी गर्दा तुरुन्त फर्किनेछु भनेका थिए भन्ने समेत व्यहोराको पूर्णबहादुर तामाङले अदालत समक्ष गरेको बयान ।

७.    कृष्णदेवीलाई (१) वर्ष अघि श्रीमती बनाई भारत जम्बु कश्मिरमा काम गर्ने ठाउँमा लगी राखेको थिएँ । आमा बिमारी भएको खबर पुगेकाले कृष्णदेवीलाई भारतमै राखी घरमा आएकोले पूर्णबहादुर र म भई रु. १० हजारमा भारतको बम्बईमा बिक्री गरेको होइन, भारतको जम्बु भन्ने ठाउँमा निजलाई छोडी आएको लिन नगएको कारणबाट झुठ्ठा उजूरी दिएको हुनुपर्दछ भन्ने समेत व्यहोराको राजु माइला भन्ने लालबहादुर तामाङले अदालत समक्ष गरेको बयान ।

८.    राजु माइला भन्ने लालबहादुर र पूर्णबहादुरले मलाई ललाई फलाई भारत बम्बैको वेश्यालयमा भा.रु. १५ हजारमा बिक्री गरेका हुन भन्ने समेत व्यहोराको जाहेरवाली कृष्णदेवी कपालीले गरेको बकपत्र ।

९.    यसमा मिसिल संलग्न प्रमाण कागजहरुबाट प्रतिवादी लालबहादुरले जाहेरवाली कृष्णदेवी कपालीलाई स्वास्नी बनाउने निहुँले झुक्याई भारतको बम्बईमा लगी बिक्री गरेको र बिक्री गर्ने कार्यमा मतियार भई पूर्णबहादुर तामाङले मद्दत सम्म गरेको पुष्टि हुन आएकाले सरहद बाहिर लगी बिक्री गरेको कसूरमा निज लालबहादुर तामाङलाई जीउ मास्ने बेच्नेको १ नं. ले कैद वर्ष २० र सो कसूर गर्नमा मतियार भई गएका पूर्णबहादुर तामाङलाई सोही ऐनको ४ नं. ले कैद वर्ष १० हुने ठहर्छ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतको फैसला ।

१०.    जाहेरवाली कृष्णदेवी कपालीलाई भारतको बम्बैमा लगी बिक्री गर्ने कार्यमा प्रतिवादीको रुपमा संलग्न रहेको अवस्थामा लालबहादुरलाई प्रतिवादी कायम गरी पूर्णबहादुरलाई मतियार ठहराई सजायँ गर्ने गरेको विशेष अदालतको इन्साफ पूर्णबहादुरको हकमा चित्त नबुझेकाले निजलाई पनि प्रतिवेदन दावी बमोजिम नै सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फको र विशेष अदालतबाट जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ चित्त नबुझेकाले सो निर्णय बदर गरी सफाई पाउँ भनी प्रतिवादी लालबहादुर तर्फबाट क्षेत्रीय अदालत समक्ष पृथक रुपमा परेको पुनरावेदन ।

११.    यसमा जाहेरवाली कृष्णदेवी कपालीलाई लालबहादुरले स्वास्नी बनाई राखेको पूर्णबहादुर तामाङ समेतको मद्दतबाट भारतको बम्बैमा लगी बिक्री गरेकोमा प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको सो को पुष्टि जाहेरवालीको जाहेरी र अदालत समक्ष भएको बयान समेतबाट भइरहेको अदालत समक्ष बयान गर्दा पनि कृष्णदेवीलाई नेपाल सरहद कटाई भारत लगेकोमा इन्कारी नदेखिएकोबाट निज पूर्णबहादुर तामाङलाई प्रतिवादी नै कायम गर्न मिल्ने देखिएन । जन्मकैदको सजायँ भएकोले सो फैसला बदर गरी पाउँ भन्ने लालबहादुरको पुनरावेदन जिकिरको हकमा निजलाई २० वर्ष सम्मको कैद सजायँ भएको हो । संलग्न प्रमाणबाट निजको निर्दोषिता प्रमाणित हुन नआएकोले निजलाई २० वर्ष कैदको सजायँ गर्ने गरेको इन्साफसमेत मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१२.   जाहेरवाली कृष्णदेवीसंग विवाह गरी हामी भारतको जम्बु काश्मिर गएका थियौं । करीब २५ दिनसम्म त्यहाँ बसेपछि मेरो आमा बिमारी भएको खबर भएकाले मैले कृष्णदेवीलाई मेरो काम भएको मालिककै घरमा छोडी आएको थिएँ । म तत्काल फर्की जाने नहुँदा निज त्यहाँबाट काठमाडौं आइपुगिछन । को कसको षडयन्त्रबाट यो मुद्दा उजूरी पार्न लगाइएको हो । मैले निजलाई बिक्री गर्न भारतमा लगेको होइन । निर्दोष छु । सफाई पाउँ भनी कारागार शाखा मार्फत यस अदालत समक्ष पुनरावेदन पर्न आएको रहेछ । (साविक पेज नं. ७७)

१३.   नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठले गर्नु भएको बहस जिकिर सुनियो । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिन पर्ने हुन आयो । निर्णयतर्फ हेर्दा यसमा लालबहादुरले म संग विवाह गर्ने कुरा गरेका र सो विषयमा मेरो पनि मञ्जूर भएकोले क्षेत्रपाटीमा डेरा खोजी संगसाथ बसेका थियौं । आफ्नो घर पूर्व लग्छु भनी बसपार्कमा ल्याई पूर्णबहादुर समेत साथ लागी भैरहवाको रात्री बसबाट भारतको बम्बईमा लगी झुक्याई मलाई बिक्री गरी लालबहादुर र पूर्णबहादुर काठमाडौं फर्किएका र म भारतीय प्रहरीको संरक्षणबाट काठमाडौं आइपुगेकाले निजहरुलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरवाली कृष्णदेवीको जाहेरी दर्खास्त रहेको पाइन्छ ।

१४.   जाहेरवाली कृष्णदेवीलाई विवाह गरी भारत बम्बैमा लगी बिक्री गरी आएको कुरामा अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेका प्रतिवादी लालबहादुर तामाङ अदालत समक्ष बयान गर्दा समेत कृष्णदेवीलाई नेपाल सरहद बाहिर भारत भूमिमा लगेको कुरा सम्ममा इन्कार छैनन् । तर बिक्री गर्न नभई आफ्नो काम गर्ने ठाउँ जम्बुमा लगेको भन्ने कुरा लेखाई अभियोग उपर इन्कार रहेको पाइन्छ । आफ्नो काम गर्ने जम्बुमा लगी आफू आमा बिरामी भएको कारण काठमाडौं फर्किएको तर कृष्णदेवीलाई सोही ठाउँमा छोडी आएको भन्ने कुरा पनि निजको बयानमा उल्लेख रहेको देखिन्छ । यसबाट निजको इन्कारी कति हदसम्म प्रमाणग्राह्‌य हुनसक्छ भनी हेर्दा प्रचलित नेपाल कानुन बमोजिम सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार (Burden of Proof) निजको हुनेछ भनी प्रमाण ऐन, २०३१ को दफा २७ मा उल्लेख भएको पाइन्छ । अब कृष्णदेवी श्रीमती हुन् निजलाई बिक्री गर्न नभई आफ्नो काम गर्ने ठाउँ जम्बुमा आफ्नै साथमा लगी राखेको जस्ता प्रमाणिक महत्वका कुराहरुको प्रमाण पुर्‍याउने भार प्रतिवादी लालबहादुर तामाङकै हुन आउँदछ । तर मिसिल संलग्न प्रमाण कागजबाट निजले यस बारेमा कुनै प्रमाण पेश गर्न नसकेको, साथै निजको इन्कारी पनि शंकारहित तवरले पुष्टि हुनसकेको नदेखिँदा निजको अदालत समक्षको इन्कारी प्रमाणग्राह्य मान्न सकिएन ।

१५.   जाहेरवाली कृष्णदेवी कपालीले दिएको जाहेरीमा बम्बैको पिलोर्स स्थित रेणु तामाङनीको कोठीमा मानकुमारीलाई भेटेको मानकुमारी र म त्यहाँबाट भागी भारतीय प्रहरीको मद्दतबाट काठमाडौं आएको भन्ने कुरा लेखिएको सो कुरा निजले अदालत समक्ष आई गरेको बकपत्र र मानकुमारीले यिनै प्रतिवादीहरु उपर दिएको जीउ मास्ने बेच्ने अभियोगमा कारवाही सजायँ गरी पाउँ भनी दिएको जाहेरीबाट चलेको मुद्दाबाट खम्भीर हुन आएको पाइयो । यसबाट पनि निज प्रतिवादी लालबहादुरले कृष्णदेवीलाई स्वास्नी बनाई राख्ने बहानामा भारतमा लगी बिक्री गरेको शंकारहित रुपबाट पुष्टि हुन्छ । कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान या लगी बिक्री गर्न हुँदैन, नेपाल सरहद बाहिर लैजान या लगी बिक्री गरेमा, जीउ मास्ने बेच्ने अपराध कार्य गरेको हुन्छ भनी मुलुकी ऐन जीउ मास्ने बेच्ने महलको १ नं. मा कानुनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा कृष्णदेवीलाई स्वास्नी बनाई राख्ने बहाना बनाई ललाई फकाई लालबहादुरले काठमाडौंबाट भैरहवा हुँदै नेपाल सरहद कटाई विदेश भारतको बम्बैमा लगी रेणु तामाङनीलाई बिक्री गरी आएको कुरा संकलित प्रमाणबाट पुष्टि हुन आएको, दाम्पत्य जीवनको पवित्र बन्धनमा बाँधिएकी नारीले आफ्नो पति उपर उल्लेखित अमानवीय षडयन्त्रपूर्ण संगीन प्रकृतिको अपराधजन्य दूष्कार्य नगरेको स्थिति अवस्था विद्यमान नभए यस्तो गम्भीर प्रकृतिको मुद्दामा उजूरी दिन पर्ने अवस्था आई नपर्ने हुँदा पुनरावेदक (साविक पेज नं. ७८) प्रतिवादीले कृष्णदेवीलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर भारतको बम्बैमा लगी बिक्री गरिसकेको कुरा प्रमाणित हुन आएकोले पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत देखिन आएन । अतः पुनरावेदक प्रतिवादी लालबहादुर तामाङलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. बमोजिम कैद वर्ष (२०) बीसको सजायँ गर्ने गरेको वागमती विशेष अदालतको निर्णयलाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी लालबहादुर तामाङके इन्साफ सदर हुने ठहरेकोले वागमती विशेष अदालतको फैसलाले गर्ने गरेको कैद वर्ष २० (बीस) मा पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम सयकडा पाँच (५) ले १ (एक) वर्ष थप कैद हुन्छ । थुनामा रहेको देखिँदा लगत कसी असूल उपरका लागि काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१ पुनरावेदक प्रतिवादी लालबहादुर तामाङके कारागार मार्फत पुनरावेदन गरेको देखिँदा पुनरावेदन फैसला भएको जानकारी नियमानुसार दिनु...१ मिसिल नियमानुसार बुझाई दिनु...१

उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०४८ साल आषाढ ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु