निर्णय नं. ११०८७ - फैसला बदर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति: २०७७।१२।१२
०७२-CI-२०४५
मुद्दाः फैसला बदर
पुनरावेदक/वादी: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १२ जैसीदेवल हयुमत बस्ने स्व. माइला महर्जनको पत्नी अष्ट महर्जन
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २४ भोसी टोल बस्ने रामबहादुर तण्डुकारको छोरी सुश्री शान्ता तण्डुकार
मुद्दामा पक्षको रूपमा रहेका कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा निजको हकवालामध्येका पत्नी वा छोरा कसैले पनि मुद्दा सकार गर्न पाउने । यदि एकभन्दा बढी हकवालाले मुद्दा सकार गर्न चाहेको वा मुद्दा सकार गर्ने कुरामा नै विवाद रहेको अवस्थामा भने मुद्दा सकार गर्ने हक कसमा रहेको छ भनी निरूपण गरिनुपर्ने अवस्था पनि रहन सक्ने । तर मर्नेको हकमा मुद्दा सकार गर्न निजको पत्नी वा छोरा आएको र अन्य कोही कसैले दाबी विरोध नगरेको अवस्थामा मर्ने व्यक्तिको एकाघर सगोलका पत्नी वा छोराले मुद्दा सकार गरेको कार्यलाई बेरितको वा कानूनी रूपमा त्रूटिपूर्ण मान्न नमिल्ने । मर्नेका नजिकका हकवालाहरू को को छन् भनी मुद्दा हेर्ने निकायले खोजी गर्नुपर्ने र निजहरूलाई झिकाई बुझ्नुपर्ने कुनै कानूनी अनिवार्यता रहेको समेत नदेखिने ।
(प्रकरण नं. ३)
पुनरावेदक/वादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री बद्री पाठक
अवलम्बित नजिर:
सम्बद्ध कानून:
सुरू तहमा निर्णय गर्नेः
भूमिसुधार कार्यालय, काठमाडौं
पुनरावेदन तहमा फैसला गर्ने:
मा. न्या. श्री भरतप्रसाद अधिकारी
मा. न्या. श्री विष्णुदेव पौडेल
पुनरावेदन अदालत पाटन
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः
तथ्यगत बेहोरा
प्रतिवादी शान्ता तण्डुकारको नाम दर्ताको साबिक गोगंबु गा.वि.स. वडा नं. ५(क) कि.नं. १९७ क्षेत्रफल १-६-२-० जग्गा कित्ताकाट भई कायम काठमाडौं जिल्ला, गोगंबु गा.वि.स. वडा नं. ५(क) कि.नं. ७५२ को क्षेत्रफल ०-१५-०-० जग्गाको मेरा स्व.पति माइला महर्जन दर्तावाला मोही रहनुभएकोमा निज २०५४।१२।७ मा परलोक हुनु भई निजको मृत्युपश्चात् मोहीको हैसियतले मैले उक्त जग्गा जोत कमाई गरी जग्गाधनीलाई वर्षैपिच्छे कुत बाली तिरी बुझाई आइरहेकी छु । मैले सो जग्गाको मोही नामसारी गरिपाउन तथा मोही र जग्गाधनीबिच बाँडफाँट गरी मोही लगत कट्टा गरिपाउन भनी शान्ता तण्डुकारउपर मुद्दा दायर गरेको, सो मुद्दा हालसम्म विचाराधीन भई २०६१ सालदेखि नै तारेखमा बसी आउँदा निर्णय हुन बाँकी नै रहेको अवस्थामा थियो । प्रतिवादी शान्ता तण्डुकारले कि.नं. ७५२ को जग्गाधनी पुर्जा लिँदा म मोहीलाई भूमिसम्बन्धी ऐनको दफा ८ बमोजिम जानकारी दिनुपर्नेमा सो नगरी विपक्षी शान्ता तण्डुकार र मेरा पति माइला महर्जनका बिचमा २०५१ सालको बालीमा परेको बाली भराई मोही निष्कासन मुद्दा चल्दा-चल्दै माइला महर्जनको मृत्यु भएकोले निजको छोरा श्याम महर्जनले मुद्दा सकार गरी निजहरू एकआपसमा मिली पति स्वर्गीय हुनु भएपश्चात मोहियानी हकको जग्गा मैले जोती कमाई आएको सम्बन्धमा विपक्षीहरूलाई थाहा हुँदाहुँदै मेरो कुनै सहमति मन्जुरी नलिई तह-तह मुद्दा लडी मलाई प्राप्त हुने मोहियानी हकबाट वञ्चित हुने गरी सर्वोच्च अदालतबाट समेत मिति २०६६।५।१२ मा फैसला गराएका रहेछन् । सो फैसलाले मेरो हक हितमा प्रत्यक्ष असर परेकोले उक्त फैसला बदर गरी मेरो मोहियानी हक सुरक्षित गरिपाउन अ.बं. ८६ नं. अन्तर्गत फिराद गरेको छु । भूमि सुधार कार्यालय, काठमाडौंको मि.नं. ८।०६१।६२ को बाली भराई मोही निष्कासन मुद्दाको मिति २०६२।३।६ को फैसला, सोउपर परेको पुनरावेदनमा पुनरावेदन अदालत पाटनबाट भएको २०६३।४।२८।१ को फैसला, तथा ती दुवै फैसलालाई आंशिक उल्टी हुने ठहर्याई मोहियानी हकबाट निष्कासनसमेत हुने गरी सर्वोच्च अदालतवाट भएको मिति २०६६।५।१२ को फैसलासमेत बदर गरी मेरो मोही हक सुरक्षित गरिपाउँ भन्ने वादी अष्ट महर्जनको दाबी ।
वादीले प्रचलित कानूनको म्यादभित्र पतिको मुद्दा सकार नगरी एकाघर सगोलको छोराले सकार गर्ने र अन्तिम फैसला भएपछि अ.बं. ८६ नं. अन्तर्गत फैसला बदरमा आउन पाउने हुन्न, वादी दाबी खारेज हुनुपर्छ भन्ने प्रतिवादी शान्ता तण्डुकारको र वादीको माग दाबीअनुसार फैसला बदर हुनुपर्छ भन्ने प्रतिवादी श्याम महर्जनको प्रतिउत्तर ।
कि.नं. ७५२ को जग्गाको २०५१ सालको कुत दिलाई मोही निष्कासन गरिपाउँ भनी प्रतिवादी शान्ता तण्डुकारले वादीका पति माइला महर्जनउपर दायर गर्नु भएको मुद्दामा यस कार्यालयबाट मिति २०६२।३।६ मा भएको फैसला, सोउपर पुनरावेदन परी पुनरावेदन अदालत पाटनबाट मिति २०६२।४।२८ मा भएको फैसला, तथा सर्वोच्च अदालतबाट मिति २०६६।५।१२ मा भएको मोहीसमेत निष्कासन हुने भनी ठहर गरिएको फैसला बदर नहुने ठहर्छ भन्ने भूमिसुधार कार्यालय, काठमाडौंबाट मिति २०६९।२।९ मा भएको निर्णय ।
विवादित जग्गाको मोही मेरो लोग्ने माइला महर्जनले जोतकमोत गर्दै साबिक जग्गाधनीलाई कुत बुझाउँदै आएकोमा विवाद छैन । मुद्दा चल्दाचल्दैको अवस्थामा मेरा पति माइला महर्जनको मिति २०५४।१२।७ मा परलोक भएको हुनाले लोग्नेपछि पहिलो हकदार निजको पत्नी म अष्ट महर्जन हुँदाहुँदै दोस्रो पुस्ताको छोराले मुद्दा सकार गर्न मिल्दैन । आमा छोरा रहेको परिवारमा घरको मुख्य व्यक्ति आमा नै हुन्छन् । यस्तो अवस्थामा आमाले मुद्दा सकार गर्नुपर्नेमा छोराले सकार गरेको कामलाई बदर गर्नुपर्ने हो । मोही माइला महर्जनको हक लाग्ने मोहियानी हक म अष्ट महर्जनको नाउँमा नामसारी गर्न विपक्षी श्याम महर्जन स्वयं भूमिसुधार कार्यालयमा गई सनाखतसमेत गरेको अवस्थामा सोतर्फ मलाई बुझ्दै नबुझी एकतर्फी रूपमा फैसला भएको छ । प्रस्तुत मुद्दामा भूमिसुधार कार्यालय, काठमाडौंबाट भएको फैसला त्रूटिपूर्ण छ । सो फैसला अ.बं. १८४, १८४क, १८५, प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशविपरीत हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादी अष्ट महर्जनले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन पत्र ।
शान्ता तण्डुकारले वादीका पति माइला महर्जनउपर दायर गर्नुभएका फैसलाहरू बदर नहुने ठहर्छ भनी सुरू भूमिसुधार कार्यालय काठमाडौंबाट मिति २०६९।२।९ मा भएको फैसला सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६९।५।२५ मा भएको फैसला ।
शान्ता तण्डुकारको नाम दर्ताको का.जि., गोगंबु गा.वि.स. वा.नं. ५(क) कि.नं. ७५२ को क्षे.फ. ०-१५-०-० जग्गा माइला महर्जनले जोतकमोत गर्दै साबिक जग्गाधनीलाई कुत बुझाउँदै आउनुभएको थियो । पति माइला महर्जनको मिति २०५४।१२।७ मा स्वर्गवासपश्चात् मोहीको हैसियतले म निवेदिका वादीले उक्त जग्गामा जोत कमाई गरी जग्गाधनीलाई वर्षैपिच्छे कुतबाली बुझाई आइरहेकी थिएँ । म निवेदिकाको श्रीमान् माइला महर्जनउपर भूमिसुधार कार्यालय काठमाडौंमा दायर गरेको मुद्दाको सम्बन्धमा मलाई जानकारी
भएन । विपक्षी छोराले समेत जानकारी नगराई लोग्नेको मृत्युपश्चात् विपक्षी छोरा श्याम महर्जनले मुद्दा सकार गरी तह-तह हुँदै सर्वोच्च अदालतबाट फैसला भयो । लोग्नेको मृत्युपश्चात् मुद्दा सकार गर्ने पहिलो हकदार समान पुस्ताकी पत्नीमा रहेको छ । दोस्रो पुस्ताका विपक्षी छोराले सकार गर्न मिल्दैन । पहिलो पुस्तामा लोग्ने स्वास्नी र दोस्रो पुस्तामा निजका सन्तान पर्दछ भनी हाम्रो देशको कानूनले अङ्गीकार गरेको
पाइन्छ । कानूनबमोजिम पनि लोग्नेको मृत्युपश्चात् स्वास्नीले मुद्दा सकार गर्ने व्यवस्था रहेकोले दोस्रो पुस्ताले सकार गरी मुद्दा तह-तह फैसला भएकोमा म निवेदिकाको हक स्वामित्व जाने होइन । पुनरावेदन अदालतले गरेको फैसला त्रूटिपूर्ण र अ.बं. ६२(३), ८२, ८६ नं. र बाबुलाल साह तेली विरूद्ध सुगिया तेलिनसमेत (ने.का.प.२०४५ नि.नं. ३३५२ पृ.सं. ९६ सं.इ.) मा प्रतिपादित सिद्धान्तविपरीत भएकोले बदरभागी छ भन्नेसमेत बेहोराको वादीले यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी दिएको निवेदन ।
मिति २०६१।१२।५ मा विपक्षीले मोहियानी हक छाडिसकेको भन्ने भूमिसुधार कार्यालयको प्रमाण मिसिलबाट देखिएको, निवेदिकाले जग्गा बाँडफाँट र नामसारीका लागि भूमिसुधार कार्यालय काठमाडौंमा उजुरी गरी विवादित जग्गाको आधा स्वामित्व पाउने देखिएको अवस्थामा यी निवेदिका मोही माइला महर्जनको पत्नी हकदार हुँदा निजलाई नबुझी सर्वोच्च अदालतबाट भएको मिति २०६६।५।१२ को फैसलाले यी निवेदिकाको हकमा असर परेको देखिँदा उक्त फैसला बदर नहुने निर्णयबमोजिम निवेदिकाको भूमिसम्बन्धी ऐनबाट प्राप्त हकमा असर परेको हुँदा पुनरावेदन अदालत पाटनको मिति २०६९।५।२५ को फैसलामा मुलुकी ऐन अ.बं. १८४क र १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४, समेतको व्याख्यात्मक त्रूटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७३।३।१ को आदेश ।
मोही हक सम्बन्धमा मोहीको पहिलो हकदार पत्नी भएकाले वादी अष्ट महर्जनको मागबमोजिम फैसला बदर गरी मोही नामसारी गरिदिए हुन्छ भन्नेसमेत बेहोराको प्रतिवादी श्याम महर्जनले यस अदालतमा पेस गरेको लिखित जवाफ ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेलले विवादित जग्गाको दर्तावाला मोही वादीका पति माइला महर्जन हुन्; निजको मिति २०५४/१२/७ मा स्वर्गवास भएपश्चात् वादी अष्ट महर्जनले सालसालैको कुतबाली जग्गाधनीलाई बुझाइ आएको छ; जग्गाधनी शान्ता तण्डुकार र माइला महर्जनका बिच चलेको २०५१ सालको कुतबाली मुद्दा मृतक माइला महर्जनको मृत्यु भएपछि निजको पत्नी अष्ट महर्जनले मुद्दा सकार गर्नुपर्ने हो; निजलाई थाहै नदिई निजको छोरा श्याम महर्जनले मुद्दा सकार गरेको कार्य कानूनतः मिलेको छैन; मृतकको नजिकको हकदार निजको पत्नी हुँदाहुँदै निजलाई थाहा जानकारी नै नदिई जग्गाधनी शान्ता तण्डुकार र श्याम महर्जन मिली एक आपसमा मुद्दा लडी मोही निष्कासन हुने ठहर भई तह-तह अदालतबाट भएको फैसलाले पक्षको हक मेटिन पुगेको छ; सो फैसला बदर हुनुपर्दछ भनी बहस जिकिर गर्नुभयो । प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री बद्री पाठकले सर्वोच्च अदालतको मिति २०६६/५/१२ को फैसलाले मोही निष्कासन भएको छ; माइला महर्जनको मृत्युपश्चात् निजको एकाघर सगोलको छोरा श्याम महर्जनले मुद्दा सकार गरेको र मुद्दामा हारजित फैसला भएको छ; उक्त मुद्दा २०५३ सालमा भूमिसम्बन्धी ऐनमा संशोधन हुनुपूर्व नै अर्थात् २०५१ र २०५२ सालको कुतबाली सम्बन्धमा परेको देखिन्छ; तह-तह हुँदै सर्वोच्च अदालतसमेतबाट अन्तिम फैसला भएको छ; सो कुरा थाहा पाइन भनी वादीले दाबी गर्न पाउने अवस्था छैन; जग्गाबाट मोही निष्कासन हुने ठहर गरेको सर्वोच्च अदालतको मिति २०६६/५/१२समेतका फैसलाहरू सदर कायम रहनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब यसमा मोही निष्कासन हुने गरी भएको यस अदालतको मिति २०६६/५/१२ समेतका फैसलाहरू बदर हुने वा नहुने के हो ? वादी अष्ट महर्जनको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, का.जि. गोंगबु गा.वि.स. वडा नं. ५(क) कि.नं. ७५२ को क्षे.फ. ०-१५-०-० जग्गाको दर्तावाला मोही माइला महर्जन रहेकोमा विवाद देखिएन । निज मोहीले २०५१ सालको बाली नबुझाएको भनी जग्गाधनी शान्ता तण्डुकारले निज मोहीउपर बाली भराई मोही निष्कासन गरिपाउँ भनी मुद्दा दायर गरेको र सो मुद्दामा तह-तह हुँदै यस अदालतबाट मिति २०६६/५/१२ मा वादी दाबीबमोजिम मोही निष्कासन हुने ठहरी फैसला भएको पाइयो । उल्लिखित मोही निष्कासन मुद्दा दायर भएपछि माइला महर्जनको मृत्यु भएको, निज माइला महर्जनका एकाघर सगोलका छोरा श्याम महर्जनले मुद्दा सकार गरेको, तह-तह मुद्दा चलेको र यस अदालतबाट फैसला भएकोसमेत देखियो । प्रस्तुत मुद्दामा माइला महर्जनको पत्नी वादी छँदाछँदै छोराले मुद्दा सकार गर्न पाउने होइन, तेस्रो पक्षको हकमा असर परेको छ भनी मुलुकी ऐन, अ.बं. ८६ नं.बमोजिम दाबी गरी मुद्दा दायर हुन आएको देखिन्छ ।
३. मुद्दामा पक्षको रूपमा रहेका कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा निजको हकवालामध्येका पत्नी वा छोरा कसैले पनि मुद्दा सकार गर्न पाउने नै हुन्छ । यदि एकभन्दा बढी हकवालाले मुद्दा सकार गर्न चाहेको वा मुद्दा सकार गर्ने कुरामा नै विवाद रहेको अवस्थामा भने मुद्दा सकार गर्ने हक कसमा रहेको छ भनी निरूपण गरिनुपर्ने अवस्था पनि रहन सक्तछ । तर मर्नेको हकमा मुद्दा सकार गर्न निजको पत्नी वा छोरा आएको र अन्य कोही कसैले सो कुरामा दाबी विरोध नगरेको अवस्थामा मर्ने व्यक्तिको एकाघर सगोलका पत्नी वा छोराले मुद्दा सकार गरेको कार्यलाई बेरितको वा कानूनी रूपमा त्रूटिपूर्ण मान्न मिल्ने देखिँदैन । यस अवस्थामा मर्नेका नजिकका हकवालाहरू को को छन् भनी मुद्दा हेर्ने निकायले खोजी गर्नुपर्ने र निजहरूलाई झिकाई बुझ्नुपर्ने कुनै कानूनी अनिवार्यता रहेको समेत देखिन आएन ।
४. जग्गाका दर्तावाला मोही माइला महर्जनको मृत्युपश्चात् निजउपर चलेको मोही निष्कासनसम्बन्धी मुद्दा निज माइला महर्जनको एकाघर सगोलका उमेर पुगेका छोरा श्याम महर्जनले सकार गरेको देखिन्छ । निज श्याम महर्जन र यस मुद्दाकी वादी अष्ट महर्जन एकाघर सगोलका आमा छोरा नाताका मानिस हुन् भन्ने तथ्यमा विवाद देखिँदैन । माइला महर्जनको २०५४ सालमा नै मृत्यु भयो भनिएको छ । मोही निष्कासनसम्बन्धी मुद्दा सुरू भूमिसुधार कार्यालय, पुनरावेदन अदालत र सर्वोच्च अदालतसमेतमा तह-तह चलेको देखिन्छ र माइला महर्जनको मृत्युपछि करिब १२ वर्षसम्म मुद्दा चल्दाको अवस्थामा यी वादी अष्ट महर्जनले कहिले पनि सो मुद्दा सकार गर्ने वा मोही हक दाबी गर्ने कार्य गरेको देखिँदैन । आफ्नो उमेर पुगेका छोराले मुद्दा सकार गरी तह-तह हारजित भएपछि सो मुद्दाको परिणाम हेरेर पुनरावेदिका वादी अष्ट महर्जनले गरेको प्रस्तुत विषयको दाबीलाई मनासिब र कानूनअनुकूल मान्न मिलेन । यस अवस्थामा तेस्रो पक्षको हकमा असर परेको भनी सम्झन पनि मिल्दैन । अपितु, समग्र मिसिल प्रमाणबाट अष्ट महर्जन र श्याम महर्जन आमा छोराको सल्लाहबाट जग्गाधनीले जिती पाएको कुरामा घुमाउरो तवरबाट दाबी गरी अदालतमा प्रवेश गरेको देखिन आएको छ । यस प्रकारको दाबीलाई उचित ठान्न सकिँदैन ।
५. अतः यस अदालतबाट मिति २०६६/५/१२ मा भएको फैसलासमेतका तह-तहबाट भएका फैसला वादी दाबीबमोजिम बदर नहुने भनी गरिएको पुनरावेदन अदालत पाटनको मिति २०६९/५/२५ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी अष्ट महर्जनको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी, फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. हरिप्रसाद फुयाल
इजलास अधिकृत : विनोदप्रसाद घिमिरे
इति संवत् २०७७ साल चैत्र १२ गते रोज ५ शुभम् ।