शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११०८२ - कर्तव्य ज्यान

भाग: ६५ साल: २०८० महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल

फैसला मिति : २०७९।११।२१

 

मुद्दा:- कर्तव्य ज्यान

 

०७५-CR-२३०३

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : पर्वत जिल्ला साबिक पाङ गा.वि.स. वडा नं. ८ हाल कुश्मा नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय पर्वतमा थुनामा रहेको शशिधर वि.क.को छोरा दुर्गाबहादुर वि.क.

 

०७५-CR-२३७९

पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, साबिक पाङ गा.वि.स. वडा नं.८ हाल परिवर्तित ऐ. कुश्मा नगरपालिका वडा नं.१ घर भई हाल कारागार कार्यालय पर्वतमा थुनामा रहेको शशिधरको छोरा दुर्गा बहादुर वि.क.

विरूद्ध

प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार

 

०७६-RC-००४८ (साधक)

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : भुमिराज कँडेलकी छोरी पर्वत जिल्ला, साबिक पाङ गा.वि.स. वडा नं. ८ को हाल ऐ. कुश्मा नगरपालिका वाड नं.१ घर भई हाल कारागार कार्यालय पर्वत कुश्मामा थुनामा रहेको बन्दी अम्बिका कँडेल

 

किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने । असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोर किशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या हुनसक्ने । किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धबाट सिर्जित गर्भधारणलाई अवैध, अनैतिक भन्‍नुभन्दा पनि असुरक्षित र असावधानीपूर्वक गरिएको यौन सम्बन्धको रूपमा हेरिनुपर्ने ।

(प्रकरण नं. १५)

भ्रूणको स्वतन्त्र अस्तित्व हुँदैन र त्यसको अस्तित्व भनेको आमाको गर्भभित्रै मात्र हुन्छ । त्यसैले भ्रूणको कुनै स्वार्थ मान्ने नै हो भने पनि आमाकै विरूद्ध त्यस्तो स्वार्थ वहाल रहन्छ भन्न नमिल्ने भन्‍ने सिद्धान्त लक्ष्मीदेवी धिक्त कैप् मुद्दामा स्थापित भैसकेको अवस्थामा कतिपय अवस्थाका कसुरहरूलाई गैर अपराधीकरण वा न्यून सजाय गर्नेसम्बन्धी; The March 8 Principles को पनि Principle १४ ले “No one may be held criminally liable on the basis that their conduct is alleged to be harmful to their own pregnancy” भन्‍ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरी जातक हत्यालाई कसुरजन्य कार्यको रूपमा सजाय गर्दा भ्रूणको निरन्तरताको अन्तर्गत नहेरी महिला स्वतन्त्रता, सामाजिक परिवेश र प्रजनन हकको सन्तुलनतासमेतलाई हेरी न्यूनतम सजाय गर्दा पनि कानूनको उद्देश्य पूरा हुने ।

(प्रकरण नं.१९)

 

वादी नेपाल सरकारका तर्फबाट: विद्वान्‌ नायब महान्यायाधिवक्ता डा. श्री टेक बहादुर घिमिरे

प्रतिवादी दुर्गाबहादुर वि.क.का तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गोपालप्रसाद शर्मा

अवलम्बित नजिर :

ने.का.प. नि.नं. १०,६६५

ने.का.प. नि.नं.८४६४

सम्बद्ध कानून : 

प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्या. श्री ध्रुवप्रसाद सापकोटा

पर्वत जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्या. श्री शेषराज सिवाकोटी 

मा. न्या. श्री हरिप्रसाद पौडेल

उच्च अदालत पोखरा, बाग्लुङ इजलास

 

फैसला

न्या. हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र रही पुनरावेदन तथा साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड 

जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.१ सिधाली स्थित बाबुराम कँडेलको घरको करेसामा नवजात शिशुको लास मृत अवस्थामा फेला परेको भन्‍ने स्थानीय मानिसहरूबाट टेलिफोनमार्फत यस कार्यालयमा जानकारी प्राप्‍त हुनासाथ तत्कालै यस कार्यालयबाट मेरो कमान्डमा प्रहरी टोली घटनास्थलमा खटी गई मृत नवजात शिशुको लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक कार्य सम्पन्न गरी सो घटना सम्बन्धमा सोधपुछ गर्ने क्रममा जिल्ला पर्वत कुश्मा न.पा.वडा नं.१ सिधाली बस्ने भुमिराज कँडेलको छोरी वर्ष अन्दाजी १७ की अम्बिका कँडेलले ऐ.बस्ने शशिधर वि.क.को छोरा अन्दाजी वर्ष २५ को दुर्गाबहादुर वि.क. र मेरो अवैध यौन सम्बन्धबाट गर्भ बसेकोले बारम्बार दुर्गा बहादुर वि.क.लाई जानकारी गराउँदासमेत तिम्रो पेटमा भएको गर्भ राखी मास पुगेपछि जन्माई कोही कसैले थाहा नपाउने गरी मारी फालिदिनु भनेको र कोही कसैलाई नभन्‍नु भनेमा जे पनि गर्ने छु भनी धम्की दिएकोले निजको डर मानी कोही कसैलाई कुनै जानकारी नगराई घर परिवारलाई समेत ढाँटी बस्दै आएकीमा मिति २०७४।०५।१६ गते राति अन्दाजी २४:३० बजेको समयमा पेट दुखेको हुँदा शौचालयमा गई बिहान (राति) अन्दाजी ०२:०० बजेको समयमा शौचालयभित्रै मास पुगेको नवजात शिशु (पुरूष जात) जिउँदै जन्मिएको र जन्मेपश्‍चात् रून कराउन थालेपछि दुर्गाबहादुर वि.क.ले भनेबमोजिम निज शिशुको नाभी चुँडाली हातले केहीबेर मुख थिची बच्चा रून कराउन छाडेपछि मर्‍यो भनी कोही कसैले थाहा नपाउने गरी मेरो घरनजिकै बाबुराम कँडेलको घरको पछाडि करेसामा फालिदिई कोही कसैले थाहा नपाउने गरी घरमा आई बसेकी हुँ भनी अम्बिका कँडेलले बताएकी हुँदा तत्कालै निज अम्बिका कँडेललाइ नियन्त्रणमा लिई फर्किने क्रममा दुर्गा बहादुर वि.क.लाई जिल्ला पर्वत कुश्मा न.पा.वडा नं.७ स्थित दुर्लुङ चोकबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि यसै प्रतिवेदनसाथ दाखिला गरेको भन्‍ने मिति २०७४।५।१६ गतेको प्रहरी प्रतिवेदन ।

जिल्ला पर्वत कुश्मा न.पा.वडा नं. १ सिधाली स्थित पूर्वमा बाबुराम कँडेलको बारी, पश्‍चिममा सिधालीदेखि बनौ जाने गोरेटो बाटो, उत्तरमा छत्रनाथ कँडेलको जमिनको डिल, दक्षिणमा बाबुराम कँडेलको १९ फिट ११ इन्च लामो भैंसीगोठसहित रहेको दक्षिण मोहडा फर्केको घर, सो घरको पछाडि उत्तर करेसा रहेको, सो घरको पछाडि करेसामा पूर्व टाउको, पश्‍चिम खुट्टा, उत्तरतर्फ कोल्टे अवस्थामा मृतक नवजात मास पुगेको छोरा जातको शिशुको लास रहेको, उक्त लासको शरीरमा कमिला र माटो लागेको अवस्थामा देखिएको मिति २०७४।५।१६ गतेको लास जाँच प्रकृति 

मुचुल्का ।

जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. १ सिधाली स्थित पूर्वमा सिधालीदेखि बनौ जाने गोरेटो बाटो, पश्‍चिममा भुमिराज कँडेलको घर, उत्तरमा धन बहादुर वि.क.को घर, दक्षिणमा भुमिराज कँडेलको खेत यति चार किल्लाभित्र सोही ठाउँ बस्ने भुमिराज कँडेलको शौचालयभित्र मिति २०७४।५।१६ गते सुरू बिहानको अं.०२:०० बजेको समयमा भुमिराज कँडेलको छोरी अं. वर्ष १७ की अम्बिका कँडेलले मास पुगेको नवजात छोरा जातको शिशु बच्चा जन्माई मारेको भनी देखाईएको चार किल्लासहितको मिति २०७४।५।१६ गतेको घटनास्थल मुचुल्का ।

जिल्ला पर्वत कुश्मा न.पा. १ सिधाली स्थित पूर्वमा सिधालीदेखि बनौ जाने गोरेटो बाटो, पश्‍चिममा भुमिराज कँडेलको जमिन, उत्तरमा धन बहादुर वि.क.को जमिन, दक्षिणमा भुमिराज कँडेलको खाली जमिन,यति चार किल्लाभित्र ढुङ्गा छाएको पश्‍चिम मोहडा भएको भुमिराज कँडेलको कच्ची घर सो घरको भित्र मिति २०७४।५।१६ गते बिहान अम्बिका कँडेलले बच्चा जन्माउँदा लगाएको कुर्था र सुरूवाल लुकाइराखेको अवस्थामा बरामद गरिएको चार किल्लासहितको मिति २०७४।५।१६ गतेको बरामदी मुचुल्का ।

Cause of Death: Hemorrhagic shock due to hemorrhage from umbilical cord. लेखेको शव परीक्षण प्रतिवेदन ।

मेरो घर जिल्ला पर्वत साबिक पाङ गा.वि.स. वडा नं. २ हाल कुश्मा न.पा. वडा नं. १ पाङ सिधाली भन्‍ने ठाउँमा पर्दछ । मेरो घरमा आमा, बहिनी र म बस्ने गर्दछौं भने मेरो बुबा सानीआमासँग छुट्टै बस्ने 

गर्नुहुन्छ । मैले पाङमा रहेको श्री खरिबोट गोबिन्दनाथ देब शर्मा मा.वि. खरिबोट पाङमा कक्षा ७ मा अध्ययन गर्दछु । स्कुल चल्दा स्कुल जाने बिदा हुँदा घरमा नै बसी घाँसपात खेतीपातीको काम गर्ने गर्दछु । यसै क्रममा यी हाल मसँगै पक्राउमा परेका दुर्गा वि.क.को घर पनि मेरो घरदेखि नजिकै भएको हुँदा भेटघाट कुराकानी हुने गर्दथ्यो । निजको घरदेखि माथि राइस मिल र सोही मिलमा सानो किराना पसलसमेत भएको हुँदा प्राय: जसो निज नै पसलमा बस्ने 

गर्दथे । म कहिलेकाहीँ चाउचाउ बिस्कुट खरिद गर्न तथा धान कुट्नको लागि मिलमा जाने गर्दथेँ । सोही क्रममा निज दुर्गा वि.क.ले चाउचाउ बिस्कुट दिएर मलाई ललाइ फकाइ गर्ने गर्दथे । निजले मलाई कहिलेकाहीँ पैसा पनि दिई माया प्रेमका कुरा गर्दथे । मलाई फकाइ फुलाइ गरी विवाह गर्छु भन्थे । सामान किन्न जाँदा मलाई पैसा नलिई सित्तैमा दिने र फर्किंदा पैसा पनि दिने गर्दथे । म पनि निजको माया प्रेममा परी काम नहुँदा पनि निजको पसलमा जाने निजलाई भेट्ने गर्दथेँ भने निजले पनि मलाई भेट्नको लागि बोलाउने 

गर्दथे । निजले मलाई धेरै नै माया गर्ने गर्दथे । यसै क्रममा म मिति २०७३।०९।१० गते दिनको अं. १४:०० बजेको समयमा चाउचाउ किन्नको लागि निजको पसलमा गएकीमा पसलमा निज दुर्गा वि.क. मात्र 

थिए । म त्यहाँ गएपछि निजले मेरो शरीरको संवेदनशील अङ्ग स्तन, योनि चलाई मलाई पसलमा रहेको काठको खाटमा रहेको बिस्तारामा पल्टाई निजले मेरो कुर्ताको सुरूवाल र भित्री कट्टु खोली हामी दुवै जनाको सहमतिमा पहिलो पटक कुनै पनि अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गरेका हौँ र निजले मेरो योनिभित्रै वीर्य झारेका हुन् । निजले शारीरिक सम्पर्क गरिसकेपछि केही डर नमान्नु केही भएमा त्यसको जिम्मेवारी मैले लिन्छु भनी मलाई चाउचाउ र नगद रू. ५००।- दिएपछि म पनि घर फर्केकी हुँ । त्यसपछि हामी दुई जनाको बेला बखत भेटघाट तथा निजकै पसलमा शारीरिक सम्पर्क हुने गर्दथ्यो भने कहिलेकाहीँ बारीमा पनि भेटघाट हुने गर्दथ्यो । पहिलो सम्पर्कपश्‍चात् नै मेरो महिनावारी रोकिएपछि मैले निजलाई जानकारी गराउँदा निजले बच्चा जन्मेपछि कोही कसैले थाहा नपाउने गरी बच्चाको मुख थुनी घाँटी थिची मारिदिनु र जंगलमा लगी फालिदिनु कोही कसैलाई भनेमा ज्यानै मारिदिनेसम्मको धाक धम्की दिएको हुँदा डराई डराई बसेकी थिएँ । घरमा आमा र म छुट्टाछुट्टै कोठामा सुत्‍ने गर्दथ्यौं । सदाझैं मिति २०७४।५।१५ गते राति पनि खाना खाई म आफ्नै कोठामा गई सुतेकी थिएँ । रातको अं. २४;३० बजे मलाई पेट दुख्‍न थालेपछि मिति २०७४।५।१६ गते सुरू बिहानको राति म घरको शौचालयमा गई बसिरहेको अवस्थामा केहीबेरपछि रातिको अं. ०२:०० बजेको समयमा मैले जिउँदो पुरूष जातको मास पुगेको बच्चा जन्माएकी हुँ । बच्चा जन्मेपछि रून कराउन थालेपछि कोही कसैले थाहा पाउला भनी दुर्गा वि.क.ले भनेबमोजिम नवजात छोरा जातको शिशुको नाइटो चुँडाली मुख थुनी, घाँटी थिची मारेपछि कोही कसैले थाहा नपाउन भनी उक्त नवजात मृत शिशुलाई मेरो दाइ नाताका बाबुराम कँडेलको घरको पछाडि करेसामा लगी फाली घरमा आई रगताम्मे भएको मैले लगाएका कुर्था सुरूवाल खोली घरको कोठामा राखी अर्को कपडा लगाई कोठामा आई सुतेकी हुँ भनी मिति २०७४।५।२३ गते प्रतिवादी अम्बिका कँडेलले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

मेरो घर जिल्ला पर्वत साबिक पाङ गा.वि.स. वडा नं. ८ हाल कुश्मा न.पा. वडा न. १ पाङ सिधाली भन्‍ने ठाउँमा पर्दछ । यी हाल मसँगै पक्राउमा परेकी अम्बिका कँडेलको घर पनि मेरो घरनजिकै पर्ने हुँदा निजसँग चिनजान भएको हो । मेरो मिलमा सानो पसल पनि भएको हुँदा कहिलेकाहीँ सामान किन्न र कहिलेकाहीँ मिलमा धान मकै लिएर कुट्नको लागि निज अम्बिका कँडेल आउने गर्दथिन् । पसलमा म एक्लै भएको अवस्थामा निज आउँदा मैले चाउचाउ तथा बिस्कुट निजलाई दिई फकाउने गर्दथेँ भने निजलाई मैले कहिलेकाहीँ पैसा पनि दिई माया प्रेमका कुरा 

गर्दथेँ । कहिलेकाहीँ मैले फकाइ फुलाइ गरी विवाह गर्छु भन्थेँ । सामान किन्न जाँदा आउँदा पैसा नलिई सित्तैमा दिने र फर्किंदा पैसा पनि दिने गर्दथेँ । निज पनि माया प्रेममा परी काम नहुँदा पनि मेरो पसलमा भेट्न आउने गर्थिन् भने निजले पनि मलाई भेट्नको लागि बोलाउने गर्थिन् । निजले पनि मलाई धेरै नै माया गर्ने गर्थिन् । यसै क्रममा म मिति २०७३।०९।१० गते दिनको अ. १४:०० बजेको समयमा पसलमा बसिरहेको अवस्थामा यी अम्बिका कँडेल चाउचाउ किन्‍नको लागि मेरो पसलमा आएकी थिइन् । पसलमा म मात्र थिएँ अन्य कोही थिएनन् । निज अम्बिका आएपश्‍चात् मैले पसलको ढोका बन्द गरी निजको शरीरको संवेदनशील अंग स्तन, योनि चलाई मेरो पसलमा भएको काठको खाटमा रहेको बिस्तारामा निजलाई पल्टाई निजले लगाएको कुर्ता सुरूवाल र भित्री कट्टु खोली हामी दुवै जनाको सहमतिमा पहिलो पटक मैले कुनै पनि अस्थाई साधन प्रयोग नगरी शारीरिक सम्पर्क गरेको हुँ भने निजको योनिभित्रै वीर्य झारेको हुँ । मैले शारीरिक सम्पर्क गरिसकेपछि केही डर नमान्नु केही भएमा त्यसको जिम्मेवारी मैले लिन्छु भनी निजलाई चाउचाउ र नगद रू.५००।- दिएपछि घर फर्केकी हुन् । त्यसपछि हामी दुई जनाको बेला बखत भेटघाट तथा मेरै पसलमा शारीरिक सम्पर्क हुने गर्दथ्यो भने कहिलेकाहीँ बारीमा पनि भेटघाट हुने गर्दथ्यो । पहिलो सम्पर्कपश्‍चात् नै निजले मलाई महिनावारी रोकिएको भनी जानकारी गराएकी हुन् । मैले निजलाई बच्चा जन्मेपछि मारी कोही कसैले थाहा नपाउने गरी जंगलमा फालिदिनु भन्‍ने गर्दथेँ । मैले भनेबमोजिम नै निज अम्बिका कँडेलले उक्त नवजात शिशु जन्माई घाँटी थिची नाइटो चुँडाली कर्तव्य गरी मारेकी हुन् भन्‍ने बेहोराको प्रतिवादी दुर्गाबहादुर वि.क.ले मिति २०७४।५।२३ गते अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

मेरो घर पर्वत जिल्ला कुश्मा न.पा. वडा न. १ सिधाली भन्‍ने ठाउँमा पर्दछ । मिति २०७४।५।१६ गते बिहान अं.०८;०० बजेको समयमा घरको कामधन्दा सकी खेततर्फ घाँस काट्न जानको लागि घरको पछाडि करेसाको बाटो जाँदै गर्दा मेरो घरको करेसामा मास पुगेको नवजात शिशुको लास देखेपछि मैले नै प्रहरीलगायत छिमेकीलाई खबर गरेको हुँ । प्रहरी आई लास जाँच मुचुल्कासमेतको कार्य गरी सोधपुछ गर्दा उक्त नवजात शिशु भुमिराज कँडेलको छोरी अं. वर्ष १७ की अम्बिका कँडेलले सोही ठाउँ बस्ने शशिधर वि.क.को छोरा दुर्गा बहादुर वि.क. को अवैध सम्बन्धबाट जिउँदो बच्चा जन्माई दुर्गा वि.क.ले भनेबमोजिम मुख थुनी नाइटो चुँडाली मारी फालेको भन्‍ने सुनी थाहा पाएको हुँ । यसरी अवैध रूपमा बच्चा जन्माई कर्तव्य गरी मार्ने अम्बिका कँडेल तथा मार्न लगाउने दुर्गा वि.क.लाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्‍ने बेहोराको बाबुराम कँडेलले मिति २०७४।५।२५ गते गरिदिएको कागज ।

मेरी साँहिली छोरी अम्बिका कँडेललाइ पक्राउ गरी सोधपुछ गर्दा निजले दुर्गाबहादुर वि.क.सँग अनैतिक शारीरिक सम्पर्क राखी गर्भधारण गरी मास पुगेको बच्चा जन्माई निज दुर्गा बहादुर वि.क.समेतको मिलेमतोमा मुख थिची नाभी जबरजस्ती चुँडाई मारी फालेको कुरा सुनी थाहा पाएकी हुँ । निज छोरी अम्बिका कँडेलको सानै उमेरदेखि पेट ठुलो भएको र बेलाबेलामा महिनावारी भयो भन्दै बार्दै आएकीले गाउँघरमा रहँदा बस्दा कुनै ख्याल जानकारी पाएनौँ । यसरी अनैतिक शारीरिक सम्पर्कबाट जीवितै जन्मेको शिशुलाई दुवै जनाको मिलेमतोमा कर्तव्य गरी मारी फ्याँक्ने, फ्याँक्न लगाउने दुवै जनालाई हदैसम्मको कानूनी कारबाही गर्नुपर्छ भन्‍ने बेहोराको हुमा कँडेलले मिति २०७४।०५।२५ गते गरिदिएको कागज ।

जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.१ सिधाली स्थित बाबुराम कँडेलको घरको करेसामा नवजात शिशुको लास मृत अवस्थामा फेला परेको भन्‍ने स्थानीय मानिसहरूबाट टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय पर्वतमा जानकारी प्राप्‍त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थलमा खटी गई मृत नवजात शिशुको लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक कार्य सम्पन्न गरी सो घटना सम्बन्धमा सोधपुछ गर्ने क्रममा जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.१ सिधाली बस्ने भुमिराज कँडेलको छोरी वर्ष अन्दाजी १७ की अम्बिका कँडेलले ऐ.बस्ने शशिधर वि.क.को छोरा अन्दाजी वर्ष २५ को दुर्गा बहादुर वि.क. र मेरो अवैध यौन सम्बन्धबाट गर्भ बसेकोले बारम्बार दुर्गा बहादुर वि.क.लाई जानकारी गराउँदासमेत तिम्रो पेटमा भएको गर्भ राखी मास पुगेपछि जन्माई कोही कसैले थाहा नपाउने गरी मारी फालिदिनु भनेको र कोही कसैलाई नभन्‍नु भनेमा जे पनि गर्ने छु भनी धम्की दिएकोले निजको डर मानी कोहीकसैलाई कुनै जानकारी नगराई घर परिवारलाई समेत ढाँटी बस्दै आएकीमा मिति २०७४।०५।१६ गते राति अन्दाजी २४:३० बजेको समयमा पेट दुखेको हुँदा शौचालयमा गई बिहान (राति) अन्दाजी ०२:०० बजेको समयमा शौचालयभित्रै मास पुगेको नवजात शिशु (पुरूष जात) जिउँदै जन्मिएको र जन्मेपश्‍चात् रून कराउन थालेपछि दुर्गा बहादुर वि.क.ले भनेबमोजिम निज शिशुको नाभी चुँडाली हातले केहीबेर मुख थिची बच्चा रून कराउन छाडेपछि मर्‍यो भनी कोही कसैले थाहा नपाउने गरी बाबुराम कँडेलको घरको पछाडि करेसामा फालेको भन्‍ने सुनी थाहा पाएको हुँ । निजहरूलाई प्रहरीले पक्राउ गरेको भन्‍नेसमेत सुनी थाहा पाएको हुँ । यसरी अवैध रूपमा जन्माई कोही कसैले थाहा नपाउने गरी नाइटो चुँडाली, मुख थुनी मारी फाल्ने तथा मारी फाल्न वचन दिने अम्बिका कँडेल तथा दुर्गा वि.क.लाई कर्तव्य ज्यानअन्तर्गत सजाय हुनुपर्दछ भन्‍ने बेहोराको प्रकाश पुन, प्रकाश रेग्मी र विष्णु रिजालसमेतले मिति २०७४।५।२५ गते गरिदिएको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी अम्बिका कँडेलले मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं.विपरीत १३(३) नं.अनुसारको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐन, महलको १३(३) नं.अनुसार सर्वस्वसहित जन्मकैद हुन र अर्का प्रतिवादी दुर्गा वि.क.ले प्रतिवादी अम्बिका कँडेललाइ बच्चा जन्मिएपछि मारी जंगलमा लगी फालिदिनु भनी नवजात शिशुको ज्यान मार्न सिकाई वचन दिई मुलुकी ऐनको ज्यानसम्बन्धीको महलको १ नं.विपरीत १३(४) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही १३(४) नं. बमोजिम सजाय हुन माग दाबी लिई वादी नेपाल सरकारको तर्फबाट पेस भएको अभियोगपत्र ।

घटनास्थल मुचुल्कामा र प्रहरी प्रतिवेदनमा भएको बेहोरा सत्य साँचो हो । प्रतिवादी दुर्गाबहादुर वि.क. र मेरो अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई दुर्गाबहादुर वि.क.ले मार्न भनेको हुँदा ट्वाइलेटमा बच्चा जन्माई मारी फालेकी हुँ । बरामदी मुचुल्कामा भएको बेहोरा सत्य साँचो हो । मिसिल संलग्न रहेका फोटोहरू मैले जन्माई मारेर फालेका मृतक शिशुका फोटाहरू हुन् । मैले अधिकार प्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । घटना विवरण कागज गर्ने व्यक्तिहरूले लेखाएको बेहोरा सत्य साँचो हो भन्‍ने बेहोराको प्रतिवादी अम्बिका कँडेलले सुरू पर्वत जिल्ला अदालतमा गरेको बयान ।

घटनास्थल मुचुल्कामा भएको बेहोराको बारेमा मलाई केही थाहा भएन । घटनास्थलमा म गएको होइन । प्रहरी प्रतिवेदनमा भएको बेहोरा असत्य हो । मलाई प्रहरी प्रतिवेदन सम्बन्धमा केही थाहा छैन । मैले प्रतिवादी अम्बिकादेवी कँडेललाइ बच्चा जन्मिएपछि मार्नु भनेको होइन । मलाई झुट्टा आरोप लगाइएको 

हो । मैले निजसँग एक पटक पनि शारीरिक सम्पर्क गरेको छैन । म अपाङ्ग भएको हुँदा मलाई दोषी ठहराउन झुट्टा आरोप लगाएको हुनुपर्दछ । बरामदी मुचुल्कामा भएको बेहोराको बारेमा मलाई केही थाहा भएन । मिसिल संलग्न रहेका फोटाहरूको बारेमा मलाई केही थाहा भएन । अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागजमा भएको सहीछाप मेरो हो, बेहोरा मेरो होइन । प्रहरीले सही गर् भनी डर त्रास देखाएपछि मैले नपढी सही मात्र गरेको हुँ । बेहोरा मलाई नसोधी लेखेका 

हुन् । के कस्तो बेहोरा लेखाएका रहेछन् त्यतिबेला मलाई थाहा भएन अदालतमा आज बयान गर्दा मात्र थाहा पाएँ । बेहोरा झुट्टा हो । घटना विवरण कागजको बेहोरामा मलाई लगाएको आरोप बेहोरा झुट्टा हो । म निर्दोष छु भन्‍नेसमेत बेहोराको प्रतिवादी दुर्गाबहादुर वि.क.ले सुरू पर्वत जिल्ला अदालतमा गरेको बयान ।

तत्काल प्राप्‍त प्रमाणका आधारमा यी प्रतिवादीहरू निर्दोष छन् भन्न सकिने अवस्था नभएको हुँदा निजहरूको हकमा अ.बं. ११८(२) को अवस्था विद्यमान देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल प्राप्‍त प्रमाणका आधारमा निजहरूलाई थुनामा राखी कारबाही गर्न नियमानुसारको सिधा खान पाउने गरी अ.बं. १२१ नं.बमोजिमको थुनुवा पुर्जी दिई कारागार शाखा पर्वतमा थुनामा राख्न लेखी 

पठाइदिनू । प्रतिवादी अम्बिका कँडेलले अदालतमा बयान गर्दा आफू १५ वर्षकी भए भनी लेखाएको हुँदा निज पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १ पाङ स्थित शहीद गोविन्दनाथ मा.वि.मा कक्षा ७ मा अध्ययन गर्ने भनेको हुँदा त्यहाँबाट निजको भर्ना गर्दाको भर्ना फाराम झिकाउने साथै निज १५ वर्षको भनेको हुँदा सरकारी खर्चमा जिल्ला प्रहरी कार्यालयमार्फत गण्डकी अञ्चल अस्पताल पोखरा कास्कीमा लगी उमेर परीक्षण गराउन जिल्ला कारागार कार्यालयलाई लेखी पठाउने साथै प्रतिवादी चुक्ता भइसकेको हुँदा प्रतिवेदकहरू, वस्तुस्थिति र घटना विवरण कागज गर्ने व्यक्तिहरू एवं शव परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत उपस्थित गराइदिनु भनी जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने र प्रतिवादीहरूलाई बकपत्रका लागि आफ्ना साक्षी उपस्थित गराउनु भनी जानकारी दिनु भन्‍ने बेहोराको जिल्ला अदालत पर्वतबाट मिति २०७४।०६।०१ गते भएको थुनछेक आदेश ।

घटनास्थल मुचुल्का र प्रहरी प्रतिवेदन बेहोरामा लेखिएको कुरा सत्य साँचो हो । बाबुराम कँडेलको घरको पछाडि करेसामा बेवारिसे अवस्थामा नवजात शिशुको लास फेला परेको भन्‍ने जानकारी प्राप्‍त हुँदासाथ मसमेतको टोली घटनास्थल खटी गई प्रकृति हेर्दा बच्चा नाङ्गो अवस्थामा, मुख तथा मृत शरीरमा कमिला लागेको अवस्थामा देखेको 

हुँ । सोपश्‍चात् सोधखोज गर्दै जाने क्रममा प्रतिवादी अम्बिका कँडेल र दुर्गाबहादुर वि.क. विच अवैध यौन सम्बन्धबाट प्रतिवादी अम्बिका कँडेलले गर्भ बोकेको कुरा दुर्गाबहादुर वि.क.लाई पटकपटक जानकारी गराउँदा कोही कसैलाई नभन्‍नु, मास पुगेपछि जन्माई मारी फाल्नुपछि कोही कसैलाई नभन्‍नु भनेकाले प्रतिवादी अम्बिकाले उक्त नवजात शिशु २०७४।५।१६ गते आफ्नो घरको शौचालयमा जन्माई नाभी चुँडाली मारी बाबुराम कँडेलको करेसामा लगी राखेको मसमेतको टोलीले फेला पारेका हौँ भन्‍ने बेहोराको प्रतिवेदक प्रहरी जवान निर्मल गाहाले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

मैले अनुसन्धानको क्रममा गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । प्रतिवादीहरू र मेरो घर नजिकै छ । गाउँमा बच्चा फालेका छन् भन्‍ने गाउँमा हल्ला खल्ला भएपछि मैले घटनाको बारेमा थाहा पाएको हुँ । नवजात शिशु मृत जन्मेको हो वा जिउँदै जन्मेको हो सो सम्बन्धमा मलाई केही थाहा भएन । हामीहरू घटनास्थलमा जाँदा नवजात शिशु मृत अवस्थामा थियो । प्रतिवादीहरू अम्बिका कँडेल र दुर्गा बहादुर वि.क.को सामीप्यता थियो थिएन सो सम्बन्धमा मलाई केही थाहा भएन भन्‍ने बेहोराको वस्तुस्थिति मुचुल्काको कागज गर्ने प्रकाश पुनले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

मिति २०७४।५।१९ मा पेस भएको प्रहरी प्रतिवेदनमा भएको बेहोरा र सहीछाप मेरो हो । बच्चा बाबुराम कँडेलको घर पछाडि करेसामा मृत अवस्थामा थियो । लासमा कमिला लागेको, माटो र झारपात लागेको थियो । प्रतिवादी अम्बिका कँडेलले प्रतिवादी दुर्गाबहादुरले बच्चा जन्माएर मारेर फाल्नु भनेको हुँदा निजले बच्चा शौचालयमा जन्माई मारेर फालेको कुरा बताएकी हुन् भन्‍ने बेहोराको प्रतिवेदक प्र.ह. केशवप्रसाद शर्माले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र । 

मिति २०७४।५।१६ गतेको शव परीक्षण मैले तयार गरी पेस गरेको हुँ । उक्त प्रतिवेदनमा भएको सहीछाप मेरो हो । बच्चाको नाभी बाँधिएको थिएन । नाभी नबाँधेको कारणबाट बढी रगत बगी मृत्यु भएको हो । पोष्टमार्टम गर्दा Diaphragm छैटौँ करङको लेभलमा भएको, फोक्सो छातीभरि खुलेको र Hydrostatic Test गर्दा फोक्सो पानीमा उत्रिएको कारण बच्चा जिउँदो जन्मेको भनी प्रतिवेदन दिएको हुँ भन्‍ने बेहोराको चिकित्सक डा. मिलन श्रेष्ठले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

मैले अनुसन्धानको क्रममा गरेको कागजमा भएको बेहोरा सहीछाप मेरो हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरू गएपछि मात्र मलाई घटनाको बारेमा थाहा भएको हो । मेरो छोरी महिना महिनामा रजस्वला भयो भनी बाहिर निस्कने गर्थिन् । मलाई निजले गर्भ बोकेको केही थाहा भएन । प्रतिवादी दुर्गाबहादुर वि.क.को घटनामा संलग्नता छ, छैन ? सो सम्बन्धमा मलाई केही थाहा भएन भन्‍ने बेहोराको घटना विवरण कागज गर्ने हुमा कँडेलले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र । 

वारदातको मितिमा म कुश्मा बजारमा 

थिएँ । घटनाको बारेमा मैले फेसबुक तथा न्यूजबाट थाहा पाएको हुँ । घटनास्थलमा म गएको होइन । नवजात शिशु मृत जन्मेको हो वा जिउँदै जन्मेको हो सो सम्बन्धमा मलाई केही थाहा भएन । गाउँमा नवजात मृत शिशु भेटियो भन्‍ने थाहा पाएको हुँ । प्रतिवादीहरूको सामीप्यता थियो भन्‍ने कुरा घटनापछि मात्र थाहा भएको हो । घटनामा दुर्गाबहादुर वि.क.को संलग्नता थियो थिएन मलाई थाहा भएन भन्‍ने बेहोराको वस्तुस्थिति मुचुल्काको कागज गर्ने प्रकाश रेग्मीले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

मैले अनुसन्धानको क्रममा गरेको कागजमा भएको बेहोरा तथा सहीछाप मेरो हो । वारदातको मितिमा म कुश्मा बजारमा थिएँ । घटनाको बारेमा मलाई गाउँलेले फोनमार्फत भनेपछि थाहा पाएको हुँ । बच्चा मृत अवस्थामा रहेको स्थानमा म गएको होइन । नवजात शिशु मृत जन्मेको हो वा जिउँदै जन्मेको हो ? सो सम्बन्धमा मलाई केही थाहा भएन । यी प्रतिवादीहरू अम्बिका कँडेल र दुर्गा बहादुर वि.क.को केही सामीप्यता थियो थिएन ? सो सम्बन्धमा मलाई केही थाहा भएन भन्‍ने बेहोराको वस्तुस्थिति मुचुल्काको कागज गर्ने विष्णु रिजालले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

मेरो घरबाट अम्बिका कँडेल र दुर्गा बहादुर वि.क.को घर जान १० मिनेट जतिको बराबरी दुरी छ । मैले प्रतिवादीहरू अम्बिका कँडेल र दुर्गाबहादुर वि.क.को बिच सामीप्यता भएको कहिल्यै देखिन । एक्‍कासि बच्चा आफ्नै जेठाबाको छोराको घरको करेसामा फालेको देखेकी हुँ । बच्चा मारेर फालेको भन्‍ने विषयमा केही थाहा भएन । मैले प्रतिवादी दुर्गाबहादुर वि.क. र अम्बिका कँडेल सँगै हिँडेको 

देखिनँ । दुर्गाबहादुर अपाङ्ग पनि छ । निजलाई अभियोग मागबमोजिम सजाय हुनुपर्ने होइन भन्‍ने बेहोराको प्रतिवादी दुर्गाबहादुर वि.क.को साक्षी सेती वि.क.ले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

अनुसन्धानको क्रममा मैले गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । मृत शिशुको लास मेरो घरको करेसामा देखेको हुँ । हामीले प्रहरीलाई खबर गरेर प्रहरी आइपुग्ने बेलासम्म लासमा कमिला लागेको थियो । को कसको कर्तव्यबाट मारी फालेका हुन् मलाई सो सम्बन्धमा केही थाहा भएन । अरू सबै कुरा प्रहरीको अनुसन्धानबाट थाहा जानकारी भएको हो । घटना हुनुभन्दा पहिला यी दुर्गा बहादुर वि.क. र अम्बिका कँडेलबिच उठबस र सामीप्यता देखेको थिइनँ भन्‍ने बेहोराको प्रहरीमा कागज गर्ने बाबुराम कँडेलले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र । 

मेरी छोरी अम्बिका कँडेलको जन्म मिति २०५९।४।१५ हो । अम्बिका कँडेलले जिउँदो बच्चा जन्माएको वा मरेको बच्चा जन्मेको भन्‍ने सम्बन्धमा मलाई केही थाहा भएन भन्‍ने बेहोराको प्रतिवादी अम्बिका कँडेलको साक्षी भुमिराज कँडेलले सुरू पर्वत जिल्ला अदालतमा आई गरेको बकपत्र ।

प्रतिवादी अम्बिका कँडेलले अर्का प्रतिवादी दुर्गाबहादुर वि.क. सँगको अवैध गर्भ बोकी निजले भनेबमोजिम मास पुगेको जीवित शिशु जन्माई मारेको शंकारहित तवरले पुष्टि हुन आएकाले निज प्रतिवादी अम्बिका कँडेललाइ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.विपरीत १३(३) नं.बमोजिमको कसुरमा सोही महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई उमेर सोह्र वर्ष, कच्चा उमेरको अवस्था, साबिती बयान गरी अदालतको प्रक्रियामा समेत सहयोग गरेको र लोकलज्जाबाट बच्नको लागि अवैध सम्बन्धबाट जन्मन गएको शिशुलाई हत्या गरेको अवस्थासमेत देखिएकाले ऐजन ऐनको १३(३) नं. को सजाय गर्दा चर्को पर्ने देखिई मुलुकी ऐन अ.बं. को १८८ नं. बमोजिम १०(दश) वर्ष कैद हुने रायसमेत साधक जाहेर गर्ने र प्रतिवादी दुर्गा बहादुर वि.क.का हकमा विचार गर्दा निजले अधिकार प्राप्‍त अधिकारीसमक्ष गरेको बयानमा कसुर गरेकोमा स्वीकार गरी बयान गरेको, प्रतिवादी अम्बिका कँडेलले निज र प्रतिवादी दुर्गाबहादुर वि.क.का बिचमा अवैध शारीरिक सम्पर्क भई गर्भ रहन गएको र बच्चा जन्मेपछि घाँटी थिची मारी जंगलतिर फालिदिनु भनी भनेको कुरा अधिकार प्राप्‍त अधिकारीसमक्ष बयान गरी सोही बयानलाई समर्थन हुने गरी अदालतमा आई बयान गरेको, निज प्रतिवादी दुर्गाबहादुर वि.क.ले शारीरिक सम्पर्क नगरेको भए किशोरी महिलाले अनाहकमा त्यस्तो आरोप लगाउनुपर्ने अन्य कारण भएको नदेखिएको, निज प्रतिवादी दुर्गा बहादुर वि.क. बाहेक अन्य व्यक्तिसँग प्रतिवादी अम्बिका कँडेलको शारीरिक सम्पर्क वा यौन सम्पर्क हुने गरेको थियो भनी मौकामा बुझिएका र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले लेखाउन सकेको नदेखिएकोले निज प्रतिवादी दुर्गाबहादुर वि.क. र प्रतिवादी अम्बिका कँडेलका बिचमा अवैध शारीरिक सम्पर्क भई रहन गएको गर्भबाट जन्मेको शिशु मार्न निज प्रतिवादी दुर्गाबहादुर वि.क.ले वचन दिएको शंकारहित तवरले पुष्टि हुन आयो । निज प्रतिवादी दुर्गाबहादुर वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.विपरीत १३(४) नं.बमोजिमको कसुरमा निजलाई सोही महलको १३(४) नं.बमोजिम जन्मकैद हुने ठहर्छ भनी सुरू जिल्ला अदालत पर्वतबाट मिति २०७५।०२।२२ मा भएको फैसला ।

प्रतिवादी दुर्गाबहादुर वि.क. ले आफू वारदात स्थलमा उपस्थित भएर कुनै काम क्रिया गरेको भनी विपक्षी नेपाल सरकारको तर्फबाट दाबी लिन र पुष्टि गर्न नसकिएको, शिशु मार्नका लागि कुनै वचन दिनुपर्ने कारणसम्म नरहेको अवस्थामा वचन दिएको भन्‍ने सहअभियुक्त अम्बिका कँडेलको बयानलाई अदालतबाट गलत तर्क गरी व्याख्या गरिएको, प्रमाण ऐन, २०३१ को दफा २५अनुसार वादी दाबी पुष्टि हुने प्रमाणको भार वादी पक्षलाई रहेको अवस्थामा वादी नेपाल सरकारले त्यस्तो पुष्टि गर्न नसकेको उक्त मुद्दामा आफूले अदालतसमक्ष गरेको बयान र सामाजिक परिस्थितिसमेतलाई नबुझी, नगरे नभएको कसुरमा जन्मकैदको सजाय गर्ने गरी गरिएको सुरू जिल्ला अदालत पर्वतको फैसला बदरभागी भएकाले त्यसलाई उल्टी गरी न्याय इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी दुर्गाबहादुर वि.क. ले उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा मिति २०७५।०४।२५ गते पेस गरेको पुनरावेदनपत्र ।

प्रतिवादीहरू दुर्गा बहादुर वि.क.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैद भएको, प्रतिवादी अम्बिका कँडेललाइ ऐ. ऐनको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद भएकोमा प्रतिवादी दुर्गाबहादुर वि.क. को पुनरावेदन परेको, प्रतिवादी अम्बिका कँडेलको पुनरावेदन परेको नदेखिँदा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४०(२) बमोजिम सर्वस्वसहित जन्मकैद नहुने कानूनी व्यवस्था र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४४(२) बमोजिम प्रतिवादीहरूमध्ये कसैको पुनरावेदन परेको कसैको नपरेको भई तल्लो अदालतको फैसला फरक पर्ने देखिएमा पुनरावेदन नगर्ने प्रतिवादीको हकमा समेत कारण खुलाई फैसला गर्नुपर्दछ भन्‍ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा सुरू पर्वत जिल्ला अदालतको फैसला सजाय निर्धारण तथा कार्यान्वयनको हकमा विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४०(३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय बाग्लुङ र प्रतिवादीमध्येकी अम्बिका कँडेललाइ सूचना दिई नियमानुसार पेस गर्नु भन्‍ने उच्च अदालत पोखरा, बाग्लुङ इजलासको मिति २०७५।९।२५ को आदेश ।

प्रतिवादी दुर्गाबहादुर वि.क. लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैद र प्रतिवादीमध्येकी अम्बिका कँडेललाइ ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई सुरू पर्वत जिल्ला अदालतबाट मिति २०७५।२।२५ मा भएको फैसलाउपर प्रतिवादी अम्बिका कँडेलका नाममा अदालतबाट जारी भएको ७० दिने पुनरावेदनको म्याद निजले मिति २०७५।४।१४ मा हातैमा बुझी म्यादभित्र पुनरावेदन दर्ता नगरी बसेको देखिँदा निजको हकमा साधकको रोहबाट मुद्दा दर्ता गरी नियमानुसार गरी पेस गर्नु भन्‍ने उच्च अदालत पोखरा, बाग्लुङ इजलासको मिति २०७५।१०।८ को आदेश । 

पर्वत जिल्ला अदालतबाट प्रतिवादी दुर्गाबहादुर वि.क. को हकमा मिति २०७५।२।२२ मा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने गरी भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई निज दुर्गाबहादुर वि.क. लाई ऐ. ऐन ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ । प्रतिवादीमध्येकी अम्बिका कँडेलले लोकलाजबाट बच्नका लागि बच्चा मारेको कुरालाई अधिकार प्राप्‍त अधिकारी एवं अदालतमा समेत उपस्थित भई अभियोजनलाई अनुसन्धान गर्ने कार्यमा सहयोग गरी आएको देखिँदासमेत निजको तर्फबाट पुनरावेदन नपरेको भए तापनि मुलुकी ऐन, अ.बं. २०५ नं.बमोजिम सुरूको फैसला निजको हकमा समेत हेर्न सक्ने देखिँदा सुरूबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद ठहर्‍याई मिति २०७५।२।२२ मा भएको फैसला मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४०(२) बमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी सजाय गरिने छैन भन्‍ने कानूनी व्यवस्था भएबमोजिम पर्वत जिल्ला अदालतको सो फैसला सो हदसम्म केही उल्टी भई निज प्रतिवादी अम्बिका कँडेललाइ जन्मकैद मात्र हुने ठहर्छ । अ.बं. १८८ को हकमा विचार गर्दा प्रतिवादी अम्बिका कँडेलले अपराध गर्दाको परिस्थिति, निजको उमेर, पारिवारिक अवस्था र अपराधको अनुसन्धानको क्रममा अभियोजन कार्यलाई सहयोग मद्दत गरी आएको देखिँदासमेत निज प्रतिवादीलाई ७ (सात) वर्ष कैद सजाय गर्न न्यायोचित र उपयुक्त देखिँदा सोबमोजिम सजाय हुन अ.बं. १८८ नं.बमोजिम साधक जाँचका लागि सर्वोच्व अदालतमा जाहेर गर्नु भन्‍नेसमेत बेहोराको उच्च अदालत पोखरा, बाग्लुङ इजलासको मिति २०७५।१०।२८ गतेको फैसला । 

सुरू पर्वत जिल्ला अदालतबाट अभियोग मागदाबीबमोजिम कसुर ठहर गरी ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदसमेत गरिएका प्रतिवादी दुर्गाबहादुर वि.क. लाई कम सजाय गर्ने गरी भएको उच्च अदालत पोखरा, बाग्लुङ इजलासको उक्त फैसलामा सम्बद्ध कानूनको व्याख्या र प्रतिपादित सिद्धान्तको पालनामा गम्भीर त्रुटि रहेको हुँदा सो फैसला बदर गरी प्रतिवादी दुर्गाबहादुर वि.क.लाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट मिति २०७६।१।३० मा यस अदालतमा परेको पुनरावेदन पत्र । 

आफूले जातक बच्चा मार्नुपर्ने कुनै कारण नभएको र आफूले नमारेको र मार्नका लागि कोही कसैलाई वचन पनि नदिएको, कुनै षड्यन्त्र नगरेको अवस्थामा वचन दिएको र बच्चा मार्नका लागि उपाय सिकाई बच्चा मार्नका लागि षड्यन्त्र गरी ज्यान मार्न लगाउने कार्य गरेको भनी गर्दै नगरेको अपराधको सजाय भोग्नुपर्ने गरी मिति २०७५।१०।२८ मा उच्च अदालत पोखरा बाग्लुङ इजलासबाट भएको फैसला तथ्य, कानून, प्रमाण र न्यायका मान्य सिद्धान्तविपरीत हुँदा उक्त फैसलालाई उल्टी गरी अभियोग दाबीबाट अलग फुर्सद र सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क.को तर्फबाट यस अदालतमा मिति २०७६।२।८ मा परेको पत्र पुनरावेदन पत्र ।

साथै, प्रतिवादी अम्बिका कँडेलको हकमा पुनरावेदनका लागि साधकको रोहमा दर्ता भएको ।

यसमा उच्च अदालत पोखरा बाग्लुङ इजलासको मिति २०७५।१०।२८ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट प्रतिवादी दुर्गाबहादुरको हकमा सुरू फैसला बदर गरी प्रतिवादीलाई दाबीबमोजिम सजाय गरिपाउँ भनी पुनरावेदन परेको र यसै लागाउको ०७५-CR-२३७९ को मुद्दामा प्रतिवादी दुर्गाबहादुर वि.क.ले उल्लिखित फैसला बदर गरिपाउँ भनी पुनरावेदन दर्ता गरेको देखिँदा नेपाल सरकारको तथा प्रतिवादीको पुनरावेदन वादी प्रतिवादीहरूलाई झिकाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ परस्पर सुनाइ नियमानुसार पेस गर्नु भन्‍ने मिति २०७७।४।१६ मा भएको यस अदालतको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ नायब महान्यायाधिवक्ता डा. श्री टेक बहादुर घिमिरेले प्रतिवादी दुर्गाबहादुर वि.क.ले सहप्रतिवादी अम्बिका कँडेललाइ निजहरूको शारीरिक सम्बन्धबाट जन्मिएको नवजात शिशुको ज्यान मार्न सिकाई वचन दिई शिशुको ज्यान मारेको साथै प्रतिवादी अम्बिका कँडेलले सहप्रतिवादी दुर्गा बहादुर वि.क. लाई झुटो आरोप लगाउनुपर्ने कुनै कारण मिसिल संलग्न कागजातबाट नदेखिएको अवस्थामा यस मुद्दाका मुख्य प्रतिवादी दुर्गा बहादुर वि.क. नै हुन् भन्‍नेतर्फ नजरअन्दाज गरी मुख्य प्रतिवादीलाई कम सजाय गर्ने गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेकोले यी प्रतिवादीहरूलाई सुरू मागदाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नु भएको बहस सुनियो । 

पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क. को तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ता श्री गोपालप्रसाद शर्माले प्रतिवादी दुर्गाबहादुर वि.क. ले वारदातस्थलमा उपस्थित भएर कुनै काम क्रिया गरेको भनी विपक्षी नेपाल सरकारको तर्फबाट दाबी लिन र पुष्टि गर्न नसकिएको, शिशु मार्नका लागि कुनै वचन दिनुपर्ने कारणसम्म नरहेको अवस्थामा वचन दिएको भन्‍ने सहप्रतिवादी अम्बिका कँडेलको बयानलाई मात्र आधार मानी प्रतिवादी दुर्गा बहादुर वि.क.लाई नगरे नभएको कसुरमा ज्यानसम्बन्धी महलको १६ नं.बमोजिम सजाय गरेको उच्च अदालतको फैसला उल्टी गरी न्याय इन्साफ गरिपाउँ भनी गर्नु भएको बहससमेत सुनियो । 

दुवै पक्षतर्फका विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिर सुनी साथै अम्बिका कँडेलको हकमा साधक जाँचका लागि पेस हुन आएको मिसिलसमेत अध्ययन गर्दा उच्च अदालत पोखरा, बाग्लुङ इजलासको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकार र अर्का पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क. को पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन साथै प्रतिवादी अम्बिका कँडेलको हकमा साधक रायको जाँच मिलेको छ, छैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, पर्वत जिल्ला कुश्मा न.पा. वडा नं. १ सिधालीमा प्रतिवादी अम्बिका कँडेलको सहअभियुक्त दुर्गाबहादुर वि.क. सँगको अवैध यौन-सम्पर्कबाट गर्भधारण भएको र त्यस्तो यौन-सम्पर्क गरी गर्भधारण भएको कुरा पटक पटक प्रतिवादीलाई जानकारी गराउँदा प्रतिवादी दुर्गाबहादुर वि.क.ले बच्चालाई समय पुगी जन्मेपछि मारी कोही कसैले थाहा नपाउने गरी जंगलमा फालिदिनु भनी वचन दिई मार्न लगाएकोले निज प्रतिवादी अम्बिका कँडेलले पनि सोहीअनुसार २०७४।५।१६ गते राति अन्दाजी २४:३० बजेको समयमा पुरूष जातको नवजात शिशु जिउँदै जन्माई जन्मिएपश्‍चात् रून कराउन थालेपछि शिशुको नाभी चुँडाली हातले केहीबेर मुख थिची बच्चा रून कराउन छोडेपछि बाबुराम कँडेलको घरको पछाडि करेसामा फालिदिएकोले निज अम्बिका कँडेललाइ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद र अर्का सहअभियुक्त दुर्गाबहादुर वि.क.लाई सोही महलको १३(४) नं.बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग मागदाबी रहेको देखियो । 

३. प्रतिवादी अम्बिका कँडेललाइ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई निजको उमेर कसुर गरेको परिवेशलाई हेर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को सजाय चर्को पर्ने देखिई मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १०(दश) वर्ष कैद हुने र सहप्रतिवादी दुर्गाबहादुर वि.क.को हकमा १३(४) नं.बमोजिम जन्मकैद सजाय हुने ठहर गरी सुरू पर्वत जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई प्रतिवादी अम्बिका कँडेललाइ ७(सात) वर्ष कैद र सहप्रतिवादी दुर्गाबहादुर वि.क. लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं.बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर गरेको उच्‍च अदालत पोखरा, बाग्लुङ इजलासको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादी दुर्गा बहादुर वि.क.को यस अदालतसमक्ष पुनरावेदन परेको देखियो । अर्का, प्रतिवादी अम्बिका कँडेलको पुनरावेदन नपरेको कारण साधक जाँचको निमित्त यस अदालतमा साधक सदरका लागि पेस भएको देखियो ।

४. अब, पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा प्रतिवादी दुर्गा बहादुर वि.क.ले निज र सहप्रतिवादी अम्बिका कँडेलको शारीरिक सम्पर्कबाट जन्मिएको जातकलाई मार्न सिकाई वचन दिई शिशुलाई मारेको हुँदा मुद्दाको मूल प्रतिवादी दुर्गाबहादुर वि.क. नै हुन् । तसर्थ, निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम नै सजाय हुनुपर्छ भनी र पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क.ले केवल शंका र अनुमानको भरमा आफूलाई अभियोग लगाइएको र आफूले जातक मार्नुपर्ने कुनै कारण नभएको र आफूले जातकलाई मार्नको लागि कोही कसैलाई वचन पनि नदिएको, कुनै षडयन्त्र नगरेकोले अभियोग मागदाबीबाट सफाइ दिलाइपाउँ भनी मुख्य जिकिर लिएको देखिन्‍छ । 

५. अब, पुनरावेदन जिकिरतर्फ विचार गर्दा मिति २०७४।०५।१६ मा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. १ सिधाली स्थित बाबुराम कँडेलको घरको करेसामा नवजात शिशुको लास मृत अवस्थामा फेला परेको भन्‍ने स्थानीय बासिन्दाको सूचनाको आधारमा वारदातस्थलमा पुगी सोधपुछ गर्दा प्रतिवादी अम्बिका कँडेल र सहप्रतिवादी दुर्गाबहादुर वि.क.को शारीरिक सम्पर्कबाट गर्भ बसी उक्त नवजात शिशुको जन्म भएको र जन्मेपश्‍चात् प्रतिवादी दुर्गाबहादुर वि.क.ले भनेबमोजिम अर्का प्रतिवादी अम्बिका कँडेलले नवजात शिशुलाई जन्म दिई त्यसपश्चात् हत्या गरेको हुँदा प्रतिवादी अम्बिका कँडेल र सहप्रतिवादी दुर्गाबहादुर वि.क. लाई नियन्त्रणमा लिइएको र निजहरूलाई आवश्यक कारबाहीको लागि यसै प्रतिवेदनको साथ दाखिला गरेको भन्‍ने प्रहरी प्रतिवेदनबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्‍छ । 

६. प्रतिवादी अम्बिका कँडेललाइ बच्चा जन्मिएपछि मार्नु भनेको होइन । निजसँग मेरो शारीरिक सम्पर्क भएको छैन । मलाई झुट्टा आरोप लगाइएको हो भनी अदालतमा बयान गर्ने यी पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क.ले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी अम्बिका कँडेल र निज प्रतिवादीबिच प्रेम सम्बन्ध रही दुवैको सहमतिमा शारीरिक सम्पर्क भई गर्भ बस्न गएकोले प्रतिवादी अम्बिका कँडेलले सो गर्भ रहेको जानकारी गराएपश्‍चात् निजलाई बच्चा जन्मेपछि मारी कसैले थाहा नपाउने गरी जँगलमा लगी फालिदिनु भनेको हो र अम्बिकाले मैले भनेबमोजिम नै नवजात शिशुलाई कर्तव्य गरी मारेकी हुन् भनी आरोपित कसुरमा साबिती रहेको देखिन्‍छ । 

७. उक्त, बेहोरालाई समर्थन गर्ने गरी आफ्नो र दुर्गाबहादुर वि.क. बिच प्रेम सम्बन्ध रहेको र सोही क्रममा आपसी सहमतिमा शारीरिक सम्पर्क भई गर्भ बसेको र बारम्बार सोको जानकारी दुर्गा वि.क.लाई गराउँदासमेत निजले पेटको बच्चालाई मास पुगेपछि जन्माई कोही कसैले थाहा नपाउने गरी मारी फालिदिनु भनी वचन दिएकाले मिति २०७४।५।१६ गते राति अन्दाजी २४:३० बजेको समयमा पेट दुखेको हुँदा शौचालयमा गई रातको अन्दाजी २:०० बजेको समयमा शौचालयभित्र मास पुगेको नवजात पुरूष जातको शिशु जिउँदै जन्मिएको र जन्मेपश्‍चात् रून कराउन थालेपछि दुर्गा बहादुर वि.क. ले भनेबमोजिम नै निज शिशुको नाभी चुँडाली हातले केहीबेर मुख थिची बच्चा रून कराउन छाडेपछि मर्‍यो भनी कोही कसैले थाहा नपाउने गरी घरमा आई सुतेकी हुँ भनी प्रतिवादी अम्बिका कँडेलले अधिकारप्राप्‍त अधिकारी र अदालतसमक्ष बयान गरेको देखिन्छ । 

८. घटनास्थल लास जाँच मुचुल्कामा पनि बाबुराम कँडेलको घरको पछाडिको उत्तरपट्टि करेसामा मृतक नवजात मास पुगेको छोरा जातको शिशुको लास रहेको, उक्त मृत शरीरमा कमिला र माटो लागेको अवस्थामा देखिएको साथै, घटनास्थल मुचुल्कामा अम्बिका कँडेलले मास पुगेको नवजात छोरा जातको शिशु जन्माई मारेको भनी आफ्नै घरको शौचालयभित्र देखाइएको चार किल्लासहितको विवरण, घटनास्थलमा प्रतिवादी अम्बिका कँडेलले बच्चा जन्माउँदा लगाएको कुर्ता र सुरूवाल लुकाइ राखेको अवस्थामा बरामद भएको भन्‍ने बरामदी मुचुल्का, Cause of Death मा Haemorrhagic Shock due to Haemorrage from umbilical Cord. भन्‍ने शव परीक्षण प्रतिवेदन र मौकामा बुझिएका बाबुराम कँडेल, हुमा कँडेलको मौकाको कागज र प्रहरी प्रतिवेदक निर्मल गाहा, वस्तुस्थिति मुचुल्काको कागज गरिदिने प्रकाश पुन, प्रकाश रेग्मी र विष्णु रिजालसमेतको मौकाको कागज एवं अदालतको बकपत्रसमेतबाट वारदात घटेको पुष्टि हुने देखिन्छ र निज प्रतिवादी अम्बिका कँडेलले आफैँले स्वीकार गरेको अवस्था साथै घटनास्थल लास जाँच प्रकृति मुचुल्का, घटनास्थल मुचुल्का, घटनास्थलमा खडा गरिएको बरामदी मुचुल्कासमेतले निज प्रतिवादी अम्बिका कँडेलको मौका र अदालतको बयानलाई समर्थन नै गरेको देखिँदा निज प्रतिवादी अम्बिका कँडेलले नवजात शिशुको कर्तव्य गरी हत्यामा संलग्नता रहेको पुष्टि भएको देखिन्छ । 

९. जहाँसम्म घटनामा संलग्न नभएको भन्दै त्यसतर्फ अनभिज्ञता प्रकट गरी नवजात शिशुलाई मार्नेमा आफ्नो संलग्नता नभएको हुँदा सजाय पाउनुपर्ने होइन भन्‍ने पुनरावेदक प्रतिवादीको जिकिर रहेको छ त्यसतर्फ हेर्दा, यी पुनरावेदक प्रतिवादी अदालतसमक्ष आरोपित कसुरमा इन्कार रहेको भए तापनि अधिकारप्राप्‍त अधिकारीसमक्ष मौकामा बयान गर्दा अर्का प्रतिवादी अम्बिका कँडेल र निजबिच प्रेमसम्बन्ध रहेको र आपसी सहमतिमा शारीरिक सम्पर्क भई अम्बिका कँडेलको गर्भ रहन गएको बारेमा आफूलाई जानकारी भएपछि बच्चालाई जन्माई मार्न वचन दिएको हो भनी आरोप स्वीकार गरी बयान गरेको देखिन्‍छ । यी पुनरावेदकले अदालतसमक्ष बयान गर्दा अधिकारप्राप्‍त अधिकारीसमक्षको साबिती बयान स्वेच्छाको होइन चरम यातना दिई बयान गराइएको हो भनी अदालतको बयानमा जिकिर लिए पनि मौकाको बयानमा भएको सहीछापलाई निजहरूले अन्यथा भन्‍न नसकी शरीरमा देखिने घाउचोट केही नभएको भनी लेखाएको समेत देखिन्छ र यातना दिएउपर कुनै उजुरी गरेको पनि देखिँदैन । यातनाको आधारमा मौकाको साबितीलाई खण्डन वा अस्वीकार गर्ने पक्षले तत्सम्बन्धी विश्‍वसनीय आधार देखाउन सक्नुपर्छ । मौकाको साबिती अन्य प्रमाणहरूबाट समर्थित रहेको अवस्थामा सो अन्यथा प्रमाणित नभएसम्म त्यस्तो साबितीलाई प्रमाणमा लिन सकिने नै हुन्छ।

१०. विवाद निरूपणका क्रममा जहाँ प्रत्यक्ष प्रमाणको अभाव हुन्छ, त्यस्तोमा अन्य परिस्थितिजन्य प्रमाणको मूल्याङ्कनबाट निष्कर्ष निकाल्नुपर्ने हुन्‍छ । सबै आपराधिक घटनामा प्रत्यक्षदर्शी साक्षी हुनुपर्दछ भन्‍ने पनि हुँदैन । यस स्थितिमा मुद्दामा प्रतिवादीहरूले गरेको बयान, घटनास्थल एवम् मृतकको लास प्रकृति मुचुल्का, लास जाँच प्रतिवेदन (POST MORTEM REPORT) र अन्य सम्बद्ध प्रमाणहरूको विश्‍लेषण, विवेचना एवं मूल्याङ्कन गरी न्यायोचित अनुमान गर्नुको विकल्प हुँदैन । सो सन्दर्भमा विचार गर्दा यी प्रतिवादीलाई अर्का सहप्रतिवादी अम्बिका कँडेलले यी प्रतिवादीको कारण गर्भ रहन गएको र निजले वचन दिएबमोजिम नै नवजात शिशुको कर्तव्य गरी मारेको हुँ भनी मौका र अदालतमा बयान गरेकी र निज अम्बिका कँडेलको बयानलाई घटनास्थल एवं मृतकको लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, लास जाँच प्रतिवेदन (POST MORTEM REPORT) र अन्य सम्बद्ध प्रमाणहरूले पुष्टि गरिरहेको देखियो । साथै, प्रतिवादी अम्बिका कँडेलले झुटो आरोप लगाउनुपर्ने कुनै कारण प्रतिवादी दुर्गाबहादुर वि.क.ले उल्लेख गर्न सकेको देखिएन । यस स्थितिमा प्रस्तुत वारदातमा प्रत्यक्षदर्शीको अभाव रहे पनि मिसिल संलग्न संकलित प्रमाणहरूको विश्‍लेषणबाट पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क. ले दिएको वचनअनुरूप नै अर्का प्रतिवादी अम्बिका कँडेलले नवजात शिशुको कर्तव्य गरी मारेको पुष्‍टि हुन आएकोले निजको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

११. प्रतिवादी अम्बिका कँडेलको हकमा निर्णयतर्फ विचार गर्दा, नेपालको संविधानको धारा, ३८ ले महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने छ भनी व्यवस्था गरिएकोमा उक्त हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नका लागि साथै मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनका लागि आवश्यक व्यवस्था गर्न "सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५" बनाई लागु गरिएको पाइन्छ । उक्त ऐनअन्तर्गत प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य अधिकार, गर्भवती सेवा प्राप्‍त गर्ने अधिकार साथै प्रसुति सेवा र आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा प्रदान गर्नुपर्ने व्यवस्था भएको पाइन्छ । यसरी संवैधानिक तथा कानूनी व्यवस्थाले प्रसूति सेवालाई अत्यावश्यक सेवा मानेको अवस्थामा विभिन्न सरकारी वा सामुदायिक स्वास्थ्य संस्थाहरूमा बच्चा जन्माउन सक्ने वा सुँडिनीको सहायताबाट बच्चा जन्माउने प्रचलनसमेत रहेको वा अन्य विभिन्न सुविधासाथ सहजरूपमा बच्चा जन्माउन सक्ने अवस्थामा प्रतिवादी अम्बिका कँडेलले लामो समय सम्म गर्भ लुकाइ, कलिलो उमेरमा कसैको साथ र सहयोगबिना, डर त्रास लोकलाजको अवस्थामा मानसिक पीडा झेल्दै र अन्तरजातीय सम्बन्धको थप पीडाको बिचमा एक्लै कसैको सहायताबेगर शौचालय जस्तो असुरक्षित स्थानमा बच्चा जन्माएको देखिन्छ । सामाजिक तिरस्कार तथा लोकलज्जाबाट बच्न कसुरजन्य कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले हत्या गरेको तथा प्रारम्भदेखि नै कसुर स्वीकार गरी न्यायिक प्रक्रियालाई सहयोग पुर्‍याएको प्रचलित ऐन कानूनअनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी निजलाई कम कैद सजाय गर्दा पनि फौजदारी कानूनको मकसद पूरा हुने देखिन्छ ।

१२. प्रजनन स्वास्थ्यको अधिकार महिलाको मानव अधिकारको अभिन्न अंग मानिन्छ । अधिकारको दृष्टिले हेर्दा प्रजनन स्वास्थ्य महिलाको स्वास्थ्यसमेतको दृष्टिकोणबाट महत्त्वपूर्ण विषय‍ हो । महिलाको मानव अधिकारअन्तर्गत प्रजनन स्वास्थ्यको अधिकारलाई विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी घोषणापत्र, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी महासन्धि, महिला विरूद्धको सबै किसिमका भेदभाव उन्मूलन (हटाउने) सम्बन्धी महासन्धि, बालअधिकारसम्बन्धी महासन्धिलगायतले कुनै न कुनै रूपमा सम्बोधन गरेको पाइन्छ । महिलाको जीवन, स्वतन्त्रता र सुरक्षाको सम्बन्धमा मानव अधिकारसम्बन्धी विश्‍वव्यापी घोषणा पत्रको धारा ३, राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी महासन्धिको धारा ६.१ र ९.१, बाल अधिकारसम्बन्धी महासन्धिको धारा ६.१ र ६.२ ले व्यवस्था गरेको पाइन्छ । महिलाको स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी हकको विषयमा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको धारा १०.२, धारा १२.१ र धारा १२.२ अनि महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, सन् १९७९ को धारा १० , ११.२ , ११.३ , १२.१ र १४.२ ले थप विशेष सम्बोधन गरेको पाइन्छ । साथै, गर्भको बच्चा जन्माउने वा नजन्माउनेसम्बन्धी अधिकारको सम्बन्धमा उक्त महासन्धिको धारा १६.१ ले विशेष व्यवस्था गरेको पाइन्छ । यसरी अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी महासन्धिहरूले प्रजनन स्वास्थ्यलगायतका महिलाको अधिकारलाई मान्यता दिइरहेको देखिने र त्यस्ता महासन्धि एवं घोषणापत्रमा नेपालले अनुमोदन र समर्थन जनाइरहेको अतिरिक्त नेपालको संविधानले प्रजनन स्वास्थ्यको अधिकारको व्यवस्था गरेको र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ समेत जारी गरेको अवस्था देखिन्‍छ । 

१३. प्रस्तुत, मुद्दा जातक हत्यासँग सम्बन्धित रहेकोले जातकको शाब्दिक अर्थ हेर्दा, शिशु भन्‍ने 

हुन्छ । जिउँदो वा मृत अवस्थामा जन्मेको नाबालकलाई जातक भन्‍ने गरिन्छ । प्रज्ञा नेपाली बृहत्‌ शब्दकोशले पनि जातकको अर्थ भर्खर जन्मेको बालक; नवजात शिशु हुन्छ भन्‍ने व्यवस्था गरेको छ। नवजात शिशुको हत्या गर्ने कसुरलाई जातक हत्या भनिन्‍छ । आधुनिक प्रचलित भाषामा यस्तो कसुरलाई नवजात शिशु हत्या पनि भनिन्छ । मुलुकी ऐन, वि.सं. १९९० ले बाल हत्या (Infanticide) लाई जातकमारा भनी नामकरण गरी उक्त ऐनको छुट्टै महलमा व्यवस्था गरेकोमा पछि मुलुकी ऐन, वि.सं. २०२० ले पनि यसलाई ज्यानसम्बन्धी महलको १८ नं. मा ज्यानमाराको रूपमा व्यवस्था गरेको पाइन्छ । यसप्रकारको जातक हत्यासम्बन्धी मुद्दाहरूमा सामान्यतया: यस अदालतले उदार दृष्टिकोण राखी अदालती बन्दोबस्तको १८८ नं. प्रयोग गरी कम सजाय हुने कसुरको रूपमा हेरेको पाइन्‍छ । 

१४. बेलायतको Infanticide Act, १९३८ ले बच्चा जन्म दिएको कारण आमा मानसिक रूपमा  ठिक नभइसकेकोले आफूले जन्माएको र एक वर्ष पूरा नभइसकेको बच्चाको स्वयं आमाबाट हत्या भएमा त्यसलाई Infanticide भनी व्याख्या गरेको पाइन्छ । त्यस्तैगरी भारतको Indian Penal Code, १८६० ले पनि Infanticide को सजाय कैद वा जरिवाना वा दुवै हुने व्यवस्था गरेको पाइन्छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १८४ ले आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने भनी कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्ने गरी फाल्न परित्याग गर्न वा बेवास्ता गरी छोड्न हुँदैन र त्यस्तो कार्य गर्नेलाई कैद र जरिवानाको सजायसम्मको व्यवस्था गरेको पाइन्छ । 

१५. किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने हुँदा तथा असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोर किशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या हुनसक्ने भएकाले किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धबाट सिर्जित गर्भधारणलाई अवैध, अनैतिक भन्‍नु भन्दा पनि असुरक्षित र असावधानीपूर्वक गरिएको यौन सम्बन्धको रूपमा हेरिनुपर्दछ । यस्ता असुरक्षित वा असावधानीपूर्वक गरिएका यौन-सम्पर्कबाट भएको गर्भधारण र कुनै पनि अवस्थामा आफ्नो गर्भधारणलाई असर पर्ने गरी गरिने कार्यलाई कसुरजन्य कार्यमा राखिनु हुँदैन भन्‍ने मान्यताहरू विकसित भइरहेको प्रसङ्गमा यस्ता विषयलाई थप उदारताका साथ व्याख्या गरिनुपर्ने देखिन्छ । 

१६. “जातक हत्याको सजायको सम्बन्धमा प्रजनन स्वास्थ्यसम्बन्धी हकको दृष्टिकोणबाट हेर्दा लुकीछिपी असुरक्षित अवस्थामा बच्चा जन्माउनुपर्ने अवस्था हाम्रो सामाजिक बनावट, यौन सम्बन्धप्रति समाजको अनुदार दृष्टिकोण र कडा कानूनी व्यवस्था मात्रै होइन सुरक्षित र आत्मसम्मानपूर्वकको मातृत्वको अधिकारअन्तर्गत पनि विचार गरिनु पर्दछ । कुनै महिलाले अनिच्छित बच्चा गर्भधारणको जुनसुकै अवस्थामा पनि नजन्माउन पाउने कानूनी मान्यता विकसित भइरहेको वर्तमान अवस्थामा यस्तो कार्यलाई अधिक सजाय गर्ने मान्यता महिला स्वतन्त्रताको पक्षमा रहेको मान्‍न सकिँदैन” । 

१७. यस अदालतबाट प्र.ना.नि. होमनाथ अधिकारीसमेतको जाहेरीले वादी नेपाल सरकार विरूद्ध बाल सुधार गृह भक्तपुरमा रहेका परिवर्तित नाम थर ४४ कुश्‍मा (९) (ने.का.प. नि.नं. १०,६६५) को मुद्दामा असुरक्षित यौन सम्बन्धका कारण जुनसुकै उमेर समूहका महिलाबाट जन्मिने नाबालकलाई वा कानूनले निर्धारण गरेको बालबालिकाको उमेर समूह वा बिस वर्षभन्दा कम उमेर समूहका महिलाबाट त्यस्तो असुरक्षित यौन सम्बन्धका कारण जन्मने नाबालकको तत्काल गरिने जातक हत्या (Infanticide) का सम्बन्धमा महिलालाई हेर्ने परिवर्तित संवैधानिक, कानूनी तथा सामाजिक दृष्टिकोणमा आएको परिवर्तन, उनीहरू रहेको सामाजिक परिस्थिति तथा त्यस्तो कार्यमा संलग्न महिलाहरू क्रूर तथा अपराधी नभई सम्बन्धित पुरूष गैरजिम्मेवार भएको र लोकलज्जाका कारण त्यस्तो कार्य गर्न बाध्यात्मक अवस्था सिर्जना भई अविवाहित वा विवाहित अवस्थामा पनि बच्चा जन्मनासाथ लुकाउने, छोड्ने वा मारिदिनुपर्ने अवस्था सिर्जना भएको हुनसक्छ । यस्तो परिस्थितिमा परेका महिलाहरूले गरेको ज्यानसम्बन्धी कार्य कसुरको रूपमा मानिने भए तापनि यथासम्भव मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने र कम उमेर समूहका महिला भए उनीहरूको विकासशील अवस्थालाई मध्यनजर गरिनुपर्ने हुन्छ । एउटा परिस्थितिमा गरिएको कसुरजन्य कार्यका कारण कारागारमा राख्दा खतरनाक कसुरदारसँग सङ्गत भई सामाजिक पुनर्स्थापनामा समस्या देखिन सक्ने 

हुन्छ । यस अदालतले पनि "लोकलाज" का कारण भएका यस्ता कसुरजन्य कार्यमा यथासम्भव कम सजाय गर्ने गरेको देखिन्छ । तसर्थ, न्यायिक दृष्टिकोणले अदालतहरूले यस प्रकृतिको कसुरमा उल्लिखित आधार र कारणसहित सम्बन्धित महिलाको आत्मसम्मान, समानताको हक र समाजमा महिलाको परिवर्तित पहिचानसमेतलाई मध्यनजर गरी यस प्रकृतिको कसुरमा न्यूनतम सजाय गर्दा पनि न्यायको मकसद पूरा हुने नै देखिन्छ भन्‍ने सिद्धान्त स्थापित भई सकेको देखिन्छ ।

१८. त्यस्तै, लक्ष्मीदेवी धिक्तसमेत विरूद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको रिट निवेदन (ने.का.प. नि.नं.८४६४) मा यसै अदालतबाट प्रजनन स्वास्थ्य एवं प्रजनन अधिकारको बृहत्‌ परिवेशभित्र सन्तान जन्माउने वा नजन्माउने दुवै कुराको निर्णय पर्दछ र सोअन्तर्गत गर्भ रहिसकेको तर सन्तान उत्पादन गर्न अनिच्छित भएकोले गर्भ निरन्तर गर्न नचाहेको अवस्थामा गर्भपतन गर्ने अधिकार पनि सम्मिलित भएको मान्‍नुपर्ने भन्‍ने मान्यतालाई जोड दिएको 

पाइन्‍छ । 

१९. त्यस्तै, प्रजनन अधिकार भनेको प्रजनन गर्नै पर्ने बाध्यताको रूपमा बुझ्न मिल्दैन, प्रजनन गर्न पाउने अधिकारअन्तर्गत प्रजनन गर्न नचाहेमा सो नगर्ने पनि अधिकार सम्मिलित हुन्छ । जसरी कुनै काम गर्न पाउने अधिकारअन्तर्गत काम नगर्न पाउने स्वतन्त्रता पनि निहित रहेको मानिन्छ, त्यसरी नै प्रजनन अधिकारलाई हेर्नुपर्ने भन्‍ने थप विश्‍लेषण गरेको देखिन्‍छ । यस अदालतले सोही मुद्दामा गर्भपतन स्वास्थ्यसम्बन्धी समस्या भएको, स्वास्थ्यको हक व्यक्तिको मौलिक हक भई जीवनकै हकका रूपमा हेर्नुपर्ने र हाम्रो देशको संविधानले सामाजिक न्यायको हकसमेतलाई मान्यता दिएको साथै, राज्यको नीति निर्देशक सिद्धान्तले महिलाको हकको विशेष संरक्षण गर्ने राज्यको दायित्वको रूपमा स्वीकार गरेको हुनाले महिलाको गर्भपतनसम्बन्धी हक वा गर्भसँग सम्बन्धित समस्यालाई नितान्त निजी समस्या मानी सार्वजनिक उत्तरदायित्वबाट अलग्याउन नमिल्ने भनी सिद्धान्तहरू स्थापित भइसकेको 

पाइन्छ । प्रस्तुत मुद्दामा जातकको जन्म र त्यसको परिवेश तथा कसुर गर्ने महिलाको जीवन, स्वास्थ्य तथा प्रजनन हकसँगै कसुरजन्य कार्यलाई उदारतापूर्वक हेर्नुपर्ने देखिन्‍छ । भ्रूणको स्वतन्त्र अस्तित्व हुँदैन र त्यसको अस्तित्व भनेको आमाको गर्भभित्रै मात्र हुन्छ । त्यसैले भ्रूणको कुनै स्वार्थ मान्ने नै हो भने पनि आमाकै विरूद्ध त्यस्तो स्वार्थ बहाल रहन्छ भन्न नमिल्ने भन्‍ने सिद्धान्त लक्ष्मीदेवी धिक्त कै मुद्दामा स्थापित भइसकेको अवस्थामा कतिपय अवस्थाका कसुरहरूलाई गैर अपराधीकरण वा न्यून सजाय गर्नेसम्बन्धी; The March ८ Principles को पनि Principle १४ ले “No one may be held criminally liable on the basis that their conduct is alleged to be harmful to their own pregnancy” भन्‍ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरी जातक हत्यालाई कसुरजन्य कार्यको रूपमा सजाय गर्दा भ्रूणको निरन्तरताको अन्तर्गत हेरी महिला स्वतन्त्रता, समाजिक परिवेश र प्रजनन हकको सन्तुलनमा हेरी न्यूनतम सजाय गर्दा पनि कानूनको उद्देश्य पूरा हुने नै देखिन्‍छ । 

२०. अतः माथि विवेचित आधार, कारण र प्रमाणबाट पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क.को हकमा सुरू जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम र उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट ज्यानसम्बन्धी महलको १६ नं.बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर गरेकोमा निज प्रतिवादी दुर्गाबहादुर वि.क. ले सुरू जिल्ला अदालतमा इन्कारी बयान गरेको, घटनाको प्रत्यक्षदर्शी साक्षी नभएको, सह-अभियुक्तले पोलसम्म गरेको, अन्य तथ्यगत आधार, प्रमाण नभएकोले जातक मार्नमा निजको प्रत्यक्ष संलग्नता रहेको भन्‍ने नदेखिएको, यी प्रतिवादीको कारण गर्भ रहेको देखिएको, गर्भ रही जातक बच्चाको जन्म भई मृत्यु भएको हुँदा ज्यान मार्नमा मतलबी मात्र भन्‍ने देखिएकाले साबिक ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम २(दुई) वर्ष कैद सजाय हुने ठहर्छ ।

२१. अर्का, प्रतिवादी अम्बिका कँडेललाइ सुरू जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर भएकोमा, मिति २०७५ माघ २८ गते उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट निजको हकमा तत्कालीन मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. को परिप्रेक्ष्यमा विचार गर्दा ७ (सात) वर्ष कैद सजाय गर्न न्यायोचित र उपयुक्त देखिने राय व्यक्त गरिएकोमा प्रतिवादी अम्बिका कँडेलले “अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा साबिती बयान दिई न्यायिक प्रक्रियामा सहयोग गरेको देखिएको, निज प्रतिवादी १८ वर्ष उमेर नपुगेको नाबालिका रहेको, निजको गर्भ रही लोकलज्जाबाट बच्न जातक मारेको देखिँदा साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. मा भएको कानूनी व्यवस्था एवम् निज प्रतिवादीको कसुर गर्दाको उमेर, कसुर गर्दाको परिस्थिति, सामाजिक आर्थिक परिस्थिति र न्यायको रोहमा फौजदारी न्यायको मकसद पूरा हुने नै हुँदा यी प्रतिवादी अम्बिका कँडेललाइ २(दुई) वर्ष कैद हुने ठहर्छ”।

२२. साथै, पुनरावेदक प्रतिवादीहरू दुर्गाबहादुर वि.क. र अम्बिका कँडेल अनुसन्धानको क्रममा मिति २०७४।५।१६ मा पक्राउ परी हालसम्म (मिति २०७९।११।२१) कैदमा रहेको र निज प्रतिवादीहरूलाई लागेको कैद सजाय भुक्तान भइसकेको अवस्था देखिँदा अन्य मुद्दा वा कारणबाट यी प्रतिवादीहरूलाई थुनामा राख्‍नु नपर्ने भए प्रस्तुत मुद्दाबाट आजै थुना मुक्त गरिदिनु भनी सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउने गरी मिति २०७९।११।२१ मा संक्षिप्त आदेश भइसकेको हुनाले त्यसतर्फ थप केही बोलिरहनु परेन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रतिवादी दुर्गाबहादुर वि.क. र अर्का प्रतिवादी अम्बिका कँडेलको हकमा उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट मिति २०७५।१०।२८ मा भएको फैसला केही उल्टी भई प्रतिवादी दुर्गाबहादुर वि.क. लाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम २(दुई) वर्ष कैद सजाय हुने तथा प्रतिवादी अम्बिका कँडेललाइ साबिक मुलुकी ऐन अ.बं.१८८ नं र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. मा भएको कानूनी व्यवस्थाबमोजिम २(दुई) वर्ष कैद हुने ठहरी फैसला भएकोले सुरू पर्वत जिल्ला अदालतमा सोहीबमोजिम कैदी पुर्जी संशोधन गर्नु भनी लेखी पठाइदिनू ...........१

फैसलाको जानकारी नियमानुसार पुनरावेदक वादी नेपाल सरकारलाई दिनू ...................................२

फैसलाको नक्‍कल सरोकारवाला लिन आएमा नियमानुसार दस्तुर लिई दिनू ............................३

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मुद्दाको दायरीको लागत कट्टा गर्नु र सुरू मिसिल पर्वत जिल्ला अदालतमा र रेकर्ड मिसिल अभिलेख शाखामा बुझाइदिनू .....................................................४

 

उक्त रायमा सहमत छु । 

न्या. डा. कुमार चुडाल

 

इजलास अधिकृतः कुमार खतिवडा

अनुसन्धान सहयोगी: लक्ष्मी राना (शाखा अधिकृत)

इति संवत् २०७९ साल फाल्गुण २१ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु