शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०७४ - लागु औषध (हेरोइन)

भाग: ६५ साल: २०८० महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७७।२।२६

०७५-CR-०९३१

 

मुद्दाः- लागु औषध (हेरोइन)

 

पुनरावेदक वादी : प्रा.ना. नि. एकनारायण भट्टको प्रतिवेदक जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी प्रतिवादी : जिल्ला रूपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १४ तामनगर बस्ने गोविन थापा

 

लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको हुने ।

(प्रकरण नं.७)

 

पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्‍यायाधिवक्ता श्री सोमकान्‍त भण्‍डारी

प्रत्यर्थी प्रतिवादीतर्फबाट : 

अवलम्बित नजिर : 

ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३ 

ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३

सम्बद्ध कानून : 

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्नेः 

मा. जि. न्या. श्री खडानन्द तिवारी

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री नरबहादुर शाही

मा. न्या. श्री मुनेन्द्रप्रसाद अवस्थी

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या. प्रकाशमान सिंह राउत: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

मिति २०७१।११।०८ गते बिहान अन्दाजी ११ बजेको समयमा जिल्ला रूपन्देही, सैनामैना नगरपालिका-७ बुद्धनगरस्थित पूर्व पश्‍चिम महेन्द्र राजमार्ग उत्तर र दक्षिण तुलबुलिया खोला यति चार किल्लाभित्र पर्ने राजमार्गको सानो पुलदेखि उत्तरतर्फको खोलामा प्रतिवादी गोविन थापालाई पक्राउ गरी निजको शरीर खानतलासी गर्दा निजले लगाएको लामो बाहुले सर्टको दाहिने हातको बाहुला दोबारी प्लाष्टिकको पोकाभित्र चुइगमको खोलमा पोको पारेको लागु औषध खैरो हेरोइन १ ग्राम ५५० मिलिग्राम र छुट्टै प्लाष्टिकमा बेरेको ३ गोटा स्पास्मो क्याप्सुलसमेत फेला पारी बरामद भएको भन्‍नेसमेत बेहोराको घटनास्थल तथा लागु औषध बरामदी मुचुल्का । 

सूचनाको आधारमा मिति २०७१।११।०८ गते बिहान अन्दाजी ११ बजेको समयमा खोजतलास गर्दै जाँदा जिल्ला रूपन्देही, बुटवल उपमहानगरपालिका वडा नं.१४ तामनगर बस्ने वर्ष ३२ को गोविन थापालाई ऐ.सैनामैना नगरपालिका-७ बुद्धनगरमा फेला पारी शरीर खानतलासी गर्दा दाहिने हातको बाहुलामा दोबारी प्लाष्टिकको पोको पारी चुइगमको कागजमा बेरी राखेको लागु औषध खैरो हेरोइन-१ ग्राम ५५० मिलिग्राम र ३ गोटा स्पास्मो क्याप्सुलसहितको लागु औषध फेला परेको हुनाले पक्राउ गरी दाखिला गरेका छौं । कानूनबमोजिम होस् भन्‍नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।

म मिति २०७१।११।०८ गते बिहान ११ बजेको समयमा जिल्ला रूपन्देही, सैनामैना नगरपालिका वडा नं.७ बुद्धनगरबाट १ ग्राम ५५० मिलिग्राम लागु औषध खैरो हेरोइन र ३ गोटा स्पास्मो क्याप्सुलसहित पक्राउ परेको ठिक हो । केही वर्षअगाडिदेखि लागु औषध सेवन र खरिद गर्दै आएको थिएँ । जिल्ला रूपन्देही, हाल सैनामैना नगरपालिका वडा नं.३ पुकारबाल्टी बस्ने आइसी नारायण भन्‍ने नारायण क्षेत्री र म साथी बनी लागु औषध खरिद बिक्री र सेवन गर्ने गरेका थियौं । मिति २०७१।११।७ गते आइसी नारायण भन्‍ने नारायण क्षेत्री र मैले पैसा उठाई रू.१,०००।- जम्मा गरी त्यसपछि नारायणले मलाई लागु औषध किनेर लिई आइज भनेको हुनाले म भारतको कृष्‍णनगर नाकामा गई सो लागु औषध किनी ल्याए । भोलिपल्ट नारायण र म भई बुद्धनगरनजिक पुलमुनि बसी सेवन गर्ने तयारी गर्दै थियौं । म लागु औषधसहित पक्राउमा परेँ, आइसी नारायणले पहिला नै पुलिस आएको थाहा पाई भागेछ । लागु औषध आइसी नारायणले चिनेका केटाहरूलाई बिक्री गर्ने 

हो । महिनामा २/३ पटक खरिद बिक्री गरिन्छ । यसभन्दा अगाडि प्रहरी प्रतिवेदनले प्रतिवादी मसमेत भएको लागु औषध नाइट्रोजन मुद्दामा मिति २०६८।०२।०८ मा रूपन्देही जिल्ला अदालतको आदेशले २ महिना कैद सजाय भोगेको छु भन्‍नेसमेत बेहोराको प्रतिवादी गोविन थापाले मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी गोविन थापाको साथबाट बरामद भएको लागु औषधको मात्रा कम भएकाले बरामद पूरै १ ग्राम ५५० मिलिग्राम लागु ‍औषध खैरो हेरोइन र ३ वटा स्पास्मो क्याप्सुल परीक्षणका लागि प्रयोगशालामा पठाउनका लागि नमुना छुट्याइएको भन्‍नेसमेत बेहोराको नमुना झिकिएको मुचुल्का ।

जिल्ला रूपन्देही, सैनामैना नगरपालिका वडा नं.३ बस्ने पूर्णबहादुर न्यौपाने क्षेत्रीको नाति भिमबहादुर न्यौपाने क्षेत्रीको छोरा वर्ष ३२ का आइसी नारायण भन्‍ने नारायण क्षेत्रीलाई खोजतलास गर्दा हाल फेला नपरेको, निजको घर खानतलासी मुचुल्का गरी पठाइएको भन्‍ने इलाका प्रहरी कार्यालय, रन्यौरा रूपन्देहीको पत्र प्राप्त हुन आएको, भौतिक सबुत परीक्षण गर्दा सबुत नं.१ मा लागु औषध खैरो हेरोइन पाइएको भन्‍नेसमेत बेहोराको विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

जिल्ला रूपन्देही, सैनामैना ७ बुद्धनगरस्थित पुल नजिकबाट प्रहरीले प्रतिवादी गोविन थापा नाम गरेको मानिसलाई पक्राउ गरेको देखी के रहेछ भनी हेर्न जाँदा निजले दाहिने हातको सर्टको बाहुला दोबारी अवैध लागु ‍औषध खैरो हेरोइन-१ ग्राम ५५० मिलिग्राम र ३ गोटा स्पास्मो क्याप्सुल लुकाइ छिपाइ हिँडेको सुराक पाएको हुनाले पक्राउ गरेका रहेछन् । निजको साथै आएका ऐ. सैनामैना नगरपालिका-३ पुकारबाल्टी बस्ने आइसी नारायण भन्‍ने नारायण क्षेत्री प्रहरीलाई देखी भागेका रहेछन् । पक्राउ परेका गोविन थापालाई सोधपुछ गर्दा दुवैको मिलेमतोमा उक्त लागु औषध बिक्री वितरण र सेवन गर्न खरिद गरी ल्याएको हुँ भनी बताएका थिए । कहाँबाट खरिद गरेका र कस कसलाई बिक्री गर्ने हो निजै जानुन् भन्‍नेसमेत बेहोराको एकै बेहोरा मिलानको दिपक गैरेसमेतका जना ३ ले गरेको वस्तुस्थिति मुचुल्का कागज ।

प्रतिवादीहरू गोविन थापा र आइसी नारायण भन्‍ने नारायण क्षेत्रीले मिलेमतो गरी लागु औषध खैरो हेरोइन १ ग्राम ५५० मिलिग्राम र ३ गोटा स्पास्मो क्याप्सुल खरिद गरी साथमा राखी बिक्री वितरण गर्ने उद्देश्यले घटनास्थलमा पुगेका प्रतिवादी लागु औषधसहित पक्राउ परेको देखिँदा निज प्रतिवादीहरू गोविन थापा र आइसी नारायण भन्‍ने नारायण क्षेत्रीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ), ङ) र (च) र १४(१)(छ) को कसुरमा सोही ऐनको दफा १४(१)(छ)(१) र (ज) बमोजिम सजाय हुन र प्रतिवादीमध्येका गोविन थापाउपर मिति २०६८।०२।०४ गते यसै अदालतमा दायर भएको स.फौ.नं.२४२२ को लागु औषध नाइट्रोसनसमेत मुद्दामा मिति २०६७।२।८ मा फैसला हुँदा निज प्रतिवादीलाई कसुर ठहर भएकाले यस मुद्दामा पटके कायम गरी निज प्रतिवादी गोविन थापाउपर सोही ऐनको दफा १६ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको अभियोग पत्र ।

म र सहप्रतिवादी आइसी नारायण भन्‍ने नारायण क्षेत्री भई २०७१ साल माघ महिनाको सुरूदेखि लागु औषध खैरो हेरोइन सेवन गर्न थालेका थियौँ । मिति २०७१।११।६ गते नारायण क्षेत्री र मैले रू.५००/रू.५००।- लगानी गरी जम्मा रू.१,०००।- मा मैले भारतको कृष्णनगरबाट ३ गोटा स्पास्मो क्याप्सुल र १ ग्राम लागु औषध खैरो हेरोइन खरिद गरी ल्याई मिति २०७१।११।०८ गते हामी दुवै जना प्रतिवादी भई रूपन्देही सैनामैना नगरपालिका ७ बुद्धनगरनजिकै रहेको खोला किनारमा बसी केही मात्रा सेवन गरी बाँकी लागु औषध चुइगमको खोलमा पोको पारी हातको बाहुलामा दोबारी लुकाइराखेको अवस्थामा प्रहरीले मबाट बरामद गरी पक्राउ गरेका हुन् । नारायण क्षेत्री प्रहरी आएको थाहा पाई भागे । प्रहरीले तौल गर्दा १ ग्राम ५५० मिलिग्राम भयो भनी बताएका थिए । बरामद लागु औषध म र सहप्रतिवादी मिली सेवन गर्नका लागि दुवैको लगानीमा खरिद गरेको हो । मैले लागु औषध अरूलाई बिक्री गर्ने गर्दिनँ र गरेको पनि छैन । म ४ वर्षअगाडि पनि स्पास्मोसमेत सेवन गर्ने गर्थें र मुद्दा परी अदालतबाट सजाय पाएपछि खान छाडेको थिएँ । गल्ती भयो आइन्दा सेवन गर्दिनँ माफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी गोविन थापाले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी आइसी नारायण भन्‍ने नारायण क्षेत्रीका नाउँको म्यादी पुर्जी मिति २०७२।१।१४ मा तामेल भएकोमा निज प्रतिवादी उक्त तामेली म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको ।

मिति २०७१।११।०८ गते बिहान अन्दाजी ११ बजेको समयमा जिल्ला रूपन्देही, सैनामैना नगरपालिका-७ बुद्धनगरस्थित खोलामा प्रतिवादी गोविन थापालाई खानतलासी गर्दा सर्टको बाहुलामा पट्‍टाइराखेको अवस्थामा १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन र ३ गोटा स्पास्मो क्याप्सुलसमेत फेला पारी बरामद गरेको हुँ । निजको साथमा चुइगमको खोल प्‍लाष्‍टिकको टुक्रासमेत थियो । सो के प्रयोजनका लागि हो थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नि. एकराज भट्टले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीलाई लागु औषध सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन् भन्‍ने सुनेको 

हुँ । निजले लागु औषध सेवन गर्दछन् । बिक्री वितरण गर्दैनन् । निजले अहिलेसम्म बिक्री वितरण गरेको भन्‍ने थाहा पाएको छैन । बिक्री वितरणमा सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी गोविन थापाको साक्षी तिर्थ काफ्लेले सुरू अदालतमा गरेको बकपत्र ।

सुरू म्याद नै गुजारी बस्ने प्रतिवादी आइसी नारायण भन्‍ने नारायण क्षेत्रीको हकमा मुलुकी ऐन, अ.बं.१९० नं.बमोजिम मुल्तबीमा राखिदिने ठहर्छ । बरामदी परिमाण‚ प्रतिवादी गोविन थापाको अधिकारप्राप्त अधिकारीसमक्षको बयान‚ प्रतिवादीको संख्यासमेतलाई विचार गर्दा प्रतिवादी गोविन थापाउपरको लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ),(ङ)‚(च) तथा १४(१)(छ) को कसुरमा सोही ऐनको दफा १४(१)(छ)(१) र दफा १४(१) को (ज) बमोजिम सजाय हुनुपर्ने भन्‍ने अभियोग दाबी पुष्टि भएको साथै प्रतिवादी गोविन थापाउपर सोही ऐनको दफा १६ बमोजिम थप सजायको दाबी लिइएकोमा निजलाई मिति २०६८।०२।०८ को यस अदालतको फैसलाले २ महिना कैदको सजाय भएको पाइएको र सो फैसलालाई प्रतिवादीले बयानमा स्वीकार गरेकै पाइँदा निजउपर सोही ऐनको दफा १६ बमोजिम पटकेतर्फ थप सजायसमेत हुने अवस्था देखिन आएकाले प्रतिवादी गोविन थापालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा १ को खण्ड छ (१) बमोजिम ५(पाँच) वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानासमेत हुने तथा सोही ऐनको दफा १४(१)(ज) बमोजिम १(एक) महिना कैद हुने र सोही ऐनको दफा १६बमोजिम थप ६ महिना कैद र पाँच हजार जरिवानासमेत हुने ठर्हछ भन्‍ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०७२।८।१५ को फैसला ।

म पुनरावेदक प्रतिवादी गोविन थापा लागु औषध सेवनकर्ता रहेको भन्‍ने कुरा रूपन्देही जिल्ला अदालतमा चलेको लागु औषध नाइट्रोसन मुद्दामा मिति २०६८।२।८ मा भएको फैसलाबाट देखिएको 

छ । नसाको लत भएको व्यक्तिबाट सानो परिमाणमा लागु औषध बरामद भएको अवस्थामा वादी पक्षले अभियोग लगाएकै आधारमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम सजाय हुने अवस्था रहँदैन । अदालतमा बयान गर्दा सेवनका लागि १ ग्राम खैरो हेरोइन र ३ पोका स्पास्मो बरामद भएको भनी लेखाएकोमा अधिकार प्राप्त अधिकारीसमक्ष भएको बयानलाई आधार मानी वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूलाई बुझ्दै नबुझी फैसला गरिएको छ । मेरो घरबाट अपराधसँग सम्बन्धित कुनै प्रमाण फेला परेको छैन । मलाई लगाएको कसुर प्रमाणित हुनका लागि लागु औषधको परिमाणलगायत लागु औषध बिक्री वितरण गर्नमा संलग्नता रहेको पुष्टि हुनुपर्नेमा सो नभएको अवस्थामा मलाई कसुरदार ठहर गरी सजाय हुने ठहर गरेको सुरू रूपन्देही जिल्ला अदालतको फैसला उल्टी गरी म प्रतिवादी गोविन थापालाई लागु औषध सेवनतर्फमा सजाय गरिपाउँ भन्‍ने प्रतिवादी गोविन थापाको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीले अदालतमा बयान गर्दा लागु औषध खरिद बिक्रीतर्फ इन्कार रही सेवनकर्ता रहेको भनेको एवं मौकामा बयान गर्दासमेत सेवन गर्ने तयारी गर्दाकै अवस्थामा पक्राउ परेको भनेको तथा बरामद लागु औषधको परिमाणसमेतका सन्दर्भमा सुरू फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, बुटवललाइ पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७३।९।१२ को आदेश ।

माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी गोविन थापाले अदालतमा बयान गर्दा लागु औषध बिक्रीतर्फ इन्कार रही सेवनकर्ता रहेको भनेको र मौकामा बयान गर्दासमेत सेवन गर्ने तयारी गर्दाकै अवस्थामा पक्राउ परेको भनिएको तथा बरामद लागु औषधको परिमाणसमेतलाई हेर्दा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) बमोजिमको कसुरमा ऐ. दफा १४(१)(ङ) बमोजिम सजाय गर्नुपर्नेमा ऐ. दफा ४ को (घ)(ङ)(च) को कसुरमा ऐ. दफा १४(१) (छ)(१) बमोजिम पाँच वर्ष कैद र पाँच हजार जरिवाना गरेको सुरू फैसला मिलेको नदेखिँदा सो हदसम्म सुरू फैसला केही बदर गरी प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम १ वर्ष कैद हुने ठहर्छ । सोबाहेक प्रतिवादीलाई ऐ. ऐनको दफा १४(१)(ज) बमोजिम १ महिना कैद र सोही ऐनको दफा १६ बमोजिम पटकेमा थप ६ महिना कैद र रू.५,०००।- (पाँच हजार) रूपैयाँ जरिवानासमेत गरेको हदसम्म सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७२।८।१५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला ।

प्रतिवादी गोपिन थापाबाट निजले लगाएको सर्टको बाहुलाभित्रबाट १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन र ३ गोटा स्पास्मो क्याप्सुल बरामद भएको तथ्यमा विवाद छैन । निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बरामद भएको लागु औषध म र आइसी, नारायण भन्‍ने नारायण क्षेत्री परस्पर सल्लाह गरी दुवै जनाले रू.१०००।- उठाई म भारतको कृष्णनगरमा गई उक्त लागु औषध खरिद गरी ल्याएको हो । बरामद लागु औषध प्रतिवादी नारायण क्षेत्रीले चिनेका केटाहरूलाई बिक्री गर्ने हो, महिनामा २/३ पटक बिक्री गरिन्छ, उक्त लागु औषध मबाट बरामद भएको हो भनी लेखाएको देखिँदा बरामद भएको लागु औषध निजले भारतबाट खरिद गरी बिक्री वितरण गर्ने उद्देश्‍यबाट ल्याएको पुष्टि हुन्छ । निज प्रतिवादीले मौकाको बयानभन्दा केही बेहोरा फरक पारी अदालतसमक्ष बयान गरे तापनि सोको तथ्ययुक्त आधारमा पुष्ट्याईं गर्न सकेको नदेखिँदा प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) ले निज प्रतिवादीको मौकाको बयान प्रमाणयोग्य रहेको हुँदा सोतर्फ विचार प्रतिवादीलाई अभियोग दाबीभन्दा पृथक् कसुरमा सेवनतर्फ सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । बरामद लागु औषध के कुन प्रयोजनको लागि लिई आएको हो भन्‍ने सम्बन्धमा निर्क्यौल गर्न प्रतिपादित नजिर सिद्धान्तसमेत हेरिनुपर्दछ । यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट अर्जुन भोटे भन्‍ने जितबहादुर खत्री विरूद्ध नेपाल सरकार भएको लागु औषध मुद्दामा (ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३) “सेवन प्रयोजनलाई खरिद गर्ने र बिक्री वितरण गर्नलाई खरिद हुने अवस्था छुट्टाउन लागु औषधको परिमाणलाई हेरिनुपर्दछ । सेवन प्रयोजनको लागि १/२ डोजसम्मको खरिद हुने हुँदा र बरामद लागु औषधको मात्रा अत्यधिक देखिएकोले सेवनसम्मको लागि खरिद गरेको हो भन्‍न नमिल्ने” भनी सिद्धान्त प्रतिपादन भएको देखिँदा प्रस्तुत मुद्दामा प्रतिवादीको साथबाट बरामद भएको लागु औषध १/२ डोजभन्दा बढी रहेको देखिँदा निज प्रतिवादीलाई सेवनतर्फ सजाय गर्ने गरी भएको फैसला उक्त सिद्धान्तको विपरीत भई त्रुटिपूर्ण रहेको छ । अतः उल्लिखित आधार कारणबाट सुरू फैसला केही उल्टी गरी प्रतिवादी गोविन थापालाई सेवनतर्फको कसुर ठहर्‍याई सजाय गर्ने गरी उच्च अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले सो हदसम्म उक्त फैसला बदर गरी निज विपक्षी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यस अदालतको ठहर

नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्‍यायाधिवक्ता श्री सोमकान्‍त भण्‍डारीले प्रतिवादी गोविन थापाबाट लागु औषध खैरो हेरोइन १ ग्राम ५५० मिलिग्राम र ३ गोटा स्पास्मो क्याप्सुलसमेत बरामद भएको तथ्‍यमा विवाद छैन । निज प्रतिवादीले अदालतमा आफूबाट बरामद लागु औषध सहप्रतिवादी आइसी नारायण भन्‍ने नारायण क्षेत्री र आफू मिली सेवन गर्नका लागि दुवैको लगानीमा खरिद गरेको हो, बिक्री वितरणका लागि होइन भनी कसुरमा इन्‍कार रही गरेको बयान मौकामा कसुरमा साबित रही गरेको बयानबाट खण्‍डित भएको अवस्था छ । निज प्रतिवादीले लागु औषध मुद्दामा यसभन्‍दा अगाडि पनि सजाय पाएबाट कारोबार गर्ने उद्देश्‍यले नै लागु औषध किनी ल्‍याएको देखिन्‍छ । प्रतिवादी अदालतसमक्ष कसुरमा इन्‍कार रही बयान गरे तापनि मौकामा आफूबाट बरामद भएको लागु औषध दुवैको लगानीमा भारतमा गई आफूले किनी ल्‍याएको, लागु औषध आइसी नारायणले चिनेका केटाहरूलाई बिक्री गर्ने हो, महिनामा २/३ पटक खरिद बिक्री गरिन्छ, यसभन्दा अगाडि पनि लागु औषध नाइट्रोजन मुद्दामा २ महिना कैद सजाय पाएको भनी कसुरमा साबित रही बयान गरेबाट निज प्रतिवादीले लागु औषधको कारोबार गर्ने गरेको तथ्‍य पुष्‍टि भइरहेको अवस्थामा अभियोग दाबीबमोजिम नै सजाय गर्नुपर्नेमा सुरू अदालतको फैसला केही उल्‍टी गरी प्रतिवादीलाई सेवनतर्फको कसुरदार ठहर्‍याई सोहीअनुसार सजाय गर्ने गरी उच्‍च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम नै सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।

वादी पक्षबाट प्रस्तुत भएको उल्‍लिखित बहस जिकिरसमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्‍न कागज प्रमाणहरूको अध्‍ययन गरी उच्‍च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।२।२६ मा भएको भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्‍न सक्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७१।११।८ गते जिल्ला रूपन्देही, सैनामैना नगरपालिका-७ बुद्धनगरबाट प्रतिवादी गोविन थापालाई पक्राउ गरी निजको शरीर खानतलासी गर्दा निजले लगाएको लामो बाहुले सर्टको दाहिने हातको बाहुला दोबारी प्लाष्टिकको पोकाभित्र चुइगमको खोलमा पोको पारेको लागु औषध खैरो हेरोइन १ ग्राम ५५० मिलिग्राम र छुट्टै प्लाष्टिकमा बेरेको ३ गोटा स्पास्मो क्याप्सुलसमेत फेला पारी बरामद गरी लिएको भन्‍ने बरामदी मुचुल्काबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्‍छ ।

३. प्रतिवादीहरू गोविन थापा र आइसी नारायण भन्‍ने नारायण क्षेत्रीले मिलेमतो गरी लागु औषध खैरो हेरोइन १ ग्राम ५५० मिलिग्राम र ३ गोटा स्पास्मो क्याप्सुल बिक्री वितरण गर्ने उद्देश्यले खरिद गरी लागु औषधसहित पक्राउ परेको देखिँदा निज प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ), (ङ), (च) र १४(१)(छ) को कसुरमा सोही ऐनको दफा १४(१)(छ)(१) र (ज) बमोजिम सजाय हुन र प्रतिवादीमध्येका गोविन थापाउपर पटकेसमेत कायम गरी निज प्रतिवादीलाई सोही ऐनको दफा १६बमोजिम थप सजाय गरिपाउँ भन्‍ने मुख्‍य अभियोग मागदाबी रहेको देखिन्छ । प्रतिवादी गोविन थापालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) बमोजिमको कसुरमा ऐ. दफा १४(१)(ङ) बमोजिम सजाय गर्नुपर्नेमा ऐ. दफा १४(१) (छ)(१) बमोजिम पाँच वर्ष कैद र पाँच हजार जरिवाना गरेको सुरू फैसला मिलेको नदेखिँदा सो हदसम्म सुरू फैसला केही उल्टी गरी प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम १ वर्ष कैद हुने र सोबाहेक प्रतिवादीलाई ऐ. ऐनको दफा १४(१)(ज) बमोजिम १ महिना कैद र सोही ऐनको दफा १६ बमोजिम पटकेमा थप ६ महिना कैद र रू.५,०००।- (पाँच हजार) जरिवानासमेत गरेको हदसम्म सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७२।८।१५ मा भएको फैसला सदर हुने ठहर्‍याई उच्‍च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।२।२६ मा भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।

४. वादी पक्षले यस अदालतमा गरेको पुनरावेदनमा प्रतिवादी गोविन थापाबाट १ ग्राम ५५० मिलीग्राम खैरो हेरोइन र ३ गोटा स्पास्मो क्याप्सुल बरामद भएको, निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बरामद भएको लागु औषध आफू र आइसी नारायण भन्‍ने नारायण क्षेत्री दुवै जनाले रकम उठाई आफूले खरिद गरी ल्याएको, बरामद लागु औषध प्रतिवादी नारायण क्षेत्रीले चिनेका केटाहरूलाई बिक्री गर्ने हो, महिनामा २/३ पटक बिक्री गरिन्छ, यसभन्दा अगाडि पनि लागु औषध मुद्दामा सजाय पाएको भनी गरेको बयानबाट निजले बिक्री वितरण गर्ने उद्देश्‍यले नै लागु औषध ल्याएको पुष्टि हुन्छ । निज प्रतिवादीले अदालतसमक्ष अभियोग दाबीअनुसारको कसुरमा इन्‍कार रही बयान गरे तापनि सोको तथ्ययुक्त आधारमा पुष्टाईं गर्न सकेको देखिँदैन । लागु औषध सेवन गर्ने वा बिक्री वितरण गर्ने प्रयोजनका लागि साथमा राखेको हो भन्‍ने कुरा बरामद लागु औषधको परिमाणको आधारमा हेरिनुपर्दछ भनी ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३ मा सिद्धान्त प्रतिपादन भएको र प्रतिवादीको साथबाट १/२ डोजभन्दा बढी लागु औषध बरामद भएको देखिँदा सेवनतर्फ सजाय गर्ने गरी भएको फैसला उक्त सिद्धान्तको विपरीत भई त्रुटिपूर्ण रहेकोले सो हदसम्म उक्त फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भनी पुनरावेदन जिकिर लिएको देखियो ।

५. अब वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिरका सम्बन्‍धमा विचार गर्दा, प्रतिवादी गोविन थापा मौकामा आरोपित कसुरमा साबित रही बयान गरे तापनि अदालतसमक्ष आफू र अर्का प्रतिवादी आइसी नारायण भन्‍ने नारायण क्षेत्रीले २०७१ साल माघ महिनाको सुरूदेखि लागु औषध खैरो हेरोइन सेवन गर्न थालेका थियौँ । बरामद भएको लागु औषध दुवै जनाले लगानी गरी ल्‍याई सोको केही मात्रा सेवन गरी बाँकी चुइगमको खोलमा पोको पारी लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन् । लागु औषध बिक्री गर्ने गर्दिनँ, ४ वर्षअगाडि पनि स्पास्मोसमेत सेवन गर्ने गर्थें भनी लागु औषध सेवनको कसुर स्वीकार गरी बिक्री वितरण गर्ने कार्यमा इन्‍कार रही बयान गरेको पाइन्‍छ । निज प्रतिवादीको सो इन्‍कारी बयानलाई निजका साक्षी तिर्थ काफ्लेले प्रतिवादी लागु औषध सेवन गर्दछन्, बिक्री वितरण गरेको थाहा पाएको छैन भनी गरेको बकपत्रबाट समर्थित भएको देखिन्‍छ ।

६. प्रस्तुत मुद्दामा वादी पक्षले यी प्रतिवादीसमेतले बिक्री वितरण गर्ने उद्देश्‍यले लागु औषध खरिद गरी साथमा लिई राखेको भनी जिकिर लिए पनि बरामद लागु औषध फलानो व्‍यक्तिलाई बिक्री वितरण गर्नका लागि ल्‍याएको हो भनी स्पष्‍ट रूपमा दाबी लिन नसकेको र सोको तथ्‍ययुक्त प्रमाणहरूसमेत पेस गर्नसकेको मिसिलबाट देखिन आउँदैन । बरामदी मुचुल्‍का तयार गरी प्रतिवेदन दिने प्रहरी नायब निरीक्षक एकराज भट्टले अदालतसमक्ष उपस्थित भई प्रतिवादी गोविन थापालाई खानतलासी गर्दा सर्टको बाहुलामा पट्ट्याइराखेको अवस्थामा १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन र ३ गोटा स्पास्मो क्याप्सुलसमेत फेला पारी बरामद गरेको हुँ, निजको साथमा चुइगमको खोल प्‍लाष्‍टिकको टुक्रासमेत थियो, सो के प्रयोजनका लागि हो थाहा भएन भन्‍ने बेहोरा उल्‍लेख गरी निज प्रतिवादीले बिक्री वितरण तथा कारोबार गर्ने प्रयोजनका लागि नै लागु औषध साथमा राखेका हुन् भनी यकिनसाथ भन्‍न नसकेबाट प्रतिवादीले लागु औषध सञ्‍चय तथा बिक्री वितरण गरेको भन्‍ने अभियोग दाबी पुष्टि हुन आएको देखिएन । वादी पक्षले ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३ मा प्रतिपादित सिद्धान्तविपरीत हुने गरी प्रस्तुत वारदातमा प्रतिवादीलाई सेवनतर्फ सजाय गरिएको भन्‍ने दाबी लिए तापनि उक्त मुद्दामा बरामद भएको लागु औषधको मात्रा धेरै भएको र प्रस्तुत मुद्दामा प्रतिवादीको साथबाट अत्‍यन्‍त न्‍यून मात्रामा लागु औषध बरामद भएको अवस्थामा सो नजिर आकर्षित हुने अवस्था देखिएन । अतः प्रतिवादीबाट बरामद भएको लागु औषधको मात्रा र परिमाणसमेतलाई विचार गरी हेर्दा प्रतिवादीले बिक्री वितरण गर्ने उद्देश्‍यले खरिद गरी साथमा राखेको भन्‍ने पुनरावेदन जिकिर मनासिब देखिएन ।

७. लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई वादी पक्षले इन्कार गर्न मिल्दैन । वादीले अनुमानका आधारमा लिएको दाबीबाट मात्र यी प्रतिवादीलाई अभियोग दाबीअनुसार कसुरदार कायम गर्न कानून र न्यायसङ्गत हुँदैन ।

८. प्रस्तुत मुद्दामा प्रतिवादी गोविन थापाको साथबाट बरामद भएको लागु औषधको मात्रा न्यून देखिएको, बिक्री वितरण गर्ने उद्देश्‍यले साथमा राखेको तथ्‍य मिसिलबाट पुष्‍टि नभएको र निज प्रतिवादीले आफू लागु औषधको दुर्व्‍यसनी भएकाले सो प्रयोजनका लागि खरिद गरी आफ्नो साथमा राखेकोमा प्रहरीले बरामद गरेको हो भनी जिकिर लिएको अवस्थामा लागु औषध बरामद भएकै आधारमा यी प्रतिवादी गोविन थापाउपर अभियोग दाबीअनुसारको कसुर कायम हुन नसक्ने देखिँदा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला अन्‍यथा गरिरहन परेन ।

९. अतः माथि विवेचित आधार कारण र प्रमाणसमेतबाट प्रतिवादी गोविन थापालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम १ वर्ष कैद, ऐ. ऐनको दफा १४(१)(ज) बमोजिम १ महिना कैद र सोही ऐनको दफा १६ बमोजिम पटकेमा थप ६ महिना कैद गरी जम्मा १।७।० (एक वर्ष सात महिना) कैद र रू.५,०००।- (पाँच हजार) जरिवानासमेत हुने ठहर्‍याई उच्‍च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।२।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्‍न सक्‍दैन । प्रस्तुत फैसलाको जानकारी महान्‍यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।    

न्या. डा. मनोजकुमार शर्मा

 

इजलास अधिकृतः मुना अधिकारी ढकाल

इति संवत् २०७७ साल जेठ २६ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु