निर्णय नं. ११०७५ - अंश हक कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०७९।९।५
०७१-CI-०४२५
मुद्दा:– अंश हक कायम
पुनरावेदक प्रतिवादी : जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.७ बस्ने मगर महतोकी पत्नी सरस्वती देवीसमेत
विरूद्ध
प्रत्यर्थी वादी : जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.७ बस्ने स्व.रामवृक्ष महतोको छोरा लगन महतो कोइरी
न्यायकर्ताले न्याय निरूपण गर्दा अंशियारहरूबिच समानुपातिक ढङ्गले सम्पत्ति नरहेको अवस्था के कुन परिस्थितिले उत्पन्न भएको रहेछ भन्नेतर्फसमेत मिहिन रूपमा हेर्नुपर्ने । कसैले मेहनत र पौरख गरी सम्पत्ति जोड्ने र कसैले भएको सम्पत्तिसमेत नासी मासी हिँडेको अवस्था भएमा मानो छुट्टिएका अंशियारहरूबिच सम्पत्तिको वितरण समान कायम रहन नसक्ने । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को मर्म पनि अंशियारहरूको पौरख र उद्यमशीलतालाई संवर्द्धन गर्नु नै रहेको देखिने ।
वादीका पिताले आफ्नो भागको पैतृक सम्पत्ति पहिले नै बिक्री वितरण गरिसकेको कारण वादी प्रतिवादीहरूमा पैतृक सम्पत्तिको अनुपात समान नदेखिएको अवस्थालाई अस्वाभाविक र पैतृक सम्पत्तिको असमानुपातिक वितरण भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं. ६)
पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ताद्वय श्री सतिशकुमार झा र श्री शैलेन्द्रप्रसाद यादव
प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रसन्न कृष्ण दास
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जि. न्या. श्री ॐकार उपाध्याय
सर्लाही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री तेजबहादुर के.सी.
मा. न्या. श्री विनोद शर्मा
पुनरावेदन अदालत जनकपुर
फैसला
न्या. नहकुल सुवेदी: साबिक न्याय प्रशासन ऐन, २०४८ दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आई न्याय प्रशासन ऐन, २०७३ समेतले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मूल पुरूष स्व.बाजे तपसी महतोको २ छोरामा जेठो मेरो बुबा स्व.रामवृक्ष महतो र कान्छा काका स्व.मगर महतो कोइरी हुनुहुन्थ्यो । निज रामवृक्ष महतोको एक श्रीमती स्व.ठगीदेवी र उहाँहरूको एक छोरा म वादी लगन महतो कोइरी र मगर महतोको एक श्रीमती प्रतिवादी सरस्वतीदेवी र २ छोरामा जेठा प्रतिवादी अवधकिशोर महतो र कान्छा प्रतिवादी छोटेलाल महतो कोइरी हुन् । हामी वादी प्रतिवादी काकी भतिजा तथा दाजुभाइ नाताका हौं । हामी वादी प्रतिवादीहरूबाहेक अन्य अंशियारहरू छैनन् । हामी वादी प्रतिवादीहरू सगोलमा बसी आएकोमा घरायसी काम धन्धाको सिलसिलामा र परिवार संख्या ठुलो भएको कारण झै-झगडा विवाद भएकोमा पञ्चायत बसाई रीतपूर्वक अंश छुट्टयाइदिनुहोस् भन्दा प्रतिवादीहरूले अंश दिन इन्कार गरेकाले प्रतिवादीहरूबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण श्री सम्पत्तिको अंशको फाँटवारी लिई मूल दुई अंशियार मात्र रहेकोले २ खण्डको १ खण्ड सम्पत्तिमा मेरो अंश हक कायम गरी छुट्टयाइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
मूल पुरूष तपसी महतो ३ दाजु भाइमा तपसीका छोरा स्व.रामवृक्ष र स्व.मगर महतो, माइला भुइँले महतोको छोरा नारायण महतो र कान्छा ज्ञानचन महतोको छोरा मेघु महतो हुन । सबै भिन्दाभिन्दै
छन् । ३ भाइकै अंशको सम्पूर्ण सम्पत्ति तपसी महतोको नाउँमा रहे भएकोमा निज तपसी महतोको शेषपछि सम्पूर्ण सम्पत्ति स्व.रामवृक्षको नाममा आएको हो । वादीका बाबु स्व.रामवृक्षका नाममा आएको सम्पत्ति २०२९ जेष्ठमा नै सबै अंशियारहरूका बिच घरसारमा नै छुट्टयाई लिई आ-आफ्नो खतीउपती गरी भिन्दाभिन्दै बस्दै आएका हौँ । त्यसरी भिन्दाभिन्दै बस्दै आएकोमा वादीका बाबुले नै हाम्रो पतिपिता मगर महतोको अंश भागमा पर्ने जग्गा मिति २०३८।०५।०२, र.नं.६८९ मा ६ कित्ता प्रत्येक कित्ताबाट आधी आधी पर्ने गरी जम्मा ०-५-१३१/२ जग्गा रजिस्ट्रेसन पारित गरिदिएको हो । २०२९ सालमा हाम्रो पतिपिताको अंश भागमा परेको नारायण महतोका नाउँको ०-०-११ जग्गामध्ये ०-०-८ जग्गा निज नारायण महतोले र.नं.१४४३ मिति २०५८।५।२७ मा म प्रतिवादी अवध किशोर र बाँकी ०-०-३ जग्गा वादी लगनलाल महतोलाई रजिस्ट्रेसन पारित गरिदिएको हो । यसरी २०२९ सालमा नै घरसारमा छुट्टिई अंशियारहरूले आ-आफ्नो नाममा दा.खा.दर्ता गरी स्वतन्त्ररूपले भोगचलन बिक्री व्यवहार गरी आएको हौं । वादीले आफ्नो भागको अंश बेचबिखन गरी मासी खाएको र हामीले वैदेशिक रोजगार गरी बकसपत्र र अन्य विभिन्न माध्यमबाट आर्जन गरेको सम्पत्तिमा लोभ लालच गरी वादीले झुट्टा मुद्दा दिएको हो । हामी सगोलको अंशियार होइनौं । बन्डा गर्नुपर्ने बाँकी सम्पत्ति छैन । यसरी २०२९ सालमा नै घरसारमा बन्डा छुट्टयाई छुट्टिई भिन्न चुल्हो मानोसमेत अलग अलग भइसकेको अवस्थामा हामीबाट बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी माग हुनुपर्ने अवस्था विद्यमान छैन । वादीको बाबु रामवृक्षको अंश भागमा परेको जग्गा वादीले क-कस्लाई बेचबिखन गरेको हो ? सोसमेतको विवरण माग गरी हामीलाई वादीको झुट्टा दाबीबाट उन्मुक्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र ।
मुख नमिलेको कुरामा वादी प्रतिवादीका साक्षी बुझ्नु भन्नेसमेत बेहोराको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६६।०२।१४ को आदेश ।
वादी प्रतिवादीहरूका बिच २०२९ साल जेष्ठ महिनामा नै घरसारमा बन्डा भएको हो । मिति २०३८।०५।०२ मा वादीका पिता रामवृक्ष महतोले मगर महतो, भुइलको छोरा नारायण महतो र ज्ञानचनको छोरा मेघु महतोलाई रजिस्ट्रेसन पारित गरिदिएको र नारायण महतोले आफ्नो नाउँको ०-०-११ जग्गा अवध किशोर र लगन महतोलाई रजिस्ट्रेसन पारित गरिदिएको हो । वादी प्रतिवादीका बिच बन्डापत्र नभए पनि रजिस्ट्रेसनका आधारमा परस्परमा बन्डा छुट्टिई भिन्न भई बसेका छन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रामबाबु सिंहले सुरू सर्लाही जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
वादी प्रतिवादीका बिच २०२९ सालमा अंशबन्डा भएको छैन । वादीले प्रतिवादीहरूबाट २ खण्डको १ खण्ड अंश पाउनुपर्छ भन्नेसमेत बेहोराको वादीका साक्षी हरिहर महतोले सुरू सर्लाही जिल्ला अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
मिति २०३८।०५०२ को सक्कल लिखतसहितको बन्दी खाम मिसिल संलग्न रहेको ।
पेटबोलीमा उल्लेख भएका भुइलका छोरा नारायण महतो र ज्ञानचन्द्रको छोरा मेघु महतोलाई अ.बं.१३९ नं.बमोजिम बुझ्नु भन्नेसमेत बेहोराको सुरू अदालतको मिति २०६६।१०।०३ को आदेश ।
धेरै वर्षअघि मेरा बाबुका तीनै जना दाजुभाइले सगोलको जग्गा जमिन र आफ्नो चुलो मानो छुट्टयाई भोग चलन गरी आएका थिए । जग्गा जमिन तपसी महतोको नाउँमा थियो । तपसी महतो मरेपछि सगोलको जग्गा वादीका पिता रामवृक्षका नाउँमा आएको अवस्थामा स्व.रामवृक्षले २०३८।०५।०२ मा मेरो पिताको भागमा पर्ने ३ कित्ताको जम्मा ०-२-१५ मलाई, ६ कित्ता को जम्मा ०-५-१३१/२ जग्गा स्व.मगर महतोलाई र भुइलको अंश भागको ४ कित्ता जग्गा निजको छोरा नारायण महतोलाई राजीनामा बेहोराबाट अंशबापत पारित गरिदिएका हुन् । वादी र प्रतिवादीहरू भिन्न भइसकेकोले सगोलका अंशियार होइनन् भन्नेसमेत बेहोराको मुलुकी ऐन, अ.बं.१३९ नं.बमोजिम बुझिएका मेघु महतोले सुरू सर्लाही जिल्ला अदालतमा उपस्थित भई गरेको बयान ।
हाम्रो सगोलको सम्पूर्ण सम्पत्ति तपसी महतोका नाउँमा रही तपसीको मृत्युपश्चात् सो सम्पत्ति स्व.रामवृक्षको नाउँमा आएकोमा मिति २०३८।०५।०२ मा निज रामवृक्ष महतोले आफ्नो भाइ मगर महतो, ज्ञानचन्द्रको छोरा मेघु महतो र भुइल महतोको अंश भागको जग्गा मेरा बाबु नारायण महतोलाई छुट्टाछुट्टै राजीनामा पारित गरिदिएको हो । ऐलानी घडेरीको हकमा पनि तीनै दाजुभाइका सन्तानले आ-आफ्नो घर बसोबास गरी भन्दाभिन्दै भोगी आएका छौँ । हामी नारायण महतोका छोराहरू पनि बन्डापत्र गरी भिन्न भइसकेका छौँ भन्नेसमेत बेहोराको नारायण महतो मरी निजका छोरा बद्री महतोले अदालतमा उपस्थित भई मुलुकी ऐन, अ.बं.१३९ नं.बमोजिम गरेको बयान ।
मुलुकी ऐन, अंशबन्डाको ३० नं.बमोजिम व्यवहार प्रमाणबाट घरसारमा छुट्टिई भिन्न भएको भन्न सक्ने अवस्था नदेखिँदा वादीले प्रतिवादीहरूबाट अंश नपाउने भन्न मिलेन । तसर्थ, फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । अब, बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी दुवै पक्षबाट मुलुकी ऐन, अंशबन्डाको २०, २१,२२, २३ र २४ नं.बमोजिम दाखिल गराउनु भन्नेसमेत बेहोराको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६७।०१।०८ को आदेश ।
उल्लिखित आदेशअनुसार वादी प्रतिवादीले पेस गरेको अंशको तायदाती फाँटवारी सुरू मिसिल संलग्न रहेको ।
प्रतिवादीहरूले २०२९ सालमा घरसारमा अशबन्डा भएको भने पनि त्यसको आधार प्रमाण पेस गर्न सकेको पाइँदैन । वादीका पिता रामवृक्षले ६ कित्ताको ०-५-१३ जग्गा स्व.मगर महतो, तीन कित्ताको ०-२-१५ जग्गा मलाई र ४ कित्ताबाट नारायण महतोलाई राजीनामा बेहोराबाट रजिस्ट्रेसन पारित गरिदिएको भनी मेघु महतोले अदालतमा उपस्थित बयान गरेको देखिए पनि कानूनबमोजिम बन्डापत्र भएको नदेखिँदा निजको भनाइमा विश्वास गर्न मिल्ने आधार प्रमाणको अभाव रहेको देखिन्छ । मिसिल संलग्न प्रमाणहरूबाट वादी प्रतिवादीहरू छुट्टी भिन्न भएको नभई एकासगोलका अंशियार रहेको देखिँदा वादी दाबीलाई अन्यथा भन्न मिलेन । तसर्थ, पेस भएको फाँटवारीबाट २ भागको १ भाग अंश वादीले पाउने ठहर्छ । प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा बकस पाएको र अंश भाग नलाग्ने भने पनि सो जग्गा स्वआर्जनको वा कानूनको बन्डा नलाग्ने भन्ने तथ्ययुक्त प्रमाण दिन नसकेकोले सो सम्पत्तिसमेत बन्डा लाग्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६७।१२।२२ को
फैसला ।
स्व.रामवृक्ष महतोले २०३८।०५।०२ मा राजीनामा बेहोराले जग्गा दिएको कारण २०२९ सालमा नै भिन्न भएको देखिन्छ । मेघु महतोले समेत अदालतमा उपस्थित भई २०२९ सालमा नै भिन्न भएको भनी बयान गरेको अवस्था छ । सर्लाही जिल्ला अदालतबाट सो विषयलाई ध्यान दिइएको छैन । हाम्रो पिता मगर महतोलाई वादीका पिताले जग्गा राजीनामा पारित गरिदिएबाट हाम्रो र विपक्षीका पिताको व्यवहार अलग रहेको प्रमाणित छ । त्यस्तै, विपक्षीका पिताले आफ्ना नाममा रहेको जग्गा रामविलास भगत, रामचन्द्र साह, भरत सिंह राजपुत तथा अन्य व्यक्तिलाई बिक्री गरेको र निज स्वर्गे भएपछि वादीको आमा ठगीदेवीको नाममा नामसारी भएको हो । सोको प्रमाण दाखिल भए पनि मूल्याङ्कन भएको छैन । २०२९ सालमा नै भिन्न भई सोही बेला प्राप्त गरेको जग्गाहरू पछि लेनदेन भएको साथै सबै अंशियारहरूले आफ्नो नाममा अलग अलग खरिद बिक्री गरेको प्रमाणहरू मिसिल संलग्न
छ । कान्छो बाजेतर्फका सन्तानहरूले समेत अदालतमा उपस्थित भई २०२९ सालमा नै भिन्न भएको भनी भनेको अवस्था छ । तर ती प्रमाणहरूको विवेचना गरिएको छैन । व्यवहारबाट नै २०२९ सालमा अलग भएको तथ्य स्थापित भएको अवस्थामा सोही २०२९ सालको समयलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्नेमा नालेस परेको मितिलाई मानो छुट्टिएको मिति कायम गर्नु त्रुटिपूर्ण छ । म अवध किशोरले बकसमा पाएको निजी आर्जनको सम्पत्तिलाई तथ्ययुक्त प्रमाण दिन नसकेको भनी वादीहरूले विरोध नगरेको अवस्थामा पनि अदालत स्वयं वादी भई निजी आर्जन भनी लिएको जिकिरविपरीत बन्डा लाग्ने भनी आत्मनिष्ट तवरले फैसला गरिएको छ । अतः २०२९ सालमा नै सगोलको सम्पत्ति बाँडफाँट गरी आ-आफ्नो खतीउपती गरेको लिखत प्रमाणबाट स्थापित रहेको र कानूनले निजी ठहर्ने सम्पत्तिमा बिना विवाद सगोल कायम गरी अंश लिने दिने गरी भएको सुरू सर्लाही जिल्ला अदालतबाट भएको उक्त फैसला सम्मानित सर्वोच्च अदालतबाट नि.नं.७५२९ मा प्रतिपादित सिद्धान्तसमेतको आधारमा बदर गरी प्रतिउत्तर जिकिरबमोजिम वादी दाबीबाट उन्मुक्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूले पुनरावेदन अदालत जनकपुरमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा वादीको बुबा रामवृक्ष महतोले प्रतिवादीहरूको बुबा मगर महतोलाई मिति २०२८।०५।०१ मा जग्गा राजीनामा गरिदिएको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने ठहरी भएको फैसला फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, २०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६९।०१।३१ को आदेश ।
मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.मा मिति २०३४।०९।२७ को सातौं संशोधनले बन्डापत्र रजिस्ट्रेसन गर्नुपर्ने र सोबमोजिम नभएको बन्डा सदर नहुने भन्ने उल्लेख भई रजिस्ट्रेसन गराउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको परिप्रेक्ष्यमा अंशबन्डाको कुनै प्रसङ्ग नखुलेको उक्त संशोधन भएपश्चात् भएको २०३८ सालको राजीनामा लिखतकै आधारमा वादी प्रतिवादीका पति पिताका बिचमा अंशबन्डा भएको भनी मान्न मिल्ने अवस्था नरही वादी प्रतिवादी एकासगोलको अंशियार भन्ने देखिएकोले सो हदसम्म सुरू फैसला मिलेकै देखिए पनि प्रतिवादी अवध किशोरका नाउँको कि.नं.३६२ र कि.नं.३६३ को जग्गा निजले प्रतिभाकुमारीबाट हालैको बकसपत्र लिखतअनुसार पाएको निजी आर्जनको जग्गा मान्नुपर्ने भई अन्य अंशियारको बन्डा नलाग्नेमा बन्डा लाग्ने ठहर्याएको सुरू सर्लाही जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६९।०६।२१ को फैसला ।
विपक्षीका पिता रामवृक्ष महतोले जग्गा नाप जाँच हुँदा मोठ नं.१०० मा ३८ कित्ता जग्गा नाप जाँच गराई सो सबै जग्गा रामवृक्षले एकलौटी भनी बिक्री गरेबाट निज रामवृक्षले नै अंश पाई भोग गरिसकेकोबाट पुनः निजको छोराले अंश पाउन गरेको नालेस सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत छ । बुझिएका मेघु महतो र बद्री महतोले सुरू अदालतमा बयान गर्दा साबिकमा भिन्न भई बसेको व्यवहार मिलाउन मिति २०३८।०५।०२ मा राजीनामा लिखत पारित गरिएको भनेको अवस्था छ । २०२९ मा भिन्न भई आएकोमा हाम्रो पति पितालाई रामवृक्ष महतोले र.नं. ६८९ मिति २०३८।०५।०१ मा ससीम र आंशिक गरी ६ कित्ता जग्गा राजीनामा पारित गरिदिनु भएको हो । यसरी कान्छो बाजेको सन्तानलाई पनि राजीनामा गरिदिनु भएकोमा निजहरूलाई भिन्न भएको मानिने तर सोही बेहोराबाट हाम्रो पतिपितालाई पारित गरिदिएकोमा भिन्न नभएको भनी दोहोरो अर्थ गरी फैसला भएको छ । २०६८।५।०१ मा झ.झि.आदेश हुँदा २०२८।०५।०२ लेखिन गएको हो तर मिसिलमा मिति २०३८।०५।०२ को लिखत हुँदाहुँदै २०२८।०५।०२ को लिखत छैन भनी हामीलाई हराएको गैरकानूनी र तथ्यको भ्रामक भुल भएको स्पष्ट छ । मिसिलमा मिति २०३८।०५।०२ को कागज रहेको र सो मितिमा हामी अलग छौँ भन्ने स्पष्ट हुँदाहुँदै पनि फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी भएको फैसला ने.का.प.२०६३ नि.नं.७५२४ मा प्रतिपादित सिद्धान्तविपरीत छ । अतः माथि उल्लिखित बेहोराको आधारमा मोठ नं.१०० को नक्कल, र.नं.६८९ को राजीनामा तथा नि.नं.३६२५, २४२२, ४८०८, ६२९२, ७६१५ र ७५२४ मा प्रतिपादित सिद्धान्तसमेतको आधारमा सर्लाही जिल्ला अदालत र पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी प्रतिउत्तर जिकिरबमोजिम वादी दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा वादीका पिता रामवृक्ष महतोको नाममा मोठ नं.१०० मा नापी दर्ता भएको जग्गा निजले बिक्री गरेको, मिति २०३८।०५।०२ मा रामवृक्ष महतोले भाइ मगर महतोको नाममा राजीनामा लिखत पारित गरिदिएकोसमेत नदेखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादीले प्रतिवादीबाट अंश पाउने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको मिति २०६९।६।२१ को फैसला फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।०१।१५ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरियो । पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ताद्वय श्री सतिशकुमार झा तथा श्री शैलेन्द्रप्रसाद यादवले वादी प्रतिवादीहरू २०२९ सालमा नै छुट्टिई अलग भिन्न भई आ-आफ्नो अलग अलग व्यवहार गरी आएका
हुन् । पिता तपसीबाट वादीका पिता रामवृक्षको नाउँमा नामसारी भई आएको मोठ पाना नं.१०० को स्रेस्ताबाट ३८ कित्ता जग्गा पुर्ख्यौली सम्पत्ति हो । वादीका पिता रामवृक्षले नै मिति २०३८।०५।०२ मा प्रतिवादीहरूका पतिपिता र काकाहरूका सन्तानलगायतका सबैलाई राजीनामा गरी अंश भाग छुट्ट्याएर दिएको हो । अंश लिनदिन बाँकी छैन । बुझिएका बद्री महतो र मेघु महतोले अदालतमा गरेको बयान र वादीका साक्षी हरिहर महतोले गरिदिएको बकपत्रबाट पनि वादी प्रतिवादीहरू २०२९ सालमा छुट्टिई भिन्न भएको र मिति २०३८।०५।०२ मा अंशबापतको सम्पत्ति राजीनामाको बेहोराबाट लिनुदिनु गरेको पुष्टि हुन्छ । एकै परिवारका दाजु भाइका बिच राजीनामा लेनदेन भइसकेपछि सगोलमा बसेको भनी मान्न मिल्दैन । रामवृक्षले केही जग्गा आफैँले बिक्री गरेको देखिन्छ । ३८ कित्ता जग्गा थियो तर अहिले छैन । यसबाट वादीले अंशबापत जग्गा पाएको पुष्टि हुन्छ । नत्र जग्गा कहाँ गयो सम्बन्धित मालपोत कार्यालयले खुलाउनुपर्छ । वादीले आफ्नो सम्पत्ति बेची सिध्याएपछि हाम्रो पक्षको अंश खाने नियतले मुद्दा दिएका हुन् । अंश भन्ने कुरा दोहोर्याएर पाउने होइन । हामीले हाम्रो पक्ष २०२९ सालमा नै मानो छुट्टिएको भनेका छौँ । मानो नछुट्टिएको भए २०३८ सालमा ऋणी धनी भई राजीनामा बेहोराबाट व्यवहार गर्नुपर्ने कारण छैन । यस अवस्थामा मिति २०३८।०५।०२ लाई मानो छुट्टिएको मिति कायम गरिदिन कुनै आपत्ति देखिँदैन । तसर्थ, त्यसतर्फ विचार नगरी भएको उच्च अदालत जनकपुरको फैसला उल्टी गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री प्रसन्न कृष्ण दासले मेरो पक्ष व्यवहार प्रमाणबाट भिन्न भएको देखिएको छैन । पैतृक जग्गा अंशबापत पाएको र बेचेको भने पनि पाएको बेचेको देखिँदैन । पाएको बेचेको भनी देखाउने भार प्रतिवादीहरूको हो । मिति २०३८।०५।०२ को लिखत जलेको भनी मालपोत कार्यालय सर्लाहीले जवाफ पठाएपछि सक्कल लिखतको अस्तित्व देखिँदैन । लिखतको अस्तित्व नभएबाट मिति २०३८।०५।०२ लाई मानो छुट्टिएको मिति मान्न सकिँदैन । सुरूबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिएकोमा मुलुकी ऐन, अ.बं.१७ नं.बमोजिम तत्कालीन अवस्थामा उजुरी नगरिएको हुँदा हाल सो विषयमा प्रश्न उठाउन मिल्दैन । वादी प्रतिवादीहरू सगोलमा नै बसेको भनी सम्बन्धित गा.वि.स.ले मिति २०६५।०८।२९ मा सिफारिस दिएको अवस्था छ । तसर्थ, सुरू र पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा, मूल दुई अंशियार मात्र रहेकोले २ खण्डको १ खण्ड मेरो पिताको हक जतिमा मेरो अंश हक कायम गरी छुट्टयाइपाउँ भन्नेसमेत बेहोराको वादी दाबी र हाम्रो पति पिता र वादीका पितासमेत अलग भई २०२९ सालदेखि नै आ-आफ्नो खतीउपती भिन्दाभिन्दै गरी आएको हो, हाम्रो पतिपिताले अंशको रूपमा भोगी आएको ६ कित्ता जग्गाहरू आधा पर्ने गरी र.नं.६८९ मिति २०३८।०५।०२ को लिखतबाट वादीका पिताले अंश भागको रूपमा छुट्टयाइदिएको हो । व्यवहार प्रमाणबाट नै हामी वादी प्रतिवादीहरू एकासगोलमा छैनौँ । हामीले वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूले तायदाती फाँटवारीमा उल्लेख गरेको सम्पत्तिबाट वादीले २ भागको १ भाग अंश पाउने ठहर गरेको सर्लाही जिल्ला अदालतको मिति २०६७।१२।२२ को फैसलाउपर बकसपत्रबाट प्राप्त जग्गासमेत वादीले अंश पाउने ठहर गरेको फैसला त्रुटिपूर्ण रहेको भन्ने प्रतिवादीहरूको पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन परेकोमा सो अदालतबाट वादी दाबीबमोजिम अंश पाउने ठहर्याएको हदसम्म सुरू फैसला सदर एवम् प्रतिवादीले हालैदेखिको बकसपत्रबाट प्राप्त जग्गा निजी आर्जनको मान्नुपर्नेमा सोसमेत बन्डा लाग्ने ठहर्याएको हदसम्म सुरू फैसला केही उल्टी गरी फैसला भएको
देखिन्छ । सो फैसलामा प्रतिवादीहरूले चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेकोमा प्रत्यर्थीसमेत झिकाउने आदेश भई निर्णयार्थ आज इजलाससमक्ष पेस हुन आएको देखियो ।
प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा हाम्रो पतिपिता र वादीका पिता २०२९ सालमा नै भिन्न भई आएकोमा हाम्रो पति पितालाई वादीका पिता रामवृक्ष महतोले र.नं. ६८९ मिति २०३८।०५।०२ मा गरी ६ कित्ता जग्गा आधा आधा पर्ने गरी राजीनामा पारित गरिदिनु भएको हो । सोही मितिमा कान्छो बाजेको सन्तानलाई पनि राजीनामा गरिदिनु भएकोमा निजहरूलाई भिन्न भएको मानिने तर सोही बेहोराबाट हाम्रो पतिपितालाई पारित गरिदिएकोमा भिन्न नभएको भनी दोहोरो अर्थ गरी फैसला भएको छ । पुनरावेदन अदालत जनकपुरबाट प्रत्यर्थी झिकाउने आदेश हुँदा मिति २०२८।०५।०२ लेखिन गएको हो तर मिसिलमा मिति २०३८।०५।०२ को लिखत हुँदाहुँदै २०२८।०५।०२ को लिखत छैन भनी हामीलाई हराएको गैरकानूनी र तथ्यको भुल भएको स्पष्ट छ । मिसिलमा मिति २०३८।०५।०२ को कागज रहेको र सो मितिमा हामी अलग छौँ भन्ने स्पष्ट हुँदाहुँदै पनि फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्य जिकिर लिएको देखिन्छ ।
उल्लिखित तथ्य एवम् पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा पुनरावेदक र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू तथा विद्वान् अधिवक्ताहरूको तर्कपूर्ण बहस सुनी निम्न प्रश्नको सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
१. वादी र प्रतिवादीहरू एकासगोलका अंशियार हुन् वा होइनन् ?
२. वादीले प्रतिवादीहरूबाट अंश पाउने हो वा होइन ? अंश पाउने भए के कुन सम्पत्तिबाट अंश पाउने हो ?
३. पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ वा छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?
२. अब, निर्णयतर्फ विचार गर्दा, प्रथमतः वादी प्रतिवादीहरू एकासगोलका अंशियार हुन् होइनन् भन्ने पहिलो प्रश्नको निरूपण गर्नुपर्ने देखिन आयो । मूल पुर्खा बाजे तपसी महतोको जेठा छोरा रामवृक्ष र निजको श्रीमती ठगीदेवीतर्फका छोरा लगन महतो कोइरी वादी र कान्छा छोरा स्वर्गीय मगर महतोको श्रीमती सरस्वतीदेवी एवम् छोराहरू अवधकिशोर र छोटेलाल प्रतिवादी देखिँदा निजहरूबिचको नाता पुस्तामा विवाद भएन । वादीहरूले आफूहरू एकासगोलमा रहेको भनी दुई भागको एक भाग अंश दाबी गरेको देखिन्छ भने प्रतिवादीहरूले २०२९ सालमा नै घरसारमा बन्डा छुट्ट्याई चुल्हो मानो अलग गरी बसेकोले वादीलाई अंश दिनु नपर्ने जिकिर लिएको देखिन्छ । वादीसँग विधिवत् अंशबन्डा पारित गरी छुट्टी भिन्न भएको भन्ने जिकिर प्रतिवादीहरूले लिनसकेको वा तदनुरूपको लिखत प्रमाण पेस गर्न सकेकोसमेत देखिँदैन । विधिवत् बन्डापत्रको कागज खडा गरी रजिस्ट्रेसन पारित नगरेको अवस्थामा मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.बमोजिम व्यवहार प्रमाणबाट बन्डा भएको ठहर भएको अवस्थामा बाहेक अंशियारहरूका बिच बन्डा भएको भनी मान्न मिल्ने अवस्था रहँदैन ।
३. प्रस्तुत मुद्दामा प्रतिवादीहरूले बाजेको नाउँको सम्पत्ति पति पिता मगर महतोलाई वादीका बाबुले भाग शान्ति राजीनामा गरिदिएको व्यवहार प्रमाणबाट अलग भइसकेको पुष्टि हुने भन्ने जिकिर लिएको देखिए तापनि मिसिल संलग्न र.नं.६८९ को वादीका पिताले प्रतिवादीहरूका पति पितालाई गरिदिएको राजीनामाको लिखत कागज हेर्दा सो राजीनामा मुलुकी ऐनमा भएको सातौं संशोधनले अंशबन्डाको महलको ३० नं. मा गरेको संशोधनपश्चात् मिति २०३८।५।२ मा मात्र भएको देखिन्छ । वि.स. २०३४ सालमा मुलुकी ऐनमा भएको सातौँ संशोधनपूर्व २०२९ सालमा नै व्यवहार प्रमाणबाट अलग भएको भनी जिकिर लिने प्रतिवादीहरूले घरसारमा बन्डापत्र खडा गरेको वा सो नगरी नरम गरम मिलाई भाग शान्ति मिलाई दाखिल खारिज गरेको वा आ-आफ्नो भागको छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको कुनै व्यवहार प्रमाण देखाउन सकेको पाइँदैन । वादीका पिता र प्रतिवादीहरूका पति पिताहरूका बिच मिति २०३८।५।२ मा राजीनामा रजिस्ट्रेसन लिनु दिनु गरेको देखिँदा सोका आधारमा प्रतिवादीहरूको जिकिरबमोजिम २०२९ सालमा नै निजहरू व्यवहार प्रमाणबाट अलग भएको भन्ने पुष्टि हुन सक्ने देखिएन । अपितु सो मितिपश्चात् पनि वादीका बाबु रामवृक्ष एवम् प्रतिवादीहरूले विभिन्न कित्ता जग्गा रजिस्ट्रेसन पारित गरी लिए दिएको र सो व्यवहारउपर वादी प्रतिवादीहरूले उजुर बाजुर नगरी चित्त बुझाई बसेको देखिएको समेतका आधार प्रमाणबाट वादी प्रतिवादीहरूबिच विधिवत् अंशबन्डा भएको नदेखिए तापनि मिति २०३८।५।२ मा सगोलका अंशियारहरूबिच राजीनामा लिनुदिनु गरेको देखिँदा सोको अघिल्लो दिनलाई वादी र प्रतिवादीहरू चुल्हो मानो छुट्टिएको मिति कायम गर्नुपर्ने देखिन आयो ।
४. अब यस स्थितिमा वादीले प्रतिवादीहरूबाट अंश पाउने हो वा होइन ? अंश पाउने भए के कस्तो सम्पत्तिबाट अंश पाउने हो ? भन्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा, पहिलो प्रश्नका सम्बन्धमा गरिएका विवेचनाबाट वादी प्रतिवादीहरू २०२९ सालमा नै भिन्न भई अलग अलग व्यवहार गरी आएको तथ्य समर्थित हुने कुनै प्रमाण प्रतिवादीहरूले पेस गर्न सकेको नदेखिएको, मिसिल संलग्न मिति २०३८।५।२ को अंशियार दाजुभाइबिच राजीनामा पारित गरी जग्गा लिनुदिनु गरेको व्यवहारबाट वादीका पिता र प्रतिवादीहरूका पति पिताहरूबिच सोही मितिबाट अलग अलग व्यवहार भएको देखिएको एवम् तत्पश्चात् निजहरूबिच पुनः मानो जोडिएको भन्ने नदेखिएको अवस्थामा मिति २०३८।५।२ को अघिल्लो दिन लाई मानो छुट्टिएको मिति कायम गरी सो दिनसम्मको सगोलको पैतृक सम्पत्तिबाट सम्म वादीले अंश पाउने देखियो । वादी प्रतिवादीहरू मिति २०३८।५।२ को अघिल्लो दिनबाट मानो छुट्टिई अलग बसी आएको देखिएको स्थितिमा मानो नछुट्टिई सँगै बसेको अंशियारहरूबिच सगोलको सम्पत्तिबाट बढे बढाएको सगोलको आर्जन वा लगाएको ऋणसम्म अंशियारहरूको भाग लाग्ने हो । मानो छुट्टिई आ-आफ्नो खती उपती हुने गरी भिन्न बसेका अंशियारहरूको हकमा मानो छुट्टिएपछिको मितिको कमाएको धन र लगाएको ऋण अंशियारहरूलाई बन्डा लाग्न
सक्दैन । यसबाहेक सगोलमा अंशियारहरूले आफ्नो ज्ञान सिप प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान बकस पाएको सम्पत्तिसमेत त्यस्तो सम्पत्ति आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउने हुँदा त्यस्तो सम्पत्तिमा अंश भाग लाग्न सक्ने देखिएन ।
५. अब वादीले सगोलको के कुन सम्पत्तिबाट अंश पाउने हो भन्नेतर्फ हेर्दा, वादी प्रतिवादीले सुरू अदालतको आदेशानुसार पेस गरेको अंशको फाँटवारीमा उल्लेख भएका जग्गाहरूमध्ये वादीको तायदाती फाँटवारीमा उल्लिखित तपसी महतो नाउँदर्ताको जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.६ख कि.नं.१३९ को ०-१-७ जग्गाबाहेक अन्य जग्गाहरू मानो छुट्टिएपश्चात् पैतृकबाहेकका अन्य स्रोतबाट वादी, वादीकी आमा ठगीदेवी र प्रतिवादीहरूका नाममा राजीनामा, नामसारी र हालैदेखिको बकसपत्रलगायतका बेहोराबाट दर्ता भएको देखिँदा मानो छुट्टिएको मितिपश्चात् प्राप्त हुन आएको सम्पत्तिबाट वादीले अंश पाउने अवस्था
देखिएन । माथि उल्लिखित कि.नं.१३९ को जग्गा मूल पुर्खा तपसी महतोको नाउँ दर्ताको पैतृक स्रोतको सम्पत्ति देखिँदा सो कित्ताबाटसम्म वादीले २ भागको १ भाग अंश पाउने देखिन आयो । कि.नं.३६२ र ३६३समेतका कित्ता जग्गा प्रतिवादी अवधकिशोर महतोले मानो छुट्टिएको मितिपश्चात् हालैको बकसपत्रबाट प्राप्त गरेको देखिँदा सोसमेतका कित्ता जग्गाहरूबाट वादीले अंश पाउने देखिएन ।
६. जहाँसम्म वादीका नाउँमा कुनै पैतृक सम्पत्ति नरहेको भन्ने वादीतर्फबाट उपस्थित कानून व्यवसायीको जिकिर छ सो सम्बन्धमा हेर्दा, वादी लगन महतोका पिता रामवृक्ष महतोले आफ्नो नाउँमा रहेको विभिन्न कित्ता जग्गाहरू विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई बिक्री वितरण गरेको भन्ने मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाण पुर्जाहरूको प्रतिलिपिबाट देखिन्छ । उक्त तथ्य मालपोत कार्यालय सर्लाहीको च.नं.१७७८ मिति २०६७।९।२८ को पत्रबाट समेत पुष्टि हुन आउँछ । अशियारहरू मानो छुट्टिई चुल्हो मानो अलग गरी आ-आफ्नो खति उपति गरी आएको अवस्थामा कुनै अंशियारले आफ्नो पौरखबाट पैतृक सम्पत्ति बढाउँदै लैजाने र थप सम्पत्ति आर्जन गर्ने एवम् कुनै अंशियारले भएको पैतृक सम्पत्तिसमेत नासी मासी खाने अवस्था उत्पन्न भएमा पैतृक सम्पत्तिको वितरण समानुपातिक नदेखिनु स्वाभाविक नै हो । न्यायकर्ताले न्याय निरूपण गर्दा अंशियारहरूबिच समानुपातिक ढङ्गले सम्पत्ति नरहेको अवस्था के कुन परिस्थितिले उत्पन्न भएको रहेछ भन्नेतर्फसमेत मिहिन रूपमा हेर्नुपर्ने हुन्छ । कसैले मेहनत र पौरख गरी सम्पत्ति जोड्ने र कसैले भएको सम्पत्तिसमेत नासी मासी हिँडेको अवस्था भएमा मानो छुट्टिएका अंशियारहरूबिच सम्पत्तिको वितरण समान कायम रहन सक्ने अवस्था रहँदैन । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को मर्म पनि अंशियारहरूको पौरख र उद्यमशीलतालाई संवर्द्धन गर्नु नै हो । प्रस्तुत मुद्दाको तथ्यलाई यस दृष्टिकोणले हेर्दा वादीका पिताले आफ्नो भागको पैतृक सम्पत्ति पहिले नै बिक्री वितरण गरिसकेको कारण वादी प्रतिवादीहरूमा पैतृक सम्पत्तिको अनुपात समान नदेखिएको अवस्थालाई अस्वाभाविक र पैतृक सम्पत्तिको असमानुपातिक वितरण भनी अर्थ गर्न मिल्ने देखिएन ।
७. अब वादी र प्रतिवादीहरूबिच फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी कि.नं.३६२ र ३६३बाहेकका अन्य सम्पत्तिबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा, माथिका प्रकरणहरूमा गरिएका विवेचनाबाट मिति २०३८।५।२ को अघिल्लो दिनलाई वादी प्रतिवादीहरू मानो छुट्टिएको मिति मान्नुपर्ने देखिन आएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सगोलको सम्पत्तिबाट वादीले २ भागको १ भाग अंश पाउने गरी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी एवम् प्रतिवादी अवध किशोर महतोले बकसपत्रबाट पाएको कि.नं.३६२ र ३६३ को जग्गा निजी आर्जनको भई बन्डा नलाग्ने ठहर गरेको पुनरावेदन अदालत जनकपुरबाट भएको मिति २०६९।६।२१ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई वादीका पिता र प्रतिवादीहरूका पति पिताले राजीनामा पारित गरी जग्गा लिनुदिनु गरेको मिति २०३८।५।२ को अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो दिनसम्मको तपसी महतो नाउँदर्ताको जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.६ख कि.नं.१३९ को ०-१-७ जग्गाबाट वादीले २ भागको १ भाग अंश पाउने ठहर्छ । व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेकोले वादी दाबी खारेज हुनुपर्ने भन्ने हदसम्मको प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला केही उल्टी भई वादीले तपसी महतो नाउँ दर्ताको जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.६, ख कि.नं.१३९ को ०-१-७ जग्गाबाट दुई भागको एक भाग अंश पाउने ठहरेकाले दुई भागको एक भाग बन्डा गराइपाउँ भनी कानूनको म्यादभित्र दर्खास्त दिए बन्डा गरिदिनु भनी सुरू सर्लाही जिल्ला अदालतमा लेखी पठाइदिनू................................१
सरोकारवालाले फैसलाको प्रतिलिपि पाउँ भनी रीतपूर्वकको निवेदनसाथ माग गरेमा नियमबमोजिम प्रतिलिपि उपलब्ध गराई दिनू.............................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ............................३
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृतः किरणकुमार सिंह
इति संवत् २०७९ साल पौष ५ गते रोज ३ शुभम् ।