निर्णय नं. ११०९० - अंश दर्ता
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति: २०७९।१०।१२
०७३-CI-१५८९
मुद्दाः- अंश दर्ता
पुनरावेदक/प्रतिवादी: सिराहा जिल्ला साबिक भेडिया गा.वि.स. वडा नं.२ हाल वडहरामाल गा.वि.स. वडा नं.६ बस्ने मिना नायकसमेत
विरूद्ध
प्रत्यर्थी/वादी: सिराहा जिल्ला साबिक भेडिया गा.वि.स. वडा नं.२ हाल वडहरामाल गा.वि.स. वडा नं.६ बस्ने राजोदेवी सुडिन
वृद्ध अवस्था भएको र घर-व्यवहार चलाउन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम बुहारी तथा नातिलाई बकसपत्रको माध्यमबाट आफ्नो नाम दर्ताको जग्गाको स्रेस्तासम्म सारिदिएको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न नमिल्ने । असल नियतले पारिवारिक सल्लाहबमोजिम भएगरेको कार्यको सम्बन्धमा अन्य अंशियारको उजुर नालेस पर्ने अवस्था पनि नरहने ।
वादीले आफ्नो छोरा र बुहारीलाई पहिले नै बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिबाट निजले अंश नपाउने भन्ने हुँदैन । यसरी अंशियारहरू एकासगोलमा रहेको अवस्थामा जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति भए पनि सबै अंशियारले बराबरी बन्डा गरी लिन
पाउने । वादी आमा/सासूले छोरा बुहारीलाई गरिदिएको बकसपत्र लिखत बदर गर्नु गराउनुपर्ने पनि देखिएन । यस अवस्थामा दाबीको जग्गा वादीले बकस गरिदिएको र बकसपत्र बदर सम्बन्धमा कुनै अंशियारको नालेस उजुर परी बदर नभएको भन्ने आधारमा वादीको अंश हक गएको र ती जग्गाहरूमा प्रतिवादीहरूको एकलौटी हक कायम भएको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. ८)
पुनरावेदक/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादव
प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री चन्द्रमणी पौडेल
अवलम्बित नजिर:
ने.का.प.२०६९ अङ्क ३ नि.नं. ८७८८
ने.का.प.२०६९ अङ्क ५ नि.नं. ८८३०
सम्बद्ध कानून:
प्रमाण ऐन, २०३१
फैसला
न्या.डा.मनोजकुमार शर्मा: न्याय प्रशासन ऐन,२०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम ठहर यस प्रकार छः
तथ्य खण्ड
म राजोदेवी सुडिनबाट जायजन्म भएका तीन जना छोरामा जेठा महेन्द्र नायक, माहिला प्रतिवादी उपेन्द्र नायक र कान्छा दिपेन्द्र नायक रहेको तथा प्रतिवादी मिना नायक प्रतिवादी उपेन्द्र नायकको पत्नी भई प्रतिवादी शिवशंकर निजहरूका छोरा हुन् । हामी एकासगोलमा बस्दै आइरहेकोमा प्रतिवादीहरूले अनेक प्रकारको दु:ख दिइरहेको र जेठा छोरा महेन्द्र तथा कान्छा दिपेन्द्र नायकले खान लाउन दिई स्याहार सम्भार गरिरहेको हुँदा प्रतिवादीहरूलाई मेरो अंशको जग्गा मेरो नाममा ल्याइदिनु र अंशबन्डा गरिदिनु भन्दा इन्कार गरेकोले फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिई ४ भागको १ भाग अंश पाउँ भनी मिति २०६९।७।१६ को वादी राजोदेवी सुडिनको फिरादपत्र ।
विपक्षी फिरादीले अन्य दुई जना छोरा महेन्द्र नायक र दिपेन्द्र नायकलाई विपक्षी नबनाई अन्य छोराको मिलुवा भई हामीलाई दु:ख दिने उद्देश्यले हामीउपर मुद्दा दिएका हुन् । म उपेन्द्र नायकलाई फुपू वतही सुडिनले मिति २०४०।२।१९ मा पारित बकसपत्रमार्फत पाएको सिराहा जिल्ला भेडिया गा.वि.स. हाल कि.नं.१५० को ०-६-१११/२ जग्गा कमाई सोको आयस्ताबाट लक्ष्मी साहबाट सिराहा जिल्ला वडहरामाल गा.वि.स. वडा नं. ७क कि.नं. ४०३ को ०-२-० जग्गा खरिद गरी सो जग्गामा ४ कोठाको पक्की घर र काठको घरहरू बनाई बसेकोमा मबाहेक अन्य अंशियारको अंश हक लाग्ने होइन । साथै म प्रतिवादी मिना नायकलाई विपक्षी वादी राजोदेवी सुडिनले आफ्ना नाममा दर्ता रहेको सिराहा जिल्ला वडहरामाल गा.वि.स. वडा नं.३क को कि.नं.५३ को ०-११-४, कि.नं.१७ को ०-१६-१२, वडा नं.४ख कि.नं.३४ को ०-१२-१०, कि.नं.४१ को ०-१०-१० समेतका जग्गाहरू मिति २०६३।४।८ मा बकसपत्र गरिदिएको जग्गा कमाई सोको आयस्ताबाट मोरङ जिल्ला बखरी हाल विराटनगर वडा नं.३क कि.नं.२१०७ को ०-०-९ जग्गा खरिद गरेको हुँदा मेरो निजी जग्गामा अंश बन्डाको १८ नं.बमोजिम कसैको अंश लाग्ने हुँदैन । साथै छोरा शिवशंकर नायकलाई समेत विपक्षी वादी राजोदेवी सुडिनले कि.नं.४२ को ०-१-१२, कि.नं.७१ को ०-७-०, कि.नं.११६ को ०-६-७ को जग्गाहरू बकसपत्र गरिदिनुभएको जग्गा निजी रहेको हुँदा कसैको अंश हक लाग्ने होइन । बकसपत्रतर्फ कुनै अंशीको नालेस नभएकाले सबुद प्रमाण बुझी झुठ्ठा दाबीबाट फुर्सद पाउँ भनी मिति २०६९।११।१६ को प्रतिवादी मिना नायक, उपेन्द्र नायक र शिवशंकर नायकको संयुक्त प्रतिउत्तरपत्र ।
वादी राजोदेवीका साथै निजका छोराहरू महेन्द्र नायक, दिपेन्द्र नायक र प्रतिवादी उपेन्द्र नायकसमेत ४ अंशियार कायम देखिन आई निजहरूबिच हालसम्म कानूनबमोजिम अंशबन्डासमेत भएको नदेखिएबाट वादी प्रतिवादीबाट पेस हुन आएको तायदाती फाँटवारीमा उल्लेख भई दर्ता स्रेस्तासमेत भिड्न आएको सम्पत्तिमध्ये मिति २०४०।२।१९ मा फुपू वतही सुडिनबाट प्रतिवादीमध्येका उपेन्द्र नायकका नाममा बकसपत्रबाट प्राप्त हुन आएको कि.नं.१५० को ०-६-१११/२ बाहेक अन्य सम्पूर्ण सम्पत्तिबाट ४ भागको १ भाग यी वादी राजोदेवी सुडिनले अंश छुट्ट्याई लिनपाउने ठहर्छ । प्रतिवादीहरू मिना नायक र शिवशंकर नायकले कि.नं.५३, १७, ३४, ४१३, ४२, ७१, ११६ लगायतका जग्गा वादीबाट प्राप्त गरेको देखिए तापनि एकासगोलको सम्पत्ति अंशबन्डाको १९(२) ले मनपरेका छोरा बुहारी नाति/नातिनीसमेतलाई दिन नपाउने व्यवस्था गरेको देखिन्छ । तसर्थ, सो बकस पाएको जग्गा निजी आर्जनको भन्ने प्रतिवादी मिनासमेतको जिकिर पुग्न सक्दैन भनी मिति २०७१।३।३१ को सुरू सिराहा जिल्ला अदालतको फैसला ।
एकासगोलको अंशियारका नाममा जुनसुकै व्यक्तिबाट जुनसुकै बेहोरा माध्यमबाट आएको सम्पत्ति एकासगोलको मान्नुपर्छ र सो सम्पत्तिबाट एकासगोलको सबै अंशियारले अंश भाग पाउने हुँदा बकस पाउँदैमा निजी एकलौटी हुँदैन । निजी एकलौटी हुन निजी तवरबाट जग्गा वा सम्पत्तिको बकस गरिएको हुनुपर्छ । प्रतिवादी उपेन्द्र नायकको नाममा रहेको कि.नं.१५० को जग्गा निजको निजी हो वा निजी तवरबाट पाएको हो भन्ने कुराको प्रमाण निजले दिन नसकेको अवस्थामा सो सम्पत्तिलाई बन्डा गर्नु नपर्ने ठहरी प्रतिवादी उपेन्द्र नायकको निजी ठहर भएको सुरू अदालतको फैसला सो हदसम्म त्रूटिपूर्ण हुँदा बदर गरी सो जग्गालाई समेत एकासगोलको ठहर गरी बन्डा लाग्ने गरी फैसला गरिपाउँ भनी मिति २०७१।९।१३ को वादी राजोदेवी सुडिनको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन पत्र ।
हाम्रो नामको बकसपत्रबाट प्राप्त जग्गाको सम्बन्धमा लिखत बदर गराउनका लागि म्यादमा बदर गराइपाउने नालेस दिनुपर्ने हुन्छ । तर वादीले आफैँ बकस दिने र आफैँले दाबी गर्ने गरेको आधारमा प्रस्तुत अंश मुद्दाकै रोहबाट दाबी पुग्ने ठहर गरेको सुरू अदालतको फैसला उल्टी गरी हामी प्रतिवादीको नाम दर्ताको जग्गामा वादीको अंश हक नलाग्ने गरी इन्साफ पाउँ भनी मिति २०७१।११।६ को प्रतिवादी मिना नायक र उपेन्द्र नायकको पुनरावेदन अदालत राजविराजमा संयुक्त पुनरावेदनपत्र ।
प्रतिवादीहरू मिना नायकसमेतको कि.नं.१७, ५३, ३४, ४१, ४२, ७१, ११६ का जग्गाहरू निजी ठहर हुनुपर्ने भन्ने जिकिरका सम्बन्धमा हेर्दा उल्लिखित जग्गाहरूमध्ये प्रतिवादी मिना नायकलाई कि.नं.५३, १७, ३४, ४१ को जग्गा वादी राजोदेवी सुडिनले मिति २०६३।४।८ मा र.नं.३६६ बाट बकसपत्र गरिदिएको देखिन्छ । त्यसैगरी कि.नं.४२, ११६, ७१ को जग्गा राजोदेवी सुडिनले मिति २०६३।४।१८ मा र.नं.३६० को बकसपत्रको लिखतबाट नाति शिवशंकर नायकलाई हालैको बकसपत्रको लिखत पारित गरिदिएको
देखिन्छ । दुवै लिखतमा अन्य अंशियारको मन्जुरीसमेत रहेको नदेखिँदा एकै अंशियारबिच भएको जग्गाको हक हस्तान्तरणले जग्गा प्राप्त गर्ने व्यक्तिहरूको त्यस्ता सम्पत्ति निजी सम्पत्ति रहेको मान्न मिलेन । उक्त सम्पत्तिसमेत बन्डा लाग्ने गरी भएको सुरू अदालतको फैसलालाई अन्यथा गरिरहनुपर्ने देखिएन । तर वादी प्रतिवादीबाट पेस भएको तायदातीका जग्गाहरूमध्ये कि.नं. १५० को ०-६-१११/२ जग्गासमेत बन्डा गर्नुपर्नेमा सो जग्गालाई बाहेक गरी अन्य सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश छुट्ट्याई लिनपाउने भनी सुरू सिराहा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो फैसला सो हदसम्म केही उल्टी भई कि.नं.१५० को ०-६-१११/२समेतका जग्गाहरूबाट पुनरावेदक वादी राजोदेवी सुडिनले ४ भागको १ भाग अंश भाग छुट्ट्याई लिनपाउने ठहर्छ भनी मिति २०७३।८।६ को उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला ।
वादी राजोदेवी सुडिनलाई हामी मिना नायक तथा शिवशंकर नायकले गरेको सेवा, सुसार स्याहार, टहलबापत निज वादीले आफ्नो दर्ता भोग तिरोको आफ्नो निजी जग्गामध्ये म मिना नायकलाई सिराहा जिल्ला वडहरामाल वडा नं.३क कि.नं.१७ को ०-१६-१२, ऐ. ऐ. वडा नं.३घ कि.नं.५३ को ०-११-१४, ऐ. ऐ.वडा नं.४ख कि.नं.३४ को ०-१२-१०, ऐ. ऐ. कि.नं.४१ को ०-१०-१० समेत जम्मा २-१०-१६ जग्गा र नाति शिवशंकर नायकलाई सिराहा जिल्ला वडहरा गा.वि.स. वडा नं.३क कि.नं.४२ को ०-१७-१२, वडा नं.७क कि.नं.१६ को ०-६-७, वडा नं.४ख कि.नं.७१ को ०-७-०समेत जम्मा १-१०-१९ जग्गा आफ्नो स्वेच्छाले मिति २०६३।४।८ मा हालैदेखिको बकसपत्र पास गरिदिनुभएको हो । वादी राजोदेवी सुडिनले गरिदिनुभएको बकसपत्र बदर गर्न वादीलगायत कसैको दाबी छैन । हामीले पाएको जग्गामा हाम्रो हक मेट्ने गरी वादीसमेतका ४ अंशियारको अंश भाग लगाई ४ भागको १ भाग वादीले अंश भाग पाउने ठहर्याएको फैसला त्रूटिपूर्ण रहेको छ । साथै म प्रतिवादी उपेन्द्र नायकले सिराहा जिल्ला भेडिया बस्ने फुपू वतही सुडिनबाट मिति २०४०।२।१९ को हालैदेखिको बकसपत्रको लिखतले सिराहा जिल्ला भेडिया गा.वि.स. वडा नं.६ कि.नं.१५० को ०-६-१११/२ प्राप्त गरेको जग्गामा मुलुकी ऐन अंशबन्डा महलको १८नं. अनुसार अन्य कसैको अंश हक नलाग्ने नभई मेरो निजी रहेको कुरा निर्विवाद छ । बकसपत्रबाट पाएको उक्त जग्गाबाट आएको आयस्तालाई बढाउँदै कि.नं. ४०३ को ०-२-० कठ्ठा जग्गा लक्ष्मी साहबाट खरिद गरी ४ कोठाको पक्की र काठले बनाएको घर बहालमा दिएको हुँ । यसप्रकार निजी आर्जित जग्गा घरमा विपक्षी वादीको अंश हक नलाग्ने अंशबन्डाको १८नं. ले निर्विवाद गर्दा गर्दै मेरो निजी आर्जनको जग्गा घरमा ४ अंश लगाउने गरी सोबाट विपक्षी वादीलाई १ भाग अंश पाउने ठहराई उच्च अदालतबाट भएको निर्णयमा अंशबन्डाको १८ नं. को प्रस्ट त्रूटिपूर्ण रहेको छ भनी मिति २०७४।१।११ को मिना नायक, शिवशंकर नायक र उपेन्द्र नायकले यस अदालतमा दिएको संयुक्त पुनरावेदनपत्र ।
यसमा छोरा उपेन्द्र नायक, बुहारी मिना नायक र नाति शिवशंकर नायकलाई हालैदेखिको बकसपत्र गरी सम्पत्ति दिएको देखिएकोमा उक्त बकसपत्र गरिदिने राजोदेवी सुडिनसमेतलाई सोही बकसपत्रबाट समेत भाग लाग्ने गरी बन्डा छुट्याउने ठहर्याएको उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३ को उपदफा (३) को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भनी मिति २०७६।५।१८ गते यस अदालतको आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादी मिना नायकसमेतका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादवले पुनरावेदक प्रतिवादीसँग हालैदेखिको बकसपत्रबाट बढे-बढाएको निजी आर्जनबाट खरिद गरेका जग्गाहरू र घर मात्र रहेका छन् । उक्त जग्गा तथा घर बन्डा लाग्ने होइन । उक्त जग्गासमेत बन्डा लाग्ने गरी भएको फैसला त्रूटिपूर्ण छ । कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ भन्ने अंशबन्डाको १८नं. ले स्पष्ट गरेको छ । यसरी निजी आर्जनको सम्पत्तिलाई “बन्डा गर्न कर लाग्दैन” भन्ने कानूनी प्रावधानविपरीत बन्डा लाग्ने ठहर गरेको उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला त्रूटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकिरबमोजिम हुने गरी फैसला गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी / वादी राजोदेवी सुडिनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री चन्द्रमणी पौडेलले वादी प्रतिवादीबिच अंशबन्डा भएको छैन । मेरो पक्षको अंश हक जस्तो नैसर्गिक हकलाई प्रभावित पार्न मिल्दैन । कि.नं.१५० को जग्गा सगोल सम्पत्ति भई सोबाट खरिद गरेका अरू जग्गाहरू हालैको बकसपत्रमार्फत गरी पास गराउँदैमा अन्य अंशियारहरूको अंश हक नलाग्ने भन्ने हुँदैन । कि.नं१५० को जग्गाको हकमा एकासगोलबाट बढे-बढाएको सम्पत्ति निजी ठहर्याई बन्डा नलाग्ने गरी भएको सुरू सिराहा जिल्ला अदालतको फैसला केही उल्टी गरी सबै जग्गाहरूबाट ४ भागको १ भाग अंश पाउने गरी भएको उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नभएकोले सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादी मिना नायकसमेतको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, हामी वादी प्रतिवादीहरू एकासगोलमा रहेकोमा मलाई जेठा छोरा महेन्द्र नायक र कान्छा दिपेन्द्र नायकले स्याहार गरी छुट्टै बस्दै आएकोमा विपक्षीहरूसँग अंश माग गर्दा अंश दिन इन्कार गरेकोले विपक्षीहरूलाई झिकी बुझी बन्डा गर्नुपर्ने सम्पूर्ण चल-अचल सम्पत्तिबाट म वादीको अंश भाग छुट्ट्याई ४ भागको १ भाग बन्डा छुट्ट्याइपाउँ भन्ने राजोदेवी सुडिनको फिराद दाबी रहेकोमा हामीले निजी आर्जनबाट खरिद गरेका जग्गाहरूबाट अंश लिने मनसायले हामीलाई दुःख दिने नियतले प्रस्तुत मुद्दा दायर गरेकाले वादी दाबीबमोजिम बन्डा गर्नुपर्ने अवस्था छैन भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा तायदाती फाँटवारीमा उल्लेख भएका सम्पत्तिमध्ये वतही सुडिनबाट प्रतिवादीमध्येका उपेन्द्र नायकका नाममा बकसपत्रबाट प्राप्त हुन आएको कि.नं.१५० बाहेक अन्य सम्पूर्ण सम्पत्तिबाट ४ भागको १ भाग वादी राजोदेवी सुडिनले अंश पाउने ठहर गरेको सुरू फैसला केही उल्टी गरी कि.नं.१५० को जग्गासमेत बन्डा लाग्ने ठहर गरेको उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसलामा चित्त नबुझाई प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. पुनरावेदन पत्रमा मूलतः वादी राजोदेवी सुडिनलाई हामी मिना नायक तथा शिवशंकर नायकले गरेको सेवा, टहलबापत निज वादीले आफ्नो दर्ता भोग तिरोको आफ्नो निजी जग्गामध्येका कि.नं. ५३, १७, ३४, ४१, ४२, ७१, ११६ का जग्गाहरू बुहारी मिना नायक र नाति शिवशंकर नायकलाई आफ्नो स्वेच्छाले मिति २०६३।०४।०८ मा हालैदेखिको बकसपत्र पास गरिदिनुभएको हो । उक्त बकसपत्र लिखत बदरको लागि कसैको फिराद परेको अवस्था छैन । प्रतिवादी उपेन्द्र नायकले फुपू वतही सुडिनबाट मिति २०४०।०२।१९ मा बकस पाएको कि.नं.१५० को ०-६-१११/२ जग्गासमेत निजी आर्जनको भएको अवस्थामा ती सबै जग्गाबाट वादीले अंश पाउने ठहर गरेको फैसला त्रूटिपूर्ण रहेको हुँदा बदर गरी उल्लिखित जग्गाहरू हामीहरूको निजी आर्जन ठहर गरिपाउँ भनी जिकिर लिएको देखियो ।
४. सो सन्दर्भमा सर्वप्रथम यी वादी प्रतिवादीहरूको पुस्तेवारी हेर्दा, स्व. मुनर नायक र निजको पत्नी राजोदेवी सुडिनको दाम्पत्य जीवनबाट तीन जना छोराहरू जेठा महेन्द्र नायक, माहिला उपेन्द्र नायक र कान्छा दिपेन्द्र नायक रहेको भन्ने
देखियो । छोरीहरूको जायजन्म नभएको र मुनर नायकको आफ्नो कालगतिले अघि नै परलोक भइसकेको भन्ने देखिन्छ । यसबाट यी वादी राजोदेवी सुडिन, महेन्द्र नायक, उपेन्द्र नायक र दिपेन्द्र नायकसमेत गरी मूलरूपमा ४ अंशियार रहेको भन्ने देखियो । माहिला छोरा उपेन्द्र नायक र निजको श्रीमती मिना नायकले आफूलाई खान-लाउन नदिएकोले ४ भागको १ भाग अंश दिलाइपाउँ भनी माहिला छोरा उपेन्द्र नायक, बुहारी मिना नायक र नाति शिवशंकर नायकलाई प्रतिवादी बनाई वादी राजोदेवी सुडिनले फिराद दिएको अवस्था देखिन्छ । उल्लिखित नाता पुस्तामा वादी प्रतिवादीबिच विवाद रहेको देखिँदैन । तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण जग्गाहरूबाट वादीले दाबीबमोजिम ४ भागको १ भाग अंश पाउने ठहरी पुनरावेदन तहबाट फैसला भएको देखिन्छ । पुनरावेदक प्रतिवादीहरूले तायदातीमा उल्लिखित जग्गामध्ये कि.नं.१७ को ०-१६-१२, कि.नं.५३ को ०-११-१४, कि.नं.३४ को ०-१२-१०, कि.नं.४१ को ०-१०-१० मिना नायकले र कि.नं.४२ को ०-१७-१२, कि.नं.११६ को ०-६-७, कि.नं.७१ को ०-७-० जग्गा शिवशंकर नायकले राजोदेवी सुडिनबाट बकसमा पाएको जग्गा हो । सो बकसपत्रको लिखतउपर कुनै अंशियारले चुनौती गर्न नसकेकोले आफैँले बकस दिएको जग्गाबाट वादीले अंश पाउने अवस्था छैन । कि.नं.१५० को ०-६-१११/२ प्रतिवादी उपेन्द्र नायकले आफ्नो फुपूबाट बकसमा पाएको आफूखुस गर्न पाउने सम्पत्ति भएको हुँदा उल्लिखित जग्गाहरू हामीहरूको निजी आर्जन ठहर गरिपाउँ भनी जिकिर लिएको अवस्था देखिन्छ । यस अवस्थामा उल्लिखित जग्गाहरू प्रतिवादीहरूको निजी आर्जनको बन्डा नलाग्ने प्रकृतिका जग्गा हुन् वा होइनन् भन्ने सम्बन्धमा नै प्रस्तुत मुद्दाबाट न्याय निरूपण गर्नुपर्ने विषय देखिन आयो ।
५. सर्वप्रथम राजोदेवी सुडिनबाट बकसमा पाएको कि.नं.५३, १७, ३४, ४१, ४२, ७१, ११६ समेतका जग्गाको सम्बन्धमा विचार गर्दा, उल्लिखित जग्गाहरूमध्ये कि.नं.१७ कि.नं.५३ कि.नं.३४ कि.नं.४१ को जग्गा पुनरावेदक मिना नायकले र कि.नं.४२ कि.नं.११६ कि.नं.७१ को जग्गा शिवशंकर नायकले एकासगोलको सासू / हजुरआमा राजोदेवी सुडिनबाट बकस पाएको देखिन्छ । जग्गा प्राप्तिको लिखतमा बकस भनी उल्लेख हुँदैमा निजी आर्जन हुने र लिखतमा बकस भनी उल्लेख नहुँदैमा त्यस्तो सम्पत्ति बन्डा लाग्ने भनी अर्थ गर्न मिल्दैन । साबिक मुलुकी ऐन, अंशबन्डाको १८ नं. को कानूनी व्यवस्था हेर्दा “कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नं.बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति स्वआर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउँछ” भन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाबमोजिम एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाइकन आफ्नै श्रम, सिप वा दान, दातव्य वा अपुतालीबाट कुनै अंशियारले सम्पत्ति आर्जन गरेको छ भने त्यस्तो सम्पत्तिलाई स्वआर्जन वा अन्य अंशियारको अंश हक नलाग्ने सम्पत्ति भनी मान्नुपर्ने देखियो । वादी प्रतिवादीहरूबिच कानूनबमोजिम वा व्यवहार प्रमाणबाट अघि नै बन्डा भएको भन्ने देखिँदैन । एकासगोलमा रहे बसेको अवस्थामा अन्य अंशियारसमेतको अंश हक निहित रहेको जग्गा दर्तावालाको हैसियतले आफूखुसी कसैलाई दान बकस गर्दैमा त्यस्तो व्यवहारले कानूनी मान्यता पाउने हुँदैन । यसै सम्बन्धमा सानुमाया महर्जनसमेत वि. वुद्धिलाल महर्जन भएको (ने.का.प.२०६९ अङ्क ३ नि.नं. ८७८८) अंश चलन मुद्दामा “एकासगोलमा रहेबसेको अवस्थामा कुनै अंशियारले अर्को अंशियारलाई सगोलको पैतृक सम्पत्तिको हक हस्तान्तरण गर्दैमा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हकाधिकार समाप्त हुन्छ भन्न नमिल्ने । एकासगोलका अन्य अंशियारको अंश हकमा असर पर्ने गरी हक हस्तान्तरण गर्दैमा सगोलका अन्य अंशियारहरूको हक अधिकारमाथि प्रतिकूल असर पर्न सक्दैन” भनी व्याख्या भएको पाइन्छ ।
६. प्रस्तुत मुद्दामा वादी प्रतिवादीलगायत अन्य अंशियारसमेत एकासगोलमा रहे बसेको अवस्थामा सासू / हजुरआमा राजोदेवी सुडिनबाट मिना नायक र शिवशंकर नायकले हालैदेखिको बकसपत्रको लिखत गराई लिएको देखिन्छ । यसरी एकासगोलमा रहेको अवस्थामा अन्य अंशियारको अंश हक मार्ने उद्देश्यले मनपरेका छोराछोरीलाई बकसपत्र गर्दैमा त्यस्तो व्यवहारले कानूनी मान्यता पाउने हुँदैन । पुनरावेदक प्रतिवादीहरूले आफ्नो निजी आर्जन भनी दाबी लिएका जग्गाहरू पैतृक सम्पत्ति रहेको भन्ने कुरामा विवाद छैन । आफ्नो बाबु-बाजेको पालाको पैतृक सम्पत्ति विधिवत रूपमा बन्डा नभएको अवस्थामा अन्य अंशियारहरूलाई लोप गरी एकलौटी आफ्नो नाममा बकसपत्रको लिखत गराउँदैमा त्यस्तो सम्पत्ति अंशबन्डाको १८नं.बमोजिम अरूको बन्डा नलाग्ने स्वआर्जनको जग्गा हो भनी मान्न मिल्ने देखिएन । यसै सम्बन्धमा जमरूद्दिन मियाँ विरूद्ध जियाउल हुसेन मियासमेत भएको (ने.का.प.२०६९ अङ्क ५ नि.नं. ८८३०) अंश मुद्दामा “अंशबन्डाको १८नं. परिवारका सदस्यको उद्यमशीलतालाई संरक्षण र प्रोत्साहन दिने कानून हो । सम्पत्तिको आर्जनको इतिहास, स्रोत र लगानीको प्रकृति विश्लेषण गरी न्यायिक निष्कर्षमा पुगिएन भने अंशबन्डाको १८ नं. को उद्देश्य र मर्मविपरीत हुने” भनी अंशबन्डाको १८ नं. को औचित्यता र विशिष्टताको विवेचना गरेको पाइन्छ ।
७. पुनरावेदक प्रतिवादीहरूमध्ये मिना नायकलाई कि.नं.५३, १७, ३४, ४१ को जग्गा मिति २०६३।४।८ मा र कि.नं.४२, ११६, ७१ को जग्गा शिवशंकर नायकलाई मिति २०६३।४।१८ मा सासू / हजुरआमा राजोदेवी सुडिनले हालैको बकसपत्रको लिखत पारित गरिदिएको देखिए पनि एकासगोलको सम्पत्तिको हकमा अंशबन्डाको १९(२) ले मनपरेका छोरा बुहारी, नाति / नातिनीसमेतलाई दिन नपाउने व्यवस्था गरेको छ भने यी दुवै लिखत गर्दाको अवस्थामा अन्य अंशियारहरू महेन्द्र नायक र दिपेन्द्र नायकको स्वीकृति मन्जुरी रहेको भन्ने पनि देखिँदैन । यी विपक्षी वादी राजोदेवी सुडिनलाई समेत प्रतिवादी कायम गरी महेन्द्र नायकले दायर गरेको अंश मुद्दामा राजोदेवी सुडिनले आफ्नो तर्फबाट लगाएको प्रतिउत्तरपत्रको प्रकरण ४ मा “छोरा उपेन्द्र नायक तथा बुहारी र नाति शिवशंकर नायकलाई बैंकिङ कार्य गर्नको लागि समस्या भएको कारण निजहरूको नाममा सगोलको सम्पत्ति बकसपत्र लिखतद्वारा स्रेस्ता सारिदिएकोसम्म हो । उक्त जग्गामा सम्पूर्ण वादी प्रतिवादीको बराबर अंश हक लाग्ने हो । कसैको निजी आर्जनको जग्गा होइन” भनी जिकिर लिएको देखिन्छ । वादी प्रतिवादीबिच अघि नै रीतपूर्वक बन्डा भएको भन्ने देखिँदैन । एकासगोलमा रहेको अवस्थामा बैंकिङ कारोबार गर्ने प्रयोजनको लागि नाति तथा बुहारीको नाममा बकसपत्रको माध्यमबाट स्रेस्ता सारिदिँदैमा सो सम्पत्तिबाट अन्य अंशियारको हक गएको र यी पुनरावेदक प्रतिवादीहरूको निजी आर्जन कायम भएको भनी अर्थ गर्न मिल्दैन ।
८. आफैँले बकस गरिदिएको जग्गाबाट वादीले अंश पाउने अवस्था छैन । बकसपत्र लिखत बदर सम्बन्धमा कोही कसैको नालेस उजुर नपरेको अवस्थामा दाबीका जग्गाहरू आफूहरूको निजी आर्जन कायम हुनुपर्ने भन्ने पुनरावेदन जिकिर देखिन्छ । अंश हक व्यक्तिको जन्मसिद्ध नैसर्गिक हक हो । विधिवत् रूपमा परित्याग नगरेसम्म त्यस्तो सम्पत्तिबाट कसैको अंश हक गएको भनी भन्न मिल्दैन । आफ्नो वृद्ध अवस्था भएको र घर-व्यवहार चलाउन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम बुहारी तथा नातिलाई बकसपत्रको माध्यमबाट आफ्नो नाम दर्ताको जग्गाको स्रेस्तासम्म सारिदिएको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न मिल्दैन । असल नियतले पारिवारिक सल्लाहबमोजिम भएगरेको कार्यको सम्बन्धमा अन्य अंशियारको उजुर नालेस पर्ने अवस्था पनि रहँदैन । वादी प्रतिवादीहरू एकासगोलमा रहेको भन्ने देखिन्छ । प्रमाण ऐन,२०३१ को दफा ६(क) मा “एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । यी प्रत्यर्थी वादीले आफ्नो छोरा र बुहारीलाई पहिले नै बकपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिबाट निजले अंश नपाउने भन्ने
हुँदैन । यसरी अंशियारहरू एकासगोलमा रहेको अवस्थामा जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति भए पनि सबै अंशियारले बराबरी बन्डा गरी लिनपाउने नै हुन्छ । वादी आमा / सासूले छोरा बुहारीलाई गरिदिएको बकसपत्र लिखत बदर गर्नु गराउनुपर्ने पनि देखिएन । यस अवस्थामा दाबीको जग्गा वादीले बकस गरिदिएको र बकसपत्र बदर सम्बन्धमा कुनै अंशियारको नालेस उजुर परी बदर नभएको भन्ने आधारमा वादीको अंश हक गएको र ती जग्गाहरूमा प्रतिवादीहरूको एकलौटी हक कायम भएको भनी मान्न मिल्दैन । उल्लिखित जग्गाहरूबाट वादीले दाबीबमोजिम अंश पाउने ठहर गरेको हदसम्मको उच्च अदालत जनकपुर राजविराज इजलासको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन ।
९. अब प्रतिवादी उपेन्द्र नायकको नाममा हा.ब.बमोजिम कायम हुन आएको कि.नं.१५० को जग्गा बन्डा गर्ने ठहर गरेको उच्च अदालतको फैसलाको सन्दर्भमा हेर्दा, प्रतिवादी उपेन्द्र नायकले २०४० सालमा कि.नं. १५० को जग्गा आफ्नो फुपू वतही सुडिनबाट हालैको बकसपत्रबाट प्राप्त गरेको देखिन्छ । अंशियारभन्दा बाहिरको व्यक्तिबाट रिझबापत प्राप्त गरेको जग्गा त्यस्तो जग्गा आर्जन गर्ने व्यक्तिले आफूखुस गर्न पाउने हुन्छ । अन्य अंशियारले बन्डा पाउने भन्ने हुँदैन । साबिक मुलुकी ऐन, अंशबन्डाको महलमा अंशबन्डा नभई सगोलमा रहेको सम्पत्तिबाट बढे-बढाएको सम्पत्ति सगोलको नै मान्नुपर्ने भए तापनि कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नं.बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउँछ, बन्डा गर्न कर लाग्दैन भन्ने कानूनी व्यवस्थासमेतबाट अंशियारबाहेकका अन्य व्यक्ति (फुपू) बाट पुनरावेदक प्रतिवादीले हालैदेखिको बकसबाट पाएको सम्पत्ति निजी आर्जनको भई अन्य अंशियारको बन्डा नलाग्ने अवस्था देखिन आयो । यस सम्बन्धमा जमरूद्दिन मियाँ विरूद्ध जियाउल हुसेन मियासमेत भएको (ने.का.प.२०६९ अङ्क ५ नि.नं ८८३०)को अंशचलन मुद्दामा “निजी ज्ञान, सिप र प्रयासबाट आर्जन गरेको भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रम, सीप र प्रयास परेको सम्पत्ति भनी अर्थ गर्नुपर्दछ । यदि सगोलका परिवार सबैको श्रम, सिप र प्रयास परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र यदि कुनै एक अंशीको मात्र निजी ज्ञान, सिप, श्रम र प्रयास परेको छ भने त्यसमा सहभागी नहुने अरू परिवार सदस्यलाई भागबन्डा नलागोस् भन्ने कुरामा ध्यान दिनुपर्ने” भनी व्याख्या भएको पाइन्छ । प्रस्तुत मुद्दामा कि.नं.१५० को जग्गा सगोलको सम्पत्तिबाट बढे-बढाएको नदेखिई प्रतिवादी उपेन्द्र नायकले रिझबापत फुपूबाट प्राप्त गरेको देखिएको अवस्थामा सो जग्गाबाट वादीले अंश नपाउने ठहर गर्नुपर्नेमा उक्त जग्गासमेत बन्डा लाग्ने ठहर गरेको हदसम्म उच्च अदालतको फैसला मिलेको देखिन आएन ।
१०. यसर्थ, उल्लिखित आधार कारणहरूबाट कित्ता नं. १५० को जग्गासमेतबाट वादीले अंश पाउने ठहर गरेको उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७३।८।६ को फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादी उपेन्द्र नायकले मिति २०४०।२।१९ मा फुपू वतही सुडिनबाट बकसमा पाएको कि.नं.१५० को ०-६-१११/२ जग्गा निजको निजी आर्जन देखिएकोले सो जग्गाबाहेक अन्य सम्पूर्ण सम्पत्तिबाट ४ भागको १ भाग वादीले बन्डा छुट्ट्याई लिन पाउने ठहर्छ । कि.नं.१५० बाहेकका अन्य जग्गासमेत निजी आर्जन ठहर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरू मिना नायक, शिवशंकर नायक र उपेन्द्र नायकको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला केही उल्टी भई कि.नं.१५० को जग्गा प्रतिवादी उपेन्द्र नायकको निजी आर्जन ठहर भएकोले सोबाहेकका अन्य सम्पत्तिबाट वादीले दाबीबमोजिम ४ भागको १ भाग अंश पाउने ठहर भएको हुँदा सोबमोजिम बन्डा छुट्ट्याइपाउँ भनी वादी प्रतिवादीहरूले ऐनका म्यादभित्र दरखास्त दिन आए बन्डा छुट्ट्याएबापत लाग्ने दस्तुर वादीबाट लिई नरम-गरम मिलाई बन्डा छुट्ट्याइदिनु भनी सुरू सिराहा जिल्ला अदालतमा लेखी पठाइदिनू..............................................१
वादीले मुद्दा फिराद गर्दा राखेको अदालती शुल्क रू.९८४२.५०।- प्रतिवादीले पुनरावेदन गर्दा उच्च अदालत जनकपुर, राजविराज इजलासमा धरौटी राखेको देखिएको र १५% का दरले हुने रकम रू.१४४७।- मिति २०७४।१।१२ मा र.नं.०१२७१ बाट यस अदालतमा धरौटी राखेको देखिँदा पुनरावेदको जिकिर पुगेको हदसम्मको कोर्ट फी रकम फिर्ता पाउँ भनी दरखास्त दिन आए कुनै दस्तुर नलिई प्रतिवादीलाई फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनू......................................२
सरोकारवालाले नक्कल पाउँ भनी निवेदन दिन आएमा नियमानुसार गरी नक्कल दिनु र प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू.....................................................३
उक्त रायमा सहमत छु ।
न्या. डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृत:-लालबहादुर कार्की / दिप्ती पौडेल
इति संवत् २०७९ साल माघ १२ गते रोज ५ शुभम् ।